एमाले कार्यवाहक अध्यक्ष ‘बादल’ आलोेचित, पाण्डेले भने-यथार्थलाई बेवास्ता नगरौँ
काठमाडौं । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले जेन-जी घटनाबारे आफ्नै पार्टीका कार्यवाहक अध्यक्ष रामबहादुर थापाले प्रतिनिधिसभा बैठकमा गरेको सम्बोधनप्रति आपत्ति जनाएका छन्।
पाण्डेले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको टिप्पणीमा संसदमा ‘षड्यन्त्र’का लामो कथाहरू प्रस्तुत गरिएको भन्दै त्यसप्रति असहमति जनाएका हुन्।
उनले सेना, कर्मचारी संयन्त्र र प्रविधिलाई दोष दिने प्रवृत्तिको आलोचना गर्दै यस्तो वातावरण निर्माणमा तत्कालीन एमाले सरकार स्वयंको अकर्मण्यता पनि जिम्मेवार रहेको उल्लेख गरेका छन्।
उनले ‘घेराबन्दीमा पर्यौं’ भन्ने राष्ट्रवादी भाष्यलाई पुरानो शैलीको राजनीति भन्दै अबको साँचो राष्ट्रवाद आर्थिक सुधारमा केन्द्रित हुनुपर्ने धारणा राखेका छन्।
पाण्डेले आफ्नै कमजोरी लुकाएर कार्यकर्तालाई भ्रममा राख्ने र अतिवादतर्फ धकेल्ने गतिविधि नगर्न नेतृत्वलाई सचेत गराएका छन्।
साथै, जेन-जीसँग सम्बन्धित २३/२४ का घटनाको निष्पक्ष छानबिन हुनुपर्नेमा जोड दिँदै वर्तमान राजनीति जनताको आकांक्षासँग मेल नखाएको यथार्थलाई बेवास्ता गर्न नहुने बताएका छन्।
उनको यो टिप्पणीलाई एमालेभित्रै जेन-जी घटनाको व्याख्या र जिम्मेवारीबारे देखिएको मतभेदका रूपमा हेरिएको छ।
थापाले बिहीबार प्रतिनिधिसभा बैठकमा सम्बोधनको क्रममा एमालेलाई अघोषित रूपमा रास्वपाले ‘रङ्ग क्रान्ति’ गरेर एमालेको सत्ता ढालेको र सेना, कर्मचारीतन्त्र, सुशीला कार्कीको चुनावी सरकार, बारबरा फाउन्डेसन, टीओबीलगायत निकायले पराजित गरेको गम्भीर आरोप लगाएका थिए ।
थापाको यो अभिव्यक्तिलाई एमालेका अर्का नेता विष्णु पौडेलले पनि आपत्ति जनाएका छन् । थापाको अभिव्यक्तिले यतिबेला एमालेमा पक्ष–विपक्षमा बहस भइरहेको छ ।
यसबारे आजै एमालेको सचिवालय बैठक बस्दैछ । बैठकले थापालाई संसदमा बोल्दा के बोल्ने ? के नबोल्ने भन्नेबारे सचेत गराउने बताइएको छ ।
