`

दुई दिने सार्वजनिक बिदा हटाउन रास्वपा सांसद बुढाथोकीको माग

Nepal One HD १२ जेठ २०८३ १३:४८
प्रमुख खबर

काठमाडौं। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले शनिबार र आइतबार बिदा दिने सरकारी निर्णय तत्काल पुनर्विचार गर्न सरकारसँग आग्रह गरेका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले शिक्षा र स्वास्थ्यजस्ता संवेदनशील क्षेत्रमा दुई दिने सार्वजनिक बिदाले प्रत्यक्ष असर पारेको भन्दै उक्त निर्णय फिर्ता लिन सरकारको ध्यानाकर्षण गराएका हुन्।

सांसद बुढाथोकीले शिक्षा र स्वास्थ्य क्षेत्रमा लागू गरिएको साप्ताहिक दुई दिने बिदा व्यवहारिक नभएको भन्दै व्यापक गुनासो आएको बताए ।

उनले भने, ‘शिक्षा र स्वास्थ्य क्षेत्रमा लागू गरिएको हप्तामा दुई दिनको बिदा व्यवहारिक नभएको व्यापक गुनासो प्राप्त भएको छ । यसले विद्यार्थी बरालिने र पाठ्यक्रम पूरा गर्न समस्या सिर्जना गरेको छ । साथै, दुई दिनको बिदाका कारण नागरिकहरू आकस्मिक स्वास्थ्य सेवाबाट समेत वञ्चित हुनुपर्ने अवस्था छ । शिक्षा र स्वास्थ्यजस्ता संवेदनशील क्षेत्रमा यो व्यवस्था तत्काल पुनर्विचार गर्न सरकारको विशेष ध्यानाकर्षण गराउन चाहन्छु,’

उनले थप्दै भने, ‘गाउँका विद्यालयहरूमा विद्यार्थी संख्या अत्यन्त न्यून हुँदा प्रति विद्यार्थी लागत बढिरहेको छ । विद्यालयहरू समायोजन गरी आवासीय विद्यालय बनाउँदा शिक्षाको गुणस्तरमा सुधार हुने देखिन्छ । यसतर्फ सरकारको ध्यान जाओस् ।’

उनका अनुसार दुई दिने बिदाका कारण पठनपाठन प्रभावित हुनुका साथै आकस्मिक स्वास्थ्य सेवामा समेत समस्या देखिएको छ ।

साथै, उनले ग्रामीण क्षेत्रका विद्यालयहरूमा विद्यार्थी संख्या कम हुँदा प्रति विद्यार्थी लागत बढिरहेको उल्लेख गर्दै विद्यालय समायोजन गरी आवासीय विद्यालय मोडेल अपनाउनुपर्ने सुझाव पनि दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *