सम्पर्कविहीन कर्मचारीको खोज्दै सरकार, तीन दिनभित्र विवरण अद्यावधिक गर्न निर्देशन
काठमाडौं। सरकारले अध्ययन बिदा तथा असाधारण बिदामा रहेका तर बिदा अवधि समाप्त भएपछि पनि कार्यालयमा हाजिर नभएका र लामो समयदेखि सम्पर्कविहीन रहेका निजामती कर्मचारीहरूको खोजी प्रक्रिया सुरु गरेको छ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना जारी गर्दै अध्ययन बिदा तथा असाधारण बिदामा रहेका केही कर्मचारीहरूको व्यक्तिगत विवरण (पीआईएस) तथा बिदासम्बन्धी अभिलेख राष्ट्रिय किताबखाना (निजामती) मा अद्यावधिक नभएको जनाएको छ।
यस्ता कर्मचारीहरूलाई सूचना प्रकाशित भएको मितिले तीन दिनभित्र अनिवार्य रूपमा आफ्नो अभिलेख अद्यावधिक गराउन भनिएको छ।
मन्त्रालयले सबै मन्त्रालय, आयोग, सचिवालय तथा केन्द्रीयस्तरका सरकारी कार्यालयलाई पनि आफ्नो निकायबाट विभिन्न समयमा अध्ययन वा असाधारण बिदा स्वीकृत भएका कर्मचारीहरूको विवरण यकिन गर्न निर्देशन दिएको छ।
सम्बन्धित कर्मचारी बिदा अवधि समाप्तिपछि नियमित रूपमा कार्यालयमा हाजिर भए वा नभएको अवस्थासहित अन्य आवश्यक विवरण राष्ट्रिय किताबखाना (निजामती) सँग समन्वय गरी तीन दिनभित्र अभिलेख अद्यावधिक गर्न आग्रह गरिएको छ।
सूचनामा अध्ययन वा असाधारण बिदा सकिएपछि पनि कार्यालयमा नफर्किएका तथा लामो समयदेखि कार्यालयको सम्पर्कमा नरहेका कर्मचारीहरूको हकमा प्रचलित कानुनबमोजिम आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइने संकेत समेत गरिएको छ।
सरकारले निजामती सेवामा अभिलेख व्यवस्थापनलाई थप व्यवस्थित, पारदर्शी र उत्तरदायी बनाउने तथा कर्मचारीहरूको वास्तविक अवस्थाबारे अद्यावधिक विवरण सुनिश्चित गर्ने उद्देश्यले यो सूचना जारी गरेको जनाएको छ।
