अर्थमन्त्रीको जिल्लामा बजेटको ओईरो
काठमाडौं । तनहुँ जिल्लाका १० स्थानीय तहले आर्थिक वर्ष २०८३/८४ का लागि संघीय सरकारबाट कुल चार अर्ब ५६ करोड ४७ लाख रुपैयाँ अनुदान प्राप्त गर्ने भएका छन्। अर्थ मन्त्रालयले स्थानीय तहहरूका लागि उक्त रकम विनियोजन गरेको हो। तनहुँ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको गृहजिल्ला भएकाले यसपटक बजेटमा जिल्लाले उल्लेख्य अनुदान पाएको छ।
राससका अनुसार जिल्लाका स्थानीय तहमध्ये सबैभन्दा बढी बजेट व्यास नगरपालिकाले प्राप्त गरेको छ भने सबैभन्दा कम बजेट घिरिङ गाउँपालिकालाई विनियोजन गरिएको छ।
व्यास नगरपालिकाले कुल ९४ करोड ३० लाख रुपैयाँ प्राप्त गर्नेछ। यसमध्ये १८ करोड ६० लाख रुपैयाँ समानीकरण अनुदान, ७५ करोड २० लाख रुपैयाँ सशर्त अनुदान तथा ५० लाख रुपैयाँ समपुरक अनुदान रहेको छ।
शुक्लागण्डकी नगरपालिकाका लागि ६३ करोड ७८ लाख रुपैयाँ विनियोजन गरिएको छ। नगरपालिकाले १४ करोड ६० लाख रुपैयाँ समानीकरण, ४६ करोड ४३ लाख रुपैयाँ सशर्त, एक करोड ४० लाख रुपैयाँ विशेष तथा एक करोड ३५ लाख रुपैयाँ समपुरक अनुदान पाउनेछ।
भानु नगरपालिकालाई ५९ करोड ६८ लाख रुपैयाँ छुट्याइएको छ। यसमध्ये १३ करोड ८७ लाख रुपैयाँ समानीकरण, ४४ करोड ४१ लाख रुपैयाँ सशर्त, एक करोड रुपैयाँ विशेष तथा ४० लाख रुपैयाँ समपुरक अनुदान रहेको छ।
भिमाद नगरपालिकाले ४५ करोड ६९ लाख रुपैयाँ प्राप्त गर्नेछ। नगरपालिकाका लागि ११ करोड १४ लाख रुपैयाँ समानीकरण, ३० करोड ७३ लाख रुपैयाँ सशर्त, एक करोड ६७ लाख रुपैयाँ विशेष तथा दुई करोड १५ लाख रुपैयाँ समपुरक अनुदान विनियोजन गरिएको छ।
गाउँपालिकातर्फ ऋषिङ गाउँपालिकालाई ३६ करोड ५९ लाख रुपैयाँ, देवघाट गाउँपालिकालाई ३३ करोड ७० लाख रुपैयाँ, बन्दीपुर गाउँपालिकालाई ३२ करोड ६८ लाख रुपैयाँ, आँबुखैरेनी गाउँपालिकालाई ३१ करोड ४१ लाख रुपैयाँ, म्याग्दे गाउँपालिकालाई ३० करोड ६५ लाख रुपैयाँ तथा घिरिङ गाउँपालिकालाई २८ करोड २९ लाख रुपैयाँ विनियोजन गरिएको छ।
ऋषिङ गाउँपालिकाले १० करोड ३७ लाख रुपैयाँ समानीकरण, २४ करोड ६१ लाख रुपैयाँ सशर्त, ७६ लाख रुपैयाँ विशेष तथा ८५ लाख रुपैयाँ समपुरक अनुदान पाउनेछ। देवघाट गाउँपालिकालाई आठ करोड ३२ लाख रुपैयाँ समानीकरण, २३ करोड ८२ लाख रुपैयाँ सशर्त, ८६ लाख रुपैयाँ विशेष तथा ७० लाख रुपैयाँ समपुरक अनुदान छुट्याइएको छ।
त्यसैगरी बन्दीपुर गाउँपालिकाले नौ करोड ६ लाख रुपैयाँ समानीकरण, २० करोड ७ लाख रुपैयाँ सशर्त, एक करोड ५० लाख रुपैयाँ विशेष तथा एक करोड ७५ लाख रुपैयाँ समपुरक अनुदान प्राप्त गर्नेछ। आँबुखैरेनी गाउँपालिकाका लागि नौ करोड ६७ लाख रुपैयाँ समानीकरण, १७ करोड ३६ लाख रुपैयाँ सशर्त, एक करोड ८० लाख रुपैयाँ विशेष तथा दुई करोड ५८ लाख रुपैयाँ समपुरक अनुदान विनियोजन गरिएको छ।
म्याग्दे गाउँपालिकाले नौ करोड ९२ लाख रुपैयाँ समानीकरण, १८ करोड ६३ लाख रुपैयाँ सशर्त, एक करोड ४० लाख रुपैयाँ विशेष तथा ७० लाख रुपैयाँ समपुरक अनुदान पाउनेछ। घिरिङ गाउँपालिकाका लागि आठ करोड ७८ लाख रुपैयाँ समानीकरण, १८ करोड ८१ लाख रुपैयाँ सशर्त तथा ७० लाख रुपैयाँ समपुरक अनुदान विनियोजन गरिएको छ।
