`

४ वर्षमै पाएको जनसमर्थन लोभलाग्दो छ : गगन थापा

Nepal One HD ७ असार २०८३ १७:३३
नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थापना भएको छोटो अवधिमै हासिल गरेको जनसमर्थनलाई ‘लोभलाग्दो’ भन्दै प्रशंसा गरेका छन्।

चितवनको भरतपुरमा जारी रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले चार वर्षको अवधिमै पार्टीले प्राप्त गरेको जनमत नेपाली राजनीतिक इतिहासकै उल्लेखनीय उपलब्धिमध्ये एक भएको बताए।

‘पार्टी गठन भएको ४ वर्षमै तपाईंहरूले जुन जनसमर्थन पाउनुभएको छ, यो लोभलाग्दो छ। म मुक्तकण्ठले प्रशंसा गर्दछु,’ उनले भने।

थापाले रास्वपाले प्राप्त गरेको जनमत असाधारण रहेको उल्लेख गर्दै नेपाली राजनीतिक इतिहासमा यति छोटो समयमा कुनै दलले यति ठूलो जनसमर्थन प्राप्त गरेको उदाहरण सीमित रहेको बताए। उनले विगतमा यस्ता जनलहरका आधारमा उदाएका केही राजनीतिक शक्तिहरूले अपेक्षित परिणाम दिन नसकेको स्मरण गराउँदै प्राप्त विश्वासलाई जोगाउनु नै सबैभन्दा ठूलो चुनौती हुने धारणा राखे।

उनले संगठन निर्माण, जनविश्वास आर्जन र निर्वाचन सफलतासम्मको यात्रालाई सहज रूपमा लिन नहुने उल्लेख गर्दै नेतृत्व र कार्यकर्ताको भूमिका महत्वपूर्ण रहेको बताए।

थापाले भने, ‘संगठन निर्माणदेखि निर्वाचनमा सफलता प्राप्त गर्ने यो यात्रामा पार्टी नेतृत्वले जुन कुशलतापूर्वक भूमिका निर्वाह गरेको छ र कार्यकर्ताले जुन साथ दिनुभएको छ, त्यसका लागि सबै बधाइका पात्र हुनुहुन्छ।’

उनले लोकतान्त्रिक व्यवस्थामा जनताले दिएको विश्वासलाई नीतिगत स्पष्टता, सुशासन र परिणाममुखी काममार्फत कायम राख्नुपर्ने आवश्यकता पनि औंल्याए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *