`

‘डा.’ उपाधि विवादमा यसरी पक्राउ परिन् ‘चेतना पौडेल’

Nepal One HD १५ असार २०८३ १५:३५
जीवनशैली/स्वास्थ्य

काठमाडौं। गैरकानुनी रूपमा आधुनिक चिकित्सा अभ्यास गरेको आरोपमा पक्राउ परेकी चेतना एएम (पौडेल) प्रकरणले नेपालमा स्वास्थ्य व्यवसायको नियमन, न्याचुरोप्याथी चिकित्सकको कानुनी हैसियत र ‘डा.’ उपाधि प्रयोग गर्ने अधिकारबारे नयाँ बहस सुरु भएको छ।

प्रहरीको कारबाही, नियामक निकायहरूको फरक-फरक धारणा र सरोकारवाला संस्थाहरूको विरोधबीच यो विषय अहिले कानुनी तथा नीतिगत छलफलको केन्द्रमा पुगेको छ।

प्रहरी प्रधान कार्यालयको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले असार १० गते चन्द्रागिरि नगरपालिका-८ स्थित स्पार्क इन्टरनेसनल हेल्थ रिसोर्टबाट चेतना पौडेललाई पक्राउ गरेको थियो। नेपाल मेडिकल काउन्सिलको उजुरीपछि अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार नेपाल मेडिकल काउन्सिलमा दर्ता नभई आधुनिक चिकित्सा पद्धतिअनुसार बिरामीको परीक्षण, औषधि सिफारिस तथा उपचारमा संलग्न भएको आरोप उनीमाथि लागेको छ। काउन्सिलको नियमित अनुगमनका क्रममा बिरामीलाई औषधि सिफारिस गरिएको प्रेस्क्रिप्सन फेला परेपछि कानुनी कारबाहीका लागि प्रतिवेदनसहित उजुरी परेको थियो।

पौडेलले भारतको बेङ्गलुरुस्थित राजीव गान्धी युनिभर्सिटी अफ हेल्थ साइन्सेजसँग सम्बन्धन प्राप्त एसडीएम कलेज अफ नेचुरोप्याथी एन्ड योगिक साइन्सेजबाट व्याचलर अफ नेचुरोप्याथी एन्ड योगिक साइन्सेज (बीएनवाईएस) अध्ययन पूरा गरेकी हुन्।

बीएनवाईएस पाँच वर्षभन्दा बढी अवधिको व्यावसायिक शैक्षिक कार्यक्रम मानिन्छ। जसमा मानव शरीर विज्ञान, रोग विज्ञान, प्राकृतिक चिकित्सा, योग उपचार, क्लिनिकल अभ्यास तथा अनिवार्य इन्टर्नसिप समावेश हुन्छ।

यसका अतिरिक्त उनले जनस्वास्थ्यमा स्नातकोत्तर (एमपीएच) पनि अध्ययन पूरा गरेकी छन्।

नेपाल स्वास्थ्य व्यवसायी परिषद्का अनुसार चेतना पौडेलको बीएनवाईएस र एमपीएच दुवै योग्यता परिषद्मा विधिवत् दर्ता छ।

परिषद्का सूचना अधिकारी शीतल बस्नेतका अनुसार बीएनवाईएस अध्ययन गरेकालाई स्वतः चिकित्सक अर्थात् ‘डा.’ उपाधि प्रयोग गर्न दिने वा नदिने विषयमा हालसम्म स्पष्ट कानुनी व्यवस्था बनेको छैन।

उनका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा यस विषयमा छलफल भइरहेको भए पनि हालसम्म अन्तिम निर्णय हुन सकेको छैन।

यद्यपि नेपाल मेडिकल काउन्सिलमा भने पौडेलको प्रमाणपत्र दर्ता नभएको पुष्टि गरिएको छ।

नेपाल मेडिकल काउन्सिलको मुख्य आपत्ति आधुनिक चिकित्सा उपचारमा केन्द्रित छ।

काउन्सिलका अनुसार आधुनिक चिकित्सा प्रणालीअन्तर्गत बिरामी परीक्षण गर्ने, औषधि सिफारिस गर्ने वा उपचार गर्ने अधिकार नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकलाई मात्र हुन्छ।

त्यसैले काउन्सिलमा दर्ता नभई आधुनिक चिकित्सा अभ्यास गर्नु प्रचलित कानुन विपरीत हुने दाबी गरिएको छ।

पक्राउपछि इन्डियन नेचुरोप्याथी एन्ड योगा ग्राजुएट्स मेडिकल एसोसिएसनले विज्ञप्ति जारी गर्दै चेतना पौडेलमाथिको कारबाहीप्रति आपत्ति जनाएको छ।

एसोसिएसनका कार्यकारी निर्देशक डा. राजेशकुमार सिंहले हस्ताक्षर गरेको विज्ञप्तिमा पौडेल योग्य न्याचुरोप्याथी चिकित्सक भएको उल्लेख गरिएको छ।

विज्ञप्तिअनुसार बीएनवाईएस पूर्णकालीन व्यावसायिक डिग्री हो, जसमा विस्तृत सैद्धान्तिक अध्ययन, क्लिनिकल प्रशिक्षण तथा अनिवार्य इन्टर्नसिप समावेश हुन्छ।

एसोसिएसनले पौडेलको शैक्षिक योग्यताले त्रिभुवन विश्वविद्यालयबाट समकक्षता प्राप्त गरिसकेको, उनी नेपाल स्वास्थ्य व्यवसायी परिषद्मा दर्ता रहेको तथा विद्यमान कानुनी व्यवस्थाभित्र रहेर नै सेवा दिइरहेको दाबी गरेको छ।

विज्ञप्तिमा ‘डा.’ उपाधि विश्वविद्यालयबाट डिग्री प्रदान गर्दा नै प्राप्त हुने शैक्षिक उपाधि भएकाले त्यसलाई गैरकानुनी भन्न नमिल्ने तर्क गरिएको छ।

नेपाल आयुर्वेद चिकित्सक सङ्घले पनि न्याचुरोप्याथी चिकित्सकका लागि छुट्टै नियामक परिषद् स्थापना गर्नुपर्ने माग गरेको छ।

सङ्घका अध्यक्ष डा. शङ्कर गौतमका अनुसार आयुर्वेद, होमियोप्याथी, सोवा रिग्पा र न्याचुरोप्याथीजस्ता वैकल्पिक चिकित्सा प्रणालीका चिकित्सकका लागि पनि स्पष्ट कानुनी व्यवस्था हुन आवश्यक छ।

उनका अनुसार सम्बन्धित विषयमा व्यावसायिक अध्ययन पूरा गरेका व्यक्तिलाई उपयुक्त कानुनी ढाँचाअनुसार चिकित्सकीय उपाधि प्रयोग गर्ने व्यवस्था गरिनुपर्छ।

नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले विभिन्न विश्वविद्यालयबाट डाक्टर अफ अप्टोमेट्री, डाक्टर अफ फिजियोथेरापी, डाक्टर अफ होमियोप्याथी तथा डाक्टर अफ नेचुरोप्याथी एन्ड योगिक साइन्सेज लगायतका उपाधिसहित स्वास्थ्यकर्मी परिषद्मा दर्ता भइरहेका जनाएको छ।

परिषद्ले भने विश्वविद्यालयले प्रमाणपत्रमै उल्लेख गरेको ‘डाक्टर’ उपाधि प्रयोग गर्न सकिने भए पनि त्यस्तो व्यवस्था नभएका व्यक्तिले आफैं ‘डा.’ लेख्न नपाउने स्पष्ट गरेको छ।

प्रहरीले चेतना पौडेलमाथि मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत इलाजसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको जनाएको छ।

संहिताको परिच्छेद १९ अनुसार सम्बन्धित विषयमा आवश्यक शैक्षिक योग्यता प्राप्त गरी कानुनबमोजिम इजाजतपत्र लिएको व्यक्तिबाहेक कसैले चिकित्सा सेवा दिन, औषधि सिफारिस गर्न, उपचार गर्न वा मानव शरीरमा चिकित्सा हस्तक्षेप गर्न पाउँदैन।

यदि यस्तो कसुर प्रमाणित भएमा तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिबानाको व्यवस्था छ।

त्यस्तै, जानाजानी गलत उपचार गरी बिरामीको ज्यान गएको वा अङ्गभङ्ग भएको अवस्थामा जन्मकैदसम्मको सजाय हुन सक्ने कानुनी व्यवस्था पनि अपराध संहितामा उल्लेख गरिएको छ।

यो प्रकरणले नेपालमा आधुनिक चिकित्सा, आयुर्वेद, होमियोप्याथी, न्याचुरोप्याथी तथा अन्य वैकल्पिक चिकित्सा प्रणालीबीचको कानुनी सीमारेखा अझै स्पष्ट नभएको देखाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *