मागियो सुकी जीवित भएको प्रमाण
काठमाडौं। म्यान्माकी प्रजातन्त्रवादी नेतृ तथा नोबेल शान्ति पुरस्कार विजेता आङ सान सुकीका कान्छा छोरा किम एरिसले सैन्य सरकारसँग आफ्नी आमा जीवित रहेको विश्वसनीय प्रमाण सार्वजनिक गर्न माग गरेका छन्।
सन् २०२१ मा सेनाले सत्ता कब्जा गरेयता सुकीको अवस्थाबारे अत्यन्त सीमित जानकारी मात्र सार्वजनिक भइरहेका बेला एरिसले सैन्य प्रशासनको दाबीमाथि गम्भीर प्रश्न उठाएका हुन्।
लन्डनमा दिएको अन्तर्वार्तामा एरिसले सैन्य सरकारले सुकीलाई जेलबाट आवासीय नजरबन्दमा सारिएको दाबी गरे पनि त्यसको पुष्टि गर्ने कुनै प्रमाण नदेखिएको बताए। उनका अनुसार हालसम्म सार्वजनिक भएका सूचनाहरूले सुकीको स्वास्थ्य अवस्था निरन्तर बिग्रँदै गएको संकेत मात्रै दिएका छन्।
त्यसैले उनी अझै पनि राजधानी नेपिटोस्थित जेलमै रहेको हुन सक्ने आशंका बलियो रहेको उनको भनाइ छ।
म्यान्माको सैन्य सरकारले केही महिनाअघि सुकीलाई जेलबाट घरजस्तो सुरक्षित स्थानमा सारिएको जनाएको थियो। तर त्यसयता उनको तस्बिर, भिडियो वा स्वतन्त्र निकायबाट पुष्टि हुने कुनै विवरण सार्वजनिक गरिएको छैन।
यही कारण सुकीका परिवारका सदस्यहरूले सैन्य सरकारको दाबीमाथि विश्वास गर्न नसकिएको बताएका छन्। एरिसले अन्तर्राष्ट्रिय समुदायले पनि केवल सैन्य प्रशासनको भनाइका आधारमा निष्कर्षमा पुग्न नहुने धारणा व्यक्त गरेका छन्।
एरिसका अनुसार ८० वर्ष नाघिसकेकी सुकी मुटुसम्बन्धी समस्याबाट पीडित छिन्। साथै उमेरसँगै देखिने हड्डी कमजोर हुने समस्या पनि बढ्दै गएको छ।
उनले जेलमा बसेर बाहिर आएका एक पूर्व बन्दीसँगको कुराकानीलाई उद्धृत गर्दै सुकी राखिएको स्थानको अवस्था अत्यन्त कठिन रहेको बताए। पर्याप्त स्वास्थ्य सेवा, नियमित उपचार र सहज वातावरणको अभावले उनको स्वास्थ्यमा थप असर परेको हुन सक्ने उनको चिन्ता छ।
उनका अनुसार परिवारले लामो समयदेखि प्रत्यक्ष भेट गर्ने वा स्वास्थ्य अवस्थाबारे स्वतन्त्र जानकारी प्राप्त गर्ने अवसरसमेत पाएको छैन।
एरिसले आफ्नी आमासँगको अन्तिम प्रत्यक्ष सम्पर्क करिब दुई वर्षअघि प्राप्त एउटा पत्रमार्फत भएको बताए। त्यसयता उनीहरूबीच कुनै प्रत्यक्ष संवाद हुन सकेको छैन।
लन्डनमा जन्मिएका एरिस बाल्यकालमा केही समय आमाबुबासँग बसे पनि सुकी म्यान्मा फर्केर लोकतान्त्रिक आन्दोलनको नेतृत्व गर्न थालेपछि उनी बेलायतमै हुर्किएका थिए।
आङ सान सुकी म्यान्मामा दशकौँदेखि प्रजातन्त्र र नागरिक अधिकारको आन्दोलनको प्रमुख अनुहारका रूपमा परिचित छिन्।
सन् १९८९ देखि २०१० सम्म उनले विभिन्न अवधिमा करिब १५ वर्ष नजरबन्दमा बिताएकी थिइन्। सैन्य शासनविरुद्धको अहिंसात्मक संघर्षका कारण उनलाई सन् १९९१ मा नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो।
पछि उनको नेतृत्वको नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) ले आमनिर्वाचनमा ऐतिहासिक सफलता हासिल गरेपछि सन् २०१६ मा उनी म्यान्माको वास्तविक राजनीतिक नेतृत्वमा पुगेकी थिइन्। यद्यपि संविधानका कारण उनी राष्ट्रपति बन्न नपाए पनि सरकारको प्रमुख निर्णयकर्ताको भूमिकामा थिइन्।
सन् २०२१ फेब्रुअरी १ मा म्यान्माको सेनाले निर्वाचित सरकारलाई अपदस्थ गर्दै सत्ता आफ्नो नियन्त्रणमा लिएपछि सुकीलाई पक्राउ गरिएको थियो।
त्यसपछि उनीमाथि भ्रष्टाचार, निर्वाचनमा धाँधली, सरकारी गोपनीयता उल्लङ्घनलगायत विभिन्न अभियोग लगाइएका छन्। अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाहरूले ती अभियोगलाई राजनीतिक प्रेरित भन्दै आलोचना गर्दै आएका छन्।
सैन्य ‘कू’पछि म्यान्मामा व्यापक प्रदर्शन, सशस्त्र प्रतिरोध र गृहयुद्धजस्तै अवस्था सिर्जना भएको छ। संयुक्त राष्ट्रसंघका अनुसार त्यसयता हजारौँ नागरिक मारिएका छन् भने लाखौँ मानिस विस्थापित भएका छन्।
किम एरिसले आफू सामान्यतया सार्वजनिक जीवनबाट टाढा बस्न चाहे पनि आमाको अवस्थाले बोल्न बाध्य बनाएको बताए।
हालै सुकीको ८१औँ जन्मदिनको अवसरमा उनले ८१ किलोमिटर स्केटबोर्ड यात्रा पूरा गर्दै विश्व समुदायको ध्यान म्यान्माको अवस्थातर्फ आकर्षित गर्ने अभियान सञ्चालन गरेका थिए।
उनले विभिन्न देशका सरकार, मानवअधिकार संस्था र अन्तर्राष्ट्रिय समुदायसँग भेटघाट गर्दै सुकीको रिहाइका लागि कूटनीतिक दबाब बढाउन आग्रह गरिरहेका छन्।
एरिसले म्यान्माको सैन्य नेतृत्वमाथि प्रभावकारी अन्तर्राष्ट्रिय दबाब आवश्यक रहेको बताएका छन्। विशेषगरी सेनाले प्रयोग गर्ने उड्डयन इन्धनको आपूर्ति रोक्न सके सैन्य कारबाही कमजोर पार्न सकिने उनको तर्क छ।
उनका अनुसार कूटनीतिक वक्तव्य मात्र पर्याप्त नहुने भएकाले व्यवहारिक र प्रभावकारी प्रतिबन्धमार्फत सैन्य सरकारलाई लोकतान्त्रिक प्रक्रियामा फर्कन बाध्य बनाउनुपर्ने आवश्यकता रहेको छ।
सुकीको वास्तविक अवस्था अझै पनि रहस्यमै रहेकाले उनलाई स्वतन्त्र चिकित्सक र परिवारसँग भेट्ने व्यवस्था गर्न तथा उनको अवस्थाबारे पारदर्शी जानकारी सार्वजनिक गर्न अन्तर्राष्ट्रिय समुदायले निरन्तर दबाब दिइरहेको छ।
