बालेनमा छैन जवाफदेहिता, डाेलप्रसादमा छैन रूलिङकाे हिम्मत
काठमाडौं। सांसदहरू प्रधानमन्त्री बालेनलाई धुइँधुइँती खोज्छन्- संसदमा । प्रधानमन्त्री बालेन गए पो भेटिनु र देखिनु । उठेको प्रश्नको जवाफ दिनु । पछिल्लोपटक १७ जेठको दिउँसो एक्कासी संसद् बैठकमा पुगे र सांसदहरू प्रश्नोत्तरमा सहभागी भए । फ्याट्ट बोलिदिए– (नेपालले पनि भारतको जग्गा धेरै ठाउँ मिचेको छ ।)
हचुवा तालको यो बोली बालेनलाई निकै भारी पर्यो । विपक्षी दलका सांसदहरू मात्रै होइन, देशभक्त र राष्ट्रवादी नेपालीलाई प्रधानमन्त्री बालेनको यो अभिव्यक्तिले चित्त दुखायो । भारतसँगको सीमावर्ती क्षेत्रका बासिन्दालाई पर्नु पिर पर्यो । वर्षौंदेखि भारतीय सीमा सुरक्षा बल एसएसबीका जवानहरूले गर्दै आएका दुव्यर्वहार र सीमा मिचाइबाट पीडित र आतंकित सीमा क्षेत्रका नेपाली प्रधानमन्त्री बालेनको यस्तो बोलीले आक्रोशित बनेका छन् । हालै सीमावर्ती सुस्तावासी काठमाडौं आए र सरकारलाई विवादित बोली फिर्ता लिन र नेपाल–भारत सीमा विवाद समाधान गर्न आग्रह गरे । नागरिकता र जग्गाको लालपुर्जा मागे ।
यता संसदमा विपक्षी दलहरूले संसदको हरेक बैठकमा प्रधानमन्त्री बालेनले त्यसबारे जवाफ दिनुपर्ने माग गरिरहेका छन् । अप्रमाणित र गलत अभिव्यक्तिप्रति माफी माग्नुपर्ने भनिरहेका छन् । र, सभामुख डोलप्रसाद अर्याललाई संसदको रेडर्कबाट प्रधानमन्त्री बालेनको अभिव्यक्ति हटाउनुपर्ने माग गरिहेका छन् । तर, प्रधानमन्त्री बालेन सुन्छन् न सभामुख अर्याल । विपक्षी दलहरूको मागलाई प्रधानमन्त्री बालेनले पूरै बेवास्ता गरेका छन् । सभामुख अर्याल पनि त्यस्तै भएका छन् ।
यसपछि बुधबार एमाले सांसद राजेन्द्र राईले सभामुख अर्याललाई भने, ‘सम्माननीय सभामुख महोदय सम्माननीय सभामुखलाई एउटा निवेदन गर्नुपर्यो, तपाईं कान सुन्नुहुन्छ कि हुन्न ? मेरो सभामुखलाई निवेदन हो ।’
अप्रमाणित अभिव्यक्ति संसदको रेकर्डमा राखिँदैन, हटाइन्छ । जसरी असंसदीय र अमर्यादित ढंगले राखिएका अभिव्यक्तिलाई हटाइन्छ । तर, सभामुख अर्याल प्रधानमन्त्री बालेनको अप्रमाणित अभिव्यक्तिलाई जतनसाथ संसदको रेकर्डमा राख्न चाहन्छन् । होइन भने उनले अप्रमाणित अभिव्यक्तिलाई संसद्को अभिलेखमा राख्दैन थिए ।
सभामुख अर्यालको यस्तो अपरिपक्क र सत्ताअनुकूल गतिविधिमाथि पनि बारम्बार प्रश्न उठ्दै आएको छ । उनलाई बालेन सरकारको प्रष्ट छायाँ परेको आरोप लाग्दै आएको छ । उनको यस्तो गतिविधिमाथि प्रमुख विपक्षी नेता तथा नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले २६ जेठको संसद बैठकमा भनिदिए , ‘संसद्को चिरहरण भइरहँदा जसरी सभामुखको कुर्सी टुलुटुलु हेर्ने अवस्थामा पुग्यो, जसरी लाचार भइरहेको अवस्थामा पुगेको मैले अनुभुती गरे । यद्यपि म व्यक्तिगतरुपमा म त्यो लाचारी उहाँमा देख्दिन । यतिबेला मलाई भूपी शेरचनको एउटा कविता याद आइरहेको छ। त्यो कविता हो घुम्ने मेचमाथि… त्यसपछिको शव्द बिर्से सभामुख महोदय।’
प्रधानमन्त्रीले बोल्ने अभिव्यक्ति व्यक्तिको हुँदैन, सिंगो नेपाल देशको हुन्छ । नेपालीको हुन्छ । त्यसैले उनले बोल्ने अभिव्यक्ति तथ्यपरक हुनुपर्छ । बढो जिम्मेवारीपूर्वक ढंगले उनी प्रस्तुत हुनुपर्छ । हिजो र्यापर छँदा जस्तो छाडा बोल्न मिल्दैन । काठमाडौंको मेयर छँदा जसरी हिंसाप्रेरित र आपराधिक अभिव्यक्ति दिन्थे, भलै उनलाई कारबाही भएन, त्यो तहमा उत्रिएर पनि बोल्न मिल्दैन । यद्यपि, उनले राष्ट्रघात हुनेगरी नेपालले पनि भारतको धेरै ठाउँमा जग्गा मिचेको रहेछ भन्न भ्याए ।
जबकि, संसारका कुनै पनि देशका प्रधानमन्त्रीले मैले छिमेकी देशको सीमा मिचेको कहिल्यै भन्दैनन् । भारतले नेपालको कालापानी, लिम्पियाधुरा र लिपुलेकसहित विभिन्न ठाउँमा नेपाली भूमि मिचेको भए पनि त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीले हामीले नेपालको भूमि मिच्यौँ भनेका छैनन् ।
रुसले युक्रेनको क्राइमियासहित थुप्रै भूभाग मिच्यो । तर, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले हामीले युक्रेनको जग्गा मिच्यौँ भन्दैनन् । अझ एउटा तथ्य के हो भने– सैन्य क्षमतामा कमजोर देशले शक्तिशाली देशको सीमा मिच्दैन । नेपालले मिच्ने कुरा आउँदैन । तर, प्रधानमन्त्री बालेनले भन्दिए– नेपालले मिच्यो ।
यसो भनेको डेढ महिना हुन लाग्यो । विपक्षी दलहरूले पटकपटक जवाफ मागे तर बालेन गल्ती स्वीकार्न तयार भएनन् । राष्ट्रवादी र देशभक्ति नेपालीसँग माफी मागेनन् । र, सभामुख अर्यालले पनि संसदको रेकर्डबाट हटाउन चाहेनन् । नहटाए नेपालका भावी पुस्ताले प्रधानमन्त्री बालेनको यस्तो राष्ट्रियताविरोधी अभिव्यक्तिको भिडियो हेर्नेछन् र बालेनलाई घृणा गर्नेछन् । बालेनले त्यस्तो बोल्दा पनि ढ्यापढ्याप गरेर ठीक हो, नेपालले भारतको जग्गा मिचेको हो भन्नेगरी समर्थन जनाएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का १८२ सांसदप्रति पनि घृणा गर्नेछन् ।
अझ नेपालले भारतको सीमा मिचेको हो भन्ने प्रमाणित गर्न खोज्ने पूर्वमन्त्री तथा रास्वपा सांसद बब्लु गुप्तालाई पनि राष्ट्रवादीले सकारात्मक रुपमा लिने छैनन् ।
