यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय [भिडियो]
काठमाडौं । सरकारले नेपाल सरकारको मुख्य सचिवमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो। सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै विभिन्न नीतिगत तथा प्रशासनिक निर्णय भएको जानकारी दिए।
बैठकले पूर्वाधार विकास मन्त्रालयअन्तर्गत उपत्यका विकास प्राधिकरणको आयुक्तमा सुरज शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको छ।
यस्तै, शिक्षा मन्त्रालयको प्रस्तावअनुसार धनगढीस्थित गेटा आँखा अस्पताललाई शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका रूपमा सञ्चालन गर्न स्वीकृति प्रदान गरिएको छ।
मन्त्रिपरिषद्ले विदेशी शैक्षिक कार्यक्रम व्यवस्थित तथा नियमन नियमावली, २०८३ र शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन तथा व्यवस्थापन नियमावली, २०८३ पनि स्वीकृत गरेको छ।
त्यसैगरी, कारागार नियमावली, २०८३, मानवअधिकार सम्बन्धी छैटौं राष्ट्रिय कार्ययोजना तथा भ्रष्टाचारविरुद्धको दोस्रो रणनीतिक योजना पनि मन्त्रिपरिषद्ले स्वीकृत गरेको सरकारका प्रवक्ता पोखरेलले जानकारी दिए।
