चीनका लागि सात पूर्वराजदूतको प्रश्न, ‘दलाई लामाको जन्मदिन सरकारको सहमतिमा मनाइएको हो?’
काठमाडौं । चीनका लागि नेपालका सात जना पूर्वराजदूतले काठमाडौंमा दलाई लामाको ९१औँ जन्मजयन्ती मनाइएको विषयमा गम्भीर चासो र आपत्ति जनाएका छन्।
पूर्वराजदूतहरू राजेश्वर आचार्य, महेन्द्र पाण्डे, टंक कार्की, महेश मास्के, लीलामणि पौडेल, विष्णुपुकार श्रेष्ठ र कृष्णप्रसाद ओलीले बिहीबार संयुक्त वक्तव्य जारी गर्दै उक्त कार्यक्रम सरकारको सहमतिमा भएको हो वा होइन भन्ने विषयमा स्पष्ट पार्न सरकारसँग माग गरेका छन्।
उनीहरूले असार २२ गते नागार्जुन नगरपालिका–२ स्थित नामग्याल विद्यालयमा आयोजित कार्यक्रम सरकारको सहमतिमा भएको भए त्यसले नेपालले लामो समयदेखि अवलम्बन गर्दै आएको एक–चीन नीतिको मर्मविपरीत हुने र नेपाल–चीन सम्बन्धसँगै देशको भू–राजनीतिक सन्तुलनमा समेत नकारात्मक असर पार्न सक्ने बताएका छन्।
संयुक्त वक्तव्यमा उनीहरूले नेपालले निरन्तर एक–चीन नीतिप्रति प्रतिबद्धता जनाउँदै आएको, नेपालको भूमिलाई कुनै पनि मित्र राष्ट्रविरुद्ध प्रयोग हुन नदिने अडान लिँदै आएको र हालै परराष्ट्रमन्त्री शिशिर खनालको चीन भ्रमणका क्रममा पनि यही प्रतिबद्धता दोहोर्याइएको स्मरण गराएका छन्। त्यस सन्दर्भमा नेपालको परराष्ट्र नीतिमा कुनै परिवर्तन आएको हो भन्ने प्रश्न पनि उनीहरूले उठाएका छन्।
पूर्वराजदूतहरूले यस्ता गतिविधिले नेपालको स्थायित्व, विकास, स्वतन्त्रता र राष्ट्रिय हितमा प्रतिकूल प्रभाव पार्न सक्ने भन्दै सरकारलाई संवेदनशील र जिम्मेवार बन्न आग्रह गरेका छन्।
असार २२ गते दलाई लामाको जन्मजयन्ती मनाउने विषयमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले कार्यक्रमअघि जिल्ला सुरक्षा समितिको बैठक बोलाएको थियो। त्यसपछि कार्यक्रम आयोजना गर्न अनुमति दिइएको भन्ने समाचार सार्वजनिक भएका थिए। यद्यपि जिल्ला प्रशासन कार्यालयले औपचारिक रूपमा अनुमति दिएको पुष्टि वा त्यसबारे स्पष्टिकरण भने हालसम्म सार्वजनिक गरेको छैन।
