`

यस्ता छन् मन्त्रिपरिषद्का निर्णय

Nepal One HD ३० असार २०८३ १७:४४
बिशेष

काठमाडौं। सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका पाँच महत्वपूर्ण निर्णय सार्वजनिक गरेको छ।

सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेलले बैठकले प्रशासन, खेलकुद, सुरक्षा, कृषि र मिटरब्याजसँग सम्बन्धित विभिन्न निर्णय गरेको जानकारी दिए।

मन्त्रिपरिषद्का निर्णयअनुसार बीउबिजन (पहिलो संशोधन) नियमावली, २०८३ स्वीकृत गरिएको छ। यससँगै बीउबिजन व्यवस्थापनसम्बन्धी कानुनी व्यवस्था संशोधन भई कार्यान्वयनको बाटो खुलेको छ।

त्यस्तै, सशस्त्र प्रहरी बल, नेपाल अन्तर्गत खोज तथा उद्धार कार्यमा खटिने कर्मचारीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय पनि गरिएको छ। जोखिमपूर्ण उद्धार कार्यमा संलग्न जनशक्तिलाई प्रोत्साहित गर्ने उद्देश्यले उक्त निर्णय गरिएको सरकारको भनाइ छ।

मन्त्रिपरिषद्ले अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियोथेरापिस्ट र व्यवस्थापकलाई नगद पुरस्कारसहित सम्मानपत्र प्रदान गर्ने निर्णय पनि गरेको छ। यसले अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिनिधित्व गर्ने खेलकर्मीलाई थप हौसला मिल्ने अपेक्षा गरिएको छ।

बैठकले नेपाल वायुसेवा निगम सञ्चालक समितिका अध्यक्ष महेश्वरभक्त श्रेष्ठलाई महाप्रबन्धकको जिम्मेवारीसमेत सम्हाल्ने गरी कार्यकारी अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको छ। यससँगै निगमको नेतृत्व कार्यकारी मोडलबाट सञ्चालन हुने भएको छ।

यस्तै, अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धमा विगतमा गठन भएका विभिन्न आयोगका प्रतिवेदन गृह मन्त्रालयमार्फत तत्काल कार्यान्वयन गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।

सरकारका अनुसार मिटरब्याज पीडितका समस्या समाधानका लागि आयोगहरूले दिएका सिफारिस कार्यान्वयनमा लैजाने प्रक्रिया अब अघि बढाइनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *