विश्वकप फाइनलको मैदान बेच्दै फिफा
काठमाडौं। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विश्वकप २०२६ को फाइनल खेलसँग जोडिएको अनौठो व्यावसायिक योजना सार्वजनिक गरेको छ। फिफाले फाइनल खेल सम्पन्न भएपछि प्रयोग हुने मैदानको घाँसका टुक्रा संकलन गरेर सीमित संस्करण (लिमिटेड एडिसन) का रूपमा बिक्री गर्ने तयारी गरेको हो।
फाइनल खेल अमेरिकाको न्यूजर्सीस्थित मेटलाइफ स्टेडियममा हुनेछ। सोही मैदानको घाँसलाई साना–साना टुक्रामा काटेर स्मरणिकाका रूपमा समर्थकलाई बिक्री गर्ने योजना फिफाले अघि सारेको छ।
फिफाले घाँसका टुक्रालाई चार फरक मूल्य वर्गमा बिक्री गर्ने जनाएको छ। सुरुआती मूल्य ४५० अमेरिकी डलर तोकिएको छ भने अन्य प्याकेजको मूल्य ९०० डलर, १,२०० डलर र ३,००० अमेरिकी डलरसम्म रहनेछ। नेपाली मुद्रामा सबैभन्दा सस्तो प्याकेजको मूल्य करिब ६८ हजार रुपैयाँभन्दा बढी पर्छ।
सबैभन्दा महँगो प्याकेज खरिद गर्ने समर्थकले मैदानको घाँससँगै विश्वकप फाइनलको प्रतिकृति टिकट, मिनी विश्वकप बल र क्रिस्टल ट्रफीको प्रतिकृति पनि प्राप्त गर्नेछन्। प्रत्येक मूल्य वर्गमा अधिकतम २,०२६ वटा मात्र उपलब्ध गराइने भएकाले यसलाई सीमित संस्करणका रूपमा बिक्री गरिनेछ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार यो योजनाबाट फिफाले १ करोड १० लाख अमेरिकी डलरभन्दा बढी अतिरिक्त आम्दानी गर्न सक्ने अनुमान गरिएको छ।
फिफाको आधिकारिक स्टोरमा मैदानको प्रत्येक टुक्राको आकार १७.५ × १७.५ हुने उल्लेख गरिएको छ। यद्यपि, उक्त मापन इन्च, सेन्टिमिटर वा मिलिमिटरमध्ये कुन एकाइमा हो भन्ने स्पष्ट गरिएको छैन।
फिफाले समर्थकलाई अग्रिम अर्डर गर्न सकिने व्यवस्था मिलाएको छ। फाइनल खेल सम्पन्न भएपछि अर्डरअनुसार मैदानबाट संकलित घाँसका टुक्रा खरिदकर्तालाई पठाइने जनाइएको छ।
विश्वकपसँग सम्बन्धित स्मरणिकाको व्यापार नयाँ विषय नभए पनि यसपटक फिफाले प्रत्यक्ष रूपमा फाइनल खेलिएको मैदानकै घाँस बिक्री गर्ने निर्णय गरेपछि समर्थक र खेल वृत्तमा मिश्रित प्रतिक्रिया देखिएको छ।
केहीले यसलाई खेल इतिहासको सम्झना सुरक्षित गर्ने अवसरका रूपमा लिएका छन् भने कतिपयले व्यावसायीकरणको अर्को उदाहरणका रूपमा आलोचना गरेका छन्।
