न्युयोर्क टाइम्स-द प्रिन्ट-गार्जियन देखि आजतकसम्म, बालेनको सम्बोधनलाई कसले के भने?
काठमाडाैं। प्रधानमन्त्री बालेन्द्र शाह यतिबेला विश्वभर चर्चाको केन्द्रमा छन्। संयुक्त राष्ट्रसंघको महासभामा बालेनले बोलेको भाषण नेपालमा मात्र सीमित रहेन। उनको सम्बोधनका फरक-फरक विषय अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका फ्रन्ट पेजमै छापिएका छन्।
बालेनले भोटेकोशी, त्रिशूली क्षेत्रको विपत्तिलाई ‘स्थानीय त्रासदी’मा सीमित गर्न नहुने बताएका थिए। उनको प्रश्न थियो, ‘के हामीले त्यो चेतावनी साँच्चै सुनेका छौँ?’
नेपालको विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा योगदान ०.१ प्रतिशतभन्दा कम रहेको उल्लेख गर्दै बालेनले प्रश्न उठाए, संकट सिर्जना नगरेको देशले त्यसको मूल्य किन तिर्ने?
बालेनको सम्बोधनलाई कसैले नेपालको विनाशकारी बाढीलाई जलवायु परिवर्तनको विश्वव्यापी चेतावनीका रूपमा प्रस्तुत गरे। कसैले विपत्तिपछिको पुनर्निर्माणका लागि नेपालले उठाएको ‘ऋण होइन, अनुदान’को मागलाई मुख्य समाचार बनाए।
भारतीय सञ्चारमाध्यमले भने नेपाल, भारत र चीनबीच हिमालय संरक्षणका लागि संयन्त्र बनाउने प्रस्तावलाई प्राथमिकता दिए। उनको भाषणको केन्द्रमा थियो-हिमालयमा बढ्दो जलवायु जोखिम, जलवायु न्याय र विपत्तिको अन्तर्राष्ट्रिय जिम्मेवारी।
अमेरिकी समाचार संस्था एसोसिएटेड प्रेस (एपी)ले बालेनको सम्बोधनलाई नेपालको पछिल्लो बाढी र जलवायु परिवर्तनसँग जोडेर प्रस्तुत गरेको छ।
द गार्जियनले शाहको सम्बोधनलाई विश्व नेताहरूलाई सम्बोधन गर्दै जलवायु परिवर्तनका कारण नेपालजस्ता संकटमा कम योगदान गरेका देशले ठूलो क्षति व्यहोर्नुपरेको उल्लेख गर्दै समाचार छापेको छ।
उसले अगाडि लेखेको छ, ‘शाहले चार साताअघि आएको बाढीपछि नेपालको पुनरुत्थान तथा पुनर्निर्माणको आवश्यकता कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को करिब १० प्रतिशत बराबर हुने अनुमान गरिएको बताएका छन्। उनले जलवायुजन्य विपत्तिबाट पुनर्निर्माण गर्न जोखिममा रहेका देशलाई थप ऋण लिन बाध्य पार्न नहुने तर्क गरेका छन्।’
‘हिमताल विपद्पछिको पुनर्निर्माणका लागि नेपाललाई ऋण होइन, अनुदान चाहिन्छ : यूएनमा बालेन शाह’ शीर्षकमा द प्रिन्टले समाचार प्रकाशित गरेको छ। उसले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले हिमताल फुटेर आएको बाढीबाट भएको क्षतिपछि पुनरुत्थानका लागि अन्तर्राष्ट्रिय समुदायसँग अनुदानमा आधारित सहयोग उपलब्ध गराउन संयुक्त राष्ट्रसंघको महासभामा बिहीबार आग्रह गरेको उल्लेख गरेको छ।
भारतीय सञ्चारमाध्यमले भने बालेनको भाषणको अर्को महत्वपूर्ण पक्ष समातेका छन्।
भारतको आजतकले भारत र चीनले विपत्तिपछि नेपाललाई गरेको सहयोगप्रति बालेनले धन्यवाद दिएको र त्यसपछि हिमालयका लागि साझा जलवायु संयन्त्रको प्रस्ताव गरेको विषयलाई प्रमुखता दिएको छ।
त्यस्तै, भारतकै एनडीटीभीले बालेनले नेपाल, भारत र चीनबीच ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम’ स्थापना गर्न प्रस्ताव गरेको विषयलाई समेटेर समाचार प्रकाशित गरेको छ।
उता, विश्वचर्चित पत्रिका द न्युयोर्क टाइम्सले भने बालेनले लगाउने चस्माको चर्चा गरेको छ। न्यूयोर्क टाइम्सले प्रधानमन्त्री बालेन्द्र शाह सार्वजनिक कार्यक्रममा प्रायः कालो चस्मामा देखिने गरेको र यो उनको सार्वजनिक पहिचानको हिस्सा बनेको उल्लेख गरेको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले पनि उनको भाषणबाट आ-आफ्नै शीर्षक निकाले। कसैले बाढी देखे, कसैले अनुदानको माग देखे। कसैले हिमालयमा क्षेत्रीय सहकार्यको प्रस्ताव देखे।
एउटै भाषणबाट निस्किएका यी फरक-फरक एंगलले बालेनको सम्बोधनलाई अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा समेत बहसको विषय बनाएको देखिन्छ।
