पाकिस्तानमा अहमदीहरू विरुद्धको हिंसा रोक्न राष्ट्रसङ्घका विज्ञहरूको आग्रह


संयुक्त राष्ट्रका विज्ञहरूले बिहीबार पाकिस्तानको अहमदी अल्पसङ्ख्यक समुदाय विरुद्ध बढ्दो भेदभाव र हिंसाको विषयमा सार्वजनिक प्रतिवेदनमा गम्भीर चिन्ता व्यक्त गरेका छन् ।
प्रतिवेदनमा समुदाय विरुद्ध गैरन्यायिक हत्या र धार्मिकस्थल आक्रमणजस्ता कार्यहरु समावेश रहेका छन्।
“पाकिस्तानमा अहमदिया समुदाय विरुद्ध चलिरहेको हिंसा र भेदभावबाट हामी चिन्तित छौं”, संयुक्त राष्ट्र मानव अधिकार परिषद्ले नियुक्त गरेको नौँ जना स्वतन्त्र विज्ञहरूले बताएका छन् ।
“यी हिंसात्मक आक्रमण र भेदभावजन्य वातावरणको निर्क्योल गर्न तत्काल उपायहरू अवलम्बन गर्न आवश्यक छ”, उनीहरूले एक विज्ञप्तिमा भने । संयुक्त राष्ट्र मानव अधिकार परिषद्ले नियुक्त गरेको विज्ञहरुले हालैका महिनामा भएका घटनालाई उद्धत गर्दै बताएका छन् ।
प्रतिवेदनमा जुलाई ८ मा साद उल्ला पुरमा दुई अहमदीको हत्या र मार्च ४ मा बहावलपुर जिल्लामा अहमदी समुदायका अध्यक्षको हत्याको घटना समावेश रहेको छ ।
विज्ञहरुले यस वर्षको सुरुदेखि नै अहमदी धार्मिकस्थल र कब्रिस्तानहरूमा खतरनाक सङ्ख्यामा आक्रमण भएको जानकारी गराएका छन् ।
आफूलाई मुस्लिम मान्ने अहमदी समुदायको विश्वास लगभग हरेक तरिकामा मुख्यधाराको इस्लामसँग मिल्दोजुल्दो छ । तर आन्दोलनको संस्थापक मिर्जा गुलाम अहमद “महदी“ वा मसीहा थिए भन्ने विश्वासले उनीहरूलाई विशेष गरी पाकिस्तानमा ईश्वरनिन्दाको रूपमा चिन्ह लगाइएको छ। पाकिस्तानमा करिब पाचँ लाख अहमदीहरू छन्।
संविधानले सन् १९७४ देखि उनीहरूलाई गैर–मुस्लिमको दर्जा दिएको छ र सन् १९८४ को कानुनले उनीहरूलाई आफ्नो धर्मलाई इस्लामिकको रूपमा दावी गर्न वा खुला रूपमा इस्लामिक अनुष्ठानहरू पालन गर्न निषेध गरेको छ ।
“अहमदीहरूको शान्तिपूर्वक आफ्नो विश्वास प्रकट गर्ने अधिकारलाई सम्मान गर्नुपर्दछ”, विज्ञहरूले बताएका छन् ।
उनीहरूले गत महिना पाकिस्तानको राष्ट्रिय सभाले ‘धार्मिक अल्पसङ्ख्यकहरूसहित सबै पाकिस्तानी नागरिकहरूको सुरक्षा सुनिश्चित गर्न सङ्घीय र प्रान्तीय सरकारहरूलाई आग्रह’ गर्ने प्रस्ताव पारित गरेकोमा खुसी व्यक्त गरेका छन् ।