`

लेबननमा स्थल आक्रमण गर्नसक्ने इजरायली सेना प्रमुखको भनाइ

Nepal One HD १० असोज २०८१ १०:२९
विश्व

बीबीसी । इजरायली सेना प्रमुखले लेबननमा लडाकु समूह हिज्बुल्लाह लक्षित व्यापक हवाई हमलाले आफूहरूलाई ‘शत्रुको भूभाग प्रवेश’ गर्ने बाटो खुला गर्न सक्ने बताएका छन् ।

लेफ्टिनेन्ट जेनरल हेजरी हालेभीले भने, ‘तपाईँले आकाशमा जेटका आवाज सुनिरहनु भएको छ; हामी दिनभरि हमला गरिरहेका छौँ। त्यो त्यहाँ सम्भावित प्रवेश र हिज्बुल्लाहलाई कमजोर पार्ने दुवै कुराका लागि आधार तयार पार्न हो।’

लेबननका स्वास्थ्यमन्त्रीले बुधबार भएका हमलामा ५० जनाभन्दा धेरै मानिसहरू मारिएको जनाएका छन् । जसलाई इजरेली सेनाले हिज्बुल्लाहको गुप्तचर निर्देशनालयका साथै लन्चर र अस्त्र भण्डारहरूमा गरिएको हमला बताएको छ ।

चर्किरहेको परिस्थितलाई मत्थर पार्नका लागि कूटनीतिक प्रयासहरू भइरहँदा र फ्रान्स र अमेरिकाले २१ दिने युद्ध विराम प्रस्ताव गरेका छन् । लेबननमा स्थल अतिक्रमण तत्काल हुनसक्ने लेफ्टिनेन्ट जेनरल हालेभीको अभिव्यक्ति वरिष्ठ इजरेली अधिकारीबाट आएको पछिल्लो प्रस्ट सङ्केत हो ।

‘हामीले जहाँतहीँ उनीहरूलाई हमला र प्रहार गरिरहेका छौँ,’ उनले इजरयलको उत्तरी सीमा सैन्य अभ्यास गर्न लागेका सैनिकहरूलाई सम्बोधन गर्दै बताएको इजरेली सेनाले आफ्नो एक विज्ञप्तिमा जनाएको छ ।

सेना प्रमुखले आफ्ना बलले ‘शत्रुको नास गर्ने’ र तिनका पूर्वाधारसमेत ध्वस्त पार्ने बताएका छन् । इजरायल लेबननमा प्रवेश गर्न चाहेको भन्ने तत्काल कुनै सङ्केत नरहेको बताइँदै आएको थियो । बुधवार अमेरिकी पेन्टागनले त्यस्तो अवस्था ‘तत्काल’ नदेखिएको जनाएको थियो।

तर सेनाका दुई रिजर्भ ब्रिगेडलाई ‘उत्तरी मोर्चाको कारबाही मिशन’का बोलाएको केही बेरमा इजरेली सेना प्रमुखको उक्त भनाइ आएको हो । इजरायली सेनाले हिज्बुल्लाह लडाकुहरू सीमाबाट निकै पछाडि हट्नुपर्ने जनाएको छ ।

सन् २००६ मा संयुक्त राष्ट्रसङ्घले पारित गरेको एक प्रस्तावमा लितानी नदीको उत्तरमा बस्नुपर्ने भनिएको छ । अमेरिका लगायत इजरायलका साझेदारहरूले त्यस क्षेत्रमा पूर्ण आकारको युद्ध नहोस् भनेर काम गरिरहेको जनाएका छन् ।

फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोंले संयुक्त राष्ट्रसङ्घमा बोल्ने क्रममा ’लेबननमा युद्ध हुन नसक्ने’ बताए । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले युद्ध विराम तत्काल कार्यान्वयन गर्न अपिल गर्दै स्थिति नियन्त्रण बाहिर गइरहेको बताएका छन्।


प्रतिक्रिया