`

एफबीआईको नेतृत्व काश पटेललाई दिने अमेरिकी राष्ट्रपति निर्वाचित ट्रम्पको घोषणा

Nepal One HD १६ मंसिर २०८१ १५:४३
विश्व

वासिङ्टन । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना विश्वासपात्र काश पटेललाई सङ्घीय अनुसन्धान विभाग (एफबिआई) को नयाँ निर्देशक बनाउने लक्ष्य राखेको बताएका छन्।

ट्रम्पले ब्यूरोका वर्तमान् गतिविधिको आलोचना गर्दै आएका र तथाकथित सरकारी ‘डिप स्टेट’ को बारेमा आलोचक आफ्ना पूर्व सल्लाहकारसमेत रहेका पेन्टागनका अधिकारीलाई एफबिआई निर्देशक बनाउन लागेको उनको आफ्नै लगानीको सामाजिक सञ्जाल, ट्रुथ सोशल नेटवर्कमा उल्लेख गरेका छन् ।

एफबीआईका वर्तमान निर्देशक क्रिस्टोफर रेलाई सन् २०१७ मा १० वर्षे कार्यकालका लागि नियुक्त गरिएको थियो ।

ट्रम्पले नियुक्त गरेका रेको नेतृत्वमा एफबीआईले राष्ट्रपति निर्वाचित ट्रम्पमाथि समेत अनुसन्धान गरेको छ ।

ट्रम्पले ट्रुथ सोसलमा लेखेका छनु, “काश एक प्रतिभाशाली वकिल, अन्वेषक र ‘अमेरिका फस्र्ट’ अभियानका अभियान्ता हुनुहुन्छ । उहाँले आफ्नो सेवालाई भ्रष्टाचारको पर्दाफास गर्न, न्यायका लागि र अमेरिकी जनताको रक्षा गने कार्यमा लगानी गर्नुभएको छ ।”

आगामी राष्ट्रपतिका कट्टर समर्थक पटेलले ट्रम्पलाई पर्दा पछाडिबाट दबाउने काम गर्ने कथित पक्षपाती सरकारी नोकरशाहहरूको ट्रम्प विरोधी ‘डिप स्टेट’ को रिपब्लिकन कट्टरपन्थी धारणालाई समर्थन गर्छन् र यस बिषयमा एउटा पुस्तक समेत लेखेका छन् ।

भारतीय मुलका एक परिवारका सन्तान पटेलले ट्रम्पको पहिलो कार्यकालमा राष्ट्रिय सुरक्षा सल्लाहकार र कार्यवाहक रक्षामन्त्रीको चिफ अफ स्टाफका रुपमा काम गरेका थिए।

“काशले मेरो पहिलो कार्यकालमा अविश्वसनीय काम गर्नुभएको छ”, ट्रम्पले भने, “उहाँले अमेरिकामा बढ्दो अपराध महामारीको अन्त्य गर्न, आप्रवासी आपराधिक गिरोहलाई ध्वस्त पार्न र सीमापार मानव र लागूपदार्थ तस्करीको दुष्ट अभिशाप रोक्नका लागि काम गर्नुहुनेछ ।”

ट्रम्पले एफबीआईका पूर्व निर्देशक जेम्स कोमीलाई बर्खास्त गरेपछि कार्यवाहक निर्देशकको स्थानमा ट्रम्पले आफ्नो पहिलो कार्यकालमा रेलाई नियुक्त गरेका थिए ।

पूर्वराष्ट्रपति ट्रम्पको रूससँगको विस्तृत सम्बन्धबारे कोमीको नेतृत्वमा एफबीआईले गरेको अनुसन्धानबाट ट्रम्पलाई कोमीविरूद्ध आक्रोशित बनाएको थियो ।

रेको नेतृत्वमा एफबीआईले ट्रम्पस्वयंले सन् २०२२ मा उनको ‘मार–ए–लागो एस्टेट’मा गैरकानुनी रूपमा गोप्य कागजात राखेको आरोपमा अनुसन्धान गरेको थियो ।

ट्रम्पले सन् २०२१ को जनवरी ६ मा अमेरिकी संसद भवनमा हिंसात्मक आक्रमण गर्ने आफ्ना सयौं समर्थकको अनुसन्धानसहित ब्युरोको अनुसन्धानको लामो समयदेखि विरोध गर्दै आएका छन् ।

सीएनएनलाई दिएको बयानमा एफबीआईले भनेको छ, “रेको ध्यान एफबीआईका पुरुष र महिला, हामीसँग काम गर्ने व्यक्ति र हामीले काम गर्ने व्यक्तिहरूमा केन्द्रित भएको छ ।”

ट्रम्पले फ्लोरिडाका शेरिफ चाड क्रोनिस्टरलाई ड्रग इन्फोर्समेन्ट एडमिनिस्ट्रेसन (डीईए) को प्रशासकमा मनोनीत गरेका छन् ।

उनले ट्रुथ सोसलमा लेखेका छन्, “चाडले हाम्रा महान् महान्यायाधिवक्ता पाम बोन्डीसँग सीमा सुरक्षित गर्न, फेन्टानिल र अन्य अवैध लागूपदार्थको प्रवाह रोक्न र अमेरिकी नागरिकको जीवनको सुरक्षाका लागि काम गर्नुहुनेछ ।”

ट्रम्पका कट्टर सहयोगी तथा फ्लोरिडाका पूर्व महान्यायाधिवक्ता बोन्डी न्याय विभागको नेतृत्वका लागि अमेरिकी राष्ट्रपति निर्वाचित ट्रम्पको छनौट छन् ।

एफबीआई न्याय विभागको अनुसन्धान शाखा हो भने डीईए पनि यसको क्षेत्राधिकारभित्र पर्छ ।

बोन्डी र पटेलको नियुक्तिले ट्रम्पले आफ्नो दृष्टिकोण र नीतिगत झुकाव पूरा गर्न इच्छुक निकटस्थहरूलाई नियुक्ति गर्ने व्यक्तिहरूको सूचीमा राख्न इच्छुक रहेको सङ्केत गर्दछ । 


प्रतिक्रिया