`

झापामा राति ९ बजेपछि देउसी–भैलो कार्यक्रम नगर्न अनुरोध

Nepal One HD ३० असोज २०८२ २०:०४
समाज

विराटनगर । तिहारको अवसरमा खेलिने देउसी–भैलो झापामा राति ९ बजेसम्ममात्र खेल्न पाइने भएको छ । जिल्ला प्रशासन कार्यालय झापाले बिहीबार सार्वजनिक गरेको सूचनामा शान्ति सुरक्षाको कारण देउसी–भैलो जस्ता सांस्कृतिक कार्यक्रम राति ९ बजेपछि नगर्न अनुरोध गरिएको छ ।

जिल्लाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले दिपावली, नेपाल संवत् र छठ पर्वको अवसरमा शुभकामना दिँदै चाडपर्वहरू शान्तिपूर्ण वातावरणमा मनाउन आग्रह गरेका छन् । उनले चाडपर्व मनाउने क्रममा समाजमा शान्ति, अमनचयन र सद्भाव कायम राख्न सबै पक्षको सहयोग आवश्यक रहेको बताए ।

चार्डपर्वलाई लक्षित गर्दै प्रशासनले आठ बुँदे सूचना पनि जारी गरेको छ । सूचनामा देउसी–भैलो राति ९ बजेसम्म सीमित गर्न, जुवातास र डाइस खेल नगर्न, आतंक सिर्जना हुने गरी पटका पड्काउन वा आतिशबाजी गर्न निषेध गरिएको छ ।

त्यसैगरी, प्लास्टिकका फूलमाला प्रयोग नगरी प्राकृतिक फूल र माला प्रयोग गर्न, अखाद्य तथा म्याद गुज्रिएका वस्तु बिक्री नगर्न, मूल्य वृद्धि र कृत्रिम अभाव सिर्जना नगर्न र सवारी साधनमा क्षमताभन्दा बढी यात्रु नराख्न आग्रह गरिएको छ ।

सामाजिक सञ्जालमा अरूको मर्यादामा आघात पुग्ने, घृणा वा अफवाह फैलाउने सामग्री सम्प्रेषण नगर्न अनुरोध गरिएको छ । त्यस्तै, कुनै अवाञ्छित गतिविधि वा समस्या देखिएमा नजिकको प्रहरी इकाइमा वा प्रहरी कन्ट्रोल रुम १०० तथा मोबाइल नम्बर ९८५२६७१५५५ मा सम्पर्क गर्न पनि सूचनामा उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *