`

ओलीलाई पाण्डेको सुझाव : निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिनू

Nepal One HD १० माघ २०८२ १०:५४
नेकपा एमाले

काठमाडौं । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले निर्वाचनको संवेदनशील समयमा पार्टीभित्र एकता र सामूहिक जिम्मेवारीलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् । उनले यस चरणमा नेतृत्वबाट आउने अभिव्यक्तिहरूले कार्यकर्ताको मनोबल खस्काउने होइन, झन् उत्साह र एकतामा बाँध्ने खालका हुनुपर्ने बताएका छन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले टिकट वितरणका विषयमा दिएको अभिव्यक्तिलाई संकेत गर्दै पाण्डेले सामाजिक सञ्जालमार्फत आफ्ना धारणा सार्वजनिक गरेका हुन् । उनले चुनावी माहोलमा आपसी टिप्पणी र सार्वजनिक न्यूनीकरणले पार्टीलाई कमजोर बनाउने चेतावनी दिँदै संस्थागत निर्णय र सामूहिक सोचको आधारमा अघि बढ्नु नै राजनीतिक परिपक्वता भएको उल्लेख गरेका छन् ।

पाण्डेले लेखेका छन्, ‘निर्वाचनको यो संवेदनशील घडीमा पार्टीलाई एकढिक्का बनाउनु हाम्रो प्रमुख जिम्मेवारी हो । नेतृत्वका भनाइहरूले कार्यकर्ताको मनोबल घटाउने होइन, सबैलाई जोड्ने ऊर्जा प्रदान गर्नुपर्छ । आफ्नै सहयोद्धाहरूलाई सार्वजनिक रूपमा कमजोर बनाउनुको सट्टा संस्थागत निर्णयको जगमा उभिएर बाह्य चुनौतीको सामना गर्नु नै सही बाटो हो ।’

टिकट वितरणप्रति असन्तुष्टि रहे पनि पार्टी निर्णयलाई संस्थागत रूपमा स्वीकार गरिसकेको स्पष्ट पार्दै पाण्डेले यस विषयमा अनावश्यक विवाद नगर्ने बताएका छन् । उनका अनुसार पार्टी हितका लागि टिकट वितरणको ‘क्याल्कुलेसन’ स्वीकार गरिएको हो, तर पूर्वाग्रही टिप्पणीहरूले एमालेको साझा लक्ष्य—चुनाव जित्ने संकल्प—लाई सहयोग नगर्ने उनको ठम्याइ छ ।

‘वैचारिक असहमति राख्ने साथीहरू पनि मेरो लागि उत्तिकै आदरणीय एमाले हुन्’, पाण्डेले भनेका छन्, ‘मत फरक हुँदैमा कसैप्रति पूर्वाग्रह राख्ने संस्कार मेरो राजनीतिक जीवनमा छैन ।’ उनले व्यक्तिगत टिप्पणीहरूको खण्डनमा समय खेर फाल्नुभन्दा अहिलेको प्राथमिकता एमालेका उम्मेदवारहरूलाई जिताउने र संगठनको साख जोगाउने रहेको बताएका छन् । त्यसका लागि आफू पूर्ण रूपमा चुनावी मैदानमा खटिइसकेको पनि उनले उल्लेख गरेका छन् ।

पाण्डेको सन्देश समग्रमा पार्टीभित्र एकता, संयमता र सामूहिक उत्तरदायित्वलाई केन्द्रमा राख्दै निर्वाचनमा केन्द्रित हुनुपर्ने आग्रहका रूपमा आएको छ । उनले चुनावी प्रतिस्पर्धालाई जितमा बदल्न नेतृत्वदेखि कार्यकर्तासम्म सबै एक ढिक्का भएर अघि बढ्नुपर्ने धारणा व्यक्त गरेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *