गगन थापालाई चुनावी हारमा दोषमुक्त गर्दै झन् शक्तिशाली बनाइँदै (भिडियो)
काठमाडौं । नेपाली कांग्रेस भित्र देखिएको पछिल्लो राजनीतिक घटनाक्रमले सभापति गगन थापा लाई हटाउने होइन, झन् शक्तिशाली बनाउँदै लैजाने संकेत देखिएको छ।
प्रतिनिधिसभा निर्वाचन २०८२ को कमजोर परिणामपछि नैतिक जिम्मेवारी लिँदै राजीनामा दिएका थापाको निर्णयलाई नै अब पार्टीभित्रै ‘नैतिक बल’ का रूपमा व्याख्या गर्न थालिएको छ।
केन्द्रीय समिति बैठकमा थापाको राजीनामा प्रमुख एजेन्डा बन्ने भए पनि त्यसलाई अस्वीकृत गर्ने तयारीसँगै उनी पुनः बलियो जनादेशसहित नेतृत्वमा फर्किने अवस्था बन्दै गएको छ।
उपसभापति विश्वप्रकाश शर्मा ले राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेस गर्ने घोषणा गरिसकेका छन्। उनले थापाको कदमलाई “नैतिक साहस” भन्दै अहिलेको आवश्यकता नेतृत्व परिवर्तन नभई परिस्थिति सम्हाल्ने भएको स्पष्ट पारेका छन्।
पार्टी प्रवक्ता देवराज चालिसे ले पनि बैठकमा चुनावी समीक्षा र राजीनामाबारे खुला छलफल हुने बताए पनि समग्र संकेत नेतृत्व जोगाउनेतर्फ केन्द्रित देखिन्छ। यसले थापाको निर्णयलाई उल्टै पार्टीभित्र समर्थन संकलन गर्ने माध्यम बनाएको विश्लेषण भइरहेको छ।
उपसभापति पुष्पा भुसाल ले सबै धारणा समेटेर निष्कर्ष निकालिने बताएकी छन्, तर शीर्ष तहका नेताहरूको अभिव्यक्तिले थापाको राजीनामा स्वीकृत हुने सम्भावना कमजोर देखिन्छ।
महामन्त्री गुरुराज घिमिरे ले त झन् चुनावी हारलाई वर्तमान नेतृत्वसँग मात्र नजोड्न आग्रह गर्दै दीर्घकालीन संरचनागत कमजोरीतर्फ औंल्याएका छन्। यसले पनि थापामाथिको प्रत्यक्ष दबाब कम गर्दै उनलाई ‘दोषमुक्त’ बनाउने आधार तयार गरेको छ।
यता प्रकाशशरण महत ले एक व्यक्तिको राजीनामाले समस्या समाधान नहुने बताउँदै व्यापक सहमति र नियमित महाधिवेशनको आवश्यकता औंल्याएका छन्।
उनको भनाइले पनि नेतृत्व परिवर्तनभन्दा संस्थागत सुधारतर्फ ध्यान केन्द्रित गर्नुपर्ने सन्देश दिएको छ।
