राष्ट्रिय सभामा ओली-लेखकलाई रिहा गर्न एमालेको माग
काठमाडौं । नेकपा एमालेले राष्ट्रिय सभा बैठकमा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकको तत्काल रिहाइको माग गरेको छ। एमाले सांसद प्रेमकुमार दंगालले नवगठित सरकारको पहिलो निर्णय नै प्रतिशोधपूर्ण भएको आरोप लगाउँदै सरकारको नियतप्रति प्रश्न उठाए।
फागुन २१ मा सम्पन्न निर्वाचनबाट बहुमत प्राप्त गरी प्रधानमन्त्री बनेका बालेन्द्र शाहलाई उनले बधाई दिँदै भने कि सरकारले आफ्नो काम गुण-दोषको आधारमा समर्थन वा विरोध गर्नुपर्छ। सांसद दंगालले पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई मध्यरातमा ‘आतङ्ककारी जस्तो’ गिरफ्तार गरिएको भन्दै यसप्रति आपत्ति व्यक्त गरे।
भदौ २३ र २४ को प्रदर्शनका क्रममा भएको जनधनको क्षतिको लागि गठित गौरीबहादुर कार्की आयोगको प्रतिवेदनलाई दंगालले ‘मिथ्याङ्क र पूर्वाग्रहमा आधारित’ भन्दै खारेज गर्न माग गरे।
एमालेले अध्यक्ष ओली र नेता लेखकको बिना शर्त रिहाइ, पूर्वाग्रही कार्की आयोगको प्रतिवेदन अविलम्ब खारेज, मन्त्रिपरिषदको चैत १३ को निर्णय फिर्ता, सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको नेतृत्वमा स्वतन्त्र तथा निष्पक्ष उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन, र गलत प्रतिवेदन प्रस्तुत गर्ने आयोगका अध्यक्ष तथा सदस्यहरूमाथि छानबिन र कारबाही गर्न माग गरेको छ।
दंगालले भने, ‘दुईपटक मृगौला प्रत्यारोपण गरिसकेका र बुढेशकालमा रहेका व्यक्तित्वलाई बुवाको काजक्रिया सकिन नपाउँदै अपमानजनक ढंगले गिरफ्तार गर्नु निर्दयी र आपराधिक मनोवृत्ति हो।’
उनले सरकारको दमनकारी नीतिको विरोध गर्दै देशभरि एमाले कार्यकर्तामाथि भएको प्रहरी हस्तक्षेप र सुर्खेतस्थित पार्टी कार्यालयमाथि भएको आक्रमणको समेत भर्त्सना गरे।
