नक्कली भुटानी शरणार्थी प्रकरणको सुनुवाइ स्थगित, किन भयो ?
काठमाडौं। नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको आरोपमा दायर उच्च प्रोफाइल मुद्दाको सोमबार तय भएको सुनुवाइ स्थगित भएको छ।
जिल्ला अदालत काठमाडौंमा न्यायाधीश ईश्वरीप्रसाद भण्डारीको इजलासमा पेसी तोकिएको भए पनि जिल्ला सरकारी वकिल कार्यालयको निवेदनपछि सुनुवाइ स्थगित गरिएको हो।
यो मुद्दामा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डेलगायत उच्च पदाधिकारी तथा बिचौलियाहरूविरुद्ध किर्ते, ठगी, सङ्गठित अपराध र राज्यविरुद्धको अपराधसम्बन्धी अभियोग लगाइएको छ।
२०८० जेठ १० मा दायर गरिएको अभियोगपत्रमा ३० जनालाई प्रतिवादी बनाइएको छ। तीमध्ये केही पक्राउ परेका, केही धरौटीमा छुटेका र केही अझै फरार रहेको जनाइएको छ।
पक्राउ परेकामध्ये १६ जनालाई थुनामा राखेर मुद्दा चलाइएको थियो भने केही उच्च अदालतबाट धरौटी वा तारेखमा रिहा भएका छन्। हाल पनि केही अभियुक्त फरार रहेको बताइएको छ।
यस प्रकरणले नेपाली राजनीति र प्रशासन क्षेत्रमा ठूलो तरंग ल्याएको थियो। लामो समयदेखि विचाराधीन रहेको यो मुद्दा अन्तिम सुनुवाइको चरणमा पुगेको भए पनि पटक-पटक स्थगित हुँदै आएको छ।
अदालतले अर्को सुनुवाइको मिति भने अझै तोकेको छैन।
