४ जना पक्राउ
कास्की। मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका-२६ बुढीबजार बस्ने ५० वर्षीय विष्णुबहादुर राजभाट, पोखरा-९ नयाँबजार बस्ने भारत घर भएका ३१ वर्षीय अमिर उल्ला मिया, पोखरा-१७ बस्ने मोरङ घर भएकी २१ वर्षीया महिला र पोखरा-८ बस्ने सिन्धुली घर भएकी ३१ वर्षीया महिला रहेका छन् ।
पोखरा महानगरपालिका-८ जाल्पारोडस्थित विभिन्न खाजाघरमा अनैतिक गतिविधि भइरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
प्रारम्भिक अनुसन्धानका क्रममा पीडितहरूलाई विभिन्न प्रलोभन देखाई खानबस्नको सुविधा र राम्रो तलबको आश्वासन दिँदै होटलमा काम लगाइदिन्छु भन्दै अनैतिक कार्यमा संलग्न गराउने गरिएको खुलेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरूलाई जिल्ला अदालत कास्कीबाट मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी कसुरमा ५ दिन म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
