`

मेयर राजेशमानसहित ४ जनाविरुद्ध मुद्दा दर्ता, के हो कसुर ?

Nepal One HD २ जेठ २०८३ १३:४७
अर्थ समाचार

वीरगन्ज। वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहसहित चार जनाविरुद्ध पर्सा जिल्ला अदालतमा लिखतसम्बन्धी कसुरमा मुद्दा दर्ता भएको छ ।

जिल्ला महान्यायाधिवक्ता कार्यालयले झुटा प्रमाण पेस गरी नागरिकता तथा राहदानी (पासपोर्ट) बनाएको आरोपका आधारमा नगर प्रमुख सिंहसहित चार जनाविरुद्ध शुक्रबार अदालतमा मुद्दा दर्ता गरेको हो ।

मुद्दा पर्सा जिल्ला अदालतको मुद्दा नं. ८२–सी–१–१०८३ मा दर्ता भएको अदालतका श्रेस्तेदार प्रभाकर कुमार मलिकले जानकारी दिएका छन् ।

मुद्दामा नगर प्रमुख सिंहसँगै सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–१० की रिता भट्टराई, रुविना श्रेष्ठ तथा वीरगन्ज महानगरपालिकाका तत्कालीन पञ्जीकरण अधिकारी भिखारी रायलाई प्रतिवादी बनाइएको छ ।

सरकारी वकिलको कार्यालयले उनीहरूविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा ४१ अनुसार सजायको माग गर्दै मुद्दा दायर गरेको हो ।

सोही घटनासँग सम्बन्धित अन्य तीन वटा मुद्दा पनि दर्ता भएका छन् । ती मुद्दाहरू ८२–सी–१–१०८४, ८२–सी–१–१०८५ र ८२–सी–१–१०८६ नम्बरमा दर्ता भएका हुन् ।

मुद्दा नं. १०८४ मा रुविना श्रेष्ठविरुद्ध ६ महिना कैद वा एक वर्ष बाल सुधार गृहको सजायको माग गरिएको छ । मुद्दा नं. १०८५ मा झुटा विवरणका आधारमा नागरिकता लिएको आरोपमा १५ हजार रुपैयाँ जरिवानाको माग गरिएको छ । मुद्दा नं. १०८६ मा नागरिकता र राहदानी दुरुपयोगको आरोपमा २ देखि ५ लाख रुपैयाँसम्म जरिवाना र १ देखि ३ वर्षसम्म कैद सजायको माग गरिएको छ ।

आरोपपत्र अनुसार नगर प्रमुख सिंहले रिता भट्टराईलाई श्रीमती भएको झुटा विवरण पेस गरी २०७१ माघ २० गते रुविनाको जन्म दर्ता गराएको र त्यसैका आधारमा २०७५ साउन १० गते नागरिकता तथा पछि राहदानी बनाइएको दाबी गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *