राहदानी विभाग अगाडि आत्मदाह प्रयास गर्ने व्यक्ति को हुन् ?
काठमाडौं। त्रिपुरेश्वरस्थित राहदानी विभाग बाहिर आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गर्ने व्यक्तिको पहिचान खुलेको छ। प्रहरीका अनुसार उक्त घटनामा संलग्न व्यक्ति मुगु जिल्लाको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपाली हुन्। उनी हाल भक्तपुरमा बसोबास गर्दै आएका थिए।
प्रहरीका अनुसार बिहीबार दिउँसो करिब १:४५ बजे राहदानी विभागको ३ नम्बर गेट नजिक उनले आफैंले प्रयोग गर्दै आएको मोटरसाइकलबाट पेट्रोल निकाली शरीरमा छर्किएर आगो लगाएका थिए। घटनास्थलमा रहेका प्रहरी र प्रत्यक्षदर्शीले तत्काल आगो नियन्त्रणमा लिएपछि उनको उद्धार गरिएको थियो।
घटनापछि उनलाई तत्काल काठमाडौं महानगरपालिकाको सहयोगमा उपचारका लागि महाबौद्धस्थित वीर अस्पताल लगिएको थियो। अस्पतालमा उनको उपचार जारी रहेको प्रहरीले जनाएको छ।
अस्पताल स्रोतका अनुसार उनको शरीरका विभिन्न भागमा गम्भीर जलन भएको छ र अवस्था चिन्ताजनक रहेको छ। यद्यपि, जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार उनी अहिले सामान्य रूपमा बोल्न सक्ने अवस्थामा रहेका छन्।
आत्मदाह प्रयास गर्नुको कारण भने अहिलेसम्म खुलेको छैन। प्रहरीले घटनासँग सम्बन्धित सबै पक्षबारे अनुसन्धान अघि बढाएको जनाएको छ।
घटनास्थलबाट संकलित प्रमाण, प्रत्यक्षदर्शीको बयान तथा अन्य तथ्यका आधारमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
