गणेश नेपाली मृत्यु प्रकरण : अनुसन्धानका लागि तीन नगर प्रहरी नियन्त्रणमा
काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाह प्रयासपछि उपचारका क्रममा मृत्यु भएका २५ वर्षीय गणेश नेपालीको घटनाबारे अनुसन्धान गर्न प्रहरीले तीन जना नगर प्रहरीलाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार दुई महिला र एक पुरुष नगर प्रहरीलाई नियन्त्रणमा लिएर कालीमाटी प्रहरी वृत्तमा राखी घटनाबारे सोधपुछ भइरहेको छ। घटनासँग सम्बन्धित सबै पक्षको भूमिका अनुसन्धानको दायरामा ल्याइएको प्रहरीले जनाएको छ।
मुगुको सोरु गाउँपालिका–१ स्थायी घर भएका गणेश नेपाली काठमाडौंमा राइड सेयरिङ सेवा सञ्चालन गर्दै आएका थिए। बिहीबार दिउँसो राहदानी विभागअगाडि पार्किङ गरिएको उनको मोटरसाइकलमा नगर प्रहरीले ह्विल लक लगाएपछि उनी र सुरक्षाकर्मीसँग केहीबेर विवाद भएको बताइएको छ।
आफन्तका अनुसार त्यसपछि उनले मोटरसाइकलबाट पेट्रोल निकालेर आफ्नै शरीरमा खन्याई आगो लगाएका थिए। घटनालगत्तै उनलाई उद्धार गरी वीर अस्पताल पुर्याइएको थियो।
बिहीबार दिउँसो करिब ३ बजे वीर अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएका नेपालीको शरीरको करिब ५५ प्रतिशत भाग जलेको चिकित्सकहरूले बताएका थिए। उनको ‘बर्न आइसियु’ मा सघन उपचार भइरहेको थियो।
उपचारकै क्रममा शुक्रबार बिहान करिब साढे ११ बजे उनको निधन भएको प्रहरीले पुष्टि गरेको छ।
प्रहरीले घटनाको वास्तविक कारण, घटनाअघि भएको विवाद तथा नगर प्रहरीको भूमिकालगायत सबै पक्षबारे अनुसन्धान भइरहेको जनाएको छ।
