जापानलाई ९ विकेटले पराजित गर्दै नेपाल सेमिफाइनलमा
काठमाडौं। नेपाल एसीसी महिला यू-१९ प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ। बुधबार भएको समूह चरणको अन्तिम खेलमा जापानलाई ९ विकेटले पराजित गर्दै नेपालले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो।
टस जितेर पहिले बलिङ गरेको नेपालले जापानलाई ८६ रनमै अलआउट गरेको थियो। नेपाली टोलीका लागि रिया शर्मा र क्रिस्मा गुरुङले समान २–२ विकेट लिए। अनु कठायत, मनिषा उपाध्याय र सोनी पाख्रीनले १–१ विकेट हात पारे।
८७ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले ११.२ ओभरमै १ विकेट गुमाएर जित हात पार्यो। ओपनर साना प्रविण १६ बलमा १८ रन बनाएर आउट भए पनि सावित्री धामीले ३२ बलमा अविजित ४१ रन र कप्तान सोनी पाख्रीनले २२ बलमा अविजित १८ रन जोड्दै टोलीलाई सहज जित दिलाए।
नेपालले समूह चरणमा लगातार उत्कृष्ट प्रदर्शन गर्दै सिंगापुर, हङकङ र जापानलाई पराजित गरेको हो। अब नेपालले सेमिफाइनलमा संयुक्त अरब इमिरेट्स (यूएई)सँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ।
