रास्वपा सांसद केपी खनालको धम्की, भिडियो भाइरल
काठमाडौं। ‘कल्ले भन्यो? प्रमाण छ? हाल्छु-जाक्छु अहिले। समायो भने थाहा हुन्छ।’
उल्लेखित अभिव्यक्तिपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य केपी खनालको सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ। कार्यक्रमको सिलसिलामा कैलाली पुगेका उनको लम्की प्रादेशिक अस्पताल व्यवस्थापन समितिका सदस्य धीरेन्द्र थापासँग भनाभन भएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो।
कार्यक्रममा प्रश्न उठेपछि सांसद खनालले आक्रोशित हुँदै धम्कीपूर्ण अभिव्यक्ति दिएको आरोप लागेको हो। भिडियोमा सांसद खनालका समर्थकले प्रश्न सोध्ने मान्छेलाई थर्काएको देखिन्छ। ‘माननीय ज्युले रोकेको केही प्रमाण छ तपाईंसँग?’ भिडियोमा सांसद खनालका समर्थकले प्रश्न सोध्ने मानिसलाई प्रतिप्रश्न गरेका छन्।
घटना खनालकै निर्वाचन क्षेत्र लम्कीमा आयोजित अस्पतालसम्बन्धी छलफलका क्रममा भएको हो। कार्यक्रममा सदस्य थापाले ‘लम्कीका मेयरलाई पक्राउ गर्न खोज्दा तपाईंले रोकेको हो भन्ने चर्चा छ, के त्यो सत्य हो ?’ भन्दै सांसद खनाललाई प्रश्न गरेका थिए।
प्रश्नको जवाफ दिँदै सांसद खनाल आक्रोशित बने। भिडियोमा उनले ‘कसले भन्यो ? प्रमाण छ ? हाल्छु अहिले, जाक्छु। समात्यो भने थाहा हुन्छ। यस्ता मान्छेलाई त तपाईंहरूले सदस्यमा राख्नुभएको छ। अनधिकृत बोल्न मिल्छ ?’ भनेको सुनिन्छ।
सांसदको उक्त अभिव्यक्ति सार्वजनिक भएपछि भिडियो सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिएको छ भने उनको व्यवहारबारे विभिन्न प्रतिक्रिया आइरहेकाका छन्।
अस्पताल व्यवस्थापन समितिका सदस्य धीरेन्द्र थापाले आफूले लम्की अस्पताल सञ्चालनसम्बन्धी विवाद समाधानका विषयमा प्रश्न उठाएको मात्र बताए। उनका अनुसार प्रदेश सरकार र स्थानीय तहबीच अस्पताल सञ्चालनलाई लिएर लामो समयदेखि विवाद चलिरहेका बेला त्यसको समाधानबारे जिज्ञासा राख्दा सांसद खनालले आवेगमा आएर धम्की दिएको दाबी गरेका छन्।
यता, सांसद खनालका स्वकीय सचिव हेमराज ढकालले भने घटनालाई फरक ढंगले व्याख्या गरेका छन्। उनका अनुसार लम्की प्रादेशिक अस्पताल सञ्चालनसम्बन्धी विवाद समाधानका लागि व्यवस्थापन समितिले सांसद खनाललाई छलफलमा बोलाएको थियो।
ढकालका अनुसार छलफलका क्रममा सांसद खनालले प्रदेश सरकार र स्थानीय सरकार एउटै राजनीतिक नेतृत्वको भएकाले आपसी समन्वय गरेर अस्पताल सञ्चालनको समस्या समाधान गर्नुपर्ने धारणा राखेका थिए। त्यसपछि एक सदस्यले ‘सुशीला शाहीलाई पक्राउ गर्न खोज्दा तपाईंले रोक्नुभयो’ भन्ने आरोपसहित प्रश्न गरेपछि सांसद खनाल आक्रोशित बनेका हुन्।
कार्यक्रममा सांसद खनालले प्रदेश र स्थानीय सरकारले अस्पताल सञ्चालन गर्न नसक्ने अवस्था आए संघीय सरकारले नै लम्की अस्पताल सञ्चालन गर्नुपर्ने धारणा पनि राखेका थिए।
लम्की प्रादेशिक अस्पतालको सञ्चालन तथा व्यवस्थापनको अधिकारलाई लिएर प्रदेश सरकार र स्थानीय तहबीच लामो समयदेखि विवाद जारी छ।
