दमनकारी शासकको जनताबाट विरोध र नाश हुन्छ : ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दमनकारी, पीडक र जनविरोधी शासकको अन्ततः जनताबाट विरोध हुने बताएका छन्। उनले जनताको आवाज दबाउने र अरूलाई बोल्न नदिने शासकविरुद्ध जनताको प्रतिरोध हुने दाबी गरेका छन्।
काठमाडौँमा आयोजित छापा माध्यम बचाउ कार्यदलको सुझावपत्र बुझ्दै ओलीले दमनकारी शासनको अन्त्य हुने कुरा अहिलेका शासकहरूले पनि बुझ्नुपर्ने बताएका छन्।
उनले भनेका छन्, ‘जुन शासक दमनकारी हुन्छ, जुन शासक पीडक हुन्छ, जुन शासक जनविरोधी हुन्छ, अत्याचारी हुन्छ, अरुको आवाज दबाउँछ, अरुलाई बोल्न दिँदैन, अरुलाई अप्ठेरोमा पार्छ, अरु अप्ठेरोमा पर्दा रमाउँछ, त्यस्ता शासकहरूको विरोध हुन्छ । त्यस्ता शासकहरूको जनताबाट विरोध हुन्छ, त्यस्ता शासकहरूको नाश हुन्छ ।’
उनले यस्तो विषय विगतमा मात्र नभई वर्तमान अवस्थामा पनि उत्तिकै सान्दर्भिक रहेको बताए। आफूले पनि शास्त्रमा उल्लेखित यिनै विषयलाई आधार बनाएर कुरा गरेको उनको भनाइ थियो।
‘त्यही थियो, त्यो कुरा सत्य हो,’ उनले भने, ‘अहिलेका शासकले पनि बुझ्नुपर्ने कुरा हो । मैले पनि शास्त्रकै कुरा गरेको हो।”
ओलीले आफू लामो समयदेखि जनताको अधिकार, स्वतन्त्रता र समानताको पक्षमा राजनीतिक संघर्ष गर्दै आएको दाबी गरे। व्यक्तिगत रूपमा पनि विभिन्न विषयमा आफू संघर्षको मैदानमा उभिएको उनले बताए।
‘यो लडाईं हामी लड्दै आएको हौं, म व्यक्तिगत तवरबाट पनि अनेक कुराहरूलाई लिएर जनताका हकलाई लिएर लडाईंको मैदानमा उभिएको थिएँ,’ उनले भने।
उनले आफूले करिब ६० वर्षअघि संयुक्त राष्ट्रसंघको बडापत्र र मानव अधिकारको घोषणापत्र पढेको स्मरण गर्दै त्यसले स्वतन्त्रता र समानताको पक्षमा अघि बढ्न प्रेरित गरेको बताए। त्यसयता आफूले बुझेर र जानेर स्वतन्त्रताको पक्षमा संघर्ष गर्दै आएको ओलीको भनाइ छ।
