`

बालेनको नाम बेचेर न्यायाधीशसँग पहुँच! हिमालयन होटलमा के भएको थियो?

Nepal One HD १४ कार्तिक २०८३ १३:०२
बिशेष

काठमाडौं । न्यायालयभित्र सम्भावित विचौलिया सञ्जाल र न्यायिक निर्णयमा बाह्य प्रभावको आशङ्कामाथि प्रश्न उठिरहेका बेला सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले विवादित पात्र ईनम सापकोटासँग काठमाडौंको हिमालयन होटलमा भेटेको स्वीकार गरेका छन् ।

फुयालको स्वीकारोक्तिले प्रकरणलाई थप पेचिलो बनाएको छ । उनले सापकोटासँग आफू एक्लै नभई सर्वोच्च अदालतका अन्य न्यायाधीशसमेत सहभागी भएको बताएका छन् । तर, भेटमा सहभागी न्यायाधीशहरूको नाम भने खुलाउन चाहेका छैनन् ।

सापकोटाले आफू प्रधानमन्त्री वालेन्द्र शाह(बालेन)को निकट व्यक्ति भएको र सरकारका उच्च तहसम्म पहुँच रहेको दाबी गर्दै न्यायाधीशहरूलाई महाभियोगबाट जोगाउन सक्ने आश्वासन दिएको फुयालको भनाइ छ ।

त्यतिबेला न्यायाधीशहरूमाथि महाभियोग लाग्ने चर्चा चलिरहेको थियो । यही परिस्थितिलाई उपयोग गरेर सापकोटाले न्यायाधीशहरूसँग सम्पर्क बढाएको फुयालको दाबी छ ।

प्रधानमन्त्रीसँग पहुँच रहेको दाबी गर्ने व्यक्तिसँग न्यायाधीशहरूले किन भेट्नुपर्ने अवस्था आयो ? विचाराधीन मुद्दामा चासो राखेर सन्देश पठाउने व्यक्तिसँग होटलमै भेट्ने प्रस्ताव किन गरियो ? राजनीतिक वृत्तमा यो प्रश्न  चर्किएको छ। 

सार्वजनिक भएको ह्वाट्सएप संवादमा सापकोटाले सर्वोच्च अदालतमा विचाराधीन रोहित गुप्ताको मुद्दा खारेज गर्न आग्रह गरेको देखिन्छ । उक्त संवादमा हिमालयन होटलमा भेट्ने प्रस्ताव स्वयं फुयालले गरेको विवरणसमेत सार्वजनिक भएको छ ।

फुयालले भेटको पुष्टि गर्दै सापकोटाले प्रधानमन्त्री आफूहरूसँग खुसी नभएको र महाभियोगको प्रक्रिया अघि बढ्न सक्ने भन्दै ठूलो स्वरमा कुरा गरेको बताएका छन् ।

अझ रोचक त, होटलको बिल आफूहरूले तिर्न खोज्दा सापकोटाले अर्कै व्यक्तिको नाममा राख्न लगाएको फुयालको दाबी छ । यदि यस्तो भएको हो भने भेटको खर्च कसले बेहोरेको थियो र बिल अर्कै व्यक्तिको नाममा राख्नुपर्ने कारण के थियो भन्ने प्रश्न पनि अनुसन्धानको विषय बन्नेछ ।

फुयालले सापकोटासँग कुनै आर्थिक लेनदेन नभएको र आफूहरू कुनै सेटिङमा सहभागी नभएको दाबी गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *