`

कुलेखानी जलाशय भरिन लागेपछि पहिलो चेतावनी जारी

Nepal One HD १५ कार्तिक २०८३ १२:३२
समाचार

काठमाडाैं। लगातारको वर्षाका कारण मकवानपुरस्थित कुलेखानी जलाशयमा पानीको सतह बढेपछि पहिलो चेतावनी जारी गरिएको छ। जलाशयको सतह अधिकतम क्षमतानजिक पुगेपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै आयोजनाले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको हो।

शनिबार बिहानसम्म जलाशयमा पानीको सतह १ हजार ५२७ दशमलव ९३ मिटर पुगेको छ। जलाशयको अधिकतम भण्डारण क्षमता १ हजार ५३० मिटर हो।

कुलेखानी प्रथम जलविद्युत् केन्द्रका प्रमुख प्रह्लाद राउतका अनुसार जलाधार क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले जलाशयमा पानीको सतह तीव्र रूपमा बढिरहेको छ। केही घण्टामै पानीको सतह १ हजार ५२८ मिटर नाघ्न सक्ने अनुमान गरिएको छ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले जलाशयको तल्लो तटीय क्षेत्र र नदी किनार आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्। उनले नदी किनारबाट टाढा अग्लो तथा सुरक्षित स्थानमा बस्न र आयोजनाबाट जारी हुने सूचना तथा मोबाइलमा प्राप्त एसएमएस निर्देशन पालना गर्न अनुरोध गरेका छन्।

जलाशयको सतह थप बढेर बाँधको ढोका खोल्नुपर्ने अवस्था आएमा साइरन बजाएर पूर्वसूचना दिइने आयोजनाले जनाएको छ। त्यस्तै, देउराली–सिस्नेरी सडकखण्ड भएर आवतजावत गर्ने यात्रुलाई पनि सावधानी अपनाउन आग्रह गरिएको छ।

कुलेखानी जलाशयको पानीको सतह १ हजार ५२७ मिटर पुगेपछि पहिलो चेतावनी दिने व्यवस्था छ। जलसतह थप बढ्दै गएमा जोखिमको अवस्थाअनुसार थप चेतावनी जारी गरिनेछ।

जलाशयबाट पानी निकास गर्नुपर्ने अवस्था आएमा मकवानपुरका इन्द्रसरोवर, भीमफेदी र बागमती गाउँपालिकासहित तल्लो तटीय क्षेत्रका बस्ती प्रभावित हुन सक्ने भएकाले प्रशासनले पूर्वसतर्कता अपनाउन आग्रह गरेको छ।

यसअघि २०८१ असोजमा जलाशय भरिएपछि बाँधको ढोका खोल्दा तल्लो तटीय क्षेत्रमा बाढीले ठूलो क्षति पुर्‍याएको थियो। सम्भावित जोखिम दोहोरिन नदिन यसपटक प्रशासन र आयोजनाले पूर्वसूचना तथा सतर्कतामा जोड दिएका छन्।

हालसम्म बाँधको ढोका खोलिएको जानकारी सार्वजनिक भएको छैन। जलाशयको पानीको सतह र वर्षाको अवस्थालाई निरन्तर निगरानीमा राखिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *