बालेन सरकारकाे निरङ्कुशतासामु प्रेसले घुँडा टेक्दैन : आङ्देम्बे
काठमाडौं । प्रमुख प्रतिपक्षी तथा नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पत्रकारलाई पक्राउ गरेर समाचारको सत्य मार्न नसकिने बताएका छन्।
समाचार लेखेकै आधारमा पत्रकारमाथि धरपकड गर्ने र सञ्चारमाध्यमलाई प्रहरी परिचालन गरेर त्रसित बनाउने सरकारको कार्यशैलीप्रति पनि उनले आपत्ति जनाएका छन्।
शनिबार प्रेस वक्तव्य जारी गर्दै आङ्देम्बेले बालेन नेतृत्वको सरकारको कार्यशैलीले प्रेस स्वतन्त्रता र कानुनी राज्यको अवधारणामाथि प्रहार गरेको बताएका हुन्।
‘पत्रकारलाई पक्राउ गरेर न त समाचारको सत्य मार्न सकिन्छ न त प्रेसलाई कुनै निरङ्कुशताका सामु घुँडा टेकाउन नै,’ आङ्देम्बेले भनेका छन्।
पछिल्लो समय समाचार लेखेकै आधारमा पत्रकार पक्राउ गर्ने, सञ्चारमाध्यमका कार्यालयमा प्रहरीका गाडी तेर्स्याउने र समाचार कक्षमै प्रहरी प्रवेश गराएर पत्रकारलाई तर्साउने गतिविधि सार्वजनिक भएको भन्दै उनले सरकारको आलोचना गरेका छन्।
उनले अदालतमा विचौलियामार्फत सेटिङ भएको प्रकरणमा प्रधानमन्त्री, प्रधानन्यायाधीश, न्यायाधीश र सत्तापक्षीय सांसदको नाम जोडिएर समाचार सार्वजनिक भइरहेका बेला पत्रकारमाथि धरपकड हुनु गम्भीर विषय भएको बताएका छन्।
पत्रकारलाई पक्राउ पुर्जीबिनै धरपकड गरिएको र कतिपयलाई साइबर ब्युरोमा बोलाइएको घटनाले नेपालमा समाचार लेख्ने स्वतन्त्रता संकुचित हुँदै गएको उनले बताएका छन्।
सरकारका कमजोरी औंल्याउने पत्रकारलाई पक्राउ गर्ने प्रवृत्तिले सरकार आफूलाई जनताका प्रश्नभन्दा माथि राख्न खोजिरहेको सन्देश दिएको आङ्देम्बेको टिप्पणी छ।
प्रधानमन्त्रीको सचिवालय बेखबर रहेको, गृह प्रशासन अनभिज्ञ रहेको र प्रहरी प्रवक्ताले समेत बुझ्दै गरेको बताइरहेको अवस्थामा पक्राउ परेका पत्रकारले प्रधानमन्त्री कार्यालयकै दबाबमा पक्राउ गरिएको प्रहरी अधिकारीले बताएको दाबी गरेको उनले उल्लेख गरेका छन्।
‘प्रधानमन्त्रीको निर्देशन र सरकारका प्रत्येक कार्य कानुनसम्मत हुनुपर्छ,’ उनले भनेका छन्, ‘कानुनी राज्यको पालना र सम्मान गर्नु प्रधानमन्त्रीको समेत कर्तव्य हो।’
उनले राज्यका निकायलाई कानुनअनुसार काम गर्न र स्थापित छानबिन निकायलाई स्वतन्त्र रूपमा काम गर्ने वातावरण बनाउन आग्रह गरेका छन्।
दशकौंको संघर्षबाट प्राप्त वाक् तथा प्रकाशन स्वतन्त्रता र कानुनी राज्यको सर्वोच्चतालाई कमजोर बनाउने गतिविधि स्वीकार्य नहुने उनको भनाइ छ।
आङ्देम्बेले पत्रकारमाथिको धरपकड र सञ्चारमाध्यममाथिको अनधिकृत हस्तक्षेपको भर्त्सना गर्दै सरकारलाई आफ्ना राजकीय जिम्मेवारी कानुनसम्मत रूपमा निर्वाह गर्न आह्वान गरेका छन्।
यस्तै कार्यस्थलमा रहेका कर्मचारीलाई समेत धरपकड गर्ने कार्य लोकतान्त्रिक सरकारको चरित्र हुन नसक्ने उनले उल्लेख गरेका छन्।
उच्च सरकारी अधिकारीलाई मनपरी ढङ्गले सेवाबाट हटाउने प्रयास र कर्मचारीलाई प्रधानमन्त्री कार्यालयमा थुनेर काममा हस्तक्षेप गर्ने कार्यको पनि नेता आङ्देम्बेले निन्दा गरे ।
