`

काठमाडौंमा पहिलो फिल्म फेस्टिभल सम्पन्न, सम्पदा र सिनेमालाई जोड्ने प्रयास

Nepal One HD १६ कार्तिक २०८३ १७:०५
मनोरञ्जन

काठमाडौं । काठमाडौं महानगरपालिकाले आयोजना गरेको तीनदिने ‘काठमाडौं फिल्म फेस्टिभल’ आइतबार सम्पन्न भएको छ । युनेस्कोको ‘क्रिएटिभ सिटी अफ फिल्म’ सञ्जालमा आबद्ध काठमाडौंमा पहिलोपटक आयोजना गरिएको महोत्सवमा नेपाली तथा विदेशी चलचित्र प्रदर्शनसँगै सांस्कृतिक प्रस्तुति, सम्पदा पदयात्रा, अन्तरक्रिया र रेड कार्पेट समारोह आयोजना गरिए ।

शुक्रबार वसन्तपुरबाट सुरु भएको महोत्सवको उद्घाटन परम्परागत सम्पदा पदयात्रा र सांस्कृतिक प्रस्तुतिबाट गरिएको थियो । जुद्ध सालिक क्षेत्रमा पाहुनाको स्वागतपछि वसन्तपुर डबली र कुमारी घर पुर्‍याइएको थियो । त्यसपछि नारायण मन्दिर, माजु देगः, गद्दी बैठक र श्वेत भैरव आसपासका सम्पदा क्षेत्रमा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएका थिए ।

उद्घाटन समारोहमा गणेश चर्या, अष्टमातृका नृत्य तथा परम्परागत बाजागाजासहितका प्रस्तुति राखिएका थिए । कुटुम्ब, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सांस्कृतिक प्रस्तुतिसमेत देखाइएको थियो । मुनासा नेपालको प्रस्तुति र आर्मय नकर्मी निर्देशित नाटक ‘हसाना (सन्देश)’ पनि प्रदर्शन गरिएको थियो ।

उद्घाटन कार्यक्रममा काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल, सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत, युनेस्को काठमाडौंका प्रमुख जाको दु तोइत, भारतीय अभिनेत्री शबाना आजमी, प्राध्यापक मार्को मुलर तथा नेपाली कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य सहभागी थिए ।

कार्यवाहक प्रमुख डंगोलले चलचित्रलाई काठमाडौंको कला, संस्कृति, भाषा र सम्पदा अन्तर्राष्ट्रियस्तरमा चिनाउने माध्यमका रूपमा विकास गर्नुपर्ने बताइन् । उनले सहरको समृद्धि भौतिक पूर्वाधारमा मात्र सीमित नहुने भन्दै स्थानीय भाषा, कला र सिर्जनशीलताको संरक्षणमा जोड दिइन् ।

प्राध्यापक मार्को मुलरले महोत्सवले दक्षिण एसियासहित विश्वका सिर्जनशील उद्योगलाई नयाँ सन्देश दिन सक्ने बताए । अभिनेता हरिवंश आचार्यले नेपालको प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक सम्पदा चलचित्र छायांकनका लागि सम्भावनायुक्त रहेको उल्लेख गरे । अभिनेता मदनकृष्ण श्रेष्ठले चलचित्रलाई सूचना र शिक्षाको प्रभावकारी माध्यमका रूपमा व्याख्या गरे ।

महोत्सवको दोस्रो दिन शनिबार रेड कार्पेट समारोह आयोजना गरिएको थियो । समारोहमा प्रधानमन्त्री पत्नी सबिना काफ्लेसहित नेपाली चलचित्र क्षेत्रका कलाकार तथा अन्तर्राष्ट्रिय चलचित्रकर्मी सहभागी भए ।

रेड कार्पेटमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, करिश्मा मानन्धर, विनोद मानन्धर, दीपकराज गिरी, शर्मिला मल्ल, केकी अधिकारी, नीर शाह र बसुन्धरा भुसाललगायत सहभागी थिए । भारतीय अभिनेत्री शबाना आजमी, प्राध्यापक तथा फिल्म निर्माता मार्को मुलर, जापानी निर्देशक ताकायुकी नाकामुरा र भारतीय फिल्म प्रोग्रामर दीप्ति डी’कुन्हालगायत अन्तर्राष्ट्रिय पाहुनाको पनि उपस्थिति थियो ।

दोस्रो दिन शबाना आजमीसँग ‘सिनेमा, महोत्सव र अर्थपूर्ण जीवन’ विषयमा अन्तरक्रिया गरिएको थियो । जापानी निर्देशक नाकामुराले जापानको यामागाता युनेस्को फिल्म सिटीबारे अनुभव प्रस्तुत गरेका थिए । यसै दिन नेपाली पानोरामा, अन्तर्राष्ट्रिय पानोरामा र सर्ट फिल्म भिडियो च्यालेन्जअन्तर्गतका चलचित्र प्रदर्शन तथा छलफल पनि भएका थिए ।

महोत्सवको अन्तिम दिन आइतबार जय नेपाल सिनेमा र राष्ट्रिय सभा गृहमा नेपाली तथा विदेशी चलचित्र प्रदर्शन गरिएका थिए । जय नेपाल सिनेमामा दक्षिण कोरियाली चलचित्र ‘द किङ्स वार्डेन’, भारतीय चलचित्र ‘नट अ हिरो’ र ‘नो गुड मेन’ तथा अमेरिकी चलचित्र ‘द गडफादर’ प्रदर्शनको तालिका राखिएको थियो ।

राष्ट्रिय सभा गृहमा पुरानो नेपाली चलचित्र ‘कुमारी’ को पुनःस्थापित संस्करणसँगै नेपाली लघु चलचित्र प्रदर्शन गरिएको थियो ।

महोत्सवमार्फत महानगरपालिकाले चलचित्र प्रदर्शनलाई काठमाडौंको कला, संस्कृति तथा ऐतिहासिक सम्पदाको प्रवर्द्धनसँग जोड्ने प्रयास गरेको छ । साथै, अन्तर्राष्ट्रिय चलचित्रकर्मीबीच अनुभव आदानप्रदान र नेपाली चलचित्र क्षेत्रको सम्भावना उजागर गर्ने उद्देश्य राखिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *