एनपीएलमा ८९ लाखको अनलाइन सट्टेबाजी, भारतीय युवक पक्राउ
काठमाडौं । कीर्तिपुरमा नेपाल प्रिमियर लिग (एनपीएल) को खेल चलिरहेका बेला अनलाइन सट्टेबाजीको धन्दा चलाएको आरोपमा एक भारतीय युवक पक्राउ परेका छन् ।
प्रहरीले ८९ लाख रुपैयाँभन्दा बढीको बेटिङ कारोबार गरेको आरोपमा भारतको बिहारस्थित भोजपुरका ३२ वर्षीय सोनुकुमार सिन्हालाई नियन्त्रणमा लिएको हो ।
काठमाडौं महानगरपालिका–१७ ठमेलमा बस्दै आएका सिन्हालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार त्रिवि क्रिकेट मैदानमा जारी एनपीएलका खेलमा अनलाइनमार्फत सट्टेबाजी भइरहेको सूचना पाएपछि अनुसन्धान अघि बढाइएको थियो । अनुसन्धानका क्रममा सिन्हाले विभिन्न बेटिङ साइट प्रयोग गरी ८९ लाख ८१ हजार ७२९ रुपैयाँ बराबरको कारोबार गरेको प्रारम्भिक रूपमा खुलेको प्रहरीको दाबी छ ।
खेल मैदानमा खेलाडीको प्रदर्शन हेरेर दर्शक रमाइरहेका बेला अनलाइनमा भने पैसाको बाजी चलिरहेको प्रहरी अनुसन्धानले देखाएको छ । पक्राउ परेका सिन्हालाई जुवा खेल्ने वा सट्टेबाजी गर्ने कसुरमा थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।
एनपीएलको लोकप्रियतासँगै खेलको नाममा अनलाइन सट्टेबाजीको कारोबार भइरहेको आशंकामा प्रहरीले निगरानी बढाएको छ ।
