एनपीएल : मिलरको ९३ रनका बाबजुद कर्णाली ३९ रनले पराजित
काठमाडौं । दक्षिण अफ्रिकी विस्फोटक ब्याटर डेभिड मिलरले नेपाल प्रिमियर लिग (एनपीएल) मा डेब्यु खेलमै ब्याटिङको तुफान ल्याए । तर, उनको एकल प्रयासले कर्णाली याक्सलाई जित दिलाउन सकेन ।
मिलरले अविजित ९३ रन बनाए पनि अन्य ब्याटर चल्न नसक्दा कर्णाली सुदूरपश्चिम रोयल्ससँग ३९ रनले पराजित भएको छ ।
सुदूरपश्चिमले दिएको १७७ रनको लक्ष्य पछ्याएको कर्णालीले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १३६ रन मात्रै बनाउन सक्यो । एक छेउबाट मिलरले रनको वर्षा गरे पनि अर्को छेउका ब्याटरले साथ दिन सकेनन् ।
५५ बल सामना गरेका मिलरले पाँच चौका र सात छक्कासहित अविजित ९३ रन बनाए । विकेटकिपर दीपक डुम्रेले १२ बलमा तीन चौका र एक छक्काको मद्दतमा १८ रन जोडे । त्यसबाहेक कर्णालीका अन्य ब्याटरले दोहोरो अंकको रनसमेत बनाउन सकेनन् ।
सुदूरपश्चिमका स्कट कुगेलेइनले दुई विकेट लिए । हेमन्त धामी, अनिल खरेल, कप्तान दीपेन्द्रसिंह ऐरी, थरिन्दु रत्नायके र अविनाश बोहराले एक–एक विकेट हात पारे ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ६ विकेट गुमाएर १७६ रन बनाएको थियो ।
सुदूरपश्चिमका ओपनर सैफ अली जैबले २४ बलमा चार चौका र एक छक्कासहित ३५ रन बनाए । विनोद भण्डारीले २२ बलमा दुई चौका र दुई छक्काको मद्दतमा २७ रन जोडे । यी दुईले पहिलो विकेटका लागि ६८ रनको साझेदारी गर्दै टोलीलाई राम्रो सुरुवात दिलाएका थिए ।
तर, आठौँ ओभरमा विनोद र नवौँ ओभरमा जैब आउट भएपछि सुदूरपश्चिमको इनिङ्सले गति गुमायो । ब्रान्डन म्याकमुलेनले १६ बलमा २४ र इशान पाण्डेले १३ बलमा तीन छक्कासहित २३ रन बनाए । कप्तान दीपेन्द्रसिंह ऐरी १० र आरिफ शेख ११ रनमा आउट भए ।
अन्तिमतिर थरिन्दु रत्नायकेले आक्रामक ब्याटिङ गर्दै १२ बलमा तीन चौका र एक छक्कासहित अविजित २२ रन बनाए । स्कट कुगेलेइनले ६ बलमा दुई चौकाको मद्दतमा अविजित १३ रन थपे । सुदूरपश्चिमले अन्तिम पाँच ओभरमा मात्रै ५७ रन जोड्दै प्रतिस्पर्धात्मक योगफल तयार पारेको थियो ।
कर्णालीका मार्क वाटले दुई विकेट लिए भने नन्दन यादव, हुसेन तलत र सूर्य तामाङले एक–एक विकेट हात पारे ।
यो जितसँगै पाँच खेलमा तेस्रो जित निकालेको सुदूरपश्चिम ६ अंकसहित अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ । चार खेल खेलेको कर्णालीको भने यो लगातार दोस्रो हार हो । चार अंकसहित ऊ पाँचौँ स्थानमा झरेको छ ।
