`

लडाकु शिविरको घोटाला प्रकरण भ्रष्टाचार हैन, खुलेआम लुट थियो : शंकर पोखरेल

Nepal One HD ५ जेठ २०८० १४:१०
प्रमुख खबर

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले तत्कालीन माओवादी लडाकु शिविरको घोटाला प्रकरण भ्रष्टाचार नभइ खुलेआम लुट भएको बताउनु भएको छ ।

शुक्रबार आफ्नो सामाजिक सञ्जाल फेसबुकमा एक पोष्ठ गर्दै यस्तो बताउनु भएको हो । उहाँले माओवादी लडाकु शिविर प्रकरणमा ७-८ हजारको हाराहारीमा रहेका लडाकुहरुलाई ३२-३३ हजार पुर्‍याएको कुरा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल आफैंले बोलेको अडियोमा र रहेको र त्यो सामाजिक सञ्जालमा सुरक्षित रहेको बताउनु भयो ।

उहाँले लेख्नुभएको छ, ‘ वास्तविक लडाकु ७-८ हजारमध्ये केहीलाई शिविरमा राखेर अरू बाँकीलाई वाइसिएलका रुपमा राजनीतिक रुपमा परिचालित गरेको तथ्य अहिले माओवादीबाट बाहिरिएका धेरैले बोल्ने गर्दछन् । शिविरमा रहेकाहरुले वुझ्नेगरेको भत्ताको चेक उनीहरुका कमाण्डरले खोसेर राख्ने गरेको कुरा त्यहाँ बस्ने लडाकुहरु धेरैले धेरैपटक उठाउँदै आएको कुरा हो । अनमिनले प्रमाणीकरण गरेकाहरूमध्ये धेरैजसो समायोजनमा नगएर स्वैच्छिक अवकाश रोजेर राज्यबाट ठुलो रकम प्राप्त गरेकै हुन्। यी सबै तथ्यहरूबाट राज्यले कति अनुचित आर्थिक भारवोक्नु पर्‍यो र लडाकुको नाममा राज्यले उपलब्ध गराएको सहयोग कसरी उनीहरुका कमाण्डरहरुले लुटे र कसकसलाई बुझाए भन्ने कुरा खोजिगर्दा लुक्नसक्ने कुरा होइन ।’

महासचिव पोखरेलले लडाकु शिविरमा कुनै भ्रष्टाचार नभएको भन्दै प्रचण्डले हुंकार दिइरहेको बताउनुभयो ।

‘तर पनि प्रचण्डजीहरु अझै पनि ठुलो स्वरमा हुंकार दिइनै रहेका छन् लडाकु शिविरमा कुनै भ्रष्टाचार भएको छैन, अनियमितता भएको छैन । हो नि लुकेर गरेको भए पो भ्रष्टाचार र अनियमितता हुन्थ्यो । त्यो राज्यमाथिको खुलेआम लुट थियो, डकैती थियो । अनि माओवादीका सुप्रिमोहरुलाई लागिरहेको पनि होला खुलेआम लुट र डकैतीलाई भ्रष्टाचार भन्न मिल्छ र ?’, उहाँले लेख्नुभएको छ ।

महासचिव पोखरेलले नेपाली जनताले शान्तिका नाममा सबै कुरा सहँदै आएको उल्लेख गर्नुभएको छ ।


प्रतिक्रिया