`

प्रधानमन्त्रीले बोलाइन् मन्त्रीहरूसहितको बैठक

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आसन्न निर्वाचन, निर्वाचन आचारसंहिता लगायतका समसामयिक विषयमा छलफल गर्न मन्त्रीहरूसहितको बैठक बोलाएकी छन् । आइतबार ४ बजे प्रधानमन्त्री निवास, बालुवाटारमा बैठक हुनेछ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित रूपमा सम्पन्न गर्न सरोकारवालाबीच विचार–विमर्श गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार राम रावलले जानकारी दिए । चुनावका लागि प्रत्यक्षतर्फ मंगलबार उम्मेदवारी दर्ता गर्ने कार्यसूची छ । तर राजनीतिक दलहरूले उम्मेदवारी चयनका लागि आन्तरिक व्यवस्थापन गर्न समस्या परेपछि केही दिन मिति सार्न निर्वाचन आयोगलाई अनुरोध गरिरहेका छन् ।

नेकपा छाडेर पूर्वमन्त्री राय जसपा नेपालमा, नारायणकाजीसँग चुनाव भिड्ने

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का पूर्व केन्द्रीय सदस्य तथा पूर्व श्रममन्त्री रामेश्वर राय यादव जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका छन् । आइतबार बालकुमारीस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा, यादवसहित दर्जनौं नेता–कार्यकर्तालाई जसपा नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले औपचारिक रूपमा स्वागत गरेका छन् ।

रामेश्वर रायले सर्लाही–३ बाट प्रतिनिधिसभा निर्वाचनमा टिकटको आकांक्षा राखेका थिए । तर, नेकपाले यहाँ नारायणकाजी श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेपछि उनी असन्तुष्ट बनेका थिए । यही असन्तुष्टिका कारण उनले नेकपा छोडेर जसपा नेपालमा प्रवेश गरेका हुन् । उनसँगै चक्रघट्टा गाउँपालिका पूर्वअध्यक्ष विक्रम यादव र पत्रकार विजय यादव पनि जसपा नेपालमा प्रवेश गरेका छन् । राजनीतिक जीवनमा मधेसवादी दलबाट सुरु गरेका यादव ०७४ सालको निर्वाचनमा तत्कालीन माओवादी केन्द्रबाट सर्लाही–३ मा प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए । त्यसपछि उनले संघीय सरकारमा श्रममन्त्रीको जिम्मेवारी समेत सम्हालेका थिए ।

तर, ०७९ को निर्वाचनमा माओवादीले उनलाई सर्लाही–३ मा टिकट नदिएपछि यादव प्रचण्डसँग रुष्ट बनेका थिए । त्यतिबेला यादवले माओवादी उम्मेदवार नरेन्द्र साहको पराजयमा भूमिका खेलेको आरोप सामना गर्नु परेको थियो । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा, जसपा नेपालबाट यादव र नेकपाबाट नारायणकाजी श्रेष्ठबीच सर्लाही–३ मा प्रतिष्पर्धा हुने सम्भावना बढेको छ । यसै क्षेत्रमा एमालेले हरि उप्रेतीलाई उम्मेदवार बनाइसकेको छ । ०७९ को निर्वाचनमा उप्रेतीले माओवादी उम्मेदवार नरेन्द्र साहलाई करिब ७७० मतान्तरले पराजित गरेका थिए ।

स्थानीय तहको निर्वाचनमा पनि यादवको प्रभाव देखिएको थियो। चक्रघट्ट गाउँपालिकामा उनले आफ्नै छोरा विक्रम यादवलाई उम्मेदवार बनाएका थिए । तर, जसपाका कृष्णकुमार यादव विजयी भएका थिए । यसले स्पष्ट संकेत गर्दछ कि रायको गृहनगरमा माओवादीको प्रभाव केही कमजोर बन्दै गएको छ । राजनीतिक विश्लेषकहरूले आगामी चुनावमा सर्लाही–३ लाई ‘तीन दलको प्रतिस्पर्धा’ को मुख्य केन्द्रबिन्दुका रूपमा हेरेका छन् । यादवको जसपा प्रवेशले यस क्षेत्रको राजनीतिक समीकरणमा महत्वपूर्ण असर पार्ने सम्भावना देखिन्छ ।

 

 

छुट्टै रणनीति बनाउन शेखर समूह छलफलमा, गएन सर्वोच्च अदालत

काठमाडौँ । नेपाली कांग्रेसको भित्रभित्रको शक्ति संघर्ष अझै तातिरहेको छ । पार्टीको आधिकारिकता र नेतृत्वलाई लिएर निर्वाचन आयोग र सर्वोच्च अदालतसँग सम्बन्धित मुद्दामा कांग्रेस नेता डा. शेखर कोइरालाको समूहले छुट्टै रणनीति अघि बढाएको देखिएको छ ।

कांग्रेस नेता कोइरालाले आफ्ना निकटका नेताहरूसँग बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बैठक डाकेर पछिल्लो राजनीतिक घटनाक्रममा छलफल गरेका छन् । पूर्व सहमहामन्त्री जीवन परियारले भने, ‘हाम्रो समूहका नेताहरु रुख चिन्ह र झन्डा जहाँ छ, त्यहाँ रहनेछौं । छुट्टै पार्टी खोल्ने वा स्वतन्त्र उम्मेदवारी उठ्ने कुरा हुने छैन। शेखर दाई यसबारेमा सबैसँग परामर्श गरिरहेका छन् ।’

यसअघि निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिलाई वैधता दिएको थियो । देउवा पक्षका नेताहरू यस निर्णयको विरोध गर्दै कानुनी लडाइँ अघि बढाउने तयारीमा छन् । बुधबार सर्वोच्च अदालत पुगेका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का, विमलेन्द्र निधि, मीनबहादुर विश्वकर्मा जस्ता नेताहरू आयोगको निर्णय खारेज माग गर्दै रिट दायर गरेका थिए ।

तर, शेखर कोइरालाको समूह सर्वोच्च अदालतमा उपस्थित भएन । यसको सट्टा उनीहरूले आफ्नै नेताहरूको बैठक बोलाएर रणनीति तय गर्न लागेको बुझिएको छ । डा. कोइरालाले दिउँसो १ बजे बैठक बोलाएका थिए । यसअघि हिजोको बैठकमा पनि उनीसहितका नेताहरू उपस्थित थिएनन् ।

विश्लेषकहरूका अनुसार, कोइराला समूहले कांग्रेसको मूलधारबाट अलग नहुने सन्देश दिँदै पनि आफ्नै रणनीति तयार पार्ने क्रममा रहेको देखिन्छ । पार्टीभित्रको विभाजनको सम्भावना कायमै रहे पनि, कोइरालाले आफूहरूको समूह र पार्टीको एकता कायम राख्ने दिशामा छलफल गरिरहेको बुझिन्छ । यस घटनाक्रमले नेपाली कांग्रेसमा नेतृत्व र वैधताको सवाल अझै संवेदनशील बन्न पुगेको छ । सर्वोच्च अदालतले सुनुवाई आगामी ६ गते तोकेको छ, जसपछि राजनीतिक परिस्थितिमा नयाँ मोड आउन सक्ने अनुमान गरिएको छ ।

 

 

 

सर्वोच्च अदालतमा रिट दर्ता गर्दा देउवा पक्षका यस्ता छन् तीन माग

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टीको विशेष महाधिवेशन र निर्वाचन प्रक्रियाविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेको छ । रिट निवेदन निवर्तमान सभापति देउवाको नाममा वारेस श्रवणकुमार श्रेष्ठमार्फत दायर गरिएको हो । आइतबार बिहान देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहितका नेताहरू सर्वोच्च पुगेका थिए र तत्काल सुनुवाइको माग गरेका थिए । सर्वोच्च प्रशासनले कानुनअनुसार तत्काल सुनुवाइ नमिल्ने जानकारी दिएको छ । रिटको पेसी मंगलबार, माघ ६ गते तोकिएको छ ।

रिटमा देउवा समूहले मुख्यतः तीन माग प्रस्तुत गरेका छन् :

विशेष महाधिवेशन अवैधानिक ठहरः देउवा समूहले विशेष महाधिवेशनमार्फत निर्वाचित केन्द्रीय कार्यसमितिलाई अवैधानिक ठहर गर्दै भंग गर्न माग गरेका छन् । निर्वाचनको उम्मेदवारी प्रक्रिया रोकः प्रतिनिधि सभाको फागुन २१ गते हुने निर्वाचनका लागि माघ ६ गते तोकिएको उम्मेदवारी मनोनयन रोक्न माग गरिएको छ । यदि मनोनयन भइसकेको छ भने स्थगित गरी नयाँ मिति घोषणा गर्नुपर्ने माग पनि रिटमा राखिएको छ ।

निर्वाचन आयोगको निर्णय बदरः निर्वाचन आयोगले सभापति गगन थापा नेतृत्वको कार्यसमितिलाई वैधानिकता दिएको निर्णय बदर गर्न माग गरिएको छ । रिटमा निर्वाचन आयोग, सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा र विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई विपक्षी बनाइएको छ ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले रिट दर्ता भएको र पेसी माघ ६ गते तोकिएको पुष्टि गरेका छन् । रिट दायर भए पनि कानुनी प्रक्रियाअनुसार सुनुवाइ तत्काल हुने छैन । यो घटनाले नेपाली कांग्रेसमा चलिरहेको नेतृत्व विवादलाई अझै उग्र बनाउने सम्भावना देखिन्छ । देउवा समूह र गगन थापा समूहबीचको राजनीतिक टकराव आगामी निर्वाचन र पार्टीको आन्तरिक व्यवस्थापनमा निर्णायक भूमिका खेल्ने अनुमान गरिएको छ ।

 

 

राष्ट्रियसभाबाट तीन जनाले दिए राजीनामा, प्रतिनिधिसभामा लड्ने

काठमाडौं । प्रतिनिधिसभामा उम्मेदवारी दिने तयारीमा रहेका राष्ट्रियसभा सदस्यहरू नारायणकाजी श्रेष्ठ, वामदेव गौतम र भगवती न्यौपानेले पदबाट राजीनामा दिएका छन् । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसमक्ष उनीहरूले लिखित राजीनामा बुझाएका हुन् ।

नेकपाका नेता श्रेष्ठ सर्लाही ३ बाट उठ्दै छन् । त्यस्तै वामदेव बर्दिया १ बाट र एमालेकी न्यौपाने तनहुँ १ बाट उम्मेदवारी दिँदै छन् । तीनै जना सांसदहरुको कार्यकाल आउँदो फागुन २० गते सकिँदै थियो ।

मनोनयन मिति सार्न दलहरुको दबाब, कांग्रेस विवाद सर्वोच्चसम्म पुग्दा बढ्यो अन्योल

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन दर्ताको समयसिमा सार्ने विषयमा निर्वाचन आयोग दबाबमा परेको छ । प्रमुख राजनीतिक दलहरूले एकै स्वरमा समय थप गर्न आग्रह गरेपछि आयोग आन्तरिक छलफलमा जुटेको छ । निर्वाचन आयोगका अनुसार हाल माघ ६ गतेका लागि तोकिएको मनोनयन दर्ताको मिति कम्तीमा एक साताले सार्न नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका दलहरूले औपचारिक आग्रह गरेका छन् ।

उनीहरूको प्रस्तावअनुसार मनोनयन दर्ता माघ १५ देखि मसान्तसम्म लैजानुपर्ने माग गरिएको छ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मनोनयनको समय सार्ने विषयमा आयोगले अहिलेसम्म निर्णय नगरेको स्पष्ट पारे । उनले भने, ‘अधिकांश राजनीतिक दलबाट मनोनयन दर्ताको समयसीमा बढाउन अनुरोध आएको छ । आयोगले यस विषयमा छलफल गरिरहेको छ तर हालसम्म कुनै निर्णय गरिएको छैन ।’ स्रोतका अनुसार आयोगले बढीमा एक सातासम्म समय सार्न सक्ने सम्भावना भने खुला राखेको छ ।

मनोनयन मिति सार्नुपर्ने मुख्य कारण नेपाली कांग्रेसभित्रको विवाद रहेको बताइएको छ । निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको कांग्रेस कार्यसमितिलाई आधिकारिकता दिएपछि असन्तुष्ट बनेको शेरबहादुर देउवा समूह सोमबार सर्वोच्च अदालत पुगेको छ ।

कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आयोगको निर्णय बदर गर्न माग गर्दै रिट निवेदन दायर गरेका हुन् । उनीहरूले आयोगले गगन–विश्व समूहलाई दिएको मान्यता खारेज हुनुपर्ने तथा भृकुटीमण्डप महाधिवेशनबाट चयन भएको नयाँ कार्यसमिति भंग हुनुपर्ने माग गरेका छन् ।

रिटमा देउवा पक्षले माघ ६ गते तोकिएको प्रत्यक्षतर्फको मनोनयन प्रक्रिया रोक्न अन्तरिम आदेश दिन पनि माग गरेका छन् । यदि मनोनयन भइसकेको अवस्थामा त्यसलाई स्थगित गरी नयाँ मिति तोक्न आदेश हुनुपर्ने उनीहरूको माग छ । देउवा र खड्काले निर्वाचन आयोग, नयाँ कार्यसमिति, सभापति गगनकुमार थापा र उपसभापति विश्वप्रकाश शर्मालाई विपक्षी बनाएका छन् । सर्वोच्च अदालतले उक्त रिटमाथि प्रारम्भिक सुनुवाइका लागि माघ ६ गते नै पेशी तोकेको छ, जुन दिन प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको मनोनयन तय गरिएको छ ।

कांग्रेसको आन्तरिक विवाद अदालत पुगेपछि त्यसको प्रभाव निर्वाचन कार्यतालिकामा पर्ने संकेत देखिएको छ । सर्वोच्चको आदेश र आयोगको निर्णयले मनोनयनको मिति सार्ने वा यथावत् राख्ने विषयमा अन्तिम टुंगो लाग्ने देखिन्छ । राजनीतिक दल र निर्वाचन आयोग दुवैको ध्यान अहिले यही विषयमा केन्द्रित भएको छ ।

 

डा‍. भीम रावल अछाम-१ बाट चौँथोपटक चुनावी मैदानमा

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता डा‍. भीम रावल २१ फागुनको निर्वाचनका लागि अछाम क्षेत्र नम्बर-१ बाट उम्मेदवार बनेका छन् ।

रावल २०४८ यता भएका सातवटा संसदीय निर्वाचनमध्ये ३ वटा निर्वाचनमा त्यहाँबाट निर्वाचित भए । उनी २०५६ को आमनिर्वाचनमा भने नेपाली कांग्रेसका उम्मेदवार गोविन्दबहादुर शाहसँग पराजित भएका थिए।

उनले २०५१ सालको मध्यावधि निर्वाचन, २०७० को संविधानसभा निर्वाचन र २०७४ को प्रतिनिधिसभा निर्वाचनमा अछाम-१ बाट जित हात पारे । २०७९ को निर्वाचनमा भने नेकपा एमालेले उनलाई टिकट दिएन । पछि उनलाई एमालेले पार्टीबाटै हटायाे । अन्तत: मातृभूमि जागरण अभियानमार्फत नेकपाको सक्रिय राजनीतिमा प्रवेश गरे ।

अछाम-१,  २०४८ र २०५६ को निर्वाचनबाहेक सबै निर्वाचन कम्युनिष्ट उम्मेदवारले जित्दै आएको क्षेत्र हो। ०४८ मा नेपाली काङ्ग्रेसका उम्मेदवार बलबहादुर कुँवरले जितेको यो क्षेत्र ०५६ को आमनिर्वाचनमा काङ्ग्रेसकै गोविन्दबहादुर शाहले जितेका थिए।

२०६४ मा नेकपा एमालेबाट शेरबहादुर कुँवर र २०७९ को निर्वाचनमा पनि नेकपा एकीकृत समाजवादीबाट कुँवर नै विजयी भए ।

यसपटक एमालेले अछाम-१ मा जिल्ला इन्चार्ज झपट बोहरालाई उम्मेदवार बनाएकाे छ । बोहरा ०७९ को प्रतिनिधिसभा निर्वाचनमा कुँवरसँगँ पराजित भएका थिए।

कांग्रेसले भने अहिलेसम्म अछाम-१ मा कसलाई उम्मेदवार बनाउने टुङ्‍गाे लगाएकाे छैन ।

नेकपा एमालेका पदाधिकारी को कहाँबाट चुनाव लड्दै ?

काठमाडाै‌ं । नेकपा एमालेले २१ फागुनको प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवार चयन गरेको छ। शनिबार राति अबेरसम्म बसेको एमाले सचिवालय बैठकले केही निर्वाचन क्षेत्रबाहेक सबै क्षेत्रका उम्मेदवारको टुङ्‍गाे लगाएको हो। 

एमालेले झापा-५ मा अध्यक्ष केपी शर्मा ‌ओलीलाई उम्मेदवार बनाएकाे छ ।  उनले त्यहाँ २०४८ यता भएका सातवटा संसदीय निर्वाचनमध्ये ६ वटा जितेका छन्। २०६४ को संविधानसभा निर्वाचनमा भने उनलाई तत्कालीन नेकपा माओवादीका उम्मेदवार विश्‍वदीप लिङ्देनले पराजित गरे । 

अध्यक्ष ओली उम्मेदवार बन्दा महासचिव शंकर पोखरेलकाे टुङ्‍गाे लागिसकेको छैन। उनी निर्वाचन लड्छन् कि लड्दैनन् भन्‍ने यकिन छैन । यसअघि पोखरेल दाङ क्षेत्र-२ बाट चुनाव लड्दै आएका थिए । त्यहाँ महासचिवको इच्छा बुझेर अध्यक्षले टुङ्‍ग्याउने भनिएकाे छ ।

एमाले उपाध्यक्ष विष्णु पौडेल रुपन्देही छाडेर पाल्पाबाट चुनाव लड्ने भएका छन्। पौडेलले २०६४ यताका सबै संसदीय निर्वाचन रुपन्देहीबाट जित्दै आएका थिए। तर, यसपाली भने पौडेल रुपन्देही छोडेर पाल्पा-२ पुगेका हुन्।  पौडेलको संसदीय राजनीतिको यात्रा पाल्पाबाटै भएको थियाे ।  २०५१ को संसदीय निर्वाचन पाल्पाबाट जितेर उनी २०५३ मा युवा तथा खेलकुदमन्त्री समेत बनेका थिए। 

पौडेल पाल्पा-२ उक्लिएसँगै त्यहाँबाट २०७९ को प्रतिनिधिसभा निर्वाचन जितेका एमाले युवा नेता ठाकुर गैरे भने यसपाली चुनाव नलड्ने निश्‍चित भएकाे छ । गैरेले ०७९ को निर्वाचनमा पाँच दलीय गठबन्धनका उम्मेदवार सोमप्रसाद पाण्डेलाई पराजित गरेका थिए।

एमालेका अर्का उपाध्यक्ष तथा पूर्वसूचना तथा सञ्‍चारमन्त्री पृथ्वीसुब्बा गुरुङ लमजुङ-१ मा उम्मेदवार बनेका छन्। गुरुङ २०७९ को प्रतिनिधिसभा निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए। त्यस्तै, एमाले उपाध्यक्ष गोकर्ण विष्ट गुल्मी-२ बाट उम्मेदवार भएका छन्। उनले २०७९ को निर्वाचन पनि सोही क्षेत्रबाट जितेका थिए। 

एमालेले उपमहासचिव लेखराज भट्टलाई कैलाली-४ मा निर्वाचन लडाउने भएकाे छ ।  त्यो उनको गृह निर्वाचन क्षेत्र हाे । २०७९ को निर्वाचनमा भट्ट त्यही क्षेत्रमा नेपाली कांग्रेसका वीरबहादुर बलायरसँग पराजित भएका थिए। अर्का उपमहासचिव रघुवीर महासेठ धनुषा-४ बाट चुनाव लड्ने भएका छन्। महासेठ सोही क्षेत्रबाट २०७४ र २०७९ को आम निर्वाचनमा विजय भएका थिए ।

यता, एमालेका अर्का उपमहासचिव योगेश भट्टराईको भने चुनाव लड्ने वा नलड्ने टुङ्‍गाे लागेको छैन। ताप्लेजुङबाट ०७४ र ०७९ को निर्वाचन जितेका भट्टराईको ठाउँमा यसपाली राष्ट्रिय युवा संघका अध्यक्ष क्षितिज थेबे चुनाव लड्ने चर्चा छ। उनी एमालेका पूर्वसभासद भूपेन्द्र थेबेका छाेरा हुन् । 

एमाले सचिवहरू भानुभक्त ढकाल तेह्रथुम, शेरधन राई भोजपुर, महेश बस्‍नेत भक्तपुर-२ बाट प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार चयन भएका छन्। 

गगन थापा समूहलाई किन दियो मान्यता, यस्तो छ आयोगको तर्क (पूर्णपाठ)

निर्वाचन आयोगले नेपाली कांग्रेसको आधिकारिकता विवादमा गगन थापा नेतृत्वको समूहलाई मान्यता दिनुको कारण खुलाएको छ । शुक्रबार थापा समूहलाई आधिकारिकता प्रदान गरेको आयोगले आइतबार पूर्णपाठ सार्वजनिक गर्दै विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिलाई मान्यता दिइएको दाबी गरेको हो ।

विधानअनुसार ४० प्रतिशत भन्दा धेरै महाधिवेशन प्रतिनिधिले माग गरे पनि केन्द्रीय कार्यसमितिले विशेष महाधिवेशन आयोजना गर्ने निर्णय गरेको थिएन । त्यसैले, निर्वाचन आयोगमा शेर बहादुर देउवा सभापति रहेको पुरानो कार्यसमिति र विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा समूह दुवैले आधिकारिकता दाबी गरिरहेका थिए ।

निर्वाचन आयोगले भने कांग्रेसको विधानमा रहेको विशेष महाधिवेशन पार्टी केन्द्रले आयोजना गर्ने भनेको र केन्द्र भन्नाले केन्द्रीय कार्य समिति र केन्द्रीय कार्यालय बुझिने भन्ने व्याख्यालाई आधार बनाएको छ । पार्टी केन्द्रीय कार्यालय महामन्त्रीले सञ्चालन गर्ने भनिएकाले महामन्त्रीहरूको अगुवाइमा भएको विशेष महाधिवेशनलाई आधिकारिकता दिइएको आयोगको पूर्णपाठमा उल्लेख गरिएको छ ।

आयोगको निर्णयलाई अस्वीकार गर्दै देउवा पक्ष भने आज सर्वोच्च गएको छ ।

 

यस्तो छ आयोगले आइतबार जारी गरेको पूर्णपाठ:

 

निर्वाचन आयोग, नेपाल

बैठक संख्या ११५

प्रस्ताव दर्ता नं. ३२९/२०८२

मिति २०८२ माघ २ गते

विषय : अद्यावधिक सम्बन्धमा ।

आयोगको बैठक संख्या ११५/२०८२ मिति २०८२ माघ २ मा बसेको बैठकमा प्रस्तुत प्रस्ताव नं. ३२९ पेश हुँदा देहाय बमोजिम गर्ने निर्णय गरियो ।

आयोगको निर्णय

नेपाली काँग्रेसको मिति २०८२ माघ १ गतेको पत्रबाट संवत् २०८२ पौष २७ देखि ३० मा भएको केन्द्रीय विशेष महाधिवेशनबाट दलको विवरण हेरफेर भएकोले विवरण अद्यावधिक गर्नको लागि १३४ सदस्यीय विशेष केन्द्रीय महाधिवेशनबाट निर्वाचित भएको केन्द्रीय कार्यसमितिको विवरण प्रमुख पदाधिकारी गगनकुमार थापाले हस्ताक्षर गरी अद्यावधिकका लागि पठाएको देखिन्छ ।

नेपाली कांग्रेसको च.नं. १२६ मिति २०८२ मंसीर २१ को पत्रबाट १४ औं महाधिवेशन २०७८ मंसिर २४ देखि २८ गतेसम्म काठमाडौंमा सम्पन्न भएको र पार्टीको विधान अनुसार पार्टीका सबै तहका पदाधिकारी र सदस्यहरुको अवधि २०८२ मंसिर २३ गतेसम्म कायम रहेको र देशमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमका कारण २०८२ मंसीर २३ गतेभित्र पार्टीको १५ औं महाधिवेशन गर्न सम्भव नभएकोले पार्टीका सबै तहका पदाधिकारी र सदस्यहरुको पदावधि २०८२ माघ मसान्तसम्मका लागि थप गर्ने र केन्द्रीय महाधिवेशन २०८२ पौष २६ देखि २८ सम्म काठमाण्डौंमा गर्ने भनी लेखी आएको देखिन्छ ।

साथै नेपाली कांग्रेसको च.नं. १५९ मिति २०८२ पौष २१ को पत्रबाट १५ औं महाधिवेशनको सबै प्रक्रिया अघि बढिरहेको र निर्वाचनमा केन्द्रित हुनुपर्ने विशेष परिस्थिततिमा केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टीका सबै तहका पादधिकारी र सदस्यहरुको पदावधि २०८३ जेष्ठ मसान्तसम्म थप गर्ने र केन्द्रीय महाधिवेशन २०८३ बैशाख २८ देखि ३१ सम्म काठमाडौंमा गर्ने भनी लेखी आएको देखिन्छ ।

मिति २०८२ असोज २९ मा नेपाली काँग्रेसका कार्यवाहक सभापतिलाई सम्बोधन गरी पार्टीको नीति नेतृत्व र संरचनावारे गहन छलफल र आत्मसमीक्षाका लागि केन्द्रीय कार्यसमितिको निर्णय अप्रयाप्त भएकोले विधानको धारा १७(१) अनुसार मंसीर, २३, २०८२ भित्र नियमित महाधिवेशन सम्पन्न गर्नुपर्ने र यदी यो सम्भव नभए धारा १७(२) बमोजिम विशेष महाधिवशेन आह्वान गरी विषम परिस्थितिलाई सम्बोधन गर्न माग गर्दछौं भन्ने समेतको व्यहोरा उल्लेख गरी महाधिवेशन प्रतिनिधि गुरुराज घिमिरे समेतका २४८८ प्रतिनिधिहरुले हस्ताक्षर गरी विशेष महाधिवेशनको माग गरेको देखिन्छ ।

त्यसैगरी मिति २०८२ पौष २३ मा विशेष परिस्थितीमा विधानको धारा १७ को उपधारा २ बमोजिम विशेष महाधिवेशन आह्वान गर्न २४८८ जना अर्थात ५४ दशमलब ५८ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले विशेष कारण सहित निवेदन दर्ता गरेको अवस्थामा त्यसको तीन महिनाभित्र विशेष महाधिवेशन सम्पन्न गर्नु केन्द्रको कार्यसम्पादन र जिम्मेवारीको विषय भएको र केन्द्रीय कार्य समितिले यो विशेष महाधिवेशन नबोलाएको हुँदा एउटा लोकतान्त्रिक पार्टीको जिम्मेवार पदाधिकारीको रुपमा हाम्रो बैधानिक र नैतिक दायित्व भएकोले मिति २०८२ पौष २६, २७ र २८ गते काठमाडौंको भृकुटीमण्डपमा हुन गईरहेको विशेष महाधिवेशनमा सहभागी भई व्यवस्थित रुपमा सम्पन्न गर्न सम्पूर्ण महाधिवेशन प्रतिनिधिलाई हार्दिक आह्वान गर्दछौं भन्ने समेतको व्यहोराको महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माबाट हस्ताक्षर गरी विशेष केन्द्रीय महाधिवेशनको आह्वान भएको देखिन्छ ।

त्यसैगरी मिति २०८२ पुस २९ मा नेपाली कांग्रेसको च. नं. १६३ को पत्रबाट नेपाली कांग्रेसको नाममा काठमाडौंमा विशेष महाधिवेशन भएको भनी विभिन्न सञ्चारमाध्यममा आएकोले पौड २६ देखि २८ सम्म त्यस्तो कार्यक्रम नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको औपचारिक कार्यक्रम नभएको नगरेको भनी लेखी आएको देखिन्छ ।

सो सम्बन्धी कानूनी व्यवस्था हेर्दा नेपालको संविधानको धारा २६९ को उपधारा (४) को खण्ड (क) मा राजनीतिक दलको विधान र नियमावली लोकतान्त्रिक हुनुपर्छ भन्ने व्यवस्था रहेको देखिन्छ । राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा १६ मा दलको सङ्घीय तहमा रहने केन्द्रीय समिति तथा प्रदेश तहमा रहने प्रदेश समितिमा प्रत्येक पदाधिकारीको निर्वाचन दलको विधानमा व्यवस्था भए बमोजिम हुने र निर्वाचित केन्द्रीय समिति र प्रदेश समितिको विवरण निर्वाचन भएको मितिले तीस दिनभित्र आायोगमा उपलब्ध गराउनुपर्ने व्यवस्था रहेको देखिन्छ ।

ऐ. ऐनको दफा ५१ मा दलले आफ्नो नाम, विधान, नियम, छाप, झण्डा वा चिन्हमा भएको परिवर्तन वा संशोधन पदाधिकारीको हेरफेरका विषयको जानकारी तीसदिन भित्र आयोगलाई दिनुपर्नेछ र सो जानकारी प्राप्त भएपछि आयोगले तत्सम्बन्धमा आवश्यक अध्ययन र जाँचबुझ गर्दा त्यस्तो काम कारवाही संविधान, ऐन वा नियम र दलको विधान बमोजिम भए गरेको पाईएमा नाम, विधान, नियम, छाप, झण्डा वा चिन्हको हकमा त्यसको अभिलेख राख्नुपर्नेछ र पदाधिकारी हेरफेर भएको भए अध्यावधिक गरी राख्नुपर्नेछ ।

दलले दिएको जानकारी पदाधकारीको हेरफेरसंग सम्बन्धित भए आयोगले दल दर्ता कितावमा सम्बन्धित दलको विवरणमा सोही बमोजिम हेरफेर गरी अद्यावधिक गर्नुपर्नेछ भन्ने व्यवस्था रहेको देखिन्छ ।

नेपाली काँग्रेसको विधान, २०१७ को धारा १५ मा केन्द्रीय महाधिवेशन पार्टीको सर्वोच्च अधिकारसम्पन्न निकाय हुनेछ र केन्द्रीय महाधिवेशनले केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यको निर्वाचन गर्नेछ भन्ने समेतको व्यवस्था रहेको देखिन्छ ।

विधानको धारा ४३ मा पार्टीका सबै तह र निकायका पदाधिकारी र सदस्यहरूको पदावधि चार वर्षको हुनेछ र असाधारण स्थिति भएमा केन्द्रीय कार्यसमितिले सोको कारण खोली बढीमा एक वर्षसम्मको अवधि बढाउन सक्नेछ भन्ने व्यवस्था रहेको देखिन्छ ।

विधानको धारा १७ को उपधारा (१) मा पार्टीको केन्द्रीय महाधिवेशन प्रत्येक ४ वर्षमा हुने व्यवस्था रहेको देखिन्छ ।

त्यसैगरी धारा १७ को उपधारा (२) मा केन्द्रीय कार्यसमितिले आवाश्यक ठानेमा वा केन्द्रीय महाधिवेशनका चालीस प्रतिशत सदस्यहरूले केन्द्रीय महाधिवेशनको बैठक बोलाउन विशेष कारण खुलाई केन्द्रसमक्ष लिखित अनुरोध गरेमा निवेदन परेको ३ महिनाभित्रमा विशेष केन्द्रीय महाधिवेशन बोलाउनुपर्नेछ भन्ने व्यवस्था रहेको देखिन्छ ।

त्यसैगरी विधानको धारा ३ को खण्ड (१२) मा केन्द्र भनेको केन्द्रीय समिति र पार्टीको केन्द्रीय कार्यालयलाई समेत भन्ने प्रावधान रहेको छ ।

सोही विधानको धारा २७ को उपधारा (१) मा नेपाली काँग्रेसको केन्द्रीय कार्यालय महामन्त्रीको मातहत रहनेछ र महामन्त्रीले केन्द्रीय कार्यालयको रेखदेख र सञ्चालन गर्नेछ भन्ने व्यवस्था रहेको देखिन्छ ।

उल्लिखित तथ्य एवं कानूनी व्यवस्था एवम् फाईलसंलग्न कागजात अध्ययन तथा जाँचबुझ गरी हेर्दा नेपाली काँग्रेस नामक राजनीतिक दलको संवत् २०६२ साल पौष २७ देखि ३० गतेसम्म विशेष केन्द्रीय महाधिवेशन भएको हो होईन ?

विशेष केन्द्रीय महाधिवेशन दलको विधान सम्मत छ छैन ?

र विशेष केन्द्रीय महाधिवेशनबाट दलको केन्द्रीय कार्य समितिमा भएको परिवर्तनको विवरण राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ५१ बमोजिम अद्यावधिक गर्नुपर्ने हो होईन ? भन्ने विषयमा निक्यौलमा पुग्नुपर्ने देखियो ।

नेपाली काँग्रेस नामक राजनीतिक दलको १४ औं महाधिवेशन २०७८ मंसिर २४ देखि २८ गतेसम्म काठमाण्डौमा सम्पन्न भएको र उक्त पार्टीको विधान अनुसार पार्टीका सबै तहका पदाधिकारी र सदस्यहरूको चारवर्षे अवधि २०८२ मंसिर २३ गतेसम्म मात्र कायम रहेको देखिन्छ ।

विधानको धारा ४३ बमोजिम असाधारणस्थिति देखाउँदै पहिलोपटक २०८२ माघ मसान्तसम्म र दोस्रोपटक २०८३ जेष्ठ मसान्तसम्म दलको सबै तहका समितिको पदाधिकारी एवम् सदस्यहरूको पदावधि थप गरेको पाईयो ।

कस्तो अवस्थालाई असाधारणस्थिति मान्ने भन्ने सम्बन्धमा दलको विधानमा कहीँकतै परिभाषीत गरेको देखिँदैन ।

विधानको धारा १७ को उपधारा (२) मा केन्द्रीय महाधिवेशनका चालीस प्रतिशत सदस्यहरूले केन्द्रीय महाधिवेशनको बैठक बोलाउन विशेष कारण खुलाई केन्द्रसमक्ष लिखित अनुरोध गरेमा निवेदन परेको ३ महिना भित्रमा विशेष केन्द्रीय महाधिवेशन बोलाउनुपर्नेछ भन्ने व्यवस्था बमोजिम केन्द्रीय महाधिवेशन प्रतिनिधि गुरुराज घिमिरे सहितका चालीस प्रतिशत भन्दा बढी सदस्यहरूले विशेष केन्द्रीय महाधिवेशन बोलाउन आधार र कारण सहित निवेदन दिएको देखियो ।

केन्द्रीय कार्य समितिले सो विशेष महाधिवेशन नबोलाएको अबस्थामा केन्द्रीय समितिका जिम्मेवार पदाधिकारीहरू महामन्त्रीद्धयले मिति २०८२ पौष २३ मा संवत् २०८२ पौष २७ र २८ मा विशेष महाधिवेशन आव्हान गरेको पाईयो ।

विधानको धारा २७ को उपधारा (१) मा नेपाली काँग्रेसको केन्द्रीय कार्यालय महामन्त्रीको मातहत रहनेछ र महामन्त्रीले केन्द्रीय कार्यालयको रेखदेख र सञ्चालन गर्नेछ भन्ने व्यवस्था रहेको देखिँदा केन्द्रीय समितिका जिम्मेवार पदाधिकारी महामन्त्रीहरूले आव्हान गरेको विशेष महाधिवेशनलाई अन्यथा भन्न मिल्ने देखिँदैन ।

विधानको धारा १५ मा केन्द्रीय महाधिवेशन पार्टीको सर्वोच्च अधिकार सम्पन्न निकाय हुनेछ र केन्द्रीय महाधिवेशनले केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको निर्वाचन गर्नेछ भन्ने समेतको व्यवस्था रहेको देखिँदा केन्द्रीय विशेष महाधिवेशनले केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको निर्वाचन गरी चयन गरेको विषयलाई अनदेखा गरी नेपाली काँग्रेसको विशेष महाधिवेशन भएको होईन भन्न मिल्ने देखिँदैन ।

राजनीतिक दलको विधान लोकतान्त्रिक हुनुपर्दछ भन्ने संवैधानिक एवम् कानूनी व्यवस्था रहेको र नेपाली काँग्रेसको विधानको प्रस्तावना र धारा २ को उपधारा (१) मा लोकतन्त्रलाई आदर्शको रूपमा मानी विधानमा उल्लेख भएको देखिन्छ ।

लोकतान्त्रिक मूल्यमान्यता भनेको शब्दमा मात्र सीमित रहने कुरा नभई दलको व्यवहारमा पनि रूपान्तरण भई त्यसको कार्यान्वयन पनि लोकतान्त्रिक तवरबाट भएको देखिनु पर्दछ ।

दलको विधान अनुरूप सर्वोच्च अधिकार सम्पन्न निकाय भनेको महाधिवेशन हो र महाधिवेशनले नै दलको केन्द्रीय कार्यकारिणी समिति चयन गर्ने हो ।

महाधिवेशनबाट चयन भएको केन्द्रीय समितिले महाधिवेशनको मागलाई अनदेखा गरी नियन्त्रण गर्न खोजेको देखिनु लोकतान्त्रिक मान्यता अनुरूप भए गरेको मान्न मिल्ने देखिदैन ।

तसर्थ नेपाली काँग्रेसको विधान अनुरूप महाधिवेशन सर्वोच्च निकाय भएकोले वहुसंख्यक महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन आव्हान गरी विधिसम्मत तवरबाट केन्द्रीय कार्यकारिणी समितिको नेतृत्व छनोट गरी साधिकार निकायमा अद्यावधिकका लागि पठाएको विषय नेपालको संविधान, राजनितिक दल सम्बन्धी ऐन, २०७३. राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ र दलको विधानसम्मत भए गरेको देखिन्छ ।

ऐ. ऐनको दफा ५१ बमोजिम अद्यावधिकको लागि पेश हुन आएको निवेदनको सन्दर्भमा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४३ र ४४ बमोजिमको विवादको निरूपण र विवाद निरूपण सम्बन्धी कार्यविधि अन्तर्गतको प्रस्तुत विषयवस्तु रहे भएको अवस्था देखिदैन ।

अत: माथि उल्लेखित तथ्य कानून फाईलसंलग्न कागजातको अध्यन गरी जाँचबुझ गरी हेर्दा नेपाली काँग्रेसको मिति २०८२ माघ १ गतेको पत्रबाट संवत् २०८२ पौष २७ देखि ३० सम्म भएको केन्द्रीय विशेष महाधिवेशनबाट दलको विवरण हेरफेर गरी अद्यावधिक गर्नको लागि विशेष केन्द्रीय महाधिवेशनबाट निर्वाचित भएको देहाय बमोजिमका १३५ सदस्यीय केन्द्रीय कार्यसमितिको विवरण राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५१ तथा राजनीतिक दल सम्बन्धी नियमावली २०७४ नियम २५ बमोजिम अद्यावधिक गर्ने र निर्णयको जानकारी सम्बन्धित दललाई दिने ।

रामप्रसाद भण्डारी, कार्यबाहक प्रमुख निर्वाचन आयुक्त

सगुनशम्सेर जबरा, निर्वाचन आयुक्त

फरक मत

यो निर्णय संविधान, प्रचलित कानून, आयोगको अभ्यास र न्याय सम्भव नभएको हुँदा निर्णयमा मेरो असहमती छ ।

डा. जानकी कुमारी तुलाधर, निर्वाचन आयुक्त

महानगरबाट राजिनामा नदिइ घण्टीघर जाँदै बालेन

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आज पदबाट राजिनामा दिएर औपचारिक रुपमा राष्ट्रिष स्वतन्त्र पार्टी प्रवेश गर्ने तय गरिएको थियो । तर, उनी राजिनामा नबुझाई वनस्थलीमा रहेको रास्वपा कार्यालय जाने भएका छन् ।

फागुन २१मा हुने प्रतिनिधि सभा निर्वाचनमा रास्वपाका तर्फबाट प्रधानमन्त्रीको दावेदार बन्दै झापा-५बाट उम्मेदवार बन्न लागेका शाहले आज राजिनामा दिने बताइएको थियो ।

राजिनामा नदिनुको कारण प्रष्ट नभए पनि उपमेयर सुनिता डंगोलले राजिनामा बुझ्ने विषयमा कुनै चासो नदेखाएपछि मेयर शाह राजिनामा नबुझाई राष्ट्रिय राजनीतिमा होमिन लागेको महानगरपालिका स्रोतले बताएको छ ।

प्रतिनिधि सभा सदस्यमा उम्मेद्वार बन्नका लागि राजिनामा दिनु अनिवार्य भने छैन । निर्वाचन आयोगका अनुसार  स्थानीय तह, प्रदेश वा संघीय तहका कुनै पनि जनप्रतिनिधिले प्रतिनिधि सभामा उम्मेदवारी दिए स्वत: पदमुक्त हुनेछन् ।

त्यसैले, राजनीमा नबुझाइ उम्मेदवारी दिएमा उम्मेदवारी दर्ता भए पनि उनी स्वत: मेयरबाट बिदा हुनेछन् । यसपछि निमित्त मेयरको रुपमा सुनिता डंगोलले महानगर हाँक्नेछिन् ।

आज औपचारिक रूपमा रास्वपा प्रवेश गर्न लागेका बालेन सोमबार रास्वपाको भेलालाई सम्बोधन गर्न जनकपुर जाँदै छन् । मंगलबार उम्मेदवारी दर्ताका लागि झापा जाने कार्यक्रम रहेको मेयर शाहको सचिवालयले बताएको छ ।

जनमत छाडेका पूर्व मुख्यमन्त्री सिंहलाई एमालेको टिकट

काठमाडौं । अघिल्लो निर्वाचनमा सीके राउत नेतृत्वको जनमत पार्टीबाट विजयी हुँदै मधेस प्रदेशको मुख्यमन्त्री बनेका सतिशकुमार सिंह आगामी प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेबाट उम्मेदवार बन्ने भएका छन् । एमालेले सिंहलाई सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने निर्णय गरेको हो । शनिबार बसेको एमाले सचिवालय बैठकले सिंहलाई उम्मेदवार बनाउने औपचारिक निर्णय गरेको पार्टी स्रोतले जनाएको छ । पछिल्लो समय जनमत पार्टीभित्र आन्तरिक असमझदारी बढेपछि अध्यक्ष सीके राउतसँग असन्तुष्ट बनेका सिंहले मुख्यमन्त्री पदबाट राजीनामा दिँदै जनमत पार्टी समेत परित्याग गरेका थिए ।

त्यसपछि उनी एमालेसँग नजिकिँदै आएका थिए । २०७९ सालको निर्वाचनमा सिंह जनमत पार्टीबाट सप्तरी क्षेत्र नम्बर २ को प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । उक्त निर्वाचनमा उनले १६ हजार ७ सय ३४ मत प्राप्त गर्दै विजय हासिल गरेका थिए भने उनका प्रतिष्पर्धी जसपाका शैलेन्द्रप्रसाद साहले ८ हजार २ सय ९२ मतमा सीमित भएका थिए ।

सिंहको यही चुनावी आधारलाई ध्यानमा राख्दै एमालेले संघीय तहमा उम्मेदवार बनाउने रणनीति अपनाएको बुझिन्छ । अघिल्लो निर्वाचनमा सप्तरी–२ बाट जनमत पार्टीका अध्यक्ष सीके राउत प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । उनले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई १८ हजार ६३ मतान्तरले पराजित गर्दै संसद् प्रवेश गरेका थिए । तर यस पटक एमालेले सोही क्षेत्रमा राउतलाई चुनौती दिने गरी सिंहलाई अघि सारेको हो । एमालेको यो निर्णयसँगै सप्तरी–२ को राजनीतिक समीकरण फेरिने देखिएको छ ।

एकातिर जनमत पार्टी परित्याग गरेर एमाले प्रवेश गरेका सिंह, अर्कातिर अघिल्लो पटक विजयी राउत—यी दुईबीचको सम्भावित प्रतिष्पर्धाले मधेसको राजनीतिमा नयाँ बहस सिर्जना गरेको छ । यद्यपि, राउत आगामी निर्वाचनमा कुन क्षेत्रबाट उम्मेदवार बन्ने हुन् भन्ने विषय भने अझै टुंगो लागिसकेको छैन । राजनीतिक विश्लेषकहरूका अनुसार सिंहको उम्मेदवारीले एमालेले मधेसमा आफ्नो संगठन विस्तार र प्रभाव बढाउने रणनीतिलाई स्पष्ट संकेत गरेको छ । अब आगामी निर्वाचनमा सप्तरी–२ मधेसको सबैभन्दा चासोको केन्द्र बन्ने निश्चित देखिन्छ ।

धरानका ‘भाइरल वडाअध्यक्ष’ भट्टराईं चुनावी मैदानमा, नेकपाबाट बने उम्मेदवार

विराटनगर । धरान उपमहानगरपालिकाको राजनीतिमा नयाँ मोड आएको छ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले सुनसरी क्षेत्र नम्बर १ बाट सूर्यकुमार भट्टराई (मनोज भट्टराई) लाई उम्मेदवार बनाउने निर्णय गरेसँगै धरानको चुनावी प्रतिष्पर्धा थप चर्किने संकेत देखिएको छ ।

भट्टराई धरान उपमहानगरपालिका–१७ का वर्तमान वडाअध्यक्ष हुन् । वडाअध्यक्षको हैसियतमा रहँदा उनले धरानका मेयर हर्क साम्पाङको कार्यशैलीमाथि खुलेर प्रश्न उठाउँदै आएका थिए । कार्यपालिका बैठकहरूमा तथ्यसहित आलोचना प्रस्तुत गर्ने भट्टराईको शैलीका कारण उनी सामाजिक सञ्जालमा ‘भाइरल वडाअध्यक्ष’ का रूपमा चिनिन पुगेका छन् ।

स्थानीय सरकारभित्रैबाट मेयर साम्पाङको निर्णय प्रक्रिया, कार्यान्वयन र प्राथमिकतामाथि निरन्तर प्रश्न उठाउँदै आएका भट्टराई राजनीतिक रूपमा स्पष्ट र आक्रामक नेताको छवि बनाउन सफल भएका छन् । उनी यसअघि माओवादी केन्द्र धरान नगर कमिटीका अध्यक्ष समेत रहिसकेका छन्, जसले उनको राजनीतिक अनुभवलाई थप मजबुत बनाएको देखिन्छ । यता, सुनसरी क्षेत्र नम्बर १ बाट धरानका मेयर हर्क साम्पाङले पनि उम्मेदवारी घोषणा गरिसकेका छन् ।

यस पटक भने उनी ‘श्रम संस्कृति पार्टी’ गठन गरी चुनावी मैदानमा उत्रँदै छन् । साम्पाङ यसअघि स्वतन्त्र उम्मेदवारका रूपमा धरानको मेयरमा निर्वाचित भएका थिए । एकातर्फ स्वतन्त्र छविबाट उदाएका मेयर साम्पाङ र अर्कोतर्फ पार्टी संरचनाबाट अघि बढिरहेका ‘भाइरल’ वडाअध्यक्ष भट्टराईंबीचको प्रतिष्पर्धाले सुनसरी–१ को चुनावलाई रोचक मात्र होइन, अर्थपूर्ण राजनीतिक बहसको केन्द्र बनाउने अपेक्षा गरिएको छ ।

 

 

 

 

 

 

गगनतिर नेताहरु खुल्दै जाँदा कमजाेर बनेकाे देउवा समूह सर्वाेच्चमा

काठमाडौँ । नेपाली कांग्रेसभित्र चुलिँदै आएको आन्तरिक शक्ति संघर्ष अब निर्णायक मोडमा पुगेको छ । निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई आधिकारिकता दिएपछि त्यसविरुद्ध पूर्व सभापति शेरबहादुर देउवा पक्ष सर्वोच्च अदालत पुगेको छ । आयोगको निर्णय बदर र अन्तरिम आदेश माग गर्दै देउवा पक्षका नेताहरूले रिट दायर गरेका हुन् ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्का, विमलेन्द्र निधिलगायत नेताहरूको अगुवाइमा दर्ता गरिएको रिटमा आयोगको निर्णय संविधान, प्रचलित कानुन, स्थापित नजिर र पार्टी विधानविपरीत भएको दाबी गरिएको छ । पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खातीसहित वरिष्ठ कानुनविद्हरूको परामर्शमा रिटको मस्यौदा तयार गरिएको देउवा पक्षले जनाएको छ । शनिबार बसेको सानेपास्थित देउवा पक्षीय बैठकले आयोगको निर्णयलाई ‘दुराशयपूर्ण’ ठहर गर्दै कानुनी र राजनीतिक दुवै मोर्चाबाट प्रतिवाद गर्ने निर्णय गरेको थियो ।

अदालतको प्रतीक्षामा देउवा–शेखर धार
देउवा पक्षभित्रै अब दुईथरी धार देखिन थालेको छ । एकथरी नेताहरू अदालतको आदेश नआएसम्म कुनै निर्णय नलिने पक्षमा छन् भने अर्कोथरी भने पार्टीको रुख र चारतारे झण्डा जहाँ छ, त्यहीं कांग्रेस रहेको तर्क गर्दै मूल प्रवाहमै फर्कनुपर्ने मत राखिरहेका छन् । शेखर कोइराला भने आयोगको निर्णयलाई लिएर कानुनी उपचार खोज्न सकिने भए पनि सडक आन्दोलन र संघर्षको पक्षमा नरहेको बताउँदै आएका छन् । उनीनिकट नेताहरू अदालतको आदेशपछि मात्र थप कदम चालिने संकेत गरिरहेका छन् ।

पूर्व केन्द्रीय सदस्यहरू सुजाता कोइराला, रामहरि खतिवडा, चन्द्र भण्डारी, सुनील शर्मा, दिनेश कोइरालालगायत नेताहरूले भने आयोगको निर्णय स्विकारेर अघि बढ्न आह्वान गरेका छन् । ‘परिवर्तनलाई डर होइन, आत्मसात् गर्नुपर्छ’, भन्दै उनीहरूले नयाँ नेतृत्वलाई स्वीकार गरी एकताबद्ध भएर निर्वाचनमा जानुपर्ने धारणा सार्वजनिक गरेका छन् ।

गगन थापा नेतृत्वको सन्देश : सम्मान र एकता
यता, आयोगबाट मान्यता पाएपछि बानेश्वरमा बसेको गगन थापा नेतृत्वको पहिलो केन्द्रीय कार्यसमिति बैठकले पूर्व सभापति शेरबहादुर देउवालाई ‘अभिभावकीय भूमिका’ मा बस्न आग्रह गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । बैठकपछि जारी वक्तव्यमा देउवाको लामो योगदानको सम्मान गर्दै अग्रज नेताहरूको साथ र मार्गदर्शनमा पार्टी अघि बढ्ने विश्वास व्यक्त गरिएको छ । प्रवक्ता देवराज चालिसेका अनुसार कांग्रेसलाई टोलदेखि केन्द्रसम्म एकताबद्ध बनाएर निर्वाचनमा होमिन निर्देशन दिइएको छ । पार्टीभित्र रहेका सबै धार र समूहसँग संवाद गरेर एकताको वातावरण बनाउने प्रयास भइरहेको उनको भनाइ छ ।

चुनावी तयारी तीव्र, टिकटमा ‘भागबण्डा’ अन्त्यको संकेत
कांग्रेसले १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने तयारी थालेको छ । सभापति गगन थापाको नेतृत्वमा रहेको संसदीय बोर्डले यसअघि क्षेत्रबाट सिफारिस भएका आकांक्षीहरूबाट ‘सर्ट लिस्ट’ तयार गर्ने काम अघि बढाएको छ । देउवा पक्षलाई समेट्ने प्रयास भइरहेकाले हाल थप सदस्य नियुक्त नगरी आवश्यकताअनुसार परामर्शका आधारमा टिकट वितरण प्रक्रिया अघि बढाइएको छ । नेताहरूले यस पटक टिकट वितरणमा विगतको ६०-४० जस्तो भागबण्डा नदोहोर्‍याउने संकेत दिएका छन् । ‘नाता, दाता र धनका आधारमा होइन, जित्न सक्ने र काम गर्ने उम्मेदवारलाई मौका दिनुपर्छ’, भन्ने आवाज पार्टीभित्र बलियो बन्दै गएको छ ।

पार्टी कार्यालय विवाद र समानान्तर गतिविधि
निर्वाचन आयोगको मान्यता पाए पनि कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा नयाँ नेतृत्वले बैठक बस्न सकेको छैन । कार्यालय पूर्वसभापति देउवा पक्षको नियन्त्रणमा रहेको आरोप गगन पक्षको छ । देउवा पक्षले भने भवन मर्मत र सुरक्षाका कारण कार्यालय प्रयोगमा ल्याउन नसकिएको स्पष्ट पारेको छ । यसबीच, भ्रातृसंस्थाका नेतृत्व र पुरानो संस्थापनका नेताहरूसँग संवाद तीव्र पारिएको छ । तेस्रो तहका धेरै नेता–कार्यकर्ता मूल कांग्रेसमै फर्कन इच्छुक देखिएका छन् ।

कांग्रेसको भविष्य अदालत र राजनीतिले तय गर्ने
अब नेपाली कांग्रेसको औपचारिक नेतृत्व र आगामी राजनीतिक दिशा सर्वोच्च अदालतको आदेशमा धेरै हदसम्म निर्भर हुने देखिएको छ । अदालतले दिने आदेशपछि देउवा, शेखर र अन्य धारहरूको रणनीति स्पष्ट हुनेछ । तर, गगन थापा नेतृत्वको कांग्रेस भने कानुनी प्रक्रियासँगै चुनावी मैदानमा एकताबद्ध भएर उत्रने तयारीमा जुटिसकेको छ । कांग्रेसभित्रको यो संघर्ष केवल नेतृत्वको मात्र नभई पार्टीको भावी चरित्र, पुस्तान्तरण र राजनीतिक संस्कृतिको परीक्षा पनि बनेको छ। अदालतको फैसला र त्यसपछि देखिने एकताको स्वरूपले नै कांग्रेसको आगामी यात्रा तय गर्नेछ ।

 

 

 

भारतबाट पहिलो नेपाली गजल एल्बम ‘मतला’

काठमाडौँ । भारतको दार्जिलिङबाट पहिलो नेपाली गजल एल्बम ‘मतला’ बजारमा आएको छ । दार्जिलिङको रिदम रेकर्डिङ्सले प्रस्तुत गरेको ‘मतला’ दार्जिलिङकै सङ्गीतकार जीवनप्रकाश प्रधानको एकल सङ्गीतमा तयार भएको हो ।

गजलकारहरू राधा कणेलका ३, रश्मि असफल  र घनेन्द्र ओझाका २/२ वटा गजलहरू समेटिएको ‘मतला’मा दार्जिलिङका ३ र नेपालका २ गायक, गायिकाले स्वर दिएका छन् ।

एल्बममा दार्जिलिङका रजनी ऋदम राई, इस्माइल दास र सृष्टि आचार्य प्रधान तथा नेपालका शिव परियार र निशा देशारले स्वर दिएका छन् ।

काठमाडौँमा शनिबार गरिएको सार्जननिकीकरणमा ‘मतला’माथि समीक्षा गर्दै विश्‍व कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठले ‘नेपाली गजल गायनको स्वर्ण दशक, वि. सं. २०८०-२०९०’ अभियानअन्तर्गत भारतबाट समेत नेपाली गजल आउनुले अब नेपाली गजल लेखनसँगै गायनले पनि व्यापकता पाएको बताए ।

श्रेष्ठले ‘मतला’ साङ्गीतिक हिसाबले सुन्दर र सशक्त भएको सुनाए । श्रेष्ठले भने, ‘सङ्गीतको भाषा, भूगोल हुँदैन । व्यक्तिको संवेदना छुने हरेक सङ्गीत विश्‍वव्यापी बन्छ ।’

उनले यस एल्बमले नेपाली गजल गायनलाई अन्तर्राष्ट्रियकरण गरेको पनि बताए । अर्का समीक्षक गजलकार, गीतकार एवं सङ्गीतकार करुण थापाले गजलले सङ्गीतको श्‍वास पाएपछि मात्र जीवन्त बन्‍ने धारणा राखे ।

थापाले ‘मतला’ एल्बममा समावेश गजलहरू शब्द, सङ्गीत र गायन तीनै कोणबाट सशक्त रहेका बताए । थापाले भने, ‘नेपाली गजल गायन अभियानले तीव्रता लिइरहेका बेला यसरी देशबाहिरबाट समेत एल्बम आउनु खुसीको विषय हो ।’

गजलकार राधा कणेलले ‘मतला’ रेकर्ड गर्दाका सन्दर्भ जोड्दै सङ्गीतकार प्रधान परिष्कृत साधक रहेका र अत्यन्त मिहिनेतपूर्वक एल्बम तयार भएको बताइन् ।

रश्मि असफलले २० वर्षभन्दा लामो समयदेखि गजल लेखिरहे पनि सङ्गीतमा भर्खरै आउन थालेको सुनाइन् । असफलले आफू परिष्कृत गजल लेखनका लागि अभ्यासरत रहेको सुनाइन् ।

गत २७ पुसमा असफलकै शब्दमा सन्तोष श्रेष्ठले कोशी प्रदेशको झापामा एकल गजल गायन ‘रश्मि गजल गुञ्‍जन’ सम्पन्‍न गरेको जानकारी पनि उनले दिइन् ।

गजलकार एवं गजल अभियन्ता घनेन्द्र ओझाले सङ्गीतकार सन्तोष श्रेष्ठ र आफूले घोषणा गरेको ‘नेपाली गजल गायनको स्वर्ण दशक, वि. सं. २०८०-२०९०’ अभियानले देशको सीमा नाघिसकेको भन्दै यस अभियानमा सबैलाई जोडिन अनुरोध गरे ।

‘अब हामी भारतसम्म पुगिसकेका छौँ’, ओझाले भने, ‘भारतबाट पनि पहिलो नेपाली गजल एल्बमका रूपमा मतला आइसकेको छ । अरू धेरै यस्ता एल्बम आउने विश्‍वास छ ।’ सङ्गीतकार प्रधानले आफू ४० वर्षदेखि सङ्गीतमा समर्पित भए पनि सधैँ विद्यार्थी जस्तै भएको भन्दै निरन्तर साधनाले गजल सङ्गीततर्फ मोडेको सुनाए ।

प्रधानले ‘मतला’ गजलको शुभारम्भ शेर भएजस्तै यो एल्बम पनि आफ्नो गजल सङ्गीतको शुभारम्भ भएको बताए । प्रा. डा. कृष्णहरि बरालले ‘मतला’ले नेपाली गजल सङ्गीतका क्षेत्रमा विशेष अर्थ र महत्त्व राख्‍ने बताए ।

शब्द र सङ्गीतको उपयुक्त संयोजन अनि स्वरको सही छनोटले गजल उत्कृष्ट बन्‍ने भन्दै बरालले ‘मतला’भित्रका गजलमा यी विशेषता रहेका सुनाए । बरालले गजल सङ्गीतका विविध शैली र तरिका हुने बताए ।

नेपालमा गजल सङ्गीत र गायन नेपाली माटो, भाषा, बाजा, उपकरण र नेपालीपन अनुसारकै हुने सुनाए । भारत वा अन्य देशका सङ्गीत र गायनका शैली नेपालमा खोजिनु उपयुक्त नहुने बरालको धारणा थियो ।

अनाममण्डलीले आयोजना गरेको कार्यक्रमलाई लभ एन्ड सपोर्ट फाउन्डेसन, नेपालले व्यवस्थापनमा सहयोग गरेको थियो ।

कार्यक्रमको सभापतित्व अनाममण्डलीका अध्यक्ष रूपक अलङ्‍कारले गरेका थिए भने सहजीकरण ज्ञानु विद्रोहीले गरेका थिए ।

संघर्षबाट संसदसम्मको यात्रा : रामेछापबाट एमाले उम्मेदवार ढुङ्गेलका के छन् प्रतिबद्धता ?

रामेछाप । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनका लागि रामेछाप निर्वाचन क्षेत्रबाट नेकपा (एमाले) को तर्फबाट उम्मेदवार बनेका पार्टी केन्द्रीय सदस्य माधव ढुङ्गेलले आफ्नो राजनीतिक यात्रा, अनुभव र भावी प्रतिबद्धता सार्वजनिक गर्दै रामेछापेली जनतासँग मतको अपिल गरेका छन् ।

ढुङ्गेलले विद्यार्थी राजनीतिबाट सुरु भएको आफ्नो संघर्षपूर्ण यात्राको स्मरण गर्दै करिब १५ वर्षअघि अनेरास्ववियुको केन्द्रीय अध्यक्षमा निर्वाचित भएको उल्लेख गरेका छन् । त्यसयता एकताकालसहित पार्टी केन्द्रीय कमिटीमा चार पटक निर्वाचित भइसकेको बताउँदै उनले आफू निरन्तर संघर्ष, सक्रियता र कर्मका बलमा यहाँसम्म आइपुगेको स्पष्ट पारेका छन् ।

‘मेरा दुःख, पीडा र संघर्षका कथा नजिकबाट बुझ्नेहरूलाई थाहा छ,’ उनले भनेका छन्, ‘म कुनै विशेष पृष्ठभूमिबाट होइन, धुलो–मैलो खेलेर हुर्किएको गाउँको मान्छे हुँ, जसले आफ्नै बलबुतामा यो यात्रा तय गरेको हो ।’ आफ्नो उम्मेदवारीका कारण पार्टीभित्र वा बाहिर कसैलाई पनि दुःखी हुनुपर्ने अवस्था नरहेको उनको भनाइ छ । आफू पटक–पटक चुनाव लड्ने उम्मेदवार नभएको र उमेरका हिसाबले पनि अझै नयाँ पुस्ताकै प्रतिनिधि रहेको उल्लेख गर्दै ढुङ्गेलले अनुभव र युवाशक्तिको सन्तुलित संयोजनका रूपमा आफूलाई प्रस्तुत गरेका छन् ।

‘म अनुभवले खारिएको छु तर जोश, जाँगर र ऊर्जा अझै उत्तिकै छ,’ उनले भने, ‘पार्टी र देशले पत्याए जुनसुकै जिम्मेवारी पनि इमानदारीपूर्वक बहन गर्न सक्छु ।’ रामेछापेली जनतामाझ पार्टीले पहिलो पटक आफूलाई प्रतिनिधि सभा सदस्यको उम्मेदवारका रूपमा अघि सारेको भन्दै उनले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसहित सम्पूर्ण केन्द्रीय नेतृत्वप्रति आभार व्यक्त गरेका छन् । साथै, उम्मेदवार सिफारिस प्रक्रियामा परेका अन्य नेताहरूलाई धैर्य र सहकार्यको सन्देश दिँदै उनले राजनीति सामूहिक यात्राको विषय भएको उल्लेख गरेका छन् ।

‘अवसर सबैका लागि आउँछन्,’ उनको भनाइ छ, ‘मिलेरै अघि बढ्दा मात्रै पार्टी र जिल्लाको हित हुन्छ ।’ ढुङ्गेलले रामेछापेली जनताले दिएको मतको सम्मान गर्दै संसदमा जिल्लाको आवाज सशक्त रूपमा उठाउने प्रतिबद्धता व्यक्त गरेका छन् । विकास, सुशासन र जनजीविकाका सवालमा प्रभावकारी भूमिका खेल्ने वाचा गर्दै उनले आगामी निर्वाचनमा आफूलाई अमूल्य मत दिएर विजयी गराउन आग्रह गरेका छन् । ‘तपाईंहरूको मत मेरो जिम्मेवारी हो,’ उनले भने, ‘त्यसको इज्जत राख्दै जनताको पक्षमा निडर भएर काम गर्नेछु ।’

 

 

शेरबहादुर तामाङको चुनावी प्रतिज्ञा : ‘भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता, सुशासन र जनमुखी विकास’

काठमाडौं । आगामी प्रतिनिधि सभा निर्वाचनका लागि सिन्धुपाल्चोक क्षेत्र नम्बर–२ बाट नेकपा (एमाले) का उम्मेदवार शेरबहादुर तामाङले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता, सुशासनको संस्थागत विकास र जनताको जीवनस्तर उकास्ने योजनालाई आफ्नो केन्द्रीय एजेण्डा बनाएर चुनावी अभियान सुरु गरेका छन् ।

एमालेबाट उम्मेदवारका रूपमा औपचारिक निर्णय भएपछि सार्वजनिक प्रतिबद्धता व्यक्त गर्दै तामाङले राजनीति व्यक्तिगत लाभको साधन नभई जनविश्वास र साझा संकल्पको जिम्मेवारी भएको उल्लेख गरे । उनले निष्ठा, इमानदारी र नैतिकताको बलमा जनतासँग निरन्तर उभिने प्रतिवद्धता जनाउँदै भने, ‘यो जिम्मेवारी मेरो व्यक्तिगत उपलब्धि होइन, जनताको आशा र भरोसाको प्रतिविम्ब हो । जनताको आवाज संसदसम्म पुर्‍याएर न्याय, सुशासन र विकासका पक्षमा दृढतापूर्वक उभिन्छु ।’

‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय लक्ष्यलाई व्यवहारमा उतार्न भ्रष्टाचार नियन्त्रण र सुशासनलाई पहिलो प्राथमिकतामा राखिने तामाङको भनाइ छ । उनले सबै सार्वजनिक पद धारण गर्ने व्यक्तिको सम्पत्ति विवरण अनिवार्य रूपमा सार्वजनिक गर्ने कानुन बनाउन पहल गर्ने, सरकारी सेवाहरूलाई पूर्ण रूपमा अनलाइन प्रणालीमा रूपान्तरण गर्ने र कमिसन तथा अनियमितता नियन्त्रणका लागि कडा कानुनी व्यवस्था ल्याउने घोषणा गरेका छन् ।

नीतिगत सुधारसँगै आर्थिक र सामाजिक क्षेत्रमा पनि स्पष्ट योजना प्रस्तुत गर्दै तामाङले गाँजा खेतीलाई वैधानिकता दिने, कोदोको रक्सीलाई ब्राण्डिङ गरी अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउने, स्वास्थ्य बिमालाई शतप्रतिशत कार्यान्वयन गरी प्रत्येक नागरिकको उपचार सुनिश्चित गर्ने तथा घरायसी प्रयोजनका लागि विद्युत् निःशुल्क उपलब्ध गराउने विषयलाई संसदमा सशक्त रूपमा उठाउने प्रतिबद्धता व्यक्त गरे ।

‘म भ्रष्टाचार गर्दिनँ, हुन पनि दिन्नँ–यो मेरो अटल प्रतिबद्धता हो’, भन्दै उनले स्पष्ट शब्दमा थपे, ‘बरु जीवनमा भोकै मर्न तयार छु, तर जनता र देशको नाममा एक पैसा पनि भ्रष्टाचार गर्दिनँ ।’ अघिल्लो कार्यकालमा जनताको सबै अपेक्षा पूरा गर्न नसकेको स्वीकार गर्दै तामाङले सिन्धुपाल्चोकको शिर कहिल्यै निहुरिने काम नगरेको र आगामी दिनमा पनि ननिहुरिने दाबी गरे । ‘निष्ठा, इमान, पारदर्शिता र जनताप्रतिको वफादारी नै मेरो राजनीतिक यात्राको मूल मन्त्र हो’, उनले भने। एमालेका शालीन र निष्ठावान् नेताका रूपमा परिचित तामाङले आफूलाई उम्मेदवार बनाउने पार्टी निर्णयप्रति एमाले अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेललगायत सम्पूर्ण पार्टी नेतृत्वप्रति धन्यवाद व्यक्त गरेका छन् । उनले मतदाता, शुभेच्छुक, कार्यकर्ता र समर्थकहरूलाई साथ, सहयोग र रचनात्मक सुझावका लागि अपिल गरेका छन् ।

 

विश्वकप छनोट: नेपालले दियो थाइल्याण्डलाई १२३ रनको चुनौति

काठमाडौं । काठमाडौंमा आजबाट सुरू भएको टी-२० महिला विश्वकप छनोटको पहिलो खेलमा नेपालले थाइल्याण्डसँग प्रतिस्पर्धा गरिरहेको छ ।

किर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२२ रन बनायो । नेपालका ओपनर द्वय बिन्दु रावल र सम्झना खड्काले राम्रो प्रदर्शन गरे पनि अन्य ब्याट्सम्यान मैदानमा टिक्न सकेनन् ।

बिन्दुले ५६ बलमा ४४ रन र सम्झनाले ११ बलमा २६ रन बनाइन् । दुवैले ६-६ चौका प्रहार गरेका थिए । पूर्व कप्तान रुबिना क्षेत्रीले १० बलमा १७ रन बनाउँदा उपकप्तान पूजा महतोले १७ बलमा १२ रन बनाइन् ।

कप्तान इन्दु बर्मा ६ रनमा आउट हुँदा कविता जोशी र कविता कुँवरले २-२ रन जोडे ।

थाइल्याण्डका लागि थिपच्चा पुत्तावोङले सर्वाधिक २ विकेट लिइन् ।

 

निर्वाचन एमालेका लागि परीक्षा, टिकटको विषय गौण : विष्णु रिमाल

काठमाडौं । नेकपा (एमाले) का नेता विष्णु रिमालले आसन्न आम निर्वाचनलाई पार्टीका लागि निर्णायक मोडको रूपमा चित्रण गर्दै टिकटको विषयलाई गौण बनाएर पार्टी एकताको पक्षमा उभिन सम्पूर्ण नेता–कार्यकर्तालाई आग्रह गरेका छन्। उनले यो निर्वाचन केवल उम्मेदवारको प्रतिष्पर्धा मात्र नभई पार्टीको संगठनात्मक शक्ति र वैचारिक प्रतिबद्धताको परीक्षा पनि भएको स्पष्ट पारेका छन् ।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै नेता रिमालले आम निर्वाचनमा एमालेले संगठित र अनुशासित रूपमा मैदानमा उत्रिनुपर्ने उल्लेख गरेका छन् । पार्टीलाई जिताउन सबैले आ–आफ्नो भूमिकाबाट सक्रिय हुनुपर्ने बताउँदै उनले उम्मेदवार, परिचालक वा प्रचारक जुनसुकै हैसियतमा रहे पनि लक्ष्य एउटै हुनुपर्नेमा जोड दिएका छन् ।

उनले पार्टीभित्र एक लयमा अघि बढ्न नसके उम्मेदवार मात्र होइन, समग्र संगठन नै कमजोर हुने चेतावनी दिएका छन् । एकता बिना न त उम्मेदवारले जित हात पार्ने अवस्था रहन्छ न त संगठनले उपलब्धिको श्रेय पाउने भन्दै उनले आन्तरिक मतभेद र असन्तुष्टिलाई अहिलेका लागि थाती राख्न आग्रह गरेका छन् ।

टिकट वितरणको विषयमा उठ्ने असन्तुष्टिलाई सम्बोधन गर्दै नेता रिमालले यस पटक अवसर नपाएकाले आगामी निर्वाचनमा अवसर पाउने विश्वास व्यक्त गरेका छन् । वर्तमान अवस्थामा पार्टीमाथि घेराबन्दी र आक्रमण तीव्र रहेको उल्लेख गर्दै उनले तत्कालीन चुनौती सामना गर्न सबै ऊर्जा चुनावी अभियानमै केन्द्रित गर्नुपर्ने धारणा राखेका छन् ।

एमाले निर्णायक राष्ट्रिय शक्ति नबन्दासम्म देश रूपान्तरणका बाँकी कार्यहरू अधुरा रहने बताउँदै उनले यस निर्वाचनलाई सत्ता प्राप्तिको साधारण प्रतिष्पर्धा मात्र नभई वैचारिक जनमत संग्रहका रूपमा व्याख्या गरेका छन् । ‘यो चुनाव बनाउने र भत्काउने, जोगाउने र जलाउने शक्तिहरूबीचको छनोट हो,’ उनको भनाइ छ । नेता रिमालले आम निर्वाचनमा एमालेका सबै उम्मेदवारहरूलाई जितको शुभकामना व्यक्त गर्दै पार्टीलाई पहिलो शक्ति बनाउने साझा लक्ष्यका लागि सम्पूर्ण पंक्ति एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि : मालपानीका लागि कसैसँग हात नपसार्नु मेरो कमजोरी

काठमाडौं । नेकपा एमालेले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोट गर्दा पार्टीभित्र भएको आन्तरिक मतदानको नतिजालाई बेवास्ता गरेको भन्दै दैलेखमा चर्चा चुलिएको छ । आन्तरिक प्रतिष्पर्धामा सर्वाधिक मत प्राप्त गरेका केन्द्रीय सदस्य विष्णु रिजाललाई पन्छाउँदै एमालेले दैलेख क्षेत्र नं. २ बाट लक्ष्मीराज शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

शनिबार बसेको एमाले केन्द्रीय सचिवालय बैठकले शर्मालाई औपचारिक उम्मेदवार बनाउने निर्णय गरेको हो । यसअघि उम्मेदवार सिफारिसका लागि भएको क्षेत्रीय कमिटीको मतदानमा रिजालले ६७ मत प्राप्त गर्दै पहिलो स्थान हासिल गरेका थिए भने शर्माले ६६ मत पाएका थिए । एक मतले पछि परेका शर्मालाई केन्द्रले अघि सारेपछि कार्यकर्ताबीच यो निर्णयलाई अर्थपूर्ण रूपमा हेरिएको छ । जिल्ला र प्रदेश कमिटीबाट समेत पहिलो नम्बरमा सिफारिस भएका रिजाललाई टिकट नदिइएपछि एमालेको ‘आन्तरिक लोकतन्त्र’ माथि प्रश्न उठेको छ । दैलेख एमाले वृत्तमा नेतृत्वको निर्णयले कार्यकर्ताको मतको सम्मान नभएको टिप्पणी भइरहेको छ ।

टिकट नपाएपछि विष्णु रिजालले सामाजिक सञ्जालमार्फत आफ्नो असन्तुष्टि सार्वजनिक गरेका छन् । उनले लेखेका छन्, ‘कार्यकर्ताको रोजाइमा पहिलो भए पनि तेस्रो पटकसम्म नेतृत्वको रोजाइमा पर्न सकिनँ ।’ उनले यस पटक आफू दैलेख–२ बाट पार्टी कार्यकर्ताको मतदानबाट पहिलो नम्बरमा सिफारिस भएको, जिल्ला र प्रदेश कमिटीले समेत पहिलो नम्बरमै अघि सारेको स्मरण गराएका छन् ।

रिजालले टिकट पाउने नेतालाई कटाक्षपूर्ण शैलीमा लामो राजनीतिक अनुभव भए पनि पार्टीभित्रको आन्तरिक प्रतिष्पर्धामा पराजित हुँदाहुँदै पनि नेतृत्वको रोजाइमा पर्न सक्ने ‘अद्भूत क्षमता’ को चर्चा गरेका छन् । उनले ‘कसैसँग मालपानीका लागि हात नपसार्नु नै मेरो कमजोरी हो भने यसमा भन्नु केही छैन’ भन्दै संकेतात्मक अभिव्यक्ति दिएका छन् ।

उनले राजनीति भित्र प्रत्यक्ष प्रतिस्पर्धा गर्न नसकेर व्यक्तिगत प्रतिष्ठामाथि आक्रमण गर्ने प्रवृत्तिप्रति आलोचना गर्दै आफ्ना पक्षमा उभिने सबैप्रति धन्यवाद व्यक्त गरेका छन् । साथै टिकट नपाएको विषयमा निरास नहुन आग्रह गर्दै समर्थकसँग क्षमायाचना पनि गरेका छन् । एमालेको यो निर्णयले उम्मेदवार छनोट प्रक्रियामा आन्तरिक मतदानको भूमिका र नेतृत्वको प्राथमिकताबीचको अन्तरविरोधलाई पुनः सतहमा ल्याएको छ ।

 

 

एमालेले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीका रुपमा अघि सार्ने, झापामा सातौंपटक उम्मेदवारी

काठमाडौं । शनिबार बसेको नेकपा एमालेको बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीका रुपमा अघि सार्ने निर्णय गरेको छ । अध्यक्ष ओली यसअघि २०७२, २०७४ र २०७८ सालमा प्रधानमन्त्री बनेका थिए ।

एमाले सचिवालयको बैठकले ओली झापा-५बाट उम्मेदवार बन्‍ने निर्णय पनि गरेको छ । योसँगै ओली सातौंपटक संसदीय निर्वाचनको मैदानमा होमिन लागेका हुन् ।

बहुदल आएपछि भएको पहिलो निर्वाचन २०४८ मा झापा-६ बाट विजयी भएका ओली यहीँबाट २०५१ मा पनि दोहोरिएका थिए । यस्तै, २०५६ सालको आम निर्वाचनमा झापा-२ मा विजयी भएका थिए ।

२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा माओवादी उम्मेदवार विश्‍वदीप लिङदेनसँग झापा-५ मा पराजय भोगे पनि २०७०को दोस्रो संविधानसभा निर्वाचनमा जित मात्रै हासिल गरेनन्, संविधान जारी गराउन महत्वपूर्ण भूमिका पनि निर्वाह गरे ।

२०७२ मा संविधान जारी भएपछि नयाँ संविधानअनुसार भएको २०७४ साल र २०७९ सालमा भएको निर्वाचनमा पनि उनले झापा-५मा भारी अन्तरले जित हात पारेका थिए ।

यी दुवै निर्वाचनमा उनले ५० हजारभन्दा बढी मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिस्पर्धीले उनले भन्दा आधा कम मत पाएका थिए ।

यसपालि झापा ५ मा नेपाली कम्युनिष्ट पार्टीले अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष रन्जित तामाङलाई टिकट दिएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह उठ्ने चर्चा छ । श्रम संस्कृति पार्टीले समीर तामाङलाई उम्मेदवार बनाएकाे छ ।

नेपाली कांग्रेसले भने उम्मेद‍वार तय गरिसकेको छैन । तर, यसपटक विश्‍वदीप लिङदेनलाई उठाउने गाइँगुइँ चर्चा छ ।

एमालेले टुंगो लगायो उम्मेद्वार, देशैभरीका निर्वाचन क्षेत्रमा क-कसले पाए टिकट? (सूचीसहित)

शनिबार बसेको  नेकपा एमालेको सचिवालय बैठकले आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेद्वारहरूको नाम टुंगो लगाएको छ । केही क्षेत्रमा अध्यक्ष केपी शर्मा ओलीले निर्णय गर्नेगरी खालि राखिए पनि अधिकांश ठाउँको उम्मेद्वार शनिबार टुंगो लगाइएको छ । सचिवालय बैठकको निर्णय अनुसार यी व्यक्तिहरू एमालेको उम्मेद्वार बन्नेछन्:
सुदूरपश्चिम प्रदेश
कैलाली
१. द्वारिका न्यौपाने
२. सूर्यबहादुर थापा
३. गौरीशंकर चौधरी
४. लेखराज भट्ट
५. यज्ञराज ढुङ्गाना
कञ्चनपुर
१. कमला बोहरा
२. वचनबहादुर सिंह
३. दीपक भट्ट
अछाम
१. झपटबहादुर बोहरा
२. यज्ञ बोगटी
बाजुरा
१. लालबहादुर थापा
डोटी
१. दीपक धामी
डडेल्धुरा
१. चक्र स्नेही
बझाङ
१. अफिलाल ओखेडा
बैतडी
१. दामोदर भण्डारी
दार्चुला
१. गणेशसिंह ठगुन्ना
कर्णाली प्रदेश
सल्यान
१. गुलाबजंग शाह
रुकुम पश्चिम
१. नन्दराम देवकोटा
सुर्खेत
१. धुर्व शाही
२. कुलमणि देवकोटा
कालिकोट
१. नागेन्द्र शाही (नेसनल)
जुम्ला
१. शान्तिबहादुर महत
मुगु
१. पूर्णबहादुर रोकाया
हुम्ला
१. दल फडेरा
डोल्पा
१. लङ्क रोकाया
दैलेख
१. रविन्द्रराज शर्मा
२. लक्ष्मीराज शर्मा
जाजरकोट
१. डम्मरबहादुर सिंह
लुम्बिनी प्रदेश
नवलपरासी
१. रामप्रसाद पाण्डे
२. भगवतीप्रसाद यादव
रुपन्देही
१. अध्यक्षले टुङ्गाउने
२. अध्यक्षले टुङ्गाउने
३. बासुदेव घिमिरे
४. अध्यक्षले टुङ्गाउने
५. खिमलाल भट्टराई
कपिलवस्तु
१. विश्राम चौधरी
२. अध्यक्षले टुङ्गाउने
३. बिरेन्द्र कडौनिया
दाङ
१. महासचिवको इच्छा बुझेर अध्यक्षले टुङ्गाउने
२. महासचिवको इच्छा बुझेर अध्यक्षले टुङ्गाउने
३. घनश्याम पाण्डे
बाँके
१. सूर्य ढकाल
२. अध्यक्षले टुङ्गाउने
३. दलबहादुर सुनार
बर्दिया
१. सालिकराम अधिकारी
२. विमला विक
पाल्पा
१. नारायण आचार्य
२. विष्णुप्रसाद पोडेल
रुकुम पूर्व
१. अध्यक्षले टुङ्गाउने
रोल्पा
१. गोकुल घर्ती
प्यूठान
१. सूर्यबहादुर थापा
अर्घाखाँची
१. पिताम्बर भुसाल
गुल्मी
१. प्रदीप ज्ञवाली
२. गोकर्ण बिष्ट
गण्डकी प्रदेश
नवलपुर
१. भागीरथ सापकोटा
२. तिलबहादुर (तिलक) महत क्षेत्री
गोरखा
१. आर.सी. लामिछाने
२. मिलन गुरुङ
लमजुङ
१. पृथ्वी सुब्बा गुरुङ
तनहुँ
१. भगवती न्यौपाने
२. केदार सिग्देल
स्याङ्जा
१. मिनप्रसाद गुरुङ
२. खिमबहादुर थापा
म्याग्दी
१. हरिकृष्ण श्रेष्ठ
कास्की
१. बैणबहादुर क्षेत्री
२. कृष्ण थापा
३. दामोदर बैरागी
बागलुङ
१. हिरा केसी
२. मञ्जु शर्मा चालिसे
मुस्ताङ
१. इन्द्रधारा बिष्ट
मनाङ
१. पोल्देन सोताङ गुरुङ
पर्वत
१. पदम गिरी
बागमती प्रदेश
सिन्धुली
१. प्रदीप केसी (कटुवाल)
२. मनोजजंग थापा
रामेछाप
१. माधवप्रसाद ढुङ्गेल
दोलखा
१. पार्वत गुरुङ
सिन्धुपाल्चोक
१. आङदोर्जे शेर्पा
२. शेरबहादुर तामाङ
काभ्रे
१. अमित लामा
२. अध्यक्षले टुङ्गाउने
धादिङ
१. भूमी त्रिपाठी
२. धनबहादुर घले
नुवाकोट
१. बद्री मैनाली
२. केशव पाण्डे
रसुवा
१. प्रेमबहादुर तामाङ
मकवानपुर
१. रामेश्वर राना
२. महेश बर्तौला
चितवन
१. कृष्णराज (कमल) पाठक
२. अस्मिन घिमिरे
३. शंकरराज थपलिया
काठमाडौं
१. मोहन रेग्मी
२. मणिराम फुयाल
३. रामेश्वर फुयाल
४. अध्यक्षले टुङ्गाउने
५. अध्यक्षले टुङ्गाउने
६. अमनकुमार मास्के
७. अध्यक्षले टुङ्गाउने
८. राजेश शाक्य
९. अध्यक्षले टुङ्गाउने
१०. विनोद श्रेष्ठ
भक्तपुर
१. सोमप्रसाद मिश्र
२. महेश बस्नेत
ललितपुर
१. चेतनाथ सञ्जेल
२. प्रेमबहादुर महर्जन
३. अध्यक्षले टुङ्गाउने
मधेश प्रदेश
सप्तरी
१. सुमन प्याकुरेल
२. सतिश सिंह
३. ताराकान्त चौधरी
४. बालकृष्ण चौधरी
सिराहा
१. केदार यादव
२. नविनकुमार यादव
३. लिलानाथ श्रेष्ठ
४. बिल्टु यादव
धनुषा
१. रामचन्द्र मण्डल
२. उमाशंकर अग्रहरि
३. जुली महतो
४. रघुवीर महासेठ
महोत्तरी
१. लक्ष्मी महतो कोइरी
२. रामपरिक्षण यादव
३. अध्यक्षले टुङ्गाउने
४. सरोज यादव
सर्लाही
१. अध्यक्षले टुङ्गाउने
२. अध्यक्षले टुङ्गाउने
३. हरि उप्रेती
रौतहट
१. अजय गुप्ता
२. शैलेन्द्र साह
३. कुन्दन कुशवाहा
४. रामजी शाह
बारा
१. अच्युत मैनाली
२. बलवीर चौधरी
३. ज्वाला शाह
४. किसान श्रेष्ठ
पर्सा
१. अध्यक्षले टुङ्गाउने
२. अध्यक्षले टुङ्गाउने
३. प्रमोद जैसवाल
४. जालिम मियाँ अन्सारी
कोशी प्रदेश
ताप्लेजुङ
१. अध्यक्षले टुङ्गाउने
पाँचथर
१. ऐन्द्रसुन्दर नेम्वाङ
इलाम
१. काजिमान कागते
२. सुहाङ नेम्वाङ
झापा
१. रामचन्द्र उप्रेती
२. देवराज घिमिरे
३. अध्यक्षले टुङ्गाउने
४. मनोज ताम्ली
५. केपी शर्मा ओली
संखुवासभा
१. डा. अर्जुन कार्की
धनकुटा
१. राजेन्द्र राई
भोजपुर
१. शेर्दन राई
तेह्रथुम
१. भानुभक्त ढकाल
सुनसरी
१. सूर्य पन्दाक
२/३. जगदीश कुसियात( सो मध्य–१ अध्यक्षले टुङ्गाउने)
४. भगवती चौधरी
मोरङ
१. घनश्याम खतिवडा
२. दिलीप बगेडिया
३. दिलीप राई
४. जीवन घिमिरे
५. अध्यक्षले टुङ्गाउने
६. अध्यक्षले टुङ्गाउने
सोलुखुम्बु
१. कल्पना राई
ओखलढुंगा
१. अस्मिता थापा
उदयपुर
१. दुर्गा थापा स्वोती
२. अमर रायमाझी
खोटाङ
१. देवविक्रम राई

रविविरुद्धको मुद्दा फिर्तापछि युवा संघले भन्याे – ‘जनतालाई लाज भो, सहकारी ठगको राज भो ।’

काठमाडौं । नेकपा एमालेको राष्ट्रिय युवा संघले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने प्रतिवादी भएको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिने सरकारको निर्णयविरुद्ध प्रदर्शन गरेको छ ।

संघले लामिछानेविरुद्धको दुई गम्भीर मुद्दा फिर्ता लिने सरकारको निर्णयप्रति आपत्ति जनाउँदै भनेको छ, ‘जनतालाई लाज भो, सहकारी ठगको राज भो ।’

यसअघि नेपाली कांग्रेसको युवा संगठन नेपाल तरुण दलले पनि लामिछानेविरुद्धको दुई मुद्दा फिर्ता लिने सरकारी निर्णयको विरोधमा शुक्रबार प्रदर्शन गरेको थियो ।

गत ३० पुसमा सरकारले महान्यायाधिवक्ता कार्यालयमार्फत यो मुद्दा फिर्ता लिने निर्णय गरेको थियो ।

सरकारको यो कदमले अपराधबाट आर्जित सम्पत्ति व्यवस्थापन (सम्पत्ति शुद्धीकरण)बारे विश्व्यापी अनुगमन गर्ने फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)ले नेपाललाई जोखिमपूर्ण मुलुकको सूचीबाट कालो सूचीमा राख्‍ने चिन्ता बढेको छ ।

यदि कालो सूचीमा परे नेपाललाई पर्ने आर्थिक असर कल्पना बाहिरको हुने अर्थ–राजनीतिक विश्लेषक डा. भीम भुर्तेल बताउँछन् ।

उनले फेसबुकमा स्टाटस लेख्दै भने, ‘अहिले सुशीला कार्कीको महान्यायधिवक्ता सविता भण्डारीले रविविरूद्ध सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुरको मुद्धा फिर्ता लिने निर्णय गरेको कारण अब पक्का ग्रेबाट कालो सूचीमा झर्ने छ । यसको कारण देशलाई पर्ने आर्थिक असर कल्पना बाहिरको कुरो हो । एक पटक झरेपछि माथि उक्लन गाह्रो पर्छ ।’

रविविरुद्धको दुवै मुद्दा गम्भीर भएको भन्दै ठट्टा गर्न नहुने उनले बताए ।

लामिछानेविरुद्ध काठमाडौं, कास्की, रुपन्देही र पर्सा जिल्लामा संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा विचाराधीन छ । यी जिल्लाहरूमा सहकारी ठगी मुद्दा पनि छ । चितवनमा भने सहकारी ठगीको मात्रै छ ।

कानुनतः सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिन पाउँदैन । तर, रास्वपा सभापति रवि लामिछानेलाई प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न पाउने र निर्वाचन जिते सांसद हुँदै मन्त्री हुने बाटो खुला गर्न दुई गम्भीर प्रकृतिको मुद्दा सरकारले सुटुक्क फिर्ता गर्ने निर्णय गरेको हो ।

महान्यायाधिवक्ता कार्यालयका अनुसार रविविरुद्ध चलिरहेका ती मुद्दालाई सम्बन्धित जिल्ला सरकारी वकिल कार्यालयबाट फिर्ता लिन निर्देशन दिइसकिएको छ ।

 

बर्दिया–१ मा नेकपाको उम्मेदवार बामदेव गौतम, राष्ट्रियसभा सदस्यबाट राजीनामा कहिले ?

काठमाडौं । पूर्वउपप्रधान तथा गृहमन्त्री बामदेव गौतमलाई नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले बर्दिया–१ बाट उम्मेदवार बनाएको छ ।

उम्मेदवार बन्‍ने भएसँगै गौतमले राष्ट्रिय सदस्यबाट राजीनामा दिने भएका छन् । उनीनिकट एक नेताका अनुसार गौतमले आइतबार पदबाट राजीनामा दिने छन् । उनी नेकपाका वरिष्ठ नेता हुन् ।

२०४८ सालदेखि नै बर्दिया क्षेत्र नम्बर– १ बाट उनले चुनाव लडे । २०७० सालमा गौतमले प्यूठान–१ र बर्दिया–१ बाट चुनाव जिते ।

तर, ०७२ को संविधानले भने दुई ठाउँबाट चुनाव लड्ने प्रावधान हटाएपछि २०७४ मा गौतम बर्दिया–१ बाट चुनाव लडेका थिए । तर चुनाव जित्‍न भने सकेनन् । उनी कांग्रेसका सञ्‍जयकुमार गौतमसँग पराजित भएका थिए ।

त्यसपछि बर्दिया– १ बाट चुनाव नलडेका उनी अहिले फेरि त्यही क्षेत्रमा चुनाव लड्ने भन्दै मतदाता भेटघाटमा सक्रिय हुँदै आएका छन् ।

उनी २०७७ साल असोज १ गते मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रियसभा सदस्य मनोनीत भएका थिए ।

गौतमसहित राष्ट्रियसभाका २० सदस्यको कार्यकाल आगामी फागुन २० गते सकिँदै छ ।

कार्यकाल सकिनुभन्दा एक महिनाअघि नै निर्वाचन गर्नुपर्ने कानुनी व्यवस्था भएकाले आगामी माघ ११ गते राष्ट्रियसभा सदस्य निर्वाचन हुँदैछ ।

उपेन्द्र यादवसँग इन्जिनियर अरविन्दलाई चुनाव लडाउँदै रास्वपा

काठमाडौं । गत निर्वाचनमा बारा–२ बाट निर्वाचित जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवसँग यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इन्जिनियर अरविन्द साहलाई प्रतिस्पर्धा गराउँदै छ ।

साह सूचना प्रविधि उद्यमी हुन् । ग्रामीण जीवनबाट संघर्ष गर्दै प्रविधि र उद्यमशीलतामार्फत राष्ट्रिय पहिचान बनाएका साहले सूचनाको पहुँज, वित्त पहुँज, रोजगारी सिर्जना र प्रविधिमैत्री विकासलाई प्रमुख राजनीतिक एजेन्डा बनाएका छन् ।

रुखमुनि बसेर सुरु गरेको अध्ययनदेखि पुल्चोक इन्जिनियरिङ क्याम्पससम्मको शैक्षिक यात्रापछि उनले आईटी क्षेत्रमा १९ वर्षभन्दा बढी अनुभव सँगालेका छन् ।

स्प्यारो एसएमएस, खल्ती एपजस्ता देशव्यापी डिजिटल सेवाको नेतृत्व गरेका साहलाई नीति निर्माण, नवप्रवर्तन र परिणाममुखी सोचको प्रतिनिधि पात्रका रूपमा हेरिन्छ ।

कृषिमा प्रविधिको प्रयोग, ग्रामिण युवाको क्षमता विकास, स्टार्टअप इकोसिस्टम प्रवर्द्धन तथा रोजगारी सिर्जनामा प्रत्यक्ष योगदान दिएका उनले भाषणभन्दा काम र नतिजामा विश्‍वासगउगर्ने नेतृत्वको छवि बनाएका छन् ।

 

प्रेम आले कैलाली- ५ बाट चुनाव लड्ने

काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता प्रेम आले कैलाली क्षेत्र नम्बर- ५ बाट २१ फागुनको प्रतिनिधीसभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने भएका छन्। 

गएको निर्वाचनमा यो क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार डिल्लीराज पन्त निर्वाचित भएका थिए। 

आले यसअघि डोटीबाट चुनाव लड्दै आएका नेता हुन्। 

 

 

सर्लाही-३ बाट चुनाव लड्दै नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठ २१ फागुनको प्रतिनिधीसभा निर्वाचनमा सर्लाही-३ बाट उम्मेदवार बन्ने भएका छन्।

नेकपाले सर्लाहीमा श्रेष्ठलाई पहिलो नम्बरमा राखेर उम्मेदवार सिफारिस गरेको थियो। सर्लाही ३ मा गएको निर्वाचनमा एमालेका हरिप्रसाद उप्रेतीले जितेका थिए।

महेश बस्‍नेतको गम्भीर आरोप – ‘कांग्रेस विभाजनमा प्रधानमन्त्री कार्की पनि संलग्‍न’

काठमाडौं । एमाले सचिव महेश बस्‍नेतले नेपाली कांग्रेसको विभाजनमा प्रधानमन्त्री सुशीला कार्की संलग्‍न भएको गम्भीर आरोप लगाएका छन् ।

कांग्रेस, एमालेजस्ता शक्तिलाई कमजोर बनाउन उनले प्रधानमन्त्री कार्कीसहित अन्तर्राष्ट्रिय शक्तिहरू लागेर कांग्रेस विभाजन गरेको आरोप लगाए ।

‘जुन ढङ्‍गले सेटिङको आधारमा एक घण्टाको अन्तरालमा निर्वाचन आयोगले जे निर्णय गर्‍यो, त्यो बेठिक गर्‍यो भन्ने शेरबहादुर देउवाजीहरूले भन्‍नुभएको छ । त्यो कुरामा हाम्रो पनि समर्थन छ । कांग्रेसको विभाजन भनेको लोकतन्त्र माथिको प्रहार हो,’ उनले शनिबारसचिवालय बैठकस्थल च्यासलमा पत्रकारहरूसँग उनले भने, ‘कांग्रेस र एमालेजस्तो शक्तिलाई कमजोर बनाउने र रवि लामिछानेजस्ता बलियो बनाउने कुरामा सुशीला कार्कीलगायतका अन्तर्राष्ट्रिय शक्तिहरू जुन ढङ्‍गले लागेका छन् । यो निकै गम्भीर विषय हो भन्‍ने हाम्रो निष्कर्ष हो ।’

उनले कांग्रेसको विभाजनलाई निकै गम्भीरताका साथ हेरिरहेको पनि बताए ।

शुक्रबार निर्वाचन आयोगले विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा चयन भएको नेपाली कांग्रेसलाई आधिकारिता दिएको थियो ।

लगत्तै बस्‍नेतले आयोगको निर्णयलाई आलोचना मात्रै गरेनन्, आन्दोलन गर्नेसम्मको चुनौती दिए ।

प्रचण्डसँग प्रलोपाबाट चुनाव लड्दै सन्दिप

काठमाडाैं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता सन्दीप पुन आगामी प्रतिनिधि सभा निर्वाचनमा प्रतिस्पर्धा गर्ने भएका छन्। पूर्वी रुकुमलाई निर्वाचन क्षेत्र बनाएर पुनले चुनावी मैदानमा उत्रने घोषणा गरेका हुन्।

पुनले गत साता सामाजिक सञ्जाल फेसबुकमार्फत पूर्वी रुकुमबाट चुनाव लड्ने घोषणा गरेका थिए। त्यसपछि काठमाडौंस्थित रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रममा उनले औपचारिक रूपमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्। उनले पूर्वी रुकुम विकासको प्रचुर सम्भावना हुँदाहुँदै पनि पछाडि परेको जिल्ला रहेको उल्लेख गर्दै यसलाई समृद्ध बनाउने आफ्नो मुख्य लक्ष्य रहेको बताए।

फेसबुकमा लेख्दै पुनले भनेका छन्, ‘विकासको प्रचुर सम्भावना भएर पनि पछि परेको हाम्रो गौरवशाली र विरासत बोकेको जिल्ला रुकुम पूर्वलाई समृद्ध बनाउने र यहाँका आवाजहरूलाई संघीय संसदमा बुलन्द पार्ने अठोटका साथ मैले आउँदै गरेको प्रतिनिधि सभा निर्वाचनमा आफ्नो उम्मेदवारी घोषणा गरेको छु।’ उनले स्थानीय जनताको समस्या, आवश्यकता र आकांक्षालाई संसदमा प्रभावकारी रूपमा उठाउने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

सन्दीप पुन १० वर्षे सशस्त्र ‘जनयुद्ध’का शहीद सूर्यप्रकाश पुन ‘सुन्दर’ र परम्परा गौतम ‘वृक्ष’का छोरा हुन्। उनका बुबाआमाको २०५३ साल जेठ २५ गते जनयुद्धकै समयमा जनवादी विवाह भएको थियो। २०५४ सालमा जनयुद्धकै क्रममा जन्मिएका पुनले द्वन्द्वकालीन पीडा र इतिहास नजिकबाट भोगेका छन्।

२०५९ साल जेठ १४ गते बझाङको रायलमा उनकी आमा परम्परा गौतम र सोही महिनाको २३ गते बझाङकै सैसुमा उनका बुवा सूर्यप्रकाश पुनको तत्कालीन शाही सेनासँगको दोहोरो भिडन्तमा मृत्यु भएको थियो । हाल सन्दीप पुन शहीद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसनका अध्यक्षसमेत हुन् । 

उनी नयाँ पुस्ताको प्रतिनिधित्व गर्दै वैकल्पिक राजनीतिक धार प्रस्तुत गर्ने दाबी गर्दै चुनावी मैदानमा उत्रिएका छन्।

इन्जिनियर अशेषलाई झापा–१ मा नेकपाले दियो टिकट

काठमाडौं । मार्क्सवादी अध्येता तथा इन्जिनियर अशेष घिमिरेलाई नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले झापा– १ मा उम्मेदवार बनाउने भएको छ ।

शनिबार पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल, नेता झलनाथ खनालसहितका नेताहरूले अशेषलाई टिकट दिएका हुन् ।

४२ वर्षे उनी नेकपाको केन्द्रीय कमिटी सदस्य हुन् । उनले भने, ‘संयोजक–सहसंयोजकसहितका नेताहरूले शुभकामना दिएर टिकट प्रदान गर्नुभएको छ ।’

२०७९ को प्रतिनिधिसभा निर्वाचनमा झापा– १ बाट नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा विजयी भएका थिए । उनले यसपटक निर्वाचन नलड्ने घोषणा गरिसकेका छन् ।

उनीभन्दा अघि २०७४ को प्रतिनिधिसभा निर्वाचनमा तत्कालीन नेकपा माओवादी केन्द्र (हाल प्रगतिशील लोकतान्त्रिक पार्टी) का नेता राम कार्की निर्वाचित भए । कार्कीभन्दा अघि भने एमाले नेता रविन कोइराला पटकपटक निर्वाचित भएका थिए ।

चुनावी परिणामलाई आधार मान्दा झापा– १ कम्युनिस्ट जनमत भएको क्षेत्र हो । यही क्षेत्रबाट नयाँ पुस्ताका मार्क्सवादका गहिरो अध्येताको पहिचान बनाएका अशेषलाई नेकपाले उम्मेदवार बनाएको हो ।

शनिबार नै झापा–५ मा नेकपाले पूर्वविद्यार्थी नेता तथा नेकपा केन्द्रीय सदस्य रञ्‍जित तामाङलाई उम्मेदवार बनाएको छ ।

कांग्रेस एक्लै चुनाव लड्ने, गठबन्धन नगर्ने, यी हुन् अरु पाँच निर्णय (भिडियाेसहित)

काठमााडौं । नेपाली कांग्रेसको बैठकले छ बुँदे निर्णय गरेको छ । निर्वाचन आयोगले आधिकारिकता दिएपछि बसेको पहिलो बैठकले पार्टी एकता, आगामी निर्वाचन र पूर्वसभापति शेरबहादुर देउवाको भूमिकालगायतबारे निर्णयहरू गरेको हो ।

प्रवक्ता देवराज चालिसेले सार्वजनिक गरेका निर्णयहरूमा निर्वाचन आयोगको निर्णयलाई पनि स्वागत गर्ने उल्लेख छ ।

देउवाले कांग्रेस पार्टीको लामो समय नेतृत्व गरेर योगदान पुर्‍याएको भन्दै धन्यवाद गर्ने गरेको छ । अब उनको भूमिका कांग्रेसमा अभिभावकीय हुनुपर्ने भनिएको छ ।

निर्वाचनमा कहिल्यै अप्राकृतिक गठबन्धन वा सत्ताकेन्द्रित सम्झौता नगर्ने घोषणा गरिएको छ ।

संविधानको रक्षा र नवयुवाको आकांक्षालाई सम्बोधन गर्ने पनि निर्णय भएको छ ।

हेर्नुहोस् बैठकका निर्णयहरू

१.

निर्वाचन आयोगले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनका निर्णयहरूलाई संविधान, कानुन र पार्टी विधानअनुसार मान्यता दिई अद्यावधिक गरिसकेको छ । यो कसैको जित/हार होइन— यो विधान र लोकतन्त्रको विजय हो । यस ऐतिहासिक परिवर्तनमा साथ दिने हरेक सदस्य, शुभेच्छुक र सहयोगीप्रति हृदयदेखि केन्द्रिय समितिको यो वैठक हार्दिक आभार व्यक्त गर्दछ ।

२.

यो समय एकता, सद्‍भाव र सहकार्यको समय हो । देश/विदेशमा रहेका सबै काग्रेसजन, सबै तहका समितिहरू र सबै भातृ तथा शभेच्छुक सस्थाका साथिहरूलाई नवीन ऊर्जा, अटुट विश्‍वास र पूर्ण एकताका साथ फागुन २१ को निर्वाचनमा सशक्त रूपमा सहभागी हुन हार्दिक आह्वान गरिन्छ ।

३.

विभिन्‍न कारणले पार्टीवाट निष्कृय रहनु भएका, विभिन्‍न कारणले पार्टी छाड्नुभएका सबै साथीहरूलाई पार्टीमा पुन: जोडिन यो बैठक हार्दिकतापूर्वक आव्हान गर्दछ ।

४.

यतिबेला हामी निवर्तमान सभापति शेरबहादुर देउवालगायत नेताहरूले नेपाली कांग्रेसको नेतृत्त्वमा रही लामो समयदेखि पुर्‍याउनुभएको योगदानको उच्च कदर गर्दै हार्दिक धन्यवाद प्रकट गर्दछ । यो बैठकले श्रद्देय नेताको अभिभावकीय भूमिका प्राप्त हुने विश्‍वास राख्दछ ।

५.

नेपाली कांग्रेस आम नेपाली नागरिकप्रति आफ्नो अटल प्रतिबद्धता पुन: दोहाेर्‍याउन चाहन्छ -अब कुनै अप्राकृतिक गठबन्धन वा सत्ताकेन्द्रित सम्झौता हुने छैन । हामी सदैव मूल्य र सिद्धान्तमा अडिग रहनेछौँ । संविधानको रक्षा गर्दै समृद्ध नेपालको नेतृत्त्व गर्ने छौ । नवयुवाको आकांक्षा र जनताको अपेक्षालाई साकार पार्ने छौँ ।

६.

यो नयाँ अध्याय हो— रुपान्तरणको, एकताको, विजयको ।

सबैमा अनुरोध छ, समुन्‍नत नेपाल निर्माणको महाअभियानमा जोडिनुहोस्। थप स्‍नेह, विश्‍वास र साथ दिन सबैमा अनुरोध छ ।

जय नेपाल

देवराज चालिसे
प्रवक्ता
नेपाली कांग्रेस

कांग्रेस एक्लै चुनाव लडेर बहुमत ल्याउँछ, गगन थापा प्रधानमन्त्री बन्छन् : सुनिल शर्मा

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले आगामी निर्वाचनमा नेपाली कांग्रेसले कुनै पनि दलसँग गठबन्धन नगरी एक्लै चुनाव लड्ने र बहुमत हासिल गरेर गगन थापालाई प्रधानमन्त्री बनाउने दाबी गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै शर्माले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कांग्रेसलाई स्वीकार गर्नु अब सबैका लागि बाध्यकारी रहेको बताए । निर्वाचन आयोगले आधिकारिकता दिइसकेको नेतृत्वलाई नस्वीकार्ने कुनै विकल्प नभएको उल्लेख गर्दै उनले पार्टीभित्र देखिएका असन्तुष्टिलाई मिलाएर अघि बढ्ने जिम्मेवारी वर्तमान नेतृत्वको भएको स्पष्ट पारे ।

उनका अनुसार संस्थापन पक्षबाट भएको उत्पीडनकै कारण विशेष महाधिवेशन आवश्यक परेको हो । ‘अधिवेशन भइसकेको छ, अब यसलाई स्वीकार गरेर पार्टीलाई एकताबद्ध बनाएर लैजानु बाहेक अर्को विकल्प छैन’, उनले भने, ‘नेताहरूले आफ्नो व्यक्तिगत इगो त्यागेर कांग्रेसलाई एकढिक्का बनाउनु पर्छ ।’

शर्माले आगामी आमनिर्वाचनमा कांग्रेसको ठूलो प्रतिस्पर्धी नदेखिएको दाबी गर्दै नयाँ नेतृत्वको टिमले स्पष्ट बहुमत ल्याउने विश्वास व्यक्त गरे । ‘कांग्रेस गठबन्धनमा जाँदैन । १६५ वटै क्षेत्रमा कांग्रेसका उम्मेदवार हुन्छन् । दुविधा छैन, गगन थापालाई प्रधानमन्त्री बनाएर जाने हो’, उनले भने।

उनले सभापति थापा, उपसभापतिसहितको नयाँ नेतृत्वले संस्थापन पक्षका नेताहरूलाई पनि समेटेर पार्टीलाई एकतामा ल्याउने विश्वास व्यक्त गरे । पार्टी फुटेको नभई अधिवेशन वैधानिक भइसकेकाले असन्तुष्ट नेताहरूलाई संवादमार्फत मिलाइने उनको भनाइ थियो ।

‘नेतृत्वमा अहिले जो आउनु भएको छ, उहाँहरू पनि बुद्धिमान हुनुहुन्छ, विगतमा लामो समय नेतृत्वमा रहेकाहरू पनि अनुभवी र बुद्धिमान छन्’, शर्माले भने, ‘सबैले इगो त्यागेर पार्टीलाई एकढिक्का बनाएर लगे भने आगामी निर्वाचनमा कांग्रेसको प्रतिष्पर्धी नै हुँदैन । हामी स्वीप गर्छौं।’ उनका अनुसार पार्टीभित्रको एकता नै कांग्रेसको सबैभन्दा ठूलो शक्ति हो र त्यसलाई कायम राख्न सके कांग्रेसले एक्लै बहुमत ल्याएर सरकार बनाउने निश्चित छ ।

प्रतिनिधिसभाको प्रत्यक्ष उम्मेदवार टुंगो लगाउँदै एमाले, सचिवालय बैठक जारी

काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार टुंगो लगाउन नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ ।

केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको बैठकले पार्टीको निर्वाचन क्षेत्रीय समन्वय कमिटी, जिल्ला कमिटी र प्रदेश कमिटीहरू हुँदै सिफारिस भएका उम्मेदवारहरूको नाम टुुंगो लगाउने भएको हो ।

१६५ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये ३५ भन्दा बढी उम्मेदवार सर्वसम्मत भएका छन् । अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरू सर्वसम्मत भएका हुन् । करिब १३० उम्मेदवार टुंगो लगाउन सचिवालय बैठक बसेको हो ।

एमालेले कुनै दलसँग चुनावी गठबन्धन गर्ने समझदारी गरिसकेको छैन । त्यसो हुँदा एमालेले सबै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएर उम्मेदवारी दिने तयारी गरेको छ ।

निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार यही ६ माघमा उम्मेदवारी (मनोनयन) दर्ता गराउनुपर्ने भएको छ ।

बालअधिकारदेखि संसद्को टिकटसम्म : सोनी भट्टराईको सामाजिक र राजनीतिक यात्रा

काठमाडौं । बालबालिकाको हकहित र संरक्षणका क्षेत्रमा लामो समयदेखि सक्रिय सोनी भट्टराई सामाजिक अभियन्ता मात्र होइनन्, युवा नेतृत्व र राजनीतिक सहभागिताको सशक्त अनुहारका रूपमा स्थापित हुँदै गएकी छन् ।

काठमाडौँ महानगरपालिकाको बालअधिकार समितिमा विज्ञ सदस्यका रूपमा काम गरेकी उनी नेतृत्वको टोलीले एमालेकी लुम्बिनी प्रदेश सांसद रेखा शर्माको घरबाट नाबालिकाको उद्धार गरेको घटना डेढ वर्षअघि चर्चित बन्यो ।

यसले बालअधिकार संरक्षणमा स्थानीय तहको जिम्मेवारी र सक्रियताको महत्वलाई समेत उजागर गरेको थियो । उनले बालअधिकार उल्लङ्‍घनका घटनामा हस्तक्षेप गर्दै संस्थागत सुधारका लागि आवाज उठाउँदै आएकी छन् ।

राजनीतिशास्त्र अध्ययन गरेकी भट्टराई हाल नमुना युवा संसद अभ्यास कार्यक्रमकी केन्द्रीय प्रशिक्षकका रूपमा पनि क्रियाशील छन् ।

राष्ट्रिय युवा परिषद्को सहकार्यमा सञ्‍चालन हुँदै आएको उक्त कार्यक्रममार्फत उनले युवालाई लोकतान्त्रिक अभ्यास, नीति निर्माण प्रक्रिया, संसद्को कामकारबाही र नागरिक अधिकारबारे व्यावहारिक ज्ञान प्रदान गर्दै आएकी छन् ।यस कार्यक्रमलाई युवा नेतृत्व विकासको प्रभावकारी अभ्यासका रूपमा हेरिएको छ ।

भट्टराई बालअधिकारका लागि राष्ट्रिय अभियानसँग आबद्ध रहँदै नीति निर्माण तहमा बालमैत्री दृष्टिकोण स्थापित गर्न निरन्तर पहल गरिरहेकी छन् । उनका गतिविधिले बालअधिकार र युवाको सहभागितालाई एउटै धारमा जोडेको देखिन्छ ।

आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट गोरखा– १ को उम्मेदवारका रूपमा मैदानमा उत्रिदैछिन् ।

जेन–जी पुस्ताको प्रतिनिधित्व गर्ने नेतृका रूपमा उनले नागरिक अधिकार, बालअधिकार र युवाको राजनीतिक सहभागितालाई आफ्नो मुख्य राजनीतिक एजेन्डा बनाएकी छन् । उनले समावेशी, पारदर्शी र उत्तरदायी राजनीतिक अभ्यासको पक्षमा स्पष्ट धारणा राख्दै आएकी छन् ।

गोरखाको नारेश्‍वर घर भएकी भट्टराईलाई काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)निकट व्यक्तिका रूपमा पनि चिनिन्छ ।

पार्टीभित्रको स्रोतका अनुसार उनलाई गोरखा–१ बाट उम्मेदवार बनाउने निर्णयमा बालेनको सिफारिस रहेको बताइन्छ ।

बालअधिकार र युवा नेतृत्व विकासलाई सँगसँगै अघि बढाइरहेकी सोनी भट्टराईलाई धेरैले नयाँ पुस्ताको आशा र सम्भावनाको प्रतिनिधि पात्रका रूपमा लिन सकिन्छ ।

सामाजिक अभियन्ताबाट राजनीतिक यात्रासम्मको उनको निरन्तरताले रास्वपामा नयाँ सोच र पुस्तागत परिवर्तनको प्रयास गरेको देखSसकिन्छ ।

 

कपी पेष्टले ‘नो ओली’ कमेन्टलाई बनाइदियो ‘नो ओएल’

काठमाडौं । केही दिन यता सामाजिक सञ्‍जाल फेसबुकको कमेन्टबक्स ‘नो ओली’- ‘अन्ली बालेन’ भन्‍ने कमेन्टले भरिएको देखिन्छ।  विशेषत: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एमालेका अन्य नेताहरूले गर्ने फेसबुक पोष्टहरूमा यस्ता कमेन्ट धेरै देखिन्छन् । 

सुरुमा त धेरै कमेन्टमा ‘नो ओली’ देखिन्थ्यो। पछि ‘नो ओली’ भनेर लेख्‍न खोजिएका कमेन्टहरू ‘नो ओएल’ भएकाे देखियाे ।  

सामान्यतया ‘नो ओली’ भन्‍ने कमेन्टले ‘ओली नाइँ’ भनेकाे बुझाए तापनि ‘नो ओएल’ कमेन्टले ‘तेल नाइँ’ भन्‍ने बुझाउँछ। 

आगामी २१ फागुनको प्रतिनिधिसभा निर्वाचनमा काठमाडौँ महानगरका प्रमुख बालेन्द्र साह ‘बालेन’ चुनाव लड्न झापा-५ जाने चर्चा छ। यही चर्चालाई आधार मानेर प्रमुख साहका समर्थकहरूले अहिले फेसबुकमा ‘नो ओली- अन्ली बालेन’, ‘नो हर्क-अन्ली बालेन’, ‘नो कुलमान-अन्ली बालेन’ लगायतका कमेन्ट गर्दै चुनावी प्रचार प्रसार गरिरहेका छन् ।

यस विषयमा एमाले सचिव महेश बस्‍नेतले सामाजिक सञ्‍जाल फेसबुकबाट सिंहदरबार जलाउन, संसद् जलाउन, सर्वाेच्च जलाउन, उधोग जलाउन ‘नो ओली- अन्ली बालेन’ भन्‍न सुहाउने भन्दै कटाक्ष गरेका छन् । साथै, उनले उधोगलाई सहयोग गर्न, सिंहदरबारको संरक्षण गर्न, अदालतको सम्मान गर्न ‘नो बालेन- अन्ली ओली’ भन्‍न पनि सुझाए ।

बस्‍नेतले सामाजिक संञ्‍जाल फेसबुकमा गरेको उक्त पोष्टपछि ‘नो ओएल’ भनेर गरिएका कमेन्टहरू तुलनात्मक रूपमा बढेका छन् ।  

यसरी कमेन्ट गर्ने फेसबुकका प्रयोगकर्तामा एक तिहाई प्रयोगकर्ता नक्कली छन् । यस्ता गतिविधिले निर्वाचन आचारसंहिता उल्लङ्‍घन हुने निर्वाचन आयोगको चिन्‍ता छ । आयोगले यसअघि सामाजिक सञ्‍जालको प्रयोगको सन्दर्भमा फेसबुकबाट फोटो-पोष्टर सार्वजनिक गरेको थियो।   

निर्वाचन आयोगका सहप्रवक्ता कुलबहादुर जिसीले पनि सामाजिक सञ्‍जालबाट निर्वाचन आचारसंहिताको उल्लङ्‍घन भएको पाइएमा कारबाही हुने बताए।

‘हामीले आचारसंहिता जारी गरेका छौँ, त्यसमा सामाजिक सञ्‍जालसम्बन्धी आचारसंहिता पनि छ’, जिसीले नेपालवन एचडीसँग भने, ‘सामाजिक सञ्‍जाल वा प्रविधिको दुरुपयोग गरेर आचारसंहिता उल्लङ्‍घनका मुद्दा हेर्न नेपाल प्रहरीकाे साइबर ब्युरो नै खटेको छ। उल्लङ्‍घनका उजुरी आएमा कानुनअनुसार कारबाही हुन्छ।’  

कांग्रेसले एक्लै चुनाव लड्ने, अप्राकृतिक गठबन्धन नगर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी निर्वाचनमा कुनै पनि अप्राकृतिक चुनावी गठबन्धन नगरी एक्लै चुनावी प्रतिष्पर्धामा उत्रिने स्पष्ट निर्णय गरेको छ । निर्वाचन आयोगबाट आधिकारिक मान्यता पाएपछि बसेको गगन थापा नेतृत्वको पहिलो केन्द्रीय समिति बैठकले सत्ता केन्द्रित सम्झौता र अवसरवादी गठबन्धनलाई पूर्ण रूपमा अस्वीकार गर्ने निष्कर्ष निकालेको हो ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टी प्रवक्ता देवराज चालिसेले कांग्रेस अब आफ्नै शक्ति, नीति र संगठनको भरोसामा जनतामाझ जाने बताए । उनका अनुसार पार्टीले एकताबद्ध भएर चुनावी मैदानमा उत्रिने र जेन–जी (नयाँ पुस्ता) को आकांक्षा तथा जनअपेक्षालाई प्रतिनिधित्व गर्ने राजनीतिक एजेण्डालाई प्राथमिकतामा राख्ने निर्णय गरेको छ ।

बैठकले निवर्तमान सभापति शेरबहादुर देउवाले पार्टी नेतृत्वमा रहँदा पुर्‍याएको योगदानको औपचारिक प्रशंसा गर्दै आगामी दिनमा उनले पार्टीमा अभिभावकीय भूमिका निर्वाह गर्ने विश्वास समेत व्यक्त गरेको छ । ‘देउवाजीले लामो समयसम्म पार्टीको नेतृत्व गर्नुभयो, त्यस योगदानको कदर गर्दै हामी हार्दिक आभार व्यक्त गर्छौं’, प्रवक्ता चालिसेले भने ।

केन्द्रीय समिति बैठकमा पार्टीभित्र देखिएका मतभेदलाई स्वाभाविक भन्दै त्यसलाई लोकतान्त्रिक ढंगले व्यवस्थापन गरिने पनि स्पष्ट गरिएको छ। देउवा पक्ष निर्वाचन आयोगको निर्णयप्रति असन्तुष्टि जनाउँदै सर्वोच्च अदालत जाने तयारीमा रहेको चर्चा चलिरहेका बेला कांग्रेस नेतृत्वले चुनावको मुखमा पार्टीलाई संकटमा पार्ने कुनै कदम नचालिने विश्वास व्यक्त गरेको छ ।

‘असहमति हुनु स्वाभाविक हो, तर कांग्रेस सबैको साझा पार्टी हो’, चालिसेले भने, ‘विगतका घटनाका आधारमा कुनै आग्रह–पूर्वाग्रह नराखी असहमत मतको सम्मान गरिन्छ । टिकट वितरणलगायतका विषयमा पनि विगतको अन्याय दोहोरिन दिइँदैन ।’

कांग्रेसले अब पार्टी एकता, आन्तरिक लोकतन्त्र र पुस्तान्तरणलाई मुख्य आधार बनाएर निर्वाचनमा जाने संकेत दिएको छ । अप्राकृतिक गठबन्धनबाट टाढा रहँदै आफ्नै राजनीतिक पहिचान र जनसमर्थन बलियो बनाउने यो निर्णयले आगामी चुनावी राजनीतिमा कांग्रेसको रणनीति स्पष्ट रूपमा नयाँ दिशातर्फ मोडिएको देखिन्छ ।

एमाले नेता भीम आचार्य चुनावी मैदानबाट स्वेच्छिक ‘आउट’

काठमाडौं । नेकपा एमालेका तथा तथा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री भीम आचार्य चुनावी मैदानबाट स्वेच्छिक रूपमा ‘आउट’ भएका छन् ।

उनले आगामी प्रतिनिधिसभा निर्वाचनमा कतैबाट उम्मदेवार नबन्‍ने बताए ।

नेपालवान एचडीसँग उनले भने ‘म यसपटक कतैबाट चुनाव लड्दिनँ । मलाई चुनाव लड्ने इच्छा छैन । यसबारे मैले पार्टीमा पनि भनिसकेको छु ।’

उनी २०७९ को प्रतिनिधिसभा निर्वाचनमा सुनसरी– २ बाट निर्वाचित भएका थिए । त्यसअघि उनी प्रदेशसभा निर्वाचन लड्दै कोशीका मुख्यमन्त्री भए ।

त्यसअघि २०७० को संविधान सदस्य हुँदै उनी पर्यटनमन्त्री भएका थिए । तर, यसपटक उनले निर्वाचन नलड्ने भएका हुन् ।

एमालेको एघारौँ महाधिवेशनमा उनी उपाध्यक्षमा पराजित भएका थिए । अध्यक्ष केपी शर्मा ओलीले आचार्यलाई केन्द्रीय सदस्यमा मात्रै राख्‍न खोजेपछि उनी उपाध्यक्ष पदमा लडेका थिए ।

त्यसबेला उनलाई अध्यक्षका अर्का उम्मेदवार ईश्‍वर पोखरेलले पनि आफ्नो टिममा राखेन । यसपछि उनी असन्तुष्ट थिए ।

अन्ततः निर्वाचन नलड्ने निर्णयमा आचार्य पुगेका हुन् ।

गगन थापाले खोजे कांग्रेसको अभिभावकीय भूमिकामा शेरबहादुर देउवा

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले निवर्तमान सभापति शेरबहादुर देउवालाई अभिभावकीय भूमिकामा रहन आग्रह गरेको छ ।

उनले पार्टीलाई लामो समयसम्म दिएको योगदान र नेतृत्वलाई पनि पार्टीले उच्च मूल्यांकन गरेको बैठकपछि पार्टी प्रवक्ता देवराज चालिसेले बताए ।

बैठकपछि उनले पत्रकारसँग भने, ‘आगामी दिन हाम्रो पार्टीलाई निवर्तमान सभापति शेरबहादुर देउवाको अभिभावकीय भूमिका रहनेछ भन्‍ने विश्‍वास पनि हामीलाई छ ।’

बैठकले पार्टी एकता कायम राख्‍न अपिल गरेको छ । ‘जनतालाई नेपाली कांग्रेससँग जोड्नु छ । निर्वाचन पनि आइरहेको छ,’ प्रवक्ता चालिसेले भने, ‘पार्टीको एकता र सद्भावलाई कायम राख्दै उचाइमा पुर्‍याउन हार्दिक अपिल गर्ने निर्णय गरेको छ ।’

बैठकले पार्टीको निवर्तमान केन्द्रीय सदस्यहरूलाई पनि कांग्रेसलाई बलियो बनाउने भूमिका निर्वाह गर्न अपिल गरेको छ ।

कुलमानकाे चुनावी वार्मअप : काठमाडौंमा बृहत् मोटरसाइकल र्‍याली

काठमाडौं । कुलमान घिसिङ अध्यक्ष रहेको उज्यालो नेपाल पार्टी (उनेपा)ले काठमाडौंमा बृहत् मोटरसाइकल र्‍याली निकालेको छ ।

पार्टीको निर्वाचन परिचालन समितिको संयोजनमा शनिबार काठमाडौंको तीनकुने, थापाथली, जमल, कमलपोखरी, गौशला हुँदै तीनकुनेसम्म मोटरसाइकल र्‍याली निकालेको हो ।

पार्टीले मोटरसाइकल र्‍यालीलाई प्रतिनिधिसभा निर्वाचनको वार्मअपको रूपमा लिएको छ ।

गत साता रास्वपासँग एकता भाँडिएपछि घिसिङ नेतृत्वको उनेपाले एक्लै निर्वाचन लड्ने तयारी गरेको छ । राष्ट्रिय परिवर्तन पार्टीसँग यो दलले हालै एकता गर्‍यो ।

तर, निर्वाचनकेन्द्रित गतिविधि खासै गरेको देखिएको छैन । जबकि, प्रतिनिधिसभा निर्वाचन आगामी डेढ महिनामा हुँदैछ ।

सर्वोच्चको ढोका ढक्ढक्याउन जाँदै शेरबहादुर देउवा

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई निर्वाचन आयोगले आधाकारिकता दिने निर्णय गरेपछि शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेस सर्वोच्च अदालत जाने भएको छ ।

नेता डा. प्रकाशशरण महतका अनुसार शनिबार बिहान बसेको बैठकले आयोगको निर्णय बदर माग गर्दै सर्वोच्च जाने निर्णय गरेको हो ।

आयोगले शुक्रबार गगन थापा नेतृत्वमा विशेष महाधिवेशनबाट निर्वाचित नेपाली कांग्रेसलाई आधिकारिता दिएको थियो ।

आयोगको उक्त निर्णयले चार तारे झण्डासँगै रुख चिह्न गगन नेतृत्वको नेपाली कांग्रेसको पक्षमा पार्‍यो ।

आयोगको यस्तो निर्णयलाई देउवा कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले अस्वीकार गर्दै कानुनी चुनौती दिने चेतावनी दिएका थिए ।

सोहीअनुसार शनिबार बसेको बैठकले अदालत जाने निर्णय गरेको हो ।

 

गगन थापालाई सबैले सभापति स्विकार्नुपर्छ : सुनिल शर्मा

काठमाडौं । नेपाली कांग्रेसका नेता सुनिल शर्माले गगन थापालाई पार्टी सभापति स्वीकारेर अघि बढ्नुको विकल्प कांग्रेससँग नरहेको बताएका छन्।

टी–२० विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ कार्यक्रममा सहभागी भएर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले थापाको नेतृत्वमा पार्टीलाई एकताबद्ध बनाउनुपर्ने आवश्यकता औँल्याए। पार्टीभित्र देखिएको असन्तुष्टि र आन्तरिक विभाजन अन्त्य गर्न सभापतिलाई स्वीकारेर सहकार्य गर्नु अनिवार्य रहेको उनको भनाइ थियो।

‘उहाँलाई सभापति स्वीकारेर मिलेर जानुबाहेक पार्टीको अर्को विकल्प छैन,’ शर्माले भने, ‘कांग्रेसभित्र धेरै नेता–कार्यकर्ता उत्पीडित भएका छन्। पछिल्ला पाँच वर्षमा नहुनुपर्ने धेरै काम पार्टीभित्र भएका छन्।’

उनले संस्थापन पक्षमा नलाग्ने नेता तथा कार्यकर्तालाई विभिन्न रूपमा दबाब र उत्पीडनमा राखिएको आरोप समेत लगाए। टिकट वितरण प्रक्रियामा समेत ठुलो चलखेल हुँदै आएको दाबी गर्दै त्यसैको परिणामस्वरूप पार्टी अहिलेको अवस्थासम्म आइपुगेको उनले बताए।