`

तीन युवकको डुबेर मृत्यु

रुपन्देही । रुपन्देहीमा लक्ष्मी मूर्ति विसर्जन गर्दा खोलामा डुबेर तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय, रूपन्देहीका अनुसार रूपन्देहीको गैंडहवा गाउँपालिका–६ सूर्यपुरास्थित सन्तेश्वर घाटमा लक्ष्मीको मूर्ति विसर्जन गर्ने क्रममा बुधबार दिउँसो ३ बजेतिर तीन जना युवा खोलामा डुबेका थिए ।

खोलामा डुबेर मृत्यु हुनेहरुमा मायादेवी गाउँपालिका वडा नम्बर १ का १५ वर्षीय अजय हरिजन, १८ वर्षीय दीपु हरिजन र २५ वर्षीय रोहित हरिजन रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए ।

दिउँसो दानव र कञ्चन नदीको संगमस्थल सन्तेश्वर घाटमा मूर्ति विसर्जन गर्ने क्रममा उनीहरू नदीमा बेपत्ता भएपछि प्रहरी र स्थानीय बासिन्दाले खोजीकार्य सुरू गरेका थिए । खोजी गर्दै जाँदा घटनास्थल भन्दा करिब २ सय मिटर तल तीनै जनाको शव फेला परेको कार्कीले बताए ।

 

झिनियाँको माग बढ्दो, उत्पादन गर्न भ्याइनभ्याई

रामपुर । यस पटक तिहारमा मागअनुसार झिनियाँ पुर्‍याउन नसकिएको व्यवसायीले बताएका छन् । तिहारको बेला व्यवसायीले झिनियाँ बिक्री गरेर मनग्य आम्दानी गरिरहेका छन् ।

चाडपर्वका बेला ग्राहक तथा व्यापारीबाट माग बढी आए पनि पुर्‍याउन नसकिएको उद्यमी रामपुर नगरपालिका–५ स्थित राङभाङ बस्ने रुद्रनारायण श्रेष्ठले बताए । तिहारमा पछिल्लो समय दिदीबहिनीले दाजुभाइलाई सगुनका रूपमा झिनियाँ दिने चलन बढ्दो रहेकाले माग बढी आउने गरेको उनको अनुभव छ ।

‘व्यवसायीलाई उत्पादन गर्न हम्मेहम्मे परेको छ, उत्पादन गरेमात्र हुन्छ, व्यापारको पिरलो छैन, उद्योगबाटै धमाधम बिक्री भइरहन्छ, अहिलेको मागअनुसार पुर्‍याउनै मुस्किल पर्छ’, उनले भने । उद्यमी श्रेष्ठले रामपुरमा विगत एक दशकदेखि झिनियाँको व्यापार गर्दै आएका छन् । उनी यो क्षेत्रका पहिलो व्यवसायी हुन् । श्रेष्ठलाई श्रीमती लक्ष्मीले निरन्तर रूपमा व्यवसायमा साथ दिँदै आएका छन् ।

चाडपर्व छिटो, वर्षा पनि लामो परेकाले विगतका वर्षको तुलनामा पहिले नै तयार गरेर राख्न नसकिएको हुँदा चाडपर्वमा उत्पादन गर्न भ्याइनभ्याई भएको लक्ष्मीले बताए । श्रेष्ठले सञ्चालन गरेको यो व्यवसायमा छ जनाले रोजगारसमेत पाएका छन् । यसपटकको चाडपर्वमा करिब छ लाख बराबरको कारोबार हुने उद्यमी रुद्रनारायणले बताए । उनका अनुसार त्यहाँ उत्पादन भएको झिनियाँ पाल्पा, स्याङजा, तनहुँ, नवलपुर, बुटवल, भैरहवा, चितवनलगायतका विभिन्न स्थानमा खपत भइरहेको छ ।

रामपुर–४ सिर्जनाचोकका विष्णु सारुले यस पटक बजारको मागअनुसार थेग्न मुस्किल परेको सुनाए । उनले तीन वर्षदेखि निरन्तर झिनियाँ उत्पादन गर्दै आएका छन् । यसबाट मनग्य आम्दानी हुने भएपछि व्यावसायिक उत्पादनमा जोड दिएको सारुले उल्लेख गरे । घरमै झिनियाँ खरिद गर्न आउने भएपछि उद्यमीलाई बिक्रीका लागि बजार धाउनु परेको छैन । प्रतिकिलो खुद्रा मूल्य एक सय र थोक मूल्य ९० मा बिक्री भइरहेको छ । छोटो समयमा कम लगानीमा घरमै बसेर आयआर्जन गर्न सकिने हुँदा हिजोआज झिनियाँ व्यवसायमा आकर्षण बढ्दो छ ।

बजारमा यसको माग बढ्दो रहेकाले व्यवसायीलाई सहज भएको छ । उत्पादन गर्न झन्झट गर्न नपर्ने, घरमै बसेर आयस्रोत लिने भएकाले झिनियाँलाई व्यवसायका रूपमा गाउँघरमा लिने गरिएको छ । तिहारमा दिदीबहिनीले दाजुभाइलाई टीका लगाइ दिएपछि प्रसादस्वरुप झिनियाँ दिने चलन छ । हिजोआज खाजाका रूपमा पनि यसको प्रयोग बढिरहेको छ । तिहार पर्वबाहेक विवाह, व्रतबन्ध, पूजाआजा, माघे संक्रान्ति, तीजलगायत विभिन्न पर्व र शुभकार्यमा यसको प्रयोग बढ्दो छ ।

‘पहिला बजारमा झिनियाँ अहिलेजसो पर्याप्त मात्रामा पाइँदैनथ्यो । घरघरमा तिहारमा हातले घुमाउने सानो साँचोले घरायसी प्रयोजनका लागि मात्रै झिनियाँ बनाउने चलन थियो । तर हिजोआज बजारमा जताततै पाइन थालेपछि घरमा पहिलाजसो झिनियाँ बनाउने कार्य गरिँदैन । त्यसकारण पनि बजारका पसल, उद्योगमा झिनियाँ खरिद गर्न जाने ग्राहक बढ्दै गएका हुन्’, सारुले भने ।

झिनियाँबाट मनग्य आम्दानी हुन थालेपछि हिजोआज महिलाहरूको यो व्यवसायमा आकर्षण बढ्दो छ । घरमा बसेर कम लगानीमा व्यावसाय सञ्चालन गर्न सकिने हुँदा ठूलो लगानी कसरी गर्ने भन्ने पिरलो छैन । झट्ट नबिग्रने भएकाले उत्पादित झिनियाँ सुरक्षित भण्डारण गरेर जुनसुकै समयमा पनि बिक्री गर्न सकिने सारुको अनुभव छ ।

गाउँमा सवारीसाधनको सुविधा पुगेपछि गाडीमा ढुवानी गरेर झिनियाँ बजार पठाउन सजिलो छ । बिहान साँझ घरधन्दा सकाएर महिलाले दिउँसोको समय झिनियाँ उत्पादन गरेर आफ्नो जीविका धानेका छन् । यसले पनि महिला परनिर्भरता हट्दै गएको छ । चामलको पीठोलाई पकाएर मेसिनको सहायताले झिनियाँ बनाई सुकाएर तयार गर्ने गरिन्छ । विशेषतः पहिले–पहिले तिहारका लागि मात्र बनाइने झिनियाँ हिजोआज भने अन्य समयमा पनि यसको व्यापार हुने गरेको पाइएको छ । घरायसी खाजाका रूपमा पनि झिनियाँलाई लिने गरिन्छ ।

 

हराउँदै तिहारको मौलिकता, अंग्रेजी र हिन्दी गीतमा देउसी–भैलो

बागलुङ । तिहार पर्वसँग देउसीभैलोको नजिकको सम्बन्ध छ । जब तिहार सुरु हुन्छ, तब गाउँसहर जताततै देउसीभैलोको रौनक सुरु हुन्छ । यसपालि पनि यमपञ्चक सुरु भएसँगै गाउँ तथा सहर सबैतिर देउसीभैलोको रौनक छ । यतिबेला बालबालिकादेखि बूढापाकासम्म देउसी भैलोमा झुमिरहेका छन् ।

गाउँ, टोल र छिमेक भैलीमय बनेको छ । तर देउसीभैलोको मौलिकता भने हरेक वर्ष हराउँदै गएको छ । एक सातादेखि बागलुङ बजारका चोकचोकमा देउसीभैलो खेल्नेहरूको भीड लागेको छ भने गाउँमा पनि उस्तै छ । भैलो खेल्दा गाउने गीत र नाचिने नाचमा अचेल कुनै मौलिकता भने देख्न पाइँदैन ।

तिहार पर्वसँग मादल, बासुरी, खैजडीलगायत बाजा र मौलिक गीत जोडिएका हुन्छन् । तर भैलो खेल्नेहरूले ती वाद्यवादनका सामग्री बजाउन जोडेका स्थानीय ज्येष्ठ नागरिक बताउँछन् । पुराना सोरठी, मारुनी र कौरा नाच पनि देखाउने गरेको पाइँदैन । यानीमाया, सुनियामा र झ्याउरे गीत पनि सुनिदैन ।

पछिल्लो समय गाउँघरमा ‘रेकर्डेड’ पप, आधुनिक र र्‍याप गीतमा देउसीभैलो खेल्ने र नाच्ने प्रचलन बढेको निसीखोला गाउँपालिका–४ का थमबहादुर पुन मगरले बताए । तिहार पर्व र देउसीभौलोमा गाइँने मौलिक गीत लोप हुँदै जानुका साथै आधुनिकताले प्रभावित गरेको उनको भनाइ छ ।

‘पहिले देउसीमा नाचिने सोरठी, मारुनी नाच अहिले देख्न पनि छाडिसके । पप, र्‍याप र विदेशी भाषाका गीतमा नाच्ने उनीहरूको पहिरनमा मौलिक संस्कृति झल्कने त कुरै भएन । उनीहरूले आधा शरीर पनि नढाक्ने कपडा लगाएका हुन्छन् । केही त अझ परिवारसँगै भएर हेर्नसमेत नसकिने हुन्छन्’, मगरले भने ।

पश्चिमा संस्कृतिको प्रभावले देउसीभैलोको मौलिकता हराउँदै गएको उनको भनाइ छ । घर्तीमगरले मादल, बाँसुरी, खैँजडीलगायतका बाजाको माध्यमबाट कथाव्यथा प्रस्तुत हुने देउसीभैलोमा हिजोआज विकृति मिसिएको बताए ।

उनले भने, ‘हामीहरू मारुनी, सोरठी नाच्ने गथ्र्यौँ, अचेल हरेक वर्ष देउसीभैलोमा मौलिकता हराउँदै गएको छ, बजारमा गीत बजाएर नाचेर भैलो खेले पनि गाउँमा त्यो चलन आइसकेको थिएन, तर अहिले गाउँमा पनि भित्रिसक्यो’, उनले भने, ‘हाम्रा पालमा देउसीभैलोमा मादल, बाँसुरी, खैजडी बजाएर नाच्ने, मौलिक गीतहरू गाउने गरिन्थ्यो, अहिले ती गीत सुन्नै छाडियो, सायद अब सुनिदैनन् ।’

एक दशक अगाडिसम्म मौलिक गीत, बाजा र कपडा पहिरिएर देउसीभैलो खेले पनि अहिले दुर्गम गाउँबाहेक अरु ठाउँमा देख्न नपाइने बडिगाड गाउँपालिका–८ का प्रेमबहादुर काउचाले बताए । आधुनिक प्रविधिको विकास र देखासिकीका कारण मौलिकता हराएको उनको भनाइ छ ।

तिहार पर्व र देउसीभैलोले नेपालीहरूको पहिचान बोकेको भन्दै पछिल्लो समय पहिचान गुम्ने खतरा बढेको उनले बताए । मौलिक कला, संस्कृतिको संरक्षणतर्फ युवापुस्ताको चासो नहुँदा पश्चिमा संस्कृति हाबी भएको काउचाको बुझाइ छ । स्थानीय तहले कला, संस्कृति संरक्षण अभियान सञ्चालन गरी युवा पुस्तामा हस्तान्तरण गरेमा मौलिक परम्परा जगर्ने हुने उनको भनाइ छ ।

उनले भने, ‘अहिले तिहारमा गीत गाउन पनि नपर्ने बजाउन पनि नपर्ने, साउण्ड सिस्टममा गीत बजायो नाच्यो, गीत पनि केके हुन् केके केही बुझिदैन । हामीहरू पुरानो संस्कृतिअनुसार देउसीभैलो खेल्थ्यौँ, बाउबाजेले हामीहरूलाई सिकाउनुभयो, उहाँहरूले सिकाएको संस्कार अहिलेसम्म रह्यो, अहिले हाम्रा कयौँ संस्कृतिहरू लोप भएका छन्, कयौँ लोप हुने अवस्थामा पुगेका छन् ।’ यस्ता कला, संस्कृति र मौलिकता संरक्षण सबैको सहकार्य र समन्वय आवश्यक पर्नेमा उनले जोड दिए ।

बझाङ केन्द्रविन्दु भएर फेरि भूकम्प

बझाङ । बझाङ केन्द्रबिन्दु भएर फेरि भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा केन्द्रका अनुसार गए राति (बुधबार) १० बजेर ४७ मिनेट जाँदा बझाङको हेमनतबाडा क्षेत्र आसपास केन्द्रबिन्दु भएर ३.९ म्याग्निच्युडको भूकम्प गएको हो ।

यसअघि गएको असोज २९ गते राति पनि बझाङमा चार दशमलव नौ म्याग्निच्युडको भूकम्पको गएको थियो । सो भूकम्पको केन्द्रबिन्दु बझाङको दान्तोला क्षेत्र थियो । नेपाल भौगोलिक रुपमा भूकम्पीय जोखियुक्त क्षेत्रमा रहेको भूकम्पविद्हरुले बताउने गरेका छन् ।

दिदीबहिनी र दाजुभाइ नहुनेका लागि बालगोपालेश्वर मन्दिर खुला (हेर्नुहोस् तस्बिरहरू)

काठमाडौं । आज तिहारको मुख्य दिन भाइटीका मनाइँदै छ। दिदीबहिनी नहुनेका लागि आजैका दिन काठमाडौंको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन छ।

बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुल्ने गर्दछ। दिदीबहिनी एवं दाजुभाइ नहुने भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन्।

खञ्जनेश्वर महादेवमा भक्तजन
यसैगरी जयवागेश्वरीमा रहेको खञ्जनेश्वर महादेव मन्दिरमा पनि आज दिदीबहिनी एवं दाजुभाइ नहुनेले पूजा तथा दर्शन गरी टीका लगाउने प्रचलन रहेको छ।

वि.सं २०३५ अघि रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिरमा प्रवेशका लागि पोखरीमा मानिस हामफाल्ने समस्या रहेकाले बन्द गरिन्थ्यो। त्यसबेला जयबागेश्वरीको खञ्जनेश्वर महादेव मन्दिरमा दिदीबहिनी नहुने दाजुभाइ र दाजुभाइ नहुने दिदीबहिनीको भीड लाग्थ्यो। पछिल्लो समय पहिले जति नआए पनि यहाँ भाइटीकाका दिन भक्तजनको लाम लाग्ने गर्छ।

फूलको उत्पादन घट्यो, माग बढ्यो

भोजपुर । यस वर्ष समयमा फूल नफुल्दा भोजपुरमा फूल अभाव देखिएको छ । गत वर्षको तुलनामा यस वर्ष फूल उत्पादनमा उल्लेख्य कमी आएको स्थानीय किसानहरूको भनाइ छ ।

सामान्यतया असोज अन्त्यतिरै फूल फुल्ने गरे पनि यस वर्ष मौसम अनुकूल नहुँदा अहिलेसम्म अधिकांश कोपिला मात्रै बनेका छन् । सोही कारण मखमली, सयपत्री, गोदावरीलगायत तिहारमा बढी प्रयोग हुने फूलको अभाव देखिएको हो । यो वर्ष गाउँघरमा फूल नफुल्दा समस्या रहेको भोजपुरको टेम्केमैयुङकी स्थानीय किसान दुर्गा विष्टले बताए ।

‘अहिले तिहारका लागि लगाइएको फूल मौसम अनुकूल नहुँदा समयमा फुलेन’, उनले भने, ‘अहिले पनि धेरै बोटमा कोपिला मात्रै छन् ।’ स्थानीय व्यापारीहरूका अनुसार उत्पादन कम हुँदा माग बढ्दो रहेकाले माग पु¥याउन समस्या भइरहेको छ । उत्पादन घटेकाले यस वर्ष फूलको मूल्य समेत बढेको स्थानीयको भनाइ छ । रासस

तिहारमा मिठाईको स्वाद मात्र होइन, स्वास्थ्यकाे पनि गर्नुहोस् ख्याल

काठमाडौं । दीपावली अर्थात् तिहार हाम्रो संस्कृतिमा रमाइलो, प्रेम र मेलमिलापको पर्व हो । झिलिमिली बत्ती, पूजा–आराधना र दिदीबहिनी–दाजुभाइको स्नेह साटासाटसँगै मिठाई र पकवानको विशेष महत्व हुन्छ । तर, यिनै स्वादिलो परिकारहरू अत्यधिक वा असावधानीपूर्वक सेवन गर्दा स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ ।

पर्वमा प्रचलित परिकारहरू

तिहारमा प्रायः घरघरमा बनाइने सेलरोटी, लड्डु, बर्फी, फिनी, अनरसा, खजुरी, अर्सा जस्ता मिठाई प्रचलित छन् । यी परिकारले सांस्कृतिक मिठास त थप्छन् तर धेरै चिल्लो र चिनी मिसिएका यस्ता खानाले शरीरमा बोसो, सुगर र रगतमा ट्राइग्लिसराइड्सको मात्रा बढाउने जोखिम हुन्छ ।

एकै पटकको चिल्लो भोजनले पनि पार्न सक्छ असर

घिउमा तारेको खाना लगातार वा धेरै खाँदा शरीरमा ‘ट्रान्स फ्याट’ बढ्छ । यसले कलेजो, मुटु र रक्त नलीहरूमा गम्भीर असर पार्न सक्छ । पुरानो तेल प्रयोग गर्दा एक्रोलिन, एल्डिहाइड जस्ता रासायनिक विष उत्पन्न हुन्छन्, जसले दीर्घकालीन रूपमा क्यान्सरजस्ता रोग निम्त्याउन सक्छन् ।

पाचन र इन्सुलिनमा असर

धेरै तेलयुक्त परिकारले पाचन ढिलो हुन्छ, ग्यास र अपच हुने सम्भावना बढ्छ । चिनी र बोसो मिसिएका मिठाईले इन्सुलिन प्रतिरोध बढाउँछ, जुन मधुमेह र नन–अल्कोहोलिक फ्याटी लिभर डिजिजको कारण बन्न सक्छ ।

‘सुगर फ्रि’ मिठाई कतिको स्वास्थ्यकर ?

सुगर फ्रि भनिए पनि बजारमा पाइने मिठाईमा प्रायः घिउ, ट्रान्स फ्याट र कृत्रिम मिठास प्रयोग गरिएको हुन्छ । यस्ता मिठास ९जस्तैः सोरबिटोल, एरिथ्रिटोल० धेरै खाँदा पेट फुल्ने, ग्यास र डायरिया हुने सम्भावना हुन्छ । त्यसैले ‘सुगर फ्रि’ पनि सीमित मात्रामा मात्र सेवन गर्नु उपयुक्त हुन्छ ।

कति खाने मिठाई ?

विशेषज्ञहरूका अनुसार स्वस्थ व्यक्तिले दिनमा १०–२० ग्राम मिठाई (जस्तैः १,२ साना लड्डु, पेडा वा बर्फी) खान सकिन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार दैनिक क्यालोरीको ५–१० प्रतिशत मात्र चिनीबाट आउनु उपयुक्त हुन्छ । महिलाले २५ ग्राम र पुरुषले ३६ ग्रामभन्दा बढी चिनी नखानु सुझाव दिइएको छ ।

रंगीन मिठाईबाट सावधान

घर वा बजारमा पाइने चम्किला रंगीन मिठाईहरू आकर्षक देखिए पनि त्यहाँ प्रयोग हुने कृत्रिम रङले एलर्जी, छालामा समस्या र बच्चाहरूमा ध्यान केन्द्रित गर्न गाह्रो हुने समस्या निम्त्याउन सक्छ । सकेसम्म प्राकृतिक रङ वा बिना रङको मिठाई रोज्न सल्लाह दिइन्छ ।

स्वास्थ्यका लागि के गर्ने ?

–मिठाई सीमित मात्रामा खाने
–पुरानो तेल प्रयोग नगर्ने
–घरमै ओट्स, नट्स, खजुर वा स्टेभिया प्रयोग गरेर मिठाई बनाउने
–चिल्लो परिकारपछि तातोपानी वा जिरा पानी पिउने
–ट्रान्सफ्याट फ्री, स्टेभिया युक्त परिकार छनोट गर्ने
– डाइटिसियन विपिन कार्कीका अनुसार, तिहारको मिठास जीवनमा सन्तुलनसहित आउनु पर्छ । पर्वको स्वादसँगै शरीरको सन्तुलन कायम राख्न सचेत भइयो भने तिहार अझै सुखद, स्वस्थ र स्मरणीय बन्न सक्छ ।

एकीकृत समाजवादीका जिल्ला उपाध्यक्ष खड्काको मृत्यु

रुकुमपश्चिम । नेकपा (एकीकृत समाजवादी) रुकुमपश्चिमका जिल्ला उपाध्यक्ष दिपकराज खड्काको निधन भएको छ । मुटु रोगबाट पीडित ४७ वर्षीय खड्काको बुधबार बेलुका उपचारको क्रममा काठमाडौंस्थित गंगालाल हृदयरोग निवारण केन्द्रमा मृत्यु भएको हो ।

पार्टीको मुसीकोट नगर कमिटीको अध्यक्षको समेत जिम्मेवारीमा रहेका उपाध्यक्षको निधनले पार्टीलाई अपुरणीय क्षति पुगेको पार्टीका प्रचार विभाग प्रमुख अमरराज पुनले बताए । उनले राजनैतिक सहकार्य र आत्मियताका हस्तीको निधनले पार्टीको भावी योजनामा ठेस लागेको उल्लेख गरे ।

मुसीकोट नगरपालिका ४ सोलाबाङ निवासी खड्का जिल्ला अस्पताल विकास समिति रुकुमपश्चिमको सदस्य समेत थिए । अस्पताल विकास समितिका अध्यक्ष टेक कुसारीले उपचारको क्रममा खड्काको अल्पायुमै निधन भएको खबर प्राप्त भएको जनाइन् । उनले खड्का अत्यन्त सरल स्वभावको, सामाजिक सेवा भावबाट प्रेरित, समाज रुपान्तणको लागि सकारात्मक सोंचका सामाजिक अगुवा भएको बताइन् ।

उनको निधले एक असल सामाजिक योद्धा गुमाउन पुगेको कुसारीले उल्लेख गरिन् । मुसीकोट नगरपालिका प्रमुख महेन्द्र केसीले असल व्यक्तित्व गुमाउन पुगेको बताए । खड्काले समाजका लागि दिएको योगदान उच्च सहरानीय रहेको नगर प्रमुख केसीले जनाए । मृतक खड्का रुकुमका एक असल पर्यटनकर्मी, व्यवसायी समेत थिए । उनी विभिन्न सामाजिक संघ संस्थाहरुमा समेत आवद्ध थिए ।

आज भाइटीका : सप्तरङ्गी टीका लगाई दिएर दिदी–बहिनीले दाजुभाइको दीर्घायुको कामना गर्दै

काठमाडौं । नेपाली हिन्दु समुदायले दाजुभाइ र दिदीबहिनीबीचको स्नेह र प्रेमको प्रतीकस्वरूप मनाउने भाइटीका पर्व आज (बिहीबार) देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ ।

हिन्दु धर्मअनुसार यमपञ्चकको पाँचौं दिन, अर्थात् कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने भाइटीकामा दिदीबहिनीहरूले दाजुभाइलाई पञ्चरङ्गी टीका, मखमली फूलको माला र मीठा परिकारहरू अर्पण गरी दीर्घायु, स्वास्थ्य र समृद्धिको कामना गर्छन् ।

शास्त्रीय मान्यताअनुसार, आजकै दिन यमुनाले आफ्ना दाजु यमराजलाई टीका गरी दीर्घायुको कामना गरेकी थिइन् । त्यसैबेलादेखि भाइटीकाको प्रचलन सुरू भएको विश्वास गरिन्छ । पर्वमा दाजुभाइले पनि दिदीबहिनीहरूलाई दक्षिणा, उपहार वा आशीर्वाद प्रदान गर्ने प्रचलन छ । यस अवसरमा परिवारभित्रको प्रेम, आत्मीयता र एकताको भावना झनै प्रगाढ हुने विश्वास गरिन्छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ । आज (बिहीबार) बिहान ११ः३९ बजे भाइटीकाको साइत उत्तम रहेको समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालले जानकारी दिए ।

आज बिहीबार मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि धनु लग्न, कन्या नवमांश, चर बेला र अभिजित योग तथा विजय मुहूर्तको शुभ साइत दिइएको समितिका सदस्य प्रा देवमणि भट्टराईले जानकारी दिए । ‘राज्य सञ्चालकले भने साइतमै टीका लगाउनु पर्छ । सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउन कुनै समस्या छैन’, उनले भने ।

नेपालसहित नेपाली र नेपाली भाषी रहेका विश्वका अन्य देशमा पनि भाइटीका लगाइँदैछ । विश्वका अन्य देशमा पनि भाटीकाको उत्तम साइत निर्धारण गरिएको छ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विभिन्न देशमा भाइटीका लगाउने साइत सार्वजनिक गरेको छ ।

समितिका अनुसार २२ र २३ अक्टोबरमा टीकाको शुभ साइत जुरेको छ । जसमध्ये भारतको दिल्लीमा ११ बजेर ५५ मिनेटमा साइत जुराइएको छ भने अमेरिकामा २२ अक्टोबरमा शुभ साइत जुरेको छ ।

समितिका अनुसार अमेरिकाको न्युयोर्कमा ११ बजेर ५५ मिनेटमा, फ्र्याङ्कफर्ट र केन्टुकीमा ११ बजेर ३१ मिनेटमा, वोवेन्स्वोरो र केन्टुकीमा ११ बजेर ४५ मिनेटमा, टेक्सासमा ११ बजेर ५७ मिनेटमा, वासिङ्टन डीसीमा ११ बजेर ४१ मिनेटमा, क्यालिफोर्नियामा ११ बजेर ४९, कोरोराडोमा ११ बजेर २७ मिनेटमा, सिकागोमा ११ः ३३ मिनेटमा शुभ साइत जुराएको छ । क्यानडाको टोरन्टोमा ११ बजेर २३ मिनेटमा, भ्यानकुभरमा ११ बजेर ३५ मिनेटमा साइत जुजाइएको छ ।

यस्तै अष्ट्रेलियाको सिड्नीमा ११ बजेर २५ मिनेटमा, ब्रिसवेनमा ११ बजेर ४३ मिनेटमा, एडिलेडमा ११ बजेर ५३ मिनेटमा, क्यानबेरामा ११ बजेर २७ मिनेटमा, तास्मानियामा ११ बजेर २५ मिनेटमा, पर्थमा १० बजेर ३४ मिनेटमा र डार्विनमा ११ बजेर ५७ मिनेटमा शुभ साइत जुराइएको छ ।

यस्तै न्यूजिल्याण्डको वेलिङटनमा ११ बजेर ३१ मिनेटमा, पोर्चुगलको लिस्बनमा ११ बजेर २९ मिनेटमा, बेलायतको लण्डनमा ११ बजेर ३७ मिनेटमा, फ्रान्सको पेरिसमा ११ बजेर २१ मिनेटमा, नर्वेको ओस्लोमा ११ बजेर ४३ मिनेटमा , डेनमार्कमा ११ बजेर २५ मिनेटमा, जर्मनमा ११ बजेर ४३ मिनेटमा साइत जुरेको अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

यस्तै समितिले फिनल्याण्डमा ११ बजेर ४७ मिनेटमा, स्वीटजरल्याण्डमा ११ बजेर ५४ मिनेटमा, माल्टामा ११ बजेर २३ मिनेटमा, मलेसियाको क्वालालम्पुरमा ११ बजेर ५७ मिनेटमा, युएईको अबुधाबीमा ११ बजेर ४५ मिनेटमा, कतारको दोहामा ११ बजेर ५५ मिनेटमा, कुवेतमा ११ बजेर ४५ मिनेटमा, इजरायलको तेल अभिभमा ११ बजेर १ मिनेटमा, साउदी अरेबियामा ११ बजेर ५५ मिनेटमा, थाइल्याण्डको बैंककमा ११ बजेर ४१ मिनेटमा सुभ साइत जुराएको छ ।

यस्तै जापानको टोकियोमा ११ बजेर ४२ मिनेटमा, दक्षिण कोरियामा ११ बजेर २१ मिनेटमा, सिंगापुरमा ११ बजेर ५८ मिनेटमा, हङकङमा ११ बजेर ४५ मिनेटमा र म्यानमारको याङ्गुनमा ११ बजेर ५५ मिनेटमा टीकाको शुभ साइत जुरेको समितिले जनाएको छ । पर्वमा दाजुभाइले पनि दिदीबहिनीहरूलाई दक्षिणा, उपहार वा आशीर्वाद प्रदान गर्ने प्रचलन छ । यस अवसरमा परिवारभित्रको प्रेम, आत्मीयता र एकताको भावना झनै प्रगाढ हुने विश्वास गरिन्छ ।

यस अवसरमा विशेष गरी घरआँगन सफा गरिन्छ, रंगोली बनाइन्छ, दियो बत्ती बालिन्छ र परम्परागत परिकारहरूको व्यवस्था गरिन्छ । मखमली, सयपत्री फूल र सेलरोटी भाइटीकाको प्रमुख पहिचान हो । सरकारले भाइटीकाको अवसरमा सार्वजनिक बिदा दिँदै आएको छ । सुरक्षाका दृष्टिले देशभरका प्रमुख नाका र स्थानहरूमा सुरक्षा व्यवस्था कडा बनाइएको जानकारी गृह मन्त्रालयले दिएको छ ।

(‘नेपाल वान एचडी’ को तर्फबाट सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई तिहार तथा भाइटीकाको पावन अवसरमा हार्दिक शुभकामना । पञ्चरङ्गी टीकासँगै सम्बन्धमा प्रेमको गहिराइ थपिँदै जाओस्, मखमली मालासँगै स्नेह अझ बलियो बनोस् । दिदी–भाइको यो सम्बन्ध सधैं अमिट, आत्मीय र अटुट रहोस् । भाइटीकाले तपाईंको जीवनमा सुख, शान्ति र समृद्धिको उज्यालो लिएर आओस् भन्ने शुभकामना व्यक्त गर्दछौं ।)

अध्यक्ष भएर बस्नुपर्छ भन्ने मेरो सोच होइन, राष्ट्र बचाउनु नै मुख्य हो : संयोजक प्रचण्ड

महोत्तरी । नेकपा माओवादी केन्द्रका संयोजक एंव पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफु अध्यक्ष भएर बस्नुपर्छ भन्ने सोच नरहेको बताउँदै राष्ट्र बचाउनु नै अहिलेको मुख्य जिम्मेवारी भएको बताएका छन् ।

महोत्तरीको रामगोपालपुरमा तिहारको अवसरमा आयोजित शुभकामना आदान–प्रदान तथा वृहत पार्टी प्रवेश कार्यक्रममा सहभागी भई सम्बोधनका क्रममा अध्यक्ष प्रचण्डले सो कुरा बताए ।

“अध्यक्ष भएर बस्नुपर्छ भन्ने मेरो सोच होइन। राष्ट्र बचाउनु नै मुख्य हो। आवश्यकता परे म जे जस्तो त्याग गर्न पनि तयार छु।”उनले भने ।“तर जिम्मेवारीबाट भाग्ने मेरो स्वभाव होइन। अहिलेको अवस्थामा म जिम्मेवारी लिनबाट पछि हट्नेवाला छैन।”

कार्यक्रमको मुख्य आकर्षण बनेका संयोजक प्रचण्डले सम्बोधनमार्फत पार्टीको वर्तमान धारणा, आगामी रणनीति र राष्ट्रिय एजेन्डा स्पष्ट पारे। देशमा परिर्वतित समयमा मधेशमा जेन्सी युवाहरू सहितको सहभागीतमा आयोजित कार्यक्रम भव्य भएको र कार्यक्रममा ठूलो जनसहभागिता र पार्टी प्रवेशले पार्टी पंक्तिलाई उत्साहित गरेको बताउँदै उनले नयाँ युगको सुरुवात भएको घोषणा समेत गरे।

संयोजक प्रचण्डले आफू जेन्सी आन्दोलनपछिको नयाँ अवस्था र पहिलोपटक मधेशमा आयोजित ठुलो कार्यक्रममा सहभागी भएको बताउँदै भने,“हिजो जनयुद्ध र जनआन्दोलनका बेलामा हामी जेन्सी थियौँ। आजको दिनमा मधेशमा पहिलो पटक ६०५ जना जेन्सी युवाहरूसहति माओवादी केन्द्रमा प्रवेश गर्नु इतिहासकै महत्त्वपूर्ण घटना हो।”

“अब जेन्सी र माओवादी मिलेर चुनाव लड्नुपर्छ। अरुले जेन्सीका मागहरू पूरा गर्दैनन्। माओवादी नै त्यो शक्ति हो, जसले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र समावेशी लोकतन्त्रलाई व्यवहारमा ल्याउन सक्छ।”

संयोजक प्रचण्डले देश संकटमा रहेको भन्दै राष्ट्रिय सहमतिको खाँचोमा जोड दिए।“यदि हामीले संविधान निर्माणका बेला राष्ट्रिय सहमति कायम नगरेको भए, यो देश भयानक दुर्घटनामा जान्थ्यो। हाम्रो भूमिकाले संविधान बचाएको छ।”

उनले माओवादी केन्द्रलाई नै राष्ट्रिय एकताको पर्याय भएको बताउँदै भने,“मधेश केन्द्रित पार्टीलाई उपराष्ट्रपति बनाएर राष्ट्रिय एकता कायम गर्ने दल माओवादी केन्द्र नै हो। समावेशी लोकतन्त्र सुनिश्चित गर्ने शक्ति हामी हौँ।”

संयोजक प्रचण्डले सरकारको नेतृत्व गर्दा माओवादी केन्द्रले सामाजिक न्यायका मुद्दा, नागरिकता समस्या, मिटरब्याज पीडित, मधेशी जनताको विकासका विषयमा ठोस काम गरेको दाबी गर्दै भने,“भ्रष्टाचारविरुद्धको अभियान हामीले सुरु गरेका थियौँ। तर केही मिडिया, विदेशी दलाल र अपराधीहरूले हाम्रो बदनाम गर्न खोजेका छन्।”

उनले आत्मालोचना गर्दै भने ,“हामीबाट पनि त्रुटि भयो, कहिलेकाहीँ जनतासँग सम्बन्ध कमजोर भयो। तर अब हामी जनताको बीचमा फर्किएका छौँ।”

संयोजक प्रचण्डले आगामी फागुन २१ गते तोकिएको निर्वाचनलाई लिएर कुनै अन्योल नराख्न आग्रह गर्दै भने,“चुनाव हुन्छ, हुनैपर्छ। यही अहिलेको एक मात्र विकल्प हो।”उनले निर्वाचनको तयारीमा जुट्न सबैलाई आह्वान गर्दै भने,“मतदाता नामावली अद्यावधिक गर्नुहोस्। नयाँ मतदाताहरूको नाम लेख्नुहोस्। हामीले राष्ट्रिय एजेन्डा सेट गरिसकेका छौँ— संविधान संशोधन, भ्रष्टाचार अन्त्य, जेन्सी युवाका माग सम्बोधन र समानुपातिक प्रणाली।”

संयोजक प्रचण्डले वामपन्थी एकताको नयाँ अभियान सुरु भएको जानकारी गराउँदै भने,“यो देशमा वामपन्थी जनमत सबभन्दा धेरै छ। समाजवादी मोर्चा बनाइसकेका छौँ। अब एमालेभित्रका इमानदार देशभक्तहरूसँग पनि एकता गर्ने तयारी भइरहेको छ।”

उनले २०७४ सालको दुई तिहाइको जनमत वामपन्थी एकताको उदाहरण दिँदै भने,“त्यतिबेला नेतृत्व केपी ओली जस्ता प्रवृत्तिको हातमा परेकोले त्यो असफल भयो। अब माओवादी केन्द्रका नेतृत्वमा नयाँ एकता गरिन्छ।”

उनले २४ गते र त्यसपछिको समयमा देशभर जनताको सुरक्षमा खटिएका प्रहरीमाथि भएका ज्यादती, हत्या र पीडामा आफू गहिरो रूपमा भावुक बनाएको बताए ।

“मैले प्रत्यक्ष देखेँ, प्रहरी दाजुभाइ–दिदीबहिनीहरूमाथि गलत तत्वहरूले कस्तो व्यवहार गरे। त्यसैले म देश र जनताको सुरक्षमा अहोरात्र खट्नुहुने सुरक्षाकर्मीप्रति सहानुभूति प्रकट गर्न चाहन्छु।”

सो अवसरमा उनले विभिन्न दल परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका जेन्सी युवासहित विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्ने ६०० भन्दा बढी नयाँ सदस्यहरूलाई पार्टीमा स्वागत गरेका थिए ।

फलफूल बजारमा छैन चहलपहल

 काठमाडौँ । तिहारको चौथो दिन फलफूल किन्ने ग्राहकहरुको फूलफूल पसलमा भिडभाड हुनुपर्ने हो । तर यसपटक भने फलफूल पसल सुनसान देखिन्छन् ।

जेन जी आन्दोलनका कारण व्यापरमा प्रभाव परेको व्यवसायीहरु बताउँछन् । बागबजारका फलफूल व्यापारी सुनिलकुमार पासवानले गतवर्षहरुमा जस्तो व्यापार यसवर्ष नभएको बताए ।

आन्दोलनका कारण काठमाडौमा मान्छै नै नभएको उनको भनाई छ । पहिलेजस्तो चहलपहल नहुँदा व्यापारमा असर परेको उनको गुनासो छ ।
उनले भने, ‘पहिले काठमाडौमा धेरै मान्छेहरु थियो । व्यापार पनि राम्रो थियो । अहिले आन्दोलनको कारण हाम्रो स्थिति गम्भिर भएको कारण मान्छेहरुको चहलपहल छैन, पहिलेको जस्तो । पहिले त तिहारमा धेरै मान्छेहरुको चहलपहल हुने गथ्र्यो । तर आजभोली हाम्रो बाघबजारको स्थिति धेरै नराम्रो छ ।’

सुनिलको जस्तै गुनासो अर्का व्यवसायी सोनु कुमारको पनि छ । उनले पनि जेनजी आन्दोलनका कारण तिहारमा व्यापार कम भएको गुनासो गरे । मान्छेसँग पैसा नभएका कारण पनि व्यापार सुस्ताएको उनको भनाई । उनले बजारभाउ पनि पहिले भन्दा केही बढेको बताए। उनले भने, ‘आन्दोलनले गर्दा अहिले विजनेश कम भएको छ । मान्छेसंग पैसा छैन ।’

व्यापारीहरुले व्यापार नभएको गुनासो गरिरहँदा उपभोक्ताहरुको भने मंहगी बढेको गुनासो छ । फलफूल किन्न आएकी उर्मिला बस्नेतले अहिलेको धेरै महंगो बढेको बताईन् । पोहोरको भन्दा अहिलेको बजारमूल्य धेरै फरक रहेको उनको भनाई छ । उनले तिहारको लागी आवश्यक समानहरु पनि बजारमा नपाईएको गुनासो गरे । तिहारमा फूलहरुको धेरै महत्व हुने उल्लेख गर्दै उनले सयपत्री फूल नै नपाएको बताए । उनले मंहगी र अभाव दुबै रहेको बताए ।

उनले भने, ‘सामान्य दिनमा भन्दा अहिले चाडपर्वमा धेरै महंगो छ, सामान । अहिले फूलहरुको धेरै महत्व हुन्छ, सयपत्री फूलै पाईरहेको छैन । हामीहरु फूल नपाएर थोर थोरै किनिरहेका छौँ । त्यही नी धेरै मंहगो छ, सागसब्जी पनि धेरै महंगो छ । पोहोरको भन्दा अहिले धेरै अभाव छ, समानहरु ।’

तिहारमा फलफूल, माला, भाईमसला, टोपी लगायत सामाग्रीहरुको किनबेचको लागी बजारमा मानिसहरुको भीडभीड हुने गरेको थियो । तर यसवर्ष भने बजार सुनसान देखिएको छ ।

सुशीला कार्कीको सरकारलाई संविधानले चिन्दैन : एमाले नेता दाहाल

झापा । नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री देवेन्द्र दाहालले वर्तमान सुशीला कार्की नेतृत्वको सरकारलाई संविधानले नचिन्ने बताएका छन् । असंवैधानिक रूपमा सरकार निर्माण भएको उनको भनाइ छ । नेकपा एमाले बिर्तामोड नगर कमिटीको व्यवस्थापन, नेपाल उद्योग तथा व्यवसायी महासंघ बिर्तामोड तथा जनसांस्कृतिक महासंघ नेपाल बिर्तामोडको आयोजनामा बुधबार आयोजित देउसी तथा शुभकामना आदानप्रदानमा उनले यस्तो बताएका हुन् ।

‘लामो संघर्ष र बलिदानीबाट बनेको संविधानको कुन धारामा टेकेर यो सरकार बनेको हो ?,’ दाहालले प्रश्न गरे, ‘सर्वोच्च अदालतका पूर्व न्यायाधीशको नेतृत्वमा सरकार बनाउन संविधानको कुन धाराले अनुमति दिन्छ ? अनि, त्यसरी बनेको सरकारले संसद् विघटन गर्न पाउँछ कि पाउँदैन ?’

वर्तमान सरकारका मन्त्रीहरूका अभिव्यक्ति निर्वाचन नगराउने तर्फ उद्यत रहेको भन्दै उनले सरकारका गतिविधिलाई नेकपा एमालेले नजिकबाट नियालिरहेको जिकिर गरे । २३ र २४ भदौमा जेनजीका नाममा विध्वंस गराइएको भन्दै उनले यस घटनाले राज्यलाई कमजोर बनाएको बताए । उनले नेपालको राजनीतिक इतिहासमा कलंकका रूपमा यो घटना चित्रण भएको पनि जिकिर गरे । उद्योग तथा व्यवसायी महासंघ बिर्तामोडका अध्यक्ष युवराज निरौलाको अध्यक्षतामा आयोजित कार्यक्रममा एमालेका नेता तथा कार्यकर्तासहित शुभेच्छुक शुभचिन्तकहरूले शुभकामना आदान–प्रदान गरेका थिए ।

 

नेवार समुदायमा गरियो म्हः पूजा

काठमाडौँ । कात्तिक शुक्ल प्रतिपदाका दिन बुधवार नेवार समुदायमा म्हः (आत्म) पूजा मनाइएको छ ।

प्रत्येक वर्ष कात्तिक शुक्ल प्रतिपदाका दिन नेवार समुदायका मानिसले म्हः पूजा पर्व मनाउने गर्दछन् । यसदिन कसैले दिउँसो र कसैले बेलुकी म्हः पूजा गर्ने गर्दछन् । मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्वपूर्ण भएकाले आत्म पूजा गर्ने परम्परा रहि आएको नेवा समूदायका अगुवा राकेश अवालेले बताए ।

आत्मसन्तुष्ट बनाई खुशी राख्न सके देवी देवता पनि प्रसन्न भई आशीर्वाद दिने र जीवन लिएको पनि सार्थक हुने धार्मिक विश्वास रहेको कारण नेवा समूदायले म्हः पूजा गर्ने गरेको उनको भनाइ छ । आत्मजीवनको सुख र शान्तीको कामना गर्दै यो पर्व मनाउँदै आइएको उनको भनाइ छ ।

उनले भने, ‘म्हः पुजा हाम्रो गौरव हो । हामी नेपाली समूदायमा पनि कसैले पूजा गर्छ कसैले गर्दैन । नयाँ वर्षको सिलसिलामा आफ्नो जीवनमा सुख, शान्ती र समृद्धि एवं सफलताको कामना गरी जीवनमा कुनैपनि दुःखद् घटना नहोस् भन्ने हेतुले आफूले आफैंलाई पूजा गर्ने चलन छ । यो एकदमै राम्रो चलन छ ।’

नेवारी समुदायको बाहुल्यता रहेको काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, पनौती, बाह्रबिसे, चौतारालगायत स्थानमा म्हः पूजा मनाउने गरिएको छ ।

चिनियाँ इभी भित्रिने मुख्य नाकाले उठायो ३ अर्बभन्दा बढी राजस्व

चीन । नेपाल–चीन उत्तरी कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयले ३ अर्ब १ करोड ४४ लाख ३६ हजार रूपैयाँ राजस्व संकलन गरेको छ। यो चिनियाँ विद्युतीय कार आयात हुने मुख्य नाका हो।

गत भदौ ३१ गते पूर्ण रूपले व्यापारिक मार्गका रुपमा सञ्चालनमा आएको कोरला नाकाबाट मुस्ताङ भन्सार कार्यालयले मंगलबारसम्म उक्त राजस्व संकलन गरेको जनाएको छ। हालसम्म कार्यालयले ६६४ वटा मालवाहक कन्टेनरको जाँचपास गरी गन्तव्यमा पठाएको न्हेचुङस्थित मुस्ताङ भन्सार कार्यालयका प्रमुख रमेश खड्काले जानकारी दिए।

चीनबाट पैठारी गरिएका मालसामानमा दसैं–तिहार लक्षित रेडिमेड लत्ताकपडा, कस्मेटिक र इलेक्ट्रोनिक सामान रहेको मुस्ताङ भन्सारले जनाएको छ। नेपालतर्फबाट भने हस्तकला सामग्री र नेपाली उत्पादन निकासी भएको भन्सार प्रमुख खड्काको भनाइ छ।

हालसम्म कोरला नाका हुँदै चीनबाट पैठारी गरिएका १४९८ वटा विद्युतीय कारको भन्सार जाँचपास भई गन्तव्यतर्फ प्रस्थान गरिसकेको भन्सार प्रमुख खड्काले जानकारी दिए। यहाँको नेपाल–चीन उत्तरी कोरला नाकालाई भन्सार विभागले तातोपानी नाका र रसुवागढी नाका अवरूद्ध भएपछि वैकल्पिक नाकाका रुपमा सञ्चालनमा ल्याएको थियो त्यसैबीच, भन्सार विभागले यहाँको कोरला नाकालाई पूर्ण रूपमा सञ्चालनमा ल्याउने गरी मुस्ताङ भन्सार कार्यालयलाई अनलाइन प्रणाली भन्सार आशिकुडा प्रणालीमा जोडेको छ।

विभागले यो नाकालाई व्यापारिक आयात-निर्यात सहज तुल्याउन भन्सार प्रतितपत्र (एलसी) खोल्न अनुमति दिएको थियो। नाका पूर्ण रूपमा सञ्चालनमा आए पनि बाह्रै महिना यहाँको नाकाबाट आयातनि-र्यात गर्न चिसो र उच्च भूगोलका कारण चुनौती हुने भन्सार प्रमुख खड्काले बताए।

कोरला नाका ४६१० मिटरको अग्लो उचाइमा रहेकाले चिसोले इन्धन जमेर ढुवानीका साधन स्टार्ट नहुने र धकेलेर तल झार्नुपर्ने बाध्यता रहेको भन्सार प्रमुख खड्काको भनाइ छ।

कोरला नाकालाई बाह्रै महिना एकैनासले सञ्चालन गर्न सडकको अवस्थामा सुधार र कोरला नाकामा आवश्यक पूर्वाधार निर्माण गर्नुपर्ने आवश्यकता रहेको भन्सार प्रमुख खड्काले औंल्याए। यसअघि कोरला नाका २०८० कात्तिक २७ गते उपल्लो मुस्ताङका नागरिकका लागि मात्रै घरायसी मालसामान किनमेल गर्न चीन पक्षले बाह्रै महिना खुला गरेको थियो।

त्यस बेला चीनले तामझामका साथ उपल्लो मुस्ताङका नागरिकका लागि नाका बाह्रै महिना खुला भएको सन्देश दिएको थियो। कोरलाबाट नेचुङ–लिजीसम्म जान जिल्ला प्रशासन कार्यालयले दिएको सीमापार पास देखाएर मुस्ताङका नागरिक चीन प्रवेश गर्न पाउने व्यवस्था गरिएको हो।

लोकतन्त्रविरुद्ध लाग्नेलाई जनताले नै लखेट्छन् : मुख्यमन्त्री बानियाँ

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले लोकतन्त्रविरुद्ध लाग्नेलाई जनताले गाउँबस्तीबाट लखेट्ने बताएका छन् । बुधबार भक्तपुरमा नेपाली कांग्रेस जिल्ला कार्यसमितिले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले गरिब, मजदुर, किसानलगायत सबै जनताको रगतबाट मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएको उल्लेख गरे । यसविरुद्ध लाग्नेलाई जनताले गाउँबस्तीबाट लखेट्ने उनले बताएका हुन् ।

हाल ‘जेनजी’ आन्दोलनका क्रममा भएको वितण्डालाई भविष्यमा दोहोरिन नदिन वडादेखि केन्द्रसम्म रहेका सबै सुध्रनुपर्नेमा उनले जोड दिए । उनले जनताले पठाएका प्रतिनिधि ठिक ढंगले चल्न सके कोही पनि डराउनु नपर्ने बताए । मुख्यमन्त्री बानियाँले संकटमा लोकतन्त्रवादी एकै ठाउँमा उभिनुपर्ने धारणा व्यक्त गरे ।

कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले लोकतन्त्रलाई बलियो बनाउन फरक विचार भएका दल एकै ठाउँ आउनुपरेको बताए । उनले कांग्रेसलाई एकताबद्ध बनाउँदै अघि बढनुपर्ने वर्तमान आवश्यकता रहेको टिप्पणी गरे । थापाले आफू भक्तपुर जिल्लाको सभापति दुईपटक भएको उल्लेख गरे । विधान संशोधन गरेर भए पनि तेस्रोपटक सभापति बन्नुपर्ने अवस्था देखिएको उनको भनाइ थियो । अधिवेशनको एक दिन मात्र जिल्लामा आउने व्यक्तिलाई सभापतिको जिम्मेवारी दिन नसकिने उनले बताए ।

तिहारको रौनकमा किसानलाई धान भित्र्याउने चटारो

भक्तपुर । नेपाली हिन्दुहरूको दोस्रो महान् चाड तिहारको रौनक देशभर छाएको छ । भक्तपुरका किसानलाई भने यतिखेर पाकेको धान भित्र्याउन भ्याइ नभ्याइ भएको छ । असिना, पानी पर्ला र पाकेको धान झार्ला भन्ने चिन्तामा परेका यहाँका किसान तिहारको रौनकमा पनि वर्ष दिनको कमाइ धान भित्र्याउन व्यस्त छन् ।

हरेक दिन खेत खेतमा धान काट्ने र भित्र्याउने किसानको उल्लेख्य उपस्थिति देखिन्छ । भक्तपुरको चाँगुनारायण नगरपालिका–९ ताथलीका किसान सानुभाइ गिरीले पाकेको धान काटेर हतारमा भित्र्याउन थालेको बताए ।

उनले भने, ‘दश तिहारको रौनकले छोपेको छ, तर हामी किसानलाई असिना पानीको डर भयो, त्यसैले पाकेको धान भित्र्याउन थालेका हौँ, यहाँका धेरै किसानले तिहारको रौनकलाई छाडेर धान भित्र्याउन थालेका छन् ।’

बिहीबार भाइटिकाको दिन मात्रै खाली बस्ने भन्दै गिरीले अन्य दिन धान काट्ने, चुट्ने र भित्र्याउने काममा व्यस्तता बढेको बताए । सबै काम सक्ने अझै दुई साता लाग्ने उनको भनाइ छ ।

चिउरा मिल सञ्चालकहरूले चिउराका लागि खेत खेतमा पुगेर धान किन्ने भएकाले कतिपय कृषकले राम्रोसँग बोटमा नपाकेको हरियो धानसमेत काटेर सस्तोमा बिक्री गर्न थालेका छन् ।

चाँगुनारायण–७ बागेश्वरीकी प्रमिला कार्कीले चिउरा मिल सञ्चालकले ताइचिन धान प्रतिकिलो रु ८० का दरले खेतमै उठाउन आएपछि धान काट्ने बित्तिकै खेतबाटै बिक्री गर्न थालेको बताइन् ।

सूर्यविनायक नगरपालिका–९ चित्तपोलकी सुभद्रा बस्नेतले तिहारको व्यस्ततासँगै धान भित्र्याउने काम थपिएको बताउँदै यहे वर्ष दिनभरिको किसानको कमाइ भएको बताइन् ।

जिल्लाको धानखेती हुने ताथली, सुडाल, चित्तपोल, नङ्खेल, कटुन्जे, गुण्डु, सिपाडोल, छालिङ्ग, वागेश्वरी, नगरकोट, दुवाकोट, झौखेललगायत क्षेत्रका किसानको यतिखेर धान काट्ने र भित्र्याउने काममा व्यस्तता बढेको हो ।

सूर्यविनायक–७ गुण्डुका किसान रविन्द्र बस्नेतले भने, ‘असिना पानीको डरले कतिपय किसानले हरियो धान काट्न थालेका छन्, तिहार भनेर कुर्ने समय छैन, आकाशमा बादल मडारिए पनि किसान आत्तिन्छन् त्यसैले तिहार नभनी भक्तपुरका सबै किसान धान काट्न व्यस्त छन् । सबै आफ्नै धान काट्न थालेकाले ज्यामी पाइँदैन, पर्म पनि छैन, ज्यामी नहुँदा धेरै किसानलाई समस्या परेको छ ।’

अध्यक्ष दाहालद्वारा विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग द्विपक्षीय भेटवार्ता गरेका छन् । जेनेभामा जारी अन्तरव्यवस्थापिका सङ्घ (आपियू) को १५१ औँ महासभामा सहभागी हुनका लागि जेनेभामा रहेका उनले विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग छुट्टाछुट्टै भेटवार्ता गरेका हुन् ।

महासभामा सहभागी हुन आएका संयुक्त अधिराज्य (बेलायत), जनवादी गणतन्त्र चीन र श्रीलङ्काका संसदीय प्रतिनिधिमण्डलसँग आज छुट्टाछुट्टै भेटवार्ता गरेका अध्यक्ष दाहालका प्रेस विज्ञ दिल्ली मल्लले जानकारी दिए ।

आइपियूको एसिया प्यासिफिक ग्रुपको अध्यक्षसमेत रहेका चिनियाँ नेता छुइजीङ टिएन नेतृत्वको चिनियाँ संसदीय प्रतिनिधिमण्डल, फाबिन हमिलटोन नेतृत्वको बेलायती संसदीय प्रतिनिधिमण्डल र सुनिल वाटगला नेतृत्वको श्रीलङ्काको संसदीय प्रतिनिधिमण्डलसँग छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता भएको थियो ।

सबै भेटमा राष्ट्रबीचको आपसी सम्बन्ध, संसदीय मैत्री समूहमार्फत् संसदीय अनुभव आदानप्रदान, अन्तरराष्ट्रिय मञ्चमा सहकार्य र सहयोगलगायत विषयमा छलफल भएको दाहालका प्रेस विज्ञ मल्लले बताए ।

अध्यक्ष दाहालले नेपालमा पछिल्लो समयमा भएको जेनजी प्रदर्शन, त्यसबाट उत्पन्न नयाँ राजनीतिक परिवेशमा अन्तरिम सरकार गठन भएको र चुनाव घोषणा भएको जानकारी गराउँदै तोकिएको समयमा निर्वाचन सम्पन्न गरी लोकतान्त्रिक सुदृढीकरणका लागि नेपाल प्रयत्नशील रहेको बताए ।

प्रदर्शनका क्रममा क्षति पुगेका संरचनाको पुनर्निर्माण र नयाँ निर्वाचनका लागि मित्रराष्ट्रको साथ र सहयोगका लागि अध्यक्ष दाहालले आग्रह गरे । भेटमा उनले जलवायु परिवर्तनको असर नेपालीले प्रत्यक्ष भोगिरहेको असरहरू उल्लेख गर्दै विकासोन्मुख देशहरूलाई विश्व समुदायले सहयोग गर्नुपर्नेमा जोड दिए ।

शान्ति सैनिकको संख्या कटौती हुँदा पनि धैरै खटाउनेमा नेपाल नै पहिलो

काठमाडौं । संयुक्त राष्ट्रसंघ (यूएन) ले बजेट अभावका कारण द्वन्द्वरत मुलुकमा स्थापना भएका मिसनमा परिचालित शान्ति सैनिकको संख्या २५ प्रतिशसम्म कटौती गर्दैछ । त्यसबाट शान्ति सैनिक पठाउने देशहरूलाई आर्थिक र सैन्य कूटनीतिमा केही न केही असर पर्नेछ ।यूएनको त्यस निर्णयबाट नेपालले पठाउँदै आएको शान्ति सैन्यको संख्या पनि कम हुनेछ । यद्यपी युएनमार्फत शान्ति सैनिक परिचान गर्ने सबैभन्दा ठूलो देशको सूचीमा भने नेपाल कायम रहने छ । विश्वका १२० भन्दा बढी देशका एक लाख २० हजार बढी शान्ति सैनिक युएनमार्फत १४ वटा मिसनमा रही विश्वका विभिन्न द्वन्द्वरत मुलुकमा शान्ति स्थापनाका लागि अहोरात्र खटिरहेका छन् ।

शान्ति स्थापनार्थ सैन्य परिचानका लागि युएनको मुख्य आर्थिक स्रोत भनेको सदस्य मुलुकबाट प्राप्त तोकिएको निश्चित सहयोग हो । केही सदस्य मुलुकबाट प्राप्त हुने आर्थिक सहयोग समयमै नआएको र केहीबाट उपलब्ध हुने भएपछि बजेट अभावमा शान्ति सैनिकको संख्या कटौती गर्न लागिएको हो । नेपाली सेनाको युद्धकार्य महानिर्देशक अनुपजङ्ग थापाले हाल परिचालित शान्ति सैनिकको संख्यामा २५ प्रतिशत कटौतीको सम्भावनाको योजनाको जानकारी प्राप्त रहेको बताए । उनले भने, ‘अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको कूटनीतिक सम्बन्ध हासिल गर्ने एक महत्वपूर्ण उपाय र यन्त्रका रूपमा नेपाली शान्ति सैनिक छ । राष्ट्रसंघबाट शान्ति सैनिकको संख्या कटौती भए पनि नेपाल भने धेरै शान्ति सेना पठाउने र योगदान गर्ने सूचीमा अग्रणी भूमिकामै रहन्छ ।’

राष्ट्रसंघका मिसनमा अवश्यकता अनुरूप फौजको संख्या थपघट हुने गरेको भए पनि पछिल्लो समय भने बजेट अभावकै कारण शान्ति सेनाको संख्या कटौती गर्न लागेको हो । राष्ट्रसंघले फौजको संख्या घटाउँदा समानुपातिक सन्तुलन कायम गर्ने योजना बनाएको सेनाले जानकारी दिएको छ । नेपाली शान्ति सैनिक हाल विश्वका विभिन्न द्वन्द्वरत मुलुकमा स्थापना गरिएका १० वटा मिसनमा तैनाथ छन् । हाल ५३८ म्हिला सैनिकसहित पाँच हजार ८१९ नेपाली शान्ति सेनामा परिचालित छन् । नेपाली शान्ति सैनिकले विश्वमै सहासिक, अनुशासित र व्यावसायिक ‘च्याम्पियन’ सैनिकका रूपमा आफ्नो परिचय बनाइसकेको छ ।

यसअघि निलो हेलमेट धारी एक लाख ५९ हजार ६६४ नेपाली शान्ति सैनिकले राष्ट्रसंघको विश्वशान्ति अभियानमा योगदान पुर्‍याइ नेपाललाई सोही संख्यामा शान्ति पदक दिलाउन सफल भएको इतिहास छ । त्यस क्रममा विश्वमा द्वन्द्वग्रस्त मुलुकमा स्थापना भएका ४४ वटा मिसनमा काम गर्ने सिलसिलामा ७४ जना सैनिकको बलिदानी भएको छ भने ७५ जना गम्भीर घाइते छन् ।

युद्धकार्य निर्देशक मनोज थापा भन्छन्, ‘मिसन आवश्यकता अनुरूप नयाँ स्थापना हुने र सञ्चालनमा रहेका मिसन बन्द हुने नियमित प्रक्रिया हो । आवश्यकताकै आधारमा मिसनमा फौज थपिने र कटौती हुन्छन् । यस पटक भने बजेट अभावकाकारण शान्ति सैनिकको संख्या घटाउनुपर्ने बाध्यता छ ।’ नेपाल राष्ट्रसंघको सदस्य राष्ट्र हुनुका नाताले महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्दै आएको छ । बजेट कटौती हुँदा नेपाली शान्ति सैनिकलाई मात्र होइन, समग्रमा सबै शान्ति फौज पठाएर योगदान गर्ने राष्ट्रलाई असर पर्नेछ । राष्ट्रसंघले १५ प्रतिशतसम्मको बजेट अभावलाई सम्बोधन गर्न फौजको संख्या घटाउन लागेको जानकारी प्राप्त भएको छ । कटौती गरिने फौज समानुपातिक आधारमा हुनेछ ।

विश्व शान्ति स्थापनाकार्यमा नेपालको महत्त्वपूर्ण भूमिका र जिम्मेवारी छ । संयुक्त राष्ट्रसंघको छातामुनि रही नेपाली सेनाले विश्वमै जोखिम युक्तकार्यका लागि प्राप्त जिम्मेवारीलाई सहजै स्वीकार गरी इमान्दार, सहासिक, बहादुरी र व्यावसायिक सेनाको परिचय दिलाउन सफल भएको छ । नेपालले यसअघि नै राष्ट्रसंघबाट माग भई आएमा एकै पटक १० हजारको संख्यामा शान्ति सैनिक उपलब्ध गराउन सक्ने प्रतिबद्धता समेत जनाएको छ ।

शान्तिकार्य निर्देशक श्रवणकुमार विष्ट भन्छन्, ‘विश्व शान्तिका लागि आफ्नो जनशक्ति खटाएर राष्ट्रिय हितमा सेनाले गरेको योगदानबारे सबैलाई थाहा भएकै विषय हो । राष्ट्रसंघमा फौज उपलब्ध गराएवापत प्राप्त हुने रकम विदेशी मुद्रा आर्जन गर्ने महत्वपूर्ण श्रोत हो । फौज कटौती भएमा त्यसमा केही सङ्कुचन आउने सम्भावना रहन्छ ।’ परराष्ट्र सम्बन्ध विस्तारका हिसाबले दूतावास नभएका ठाउँमा खटिएका शान्ति सैनिकबाट प्रत्यक्ष नभए पनि परोक्षरूपमा सहयोग पुग्दै आएको छ ।

नेपाली शान्ति सैनिकको संख्या कटौती भएको खण्डमा कूटनीतिक र आर्थिक हिसाबले केही हदसम्म नेपालाई पनि असर पर्नेछ । खासगरी विदेशी मुद्रा आर्जन गर्ने शान्ति सेना महत्वपूर्ण श्रोत रहीआएको छ । अहिले शान्ति सैनिक ठूलो संख्यामा पठाउने राष्ट्रको सूचीमा नेपाल अग्रस्थान (पहिलो) नम्बरमा छ । संयुक्त राष्ट्रसंघका अनुसार समानुपातिक हिसाबले फौजको संख्या कटौती हुँदा पनि नेपालको हालको स्थान कायम नै रहने छ । शान्ति सेनामा फौजको संख्या कटौतीलाई सेनाले योजनाबद्ध रूपमा कार्यान्वयन गर्नेछ ।

 

 

 

देउसी भैलो खेली मनाइँदै तिहार, तस्बिरहरु

काठमाडौँ । हिन्दुहरूको दोश्रो महानचाड तिहार सुरु भाई सकेको छ । तिहारको विशेष पक्ष भनेको देउसी भैलो र यम पञ्चक पनि भनिने तिहारको पाँच दिन विभिन्न जनावरलाई पुज्ने समेत गरिन्छ। अहिले काठमाण्डौ उपत्यका लगायत देशदेखि विदेशसम्म देउसी भैलो गुन्जिन थाली सकेको छ ।

यही अवसरमा हरेक वर्ष मगर भेजा समाज नेपालले पनि विभिन्न कार्यक्रम गरी देउसी भैलो कार्यक्रम आयोजना गर्दै आएको छ । परम्परागत देउसी भैलोसँगै झौरे नाच, मारूनी लगायतको नाच गान प्रस्तुत गरी देउसी भैलो खेल्दै आएको समाजका अध्यक्ष खिम बहादुर थापा मगरले जानकारी दिए ।

गाउँघरमा जस्तो नभए पनि तिहारमा विभिन्न आफन्त र व्यक्तिहरूको घरघरमा गएर देउसी खेल्दै आएको र पछिल्लो समय आफ्नो परम्परा, संस्कृति लोप हुँदै गएकोमा नयाँ पुस्तालाई पनि देउसी भैलो लगायतका हाम्रो संस्कृति बारेमा जानकारी दिने उद्देश्यले पनि हरेक वर्ष मगर भेजा समाजले यस्तो कार्यक्रम आयोजना गरेको मगरले बताए।

तिहारमा देउसी भैलो खेलिनुको कारण

देउसी भैलो किन खेलिने गरिन्छ भन्ने प्रसंगमा विभिन्न पौराणिक कथनहरु रहेको छ । विशेष गरी यसमा बलिराजाको कथन जोडिएर आउने गर्दछ । पौराणिक कथन अनुसार दानवराज बलिले वामन अवताररूपी विष्णुले मागेको तीन पाइला जमिन मध्ये दुई पाइलामा सम्पूर्ण भू–भाग ढाकिएकोले तेस्रो पाइलामा आफ्नै शिर दिएका थिए ।

त्यसबेला विष्णुले ‘देऊ शिर’ भनी मागेकाले अपभ्रंश भई अहिले देउसीको गाथा चलेको हो । आफ्नो सर्वस्वहरण भई पाताल पुगेका बलिलाई विष्णुले वर्षको तीन दिन पृथ्वीमा तिम्रो आधिपत्य रहनेछ भन्ने वरदान दिएको सम्झना गर्दै मानिसहरूले देउसी भैलो खेल्ने परम्परा चलाए भने गरिन्छ ।

 

जेनजी आन्दोलनका घाइते भन्छन्–घाउ भन्दा बढी चाडबाडको सम्झनाले चहर्‍याउँछ

काठमाडौं । गत २३ भदौमा जेन–जी प्रदर्शनका दिन गीता साह कोटेश्वरस्थित घडी पसलमा थिइन् । माइतीघरबाट सुरु भएको प्रदर्शन कोटेश्वरसम्म आउँला, प्रदर्शन भड्किएला र त्यसको घानमा आफू परिएला भन्ने उनको मनमा थोरै पनि आशंका थिएन । तर, भइदियो त्यस्तै। सप्तरीकी ४८ वर्षीया साहको पसल कोटेश्वर प्रहरी चौकी छेउमै छ । एउटा ठूलो भिड कोटेश्वरतिर आइसकेपछि उनी हेर्न बाहिर निस्किइन् । हेर्दाहेर्दै प्रदर्शन चर्किंदै गयो । कताकताबाट आएको पेट्रोलसहितको आगो उनको शरीरमा सल्कियो ।

उनलाई उद्धार गरेर कान्तिपुर अस्पताल पुर्‍याइयो । त्यहाँ पनि आन्दोलनकारीको भिड भएकाले सिनामङ्गलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) लगियो । त्यसयता उनी त्यही अस्पतालमा उपचाररत छिन् । केएमसीको प्लाष्टिक सर्जरी पोष्ट अपरेटिभ वार्डको बेड नं २४४ मा उपचाररत गीताको शरीरको १८ प्रतिशत भाग जलेको छ । कम्मरमुनि र दायाँ हातमा बढी असर छ । अस्पतालको शैंयामा सुतिरहनु पर्दा उनमा पीडा थपिएको छ । घाउ चह¥याउँदा उनी घरीघरी चिच्याउँछिन् । सबैभन्दा नरमाइलो त उनलाई दशैंमा भएको थियो । अस्पतालको बेडमै रहँदा दशैंको रौनक आयो, गयो । तिहारअघि त डिस्चार्ज हुन्छु कि भन्ने थियो । तर उनलाई चिकित्सकले निगरानीमै राखेको छ ।

‘बाहिर तिहारको झिलिमिली, रङ्गीचङ्गी छ । सबैमा उत्साह र रौनक छ, तर म दशैं–तिहार नै अस्पतालको शैंयामा बिताउन बाध्य भएँ’, उनी भन्छिन् । यस्तो बेला उनलाई विगतका दशैं र तिहारको झझल्को नआउने होइन । हरेक वर्ष उनी तिहारमा घर–पसल सजाउँथिन् । तिहारले बेग्लै खुशीयाली दिन्थ्यो । यसपालि भने उनको घर सजिएन । ‘मनमा उत्साह नै नभएपछि घर सजाउनुको के अर्थ भयो र,’ निराश हुँदै उनले भनिन्, ‘डेढ महिना पुग्न लागिसक्यो । अस्तपालको बेडमै बस्दाबस्दा म थाकिसकेकी छु ।’ उनी अस्पतालमा भएपछि छोरा राहुलले पसल रेखदेख गरिरहेका छन् । ‘छोरा विदेश जाने तयारीमा थियो । म नै अस्पताल भर्ना भएपछि अब उसको के हुने हो टुङ्गो छैन,’ उनले सुनाइन् ।

केएमसीकै हाई केयर युनिटमा छन्, काभ्रेका २७ वर्षीय कमल घिमिरे । उनका आमाबुबा भक्तपुरको राधेराधेमा गाई फार्म चलाउँछन् । आमाबुबालाई सघाउँदै आएका कमल सदाझैं २३ भदौमा दूध पुर्‍याउन बानेश्वर गएका थिए । घर फर्किने बेलासम्म काठमाडौंको अवस्था असामान्य बनिसकेको थियो । बानेश्वर क्षेत्र तनावग्रस्त थियो । पानीको फोहरा, अश्रुग्यास मात्र होइन गोली समेत चल्न थालिसकेको थियो । उनी यो माहोल हेर्न बानेश्वरमा एकछिन के रोकिएका थिए, छातीमा गोली लाग्यो ।

काका प्राणनाथ घिमिरेका अनुसार गोलीले फोक्सोमा ठूलो असर पुर्‍याएको छ । केही समय त कमलको बोली नै ननिस्किने भएको थियो अहिले भने बोल्न थालेका छन् । ‘सरकारले स्वास्थ्य उपचार निःशुल्क गरे पनि औषधी र खानाको पैसा तिर्नु परिरहेको छ । जसका कारण परिवारलाई खर्च धान्न गाह्रो भइसकेको छ,’ कुरुवा बस्दै आएका काका प्राणनाथले भने, ‘छातीको दायाँ भागमा ठूलो घाउ छ । डाक्टरले पुरिन निकै समय लाग्छ भनेका छन् ।’ गोली लागेपछि शारीरिक पीडा त छँदैछ, तर यहीबीच आइपरेका महत्वपूर्ण चाडपर्व कमलले खुब ‘मिस’ गरेका छन् । ‘दशैंमा त मैले नै जसोतसो टीका लगाइदिएँ,’ काका प्राणनाथ भन्छन्, ‘यो तिहार भने उसको खल्लो हुने भो । अस्पतालमा भाइटीका गर्न सजिलो छैन ।’ कमलकी एक बहिनी छिन् ।

पटक–पटक शल्यक्रिया गर्नुपर्ने भएकाले घाउ कहिले निको हुने टुङ्गो नहुँदा दिक्दार कमलका काकाले भने, ‘यत्रा चाडबाड आए, म पनि अस्पतालमै बस्नुपर्ने बाध्यता आइलाग्यो । तिहारमै पनि अस्पतालकै बास भयो । डाक्टरले छोरो निको भयो, अब घर जानु भनेका दिन कति खुशी लाग्ने थियो ।’ चाडबाडका बीच अस्पतालको बेडमै रहनुपर्दा घाइतेलाई घरपरिवार आफन्तको यादले बढी सताएको छ । जेनजी आन्दोलनका घाइतेहरू काठमाडौंका अरु अस्पतालमा पनि छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो अपडेटअनुसार राष्ट्रिय ट्रमा सेन्टरमा चार जना, त्रिवि शिक्षण अस्पतालमा तीन जना, बी एन्ड बी अस्पतालमा १ जना र नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा १ जना गरी देशभर ११ जना घाइते उपचाररत छन् । आन्दोनलमा घाइते भई उपचारका लागि दुई हजार पाँच सय ७१ जना अस्पताल पुगेका थिए । रासस

 

कागतीबाट ‘काइदा’ को कमाइ

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिका–४ बस्तिमका ४० वर्षीय नवराज घिमिरेले व्यावसायिक रूपमा कागती खेती गरेर मनग्य आम्दानी गर्दै आएका छन् । घिमिरेले कागती बिक्रीबाट वार्षिक तीन लाखसम्म आम्दानी हुने बताए । अहिले उनले करिब १० रोपनी क्षेत्रमा सानाठूला गरी ३५० बोट कागती रोपेका छन् । ‘व्यावसायिक रूपमा कागती खेतीमा लागेका छ’, उनले भने, ‘अहिले वार्षिक दुईदेखि तीन लाख रुपैयाँ आम्दानी लिँदै आएको छु साना बिरुवा पनि विस्तार गरेको छु । ती हुर्किएपछि आम्दानी अझ बढ्नेछ ।’

छ वर्षअघिबाट फलफूल खेती सुरु गरेका घिमिरेले कागतीसँगै सुन्तला र एभोकार्डोको पनि खेती पनि विस्तार गरेका छन् । एकपटक विस्तार गरेपछि लामो समयसम्म आम्दानी लिन सकिने भएकाले बहुवर्षीय बाली खेतीमा जोड दिएको उनको भनाइ छ । ‘एक पटक विस्तार गरेपछि दीर्घकालसम्म आम्दानी लिन सकिने बहुवर्षीय बाली खेती विस्तारमा जोड दिएको छु’, उनले भने, ‘कागतीसँगै सुन्तला, एभोकार्डोको पनि खेती गरिरहेको छु ।’

फलफूल खेतीका लागि माटो र हावापानी उपयुक्त भएकाले पौवादुङमामा बहुवर्षीय खेती प्रणालीमा किसान आकर्षित भइरहेको गाउँपालिका अध्यक्ष किरण राईले बताए । उनका अनुसार गाउँपालिकाले ‘एक घर, एक फलफूल’ कार्यक्रम सञ्चालन गरेर फलफूल खेतीमा लगानी गर्दै आएको छ ।

‘पौवादुङमामा माटो सुहाउँदो खेती प्रणालीमा जोड दिएका छौँ’, अध्यक्ष राईले भने, ‘यहाँ धेरै किसान बहुवर्षीय खेती प्रणालीमा जुटेका छन् । गाउँपालिकाले पनि आवश्यक प्रोत्साहन र सहयोग गर्दै आएको छ ।’ गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले बहुवर्षीय खेती प्रणालीबाट किसानले दीगो रूपमा आम्दानी लिनसक्ने भएकाले आवश्यक सहयोग गर्दै आएको बताएकी छन् । किसानलाई भूगोलअनुसारको खेती प्रविधिमा जोड दिइएको उनको भनाइ छ । ‘वडागत रूपमा उत्पादन सम्भावना पहिचान गरेर विभिन्न जातका फलफूल खेतीमा प्रोत्साहन दिइरहेका छौँ’, उनले भनिन् । रासस

 

 

 

अमेरिकाबाट दशैं–तिहार मनाउन आएका छोरा बुहारीमाथि खुकुरी प्रहार

काठमाडौं । अमेरिकाबाट दशैं–तिहार ममनाउन आएका छोरा बुहारीमाथि बाबुले खुकुरी प्रहार गरेका छन् । काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका–५, थलीस्थित भीमबारी टोलमा बुधबार विहान यस्तो बाबुले छोरा–बुहारीमाथि खुकुरी प्रहार गरेका हुन् । ५३ वर्षीय विष्णु उप्रेतीले घरायसी विवादका क्रममा छोरा–बुहारीमाथि खुकुरी प्रहार गरेको जिल्ला प्रहरी प्रवक्ता एसपी पवन भट्टराईले जनाएका छन् ।

खुकुरी प्रहारबाट ३२ वर्षीय छोरा रुविस उप्रेती र बुहारी मनिता भण्डारी घाइते छन् । रुविसको बायाँ हातका चार औंला काटिनुका साथै दाहिने खुट्टाको घुँडामा चोट लागेको प्रहरीले जनाएको छ । बुहारी मनिताको दाहिने हातको कुममा चोट लागेको छ । आक्रमण गर्ने बुबा उप्रेती प्रहरी वृत्त, बौद्धअन्तर्गत गोकर्ण प्रभागको हिरासतमा छन् ।

प्रधानमन्त्री कार्कीमाथि राष्ट्रघात र बलिदानको अपमान गरेको रविकिरणको आरोप

काठमाडौं । जेनजी आन्दोलनका क्रममा पक्राउ समेत एक अगुवा रवि किरण हमालले प्रधानमन्त्री सुशीला कार्कीलाई पक्राउ गरी निष्पक्ष छानविन गर्न माग गर्दै प्रहरी महानिरीक्षकलाई निवेदन दिएका छन् । ‘जेन्जी आन्दोलन, नेपाल’ नामक संगठनको तर्फबाट हमालले प्रधानमन्त्री कार्कीविरुद्ध गम्भीर आरोप लगाउँदै प्रहरी महानिरीक्षक समक्ष औपचारिक निवेदन दिएका हुन् । निवेदनमा उल्लेख गरिएअनुसार कार्कीले ‘जेन्जी विद्रोह’ का क्रममा देशका युवाहरूको बलिदानमाथि सत्ता कब्जा गरी प्रधानमन्त्री पदमा नियुक्त भएको आरोप लगाइएको छ ।

निवेदक रवि किरण हमालद्वारा हस्ताक्षरित सो निवेदनमा कार्कीमाथि सत्ता हत्याउने, जनताको म्यान्डेटको उल्लङ्घन गर्ने, न्यायालयको स्वतन्त्रता समाप्त गर्ने र जनआन्दोलनको बलिदानप्रति अपमान जनाउने कार्य गरेको दाबी गरिएको छ । उनले आफ्ना निकटका कार्यकर्ताहरूलाई न्यायिक पदमा नियुक्त गरेको र न्यायिक स्वतन्त्रतालाई कमजोर बनाएको आरोप पनि लगाइएको छ ।

निवेदनमा उल्लेख गरिएको थप आरोप अनुसार, जेन्जी विद्रोहको समयमा निर्दोष युवामाथि गोली चलाउने र तिनै घटनामा संलग्न व्यक्तिहरूलाई संरक्षण दिई फेरि सक्रिय राजनीतिक भूमिकामा ल्याइएको छ । कार्की नेतृत्वको मन्त्रिपरिषदमा रहेका केही सदस्यहरूमाथि भ्रष्टाचार र राष्ट्रघातको आशंका समेत उठाइएको छ । ‘देश र जनताको हितका लागि प्रधानमन्त्री सुशीला कार्कीलाई तत्काल गिरफ्तार गरी निष्पक्ष र पारदर्शी कानुनी छानबिन होस्’, निवेदनमा भनिएको छ । यस विषयमा प्रधानमन्त्री कार्यालय तथा नेपाल प्रहरी मुख्यालयबाट हालसम्म कुनै आधिकारिक प्रतिक्रिया आएको छैन ।

संकटमा चौंरी खर्क

मनाङ । हिमाली जिल्ला मनाङको मनाङ ङिस्याङ गाउँपालिका–५ आइसलेक खर्कमा अहिले याक, चौँरी र भेडाच्याङ्ग्रा घाँसेमैदानमा चरिरहेका देखिन्छन् । हिउँदमा घर वरपर राखेर पालिएका याक, चौँरी र भेडाच्याङ्ग्राको बथान यतिबेला लेकका खर्कमा पुर्‍याइएका छन् । हिउँद सकिएपछि लेकमा पुर्‍याइने याक, चौँरी र भेडाच्याङ्ग्राका बथान खर्कमा चरिरहेका भेटिन्छन् । हिमाली खर्कहरूका घाँसे मैदानमा याक, चौँरी र भेडाच्याङ्ग्रा चरिरहेका हुन्छन् भने खर्ककै नजिक रहेका पानीका स्रोतहरूमा पानी खान झर्दै गरेका र पानी खाइरहेका दृश्य देखिन्छन् । यतिबेला पशुपालन गरिरहेका किसान याक चौँरीका बाच्छाबाच्छी जन्मने समय भएकाले खर्कमा रहेका गोठमा यिनीहरूको स्याहारसुसारमा व्यस्त हुन्छन् ।

यहाँका अधिकांश पशुपालक किसान अर्थात् चौँरी पालक किसानमध्ये एक हुन् ६२ वर्षीया याञ्छु खाण्डा लामा । उनी आइसलेक खर्कमा नै बसोबास गरी याकचौँरी र भेडाच्याङ्ग्रा पालन गर्दै आएका छन् । उनलाई खर्कमा नै चिसो मौसममा सबेरैदेखि दुध दुहुन, कुडोपानी गर्न र छुर्पीका लागि दही बनाउँदै गरेको देख्न सकिन्छ । याञ्छु भन्छिन्, ‘बाजेबजै र आमाबाको पालादेखि नै याकचौँरी र भेडाच्याङ्ग्रा पालनमा जोडिएको हो। आम्दानी भने पनि यही हो । नोक्सान भए पनि व्यवसाय नै यही हो। कहिले बेसी त कहिले लेकका खर्क गर्दै जीविकोपार्जन भइरहेको छ ।’

याक, चौँरी तथा भेडाच्याङ्ग्रा पालनसँगै आफूले चार छोराछोरी हुर्काएको सुनाउँछिन् । उनी भन्छिन्, ‘आफू पनि गोठमै हुर्किएको र आफ्नो विवाहदेखि बालबालिका जन्माएर हुर्काउनुसम्मको काम गोठ सार्दै र याक, चौँरीको स्याहारसँगै छोराछोरी हुर्काएको हुँ ।’ खर्ककै गोठमा याकचौँरी र भेडाच्याङ्ग्रालाई स्याहार्दै आफ्ना छोराछोरी हुर्काएको उनी बताउँछिन् । हालसम्म पनि पशुपालन गरिरहेको उनी बताउँछिन् । याञ्छु भन्छिन्, ‘बच्चा पिठियुमा बोेकेर नै याक, चौँरी र भेडाच्याङ्ग्रा स्याहार गथ्र्यौ । दुःख गरी छोराछोरी पनि गोठमै हुर्काएँ । कहिलेकाँही त बच्चा च्यापेर नै दूध दुहुनुपथ्र्यो । हामीलाई सुख कहाँ भयो र ?’

मुख्य आम्दानीको स्रोत भनेकै याक पालन रहेको उनी बताउँछिन् । बच्चासँगै छुर्पी बोकेर बेसी पुर्‍याएर खर्कको गोठमा फर्किनुपर्ने हुन्थ्यो। खर्कमा घामपानीको समस्या हुन्छ । स्याहार्न सजिलो हुन्छ भनेर तल (बेसी) मा नै पु¥याउनुपर्ने उनी बताउँछिन् । अहिले जीवनशैली फेरिदै गएको उनको अनुभव छ । ‘गोठमा हुर्काएका छोराछोरी अहिले विदेश पठाएँ। उनीहरूको इच्छाको अगाडि हामीले भनेको कहाँ हुने रहेछ र ?’, उनी भन्छिन्, ‘याक, चौँरीको बजार छैन। याक, चौँरी, भेडाच्याङ्ग्रा पालन गर्न मान्दैनन्। पहिले याक, चौँरी र भेडाच्याङ्ग्रा कति छ गन्नै सकिदैन थियो । आफ्नो र अरुको याक, चौँरी नै चिन्न सकिदैन थियो । तर, अहिले घटेको छ । गन्न सकिने भएको छ ।’

याक, चौँरीका लागि नुन बाहेक अन्य खानेकुरा किन्नु नपर्ने उनी बताउँछिन् । कम खर्च भए पनि फेरिएको प्रविधिले यो पेसाबाट पलायन हुने क्रम बढेको उनको बुझाई छ । अब बाँकी हामीसँग यहीँ कान्छो छोरा मात्रै रहेको उनी बताउँछिन् । ‘कान्छो पनि विदेश जाने तयारीमा छ। यहीँ याक, चौँरीपालन गर्ने भन्दा मान्दैन । सबै दाजु र दिदी विदेश छन् म पनि जान्छु भन्छ’, याञ्छु भन्छिन् ‘त्यसैमाथि याक, चौँरी बिक्री पनि कम हुन्छ। आम्दानीको स्रोत यही हो । यो भन्दा काम गरेर आम्दानी हुन्छ भन्छ छोरा कान्छा पनि विदेश गएपछि झन याक, चौँरी घटाउनुपर्ने अवस्थामा पुग्नेछौं।’

बेसीमा झारेको बेला याक, चौँरी तथा भेडाच्याङ्ग्रा गनिदै आएको उनी बताउँछिन् । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले गणना गर्नुका साथै याक, चौँरीलाई खोप समेत लगाउने र पशुको स्वास्थ्य परीक्षण हुन थालेको याञ्छुको भनाइ छ । लेकका खर्कमा याक, चौँरी लगिएको समयमा बच्चा जन्माउने समय भएकाले भेटेरिनरी सेवा लिन समस्या रहेको उनले बताइन् । खर्क टाढा हुने हुँदा समयमा सम्बन्धित निकायमा सम्पर्क गर्न र प्राविधिक पुग्न नसक्दा कुनै समयमा बाच्छाबाच्छी जन्मिदै मर्ने पनि हुने गरेको उनको भनाइ छ ।
‘सामान्य प्राविधिकको काम सिक्ने भएकाले सहज भएको छ । प्राविधिकको अभावमा आफैले काम गर्दै आएका हुन्छौं’, याञ्छु भन्छिन्, ’समयमा हिउँ पथ्र्यो। पानी भएपछि घाँस समयमा नै पलाउँछ । अहिले ५–७ वर्ष भयो हिउँ पर्न छोड्यो । धेरै पशुपालन गर्न सजिलो थियो । अहिले हिउँ नपरेपछि घाँस पलाएका छैनन् । जसले गर्दा टाढा (खर्क) का घाँसेमैदानमा वस्तु चराउनकै लागि पु¥याउनुपर्ने बाध्यता छ । टाढा पु¥याउँदा वन्यजन्तुको आक्रमण बढेको छ ।’

पहिले बाच्छाबाच्छी जोगाउन मुस्किल हुने भएपनि अहिले खर्कमै बाच्छाबाच्छीको सुरक्षा गर्न तारबार लगाउने गरिएको उनी बताउँछिन् । ‘पहिले एउटा याक, चौँरी रु २० देखि २५ हजारसम्ममा बेचबिखन हुन्थ्यो । अहिले प्रति याक, चौँरी रु।एक लाखदेखि एक लाख ५० हजारसम्मको मूल्यमा बेच्न सकिन्छ’, याञ्छु भन्छिन् ’समय फेरिएको छ आधुनिक प्रविधिले याक खर्कमा बस्ने गोठाला पाउन सकस हुन्छ। खर्कमा सुविधा हुँदैन । आजकाल सबैले पेसा फेर्न मात्रै खोज्छन् ।’

त्यस्तै नार गाउँका (याक, चौँरी) पशुपालक किसान मिङ्मार छिरिङ लामा भन्छन्, ‘गोठाला नपाउने, आफैँले मात्रै स्याहारसुसार गर्न सकिदैन। त्यसैले पशुपालन गर्न छाड्ने बढ्दै गएका छन् ।’ नार्पाभूमिका वार्षिक रुपमा चार–पाँच पशुपालक किसानले वस्तुभाउ बिक्री गरी वैदेशिक रोजगारी तथा अन्यत्र पलायन हुने क्रम बढेको उनी बताउँछिन् । लामा भन्छिन्, ‘मासु अहिले प्रयोगमा बढी आएको हो । पहिले याक, चौँरी र भेडाच्याङ्ग्राका ऊन, छाला, दुध, छुर्पी, गोबर, भारी बोक्न वा ढुवानीका लागि प्रयोग हुन्थ्यो । तर, अहिले छाला, ऊन, गोबर, ढुवानीका साधनको रुपमा प्रयोग हुन छाडेको छ ।’

पुस्तौंदेखि गरिदै आएको पशुपालनबाट किसान पलायन हुन थालेको उनको भनाइ छ । उनी भन्छिन्, ‘दाउरा पाउन मुस्किल हुने यस ठाउँमा पशुपालन छाडिदै जाँदा गोबर पाउने अवस्था छैन । बाह्रैमास जाडो हुने यस क्षेत्रमा दाउराको काम गोबरले गर्दै आएकामा किसान पेसाबाट पलायन हुँदा गोबर पाउन सकस हुने अवस्था छ ।’ सोलारको भरमा जनजीविका चल्ने यस ठाउँमा हिउँ पथ्र्यो पहिले, अहिले पानी पर्न थालेको उनी बताउँछन् । पानी पर्न थालेपछि याक, चौँरीसँगै यहाँका पुराना माटाका घर मासिदै गएका लामा बताउँछिन् । यसले पनि यहाँको वातावरणमा असर पारेको हुनसक्ने उनको भनाइ छ। याक, चौँरीको बजार क्षेत्र नै जिल्ला बाहेक अन्यत्र नहुँदा याकचौँरी पालन घट्दै गएको लामा बताउँछिन् ।

चौँरी पालनको सामाजिक–सांस्कृतिक पक्ष

चौँरी केवल आर्थिक स्रोत मात्र नभएर सांस्कृतिक पहिचान पनि हो । गुरुङ, शेर्पा, लामा, भोटे, तामाङ लगायतका समुदायमा चौँरीलाई देवीको रूपमा पूजा गरिन्छ । बौद्ध र बोन धर्मअनुसार चौँरीको रौँबाट बनाइने झण्डा र लुगाहरू पवित्र मानिन्छ । बिहे, चाडपर्व, तिथिमिति, मेलापात जस्ता कार्यहरूमा चौँरीको घ्यू, दही, छुर्पी र पनिर प्रयोग गरिन्छ । चौँरीको टाउको, सिङ र हड्डीहरूबाट धार्मिक सामग्री निर्माण गरिन्छ । यसैगरी, खर्कहरूमा प्रत्येक वर्ष मनाइने ‘याक डे’, ‘घ्यू पूजा’ आदि पर्वहरूले खर्क संस्कृतिको विशेषता उजागर गर्ने गर्दछन् ।
नारका ८४ वर्षीय साङ्मा टासी लामा र ८० वर्षीया रिक्तर पर्चु लामा भन्छन्, ‘चौँरीको घ्यु, दही, छुर्पीले पाहुनालाई स्वागत गर्छौं । शद्ध बनाउन पनि प्रयोग हुन्छ । यी बिना हाम्रा चाडपर्व, बिहे, तिथिमिति र मेलापात नै चल्दैन। हाम्रो संस्कार र संस्कृतिसँग जोडिएको छ ।’ हरेक दिनको सुरुवात नै घ्यू चियाबाट हुने गरेको उनीहरू बताउँछन् ।

साङ्मा भन्छन्, ‘गोठाला पाइँदैन । अन्य पेशामा जाने क्रम बढ्दो छ । बिक्री वितरण कम हुन्छ । किनबेच कम हुने भएकाले पनि यस पेसाबाट पलायन हुने क्रम बढेको हो ।’ याक, चौँरीपालन घट्दै गएपछि घ्यू कम पाउँदा समस्या भएको उनी बताउँछन् । उनी भन्छन्, ‘पहिला जस्तो याक, चौँरी पालन हुँदैन। भएका पनि बेचेर विदेश तथा अन्य ठाउँतर्फ जान्छन् । बूढापाकाले मात्रै याक, चौँरी पाल्न समस्या हुन्छ ।’

चौँरीको आर्थिक पक्ष
नेपालमा हाल करिब ८० हजार चौँरी रहेको अनुमान छ । जसमा लगभग ६० प्रतिशत चौँरी खर्क क्षेत्रमा पालिन्छन् । एक खर्कमा सामान्यतः १५ देखि ५० चौँरीसम्म पालिएको पाइन्छ । विगतमा सयौं याक, चौँरीपालन हुने गरेका याक, चौँरीपालक किसान याञ्छु खण्टा लामा भन्छन्, ‘पहिला एउटै गोठ (खर्क) मा एक सय बढी पालन गरिएको हुन्थ्यो । अहिले घट्दै गएको छ ।’ खर्कमा नै दूध, घ्यु, छुर्पी, पनिर उत्पादन गरिन्छ । यी क्षेत्रमा प्रति चौँरी वार्षिक औसत तीन सय लिटर दूध उत्पादन गर्ने गरेको किसान याञ्छुको भनाइ छ । करिब चार हजार मेट्रिक टन घ्यू वार्षिक उत्पादन हुने गरेको तथ्याङ्कमा उल्लेख छ ।

देशभरमा आठ हजार मेट्रिक टन छुर्पी उत्पादन हुने अनुमान छ । पनिर तीन हजार मेट्रिक टन चौँरीको दूधबाट उत्पादन हुँदै आएको तथ्याङ्क कृषि तथा पशुपंक्षी विभागले जनाएको छ । कृषि तथा पशुपंक्षी विभाग, गणनात्मक तथ्याङ्क विभाग वा स्थानीय पालिकाहरूको तथ्याङ्कमा आधारित रहेका छन् । एक मध्यम खालको खर्कले प्रतिवर्ष औसत रु।पाँचदेखि १० लाखसम्म आम्दानी गर्नसक्ने अनुमान गरिएको छ । छुर्पी, घ्यू, चौँरीको रौँ र मल बिक्रीबाट हुने आम्दानीले हिमाली गाउँहरूमा आर्थिकस्तर वृद्धि सम्भव बनाएको छ । विशेषगरी मनाङका पशुपालक किसान प्रत्यक्ष लाभान्वित हुने गरी बजारको व्यवस्थापन नहुँदा पलायन हुने अवस्था सिर्जना भएको भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रका प्रमुख पुष्पराज बास्तोलाले जानकारी दिए ।

उनले भने, ‘पहिले पहिले घर खर्चले पुग्थ्यो। अहिले घर खर्चले मात्रै हुँदैन । अहिले प्रविधिको विकाससँगै मान्छेका आवश्यकता भन्दा बढी फाइदा लिन चाहन्छन् । जसले गर्दा पेसाबाट पलायन हुने क्रम बढ्दो छ । यसका साथै तत्कालीन फाइदाका कारण पनि पेसा परिवर्तन गर्ने जमात बढ्ने क्रममा छ ।’ गणनाको तथ्याङ्कअनुसार वार्षिक रुपमा २०० का दरले याकचौँरी तथा भेडाच्याङ्ग्रा घट्दै गएको प्रमुख बास्तोलाले बताए ।

वार्षिक रुपमा ९६ वटा याक, चौँरी मुस्ताङमार्फत् बिक्रीका लागि पठाउने गरिएको उनको भनाइ छ । त्यस्तै दुई सय भेडाच्याङ्ग्रा मुस्ताङ पठाउने गरिएको तथ्याङ्कमा उल्लेख छ । उनले भने, ‘याक, चौँरीपालनलाई घट्न नदिन तथा याक, चौँरीपालनतर्फ प्रोत्साहन गर्नुपर्ने देखिन्छ।’ त्यसैमाथि जलवायु परिवर्तनको प्रभाव प्रत्यक्ष रुपमा याकचौँरी पालनमा परेको पाइएको उनले बताए । ‘पानी नपर्ने जिल्लाका रुपमा परिचित स्थानमा नै जलवायु परिवर्तनको प्रभाव प्रत्यक्ष रुपमा परेको छ । समयमा परेको हिउँले घाँसे मैदान (खर्क) पलाउने र सहज थियो। अहिले फेरिएको छ’, बास्तोलाले भने, ‘जसले समयमा घाँस पलाउदैन र खर्कका घाँसेमैदान मासिने क्रममा छन् । यसले पनि याक, चौँरी पालनबाट पलायन हुने संख्या बढ्दो क्रममा छ ।’ सिँचाइको अभावले अधिकांश खर्क सङ्कटमा पर्दै गएको उनको बुझाइ छ । खर्कका नजिकै तालतलैयालगायत पानीका स्रोत हराउने क्रममा छन् ।

खर्कको व्यवस्थापन र संरचना

मुख्यतः याकचौँरी पालन हुने क्षेत्रमा दुई किसिमका खर्क हुने गरेको पाइन्छ । स्थायी र मौसमी खर्क हुन्छन् । स्थायी खर्कमा वर्षैभर बस्न मिल्ने पक्की र कच्ची संरचना हुन्छ भने वर्षा र हिउँदमा खर्क जाने र जाडोमा तल्लो भेगमा फर्कने प्रचलन रहेका छन् । हालसम्म स्थायी खर्क कम रहेको तथ्याङ्क पाइएको भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र मनाङका प्रमुख पुष्पराज बास्तोलाले जानकारी दिए । उनका अनुसार अधिकांश मौसमी खर्कमा नै आधारित रहेका छन् । स्थायी खर्कमा घाँस, कुँडोलगायतका आहारको व्यवस्थापनमा समस्या हुने भएकाले कम पाइने गरेको किसान सुरेश थकाली बताउँछन् ।

एकै गोठमा धेरै संख्यामा याक, चौँरी र भेडापालन गरिन्छन्। यसले उनीहरूको आहारमा कमी भएर रोगी निस्कन्छन् । यसले आयभन्दा नोक्सान व्यहोनुपर्ने अवस्था हुनसक्छ । उनी भन्छन्, ‘अहिले भेटेरिनरी अस्पतालमार्फत औषधि तथा खोप दिने काम हुने गरेका छन् । तर, खर्क धेरै टाढा रहने भएकाले खर्कमा पुगेर सेवा प्रवाह गर्न सकस भएको पाइन्छ । बेसीमा झरेका बेला भने खोप तथा जाँचपडताल गर्ने गरिएको पाइन्छ ।’

सचेतता अपनाउँदै मौसमी खर्कलाई पशुपालक किसानले प्राथमिकता दिएको पाइन्छ। गर्मी बढ्दै जाँदा घाँस तथा पानीको अभावले मौसमी खर्क प्राथमिकतामा परेको भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रका प्रमुख बाँस्तोलाले बताए । उनले भने, ‘खर्कमा खुला आकाशमुनि याक, चौँरी पालिन्छ। गोठ बनाउन सकिने अवस्था हुँदैन। धेरै वस्तुभाउ हुँदा त्यसरी पालिन्छन् । घाँस काटेर पुर्‍याउन सकिने अवस्था हुँदैन । जसले एकदेखि अर्को स्थानमा सार्न पनि सहज हुन्छ ।’ पालुवा घाँस खाँदा भेडाच्याङ्ग्रा मर्ने तथा बिरामी हुने गरेका उनको भनाइ छ ।

बाँस्तोला भन्छन्, ‘पशु मृत्युदर घट्दै गएको छ । समयसमयमा परीक्षण गर्ने व्यवस्था रहेको छ। पखला लाग्ने रोग बढी देखिने हो । यी भनेका आहार नमिल्नु हो ।’ आहारको अभावले मानिसमा देखिए जस्तै पशुमा पनि दुर्बलता देखिने गरेको उनी बताउँछन् । निःशुल्क खोपको व्यवस्थापन तथा गणना गरिदै आएको उनले जानकारी दिए । आहारको उपलब्धता दिन नसके पनि स्थानीय सरकारबाट निःशुल्क सेवा प्रवाह गरिरहेको बास्तोलाले बताए ।

एक खर्कमा साधारणतयाः दुईदेखि पाँच जना गोठाला अर्थात खर्के रहने गर्दछन् । १० देखि ५० वटा चौँरी पाल्ने र गोठको हेरचाह गर्ने, दूध दुहुने, घ्यू पकाउने चुलो र सुत्ने ठाउँ छुट्टाछुट्टै हुने व्यवस्था हुन्छ । याक, चौँरीको संख्या विगतको वर्षमा भन्दा घट्ने क्रममा रहेका छन् । आर्थिक वर्ष २०८०–८१ मा नेपालमा ७१ हजार नौ सय १३ याक, चौँरी रहेको पशुसेवा विभागले जनाएको छ । करिब १० हजार याक, चौँरीपालनमा संलग्न रहेका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय गण्डकी प्रदेशका वरिष्ठ पशु विकास अधिकृत शोभा शर्माले जानकारी दिए । उनका अनुसार हाल ३१ जिल्लामा याक, चौँरीपालन हुन्छ ।

नेपालको उच्च हिमाली भूभागमा पशुपालनका चरन क्षेत्र चौँरी खर्क हुन् । ती नेपालको मौलिक परम्परा, संस्कार, आर्थिक संरचना र पर्यावरणीय सन्तुलनको आधारशिला मानिन्छन् । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली जिल्लामा रहेका यी खर्क आज पनि हजारौं परिवारको जीविकोपार्जनको स्रोत बनिरहेका छन् । जलवायु परिवर्तन, जनशक्ति पलायन, आधुनिक प्रविधिको अभाव जस्ता समस्याका कारण चौँरी खर्कको अस्तित्व सङ्कटमा परेको छ । चौँरी खर्कको ऐतिहासिक पृष्ठभूमि, भौगोलिक अवस्था, आर्थिक योगदान, पर्यावरणीय महत्व, वर्तमान चुनौती र सम्भावनाका बारेमा विश्लेषण गर्न आवश्यक छ ।

‘चौँरी खर्क’ उच्च हिमाली क्षेत्रको खुला चरन भूमि हो । जहाँ विशेष किसिमको गाई प्रजाति ‘चौँरी’ पालिन्छ। चौँरी उच्च हिमाली क्षेत्रमा पालिने पशु हो । याक, चौँरीमा जाडो सहनुका साथै कम अक्सिजनमा बाँच्न सक्ने क्षमता हुन्छ । दुग्ध तथा रौँ उत्पादनका लागि उपयोग गरिन्छ । खर्कमा परम्परागत गोठ, सुत्ने ठाउँ, दूध दुहुने ठाउँ, घ्यू बनाउने चुलो र चरनभूमि रहेको हुन्छ ।

जलवायु परिवर्तन र पर्यावरणीय महत्व

चौँरी खर्क जैविक विविधताको रक्षकको रुपमा लिन सकिन्छ । याकचौँरी, भेडाच्याङ्ग्रा पालनले यहाँका प्राकृतिक क्षेत्रको संरक्षण गरेका छन् । खर्कमा याकचौँरी चरणले बोटबिरुवालाई आवश्यक मलजल प्रदान गर्न सकिन्छ भने मलको माध्यमबाट बोटबिरुवा संरक्षण र नयाँ बिरुवा उत्पादनमा सहयोग पुगेको हुन्छ । जसले पारिस्थितिकीय प्रणालीमा सन्तुलन कायम गर्छ । पशुपालक किसान साङ्दो लामा आफ्ना पशुपंक्षीसँगै प्राकृतिक चरन भूमि संरक्षण, जलस्रोतको संरक्षण, वन्यजन्तुको बासस्थान सुरक्षा जस्ता काममा महत्वपूर्ण भूमिका रहेको छ । उनी भन्छन् ’यहाँ पशुपालन मात्रै नभई पर्यटन व्यवसाय र जडीबुटी उत्पादनको भूमि समेत भएकाले मानवीय जीवनलाई ऊर्जाशील बनाउन उपयोग हुने औषधीय जडीबुटीको संरक्षण पनि गरेका छन् ।’

याक, चौँरी र भेडाच्याङ्ग्रापालनको क्रममा खर्कमा पाइने घाँस, जडीबुटी र झार जैविक उपचारका लागि समेत उपयोग भएको पाइन्छ । यसले गर्दा संरक्षणमा पनि टेवा पुगेको छ । चौँरी खर्क प्रणाली हाल विभिन्न समस्याको चपेटामा परेको छ । खर्क सारिरहने प्रचलनले मलमुत्रको उपयोग हुने र जडिबुटी तथा झारपात र घाँसजस्ता जैविक वस्तुको संरक्षणमा सहयोग पुगेको उनको भनाइ छ । वस्तुभाउ तथा मानवलाई नै यहाँका जडिबुटी पनि महत्वपूर्ण रहेका उनी बताउँछन् । उच्च हिमाली क्षेत्रमा हिमपात घट्दै गएको छ । कतिपय वर्षमा हिमपात नै हुन छोडेको छ । हिमपात नहुँदा चरन भूमि सुक्दै गएका छन्। पानीको स्रोत सुक्न थालेको छ ।

मौसमी प्रणालीमा परिवर्तन आएको यहाँका स्थानीयले आभास गर्न थालेका पाइन्छ । पहिले मनाङमा हिउँ समयमै पथ्र्यो । मंसिरको पहिलो साताबाट पर्न सुरु भएको हिउँ पुस, माघसम्म पर्ने गर्दथ्यो । अहिले पूर्ण रुपमा परिवर्तन भएको पर्यटन व्यवसायी सङ्घ मनाङका अध्यक्ष विनोद गुरुङ बताउँछन् । ‘हिउँदमा परेको हिउँ चैत, बैशाखमा पग्लिएपछि चरन भूमि र यहाँका खेतीपाती खुल्थ्यो । तर, अहिले परिस्थिति परिवर्तन भएको पाइएको छ । असारदेखि असोजसम्म लेकका खर्कमा चौँरी चराउने समय हुन्थ्यो’, उनी भन्छन् ।

उनी भन्छन्, ‘पहिले समयमा हिउँ पथ्र्यो । पानी नै नपर्ने माथिल्लो मनाङमा पानी पर्छ । तर, अहिले पानी पर्छ । यही नै त हो नि जलवायु परिवर्तन ।’ यस वर्ष नै असारमा अलिअलि हिउँ पर्‍यो तर पर्याप्त परेन । मनाङको तापक्रम नै बढ्दै गएको आभास हुने गरेको उनी बताउँछन्। अहिलेको मौसमी तालिका अस्तव्यस्त बनेको छ । उच्च हिमाली क्षेत्रमा तापक्रम १.५–२ डिग्रीसेल्सियसले बढेको अध्ययनले देखाएको हिमजलाधार विज्ञ रिजनभक्त कायस्थ बताउँछन् । ‘यसको प्रत्यक्ष प्रभाव खर्क र जलस्रोतमा परेको देखिन्छ’, उनी भन्छन्, ’तापक्रम वृद्धिकै कारण हिउँ पग्लिदै गएका छन्। पानीका स्रोत सुक्ने क्रम बढ्दो छ । जसले खर्कका साथै पशुपंक्षी तथा मानवलाई समेत प्रभाव परिरहेको उनको भनाइ छ ।

कायस्थ भन्छन्, ’सिँचाइको अभावले चरन भूमि सुक्खा बन्दै गएका छन् । पहिले हराभरा देखिने चौँरी खर्क अधिक स्थानमा चिरा परेका छन् भने धुलो उड्ने भएका छन् । कतिपय स्थानमा पानीको अभाव, पहिरोका कारण माटो कटानजस्ता कारणले चरनयोग्य भूमि घटेका छन्।’ चरण भूमिको अभावले यहाँका किसानले याकचौँरी पालन कम गर्दै गएको उनको भनाइ छ ।

चौँरीपालन घट्दै

आधुनिक रोजगारी र वैदेशिक रोजगारको आकर्षणका कारण युवा पुस्ता गाउँ छोडेर वैदेशिक रोजगारी (जस्तैः खाडी, कोरिया, जापान) वा शहरतिर लाग्दै छन् । जसले युवा पुस्ताको यसतर्फ आकर्षण घट्दै गएको पाइन्छ । चौँरी वा भेडा चराउन दिनरात पहाड चढ्नुपर्ने, अप्ठ्यारो जीवनशैलीको सट्टा, वैकल्पिक आयको खोजीले परम्परागत पशुपालन अभ्यास त्यागिन थालेको छ । जलवायु परिवर्तनका कारण चरन क्षेत्रको उत्पादनशीलता घटेको हिमजलाधार विज्ञ रिजनभक्त कायस्थ बताउँछन् । जस्तैः घाँसको उत्पादन कम हुनु, अनियमित मौसम परिवर्तनलगायतले हिमाली क्षेत्रको जीवनशैली फेरिने अवस्थामा पुगेको उनले बताए ।

सरकारी नीति र समर्थनको अभावले आधुनिक कृषि तथा पशुपालनमा सरकारले सहुलियत, अनुदान वा प्रवद्र्धन गरे पनि याक–चौँरी र भेडा–च्याङ्ग्रा जस्ता परम्परागत प्रणालीलाई प्रोत्साहन गर्ने नीति कमजोर हुँदा विकर्षण बढेको छ । पूर्वाधार (जस्तै पशु औषधि सेवा, चरन व्यवस्थापन, बजार पहुँच) को अभाव रहेको नेपाल याक, चौँरी कृषक महासङ्घका केन्द्रीय अध्यक्ष पविहाङ राई बताउँछन् ।

अहिले बेसीमा याक, चौँरी, भेडाच्याङ्ग्रा झरेका समयमा औषधि सेवा, खोप दिइने व्यवस्था छ । तर, खर्कमै पुगेर भने सेवा प्रवाह गर्न सकेको छैन । याक, चौँरीको संरक्षण तथा परम्परागत संस्कृतिसँग जोडिएकाले यसको संरक्षण अति आवश्यक रहेको उनी बताउँछन् । ‘बजार अभाव र मूल्य अस्थिरताले चौँरीको दूध, घ्यु, रेसा, मासुको राम्रो बजार छैन । किसानले मध्यस्थ व्यापारीले मनपरी मूल्य निर्धारण गर्ने प्रवृत्तिले कृषक निरुत्साहित भएका छन् । सस्तो आयातित घ्यू÷दूध वा मासुको उपलब्धताले नेपाली चौँरी–भेडा उत्पादन प्रतिस्पर्धी हुन सकेको छैन’, अध्यक्ष राई भन्छन् ।

याक, चौँरी र भेडाच्याङ्ग्रापालनमा अहिले जनशक्ति अभाव र कठिन जीवनशैली बनेको छ । चौँरी वा भेडा पाल्न दैनिक मेहनत, जोखिम र लामो समयसम्म पहाडमा बस्नुपर्ने हुन्छ । आधुनिक जीवनशैलीको प्रभावले परम्परागत सीप र अभ्यासमा युवाको चासो घटेको पाइएको अध्यक्ष राई बताउँछन् । उनी भन्छन्, ‘यता जलवायु परिवर्तनले तापक्रम बढ्दो अवस्थामा छ भने अर्कोतिर नयाँ पेसातर्फको आकर्षणले नै बढी याक, चौँरी पालन घटेको हो ।’ किसान याञ्छु खाण्टा लामा भन्छन्, ‘पहिला कम मूल्यमा बिक्री गरे पनि अहिले बढेको छ । तर आधुनिकीकरणले याकचौँरी गोठसम्म विद्युत, इन्टरनेट उपलब्ध हुँदैन । युवाहरू आधुनिक दुनियाँमा रमाउँदै काम गर्न रुचाउँछन्। अहिलेको युगमा पनि आधुनिकताबाट टाढा रहन नचाहेका हुन् जस्तो लाग्छ ।’ कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका वरिष्ठ पशु विकास अधिकृत शर्मा भन्छन्, ‘च्याङ्ग्रा चाडपर्वमा बिक्रीका लागि अन्यत्र जिल्लासम्म पुर्‍याउने गरिए पनि अन्य समयमा बिक्री वितरणको काम हुन नसक्दा युवामा चासोको विषय बन्न सकेको पाइँदैन ।’

चौँरी खर्कहरू समुद्री सतहबाट करिब तीन हजार मिटरदेखि पाँच हजार पाँच सय मिटर उचाइसम्म पाइन्छन् । मनाङ, मुस्ताङ, म्याग्दी, बाग्लुङ, गोर्खा, धादिङ, दोलखा, रसुवा, सिन्धुपाल्चोक, रामेछाप, मुगु, डोल्पा, जुम्ला, हुम्ला, रुकुम पूर्व, कालिकोट, बाजुरा, बझाङ, दार्चुला, सोलुखुम्बु, सङ्खुवासभा, ताप्लेजुङ लगायतका ३१ जिल्लामा व्यावसायिक चौँरीपालक किसान रहेका छन् । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका वरिष्ठ पशु विकास अधिकृत शोभा शर्माका अनुसार नेपालभर हाल करिब ३५ हजार खर्क रहेका छन् । तीमध्ये झण्डै १० हजार खर्क सक्रिय रूपले चौँरीपालनमा प्रयोग भइरहेका छन् ।

सन् १९९९ मा पहिलो पटक अनुसन्धान गरिएको अभिलेख पाइन्छ । सन् २०१७ सम्म याक, नाक चौँरी पालन वृद्धि भएको छ भने बिस्तारै घट्दै गएको तथ्याङ्कमा उल्लेख छ । नेपालको प्रदेश १ मा १३ हजार सात, प्रदेश ३ मा एघार हजार ३५४, प्रदेश ४ मा १० हजार ६६४, प्रदेश ५ मा ११, प्रदेश ६ मा १३ हजार ८३ र प्रदेश ७ मा ७४६ गरी कूल ४८ हजार ८६५ याक रहेका मलेसियन एनिमल हस्बन्डरी जोर्नल (एमएएचजे)ले गरेको अनुसन्धानमा जनाइएको छ ।

मनाङमा मात्र करिब एक हजार १५० खर्क सक्रिय छन् । यस्तै मुस्ताङमा ८५०, डोल्पामा एक हजार ३०० र सोलुखुम्बुमा करिब ७५० खर्क सक्रिय छन् । डोल्पा, मुस्ताङ, मनाङ लगायतका ठाउँमा व्यापक चरन क्षेत्र र चौँरी पालन परम्परागत जीवनशैलीसँग गासिएको हुँदा खर्कको संख्या बढी छन् । दोलखा, ताप्लेजुङलगायतका जिल्लामा खेतीयोग्य जमिन बढी भएकाले चौँरी पाल्ने खर्कको घनत्व कम रहेको छ । वैदेशिक रोजगारी, शहरीकरण, जलवायु परिवर्तन र नयाँ पुस्ताको विकर्षणले याकचौँरी पालन घट्दै गएको छ ।

नेपालमा याक–चौँरी र भेडाच्याङ्ग्रा पालन परम्परागत रुपमा उच्च हिमाली कृषि प्रणालीको अभिन्न अंग हो । तर पछिल्लो केही दशकयता यी पशुपालन अभ्यास उल्लेखनीय रूपमा घट्दै गएका नार गाउँका (याकचौँरी) पशुपालक किसान मिङ्मार छिरिङ लामा बताउँछन् ।
यसको पछाडि धेरै सामाजिक, आर्थिक, वातावरणीय र नीतिगत कारण छन् । उनी भन्छन्, ’शैक्षिक र सामाजिक परिवर्तनले शिक्षा र प्रविधिको विस्तारसँगै गाउँका युवा वैकल्पिक पेशा रोज्न थालेका छन् ।’ चौँरी, याक, भेडा र च्याङ्ग्रा पालन घट्नु नेपालका हिमाली संस्कृतिको संकटापन्न अवस्थामा पुग्नसक्ने खतरा भएको लामाको भनाइ छ। यदि यो अभ्यास जोगाउनुपर्छ भनेर नीतिगत स्तरमा समर्थन, प्राविधिक सहयोग, बजार सुनिश्चितता, युवालाई आकर्षित गर्ने कार्यक्रम अत्यावश्यक भएको औँल्याए ।

नश्ल सुधार कार्यक्रम

विसं २०७९ मा लोपोन्मुख याक, चौँरीको नश्ल सुधारका लागि मनाङका किसानलाई ब्याड याक वितरण गरेको थियो । गण्डकी प्रदेशले लोपोन्मुख याकचौँरी याक आनुवंशिक स्रोत केन्द्र स्याङबोचे सोलुखुम्बुबाट याक वितरण गरिएको हो । वंशाणुगत रुपमा हाडनाताबाट उत्पादित याकचौँरीमा हुने समस्याको समाधान गर्नका लागि प्रदेश सरकारले ब्याड प्रयोजन गर्ने उद्देश्यले याक वितरण गरिएको थियो। शुद्ध नश्लका याक प्रदेश सरकारले खरिद गरी किसानलाई वितरण गरिएको जनाइएको थियो ।

याक, चौँरीपालक व्यवसायी महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष सुरेश थकालीले भने ‘हाडनाताबाट जन्मने याकचौँरीमा धेरै समस्या उत्पन्न हुनसक्ने र याकचौँरीको नश्ल सुधारमा मद्दत पु¥याउने लक्ष्यका साथ केन्द्रबाट शुद्ध याक ल्याएर वितरण गरिएको थियो । हाडनाताबाट याकचौँरीको नश्ल खस्किदै जाने पशु विज्ञका सुझावअनुसार नश्ल कायम राख्न ब्याड याक वितरण गरिएको हो ।’

जिल्लाका किसानलाई वितरण गर्नका लागि नौ वटा याक ल्याइएको थियो । सामूहिक याक, चौँरीपालक किसानलाई प्राथमिकता दिएर याक वितरण गरिएको थियो । ब्याड याक घुम्ती रुपमा प्रयोग गर्ने गरी वितरण गरिएको थियो। त्यति प्रभावकारी हुन सकेन। प्रदेशले स्याङबोचे केन्द्रबाट १९ वटा ल्याएकामध्ये मनाङमा नौ र मुस्ताङ १० वटा याक किसानलाई वितरण गरेको हो । यसको उपयोगपछि यहाँ नाकबाट जन्मने बाच्छाबाच्छीमार्फत् मापन याक नाकको उत्पादन र उत्पादकत्व वृद्धिबाट हुने प्रदेशले लक्ष्य लिएकामा प्रभावकारी हुन भने सकेन ।

यसका साथै घाँसको अभावमा याक, चौँरी तथा भेडाच्याङ्ग्रा दुब्लाउन थालेपछि घाँसको व्यवस्थापनका लागि भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रले आधुनिक प्रजातिको घाँस समेत वितरण गरेको थियो । घाँस पनि यहाँको मौसम तथा हावापानीमा मौलाउन नसकेपछि खर्क वा यहाँका प्राकृतिक घाँसमै निर्भर हुन बाध्य भएको किसान बताउँछन् । –नवीन लामिछाने÷रासस

 

 

सरकारले अर्को आन्दोलनको बीजारोपण गरिरहेको छ : ओली

काठमाडौं । निवर्तमान प्रधानमन्त्री समेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गृहमन्त्री ओमप्रकाश अर्यालले आफूसँग गम्भीर दुश्मनी लिइरहेको आरोप लगाएका छन् । बुधवार जेन–जी प्रदर्शनकारीहरूको आगजनी, तोडफोड र लुटपाटमा परी ध्वस्त बनाइएको बालकोटस्थित आफ्नो निजी निवासको अवलोकनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले यस्तो आरोप लगाएका हुन् ।

सरकारले आन्दोलनको क्रममा अपराधिक कार्यमा संलग्नहरुलाई कारबाही नगरेर मुलुकमा अर्को आन्दोलनको बीजारोपण गरिरहेको उनको आरोप छ । उनले सरकारले आन्दोलनका पीडितहरुलाई न्याय दिलाउनुको सट्टा दुश्मनी साँधिरहेको आरोप लगाए । सरकारको ध्यान भ्रष्टाचार नियन्त्रण गरी मुलुकमा सुशासन कायम गर्नुमा नरहेको उनको जिकिर छ ।

उनले भने, ‘आन्दोलनको क्रममा लुटपाट गर्नेहरु वरपरकै थिए । सरकारले पक्राउ गर्ने कुरै छैन । यस्तो अपराधिक क्रियाकलपमा सलंग्नहरु विदेशका नभई यँही वरपरका थिए । अहिले पक्राउ गर्न सरकार तयार छैन । झन पक्राउ परेकाहरुलाई पनि छोडिरहेको छ । उनीहरु कालान्तरसम्म पक्राउ होलान् । सरकारको ध्यान भ्रष्टाचार नियन्त्रणमा छैन । सरकारको मनसाय के छ भन्ने कुरा गृहमन्त्रलीले हिजो टेलिभिजनमा दिएको अन्तरवार्तामा बोलेको कुरामा देखिन्छ । दुःख परेकामाथि उहाँको दुश्मनी देखिन्छ । त्यसमा पनि मसँग गृहमन्त्रीको गम्भीर दुश्मनी छ । सरकारले अझै केही गरिरहेको भन्ने गम्भीर आशंका छ । जेन–जी आन्दोलनकारीबाट आफैंमाथि दबाब बढाएर केहीलाई पक्राउ गर्न सरकार उद्दत छ ।’ जेन–जी पुस्ताका अगुवाहरुमार्फत आफैंमाथि दबाब बढाएर आफूसहितका नेताहरुलाई पक्राउ गर्ने मनशाय सरकारमा रहेको उनको आशंका छ ।

‘यो आन्दोलन होइन, षड्यन्त्र हो’
अध्यक्ष ओलीले जेन–जी प्रदर्शनकारीहरूको आगजनी, तोडफोड र लुटपाटमा परी ध्वस्त बनाइएको बालकोटस्थित आफ्नो निजी निवासको अवलोकन गरेका छन् । बुधवार बिहान पत्नी राधिका शाक्यसहित अध्यक्ष ओलीले आवासको निरीक्षण गरेका हुन् । निजी निवास निरीक्षणपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले जेन–जी आन्दोलनको क्रममा भएको आगजनी तथा लुटापाटको घटना नेपालविरुद्धको योजनावद्ध षड्यन्त्र भएको टिप्पणी गरे । उनले यो घटना असोज २३ गतेको मात्र नभई पहिलेदेखिको एमालेमाथिको योजनाबद्ध तार्गेटिङको परिणाम भएको दाबी पनि गरे ।

उनले आन्दोलनको क्रममा भएको आगजनी, लुटपाट र चोरीको घटनाप्रति गम्भीर शंका व्यक्त गर्दै पीडितमाथि सरकारले सहानुभूति व्यक्त गर्नुको सट्टा दुस्मनी साँधिरहेको आरोप पनि लगाए । उनले निवासबाट चोरिएका सामानहरूको विवरण दिँदै आश्चर्य व्यक्त गरे । उनले भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि विद्यार्थीहरूले सुरु गरेको सकारात्मक अभियानको फाइदा उठाउँदै अपराधिक समूहहरुले फाइदा उठाएको जिकिर गरे । उनले जेन–जी आन्दोलनपछि गठन गरिएको अन्तरिम सरकारको भूमिका समेत शंकास्पद रहेको आरोप लगाए । उनले तोडफोड र आगजनीमा संलग्नलाई कारबाही गर्ने नभई पीडितहरुलाई नै दुःख दिने काम सरकारले गरिरहेको उनको आरोप छ ।

उनले भने, ‘मैले धेरै कुरा बोल्नु पर्दैन । तस्बिर आफैं बोल्छ । केही टनका फलामका मुर्ति समेत थिए । कसरी लगे भनेर आश्चर्य लागेको छ । शिव, सरस्वतीको मुर्ति चोरिएको छ । एक जनाले सक्दैन गाडीमै चोरी भएको छ । उनीहरुले काम लाग्ने कुरा चोरेर लगे काम नलाग्ने कुरामा आगजनी गरेर गए । नभए त मेटलको सामान पग्लिएर बस्नुपर्ने हो । केही अघिदेखि नै यहाँ तार्गेट गर्ने गरेका थिए । केही अपराधिक समूहहरु समय समयमा आउने गरेका थिए । यहाँ मात्र होइन सबैतिर एमाले पार्टी कार्यालय र नेताका घरहरु जलाइएको छ ।’

उनले थपे, ‘यो २३ गतेको घटना मात्र होइन पहिलेदेखि नै एमालेमाथि तार्गेट गरिएको थियो । यसअघि चैत १५ मा पनि प्रयास गरिएको थियो । त्यो बेला सफल भएन । यस पटक उनीहरु सफल हुने स्थिति बन्यो । यो नेपालका विरुद्ध गम्भीर षड्यन्त्र हो । शान्ती क्षेत्र भनिएका विद्यालय जलाइए । भ्रष्टाचार नियन्त्रण र सुशासन कायम होस् भनेर विद्यार्थीहरु मैदानमा उत्रिए । उनीहरुलाई प्रयोग गरेर योजनावद्ध ढंगले विध्वंस पारियो । लुटपात गर्नेहरु विदेशका नभई यतै कतैका थिए । उनीहरु कालान्तरसम्म पक्राउ होलान् । अहिले पक्राउ गर्न सरकार तयार छैन । सरकार भ्रष्टाचार नियन्त्रणमा छैन ।’

 

गुण्डुमा ‘ओली कुटी’ बन्ने, बालकोटको घर मर्मत नगरिने

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीका लागि भक्तपुरको गुण्डुमा ‘ओली कुटी’ बन्ने भएको छ । भदौ २४ गते बालकोटमा जलेको घर मर्मत नगर्ने निष्कर्षमा पुगिएको एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले जानकारी दिएका छन् ।ओलीले आफ्नो शेखपछि सरकारका नाममा दिने घोषणा गरेको घर सरकारको सम्पत्ति रहेकाले ओलीले व्यक्तिगत खर्चमा मर्मत नगर्ने बस्नेतले जानकारी दिए ।

बुधबार ओली निवास बालकोटमा पत्रकारहरूसँग कुरा गर्दै बस्नेतले बालकोटको घर मर्मत नगरिने बताएका हुन् । ‘अध्यक्ष ओलीका लागि गुण्डुमै घर बनाउने र त्यसको नाम ओली कुटी राख्ने सहमति भएको छ, उहाँका लागि यहाँ (बालकोट) मा खर्च गर्दैनौं,’ बस्नेतले भने ।
बस्नेतले बालकोटको घर राष्ट्रिय सम्पत्तिको रूपमा प्रयोग गर्न सरकारसँग आग्रह गरे ।

‘यो घर मर्मत गर्ने हो कि के गर्ने हो, सरकारले गर्ने हो, राष्ट्रिय सम्पत्तिको रूपमा प्रयोग गर्नुस्,’ बस्नेतले भने । भदौ २४ गते जलेको घर हेर्न ओली बुधबार बालकोट पुगेका थिए । घर अवलोकनपछि ओलीले बालकोटमा रहेका आफ्ना सामान लुटिएको र लैजान नमिल्ने सामानमा आगो लगाइएको बताए ।

तिहार सुरुयता कतिले छाडे काठमाडौं उपत्यका ?

काठमाडौं । हिन्दू धर्मावलम्बीहरूको दोस्रो ठूलो चाड तिहार नजिकिएसँगै काठमाडौं उपत्यकाबाट बाहिरिनेको संख्यामा तीव्र वृद्धि भएको छ । रोजगारी, व्यापार, अध्ययन र अन्य व्यक्तिगत कारणले उपत्यकामा बसोबास गर्दै आएका धेरैजसो नागरिक अहिले आफ्नो जन्मथलो फर्किन थालेका काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

तिहारको चहलपहल सुरु भएसँगै उपत्यकाका मुख्य नाकामा यात्रु बाहिरिने क्रम बढेको ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । उनले भनेका छन्, ‘तिहार सुरु भएसँगै काठमाडौंका विभिन्न नाकाबाट ४४ हजार ५०९ जनाले उपत्यका छाडेका छन् र ३१ हजार १२ जना भित्रिएका छन् ।’ उपत्यका ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कअनुसार नागढुङ्गा नाका सबैभन्दा व्यस्त नाका देखिएको छ । सो नाकाबाट मात्रै १८ हजार ९२० यात्रु उपत्यका बाहिरिएका छन् । यसैगरी थानकोट नाकाबाट २८५, तिनपिप्लेबाट ८४५ र साँखु नाकाबाट ६९२ जना उपत्यका बाहिरिएका छन् ।

चाडपर्वमा हुनसक्ने ट्राफिक जाम, सवारी दुर्घटना र यात्रु ठगीजस्ता घटनालाई न्यूनीकरण गर्न विशेष ट्राफिक व्यवस्थापन योजना लागू गरिएको प्रवक्ता सुवेदीले बताए । उनले भनेका छन्, ‘नाकाहरूमा ट्राफिक चेकपोइन्ट सक्रिय बनाइएको छ भने लामो दूरीको सार्वजनिक सवारीमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नदिने गरी निगरानी गरिँदैछ ।’ सार्वजनिक यातायातमा यात्राको सहजतालाई ध्यानमा राख्दै ट्राफिक प्रहरीले यात्रुलाई सवारीसाधनको अवस्था जाँच गरेर मात्र यात्रा थाल्न सुझाव दिनुका साथै कुनै समस्या वा ठगी भएमा तत्काल ट्राफिक प्रहरीको हेल्पलाइन १०३ मा सम्पर्क गर्न पनि आग्रह गरेको छ । रासस

अलौकिक ‘पञ्चकुण्ड हिमताल’, कसरी पुगिन्छ ?

म्याग्दी । उत्तर, पूर्व र पश्चिम तीनतिर उभिएका हिमाल । हिउँ नहुँदा वरपर सुक्खा र उजाड पहाड । हिमालका फेदीमा ताल । तालको रङ निलो । आकाश खुल्दा तालमा देखिने हिमालको नीलगिरि हिमालको छायाँ । सूर्याेदमा ‘सुन’ र रातमा जुन चम्किँदा ‘चाँदी’ झैं टलक्क टल्कने । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको पञ्चकुण्ड तालको सौन्दर्य लोभलाग्दो छ । अन्नपूर्ण, फ्रेन्क, तिलिचो र नीलगिरि हिमालको फेदीमा गोलो आकारको ताल रहेको छ । समुन्द्री सतहदेखि चार हजार ५० मिटर उचाइमा रहेको पञ्चकुण्ड ताल नयाँ पर्यटकीय गन्तव्यका रुपमा विकास भएको छ ।

नारच्याङदेखि अन्नपूर्ण हिमालको आधार शिविर जोड्ने ‘मौरिस हर्जोग’ पदमार्गमा पर्ने पञ्चकुण्ड ताल पर्यटकको रोजाइमा पर्न थालेको छ । हिमाल, आधार शिविर र ताल एकैठाउँमा अवलोकन गर्न पाउनु पञ्चकुण्डको मुख्य विशेषता भएको इटालीकी पर्यटक निमाले अनुभव सुनाइन् । ‘वरपरका हिमाल र फेदीमा रहेको तालले मलाई मोहित र प्रफुल्लित बनायो’, उनले भनि, ‘यहाँको अलौकिक सौन्दर्यमा रमाउन पाउँदा सबै, दुःख कष्ट र तनाव मुलेर मनमा उमङ्ग छाएको महसुस गरेकी छु ।’

एक लाख सात हजार ६८४ वर्गमिटर क्षेत्रफलमा फैलिएको ताल अन्नपूर्ण हिमालको हिउँ पग्लिएर आउने पानी सङ्कलन भएर बनेको प्राकृतिक हिमताल हो । पञ्चकुण्ड ताल प्रकृति र संस्कृतिको सङ्गम हो । पर्यटकले तालको किनारमा टहलिएर शान्त वातावरणमा रमाउने र ध्यान गर्छन् । कोही ताल र हिमाललाई पृष्ठभूमिमा पारेर तस्विर, भिडियो खिच्ने र सामाजिक सञ्जालका सामग्री बनाउँछन् । दुई वर्षअघिसम्म यो ठाउँ सुनसान थियो । प्राकृतिक सौन्दर्य र धार्मिक महत्व स्थानीयस्तरमा सीमित थियो । मौरिस हर्जोग पदमार्गमा आधारभूत पूर्वाधार निर्माण भएर सञ्चालनमा आएसँगै पञ्चकुण्ड तालमा चहलपहल बढेको हो ।

पञ्चकुण्डमा होटल सञ्चालन गरेकी नारच्याङकी नरिमाया गर्बुजा गुरुङले ताल अवलोकन गर्न हाल दैनिक ३०० देखि ५०० जनासम्म पर्यटक आउन थालेका जानकारी दिइन् । ‘सञ्चारमाध्यम र सामाजिक सञ्जालका कारण चर्चामा आएपछि यसपालीको दसैँ र तिहारको बीचमा आन्तरिक पर्यटकको थामिनसक्नु भीड लाग्यो’, उनले भनिन्, ‘यहाँ रहेका होटलको क्षमताभन्दा बढी पाहुना आउँदा हामीलाई व्यवस्थापन गर्न पनि समस्या भयो ।’

पञ्चकुण्डको धार्मिक महत्व पनि छ । पाँच वटा कुण्ड भएकाले पञ्चकुण्ड नामकरण गरिएको नारच्याङका चन्द्रजित पुनले बताए । ‘यहाँ रक्त, दुग्ध, ताम्र, शुद्ध र स्वर्ण गरी पाँच छुट्टाछुट्टै ताल भएको हिन्दू धार्मिक ग्रन्थ पञ्च रामायणमा उल्लेख छ’, उनले भने, ‘अहिले हिउँ पग्लिएर सबै ताल एउटै बनेको छ ।’ परापूर्वकालमा कागभुसुन्दी नाम गरेका एक जना ऋषिले तपस्या गरेर ज्ञान आर्जन गरेर यो तालका बारेमा विभिन्न ठाउँमा प्रचारप्रसार गरेका थिए । पितृको सम्झनामा पिण्डदान गर्नाले पुण्य प्राप्त हुने विश्वास छ । ताललाई धार्मिक आस्थासँग जोड्न परिसरमा शिव मन्दिर निर्माण गरिएको छ । स्थानीयवासीले पञ्चकुण्ड नजिकै रहेको डाडाँलाई कागभुसुण्डी नामकरण गरेका छन् ।

कसरी पुगिन्छ पञ्चकुण्ड हिमताल ?
गाउँपालिका, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) र सङ्घीय सरकारको लगानीमा पदमार्ग, झोलुङ्गे पुल, आश्रयस्थल, सार्वजनिक शौचालय, आधार शिविरमा खुला सङ्ग्रहालय स्थापना गरिएको छ । कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ नागढुङ्गाको बेलिब्रिज तरेर नारच्याङ बेँसी हुँदै हुमखोलासम्म २० किलोमिटर कच्ची सडकमा गाडीको यात्रा र त्यसपछि छ घण्टा पैदलयात्रा गरेपछि पञ्चकुण्ड ताल पुगिन्छ ।

हुमखोलादेखि गुराँसेडाँडा, फुतफुते झरना, साधीखर्क, गुफाफाँट, आकाशे गुफा, रातो झरना, भुसकेट मेला, सुनखोला, पञ्चकुण्ड हुँदै अन्नपूर्ण आधार शिविर जोड्ने पदमार्ग छ । छिटो हिँड्नसक्ने हुमखोलदेखि एकैदिनमा पञ्चकुण्ड पुग्न सक्छन् । विस्तारै हिँड्नेहरु हुमखोलादेखि भुसखेत गएर बास बस्ने र एक बिहान हाइकिङ गरेर पञ्चकुण्ड पुग्छन् । पञ्चकुण्डदेखि एक घण्टा पैदलयात्रा गरेपछि समुन्द्री सतहदेखि चार हजार १५० मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविर पुगिन्छ । यहाँबाट पर्वतारोहीले अन्नपूर्ण हिमालको आरोहण गर्छन् । समथर फाँटमा रहेको आधार शिविरबाट पञ्चकुण्ड ताल र अन्नपूर्ण हिमालको दृष्यावलोकन गर्न सकिन्छ ।

पदमार्गमा रहेका अस्थायी संरचनामा सञ्चालित होटलमा खाना र बस्नको सुविधा छ । पञ्चकुण्ड ताल नजिकै रहेको आश्रयस्थल भवन र टेण्टमा पाहुनालाई राख्ने गरिएको छ । पाहुनाको चाप धेरै भएकाले पहिले नै बुकिङ गरेर आउन भुसकेटका होटल व्यवसायी माइकल पुनले अनुरोध गरे ।

सरसफाइको चुनौती
पाहुनाको चापसँगै तालको सरसफाइमा चुनौती बढेको छ । पञ्चकुण्ड तालदेखि आधार शिविर जाने पदमार्गमा झोलुङ्गे पुल नहुँदा जोखिम मोलेर वारपार गर्नुपर्छ । तालमा पौडी नखेल्न र फोहर नगर्न पाहुनालाई अनुरोध गरिएको छ । हिउँदयाममा तालमा बरफ जम्ने गर्छ । जमेको तालमाथि हिँडडुल गर्दा फुतेर दुर्घटनाको जोखिम भएकाले त्यसो नगर्न स्थानीयले अनुरोध गरेका छन् ।

विद्युत् र सञ्चार सुविधाको अभाव छ । अन्नपूर्ण हिमालको प्रथम आरोही टोलीका अगुवा फ्रान्सका मौरिस हर्जोगको सम्मानमा यस पदमार्गलाई मौरिस हर्जोग पदमार्ग नामकरण भएको छ । विसं २०६८ मा नारच्याङका तेज गुरुङको अगुवाइमा पहिचान भएको यस पदमार्गमा आधारभूतस्तरको पूर्वाधार तयार पारेपछि विसं २०८० देखि सञ्चालन गरिएको थियो । आधार शिविर, पञ्चकुण्ड ताललगायत गन्तव्य र पदमार्गको प्रचारप्रसारका लागि अन्नपूर्ण गाउँपालिकाले विसं २०७७ मा महोत्सव आयोजना गर्नुका साथै गत जेठमा अन्नपूर्ण आरोहणको ७५ वर्ष पुगेका अवसरमा विशेष कार्यक्रम गरेको थियो ।

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनामा पर्ने भएकाले स्थायी र भौतिक संरचना निर्माण गर्न नपाएपछि अस्थायी संरचनामा पाहुनालाई खानेबस्ने व्यवस्था मिलाएर पदमार्ग सञ्चालन गरिएको जानकारी दिए । अन्नपूर्ण हिमाल र आधार शिविरको भूगोल म्याग्दीमा पर्ने तथ्य स्थापित गराएर सङ्घीय सरकारले हिमाल आरोहणबापत दिने राजस्व ‘रोयल्टी’मा दाबी गरिएको उनले बताए । गाउँपालिका, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) र सङ्घीय सरकारको लगानीमा पदमार्ग, झोलुङ्गे पुल, आश्रयस्थल, सार्वजनिक शौचालय, आधार शिविरमा खुला सङ्ग्रहालय स्थापना गरिएको छ ।

गत हप्ता अन्नपूर्ण आधार शिविर पुगेर फर्किएका म्याग्दी १(क) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले मौरिस हर्जोग पदमार्ग, पञ्चकुण्ड ताललगायतका गन्तव्यको विकासका साथै प्रवद्र्धनमा स्थानीय तह, एक्याप, प्रदेश र सङ्घीय सरकारसँग समन्वय गर्ने जानकारी दिए । ‘छोटो दूरीमा र छिटो पुग्न सकिने भएकाले अन्नपूर्ण आधार शिविर, पञ्चकुण्ड तालको पर्यटनका दृष्टिकोणले प्रशस्त सम्भावना छ’, उनले भने, ‘मौरिस हर्जोग पदमार्गमा सञ्चार र विद्युत् सुविधाको विस्तार, पदमार्गको स्तरोन्नति, फोहर व्यवस्थापन, झोलुङ्गे पुललगायत पूर्वाधार निर्माणमा सरकारको ध्यानाकर्षण र बजेट भित्र्याउन पहल गर्नेछु ।’

 

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारीमाथि दुर्व्यहार गर्ने तीन जना पक्राउ

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीमाथि दुर्व्यहार गरेको आरोपमा तीन जना पक्राउ परेका छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा सर्लाही घर ३४ वर्षीय हेम तामाङ, रामेछाप घर भएका ३० वर्षीय सिर्जन अधिकारी र काभ्रे घर भएका ३७ वर्ष जति कोकिलबहादुर शाही छन् । उनीहरूलाई गए राति र बुधबार बिहान पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजिकुमार आचार्यले जानकारी दिए ।

उनीहरूमाथि अनुसन्धान भइरहेको र किन दुर्व्यहार गरे भन्ने बुझ्ने काम भएको प्रहरीले बताएको छ । सोमबार साँझ अधिकारी आफ्नो घर जाने क्रममा सातदोबाटोस्थित एन्फा नजिकै केही अज्ञात व्यक्तिहरूले उनीमाथि दुर्व्यहार गरेका थिए । त्यसपछि अनुसन्धानमा जुटेको प्रहरीले दुर्व्यहार गर्नेको पहिचान गर्न सफल भएको थियो ।

 

नारायणघाट–बुटवल सडक : सहज बन्दै यात्रा

नवलपरासी । विस्तारका क्रममा रहेको पूर्वपश्चिम राजमार्गको नारायणघाट बुटवल सडकखण्ड यात्राका लागि सहज बन्दै गएको छ । सडकको ११३ किलोमिटर खण्डमध्ये दाउन्ने बाहेकका अन्य स्थानमा राजमार्ग सहज बनेको नारायणघाट बुटवल सडक योजनाले जनाएको छ। योजनाको पूर्वी खण्डका सूचना अधिकारी इञ्जिनियर शिव खनालका अनुसार हाल सडकको विभिन्न ११ स्थानमा सडक विस्तारको काम भइरहेको छ । दाउन्नेको पूर्वी खण्डमा करिब दुई किलोमिटर र पश्चिम खण्डमा करिब पाँच किलोमिटर बाहेक सबै क्षेत्रमा यातायात सहज भइसकेको उनको भनाइ छ । दाउन्ने खण्डमा पनि धुलो हटाएर राजमार्गलाई सहज पारिएको भन्दै उनले अहिले विभिन्न पुल सञ्चालनको तयारी, सर्भिस लेन कालोपत्र, राजमार्ग कालोपत्र गर्नेलगायतको काम भइरहेको बताए ।

‘दाउन्ने खण्डलाई पनि सहज बनाउनेगरी काम तीव्र रूपमा अगाडि बढेको छ’, उनले भने, ‘यो हिउँदसम्ममा राजमार्ग पूरै सहज बन्छ, त्यसपछि हामी राजमार्ग विस्तारको अन्य काममा जुट्नेछौँ ।’ यस खण्डमा निर्माण हुने साना २२ तथा ठूला १२ मध्ये अरुणखोला र चोरमाराका दुई वटा ठूला पुलबाहेकका सबै पुल निर्माण पूरा भइसकेका खनालको भनाइ छ । एकतर्फी कालोपत्र सकिएको ठाउँमा अर्कोतर्फी कालोपत्र तथा दुवैतर्फ कालोपत्र भएको स्थानमा सर्भिस लेन बनाउन, सडकको बीचमा डिभाइडर निर्माण गर्ने, सडक बिग्रिएको स्थानमा सहज बनाउने काम भइरहेको उनको भनाइ छ ।

सडक विस्तारको ठेक्का पाएका चाइना स्टेट इञ्जिनियरिङ कर्पोरेशन लिमिटेडका ठेक्का व्यवस्थापक इञ्जिनियर राकेश झाले अहिले नारायणघाटबाट बुटवल साढे दुई घण्टामा पुग्न सकिने बताए। ‘विगतको तुलनामा सडक एकदमै सहज बनेको छ, हामी सार्वजनिक बसमा साढे दुई घण्टामा बुटवलबाट नारायणघाट पुग्न सक्छौँ’, उनले भने, ‘थपिएको म्यादभित्र सडक निर्माण सम्पन्न गर्ने तयारीसाथ हामी फिल्डमा खटिएका छौं ।’

अहिले तिहारको बेला काम केही ढिला गतिमा बढेको भए पनि छठपछि भने सडकको विस्तारको काममा तीव्रता आउने उनले बताए । गैँडाकोट, देवचुली, चोरमारा, दाउन्नेलगायतका ठाउँमा अहिले काम भइरहेको उनको भनाइ छ । गैँडाकोट क्षेत्रमा सडकको दुईतर्फी कालोपत्र गर्ने काम भइरहेको उल्लेख गर्दै झाले दुईतर्फी कालोपत्र भइसकेको ठाउँमा भने सडकको बीचको डिभाइडर बनाउने काम भइरहेको जानकारी दिए । ‘केही ठाउँमा पुलको रेलिङ बनाउने काम अगाडि बढेको छ, केही ठाउँमा सडकको फिनिसिङ तथा सर्भिस लेन बनाउने कामसमेत सुरु भइसकेको छ’, उनले भने, ‘दाउन्नेको पहाडमा भने सडकलाई सहज बनाउन ढलानको काम तथा धुलो हटाउने काम र सडकको किनारमा पर्खाल लगाउने काम भइरहेको छ ।’

अघिल्लो वर्ष यो समयमा यस सडक पार गर्न सात घण्टासम्म लाग्ने गरेको भन्दै चालक अहिले भने यातायात धेरै सहज भएको बताउँछन् । नारायणघाट बुटवल सडकमा गाडी चलाउँदै आएका गैँडाकोटका सङ्गम लम्सालले सडक सहज हुँदा यात्रुलाई समयमै गन्तव्यमा पुर्‍याउन सकिएको बताए । ‘पोहोर यो सडक पार गर्न सात घण्टाभन्दा बढी समय लाग्थ्यो, एकतर्फी यात्रा गर्दा गाडी सर्भिसिङ गर्नुपर्ने अवस्थामा पुग्थ्यो’, उनले भने, ‘अहिले त्यो समस्या हटेको छ, बाटो सहज हुँदा गाडीको मर्मत खर्चमा समेत कमी आएको छ ।’

एसियाली हाइवेको मापदण्डमा विस्तार भइरहेको यस सडक विस्तारपश्चात् नारायणघाटबाट बुटवलको ११३ किलोमिटर दूरी ९० मिनेटमा छोटिने बताइएको छ । चार लेनमा विस्तार भइरहेको सडकको बजेट रु १७ अर्बमध्ये ८५ प्रतिशत रकम एशियाली विकास बैंक (एडिबी) ले १ दशमलव ५ प्रतिशत व्याजमा ऋण सहयोग उपलब्ध गराएको छ । विसं २०७९ साउनमा निर्माण सक्नेगरी विसं २०७५ माघदेखि सडक विस्तारको काम सुरु भएकामा चौथो पटक थप गरिएको म्याद आगामी साउन ८ गते सकिँदैछ ।

 

जलेको आफ्नो घर हेर्न बलकोट पुगे अध्यक्ष ओली (तस्बिरहरु)

भक्तपुर । नेकपा (एमाले)का अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली जेन—जी प्रदर्शनकारीहरुको आगजनी, तोडफोड र लुटपाटले ध्वस्त बनाएको बालकोटस्थित आफ्नो निवासमा पुगेका छन् ।

जेन—जी आन्दोलनपछि पहिलो पटक उहाँ श्रीमती राधिका शाक्यसहित ध्वस्त आफ्नो निवासमा पुगेका हुन्। यस अघि ओली पत्नी शाक्य भने यसअघि नै सो निवासमा पुगी अनुगमन गरेकि थिईन् ।

सुरक्षा चुनौतिका कारण ओली भने यसअघि आफ्नो निवास पुगेका थिएनन् । ओली निवासमा आगजनीको क्रममा धेरैजसो पुस्तकलगायतका अध्ययन सामग्री जलेको प्रत्यक्षदर्शीहरुले बताएका थिए ।

ओली पत्नी शाक्यले भने राज्यका लागि दिने भनेर राखिएको पुरातात्विक महत्वका धेरै सामग्रीहरु जलेर नष्ट भएको बताएका थिए । ओलीले मरणोप्रान्त सो निवास ट्रष्टको नाममा राज्यलाई दिने घोषणा गरेका थिए ।

 

मैले गृहमन्त्रीको सीमाना मिचिदिएको छैन, तर व्यक्तिगत दुष्मनी देखियो : ओली

काठमाडौं । निवर्तमान प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री ओमप्रकाश अर्यालले आफूसँग व्यक्तिगत दुष्मनी राखे जस्तो व्यवहार गरेको बताएका छन् । भदौ २४ गते बालकोटस्थित जलाइएको निवास अवलोकनपछि पत्रकारहरुसँग कुरा गर्दै उनले भने, ‘मममाथि व्यक्तिगत दुष्मनी देखिन्छ । गृहमन्त्रीको सीमाना मिचिदिएको छैन । घर कहाँ हो थाहा छैन । सरकारले मलाई केही गर्दैछ भन्ने गम्भीर आशंका मसँग छ ।’

ओलीले जेनजीलाई सरकारले नै बोलाएर दबाब दिन लगाएको पनि आरोप लगाएका छन् । ‘जेनजी भनिएकालाई बोलाएर दबाब देऊ भनेर भनेका छन् । सिकाएर पठाउनु हुन्छ । उहाँहरु निवेदन देऊ, जाहेरी देऊ भनेर सिकाएर पठाउनु भएको छ’, उनले भने, ‘आगामी दिनमा हेर्दै जाऊँ । यो देशमा एमाले छ । एमाले ज्युँदो पार्टी छ । भ्रष्टाचार नियन्त्रण गर्छ । अचानक पलाएका आफ्नो काम छाडेर अर्कोतिर रमाएकासँग एमालेले सम्झौता गर्दैन ।’

‘लक्षित गरेर आगजनी गरिएको छ, काम नलाग्ने चिज मात्रै छोडिएको छ’
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले छानी छानी आफ्नो घरमा प्रहार गरिएको र लुटपाट गरिएको बताएका छन् । बुधबार भक्तपुरको बालकोटस्थित जेनजी आन्दोलनका बेला जलाइएको आफ्नो घर हेर्न पुगेका उनले ठूला–ठूला मुर्ति उठाएर लगेको भन्दै आफू आश्चर्यमा परेको समेत उल्लेख गरे । ओलीले धेरै पहिलेदेखि नै लक्षित गरेर आफ्नो घरमा आगजनी गरिएको समेत दाबी गरे ।

यस्तो छ ओलीको भनाइ :

मैले यहाँ धेरै भन्नुपर्ने केही छैन । तस्बिर आफैं बोलिराख्या छ । जसरी छानी छानी व्यक्तिका घरहरू जलाइएको छ । लुटिएको छ । यतिसम्म कि कसरी उठाएर लगे भन्ने आश्चर्य लाग्छ । केही टनका ढुंगाका मुर्तिहरु थियो त्यहाँ । त्यहाँ शिवको मुर्ति थियो, बुद्धको मुर्ति थियो, स्वरसती मुर्ति थियो ।

त्यस्तो खालको सामान समेत चोरी भएको छ भने अरु त मामुली भयो । उनीहरुलाई काम नलाग्ने चिज आगो लगाइएको छ । सबै चिज उठाइएको छ । उनीहरुलाई काम नलाग्ने चिज मात्रै छोडिएको छ । कुनै किमती चिज पनि छोडिएको छैन । त्यही भएर यो बहुतै लक्षित गरेर भएको हो । यसअघि पनि पटक–पटक त्यो प्रयास गरिएको थियो । मेरो मात्रै होइन, देशभरी जलाइएको छ । देशभरी कार्यालय जलाइएको छ । एमालेका नेताका खोजी खोजी घर चलाइएको छ ।

 

भ्रष्टाचार र सुशासनको मुद्दामा सरकार मौन छैन : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सुशासनको पक्षमा सरकार सक्रिय रहेको बताएकी छिन् । सरकारको पहिलो प्राथमिकता २१ फागुनको चुनाव भए पनि भ्रष्टाचार र सुशासनको मुद्दामा मौन नभएको बताएकी हुन् । बुधबार नेपाल संवत्को अवसरमा काठमाडौंको वसन्तपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा कार्कीले नेपालको संविधानमा अधीनमा रहेर जेन–जी आन्दोलनले उठाएको सुशासनको आवाजलाई सम्बोधन गर्ने बताइन् ।

उनले सम्बोधनमा भनिन्, ‘निर्वाचन प्राथमिकतामा छ भन्नुको अर्थ भ्रष्टाचार र सुशासनका मुद्दामा सरकार मौन बसेका छौँ भन्ने होइन, नेपालको संविधानको अधीनमा रही जेनजी आन्दोलनको सुशासनको आवाजलाई सम्बोधन गर्नुपर्ने मूल दायित्व पनि हामीमाथि छ । यसमा पनि परिणाम दिने गरी राज्यका संयन्त्रहरूबाट काम अघि बढिरहेको छ ।’

साथै, प्रधानमन्त्री कार्कीले लोकतन्त्र जीवित राख्ने र भ्रष्टाचार नियन्त्रण गर्ने राष्ट्रिय अभिभारा पूरा गर्न अपिलसमेत गरेकी छिन् । त्यसैगरी, वसन्तुपरको सम्बोधनमा कार्कीले सरकार चुनावका लागि प्रतिबद्ध रहेको दोहो¥याएकी छन् । यसअघि पाटन र मध्यपुर थिमिमा आयोजित कार्यक्रममा पनि सोही कुरा दोहोर्‍याएकी थिइन् । कार्कीले जेन–जी समुदाय र राजनीतिक दलहरूसँग प्रत्येक दिन कुनै न कुनै माध्यमबाट सरकारले संवाद गरिरहेको उल्लेख गरेकी छन्।

प्रधानमन्त्री कार्कीले हिजो मात्रै राजनीतिक दलसँग चुनावी संवाद गरेकी थिइन् । २१ फागुनको चुनावकेन्द्रित संवाद मंगलबार सरकार र दलबीच पहिलो पटक भएको हो । प्रधानमन्त्री कार्कीले भनिन्, ‘प्रत्येक दिन राजनीतिक दलहरूसँग कुनै न कुनै रूपमा संवाद भइरहेको छ। परिवर्तनका वाहक जेन–जी समुदायसँग पनि निरन्तर संवाद र सम्पर्कमा छौँ ।’

 

नेपाली नोटमा नेपाल संवत उल्लेख गर्ने व्यवस्था मिलाउँछुः प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नेपाली नोटमा नेपाल संवत उल्लेख गर्ने व्यवस्था मिलाउने बताएकी छन् ।

राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानले बुधवार आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएकी हुन् । उनले नेपाली नोटमा नेपाल संवत उल्लेख गर्ने विषयमा नेपाल राष्ट्र बैकसँग परामर्श गरी प्रक्रिया अघि बढाउने प्रतिवद्धता जनाईन् । नेपाल संवत विशेष गरी कान्तिपुर र भादगाउँमा उत्पत्ति भएपनि राष्ट्रकै मौलिक संवत भएको उनको भनाई छ ।

नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाः एक कुशल व्यापारीभएपनि उी नाफा कमाउने व्यापारी नभएको उनले बताईन् । साख्वाः एक महान समाजसेवी र लोक कल्याणकारी व्यक्तित्व भएको उनको भनाई छ ।

उनकाअनुसार ११४६ वर्ष अगाडी राजा रागवदेवको शासनकालमा शंखधर साख्वाःले गरिबी र ऋणमा डुबेका नागरिकहरुको ऋण विमोचन गरी ऋणको भारबाट पीडित जनतालाई मुक्त गर्ने ऐतिहासिक निर्णय लिए । यो दिन नै नेपाल संवतको सुभारम्भको आधार भएको प्रधानमन्त्री कार्कीले बताईन् ।

विं.सं ९३६ मा नेपाल संवतको थालनी गरिएको उनले जानकारी दिईन् । नेपाल संवत कुनै राजाको शक्ति वा युद्धको विजयबाट प्राप्त नभई एक व्यापारीको त्याग र परोपकारको आधारमा शुरु भएकोले यसको महत्व निकै उच्च रहेको प्रधानमन्त्री कार्कीको भनाई छ । नेपाल संवत लोकस्तरबाट उत्पत्ति भएको र यसले लोक विरासत बोकेको उनले बताईन् ।

उनले भनन्, ‘नेपाल राष्ट्र बैकद्धारा निष्कासित गरिने नोटमा नेपाल संवत उल्लेख गर्ने विषयमा संवन्धित पक्षसँग परामर्श गरी प्रक्रिया अघि बढाउने प्रतिवद्धता व्यक्त गर्दछु । यो विशेष गरी कान्तिपुर र भादगाउँमा उत्पत्ति भएपनि राष्ट्रकै मौलिक संवत हो । शंखधर साख्वा काठमाडौको मधुसत्तन ईलाकाका एक कुशल व्यापारी हुनुहुन्थ्यो । तर उहाँको परिचय नाफा कमाउने व्यापारीमा मात्रै सिमित थिएन । एक महान समाजसेवी र लोक कल्याणकारी व्यक्तित्व हुनुहुन्थ्यो । आज भन्दा ११४६ वर्ष अगाडी राजा रागवदेवको शासनकालमा उहाँले गरिबी र ऋणमा डुबेका नागरिकहरुको ऋण विमोचन गरि ऋणको भारबाट पिडित जनतालाई मुक्त गर्ने ऐतिहासिक निर्णय लिनुभयो । यो दिन नै नेपाल संवतको शुभारम्भ भएको आधार हो । उहाँको यही अतुलनीय योगदान र सामाजिक न्यायको महान कार्यको कदर स्वरुप विं.सं ९३६ मा नेपाल संवतको थालनी गरियो । यो संवत कुनै राजाको शक्ति वा युद्धको विजयबाट प्राप्त होईन बरु एक व्यापारीको त्याग र परोपकारको आधारमा शुरु भएकोले यसको महत्व निकै उच्च छ । अर्थात यो लोकस्तरबाट उत्पति भएको र लोक विरासत बोकेको संवत हो ।’

प्रधानमन्त्री कार्कीले नेपाल संवतलाई सरकारी कागजातमा समेत उल्लेख गरेर सरकारले यसलाई प्रवद्र्धन र व्यवहारिक रुपमा लागू गर्न तत्पराता देखाएको बताईन् । नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाः लाई वि.सं २०५६ मा राष्ट्रिय विभूति घोषणा गरिएको थियो । नेपाल संवतलाई भने २०६५ कात्तिक ७ गते राष्ट्रिय संवत घोषणा गरिएको थियो ।

ओलीले गरे जेनजी आन्दोलनमा ध्वस्त आफ्नो बालकोट निवासको अवलोकन

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली जेनजी प्रदर्शनकारीहरुको आगजनी, तोडफोड र लुटपाट गरी ध्वस्त बनाएको बालकोटस्थित आफ्नो निवासमा पुगेका छन् । जेनजी आन्दोलनपछि पहिलो पटक उनी श्रीमती राधिका शाक्यसहित ध्वस्त आफ्नो निवासमा पुगेका हुन् । यसअघि ओली पत्नी शाक्य भने यसअघि नै सो निवासमा पुगी अनुगमन गरेकी थिइन् ।

सुरक्षा चुनौतिका कारण ओली भने यसअघि आफ्नो निवास पुगेका थिएनन् । ओली निवासमा आगजनीको क्रममा धेरैजसो पुस्तकलगायतका अध्ययन सामग्री जलेको प्रत्यक्षदर्शीहरुले बताएका थिए । ओली पत्नी शाक्यले भने राज्यका लागि दिने भनेर राखिएको पुरातात्विक महत्वका धेरै सामग्रीहरु जलेर नष्ट भएको बताएकी थिइन् । ओलीले मरणोप्रान्त सो निवास ट्रष्टको नाममा राज्यलाई दिने घोषणा गरेका थिए ।

भ्रष्टाचार नियन्त्रण कुशासनको अन्त्य तथा ओली सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धका विरुद्धमा उत्रिएको जेनजी आन्दोलनमा २३ गते गोली चलेपछि सडकमै १९ जना बालबालिका तथा युवाले ज्यान गुमाएका थिए । सोही दिनको सरकार र सुरक्षा निकायको दमनपछि आक्रोशित बनेको आन्दोलनले २४ गते उग्ररुप लिदा सरकारी कार्यालय नेताहरुका निजी निवास, उद्योग तथा सर्वेच्च अदालत सिंहदरबार लगायतका राष्ट्रिय सम्पत्तिमा तोडफोड तथा आगजनी गरिएको थियो ।

त्यस बखतका तत्कालिन प्रधानमन्त्ती ओली लगायत अन्य नेताहरुर्ला सेनाले सुरक्षा दिदै सुरक्षित स्थानमा राखेको थियो । भने अन्तरिम सरकार गठन भेसकेपछि नेताहरु सार्वजनिक भएका थिए । उक्त आन्दोलनमा केपी ओलीको घरमा आन्दोलनकारीहरुले लुटपाट तथा आगजनी गरेका थिए । सोही घरको अवलोकनमा ओली आज पहिलो पटक त्यहा पुगेका हुन् । उनी हाल भक्तपुरस्थित गुण्डुमा भाडाको घरमा बसिरहेका छन् ।

 

तीन महिनामै ३५ अर्ब बढीको वैदेशिक लगानी प्रतिवद्धता

काठमाडौं । पछिल्ला वर्षहरुमा वैदेशिक लगानी बढेर गएको छ । उद्योग विभागकाअनुसार पछिल्लो तीन महिनामा मात्रै ३५ अर्ब बढीको वैदेशिक लगानी प्रतिवद्धता प्राप्त भएको छ । गत साउनदेखि असोज मसान्तसम्ममा ३ सय ११ वटा उद्योगमा ३५ अर्ब १३ करोड ७७ लाख ८६ हजार रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको हो । चालु आर्थिक वर्षमा सात वटा ठूला, चारवटा मध्यम र ३०० वटा साना उद्योगमा प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धता प्राप्त भएको छ भने गत असोजमा मात्र ७५ वटा साना उद्योगमा २ अर्ब चार करोड ५७ लाख ३२ हजार रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ ।

हालसम्म विभागमा सात हजार ५५० वटा उद्योगमा खर्ब ८६ अर्ब ५५ करोड ९९ लाख रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धता स्वीकृत गरिसकेको छ । गत साउनदेखि असोज महिनासम्म भित्रिएको प्रत्यक्ष वैदेशिक लगानीको तथ्यांक हेर्दा सबैभन्दा बढी सूचना प्रविधिमूलक क्षेत्रका १६२ वटा उद्योगका लागि १५ करोड ३७ लाख ३२ हजार रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ ।

रकमका आधारमा भने पर्यटनमूलक क्षेत्रका १०३ उद्योगमा सबैभन्दा धेरै एक अर्ब ४६ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको हो । उत्पादनमूलक क्षेत्रका १५ उद्योगमा २१ करोड १० लाख, कृषिमूलक क्षेत्रका ११ उद्योगमा चार करोड र सेवामूलक क्षेत्रका १९ उद्योगमा १८ करोड १० लाख रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धता आएको छ ।

पछिल्ला वर्षमा आएको वैदेशिक लगानीको प्राप्ति हेर्ने हो भने गत आर्थिक वर्ष २०८१/८२ मा कुल वैदेशिक लगानी आप्रवाह ४१.८ प्रतिशतले वृद्धि भएको छ । सो वर्ष १५ अर्ब २ करोड पुगेको थियो । त्यसअघिको आर्थिक वर्ष २०८०/८१ मा ८ अर्ब ४७ करोड बराबरको वैदेशिक लगानी मुलुकमा भित्रिएको थियो । आर्थिक वर्ष २०८१/८२ मा उद्योग विभागबाट स्वीकृत कुल विदेशी लगानी ७४ अर्ब ९७ करोड रहेको थियो । आर्थिक वर्ष २०८०/८१ मा ६१ अर्ब ९० करोड बराबरको विदेशी लगानी स्वीकृत भएको थियो । २०८२ असारसम्ममा ६ खर्ब ५१ अर्ब ४५ करोड बराबरको कुल विदेशी लगानी उद्योग विभागबाट स्वीकृत भएको थियो । –न्युज एजेन्सी नेपाल

 

भ्रष्टाचार नियन्त्रणका लागि सबै पक्षको सहयोगको आवश्यकता छः प्रधानमन्त्री कार्की

भक्तपुर । प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचार नियन्त्रण गर्ने राष्ट्रिय अभिभारा सबै पक्षलाई सहयोग गर्न आग्रह गरेकी छन् ।

नेपाल संवतको अवसर पारेर बुधवार काठमाडौंको वसन्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले जेन=जी आन्दोलनले भ्रष्टाचार नियन्त्रण र सुशासनको पक्षमा उठाएको आवाजलाई सम्बोधन गर्ने मूल दायित्व सरकारमाथि रहेको उल्लेख गर्दै सो अभिभारा पूरा गर्नका लागि सबैलाई साथ दिन आग्रह गरेकी हुन् ।

प्रधानमन्त्री कार्कीले सरकारले निर्वाचन प्राथमिकतामा छ भन्नुको अर्थ भ्रष्टाचार र सुशासनको मुद्दामा मौन बसेको छ भन्ने सत्य नभएको स्पष्ट पार्दै त्यसमा परिणाम आउने गरी राज्यको संयन्त्रहरुबाट काम भईरहेको दाबी समेत गरिन् । उनले नेपालको संविधानको अधिनमा रही सरकारले भ्रष्टाचार नियन्त्रणको क्षेत्रमा काम गरिरहेको समेत बताईन्।

उनले भ्रष्टाचार नियन्त्रण, सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम गर्दै लोकतन्त्रलाई जीवित राख्ने र भ्रष्टाचार नियन्त्रण गर्ने राष्ट्रिय अभिभारा पूरा गर्न सबै राजनीतिक दल, वर्ग र समुदायले सरकारलाई सहयोग गर्ने विश्वास समेत व्यक्त गरिन् ।

प्रधानमन्त्री कार्कीले भनिन्,‘जेन—जी आन्दोलनको बलमा बनेको यस नागरिक सरकारले २०८२ फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन गर्ने जिम्मेवारी प्राप्त गरेको यहाँहरुलाई विदितै छ । विद्रोहपछिको अवस्थालाई सामान्यकरण गरी आगामी फागुन २१ गते भयरहित ढंगले त्यो चुनाव सम्पन्न गर्ने वातावरण तयार गर्न यो सरकार दत्तचित्त भएर लागेको छ । प्रत्येक दिन राजनीतिक दलहरुसँग कुनै न कुनै रुपमा सम्वाद भईरहेको छ । परिवर्तनका बाहक जेन—जी समुदायसँग पनि निरन्तर सम्वाद र सम्पर्कमा छौं । निर्वाचन प्राथमिकतामा छ भन्नुको अर्थ भ्रष्टाचार र सुशासनको मुद्धामा मौन बसेका छौ भन्ने होइन ।

नेपालको संविधानको अधिनमा रही जेनजी आन्दोलनको सुशासनको आवाजलाई सम्बोधन गर्ने मूल दायित्व पनि हामी माथि छ । यसमा पनि परिणाम दिने गरी राज्यका संयन्त्रहरुबाट काम गरी अघि बढाईरहेको छ । यसका लागि समाजका सबै पक्षको उचित भुमिका हुन्छ । आउनुहोस, यसमा सहकार्य गरौं । र सचेत नागरिकको भुमिका निर्वाह गरौं । समाजमा सदभाव र एकता कायम गर्दै लोकतन्त्र जिवित राख्ने र भ्रष्टाचार नियन्त्रण गर्ने राष्ट्रिय अभिभारा पूरा गरौं । यस कार्यमा सबै राजनीतिक दल, वर्ग, समुदायको साथ र सहयोग रहनेछ भन्नेमा विश्वस्त रहेको छु ।’

त्यस अवसरमा प्रधानमन्त्री कार्कीले नेपाल सम्वत नेपालीहरुको मौलिक सम्वत रुपमा रहेकाले त्यसका संरक्षण संवद्र्धन गर्न सरकारले विशेष ध्यान दिएको बताइन् ।

आगामी निर्वाचनलाई भयरहित बनाउन सरकार प्रतिवद्ध छ : प्रधानमन्त्री कार्की

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने निर्वाचनमा भयरहित ढंगले नेपाली जनतालाई मताधिकार प्रयोग गर्ने वातावरण बनाउन सरकार कटिवद्ध रहेको बताएकी छन् । बुधवार बिहान ललितपुर महानगरपालिकाले आयोजना गरेको नेपाल संवत ११४६ न्हुँद समारोह समितिको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले लोकतान्त्रिक सबलीकरण, आर्थिक समृद्धि र नागरिक अधिकारको रक्षा गर्नुपर्ने दायित्व पनि अहिलेको सरकारसँग रहेको जिकिर गरिन् ।

निर्वाचन सम्पन्न गराउन सबै राजनीति दल, वर्ग, समूहको साथ र सहयोग रहनेछ भन्नेमा विश्वस्त रहेको बताइन् । गत भदौ २३ र २४ गते जेनजी पुस्ताले गरेको आन्दोलनबाट बनेको सरकारलाई फागुन २१ गते निर्वाचन गराउने जिम्मेवारी रहेको बताइन् । सरकारसँग नेपालको संविधानको अधीनमा रही जेन—जी आन्दोलनको सुशासनको आवाजलाई सम्बोधन गर्नुपर्ने दायित्व रहेको बताइन् ।

उनले भने, ‘२०८२ भदौ २३ र २४ गते जेनजीले देशमा व्याप्त चरम भ्रष्टाचारविरुद्ध गरेको आन्दोलनमा कलिला युवाहरुको अनाहकमा ज्यान गएको र सयौंको संख्यामा घाइते भएको घटनाले म अत्यन्त दुःखी छु । आज यस समारोहमार्फत पनि उक्त आन्दोलनमा ज्यान गुमाउने सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुका साथै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । सोही आन्दोलनको बलमा बनेको यस नागरिक सरकारले २०८२ फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन गर्ने जिम्मेवारी प्राप्त गरेको यहाँहरुलाई विदितै छ । यस सरकारसँग नेपालको संविधानको अधीनमा रही जेनजी आन्दोलनको सुशासनको आवाजलाई सम्बोधन गर्नुपर्ने दायित्व रहेको छ ।’

उनले भनिन्, ‘यसका लागि समाजका सबै तह, तप्का र वर्ग समुदायको उत्तिकै भूमिका हुन्छ । आउनुहोस्, यसमा सहाकार्य गरौँ र सचेत नागरिकको भूमिका निर्वाह गरौँ । लोकतान्त्रिक सबलीकरण, आर्थिक समृद्धि र नागरिक अधिकारको रक्षा गर्न आगामी फागुन २१ गते हुने निर्वाचनमा भयरहित ढंगले नेपाली जनतालाई मताधिकार प्रयोग गर्ने वातावरण बनाउन सरकार कटिवद्ध छ । यस कार्यमा सबै राजनीति दल, वर्ग, समूहको साथ र सहयोग रहनेछ भन्नेमा विश्वस्त रहेको छु ।’

नेपाल संवत नेपाली गौरव, सभ्यता र परोपकारको प्रतीक भएको जिकिर गरिन् । प्रवर्तक शंखधर साख्वा एक व्यापारी मात्र नभइ समाजसेवी र लोककल्याणकारी व्यक्तित्व भएको बताइन् । नेपाल संवतको संवद्र्धन, प्रवद्र्धन र व्यावहारिक कार्यान्वयनका लागि नागरिकको सुझावअनुसार थप कदम चाल्न पनि सरकार तयार रहेको बताइन् । नेपाल संवत नेपाली धर्तीमा उत्पत्ति भएको, नेपाली जनताले यसको प्रादुर्भाव गरेको बताइन् । तसर्थ नेपाली राष्ट्रियता, मौलिकता एवं सामाजिक इतिहासको महत्वपूर्ण धरोहर भएको जिकिर गरिन् । —न्युज एजेन्सी नेपाल

महाराजगञ्जका दुई प्रहरीको हत्या आरोपमा थप एक युवक पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा काठमाडौं महाराजगञ्जका दुई प्रहरी हत्या घटनामा संलग्न रहेको आरोपमा थप एक युवा पक्राउ छन् । प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत असई मिलन राय र जवान उत्तम थापाको ज्यान जाने गरी कुटपिट गरेको आरोपमा सोमबहादुर गुरुङ पक्राउ परेको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईले जानकारी दिएका छन् ।

गोरखाका २१ वर्षीय सोमबहादुर हाल काठमाडौं, धुम्बाराहीमा बसोबास गर्दै आएका थिए । सोही घटनामा पक्राउ परेका दुई जना पुर्पक्षका लागि कारागार चलान भइसकेका छन् ।

काभ्रेको रोशी गाउँपालिका– ९ राजबास घर भई काठमाडौंको बालुवाटारमा डेरा गरी बस्ने वर्ष २८ का युवराज क्याप्छाकी र मकवानपुरस्थ्ति थाहा नगरपालिका– ७ बतासे घर भई काठमाडौंको चन्द्रागिरीमा डेरा गरी बस्ने २१ वर्षीय सोनाम भन्ने बुद्धिमान थिङ कारागार चलान भएका छन् । सोमबार पक्राउ परेका गुरुङ जिल्ला प्रहरी परिसरको हिरासतमा छन् । तिहार बिदाका कारण उनको म्याद थप भएको छैन । बिदा सकिनासाथ म्याद प्रक्रिया अघि बढ्ने भट्टराईले जानकारी दिएका छन् ।