`

भक्तपुुरमा आमाको हत्यापछि छोराले गरे आफ्नै टाउकोमा हतियार प्रहार

काठमाडौं । भक्तपुरमा छोराले आमाको हत्या गरेका छन् ।

मध्यपुर थिमि नगरपालिका–३ तेर्सेटारका २७ वर्षीय प्रवीण भण्डारीले आमा ५० वर्षीया सरिताको हत्या गरेका हुन् ।

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रकाश जबेगुका अनुसार उनीहरू त्यहाँ डेरामा बस्दै आएका थिए ।

प्रारम्भिक अनुसन्धानको क्रममा प्रवीणले शुक्रबार राति आमालाई धारिलो हतियार प्रहार गरेको खुलेको जबेगूले बताए । घटनामा सरिता गम्भीर घाइते भएकी थिइन् ।

उनको उपचारका क्रममा भक्तपुर इन्टरनेशनल अस्पतालमा मृत्यु भएको डीएसपी जबेगुले बताए ।

आमालाई धारिलो हतियार प्रहार गरेपछि भण्डारीले आफ्नै टाउकोमा धारिलो हतियारले हानेका थिए । उनी घाइते छन् ।

प्रहरीले घटनाको अनुसन्धान गरिरहेको डीएसपी जबेगूले जानकारी दिए ।

देउवा पक्षीय कांग्रेस सर्वोच्च अदालत जाने

काठमाडाैं । नेपाली कांग्रेसको देउवा पक्षीय समूहले निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत जाने निर्णय गरेको छ।

देउवा पक्षीय कांग्रेसको सानेपामा बसेको बैठकले विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई मान्यता दिने निर्वाचन आयोगको निर्णयप्रति आपत्ति जनाउँदै कानुनी र राजनीतिक रूपमा प्रतिवाद गर्ने निर्णय गरेको हो।

बैठकका निर्णय सार्वजनिक गर्दै देउवा पक्षका प्रवक्ता प्रकाशशरण महतले आयोगको निर्णय अस्वीकार्य रहेको बताए। उनले उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिने जानकारी दिए।

महतका अनुसार पार्टीको विधान र लोकतान्त्रिक मूल्य–मान्यताको विपरीत आयोगले निर्णय गरेको निष्कर्षसहित कांग्रेसले सबै कानुनी विकल्प प्रयोग गर्नेछ । साथै, आवश्यक परे राजनीतिक दबाबका कार्यक्रमसमेत अघि बढाइने उनले बताए।

निर्वाचन आयोगको पछिल्लो निर्णयपछि नेपाली कांग्रेसभित्रको विवाद थप चर्किएको छ।

निर्वाचन आयोगले शुक्रबार साँझ विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई झण्डा र चुनाव चिन्ह प्रदान गर्ने निर्णय गरेको थियो। 

ओली-बालेनसँग रञ्‍जित भिडाउँदै प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले युवा नेता रञ्‍जित तामाङलाई झापा– ५ मा उम्मेदवार बनाएको छ ।

उनलाई संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार उम्मेदवारको टिकट दिए । अब उनले नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह (बालेन)सँग चुनावी प्रतिस्पर्धा गर्नेछन् ।

तामाङले २०७९ को प्रतिनिधिसभा निर्वाचनमै त्यहाँबाट चुनाव लड्न चाहेका थिए ।

तर, नेपाली कांग्रेससँग उनी आबद्ध तत्कालीन नेकपा माओवादी केन्द्रले चुनावी गठबन्धन गरेपछि उनले चुनाव लड्न पाएनन् ।

त्यसबेला कांग्रेसका खगेन्द्र पाण्डव अधिकारी गठबन्धनको उम्मेदवार थिए । उनी ओलीसँग दोब्बर बढी मतान्तरले पराजित भए । ओलीलाई राप्रपाको समर्थन थियो ।

यसपटक भने तामाङले चुनाव लड्न टिकट पाए । यो उनको पहिलो संसदीय निर्वाचनमा प्रतिस्पर्धा हुनेछ ।

त्यहाँ नेपाली कांग्रेसले यसपटक विश्‍वद्विप लिङ्देनलाई टिकट दिने चर्चा गाइँगुइँ सुनिन्छ । उनी २०६४ सालको संविधानसभा निर्वाचनमा ओलीलाई पराजित गर्ने पूर्वमाओवादी नेता हुन् ।

२०७४ को प्रतिनिधिसभा निर्वाचनअघि कांग्रेस प्रवेश गरेका लिङ्देन यसपटक फेरि मैदानमा उत्रिने सम्भावना देखिएको छ ।

२०४८ सालदेखि यता भएका ७ वटामध्ये छ वटा निर्वाचनमा ओली विजयी भए । निर्वाचनको यो परिणामले भन्छ– झापा– ५ ओली र उनको दल एमालेको बलियो प्रभाव क्षेत्र हो ।

त्यहाँबाट एकपटक पनि कांग्रेस र राप्रपाले निर्वाचन जितेकै छैनन् । सोही क्षेत्रबाट युवा नेता रञ्‍जितलाई नेकपाले चुनावी मैदानमा उतारेकाे हाे ।

टी-२० विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाई

काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेट खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाई गरिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले शनिवार एक कार्यक्रम गरी आईसीसी टी–२० विश्वकप खेल्ने टोलीलाई बिदाई गरेको हो ।

टोलीलाई क्यानका अध्यक्ष क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्कालगायतले शुभकामना दिए ।

आगामी फेब्रुअरी-मार्चमा टि-२० वर्ल्डकपको आठौं संस्करण भारत र श्रीलंकामा आयोजित हुदैछ। 

आईसीसी टी–२० विश्‍वकप क्रिकेट खेल्न जाने नेपाली टोलीको बिदाइ

काठमाडौं । आईसीसी टी–२० विश्‍वकप क्रिकेट खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ ।

आगामी फेब्रुअरी–मार्चमा भारत र श्रीलंकामा हुने विश्‍वकप क्रिकेट खेल्न जाने नेपाली टोलीको नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार बिदाइ गरेको हो ।

नेपाली टोलीको बिदाइ गर्दै क्यानका सचिव पारस खड्काले विश्‍वकपका लागि शुभकामना दिए । उनले भने, ‘यो समग्र विश्‍वले पनि हेर्ने कुरा हो, हामी राम्रो गरिरहेका छौं । विश्‍वकपका लागि खेलाडीदेखि व्यवस्थापन टिम सबैलाई शुभकामना छ ।’

नेपाली टोलीले विश्‍वकपअघि श्रीलंका र भारतमा गएर अभ्यास शृंखला पनि खेल्ने भएको छ । नेपाली टोली आइतबार मात्रै प्रस्थान गर्ने छ ।

कप्तान रोहित पौडेलले तयारी राम्रो भएको बताए । ‘हाम्रो तयारी राम्रो छ । अभ्यासले पनि राम्रो बिल्डअप भएजस्तो लाग्छ, सन् २०२५ एकदम राम्रो भएको थियो । आशा छ यो वर्ष पनि राम्रो हुने छ ।’

प्रशिक्षक स्टुअर्ट लले पनि विश्‍वकपमा राम्रो गर्ने दाबी गरे । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले पनि टोलीलाई शुभकामना दिँदै तयारी राम्रो देखिएको र राम्रो प्रदर्शन गर्ने विश्‍वास व्यक्त गरेका छन् ।

नेपालले विश्‍वकपको समूह चरणमा इंग्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश र इटलीसँग खेल्ने तालिका छ ।

पत्रकार जोशीमाथि दुर्व्यवहार

काठमाडाैं । सेराेफेरो अनलाइनका पत्रकार केशवराज जोशीमाथि रिपोर्टिङका क्रममा दुर्व्यवहार भएको छ।  शुक्रबार साँझ निर्वाचन आयोग अगाडि ‘पीटीसी’ दिने क्रममा दुर्व्यवहार भएको हो। 

आयोग अगाडि शुक्रबार नेपाली काङ्ग्रेसका दुई छुट्टाछुट्टै समूह आधिकारिकताको विवादलाई लिएर प्रदर्शनमा थिए ।

आयोगले गगन पक्षलाई आधिकारिकता प्रदान गरेपछि आयोग अगाडिको माहोल एकछिन तनावग्रस्त बनेको थियो। त्यही क्रममा ”अन्तत: गगनलाई दियो आयोगले मान्यता” भन्दै पीटीसी दिने क्रममा पत्रकार जोशीमाथि दुर्व्यवहार भएको हो। 

उनले नेपालवान एचडीसँग भने, ‘अन्तत: आयोगले दियो गगनलाई मान्यता भनेर पीटीसी दिन लागेको बेला उहाँहरु आक्रमण गर्न आइहाल्नुभयो ।’  

हालै प्रेस काउन्सिल नेपालले पत्रकारमाथि दुर्व्यवहारका सबैभन्दा बढी ५० वटा घटना भएकाे तथ्याङ्‍क सार्वजनिक गरेकाे थियाे । 

सानेपामा देउवा समूहको भेला, गगनले बानेश्वरमा बोलाए कांग्रेसको पहिलो बैठक

काठमाडौं । नेपाली कांग्रेसभित्र शक्ति संघर्ष तीव्र बनेको छ । निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको केन्द्रीय कार्य समितिलाई वैधानिक मान्यता दिएसँगै पार्टीभित्र दुई फरक केन्द्रबाट समानान्तर गतिविधि सुरु भएका छन् ।

आयोगबाट शुक्रबार आधिकारिकता पाएपछि थापा नेतृत्वको नव निर्वाचित केन्द्रीय कार्यसमितिले शनिबार बिहान साढे ११ बजे नयाँ बानेश्वरस्थित एक बैंक्वेटमा पहिलो बैठक बोलाएको छ । पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार बैठकमा समसामयिक राजनीतिक अवस्था, संगठन व्यवस्थापन, आगामी रणनीति र विविध विषयमा छलफल हुनेछ । पार्टी कार्यालय सानेपा बाहिर बैठक राखिनु आफैंमा असहज परिस्थिति र आन्तरिक विवादको संकेतका रूपमा हेरिएको छ ।

यता, निर्वाचन आयोगको निर्णय अस्वीकार गर्दै शेरबहादुर देउवा समूहले पार्टी कार्यालय सानेपामै छुट्टै भेला आह्वान गरेको छ । देउवा पक्षका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको निर्देशनमा बोलाइएको भेलालाई पनि केन्द्रीय कार्यसमितिको बैठककै रूपमा प्रस्तुत गरिएको छ ।बैठकमा पदाधिकारी, केन्द्रीय सदस्य, आमन्त्रित सदस्य तथा सातै प्रदेशका सभापतिहरूलाई अनिवार्य उपस्थित हुन भनिएको छ ।

मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा पार्टीको वर्तमान अवस्था र निर्वाचन आयोगको पछिल्लो निर्णयबारे गहन छलफल हुनेछ ।
निर्णयलगत्तै देउवा समूह अझ आक्रामक रणनीतिमा उत्रिएको छ । शुक्रबार राति महाराजगञ्जस्थित देउवा निवासमा बसेको शीर्ष नेताहरूको बैठकले कानुनी र राजनीतिक दुवै मोर्चाबाट संघर्ष गर्ने निष्कर्ष निकालेको छ । बैठकमा कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, बालकृष्ण खाँण, एनपी साउद, प्रकाशशरण महतलगायत नेताहरू सहभागी थिए ।

देउवा समूहले शनिबार नै केन्द्रीय कार्यसमितिको बैठकबाट देशव्यापी आन्दोलनका कार्यक्रम घोषणा गर्ने र आइतबार अदालत जाने तयारी गरेको जनाएको छ । आन्दोलनमा तरुण दललाई सक्रिय पार्ने निर्णय समेत भइसकेको छ । देउवा पक्षले निर्वाचन आयोग सरकार र बाह्य दबाबमा परेको आरोप लगाउँदै आगामी फागुन २१ मा तय निर्वाचन हुन नदिने रणनीति बनाएको बताइएको छ ।

यसअघि सानेपामा आयोजित पत्रकार सम्मेलनमा पूर्णबहादुर खड्काले आयोगले विधान र संविधानविपरीत निर्णय गरे देशभर सडक आन्दोलन गर्ने चेतावनी दिएका थिए । उनले १४औं महाधिवेशनबाट निर्वाचित देउवा नेतृत्वकै समिति आधिकारिक रहेको दाबी दोहोर्‍याएका थिए ।
निर्वाचन आयोगमा भने बहुमतका आधारमा निर्णय भएको हो । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी र आयुक्त सुमन शम्शेर राणाले थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिने पक्षमा मत दिए भने आयुक्त जानकी तुलाधर विपक्षमा उभिएकी थिइन् ।

अब कांग्रेस एकातिर वैधानिक मान्यता पाएको नयाँ नेतृत्वसहित औपचारिक बैठकतर्फ अघि बढिरहेको छ भने अर्कातिर पुरानो नेतृत्व आन्दोलन र अदालतको बाटो रोज्दैछ । एउटै पार्टीभित्र दुई ध्रुव, दुई बैठक र दुई रणनीतिले कांग्रेसको आगामी राजनीतिक यात्रालाई झनै पेचिलो बनाएको छ ।

आयाेगले गगन पक्षलाई मान्यता दिएपछि देउवा पक्षले बोलायो बैठक

काठमाडाैं । निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित भएको गगन कुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता प्रदान गरेपछि देउवा पक्षीय कांग्रेस केन्द्रीय कार्यसमितिको पहिलो बैठक भोली बिहान बस्ने भएको छ। 

सानेपामा बस्ने उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य एवं सातवटै प्रदेशका प्रदेश सभापतिहरुलाई बैठकमा अनिवार्य रुपमा सहभागी हुन भनिएको छ ।

यसअघि कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आयोगकाे निर्णयलाई स्वीकार नगर्ने प्रतिक्रिया दिएका थिए ।

आयोगबाट मान्यता पाएपछि गगन थापाको अपिल: एकताबद्ध बनाएर निर्वाचनमा जानुपर्छ

काठमाडौं।  नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टी पंक्तिलाई एकताबद्ध भएर अगाडि बढ्न अपिल गरेका छन्। निर्वाचन आयोगले शुक्रबार साँझ थापाको नेतृत्वमा रहेको नेपाली कांग्रेसलाई झण्डा र चुनाव चिन्हसहितको आधिकारिकता प्रदान गरेपछि उनले प्रेस विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन्।

थापाले विशेष महाधिवेशनमार्फत नेपाली कांग्रेसमा विधि, विधान र पद्धति स्थापित भएको दाबी गर्दै यसलाई विवादको विषय नबनाउन आग्रह गरेका छन्। ‘नेपाली कांग्रेसमा विधि, विधान र पद्धति स्थापित भएको छ। निर्वाचन आयोगले संविधान, प्रचलित कानून र पार्टी विधानअनुसार निर्णय गरेको छ। यसप्रति हामी आभारी छौं,’ विज्ञप्तिमा उल्लेख छ।

उनले यो निर्णय नेपाली कांग्रेसका सदस्य र शुभेच्छुकहरूले पार्टीमा सार्थक परिवर्तन र देशको समुन्नतिका लागि गरेको इमानदार प्रयत्नको साझा परिणाम भएको बताएका छन्। पार्टी अब नेताको चाहनाले मात्र होइन, आम सदस्यको चाहनाले चल्ने स्थापित भएको उनको भनाइ छ।

थापाले विशेष महाधिवेशनमा सहभागी भए–नभएका, सहमत वा असहमत सबै नेता–कार्यकर्तालाई संयमित र जिम्मेवार बन्न आग्रह गर्दै कांग्रेसलाई जय–पराजयको विषयमा नअल्झाउन अनुरोध गरेका छन्। ‘अब कांग्रेस नवीन ऊर्जा र एकतासहित रुपान्तरणको दिशामा अघि बढेको छ। रिफर्मको यात्रा सुरु भइसकेको छ,’ उनले भने।

आसन्न निर्वाचनमा उच्च आत्मविश्वासका साथ एकढिक्का भएर लाग्नुपर्ने उल्लेख गर्दै थापाले पूर्व सभापति शेरबहादुर देउवासहित पार्टीका सबै तहका नेताहरूबाट लोकतान्त्रिक प्रक्रियालाई स्वीकार गर्दै पूर्ण सहयोग रहने विश्वास व्यक्त गरेका छन्।

‘आजबाट कांग्रेसमा कुनै गुट छैन, गुटगत भागबण्डा हुनेछैन,’ भन्दै उनले पार्टी आम मानिसको सार्वजनिक पुँजी भएको उल्लेख गरेका छन्। कांग्रेस अब मूल्य र सिद्धान्तविपरीत कुनै सम्झौता नगर्ने र सत्ताका लागि अप्राकृतिक गठबन्धनको अन्त्य गर्ने प्रतिबद्धता पनि उनले जनाएका छन्।

अन्त्यमा, थापाले लोकतन्त्र र समुन्नत नेपालको निर्माणका लागि कांग्रेसले नेतृत्व गर्ने उल्लेख गर्दै सम्पूर्ण शहीदप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।

अब आवेग होइन, एकता रोजौं

नेपाली कांग्रेसको विशेष महाधिवेशन सम्पन्न भइसकेपछि निर्वाचन आयोगले आज साँझ विशेष महाधिवेशनले दिएको निर्णयबमोजिम नेपाली कांग्रेस पार्टीको नेतृत्वलाई अध्यावधिक गर्ने निर्णय गरेको छ।

निर्वाचन आयोगले विधिको जगमा उभिएर नेपालको संविधान, प्रचलित कानूनहरू, नेपाली कांग्रेसको विधानको आधारमा जे निर्णय गरेको छ, यो निर्णयले आगामी दिनका लागि समेत एउटा ऐतिहासिक नजीर कायम गरेको छ। नेपाली कांग्रेस पार्टीको विशेष महाधिवेशन आयोजना गर्नका लागि दूरदराजका गाउँहरूमा बसेर, प्रदेशहरूमा बसेर, जो–जो आदरणीय साथीहरूले हस्ताक्षर गर्नुभयो, माग दर्ता गर्नुभयो, उहाँहरू सबैलाई म विशेष बधाई दिन चाहन्छु। साथै, म आग्रह गर्न चाहन्छु—यो विधिवत् प्रक्रियाबमोजिम जे भएको छ, त्यसलाई हामीले एउटा नवीन कांग्रेसको सुरुवातको रूपमा, नवीन नेपालका लागि नवीन कांग्रेसको सुरुवातको रूपमा लिनुपर्छ।

निर्वाचन आयोगमा एक प्रकारको बहस भयो। कसले नेपाली कांग्रेस पार्टीको नाम, झण्डा अथवा चुनाव चिह्न प्राप्त गर्ने भन्ने कोणबाट पनि विविध दाबीहरू रहे। निर्वाचन आयोगले विशेष महाधिवेशनले गरेको निर्णयको पक्षमा निर्णय गरे आन्दोलन पनि गर्छौँ भन्ने खालका अभिव्यक्तिहरू पनि आए। एउटा परिस्थितिमा आवेगका कुरा पनि भएका होलान्। तर, म यो बेला पार्टीका सबै श्रद्धेय अग्रज नेताहरूलाई सविनय नम्र निवेदन गर्न चाहन्छु—इतिहासको यो घडीमा विधि र प्रक्रियाको बाटोबाट जे निर्णय भएको छ, त्यसले जे नवीन सुरुवात गर्दैछ, त्यो सुरुवातको यो घडीमा हामी अब पुराना आवेगका कुराहरू बिर्सनुपर्छ। हामी सबै एकताबद्ध भएर अघि बढ्नुपर्छ।

माघ ६ गते उम्मेदवारी दर्ता छ। गगन थापा सभापति रहनुभएको नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिले उम्मेदवारी चयन सम्बन्धी प्रक्रियालाई अगाडि बढाइसकेको छ। पार्टीका साथीहरूले देशभरिबाट कहाँ उम्मेदवार सर्वसम्मत सिफारिस भएका छन्, त्यसलाई अलग्गै छुट्याइसक्नुभएको छ, छुट्याउँदै हुनुहुन्छ। कहाँ उम्मेदवार चयन गर्दा अलिकति थप ध्यान दिनुपर्ने, मिलाउनुपर्ने अवस्था छ, त्यसतर्फ ध्यान दिँदै हुनुहुन्छ। त्यसलाई सूचीकरण गर्दै हुनुहुन्छ। भोलि हामी बैठक बस्दा त्यसबारे साथीहरूले तयार गर्नुभएको विवरण हेरेर नेपाली कांग्रेसको कामको गतिलाई हामी अगाडि बढाउँदै जानेछौँ।

विशेष महाधिवेशन सम्पन्न भएको भोलिपल्टै, मध्यरातपछि माघ सङ्क्रान्तिको बिहान बैठक बसेर नेपाली कांग्रेस पार्टीको निर्वाचन परिचालन समिति, आगामी निर्वाचनका लागि संकल्पपत्र तथा घोषणापत्र लेख्ने समिति, उम्मेदवार चयनका लागि संसदीय बोर्ड—यी सबै विषयमा निर्णय भइसकेको छ।

पछिल्लो भदौ २३ र २४ गतेको आन्दोलनले देशलाई नयाँ परिस्थितितर्फ लैजाने संकल्प गर्‍यो। त्यस आन्दोलनमा जीवन गुमाएका नेपाली होनहार युवाप्रति म श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु। आन्दोलनमा जीवन गुमाएका छोराछोरीका आमा–बुबाप्रति भावनात्मक एक्यबद्धता प्रकट गर्न चाहन्छु। नेपाली कांग्रेस पार्टीका तर्फबाट हामी अपिल, आग्रह र संकल्प गर्दछौँ—सात सालको क्रान्तिले देशलाई स्वतन्त्रता दिँदा कांग्रेसले नेतृत्व गर्‍यो, २०४६ सालमा प्रजातन्त्र दिलाउँदा कांग्रेसले नेतृत्व गर्‍यो, २०६३ सालमा शान्ति स्थापना गर्दा कांग्रेसले नेतृत्व गर्‍यो, संविधान निर्माण गरेर २०७२ सालमा पुग्दा कांग्रेसले नेतृत्व गर्‍यो। मधेस आन्दोलनले अघि सारेको संघीयताको मुद्दालाई नेपाली कांग्रेसले पहिल्यै दस्तावेजीकरण गरेर केन्द्रीय रूपमा नीतिगत रूपमा उठाएको थियो। त्यसलाई सम्बोधन गर्दै संविधानमा अङ्कन गर्ने, संविधानअनुसार चुनाव गराउने काम नेपाली कांग्रेसले गर्‍यो। अब स्वतन्त्रता, प्रजातन्त्र, समावेशिता, शान्ति स्थापना र संविधान निर्माणपछि देशले माग गरेको सुशासन प्रत्याभूत गर्ने घडी आएको छ। यस विषयमा नेपाली कांग्रेस पार्टी पूर्ण रूपमा स्पष्ट छ।

हामीले स्वीकार गरेका छौँ—बितेका ३४ वर्षमा ३० वटा सरकार बन्नु हाम्रो कमजोरी थियो। यसप्रति हामी आत्मालोचित छौँ। आज नेपाली कांग्रेस पार्टीलाई विधिवत् रूपमा नयाँ ढंगले अघि बढाउने मार्ग प्रशस्त भएको छ। देशभरिका तथा विदेशमा रहेका साथीहरूलाई सम्मान व्यक्त गर्दै म आग्रह गर्न चाहन्छु—यो यात्रा टुंगिएको होइन, यो यात्रा सुरु भएको हो। यात्रा सुरु हुँदै गर्दा विशेष महाधिवेशनको उद्घाटन समारोहमा भनेको वाक्य दोहोर्‍याउन चाहन्छु—जो बदलिन्छन्, तिनैले बदल्न सक्छन्। अब हामीले बदल्ने संकल्प गर्नुपर्छ।

यो घडी कसैले कसैप्रति आवेग नराखी अघि बढ्ने संकल्प गर्नुपर्छ। हिजो कसले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्नुभयो, कसले गर्नुभएन—अब त्यो दरार रहनु हुँदैन। विधि र विधानको जगमा गरिएको निर्णयको आधारमा कांग्रेसलाई बदल्दै लैजानु छ। त्यसैले अब हामीले आवेग होइन, एकता रोज्नुपर्छ। पार्टीका सभापति गगनकुमार थापाको वक्तव्य पनि सार्वजनिक भइसकेको छ। संस्थागत रूपमा यसलाई अपनत्वसहित अघि बढाउँ, पुरानो अध्याय यहीँ अन्त्य गरौँ।

इजरायल र इरानका नेतासँग रुसी राष्ट्रपति पुटिनको फोनवार्ता

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार इजरायल र इरानका नेताहरूसँग टेलिफोन वार्ता गरेका छन् । इरानमा भएको राष्ट्रव्यापी सरकार विरोधी प्रदर्शनको कडा जवाफमा इरानी सुरक्षा बलले गरेको कारबाहीमा हजारौँको मृत्यु भएको खबरहरू बाहिरिएपछि रूसी नेताले इरानी र इजरायली अधिकारीसँग फोनवार्ता गरेका हुन्।

इरानमा भएका प्रदर्शनमा व्यापक दमनपछि इजरायलको प्रमुख सहयोगी संयुक्त राज्य अमेरिकाले इरानमा सैन्य कारबाही गर्नसक्ने चेतावनी दिएको थियो। इरान र इजरायलबीच गत जुनमा छोटो युद्ध भएको थियो जसमा इजरायलले इरानको सैन्य र आणविक केन्द्रहरुमा आक्रमण गरेको थियो । इरानका तीन प्रमुख आणविक केन्द्रमा आक्रमण गर्दै अमेरिका केही समयका लागि उक्त आक्रमणमा सामेल भएको थियो ।

शुक्रबार रुसी राष्ट्रपति पुटिनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र इरानी राष्ट्रपति मसूद पेजेस्कियानसँग सम्पर्कमा रहेको जानकारी गराएका छन् । रूसी प्रशासनिक केन्द्र क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भने, ‘यस क्षेत्रको स्थिति निकै तनावपूर्ण छ र राष्ट्रपतिले तनाव कम गर्न आफ्नो प्रयास जारी राखेका छन्।’

मस्को इरानको नजिकको सहयोगी हो । उसले इजरायलसँग राम्रो सम्बन्धका लागि पनि प्रयास गरेको छ। यद्यपि सन् २०२३ अक्टोबर ७ देखि गाजामा इजरायलको कार्यको रुसी आलोचनाको बीचमा ती सम्बन्धहरू तनावपूर्ण भएका थिए । शुक्रबार इजरायली नेता नेतान्याहुसँगको कुराकानीमा क्रेमलिनले रुसले मध्यस्थताको प्रयासलाई निरन्तरता दिन आफू तयार रहेको बताएको छ । इरानमा भइरहेको प्रदर्शनबारे अहिले के प्रयास भइरहेको छ भन्ने स्पष्ट पारेको छैन । मस्कोले यसअघि युद्धका बेला मध्यस्थताको प्रस्ताव गरेको थियो ।

मस्कोले चाँडै नै इरानी राष्ट्रपतिसँगको टेलिफोन वार्ताबारे जानकारी सार्वजनिक गर्ने बताएका छन् । नेतान्याहूले आइतबार विरोध प्रदर्शनका बीच इरान चाँडै नै ‘निरंकुशताको पञ्जा’ बाट मुक्त हुने विश्वास व्यक्त गरेका थिए । यद्यपि, दमन र एक हप्ता लामो ‘इन्टरनेट ब्ल्याकआउट’को सामना गर्दै पछिल्ला केही दिनहरूमा प्रदर्शनहरू कम भएको देखिन्छ ।

इरानले बारम्बार अमेरिका र इजरायलमाथि अशान्ति भड्काएको र इस्लामिक गणतन्त्रको राष्ट्रिय एकतालाई कमजोर पार्न खोजेको आरोप लगाउँदै आएको छ । साउदी अरब, कतार र ओमानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानमाथि हुन लागेको आक्रमणबारे वार्ता गर्न पहल गरिरहेको साउदी अरबका एक वरिष्ठ अधिकारीले बिहीबार एएफपीलाई बताए ।

गगनले पाए रूख र चार तारे झन्डा, आयोगले दियो विशेषलाई मान्यता

नेपाली कांग्रेसको नेतृत्व विवादसम्बन्धि निर्वाचन आयोगले आफ्नो निर्णय दिएको छ । १४औं महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवा वा शुक्रबार सकिएको विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वमध्ये कुन आधिकारिक भन्ने विवाद शुक्रबार नै निर्वाचन आयोग पुगेको थियो ।

शुक्रबार साँझ आयोगले विशेष महाधिवेशनको पक्षमा निर्णय गरेपछि गगन थापा सभापति रहेको नेपाली कांग्रेसको नेतृत्व आधिकारिक बनेको छ । यद्यपी, आयोगको यो निर्णयलाई स्वीकार नगरे देउवा पक्ष सर्वोच्च अदालत जान सक्ने छ ।

नेतृत्वको आधिकारिकता सम्बन्धि विवादका कारण शुक्रबार दिनभरि कान्तिपथ तनावग्रस्त भएको थियो ।  गगन थापा नेतृत्वको विशेष महाधिवेशनबाट निर्वाचित कांग्रेस र शेर बहादुर देउवा नेतृत्वकाे कांग्रेस समूहका कार्यकर्ताले निर्वाचन आयोग अगाडि प्रदर्शन गरेका थिए । प्रदर्शनमा गगन समूहले वैधानिक कांग्रेस यता छ, गगन-विश्व जिन्दावाद भन्दै नाराबाजी गरिरहेका थिए भने देउवा समूहका प्रदर्शनकारीले किर्ते भेला बन्द गर, हामी केही जान्दैनौ-विशेष भेला मान्दैनौं भन्दै नाराबाजी गरिरहेका थिए । एकअर्को पक्षका विरुद्धमा नाराबाजी गरिरहेका उनीहरूले नेपाली कांग्रेस जिन्दावादको नारा भने समान रूपमा लगाइरहेका थिए ।

नेपाली कांग्रेसका छुट्टाछुट्टै समूह वैधताको प्रश्न सहित निर्वाचन आयोग धाइरहेका थिए । विशेष महाधिवेशनबाट निर्वाचित गगन नेतृत्वको कांग्रेसले  आफू आधिकारिक भएको भन्दै बिहीबार पुरानो पार्टी कार्यसमितिको सूची अद्यावधिक गर्न निर्वाचन आयोग पुगेपछि देउवा पक्ष आफू आधिकारिक भएको भन्दै शुक्रबार बिहानै आयोग पुगेको थियो । त्यसको तीन घण्टापछि गगन नेतृत्वको कांग्रेस वैधताको प्रश्नसहित आयोग अगाडि धर्ना नै बस्यो । 

त्यसको केही समय नबित्दै कान्तिपथ नेपाली कांग्रेसका दुई छुट्टाछुट्टै समूहका प्रदर्शनले दुई घण्टाभन्दा बढी समय जाममा परिरह्यो । प्रदर्शनमा उत्रिएका दुवै पक्षले एकअर्कालाई विधानको विपरीत गएर गतिविधि गरेको आरोप लगाए ।

विधानको छुट्टाछुट्टै व्याख्या 

जमल कान्तिपथमा प्रदर्शनमा जुटेका देउवा पक्षीय काङ्ग्रेस र गगन पक्षीय काङ्ग्रेस कार्यकर्ताले आ-आफ्नै तरिकाले विधानको व्याख्या गरिरहेका थिए। ४० प्रतिशत महाधिवेशन प्रतिनिधीले विशेष महाधिवेशन बोलाउन सक्ने विधानको व्यवस्था रहेको गगन पक्षको दाबीलाई देउवा पक्षले केन्द्रीय कार्यसमिति बाहेक अरु कसैले महाधिवेशन बोलाउन नसक्ने भन्दै खण्डन गरिरहेको थियो। 

देउवा पक्षबाट प्रदर्शनमा आएका एक काङ्ग्रेस कार्यकर्ताले विशेष महाधिवेशनमा देखाईएको हस्ताक्षर ‘फेक’ भएको आरोप लगाए। ‘पार्टीको विधान मान्छ भने विधानमा टेकेर सय सत्ताइस जना केन्द्रीय सदस्यहरूले हस्ताक्षर गर्‍या छन्,’ ती कार्यकर्ताले भने, ‘मेरै जिल्ला, सुन्नुस्, म सुनसरी जिल्लाको हो, मेरो जिल्लाको दुई नम्बरक्षेत्रको एक महाधिवेशन प्रतिनिधि बितिसक्यो। उहाँको पनि सिग्नेचर आएको छ। उहाँ स्वर्गबाट आएर सिग्नेचर गर्नुभा हो? कसले गर्‍यो त्यसरी, कसले गर्‍यो त?’

साथै उनले निर्वाचन आयोगले विधि र विधानमा टेकेर निर्णय दिएन भने देशैभरका निर्वाचन आयोगमा आगो बाल्ने चेतावनी समेत दिए।’ चुनाव होइन, हामी सतहत्तरै जिल्लाको निर्वाचन आयोगमा आगो बाल्छौँ’ उनले भने। 

त्यस्तै, देउवापक्षकै अर्की कार्यकर्ता यशोदा भट्टले आफू विधि, विधान र कानुनको पक्षमा रहेको बताइन्। ‘कानुन प्रक्रियामा हिँड्न सक्नुपर्‍यो, कानुन हेर्नुपर्‍यो, हामी भनेको कानुन क्षेत्रमा हिँडेका मान्छे हौँ’, उनले भनिन्, ‘नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा कानुनमा हिँडेको मान्छे हो।  विशेष महाधिवेशन भन्नेले कानुन मिचेर बस्नुभएको छ नि ।’

यता गगन पक्षीय कार्यकर्ताले भने विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई निर्वाचन आयोगले वैधता प्रदान गर्ने क्रममा रहेकाले उपस्थित भएको प्रतिक्रिया दिए। ‘पार्टीको कार्यसमिति परिवर्तन भएकाले हामी त्यसलाई अधावधिक गर्न आयोगमा उपस्थित भएका हौ’, प्रदर्शनमै सहभागी एक कार्यकर्ताले भने, ‘निर्वाचन आयोगको निर्णय पर्खेर बसिरहेका छौँ, आयोगले हामीलाई नै वैधता दिन्छ भन्नेमा विश्वस्त छौँ।’ 

अधिवक्ता दिनेश त्रिपाठीले कांग्रेसमा निम्तिएको यो विवादको जिम्मेवार पार्टी सभापति लगायत संस्थापन भएको बताए। ‘४० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन आह्वान गरिसकेपछि अधिवेशन बोलाउने जिम्मा पार्टी सभापतिको हो, तर उहाँले किन बाेलाउनु भएन मलाइ थाहा छैन,’ उनले भने, ‘अब महाधिवेशन सम्पन्न भइसक्यो। ५६ प्रतिशत भन्दा बढी महाधिवेशन प्रतिनिधीले नयाँ नेतृत्व चुनिसक्यो, यसैले वैधता पाउँछ।’

यो विवादलाई चिर्दै आयोगले विशेष महाधिवेशन र यसले निर्वाचित गरेको नेतृत्वलाई मान्यता दिएको हो ।     

देउवा पक्षका कसैप्रति ‘गालीगलौज’ नगर्न गगन–विश्वको निर्देशन

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता विवाद उत्कर्षमा पुगेका बेला गगन थापा–विश्वप्रकाश शर्मा समूहले शेरबहादुर देउवा पक्षका नेता–कार्यकर्तामाथि कुनै पनि प्रकारको गालीगलौज नगर्न स्पष्ट निर्देशन दिएको छ । सामाजिक सञ्जालदेखि सार्वजनिक अभिव्यक्तिसम्म संयम अपनाउन सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले आन्तरिक सर्कुलर नै जारी गरिसकेको उक्त समूहका एक पदाधिकारीले बताएका छन् ।

उनका अनुसार भविष्यमा पार्टीको आधिकारिकता कसको पक्षमा आए पनि सबैलाई समेटेर अघि बढ्नु पर्ने भएकाले अहिले नै कटु शब्द प्रयोग नगर्न नेतृत्वले सचेत गराएको हो । ‘भोलि हामीले आधिकारिकता पाए पनि पार्टी एकताबद्ध बनाएर लैजानु पर्छ । त्यसैले अहिले अर्को पक्षमा रहेका नेताहरूलाई लक्षित गरेर गालीगलौज नगर्न सभापति र उपसभापतिले निर्देशन दिनु भएको छ,’ ती पदाधिकारीले भने ।

यसअघि देउवा पक्षले भने गगन थापा पक्षका नेता–कार्यकर्ताबाट सामाजिक सञ्जालमा अपशब्द प्रयोग भएको भन्दै असन्तुष्टि जनाउँदै आएको थियो । यही विवादका बीच बिहीबार दुवै पक्ष निर्वाचन आयोग पुगेका छन्। गगन थापा नेतृत्वको समूह आधिकारिकता दाबी गर्दै आयोगभित्र छलफलमा जुटेको थियो भने शेरबहादुर देउवा पक्षका नेता–कार्यकर्ता आयोग बाहिर नाराबाजी गर्दै उपस्थित भएका थिए । देउवा समूहले ‘विशेष महाधिवेशन चिन्दैनौं’, ‘शेरबहादुर देउवा जिन्दावाद’ र ‘नेपाली कांग्रेस जिन्दावाद’का नारा लगाएका थिए ।

आयोगभित्र छलफल सकेर गगन थापा समूह बाहिरिँदा उपसभापति विश्वप्रकाश शर्माले महामन्त्री प्रदीप पौडेललाई फोन गरेर बाहिरिन आग्रह गरेको बताइएको छ । यद्यपि, केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले कार्यकर्तालाई आयोग परिसर नछाड्न आग्रह गर्दै गेटमै रोक्न खोजेका थिए । प्रहरीले भने सुरक्षा कारण देखाउँदै परिसर खाली गर्न निर्देशन दिइरहेको थियो ।

निर्वाचन आयोगको कार्यालय र गेट वरिपरि दुवै पक्षका कार्यकर्ताको बाक्लो उपस्थिति भएपछि प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ । पार्टीको आधिकारिकतासम्बन्धी निर्णय निर्वाचन आयोगले गर्ने भएकाले अबको केही समय नेपाली कांग्रेसको आन्तरिक राजनीतिमा थप तनाव र प्रतीक्षा दुवै रहने देखिएको छ ।

 

 

 

 

निर्वाचन आयोगमा देउवा र गगन पक्षधर कांग्रेसको नाराबाजी

काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद निर्वाचन आयोगको कार्यालयमा शक्ति प्रदर्शनको रूपमा प्रकट भएको छ । पार्टीको संस्थापन पक्ष (शेरबहादुर देउवा नेतृत्व) र विशेष महाधिवेशन पक्ष (गगन थापा नेतृत्व) दुवैले एकअर्काविरुद्ध आधिकारिकताको दाबी गर्दै आयोग परिसरमा प्रदर्शन र धर्ना दिएका हुन् । विशेष महाधिवेशनबाट गगन थापालाई सभापति चयन गरेको पक्षले बिहीवार आधिकारिकताको माग गर्दै आयोगमा निवेदन दर्ता गराएको थियो ।

त्यसको प्रतिवादमा शुक्रवार बिहानै देउवा पक्षका शिर्ष नेता तथा कार्यकर्ताहरूको जम्बो टोली आयोग पुगेको हो । आयोग परिसरमा देउवा पक्षका नेताहरूले आफूहरू नै वैधानिक कांग्रेस भएको जिकिर गर्दै शक्ति प्रदर्शन गरेका छन् । संस्थापन पक्षका नेताहरूले विशेष महाधिवेशनलाई पार्टी विधानविपरीत भएको भन्दै आलोचना गरेका छन् । उनीहरूले यदि आयोगले विधान, संविधान र कानुनविपरीत निर्णय गरेमा देशव्यापी आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् ।

यता, गगन थापा पक्षले पनि आयोगमा दबाब बढाउँदै धर्ना तथा प्रदर्शन गरेको छ । उनीहरूले बहुमत महाधिवेशन प्रतिनिधिको समर्थनमा विशेष महाधिवेशनबाट चयन भएको नेतृत्व नै आधिकारिक भएको दाबी गरेका छन् । विशेष महाधिवेशनले नयाँ कार्यसमिति गठन गरिसकेको र पुरानो समिति स्वतः भंग भएको उनीहरूको तर्क छ । निर्वाचन आयोगले दुवै पक्षको निवेदन तथा दाबीमाथि छलफल गरिरहेको जनाएको छ ।

आयोगको निर्णय संविधान, राजनीतिक दलसम्बन्धी ऐन, पार्टी विधान र विगतका नजिरका आधारमा हुने बताइएको छ । नेपाली कांग्रेसको यो विवादले आगामी निर्वाचनलाई समेत प्रभावित पार्ने आशंका गरिएको छ । पार्टीको नाम, चुनाव चिन्ह ‘रुख’ र झण्डाको आधिकारिकता कसले पाउने भन्ने विषयमा आयोगको निर्णय निर्णायक हुने देखिन्छ । दुवै पक्षले आयोगको निर्णयलाई चुनौती दिने तयारी गरेका छन् । यो विवादले नेपालको सबैभन्दा पुरानो प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेस औपचारिक विभाजनको संघारमा पुगेको संकेत गरेको छ ।
तस्वीरहरु : अनुप प्रधान / न्युज एजेन्सी नेपाल

 

 

कांग्रेस विभाजनबारे ओली : कसैले सडकमा बहुमत पुर्‍याएँ भनेका भरमा हुन्छ ?

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस विभाजनतर्फ उन्मुख हुनु मुलुकको लोकतन्त्रका लागि गम्भीर चिन्ताको विषय भएको बताएका छन् । पार्टीको विधान, विधि र संस्थागत प्रक्रियालाई बेवास्ता गर्दै सडकको भीडलाई बहुमत ठान्ने प्रवृत्तिले लोकतन्त्र नै संकटमा पर्ने उनको चेतावनी थियो ।

आज (शुक्रबार) काठमाडौंमा आयोजित एमालेको राजधानी प्रदेश कमिटी घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले विशेष महाधिवेशनको नाममा पार्टी विधान लत्याउने र सडकबाट बहुमत प्रमाणित गर्न खोज्ने अभ्यासले समाजलाई अराजकतर्फ लैजाने षड्यन्त्र भइरहेको आरोप लगाए । ‘बैठक कसले बोलाउने, महाधिवेशन कसले बोलाउने भन्ने थिति हुन्छ। बहुमत–अल्पमत टुंग्याउने विधि हुन्छ’, उनले भने, ‘कसैले सडकमा बहुमत पुगेको छ भनिदिँदैमा बहुमत पुग्छ ?’

कांग्रेस विभाजनको अवस्थामा पुग्नु आफूलाई आश्चर्य र पीडादायी लागेको उल्लेख गर्दै ओलीले लोकतन्त्र, संविधान र कानूनी शासन मिचिएको वर्तमान अवस्थामा कांग्रेस जस्तो पार्टीले आन्तरिक झगडामा अल्झिनु दुर्भाग्यपूर्ण भएको बताए । ‘लोकतन्त्रका लागि लड्नुपर्ने बेला पार्टी फुटाउने स्थितिमा कांग्रेस पुगेको छ’, उनले प्रश्न गरे, ‘यो कांग्रेसका नेता–कार्यकर्ताका लागि चिन्ताको विषय होइन र ?’ अध्यक्ष ओलीले एमालेभित्र पनि सानातिना असन्तुष्टि थाती राखेर एकताबद्ध हुन कार्यकर्तालाई आग्रह गरे । ‘अहिले असन्तुष्टि संकलन गरेर चाङ लगाएर हिँड्ने बेला होइन’, उनले भने, ‘देश, जनता, लोकतन्त्र, शान्ति र सुशासनका लागि दिल खोलेर लड्ने बेला हो ।’

सामाजिक सञ्जालमा आक्रामक हुन निर्देशन

कार्यक्रममै अध्यक्ष ओलीले आगामी निर्वाचनलाई लक्षित गर्दै एमाले कार्यकर्तालाई सामाजिक सञ्जालमा सक्रिय हुन विशेष निर्देशन दिएका छन् । ‘अबको लडाइँ सामाजिक सञ्जालबाट पनि लड्नुपर्छ’, उनले भने, ‘दिनमा कम्तिमा १० वटा मेसेज गर्नुस्, १० वटा स्टाटस लेख्नुस् । राम्रो कामको प्रशंसा गर्नुस्, लाइक थिच्न कञ्जुस्याइँ नगर्नुस् ।’ अहिले विश्राम गर्ने समय नभएको उल्लेख गर्दै उनले ‘४० कटेपछि रमाऔंला’ गीतको उदाहरण दिए ।

‘अहिले थकाइ मार्ने बेला होइन, चुनावपछि थकाइ मारौंला’, उनले भने । आगामी प्रतिनिधिसभा निर्वाचन जुनसुकै महिनामा भए पनि एमालेले ‘स्विप आउट’ गर्ने दाबी गर्दै उनले सानो अन्तरले होइन, ठूलो मतान्तरले जित्नुपर्नेमा जोड दिए ।एमाले नै देशको सबैभन्दा सशक्त, संगठित र एकीकृत पार्टी भएको दाबी गर्दै ओलीले भने, ‘वडा–टोलसम्म संगठन भएको पार्टी अरू कसैको छैन । उम्मेदवार खोज्न हात उठाउनु पर्ने अवस्था अरूको छ ।’ आगामी चुनावपछि एमाले प्रमुख दल बन्ने उनको विश्वास थियो ।

 

 

 

कांग्रेसको दुई समूहको उपस्थितिले निर्वाचन आयोगमा तनाव, उच्च सुरक्षा सतर्कता

काठमाडौं । नेपाली कांग्रेसको दुई पक्षको उपस्थितिले निर्वाचन आयोग कार्यालय परिसरमा तनाव सिर्जना भएको छ । भर्खरै सम्पन्न भएको विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कांग्रेससँग छलफल चलिरहेका बेला सानेपाबाट पत्रकार सम्मेलन आयोजना गरी पुनः निर्वाचन आयोग पुगेको देउवा पक्षीय कांग्रेसका नेता–कार्यकर्ताबीच विवादको अवस्था सिर्जना भएको हो ।

जसका कारण अहिले आयोग कार्यालय परिसरमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ । दुवै पक्षका कांग्रेसले आफू आधिकारिक भएको दावी गर्दै आयोगमा निवेदन दिएका थिए । सोही निवेदनका आधारमा आयोगले आज दुबै समूहसँग छलफल गरेको थियो । आयोगले पहिलो चरणमा शेरबहादुर देउवा नेतृत्वको कांग्रेससँग पार्टीको आधिकारिकता, चुनाव, चिन्ह र झण्डका विषयमा छलफल गरेको थियो । त्यसपछि उक्त पक्ष आफ्नो पार्टी कार्यालय सानेपा फर्किएको थियो ।

देउवा पक्षीय कांग्रेससँगको छलफलपछि गगन थपा नेतृत्वको कांग्रेस नेता–कार्यकर्ता आधिकारिकता दावीसहित आयोगमा धलफल गर्न पुगेका थिए । उनीहरुले आफूलाई आधाकारितकता दिनुपर्ने दावी गर्दै धर्ना समेत दिएका थिए । सानेपामा पत्रकार सम्मेलनपछि देउवा नेतृत्वको कांग्रेस नेता–कार्यकर्ता पुनः आयोग पुगेपछि तनावको अवस्था सिर्जना भएको हो । सानेपाको पत्रकार सम्मेलनमा कांग्रेस कार्यवाहक उपसभापति पूर्णबहादुर खड्काले आयोगले आफूहरुलाई आधिकारिकता नदिए देशभर आन्दोलन गर्ने चेतावनी दिएका थिए ।

 

 

दुई दिनभित्र १६५ क्षेत्रका उम्मेदवार टुंग्याउँछौं, आयोगले छिटो निर्णय देओस् : विश्वप्रकाश

काठमाडौं । नेपाली कांग्रेस (गगन पक्ष) ले आगामी निर्वाचनका लागि १६५ क्षेत्रका उम्मेदवार दुई दिनभित्रै टुंग्याउने तयारी गरेको छ । उपसभापति विश्वप्रकाश शर्माले निर्वाचन आयोगसँग छिटो निर्णय दिन आग्रह गर्दै कांग्रेसको विषयमा आयोगसँग पूर्ण सहकार्य रहने बताए ।

शर्माले शुक्रबार निर्वाचन आयोगमा आयोजित छलफलमा भने, ‘सभापति गगन थापाको अध्यक्षतामा बसेको बैठकले संसदीय बोर्ड गठन गरेर चुनावको तयारी सुरु गरिसकेको छ । हामी दुई दिनभित्रै सबै १६५ क्षेत्रका उम्मेदवार टुंग्याउने गरी काम गरिरहेका छौं । निर्धारित समयमा चुनाव हुन आयोगलाई हाम्रो साथ रहन्छ, तर निर्णय ढिला नगरियोस् ।’ कांग्रेसको नियमित महाधिवेशन नहुँदा विधानको धारा १७ अनुसार विशेष महाधिवेशन गर्नु बाध्यकारी रहेको उनले बताए। अर्की उपसभापति पुष्पा भुसालले पनि विशेष महाधिवेशनको निर्णय अनुसार दल अद्यावधिक गर्न आयोगसँग आग्रह गरेकी छन् ।

विशेष महाधिवेशनको मागलाई लिएर हस्ताक्षर फिर्ता हुने विषयमा विवाद छ । शर्माले आयोगमा जानकारी गराए अनुसार, विशेष महाधिवेशन माग गर्ने ९० जनामध्ये हालसम्म २९ जनाले मात्रै हस्ताक्षर फिर्ता गरेका छन् । यसअघि शेरबहादुर देउवा पक्षले भने ८८५ जनाले हस्ताक्षर फिर्ता गरेको दाबी आयोगमा पेश गरेको थियो। शर्माले जवाफ दिँदै भने, ‘कसैले हस्ताक्षर फिर्ता गरे पनि त्यसलाई अन्यथा बुझ्नु हुँदैन । विधि र समयअनुसार मात्र फिर्ता मान्य हुनेछ। माघ ६ गते प्रतिनिधि सभाका लागि उम्मेदवारी दर्ता छ, त्यसअघि फिर्ता भए मात्र मान्य हुन्छ । त्यसपछि फिर्ता भनेको दाबी मान्य हुँदैन ।’

उपसभापति शर्माले स्पष्ट पारे, ‘हाम्रो विशेष महाधिवेशनको समयावधिभित्र फिर्ता गरिएको संख्या २९ जना हो। गाउँ फर्किसकेपछि फिर्ता भनेकालाई मान्न नमिल्ने र दाबी खारेज हुने नियम छ ।’ यो विवाद कांग्रेसभित्रको आन्तरिक संघर्ष र आगामी निर्वाचन तयारीलाई लिएर आयोगसँगको समन्वयमा के कस्तो असर पार्नेछ, भन्ने विषयमा राजनीतिक विश्लेषकहरू ध्यान दिइरहेका छन् ।

 

 

 

 

महान्यायाधिवक्ताको निर्णय : सबै सहकारी ठगीका अभियुक्तको मुद्दा संशोधन स्वीकृत

काठमाडौँ । महान्यायाधिवक्ता सविता भण्डारीले रवि लामिछानेसँग जोडिएका मात्र होइन, सहकारी ठगीसँग सम्बन्धित सबै अभियुक्तको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोगपत्र संशोधन गर्न स्वीकृति दिने निर्णय गरेकी छन्। पहिले भण्डारीले लामिछानेको हकमा मात्र अभियोगपत्र फिर्ता लिन निर्देशन दिएकी थिइन् ।

तर यस विषयमा विवाद उठेपछि र नेपाल बार एशोसिएसन लगायतको दबाबपछि उनले सर्वसमान आधारमा सबै अभियुक्तको हकमा निर्णय सच्याएकी बताइन् । भण्डारीले भनिन्, ‘हामीले विभेद गर्न मिल्दैन । सबैलाई एउटै निर्णय हुनेछ ।’यसअघि लामिछानेको मुद्दा फिर्ता गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ ।

अधिवक्ता आयुष बडाल, आभास रेग्मी, स्मृति अधिकारी, प्रवीण पौडेल र युवराज पौडेलले संयुक्त रूपमा रिट दायर गरी महान्यायाधिवक्ताको निर्णय संविधान र कानूनविपरीत भएको भन्दै बदरको माग गरेका छन् । सर्वोच्च अदालतले रिट अध्ययन गरिरहेको छ र रिट दर्ता हुने वा नहुनेबारे आइतबार निर्णय हुने जनाइएको छ । महान्यायाधिवक्ता कार्यालयले गत पुस ३० गते राष्ट्रिय स्वतन्त्र पार्टी सभापति लामिछानेमाथि लागेको मुद्दा फिर्ता लिने निर्णय गरेको थियो ।

 

 

 

आन्दोलनको धम्कीले आयोग प्रभावित हुँदैन भन्ने विश्वास छ : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको विवाद र आन्दोलनको धम्कीले निर्वाचन आयोग प्रभावित नहुने विश्वास व्यक्त गरेका छन् । उनी विशेष महाधिवेशनबाट निर्वाचित भएका हुन् र हाल निर्वाचन आयोगलाई पार्टीको विधान कार्यान्वयनबारे जानकारी गराउन पुगेका थिए ।

उपसभापति शर्माले केहीबेरअघि कांग्रेस केन्द्रीय कार्यालयमा भएको पत्रकार सम्मेलनको सन्दर्भ दिँदै भने, ‘निर्वाचन आयोगले हाम्रो पक्षमा निर्णय दिएन भने देशभर आन्दोलन गर्छौं भन्ने कुरा भर्खरै सुन्नु भयो होला । तर हामी विश्वास गर्छौं कि आयोग यस्तो धम्कीबाट प्रभावित हुँदैन र आफ्नो निष्ठा भुल्दैन ।’

उनीसँगै गगन थापाले पनि निर्वाचन आयोगमा उपस्थित भई पार्टीको विधान कार्यान्वयन सम्बन्धी अवस्था बुझाएका थिए । उनका अनुसार, पार्टीको केन्द्रीय समितिले विशेष महाधिवेशन मागकर्तालाई सम्बोधन नगरेपछि उनीहरूले स्वतन्त्र रूपमा महाधिवेशन आह्वान गर्नु परेको थियो ।

शर्माले आयोगलाई जानकारी दिँदै भने, ‘विशेष महाधिवेशनमार्फत निर्वाचित पदाधिकारी नै पार्टीको आधिकारिक प्रतिनिधि हुन् । कारबाही गर्ने कुरा कानुनसम्मत छैन । हामीले विशेष महाधिवेशन मागकर्ताले विधानअनुसार नै आह्वान गरेको हो । नियमित महाधिवेशनको तालिका नआएको अवस्थामा विशेष महाधिवेशनको प्रावधान अनुसार अघि बढ्नु स्वाभाविक हो ।’

थापाले पनि स्पष्ट पारे, ‘विशेष महाधिवेशन माग भएको ९० दिनभित्र सम्बोधन गर्नुपर्ने व्यवस्था विधानमा छ । १५औं महाधिवेशनको तालिका कार्यान्वयन नभएपछि हामी विशेष महाधिवेशन आह्वान गर्न बाध्य भयौं । कांग्रेसको विधान अनुसार केन्द्रीय कार्यालय महामहामन्त्री मातहत रहने व्यवस्था गरिएको छ र सोहीअनुसार प्रक्रिया अघि बढाइएको छ ।’ विशेष महाधिवेशनको निर्णयले पार्टीमा विवादित कारबाहीको कानुनी पक्षलाई पनि चुनौती दिएको छ । यसले पार्टीभित्रको नेतृत्व र विधान कार्यान्वयनबारे नयाँ बहस सुरु गरेको छ ।

 

 

 

घरधनीकै योजनामा लुटिएको थियो सिन्धुलीमा एसबिआई बैंक, सातै जना पक्राउ

सिन्धुली । पुस २९ गते साँझ सिन्धुलीको घ्याङलेख–२ हायुटारस्थित एसबिआई बैंक शाखामा भएको तीन करोड ७ लाख रुपैयाँको लुटपाटमा सात जनालाई पक्राउ गरिएको छ । पक्राउ परेकामध्ये बैंकको घरधनी छविलाल स्याङतान र उनका जेठान चतुरमान बज्यु मुख्य संलग्न व्यक्ति हुन् ।

जिल्ला प्रहरी प्रमुख एसपी लालध्वज सुवेदीका अनुसार, राति साढे ७ बजे लुटेराहरूले बैंकमा प्रवेश गरी सुरक्षागार्ड र कर्मचारीलाई नियन्त्रणमा लिएका थिए । बैंकभित्र प्रवेश गर्दा उनीहरूले प्लाष्टिकको पेस्तोल देखाएर ताल्चा खोलाएका थिए । सुरक्षागार्ड रुद्रबहादुर कार्कीलाई सामान्य घाइते बनाएपछि उनीहरूले पैसा बोरा र झोला भित्र राखेर जंगलतर्फ भागेका थिए ।

घटनामा ठूलो समूह संलग्न रहेको प्रहरीले जनाएको छ । बैंकबाट फरार भएकाहरूमध्ये केहीलाई करिब दुई किलोमिटर पूर्व लिपिखोलामा नियन्त्रणमा लिइएको थियो । प्रहरीले जंगल र विभिन्न स्थानमा लुकाइएको रकम पनि फेला पारेको छ। प्रारम्भिक खोजीमा २ करोड ६८ लाख ५५ हजार १७५ रुपैयाँ बरामद भएको छ भने बाँकी रकमको खोजी जारी छ ।

पक्राउ परेकामध्ये भागवतसिंह थापा (काभ्रेपलाञ्चोक, ४२ वर्ष), चतुरमान बज्यु (सिन्धुली, ४७ वर्ष), शशांक श्रेष्ठ (चितवन, २४ वर्ष), मिलन गिरी (नुवाकोट, २३ वर्ष), विवेक मगर (नुवाकोट, १९ वर्ष), छविलाल स्याङतान (सिन्धुली, ४४ वर्ष) र एक १६ वर्षीय नाबालक रहेको प्रहरीले जनाएको छ ।

एसपी सुवेदीले घटनाको योजनासम्बन्धी जानकारी पनि दिएका छन् । उनका अनुसार लुटपाटको योजना गत असोजदेखि नै बनाइएको थियो । पुस २३ गते पहिलो प्रयास असफल भएपछि पुस २८–२९ गते दोश्रो प्रयास सफल भएको थियो । बैंकको घरधनी स्याङतानले आवश्यक हातहतियारको व्यवस्था र सूचना आदानप्रदान गरेको पाइएको छ । प्रहरीले बाँकी रकम र अन्य संलग्न व्यक्तिहरूको खोजी जारी राखेको छ । पक्राउ परेकाहरूलाई अनुसन्धानका लागि जिल्ला अदालतबाट पाँच दिन हिरासत अनुमति लिइएको छ ।

खड्काको चेतावनी : निर्वाचन आयोगले वैधानिकता नदिए देशभर आन्दोलन गर्छौं

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले आफूहरुलाई आधिकारिकता नदिए देशभर आन्दोलन गर्ने चेतावनी दिएको छ । पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै यस्तो चेतावनी दिएका हुन् ।

उनले षड्यन्त्र र दबाबमा परेर निर्वाचन आयोगले पार्टी विधान र संविधानविपरित निर्णय गरेर वडा तहदेखि केन्द्रसम्म आन्दोलन चर्काउने चेतावनी दिए । उनले पार्टीको केन्द्रिय कार्यसमिति बाहेक कुनै पनि पदाधिकारीलाई विशेष महाधिवेशन बोलाउने अधिकार नभएको जिकिर गर्दै आफूहरु नै आधिकारिक भएको जिकिर गरे ।

उनले भने, ‘पार्टीको विधान, संविधान र निर्वाचनसम्बन्धी ऐन र दलसम्बन्धी ऐनको आधारमा भन्दा तलमाथि भएर यदि निर्वाचन आयोगले षड्यन्त्र र दबाबमा परेर संविधान र लोकतन्त्रमाथि बडारिएको कालो बादललाई साथ दिँदै आयोगले नेपाली कांग्रेसको विधानविपरित अन्यथा निर्णय गर्यो भने देशभर आन्दोलन गर्नेबाहेक हामीसँग विकल्प हुने छैन । प्रत्येक ठाउँमा नेपाली काँग्रेस चारतारे झण्डा र रुख लिएर हामी अगाडि बढ्छौँ । हामीलाई निर्वाचन आयोगले त्यस्तो गर्छ भन्न लागेको छैन । आशंका, अविश्वास र बाहिर आएका भ्रमहरुका आधारमा भनेका हौँ ।’ पुस अन्तिममा काठमाडौंमा सम्पन्न पार्टीको विषेश महाधिवेशनमार्फत नयाँ कार्यसमिति चयन गरेपछि कांग्रेस विभाजित भएको छ । पार्टीको संस्थापन पक्ष र विशेष पक्ष वैधानिकताको लडाइँमा छन् ।

कार्यकर्तालाई खड्काको निर्देशन : हामीविरुद्ध गलत निर्णय भए प्रतिकारका लागि तयार रहनू

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी कार्यकर्तालाई निर्वाचन आयोगको सम्भावित गलत निर्णयको सामना गर्न तयार रहन निर्देशन दिएका छन् । खड्काले आयोगले पार्टीको विधान र संविधान विपरित निर्णय गरे आन्दोलन र प्रतिकारको विकल्प खुला रहने स्पष्ट पारेका छन् ।

शुक्रबार बिहान निर्वाचन आयोग पुगेर फर्किएपछि सानेपस्थित पार्टी कार्यालयमा बोल्दै खड्काले भने, ‘पार्टीको विधान विपरित काम गरे आयोगले लोकतन्त्रको कालो बादललाई साथ दिनेछ भने अन्यथा निर्णय गर्यो भने नेपाली कांग्रेस देशभर आन्दोलित हुनेछ ।’ उनले यसो भनेपछि कार्यकर्तामा सक्रिय प्रतिक्रिया र प्रतिकारका लागि तयारीको संकेत दिएका हुन् । खड्काले विशेष महाधिवेशनको वैधतामा प्रश्न उठाउँदै यसलाई पार्टीको एकतालाई कमजोर पार्ने कदमको रूपमा व्याख्या गरे ।

उनले भने, ‘विशेष महाधिवेशन गर्नु भनेको पार्टी विखण्डनको प्रयास हो । पार्टी संकटमा छ, त्यस्तो भेला आयोजना गर्नु उचित छैन । धेरै कुरा भ्रमपूर्ण रूपमा प्रस्तुत गरिएको छ । सभापतिले हामी उठाएका सबै कुरा सम्बोधन गर्ने प्रतिबद्धता जनाएका थिए, तर अहिले भ्रामक सूचना फैलाइएको छ ।’ उनी विशेष महाधिवेशनको पक्षधरहरूले झुठो प्रचार गरिरहेका दाबी गर्दै पार्टीको विधानको केन्द्र केन्द्रीय समिति नै भएको बताए ।

उनले यसलाई पार्टीलाई क्षति पुर्‍याउने उद्देश्यको भेला भएको बताए । खड्काले पार्टी कार्यकर्तालाई प्रतिकारका लागि पनि तयारी गर्न निर्देशन दिँदै भने, ‘कुनै षड्यन्त्र वा हाम्रोविरुद्ध हुने गलत निर्णय भए विरोधमा जान तयार रहनुहोला । हामी आफ्नो अधिकार र पार्टीको एकतालाई जोगाउन पछि हट्ने छैनौं ।’ उनले आयोगले चुनाव चिह्न र नाम गगन समूहलाई दिनु परेमा त्यसविरुद्ध आन्दोलनमा जाने चेतावनी पनि दिएका छन् । यो कदम नेपाली कांग्रेसभित्रको हालको सत्ता संघर्ष र निर्वाचन आयोगसँगको आधिकारिकता विवादको पृष्ठभूमिमा आएको हो । खड्काको चेतावनीले पार्टीभित्रको विभाजन र विवाद अझ उग्र हुनसक्ने संकेत गरेको विश्लेषकहरूले बताएका छन् ।

 

विधान विपरीतको भेलालाई विशेष महाधिवेशन भनियो : खड्का

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी विधान विपरीत विशेष महाधिवेशनको नाममा भेला आयोजना गरिएको भन्दै त्यसप्रति गम्भीर आपत्ति जनाएका छन् । पार्टीको संस्थापन पक्षको तर्फबाट आयोजित पत्रकार सम्मेलनमा बोल्दै खड्काले विधानले तोकेको प्रक्रिया बाहिर गएर गरिएका गतिविधि अस्वीकार्य हुने स्पष्ट पारे ।

खड्काका अनुसार पार्टी विधानले कुनै पनि प्रकारको अधिवेशन वा महाधिवेशन आयोजना गर्ने सम्पूर्ण अधिकार केन्द्रीय कार्यसमितिलाई मात्र दिएको छ । केन्द्रीय समितिबाहेक अन्य कुनै पदाधिकारी, समूह वा व्यक्तिलाई विशेष महाधिवेशन आह्वान गर्ने अधिकार विधानले नदिएको उनको दाबी छ । उनले विशेष महाधिवेशनको वैधानिकताबारे निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण गराइसकिएको जानकारी दिँदै पार्टी विभाजनपछि उत्पन्न परिस्थितिमा विधानको रक्षा गर्नु अनिवार्य भएको बताए । ‘विधानअनुसार नियमित महाधिवेशनको प्रक्रिया अघि बढिसकेको अवस्थामा जानकारी बिनै स्थगन गरेर विशेष महाधिवेशन आह्वान गर्नु स्पष्ट रूपमा विधान विपरीत हो’, खड्काले भने ।

४० प्रतिशत प्रतिनिधिको हस्ताक्षर भए पनि निर्णय केन्द्रको अधिकार
खड्काले पार्टी विधानमा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरी विशेष महाधिवेशनको माग गर्न सकिने व्यवस्था भए पनि त्यसको अन्तिम निर्णय केन्द्रीय कार्यसमितिकै अधिकार क्षेत्रभित्र पर्ने स्पष्ट पारे । विधानमा प्रयोग भएको ‘केन्द्र’ शब्दले केन्द्रीय कार्यसमिति र केन्द्रीय कार्यालयलाई जनाउने उनको व्याख्या थियो । ‘४० प्रतिशत प्रतिनिधिको माग आए पनि विशेष महाधिवेशन गर्ने वा नगर्ने निर्णय केन्द्रीय कार्यसमितिले मात्रै गर्न सक्छ’, उनले भने, ‘यसलाई व्यक्तिहरूले स्वेच्छाचारी रूपमा प्रयोग गर्न मिल्दैन।’

नियमित महाधिवेशन वैशाखमा, ढिलाइको दोष तत्कालीन महामन्त्रीद्वयलाई
खड्काले पार्टीले नियमित महाधिवेशन गर्ने निर्णय गत मंसिरमै गरिसकेको स्मरण गराउँदै त्यसमा ढिलाइ हुनुको मुख्य कारण तत्कालीन महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले क्रियाशील सदस्यताको विवरण समयमै टुंग्याउन नसक्नु भएको जिकिर गरे। सोही कारण अघिल्लो महाधिवेशन कार्यतालिका प्रभावित भएको उनले बताए । उनका अनुसार नियमित महाधिवेशन अब आगामी वैशाखमा गर्ने गरी सर्वसम्मत कार्यतालिका बनाइएको छ । साथै, पुस १५ गते बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले विशेष महाधिवेशनको औचित्य नै समाप्त गरिसकेको उनको दाबी छ ।

विधानको रक्षा नै पार्टी एकताको आधार

पत्रकार सम्मेलनमा खड्काले पार्टीभित्र देखिएका विवाद समाधानको एकमात्र आधार विधान र संस्थागत निर्णय प्रक्रिया भएको उल्लेख गरे । ‘नेपाली कांग्रेसलाई जोगाउने हो भने विधानको अक्षरशः पालना गर्नुपर्छ’, उनले भने, ‘विधानभन्दा माथि कोही छैन ।’ उनले अन्त्यमा पार्टीभित्र अनुशासन, विधि र प्रक्रिया कायम राख्दै नियमित महाधिवेशनमार्फत नेतृत्व चयन गरिने प्रतिबद्धता दोहोर्‍याए ।

 

 

ढुक्क हुनुस्, कांग्रेस फुटेर चुनाव रोकिँदैन : प्रचण्ड

चितवन । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुक निर्धारित समयमै निर्वाचनतर्फ अघि बढ्नेमा कुनै शंका नरहेको स्पष्ट पारेका छन् । चितवनमा आयोजित कार्यक्रममा बोल्दै उनले नेपाली कांग्रेसभित्र देखिएको विभाजन र विवादले निर्वाचन प्रक्रियामा असर नपार्ने दाबी गर्दै सबैलाई ढुक्क हुन आग्रह गरे ।

भरतपुर महानगरपालिकाको नयाँ प्रमुख प्रशासकीय भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले निर्वाचन नहुने हो कि भन्ने आशंका सर्वत्र देखिएको स्वीकार गरे । तर सरकार, निर्वाचन आयोग, राजनीतिक दलहरू र कूटनीतिक क्षेत्र सबै निर्वाचनको पक्षमा रहेकाले चुनाव टार्ने कुनै आधार नरहेको उनको भनाइ थियो । ‘हामी निर्वाचनको मुखमै छौँ । सबैले सोधिरहेका छन्–हुन्छ कि हुँदैन चुनाव ? मैले स्पष्ट भनिरहेको छु, चुनाव हुन्छ,’ प्रचण्डले भने, ‘पहिला संविधानसभा चुनावको अघिल्लो दिनसम्म पनि अन्योल थियो, तर चुनाव भयो । अहिले पनि त्यही हुनेछ ।’ उनले निर्वाचन आयोगमा समानुपातिकतर्फको सूची बुझाइसकिएको, प्रत्यक्षतर्फको मनोनयन मिति नजिकिएको र आफ्नो पार्टीले प्रत्यक्ष निर्वाचनका लागि टिकट वितरण समेत सुरु गरिसकेको जानकारी दिए । ‘हिजो काठमाडौंमै टिकट बाँडेर म चितवन आएको हुँ,’ उनले भने ।

प्रचण्डका अनुसार चुनावबाहेक अहिले देशका लागि अर्को कुनै विकल्प व्यवहारिक छैन । निर्वाचन नगर्दा राजनीतिक अस्थिरता र सम्भावित दुर्घटनाको जोखिम बढ्ने उनले चेतावनी दिए । ‘निर्धारित समयमा स्वच्छ र निष्पक्ष चुनाव गराउनु नै अहिलेको राष्ट्रिय दायित्व हो,’ उनले जोड दिए । भदौ २३ र २४ को राजनीतिक घटनाक्रमपछि राष्ट्रपति र प्रधानसेनापतिसँग भएको छलफलमा पनि अन्तरिम सरकार बनाएर निर्वाचनमा जानुपर्ने सुझाव आफूले दिएको प्रचण्डले खुलासा गरे। राष्ट्रको गरिमा जोगाउन जनतामा जानु नै सबैभन्दा सुरक्षित बाटो भएको उनको भनाइ थियो ।

नेपाली कांग्रेसको विशेष महाधिवेशन र विभाजनले निर्वाचन रोकिने हो कि भन्ने आशंकाबारे आफूले सरकार, निर्वाचन आयोग र सुरक्षा निकायसँग बुझ्दा कांग्रेसको आन्तरिक विवादले निर्वाचन प्रक्रियालाई असर नपर्ने प्रतिक्रिया पाएको उनले बताए । ‘भोलि–पर्सिसम्म कांग्रेसको आधिकारिकताको विषय टुंगो लाग्छ र निर्वाचन प्रक्रिया अघि बढ्छ,’ प्रचण्डको दाबी थियो । यसै अवसरमा प्रचण्डले भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहाललाई ‘विकासप्रेमी’ को रूपमा आफूहरूले होइन, जनताले स्थापित गरेको बताए । ‘रेणुको नाम अब विकासवादी रेणु, विकासप्रेमी रेणु भनेर तपाईंहरूले स्थापित गर्नु भएको हो,’ उनले भने, ‘यसलाई आदर्श मानेर अगाडि बढ्नु पर्छ ।’

उनले सामाजिक सञ्जालमा देखिने स्टन्टबाजी र हल्लाका कारण देश भड्किन सक्ने खतरा औंल्याउँदै भदौ २४ को घटनाक्रम त्यसैको उदाहरण भएको टिप्पणी गरे । ‘कुनै विचार, सिद्धान्त वा आदर्श नभएर स्टन्टबाजीकै कारण राष्ट्र झन्डै दुर्घटनामा परेको थियो,’ उनले भने । अहिले पनि सतर्कता नअपनाए देश फेरि दुर्घटनातर्फ जान सक्ने भन्दै उनले सबै नागरिकलाई जिम्मेवार र गम्भीर बन्न अपिल गरे । ‘सिद्धान्तहीन, विचारहीन, होहल्लाको पछि लाग्यौँ भने देश संकटमा पर्न सक्छ,’ प्रचण्डले चेतावनी दिए । चितवनवासी नागरिकको हैसियतले पनि आफूले जिम्मेवारी बोध गरेको उल्लेख गर्दै उनले समाजमा बढ्दो अराजकता नियन्त्रण गर्न सबै पक्ष एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए ।

 

हस्ताक्षर फिर्ता गरे भन्नु ‘प्रोपोगान्डा’ मात्रै, २९ जनाले फिर्ता गरेका हुन् : महामन्त्री घिमिरे

काठमाडौं । नेपाली कांग्रेस महामन्त्री गुरुराज घिमिरेले विशेष महाधिवेशनका लागि हस्ताक्षर गरेका प्रतिनिधिमध्ये जम्मा २९ जनाले मात्र फिर्ता लिएको अभिलेख रहेको दाबी गरेका छन् । शेरबहादुर देउवा पक्षका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले निर्वाचन आयोगमा पुगेर उठाएका केही विषयप्रति गम्भीर ध्यानाकर्षण भएको बताउँदै घिमिरेले त्यसलाई ‘राजनीतिक प्रपोगाण्डा’ भनेका छन् । खड्का नेतृत्वको टोलीले निर्वाचन आयोगमा ८८५ प्रतिनिधिको हस्ताक्षर फिर्ताको प्रमाण बुझाएको दाबी गरेको छ ।

‘आफैं उपस्थित भएर विशेष महाधिवेशनको मागपत्र बुझ्ने तत्कालीन कार्यवाहक सभापतिले विशेष महाधिवेशनबारे हल्ला मात्रै सुनेको भन्नु उदेकलाग्दो देखिन्छ,’ घिमिरेले उल्लेख गरेका छन्, ‘विशेष महाधिवेशनको माग गर्दा २,४८८ जना महाधिवेशन सदस्यको संख्या रहेको, जुन सम्पूर्ण सदस्य संख्या ४६३५ को ५४.५८ प्रतिशत रहेको छ ।’

विशेष महाधिवेशन सम्पन्न भई केन्द्रीय कार्यसमितिको गठन समेत भइसकेर आवश्यक सम्पूर्ण दस्तावेजहरु निर्वाचन आयोगमा पुगिसकेको पृष्ठभूमिमा केही महाधिवेशन प्रतिनिधिको संख्याको फिर्ताको प्रसंग तर्कहीन रहेको पनि उनले बताएका छन् । ‘महाधिवेशन प्रतिनिधिहरु विशेष महाधिवेशनमा सहभागी भएर मतदान वा सर्वसम्मत रुपमा नेतृत्व चयन समेत भइसकेपछि यो विषय उठाउनु केवल ‘राजनीतिक प्रोपोगान्डा’ मात्र हो,’ समाजिक सञ्जाल फेसबुमा उनले भनेका छन् ।

तत्कालीन केन्द्रीय समितिले आफ्नो म्याद माघ मसान्तसम्म मात्र बढाएको तर कार्यसम्पादन समितिले म्याद गुज्रिएको ३ महिना पछिको मिति राखेर नियमित महाधिवेशनको मिति तोक्नु सरासर अवैधानिक कार्य भएको उनको तर्क छ ।

‘तत्कालीन केन्द्रीय कार्यसमितिले आफ्नो वैधानिक दायित्वबाट पन्छिएर विशेष महाधिवेशनको मागलाई ३ महिनासम्म छलफलको विषय नबनाउने र विशेष महाधिवेशन नै औचित्यपूर्ण छैन भनी तत्कालीन कार्यसम्पादन समितिले निर्णय गर्ने, नियमित महाधिवेशनको कार्यतालिकाको पालना नगर्ने, क्रियाशील नवीकरण, वितरणको कार्य सम्पन्नसमेत नगरिकन बिनासूचना वडा अधिवेशन रोक्ने, त्यसको दुई दिनपछि तत्कालीन कार्यसम्पादन समितिको बैठक राखेर ४ महिनापछि नियमित महाधिवेशनको मिति घोषणा गर्नु विधिसम्मत देखिँदैन । तत्कालीन केन्द्रीय समिति आफैं तत्कालिन कार्यतालिकाको उल्लंघनकर्ता हो,’ उनले भनेका छन् ।

कांग्रेस गगन पक्षकाे निर्वाचन आयोगमा धर्ना

काठमाडौं । गगनकुमार थापा नेतृत्वका नेपाली कांग्रेस निर्वाचन आयोगमा धर्ना बसेको छ । पार्टीलाई आधिकारिकता माग गर्दै थापा नेतृत्वको कांग्रेस धर्नामा बसेको हो । आयोग अगाडिीनेताहरु पलेंटी कसेर धर्नामा बसेका छन् ।
नेपाली कांग्रेसको नेतृत्व र आधिकारिकताबारे विवाद निर्वाचन आयोगसम्म पुगेको छ । विशेष महाधिवेशनबाट गगनकुमार थापा सभापति निर्वाचित भएपछि कांग्रेसका दुई पक्ष—गगन थापा र शेरबहादुर देउवा नेतृत्वका समूह–लगातार आयोग धाइरहेका छन् ।

शुक्रबार बिहान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित देउवा पक्षका पदाधिकारी निर्वाचन आयोग पुगेका थिए । उनीहरूले शेरबहादुर देउवा नेतृत्वकै नेपाली कांग्रेस आधिकारिक पार्टी भएको दाबी गर्दै आवश्यक कागजात पेश गरेका थिए । त्यसको केही घण्टामै गगन थापा नेतृत्वको कांग्रेसका पदाधिकारी र केन्द्रीय सदस्यहरू पनि आयोग पुगेका हुन् ।

आयोगले शुक्रबार दिउँसो २ बजे गगन नेतृत्वको कांग्रेसका सबै पदाधिकारी तथा केन्द्रीय सदस्यलाई छलफलका लागि बोलाएको थापा निकट स्रोतले जनाएको छ । छलफलमा आगामी निर्वाचनका लागि चुनाव चिह्न, पार्टीको आधिकारिकता र महाधिवेशनसम्बन्धी कागजातमाथि केन्द्रित रहने बताइएको छ । यसअघि बिहीबार गगन थापा स्वयं पदाधिकारीसहित आयोग पुगेर विशेष महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको जानकारी गराइसकेका थिए । आज भने आयोगले सबै केन्द्रीय सदस्यलाई समेत उपस्थित हुन निर्देशन दिएको थियो ।

गोरखामा रास्वपा नेताहरु चढेको गाडी तोडफोड

गोरखा । गोरखामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता चढेको गाडी तोडफोड भएको छ । गोरखाको भीमसेन थापा गाउँपालिका–३, कमलटारमा वडा अधिवेशनका लागि गएका नेताहरूको गाडी तोडफोड गरिएको हो । गाडीमा रास्वपा केन्द्रीय सदस्यद्वय प्रकाशचन्द्र परियार र धनेज थापा तथा पर्यटन विभाग सदस्य प्रकाश लामिछानेसहित नेता सवार थिए ।

उनीहरू चढेको बागमती प्रदेश ०२५ च ७०३० गाडीमाथि तोडफोड भएको केन्द्रीय सदस्य परियारले जानकारी दिएका छन् । आफूहरू सबै सुरक्षित रहेको बताउँदै परियारले सुनाए, ‘हामीले सम्भावित राजनीतिक प्रपञ्च, षडयन्त्र, प्रतिशोध र हुलहुज्डबाजको वहुकोण सहित प्रहरीमा उजुरी गरिसकेका छौं ।’ पार्किङस्थलमा राखिएको गाडीमाथि तोडफोड भएको उनले जानकारी दिए । यसले घटनाले कार्यक्रम केही ढिला भए पनि स्थगित नगरिएको उनले बताएका छन् ।

काठमाडौं महानगर प्रहरी प्रमुख पाण्डेले किन दिए राजीनामा ?

काठमाडौं । काठमाडौं महानगरका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले राजीनामा दिएका छन् । उनले माघ ४ गतेदेखि लागू हुने गरी पदबाट राजीनामा दिएका हुन् । ‘४ गतेबाट लागू हुने गरी राजीनामा दिएँ,’ उनले सुनाए, ‘३ गतेसम्म बहाल हुन्छ ।’

आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन लड्नका लागि प्रमुख पाण्डेले राजीना बुझाएको महागरको प्रशासन विभागका प्रवक्ता ध्रुवकुमार काफ्लेले बताएका छन् । उनले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाई समक्ष राजीनामा पत्र बुझाए पनि स्वीकृत हुन बाँकी रहेको छ । राजीनामा स्वीकृतिका लागि अधिकृत गुरागाईले मेयर बालेन शाह समक्ष सिफारिस गर्नेछन् । उनलाई मेयर शाहले काठमाडौं–४ बाट उम्मेदवार बनाउने तयारी गरिरहेको स्रोतको भनाइ छ ।

कार्यकाल थपिएको अवधिमा विशेष महाधिवेशन गर्नै मिल्दैन : मीन विश्वकर्मा

काठमाडौं । नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले सभापति शेरबहादुर देउवाको चार वर्षे कार्यकाल मंसिरमै सकिइसकेको अवस्थामा अब विशेष महाधिवेशनको कुनै औचित्य नरहेको स्पष्ट गरेका छन् । उनका अनुसार कार्यकाल सकिएपछि थपिएको अवधिमा बोलाइने महाधिवेशन विशेष हुनै सक्दैन ।

शनिबार निर्वाचन आयोगमा पत्रकारहरूसँग कुरा गर्दै विश्वकर्माले भने, ‘चार वर्षको अवधि मंसिरमै पूरा भइसकेको हो । थप गरिएको एक वर्षमा विशेष महाधिवेशन भन्ने नाम नै जोड्न मिल्दैन । विशेष महाधिवेशन भनेको समयावधि पूरा हुनुअगावै बोलाइने हो । अवधि सकिएपछि ढिलो वा नियमित महाधिवेशन हुन सक्छ, तर विशेष हुँदैन ।’

उनले पार्टी एकता जोगाउन निरन्तर प्रयास भइरहेको पनि बताए । ‘कांग्रेस नफुटोस् भनेर हामीले लगातार अपिल गरिरहेका छौं । तर कसैलाई जबरजस्ती बाँधेर राख्न सकिँदैन । बस्न नसक्ने साथीहरू जान सक्छन् । गएकाहरू पनि फर्केर आउन भनेर कारबाही नगरी राखेका छौं’, उनले भने । विश्वकर्माले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर गरेका प्रतिनिधिहरूमध्ये ठूलो संख्याले हस्ताक्षर फिर्ता लिएको दाबी पनि गरे । ‘८३७ जना प्रतिनिधि र ४७ जिल्ला सभापतिले हस्ताक्षर फिर्ता लिइसक्नु भएको छ । अरू पनि आउँदै हुनुहुन्छ’, उनले भने ।

यसैबीच, निर्वाचन आयोगले आयोजना गरेको निर्वाचन आचारसंहिता सम्बन्धी छलफल कार्यक्रममा बोल्दै नेता विश्वकर्माले निर्वाचनमा सूचना प्रविधिको दुरुपयोग बढ्दो रूपमा देखिएको भन्दै आयोगलाई गम्भीर ध्यान दिन आग्रह गरेका छन्। सामाजिक सञ्जालमार्फत कृतिम सर्वेक्षण, नक्कली प्रोफाइल र भ्रामक प्रचारले निर्वाचन शब्दकै उपहास भइरहेको उनको भनाइ छ । ‘सामाजिक सञ्जालमा फलानो प्रधानमन्त्री, फलानो विजेता भनेर कृत्रिम सर्वेक्षण देखाइन्छ । अनुहार देखाएर मान्छेलाई प्रभावित पारिन्छ । यो निर्वाचनको मूल भावनामाथि प्रहार हो’, उनले भने । सूचना प्रविधिको दुरुपयोग नियन्त्रणका लागि साइबर ब्युरोको प्रभावकारी परिचालन र आवश्यक परे अन्तर्राष्ट्रिय पर्यवेक्षक बोलाउन समेत उनले सुझाव दिए ।

उनले निर्वाचनमा राष्ट्रिय झण्डाको दुरुपयोग बढेकोतर्फ पनि ध्यानाकर्षण गराए । ‘सिंहदरबार जलाउँदा, सर्वोच्च अदालत जलाउँदा, राष्ट्रपतिमाथि आक्रमण गर्न जाँदा पनि राष्ट्रिय झण्डा प्रयोग गरिएको देखिन्छ । राष्ट्रिय झण्डालाई राजनीतिक प्रतिस्पर्धाको साधन बनाउन दिनु हुँदैन’, उनले जोड दिए । अर्को सन्दर्भमा, विश्वकर्माले भृकुटीमण्डपमा भएको भनिएको विशेष महाधिवेशनबारे पार्टीले औपचारिक निर्णय नगरेको स्पष्ट पारे । बिहीबार निर्वाचन आयोगमा पत्रकारहरूसँग बोल्दै उनले भने, ‘त्यो कार्यक्रमको सभापतित्व काठमाडौं जिल्ला सभापतिले गर्नु भएको हो । केन्द्रीय सभापति, कार्यवाहक सभापति, उपसभापति वा महामन्त्रीले नगरेको महाधिवेशन विशेष कसरी हुन्छ ? सम्भवतः त्यो काठमाडौं जिल्ला अधिवेशन हुन सक्छ ।’

भृकुटीमण्डपमा गगन थापाको नेतृत्वमा १३ पदाधिकारीसहित १३४ सदस्यीय केन्द्रीय कार्यसमिति गठन गरिएको दाबी भए पनि पार्टीका आधिकारिक संरचनाले त्यसलाई विशेष महाधिवेशनका रूपमा स्वीकार नगरेको विश्वकर्माको भनाइ छ। उनले विगतमा २०१४ सालमा विराटनगरमा भएको पहिलो विशेष महाधिवेशनको उदाहरण दिँदै त्यतिबेला पनि जिल्ला सभापतिले सभापतित्व गरे पनि त्यो पार्टीको औपचारिक निर्णयअनुसार भएको स्मरण गराए ।

 

निर्वाचनको सहज वातावरण बनेको छैन : एमाले

काठमाडौं । नेकपा (एमाले) ले आगामी निर्वाचन भयरहित वातावरणमा सम्पन्न हुनेमा अझै आशंका रहेको जनाएको छ । शुक्रवार निर्वाचन आचारसंहितासम्बन्धि निर्वाचन आयोगले आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै एमालेका सचिव डा. राजन भट्टराई सो भनाई राखेका हुन् ।

उनले निर्वाचनलाई भयरहित ढंगले निष्पक्ष रुपमा सम्पन्न गर्नका लागि निर्वाचन आायोगले कस्तो तयारी गरिरहेको छ ? भनि प्रश्न समेत गरे । उनले निर्वाचनको आचारसंहिता कार्यान्वयनका लागि अनुगमन प्रणालीलाई प्रभावकारी बनाउन पनि निर्वाचन आयोगको ध्यानाकर्षण गराए । सचिव भट्टराईले निर्वाचन आचारसंहिता प्रभावकारी रुपमा कार्यान्वयनमा नजाँदा विगतको निर्वाचन पनि सहज हुन नसकेको समेत स्मरण गराए ।

उनले भने, ‘निर्वाचन आचारसंहिता कार्यान्वयनका लागि निर्वाचन आयोगको मनिटरिङ सिष्टम के हो ? यो आचारसंहितालाई प्रभावकारी रुपमा कार्यान्वयनमा लिएर जानका लागि को मनिटरिङ सिष्टम प्रभावकारी नहुँदा यो प्रभावकारी हुन सकेको छैन । निर्वाचन सहज बनेको छैन ।’

उनले भने, ‘विशेष गरी पैसाको चललेख र अघि भने जस्तो मनि मसलको प्रयोगलाई नियन्त्रण गर्ने कुरामा निर्वाचन आयोग कति तयार छ ? यो एउटा पक्ष रह्यो भने अर्को यो निर्वाचनका लागि उम्मेदवारी ढुक्कका साथ जनतामा जान पाउने भए र भयरहित वातावरणमा कुनै प्रलोभनमा नपरी निष्पक्ष हुने कुरा अझै सुनिश्चित भईसकेको छैन हाम्रो मान्यता रहेको छ । त्यसकारण त्यो विश्वास दिलाउने कुरामा निर्वाचन आयोगको भूमिका के कस्तो रहेको छ ?’ सचिव भट्टराईले निर्वाचनको प्रचार सम्बन्धि आचारसंहितामा उल्लेख गरिएको व्यवस्था व्यवहारिक नरहेकोतर्फ पनि निर्वाचन आयोगलाई सचेत गराए ।

 

 

 

 

निर्वाचनमा युवा पुस्तालाई जिताउनु पर्छ भन्ने प्रधानमन्त्री, मन्त्रीका अभिव्यक्तिहरु आपत्तिजनक : वर्षमान पुन

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले प्रधानमन्त्री सुशीला कार्कीले युवा पुस्ता (जेनजी) लाई निर्वाचनमा जिताउनु पर्छ भनि दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । प्रधानमन्त्री कार्की तथा विभिन्न मन्त्रीहरुले सार्वजनिक भाषणहरुमा यस्ता खालको अभिव्यक्ति दिनु आपत्तिजनक रहेको नेता पुनको भनाई थियो ।

उनले निर्वाचनमा राज्यको शक्ति र स्रोतको दुरुपयोग हुन नदिने कुरामा पनि निर्वाचन आयोगलाई ध्यान दिन सुझाव दिए । शुक्रवार निर्वाचन आयोगले आयोजना गरेको निर्वाचन आचारसंहिता सम्बन्धि छलफल कार्यक्रममा बोल्दै नेता पुनले निर्वाचन आचारसंहिता अनुगमनका लागि भरपर्दो मेकानिजमको व्यवस्था गर्न पनि निर्वाचन आयोगलाई सुझाव दिए ।

उनले भने, ‘राज्य शक्ति, राज्यको स्रोत, साधनहरु दुरुपयोग नहोस यसमा असाध्यै ध्यान जाओस् निर्वाचन आयोगको । हामी बाहिरबाट सुनिरहेका छौ–प्रधानमन्त्री, मन्त्रीजीहरुको यस्तालाई जिताउनु पर्दछ भनेर भनेको । यस्तालाई हराउनु पर्छ भनेर भनेको भाषण सुनिरहेका छौँ । यसमा कसरी हेर्नु हुन्छ ? अहिले गैरदलीय सरकार छ । विभिन्न तहका सरकारहरु छन । प्रदेश सरकार, स्थानीय सरकार । यसमा आचारसंहितामा राम्रोसँग राखिएको छ । तर यसको कार्यान्वयन हुन्छ कि हुँदैन ? यसमा निर्वाचन आयोगको भरपर्दो मेकानिज्म बनाउनु पर्ने हुन्छ । अर्को सूचना प्रविधि क्षेत्रको अनुगमन कसरी हुन्छ । त्यसमा पनि निर्वाचन आयोगको ध्यान दिनुपर्ने हुन्छ ।’ नेता पुनले निर्वाचनलाई निष्पक्ष रुपमा सम्पन्न गर्नका लागि सूचना प्रविधिको दुरुपयोग हुन नदिन पनि निर्वाचन आयोगले विशेष ध्यान दिनुपर्ने बताए ।

 

 

 

 

निर्वाचन आयोगमा कांग्रेसका दुई दाबी : गगन–देउवा पक्ष आमने–सामने

काठमाडौं । नेपाली कांग्रेसको नेतृत्व र आधिकारिकताबारे विवाद निर्वाचन आयोगसम्म पुगेको छ । विशेष महाधिवेशनबाट गगनकुमार थापा सभापति निर्वाचित भएपछि कांग्रेसका दुई पक्ष—गगन थापा र शेरबहादुर देउवा नेतृत्वका समूह-लगातार आयोग धाइरहेका छन् ।

शुक्रबार बिहान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित देउवा पक्षका पदाधिकारी निर्वाचन आयोग पुगेका थिए । उनीहरूले शेरबहादुर देउवा नेतृत्वकै नेपाली कांग्रेस आधिकारिक पार्टी भएको दाबी गर्दै आवश्यक कागजात पेश गरेका थिए । त्यसको केही घण्टामै गगन थापा नेतृत्वको कांग्रेसका पदाधिकारी र केन्द्रीय सदस्यहरू पनि आयोग जाने तयारीमा छन् ।

आयोगले शुक्रबार दिउँसो २ बजे गगन नेतृत्वको कांग्रेसका सबै पदाधिकारी तथा केन्द्रीय सदस्यलाई छलफलका लागि बोलाएको थापा निकट स्रोतले जनाएको छ । छलफलमा आगामी निर्वाचनका लागि चुनाव चिह्न, पार्टीको आधिकारिकता र महाधिवेशनसम्बन्धी कागजातमाथि केन्द्रित रहने बताइएको छ । यसअघि बिहीबार गगन थापा स्वयं पदाधिकारीसहित आयोग पुगेर विशेष महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको जानकारी गराइसकेका थिए । आज भने आयोगले सबै केन्द्रीय सदस्यलाई समेत उपस्थित हुन निर्देशन दिएको हो ।

२,६५२ प्रतिनिधिको हस्ताक्षर आयोगमा
गगन थापा नेतृत्वको कांग्रेसले विशेष महाधिवेशनमा सहभागी भएको भन्दै २ हजार ६ सय ५२ प्रतिनिधिको हस्ताक्षर निर्वाचन आयोगमा बुझाएको छ । महामन्त्री गुरुराज घिमिरेका अनुसार यो संख्या कांग्रेसको कुल ४ हजार ६ सय ३८ प्रतिनिधिमध्ये ५७ दशमलव १७ प्रतिशत हो । घिमिरेले असोज २८ गते विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर गर्ने संख्या ५४ प्रतिशत पुगेको र त्यसपछि २४ जनाले हस्ताक्षर फिर्ता लिएको दाबीलाई ‘राजनीतिक प्रोपागान्डा’ भनेका छन् । उनका अनुसार आयोगमा बुझाइएको आधिकारिक कागजातमा २६५२ जनाको हस्ताक्षर स्पष्ट रूपमा प्रमाणित छ ।

‘हस्ताक्षर फिर्ता भयो भनेर भ्रम फैलाइएको छ । हामी सबै हस्ताक्षरकर्ताको सनाखत गर्न सक्छौं’, घिमिरेले भने । उनले विशेष महाधिवेशनपछि हस्ताक्षर नगरेका थप एक हजारभन्दा बढी प्रतिनिधिले पनि नयाँ नेतृत्वप्रति प्रतिबद्धता जनाएको दाबी गरे । पुस २७ देखि माघ १ सम्म चलेको विशेष महाधिवेशनले गगन थापा नेतृत्वको नयाँ कार्यसमिति निर्वाचित गरेको थियो । त्यसपछि कांग्रेसभित्रको शक्ति संघर्ष खुला रूपमा सतहमा आएको छ । अब निर्वाचन आयोगले दुवै पक्षका दाबी, हस्ताक्षर र प्रक्रिया अध्ययन गरेर निर्णय गर्नेछ । आयोगको निर्णयले नेपाली कांग्रेसको नेतृत्व, चुनाव चिह्न र आगामी राजनीतिक दिशालाई निर्णायक रूपमा प्रभावित गर्ने अपेक्षा गरिएको छ ।

 

 

 

 

 

कांग्रेस नेताहरु भन्छन्, ‘आयोगको निर्णयले आगामी निर्वाचन बिथोलिन हुन्न’

काठमाडौं । नेपाली कांग्रेसका नेताहरुले निर्वाचन आयोगले आगामी फागून २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई असर गर्ने कुनै निर्णय गर्न नहुने बताएका छन् । शुक्रवार नेपाली कांग्रेसको आधिकारिकता दाबी गर्न आयोगमा पुगेका सभापति शेरबहादुर देउवा पक्षका नेताहरुले यस्तो बताएका हुन् । उनीहरुले आयोगले संविधान, राजनीतिक दलसम्बन्धि ऐन, नेपाली कांग्रेसको विधान र आफूहरुले उपलब्ध गराएको कागजातको आधारमा नै निर्णय गर्ने विश्वास गरे ।

कांग्रेसको आधिकारिकता आफूहरुले पाउने र छुट्टिएर गएकाहरु पनि मूलधारमा नै फर्किने नेताहरुको विश्वास छ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य मोहनबहादुर बस्नेतले निर्वाचन हुने की नहुने आशंका भइरहेको बेलामा थप जटिल परिस्थिति उत्पन्न हुने गरी निर्णय गर्न नहुने बताए । उनले कांग्रेस चुनावको लागि पूर्णरुपमा तयार भएर जिल्ला जिल्लामा खटिइसकेको बताए । सिन्धुपाल्चोकमा आफूहरुले चुनावी सभा समेत थालेको उनको भनाई छ ।

यस्तो स्थितिमा आयोगले संविधान विपरित, कांग्रेसको विधान विपरित निर्णय गरेमा देशमा निर्वाचनको प्रक्रिया नै विथोलिने उनले बताए । निर्वाचन बिथोलिएमा त्यसको जिम्मेवारी आयोगले लिनुपर्ने उनको भनाई छ । उनले कसैको बहकावमा, दबाबमा र स्वार्थमा गलत निर्णय नगर्न पनि आग्रह गरे । उनले भने, ‘निर्वाचन हुने की नहुने भनेर कोलाहल मच्चाईरहेको छ, यतिसम्म की जसले सरकार बनायो, जेन–जी कै मान्छेहरुले चुनाव हुँदैन भनिरहेको अवस्थामा नेपाली कांग्रेस पार्टी चुनावको लागि तयार भएर पूर्ण आफ्नो आफ्नो जिल्लामा खटिइसकेको अवस्था, खटाईसकेको अवस्थामा छ । सिन्धुपाल्चोकमा त हामीले चुनावी सभा पनि गर्‍यौँ, अन्यत्र पनि शुरु भएको छ ।’

उनले भने, ‘त्यो स्थितिमा निर्वाचन आयोगले गरेको निर्णयको कारण, जुन निर्णय संविधान विपरित, नेपाली कांग्रेसको विधान विपरित भएको खण्डमा भोलि देशमा निर्वाचनको प्रक्रिया बिथोलियो भने त्यसको जिम्मेवारी निर्वाचन आयोगले लिनुपर्छ । यदि अहिलेको परिस्थितिमा सारा निर्वाचनमा विथोल्ने भनेर विभिन्न पार्टीहरुले अस्वीकार गरिरहेको अवस्थामा नेपाली कांग्रेस पार्टी चुनावमा होमिईसकेको अवस्थामा यो पार्टीलाई कसैको बहकावमा लागेर वा कसैको प्रेसरमा, कसैको स्वार्थमा गलत निर्णय हुन खोज्यो भने त्यो राज्यको लागि दुर्भाग्य हुन्छ । निर्वाचन आयोगलाई पनि त्यसको दोष लाग्छ ।’

नेपाली कांग्रेसका केन्द्रिय सदस्य रामहरी खतिवडाले पनि निर्वाचन आयोगले कानून नियम, संविधान र विधानअनुसार आफूहरुको पक्षमा निर्णय गर्ने विश्वास व्यक्त गरे । उनले कांग्रेस विभाजनलाई रोक्न अन्तिमसम्म प्रयास गरेपनि असफल भएको बताए । विभाजनले निर्वाचनसँगै देशको राजनितिमा पनि ठूलो असर पर्ने उल्लेख गरे । उनले सिंहदरबार, संसद, सर्वोच्च अदालत जलाएजस्तै नेपाली काँग्रेसलाई पनि जलाएर प्रजातन्त्रलाई नै समाप्त पार्न केही तत्वहरु लागिरहेको आरोप लगाए । यसमा सबै सचेत हुनुपर्नेमा उनले जोड दिए ।

उनले भने, ‘कांग्रेसको विभाजनले निर्वाचनमा असर पर्छ । राजनीतिमा असर नपर्ने भन्ने कुरा हुँदैन तर समग्रतामा हामी मिलेर जानको लागी हाम्रो कोशिस अन्तिमसम्म थियो । निर्वाचन आयोगले कानून नियम, संविधान र विधानअनुसार निर्णय गर्ने विश्वास हामीले लिएका छौँ । अरु कुरा हेर्दै जानुहोला, नेपालको राजनीतिमा सिंह दरबार जल्यो, संसद भवन जल्यो, सवोच्च अदालत जल्यो । अझै काँग्रेस नजलाई केही हुँदैन भनेर कोही लागेका छन् र प्रजातन्त्रलाई नै समाप्त गर्न लागेका छन् भने यसको असर धेरै ठूलो पर्नसक्छ, यसमा हामी बुझेर लाग्नुपर्छ ।’

नेपाली कांग्रेस रामेछापका जिल्ला सभापति पूर्णबहादुर तामाङले कांग्रेसको आधिकारिक सभापति शेरबहादुर देउवा नै रहेको बताए । उनले प्रतिनिधि सभाको निर्वाचनको लागी माघ ६ गते मनोनयनको लागी देउवाले नै टिकट बाढ्ने दाबी गरे । उनले शनिवारबाट नै सभापति देउवाले टिकट बाँड्न शुरु गर्ने जानकारी दिए । उनले कांग्रेस पार्टी विभाजन नभएको पनि बताए । गगन थापा, विश्वप्रकाश शर्माहरुले अर्को पार्टी गठन नगरेकोले उहाँहरु पनि देउवाको हातबाट टिकट लिएर चुनाव लड्न जाने दाबी गरे ।

उनले भने, ‘नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवा नै हो । शेरबहादुर देउवाले भोलीबाट ६ गते प्रतिनिधिसभाको लागि मनोनयन गर्न टिकट बाँड्नु हुन्छ । नेपाली कांग्रेस पार्टी फुटेको छैन । उहाँहरु (गगन–विश्व) ले अर्को पार्टी गठन गर्नु भएको छैन । उहाँहरु पनि भोलि आएर टिकट लिएर चुनाव लड्न जानु हुन्छ ।’ नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता डा.शेखर कोईराला लगायतका नेताहरु पार्टीको आधिकारिकता दाबी गर्न निर्वाचन आयोग गएका थिए ।

 

 

 

 

प्रधानमन्त्री कार्यालयमा जेनजी घाइते र शहीद परिवारको धर्ना

काठमाडौं । जेनजी घाइते र शहीद परिवार यतिबेला प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबार अगाडि टाउकोमा कालोपट्टी बाँधेर धर्नामा छन् । सरकारको निर्णय कार्यान्वयन नगरेको भन्दै उनीहरु आन्दोलित बनेका हुन् । उनीहरुको मुख्य माग मासिक जीवन निर्वाह भत्ता दिने मन्त्रिपरिषद्को निर्णय तत्काल कार्यान्वयन होओस् भन्ने छ ।

विभिन्न मन्त्रालय धाइरहनु परेपछि बाध्य भएर प्रधानमन्त्री कार्यालयमै धर्ना बस्नुपरेको जेनजी शहीद परिवार कल्याणकारी समाज समितिका सचिव रोशन गौतम बताउँछन् । ‘यता र उता मन्त्रालय दौडिनु मात्रै भयो । फाइल बोकेर हिँड्ने अवस्था आएपछि हामीले यहीँ प्रधानमन्त्री कार्यालयमा धर्ना बस्ने निर्णय गरेका हौँ,’ उनले भने ।

करिब २० जना जति शहीद परिवारका सदस्य धर्नामा सहभागी छन् । मन्त्रिपरिषद्ले निर्णय गरे पनि अहिलेसम्म जीवन निर्वाह भत्ताको रकम निकासा हुने कानुनी प्रक्रिया अघि नबढेको उनीहरूको गुनासो छ । शहीद परिवारहरूले निर्णय तत्काल कार्यान्वयन नभए आन्दोलन थप चर्काउने चेतावनी दिएका छन् ।

 

 

 

 

६ महिनामै ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिवद्धता

काठमाडौं । चालु आर्थिक वर्षको पछिल्लो महिनाहरुमा वैदेशिक लगानी प्रतिवद्धतामा वृद्धि हुँदै गएको छ । उद्योग विभागको तथ्यांकअनुसार साउनदेखि पुस मसान्तसम्म ४७५ वटा उद्योगमा ३९ अर्ब २३ करोड ६१ लाख ४४ हजार बराबरको लगानी प्रतिवद्धता आएको हो । गत आर्थिक वर्षको ६ महिनामा ३५४ उद्योगमा २५ अर्ब ७८ करोड रुपैयाँ बराबरको विदेशी लगानी प्रतिवद्धता प्राप्त भएको थियो । गत आवको ६ महिनामा ३४५ साना, ५ मध्यम र ४ ठूला उद्योगका लागि विदेशी लगानी प्रतिबद्धता आएको थियो ।

चालु आर्थिक वर्षको ६ महिनामा ६ महिनामा ७ ओटा ठूला, ८ वटा मध्यम र ४६० वटा साना उद्योगमा प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धता प्राप्त भएको छ । विभागकाअनुसार गत पुसमा मात्र ३६ वटा साना उद्योगमा लगानी प्रतिवद्धता आएको छ । यी उद्योगहरुबाट २० हजार १२२ रोजगारी सिर्जना हुने आँकलन गरिएको छ ।

चालु आर्थिक वर्षको पछिल्लो महिनाहरुमा उद्योगमा लगानी प्रतिवद्धता बढेको तथ्यले बताउँछ । विभागको तथ्यांकअनुसार साउन महिनामा मात्रै ५९ करोड ७५ लाख ६० हजार प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धता आएकोमा भदौमा ३३ अर्ब ९ करोड २० लाख आएको थियो । त्यस्तै, असोजमा २ अर्ब ४ करोड ५७ लाख वैदेशिक लगानी प्रतिवद्धता आउँदा कात्तिकमा मात्रै १ अर्ब ५४ करोड ३९ लाख प्राप्त भएको थियो भने मंसिरमा मात्रै १ अर्ब ९१ करोड ४९ लाख रुपैयाँ लगानी प्रतिबद्धता भएको थियो ।

सूचना प्रविधिमूलक क्षेत्रमा सबैभन्दा धेरै लगानी प्रतिवद्धता
चालु आर्थिक वर्षको ६ महिनामा सूचना प्रविधिमूलक क्षेत्रका सबैभन्दा बढी लगानीको प्रतिवद्धता आएको छ । गत साउनदेखि पुस महिनासम्म भित्रिएको प्रत्यक्ष वैदेशिक लगानीको तथ्यांक हेर्दा सबैभन्दा बढी सूचना प्रविधिमूलक क्षेत्रका २५७ वटा उद्योगका लागि लगानी प्रतिवद्धता आएको छ । रकमका आधारमा भने कृषिमूलक क्षेत्रका १३ उद्योगमा सबैभन्दा धेरै २१ अर्ब ८८ करोड बराबरको लगानी प्रतिवद्धता आएको छ ।

उत्पादनमूलक क्षेत्रका २७ उद्योगमा २ अर्ब ३ करोड, पर्यटनमूलक क्षेत्रका १ सय ४५ उद्योगमा १० अर्ब ५४ करोड र सेवामूलक क्षेत्रका ३१ उद्योगमा ३ अर्ब ४६ करोड बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको छ । विभागको तथ्यांकअनुसार नेपालमा बिजनेस भिसा लिने विदेशी बढेका छन् । ६ महिनामा १ हजार २२९ लगानीकर्ताले यस्तो भिसाको सिफारिस मागेका छन् । अघिल्लो आवको सोही अवधिमा २ हजार १ सय १७ सय जनाले यस्तो भिसा माग गरेका थिए। यस्तै, ६ महिनामा १ सय ७९ जनाले बिजनेस भिसा मागेका छन् । अघिल्लो वर्ष यही अवधिमा २ सय १ जनाले प्रतिनिधिले भिसा लिएका थिए ।

 

 

 

 

रविविरुद्धको आरोपपत्र संशोधन स्विकृती दिने निर्णयविरुद्ध सर्वोच्चमा रिट

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध दर्ता भएको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता लिने गरी महान्यायाधिवक्ता कार्यालयले गरेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस भएको छ । युवराज पौडेल (सफल) ले बुधबार महान्यायाधिवक्ता कार्यालय, विभिन्न जिल्ला सरकारी वकिल कार्यालय र रवि लामिछानेलाई विपक्षी बनाउँदै उक्त रिट पेस गरेका हुन् । उनको निवेदन दर्ता हुने वा नहुनेबारे अध्ययनकै क्रममा रहेको सर्वोच्च अदालतले जनाएको छ ।

महान्यायाधिवक्ताको कार्यालयले पुस ३० गते गरेको उक्त निर्णय र सोसँग सम्बन्धित पत्राचारहरू उत्प्रेषणको आदेशद्वारा बदर गर्न माग गरिएको छ । उनले लामिछानेमाथि लागेका सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दाहरूलाई कमजोर नबनाउन र कानुनी प्रक्रियामा कुनै अवरोध नगर्न परमादेश माग गरिएको छ ।

मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३६ बमोजिम नयाँ प्रमाण फेला परेको अवस्थामा बाहेक अभियोग संशोधन गर्न नमिल्ने कानुनी प्रावधान भए पनि लामिछानेलाई उन्मुक्ति दिने नियतले स्वेच्छाचारी निर्णय गरिएको निवेदकको जिकिर छ ।

 

 

 

मिडियाले होइन, ऐन कानुनले जे भन्छ, त्यो महत्वपूर्ण : खम्मबहादुर खाती

काठमाडौं । नेपाली कांग्रेस निर्वाचन समितिका संयोजक खम्मबहादुर खातीले कांग्रेस पार्टीको अद्यावधिकका लागि गगन थापा पक्षको कांग्रेसलाई अधिकार नै नरहेको बताएका छन् । शुक्रवार निर्वाचन आयोगमा पार्टीको आधिकारिता दाबी लागि पुगेका कांग्रेस नेताहरुसँग आयोगको छलफलका क्रममा उनले यस्तो बताएका हुन् ।

उनले विशेष महाधिवेशनमा हस्ताक्षर गर्नेहरु विशेष महाधिवेशनबाट बाहिरियाँै भनेर हस्तक्षरसहित फर्किएको बताए । उनले आयोगले संविधान, प्रचलित ऐन, कानून, निर्वाचन ऐन,राजनीतिक दलसम्बन्धी ऐनको विपरित नहुने गरी निर्णय लिनेमा विश्वस्त रहेको बताए । १६७ जनामध्ये १२३ जना केन्द्रिय सदस्यहरु आफूहरुसँग रहेको बताउँदै राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४४ को ख मा यदि विवाद उत्पन्न भए त्यस्तो सन्दर्भमा विवाद हुनु भन्दा पूर्वको केन्द्रिय कार्यसमितिको बहुमत छ, त्यसले निर्वाचन चिन्ह, पार्टी र झण्डा प्राप्त गर्दछ भन्ने व्यवस्था स्पष्ट व्यवस्था रहेको बताए ।

उनले भने, ‘विशेष महाधिवेशनमा जुन प्रतिनिधिहरुले सही गरेका थिए, उनीहरुले फिर्ता भएर आउनु भएको प्रमाणसहितको कागजात बुझाएका छौँ । संविधान, प्रचलित ऐन, कानून, निर्वाचन ऐन, राजनीतिक दलसम्बन्धी ऐनको विपरित नहुने गरी निर्णय लिनु हुनेछ भन्ने विश्वास छ । भ्रमपूर्ण रुपमा जुन प्रचारप्रसारहरु बाहिर आएको छ : निर्वाचन आयोगले सत्यतथ्यमा आधारित भएर र प्रमाण कागजहरुको मूल्यांकन गरेर जुन निर्णय गर्नुपर्नेछ, त्यसमा हाम्रो प्रतिवाद गर्नुपर्ने अवस्था बाँकी नै छ ।’ उनले भने, ‘अद्यावधिकको नाममा जुन दर्ता ५१ को प्रयोग गरेर यहाँ आएको छ, सिंगो नेपाली काँग्रेसको ट्रुथ अफ मेजोरेटी अहिलेसम्म यसमा रही रहेको कुरा जगजाहेर छ । १६७ जनामध्ये झन्डै १२३ जनाको सही अहिले पनि छ ।

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४४ को ख मा यदी विवाद उत्पन्न भएमा त्यस्तो सन्दर्भमा विवाद हुनु भन्दा पूर्वको केन्द्रिय कार्यसमितिको बहुमत छ, त्यसले निर्वाचन चिन्ह, पार्टी र झण्डा प्राप्त गर्दछ भन्ने व्यवस्था स्पष्ट छ । हामी ढुक्क छौँ । मिडियाले के भन्यो त्यो महत्वपूर्ण कुरा होइन, संविधान, ऐन कानूनले जे भन्छ, त्यो कुरा महत्वपूर्ण हो ।’ उनले विशेष महाधिवेशन पक्षधरहरुको महाधिवेशन प्रतिनिधिको संख्या ५१ प्रतिशत पनि नपुगेको बताए । विधान विपरित गएर अधिवेशन बोलाइएको उनको भनाइ छ ।

 

निर्वाचन आयोगमा खड्काले भने–कोही व्यक्ति र समूहले महाधिवेशन डाक्न पाउँदैन

काठमाडौं । नेपाली कांग्रेसभित्र महाधिवेशनको वैधताबारे विवाद तीव्र बन्दै गएको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको विधान र कानुन विपरीत कोही व्यक्ति वा समूहले महाधिवेशन डाक्न नपाउने स्पष्ट दाबी गर्दै निर्वाचन आयोगमा आधिकारिकता माग गरेका छन् ।

१४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको उपसभापति तथा शेरबहादुर देउवाको नेतृत्वमा रहेको कांग्रेसको कार्यवाहक सभापतिको हैसियतमा आयोग पुगेका खड्काले लोकतन्त्र, संविधान र राजनीतिक दलसम्बन्धी ऐनमाथि गम्भीर षड्यन्त्र भइरहेको आरोप लगाए । उनका अनुसार पार्टीको विधानले केन्द्रीय कार्यसमितिबाहेक अरू कुनै निकाय, व्यक्ति वा समूहलाई महाधिवेशन वा कुनै पनि तहको अधिवेशन गर्ने अधिकार दिएको छैन ।

‘कुनै व्यक्तिले पार्टीको नाममा भेला गर्ने, पदाधिकारीले महाधिवेशनको नाम दिने र त्यसैलाई कानुनी विषय बनाइने हो भने पार्टीका विधान, मुलुकको संविधान र दलसम्बन्धी ऐनको औचित्य के रहन्छ ?’ खड्काले प्रश्न गरे । खड्काले सभापति देउवाको नेतृत्वमा रहेको १४औं महाधिवेशनबाट निर्वाचित सिङ्गो केन्द्रीय कार्यसमिति मात्र होइन, प्रदेशदेखि गाउँ–पालिका तहसम्मका पार्टी संरचना आफूहरूसँगै रहेको दाबी गरे । उनका अनुसार हालसम्म पार्टीको कुनै नयाँ महाधिवेशन नै भएको छैन ।

यसैबीच, विशेष महाधिवेशनको दाबीलाई खड्काले थप कमजोर भएको बताएका छन् । विशेष महाधिवेशनमा सहभागी हुने भनिएका हस्ताक्षरकर्तामध्ये ८८५ जनाले आफ्नो हस्ताक्षर फिर्ता लिँदै त्यसबाट अलग भएको जानकारी पार्टीको केन्द्रीय कार्यालयमा बुझाएको उनको भनाइ छ । ‘५४ प्रतिशत प्रतिनिधिको हस्ताक्षरसहित विशेष महाधिवेशन गरिएको दाबी गरियो, तर तीमध्ये ८८५ जनाले लिखित रूपमा हस्ताक्षर फिर्ता लिएका छन्’, खड्काले भने, ‘भेला हुनुअघि र पछि दुवै अवस्थाका हस्ताक्षर प्रमाण हामीसँग छन्, मुख्यसचिवमार्फत कार्यालयमा दर्ता भइसकेको छ ।’

उता, गगन थापा नेतृत्वको समूहले विशेष महाधिवेशनमार्फत केन्द्रीय कार्यसमिति चयन गरिसकेको दाबी गरिरहेको छ । तर खड्काको पक्षले त्यसलाई पूर्ण रूपमा अवैधानिक भन्दै निर्वाचन आयोगमा आधिकारिकताको लडाइँ अघि बढाएको छ । कांग्रेसभित्रको यो टकरावले पार्टीको नेतृत्व, विधान र वैधतासम्बन्धी विवादलाई निर्णायक मोडमा पुर्‍याएको देखिन्छ । अब निर्वाचन आयोगको निर्णयले कांग्रेसको आगामी राजनीतिक दिशा तय गर्ने संकेत देखिएको छ ।

 

 

भूकम्पबाट सिकाइ अब व्यवहारमा उतार्ने समय, समुदाय–केन्द्रित तयारीमा जोड

काठमाडौँ । २८ औं भूकम्प स्मृति सभाले विपद् व्यवस्थापनलाई औपचारिक दिवस र कार्यक्रममै सीमित नराखी समुदायको दैनन्दिन तयारी, सीप र संरचनासँग जोड्नुपर्ने निष्कर्ष निकालेको छ । ‘सबै तहका सरकार, सबै नागरिकको तयारी : भूकम्प उत्थानशील नेपाल, अबको जिम्मेवारी’ भन्ने नारासहित काठमाडौंको नयाँ सडकस्थित भूगोल पार्कमा आयोजित सभामा वक्ताहरूले भूकम्पीय जोखिम घटाउन समुदाय नै केन्द्रबिन्दु हुनुपर्नेमा जोड दिए ।

१९९० साल माघ २ गते गएको विनाशकारी भूकम्प र त्यसपछि पटक–पटक आएका ठूला कम्पनले दिएको पाठलाई अब व्यवहारमा उतार्न ढिला गर्न नहुने धारणा कार्यक्रममा व्यक्त भयो । विगतका क्षतिबाट सिकेर सुरक्षित बस्ती निर्माणमा नयाँ पुस्तालाई सहभागी गराउने उद्देश्यसहित २०५५ सालदेखि प्रत्येक वर्ष माघ २ गते भूकम्प सुरक्षा दिवस मनाइँदै आएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री ओमप्रकाश अर्यालले भूकम्पीय क्षति न्यूनीकरणका लागि पूर्व तयारी संयन्त्रलाई बलियो बनाउनु अपरिहार्य भएको बताए । उनले अन्तरसरकारी समन्वय सुदृढ गर्दै स्थानीय तहका प्रयासलाई संस्थागत गर्नुपर्नेमा जोड दिँदै भने, ‘नागरिक सचेतना र उत्थानशील सहरका आधारभूत सूचक कार्यान्वयनमा लैजान सक्यौं भने जोखिम घटाउन सकिन्छ । अभ्यास र सिकाइले नै क्षमता बढाउँछ ।’

सभाका अध्यक्ष तथा काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले विपद् व्यवस्थापनमा समुदायको भूमिकालाई पहिलो पंक्तिमा राख्नुपर्ने बताइन् । ‘विपद् पूर्व तयारीदेखि खोज, उद्धार, पुनःस्थापना र पुनर्लाभसम्म समुदाय नै पहिलो उद्धारकर्ता हो’, उनले भनिन्, ‘महानगरलाई उत्थानशील सहर बनाउने हो भने अन्तरसरकारी समन्वय, ज्ञान–सीपको आदान–प्रदान र एकीकृत योजना अनिवार्य छ ।’

महानगरपालिकाको विपद् व्यवस्थापन समितिका संयोजक प्रेम थापाले अब क्षति सम्झनेभन्दा क्षति हुन नदिने प्रणाली विकासमा लाग्नुपर्ने बेला आएको धारणा राखे । उनले परम्परागत रैथाने सीपको अध्ययन र प्रयोगले प्रतिरोधी संरचना निर्माणमा ठूलो योगदान दिन सक्ने बताउँदै प्राचीन संरचनाले ठूला भूकम्प थेगेको इतिहासलाई उदाहरणका रूपमा प्रस्तुत गरे ।

स्मृति सभामा १९९० सालको ८.४ म्याग्निच्युडको भूकम्पदेखि २०४५ सालको उदयपुर भूकम्प, २०७२ सालको गोरखा भूकम्प, २०७९ सालको डोटी र २०८० सालको जाजरकोट भूकम्पसम्मका अनुभव र सिकाइ स्मरण गरियो । ती विपद्ले मानव समाज, भौतिक संरचना र वातावरणमा पारेको प्रभावको समीक्षा गर्दै सुरक्षित र जुझारु सहर निर्माण गर्ने संकल्प दोहोर्‍याइयो ।

कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, महानगरपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा विपद् व्यवस्थापनमा सक्रिय सामाजिक संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता थियो । स्मृति सभाको अवसरमा आगलागी, सडक दुर्घटना र विपद्जन्य जोखिममा सक्रिय प्रहरीहरूलाई जनही २५ हजार रुपैयाँ नगदसहित सम्मान गरिएको थियो । सम्मानित हुनेमा नगर प्रहरी हवल्दार विपिन घिमिरे, जवान बीरेन्द्र शाही, पुष्पन आले मगर, सशस्त्र प्रहरी हवल्दार आइतसिंह तामाङ र जवान जसबस्र शाह तेली रहेका छन् ।

यसै अवसरमा काठमाडौँ महानगरपालिकाले दिउँसो खुला मञ्चमा मूल समारोह आयोजना गर्दै विपद् पूर्व तयारी, खोज तथा उद्धारसँग सम्बन्धित साधन, उपकरण, प्रविधि र सेवाको प्रदर्शन गर्ने जनाएको छ । विश्व जोखिम मानचित्रमा भूकम्पजन्य विपद्को दृष्टिले नेपाल ११ औं स्थानमा रहेको सन्दर्भ उल्लेख गर्दै वक्ताहरूले अब नीति, संरचना र व्यवहार तीनै तहमा परिवर्तन आवश्यक रहेको निष्कर्ष निकाले ।

 

 

कांग्रेसको आधिकारिकताबारे आयोगले विधि र पद्धतिअनुसार निर्णय गर्छ : भण्डारी

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद निर्वाचन आयोगसम्म पुगेको छ । सभापति शेरबहादुर देउवा तथा कार्यवाहक सभापति पूर्णबहादुर खड्का नेतृत्वको पक्षले आफूहरू नै १४औं महाधिवेशनबाट निर्वाचित वैधानिक नेतृत्व भएको दाबी गर्दै निर्वाचन आयोगमा औपचारिक निवेदन दर्ता गराएको छ ।

शुक्रबार बिहान कार्यवाहक सभापति खड्कासहित केन्द्रीय समितिका बहुमत सदस्य स–शरीर निर्वाचन आयोग पुगेका थिए । आयोगका पदाधिकारीहरूसँगको छलफलमा उनीहरूले हालै सम्पन्न भनिएको विशेष महाधिवेशन विधानअनुसार नभएको र त्यसबाट चयन गरिएको गगन थापा नेतृत्वको कार्यसमिति अवैध रहेको जिकिर गरे । छलफलका क्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आयोगले संविधान, प्रचलित ऐन–कानुन र स्थापित विधि–पद्धतिको परिधिमा रहेर मात्र विषयवस्तुको विश्लेषण गर्ने स्पष्ट पारे ।

‘निर्वाचन आयोग विधि र कानुनभन्दा बाहिर गएर कुनै निर्णय गर्दैन’, भन्दै उनले निर्वाचनसम्बन्धी कार्यतालिकाअनुसारका प्रक्रियामा सहभागी हुन कांग्रेस नेताहरूलाई आग्रह समेत गरे । कार्यवाहक सभापति खड्काले विशेष महाधिवेशनको पक्षमा सुरुमा हस्ताक्षर गरेका ८८५ महाधिवेशन प्रतिनिधिले पछि हस्ताक्षर फिर्ता लिएको दाबी गर्दै त्यसको प्रमाण आफूहरूसँग रहेको बताए । उनले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिले नै विशेष महाधिवेशनको औचित्य नरहेको निष्कर्ष निकालेको उल्लेख गरे ।

उनका अनुसार पार्टी विधानमा केन्द्रीय समितिले सभापतिसहितको कार्यकाल एक वर्ष थप गर्न सक्ने व्यवस्था रहेको छ र सोही व्यवस्थाअनुसार देउवा नेतृत्वको समिति वैधानिक रूपमा कायम रहेको छ । ‘हामी नै १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति हौं’, खड्काले भने । खड्काले पूर्व महामन्त्री गगन थापाको नेतृत्वमा रहेको क्रियाशील सदस्यता छानबिन समितिले समयमै सदस्यता सूची नबुझाएकै कारण नियमित महाधिवेशन हुन नसकेको र वैशाखमा सार्नुपरेको दाबी समेत गरे । साथै गगन थापा, विश्वप्रकाश शर्मा र फरमुल्लाह मन्सुरलाई पार्टीले पाँच वर्षका लागि साधारण सदस्य समेत नरहने गरी कारबाही गरिसकेको र सो निर्णय आयोगलाई जानकारी गराइसकिएको बताए ।

छलफलमा नेता शेखर कोइरालाले पनि आफूहरू नै पार्टीको आधिकारिक केन्द्रीय समिति भएको दाबी दोहोर्‍याए । ‘सिंगो केन्द्रीय समिति यहाँ उपस्थित छ, केही व्यक्ति मात्र अलग भएर गएको अवस्था हो’, भन्दै उनले निर्वाचन आयोगलाई व्यक्तिभन्दा संस्था हेरेर निर्णय गर्न आग्रह गरे । विशेष महाधिवेशनका लागि संकलित हस्ताक्षर फिर्ता भएको निस्सा आफूहरूसँग सुरक्षित रहेको कोइरालाको भनाइ थियो । निर्वाचन आयोगमा खड्का र कोइरालासहित उपसभापति धनराज गुरुङ, सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’, नेता मिनेन्द्र रिजाल, रमेश लेखक, नैनसिंह महर, जितजंग बस्नेतलगायत केन्द्रीय सदस्यहरूको उपस्थिति थियो ।

यसअघि गगन थापा नेतृत्वमा विशेष महाधिवेशनबाट निर्वाचित भनिएको कार्यसमितिले आफूहरूलाई आधिकारिक मान्यता दिन माग गर्दै निर्वाचन आयोगमा पार्टी विवरण अद्यावधिकको निवेदन दर्ता गराइसकेको छ । दुवै पक्षबाट दाबी आएपछि कांग्रेसको आधिकारिकता सम्बन्धी विवाद थप पेचिलो बनेको छ । अब निर्वाचन आयोगले संविधान र कानुनी व्यवस्थाको आधारमा कुन पक्षलाई आधिकारिक मान्ने भन्ने निर्णय गर्नुपर्ने चुनौती सामना गरिरहेको छ ।