`

निर्वाचन आयोगमा शेखर कोइरालाको दाबी : बहुमत हाम्रो पक्षमा छ

काठमाडौं । नेपाली कांग्रेसभित्र देखिएको आधिकारिकता विवाद थप चर्किदै जाँदा नेता डा. शेखर कोइराला र कार्यवाहक सभापति पूर्णबहादुर खड्काको टोली शुक्रबार निर्वाचन आयोग पुगेको छ । आयोगका पदाधिकारीसँग भएको छलफलमा उनीहरूले पार्टीको आधिकारिक संरचना, केन्द्रीय समिति र बहुमत आफूहरूसँगै रहेको दाबी गर्दै गगन थापाको नेतृत्वमा भएको विशेष महाधिवेशन विधानविपरीत भएको बताएका छन् ।

निर्वाचन आयोगमा पुगेका नेता शेखर कोइरालाले लोकतान्त्रिक पद्धतिमा व्यक्ति होइन, संस्थाको निर्णय मान्य हुने स्पष्ट पार्दै भने, ‘सिंगो केन्द्रीय समिति यहाँ उपस्थित छ, केही साथीहरू चोइटिएर जानुभएको होला ।’ उनका अनुसार पार्टीको विधानअनुसार कुनै पनि पदाधिकारी वा समूहले एकल रूपमा विशेष महाधिवेशन बोलाउन पाउने अधिकार छैन । कोइरालाले विशेष महाधिवेशनको पक्षमा गरिएको हस्ताक्षर फिर्ता लिइएको प्रमाण आफूहरूसँग सुरक्षित रहेको जानकारी आयोगलाई गराएका छन् ।

उनले ८८५ जना महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनबाट आफूहरू अलग भएको भन्दै हस्ताक्षर फिर्ता गरेको निस्सा पार्टी कार्यालयमा बुझाइसकेको बताए । ती प्रमाण निर्वाचन आयोगमा समेत पेश गरिएको उनको भनाइ थियो।
उनका अनुसार यद्यपि ४० प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गर्न सक्ने व्यवस्था विधानमा भए पनि त्यसको कार्यसूची, कार्यतालिका र कार्यविधि केन्द्रीय समितिले नै तय गर्नुपर्ने स्पष्ट प्रावधान छ । ‘व्यक्तिले बोलेको होइन, संस्थाले गरेको निर्णय नै आधिकारिक हुन्छ’, उनले जोड दिए ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पनि आयोगसँगको छलफलमा आफूहरू १४ औं महाधिवेशनबाट निर्वाचित वैधानिक नेतृत्व भएको दाबी गरे । उनले गगन थापाको नेतृत्वमा सम्पन्न भनिएको विशेष महाधिवेशन विधानअनुरूप नभएको जिकिर गरे । खड्काका अनुसार केन्द्रीय कार्यसम्पादन समितिले नै विशेष महाधिवेशनको औचित्य नरहेको निष्कर्ष निकालेको छ । खड्काले गगन थापा, विश्वप्रकाश शर्मा र फरमुल्लाह मन्सुरलाई पार्टी विधानविपरीत गतिविधि गरेको ठहर गर्दै पाँच वर्षका लागि साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको र त्यसबारे निर्वाचन आयोगलाई औपचारिक जानकारी गराइसकेको बताएका छन् । साथै, तत्कालीन महामन्त्री गगन थापाको नेतृत्वमा रहेको क्रियाशील सदस्यता छानबिन समितिले सदस्यता सूची समयमा नबुझाएकै कारण नियमित महाधिवेशन सरेको दाबी पनि उनले गरेका छन् ।

उनका अनुसार पार्टी विधानले केन्द्रीय समितिलाई सभापतिसहितको कार्यकाल एक वर्ष थप गर्न सक्ने अधिकार समेत दिएको छ, जसका आधारमा आफूहरू वैधानिक रूपमा पार्टी सञ्चालन गरिरहेको दाबी गरिएको हो । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले भने आयोग विधि र पद्धतिभन्दा बाहिर गएर कुनै निर्णय नगर्ने स्पष्ट पारेका छन् । उनले प्राप्त कागजात, विधान र कानुनी प्रक्रिया अध्ययन गरेर मात्रै निर्णय लिइने संकेत दिएका छन् ।

निर्वाचन आयोगमा भएको भेटघाटमा कार्यवाहक सभापति खड्कासहित नेता शेखर कोइराला, उपसभापति धनराज गुरुङ, सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’, नेताहरू मिनेन्द्र रिजाल, रमेश लेखक, नैनसिंह महर, जितजंग बस्नेतलगायतको उपस्थिति थियो । नेपाली कांग्रेसभित्रको यो विवादले पार्टीको भविष्य र नेतृत्वबारे गम्भीर प्रश्न खडा गरिरहेको छ । अब आयोगले विधान र कानुनका आधारमा दिने निर्णयले कांग्रेसको आगामी राजनीतिक दिशा निर्धारण गर्ने देखिएको छ ।

 

कांग्रेस आधिकारिकता विवाद : निर्वाचन आयोग पुगे देउवा पक्षमा नेता–कार्यकर्ता

काठमाडौं । नेपाली कांग्रेसको नियमित महाधिवेशन पक्षधर नेताहरू शुक्रवार निर्वाचन आयोग पुगेका छन् । शेरबहादुर देउवा नेतृत्वको समूहका नेताहरूले पार्टीको आधिकारिकता आफूहरूकै पक्षमा रहेको दाबी गर्दै आवश्यक कागजात बुझाएका हुन् ।

निर्वाचन आयोगमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित, उपसभापति धनराज गुरुङ, नेताहरु डा. शशांक कोइराला, मिन विश्वकर्मा, नैनसिंह महर लगायतका नेताहरुको उपस्थिति छ । यसअघि बिहीवार गगन थापा नेतृत्वको विशेष महाधिवेशन पक्षधर समूहले पनि निर्वाचन आयोगमा नयाँ केन्द्रिय कार्यसमितिको विवरण अद्यावधिक गर्न निवेदन दिएको थियो ।

गगन थापा सभापतिसहितका नव निर्वाचित पदाधिकारीहरूले विशेष महाधिवेशन विधानसम्मत रहेको र बहुमत प्रतिनिधिको सहभागितामा सम्पन्न भएको जिकिर गर्दै आधिकारिकता दाबी गरेका थिए । विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा भएपछि देउवा पक्षले थापासहितका नेताहरूलाई कारबाही गरेको थियो ।

दुवै पक्षले निर्वाचन आयोगमा आफूलाई आधिकारिक दाबी गर्दै पत्र र कागजात बुझाएका छन् । निर्वाचन आयोगले दुवै पक्षको दाबी अध्ययन गरिरहेको जनाएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा यो विवादले कांग्रेसको चुनावी तयारीमा असर पर्नसक्ने विश्लेषकहरूले बताएका छन् । आयोगको निर्णय कुर्नुपर्ने अवस्था आएमा यो मुद्दा सर्वोच्च अदालतसम्म पुग्नसक्ने सम्भावना छ । कांग्रेसको यो विवादले पार्टीको चुनाव चिन्ह रुख र झण्डा कुन पक्षले पाउने भन्ने प्रश्न पनि उठेको छ । दुवै पक्षले बहुमत आफूहरूसँग रहेको दाबी गरिरहेका छन् ।

 

एमालेलाई पनि अहिलेको कांग्रेस जस्तो बनाउन खोजेका थिए : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले फुट्नबाट जोगिएको बताएका छन् । बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । अहिलेको नेपाली कांग्रेसको जस्तै गरी एमालेलाई पनि फुटाउन खोजिएको तर सफल नभएको बताए ।

पार्टीको महाधिवेशनले नेतृत्व चयन गरेर एमाले अहिले एकजुट भएको उहाँको दाबी छ । अध्यक्ष ओलीले प्रधानमन्त्री हुँदा आफू सुत्न समेत नभ्याएको र सरकारका काम कारबाहीमा सधैँ तल्लिन रहेको बताए । उनले भने, ‘प्रधानमन्त्री हुँदा सुत्न भ्याइँदैन थियो । काम त त्यसरी नै गर्नुपर्छ । हामी हमला, आक्रमणको बीचमा छौँ । विरोधीहरु लागेका छन् । कांग्रेस पार्टीमा अहिले जे भएको छ, हाम्रो पार्टीमा पनि त्यही गर्न खोजेका थिए । एक वर्षअघि नै महाधिवेशन गरेर, हल्ला, भ्रमहरुको तुवाँलो चिरेर, शेरबहादुरलाई जसरी बलजफ्ती निष्काशन भनेर गरेका छन् । त्यस्तै त हाम्रो पार्टीमा पनि गर्न खोजेका थिए नि त । कारबाही हुनुपर्छ, जिम्मेवार बन्नुपर्छ ।’

उनले भने, ‘यो अनुहार अगाडि लगाएर हिँड्न सकिँदैन भनेकै थियो त । त्यसो भए जनता र कार्यकर्ताले फैसला गरुन् भनेर एक वर्षअघि नै महाधिवेशन तानेर महाधिवेशन गर्‍यौँ । हाम्रो पार्टीमा पनि यही समस्या आउँदै थियो नि । तर पार्टी जोगिएको छ । पार्टी एकजुट बनेको छ । महाधिवेशनले एउटा फैसला दिएको छ ।’ अध्यक्ष ओलीले पहिला सबै राम्रो र अहिले सबै नराम्रो भन्ने गरी भाष्य निर्माण गर्न नहुने बताए ।

 

 

 

 

 

रविको मुद्दा फिर्ताबारे ओली : हिनामिना भएको पैसा महान्यायाधिवक्ता कार्यालयले तिर्छ ?

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मुद्दा फिर्ता लिएर महान्यायाधिवक्ता कार्यालय इतिहासम्मका लागि कलंकित बनेको टिप्पणी गरेका छन् । काठमाडौंमा बिहीवार आयोजित ४२ औं पिस्कर शहीद स्मृति दिवसको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो टिप्पणी गरेका हुन् । उनले अहिले विश्वभर जस्तै शासन नेपालमा पनि चलिरहेको भन्दै थिति र विधिको शासन देशमा नभएको बताए ।

उनले अहिले मुलुकमा सुशासन र थिति नभएको भन्दै कसैलाई ठगे पनि मुद्दा फेर्ने वा आममाफी पाइने भन्दै व्यंगात्मक टिप्पणी गरे । उनले रविको मुद्दा फिर्ता लिएर ठगिएको पैसा महान्यायाधिवक्ता कार्यालयले तिर्छ ? भन्दै प्रश्न गरे । उनले भने, ‘अहिले नेपालमा कस्तो सरकार र कस्तो शासन छ भन्ने कुरा हामीले देखिरहेका छौँ । दुनियाँमा कस्तो सरकार र शासन छ त्यसको प्रतिबिम्व नेपालमा पनि छ । अब कसैलाई कुनेै कानून लाग्दैन । कुनै मुद्दा लाग्दैन । कसैको सम्पति खाए पनि मजाले पाइन्छ । मुद्दा लाग्दैन । हिजो भुलचुकले मुद्दा लागेको रहेछ भने माफी मिनाहा हुन्छ, अभियोग परिवर्तन गरिन्छ ।’

उनले भने, ‘चुनावमा हिरो बनाएर चुनावमा अगाडि बढाइन्छ । यदि नेपाली सरकार, नेपाली संस्कृति, नेपाली अर्थतन्त्र र नेपाली सभ्यताका कुरा गर्छ भने घरबाट निस्किन नदिने, त्यसलाई मार्ने, कुट्ने, काट्ने काम गरिन्छ । ८२ वर्षका नेता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामाथि भौतिक आक्रामण भयो । यति असभ्य पनि हुन्छ समाज ? उनकै पार्टीका नेता हुँ भन्नेहरु त्यसको समर्थनमा कराए, विरोधमा कोही बोलेनन् । सहानुभूति सम्म व्यक्त गरेनन् कहाँ पुग्यो नेपाल ? मैले भन्न खोजेको आज थिति र विधिको शासन होइन जसको लाठी त्यसको भैंसी जस्तो शासन नेपालमा पनि स्थापना भएको छ । महान्यायाधिवक्ताको कार्यालय इतिहाससम्मका लागि कंलकित भएको छ । लज्जाको विषय बनेको छ ।’ उनले जेनजी विद्रोहका क्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुरमाथि भौतिक आक्रमण हुँदा पार्टीकै नेताहरु उक्त घृणित कार्यको समर्थनमा उत्रिएको टिप्पणी पनि गरे ।

 

 

 

चुनाव नहुँदै भावी प्रधानमन्त्रीको दौड सुरु, गगन–बालेन प्रधानमन्त्रीका नयाँ ‘फेस कार्ड’

काठमाडौँ। संसदीय व्यवस्थामा राजनीतिक दलहरूले निर्वाचनअघि नै भावी प्रधानमन्त्रीको उम्मेदवार सार्वजनिक गर्ने परम्परा रहँदै आएको छ। जनमत आकर्षण गर्ने उद्देश्यले अपनाइने यो शैली यसपटक पनि दोहोरिएको छ।

आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै दलहरूले प्रधानमन्त्रीका सम्भावित अनुहारहरू क्रमशः अघि सारिरहेका छन्। यसले निर्वाचनपछि सरकार गठनको अवस्थामा कुन दलले कसलाई प्रधानमन्त्रीमा अघि सार्छ भन्‍ने प्रारम्भिक संकेत दिएको छ।

यसपटक आगामी २१ फागुनमा प्रतिनिधिसभा निर्वाचन हुँदैछ। निर्वाचनपछि सरकार गठन गर्ने अवस्था आए राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बालेन्द्र साह (बालेन) लाई प्रधानमन्त्री बनाउने भएकाे छ । काठमाडौं महानगरपालिकाका प्रमुख रहेका साह स्वतन्त्र उम्मेदवारीबाट निर्वाचित भए पनि हाल रास्वपाका वरिष्ठ नेताका रूपमा छन्। रास्वपामा आबद्ध हुने क्रममा नै उनले पार्टी सभापति रवि लामिछानेसँग भावी प्रधानमन्त्रीको उम्मेदवार बन्‍ने समझदारी गरेका थिए।

स्थानीय तहको प्रमुखबाट सिधै देशको प्रधानमन्त्री बन्‍ने आकांक्षा सार्वजनिक रूपमा अघि सारेका बालेन काठमाडौं महानगरपालिकाको प्रमुख पदबाट राजीनामा दिने तयारीसहित चुनावी माहोल बनाउन मधेसदेखि पूर्वी तराईसम्म सक्रिय भइरहेका छन्।

यदि आगामी प्रतिनिधिसभा निर्वाचनमा उनी निर्वाचित भए र रास्वपाले संसदबाट सरकार गठन गर्ने अवस्था बन्यो भने बालेन प्रधानमन्त्रीका उम्मेदवार हुनेछन्। तर निर्वाचनमा पराजित भए उनको प्रधानमन्त्री बन्‍ने सपना आगामी पाँच वर्षका लागि समाप्त हुनेछ।

जे होस्, बालेन यसपटक प्रधानमन्त्रीको दाबेदारका रूपमा अघि सारिएका युवा र नयाँ अनुहार हुन्। रास्वपाले उनलाई चुनावी ‘फेस कार्ड’का रूपमा प्रयोग गर्ने रणनीति लिएको देखिन्छ।

यद्यपि, उनी जेन–जी विद्रोहपछि सर्वाधिक आलोचित पात्रमध्येमा पर्छन्। सिंहदरबार, संसद् भवन, राष्ट्रपति भवन शीतलनिवास, सर्वोच्च अदालतलगायत सार्वजनिक संरचनामाथि आगजनीको योजनामा संलग्‍न भएको आरोप लगाउँदै आलोचकहरूले उनलाई विवादास्पद पात्रका रूपमा चित्रण गर्दै आएका छन्।

प्रधानमन्त्रीको अर्को नयाँ अनुहारका रूपमा गगन थापा देखिएका छन्। नेपाली कांग्रेसकाे आफू नेतृत्वको समूहले उनलाई भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेको छ।

समकालीन कांग्रेस राजनीतिज्ञहरूमध्ये सर्वाधिक लोकप्रिय मानिने थापा पूर्वस्वास्थ्यमन्त्री हुन्। स्वास्थ्यमन्त्री हुँदा उनले नेपालको स्वास्थ्य क्षेत्र सुधारका लागि नीतिगत संरचना निर्माणको थालनी गरेका थिए। छोटो कार्यकाल भए पनि स्वास्थ्य क्षेत्रमा दीर्घकालीन सुधारको आधार तयार गरेको मूल्यांकन गरिन्छ।

थापा नेपालको गणतान्त्रिक आन्दोलनका ‘पोस्टर ब्वाइ’का रूपमा पनि चिनिन्छन्। गणतन्त्र स्थापनाका आन्दोलनका क्रममा उनको टाउको फुटेको थियो भने पटक–पटक राजद्रोहका मुद्दा खेप्‍नुपरेको थियो।

कांग्रेसलाई गणतन्त्रको मार्गचित्रमा लैजान महत्वपूर्ण भूमिका खेलेका थापा कांग्रेसभित्र गणतन्त्रका प्रवक्ताका रूपमा पनि चिनिन्थे। उनै थापा अहिले आफू नेतृत्वको नेपाली कांग्रेसबाट भावी प्रधानमन्त्रीका रूपमा अघि सारिएका छन्।

अन्य प्रमुख दलहरूमा भने नयाँ अनुहार अघि सार्ने संकेत देखिएको छैन। नेकपा एमालेबाट अध्यक्ष केपी शर्मा ओली नै भावी प्रधानमन्त्रीका प्रमुख दाबेदार रहने देखिन्छ। शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेसको अर्को धारले देउवाकै नाम अघि सार्न सक्ने सम्भावना छ। यस्तै, नेपाली कम्युनिस्ट पार्टीबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै भावी प्रधानमन्त्रीका उम्मेदवार बन्‍ने देखिन्छ।

त्यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अध्यक्ष राजेन्द्र लिङ्देन र जनता समाजवादी पार्टी (जसपा) नेपालले अध्यक्ष उपेन्द्र यादवलाई नै भावी प्रधानमन्त्रीका सम्भावित उम्मेदवारका रूपमा अघि सार्ने तयारी गरेको राजनीतिक स्रोतहरूले बताएका छन्।

यसरी आगामी निर्वाचनमा दलहरू पुरानै अनुहार र केही नयाँ पात्रलाई प्रधानमन्त्रीका रूपमा प्रस्तुत गर्दै जनमत आफ्नो पक्षमा पार्ने रणनीतिमा देखिएका छन्।

भाषा, साहित्य, कला र बाजा जोगाए सिंगो देश जोगिन्छ : बालेन

काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले भाषा, साहित्य, कला र बाजा जोगाउँदै गयौँ भने सिंगो देश जोगिने बताएका छन् । मकर संक्रान्ति तथा किरात नयाँ वर्षको अवसर पारेर बिहिबार नेपाल पुलिस क्लबमा आयोजित कार्यक्रममा मेयर शाहले काठमाडौँ महानगरपालिका र उपत्यकामा सम्पदा, संस्कृति, भाषा, साहित्य, कला, संगीत र ऐतिहासिक संरचनाहरू संरक्षण गरिँदै आएको बताउदै यस्तै अभ्यास देशभरका ७५३ वटै स्थानीय तहमा हुनुपर्नेमा जोड दिए ।

‘आफ्नो भाषा, कला र संस्कृति जोगाउनु भनेको केवल आफ्नो पहिचान जोगाउनु होइन, त्यो सिंगो देशको पहिचान जोगाउनु हो,’ मेयर शाहले भने । उनले एक सभ्यताले अर्को सभ्यतालाई सम्मान र सहयोग गर्नुपर्नेमा जोड दिँदै त्यसले सबैलाई सुरक्षित र सशक्त बनाउने बताए । लोपोन्मुख भाषा र लिपिहरूप्रति चिन्ता व्यक्त गर्दै उनले ती संरक्षणका लागि सबै नेपालीले साझा प्रयास गर्नुपर्ने बताए । ‘एउटा–एउटा भाषा, साहित्य, कला र बाजा जोगाउँदै गयौँ भने सिंगो देश जोगिन्छ,’ उनले भने, ‘यसले समग्र राष्ट्रको पहिचान कायम रहन्छ ।’

काठमाडौँ उपत्यका किरात सभ्यताको उद्गम स्थल भएको उल्लेख गर्दै उनले यलम्बरलाई काठमाडौँ उपत्यकामा भगवानका रूपमा पूजा गर्ने परम्परा रहेको बताए । इन्द्रचोकस्थित आकाश भैरवलाई यलम्बरका रूपमा पूजा गरिने र ललितपुरको मौलिक नाम ‘यल’ रहेको उनको भनाइ थियो । काठमाडौँ, ललितपुर र भक्तपुर समेटिएको उपत्यकालाई यलम्बरको राज्यका रूपमा लिइने ऐतिहासिक मान्यता रहेको उनले स्मरण गराए ।

यस्तै, शाहले किरात सभ्यता र परम्पराअनुसार मनाइने नयाँ वर्षलाई किरात समुदायको मात्रै नभई सम्पूर्ण नेपालको साझा नयाँ वर्षका रूपमा लिन सकिने बताएका छन् । माघ १ गते विभिन्न समुदायले नयाँ वर्ष मनाउने परम्पराको उल्लेख गर्दै मेयर शाहले किरात, मगर, थारु, मिथिला लगायतका समुदायहरूमा आ–आफ्नै मौलिक शैलीमा आजको दिनलाई नयाँ वर्षका रूपमा मनाइने गरेको बताए । ‘हाम्रो मौलिक सभ्यता र परम्पराअनुसार मनाइने नयाँ वर्षलाई हामीले मौलिक न्यू इयरकै रूपमा बुझ्नुपर्छ,’ उनले भने ।

 

 

 

मन्त्री बन्न नपाएकी टासीलाई उम्मेदवार बन्न ‘ब्वाइफ्रेण्ड’ बाधक !

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक उम्मेदवार बन्दसूचीबाट टासी ल्हाजोमको नाम हटाइएको विषयले राजनीतिक वृत्तमा विवाद चर्किएको छ । आदिवासी जनजाति महिला क्लस्टरतर्फ पहिलो नम्बरमा रहेकी ल्हाजोमको नाम हटाइएकोबारे निर्वाचन आयोग स्रोतले निवेदन परेको पुष्टि गरे पनि पार्टीले औपचारिक निर्णय सार्वजनिक गरेको छैन ।

स्वयं टासी ल्हाजोमले भने आफूले बन्दसूचीबाट नाम फिर्ता नलिएको स्पष्ट पारेकी छन् । सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै उनले पार्टी नेतृत्वले आफूसँग कुनै छलफल नगरी नाम हटाइएको दाबी गरेकी छन् । ‘मैले नाम फिर्ता लिएको छैन, न त फिर्ता लिने प्रक्रियामा सहभागी नै भएकी छु’, उनले लेखेकी छन् ।

ल्हाजोममाथि तिब्बतसम्बन्धी गतिविधिसँग जोडिएको, ‘फ्रि तिब्बत’ अभियानमा संलग्न भएको तथा तिब्बती प्रेमीसँग सम्बन्ध रहेको जस्ता आरोपहरू सार्वजनिक भएपछि पार्टीले नाम हटाएको दाबी रास्वपा स्रोतहरूले गरेका छन् । तर ती सबै आरोपको उनले कडा खण्डन गरेकी छन् । ‘म तिब्बती नागरिक होइन, फ्रि तिब्बतसम्बन्धी कुनै गतिविधिमा संलग्न छैन र मेरो प्रेमी पनि तिब्बती होइन’, उनले स्पष्ट पारेकी छन् । उच्च शिक्षा भारत र अमेरिकामा हासिल गरेकी तथा आफूलाई ‘जेनजी अभियन्ता’ भनेर चिनाउने ल्हाजोम यसअघि मन्त्री बन्ने चर्चामा रहे पनि अन्तिम समयमा उनको नाम काटिएको थियो । अहिले फेरि समानुपातिक सूचीबाट हटाइएपछि उनले यो निर्णयलाई राजनीतिक र व्यक्तिगत चरित्रहत्या प्रयासका रूपमा लिएको संकेत गरेकी छन् ।

उनले आफूविरुद्ध लगाइएका आरोपहरू यदि सत्य भए प्रमाण सार्वजनिक गर्न खुला चुनौती दिएकी छन् । ‘जो–कोहीसँग म वा मेरो गतिविधि तिब्बतसँग जोडिएको प्रमाण छ भने सार्वजनिक गरियोस्’, उनको भनाइ छ । साथै सार्वभौम देशको नागरिकको हैसियतमा आफूलाई संविधानले दिएको चुनाव लड्ने अधिकार कसैले खोस्न नसक्ने बताउँदै, अधिकार हनन भए कानुनी बाटो अपनाउने चेतावनी पनि दिएकी छन् । यस विषयमा रास्वपाका प्रवक्ता मनिष झाले भने टासीले पार्टी नेतृत्वसँग छलफल गरेरै नाम फिर्ता लिएको दाबी गरेका छन् । ‘उहाँले तत्काल सांसद नबन्ने, समुदायका लागि अन्य क्षेत्रबाट काम गर्ने बताउनु भएको हो’, उनको भनाइ छ ।

तर ल्हाजोमले उक्त दाबी अस्वीकार गर्दै आफूलाई नेतृत्वबाट कुनै जानकारी वा परामर्श नआएको बताइन् । उनले यसबारे उपसभापति डिपी अर्यालसँग सोध्न आग्रह गरेकी छन् । यसअघि राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले ल्हाजोम तिब्बती शरणार्थी भएको दाबी गर्दै नागरिकतामाथि प्रश्न उठाएका थिए भने जेनजी कर्णालीकी अध्यक्ष सुप्रिया शाहीले उनलाई फ्रि तिब्बत अभियानसँग जोड्दै छानबिनको माग गरेकी थिइन् । निर्वाचन कानुनअनुसार उम्मेदवारले स्वयं लिखित रूपमा नाम फिर्ता नलिएसम्म बन्दसूचीबाट हटाउन नमिल्ने व्यवस्था छ । यही कानुनी प्रावधानलाई आधार मानेर टासी ल्हाजोमले आफ्नो नाम हटाइएको प्रक्रिया नै शंकास्पद भएको दाबी गर्दै सार्वजनिक बहस र कानुनी लडाइँको संकेत गरेकी छन् ।

विप्लव र मिराजबीच ४ बुँदे सहमति, सर्वपक्षीय सहमति र अन्तरिम सरकारका लागि आन्दोलन गर्ने

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा (माओवादी) र संयुक्त जेनजी अगुवा मिराज ढुंगानाबीच चारबँदे सहमति भएको छ ।

उनीहरूबीच बिहीबार सहमति भएको  हो ।

यी दुई पक्षबीच सर्वपक्षीय सहमति र अन्तरिम सरकार गठनका लागि ‍संघर्ष गर्ने, जेनजी विद्रोहका माग पुरा गराउन संघर्ष गर्ने, आन्दोलन र जनताको चाहना बमोजिम संविधान संशोधन,स्थिर सरकार,भ्रष्टाचारविरूद्ध विशेष न्यायिक निकाय गठन, राज्यको अग्रगामी पुनर्संरचनाका लागि संघर्ष गर्ने सहमति भएको हो । यी माग पुरा गराउन संयुक्त संघर्ष अघि बढाउने पनि सहमतिपत्रमा उल्लेख छ ।

सहमतिपत्रमा संयुक्त जेनजी आन्दोलनको तर्फबाट ढुंगाना र नेकपा माओवादीका तर्फबाट विप्लवले हस्ताक्षर गरेका छन् ।

 

जेनजी विद्रोहबाट अर्थहिन निर्वाचन मात्रै पायौं : मिराज ढुंगाना

काठमाडौं । जेनजी अभियन्ता मिराज ढुंगानाले जेनजी विद्रोहबाट अर्थहिन निर्वाचन मात्रै पाएको बताएका छन् । बिहीवार माइतीघरमा प्रदर्शनका क्रममा उनले यस्तो बताएका हुन् । उनले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको उपलब्धि अर्थहीन निर्वाचन भएको टिप्पणी गरे ।

उनले अहिले नयाँ भन्नेहरुले संविधान उत्कृष्ट रहेको प्रतिक्रिया दिइरहेको भन्दै संविधान सच्याउन जरुरी रहेको बताए । अहिले नेपालमा पात्र मात्र नभइ प्रणाली पनि गलत रहेको जिकिर गरे । निर्वाचनको रट लगाउने श्रृंखला चलिरहेको भन्दै युवाका भावना नजरअन्दाज गरेर अन्त्यहिन निर्वाचनतिर धकेलिरहेको दाबी गरे ।

उनले भने, ‘पात्र मात्र गलत होइनन् यो सिस्टम पनि गलत छ । निर्वाचनको रट लगाउने श्रृंखला चलिरहेको छ । यसलाई नजरअन्दाज गरेर अन्त्यहिन निर्वाचनतिर धकेलिरहेको छ । व्यक्ति र पात्रमा मात्र होइन, संविधानमा पनि समस्या छन् । अहिले आएका केही नयाँ पात्रहरुले के भन्नु हुन्छ भने संविधान मान्य छैन भन्नु हुन्थ्यो अलि पहिला भने अहिले निर्वाचन नजिँकिँदै गर्दा आफ्नो स्वार्थका लागि संविधान एकदम उत्कृट छ भन्नुहुन्छ । शब्द उहाँहरुको फेरिएको छ । तर हाम्रो शब्द पहिलाकै हो । यत्रो विद्रोहबाट हामीले अर्थहिन निर्वाचन पाएका छौँ । यसले के फेरबदल ल्याउँछ ? हाम्रो देशको स्थितिमा । निकास पाउन गाह्रो छ ।’ उनले अहिलेको संविधानले गर्न खोज्ने मानिसको पनि हात बाँधिदिने बताए ।

शनिबारसम्म निर्वाचन आयोगले अद्यावधिक गर्ने काम टुंग्याउँछ : गगन थापा

काठमाडौं । विशेष महाधिवेशनबाट निर्वाचित नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको नयाँ केन्द्रिय कार्यसमितिको विवरण शनिवारसम्म निर्वाचन आयोगले अद्यावधिक गर्ने विश्वास व्यक्त गरेका छन् । बिहीवार विवरण अद्यावधिक गर्न निर्वाचन आयोग पुगेका उनले यस्तो बताएका हुन् ।

नेपाली कांग्रेसको विधानको धारा १७ (२) बमोजिम गरिएको विशेष महाधिवेशनले नेतृत्व चयन गरेकोले सो को जानकारी औपचारिक रुपमा आयोगलाई गराइएको उनले बताए । विशेष महाधिवेशन पार्टी विधानको धारा १५ अनुसार पार्टीको सर्वोच्च निकाय भएकाले त्यसले गरेका निर्णय सर्वोपरि हुने उनले बताए । महाधिवेशनबाट नयाँ केन्द्रिय कार्यसमिति चयन भइसकेकाले राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५१ अनुसार सो विवरण निर्वाचन आयोगमा अद्यावधिक गर्न निवेदन दिएको उनको भनाई । विशेष महाधिवेशनले निर्वाचित गरेको नयाँ केन्द्रिय कार्यसमितिलाई अद्यावधिक गरिदिन आवश्यक सम्पूर्ण कागजात र विवरणसहित निवेदन दिएकोले छिट्टै अद्यावधिक हुने विश्वास व्यक्त गरे ।

माघ ६ गते हुने प्रतिनिधि सभा निर्वाचनको मनोनयन प्रक्रियालाई ध्यानमा राख्दै निर्वाचन आयोगले अत्यन्त छिटो अद्यावधिकको काम टुंग्याउनुपर्ने उनले आवश्यकता औंल्याए । उनले यो कुनै दलभित्रको विवादसम्बन्धी विषय नभई विधिपूर्वक सम्पन्न महाधिवेशनको विवरण अद्यावधिक गर्ने सामान्य प्रशासनिक प्रक्रिया मात्र भएको दाबी गरे । आयोगले यसलाई छिट्टो टुंगोमा पु¥याएर पार्टीभित्र र बाहिर देखिएका अन्योल र दुविधा अन्त्य गर्नुपर्ने बताए । उनले भने, ‘नेपाली कांग्रेस पार्टीको विधान धारा १७(२) बमोजिम नेपाली काँग्रेसको विशेष महाधिवेशनको आयोजना भयो । र विशेष महाधिवेशन पार्टीको विधानको धारा १५ बमोजिम बमोजिम पार्टीको सर्वोच्च संस्था हो । अधिवेशनले गरेको निर्णय नै सर्वोपरि हुन्छ भन्ने जुन व्यवस्था हो, त्यही व्यवस्था अनुरुप सम्पन्न भएको महाधिवेशनले गरेका निर्णयहरुका बारेमा हामीले आज निर्वाचन आयोगलाई जानकारी गराएका छौँ ।’

उनले भने, ‘अधिवेशनले नेतृत्व चयनसम्बन्धी निर्णय पनि गरेको हुँदा यसले नेपाली काँग्रेसको विद्यमान केन्द्रिय कार्यसमितिलाई बदलिएको छ । त्यो केन्द्रिय कार्यसमिति बदलिएपनि नयाँ आएको केन्द्रिय कार्यसमितिको बारेमा राजनितिक दल सम्बन्धि ऐन २०७३ को दफा ५१ बमोजिम अध्यावधिक गर्ने कुराको हामीले केही समयभित्रमा अधिवेशनको गरेको कुरा निर्वाचन आयोगलाई जानकारी गराईसक्नुपर्छ । हामीले आज निर्वाचन आयोगमा त्यही कुरा जानकारी गराएका छौँ । विशेष अधिवेशन सम्पन्न भयो, यसले नेतृत्व परिवर्तन गरेको छ । केन्द्रिय कार्यसमिति नै नयाँ आएको छ । यसलाई अध्यावधिक गरिदिनुहोला भन्ने निवेदन लिएर आएका हौँ ।’

थापाले भने, ‘यसको लागि पुष्टी गर्न चाहिने कागजातहरु, सबै विवरण हामीले बुझाएका छौँ । यो अधिवेशन रितपुर्वक भएको छ र यसलाई माघ ६ गतेको प्रतिनिधिसभाको निर्वाचनको मनोनयन गर्नुपर्ने भएको हुनाले त्यो समयलाई पनि ख्याल राखेर निर्वाचन आयोगले अत्यन्त छिटो अध्यावधिक गर्ने काम टुङ्ग्याइदिएर बाँकी रहेका, बाहिर रहेका दुविधिाहरुलाई पनि चिर्दिनुपर्छ । यो राजनितिक दलको कुनै विवादसम्बन्धि विषय होइन, यो राजनितिक दलको अधिवेशन सम्पन्न भएको अध्यावधिक गरेको विषय हो । समय एकदमै कम रहेको छ, हाम्रो चाहाना भनेको आज एक गते भइसक्यो, भोली या ढिलोमा पनि पर्सिको दिन भित्रमा निर्वाचन आयोगको तर्फबाट अध्यावधिक गर्ने काम टुंगिन्छ भन्ने विश्वास छ ।’ उनले पार्टीको विशेष महाविधेशन आधिकारिक रहेकोले आफूहरु नै आधिकारीक नेपाली कांग्रेस भएको बताए ।

 

काङ्‍ग्रेस दुई फक्लेटाे बन्याे तर विश्‍वले उल्टै साेधे : कहाँ विभाजन भयो पार्टी ?

काठमाडौं । दाेस्राे विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्त्वकाे नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको पहिलो बैठक कुपण्डोलस्थित म्याक्सिम व्या‌ङ्क्‍वेट एण्ड इभेन्टमा भयाे ।

बैठकमा २१ फागुनको चुनाव, निर्वाचन आयोगमा नयाँ समिति चयन भएको जानकारी गराउने लगायत विषयमा छलफल भएकाे छ । बैठकपछि नवनियुक्त प्रवक्ता देवराज चालिसेले निर्वाचन आयोगमा कांग्रेसको विवरण अद्यावधिक गर्ने र २१ फागुनको निर्वाचनका लागि उपसभापति विश्‍वप्रकाश शर्माको नेतृत्वमा निर्वाचन परिचालन समिति बनाउने निर्णय गरेको जानकारी दिए । उनका अनुसार पार्टीकाे घाेषणापत्र निर्माण गर्न सभापति गगनकै नेतृत्त्वमा गठन गरिएकाे छ ।

‘पार्टीको घोषणापत्र निर्माणको लागि नयाँ युगसापेक्ष र युवाहरूको आशा बमोजिम घोषणापत्र  निर्माण गर्नका लागि सभापतिको अध्यक्षतामा समिति बनाएका छौँ’, उनले भने, ‘ त्यस्तै फागुन २१ गते हुने निर्वाचनलाई केन्द्रित गरेर पार्टी उपसभापति विश्‍वप्रकाश शर्माजीको अध्यक्षतामा निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय भएको छ ।’

अहिले शेरबहादुर देउवा नेतृत्वको कांग्रेसलाई वैधता दिने कि विशेष महाधिवेशनबाट निर्वाचित गगनकुमार थापा नेतृत्वकाे समितिलाई वैधता दिने भन्‍ने बहस चर्किएको छ । यसबीच देउवा नेतृत्वको कांग्रेसले निर्वाचन आयोगमा कुनै पनि विशेष महाधिवेशन आयोजना नगरेको जानकारी गराइसकेकाे छ भने थापा नेतृत्वमा निर्वाचित समिति पनि आजको बैठकपछि जानकारी गराउन आयोगमा पुगिसकेको छ ।

नवनिर्वाचित समितिका सदस्यहरू के भन्छन् ?

नवनिर्वाचित समितिका एक केन्द्रीय सदस्यले ‘हामीसँग स्पष्ट बहुमत भएकाले यो बहसको विषय नै नभएको’ प्रतिक्रिया दिए । उनले भने, ‘विशेष महाधिवेशनमा ६७ प्रतिशत महाधिवेशन प्रतिनिधिको उपस्थिति थियो । कांग्रेसको नेतृत्त्व परिवर्तन गर्न बहुमत पुग्‍ने प्रतिनिधि भए पुग्छ, हामीसँग दुई तिहाई प्रतिनिधि हुनुहुन्छ।  यो वैधतासम्बन्धी बहस आवश्यक नै छैन।’

गगन नेतृत्त्वको नया कार्यसमितिमा सहमहामन्त्री चुनिएका उदयशमशेर राणाले नेपाली काङ्ग्रेस फुटेको कुरा अनावश्यक हल्ला भएको प्रतिक्रिया दिएका छन् । ‘नेपाली कांग्रेसले विशेष महाधिवेशन सम्पन्‍न गरिसक्यो, पार्टी फुटेको हल्ला अनावश्यक प्रचारबाजी हो’, उनले भने, ‘नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक सम्पन्‍न भएको छ। निर्वाचन आयोगमा अधावधिक गर्ने काम सकिएपछि हामी २१ फागुनको चुनाको तयारीमा लाग्छौँ।’

उनले पार्टी कार्यालयमा बैठक किन नबसेकाे भन्‍ने प्रश्नमा ‘हामी अनावश्यक मुटभेट चाहन्‍नाैँ’ भन्‍ने प्रतिक्रिया दिए । ‘याे तपाईहरु सबैलाइ थाहा भएकै कुरा हाे, हामी अहिले सानेपा गयाैँ भने के हुन्छ’ , उनले भने, ‘हामी अनावश्यक मुटभेट चाहन्‍नाैँ ।’

त्यस्तै गगन नेतृत्त्वको कांग्रेसमा उपसभापति चयन भएका विश्‍वप्रकाश शर्माले पार्टी विभाजन नभएको दाबी गरे । विशेष महाधिवेशनबाट पार्टी विभाजन हुने भए आफू नै हलबाट सबैभन्दा अघि निस्किने बताएका शर्माले काङ्ग्रेस झन् सशक्त र बलियो भएको दाबी गरे।

‘विधिको र नेतृत्त्वको समग्रतामा पार्टी अगाडि बढेको छ, यही कुरालाई आधार बनाएर निर्वाचन आयोगमा हामीले अद्यावधिक गर्न जानकारी गराएका छौ’, शर्माले दाबी गरे ‘हो त कहाँ विभाजन भयो पार्टी ? नेपाली कांग्रेसले देशको पछिल्लो अवस्थाबारे नयाँ दृष्टिकोण पारित गरेर नेतृत्व परिवर्तन गरेर अगाडि बढिसक्यो।’

बैठकमा सहभागी हुन कुपण्डोल पुगेका एक कानुन व्यवसायीले कानुनले पनि विशेष महाधिवेशनले निर्वाचित गरेको समितिलाई वैधता दिने जिकिर गरे । ‘निर्वाचन आयोगले हामीलाई वैधता दिनेमा विश्‍वस्त छौँ’, उनले भने, ‘निर्वाचन आयोगले वैधता नदिए अदालतको ढोका खुलै छ, बहुमत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर लिएर अदालत जान्छौँ।’

काङ्‍ग्रेस बुधबार दुई फक्लेटाे भएकाे हाे ।

महाधिवेशनले नेतृत्व फेरेको हो, पार्टी फुटेको छैन : विश्वप्रकाश

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दा पार्टी फुटेको नहुने उपसभापति विश्वप्रकाश शर्माले बताएका छन् । महाधिवेशनले नयाँ कार्यसमिति चयन गरेपछि शर्मा र सभापति गगन थापा निर्वाचन आयोग पुगेका थिए र केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिकका लागि बुझाएका छन् ।

उपसभापति शर्माले सञ्चारकर्मीसँग कुरा गर्दै भने, ‘विशेष महाधिवेशनले नीति र नेतृत्व परिवर्तन गरिसकेको छ । हामीले लिखित तथा मौखिक रूपमा निर्वाचन आयोगलाई जानकारी दिएका छौँ । आधिकारिक रूपमा कुनै प्रश्न उठ्ने अवस्था छैन ।’ उनले पार्टी विभाजनको प्रश्नको जवाफमा भने, ‘कहाँ विभाजन भयो त पार्टी ? नेपाली कांग्रेस एकताबद्ध भएर अगाडि बढ्छ ।’ शर्मा अनुसार, महाधिवेशनमार्फत नेतृत्व परिवर्तन भएपछि पार्टीभित्रको एकता स्पष्ट भएको छ ।

यस अघि बुधबार कांग्रेस केन्द्रीय कार्यसमितिले गगन थापा, विश्वप्रकाश शर्मा र फरमुल्लाह मन्सुरलाई पाँच वर्षका लागि साधारण सदस्यबाट निष्काशन गर्ने निर्णय गरेको थियो । तर त्यसपछि भएको विशेष महाधिवेशनले थापाको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको थियो, जसको उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल चयन भएका छन् । शर्माले भने, ‘महाधिवेशनमा कोही सहभागी भए होलान्, भएनन् होला, त्यो आफ्नो ठाउँमा छ । तर नेपाली कांग्रेसको महाधिवेशनले नेतृत्व र नीतिको अद्यावधिक सुनिश्चित गरेको छ ।’ उक्त घटनाक्रमले स्पष्ट देखाउँछ कि पार्टीको नेतृत्वमा परिवर्तन भए पनि पार्टी फुटेको छैन र आगामी दिनमा कांग्रेस एकताबद्ध रूपमा अघि बढ्ने प्रयासमा छ ।

 

कांग्रेसको नयाँ नेतृत्व आयोगमा, गगनले गरे छिटो निर्णयको माग

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित नयाँ नेतृत्व निर्वाचन आयोगमा अद्यावधिक गराउन सभापति गगनकुमार थापा नेतृत्वको टोली सोमबार आयोग पुगेको छ । कांग्रेसको विधानअनुसार विशेष महाधिवेशन सम्पन्न भएपछिका सबै पदाधिकारी विवरण अद्यावधिक गर्नुपर्ने भएकाले आयोगमा निवेदन बुझाइएको हो ।

कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी र अन्य आयुक्तसँग भेटेर टोलीले छिटो निर्णय गर्न आग्रह गरेको छ । सभापति थापाले सञ्चारकर्मीहरूसँग कुरा गर्दै भने, ‘हामीले विधानअनुसार विशेष महाधिवेशन सम्पन्न गरेका छौं र आवश्यक सबै तथ्य–प्रमाणसहित नेतृत्व परिवर्तनको विवरण आयोगमा बुझाएका छौं । निर्वाचन आयोगले छिटो निर्णय दिने विश्वास राख्छौं ।’

तल्लो तहको समितिसम्मको विवरणसहित आयोग पुगेको टोलीमा वरिष्ठ अधिवक्ता हरिहर दाहाल र यदुनाथ खनाल रहेका थिए । सभापति थापासँगै उपसभापति विश्वप्रकाश शर्मा, पुष्पा भुसाल र अन्य नेताहरू पनि उपस्थित थिए । आयोगले निवेदन स्वीकार गरेको तर अहिलेसम्म औपचारिक प्रतिक्रिया दिएका छैनन् ।

थापाले भने, ‘विशेष महाधिवेशनको निर्णय पार्टीको सर्वोपरी हुने भएकाले यसमा कुनै विवाद हुन सक्दैन । ६ गते उम्मेदवारी मनोनयनको प्रक्रिया सुरु हुन लागेको छ, त्यसैले ढिलोमा पर्सीसम्ममा अद्यावधिक टुङ्गिन्छ भन्ने हाम्रो विश्वास छ ।’ उनले यस अवसरमा पूर्व सभापति शेरबहादुर देउवाको हस्ताक्षर हटाएर नयाँ नेतृत्वको विवरण अद्यावधिक गराउन आयोगमा बुझाएको समेत बताए । थापाले विशेष महाधिवेशनपछि देउवा नेतृत्वको कार्यसमिति भंग भइसकेको जानकारी आयोगलाई पहिले नै गराइसकेको उल्लेख गरे । नेपाली कांग्रेसको नयाँ नेतृत्व अद्यावधिक भएपछि आगामी निर्वाचन र आन्तरिक प्रक्रियाहरू सहज रूपमा अघि बढ्ने अपेक्षा गरिएको छ ।

विद्यार्थी राजनीति–कांग्रेस नेतृत्वको केन्द्रमा : गुरू–गगन, विश्वप्रकाश र प्रदीपको अद्भुत संयोग

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनले कांग्रेस नेतृत्वमा नयाँ युगको सुरुवात गरेको छ, जहाँ नेविसंघबाट उठेका विद्यार्थी नेताहरू पार्टीको बागडोर सम्हाल्ने अवस्थामा पुगेका छन् । यस पटकको नेतृत्वमा केही रोचक र अनौठा संयोग देखिएका छन् ।

नव निर्वाचित सभापति गगनकुमार थापा र महामन्त्री गुरुराज घिमिरे दुवै २०५९ सालमा नेविसंघको एउटै कार्यकालमा पदाधिकारी थिए । त्यतिबेला गुरुराज सभापति र गगन महामन्त्री थिए । २ दशकपछि, अब पार्टीको नेतृत्वमा गगन सभापति र गुरुराज महामन्त्री बनेका छन् । गुरु–गगन जोडीले २०६२–६३ को दोस्रो जनआन्दोलनमा राजतन्त्रविरुद्धको संघर्षमा अग्रणी भूमिका खेलेका थिए । तत्कालीन सूर्यबहादुर थापा सरकारले गणतन्त्रको पक्षमा नारा लगाएकोमा गगनलाई जेल हाल्दा उनी विद्यार्थी राजनीतिमा चर्चित बने । गुरुराज पनि त्यही आन्दोलनमा राजद्रोहको मुद्दा खेपेका थिए । त्यस आन्दोलनले नेपालको राजतन्त्र अन्त्य गरी गणतन्त्रको उदय सुनिश्चित गर्‍यो ।

गुरुराज घिमिरे त्यसपछि राजनीतिको मुख्यधाराबाट केही समय ओझेलमा परे। तर उनी पार्टीको नीति, विचार र दिशा तय गर्न सक्ने अध्ययनशील नेताको रूपमा चिनिएका थिए । २०७८ सालको १४औं महाधिवेशनमा कोशी प्रदेश कार्यसमिति सभापतिका लागि पराजित भए पनि, यस विशेष महाधिवेशनमा उनीलाई राजनीतिक केन्द्रमा ल्याइएको छ । महामन्त्रीमा निर्वाचित अर्का नेता प्रदीप पौडेल पनि नेविसंघबाट उदाएका हुन् ।

उनी पनि २०६२–६३ को आन्दोलनमा सहभागी भएर राजकाजको मुद्दा खेपेका थिए । विद्यार्थीकालमै अमृत साइन्स क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन सभापति बनेका पौडेल अहिले पार्टीका महत्वपूर्ण पदाधिकारी बनेका छन् । उनीहरू चारै—गगन, गुरुराज, विश्वप्रकाश शर्मा र प्रदीप–नेविसंघमा एकै समय राजनीतिमा सक्रिय थिए र अहिले पार्टी नेतृत्वको केन्द्रमा उभिएका छन् । यो विद्यार्थी राजनीतिबाट पार्टी नेतृत्वसम्मको यात्रामा अनौठो र अद्भुत संयोग मान्न सकिन्छ । विशेष महाधिवेशनले कांग्रेसभित्रको वैचारिक बहस र नेतृत्व परिवर्तनको नयाँ चरणको संकेत दिएको छ । गगन–गुरु–पौडेल–विश्वप्रकाशको संयोजनले पार्टीलाई नयाँ ऊर्जा र अनुभव दुवै प्रदान गर्ने अपेक्षा गरिएको छ ।

 

 

 

 

 

 

एमालेको आरोप : सुशीला सरकार रविको दललाई बलियो बनाउने गतिविधिमा

काठमाडौं । नेकपा (एमाले) यही माघ ४ गतेदेखि औपचारिक रुपमा निर्वाचनमा होमिने भएको छ । पार्टी सचिव महेश बस्नेतले बिहीवार पार्टी केन्द्रिय कार्यालयमा पत्रकार सम्मेलन गर्दै काठमाडौंमा विशेष प्रदर्शनसहित फागुन २१ को निर्वाचनमा होमिएको सन्देश दिने जानकारी गराए ।

उनले एमाले निर्वाचनमा नजाने कहिल्यै नभनेको जिकिर गर्दै निर्वाचनमैत्री वातावरण मुख्य प्रश्न रहेको बताए । उनले अझै पनि जेन–जी आन्दोलनको क्रममा लुटिएका हतियार तथा भागेका कैदीहरु फिर्ता गर्न नसकिएको उल्लेख गरे । उनले सुशीला कार्की नेतृत्वको सरकार रवि लामिछानेको दललाई बलियो बनाउने गतिवधिमा संलग्न रहेको आरोप पनि लगाए । लामिछानेलाई सम्पती शुद्धीकरण र सङ्गठित अपराध मुद्दा फिर्ता लिने सरकारी वकिलको कार्यालयको निर्णयले मुलुकमा भ्रष्टाचारीलाई उन्मुक्ति दिन सरकार आफै लागेको पुष्टि भएको दाबी गरे ।

उनले भने, ‘यही माघ ४ गते हामी खुला सभामार्फत नेकपा (एमाले) चुनावमा होमिएको सन्देश दिँदैछौँ । हामीले चुनावमा भाग लिन्नौँ भनेर कहिले पनि भनेका छैनौँ । अहिले चुनावको वातावरण छैन भन्ने हाम्रो कुरा हो । अहिले प्रहरी र प्रशासनको मनोबल कमजोर छ । न्यायालय र सेनाको मनोबल कमजोर छ । प्रहरीहरु घाइते छन् । लुटिएका हतियार र भागेका कैदीहरु अझै फिर्ता भएका छैनन् । अपराधिक गतिविधिहरु अहिले पनि बढिरेहका छन् । अदालत जल्ने कुरा आफ्नो ठाउँमा छ । न्याय नै जलिरहेको छ। सुशीला कार्की नेतृत्वको सरकार नागरिक सरकार भन्छ । रवि लामिछानेको टसलका कारण कुलमान घिसिङले राजीनामा दिए अरु मन्त्रीहरुको चाला अहिले पनि सुध्रिएको छैन । सरकारको अभिव्यक्ति हेर्दा नयाँ ल्याउनुपर्छ, पुराना दलहरुको काम छैन, डिजिटल भोटिङको व्यवस्था ठुला दलहरुका कारण हुन सकेन भनेर दिँदै आएका अभिव्यक्ति एमाले–काँग्रेसलाई कमजोर बनाउने प्रयत्न हो ।’ उनले कांग्रेस–एमालेलाई कमजोर बनाउन लागिरहेको सरकारका मन्त्रीहरुको चालामाला ठिक नभएको उनको जिकिर छ ।

 

 

 

 

 

पदाधिकारी लिएर निर्वाचन आयोग पुगे गगन {तस्वीरहरु}

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापासहितका पदाधिकारी निर्वाचन आयोग पुगेका छन् । कांग्रेसको अधिकारिकता दाबी गर्न आवश्यक कागजातसहित उनीहरू बिहीबार दिउँसो कान्तिपथस्थित आयोग पुगेका हुन् । पदाधिकारीसहित केन्द्रीय सदस्यहरू पनि आयोग पुगेका छन् । ललितपुरको कुपण्डोलमा पहिलो केन्द्रीय समिति बैठकपछि पार्टीको दोस्रो विशेष महाधिवेशनसम्बन्धी दस्तावेज लिएर उनीहरू आयोग पुगेका हुन् ।

हलबाट पारित विधान, चुनावी प्रयोजनका लागि हस्ताक्षर बदल्ने र समानुपातिक सूची अद्यावधिक गर्ने निवेदन र विशेष महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको लिस्ट आयोगमा बुझाइनेछ । काठमाडौंको भृकुटीमण्डपमा पुस २७ देखि ३० गतेसम्म चलेको विशेष महाधिवेशनले थापाको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको थियो । उक्त कार्यसमितिको उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल, महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे निर्वाचित भएका छन् । केही बेरअघि बसेको केन्द्रीय समिति बैठकले निर्वाचन आयोग जाने निर्णय गरेको थियो । तर शेरबहादुर देउवा पक्षले भने हिजै विशेष महाधिवेशन नरहेको भन्दै पत्र पठाइसकेको छ ।

 

 

 

 

 

 

समानुपातिक सूची संशोधन र दस्तखत आवधिक गर्ने गगन कांग्रेसको निर्णय

काठमाडौँ । विशेष महाधिवेशनबाट निर्वाचित गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसले संगठन र निर्वाचन तयारीलाई एकसाथ अघि बढाउने निर्णय गर्दै औपचारिक प्रक्रिया तीव्र बनाएको छ । केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको घोषणा पत्र निर्माण, निर्वाचन परिचालन, अभिलेख अद्यावधिक र समानुपातिक सूची संशोधनसम्बन्धी महत्वपूर्ण निर्णयहरू गरेको छ ।

ललितपुरस्थित एक होटलमा बिहीबार बसेको बैठकले पार्टी सभापति गगनकुमार थापाको नेतृत्वमा घोषणा पत्र निर्माण समिति गठन गर्ने निर्णय गरेको हो । बैठकपछि प्रवक्ता देवराज चालिसेले बदलिँदो राजनीतिक परिवेशअनुसार सच्चिएको र सुदृढ कांग्रेस निर्माण गर्ने लक्ष्यसहित घोषणा पत्र तयार गरिने बताए । उनका अनुसार आगामी निर्वाचनलाई केन्द्रमा राख्दै देशभरका पार्टी पंक्तिलाई सक्रिय रूपमा परिचालन गर्न उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरिएको छ ।

साथै दोस्रो विशेष महाधिवेशनपछि पार्टीका पुराना अभिलेखलाई प्रतिस्थापन गर्दै नयाँ आवधिक अभिलेख तयार गर्ने, उम्मेदवारी दर्ता प्रयोजनका लागि दस्तखत अद्यावधिक गर्ने र समानुपातिक सूची संशोधन गर्ने निर्णय पनि बैठकले गरेको छ ।
प्रवक्ता चालिसेले बैठक अझै निरन्तर रहने जानकारी दिँदै विशेष महाधिवेशनमा सहभागी कार्यकर्ताप्रति धन्यवाद व्यक्त गरिएको बताए । ‘संस्थापक नेताहरूले देखाएको बाटो, शहीदहरूको बलिदान र वर्तमान आवश्यकता समेट्दै काँग्रेसलाई निर्वाचनमा अझ सक्षम बनाउने निर्णयहरू भएका छन्’, उनले भने ।

यसैबीच, पार्टीको नयाँ नेतृत्वले औपचारिक मान्यता लिन निर्वाचन आयोग जाने तयारी समेत पूरा गरेको छ । महामन्त्री गुरुराज घिमिरेले निर्वाचन आयोगबाट पार्टीको आधिकारिकतासम्बन्धी पत्र प्राप्त भएपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा प्रवेश गरिने स्पष्ट पारे । विशेष महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको पहिलो बैठकपछि प्रतिक्रिया दिँदै घिमिरेले भने, ‘हामी आजै निर्वाचन आयोग जान्छौं । आवश्यक कागजात प्राप्त भएपछि सानेपा जान्छौं ।’

बैठकले विधान पारित भएको प्रमाण, चुनावी प्रयोजनका लागि हस्ताक्षर परिवर्तन, समानुपातिक सूची अद्यावधिकसम्बन्धी निवेदन तथा नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको सूची निर्वाचन आयोगमा बुझाउने निर्णय गरेको छ । पुस २७ देखि ३० सम्म चलेको विशेष महाधिवेशनले गगनकुमार थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेसँगै कांग्रेसले संगठनात्मक पुनर्संरचना र निर्वाचन तयारीलाई समानान्तर रूपमा अघि बढाएको स्पष्ट संकेत दिएको छ ।

 

 

 

 

कांग्रेस दुई फक्लेटाे भएपछि शेखरले भने– भगीरथ प्रयास असफल भयो

काठमाडौं । कांग्रेस नेता डा. शेखर कोइरालाले पार्टी एकताबद्ध राख्‍ने  प्रयास सफल हुन नसकेको स्वीकार गर्दै विभाजनको वस्तुपरक मूल्यांकन इतिहासकै जिम्मा हुने बताएका छन् ।

कांग्रेस एकताका लागि गरिएको ‘भागीरथ प्रयास’ असफल भएको उल्लेख गर्दै उनले भने, ‘को दोषी र को निर्दोषी भन्‍ने बहस गरेर राष्ट्रिय राजनीतिलाई थप अन्योलमा पार्न म चाहन्‍नँ । हामी सबै कहीँ न कहीँ चुकेका छौँ भन्‍ने कुरा स्वीकार गर्न मलाई कुनै संकोच छैन ।’

उनले यस अवधिमा घटेका विभिन्न घटनाको साक्षी आफू भएको बताउँदै ती घटनाको समीक्षा र व्यक्तिको भूमिकाबारे मूल्यांकन इतिहासले नै गर्ने बताए ।

पार्टीभित्र दृश्य र अदृश्य रूपमा देखिएका अन्तरविरोधका कारण कांग्रेस कठिन समयबाट गुज्रिनुपरेको उनको भनाइ छ ।

आगामी निर्वाचनमा कांग्रेस एकताबद्ध भएर जान नसक्नुलाई उनले दुर्भाग्य भनेका छन् ।

‘कांग्रेस एक भएर आसन्‍न निर्वाचनमा जानुपर्छ भन्‍नेमा सबैको इमानदार चाहना थियो, तर दुर्भाग्यवश त्यसो हुन सकेन,’ कोइरालाले भने ।

यस्तो परिस्थितिमा बीपी कोइरालाको स्मरण आवश्यक रहेको उल्लेख गर्दै उनले बीपीलाई ज्यानको बाजी लगाएर साथ दिने लाखौँ कार्यकर्ताले लोकतन्त्रका लागि अविचलित संघर्ष गरेको स्मरण गराए ।

केही व्यक्ति र समूहले बीपीलाई छाडेर गए पनि बीपीले त्यसलाई ‘नियतिको खेल’का रूपमा लिने गरेको उनले भने ।

शेखर कोइरालाको आह्वान : जित–हार कसैको छैन, सबै घर फर्कौ

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएका मतभेद र असहमतिको अन्त्य गर्दै सबै नेता–कार्यकर्तालाई कांग्रेसभित्रै फर्किन आह्वान गरेका छन् । उनले हालको परिस्थितिलाई जित–हारको रूपमा नभई साझा उत्तरदायित्व र भविष्य निर्माणको अवसरका रूपमा बुझ्न आग्रह गरेका छन् ।

बिहीबार जारी गरिएको वक्तव्यमा डा. कोइरालाले पार्टीलाई एकतावद्ध राख्न गरिएको प्रयास अपेक्षित रूपमा सफल हुन नसकेको स्वीकार गरेका छन् । पार्टीभित्र देखिएका आन्तरिक कमजोरी, दृश्य तथा अदृश्य अन्तरविरोध र जटिल राजनीतिक परिस्थितिका कारण कांग्रेस एकढिक्का भएर अगाडि बढ्न नसकेको यथार्थलाई उनले ‘नियतिको कठोर सत्य’ का रूपमा व्याख्या गरेका छन् ।

उनले राजधानी केन्द्रित राजनीति, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका षड्यन्त्र र कांग्रेसलाई कमजोर पार्न चाहने शक्तिहरूको चलखेललाई पनि संकेत गर्दै ती प्रयासलाई प्रभावकारी रूपमा रोक्न नसकिएको स्वीकार गरेका छन् । ‘हामी सबै कहीँ न कहीँ चुकेका छौं’, भन्दै उनले आत्मालोचना समेत गरेका छन् । यद्यपि, डा. कोइरालाले पार्टीभित्र गर्नुपर्ने सुधारका प्रक्रिया नरोकिने स्पष्ट पारेका छन् ।

उनले सुधार, आत्मसमीक्षा र संगठन सुदृढीकरण कांग्रेसको निरन्तर एजेण्डा भएको उल्लेख गर्दै अब सबैले व्यक्तिगत असन्तुष्टि थाती राखेर सामूहिक लक्ष्यतर्फ अघि बढ्नु पर्नेमा जोड दिएका छन् । उनको वक्तव्यमा भनिएको छ, ‘म आह्वान गर्छु– हामी सबै घर फर्कौं, कांग्रेसमा फर्कौं । यहाँ जित–हार कसैको छैन । सबैका लागि विन–विनको अवस्थामा हामी अगाडि बढ्न सक्छौं ।’ आगामी चुनावलाई केन्द्रमा राख्दै उनले कांग्रेसका नेता–कार्यकर्तालाई एकढिक्का भएर जनतामा जाने र पार्टीलाई पुनः बलियो बनाउने अभियानमा जुट्न आग्रह गरेका छन् । डा. कोइरालाको यो अपिललाई कांग्रेसभित्र बढ्दो असन्तुष्टि र गुटगत तनावबीच एकता कायम गर्ने महत्वपूर्ण सन्देशका रूपमा हेरिएको छ ।

 

 

 

 

गुट भन्दा विधान रोजेकी पुष्पा : शैलाजापछि कांग्रेसको दोस्रो महिला उपसभापति

काठमाडौं । नेपाली कांग्रेसको आन्तरिक राजनीतिमा लामो समयसम्म सभापति शेरबहादुर देउवा निकट मानिएकी पुष्पा भुसाल अहिले पार्टी रूपान्तरणको धारमा उभिँदै केन्द्रीय उपसभापतिमा उदाएकी छन् । बुधबार सम्पन्न विशेष महाधिवेशनले उनलाई शैलजा आचार्यपछि कांग्रेसको दोस्रो महिला उपसभापति बनाएको छ ।

विशेष महाधिवेशनमार्फत उदाएको यो नेतृत्व परिवर्तन केवल पदको फेरबदल मात्र होइन, कांग्रेसभित्रको शक्ति सन्तुलन र राजनीतिक दिशाको संकेत पनि हो । कुनै समय देउवा समूहभित्रै रहेर केन्द्रीय सदस्य, सांसद र प्रतिनिधिसभाकी उपसभामुख बनेकी भुसाल पछिल्लो चरणमा संस्थापन पक्षबाट अलग हुँदै गगन थापा र विश्वप्रकाश शर्माले अघि सारेको पार्टी रूपान्तरणको एजेण्डामा उभिइन् ।

जेन–जी आन्दोलनपछिको राजनीतिक दबाब, चुनाव घोषणापछि उठेको पार्टी सुधारको बहस र विधानअनुसार महाधिवेशन हुनुपर्ने मागले कांग्रेसभित्र स्पष्ट दुई धार बनायो । यही सन्दर्भमा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित विशेष महाधिवेशनको माग अघि बढ्दा देउवा पक्षका केन्द्रीय सदस्यहरूको एउटा समूहको नेतृत्व पुष्पा भुसालले नै गरिन् । अन्ततः देउवा समूह महाधिवेशनमा नआउने निश्चित भएपछि उनी विशेष महाधिवेशनमा सहभागी भइन् र नयाँ नेतृत्व टिमको उपसभापतिमा निर्वाचित भइन् ।

विशेष महाधिवेशनको उद्घाटन सत्रमै उनले पार्टी विधानभन्दा माथि कोही नहुने स्पष्ट सन्देश दिएकी थिइन् । ‘अब कांग्रेस गुट र कृपाबाट मुक्त हुनुपर्छ’, भन्ने उनको अभिव्यक्तिले उनको राजनीतिक मोडलाई स्पष्ट पारेको थियो । उपसभापतिमा निर्वाचित भएपछि पनि उनले शैलजा आचार्यलाई सम्झँदै कांग्रेसलाई ‘दुबोसरी फैलिने, जनताको पार्टी’ बनाउने प्रतिबद्धता दोहोर्‍याइन् ।

अर्घाखाँचीको पाणिनी गाउँपालिका–पोखराथोकमा जन्मिएकी पुष्पा भुसालको जीवन कथा नेपाली कांग्रेसकै उतारचढावसँग गाँसिएको छ । २०१७ साल फागुन १ गते जन्मिएकी उनी बीपी कोइरालाको मन्त्रिपरिषद्मा मन्त्री रहेका काशीनाथ गौतमकी छोरी हुन् । पञ्चायतकालमा परिवारसहित भारत निर्वासन जानुपरेको अनुभवले उनको राजनीतिक चेतना सानैदेखि निर्माण भयो ।

कानुनमा स्नातक र राजनीतिशास्त्रमा स्नातकोत्तर गरेकी भुसालले त्रिभुवन विश्वविद्यालयमा १७ वर्ष अध्यापन गरिन् । वरिष्ठ अधिवक्ताका रूपमा कानुनी अभ्यास गर्दै सामाजिक न्याय, महिला अधिकार र समावेशिताका पक्षमा उनको निरन्तर संलग्नता रह्यो । २०२८ सालदेखि सक्रिय राजनीतिमा लागेकी उनी महिला संघकी महासचिव, पार्टीको कानुन विभाग सदस्य हुँदै केन्द्रीय राजनीतिमा स्थापित भइन् ।

२०६४ सालमा अर्घाखाँचीबाट संविधानसभा सदस्य निर्वाचित भई अन्तरिम संविधान र संविधान मस्यौदा समितिमा काम गर्नु उनको राजनीतिक यात्राको महत्वपूर्ण मोड बन्यो । २०७० र २०७९ मा प्रत्यक्ष चुनाव पराजित भए पनि उनी राजनीतिबाट अलग भइनन् । २०७४ मा समानुपातिक सांसद बनेर प्रतिनिधिसभाकी उपसभामुखको जिम्मेवारी सम्हालिन् ।

लगातार हार–जितका बीच पनि ५० वर्षदेखि कांग्रेस राजनीतिमा सक्रिय रहँदै आएकी भुसालले ‘महिला नेताहरू हारपछि हराउँछन्’ भन्ने भाष्यलाई चुनौती दिएकी छन् । विशेष महाधिवेशनबाट उपसभापतिमा उदाउँदै उनले कांग्रेसलाई युवा र महिलामैत्री बनाउने, वैदेशिक पलायन र महिला हिंसाका मुद्दामा स्पष्ट हस्तक्षेप गर्ने संकल्प सार्वजनिक गरेकी छन् । देउवा निकटताबाट अलग हुँदै पार्टी रूपान्तरणको केन्द्रमा पुगेकी पुष्पा भुसाल अब नेपाली कांग्रेसको आगामी राजनीतिक दिशामा निर्णायक भूमिकामा देखिने छिन् ।

 

 

 

मनोनयनमा देउवाको दस्तखत हटाइने, घोषणापत्र निर्माण थापा र निर्वाचन परिचालन विश्‍वको कमान्डमा

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसले पार्टीको नयाँ घोषणापत्र निर्माण गर्ने निर्णय गरेको छ ।

पार्टीको पहिलो बैठकले थापाकै संयोजकत्वमा घोषणापत्र निर्माण समिति गठन गरेको हो ।

घोषणापत्रमा कति वर्षमा कस्तो कांग्रेस र कस्तो देश बनाउने भन्ने मार्गचित्र समेटिने भनिएको छ । घोषणापत्र युगसापेक्ष जनचाहना सम्बोधन गर्नेगरिको निर्माण हुने उल्लेख छ ।

आगामी २१ फागुनमा हुने निर्वाचनमा पार्टीपंक्तिलाई परिचालन गर्न उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गर्ने बैठकले अर्को निर्णय गरेको छ ।

यसबाहेक निर्वाचन आयोगमा पार्टीको कागजात अद्यावधिक गर्ने निर्णय पनि भएको छ ।

उम्मेदवारको उम्मेदवारी (मनोनयन) पत्रमा दस्तखत गर्न यसअघि शेरबहादुर देउवाको नाम छ । उनको नामसँगै दस्तखत परिवर्तन गर्ने र त्यस सम्बन्धी निर्णय पनि बैठकले गरेको छ ।

नानीमैयाको अनशन साताैँ दिनमा, लिङ्देन झनै कठोर !

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कि केन्द्रीय सदस्य नानीमैया आचार्य सात दिनदेखि आमरण अनशनमा छिन् । उनको एउटा मात्रै माग छ– समानुपातिक सूची सच्याऊ ।

अध्यक्ष राजेन्द्र लिङ्देन सच्याउन तयार भएनन् । बरु, झनै कठोर भए । गत शनिबार नानीमैयाँसहित अर्की नेतृ चम्फा अधिकारी अनशनमा बस्दा बिछ्याएको म्याट तान्दै तत्काल हट्न निर्देशन दिए ।

सोमबार त उनीनिकट महिला नेताहरूको एक समूहले गालीगलोजसहित हातपात गरे । पार्टी कार्यालय धुम्बाराहीबाट अनशन बसेकी आचार्य र अधिकारीलाई बलजफ्ती हटाए ।

तर, आचार्यले अनशन तोडेकी छैनन् । नेतृ चाहना अधिकारीले आचार्यको जीवन रक्षाका लागि अपिल गरेकी छिन् ।

‘आज आमरण अनशनको सातौँ दिनमा प्रवेश गरेकी नानीमैया आचार्यको अमूल्य जीवन रक्षाका लागि म सम्पूर्ण सरोकार पक्ष, सम्बन्धित निकाय, राजनीतिक दल, नागरिक समाज तथा जिम्मेवार व्यक्तिहरूसमक्ष हार्दिक अनुरोध गर्दछु,’ उनले बिहीबार आचार्यको तस्बिर राख्दै फेसबुकमा लेखिन् ।

नानीमैया राप्रपाले बुझाएको समानुपातिक सूूची सच्याउन माग गर्दै आमरण अनशनमा बसेपछि पूर्वअध्यक्षहरू पशुपतिशम्शेर राणा, डा. प्रकाशचन्द्र लोहनीलगायत नेताहरू पुगेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी दिए ।

राष्ट्रिय मानव अधिकार आयोगको टोली पनि अनशनस्थल पुगेर नानीमैयाको स्वास्थ्य स्थितिबारे जानकारी दिँदै उनको मानव अधिकार रक्षाको सुनिश्चितता खोजेको छ ।

अध्यक्ष लिङ्देन भने नानीमैयाको माग सम्बोधन गर्न तयार देखिएका छैनन् । अध्यक्ष लिङ्देनले समानुपातिकको बन्दसूचीमा पार्टीमा योगदान नै नभएका तर आफूसँग निकट भएकै आधारमा उनीहरूलाई समावेश गरेको भन्दै राप्रपामा असन्तुष्टि चुलिएको छ ।

वरिष्ठ उपाध्यक्ष दिलविकास राजभण्डारी, प्रवक्ता ज्ञानेन्द्र शाहीलगायत असन्तुष्ट छन् ।

खासगरी खस–आर्य महिला क्लस्टरमा खुस्बु ओली र आदिवासी जनजाति महिला क्लस्टरमा पार्टी वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङकी पत्नी सरस्वती लामाको नाम समेटिँदा असन्तुष्टि तह बढेको हो ।

दुर्घटनामा आमा–छोराको मृत्यु, बस चालक फरार

झापा । पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत झापाको कनकाई नगरपालिका–३ नयाँ बस्ती खण्डमा सवारी दुर्घटना हुँदा आमा–छोराको मृत्यु भएको छ । ११ जना घाइते भएका छन् । बिहीबार बिहान करिब ९ः३० बजे बिर्तामोडबाट माईधारतर्फ जाँदै गरेको मे १ च ४५१५ नम्बरको पिकअप र विपरीत दिशाबाट आउँदै गरेको ना ५ ख २१४९ नम्बरको बस एक–आपसमा ठक्कर खाँदा दुर्घटना भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भद्रपुर नगरपालिकाका डेढ वर्षीय बालक आरुति राजवंशीको बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा मृत्यु भएको छ ।

उनकी आमा ४० वर्षीया सुस्मा राजवंशीको बिर्तासिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । पिकअपमा सवार अन्य ११ जना घाइते भएका छन् । जसमध्ये बी एण्ड सी अस्पतालमा उपचाररत ३ जनाको अवस्था सामान्य छ । बिर्तासिटी अस्पतालमा उपचाररत ८ जनामध्ये केहीको अवस्था गम्भीर रहेको छ । दुर्घटनापछि बस चालक फरार छन् । उनको खोजी कार्य तीव्र पारिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पिकअप चालक झापा बिर्तामोड नगरपालिका–६ बस्ने ३९ वर्षीय जाकिर हुसेनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

 

 

 

गृहमन्त्री अर्यालका स्वकीय सचिव जोशी कञ्चनपुर–३ बाट उम्मेदवार

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालका स्वकीय सचिव धीरज जोशी कञ्चनपुर क्षेत्र नम्बर–३ बाट आसन्न चुनाव उम्मेदवार बन्ने भएका छन् । फागुन २१ गते हुने निर्वाचनका लागि उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट कञ्चनपुर क्षेत्र नम्बर ३ बाट चुनाव लड्न लागेका हुन् ।

‘कञ्चनपुर–३ बाट चुनाव लड्ने तयारी गर्दैछु । केही दिनअघि चुनावी क्षेत्र पुगेर अहिले काठमाडौं फर्किएको छु,’ उनले सुनाए । उनी काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह निकट छन् । गृहमन्त्री अर्यालको स्वकीय हुनुपूर्व उनी मेयरको सचिवालयमा बसेर काम गरिरहेका थिए । उनी बाल अधिकार सम्बन्धी काम गर्दै आएका अभियानी समेत हुन् । महानगरमा हुँदा धीरज जोशी नेतृत्वको टिमले नेकपा एमालेका लुम्बिनी प्रदेश सांसद रेखा शर्माको घरबाट नाबालिकाको उद्धार गरेको थियो । त्यही बेला महानगरले काठमाडौंबाट ८३ जना जोखिममा परेका बालबालिकाको उद्धार गरेको थियो ।

जेनजी आन्दोलनपछि उनी सचिवालयबाट राजीनामा दिएर मन्त्री अर्यालको स्वकीय सचिव भएका हुन् । जेनजी आन्दोलनपछि भएका विभिन्न वार्तामा पनि उनी सहभागी हुँदै आएका थिए । त्यसअघि उनी विभिन्न आन्दोलनमा पनि सहभागी भएका छन् । कोभिड महामारीको समयमा उनले कञ्चनपुरमै बसेर ’इनफ इज इनफ’ आन्दोलन गरेका थिए ।

यसअघिको निर्वाचनमा कञ्चनपुर क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका रमेश लेखक विजयी भएका थिए । उनले ३० हजार ५७५ मत पाएका थिए । नेकपा एमालेका उम्मेदवार निरूदेवी पालले त्यतिबेला १८ हजार ४८५ मत पाएकी थिइन् । यस्तै रास्वपाका कृष्ण लुहारले २ हजार ३१ मत ल्याएका थिए । यसपालि पनि कञ्चनपुर–३ बाट कांग्रेसमा लेखक सिफारिस भएका छन् ।

 

 

 

 

कांग्रेसको वेबसाइटबाट हटाइयो गगन, विश्व र फरमूल्लाहको नाम

काठमाडौं । नेपाली कांग्रेसको वेबसाइटबाट गगन थापा, विश्वप्रकाश शर्मा र फरमूल्लाह मन्सुरको नाम हटाइएको छ । बिहीबार बिहानै तीनै जनाको नाम वेबसाइटबाट हटाइएको हो । तीनै जनाको नाम रहेको स्थान खाली छोडिएको छ । यसअघि वेबसाइटमा उपभासपतिको तल महामन्त्रीमा थापा र शर्माको नाम रहेको थियो ।

त्यस्तै, आठ जना सहमहामन्त्रीको सुरुवातमै मन्सुरको नाम रहेको थियो । अहिले तीनै जनाको नाम र तस्बिर हटाएर महामन्त्री र सहमहामन्त्री मात्रै राखिएको छ । बुधबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले थापा, शर्मा र मन्सुरलाई पाँच वर्षका लागि साधारण सदस्यबाट निष्कासन गर्ने निर्णय गरेको थियो। कांग्रेसले कारबाही गरेपछि विशेष महाधिवेशनबाट थापाको नेतृत्वका नयाँ कार्यसमिति घोषणा गरिएको थियो ।

देउवा कांग्रेससँग फेसबुक, गगनसँग एक्स
नेपाली कांग्रेस बुधबारदेखि फुटेको छ । एउटा १४औं महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवा नेतृत्वको कांग्रेस र अर्को बुधबार सम्पन्न विशेष महाधिवेशनबाट नेतृत्वको । दुवैले आफूलाई आधिकारिक दाबी गरिरहेका छन् । देउवा कांग्रेसले गगन थापा, विश्वप्रकाश शर्मा र फरमुल्लाह मन्सुरलाई ५ वर्षका लागि साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ ।

त्यति मात्रै होइन पार्टीको आधिकारिक वेबसाइटबाट उनीहरूको तस्बिर र नाम पनि हटाइएको छ । उता सामाजिक सञ्जाल फेसबुक पनि देउवा कांग्रेसको पहुँचमा छ । सोहीकारण थापासहितलाई कारबाही गरिएको निर्णय त्यहाँ पोस्ट गरिएको छ । यता गगन नेतृत्वको कांग्रेसको पहुँचमा एक्स छ । त्यहाँ विशेष महाधिवेशनको सूचनाहरू राखिएको छ ।

 

 

‘नयाँ कांग्रेस’ को प्रवक्तामा देवराज चालिसे

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको प्रवक्तामा देवराज चालिसे नियुक्त भएका छन् । ललितपुरको कुपण्डोलमा जारी पहिलो केन्द्रीय समितिको बैठकमा प्रवक्तामा चालिसेको नाम प्रस्ताव गरिएको थियो । बुधबार सम्पन्न विशेष महाधिवेशनबाट थापा सभापति, उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाललगायत चयन भएका छन् ।

चालिसे केन्द्रीय सदस्य चयन भएका थिए । बैठकले चालिसेलाई प्रवक्ता मनोनित गरेको केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले जानकारी दिए । विशेष महाधिवेशनका लागि अभियान चलाउने कांग्रेस नेतामध्ये चालिसे पनि एक हुन् । ललितपुरको कुपण्डोलस्थित म्याक्सिम्स ब्यांक्वेट एन्ड इभेन्ट्समा केन्द्रीय कार्यसमितिको बैठक जारी रहेको छ।

गगनको दावी : कांग्रेसका १० लाखमध्ये नौं लाख ८० हजार सदस्य हाम्रो पक्षमा छन्

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट सभापति चयन भएका गगन थापाले पार्टीका अधिकांश क्रियाशील सदस्य विशेष महाधिवेशनको पक्षमा उभिएको दाबी गरेका छन् । निर्वाचन आयोगले चाहे सदस्यहरूको वास्तविक अवस्था परीक्षण गरेर हेर्न सक्ने भन्दै उनले १० लाखमध्ये ९ लाख ८० हजार क्रियाशील सदस्य आफूहरूको पक्षमा रहेको बताएका हुन् ।

सभापति चयन भएपछि भृकुटीमण्डपमा उपस्थित महाधिवेशन प्रतिनिधिलाई सम्बोधन गर्दै थापाले विशेष महाधिवेशन नै पार्टी विधानले व्यवस्था गरेको सबैभन्दा ठूलो संरचना भएको स्पष्ट पारे । पार्टी सदस्यहरू कता उभिएका छन् भन्ने विषय नै निर्णायक हुने उल्लेख गर्दै उनले भने, ‘पुरानो र नयाँ गरेर करिब १० लाख क्रियाशील सदस्य छन् । धेरै भन्दिनँ, निर्वाचन आयोगले हेर्न चाहेको दिन नेपाली कांग्रेसले आह्वान गर्दा १० लाखमध्ये ९ लाख ८० हजार सदस्य एक ठाउँमा उभिएनन् भने त्यसबेला प्रश्न उठाऔंला ।’

थापाले निर्वाचन आयोगले कानुन, पार्टी विधान र विशेष महाधिवेशनको उपस्थितिलाई आधार मानेर निष्पक्ष निर्णय गर्नेमा आफू विश्वस्त रहेको बताए । ‘हाम्रो संविधानले चिनेको निर्वाचन आयोग कुनै पनि अवैध शक्तिको प्रभावमा पर्दैन भन्ने विश्वास हामीलाई छ’, उनले भने, ‘आयोगले प्रचलित कानुन, विधान र यहाँको उपस्थितिलाई हेरेर निर्णय गर्छ ।’

यसैबीच, सभापति निर्वाचित भएपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै थापाले कांग्रेस विभाजित नभएको दाबी गरे । उनले यसअघि शेरबहादुर देउवालाई सभापति निर्वाचित गर्ने महाधिवेशन प्रतिनिधिहरूले नै आफूलाई पनि सभापति चुनेको बताए । विशेष महाधिवेशन सम्पन्न भइसकेको र केही दिनमै नयाँ कार्य समिति आउने विषयमा निर्वाचन आयोगलाई लिखित जानकारी दिइसकिएको उनको भनाइ थियो ।

थापाले कांग्रेसको आधिकारिकताबारे कुनै अन्योल नरहने दाबी गर्दै आयोगले विधि र विधानअनुसार निर्णय गर्ने विश्वास व्यक्त गरे । ‘निर्वाचन आयोग जानकार छ, कानुनसम्मत निर्णय गर्छ’, उनले भने, ‘त्यसैले कांग्रेसको वैधानिकतामाथि कुनै विवाद रहँदैन ।’ विशेष महाधिवेशनपछि पार्टीभित्रको नेतृत्व र वैधानिकताबारे उठेका प्रश्नहरूलाई सम्बोधन गर्दै थापाले संगठनात्मक बल र सदस्यहरूको समर्थन नै आफ्नो मुख्य आधार भएको सन्देश दिएका छन् ।

 

 

 

कांग्रेस केन्द्रीय राजनीतिमा नरेन्द्रकुमार केरूङ

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसमा प्राज्ञिक तथा वैचारिक नेताको छवि बनाएका नेता नरेन्द्रकुमार केरूङ केन्द्रीय सदस्य बनेका छन् ।

लामो समय शिक्षण पेशामा संलग्न रहँदै राजनीतिलाई वैचारिक धरातलमा अगाडि बढाएका केरूङ पाँचथर बहुमुखी क्याम्पसका पूर्व उपप्राध्यापक हुन् ।

उनी पार्टीका नीति, विचार र लोकतान्त्रिक मूल्यका विषयमा निरन्तर बहस गर्दै आएका नेता हुन् ।

उनले सभापति हुँदै पाँचथर कांग्रेसको दुई कार्यकाल नेतृत्व गरे । त्यतिबेला पार्टी संगठन विस्तार, कार्यकर्ता परिचालन र स्थानीय तहमा कांग्रेसको प्रभाव बढाउन उनी सक्रिय भए ।

उनै केरुङ पार्टीको १४औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका उम्मेदवार बनेका थिए । त्यसबेला पराजित भए । तर, महाधिवेशनमा हारपछि पनि उनले पार्टी गतिविधिबाट आफूलाई टाढा राखेनन् । बरु कांग्रेस पार्टीमा रुपान्तरणको बहस चलाए ।

यसपटक गगन थापा नेतृत्वमा कांग्रेसको नयाँ केन्द्रीय समिति बन्दा उनी केन्द्रीय सदस्यमा समेटिए ।

कांग्रेसभित्र युवा नेतृत्व, संगठनात्मक सुधार र वैचारिक स्पष्टतामा जोड दिइँदै आएको सन्दर्भमा केरूङको केन्द्रीय सदस्यमा चयनलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

नयाँ कांग्रेसको पहिलो बैठक पार्टी प्यालेसमा, आजै निर्वाचन आयोग जाँदै

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको नयाँ केन्द्रीय कार्यसमितिले औपचारिक रूपमा काम सुरु गरेको छ । ललितपुरको कुपण्डोलस्थित एक पार्टी प्यालेसमा आज बसेको केन्द्रीय समिति बैठक नयाँ नेतृत्वको पहिलो बैठक हो ।

भृकुटीमण्डपमा सम्पन्न विशेष महाधिवेशनले गगन थापालाई सभापति चयन गर्दै १६६ सदस्यीय केन्द्रीय कार्यसमिति गठन गरेको थियो । त्यसलगत्तै थापा नेतृत्वको समूहले पार्टीको भावी रणनीति, संगठनात्मक व्यवस्थापन र कानुनी प्रक्रियाबारे छलफल गर्न पहिलो बैठक आह्वान गरेको हो । बैठक कुपण्डोलस्थित म्याक्सिम्स बैंक्वेटमा केहीबेर अघिदेखि जारी रहेको महामन्त्री प्रदीप पौडेलको सचिवालयले जनाएको छ ।

विशेष महाधिवेशनअघि संस्थापन पक्षले गगन थापा, विश्वप्रकाश शर्मा र फरमुल्लाह मन्सुरलाई अनुशासन उल्लङ्घनको आरोपमा पाँच वर्षका लागि पार्टीबाट निष्कासन गरेपछि नेपाली कांग्रेस औपचारिक रूपमा दुई धारमा विभाजित भएको छ । यही पृष्ठभूमिमा थापा पक्षले विशेष महाधिवेशन आयोजना गर्दै नयाँ नेतृत्व चयन गरेको हो ।

बैठकमा हालको राजनीतिक परिस्थिति, पार्टीको आधिकारिकता दाबी, संगठन सुदृढीकरण र आगामी कदमबारे गहन छलफल भइरहेको जनाइएको छ । बैठकपछि विशेष महाधिवेशनका नतिजा तथा कागजात अद्यावधिक गर्न थापा नेतृत्वको टोली आजै निर्वाचन आयोग जाने तयारीमा छ । अधिवक्ता राजु कटवालका अनुसार विशेष महाधिवेशन सम्पन्न भई नयाँ नेतृत्व चयन भएकाले पार्टीको अभिलेख अद्यावधिक गर्न आयोग जाने तयारी गरिएको हो ।

उनका अनुसार बिहीबार मध्याह्न १२ देखि १ बजेसम्म निर्वाचन आयोग पुग्ने कार्यक्रम तय गरिएको छ । आयोगमा आवश्यक कागजात, निर्णय र अभिलेख दस्तावेजीकरणका लागि कानुनी टोलीले सहजीकरण गरिरहेको छ । गगन थापा नेतृत्वको यो कदमलाई कांग्रेसको आन्तरिक राजनीतिमा निर्णायक मोडका रूपमा हेरिएको छ । निर्वाचन आयोगको निर्णय र आगामी राजनीतिक घटनाक्रमले कांग्रेसको भविष्यको दिशा तय गर्ने अपेक्षा गरिएको छ ।

 

भावी प्रधानमन्त्रीको दौडमा बालेन, मधेशबाट रास्वपाको राष्ट्रिय अभियान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) लाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्दै राष्ट्रिय राजनीतिमा ठूलो तरङ्ग ल्याउने तयारी गरेको छ । पार्टीभित्रको नीतिगत संवाद, संगठन विस्तार र चुनावी रणनीतिलाई एकै सूत्रमा बाँध्दै रास्वपाले मधेशबाटै नयाँ राजनीतिक अभियानको औपचारिक शंखघोष गर्ने भएको छ ।

रास्वपाका प्रभावशाली नेता डा. स्वर्णिम वाग्ले र मेयर बालेनबीच हालै सघन संवाद भएको छ । बिहीबार बिहान बालेनसँगको तस्वीर सार्वजनिक गर्दै वाग्लेले यसलाई ‘नीतिगत स्पष्टताको चरण’ भनेका छन् । उनका अनुसार आर्थिक सुधार, रोजगारी सिर्जना, राजस्व–खर्च व्यवस्थापन, आधुनिक पूर्वाधार र काठमाडौं महानगरमा प्रयोग भएको ‘डेलिभरी मोडल’ लाई राष्ट्रिय एजेण्डाका रूपमा स्थापित गर्ने विषयमा चरणबद्ध छलफल भइरहेको छ । यही सन्दर्भमा बालेनलाई आगामी सरकारको ‘प्रस्तावित प्रधानमन्त्री’ का रूपमा अघि सार्ने तयारी पार्टीले गरेको संकेत वाग्लेले दिएका छन् ।

यसै रणनीतिअन्तर्गत रास्वपाको शीर्ष नेतृत्व आगामी ५ माघमा मधेश प्रदेशको राजधानी जनकपुरधाम पुग्दैछ । सभापति रवि लामिछाने, डा. स्वर्णिम वाग्लेसहितको टोलीले उक्त दिनदेखि ‘देश जोड्ने र बनाउने महाअभियान’ सुरु गर्ने जनाएको छ । वाग्लेले सामाजिक सञ्जालमा लेखेका छन्, ‘देश जोड्ने र बनाउने महाअभियानको सुरुवात मधेशबाट, निकास २१ फागुनको निर्वाचनबाट ।’ मधेश यात्रालाई केवल सांगठनिक भ्रमण नभई नयाँ राष्ट्रिय सोचको बीजारोपणका रूपमा रास्वपाले व्याख्या गरेको छ । पार्टीका अनुसार मधेशको माटोबाटै राष्ट्रिय एकता, विकास र सुशासनको नयाँ कथा लेख्ने लक्ष्य राखिएको छ ।

यसबीच, राजनीतिक वृत्तमा थप चासोको विषय बनेको छ—बालेनको प्रत्यक्ष चुनावी मैदानमा प्रवेश । रास्वपामा औपचारिक रूपमा आबद्ध भइसकेका बालेनले काठमाडौं महानगरको मेयर पदबाट राजीनामा दिएर चुनावी अभियानमा होमिने तयारी गरेका छन् । ५ माघबाटै उनको चुनाव केन्द्रीत यात्रा सुरु हुने र पहिलो सार्वजनिक कार्यक्रम जनकपुरधाममै हुने तय भएको छ । यो कार्यक्रम बालेन र रवि लामिछाने पहिलो पटक एउटै मञ्चमा देखिने अवसरसमेत हुनेछ ।

रास्वपाले बालेनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीको क्षेत्र झापा–५ बाट उम्मेदवार बनाउने तयारी गरिरहेको बताइन्छ, यद्यपि औपचारिक घोषणा भने हुन बाँकी छ । जनकपुरको कार्यक्रमपछि बालेन झापा जाने र रवि लामिछाने चितवन झर्ने कार्यतालिका बनाइएको छ । माघ ६ गते प्रत्यक्ष निर्वाचनका लागि मनोनयन दर्ता भएपछि दुवै नेताहरू देशव्यापी दौडाहामा निस्किने पार्टीको योजना छ । मधेशमा प्रभाव पार्ने रणनीतिअन्तर्गत रास्वपाले बालेनलाई ‘मधेश पुत्र’ का रूपमा ब्रान्डिङ गर्न थालेको छ ।

मधेशका विभिन्न स्थानमा ‘अबकी बार–बालेन सरकार’ लेखिएका पोस्टर देखिन थालेका छन् । बालेनको पुख्र्यौली थलो महोत्तरी जिल्ला (एकडारा गाउँपालिका) पर्नु र उनलाई ‘सम्भावित पहिलो मधेशी प्रधानमन्त्री’ का रूपमा प्रस्तुत गर्नुले मधेशी जनमतमा गहिरो प्रभाव पार्ने विश्लेषण भइरहेको छ । यद्यपि उनको जन्म काठमाडौंको नरदेवीमा भएको हो र उनी हाल काठमाडौंका स्थायी बासिन्दा हुन् । समग्रमा, रास्वपाले मधेशबाटै चुनावी अभियान सुरु गर्दै बालेनलाई विकास, सुशासन र नयाँ राजनीतिक संस्कृतिको प्रतीकका रूपमा स्थापित गर्ने प्रयास गरेको देखिन्छ । मधेश यात्रा केवल क्षेत्रीय भ्रमण नभई राष्ट्रिय सत्ता राजनीतिमा नयाँ अध्यायको सुरुवात बन्ने संकेत रास्वपाले स्पष्ट रूपमा दिएको छ ।

 

 

 

चुनाव अनिश्चित छ, संसद पुनर्स्थापना नै सुरक्षित बाटो : शंकर पोखरेल

दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकमा आगामी निर्वाचन हुने वा नहुने विषयमा अझै स्पष्टता नआएको भन्दै वर्तमान अन्योलपूर्ण अवस्थामा प्रतिनिधिसभा पुनः स्थापना नै सबैभन्दा सुरक्षित र व्यवहारिक विकल्प भएको बताएका छन् ।
गृह जिल्ला दाङमा आयोजित प्रेस चौतारी नेपालको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले राजनीतिक वातावरण अझै स्थिर भइनसकेको उल्लेख गरे । उनले भने, ‘चुनावको मिति र वातावरण दुवै अन्योलमै छन् । यस्तो अवस्थामा संसद पुनःस्थापना गरेर संवैधानिक र राजनीतिक स्थिरताको बाटो रोज्नु नै देशका लागि उपयुक्त हुन्छ ।’

यद्यपि, पोखरेलले यदि निर्वाचन हुने स्पष्ट परिस्थिति बनेमा नेकपा एमाले चुनावी प्रक्रियाबाट नभाग्ने स्पष्ट पारे । ‘एमाले लोकतान्त्रिक प्रक्रियामा विश्वास गर्ने पार्टी हो । चुनाव हुने स्थिति बने हामी पूर्ण रूपमा सहभागी हुन्छौं’, उनले भने । राजनीतिक दलहरूबीच बढ्दो विभाजनप्रति चिन्ता व्यक्त गर्दै महासचिव पोखरेलले दल फुट्नु भन्दा जुट्नु लोकतन्त्रका लागि हितकर हुने धारणा राखे । विशेष गरी नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक विवादले समग्र लोकतान्त्रिक प्रणालीमा गम्भीर असर पार्न सक्ने उनको भनाइ थियो । ‘सत्तारूढ दलभित्रको अस्थिरता र आन्तरिक खिचातानीले लोकतन्त्र कमजोर हुन्छ’, उनले भने, ‘मुख्य दलहरू जिम्मेवार भएर अघि बढ्नु पर्छ ।’

पोखरेलले रवि लामिछानेसँग जोडिएका सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्दा फिर्ता लिने प्रयासले सरकार वास्तवमै कहाँबाट र कसरी सञ्चालित भइरहेको छ भन्ने गम्भीर प्रश्न उठाएको दाबी गरे । ‘यस्ता निर्णयले सरकारको नियत र स्वतन्त्रतामाथि शंका उत्पन्न भएको छ’, उनले टिप्पणी गरे ।

देशमा अझै पनि शान्ति–सुरक्षाको प्रत्याभूति हुन नसकेको उल्लेख गर्दै महासचिव पोखरेलले यसलाई अत्यन्तै चिन्ताजनक अवस्था बताए । उनका अनुसार लुटिएका हतियार संकलन, फरार कैदीहरूलाई फिर्ता ल्याउने र सुरक्षाकर्मीहरूको मनोबल उच्च बनाउने काममा सरकार गम्भीर हुन आवश्यक छ । ‘प्रहरी र सुरक्षा निकायको मनोबल कमजोर हुँदा राज्य नै कमजोर हुन्छ’, उनले भने, ‘सरकारले राजनीतिक रस्साकस्सीभन्दा माथि उठेर शान्ति–सुरक्षामा ध्यान दिनुपर्छ ।’ महासचिव पोखरेलको अभिव्यक्तिले वर्तमान राजनीतिक संकट, निर्वाचनको अनिश्चितता र सरकारको कार्यशैलीमाथि पुनः बहस चर्किने संकेत देखिएको छ ।

 

गगन थापा पक्षीय कांग्रेस केन्द्रीय समितिको पहिलो बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको पहिलो औपचारिक बैठक आज बस्दैछ । युवा नेता गगन थापा पार्टीको सभापतिमा निर्वाचित भएपछि बस्न लागेको यो पहिलो बैठकलाई राजनीतिक वृत्तमा विशेष चासोका साथ हेरिएको छ ।

पार्टी सहमहामन्त्री उदयशम्शेर जबराका अनुसार नयाँ कार्यसमितिको बैठक ललितपुरको कुपण्डोलमा बिहान ११ बजेपछि बस्ने गरी तय गरिएको छ । बुधबार राति मात्रै थापाको नेतृत्वमा पदाधिकारी र केन्द्रीय सदस्यहरू सर्वसम्मत चयन भएका थिए । आजको बैठकको मुख्य कार्यसूची आगामी फागुन २१ गतेका लागि तय गरिएको निर्वाचनको तयारी रहेको छ ।

देशको बदलिँदो राजनीतिक परिवेशमा पार्टीलाई कसरी अगाडि बढाउने र निर्वाचनमा कस्तो रणनीति अपनाउने भन्ने विषयमा आजैबाट प्रारम्भिक छलफल सुरु हुनेछ । विशेष महाधिवेशनमार्फत नेतृत्व परिवर्तन भएकाले कानुनी प्रक्रिया पूरा गर्नका लागि बैठकले ठोस निर्णय लिनेछ ।

कांग्रेस कलह अब निर्वाचन आयोग र अदालततिर, चुनावी तालिकामा पर्छ प्रभाव ?

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको मुखमै मुलुकको सबैभन्दा ठूलो र पुरानो राजनीतिक दल नेपाली कांग्रेस औपचारिक रूपमा विभाजन भएको छ । विशेष महाधिवेशनमार्फत गगनकुमार थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएपछि र त्यसको प्रतिउत्तरमा संस्थापन पक्षले गगन थापा, विश्वप्रकाश शर्मा र फरमुल्लाह मन्सुरलाई पार्टीबाट निष्काशन गरेपछि कांग्रेसको आन्तरिक विवाद अब निर्वाचन आयोग र अदालतको ढोकासम्म पुगेको छ ।

दुवै पक्षले आफू नै ‘वैधानिक नेपाली कांग्रेस’ भएको दाबी गर्दै निर्वाचन आयोगमा आधिकारिकता माग गरेका छन् । संस्थापन पक्षले विशेष महाधिवेशन अवैध भएको दाबी गरेको छ भने विशेष महाधिवेशन पक्षधरले बहुमत महाधिवेशन प्रतिनिधिको सहभागिताका आधारमा आफूहरू नै आधिकारिक भएको जिकिर गरेका छन् ।

कानुनी मैदानमा कांग्रेसको टकराव
राजनीतिक दलसम्बन्धी ऐन, २०७३ ले दलभित्रको विवाद निरूपण गर्ने स्पष्ट व्यवस्था गरेको छ । ऐनको दफा ४३ अनुसार एउटै दलका दुई वा दुईभन्दा बढी पक्षबीच दलको नाम, छाप, झण्डा, चिन्ह, विधान, केन्द्रीय समिति वा निर्णयको आधिकारिकतासम्बन्धी विवाद भए त्यसको टुंगो निर्वाचन आयोगले लगाउने व्यवस्था छ ।

दफा ४४ ले विवाद निरूपणको कार्यविधि तोकेको छ । कम्तीमा ४० प्रतिशत केन्द्रीय समिति सदस्यको हस्ताक्षरसहित ३० दिनभित्र दाबी पेस गर्नुपर्ने, त्यसपछि अर्को पक्षलाई १५ दिनको जवाफ दिने समय, आवश्यक परे थप १० दिन म्याद, सहमतिको प्रयास र सहमति नभए प्रमाणका आधारमा आयोगले कुनै एक पक्षलाई मान्यता दिन सक्ने व्यवस्था ऐनमा छ ।

यदि कुनै पक्षसँग स्पष्ट बहुमत नदेखिएमा आयोगले विवाद हुनुअघि रहेको केन्द्रीय समितिको बहुमत हेरेर निर्णय गर्न सक्ने कानुनी प्रावधान छ । आयोगको निर्णय अन्तिम हुने भए पनि त्यसविरुद्ध अदालत जान सकिने बाटो खुला छ।

विशेष महाधिवेशन वैधानिक कि अवैधानिक ?
कांग्रेस विवादको मूल केन्द्र विशेष महाधिवेशन हो । गत असोज २९ मा ५४.५८ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गरेका थिए । कांग्रेस विधानको धारा १७ (२) अनुसार ४० प्रतिशत प्रतिनिधिले माग गरे तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनु पर्ने व्यवस्था छ ।

संस्थापन पक्षले प्रक्रिया अघि नबढाएपछि गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा दुई दिने विशेष महाधिवेशन आयोजना गरियो र सोही महाधिवेशनबाट थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरियो । वरिष्ठ अधिवक्ता तथा संविधानविद् चन्द्रकान्त ज्ञवालीका अनुसार सभापतिले महाधिवेशन नबोलाएको अवस्थामा प्रतिनिधिहरू स्वयंले विशेष महाधिवेशन बोलाउन सक्ने भएकाले विशेष महाधिवेशन विधानसम्मत छ । अर्का वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले देउवा पक्षसँग गगन, विश्व र मन्सुरलाई निष्काशन गर्ने कानुनी अधिकार नै नरहेको तर्क गरेका छन् ।

तर संस्थापन पक्षले विधानको धारा ७१ अनुसार बाधा–अड्काउ फुकाउने र कार्यविधि बनाउने अधिकार केन्द्रीय कार्यसमितिमा मात्रै रहेको दाबी गर्दै विशेष महाधिवेशनबाट नेतृत्व चयन वैधानिक नहुने अडान लिएको छ ।

निर्वाचन आयोग किन निर्णायक बन्दैछ ?
विशेष महाधिवेशनपछि सभापतिमा निर्वाचित गगन थापाले आफू नेतृत्वको कार्यसमिति नै वैधानिक कांग्रेस भएको दाबी गर्दै निर्वाचन आयोग जाने घोषणा गरेका छन् । उनले आयोग कुनै अवैध शक्तिको प्रभावमा नपर्ने विश्वास व्यक्त गरेका छन् । कानुनअनुसार दलले पदाधिकारीमा गरेको हेरफेर ३० दिनभित्र आयोगलाई जानकारी गराउनु पर्छ ।

विशेष महाधिवेशन पक्षले देउवा नेतृत्वको पुरानो कार्यसमिति भंग भइसकेको जानकारी आयोगलाई पठाइसकेको छ । तर अर्कोतर्फ, फागुन २१ गते हुने निर्वाचनका लागि नेपाली कांग्रेस शेरबहादुर देउवाको हस्ताक्षरमा दर्ता भइसकेको छ । समानुपातिक सांसदको बन्दसूची पनि उनकै हस्ताक्षरमा आयोगमा बुझाइसकिएको छ । मतपत्र छपाइको कामसमेत अघि बढिसकेको अवस्थामा आयोगका लागि निर्णय झन् जटिल बनेको छ ।

चुनावलाई पर्छ प्रभाव ?
कानुनका जानकारहरू कांग्रेस विवादका कारण चुनाव सर्ने सम्भावना न्यून देख्छन् । एक पूर्व कानुन मन्त्रीका अनुसार निर्वाचन अवधि सुरु भइसकेपछि आयोगले पार्टीको आन्तरिक विवाद हेर्न नमिल्ने व्यहोराको पत्र दुवै पक्षलाई पठाउन सक्ने सम्भावना छ । त्यसपछि मुद्दा अदालतमा पुग्नेछ ।

यदि अदालतले हस्तक्षेप नगरेको अवस्थामा पुरानै, आयोगमा दर्ता भएको कार्यसमितिले वैधानिकता पाउने र त्यसैको नेतृत्वमा चुनाव हुने सम्भावना बलियो देखिन्छ । यस्तो अवस्थामा विशेष महाधिवेशन पक्षधर नेताहरू पार्टीविहीन हुने जोखिम समेत रहेको कानुनी विश्लेषण छ ।

आठ दशक लामो इतिहास बोकेको नेपाली कांग्रेस अहिले सबैभन्दा गम्भीर संस्थागत संकटमा पुगेको छ । पार्टीको आधिकारिकता अब राजनीतिक भन्दा बढी कानुनी प्रश्न बनेको छ । निर्वाचन आयोगको निर्णय र त्यसपछि अदालतको भूमिका निर्णायक हुने देखिन्छ । तर एक कुरा लगभग निश्चित देखिन्छ–कांग्रेसको यो आन्तरिक युद्धले चुनावी प्रक्रिया भन्दा बढी पार्टीको भविष्य, संगठन र विश्वसनीयतामाथि गहिरो असर पार्नेछ ।

यस्तो छ नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा निर्वाचित केन्द्रीय कार्यसमिति (नामावलीसहित)

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनले गगन थापालाई सर्वसम्मत रूपमा सभापति चयन गरेको छ ।

आइतबार काठमाडौंको भृकुटीमण्डपमा सुरू भएको विशेष महाधिवेशनबाट थापा सर्वसम्मत सभापति बनेका हुन्।

पार्टीको उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल निर्वाचित भएका छन् भने महामन्त्रीमा प्रदीप पौडेल र गुरूराज घिमिरे सर्वसम्मत भएका हुन् ।

यस्तै सहमहामन्त्रीमा महिलातर्फ डिला संग्रौला, दलिततर्फ प्रकाश रसाइली, आदिवासीतर्फ बहादुरसिंह लामा, खसआर्यतर्फ उदय शम्शेर जबरा, मधेशीतर्फ मुक्ताकुमारी यादव, मुस्लिमतर्फ फरमुल्लाह मन्सुर, थारुतर्फ योगेन्द्र चौधरी, पिछडिएको क्षेत्रबाट कर्णबहादुर बुढा चयन भएका छन् ।

जेनजी आन्दोलनपछि समयमा नियमित महाधिवेशन हुन नसकेको भन्दै १४औं महाधिवेशनबाट निर्वाचित महामन्त्री द्वय थापा र शर्माको अगुवाईमा दोस्रो विशेष महाधिवेशन आयोजना भएको हो । ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरी विशेष महाधिवेशन आव्हान गरेको र बहुमत प्रतिनिधि सहभागी भएको आयोजकले दाबी गरेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा पक्षले भने यो महाधिवेशनलाई मान्यता दिएको छैन । देउवा पक्षले आजै केन्द्रीय कार्यसमितिको बैठकबाट थापा, शर्मा र मन्सुरलाई पाँच वर्षसम्म पार्टीमा फर्कन नसक्ने गरी कारबाही गर्ने निर्णय गरेको छ ।

अब काँग्रेसमा देउवा वा थापा को आधारिक नेतृत्व भन्ने विवाद सुरू भएको छ । दुवै पक्षले निर्वाचन आयोगमा आफ्नो नेतृत्वलाई आधिकारिता दिन माग गरिरहेका छन् ।

यस्तो छ कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको नामावली:

 

गगन थापा बने कांग्रेस सभापति, को-को बने पदाधिकारी?

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनले गगन थापालाई सर्वसम्मत रूपमा सभापति चयन गरेको छ ।

आइतबार काठमाडौंको भृकुटीमण्डपमा सुरू भएको विशेष महाधिवेशनबाट थापा सर्वसम्मत सभापति बनेका हुन्।

पार्टीको उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल निर्वाचित भएका छन् भने महामन्त्रीमा प्रदीप पौडेल र गुरूराज घिमिरे सर्वसम्मत भएका हुन् ।

यस्तै सहमहामन्त्रीमा महिलातर्फ डिला संग्रौला, दलिततर्फ प्रकाश रसाइली, आदिवासीतर्फ बहादुरसिंह लामा, खसआर्यतर्फ उदय शम्शेर जबरा, मधेशीतर्फ मुक्ताकुमारी यादव, मुस्लिमतर्फ फरमुल्लाह मन्सुर, थारुतर्फ योगेन्द्र चौधरी, पिछडिएको क्षेत्रबाट कर्णबहादुर बुढा चयन भएका छन् ।

जेनजी आन्दोलनपछि समयमा नियमित महाधिवेशन हुन नसकेको भन्दै १४औं महाधिवेशनबाट निर्वाचित महामन्त्री द्वय थापा र शर्माको अगुवाईमा दोस्रो विशेष महाधिवेशन आयोजना भएको हो । ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरी विशेष महाधिवेशन आव्हान गरेको र बहुमत प्रतिनिधि सहभागी भएको आयोजकले दाबी गरेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा पक्षले भने यो महाधिवेशनलाई मान्यता दिएको छैन । देउवा पक्षले आजै केन्द्रीय कार्यसमितिको बैठकबाट थापा, शर्मा र मन्सुरलाई पाँच वर्षसम्म पार्टीमा फर्कन नसक्ने गरी कारबाही गर्ने निर्णय गरेको छ ।

अब काँग्रेसमा देउवा वा थापा को आधारिक नेतृत्व भन्ने विवाद सुरू भएको छ । दुवै पक्षले निर्वाचन आयोगमा आफ्नो नेतृत्वलाई आधिकारिता दिन माग गरिरहेका छन् ।

विशेष महाधिवेशनको संशोधित कार्यतालिका: राती २ बजेदखि बिहान ५ बजेसम्म मतदान

नेपाली कांग्रेसको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनमा संशोधित कार्यतालिका प्रकाशन भएको छ । यसअघि प्रकाशित भएको कार्यतालिका अनुसार राती साढे १० बजे उम्मेद्वारीमाथिको दाबीविरोध सकिने छ । यसअघि नै उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गरिने बताइएको छ।

संशोधित कार्यतालिका अनुसार १०:४५सम्म छानबिन गरी ११ बजे नामावली प्रकाशन गरिने छ । यसपछि ११:२० भित्रमा उम्मेदवारी फिर्ता गर्न सकिने र राती ११:३५मा अन्तिम नामावली प्रकाशन गरिने छ ।

राती २ बजेदेखि सुरू हुने मतदान बिहान ५ बजेसम्म चल्ने छ ।

मतदान सकिएपछि मतगणना सुरू हुने छ ।

विशेष महाधिवेशनबाट सभापतिमा गगन थापाको मात्रै उम्मेद्वारी परेकाले उनी निर्विरोध भइसकेका छन् ।

गगन थापाको निर्वाचन क्षेत्रमा केम्स सिंहको उम्मेदवारी

नेपाली जनता दलले काठमाडौं क्षेत्र नम्बर ४मा युवा नेता केम्स सिंहलाई उम्मेदवार बनाउने भएको छ । पार्टी अध्यक्ष हरिचरण साहले आज एक विज्ञप्ति जारी गरि फागुन २१मा हुने प्रतिनिधि सभा निर्वाचनमा युवा नेता सिंहलाई काठमाडौं क्षेत्र नम्बर ४को उम्मेदवार बनाइएको बताएका हुन् ।

काठमाडौं क्षेत्र नम्बर ४ नेपाली कांग्रेसका नेता गगन थापाले चुनाव जित्दै आएका छन् । २०७०, २०७४ र २०७९को निर्वाचनमा थापा यो निर्वाचन क्षेत्रमा विजयी भएका थिए ।

आगामी निर्वाचन सिंह सिटी चुनाव चिन्ह लिएर मैदानमा उत्रिनेछन् ।

 

‘गणतन्त्रका प्रवक्ता’ गगनले हाँक्ने कांग्रेसको चुनौतिपूर्ण बाटो (भिडियोसहित)

काठमाडौं । दोस्रो जनआन्दोलन सफल भएपछि नेपालको राजनीति निर्णायक मोडमा पुग्यो । सडकमा लाखौँ जनता थिए । राजनीतिक दिशानिर्देश स्पष्ट थिएन । तत्कालीन नेकपा माओवादीले दृढ अडान लियो– पहिले गणतन्त्र घोषणा अनि संविधानसभा निर्वाचन । माओवादी यो अडानबाट टसमस भएन ।

गणतन्त्रको कुरा त्यसअघि पनि उठ्थ्यो । तर त्यो सधैं सानो स्वरमा सीमित हुन्थ्यो । माओवादीले यसलाई सशक्त, दबाबपूर्ण र निर्णायक एजेन्डा बनायो । त्यसबेला पनि गणतन्त्रको आम स्वीकारोक्ति भइसकेको थिएन । नेपाली कांग्रेस, एमालेसहितका सात दल न गणतन्त्र स्वीकार्न तयार थिए न राजतन्त्रको निरन्तरतामा नै प्रतिबद्ध थिए । राजा ज्ञानेन्द्रको १५ महिने प्रत्यक्ष शासनले सात दल हत्तुहैरान थिए ।

यही संक्रमणकालीन घडीमा नेपाली कांग्रेसमा नरहरि आचार्य र गगन थापा गणतन्त्रका स्पष्ट प्रवक्ता भएर उभिए । गगनले सडक मोर्चाबाट गणतन्त्रको नारा घन्काए । लाठीचार्ज सहे । गिरफ्तारी भोगे । जनआन्दोलनमा सर्वाधिक चर्चा भएका युवाहरुमध्ये एक थिए गगन थापा, जो नेपाली मिडियामा जनआन्दोलनको ‘पोस्टर ब्वाइ’का रुपमा देखा परेका थिए ।
अर्कातर्फ नरहरि आचार्यले टेलिभिजन अन्तर्वार्ता, पत्रपत्रिकाका लेख र बौद्धिक बहसमार्फत कांग्रेसभित्र र बाहिर गणतन्त्रको वैचारिक जग तयार पारे । त्यसमा प्रदीप गिरीकाे पनि भूमिका कम थिएन ।
यसले कांग्रेसमा आन्तरिक दबाब क्रमशः बढ्दै गयो । सडक, मिडिया र अन्तर्राष्ट्रिय वातावरणको प्रभावसँगै अन्ततः गिरिजाप्रसाद कोइराला नेतृत्वको कांग्रेस गणतन्त्रको कित्तामा उभिन बाध्य भयो ।
८ पुस २०६४ मा सात दल र माओवादीबीच सहमति भयाे कि देशलाई गणतन्त्रको मार्गचित्रमा लैजाने र संविधानसभा निर्वाचन गर्ने । सोही सहमतिअनुसार २८ चैत २०६४ मा संविधानसभा निर्वाचन सम्पन्‍न भयो । त्यसको डेढ महिनापछि, १५ जेठ २०६५ मा बसेको संविधानसभाको पहिलो बैठकले २४० वर्षे राजतन्त्रको औपचारिक अन्त्य गर्दै नेपाललाई गणतन्त्र घोषणा गर्‍याे । गणतन्त्र घोषणा गर्दा संविधानसभा बैठकको अध्यक्षता ज्येष्ठ सदस्यको नाताले कांग्रेसकै नेता कुलबहादुर गुरुङले गरे । यो गणतन्त्र घोषणाको ऐतिहासिक क्षणले गगनहरूको सपना साकार पारेको थियो ।
सायद नरहरि आचार्य र गगन थापाजस्ता नेताहरूले कांग्रेसलाई गणतन्त्रको एजेन्डामा नडोर्‍याएकाे भए, राजतन्त्र अन्त्य गर्ने राष्ट्रिय समझदारी सम्भव नहुन पनि सक्थ्यो । यही कारणले गगन थापा आज पनि ‘गणतन्त्रको आत्मा’ को रूपमा स्मरण गरिन्छन् ।

उनै गगन बुधबार देशकै सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको सभापति बने, त्यो पनि विद्रोहको बलमा । शक्तिशाली सभापति शेरबहादुर देउवा अपदस्थ गरेर गगनले नेतृत्वमा पुस्तान्तरण सम्भव तुल्याए । प्रारम्भमा महाधिवेशन प्रतिनिधिको ५४ प्रतिशत समर्थन उनको पक्षमा थियो । विशेष महाधिवेशन चलिरहँदा यो समर्थन अझै बढ्दै गयो ।

यस विद्रोहको मूल निशाना थियो–नियमित महाधिवेशन परपर सार्दै पार्टीको सत्ताशक्ति कब्जामा राख्‍ने देउवा प्रवृत्ति । गगनको नेतृत्वमा यो प्रवृत्तिमाथि बुधबार गम्भीर प्रहार भयो । यससँगै ८० वर्षे देउवाको बहिर्गमन सम्मानजनक बन्‍न सकेन । यसअघि आफैंले पार्टी फुटाएका देउवाकै कारण फेरि पनि कांग्रेस विभाजनको बाटोमा गयो ।

‘सुधारिएको कांग्रेस, बदलिएको कांग्रेस’को नारा घन्काउँदै गगन कांग्रेस पार्टीको एउटा समूहको शिखरमा पुगेका छन् । आयोग र सर्वोच्च अदालतले उनको पक्षमा निर्णय दिए उनी आठ दशक लामो इतिहास बोकेको काँग्रेस हाँक्ने ठाउँमा हुनेछन् ।

यहीबेला देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्वयं धरमराएको छ । जेन–जी विद्रोहपछि संविधान घिटघिटे अवस्थामा छ । अर्थात् संविधान कोमामा छ । संघीय लोकतान्त्रिक गणतन्त्रको जग हल्लिएको छ । देशी तथा विदेशी शक्ति केन्द्रहरूको चलखेल झनै बढ्दो छ ।

यस्तो संवेदनशील समयमा गगनले कांग्रेस हाँक्नेछन् । अब उनले निर्वाचन आयोगमा आधिकारिकता विवादको सामना गर्नुपर्ला । प्रतिनिधिसभा निर्वाचन अगाडि उनले आफ्नै शब्दमा भनेझैँ ‘सुधारिएको कांग्रेस, बदलिएको कांग्रेस’लाई कति कुशलतापूर्वक ड्राइभ गर्न सक्छन्, त्यो ठूलो परीक्षा हुनेछ ।

बुधबारदेखि कांग्रेस दुई फक्लेटोमा विभाजित देखिन्छ । त्यसमध्ये एउटाको मात्र नेता बनेर चुनावमा जाँदा प्रतिनिधिसभामा कांग्रेसको दलीय हैसियत कत्रो होला ? के गगनले गणतन्त्र जोगाउने ऐतिहासिक भूमिकालाई अब संस्थागत नेतृत्वमा रूपान्तरण गर्न सक्लान् ?

यी सबै प्रश्‍नको उत्तर राजनीति स्वयंले दिनेछ– निकट भविष्यमा ।

 

 

निर्वाचन आयोगमा देउवा र गगन–विश्वको छुट्टाछुट्टै पत्र, आधिकारिकता कसलाई ?

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता कसले पाउने भन्ने विषयमा विवाद चुलिँदै जाँदा निर्वाचन आयोगमा दुई पक्षबाट फरक–फरक पत्र पुगेका छन् । एकातिर विशेष महाधिवेशन पक्षधर नेताहरू गगन थापा र विश्वप्रकाश शर्माले आफूहरूकै नेतृत्वबाट निर्वाचित समिति नै आधिकारिक कांग्रेस हुने दाबी गरेका छन् भने अर्कोतिर पार्टी सभापति शेरबहादुर देउवाले उनीहरूलाई कारबाही गरिएको निर्णय आयोगमा पठाएका छन् ।

विशेष महाधिवेशन पक्षका नेताहरू गगन थापा र विश्वप्रकाश शर्माले बहुमत महाधिवेशन प्रतिनिधि काठमाडौंको भृकुटीमण्डपमा उपस्थित रहेको दाबी गर्दै निर्वाचन आयोगमा पत्र बुझाएका हुन् । पत्रमा विशेष महाधिवेशनबाट चयन हुने नयाँ नेतृत्व नै वैधानिक हुने उल्लेख गरिएको छ । साथै, यसअघि रहेको केन्द्रीय कार्यसमिति भंग भइसकेको दाबी पनि उनीहरूले गरेका छन् । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले दुवै पक्षबाट पत्र प्राप्त भइसकेको पुष्टि गर्दै अहिले ती पत्र राजनीतिक शाखामा अध्ययनको प्रक्रियामा रहेको जानकारी दिए । उनका अनुसार आयोगले कानुनी र प्रक्रियागत आधारमा विषयको परीक्षण गर्नेछ ।

यता, संस्थापन पक्षले भने विशेष महाधिवेशनलाई विधानविपरीत ठहर गर्दै कडा कदम चालेको छ । कार्यबाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फर्मुल्लाह मनसुरलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको हो । उक्त निर्णयसहित सभापति शेरबहादुर देउवाले निर्वाचन आयोगमा औपचारिक पत्र पठाइसकेका छन् ।

कांग्रेस प्रचार–प्रसार विभाग प्रमुख मीन विश्वकर्माले बैठकको निर्णय सार्वजनिक गर्दै नेपाली कांग्रेसको विधान २०१७ को धारा २२ उपधारा २० तथा धारा ३४ को उपधारा ८ अन्तर्गत उनीहरूलाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको जानकारी दिए । केन्द्रीय कार्यसम्पादन समितिको निर्णयविपरीत विशेष महाधिवेशन आयोजना गरिएको आरोप लगाउँदै कारबाही गरिएको उनको भनाइ छ ।

यसबीच, भृकुटीमण्डपमा पुस २७ गतेदेखि सुरु भएको विशेष महाधिवेशन निरन्तर जारी छ । विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया अगाडि बढिसकेको छ । कांग्रेस सभापतिका लागि गगन थापाले उम्मेदवारी दिएका छन् भने महामन्त्री पदका लागि विश्वप्रकाश शर्मा र प्रदीप पौडेल चुनावी प्रतिस्पर्धामा छन् । आजै राति ८ बजेदेखि मतदान कार्यक्रम तय गरिएको छ ।

दुवै पक्षले आफू नै वैधानिक र आधिकारिक कांग्रेस भएको दाबी गर्दै निर्वाचन आयोगको ढोका ढक्ढक्याएपछि अब आयोगको निर्णयले कांग्रेसको भावी दिशा तय गर्ने देखिएको छ । पार्टीभित्रको यो द्वन्द्वले राष्ट्रिय राजनीतिमा समेत ठूलो असर पार्ने आंकलन गरिएको छ ।

 

कांग्रेस १६५ वटै निर्वाचन क्षेत्रमा एक्लै लड्ने गगन–विश्‍वको संकल्प

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरहरूले आगामी प्रतिनिधिसभा निर्वाचनमा सबै निर्वाचन क्षेत्रमा कांग्रेस उम्मेदवार खडा हुने दाबी गरेका छन् ।

कुनै पनि दलसँग चुनावी गठबन्धन गर्ने विषयलाई अस्वीकार गरेका उनीहरूले कांग्रेस एक्लै निर्वाचनमा जाने बताएका छन् ।

‘आगामी प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले कसैसँग गठबन्धन गर्दैन र १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार खडा गर्छ,’ नेता विश्वप्रकाश शर्माले बन्दसत्रको हलमा भने । त्यसबेला हुटिङसहित शर्माको प्रस्तावमा सहभागीहरूले समर्थन जनाउँदै हुटिङ लगाएका थिए ।

बुधबार बिहान देउवासँग गगन–विश्‍वले आठ बुँदे सहमतिको प्रस्ताव अघि सार्दा बिना गठबन्धन कांग्रेसले निर्वाचनको सामना गर्नुपर्ने बुँदा समावेश गरेका थिए । यसमा देउवा सहमत थिए ।

तर, उनी पार्टी सभापति त्याग्‍न, प्रधानमन्त्रीको उम्मेदवार गगनलाई घोषणा गरेर जान र उम्मेदवारको टिकटमा हस्ताक्षर नगर्न तयार भएनन् । यी तीन सर्तमा सहमति नजुट्दा अन्ततः कांग्रेस दुई फक्लेटो भएको छ ।

यस्तोमा विशेष महाधिवेशनको हलबाट गगन–विश्‍वले आगामी प्रतिनिधिसभा निर्वाचनमा गठबन्धनबिना निर्वाचनमा जाने प्रस्तावलाई अनुमोदन गराएका हुन् ।

कांग्रेसले प्रतिनिधिसभा निर्वाचन २०७४ र २०७९ मा गठबन्धनसहित चुनावमा गएको थियो ।

गत वर्ष भएको प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको उपनिर्वाचनमा पनि गठबन्धनसहित निर्वाचनमा गएको थियो ।

आगामी माघमा हुने राष्ट्रियसभा निर्वाचनमा पनि सभापति शेरबहादुर देउवाले एमालेसँग गठबन्धन गरे । यसप्रति गगन–विश्‍वको विमती थियो ।

यही पृष्ठभूमिमा विग्रह आएको कांग्रेसमा विशेष महाधिवेशन गरिरहेका गगन–विश्‍वले कांग्रेसलाई एक्लै निर्वाचन लडाउने भएको हो ।