`

कांग्रेसमा अब दुई सभापति, दुई समूह !

नेपाली कांग्रेसमा नियमित महाधिवेशन पक्षधर शेरबहादुर देउवा समूहले भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनलाई मान्यता नदिएपछि औपचारिक रुपमा पार्टी विभाजनको प्रकृया सुरू भएको छ ।

देउवा पक्षमा १४औं महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवा एउटा समूहको नेतृत्वमा कायम रहनेछन् भने विशेष महाधिवेशनले गगन थापालाई सभापतिमा निर्विरोध चयन गर्दैछ ।

आज बेलुकी ८ बजेबाट मतदान हुने भनिएपनि सभापतिमा थापा तथा  महामन्त्रीमा विश्वप्रकाश शर्मा र प्रदीप पौडेलको मात्रै उम्मेद्वारी परेकाले निर्विरोध हुने भएका छन् ।

अब देउवा र थापा नेतृत्वको कुन समूह आधिकारिक हुन्छ भन्ने निर्वाचन आयोगको निर्णयमा भर पर्नेछ । निर्वाचन आयोगको निर्णय चित्त नबुझ्ने पक्ष अदालत जान सक्ने छ । यदी मुद्धा अदालत गएमा यसको अन्तिम छिनोफानो सर्वोच्च अदालतले गर्ने छ ।

देउवा नेतृत्वको कार्यसमिति भंग भइसक्यो : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको केन्द्रीय कार्यसमिति भंग भइसकेको घोषणा गर्दै विशेष महाधिवेशनले पार्टीलाई नयाँ दिशामा अघि बढाएको बताएका छन् । देउवा पक्षबाट आफूमाथि कारबाही गरिएको खबर सार्वजनिक भए लगत्तै विशेष महाधिवेशनलाई सम्बोधन गर्दै थापाले अब निर्वाचन समितिमार्फत नयाँ केन्द्रीय कार्यसमिति चयन हुने स्पष्ट पारे । भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनलाई सम्बोधन गर्दै थापाले भने, ‘यहाँ नेपाली कांग्रेसको विशेष महाधिवेशन चलिरहेको छ । शेरबहादुर देउवाको नेतृत्वमा रहेको केन्द्रीय कार्यसमिति भंग भइसकेको छ । अब हामी नयाँ केन्द्रीय कार्यसमिति चयन गर्ने प्रक्रियामा छौं । यो कुरा सिंगो देशले सुनिरहेको छ ।’

उनले कांग्रेसको यही अभ्यास नै पार्टीको लोकतान्त्रिक चरित्र भएको उल्लेख गर्दै देशभरका कार्यकर्ता, शुभेच्छुक र नागरिकहरूले यो प्रक्रियालाई नियालिरहेको बताए । थापाले विशेष महाधिवेशनमा सहभागी नेता–कार्यकर्ता नै बीपी कोइराला र गणेशमान सिंहका सच्चा अनुयायी भएको दाबी गरे । ‘बीपी र गणेशमानका परिवारका सदस्यहरू यहाँ नहुन सक्छन्, तर हामी उनीहरूको विचार बोक्ने सन्तान हौं’, उनले भने, ‘जसले बीपी र गणेशमानका विचार बोकेका छन्, उनीहरू नै वास्तविक सन्तान हुन् ।’

निर्वाचन आयोगलाई मान्यता दिन आग्रह
विशेष महाधिवेशनको वैधानिकताबारे बोल्दै थापाले निर्वाचन आयोगले महाधिवेशनबाट गरिएका निर्णयलाई मान्यता दिनुपर्ने तर्क गरे । बहुमत महाधिवेशन प्रतिनिधिहरूको उपस्थितिमा निर्णय भएकाले आयोगले यसलाई स्वीकार गर्ने विश्वास व्यक्त गर्दै उनले भने, ‘हामीले अन्तिम समयसम्म मिलनको प्रयास ग¥यौं । निर्वाचन आयोग, कानुन र संस्थाप्रति मेरो विश्वास छ । विशेष महाधिवेशनबाट आएको निर्णयलाई आयोगले मान्यता दिनुपर्छ ।’ उनले देउवा पक्षले नै आफूहरूलाई वार्ताका लागि बोलाएको दाबी गर्दै पनि अन्तिमसम्म सहमति नजुटेको बताए । ‘कोही ‘आइज’ भनेर आएको थियो, तर ‘जा’ भनेर जान सकेन’, थापाको टिप्पणी थियो ।

‘गाली होइन, एकताको राजनीति’
थापाले कार्यकर्ता तथा समर्थकहरूलाई संयमित र जिम्मेवार अभिव्यक्ति दिन आग्रह गरे । विशेष महाधिवेशनपछि पनि पार्टीभित्र सबैलाई सँगै लैजानु पर्ने आवश्यकता औंल्याउँदै उनले कसैप्रति गालीगलौज नगर्न अनुरोध गरे । ‘गाउँठाउँमा जाँदा वा सामाजिक सञ्जालमा लेख्दा कसैको पनि गाली नगरिदिनु होला’, उनले भने, ‘हामी सबैलाई सँगै लिएर जानुछ ।’

आफ्नो सम्बोधनको अन्त्यतिर थापाले राजनीतिक सौहार्दको सन्देश दिँदै विशेष महाधिवेशनपछि पूर्व सभापति शेरबहादुर देउवाको आशीर्वाद लिन जानुपर्ने बताए । ‘केही दिनपछि कांग्रेसले नयाँ निर्णय सुनाउँछ । दुई दिनपछि त नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाको आशीर्वाद लिन जानु छँदैछ’, उनले भने । विशेष महाधिवेशनमार्फत कांग्रेसभित्रको शक्ति संघर्ष अब नयाँ चरणमा प्रवेश गरेको संकेत गर्दै थापाको अभिव्यक्तिले पार्टीभित्रको आन्तरिक राजनीतिक बहसलाई थप तीव्र बनाएको छ ।

संस्थापन पक्षधरले केन्द्रीय समिति बैठकबाट गरेको कारबाही निर्णय अस्वीकार

काठमाडौं । कांग्रेसको विशेष महाधिवेशन पक्षधरहरूले संस्थापन पक्षधरले केन्द्रीय समिति बैठकबाट गरेको कारबाही निर्णयलाई अस्वीकार गरेका छन् ।

महामन्त्रीबाट कारबाहीमा परेका नेता विश्‍वप्रकाश शर्माले बन्दसत्रको हलमा सहभागीहरूलाई होहल्ला गर्दै अस्वीकार गर्न आह्वान गरेका थिए । लगत्तै सहभागीहरूले ठूलो स्वरमा होहल्ला गर्दै अस्वीकार गरे ।

बुधबार दिउँसो सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको संस्थापन पक्षको केन्द्रीय समिति बैठकले अर्का महामन्त्री गगन थापा, शर्मासँगै सहमहामन्त्री फर्मुल्ला मन्सुरलाई पाँच वर्षसम्मका लागि पार्टीको साधारण सदस्यतासमेत नरहनेगरि कारबाही गरेका थिए ।

विशेष महाधिवेशनमा सहभागी अन्य नेताहरूलाई भने कारबाहीको निर्णय गरेको थिएन । उनीहरूलाई पूर्ववत् निर्णयमा फर्किन आग्रह गर्ने निर्णय भएको छ ।

शेरबहादुर देउवाप्रति कारबाहीमा परेका सहमहामन्त्री मन्सुरकाे घृणाभाव

काठमाडौं । नेपाली कांग्रेसको सहमहामन्त्रीबाट निष्कासनमा परेका नेता फर्मुलाह मन्सुरले सभापति शेरबहादुर देउवाप्रति घृणाभाव प्रकट गरेका छन् ।

उनले आक्रोशित हुँदै भने, ‘बोल्न नसक्ने र हिँड्न नसक्नेहरूबाट अब केही हुँदैन ।’

उनीसहित महामन्त्रीहरू गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई बुधबार बसेको केन्द्रीय समिति बैठकले पाँच वर्षसम्मका लागि साधारण सदस्यसमेत नरहनेगरि कारबाही गरेको छ ।

यसपछि सहमहामन्त्री मन्सुर निकै आक्रोशित सुनिए । उनले विशेष महाधिवशेनबाट अब कांग्रेसलाई गतिशील बनाउने नयाँ नेतृत्व पाउने बताए ।

गगन–विश्वलाई कारबाहीपछि भृकुटीमण्डपमा नाराबाजी

काठमाडौं । केन्द्रीय समिति वैठकबाट महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई कारबाही गरिएपछि कांग्रेसको विशेष महाधिवेशनस्थलमा कार्यकर्ताले नाराबाजी गरेका छन् । बुधबार बसेको बैठकले थापा र शर्मालाई कारबाही गरेको थियो । त्यस लगत्तै भृकुटीमण्डपमा महाधिवेशन प्रतिनिधिले ‘तानाशाही निर्णय मुर्दावाद !’ भन्दै नाराबाजी गरेका हुन् ।

कारवाहीपछि गगनको चुनौती : कांग्रेस तिनको प्राइभेट कम्पनी हो हामीलाई निकाल्न ?

काठमाडौं । देउवा पक्षबाट कारबाहीमा परेका कांग्रेस महामन्त्री गगनकुमार थापाले कांग्रेस पार्टी कसैको प्राइभेट कम्पनी नभएको बताएका छन् । ‘हामीलाई कारबाही गरेको सुनेका छौं,’ थापाले चुनौतीसहित भने, ‘यो पार्टी कसैको प्राइभेट कम्पनी होइन । ९ कक्षामा पढ्दै थिएँ, जतिबेला म कांग्रेस भएको थिएँ । २०४६ को आन्दोलनमा सहभागी भएको थिएँ । २०६२/०६३ मा त आन्दोलनको नेतृत्व गरेको थिएँ। कसैले हटायौं भनेर हट्ने होइन ।’

उनले भने, ‘मैले समाचार सुनें नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले दुई जना महामन्त्री र सहमहामन्त्रीलाई निकाल्यो । तिनको प्राइभेट कम्पनी हो निकाल्नलाई ? तपाईंको घरबाट निकाल्नु भएको हो ? महामन्त्री गगन थापाले आफूले सभापति शेरबहादुर देउवालाई कुरा बुझाउनै नसकेको बताएका छन् । देउवा पक्षले कारबाही गरेपछि भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्ने क्रममा उनले देउवाले ‘वैशाखमा नियमिति महाधिवेशन हुन्छ र त्यै बेलामा सभापति बन्नू’ भनेर आजै बिहान पनि भनेको बताए ।

‘मैले उहाँलाई कुरा बुझाउनै सकिनँ । म त अहिले महामन्त्री छु । विश्वप्रकाश शर्मा महामन्त्री हुनुहुन्छ,’ थापाले भने, ‘हामीहरू त्यसै पार्टीको संसदीय समितिभित्र छौं । हामीले चुनाव लड्ने भन्दा साथीहरूले मेरो क्षेत्रमा चुनाव लड्दे भनेर बोलाएकै छन् । माया गरेकै छन् । हाम्रोबारेमा चिन्ता हो र ?’ उनले अहिलेको चिन्ता आफूहरूको बारेमा मात्रै नभएको बताए । ‘हाम्रोबारेमा चिन्ता नै होइन । हामी त जोखिम उठाउन खोज्दैछौं,’ थापाले भने ।

 

 

 

 

 

गगनले गरे देउवा नेतृत्वको केन्द्रीय समिति विघटन

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले महामन्त्रीबाट निष्कासन गरेका नेता गगन थापाले शेरबहादुर देउवा नेतृत्वको कांग्रेसको केन्द्रीय समिति विघटन भएको घोषणा गरेका छन् ।

विशेष महाधिवेशनमा देउवा र कांग्रेसको संस्थापक कोइराला परिवारका सदस्यहरू नभए पनि धेरै ठूलो परिवारका सदस्यहरू भएको बताए ।

उनले विशेष महाधिवेशनमा निर्वाचन प्रक्रिया अघि बढ्ने र नयाँ कार्यसमिति चयन गर्ने दाबी गरे । उनले भने, ‘त्यो नयाँ कार्यसमिति नेपाली कांग्रेसको कार्यसमिति हो ।’

उनले आज बिहान देउवासँग संवाद गरेर नेतृत्वबाट अलग हुन आग्रह गरिएको स्मरण पनि गरे । अहिले राजनीतिक रूपमा विमती भए पनि संस्थापन पक्षमा आफ्ना नेताहरू बताए ।

तर, विधि र विधानसम्मत बहुमतीय प्रणालीबाट विशेष महाधिवेशनको हलबाट चयन हुने नयाँ नेतृत्व र समितिले आधिकारिता पाउने पनि बताए ।

सुमन सायमी नेकपामा समाहित, प्रचण्ड-माधवले गरे स्वागत

काठमाडौँ । राष्ट्रिय मुक्ति पार्टी नेपाल (एकता पक्षधर) का संयोजक सुमन सायमी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा समाहित भएका छन् । बुधवार काठमाडौँमा एक कार्यक्रमका बीच नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उनलाई पार्टीमा स्वागत गरेका हुन् । सायमी चर्चित गुठी आन्दोलनको नेता हुन् । त्यसैगरी उनले काठमाडौँमा विभिन्न खालका सामाजिक जागरण अभियानको पनि नेतृत्व गर्दै आएका हुन् ।

राष्ट्रिय मुक्ति पार्टी नेपाल (एकता पक्षधर) सँग भ्रष्टाचार नियन्त्रण, गुठी आन्दोलन, सहकारी आन्दोलनको मर्मअनुसार अघि बढ्ने सङ्कल्पसहितको समझदारी गरिएको नेपाली कम्युनिष्ट पार्टीले जनाएको छ । सायमी अघिल्लो पटक काठमाडौं– ८ बाट चुनावी प्रतिष्पर्धामा उत्रिएका थिए । सो क्षेत्रमा रास्वपाका विराजभक्त श्रेष्ठ १० हजार मत ल्याएर विजयी हुँदा सायमीले झण्डै ६ हजार मत ल्याएका थिए ।

उनले स्थानीय तह निर्वाचनमा पनि काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिस्पर्धा गरेका थिए । त्यसक्रममा सायमीले १३ हजारभन्दा बढी मत ल्याएका थिए । यस पटक पनि सायमी काठमाडौं– ८ बाट चुनावी प्रतिष्पर्धामा उत्रिने तयारी रहेको नेकपा स्रोतले जानकारी दियो । हेर्नुस्, पार्टी समायोजनसम्बन्धी सहमति

 

 

 

 

 

कारबाहीपछि गगन थापा : हामी नै आधिकारिक कांग्रेस, रुख र चारतारे झण्डा हामीसँग छ

काठमाडौं । नेपाली कांग्रेसभित्र देखिएको विवाद थप चर्किदै जाँदा शेरबहादुर देउवा पक्षको केन्द्रीय समितिले गरेको कारबाहीपछि महामन्त्री गगनकुमार थापाले आफूहरू नै पार्टीको आधिकारिक धार भएको दाबी गरेका छन् । देउवा समूहले थापा र अर्का महामन्त्री विश्वप्रकाश शर्मालाई पाँच वर्षका लागि निष्काशन गर्ने निर्णय गरे लगत्तै थापाले विशेष महाधिवेशनमार्फत वैधानिक रूपमा नेतृत्व चयनको प्रक्रिया अघि बढिसकेको बताएका हुन् ।

थापाका अनुसार पार्टीभित्र लामो समयदेखि देखिएको नेतृत्व संकट समाधानका लागि विशेष महाधिवेशन अपरिहार्य भइसकेको छ । ‘अब हामी अन्योलमा बसिरहनुपर्ने अवस्था रहेन’, उनले भने, ‘विशेष महाधिवेशनको मनोनयन प्रक्रिया सकिएको छ, नामावली सार्वजनिक हुँदैछ ।’

उनले पार्टी सभापति शेरबहादुर देउवालाई पद छोडेर प्रक्रिया सहज बनाउन आग्रह गरिएको पनि स्पष्ट पारे । ‘असोज २८ गतेको केन्द्रीय समिति बैठकमा सभापतिले सम्बोधन गरेर कार्यवाहक जिम्मेवारी दिएर जानु भएको थियो, त्यो सम्मानजनक नै थियो’, थापाले भने, ‘हामीले विधि र विधान अनुसारको बाटो रोजेका हौँ ।’

पार्टीको आधिकारिकता कसको भन्ने प्रश्नमा थापाले विशेष महाधिवेशनमार्फत वैधानिक नेतृत्व चयन हुने पक्ष नै वास्तविक कांग्रेस भएको दाबी गरे । ‘यहाँ विधिवत् र विधानसम्मत नेतृत्व चयन हुँदैछ’, उनले भने, ‘यही नै नेपाली कांग्रेस हो ।’ थापाका अनुसार विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वबारे आजै निर्वाचन आयोगलाई जानकारी गराइनेछ । ‘निर्वाचन प्रक्रिया सकिएपछि आयोगलाई औपचारिक जानकारी दिन्छौँ’, उनले भने, ‘पार्टीको चुनाव चिह्न रुख र चारतारे झण्डा हामीसँगै छ। कांग्रेस भनेकै हामी हौँ ।’

देउवासँगको अन्तिम संवादबारे बोल्दै थापाले सभापतिले ‘वैशाखमा स्वतः अलग हुन्छु’ भनेको स्मरण गरे। तर अहिले नै निष्क्रिय बस्न नसकिने अवस्था आएको उनको भनाइ छ । ‘प्रश्न पर्खिन नसकेको होइन’, उनले स्पष्ट पारे, ‘देश, समाज र कार्यकर्ताले अब कुर्न नसक्ने अवस्था भयो ।’ थापाले भदौ २३ मा भएको घटनालाई पनि यही असन्तोषको परिणामको रूपमा व्याख्या गरे । ‘यदि कार्यकर्ताको आवाज समयमै स्वीकार गरिएको भए भदौ २३ को घटना हुने थिएन’, उनले भने । कांग्रेसभित्रको यो विवादले अब पार्टीको आधिकारिकता, चुनाव चिह्न र वैधानिक नेतृत्वबारे कानुनी तथा राजनीतिक बहसलाई थप तीव्र बनाउने संकेत देखिएको छ ।

 

 

 

 

 

कारबाहीमा परेपछि विश्‍वप्रकाशको प्रश्‍न : आठ बुँदामध्ये कुन चाहिँ पार्टी र देशको अहितमा थियाे ?

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले साधारण सदस्यतासमेत नरहनेगरि पाँच वर्षसम्मका लागि निष्कासन गरेपछि नेता विश्‍वप्रकाश शर्माले आफूहरूले सारेका आठ बुँदा पार्टी र देशको अहित गर्ने नभएको दाबी गरेका छन् ।

उनले प्रश्‍न गरे, ‘सहमतिका लागि आज बिहान प्रस्तावित यी ८ बुँदामध्ये कुन बुँदा काँग्रेस र देशको अहितमा थियो र छ ?’

उनले बुधबार बिहान सभापति देउवासँग छलफल गर्दा अघि आफूहरूले सारेका आठ बुँदा पनि सार्वजनिक गरेका छन् ।

उनले ती बुँदाहरू कांग्रेस र देशलाई बदल्ने प्रयासमा अर्का महामन्त्री गगन थापा र आफू दृढ रहेको पनि बताए ।

विधान अनुरूपको विशेष महाधिवेशन भन्दै देशलाई विशेष महाधिवेशनले सही दृष्टिकोण दिएको र सही नेतृत्व पनि दिने लेखेका छन् ।

यस्ता थिए गगन–विश्वले अघि सारेका आठ बुँदा

१. विशेष महाधिवेशनको स्वामित्व साझा रूपमा लिने
२. विशेष महाधिवेशन परिमार्जनसहित पारित प्रस्तावहरू कार्यान्वयन गर्ने
३. सभापतिले सक्रिय भूमिका निर्वाह नगर्ने सो क्रममा उम्मेदवारी पत्रमा सभापतिले हस्ताक्षर नगर्ने
४. उम्मेदवार चयन गर्न संसदीय बोर्ड गठन गर्ने
५. आगामी निर्वाचनमा एक ढिक्का भएर मैदानमा जाने
६. कुनै पनि दलसँग गठबन्धन नगरेर नेपाली कांग्रेसले आगामी निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्ने
७. नेपाली कांग्रेसका तर्फबाट आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर जाने
८. यी सबै कार्य समन्वय र कार्यान्वयन गराउन ५ सदस्यीय संरचना गठन गर्ने, जसमा कार्यवाहक सभापति र दुई महामन्त्रीबाहेक थप दुई नेताहरू रहने

गगन–विश्वप्रकाशलाई निष्काशन गरेको निर्णय सुनाउँदै गर्दा भावुक बने खड्का

काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद खुला टकरावमा रूपान्तरित हुँदै गएको छ । केन्द्रीय कार्यसमिति बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मामाथि गम्भीर आरोप लगाउँदै पार्टी असहज अवस्थातर्फ धकेलिएको बताएका छन् ।

सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकमा खड्काले महाधिवेशन कार्यतालिका महामन्त्रीद्वयकै सहमतिमा अघि बढाइएको दाबी गरे । तर, प्रक्रिया पूरा गर्न नसकिएको अवस्थामा कार्यतालिका सार्ने समझदारी हुँदाहुँदै पनि उनीहरूले विशेष महाधिवेशनको आह्वान गरेर धोका दिएको उनको आरोप थियो । खड्काले बैठकमा भने, ‘महामन्त्रीहरूसँग सल्लाह गरेर नै पुसमा नियमित महाधिवेशन गर्ने निर्णय गरिएको हो । तर क्रियाशील सदस्यता नवीकरणलगायतका प्रक्रिया समयमा पूरा हुन सकेन । त्यसमा उहाँहरू स्वयंको पनि जिम्मेवारी छ ।’ उनले महामन्त्रीद्वयले आफूहरूबाट कुनै कमजोरी नभए जस्तो गरी विशेष महाधिवेशनतर्फ अगाडि बढेको भन्दै असन्तुष्टि जनाए ।

विशेष महाधिवेशनको माग गर्दै गगन–विश्व पक्षले सार्वजनिक रूपमा गतिविधि बढाएपछि संस्थापन पक्ष र इतर समूहबीच पटक–पटक वार्ता भएको थियो । तर, ती सबै प्रयास असफल भएपछि अन्ततः केन्द्रीय कार्यसमिति बैठकले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित केही नेतामाथि कारबाही गर्ने निर्णय गरेको छ । कारबाहीको निर्णय सुनाउने क्रममा खड्का भावविह्वल बनेको बैठकमा सहभागी केन्द्रीय सदस्यहरूले बताएका छन् ।

‘सबै प्रयास गर्दा पनि साथीहरूलाई मनाउन सकिनँ, पार्टी जोगाउन सकिनँ’, भन्दै खड्काले बैठकमा भावुक अभिव्यक्ति दिएको ती सदस्यको भनाइ छ । उनका अनुसार खड्का निर्णय सुनाउँदा निकै गहिरो तनावमा देखिन्थे । बैठकमा खड्काले सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वयबीच भएको वार्ताको विवरण पनि प्रस्तुत गरेका थिए । उनले महामन्त्रीद्वयले सहमतिको ‘अन्तिम विकल्प’ भन्दै पठाएका प्रस्तावहरूमध्ये निर्वाचन आयोगमा पठाइएका उम्मेदवारहरूको नाममा सभापतिको हस्ताक्षर परिवर्तन गर्नेबाहेक अन्य कुनै प्रस्ताव स्वीकार्य नहुने स्पष्ट पारे ।

विशेष गरी गगन थापालाई भावी प्रधानमन्त्री घोषणा गरेर चुनावमा जाने र सभापति देउवा पार्टी गतिविधिबाट निस्क्रिय रहने प्रस्ताव अस्वीकार्य रहेको खड्काको भनाइ थियो । ‘हामीले एउटा प्रस्तावबाहेक अरू मान्न सकिँदैन भनेर जवाफ दिइसकेका छौं’, खड्काको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले बताए । विशेष महाधिवेशन पक्षसँग चरणबद्ध छलफल चलिरहेकै कारण बुधबार बिहानका लागि तय गरिएको केन्द्रीय समिति बैठक दिउँसो ढिलो गरी सुरु भएको थियो । यसअघि मंगलबार पनि पटक–पटक बैठक सर्दै राति संक्षिप्त छलफलमा सीमित भएको थियो । कांग्रेसभित्र देखिएको यो तकरारले पार्टीको संगठनात्मक एकता र आगामी राजनीतिक यात्रामाथि गम्भीर प्रश्न खडा गरेको छ । नेतृत्व तहकै आपसी अविश्वास र सार्वजनिक आरोप–प्रत्यारोपले पार्टीलाई कुन दिशामा लैजान्छ भन्ने चासो तीव्र बन्दै गएको छ ।

 

 

कांग्रेस सहमहामन्त्री फर्मूल्लाह मन्सुर पनि निष्काशित

काठमाडौं । नेपाली कांग्रेसले सहमहामन्त्री फर्मुल्लाह मन्सुरलाई पनि पाँच वर्षका लागि पार्टीबाट निष्काशन गरेको छ । संस्थापन पक्षको केन्द्रीय कार्य समिति बैठकले महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मासँगै मन्सुरलाई पनि निष्काशन गरेको हो ।

पार्टी केन्द्रीय कार्यसमितिको बुधबारको बैठकले महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा र सह–महामन्त्री फरमुल्ला मन्सुरलाई पाँच वर्षका लागि पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको हो ।
पार्टीका वरिष्ठ नेताहरूको भनाइअनुसार, तीनै महामन्त्रीले कांग्रेसको नियमित कार्यविधि उल्लंघन गर्दै विशेष महाधिवेशन आह्वान गरेका थिए । यही कदमले पार्टी भित्रको ऐक्यबद्धतालाई चुनौती दिएको ठहर गर्दै केन्द्रीय कार्यसमितिले उनीहरूमाथि कारबाही अघि बढाएको हो ।

कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पार्टीको ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको माग अनुसार विशेष महाधिवेशन बोलाउने प्रस्ताव अघि सारेका थिए । उनीहरूको तर्क अनुसार, पार्टीको नियमित महाधिवेशन पुसमा सम्भव नभएपछि वैशाखमा गर्ने सहमति बैठकले गरेको निर्णय पार्टीको आन्तरिक लोकतान्त्रिक प्रक्रियालाई बेवास्ता गरेको थियो ।

गगन–विश्वप्रकाश कांग्रेसबाट निष्काशित

काठमाडौं । नेपाली कांग्रेसमा चलिरहेको विशेष महाधिवेशन विवादले आज निर्णायक मोड लियो । पार्टी केन्द्रीय कार्यसमितिको बुधबारको बैठकले महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा र सह–महामन्त्री फरमुल्ला मन्सुरलाई पाँच वर्षका लागि पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको छ ।

पार्टीका वरिष्ठ नेताहरूको भनाइअनुसार, तीनै महामन्त्रीले कांग्रेसको नियमित कार्यविधि उल्लंघन गर्दै विशेष महाधिवेशन आह्वान गरेका थिए । यही कदमले पार्टी भित्रको ऐक्यबद्धतालाई चुनौती दिएको ठहर गर्दै केन्द्रीय कार्यसमितिले उनीहरूमाथि कारबाही अघि बढाएको हो । कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पार्टीको ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको माग अनुसार विशेष महाधिवेशन बोलाउने प्रस्ताव अघि सारेका थिए । उनीहरूको तर्क अनुसार, पार्टीको नियमित महाधिवेशन पुसमा सम्भव नभएपछि वैशाखमा गर्ने सहमति बैठकले गरेको निर्णय पार्टीको आन्तरिक लोकतान्त्रिक प्रक्रियालाई बेवास्ता गरेको थियो ।

तर, पार्टी अध्यक्ष शेरबहादुर देउवा र अन्य वरिष्ठ नेताहरूले तीन चरणको छलफलपछि विवाद समाधान गर्ने प्रयास गरेका थिए । मंगलबार र बुधबारसम्म चल्ने छलफलमा पनि दुई महामन्त्री पक्ष र पार्टी नेतृत्वबीच सहमति जुट्न सकेन । विशेष महाधिवेशनका पक्षमा रहेका महामन्त्रीहरूले बन्द सत्रको निर्णयलाई अन्तिम मान्दै निर्वाचन समिति गठन गरी चुनावी प्रक्रिया अघि बढाएका थिए । सोही क्रममा गगन थापाको सभापति पदका लागि नाम दर्ता गरिएको छ भने अन्य पदाधिकारीका उम्मेदवारहरूको मनोनयन पनि सम्पन्न भइसकेको छ ।

पार्टीले स्पष्ट पारेको छ कि नियम विपरीत विशेष महाधिवेशन आह्वान गर्ने कदमले पार्टीको आन्तरिक अनुशासनमा गम्भीर असर पुर्‍याएको छ । निष्काशित तीनै महामन्त्रीले अब पाँच वर्षसम्म पार्टीको कुनै पनि गतिविधिमा भाग लिन पाउने छैनन् । विशेषज्ञहरूका अनुसार, यस घटनाले नेपाली कांग्रेसभित्रको नेतृत्व अस्थिरता र भित्री विवादलाई अझ स्पष्ट बनाएको छ । आगामी समयमा पार्टीको आन्तरिक लोकतान्त्रिक प्रक्रिया र नेतृत्व प्रतिष्पर्धा कसरी अघि बढ्छ भन्नेमा सबैको ध्यान रहेको छ ।

 

 

कांग्रेस विशेष महाधिवेशन : आज राति ८ बजेदेखि मतदान

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत निर्वाचन कार्यतालिका संशोधनसहित सार्वजनिक भएको छ । बिहान ११ बजे नै मनोनयन दर्ता सम्पन्न भए पनि त्यसपछिको निर्वाचन कार्यक्रम निर्धारण भएको थिएन । निर्वाचन समितिका संयोजक सीताराम केसीले बुधबार दिउँसो निर्वाचन कार्यक्रमको संशोधित कार्यतालिका सार्वजनिक गरेका हुन् । जसअनुसार ४ बजे उम्मेदवारको प्रथम नामावली सार्वजनिक हुनेछ ।

त्यसमा दाबी विरोधका लागि साढे ४ बजेसम्म उजुरी दिन सकिनेछ । त्यसमा ५ बजेसम्म छानबिन गरी साँझ ५ः०५ बजे उम्मेदवारको नामावली पुनः प्रकाशन गर्ने कार्यक्रम छ । त्यस्तै उम्मेदवारी फिर्ताको समय ५ः०५ बजेदेखि साँझ साढे ५ बजेसम्मको समय निर्धारण गरिएको छ । अन्तिम नामावली प्रकाशन साँझ ६ बजे हुनेछ । त्यसपछि बेलुकी ८ बजेदेखि राति ११ बजेसम्म मतदानको समय तोकिएको छ ।

सानेपामा सुरू भयो कांग्रेस केन्द्रीय समितिको बैठक

नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक शुरु भएको छ ।

पार्टी केन्द्रिय कार्यालय सानेपामा कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा शुरु भएको बैठकमा समसामयिक राजनीतिक विषयवस्तु र पार्टीभित्रको आन्तरिक विवाद मुख्य एजेण्डा रहेको छ ।

पार्टीभित्र विशेष महाधिवेशनको माग गर्दै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अग्रसरतामा भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको प्रभाव र सम्भावित पार्टी विभाजनको जोखिमलाई मध्यनजर गर्दै यो बैठक बोलाइएको हो ।

विशेष महाधिवेशन पक्षधरहरूले केन्द्रीय समितिलाई भंग गरी नयाँ कार्यसमितिको निर्वाचन प्रकृया अघि बढाउको छ भने संस्थापन पक्षले यसलाई मान्यता नदिइ नियमित महाधिवेशनको तयारीमा जोड दिँदै आएको छ ।

बैठकमा केन्द्रिय पदाधिकारी, सदस्यहरू तथा प्रदेश सभापतिहरूको उपस्थिति रहेको छ। वार्ताबाट पार्टी एकता कायम गर्ने प्रयास जारी रहे पनि बैठकले महत्वपूर्ण निर्णय लिने अपेक्षा गरिएको छ ।

देउवा भेटेर सानेपा पुगेका शेखर भन्छन्, ‘पार्टी यत्तिकै फुट्छ ?’

काठमाडौं । नेपाली कांग्रेसमा आन्तरिक विवाद गहिरिँदै गएपछि पार्टी अध्यक्ष शेरबहादुर देउवाको नेतृत्वमा संकट व्यवस्थापन प्रयासहरू तीव्र बनेका छन् । केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय सानेपा पुगेका नेता डा. शेखर कोइरालाले पार्टी तत्काल फुट्ने स्थिति नरहेको दाबी गरेका छन् ।

सानेपामा बुधबार दिउँसो पत्रकारसँग कुरा गर्दै कोइरालाले भने, ‘यत्तिकै पार्टी फुट्छ ?’ उनले हिजो र आज पार्टी सभापति शेरबहादुर देउवासँग परामर्श गरेका थिए भने कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग समेत छलफल गरेका छन् । सानेपामा बस्ने बैठक विशेष महाधिवेशन पक्षधरले नयाँ नेतृत्व चयनको तयारी गरिरहेको समयमा भएको हो । संस्थापन पक्षले भने विशेष महाधिवेशन पक्षधरलाई कारबाही गर्ने तयारीमा रहेको बेला कोइरालाको सानेपा उपस्थितिले राजनीतिक सन्तुलन कायम राख्ने संकेत दिएको देखिन्छ ।

यसैबीच, पार्टीको आन्तरिक विवादमा महासचिव मोहनबहादुर बस्नेतले गगन थापा र विश्वप्रकाश शर्मामाथि कटाक्ष गरेका छन् । भ्रष्टाचार मुद्दा खेपिरहेका बस्नेतले पार्टी कार्यालयमा पत्रकारसँग कुरा गर्दै भने, ‘यस्ता नौटङ्कीबाजलाई मेरो समर्थन छैन । त्यस्ता आलाकाँचाले कांग्रेस जस्तो पार्टी चलाउन सक्छन् ?।’ भावी प्रधानमन्त्री बन्न चाहेको उम्मेदवारको निर्वाचन क्षेत्र नै स्पष्ट नभएको उल्लेख गर्दै गगन–विश्व समूहको नेतृत्व क्षमता प्रश्न गरेका छन् । त्यसैगरी, विशेष महाधिवेशन आयोजना गर्नेमध्येका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले सभापति देउवासँग पठाएको ८ बुँदे प्रश्नको जवाफ नआएपछि भृकुटीमण्डपमा पनि अन्योलता छाएको छ ।

निर्वाचन प्रक्रिया सुरु भइसकेको र उम्मेदवारको मनोनयन सकिएको अवस्थामा जवाफ नआउँदा विशेष महाधिवेशन स्थलमा अनिश्चितता बढेको छ । यसले विशेष महाधिवेशन पक्षधरलाई कारबाही गर्ने योजना समेत ढिलाइमा परेको देखिएको छ । विशेषज्ञहरूले नेपाली कांग्रेसको यो विवादलाई पार्टीको आन्तरिक शक्ति सन्तुलन र नेतृत्व परिवर्तनको संवेदनशील परीक्षणको रूपमा व्याख्या गरेका छन् । पार्टीको संस्थापन र विशेष महाधिवेशन पक्षबीचको तनाब अझै केही दिन जारी रहन सक्ने सम्भावना देखिन्छ ।

पहिलो पटक बिपीका दाजु मात्रिका र दोस्रो पटक अहिलेका सभापति शेरबहादुरले फुटाएका थिए कांग्रेस (भिडियो)

नेपाली कांग्रेस आफ्नो इतिहासमा तेस्रो पटक औपचारिक रूपमा विभाजनको प्रक्रियामा प्रवेश गरेको छ। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आयोजना गरिएको विशेष महाधिवेशनलाई सभापति शेरबहादुर देउवा पक्षले मान्यता नदिएपछि पार्टी औपचारिक रूपमा विभाजनको बाटोमा अघि बढेको हो। विशेष महाधिवेशनले गगन थापालाई सभापति बनाउँदै नयाँ नेतृत्व निर्वाचित गर्दैछ भने संस्थापन पक्षले थापा र शर्मालाई कारबाही गर्ने तयारी गरिरहेको छ।

२००३ सालमा स्थापना भएको नेपाली कांग्रेस २००९ र २०५९ सालमा विभाजन भएको थियो।

२००३ सालमा बी.पी. कोइरालाले देवीप्रसाद सापकोटाको नेतृत्वमा अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेस नामबाट बनारसमा पार्टी स्थापना गरेका थिए। त्यतिबेला नेपालमा जहानियाँ राणा शासन सक्रिय थियो र राजनीतिक दल खोल्न समेत नपाइने अवस्था थियो।

२००३ सालमै नेपाली राष्ट्रिय कांग्रेसले आफ्नो पहिलो महाधिवेशन गर्‍यो। कलकत्तामा सम्पन्न पहिलो महाधिवेशनबाट बी.पी. कोइराला कार्यकारी सभापति र टंकप्रसाद आचार्य कार्यकारी अध्यक्ष निर्वाचित भए।

त्यसपछि २००४ सालमा महेन्द्र विक्रम शाह सभापति रहने गरी सुवर्ण शमशेर राणाले नेपाल प्रजातन्त्र कांग्रेसको स्थापना गरे। पछि २७ चैत २००६ मा शाह नेतृत्वको नेप्रका र बी.पी. नेतृत्वको नेराकाको एकीकरणपछि विधिवत् रूपमा नेपाली कांग्रेसको स्थापना भयो।

 

बी.पी.का दाजुले नै पहिलोपटक फुटाए पार्टी

२००९ सालमा कांग्रेस पहिलोपटक विभाजित भयो।

२००३ सालको विराटनगर मजदुर हडताल र २००७ सालको राणाशासनविरोधी आन्दोलनपछि देशमा प्रजातन्त्र स्थापना भयो। प्रजातन्त्रको घोषणापछि राणा र कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठन भयो। उक्त सरकारमा प्रधानमन्त्री मोहन शमशेर र गृहमन्त्री बी.पी. कोइराला थिए। भनिन्छ—बी.पी. गृहमन्त्री बनेको कुरा उनका दाजु मातृका प्रसाद कोइरालालाई मन परेको थिएन। बी.पी. र मातृकाबीचको यही आन्तरिक किचलोका कारण मोहन शमशेर नेतृत्वको सरकार ढल्यो। २००७ सालको प्रजातान्त्रिक आन्दोलनका बेला मातृका कांग्रेसका सभापति थिए।

२००८ मंसिर १ गते मातृका प्रधानमन्त्री नियुक्त भए। बी.पी. र मातृकाबीचको आन्तरिक मतभेद पार्टी विभाजनको मुख्य कारण बन्यो। सरकारको कामकारबाहीप्रति असन्तुष्टि जनाउँदै एकै व्यक्ति सभापति र प्रधानमन्त्री हुन नपाउने भन्दै बी.पी.ले मातृकाको राजीनामा मागे। यसले २००९ सालमा कांग्रेसलाई दुई भागमा विभाजन गरिदियो।

२००९ सालमा जनकपुरमा सम्पन्न कांग्रेस महाधिवेशनबाट बी.पी. कोइराला कांग्रेस सभापतिमा निर्वाचित भए। बी.पी.ले प्रधानमन्त्री पदबाट राजीनामा दिन दिएको निर्देशनलाई अस्वीकार गर्दै मातृकाले पार्टीको कार्यसमितिबाट राजीनामा दिए र आफ्नै नेतृत्वमा छुट्टै पार्टी गठन गरे। यो विभाजनले कांग्रेसलाई चार कित्तामा पुर्‍यायो। भद्रकाली मिश्रको नेतृत्वमा जनकांग्रेस, बालचन्द्र शर्माको नेतृत्वमा नेपाली कांग्रेस (वामपन्थी), र मातृकाको नेतृत्वमा राष्ट्रिय प्रजा पार्टी गठन भए।

कांग्रेसको यो फुटको असर २०१० सालमा हुनुपर्ने आम निर्वाचन २०१५ सालसम्म पनि हुन नसक्ने अवस्थामा देखियो। प्रजातान्त्रिक सुधारको सट्टा कांग्रेस २०१० को दशकभर आन्तरिक किचलो, मतभेद र सत्ताकेन्द्रित राजनीतिमा अल्झिरह्यो। नेपाली कांग्रेसको जुट र फुटको क्रम जारी रहँदा स्थापना भएको १० वर्षमै राजा महेन्द्रले २०१७ सालमा प्रजातन्त्र अपदस्थ गरे।

गिरिजाले फुटाउन लाग्दा किसुनजीले रोके

२०५१ सालमा पनि काङ्ग्रेस विभाजनको अन्तिम चरणमा थियो।  त्यतिबेला पार्टी सभापति कृष्णप्रसाद भट्टराई थिए र पार्टी विभाजनको नेतृत्व गिरिजाले गरेका थिए। त्यसको लागि बानेश्वरमा विशेष भेलाको पनि आयोजना गरिएको थियो।  तर अन्तिम समयमा भट्टराईले हामीबीच कुनै विमती छैन भन्दै भेला भईरहेको हलमा उपस्थित भएर जय नेपाल भनेपछि पार्टी विभाजन रोकिएको थियो। 

 

देउवाले गरेको दोस्रो विभाजन

२०५९ सालमा वर्तमान कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीलाई दोस्रोपटक विभाजन गरे।

२०५० को दशकमा देउवालाई दरबारनजिक मानिन्थ्यो। यही कारणले हुन सक्छ—२०५९ सालमा गिरिजाप्रसाद कोइरालासँग सभापतिमा पराजित भए पनि देउवा प्रधानमन्त्री बन्न सफल भए। २०५८/५९ सालमा देशमा माओवादी सशस्त्र संघर्ष उत्कर्षमा थियो। यही संघर्षका कारण देशमा संकटकाल घोषणा गरिएको थियो। देउवाले विद्रोही माओवादीलाई दबाउने नाममा २०५९ सालमा संकटकाल लम्ब्याउने निर्णय गरे। तर पार्टीले संकटकाल नलम्ब्याउन स्पष्ट निर्देशन दिएको थियो।

पार्टीको निर्देशन लत्याउँदै देउवाले २०५९ जेठ ८ गते संसदीय निर्वाचनको घोषणा गरे। लगत्तै कांग्रेस केन्द्रीय समितिले उनको निर्णय खारेज गर्‍यो। त्यसपछि देउवा पार्टी विभाजनतर्फ मोडिए। २०५९ असार २ गते देउवाले ‘असन्तुष्ट समूहको भेला’ भन्दै बोलाएको सभा महाधिवेशनमा परिणत भयो र नेपाली कांग्रेस दोस्रोपटक विभाजित भयो। बानेश्वर महाधिवेशनबाट जन्मिएको नेपाली कांग्रेस (प्रजातान्त्रिक) ले गिरिजाप्रसाद कोइरालालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्‍यो।

तेस्रोपटक कांग्रेस फुटको संघारमा

संस्थापन पक्षले पार्टीका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेको विशेष महाधिवेशनलाई बेवास्ता गरेपछि कांग्रेस पार्टी जीवनको तेस्रोपटक फुटको संघारमा पुगेको छ।

अहिले विशेष महाधिवेशन पक्षधरले काठमाडौंको भृकुटीमण्डपमा चार दिनदेखि विशेष महाधिवेशनका कार्यक्रम सञ्चालन गरिरहेका छन्, जहाँ नीति र नेतृत्व परिवर्तनबारे महाधिवेशन प्रतिनिधिहरूबीच व्यापक छलफल र बहस भइरहेको छ। मंगलबार मात्रै महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पेस गरेका केही सांगठनिक प्रस्तावहरू पारित भइसकेका छन्। उम्मेदवारी दर्तादेखि निर्वाचन कार्यक्रमसम्म तीव्र गतिमा अघि बढिरहेको विशेष महाधिवेशनमा ६५ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिको सहभागिता रहेको दाबी गरिएको छ।

अर्कोतर्फ देउवा नेतृत्वको संस्थापन पक्षले अहिले विशेष महाधिवेशनमा जान नसकिने अडान दोहोर्‍याइरहेको छ। चुनावको मुखमा महाधिवेशन गर्दा पार्टीलाई ठूलो धक्का लाग्ने तर्क गर्दै आएको संस्थापन पक्षले विशेष महाधिवेशनका माग सम्बोधन नगर्दा पार्टी फुटको संघारमा पुगेको हो।

जेन–जी आन्दोलनपछि सभापति शेरबहादुर देउवाले पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएर उपचारका लागि सिंगापुर प्रस्थान गरे। खड्काको सभापतित्वमा विशेष महाधिवेशनमा जाने कि नियमित महाधिवेशन गर्ने भन्ने विषयमा ४४ दिनसम्म कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्यो। तर कुनै ठोस निष्कर्ष ननिकाल्दा उत्पन्न विवाद अहिले पार्टी फुटको चरणमा पुगेको छ।

विशेष महाधिवेशन पक्षधरले नेतृत्व परिवर्तन गरेर मात्रै चुनावमा जाने अडान दोहोर्‍याइरहेका छन् भने संस्थापन पक्षले वैशाख २८–३१ सम्म नियमित महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो। त्यसको प्रतिकारस्वरूप विशेष महाधिवेशन पक्षधर भृकुटीमण्डपमा नयाँ नेतृत्व चयनको अन्तिम चरणमा पुगेका छन्।

 

 

नेपाली कम्युनिस्ट पार्टीसँग एकीकरण हुन लागेको विषय भ्रामक : कुलमान घिसिङ

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नेपाली कम्युनिस्ट पार्टीसँग एकीकरण हुन लागेको विषय भ्रामक भएको बताएका छन् ।

उनले कुनै पार्टीसँग एकीकरण नगरी आफ्ने नीति, सिद्धान्त र कार्यक्रमका आधारमा अघि बढ्ने स्पष्ट पारे ।

‘विभिन्‍न सामाजिक सञ्‍जालमा म अध्यक्ष रहेको उज्यालो नेपाल पार्टी र मेरो नाम जोडेर अन्य पार्टीहरू, विशेषगरि नेपाली कम्युनिस्ट पार्टीलगायतसँग एकीकरण हुन लागेको भन्‍ने हल्ला पूर्ण रूपमा भ्रामक र असत्य हो,’ उनले बुधबार फेसबुकमा लेखे, ‘उज्यालो नेपाल पार्टी कुनै पनि पार्टीसँग एकीकरण नगरी आफ्नै नीति, सिद्धान्त र कार्यक्रमका आधारमा स्वतन्त्र रूपमा अगाडि बढिरहेको र भविष्यमा पनि त्यसैगरि अघि बढ्ने स्पष्ट जानकारी गराउन चाहन्छु ।’

उनले निराधार र भ्रम फैलाउने समाचारमा विश्‍वास नगर्न पनि अनुरोध गरेका छन् ।

घिसिङ अध्यक्ष रहेको उज्यालो नेपाल पार्टी पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयोजक रहेको नेकपासँग एकीकरण प्रक्रियामा रहेको विवरण केही सञ्‍चारमाध्यममा सार्वजनिक भएका थिए ।

प्रचण्ड यसअघि माओवादी केन्द्रका अध्यक्ष हुँदा सोही दलको बागमती प्रदेश अध्यक्ष रहेका सरल सहयात्रीले कुलमानलाई प्रधानमन्त्री प्रचण्डले नै बनाउने र उनलाई नेकपामा स्वागत गर्न चाहेको बताएका थिए ।

त्यसपछि कुलमान नेकपामा जान लागेको भन्दै युट्युबहरूमा समाचार ‘कन्टेन्ट’ बनेको थियो ।

घिसिङको दल उज्यालो नेपाल पार्टी हालै रास्वपाबाट अलग भएको हो ।

सुशासन र दिगो समृद्धिको आधार नै स्वजागरण हो : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सुशासन र दिगो समृद्धिको आधार नै स्वजागरण भएको बताएकी छन् । बुधवार आयोजित सुशासन र समृद्धिको लागि स्वजागरण कार्यक्रममा उनले स्वजागरण आध्यात्मिक अभ्यासमा मात्रै सीमित नरहेको बताएकी हुन् । उनकाअनुसार स्वजागरण व्यक्तिगत अनुशासन, सामाजिक जिम्मेवारी र नैतिक प्रशासन निर्माणको प्रभावकारी जीवन पद्धति हो । स्वजागरणले नागरिकलाई आन्तरिक रूपमा शान्त, सचेत र जिम्मेवार बनाउने तथा वाह्य रूपमा कर्तव्यनिष्ठ र समृद्ध समाज निर्माणमा सहयोग गर्ने उनले बताइन् ।

स्वजागरणले अधिकार मात्रै माग्ने नभई कर्तव्यको बारेमा पनि जानकारी राख्ने उनको भनाई छ । नेपालको मौलिक दर्शन, संस्कार र आध्यात्मिक परम्परामा आधारित स्वजागरणमार्फत जनशक्ति विकास र शासकीय सुधार अपरिहार्य भइसकेको उनले बताइन् ।
स्वजागरण व्यक्तिगत रूपान्तरणमा मात्र सिमित नभई नैतिक प्रशासन, जिम्मेवार नेतृत्व र प्रविधिको विवेकपूर्ण प्रयोगसँग जोडिँदै विश्वव्यापी बन्न गएको उनले बताए । सुशासन र समृद्धिको लक्ष्य राज्य संयन्त्रमा मात्र सीमित नभएकाले निजी क्षेत्र, नागरिक समाज र विशेषगरी प्रविधिमैत्री तथा सचेत युवापुस्ताको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गरिन् । निजी क्षेत्रको व्यवसायिक नैतिकता, नागरिक समाजको प्रभावकारी निगरानी र युवाको सिर्जनशीलता, नवप्रवर्तन तथा जिम्मेवार नागरिकको चेतना बिना समावेशी र दिगो सुशासन सम्भव नहुने उनको भनाई छ ।

उनले भनिन्, ‘समृद्धिको आधार स्तम्भ नै स्वजागरण हो । स्वजागरण केवल आध्यात्मिक अभ्यास मात्रै होइन, यो आन्तरिक रुपमा व्यक्तिगत खुशी र शान्त रहन सिकाउने र वाह्य रुपमा जिम्मेवार, कर्तव्यनिष्ठ र समृद्ध समाज निर्माणमा सहयोग पु¥याउने प्रयोगात्मक जीवन पद्धति पनि हो । स्वजागरणले पहिले आफूलाई व्यवस्थित, अनुशाशित र सचेत बनाउन सिकाउँछ, त्यसपछि मात्रै परिवार, समाज र राष्ट्रप्रति जिम्मेवार बन्न प्रेरित गर्दछ । स्वजागृत व्यक्तिले अधिकार मात्रै खोज्दैन, आफ्नो कर्तव्य के हो ? भन्ने प्रश्न आफैसँग गर्छ । नेपालको मौलिक दर्शन, संस्कार र आध्यात्मिक परम्परामा आधारित स्वजागरणमार्फत जनशक्ति विकास र शासकिय सुधार अरिहार्य भइसकेको छ ।’

उनले भनिन्, ‘यसरी स्वजागरण व्यक्तिगत रुपान्तरणमा मात्रै सीमित नरही नैतिक प्रशासन, जिम्मेवार नेतृत्व र प्रविधिको विवेकपूर्ण प्रयोगको विश्वव्यापी अभ्यास बन्दै गएको छ । सुशासन र समृद्धिको लक्ष्य राज्य संयन्त्रमा मात्र सीमित रहन सक्दैन । यो निजी क्षेत्र नागरिक समाज र विशेषगरी परिवर्तनप्रति सचेत प्रविधिमैत्री र प्रश्न गर्नसक्ने क्षमता भएको युवापुस्तासम्म विस्तार हुनैपर्छ । निजी क्षेत्रको व्यवसायिक नैतिकता, नागरिक समाजको निगरानी र युवाको सिर्जनशिलता, नवप्रर्वतक तथा जिम्मेवार नागरिक चेतनाविना समावेशी र दिगो सुशासन सम्भव छैन ।’ उनले विकास र समृद्धिको लागि सीपयुक्त दक्ष जनशक्ति निर्माणमा गर्नुपर्नेमा जोड दिइन् । युवापुस्तामा सिर्जनशीलता र दक्षता अपरिहार्य रहेको उनको भनाई छ ।

 

नेपाली कांग्रेसको विभाजन प्रकृया अब कसरी अघि बढ्छ ?

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनले गगन थापालाई निर्विरोध रूपमा सभापति निर्वाचित गरेपछि नेपाली कांग्रेस विभाजनको औपचारिक प्रकृया सुरू भएको छ ।

यता देउवा पक्षले भने विशेष महाधिवेशनको अगुवाई गरेका महामन्त्रीहरू गगन थापा र विश्‍वप्रकाश शर्मालाई कारबाही गर्ने तयारी गरिरहेको छ ।

बुधबारबाट कांग्रेस शेरबहादुर देउवा र गगन थापा दुई जनाले नेतृत्व गर्ने अलग-अलग समूहमा विभाजित हुने छ ।  तर, यो विभाजन वैधिनक रुपमा टुंगोमा पुग्‍न केही समय लाग्‍ने छ ।

पार्टी विभाजनका लागि सबैभन्दा पहिले निर्वाचन आयोगले के निर्णय दिन्छ भन्‍ने महत्वपूर्ण हुने छ । विशेष महाधिवेशन सकिएपछि महाधिवेशनको निर्णयअनुसार थापा पक्षले निर्वाचन आयोगमा पार्टी नेतृत्वको विवरण अद्यावधिक गर्न निवेदन दिनुपर्ने छ । यो निवेदनअनुसार निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित समूहलाई मान्यता दिने वा नदिने निर्णय गर्ने छ । यसका लागि आयोगले राजनीतिक दलसम्बन्धी राज्यको कानुन र नेपाली कांग्रेसको विधानलाई आधार बनाएर निर्णय गर्नुपर्ने हुन्छ ।

थापा पक्षको निर्णयलाई आयोगले मान्यता दिए विशेष महाधिवेशनबाट निर्वाचित समूह कांग्रेसको आधारिक नेतृत्व मानिने छ ।

नेपाली कांग्रेसको विधानमा व्यवस्था भएअनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरबाट विशेष महाधिवेशन आव्हान गरिएको र महाधिवेशनमा ५० प्रतिशत भन्दा बढी प्रतिनिधिको सहभागिता रहेकाले आयोगबाट मान्यता पाउने कुरामा थापा पक्ष ढुक्क देखिएको छ । यो विषयमा बुधबार बिहान उनीहरूले कानुनविदहरूसँग सल्लाह पनि लिएका थिए ।

तर, यो महाधिवेशन केन्द्रीय कार्यसमितिले नबोलाएको हुँदा आधिकारिक नहुने देउवा पक्षको जिकिर छ । उनीहरूले विशेष महाधिवेशनबारे केन्द्रीय कार्यसमितिले कुनै निर्णय नगरेको र यो महाधिवेशनबाट निर्वाचित नेतृत्व अवैधानिक हुने दाबी गरिरहेका छन् ।

आयोगले यी दुईमध्ये एक पक्षलाई आधिकारिकता प्रदान गर्ने छ ।

तर, निर्वाचन आयोगको निर्णय नै अन्तिम भने हुने छैन ।

निर्वाचन आयोगले जुन पक्षलाई आधिकारिता प्रदान गरे पनि अर्को पक्ष अदालत जान सक्ने छ । अदालतले पनि राजनीतिक दलसम्बन्धी राज्यको कानुन र नेपाली कांग्रेसको विधानलाई नै आधार बनाएर फैसला गर्ने छ ।

अदालतले देउवा वा थापा पक्ष जसलाई आधिकारिक भन्‍ने फैसला गर्छ, त्यो कांग्रेसको संस्थापन हुने छ । अर्को पक्ष अदालतको फैसलासँग सन्तुष्ट नभएमा र अदालतले आधिकारिकता दिएको नेतृत्वलाई स्वीकार गर्न तयार नभएमा नयाँ पार्टी गठनमा जानुपर्ने हुन्छ ।

यसरी एउटा समूहले अलग पार्टी गठन गरेपछि मात्रै औपचारिक रुपमा पार्टी विभाजन निष्कर्षमा पुग्‍ने छ । यसबीचमा दुई पक्षबीच कुनै पनि प्रकारको सहमति भएमा पार्टी विभाजन रोकिन पनि सक्छ ।

यदि पार्टी विभाजन भएमा यो नेपाली कांग्रेसको इतिहासमा तेस्रो विभाजन हुने छ । पहिलोपटक बीपी कोइरालाका दाजु मातृकाप्रसाद कोइरालाले र दोस्रोपटक वर्तमान सभापति शेरबहादुर देउवाले कांग्रेस फुटाएका थिए ।

फरक-फरक समूहको दुईवटा नेतृत्व भए पनि फागुन २१ मा हुने निर्वाचनमा भने अहिले निर्वाचन आयोगले मान्यता दिने समूह मात्रै सहभागी हुन पाउने छ ।

नयाँ दल दर्ता र निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने समय सकिसकेकाले नयाँ दल दर्ता हुन चुनाव पछिको समय कुर्नुपर्ने छ । यदि पार्टी विभाजित नै भएको खण्डमा विभाजन भएर बन्‍ने नयाँ दल अर्को चुनावसम्म प्रतिनिधि सभामा हुने छैन । तर, यस्तो दलले प्रदेश र स्थानीय तहको चुनावमा भने भाग लिन सक्ने छ ।

देउवालाई पठाइयो गगनलाई प्रधानमन्त्री घोषणा गरेर जानुपर्नेसहित आठ बुँदे नयाँ प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक रस्साकस्सीलाई सहमतिमा टुंग्याउने प्रयास तीव्र बनेको छ । पार्टीको विशेष महाधिवेशन पक्षले संस्थापन समूहसँग वार्ताका लागि आठ बुँदे नयाँ प्रस्ताव अघि सारेको छ । जसमा महामन्त्री गगनकुमार थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर अघि बढ्ने प्रमुख प्रस्ताव समेटिएको छ ।

केन्द्रीय कार्यसमितिको बैठकका लागि सानेपा पुगेका कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई महामन्त्री विश्वप्रकाश शर्माले सहमतिका लागि तयार पारिएको प्रस्ताव पठाएका हुन् । खड्काको कार्यकक्षमा उक्त प्रस्तावमाथि गम्भीर छलफल भइरहेको कांग्रेसका एक नेताले जानकारी दिएका छन् । उनका अनुसार पार्टीभित्र देखिएको विवादलाई संवादमार्फत समाधान गर्ने उद्देश्यले प्रस्ताव ल्याइएको हो । यसअघि कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा भएको छलफलमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले देउवालाई सक्रिय राजनीतिबाट केही समय विश्राम लिन आग्रह गरेका थिए । उनीहरूले आउँदो प्रतिनिधि सभा निर्वाचनमा टिकट वितरणको प्रक्रिया कार्यवाहक सभापतिको हस्ताक्षरबाट हुने व्यवस्था गर्नुपर्ने माग अघि सारेका थिए ।

त्यसैगरी, सभापति देउवाले आगामी आम निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गर्नुपर्ने र विशेष महाधिवेशनले गरेका निर्णयलाई औपचारिक मान्यता दिनुपर्ने माग पनि उठाइएको थियो । जवाफमा देउवाले वैशाखमा तय भएको १५औं महाधिवेशनपछि आफू स्वतः नेतृत्वबाट बाहिरिने भन्दै तीन महिना कुर्न आग्रह गरेका थिए । यद्यपि, चुनाव नलड्ने विषयमा उनले स्पष्ट प्रतिबद्धता जनाएका थिएनन् ।

संस्थापन पक्षले अन्य मागका हकमा भने केही लचकता देखाएको नेताहरू बताउँछन् । विशेष गरी, आउँदो प्रतिनिधि सभा निर्वाचनका लागि टिकट वितरण गर्दा कार्यवाहक सभापतिको हस्ताक्षर रहने विषयमा सकारात्मक संकेत दिएको बताइएको छ । यही आधारलाई केन्द्रमा राख्दै महामन्त्री शर्माले सहमतिका लागि नयाँ प्रस्ताव तयार पारेर पठाएका हुन् । विशेष महाधिवेशन पक्षको आठ बुँदे प्रस्तावमा संगठनात्मक सुधार, नेतृत्व हस्तान्तरणको स्पष्ट खाका र भावी राजनीतिक दिशाबारे सहमति खोजिएको छ ।

त्यसमध्ये सबैभन्दा चासोको विषय गगनकुमार थापालाई कांग्रेसको तर्फबाट प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावमा जाने प्रस्ताव हो । यसले पार्टीभित्र नयाँ पुस्ताको नेतृत्वलाई अघि सार्ने सन्देश दिने नेताहरूको तर्क छ । कांग्रेसभित्र चलिरहेको यो संवाद र प्रस्तावमाथिको छलफलले पार्टीको आगामी महाधिवेशन, निर्वाचन रणनीति र नेतृत्व संरचनामा निर्णायक प्रभाव पार्ने अपेक्षा गरिएको छ। सहमति जुटेमा कांग्रेस आन्तरिक विवादबाट बाहिर निस्कँदै एकीकृत रणनीतिसहित चुनावी मैदानमा उत्रने संकेत देखिएको छ ।

हेर्नुस् आठ बुँदे नयाँ प्रस्ताव

–कार्यकारी भूमिकाबाट सभापति शेरबहादुर देउवा बाहिरिनु पर्ने ।
–विशेष महाधिवेशनको स्वामित्व लिनुपर्ने ।
–प्रधानमन्त्रीको उम्मेदवार तय गरेर जानुपर्ने ।
–चुनावी गठबन्धन कुनै पनि दलसँग नगर्ने ।
–टिकट वितरणका लागि सर्वस्वीकार्य संसदीय बोर्ड गठन गर्नुपर्ने ।
–निर्वाचन केन्द्रित हुनका लागि ५ सदस्यीय उच्चस्तरीय संयन्त्र गठन गर्नुपर्ने ।
–उम्मेदवारको टिकटमा देउवाले हस्ताक्षर गर्न नपाउने ।
–विशेष महाधिवेशनमा पेस भएका प्रतिवेदनहरूलाई पार्टीको पुँजीको रुपमा ग्रहण गर्नुपर्ने ।

 

सुरक्षा चुनौति छ तर, निर्वाचन सफल बनाउनु पर्छ : मुख्यमन्त्री यादव

जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले सुरक्षा चुनौतीका बीच आगामी निर्वाचनलाई सफल बनाउनु पर्ने बताएका छन् । बुधवार मधेस प्रदेशको राजधानी जनकपुरमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा उनले यस्तो बताएका हुन् ।

उनले जेन–जी आन्दोलनमा लुटिएका हतियार, जेलबाट भागेका कैदीहरु बाहिर रहेको, प्रहरीका आवश्यक सामाग्रीहरु नभएको अवस्थामा हुन लागेको निर्वाचनले सुरक्षा चुनौती खडा गरेको बताए । नागरिकमा भयरहित भएर मतदान गर्ने वातावरण बनाउन जरुरी रहेको उनको भनाई छ । उनले हालै साम्प्रदायिक विवाद, जातीय तथा धार्मिक विवाद पनि भएकोले त्यसतर्फ पनि सचेत हुनुपर्ने बताए ।

उनले भने, ‘धेरै लुटिएका हतियार बाहिर छन् । प्रहरीका लजिष्टिकहरु पनि धेरै नष्ट भएका छन् । सवारीसाधान देखि लिएर हतियारसम्म प्रहरीसंग छैनन् । हामी जनता निर्वाचनमा कसरी निर्भय भएर गएर मतदान गछौँ, त्यसमा हामी चिन्तित छौँ । जेल तोडेर भागेका अपराधीहरु पनि बाहिर छन् । कसैको दाउ होला, यही निर्वाचनलाई ताकेर फेरि आफ्नो कुनै रिसिबी साँधौ भन्ने पनि होला । यस्ता परिस्थितिबाट अगाडि बढेर हामी निर्वाचनको मुखमा आईपुगेका छौँ । यो हाम्रो लागि ठुलो चुनौती छ । वीचवीचमा पनि धेरै कुराहरु भइरहको छ, विगतमा दिनमा साम्प्रदायिक विवादहरु पनि हामी देखिरहेका छौँ । जातीय विवादहरु पनि देखिरहेका छौँ । राजनीतिक दलहरुका विरोध प्रर्दशन पनि भईरहेका छन् । धेरै कुराहरु छन्, यसमा हामीले अगाडिको दिनमा निर्वाचनलाई सफल बनाउनको लागि सचेत भएर लाग्नु पर्छ ।’

उनले प्रहरीलाई सीमा क्षेत्रमा हुने लागुऔषध कारोबारलाई नियन्त्रण गर्न पनि आग्रह गरे । दैनिक उपभोग्य सामग्री ल्याउने नागरिकलाई पक्राउ गर्नुको सट्टामा लागुऔषधको कारोबार गर्नेलाई पक्राउ गर्नमा बढि ध्यान दिनुपर्ने उनले बताए । उनले संघीय सरकारले प्रहरी समायोजन नगर्दा पनि धेरै समस्या भएको गुनासो गरे ।

 

मन्त्रालयमा अनुचित हस्तक्षेप हुन दिएको छैन : गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारले निष्पक्ष निर्वाचन गराउने बताएका छन् । बुधवार मधेस प्रदेशको राजधानी जनकपुरमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा उनले यस्तो बताएका हुन् । दलीय पक्षधरताबाट मुक्त रहेको वर्तमान सरकारले निष्पक्ष र धाँदलीरहित निर्वाचन गराउने उनको दाबी छ । उनले वर्तमान संविधानलाई यथावत कायम गर्नका लागि पनि तोकिएकै समय निर्वाचन हुनुपर्ने बताए । उनले वर्तमान संविधान र व्यवस्थालाई कायम राख्नुपर्ने भएकाले निर्वाचन अपरिहार्य रहेको उल्लेख गरे । उनले स्वतन्त्र नागरिकको सरकार भएकोले वर्तमान सरकारले कसैको पनि पक्षधरता नलिने बताए ।

उनले भने, ‘विद्रोहपछि पनि यो संविधान यथावत् रुपमा बहाली हुनुपर्छ । विद्रोहले गर्दा तत्कालीन अवस्थाको संवैधानिक सरकारको म्याण्डेडबीचमा भंग भइसकेपछि र प्रतिनिधि सभाको म्याण्डेड बीचमा भंग भइसकेपछि पनि फेरि संवैधानिक व्यवस्था त्यही बहाली हुनुपर्छ । त्यही नै सुचारु हुनुपर्छ । संसद विघटन भएको ६ महिनाभित्र चुनाव गराउनु पर्छ भन्ने व्यवस्था संविधानमा छ ।’

उनले भने, ‘त्यो चुनाव गराउने र चुनाव गर्दाखेरि पनि कनै दलिय पक्षधरता नभएको स्वतन्त्र व्यक्तिहरुको सरकारले जसमा पूर्व प्रधानन्यायधीश सुशीला कार्की नै प्रधानमन्त्रीको रुपमा हुनुहुन्छ । निष्पक्षताको, स्वतन्त्रताको प्रतिकको रुपमा मानिन्छ पूर्व प्रधानन्यायधीशलाई । निष्पक्ष सरकारको जन्म भएको छ, यसले चुनाव मात्रै गराउँदैन, निष्पक्ष चुनाव गराउँछ । दलीय पक्षधरताबाट मुक्त भएको निष्पक्ष धाँधलीरहित चुनाव गराउँछ ।’

उनले वर्तमान सरकार बनेपछि सुरक्षा फौजको मनोबल पनि बढ्दै गएको बताए । हाल नागरिक र सुरक्षा निकायबीच सहकार्यको वातावरण बनिसकेको उल्लेख गर्दै उनले यसलाई निरन्तरता दिने बताए । उनले वर्तमान सरकारले सबैलाई समान व्यवहार गर्ने पनि जानकारी दिए । उनले आफूले जोखिम लिएर भए पनि प्रहरीको मनोबल बढाउन काम गरेको बताए । गृह मन्त्रालयमा केही व्यक्तिहरुले हस्तक्षेप गर्न नपाएर आफ्नो आलोचना समेत गरिएको उनको भनाई छ । उनले आफूले आलोचना सहेर नै मन्त्रालय र सुरक्षा निकायमा अनुचित हस्तक्षेप हुन नदिएको दाबी गरे ।

उनले भने, ‘यो सरकार बन्ने वित्तिकै सुरक्षा फौजको मनोवल बढेको हो । नागरिकको मनोवल बढेको हो । नागरिकले सुरक्षा फौजसँग सहकार्य गर्न थाल्नु भएको हो । यसलाई हामीले निरन्तरता दिन्छौँ । यो ठुलो क्रमभंगता पनि हो । विगतमा सुरक्षा फौजलाई गृह प्रशासनलाई दुरुपयोग पनि गरिए होला । कुनै बर्दीधारीलाई दुरुपयोग गर्दा मनोबल बढ्छ की खस्किन्छ ? पक्कै पनि मनोवल खस्किन्छ, एकाधलाई काखाँ च्याप्दा बाँकी सुरक्षाकर्मीको, कर्मचारीको मनोबल गिर्ने अवस्था हुन्थ्यो ।’

उनले भने, ‘अहिले हामीले त्यो हुन दिएका छैनौ । अहिले हामीले मनोबल बढाउनको लागि निष्पक्षतलाई पहिलो आधार बनाएका छौँ । अहिलेको सरकार अहिलेको मन्त्रीहरु हामी जोखिममा परेर भए पनि हजुरहरुको मनोबल बढाउनको लागि, मर्यादालाई अझै बढाउनको लागि हामी खडा भएका छौँ । गृहमन्त्रीको हैसियतमा मैले धेरै आलोचना खेपेर भए पनि, मैले विषै पिई दिएर भए पनि मेरो मन्त्रालय र मातहतको कुनै पनि निकायमा अनुचित हस्तक्षेप हुन दिएको छैन, कुनै पनि नाममा । पुरानो राजनितिक दलको नाममा होस् या नयाँ विद्रोहबाट आउनु भएको साथीहरुमध्ये केही जसले चाँही अकै किसिमको ईच्छा राख्नुभएको थियो । तर म आफू जोखिममा परेर भएपनि मैले त्यो खालको हस्तक्षेप हुन दिएको छैन ।’ उनले हाल जेन–जी आन्दोलनपछि संकटमा गएको देशलाई वर्तमान सरकारले सुरक्षित ढंगले व्यवस्थापन गरेको पनि दाबी गरे । उनले प्रहरीलाई उच्च मनोबलको साथ काम गर्न पनि आग्रह गरे ।

 

 

अब पार्टी फुटतर्फ गयो, केन्द्रीय समितिले आवश्यक निर्णय गर्छ : खड्का

काठमाडौं । नेपाली कांग्रेस गहिरो आन्तरिक संकटको मोडमा पुगेको छ । पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पछिल्ला घटनाक्रमले कांग्रेस फुटतर्फ अघि बढेको संकेत गरेको बताएका छन् । केन्द्रीय कार्यसमिति बैठकका लागि सानेपा पुगेका खड्काले आफ्ना कार्यकक्षमा भेला भएका नेता–कार्यकर्तालाई हालसम्म भएका वार्ताबारे जानकारी गराउँदै परिस्थिति गम्भीर बनेको स्पष्ट पारे ।

खड्काका अनुसार सभापति पक्षबाट अधिकतम लचकता देखाइए पनि महामन्त्रीहरू सहमतिमा नआएको र विशेष महाधिवेशनका लागि उम्मेदवारी मनोनयन प्रक्रिया नै सुरु भइसकेकाले पार्टी विभाजनको बाटोमा पुगेको हो । ‘अब हिजो जस्तै बैठक रोकिँदैन’, खड्काको भनाइ उद्धृत गर्दै स्रोतले जनाएको छ, ‘पार्टी जोगाउने वा अगाडि बढाउने आवश्यक निर्णय केन्द्रीय कार्य समितिले गर्छ ।’

यसैबीच, केन्द्रीय कार्यालय प्रवेश गर्ने क्रममा सञ्चारकर्मीहरूसँग छोटो प्रतिक्रिया दिँदै खड्काले पार्टी जोगाउन प्रयास जारी रहेको बताएका छन् । कांग्रेस मिल्ने सम्भावना कति छ भन्ने प्रश्नमा उनले भने, ‘कोशिस चलिरहेको छ ।’ विशेष महाधिवेशनमा उम्मेदवारी दर्ता भइसकेको विषयमा भने उनले कुनै टिप्पणी गरेनन् । हाल विशेष महाधिवेशनअन्तर्गत निर्वाचन प्रक्रिया अघि बढिरहेको छ । सभापति पदका लागि गगन थापाले उम्मेदवारी दर्ता गरिसकेका छन् भने महामन्त्री पदमा विश्वप्रकाश शर्मा र प्रदीप पौडेल उम्मेदवार बनेका छन् । कांग्रेस विधानअनुसार दुई महामन्त्री रहने व्यवस्था छ ।

उता, संस्थापन पक्षले भने आन्तरिक छलफललाई निर्णायक मोडमा लैजान केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । बैठकमा सहभागी हुन कांग्रेसका शीर्ष नेता तथा केन्द्रीय सदस्यहरू सानेपा पुगिसकेका छन् ।
पार्टीभित्र सहमतिको प्रयास जारी रहे पनि उम्मेदवारी दर्ता र समानान्तर गतिविधिले कांग्रेसको भविष्यलाई अनिश्चित बनाएको छ । अब केन्द्रीय कार्यसमितिको निर्णयले कांग्रेस एकतर्फ फर्कने कि औपचारिक विभाजनतर्फ जाने भन्ने स्पष्ट हुने राजनीतिक विश्लेषकहरूको भनाइ छ ।

मुद्दा फिर्ताको माग गर्दै रविले दिए निवेदन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेले आफूमाथि लागेका केही गम्भीर आरोपहरू फिर्ताको माग गर्दे महान्यायाधिवक्ता कार्यालयमा निवेदन दिएका छन् । उनीमाथि विभिन्न जिल्ला अदालतहरूमा सहकारी ठगीको मुख्य आरोपसँगै सम्पत्ति शुद्धीकरण र संगठित अपराधको पनि मुद्दा चलाइएको छ । लामिछानेले यी दुई आरोपहरू राजनीतिक पूर्वाग्रहका आधारमा लगाइएको भन्दै फिर्ता गरिदिन आग्रह गरेका हुन् ।

लामिछानेले थुनामुक्त हुनुअघि नै पहिलो निवेदन दिएको महान्यायाधिवक्ता कार्यालय स्रोतले जनाएको छ । धरौटी तथा बैंक जमानतमा रिहा भएपछि फेरि पूरक निवेदन पेस गरेका छन् । सहकारी ठगीको आरोपमा मात्र बढी कैद सजाय माग्न नमिल्ने भएपछि सम्पत्ति शुद्धीकरण र संगठित अपराधको आरोप थपेर सजायको मागलाई १० वर्षभन्दा माथि पुर्‍याइएको उनको उल्लेख गरेका छन् । यस्ता मुद्दामा प्रमाण भेटिए थुनामा पठाउने धरौटी बलियो हुने भएकाले आफूमाथि अधिकतम राजनीतिक पूर्वाग्रह प्रयोग गरिएको उनको दाबी छ ।

स्रोतका अनुसार तीन–चार दिनअघि दिएको पूरक निवेदनको अध्ययन भइरहेको छ । हाल सहन्यायाधिवक्ताको तहमै छलफल चलिरहेको छ । त्यहाँबाट रायसहित अघि बढेपछि नायब महान्यायाधिवक्ता तथा सचिवस्तरका सरकारी वकिलबाट थप रायसहित महान्यायाधिवक्ता समक्ष पेस हुने प्रक्रिया छ । मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ११६ मा मुद्दा फिर्तासम्बन्धी व्यवस्था छ । जघन्य तथा गम्भीर प्रकृतिका केही अपवादबाहेक अन्य मुद्दा फिर्ता लिन सकिन्छ । तर सम्पत्ति शुद्धीकरणको आरोप फिर्ता लिन नपाइने मुद्दाको सूचीमा समावेश छ ।

यसैगरी सरकारले २०७७ मा जारी गरेको फौजदारी मुद्दा फिर्ता सम्बन्धी निर्देशिकाले पनि संगठित अपराधको मुद्दा फिर्ता गर्न नमिल्ने स्पष्ट व्यवस्था गरेको छ । निर्देशिकाले प्रचलित कानुनले निषेध गरेका मुद्दा फिर्ता नहुने उल्लेख गरेको छ । रविविरुद्ध कास्की जिल्ला अदालतमा सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा चलिरहेको छ । रुपन्देही र काठमाडौं जिल्ला अदालतमा पनि सहकारी ठगी तथा संगठित अपराधको मुद्दा छ । चितवनमा भने संगठित अपराधको आरोप थपिएको छैन ।

यी सबै मुद्दा गोर्खा मिडिया प्रालिमा विभिन्न सहकारीबाट आएको रकम अपचलनसँग जोडिएका छन् । त्यतिबेला लामिछाने गोर्खा मिडियाको प्रबन्ध निर्देशक थिए । गोर्खा मिडियाका अध्यक्ष जीबी राईलगायतसँग मिलेमतोमा सहकारी ठगेको आरोप लागेको छ । पाँचवटा जिल्ला अदालतमा मुद्दा चलिरहेका छन् ।

महामन्त्रीमा विश्वप्रकाश शर्मा र प्रदीप पौडेलको उम्मेदवारी

काठमाडौं । नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनमा महामन्त्री पदका लागि दुई जनाको उम्मेदवारी परेको छ । काठमाडौँको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनमा बुधबार महामन्त्री पदका लागि विश्वप्रकाश शर्मा र प्रदीप पौडेलले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिले जानकारी दिएको छ । अहिलेसम्म दुई जनाको मात्रै उम्मेदवारी दर्ता भएको निर्वाचन समितिले जनाएको छ ।

सभापतिमा यसअघि नै गगन थापाले उम्मेदवारी दिएका थिए । सभापतिमा थापाको एकल उम्मेदवारी परेको हो । बुधबार बिहान सहमतिका लागि सभापति शेरबहादुर देउवासँग थापा र शर्माले वार्ता गरेका थिए । तर वार्ता सफल भएन । वार्ता सफल नभएपछि दुई महामन्त्री थापा र शर्मा कानुन विद्हरूसँगको परामर्शमा छन् । निर्वाचन समिति संयोजक सीताराम केसीका अनुसार दिउँसो १ बजे नामावली सार्वजनिक गरिने छ ।

हिमाचलको आगोले निभाएको टाकुरागाउँका नौ जीवन

काठमाडौं । गोपाल विकसँग यही २४ पुसमा काइँला काका धनबहादुर विकले फोनमा भने, ‘तमी निकै छौँ ? वैशाखमा आम् भन्या ।’

धनबहादुर केही वर्षयता भारतको हिमाचलमा बस्थे । गत वर्ष धनबहादुर पत्‍नी सल्यानको टाकुरागाउँ आएकी थिइन् । छोराको जन्मदर्ता बनाएर गइन् । त्यसयता धनबहादुर परिवार हिमाचलमै थियो ।

गोपाललाई फोनमा धनबहादुरले कमाइ राम्रो नभएको भन्दै आउने वैशाखमा परिवारसहित गाउँ फर्किने भनेका थिए । ‘यहाँ पनि राम्रो कमाइधमाइ छैन केरे । वैशाखमा परिवारै लिएर घर फर्किने हो,’ उनले धनबहादुर भनेको सुनाए ।

यही फोन संवाद अन्तिम बन्यो । धनबहादुरसहित उनकी श्रीमती, दुई छोरी र एक छोराले हिमाचलमा ग्यास सिलिण्डर विस्फोट भएर लागेको आगलागीमा परेर सोमबार ज्यान गुमाए । धनबहादुर ३२ वर्षका थिए ।

टाकुरागाउँकै काशीराम विक, उनकी श्रीमतीसहित छोराछोरी गरेर चार जना आगलागीमा परे । भुइँतलामा भएको दोकानमा सिलिण्डर विस्फोट भएर आगलागी हुँदा माथिल्ला तलामा सुतेका धनबहादुर र काशीरामका परिवारले ज्यान गुमाउनुपर्‍यो ।

एउटै गाउँका नौ जनाको ज्यान गएको घटनाले टाकुरागाउँ शोकमा छ । बुधबार त्यहाँका सरकारी कार्यालयमा ताला लाग्यो । विद्यालयहरूका ढोका बन्द भए ।

टाकुरागाउँ शवहरूको पर्खाइमा छन् । तर, भीषण आगजनीले धेरैको शव नष्ट भएको भारतस्थित नेपाली राजदूतावासले जनाएको छ । दूतावासका अनुसार दुईवटा शव फेला परेको र बाँकीको खोजी जारी छ ।

वित्तीय प्रणालीमा शंकास्पद कारोबार बढ्यो

काठमाडौं । नेपालको वित्तीय प्रणालीमा शंकास्पद कारोबारको दर बढेको छ । केन्द्रिय बैंकले सार्वजनिक गरेको प्रतिवेदनअनुसार शंकास्पद दर अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा बढेको हो । नेपाल राष्ट्र बैंकमा रहेको वित्तीय जानकारी इकाइले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनमा नेपाल सम्पती शुद्धीकरणको ‘ग्रे लिस्ट’ मा रहेकाले शंकास्पद वित्तीय कारोबार बढ्नु सकारात्मक नरहेको जनाएको छ । यो अवस्थामा वित्तीय प्रणालीमा शंकास्पद कारोबारको दर बढ्नु थप चुनौतीका रुपमा देखिएको छ ।

प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१/८२ मा शंकास्पद कारोबार र गतिविधि रिपोर्ट ३०.३५ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा यसको संख्या ७ हजार ३ सय ३८ रहेकोमा हाल ९ हजार ५ सय ६५ पुगेको छ । वित्तीय जानकारी इकाइको ‘गो एएमएल’ प्रणालीमार्फत प्राप्त भएका रिपोर्टहरूमध्ये ९ सय ४५ वटा वित्तीय सूचना प्रतिवेदनहरू अनुसन्धान र अभियोजनका लागि नेपाल प्रहरी तथा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पठाइएको छ । रकमका आधारमा शंकास्पद कारोबारको सूचना ८२.७५ प्रतिशतले बढेको छ । अघिल्लो आव ०८०/८१ मा २३ अर्ब २६ करोड २२ लाख रुपैयाँबराबरको सात हजार तीन सय ३८ वटा उजुरी परेका छन् । गत आवमा भने ४२ अर्ब ५१ करोड १९ लाख रुपैयाँबराबरको नौ हजार पाँच सय ६५ वटा उजुरी परेका छन् ।

वार्षिक प्रतिवेदनले नेपालमा सम्पती शुद्धीकरण निवारण, आतंककारी कार्य तथा आमविनाशका हातहतियार निर्माण र विस्तारमा हुने वित्तीय लगानी निवारणसम्बन्धी नीतिगत र सञ्चालनगत प्रगतिलाई समेटेको छ । वार्षिक प्रतिवेदनमा आर्थिक वर्ष २०८१/८२ का दौरान इकाईले सम्पन्न गरेका नीतिगत तथा प्राविधिक कार्यहरूको विवरण पनि समेटिएको छ । यस अवधिमा सूचनाको सुरक्षा, गोपनीयता तथा प्रयोगसम्बन्धी मार्गदर्शन तयार, शंकास्पद कारोबार र सीमा कारोबारसम्बन्धी मार्गदर्शन अद्यावधिक गरिएको छ। त्यस्तै, वर्षभर नै सूचक संस्था, नियामकीय निकाय, कानून कार्यान्वयन गर्ने निकाय तथा अन्य सरोकारवाला संस्थाका लागि लक्षित क्षमता विकास, अभिमुखीकरण र सचेतना कार्यक्रम सञ्चालन गरिएको छ ।

प्रतिवेदनअनुसार गत आवमा सबैभन्दा धेरै सूचना वाणिज्य बैंकहरूबाट ३८ अर्ब ८८ करोडबराबरका सात हजार तीन सय तीनवटा प्राप्त भएका छन् । यसैगरी, विकास बैंकबाट सात सय ८० वटा सूचनामार्फत ७५ करोड ९६ लाख, सेयर ब्रोकर कम्पनीबाट चार सय ९१ वटा सूचनामार्फत एक अर्ब ९१ लाख रुपैयाँ बराबरको सूचना प्राप्त भएको छ ।

यस्तै, वित्त कम्पनीबाट ८३ करोड ९२ लाख रुपैयाँ बराबरको ३५५, भुक्तानी सेवाप्रदायकबाट १६ करोड ५७ लाख रुपैयाँ बराबरको दुई सय ५२, बिमा कम्पनीबाट ४९ करोड ८८ लाख रुपैया ँबराबरको २४४, रेमिट्यान्स कम्पनीबाट २८ करोड ५६ लाख रुपैयाँ बराबरको १०० वटा सूचना प्राप्त भएका छन् । यस्तै सहकारीबाट ६ करोड ५६ लाख रुपैयाँ बराबरका ३६, क्यासिनोबाट ६१ लाख रुपैयाँ बराबरका दुई, हायर पर्चेचबाट तीन लाख ९० हजार रुपैयाँ बराबरको एक र लुघवित्तबाट ११ लाख रुपैयाँबराबरको एउटा कारोबार शंकास्पद भएको भन्दै इकाइमा रिपोर्टिङ भएको छ ।

अन्तर्राष्ट्रिय सहकार्यतर्फ पनि इकाईले प्रगति गरेको प्रतिवेदनमा उल्लेख छ । आर्थिक वर्ष २०८१/८२ मा इकाईले विदेशी वित्तीय जानकारी इकाईसँग ६४ वटा सूचना आदानप्रदान गर्दै सीमापार वित्तीय कारोबारबाट हुने जोखिम, अन्तरदेशीय अपराध सञ्जाल, साइबर ठगी तथा नयाँ प्रकृतिका अपराध प्रवृत्तिविरुद्धको सहकार्यलाई थप मजबुत बनाएको छ । प्रतिवेदनले आगामी दिनमा जोखिममा आधारित दृष्टिकोण, प्रविधिमा आधारित विश्लेषण, अन्तर निकाय समन्वय र अन्तर्राष्ट्रिय मापदण्डअनुरूप सुधारका प्रयासलाई इकाईको प्रमुख प्राथमिकताका क्षेत्रका रूपमा अघि सारेको छ । वित्तीय जानकारी विश्लेषणको गुणस्तर सुदृढ गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहकार्यलाई थप प्रभावकारी बनाउने इकाईको आगामी कार्यदिशा रहने पनि प्रतिवेदनमा उल्लेख गरिएको छ ।

 

 

 

भेनेजुएलामा अमेरिकी आक्रमणको एक हप्ता : स्थानीयमा त्रास र पीडा यथावत

भेनेजुएला । भेनेजुएलाको ला ग्वाइरा राज्यमा अमेरिकाले गरेको ठूलो सैन्य आक्रमणको एक हप्ता बितिसक्दा पनि स्थानीय बासिन्दाहरू त्रास र पीडाबाट मुक्त हुन सकेका छैनन् । विष्फोटको आवाज र क्षतिको दृश्यले त्रसित स्थानीयहरू पुनः आक्रमण हुने डरमा बाँचिरहेका छन् र युद्धको साटो शान्तिको कामना गरिरहेका छन् ।

अमेरिकी आक्रमणको एक हप्तापछि पनि स्थानीय बासिन्दामा त्रास कायमै छ । एक हप्ता बितिसक्दा पनि उनीहरूमा पीडा र आघात अझै बाँकी छ । स्थानीयहरूले विष्फोटको डरलाग्दो अनुभव सुनाएका छन् र स्थिति अझै सामान्य हुन नसकेको बताएका छन् ।

 

फुटको संघारमा कांग्रेस, दुई महामन्त्रीलाई कारवाहीको तयारी

काठमाडौं । नेपाली कांग्रेस आन्तरिक सत्ता संघर्षको निर्णायक मोडमा पुगेको छ । सभापति शेरबहादुर देउवाले कार्यकारी भूमिका तत्काल नछाड्ने अडान लिएपछि विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढेको छ भने अर्कोतर्फ संस्थापन पक्षले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मामाथि कारबाही गर्ने तयारी थालेको छ ।

सोमबारदेखि निरन्तर चलेका छलफलहरू सहमतिमा नपुगेपछि कांग्रेस औपचारिक रूपमा विभाजन उन्मुख भएको संकेत देखिएको छ । आज सानेपामा बस्दै गरेको केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्रीद्वयमाथि कारबाही प्रस्ताव लैजाने तयारी भएको एक केन्द्रीय नेताले जानकारी दिए । उता भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनमा गगन थापाले सभापति पदका लागि उम्मेदवारीसमेत दर्ता गराइसकेका छन् ।

देउवा–महामन्त्री वार्ता असफल
विशेष महाधिवेशन अघि आज बिहान महामन्त्रीद्वय थापा र शर्मा सभापति देउवा निवास पुगेका थिए । बालकृष्ण खाँण र रमेश लेखक समेत सहभागी छलफल करिब एक घण्टा चले पनि सहमति जुट्न सकेन । महामन्त्रीद्वयले पार्टीलाई ‘हाईकमाण्ड’ प्रणालीमार्फत सञ्चालन गर्दै सभापतिलाई ‘सेरेमोनियल’ भूमिकामा सीमित राख्ने प्रस्ताव गरेका थिए । उनीहरूको तर्क थियो–नेतृत्व बदलिएको स्पष्ट सन्देश नदिँदासम्म विशेष महाधिवेशनको औचित्य रहँदैन ।

तर देउवाले आफू तीन महिनापछि १५ औं महाधिवेशनबाट नेतृत्व छाड्न तयार रहेको भन्दै तत्काल कार्यकारी भूमिका छाड्न अस्वीकार गरे । उनले प्रतिनिधि सभा निर्वाचनमा टिकट वितरणको अधिकार पार्टीका अन्य नेताहरूलाई दिन सकिने संकेत गरे पनि सभापति पद नछाड्ने अडान कायम राखे । भावुक हुँदै उनले महामन्त्रीद्वयलाई पार्टी नफुटाउन आग्रह समेत गरेका थिए।

निर्वाचन, टिकट र वैधताको बहस
महामन्त्रीद्वयले अहिलेको राजनीतिक परिस्थिति, जेनजी पुस्ताको भावनाअनुसार पार्टीले सन्देश दिनुपर्ने र आगामी निर्वाचनमा प्रतिष्पर्धा गर्न सक्ने नेतृत्व आवश्यक भएको तर्क अघि सारे । ‘निर्वाचन नभएको भए यो अवस्था आउने थिएन’, भन्दै उनीहरूले नेतृत्व परिवर्तनलाई समयको मागका रूपमा प्रस्तुत गरेका थिए ।

संस्थापन पक्षका नेता रमेश लेखकले भने टिकटमा सभापतिको हस्ताक्षर नहुने विषयमा समेत सहमतिको बाटो खुलेको दाबी गरे । निर्वाचन आयोगसँग परामर्शपछि कानुनी रूपमा सम्भव भए हस्ताक्षर फिर्ता लिन सभापति तयार रहेको उनको भनाइ थियो । तर विशेष महाधिवेशन पक्षधर नेताहरूले त्यो प्रस्ताव अस्वीकार गरे ।

‘नेतृत्व बदलिएको सन्देश’ बिना औचित्य छैन
केन्द्रीय सदस्य प्रदीप पौडेलले कार्यबाहक सभापति, महामन्त्रीद्वय र शेखर कोइरालासहितको हाईकमाण्ड बनाएर पार्टी सञ्चालन गर्ने प्रस्ताव अस्वीकार भएपछि नयाँ नेतृत्व चयनमा जानु बाहेक विकल्प नरहेको बताए । ‘दुई महिनापछि नेतृत्व छाड्ने भनिए पनि अहिले नै स्पष्ट सन्देश नदिँदा विशेष महाधिवेशनको औचित्य सकिन्छ’, उनको भनाइ थियो । यता केन्द्रीय सदस्य नैनसिंह महरले कांग्रेसको एकता प्रयास ‘भेन्टिलेटर’ मा पुगेको टिप्पणी गरेका छन्। ‘अन्तिम प्रयास होला, तर धेरै आशा गर्ने अवस्था छैन’, उनले भने।

एकातिर भृकुटीमण्डपमा विशेष महाधिवेशनले निर्वाचन प्रक्रिया अघि बढाइरहेको छ भने अर्कोतर्फ सानेपामा केन्द्रीय कार्यसमितिबाट महामन्त्रीद्वयमाथि कारबाहीको तयारी भइरहेको छ । यही द्वन्द्वले नेपाली कांग्रेसलाई फुटको संघारमा पुर्‍याएको विश्लेषण पार्टीभित्रै हुन थालेको छ । अब कांग्रेस कुन बाटो रोज्छ-सम्झौतामार्फत एकता जोगाउने कि विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्दै विभाजनको जोखिम मोलेर अघि बढ्ने-यसको फैसला केही घण्टा र दिनमै हुने देखिन्छ ।

 

जोखिम बुझ्‍ने इन्जिनियर, उत्तरदायित्व खोज्‍ने नेता, महोत्तरी–२ बाट दीपककुमार कर्णको सार्वजनिक सेवातर्फ कदम !

काठमाडौं । इन्जिनियर तथा साइबर सुरक्षाका क्षेत्रमा एक दशकभन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव हासिल गरेका दीपककुमार कर्णले महोत्तरी क्षेत्र नम्बर–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आन्तरिक उम्मेदवार चयन प्रक्रियामा उम्मेदवारी घोषणा गरेका छन् ।

सार्वजनिक सेवामा प्रवेश गर्ने उद्देश्यसहित कर्णले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ निर्वाचन लड्न चाहेका छन् ।

कम्प्युटर इन्जिनियरिङमा स्नातक कर्णले आईबीएम, रिक्वाटा, लगप्वाइन्टजस्ता बहुराष्ट्रिय कम्पनीहरूमा साइबर सुरक्षा तथा जोखिम व्यवस्थापन प्रणालीमा काम गरेका छन् ।

उनले विश्वस्तरका संस्थाहरूमा नेतृत्वदायी भूमिकामा रही गुणस्तर, सुरक्षा र प्रणालीगत असफलताका जोखिम न्यूनीकरण गर्न महत्वपूर्ण योगदान पुर्‍याएका छन् ।

आफ्नो व्यावसायिक अनुभव सार्वजनिक सेवामा प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै कर्णले जोखिमलाई समयमै पहिचान गर्ने, असुरक्षित निर्णयलाई चुनौती दिने र उत्तरदायित्वपूर्ण शासन प्रणाली निर्माणमा योगदान पुर्‍याउने लक्ष्य राखेको बताएका छन् ।

‘आउटपुट मात्र होइन, निर्णयको स्पष्टता र त्यसको उत्तरदायित्व नै सफल शासनको आधार हो,’ कर्ण भन्छन् ।

उनका अनुसार राजनीतिक दलहरूमा उत्तरदायित्वको अभावका कारण राज्य संयन्त्रमा विभिन्‍न संरचनागत कमजोरीहरू देखिएका छन्, जसको सुधार आजको प्रमुख आवश्यकता हो ।
‘जोखिमलाई ढाकछोप गर्ने होइन, पहिचान गरेर समाधान गर्ने संस्कार राज्यमा बसाल्नुपर्छ,’ उनले जोड दिए ।

महोत्तरी–२ का नागरिकको सुरक्षित भविष्य, रोजगारी सिर्जना, प्रविधिमैत्री शासन, उत्तरदायी सार्वजनिक सेवा र संस्थागत सुधार आफ्नो मुख्य प्राथमिकता रहने कर्णले स्पष्ट पारे ।

पार्टी अनुशासनप्रति स्पष्ट प्रतिबद्धता जनाउँदै उनले पार्टीको निर्णयलाई सहर्ष स्वीकार गर्ने र अन्ततः आगामी निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टी चिह्नका उम्मेदवारलाई विजयी बनाउने जिम्मेवारीमा आफू पूर्ण रूपमा प्रतिबद्ध रहने बताएका छन् ।

जनताको विश्वास नै सबैभन्दा ठूलो शक्ति हो, त्यही विश्वासको जिम्मेवारी लिन दीपककुमार कर्ण राजनीतिमा आउन लागेका हुन् ।

कांग्रेस सभापति पदमा गगन थापाको मात्रै उम्मेदवारी

काठमाडौं । नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनमा महामन्त्री गगन थापाले सभापति पदमा उम्मेदवारी दिएका छन् । निर्वाचन समिति स्रोतका अनुसार सभापतिमा थापाको मात्रै मनोनयन दर्ता भएको हो । यसैगरी अन्य सबै पदाधिकारीका लागि पनि मनोनयन दर्ता भइसकेको स्रोतले जनाएको छ ।

काठमाडौंको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनमा थापाले बुधबार बिहान सभापति पदका लागि उम्मेदवारी दर्ता गराएका हुन् । सभापति शेरबहादुर देउवासँग उनकै निवास महाराजगञ्जमा एक घण्टा वार्ता गरेर फर्के लगत्तै महामन्त्री थापाले सभापति पदका लागि उम्मेदवारी दिएका हुन् । विशेष महाधिवेशन नयाँ नेतृत्व चयनमा प्रवेश गर्नै लाग्दा देउवाले सहमतिका लागि आज बिहान दुवै महामन्त्री थापा र विश्वप्रकाश शर्मालाई आफ्नो निवास बोलाएका थिए । तर महामन्त्रीद्वयको मागअनुरूप देउवा तत्काल सभापति पद छाड्न तयार नभएपछि वार्ता बिनासहमति टुंगिएको थियो ।

सबै पदाधिकारीका लागि मनोनयन दर्ता भए पनि दुई महामन्त्री थापा र शर्मा अहिले कानुन विद्हरूसँगको परामर्शमा छन् । बुधबार बिहान सहमतिका लागि सभापति शेरबहादुर देउवासँग छलफल गरेका महामन्त्रीद्वय थापा र शर्मा आफू निकट नेता तथा कानुन विद्हरूसँग छलफलमा जुटेका हुन् ।

छलफलमा सभापति देउवाले प्रत्यक्षतर्फको उम्मेदवारको टिकटमा अर्को साथीको हस्ताक्षर कानुनअनुसार मिल्छ भने त्यसमा आफू तयार रहेको भन्दै निर्वाचन आयोग र कानुनका जानकारहरूसँग छलफल गरेर निक्र्यौल निकाल्न सुझाव दिएका थिए। देउवासँग भएको छलफलबारे कानुन विद्सँग महामन्त्रीद्वय थापा र शर्माले कुराकानी गरिरहेको केन्द्रीय सदस्य प्रकाश स्नेहीले जानकारी दिए । निर्वाचन समिति संयोजक सीताराम केसीका अनुसार उम्मेदवार मनोनयन दर्ताको समय सकियो र दिउँसो १ बजे नामावली सार्वजनिक गरिने छ ।

सिन्धुली एसबीआई बैंक लुटपाट प्रकरण : चार जना पक्राउ, पौने दुई करोड नगद बरामद

काठमाडौं । सिन्धुलीको घ्याङलेख गाउँपालिकास्थित नेपाल एसबीआई बैंकको शाखामा भएको ठूलो परिमाणको लुटपाट घटनामा संलग्न समूह काभ्रेको बनेपाबाट आएको खुलेको छ । लुटपाटपछि फरार रहेका समूहका सदस्यहरूको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ भने हालसम्म चार जनालाई पक्राउ गरी पौने दुई करोड रुपैयाँ बढी नगद बरामद गरिएको छ ।

मंगलबार राति करिब ८ः४० बजे घ्याङलेख गाउँपालिका–२ बस्तीपुर (हायुटार) स्थित बैंक शाखामा ५–६ जनाको समूहले लुटपाट गरेको थियो । बैंकका कर्मचारीका अनुसार लुटेराहरूले काउन्टरबाट तीन करोड १० लाख ९५ हजार २८३ रुपैयाँ नगद लुटेका थिए। लुटपाटका क्रममा बैंकका सुरक्षा गार्ड रुद्र कार्कीमाथि खुकुरी प्रहार गरी घाइते बनाइएको थियो । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

घटनापछि परिचालित प्रहरी टोलीले स्थानीय बासिन्दाको सहयोगमा घ्याङलेख–१ सुकाचुरी क्षेत्र आसपास लुटेराहरूलाई घेरा हालेको थियो । सो क्रममा चारजनालाई नियन्त्रणमा लिन सफल भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक (एसपी) लालध्वज सुवेदीले जानकारी दिए । पक्राउ परेकाहरूको साथबाट तथा जंगलमा फालेको अवस्थामा एक करोड ८० लाख १० हजार ५०० रुपैयाँ नगद बरामद गरिएको छ ।

प्रहरीका अनुसार लुटेराहरूले भाग्ने क्रममा रकम झण्डै डेढ किलोमिटर टाढा जंगलमा फालेका थिए । लुटपाटमा प्रयोग भएको बीएड–०३९८ नम्बरको टाटा सुमो गाडी घटनास्थलबाट करिब १ किलोमिटर टाढा फेला परेको छ । उक्त गाडी काभ्रेको बनेपाबाट रिजर्भ गरिएको र चालक भवत सिंह थापालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । बनेपा–१० निवासी थापाले आफूले लुटेराहरूलाई नचिनेको दाबी गरेका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी सूर्यप्रकाश सुवेदीका अनुसार लुटपाटमा संलग्न समूह रातको समय र बैंक जंगल नजिकै रहेको अवस्थाको फाइदा उठाउँदै आएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।

‘बरामद हुन बाँकी रकम र फरार लुटेराहरूको खोजी जारी छ’, उनले भने, ‘छिमेकी जिल्लाका नाकाहरूमा समेत निगरानी कडा पारिएको छ ।’ प्रहरीले पक्राउ परेकाहरूको नाम सार्वजनिक नगरेको जनाएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ । स्थानीयको सक्रियताका कारण लुटिएको आधाभन्दा बढी रकम फेला परेको भन्दै प्रहरीले सहयोगप्रति आभार व्यक्त गरेको छ ।

देउवाको गगन–विश्वप्रकाशलाई आग्रह : पार्टी नफुटाऊ

काठमाडौं । नेपाली कांग्रेसभित्र चर्किंदै गएको आन्तरिक विवादका बीच सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग भावुक अपिल गर्दै पार्टी नफुटाउन आग्रह गरेका छन् । बुधबार बिहान आफ्नै निवास महाराजगञ्जमा करिब एक घण्टा चलेको छलफलमा देउवाले आफू अत्यन्त उदार बन्न तयार रहेको उल्लेख गर्दै हस्ताक्षर अधिकारदेखि नेतृत्व हस्तान्तरणसम्मका विषयमा लचकता देखाएका थिए । तर महामन्त्रीद्वयले तत्काल नेतृत्व छाड्नु पर्ने अडान नछाडेपछि वार्ता कुनै निष्कर्षमा पुग्न सकेन ।

वार्तामा सहभागी कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार सभापति देउवाले निकै भावुक शैलीमा पार्टी एकतामै रहनुपर्ने धारणा राखेका थिए । ‘पार्टी फुट्नु हुँदैन । म अब सभापति हुने पनि होइन । वैशाखमा तपाईं जो कोही पनि सभापति हुन सक्नु हुन्छ’, देउवाको भनाइ उद्धृत गर्दै महतले सुनाए । देउवाले पार्टीको निर्वाचन प्रक्रियामा हस्ताक्षरको अधिकार आफूले मात्र प्रयोग गर्नुपर्ने भन्ने अडान नरहेको स्पष्ट पारेका थिए । ‘हस्ताक्षरको विषय समस्या हो भने, म पार्टीका जुनसुकै नेतालाई त्यो अधिकार दिन तयार छु’, उनले भनेको महतले जानकारी दिए । समानुपातिक र राष्ट्रिय सभाको हकमा आफ्नै हस्ताक्षर प्रयोग भइसकेको र प्रत्यक्ष निर्वाचनमा पनि निर्वाचन आयोगलाई समस्या नपरे अन्य नेताले हस्ताक्षर गर्न सक्ने उनको भनाइ थियो ।

‘मलाई चुनावै लड्न नदिने भन्या हो ?’
वार्ताका क्रममा देउवाले महामन्त्रीहरूसँग अर्को चासो पनि राखेका थिए । पार्टीभित्र आफूलाई चुनाव लड्न नदिने तयारी भइरहेको चर्चा सत्य हो कि होइन भनेर उनले प्रत्यक्ष प्रश्न गरेका थिए । ‘सभापति ज्यूले ‘तिमीहरूले मलाई चुनावै लड्न नदिने भन्या हो ?’ भनेर सोध्नु भयो’, प्रवक्ता महतले संवाद उद्धृत गर्दै सुनाए । महामन्त्रीद्वयले त्यस्तो नसोचेको स्पष्ट पारे पनि उनीहरूले देउवालाई ‘संरक्षक’ भूमिकामा बस्न सुझाव दिएको महतले बताए । महामन्त्रीहरूको तर्क थियो–सभापतिले औपचारिक रूपमा ‘छाड्नुस्’ भन्नु पर्ने अवस्था नरहे पनि अब पार्टीको नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण हुनुपर्छ । तर देउवाको बुझाइमा आफू अहिले पनि संरक्षककै भूमिकामा रहेको र त्यसलाई अनावश्यक विवादको विषय बनाइएको थियो ।

विशेष महाधिवेशनले बढायो तनाव
कांग्रेसभित्रको विवाद केन्द्रीय कार्यसमितिको बहुमतले पार्टीको १५औं महाधिवेशन आगामी वैशाखमा गर्ने निर्णयसँगै चर्किएको हो । उक्त निर्णय अस्वीकार गर्दै महामन्त्रीद्वय थापा र शर्माले विशेष महाधिवेशनको आह्वान गरेपछि पार्टी औपचारिक रूपमा दुई धारमा विभाजित देखिएको छ । पुस २७ गतेदेखि काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको विशेष महाधिवेशन अहिले नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रियामा प्रवेश गरिसकेको छ । यही प्रक्रियाले पार्टी विभाजनको खतरा बढेको भन्दै देउवाले ‘पार्टी बचाउन’ अन्तिम प्रयासस्वरूप वार्ता गरेको नेताहरूको बुझाइ छ ।

निष्कर्षविहीन भेट
लामो छलफलका बाबजुद महामन्त्रीद्वयले तत्काल कुनै निष्कर्ष दिन नसक्ने भन्दै ‘अन्य नेताहरूसँग सल्लाह गरेर फर्किने’ बताएका थिए । त्यसपछि वार्ता टुंगिएको थियो । सभापति देउवाले आफू हिजोदेखि नै उदार भएर अघि बढिरहेको दाबी गर्दै ‘किन यस्तो भइरहेको छ ? पार्टी नफुटोस्, कांग्रेस बचोस्’ भन्ने नै आफ्नो मूल चाहना भएको बताएका थिए । तर नेतृत्वको प्रश्नमा सहमति नजुट्दा कांग्रेसभित्रको संकट थप गहिरिने संकेत देखिएको छ । वार्तामा सहभागी कांग्रेसका प्रवक्ता प्रकाशरण महतले भने, ‘हामी पनि थियौँ, उहाँले पूरै भावुक भएर कुरा राख्नु भएको छ ।’

देउवाको भनाइ उद्धृत गर्दै उनले भने, ‘पार्टी फुट्नु हुँदैन । म उदार हुन तयार छु । हस्ताक्षरको समस्या हो भने त्यसलाई समस्याका रूपमा लिनु पर्दैन । जुनसुकै नेतालाई पनि हस्ताक्षरको अधिकार दिन तयार छु । केन्द्रीय समितिको निर्णअनुसार पहिला मेरै हस्ताक्षरमा गयो । समानुपातिक सूचीमा पनि गइसक्यो । अहिले प्रत्यक्ष निर्वाचनको बाँकी हो । त्यसमा चाहिँ निर्वाचन आयोगलाई समस्या छैन भने म पार्टीका जुनसुकै नेतालाई हस्ताक्षरको अधिकार दिन तयार छ ु। पार्टी नफुटाऊ। म अब (सभापति) हुने पनि होइन। वैशाखमा तपाईं जो कोही पनि हुन सक्नु हुन्छ । किन यसो गर्नुहुन्छ, नगर्नुस् ।’

तर महामन्त्रीद्वयले अहिल्यै नेतृत्व छाड्न जिकिर गरेपछि वार्ता बिनानिष्कर्ष सकिएको प्रवक्ता महतले बताए । बुधबार बिहान देउवा निवासमा उनीहरूबिच १ घण्टाजति वार्ता भएको थियो । केन्द्रीय कार्यसमितिको बहुमतले पार्टीको पन्धौँ महाधिवेशन आगामी वैशाखमा गर्ने निर्णय नमानेर महामन्त्रीद्वय थापा र शर्माले विशेष महाधिवेशन आयोजना गरेपछि कांग्रेसमा विवाद भइरहेको छ । पुस २७ देखि काठमाडौँको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशन २९ गतेदेखि नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रियामा प्रवेश गरिसकेको छ ।

 

देउवा निवासमा जुटेन सहमति, वार्ताबाट बाहिरिए गगन र विश्वप्रकाश

काठमाडौं । नेपाली कांग्रेसभित्र नेतृत्व परिवर्तनलाई लिएर चर्किएको विवाद सहमतिमा टुंगिन नसकेपछि पार्टी विभाजनको संघारमा पुगेको छ । सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्माबीच बुधबार बिहान देउवा निवास महाराजगन्जमा भएको करिब एक घण्टे वार्ता बिना निष्कर्ष सकिएपछि महामन्त्रीद्वय वार्तास्थलबाट बाहिरिएका छन् ।

वार्तामा सभापति देउवाले आगामी वैशाखमा हुने १५औं महाधिवेशनबाट नेतृत्व हस्तान्तरण हुने भएकाले अहिल्यै पद नछाड्ने अडान दोहोर्‍याएका थिए । यद्यपि, उनले प्रत्यक्ष निर्वाचनका लागि टिकट वितरणमा आफ्नो हस्ताक्षर अधिकार अन्य नेताहरूलाई दिन तयार रहेको प्रस्ताव राखेका थिए । तर महामन्त्रीद्वयले नेतृत्व परिवर्तन नै मूल मुद्दा भएको भन्दै सभापतिले तत्काल जिम्मेवारी छाड्नुपर्ने अडान लिएपछि सहमति जुट्न सकेन ।

कांग्रेस प्रवक्ता प्रकाशरण महतका अनुसार टिकट वितरणका लागि हस्ताक्षर हस्तान्तरण गर्न देउवा तयार भए पनि सभापति पद त्याग्नुपर्ने माग आएपछि कुरा नमिलेको हो । ‘कानुनी रूपमा मिलाएर प्रत्यक्षतर्फ हस्ताक्षर अधिकार दिन तयार छु भन्ने उहाँको भनाइ थियो’, महतले भने ।

दुई धार, दुई बाटो
सहमति असफल भएसँगै कांग्रेसभित्र संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षधरबीच दूरी झन् बढेको छ । मंगलबार रातिदेखि बुधबार बिहानसम्म निरन्तर चलेका संवादहरू पनि निष्कर्षमा नपुगेपछि विशेष महाधिवेशन पक्षधर नेताहरू नयाँ नेतृत्व चयनको प्रक्रियामा अघि बढिसकेका छन् ।

विशेष महाधिवेशन पक्षधरले नेतृत्व परिवर्तनका लागि तीन विकल्प अघि सारेका थिए—
१) विशेष महाधिवेशनबाटै नयाँ केन्द्रीय कार्यसमिति निर्वाचन ।
२) सभापतिको राजीनामा र नेतृत्वमा मात्रै निर्वाचन ।
३) अन्तरिम सभापति वा ‘हाइकमाण्ड’ मार्फत पार्टी सञ्चालन ।

यी कुनै विकल्पमा पनि संस्थापन पक्ष सहमत नहुँदा संवाद टुटेको विशेष महाधिवेशन पक्षधर नेताहरूको भनाइ छ । गुरुराज घिमिरेका अनुसार सभापतिलाई सेरेमोनियल भूमिकामा राखेर कार्यवाहक सभापति, महामन्त्रीद्वय र वरिष्ठ नेताहरू सम्मिलित ‘हाइकमान्ड’ प्रस्तावसमेत अस्वीकार गरिएको थियो ।

‘पछि हट्न होइन, फुट्न तयार’

संस्थापन पक्षका नेताहरूका अनुसार देउवाले आफूलाई अपमानित गर्ने खालका प्रस्ताव आएको भन्दै असन्तुष्टि जनाएका छन् । ‘तीन महिनापछि महाधिवेशन हुँदैछ, यही बीचमा नेतृत्व परिवर्तन गर्नु सभापतिको अपमान हुन्छ’, वार्तामा सहभागी एक नेताले भने ।
उता, विशेष महाधिवेशन पक्षधर नेताहरू भने वर्तमान नेतृत्वकै निरन्तरतामा प्रतिनिधिसभा निर्वाचनमा जान नसकिने अडानमा छन् । उनीहरूका अनुसार पार्टीको भविष्य जोगाउन अहिले नै निर्णायक कदम चाल्नुपर्ने अवस्था आएको छ।

विशेष महाधिवेशनको एजेण्डा स्पष्ट
सहमति नजुटेपछि विशेष महाधिवेशन पक्षधर नेताहरू पदाधिकारी र केन्द्रीय सदस्य चयनका लागि आन्तरिक तयारीमा जुटेका छन् । उम्मेदवारी मनोनयन र निर्वाचन तालिका समेत तय भइसकेको छ । महामन्त्री गगन थापाले विशेष महाधिवेशनको हलले अनुमोदन गर्ने सहमति मात्रै स्वीकार्य हुने स्पष्ट पारेका छन् । ‘सहमति भएन भने विशेष महाधिवेशनबाटै नयाँ केन्द्रीय कार्यसमिति निर्वाचन हुन्छ’, उनको चेतावनी छ ।

संशोधित विधान पारित, नीति परिवर्तनमा एकमत
यता, विधान महाधिवेशनको बन्द सत्रले महामन्त्रीद्वयले प्रस्तुत गरेको प्रतिवेदन र संशोधित विधान सर्वसम्मतिले पारित गरेको छ । संशोधित विधानले उम्मेदवार छनोट ‘प्राइमरी इलेक्सन’ मार्फत गर्ने, समानुपातिकमा एक पटक मात्रै अवसर दिने, पद र कार्यकालमा सीमा तोक्ने, युवा सहभागिता २० प्रतिशत सुनिश्चित गर्ने जस्ता महत्वपूर्ण व्यवस्था समेटेको छ । बन्द सत्रको समापनमा गगन थापाले विशेष महाधिवेशनलाई ‘आन्तरिक लोकतन्त्रका लागि विद्रोह’ को संज्ञा दिए । ‘प्रश्न गर्नु नै विद्रोह हो, मौनता मृत्युसरह हो’, उनले भने । अर्का महामन्त्री विश्वप्रकाश शर्माले नेतृत्व परिवर्तनले पार्टी नफुट्ने, बरु अझ मजबुत हुने दाबी गरे ।

कांग्रेसको निर्णायक मोड
५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित विशेष महाधिवेशनको माग आएको सन्दर्भमा सुरु भएको यो विवाद अब निर्णायक चरणमा पुगेको छ । सहमति भए पार्टी एकता जोगिने, नभए विशेष महाधिवेशनबाट नयाँ नेतृत्व उदाउने सम्भावना बलियो बनेको छ । अब कांग्रेसको भविष्य सहमति वा प्रतिस्पर्धा–दुवैमध्ये कुन बाटो रोजिन्छ भन्नेमा निर्भर देखिन्छ ।

 

यस्तो छ नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पारित प्रतिवेदन (पूर्णपाठ)

नेपाली काङ्ग्रेसको दोस्रो विशेष महाधिवेशनको तेस्रो दिनका कार्यक्रमहरु  महामन्त्रीद्वय गगन कुमार थापा र विश्वप्रकाश शर्माले पेश गरेको सांगठनिक तथा राजनैतिक प्रस्तावहरु पारित गरेको छ । बन्दसत्र सुरू भएपछि मंगलबार महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माले अलगअलग प्रतिवेदन हलमा पेश गरेका थिए । यी प्रतिवेदनमाथि महाधिवेशन प्रतिनिधिहरुको छलफल र सुझावपछि हलले यी प्रतिवेदन पारित गरेको हो। 

हलले पारीत गरेका प्रस्तावहरु:

१. एकै प्रकारको सदस्यता: नेपाली कांग्रेस, साधारण सदस्य र क्रियाशील सदस्यको ठाउँमा खुल्ला सदस्यतामा आधारित एकै प्रकारको क्रियाशील सदस्यता प्रणाली रहनेछ। पार्टीको सदस्यता लिन इच्छुक व्यक्तिले सम्बन्धित वडा समितिमा वा अनलाइनमार्फत समेत आवेदन दिने व्यवस्था गरिनेछ। आवेदनबारे निर्णय गर्न वडा सभापतिको संयोजकत्वमा तीन सदस्यीय समिति र उजुरी दिने गरी क्षेत्रीय तहको सदस्यता पुनरावेदन समिति गठन गरिनेछ।

२. विशेष प्रवेश (ल्याटरल इन्ट्री): बौद्धिक र व्यावसायिक क्षेत्रमा रहेर लामो समय योगदान दिनुभएका व्यक्तित्वलाई पार्टीको विभिन्न संरचनामा आबद्ध गर्न र विभिन्न तहका निर्वाचनमा पार्टीका तर्फबाट कम्तीमा १० प्रतिशत उम्मेदवार बनाउने गरी छड्के प्रवेश (ल्याटरल इन्ट्री), क्रियाशील सदस्यबाट नेतृत्व चयन, वडा देखि जिल्ला तहसम्म जुन तहको लागि नेतृत्व छनोट गर्ने हो, सोही तहका क्रियाशील सदस्यहरुको प्रत्यक्ष निर्वाचनबाट सो तहको नेतृत्व र अधिवेशन प्रतिनिधि चयन गरिनेछ। अधिवेशन प्रतिनिधि बन्नको लागि सदस्यता लिएको न्यूनतम दुई वर्ष हुनुपर्नेछ। 

३. निर्वाचनबारे: प्रदेश र केन्द्रीय कार्यसमितिको निर्वाचन क्रियाशील सदस्यताबाट निर्वाचित भएका अधिवेशन प्रतिनिधिबाट हुनेछ।

४. तल्लो तहबाट निर्वाचित हुनुपर्ने: केन्द्रीय सभापतिदेखि अधिवेशन प्रतिनिधिसम्म निर्वाचित भएर आउनुपर्नेछ।

५. समावेशी प्रतिनिधित्व: निर्वाचन र मनोनयन गर्दा समावेशी समानुपातिक सिद्धान्तको मर्मलाई पूर्ण रुपमा आत्मसाथ गर्ने गरी प्रत्येक तहका कार्यसमितिमा एक तिहाई अनिवार्य महिला पदाधिकारी, एक दलित, मुस्लिम, आदिवासी, जनजाति रहने व्यवस्था गरिनेछ। पार्टीका तहगत समिति व्यवहारिक र कार्यमूलक बनाउन सबै तहका समितिको आकारलाई सानो, छरितो र प्रभावकारी बनाउने र समितिभित्रै संविधानको मर्मअनुरुप समावेशी समानुपातिक प्रतिनिधित्वको सुनिश्चितता गरिनेछ।

६. उम्मेदवार छनोट प्राइमरीबाट: नेपाली कांग्रेसको उम्मेदवार छनोटसम्बन्धि तह र क्षेत्रका क्रियाशील सदस्यको प्रत्यक्ष मतदानबाट बढी मत प्राप्त एक महिलासहित तीनजना छनोट गरी तीनजनामध्ये एकजना चयन गर्ने व्यवस्था गरिनेछ।

७. कार्यकाल:  एउटै व्यक्ति पटक-पटक एउटै शासकीय जिम्मेवारीमा जाने परम्पराको अन्त्य गर्न पार्टीका तर्फबाट सार्वजनिक जिम्मेवारीमा प्रतिनिधित्व गर्ने विषयमा सिमित व्यक्तिले पटक-पटक अवसर पाउने अवस्थालाई रोक्नको लागि समानुपातिक निर्वाचन प्रणालीबाट सांसद हुने अवसर एक व्यक्तिका लागि एकपटक मात्र (वान टाइम प्रोपोर्सनल रिप्रिजेन्टेसन) हुने गरी व्यवस्था गरिनेछ। साथै, १, २, ३, ४ को नीतिअनुसार एकपटक राष्ट्रपति, दुईपटक प्रधानमन्त्री, तीनपटक मन्त्री र प्रत्यक्ष निर्वाचन प्रणालीबाट चारपटक सांसदको सीमा तोकिनेछ।

८. भातृ संघ: सांगठनिक कुरामा पूर्ण स्वायत्ततासहित अधिवेशन सुनिश्चित गर्न पार्टीको केन्द्रीय निर्वाचन आयोगले महाधिवेशन गराउने व्यवस्था गरिनेछ। भातृ संघ र शुभेच्छुक संस्थाबाट पार्टी महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरुमध्येबाट उमेदवार हुने गरी एक महिला सहित तीन जना केन्द्रीय सदस्यको व्यवस्था गरिनेछ।

९. शुभेच्छुक संस्था: प्रचलित कानुनले पार्टी सदस्यता लिन निषेध गरेका पेशासँग सम्बद्ध शुभेच्छुक संस्थाहरुसँग पार्टीको अहिलेको संस्थागत आबद्धता बदलेर पार्टीले विधागत, पेशागत, विशेष र  विशेषज्ञ सम्बन्ध राख्नेछ। तर, सम्बन्धित पेशामा संलग्न व्यक्तिहरुलाई पार्टीको सदस्यता प्रदान गरिने छैन। निजले संस्थामा गरेको कार्यअवधिलाई क्रियाशीलता मापनको आधार बनाउने व्यवस्था गरिनेछ। पेशागत, विधागत क्षेत्रबाट पाँच प्रतिशत सबै तहमा प्रतिनिधित्वको सुनिश्चितता गरिनेछ। 

१०. जनसम्पर्क समिति: प्रत्येक जनसम्पर्क समितिको सदस्यता संख्याको अनुपातमा निश्चित संख्यामा प्रतिनिधित्व हुने व्यवस्था गरिनेछ। विदेशमा रहेका नेपालीहरु बीचको समन्वय प्रभावकारिता बढाउन नेपाली जनसम्पर्क समितिको एक अन्तराष्ट्रिय परिषद बनाइने छ। प्रत्येक देशका जनसम्पर्क समितिका वर्तमान र पूर्व अध्यक्षहरु सदस्य रहनेछन्। परिषदले पूर्व अध्यक्षहरुमध्येबाट २७ सदस्यीय अन्तराष्ट्रिय जनसम्पर्क समिति गठन गरिनेछ। अन्तर्राष्ट्रिय परिषदको समितिमा अध्यक्ष एक, उपाध्यक्ष एक, एक महिला सहित प्रत्येक महादेश, एक महिला सहित प्रत्येक महादेशबाट एक-एक खुल्ला सदस्य संख्या २७ मा नबढ्ने गरी अध्यक्षले थप सह-महादेश, हरेक देशबाट प्रतिनिधित्व गर्ने महाधिवेशन प्रतिनिधिहरुले एक महादेशमा एक केन्द्रीय, पूर्व र भारतलाई विशेष व्यवस्था अन्तर्गत एक-एक अलग केन्द्रीय सदस्यको व्यवस्था गरिनेछ। 

११.आयोगहरुको निर्वाचन: केन्द्रीय निर्वाचन समितिलाई नेपाली कांग्रेस आन्तरिक निर्वाचन आयोगमा रुपान्तरण गरी निर्वाचन आयोगलाई थप स्वायत्तता दिई स्थायी प्रकृतिको संरचनाको रुपमा विकास गरिनेछ। लेखा समिति, सुशासन समितिको सट्टा स्वायत्त र अधिकार सम्पन्न लेखा आयोग, अनुशासन आयोग,  पुनरावदेन तथा न्यायिक आयोग बनाइनेछ। 

१२. प्रदेश कार्यसमितिको काम, कर्तव्य, अधिकार र भूमिकालाई थप स्पष्टता गरिनेछ। प्रदेश कार्यसमितिमा उम्मेदवार हुन पाउने स्पष्ट व्यवस्था गरिनेछ। 

१३. युवा प्रतिनिधित्व: पार्टीमा युवाको समावेशी र समन्यायिक प्रतिनिधित्व सुनिश्चितताका लागि पार्टीका विभिन्न तहका समिति र निकायमा निम्न अनुसारको व्यवस्था गरिनेछ। पार्टीका प्रत्येक कार्यसमितिमा ४० वर्षमुनिको प्रतिनिधित्व अन्तर्गत ३० वर्षमुनिका १५ प्रतिशत र ३० वर्ष पुरा भई ४० वर्ष नआएका १५ प्रतिशत गरी कुल ३० प्रतिशतको प्रतिनिधित्व रहने गरी व्यवस्था गरिनेछ। उमेर र क्लस्टर समूहका आधारमा हुने प्रतिनिधित्वलाई एक व्यक्तिको लागि एक पटक मात्र हुने गरी व्यवस्था गरिनेछ। अधिवेशन प्रतिनिधिमा केन्द्र र प्रदेश अधिवेशनका लागि प्रत्येक निर्वाचन क्षेत्रबाट न्यूनतम दुई महिला र ३० वर्षमुनिको न्यूनतम एकजना पर्ने गरी न्यूनतम चारजना प्रतिनिधि चयन गरिनेछ। महासमिति सदस्यमा हालको व्यवस्थामा थप युवा प्रतिनिधि दुईजना महिला र पुरुष एक-एक र पेशागत क्षेत्रबाट एक जना प्रतिनिधि रहने गरी व्यवस्था गरिनेछ। 

१४. पूर्व आप्रवासी नेपालीको प्रतिनिधित्व: पार्टीका विभिन्न संरचनामा पूर्व आप्रवासी नेपालीको प्रतिनिधित्व सुनिश्चितता गर्नका लागि विदेशमा १० वर्षभन्दा बढी बसोबास गरी महाधिवेशनभन्दा दुई वर्षअघि देश फर्केकाहरुको हकमा वडादेखि केन्द्रसम्म प्रत्येक तहमा न्यूनतम एक महिला सहित दुईजनाको सहभागिता गराइनेछ। प्रदेश निर्वाचन क्षेत्रबाट निर्वाचित प्रतिनिधिमध्येबाट न्यूनतम एक महिला सहित दुईजना प्रदेश कार्यसमितिमा निर्वाचित हुनेछन् भने संघीय क्षेत्रबाट निर्वाचित प्रतिनिधि मध्येबाट न्यूनतम एक महिला सहित दुईजना केन्द्रीय कार्यसमितिमा निर्वाचित हुनेछन्। 

१५. सम्पत्ति विवरण बुझाउनुपर्ने: पार्टीको तर्फबाट कुनै पनि तहको सार्वजनिक पद धारण गर्ने व्यक्तिले उम्मेदवार बन्नुपूर्व नै सम्पत्ति विवरण बुझाउनुपर्ने र स्वघोषणा गर्नुपर्ने बाध्यकारी व्यवस्था गरिनेछ। 

१६. केन्द्रीय समितिमा मनोनित गर्ने सम्बन्धमा: विधानको धारा २१ उपधारा १० को सट्टा देहाय बमोजिमको उपधारा १० राखिनेछ । नेपाली कांग्रेसको क्रियाशील सदस्यमध्येबाट केन्द्रीय सभापतिले कार्यसमितिमा एक तिहाई सदस्य महिला हुनुपर्ने व्यवस्था, युवाको प्रतिनिधित्व सम्बन्धि व्यवस्था गरिनेछ ।  समावेशी सिद्धान्त समेतलाई ध्यानमा राखेर प्रत्येक क्लस्टरबाट कम्तीमा एक महिला सहित तीन जना, प्रत्येक प्रदेशबाट कम्तीमा एक महिला सहित तीन जना, जनसम्पर्क समितिबाट कम्तीमा एक महिला सहित तीन जना र अपांगता भएका मध्येबाट एक जना, पेशागत तथा विषयविज्ञताको क्षेत्रबाट कम्तीमा दुई महिला सहित सात जना र ३० वर्ष मुनिका युवाबाट कम्तीमा तीन महिला समेट्ने व्यवस्था गरिनेछ। 

गगन–विश्वलाई काँग्रेसको चेतावनीः भोलिसम्म समझदारी भए ठिकै छ, नत्र अरु निर्णय लिनुपर्छ

नेपाली काँग्रेसले महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापालाई पार्टीको निर्णयविरुद्धमा नजान चेतावनी दिएको छ । मंगलबार पार्टी एकीकृत बनाएर लैजाने बारे विभिन्न चरणमा छलफल भएको बताउँदै बुधवार बिहानसम्म सहमतिका साथ अघि बढ्न आग्रह गरेको हो ।

महामन्त्रीद्वयले पार्टीको केन्द्रिय समितिले गरेको बैठकको निर्णय नमाने अन्य निर्णय लिनुपर्ने पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले चेतावनी दिए । वार्ता र संवादबाट नै सहमति खोज्नका लागि संस्थापन पक्षले अधिक लचकता देखाइरहेको उल्लेख गर्दै उनले सम्पूर्ण पार्टी पंक्ति एक भएर निर्वाचनमा जानुपर्ने बताए । अहिले विभाजन र विग्रहतर्फ उन्मुख हुने बेला नभएको उनले बताए ।

अझै आफूहरु सकारात्मक नतिजा निस्किनेमा आशावादी रहेको भन्दै समग्र पार्टीलाई जोडेर आम निार्वचनमा जाने र राम्रो परिणाम हाँसिल गरेपछि नियमित अधिवेशनबाट नयाँ नेतृत्व चयन हुने दोहोर्‍याए।

उनले भने, ‘वार्ता र संवाद नेतृत्व तहबाट भइ नै रहेको छ । आज छलफल गर्दै गर्दा पनि हाम्रो कोशिस छलफल गरेर सम्पूर्ण पार्टी पंक्ति एक भएर जानुपर्छ । त्यसपछि अधिवेशन गरेर नयाँ नेतृत्व चयन गर्नुपर्ने भन्नेमा स्पष्ट छौँ । एकातिर विशेष अधिवेशन भनेर गरिरहँदा हाम्रो नेतृत्वले अहिले विभाजन र विग्रहतर्फ उन्मुख हुने होइन,अहिले एक हुने बेला हो ।’

यसै किसिमले सम्पूर्ण पार्टीको तलदेखि माथिसम्मको कमिटीलाई आह्वान गरिएको महतको भनाई छ। अझै पनि सकारात्मक नतिजा निस्किन्छ की भन्ने आशा रहेको उनले बताए ।

पार्टी नेतृत्व समग्र पार्टीलाई जोडेर हामी आम निर्वाचनमा जान आग्रह गर्दै महतले सबै एकजुट भएपछि पार्टीको पक्षमा राम्रो परिणाम आउने बताए । ‘त्यसपछि पार्टीको नियमित अधिवेशनबाट नयाँ नेतृत्व आउँछ, अब विग्रहको बाटोमा जानुहुन्न ,’ उनले भने, ‘स्वभाविक, मजुबत गर्ने विषयलाई पार्टी केन्द्रिय समितिले समावेश गरेर अघि बढ्नसक्छ । राति बेलुकासम्म पनि समझदारी बन्छ भने अन्यथा निर्णयमा किन जाने भन्ने नेतृत्वको लचकता रहेको छ ।’

केन्द्रिय कार्य समितिको बैठक बुधबार बिहान फेरि बस्नेछ ।

अपमानजनक बहिर्गमन नजिक शेरबहादुर देउवा

काठमाडौं । नेपाली कांग्रेसको नियमित र विशेष महाधिवेशन पक्षधरहरू मंगलबार बिहानैदेखि वार्तामा छन् ।

वार्ता भइरहेको स्थान लाजिम्पाटको एउटा घर हो । वार्ता निष्कर्षमा पुगेको छैन । कांग्रेस विभाजनको संकट टरेको छैन ।

वार्तामा देउवाले रमेश लेखकको कमान्डमा एउटा टिम खटाएका छन् । गगन–विश्‍वले प्रदीप पौडेलको कमान्डमा अर्को टिम वार्तामा सक्रिय छ ।

वार्तामा सहभागी एक नेताका अनुसार गगन–विश्‍व टिमबाट तीनवटा प्रस्ताव अघि सारिएको छ ।

पहिलो– देउवाले आगामी जेठसम्ममा पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति दिनुपर्ने । दोस्रो– आगामी प्रतिनिधिसभा निर्वाचनमा टिकट दिँदा देउवाको हस्ताक्षर चल्न नहुने । तेस्रो, देउवा चुनाव लड्न नपाउने ।

यी तीनवटा प्रस्ताव वार्ताको केन्द्रमा छन् । तर, समझदारी जुटेको छैन । तर, वार्ता सकारात्मक भइरहेको ती नेताको दाबी छ । ‘वार्तामै छौँ अहिले पनि । पार्टी फुट्न दिनु हुँदैन भन्नेमा हाम्रो मतो छ र छलफल भइरहेको छ, आशा छ राम्रो समाचार दिन प्रयत्नमा छौँ,’ तीन नेताले बताए ।

जेन–जी विद्रोहपछि देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति दिए । अहिले पनि कार्यवाहक खड्का नै छन् । तर, पार्टीको कार्यकारी अधिकार आफूमा सीमित गरिदिएका छन् ।

पछिल्ला केन्द्रीय समिति र कार्यसम्पादन समिति बैठकको अध्यक्षता देउवाले नै गरे, कार्यकारी भूमिकामा आफैं क्रियाशील रहेको स्पष्ट सन्देश दिए । यो महामन्त्रीहरू गगन–विश्वलाई पाच्य भएन । जतिबेला देउवाले खड्कालाई कार्यवाहक दिए, देउवाको त्यो कदम गगन–विश्‍वले स्वागत गरे ।

तर, एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटपछि देउवा अनपेक्षित रूपमा देउवा सक्रिय भए । देउवाको यो भूमिकाले गगन–विश्‍वलाई विशेष महाधिवेशन गर्न दबाब दियो, जुन अहिले भृकुटीमण्डपमा जारी छ ।

देउवा र गगन–विश्‍वपक्षबीच नाटकीय ढंगको कुनै समझदारी नभए बुधबार गगन कांग्रेसको सभापति बन्‍ने छन् । देउवा अपदस्त हुनेछन् ।

कांग्रेस राजनीतिबाट देउवा अपमानजनक ढंगले बहिर्गमित हुनेछन् । अनि, ४९ वर्षे गगनले कांग्रेस हाँक्नेछन् ।

जबकि, केन्द्रीय कार्य समिति र केन्द्रीय कार्यसम्पादन समितिमा देउवाको वर्चश्व छ । पार्टीको यी दुवै निकायमा उनी शक्तिशाली छन् ।

तर, ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर उनी पदच्युत गर्ने आधार बनेको छ ।

कांग्रेस विशेष महाधिवेशन : मतदान भोलि बिहान मात्रै

काठमाडौं । नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भोलि विहान मात्र मतदान हुने भएको छ । विशेष महाधिवेशन निर्वाचन समितिले साँझ साढे ७ बजेसम्म उम्मेदवारी दर्ताको कार्यक्रम तय भएको जानकारी दिएको छ । निर्वाचन समितिका संयोजक सीताराम केसीका अनुसार साँझ साढे ६ बजेदेखि साढे ७ बजेसम्म उम्मेदवारीको समय तोकिएको छ । उनले त्यसपछि मनोनयनका लागि समय थप नगर्ने जानकारी दिए ।

‘साँझ ६ः३० बजेदेखि ७ः३० बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ । अब समय थप हुँदैन । मतदानसहितको परिमार्जित कार्यतालिका सार्वजनिक गर्दैछौँ,’ उनले भने, ‘राति मतदान हुँदैन । भोलि बिहानबाट कार्यक्रमहरूलाई निरन्तरता दिन्छौँ ।’
९ घण्टादेखि विशेष महाधिवेशनको बन्द सत्र चलिरहेको छ । दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा सबै समय बन्द सत्रमा रहेको जानकारी गराइएको छ । बन्द सत्र अब दुई घण्टा चल्ने र आएका सुझावहरूलाई समेट्ने सचिवालयले जानकारी दिएको छ । आज साँझ दुई महामन्त्रीले सम्बोधन गरेपछि मात्रै बन्दसत्र सकिनेछ । यसैबीच पार्टीभित्रको विवाद समाधानका लागि त्रिपक्षीय वार्ता समेत भइरहेको छ ।

मन्त्रिपरिषद बैठकका १९ निर्णय सार्वजनिक : वित्तीय रणनीतिदेखि राष्ट्रिय सभा अधिवेशनसम्म

काठमाडौं । सरकारले पुस २८ गते सम्पन्न मन्त्रिपरिषद् बैठकका १९ वटा महत्वपूर्ण निर्णय सार्वजनिक गरेको छ । मंगलबार सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलनमार्फत ती निर्णय सार्वजनिक गरेका हुन् ।सरकारले आर्थिक क्षेत्रलाई दीर्घकालीन रूपमा सबल बनाउने उद्देश्यसहित वित्तीय क्षेत्र विकास रणनीति (२०८२/०८३ देखि २०८६/०८७) स्वीकृत गरेको छ ।

यस रणनीतिले बैंकिङ, वित्तीय पहुँच, लगानी वातावरण र वित्तीय स्थायित्वमा सुधार ल्याउने अपेक्षा गरिएको छ । त्यसैगरी, सरकारले संघीय संसदको राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । सोही निर्णयअनुसार माघ ४ गते बिहान ११ बजे राष्ट्रिय सभाको अधिवेशन आह्वान गरिने जानकारी प्रवक्ता खरेलले दिएका छन् ।

मानव बेचबिखन विरुद्ध नयाँ नीति
मन्त्रिपरिषद् बैठकले मानव बेचबिखन विरुद्धको राष्ट्रिय नीति, २०८२ स्वीकृत गरेको छ । यो नीतिले मानव बेचबिखन नियन्त्रण, पीडितको संरक्षण, पुनःस्थापना तथा सम्बन्धित निकायबीचको समन्वयलाई थप प्रभावकारी बनाउने लक्ष्य लिएको छ ।

नियुक्ति र प्रशासनिक निर्णय
बैठकले गोरखापत्र संस्थानको अध्यक्षमा गोविन्द प्रसाद भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको छ । साथै, नेपाल न्याय सेवा, कानून समूह अन्तर्गतका प्रशासनिक संरचनामा पनि फेरबदल गरिएको छ ।

राजपत्राङ्कित प्रथम श्रेणीका ८ जना अधिकृतहरूको सरुवा
राजपत्राङ्कित द्वितीय श्रेणीका ८ जना अधिकृतहरूलाई सम्बन्धित समूहको राजपत्राङ्कित प्रथम श्रेणीमा पदस्थापन गर्ने निर्णय गरिएको छ ।

अन्तर्राष्ट्रिय सहभागिता
सरकारले २०८२ माघ २६ देखि २८ गतेसम्म इटलीको रोममा आयोजना हुने ‘४९ औं सेसन अफ गभर्निङ काउन्सिल अफ द इन्टरनेसनल फन्ड फर एग्रिकल्चर डेभलपमेन्ट (IFAD)’ मा सहभागी हुन कृषि तथा पशुपन्छी विकास मन्त्री डा. मदनप्रसाद परियारलाई स्वीकृति प्रदान गरेको छ ।

यस सहभागिताले नेपालको कृषि तथा ग्रामीण विकासका विषय अन्तर्राष्ट्रिय मञ्चमा उठान हुने अपेक्षा गरिएको छ । पुस २८ गतेको मन्त्रिपरिषद् बैठकले आर्थिक सुधार, सामाजिक सुरक्षा, मानव अधिकार संरक्षण, प्रशासनिक व्यवस्थापन र अन्तर्राष्ट्रिय सम्बन्धलाई समेट्ने गरी महत्वपूर्ण निर्णयहरू गरेको सरकारको दाबी छ । प्रवक्ता खरेलले यी निर्णयहरूले शासन प्रणालीलाई प्रभावकारी बनाउँदै विकास र सुशासनको दिशामा सरकार अघि बढिरहेको सन्देश दिएको बताए ।