काठमाडौं । नेकपा एमालेनिकट नेशनल भोलेन्टियर्स फोर्सका प्रमुख कमाण्डर पुष्पराज श्रेष्ठले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचन २०८२ को परिणामलाई सम्मानपूर्वक स्वीकार गर्ने बताएका छन्।
श्रेष्ठले बिहीबार जारी गरेको विज्ञप्तिमा नेपाली जनताले व्यक्त गरेको अभिमत लोकतन्त्रको सुदृढताको प्रतीक भएको उल्लेख गरेका छन्।
उनले भदाै २३ र २४ गते भएको जेन-जी विद्रोहपछि अपहरित भएको संविधानलाई सही ट्र्याकमा ल्याउने उद्देश्यले लोकतन्त्र, संविधान र विधिको शासनको रक्षार्थ एमाले निर्वाचनमा सहभागी भएको बताएका छन्।
विज्ञप्तिमा हालै सम्पन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अभूतपूर्व जनमत प्राप्त गरेको उल्लेख गर्दै श्रेष्ठले सो पार्टीलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन्। उनले परिवर्तन र सुशासनको नारामा रास्वपालाई प्राप्त जनमतलाई व्यवहारमा परिणत गर्नुपर्ने पनि बताएका छन्।
‘जनताले आभास गर्ने परिवर्तन, भ्रष्टाचारमुक्त समाज र प्रशासनिक सुधारका पक्षमा काम हुनुपर्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘नत्र यो अभिमतलाई आगामी निर्वाचनमा जनताले दण्डित गर्नेछन्।’
श्रेष्ठले राजनीतिमा हार र जित स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्दै जनसेवाको संकल्प कहिल्यै समाप्त नहुने बताएका छन्। निर्वाचन परिणामलाई पार्टीका लागि एउटा महत्वपूर्ण ऐना भएको उल्लेख गर्दै उनले यसलाई जिम्मेवारीपूर्वक स्वीकार गर्दै आत्मसमीक्षा गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।
विज्ञप्तिमा सम्पूर्ण पार्टी पंक्तिलाई हतास नहुन आग्रह गर्दै धैर्य, संयम र अनुशासनका साथ कमी–कमजोरीहरूको निर्मम समीक्षा गरी संगठनात्मक संरचना, कार्यशैली र पद्धतिमा समयानुकूल सुधार गर्नुपर्ने धारणा राखिएको छ।
श्रेष्ठले विगतका अनुभवबाट पाठ सिक्दै पार्टीलाई अझ दृढ, परिष्कृत र ऊर्जाशील रूपमा अघि बढाउने अवसरका रूपमा निर्वाचन परिणामलाई लिनुपर्ने बताएका छन्। जनताको भरोसा पुनः जित्न नयाँ कार्यशैली र नयाँ उत्साह’का साथ जनताको घरदैलोमा पुग्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन्।
त्यस्तै, राष्ट्रियता, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको रक्षाप्रति संगठन दृढ रहेको उल्लेख गर्दै उनले राष्ट्रको प्रगति र जनहितका लागि सरकारले गर्ने सकारात्मक कामलाई समर्थन गर्ने बताएका छन्।
तर, सरकारबाट जनभावना विपरीत, भ्रष्टाचारजन्य वा राष्ट्रिय हितमा आँच पुग्ने कदम चालिएमा सडकबाट सशक्त प्रतिवाद गर्ने चेतावनी पनि उनले दिएका छन्।
