`

झापा-५ मा पराजयपछि ओलीको प्रतिक्रिया- जनताको फैसला शिरोधार्य गर्नु कर्तव्य हाे

Nepal One HD २८ फागुन २०८२ १२:०७
निर्वाचन विषेश

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले झापा-५ मा प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित भएपछि जनताको निर्णयलाई सम्मानपूर्वक स्वीकार गर्ने बताएका छन्।

सामाजिक सञ्जालमार्फत बिहीबार प्रतिक्रिया दिँदै उनले यसपटकको निर्वाचनमा आफूले अपेक्षा गरेजस्तो परिणाम प्राप्त गर्न नसकेको बताएका छन्। साथै आफ्नो पार्टीले पनि अपेक्षित परिणाम हासिल गर्न नसकेको उनले उल्लेख गरेका छन्।

लोकतन्त्रमा अन्तिम फैसला जनताकै हुने भन्दै उनले जनताको निर्णयलाई शिरोधार्य गर्नु आफ्नो र पार्टीको कर्तव्य भएको बताएका छन्।

ओलीले सूर्य चिन्हमा मतदान गरेर आफ्नो पक्षमा उभिनुहुने सम्पूर्ण मतदाता, नेता, कार्यकर्ता, स्वयंसेवक, शुभेच्छुक र समर्थकहरूप्रति हार्दिक धन्यवाद व्यक्त गरेका छन्। मतदाताको विश्वास नै आफ्नो शक्ति भएको उल्लेख गर्दै उनले साथ र समर्थनप्रति आभार व्यक्त गरेका हुन्।

निर्वाचन परिणाम आफ्नो पक्षमा नआए पनि जनताप्रतिको प्रतिबद्धता र सेवाभाव कमजोर नहुने उनले बताएका छन्। आगामी दिनमा पनि जनताकै बीचमा रहेर जनताकै हितका लागि काम गर्दै जाने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।

ओलीले मत दिने, साथ दिने र विश्वास गर्ने सबैप्रति धन्यवाद व्यक्त गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *