`

काङ्‍ग्रेस निष्कर्ष : ‘अन्तरघात’ले हारियाे, के देउवा पक्ष अन्तरघाती हाे ?

काठमाडौं । नेपाली काङ्‍ग्रेसले इतिहासमै सर्मनाक हार यसपटककाे प्रतिनिधिसभा निर्वाचनमा बेहाेर्‍याे ।

सभापति गगन थापाकाे नेतृत्वमा चुनावी मैदानमा उत्रिएकाे ‘बदलिएकाे काङ्‍ग्रेस’लाई मतदाताले पत्याएनन् । थापा स्वयम् हारे । जारी केन्द्रीय समिति बैठकमा काङ्‍ग्रेस हारकाे समीक्षा भइरहेकाे छ ।

यसबीच पार्टी प्रवक्ता देवराज चालिसले हारकाे मुख्य कारण अन्तरघात भएकाे बताएका छन् । उनका अनुसार हालै सम्पन्‍न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा कम्तिमा २१ वटा निर्वाचन क्षेत्रमा पार्टीभित्रकै अन्तर्घातका कारण पराजय भोगेको निष्कर्ष निकालेको छ ।

उनले ५ देखि ३ हजारभन्दा कम मतान्तरले हारिएका क्षेत्रहरूमा मुख्यत: आन्तरिक कारण जिम्मेवार रहेको देखिएको दाबी गरे ।

५ हजारदेखि १० हजारसम्मको ठूलो मतान्तरमा पराजित भएका क्षेत्रमा भने अन्तर्घात, कमजोर चुनावी क्याम्पेन र प्रतिकूल ‘न्यारेटिभ’ले पार्टीलाई रक्षात्मक बनाएको निष्कर्ष उनले सुनाए ।

उनले भने, ‘निर्वाचनको सन्दर्भमा हाम्रो परम्परागत भोट कसरी ट्रान्सफर भयो भन्ने विषयमा हामी गहन छलफल गरिरहेका छौं । यो भोटको माईग्रेसन मात्रै हो कि माइन्डसेट नै माइग्रेसन भएको हो, त्यसलाई हामीले अत्यन्त गम्भीरतापूर्वक हेरिरहेका छौं ।

५ देखि ३ हजारभन्दा कम मतले हाम्रो पार्टीको आन्तरिक कारणले पराजित भएको भन्ने हाम्रो निष्कर्ष छ । ती सिट संख्याहरू २०र२१ वटा निर्वाचन क्षेत्रहरु छन् ।’

८ लाख ५० हजारभन्दा बढी क्रियाशील सदस्य भएको कांग्रेसले अपेक्षित मत पाउन नसक्नु पनि गम्भीर प्रश्न बनेको उनको भनाइ छ ।

तर, निर्वाचनमा निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले अन्तरघात गरेकाे भनेर किटान भने चालिसेले गरेनन् । देउवा पक्ष निर्वाचनमा निष्क्रियजस्तै बसेकाे थियाे ।

 

ललितपुरमा भत्कियाे इँट्टाभट्टाकाे पर्खाल, एक महिलाकाे मृत्यु, ४ घाइते

काठमाडौं । ललितपुरमा इँट्टाभट्टाको पर्खाल भत्किएर एक महिलाको मृत्यु भएको छ ।

आइतबार बिहान ललितपुर महानगरपालिका–२८ हरिसिद्धिस्थित होसना इँट्टाभट्टामा काम गर्ने रुकुमकी ५५ वर्षीय तिल्सरी खड्काको मृत्यु भएको हो ।

पर्खाल भत्किएर गम्भीर घाइते भएकी खड्काको ठैबस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।सो घटनामा ४ जना घाइते भएको प्रहरीले जनाएको छ ।

निर्वाचन हारेपछि राप्रपाअध्यक्ष राजेन्द्र लिङ्देन ‘मुड फ्रेस’ गर्न हिमाली भेगतिर (भिडियो)

काठमाडौं । निर्वाचन हारेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन ‘मुड फ्रेस’ गर्न हिमाली भेगतिर लागेका छन् ।

उनी हिमाली जिल्ला मुस्ताङ पुगेका छन् र त्यहाँ चित्ताकर्षक हिमाली फाँटहरूमा मात्रै घुमेनन् लिङ्देन कोरला नाका पनि पुगे । मुस्ताङी राजाको दरबार अवलोकन गरे ।

दरबारको अवलोकनपछि उनले इतिहास भइसकेको राजसंस्थाको अझै अपरिहार्यता रहेको पनि बताए ।

उनले मुस्ताङका साँस्कृतिक राजा जिग्मे परबल विष्ट ‘अशोक’प्रति मुस्ताङीहरूको अगाध प्रेम अझै रहेको पाइएको पनि बताए ।

जिग्मे भने केही वर्ष यता काठमाडौंमा बस्ने गरेका छन् ।

लिपुलेकको बाटो प्रयाेग गरेर व्यापार सुरु गर्दै भारत-चीन

 काठमाडौं । नेपालले आफ्नो नक्सामा समेटेको लिपुलेक भञ्ज्याङ हुँदै भारत र चीनले यस वर्षबाट सीमा व्यापार पुनः सुरु गर्ने तयारी गरेका छन्।

टाईम्स अफ इन्डियाले उल्लेख गरेअनुसार, करिब ६ वर्षपछि पुनः व्यापार खोल्ने तयारी दुई मुलुकले अघि बढाएका छन्। टाईम्स अफ इन्डियाले उत्तराखण्डका जिल्ला अधिकारी आशिष कुमार भटगाईलाई उद्धृत गर्दै, सामान्यतया जुनदेखि सेप्टेम्बरसम्म चल्ने व्यापार सत्रका लागि भारतीय केन्द्र सरकारको निर्देशनअनुसार तयारी सुरु भइसकेको जानकारी दिएको छ।

स्थानीय रूपमा पुलाङ-गुन्जी भनेर चिनिने लिपुलेक भञ्ज्याङ कालापानी क्षेत्रमा पर्ने तीनमध्ये एक गाउँ हो। हाल भारतीय नियन्त्रणमा रहेको यो क्षेत्रबारे नेपालले निरन्तर आफ्नो दाबी प्रस्तुत गर्दै आएको छ। यसअघि पनि सन् २०१५ र २०२० मा लिपुलेकबारे भारत-चीनबीच भएको द्विपक्षीय सहमतिको नेपालले विरोध जनाएको थियो।

भारतको विदेश मन्त्रालयबाट ‘नो अब्जेक्सन सर्टिफिकेट’ जारी भएपछि व्यापार पुनः सुरु हुने मार्ग खुलेको बताइन्छ।

यस्तै, भारतीय विदेश सचिव विक्रम मिस्रीले उत्तराखण्डका मुख्य सचिव आनन्द बर्धनलाई पत्र लेख्दै हिमालयन भञ्ज्याङ हुँदै व्यापार पुनः सञ्चालन गर्न आवश्यक तयारी मिलाउन आग्रह गरेका छन्।

अष्ट्रेलियाको बेरोजगारी दर ४.३ प्रतिशत पुग्यो

एजेन्सी। आधिकारिक तथ्याङ्कअनुसार अर्थशास्त्रीहरूको स्थिर रहने अपेक्षा विपरित फेब्रुअरी महिनामा अष्ट्रेलियाको बेरोजगारी दर बढेर ४.३ प्रतिशत पुगेको छ । अष्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्सलेसार्वजनिक गरेको विवरणअनुसार जनवरीमा ४.१ प्रतिशत रहेको आधिकारिक बेरोजगारी दर फेब्रुअरीमा बढेर ४.३ प्रतिशत पुगेको हो । जनवरी र फेब्रुअरीको बीचमा रोजगार प्राप्त अष्ट्रेलियालीहरूको संख्या ४८ हजार ९ सयले बढेको छ ।

यद्यपि, सोही अवधिमा बेरोजगार अष्ट्रेलियालीहरूको संख्यामा ३५ हजार (अर्थात ५.६ प्रतिशत) ले वृद्धि भएका कारण रोजगारीको त्यो वृद्धिलाई यसले सन्तुलित गरिदिएको छ । अष्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेशन र अष्ट्रेलियन एसोसिएटेड प्रेसले जानकारी दिएअनुसार अर्थशास्त्रीहरूले फेब्रुअरीमा बेरोजगारी दर ४.१ प्रतिशत मै स्थिर रहने अपेक्षा गरेका थिए ।

रोजगारीमा देखिएको यो वृद्धि मुख्यतया आंशिक समय (पार्ट–टाइम) को रोजगारीका कारण भएको हो । जसमा ७९ हजार ४ सयले वृद्धि भयो। अर्कोतर्फ, पूर्णकालीन (फुल–टाइम) रोजगारीमा रहेका मानिसहरूको संख्या भने ३० हजार ५ सयले घटेको छ । यसको फलस्वरूप, अष्ट्रेलियालीहरूले काम गरेको कुल घण्टा जनवरीको तुलनामा फेब्रुअरीमा ०.२ प्रतिशतले कम रहन गयो । सहभागिता दर, जसले रोजगारमा रहेका वा सक्रिय रूपमा काम खोजिरहेका कार्यकारी उमेरको जनसंख्याको अनुपातलाई मापन गर्दछ, ६६.७ प्रतिशतबाट बढेर ६६.९ प्रतिशत पुगेको छ ।

युपिआर चौथो चक्र: बालविवाह, दाइजो र छाउपडी अन्त्य गर्न अन्तर्राष्ट्रिय दबाब

काठमाडौं । संयुक्त राष्ट्र सङ्‍घ मानवअधिकार परिषद्को विश्‍वव्यापी आवधिक समीक्षा (युपिआर) चौथो चक्रमा नेपालले बुझाएको प्रतिवेदनमाथि विभिन्न देशले दिएका सुझाव कार्यान्वयन गर्न जोड दिइएको छ ।

महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी) ले आयाेजना गरेकाे सञ्चारकर्मीसँगकाे कार्यशालाको मुख्य उद्देश्य युपिआर प्रक्रियाबारे जानकारी दिनु यसको राष्ट्रिय महत्व बुझाउनु तथा चौथो चक्रमा नेपालले प्राप्त गरेका प्रमुख सुझावहरूबारे छलफल गर्नु रहेको थियो।

विशेषगरी कानुनी पहिचान, लैङ्गिक आधारित हिंसा र यौन तथा प्रजनन स्वास्थ्य तथा अधिकार सम्बन्धी विषयहरूमा केन्द्रित भएर विस्तृत अन्तरक्रिया गरिएको थियो।

सन् २०२५ मा नेपाल सरकारले संयुक्त राष्ट्र सङ्घ मानवअधिकार परिषद्को चौथोे चक्रअन्तर्गत रहेर प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदनमा रहेर विभिन्न देशले सुझाव दिएका हुन् ।

नेपाललाई विशेष गरी तीनवटा थिममा रहेर सुझावहरु प्राप्त भएको र प्राप्त सुझाव नेपालले कार्यान्वयन (एसेप्ट) गर्ने वा नोटमा राख्ने दुई विकल्प मात्र हुने अधिवक्ता बिनु लामाले जानकारी दिइन् ।

कार्यक्रममा युपिआरको आवधिक समीक्षाको चौथो चक्रमा नेपाललाई गर्भपतनमा निरपराधीकरण, प्रजनन स्वास्थ्य अधिकार, सम्मानजनक प्रसूति सेवा, बृहत् यौनिक शिक्षा र समग्र यौन तथा प्रजनन स्वास्थ्य र अधिकार सेवामा रहेर महत्वपूर्ण सुझाव प्राप्त भएको एफडब्लुएलडीकी अधिवक्ता रोजिना श्रेष्ठले जानकारी दिइन ।

नेपाललाई प्राप्त सुझावबारे अधिवक्ता श्रेष्ठले सबै परिस्थितिमा गर्भपतनलाई अपराधमुक्त र वैधानिक बनाउन आइसल्यान्ड र फ्रान्सले सुझाव दिएको, सुरक्षित गर्भपतनको सेवामा पहुँच सुनिश्चित गर्ने आइसल्यान्डले सुझाव दिएको र महिला, किशोरकिशोरीहरूसहित लैङ्गिक अल्पसङ्ख्यक तथा सुरक्षित गर्भपतनमा पहुँचमा सुनिश्चित गर्न नर्वेले सुझाव दिएको जानकारी दिइन् ।

यसैगरी, स्कुल हाताभित्र र बाहिर बृहत् यौनिकता शिक्षामा विश्वव्यापी पहुँच सुनिश्चित गर्न, किशोरावस्थामा हुने गर्भावस्था र बालविवाह रोक्न बहुक्षेत्रीय समन्वयलाई बलियो बनाउन, भेदभावपूर्ण लिङ्ग पहिचान र लिङ्गका आधारमा हुने गर्भपतन विरुद्धको राष्ट्रिय रणनीति २०२१ प्रभावकारी कार्यान्वयन गर्न विभिन्न देशले आफ्नो सुझाव पेस गरेको वरिष्ठ अधिवक्ता मीरा ढुंगानाले बताइन् ।

छाउपडी प्रथा र विवाहमा हुने दाइजो प्रथालाई निषेध गर्न, कानुनको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न जागरूकता बढाउन, दण्डित गर्न र अपराधीहरूलाई अभियोजन गर्न विभिन्न देशले सिफारिस गरेका छन् ।

यसैगरी, १८ वर्षमुनिका किशोरकिशोरीहरूबीचको सहमतिमा भएको यौन सम्बन्धलाई अपराधमुक्त गर्ने र किशोरावस्थाको गर्भावस्था र बालविवाह रोक्न मेक्सिकोले सुझाव दिएको वरिष्ठ अधिवक्ता ढुंगानाले बताइन् ।

कार्यशालामा आगामी बाटोबारे पनि घनिभुत छलफल गरिएकाे थियो। नेपाल सरकारले सन् २०२६ को जुन/जुलाईमा हुने सेसन अघि युपिआर सिफारिसहरूमा आफ्नो अन्तिम प्रतिक्रिया पेश गर्ने तयारी गरिरहेको सन्दर्भमा त्यसबारे तयारी र रणनीतिबारे विचार आदानप्रदान गरिएको थियो। साथै, युपिआर प्रक्रियामा सूचित सार्वजनिक बहस सिर्जना गर्न र जवाफदेहिता प्रवर्द्धन गर्न सञ्चारमाध्यमको भूमिकालाई पनि विशेष रूपमा उजागर गरिएको थियो।

किरण कुँवरले सञ्चालन गरेको उक्त कार्यक्रममा एफडब्लुएलडीका सूचना अधिकारी विनोदचन्द्र देवकोटाले विश्वव्यापी आवधिक समीक्षाको चौथो चक्रअन्तर्गत नेपालको प्रतिवेदनमाथि दिएका यी सुझाव स्वीकार गर्नु र प्रभावकारी रुपमा कार्यान्वयन गर्नु नेपाल सरकारको संवैधानिक तथा अन्तर्राष्ट्रिय दायित्व भएको बताए ।

एकै दिन सुनको मूल्य ताेलामै घट्यो १२ हजार ५००

काठमाडौं । सुनको भाउ आज ताेलामै १२ हजार ५ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार २ लाख ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनकाे मूल्य आज २ लाख ८२ हजार रुपैयाँ ताेकिएकाे छ ।

सुनको भाउ एक सातामै २७ हजार ४ सय रुपैयाँ घटेको छ ।

गत आइतबार नेपाली बजारमा सुन प्रतितोला ३ लाख ९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

गत माघ १५ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको रेकर्ड छ ।

यस्तै , आइतबार चाँदीको भाउ तोलामा ३५५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ८९५ रुपैयाँमा कारोबार भएको चाँदी यस दिन ४ हजार ५४० रुपैयाँमा झरेको छ ।

एक सातामा चाँदीको भाउ प्रतितोला ७३० रुपैयाँ घटेको छ । गत आइतबार चाँदी प्रतितोला ५ हजार २७० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै गत माघ १५ गते हालसम्मकै उच्च मूल्य ७ हजार ५०५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।

 

अपाङ्ग महासंघ अध्यक्ष आचार्यको राजीनामा माग्दै आन्दोलन, देशभर तालाबन्दी

काठमाडौं । राष्ट्रिय अपाङ्ग महासंघ नेपालका अध्यक्ष देवीदत्त आचार्यको राजीनामा माग भएको छ ।

वरिष्ठ उपाध्यक्ष राम कार्की, उपाध्यक्ष अनिता घिमिरे र महासचिव सगुम भट्टराईले आचार्यविरुद्ध मोर्चाबन्दी कस्दै शनिबार राजीनामा मागेका हुन् ।

आन्दोलनरत पदाधिकारीहरूले अध्यक्ष आचार्यले १५ लाख बढी आर्थिक अनियमितता गरेको, कुशासन र स्वेच्छाचारी शैलीमा चलाएको आरोप लगाउँदै नैतिक आधारमा पद छाड्नुपर्ने बताएका छन्।

उनीहरूका अनुसार विगत साढे तीन वर्षदेखि महाधिवेशन नगर्नु, साधारण सभा नबोलाउनु र विधानविपरीत निर्णयहरू गर्दै जानु आचार्य नेतृत्वको मुख्य समस्या हो।

उनीहरूले केन्द्रीय कार्यालयसहित देशभरका सातै प्रदेश कार्यालयमा अनिश्चितकालीन तालाबन्दी समेत गरेका छन् ।

विज्ञप्तिमा उनीहरूले स्पष्ट रूपमा भनेका छन्, ‘वर्तमान नेतृत्वको अधिनायकवादी प्रवृत्तिले संस्था संकटमा परेको छ, त्यसैले अध्यक्षले तत्काल राजीनामा दिनुपर्छ।’

आन्दोलनकारीका अनुसार आचार्यकै नेतृत्वमा निष्पक्ष महाधिवेशन सम्भव नभएकाले नयाँ नेतृत्व चयनका लागि स्वतन्त्र वातावरण आवश्यक छ

अध्यक्ष आचार्यले संस्थाको स्रोतसाधन निजी प्रयोजनमा प्रयोग गरेको, कागजात लुकाएको र माइन्युट किर्ते गरेको आरोप पनि लगाइएको छ।

आन्दोलनकारीहरूले निर्वाचन प्रक्रियामा समेत धाँधली गरिएको आरोप लगाएका छन्।

विधानअनुसार सदस्य संस्थाहरूलाई नवीकरणबाट वञ्चित गरिएको, निर्वाचन समिति समयमै गठन नगरी चुनाव घोषणा गरिएको र बहुमत नपुगेको बैठकबाट निर्णय गरिएको जस्ता गतिविधि आचार्य नेतृत्वको नियतप्रति प्रश्न उठाउने आधार भएको उनीहरूको भनाइ छ।

यसैबीच, अध्यक्ष पक्षले सहमति उल्लंघन गरेको आरोपले विवाद थप चर्किएको छ।

चैत्र ५ गते प्रहरी र स्थानीय जनप्रतिनिधिको उपस्थितिमा भएको सहमतिअनुसार दुवै पक्षले कार्यालयमा प्रवेश नगर्ने र प्रशासनमा वार्ता गर्ने सहमति भए पनि अध्यक्ष पक्षले काठमाडौं बाहिरबाट मानिस ल्याएर कार्यालयको ताला फोड्ने प्रयास गरेको आरोप लगाइएको छ।

जिल्ला प्रशासन कार्यालयले पनि निष्पक्ष भूमिका नखेलेको भन्दै आन्दोलनकारी असन्तुष्ट छन्। उनीहरूका अनुसार प्रशासनले एकपक्षीय रूपमा प्रहरी प्रयोग गरेर ताला खोल्न मौखिक निर्देशन दिएको छ, जसले आन्दोलनलाई झन् उग्र बनाएको छ।

आन्दोलनकारीहरूले स्पष्ट माग अघि सारेका छन् -अध्यक्ष आचार्यको तत्काल राजीनामा, जिल्ला प्रशासन कार्यालय काठमाडौंको पहलमा सबै पक्ष समेटिने स्वतन्त्र तदर्थ समिति गठन, र सोही समितिमार्फत निष्पक्ष महाधिवेशन सम्पन्न गरिनु।

साथै आर्थिक अनियमितताको निष्पक्ष छानबिन पनि उनीहरूको प्राथमिक मागमा परेको छ।

उनीहरूले वार्ताबाट समाधान खोज्न तयार रहेको जनाउँदै बल प्रयोग गरिए देशव्यापी आन्दोलनमा जाने चेतावनी दिएका छन्।

महासंघ देशभरका ५०० भन्दा बढी अपाङ्गता भएका व्यक्तिहरूका संस्थाहरूको छाता संगठन भएकाले नेतृत्व संकटले समग्र अपाङ्गता अधिकार आन्दोलनमै गम्भीर असर पार्ने देखिएको छ।

बालेन सरकार भ्रष्टाचारविरुद्ध एक्सनमा नउत्रिए कांग्रेसको आवाज संसदमा बुलन्द

हालै सम्पन्‍न प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसबाट सभापति गगन थापा भावी प्रधानमन्त्रीका उम्मेदवार थिए । तर, उनले चुनाव हारे । कांग्रेस सिंगो पार्टीले नै चुनाव हार्‍यो ।

कांग्रेसको यो हार इतिहासमै सर्मनाकलाग्दो हार हो । यो हारपछि नैतिकताको आधारमा सभापति गगन थापाले राजिनामा दिएका छन् । तर, उनको राजीनामा केन्द्रीय समिति बैठकबाट स्वीकृत हुन्छ कि हुँदैन ?

अर्कोतिर कांग्रेसभित्र दुईवटा धार पनि देखिन्छ । एउटा सभापति गगन थापा र अर्को निवर्तमान सभापति शेरबहादुर देउवा नेतृत्वको । कांग्रेसभित्र अब मिल्ती कसरी हुन्छ ?

अनि, संसदमा प्रमुख प्रतिपक्षीको हैसियतमा कांग्रेस कसरी प्रस्तुत हुन्छ ? यहीबीच ३६ वर्षे बालेन्द्र शाह प्रधानमन्त्री बन्दैछन् र शक्तिशाली सरकारको नेतृत्व गर्दैछन् ।

यस्तोमा शक्तिशाली बालेन सरकारलाई ‘चेक एन्ड ब्यालेन्स’ संसदबाट गर्न कांग्रेसको भूमिका कस्तो हुन्छ ? यिनै सवालमा नेपाली कांग्रेसका नवनिर्वाचित प्रतिनिधिसभा सदस्य नरेन्द्रकुमार केरुङसँग गरेको संवादको सम्पादित अंश :

०००

तपाईंलाई सबैभन्दा पहिले निकै कठिनताका साथ जित निकालेर प्रतिनिधिसभाकाे यात्रा तय गर्नुभएकोमा हार्दिक बधाई छ ।

धन्यवाद । यसको श्रेय समस्त पाँचथरवासी दाजुभाइ, दिदीबहिनीहरूलाई जान्छ, जसले आशीर्वाद दिनुभयो । यो सम्पूर्ण श्रेय र बधाई म पाँचथरवासीलाई समर्पण गर्न चाहन्छु ।

नेपाली कांग्रेसका उम्मेदवारहरू दुई पक्षसँग प्रतिस्पर्धा गर्छन् भन्‍ने सुनिन्छ । एक, पार्टीभित्रको असन्तुष्ट पक्ष, जो जित र हारमा निर्णायक हुन्छ । अर्को, अन्तरपार्टी उम्मेदवार । त्यसो हुनाले चुनावमा जाँदै गर्दा जित्छु भन्‍ने लागेको थियो ?

अँ… अरु जिल्लामा के भयो ? मैले अध्ययन गर्न बाँकी छ । पाँचथर जिल्लाको सन्दर्भमा चाहिँ अभूतपूर्व एकताका साथ हामी निर्वाचनमा होमियौँ । त्यसकारण यसपटक मैले त्यस्तो ‘फिल’ गरिनँ ।
निर्वाचनमा कांग्रेस पार्टीको तर्फबाट उम्मेदवार भएर पाँचथर जिल्ला प्रवेश गर्दै गर्दा मलाई ‘कन्फिडेन्ट’ थियो– निर्वाचनमा यसपटक जित्‍न सकिन्छ ।

कांग्रेस एकताबद्ध हुँदा जित निश्‍चित रहेछ ?

अवस्य ।

तपाईं त जितेर आउनुभयो प्रतिनिधिसभामा तर तपाईंकै सभापति गगन थापा जसको नेतृत्वमा तपाईंहरू चुनावमा जानुभएको थियो र उहाँ पराजित हुनुभयो र पराजयको नैतिक जिम्मेवारी लिँदै बुझाएको राजीनामा अब के हुन्छ ?

स्वाभाविक रूपबाट पार्टीको नैतिकवान चरित्र बोकेको नेतृत्वले पार्टीमा भएका यस्ता किसिमका घटनाक्रमहरूको जिम्मेवारी लिन्छ । यसले नेपाली कांग्रेसको राजनीति मात्रै होइन, नेपाली राजनीतिकै ‘मोरल हाई’ बनाउँछ । एउटा जिम्मेवार पार्टीको सभापतिले निर्वाचनमा हार भएकै हो, नेपाली कांग्रेस खुम्चिएकै हो, यो कुरालाई स्वीकार गर्दै अब यसको नैतिक जिम्मेवारी लिनुपर्छ भनेर राजीनामा दिनुभयो ।

यो अत्यन्तै राजनीतिक चरित्रलाई ‘हाई’ बनाउने, राजनीतिक नैतिकतालाई हाई बनाउने एउटा नजिर स्थापित गर्नुभएको छ । यो अत्यन्तै राम्रो भएको छ । नेपाली कांग्रेसको राजनीति र नेपालकै राजनीतिमा पनि एउटा पाठ हो भन्‍ने हामीले अनुभूत गरेका छौँ । यसकारणले उहाँको नैतिक जिम्मेवारी ग्रहण गर्ने यो कुरालाई हामीले अत्यन्तै सकारात्मक, पार्टीको सम्पत्ति र मुलुककै राजनीतिक सम्पत्तिको रूपमा ग्रहण गरेका छौँ । जहाँसम्म उहाँले दिनुभएको राजीनामाप्रतिको प्रतिक्रिया पार्टीभित्रको भन्ने छ । उसो त उहाँले अस्ति नै राजीनामा दिने तयारी गर्नुभएको हो ।

२६, २७ फागुनतिरै राजीनामाको कुराहरू आएका हुन् । तर, देशभरिबाट शुभचिन्तकहरू जो प्रजातन्त्रमा विश्‍वास गर्ने, लोकतन्त्रमा विश्‍वास गर्ने आम नागरिकहरू जसले चाहिँ राजनीतिक चेत राख्दछन्, उहाँहरूलगायत आन्तरिक रूपमा पार्टीभित्र पनि उहाँको त्यो राजीनामाको सन्दर्भलाई स्वीकार गरिएन । यो अवस्थामा गगन कुमार थापा पार्टीको केन्द्रीय सभापतिज्यूले राजीनामा दिनु हुँदैन र बरु सम्हालेर लानु पर्दछ । तर, राजीनामा आयो । यसलाई हामीले राजनीतिमा स्वाभाविक रूपमा नै लिनुपर्दछ र उहाँले दिनुभएको राजीनामाउपर के गर्ने ? भन्‍नेमा हाम्रो पार्टीको आफ्नै विधान छ । त्यो विधानको विधि र प्रक्रियाभित्र रहेर हामीले विषय प्रवेश गर्छौँ ।

अहिलेसम्मको वातावरण चाहिँ के छ भने उहाँले दिनुभएको राजीनामालाई यो निर्वाचनको हार अथवा अहिलेको जुन परिस्थिति आयो, यो परिस्थितिको जिम्मेवार उहाँ मात्रै होइन, हामी पनि हो । केन्द्रीय समिति डल्लै हो, प्रदेश कार्यसमितिहरू हो । जिल्ला कार्यसमितिहरू हो र मातहतका सबै निकायहरू, टोल कार्यसमितिसम्म र प्रत्येक क्रियाशील सदस्यहरूको पनि जिम्मेवारीको विषय हो ।

त्यसैले उहाँले नेपाली कांग्रेस पार्टीलाई अगाडि बढाउनको निम्ति जनताका पछिल्ला मुद्दाहरूलाई स्थापित गराउने प्रयत्न त गर्नुभएको होइन नि त । तर समयको चापले गर्दा हामी पुस ३० गते महाधिवेशन सम्पन्न गर्दै थियौँ, पुस ६ गते उम्मेदवारी दर्ता गर्न जिल्लाको निर्वाचन क्षेत्रहरूमा पुग्नुपर्ने भयो । त्यो परिस्थितिमा पनि हामीले निर्वाचनमा कांग्रेसलाई अगाडि बढायौँ । हामीले १५ दिन होइन, १ महिनासम्म हाम्रा एजेन्डाहरूलाई जनतासमक्ष लान चान्स पाएको भए राम्रो नतिजा प्राप्त गर्न सक्थ्यौँ ।

रास्वपाले त्यति नै समयमा देशव्यापी माहोल बनाउन सक्यो तर कांग्रेसले नसक्ने भन्‍ने हुँदैन । याे स्वीर्कानु न- बदलिएको कांग्रेसको परिणामलाई आधार मान्दा देउवालाई अपमानजनक ढंगबाट अपदस्त गर्नेबाहेक उपलब्धि केही भएन ।

होइन, त्यसरी भन्न मिल्दैन । म फेरि पनि त्यो डेटलाई स्मरण गराउँछु । पुस ३० गते हाम्रो विशेष महाधिवेशनबाट केन्द्रीय समिति फर्मेसन भयो । त्यसपछि ५ गतेसम्म ४–५ दिनको अवधिमा १६५ वटै क्षेत्रमा उम्मेदवारी तय गर्नुपर्ने धपेडी भयो । जनतासमक्ष हामीले हाम्रा एजेन्डाहरू जनतासमक्ष स्थापित गर्ने समय नै भएन ।

 प्रष्ट भन्दा बदलिएको कांग्रेसलाई मतदाताले नपत्याएको होइन र ?

त्यो मिल्दैन । किनभने नेपालको राजनीतिमा नेपाली कांग्रेसको उपस्थिति ७८ वर्ष भयो । सबै परिवर्तनको नेतृत्व नेपाली कांग्रेसले गर्‍यो । पार्टी सञ्‍चान, राज्यसत्ता सञ्‍चालन गर्ने मामिलामा केही कमजोरी भयो भनेर हामीले स्वीकारिसकेका छौँ । त्यसपछि हामी करेक्सन भयौँ । हामी सुध्रियौँ । हामी बद्लियौँ । अहिलेका नयाँ पार्टीहरूका भन्दा हाम्रो एजेन्डा प्रगतिशील छ ।

तर, बदलिएको कांग्रेसले चुनावमा हावा खायो नि ?

फेरि पनि भन्दैछु– हामीले एजेन्डाहरू जनतासमक्ष लाने मौकै मिलेन नि त ।

उसाे भए  सभापतिबाट गगन थापाले दिएकाे राजीनामा स्वीकृत हुँदैन ?

गगन थापाज्यूू केन्द्रीय सभापति नहुुनु भएको थियो भने नेपाली कांग्रेसले यत्तिको सिट पनि पाउने थिएन । उहाँले कांग्रेसको प्रभावशाली ढंगले नेतृत्व गर्नु भएपछि अहिलेको जुन स्थिति हो, यसलाई उपलब्धिको रूपमा ग्रहण गरेका छौँ ।
यो निर्वाचनपछि अर्को निर्वाचन पाँच वर्षपछि हुन्छ । यो अवधिलाई मैले चाहिँ ‘आँखाको झिमिक’ भन्ने गरेको छु । फेरि हामी फ्रेस म्यान्डेट लिन नेपाली दाजुभाईसम्म पुग्नुपर्छ । त्यो अवधिसम्ममा रिभाइभ भएर मुलुकको नेतृत्व गर्नेगरी अगाडि बढ्छौँ ।

संसदमा प्रमुख विपक्षी दलको हैसियतमा कांग्रेसको भूमिका कस्तो पाउँछौँ अब ?

यदि बालेन सरकराकाे जनहित विरोधी काम हुन्छ । राष्ट्रहित विरोधी काम हुन्छ । भ्रष्टाचार, सुशासन कायम गर्नको निम्ति काम यदि हुँदैन भने हाम्रा आवाजहरू बुलन्द रूपबाट संसदमा उठ्ने हुन् । हामीले संसदमा मर्यादित रूपबाट संसदको मर्यादा र गरिमालाई कायम गरेर हाम्रा आवाजहरू मुखरित गर्ने हो। हामीले सरकारको विरोध गर्दै गर्दा हामी ‘ब्रीफकेस’ फुटाउनेवाला होइनौँ नि त । हामीले त्यहाँको चेयर फुटाउनेवाला होइनौँ नि त ।

 

तर, दुई तिहाइको सरकार, एकल बहुमतीय सरकार र साझेदारी सरकारको नेतृत्व गरिसकेको अनुभव भएको कांग्रेस कमजोर प्रतिपक्षीको हैसियतमा संसदमा उपस्थित हुँदा लज्जाबोध त हुन्छ होला नि ?

यहाँलाई पनि भरपूर जानकारी छ कि २०१५ सालमा महामानव बिपी कोइरालाले सरकारको नेतृत्व गर्नुभएको थियो । त्यो सरकारलाई अपदस्थ गरेर जेल जीवन पनि त भोग्नुपरेको अवस्था हामीले भोगेका छौँ । त्यसपछिका सबै राजनीतिक ‘मुभमेन्ट’हरू त कांग्रेसले सञ्चालन गर्दै आयो । त्यसमाथि प्रजातन्त्रमा जनता सर्वोपरी हुन्छ, त्यसैले सार्वभौम सत्ता सम्पन्न जनता भन्छौँ हामी । सबै अधिकारयुक्त जनताबाट तिम्रो साइज यो हो, तिमी यहाँ बस भनेर आदेश गरिसकेपछि हामीले हिनताबोध महसुस गर्नुपर्ने कुनै आवश्यकता छैन । त्यसकारणले गर्दाखेरि हामी संसदमा संख्याको आधारमा अल्पसंख्यक संख्या नै छौँ तर म्याजिक नम्बर छ ।

सत्ता ढाल्न र गठन गर्न कुनै अर्थ राख्छ त ?

राजनीतिक सम्भावनाको खेल हो । अर्थ राख्न सक्छ । तर, नेपाली कांग्रेस सधैँभरि राजनीतिक स्थिरताको पक्षमा छ । यो अहिले प्राप्त भएको दुई तिहाइ नजिकको जुन बहुमत छ, यो बहुमत पाँच वर्षसम्म टिकोस् भन्ने कामना हाम्रो हो । मुलुकले एउटा राजनीतिक स्थिरता प्राप्त गरोस्, त्यो स्थिरताको माध्यमबाट मुलुकले समृद्धिको उचाई चढोस् ।

पूरा संवाद भिडियोमा

 

पश्चिम एसियालाई आक्रान्त बनाउन सक्ने ‘स्ट्रेट अफ हर्मुज’

काठमाडौं। पश्चिम एसियाको राजनीतिक, सुरक्षा र ऊर्जा भू-राजनीतिमा सबैभन्दा संवेदनशील केन्द्रबिन्दुका रूपमा चिनिन्छ-‘स्ट्रेट अफ हर्मुज’ । भौगोलिक रूपमा यो जलमार्ग इरान र ओमानको बिचमा अवस्थित छ। तर यसको महत्व केवल भौगोलिक सीमामा सीमित छैन, यो विश्व ऊर्जा सुरक्षाको मेरुदण्ड मानिन्छ।

करीब ३३ किलोमिटरको चौडाइ भएको यो जलडमरुको सबैभन्दा साँघुरो भागमा जहाज सञ्चालनका लागि दुईवटा मात्र करिब ३–३ किलोमिटर चौडा मार्ग उपलब्ध छन्। यही कारण ‘स्ट्रेट अफ हर्मुज’ लाई विश्वको सबैभन्दा संवेदनशील समुद्री ‘चोकप्वाइन्ट’ भनेर सम्बोधन गरिन्छ। यहाँ गरिने सानो अवरोधले पनि विश्व अर्थतन्त्र हलचलमा पर्ने सम्भावना रहन्छ।

वैश्विक ऊर्जा आपूर्तिमा यसको भूमिका झनै निर्णायक छ। विश्वभर उपभोग हुने कच्चा तेलको करीब २० देखि २५ प्रतिशत यही बाटो हुँदै ढुवानी हुन्छ। विशेषगरीसाउदी अरेबिया, इराक, कुवेत र युनाईटेड अरब इमिरेट्स (युएई) जस्ता प्रमुख तेल उत्पादक देशहरूको निर्यात यही मार्गमा निर्भर छ। कच्चा तेलसँगै प्राकृतिक ग्यास, तरलित पेट्रोलियम ग्यास तथा अन्य सामाग्री पनि यही मार्गबाट विश्व बजारमा पुग्छन्।

उता, यसको रणनीतिक महत्वका कारण यो क्षेत्र सधैंजसो तनावग्रस्त रहँदै आएको छ। वर्षौँदेखि इरान र अमेरिकाबीचको राजनीतिक र सैन्य द्वन्द्व  ‘स्ट्रेट अफ हर्मुज’ कै वरीपरी घुमिरहन्छ। इरानले विगतमा बारम्बार चेतावनी दिएको छ कि उसविरुद्ध सैन्य आक्रमण भएमा यो जलडमरु बन्द गरिदिनेछ। यस्तो कदमले विश्व ऊर्जा आपूर्ति तत्काल अवरुद्ध पार्ने र अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य आकासिन सक्ने जोखिम रहन्छ।

सुरक्षाका दृष्टिले पनि यो मार्ग अत्यन्त कडाइका साथ निगरानीमा राखिन्छ। अमेरिकी नौसैनिक शक्तिको प्रमुख घटक युएस नेभीले यहाँ स्थायी गस्ती चलाइरहेको हुन्छ। उता इरानले पनि आफ्नो नौसैनिक क्षमता विस्तार गर्दै समुद्री उपस्थिति बलियो बनाइरहेको छ। यसै कारण कुनै सानो विवादले पनि ठूलो क्षेत्रमा सैन्य द्वन्द्वको रूपमा विस्तार हुन सक्ने सम्भावना निरन्तर रहन्छ।

‘स्ट्रेट अफ हर्मुज’ अवरुद्ध हुनु केवल मध्यपूर्वका लागि मात्र संकट होइन, विश्व अर्थतन्त्रका लागि गम्भीर प्रहार हुने संकेत हो। तेल आपूर्ति रोकिने, पेट्रोलियम उत्पादनको मूल्य ह्वात्तै बढ्ने, अन्तर्राष्ट्रिय व्यापारमा अवरोध उत्पन्न हुने, र विश्व ऊर्जा सुरक्षा जोखिममा पर्नेछ। नेपालजस्ता आयातमा निर्भर मुलुकमा समेत यसको प्रत्यक्ष असर पर्न सक्नेछ। विशेषगरी इन्धन मूल्यवृद्धि, ढुवानी लागत बढ्नु र उत्पादन क्षेत्र प्रभावित हुनुजस्ता असर तत्कालै देखिन थाल्छन्।

तेल, भू-राजनीति र सैन्य उपस्थिति जहाँ एकै ठाउँमा भेटिन्छन्, त्यहाँ तनाव अवश्यै बढ्छ। ‘स्ट्रेट अफ हर्मुज’ पनि यस्तै एक क्षेत्र हो, जहाँ शक्ति-प्रतिस्पर्धा, कूटनीति र रणनीतिक सुरक्षा एकैसाथ जटिल रूपमा मिसिएका छन्। यही कारण यो जलडमरु केवल एक समुद्री मार्ग होइन, विश्व शक्तिसन्तुलनलाई प्रभावित गर्ने केन्द्रबिन्दु बनेको छ।

पछिल्लो समय बढीरहेको इजरायल, अमेरिका र इरान तनावले  ‘स्ट्रेट अफ हर्मुज’ निकै चर्चामा छ।  इरानले बारम्बार  ‘स्ट्रेट अफ हर्मुज’ मा आक्रमण गर्ने चेतावनी दिइरहेको छ भने अमेरिका-इजरायलले पनि इरानले त्यसो गरे निकै ठुलो मूल्य चुकाउनुपर्ने चेतावनी दिइरहेका छन्। 

इरानले ‘स्ट्रेट अफ हर्मुज’ ध्वस्त पार्ने वा बन्द गर्ने चेतावनी दिँदै आएको मुख्य कारण यसको भू-रणनीतिक महत्वसँग गुथिन्छ। अमेरिकासँगको दीर्घकालीन तनाव, विशेषगरी सैन्य आक्रमण, प्रतिबन्ध र इजरायलसँगको द्वन्द्वले इरानलाई बारम्बार कठोर प्रतिक्रिया दिने मनोवृत्ति तर्फ धकेल्छ। पछिल्ला महिनामा इरानका वैज्ञानिक, सैन्य अधिकारी तथा प्रभावशाली नेताहरूलाई हवाई आक्रमणमा मारिनु पनि इरानको कठोर चेतावनीको पृष्ठभूमि बनेको छ। कुनै पनि आक्रमणको प्रतिकारस्वरूप हर्मुज जलडमरु बन्द गर्न सकिने संदेश इरानले 

रणनीतिक डिटर्रेन्स पनि इरानको चेतावनीको अर्को महत्त्वपूर्ण पक्ष हो। इरान यो धम्कीलाई तत्काल प्रयोग हुने उपाय होइन, बरु एक मनोवैज्ञानिक दबाबका रूपमा प्रस्तुत गरिरहेको छ । जसले गर्दा अमेरिका वा इजरायलले इरानमाथि प्रत्यक्ष सैन्य आक्रमण गर्नुअघि धेरैपटक सोच्नुपर्छ। बढ्दै गएको यो त्रिपक्षीय तनावका बीच इरानको आईआरजिसी नेभीले समुद्री क्षेत्रमा आफ्नो सैन्य उपस्थिति पनि बढाउदै लागेको छ , जसका कारण यस्तो चेतावनीले प्रभावकारी दबाब सिर्जना गर्छ।

यससँगै अमेरिकाले लगाउँदै आएका कडा आर्थिक प्रतिबन्धहरूले इरानलाई झनै कठोर अभिव्यक्तितर्फ उन्मुख बनाएको छ। बैंकिङ प्रणालीदेखि तेल निर्यातसम्मका रोक्का कदमहरूले इरानको अर्थतन्त्र कमजोर बनाएको छ, र त्यो प्रतिरोधको रूपमा हर्मुज जस्तो संवेदनशील कार्ड प्रयोग इरानका लागि यो युद्धमा ठुलो हतियार बन्न सक्छ। 

आन्तरिक रूपमा पनि यस्तो बयानबाजीले इरानी नेतृत्वलाई फाइदा पुर्‍याउँछ। कट्टरपन्थीहरू आफ्नो शक्ति प्रदर्शन गर्न चाहन्छन्, राष्ट्रियतावादी भावनालाई बलियो बनाउँछन् र बाह्य दबाबका बीच सरकार कमजोर छैन भन्ने सन्देश जनतामा फैलाउन चाहन्छन्।

पूर्वप्रधानमन्त्री देउवा सिंगापुरबाट हङकङ प्रस्थान

काठमाडौँ। पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा हङकङ प्रस्थान गरेका छन्। 

केही समयदेखि स्वास्थ्य समस्याका कारण सिंगापुरमा उपचाररत रहेका देउवा हङकङ गएका हुन् । उपचारको प्राथमिक चरण सम्पन्न भएपछि उनी थप स्वास्थ्य जाँच तथा पारिवारिक कार्यक्रममा सहभागी हुन हङकङ गएको देउवा निकट स्रोतले जनाएको छ।

देउवा गत २१ फागुनको आम निर्वाचन अघि नै सिंगापुरतर्फ प्रस्थान गरेका थिए। २०४८ सालदेखि प्रत्येक संसदीय निर्वाचनमा उम्मेदवार बन्दै आएका देउवाले यसपालि भने मतदान गर्न समेत गएनन्। 

निषेधाज्ञा जारी भएको कपिलवस्तुको पछिल्लो अवस्था के छ ?

कपिलवस्तु। जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जिल्लाको महाराजगञ्ज-बर्गदवा क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ। शनिबार मन्दिरमा भजन गाइरहेकै समयमा तोडफोडको घटना भएको र त्यसलाई लिएर हिन्दू तथा मुस्लिम समुदायका युवाबीच तनाव उत्पन्न भएपछि प्रशासनले स्थिति नियन्त्रणका लागि निषेधाज्ञा लागू गरेको हो।

निषेधाज्ञाबारे कपिलवस्तु जिल्लाका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले अहिले स्थिति अन्डर कन्ट्रोल भइसकेको बताए। नेपालवन एचडीसँग भएको कुराकानीमा उनले अहिले हिन्दु समुदायका युवाहरुले एकपक्षीय प्रदर्शन गरिरहेको पनि स्पष्ट पारे। 

‘सुरक्षाको लागि नेपाल प्रहरी र शसस्त्र प्रहरी बल खटिएको भएपनि प्रदर्शनरत पक्षहरु अर्को ठाउँबाट नाराबाजी गरिराख्नु भएको छ- विशेषत: मुस्लिम समुदायको आज इद भएकाले हिन्दु समुदायका युवाहरु मात्रै अहिले प्रदर्शनमा हुनुहुन्छ,’ गौतमले भने, ‘स्थिति सामान्य भइसकेको नभएपनि सुरक्षा स्थिति भने मजबुत बनाएका छौँ। निषेधाज्ञा कहिलेसम्म लम्बिन्छ अहिले भन्न सकिने अवस्था छैन।’ 

प्रशासनले जारी गरेको सूचनामा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३) अनुसार कुनै पनि प्रकारका भेला, सभा, जुलुस तथा भीडभाड पूर्ण रूपमा निषेध गरिएको उल्लेख छ। 

निषेधाज्ञा उल्लंघन गर्नेविरुद्ध कानुन बमोजिम कारबाही हुने चेतावनी पनि सूचनामा उल्लेख छ। निर्धारित सीमारेखाअनुसार पूर्वमा बर्गदी पुल, पश्चिममा बहादुरगञ्ज चौक, उत्तरमा महाराजगञ्ज बजार र दक्षिणमा हर्दौनासम्मको क्षेत्र निषेधाज्ञा अन्तर्गत परेको प्रशासनले जनाएको छ।

रास्वपा सभापति रवि लामिछानेसँग अलिकति पनि राष्ट्रप्रेम छैन : वरिष्ठ अधिवक्ता त्रिपाठी (भिडियो)

काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने अलिकति पनि राष्ट्रप्रेम भएको व्यक्ति नभएको टिप्पणी गरेका छन् ।

रविमा यदि राष्ट्रप्रेम भएको भए उनले अमेरिका जाँदा नेपाली नागरिकता नत्याग्ने तर्क गरे ।

‘जुनबेला मुुलुक संकटमा थियो, नागरिकता त्यागेर विदेशमा जानुभयो । नेपालको नागरिकता त्याग्नुभएको छ,’ उनले रविको आलोचना गर्दै भने, ‘अलिकति पनि राष्ट्रप्रेम भएको व्यक्ति र अलिकति मुुलुकप्रति माया भएको व्यक्तिले आफ्नो नागरिकता त्याग्दैन ।’

अमेरिकी अदालतमा आफूविरुद्ध मुद्दा परेपछि नेपाल आएको र नेपाली नागरिकता पुनः प्रयोग गरी उपप्रधान तथा गृहमन्त्री हुँदा अदालतले उनको पद खारेज गरिदिएको उनले स्मरण गरे ।

ओली सरकारले रविलाई फसाएको भन्ने उनको आरोपलाई वरिष्ठ अधिवक्ता त्रिपाठीले खारेज गरिदिए । उनले भने, ‘अमेरिकी अदालतमा उहाँविरुद्ध मुद्दा छ, के त्यहाँ पनि उहाँलाई फसाएको हो ?’

रविले सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्दामा आफूलाई ओली सरकारलाई प्रतिशोध साँधेर फसाएको आरोप लगाउने गरेका छन् ।

नयाँ सरकारले जातीय विभेद नहुनेगरी काम गर्नुपर्छः अध्यक्ष मगर

काठमाडौं। राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले अब बन्ने सरकारले जातीय विभेद हुन नदिने गरी काम गर्नुपर्ने बताएका छन् । ६१ औँ अन्तराष्ट्रिय जाति तथा रंगभेद उन्मुलन दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।

नयाँ सरकारले दलितको हक अधिकारको संरक्षण, संवद्र्धन र प्रवद्र्धनमा सचेत भएर काम गर्न आवश्यक रहेको अध्यक्ष मगरको भनाई थियो । उनले जातीय विभेद अन्त्यका लागि आयोगले सम्बन्धित सबै पक्षहरु मिलेर काम गरिरहेको दावी समेत गरे ।

‘मानिसकाे मानसिकतामा पनि चेन्ज गर्दै ल्याउनुप¥यो । कानून भएर मात्रै भएन । कार्यान्वयनका लागि राजनीतिक प्रतिवद्धता पनि चाहियो । अब चुनाव भयो । नयाँ पार्टी विजय भएको छ । उहाँहरुको सरकार बन्छ । सरकार बनेपछि उहाँहरुले के गर्नुप¥यो भन्दा कसैले पनि दलितको हक अधिकार संरक्षण गर्न सकिन्छ, संवर्दन प्रवद्र्धन गर्न सकिन्छ उनीहरुको अधिकार कुनैपनि किसिमबाट हनन हुनु भएन भन्ने कुरा गर्नुप¥यो ।’ अध्यक्ष मगरले भने ।

अध्यक्ष मगरले जातीय विभेद अन्त्यका लागि नेपाली समाजको मानसिकतामा नै परिवर्तन ल्याउन जरुरी रहेको पनि बताए।

जलवायु परिवर्तनसम्बन्धी चित्रकला प्रदर्शनी

काठमाडाैं। जलवायु परिवर्तन, लैङ्गिक विभेद, वालविवाह लगायतका समस्यासम्बन्धी चित्रकला प्रर्दशनी आयोजना गरिएको छ । युवा र प्लान ईन्टरनेसनलको संयुक्त सहकार्यमा शनिवार पाटन दबरबार क्षेत्रमा उक्त प्रर्दशनी गरिएको हो ।

प्रदर्शनीमा १६ देखी २९ वर्षसम्मका युवाहरुको ५० भन्दा बढी चित्रकलाहरु प्रदर्शन गरिएको थियो । युवा संस्थाकी प्रजेक्ट कोअर्डिनेटर नविना तिवारीले जलवायु परिवर्तन, लैङ्गिता, बालविवाह लगायतका समस्या र त्यसको समाधान चित्रकलामार्फत उजागर गर्ने उद्कदेश्यले प्रदर्शनी आयोजना गरिएको बताइन्। उनले चित्रकलासँगै कविताहरु पनि वाचन गरिएको जानकारी दिइन् ।

उनकाअनुसार फेब्रुअरी महिनाबाट देशका विभिन्न क्षेत्रका युवाहरुको आर्ट अनलाईन तथा भौतिक रुपमा संकलन गरिएको थियो । सोही संकलन गरेका आर्ट प्रदर्शन तथा कविता शनिवार वाचन गरिएको हो । प्रदर्शनीमा मिथिला आर्ट पनि प्रदर्शन गरिएको थियो ।

‘हामीले युवाहरुवाट १६ देखि २९ वर्षसम्मका अनलाईनबाट आर्ट संकलन गरेका थियौँ, त्यसैपरि भौतिक रुपमा पनि हामीले आर्ट वर्कसपहरु गरेका थियौँ,  फरक फरक ठाउँबाट जलवायु परिवर्तन, लैङ्गिता, वालविवाहका वारेमा आर्टमार्फत जानकारी लिएका थियौँ,’ उनले भनिन्, ‘अनलाईन र भौतिक रुपमा आर्ट संकलन गरेर हामीले यहाँ सोकेश गरेका हौँ । ५० वटा भन्दा बढी आर्टहरु थियो । जनकपूरबाट मिथिला आर्ट पनि यही थिममा रहेर सोकेस गर्नुभएको छ ।’

युवा संस्थाको युथ एक्टिभेस लिडर काउन्सिलमा कार्यरत स्नेहा भट्टले सबैभन्दा ठूलो समस्याको रुपमा रहेको जलवायु परिवर्तनलाई निर्वारणको लागि चित्रकलाबाट वकालत गर्न खोजिएको  बताइन्।

तथ्य र प्रमाणको आधारमा इनिशा विक हत्या घटनाको अनुसन्धान हुन्छ : आईजीपी कार्की (भिडियो)

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले सुर्खेतसहित देशभरका घटनामा कानुनलाई अक्षरशः पालना गर्दै तथ्य र प्रमाणका आधारमा अनुसन्धान गरिने बताएका छन्।

उनले कुनै पनि घटनामा स्थान विशेषलाई प्राथमिकता नदिई पीडित पक्षको हितलाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिए।

कार्कीले भने, ‘सुर्खेत वा कुनै पनि घटनामा हामीले कानुनलाई अक्षरशः पालना गर्दै तथ्य र प्रमाणका आधारमा काम गर्नुपर्ने हुन्छ। त्यसमा हामीले सुर्खेत वा अन्य ठाउँलाई भन्दा पनि पीडिततर्फका राज्यका प्रतिनिधिको इन्गेजमेन्ट, उहाँहरूको निरन्तरको सम्पर्क र आवाज हुनुपर्छ भनेका छौँ।’

उनका अनुसार नेपाल प्रहरी, सरकारी वकिल र न्यायालयबीचको संयुक्त प्रयासबाट कानुनी प्रक्रियालाई बलियो बनाउँदै प्रमाणमा आधारित अनुसन्धान अघि बढाइनेछ।

‘त्यहाँनेर नेपाल प्रहरी, सरकारी वकिल र न्यायालयको संयुक्त प्रयासमा कानुनका विषयवस्तुहरू राख्दै तथ्य र प्रमाणमा आधारित अनुसन्धान हुन्छ। त्यसरी नै प्रहरी परिचालन गरेका छौँ,’ उनले थपे।

इनिशा विकको न्याय खातिर रास्वपा सांसद खगेन्द्र सुनार पनि उत्रिए प्रदर्शनमा (तस्बिरहरू)

काठमाडौं । सुर्खेतकाे वीरेन्द्रनगरकी १६ वर्षीया बालिका इनिशा विककाे बलात्कारपछि भएकाे मृत्यु प्रकरणकाे अनुसन्धान निष्पक्ष ढङ्‍गले गर्न दबाब दिँदै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारसहितले काठमाडौंकाे माइतीघरमा प्रदर्शन गरेका छन् ।

सुनारसहितले  बलात्कारमा संलग्नलाई कडा कारबाहीकाे मागसमेत गरेका छन् । विगत केही दिनदेखि माइतीघरमा दलित अगुवा, अधिकारकर्मी, युवा तथा विद्यार्थीहरुले प्रदर्शन गर्दै इनिसाकाे परिवारलाई न्याय दिन दबाब दिँदै आएका छन् ।

इनिसाकाे गत फागुन तेस्राे साता बलात्कारपछि मृत्यु भएकाे थियाे । घटना लगत्तै उनका प्रेमी भनिएका एक किशाेरसहित तीन जना पक्राउ परेका छन् ।

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीका अनुसार घटनासँग सम्बन्धित तथ्य र प्रमाणका आधारमा घटनाकाे अनुसन्धान भइरहेकाे छ ।

यसबीच प्रहरीमाथि निष्पक्ष छानबिनकाे दबाब बढिरहेकाे छ ।

हेर्नुहाेस् माइतीरमा प्रदर्शनका तस्बिरहरु 

 

 

इरानमाथिको दबाब क्रमिक रुपमा घट्दै जानेछ : ट्रम्प

वाशिङ्टन- डोनाल्ड ट्रम्पले शुक्रबार संयुक्त राज्य अमेरिका इरानमाथि जारी सैन्य आक्रमण क्रमशः घटाउने विकल्पमा विचार गरिरहेको बताएका छन् । ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ साेसलमा भने, ‘हामी हाम्रो उद्देश्य पूरा गर्न निकै नजिक पुगेका छौँ र मध्यपूर्वमा जारी हाम्रो महान सैन्य प्रयासलाई क्रमशः घटाउने विचार गरिरहेका छौँ ।’

ट्रम्पले प्रस्तुत गरेको उद्देश्यहरूमा इरानको मिसाइल क्षमतामा क्षति पुर्‍याउने, रक्षा उद्योग ध्वस्त पार्ने, नौसेना र वायुसेना नष्ट गर्ने, परमाणु क्षमता प्राप्त गर्नबाट रोक्ने र क्षेत्रका अमेरिकी सहयोगीहरूलाई सुरक्षा प्रदान गर्ने समावेश छ । तर ट्रम्पले शान्ति समझौता नचाहे पनि संवादको विकल्प भने खुला राखेका छन् ।

हर्मुज जलमार्ग सम्बन्धमा ट्रम्पले यसलाई प्रयोग गर्ने देशहरूले सुरक्षा सुनिश्चित गर्नुपर्ने बताए, र आवश्यक परे यसमा अमेरिकाले पनि सहयोग गर्ने उनले बताए । यसअघि ट्रम्पले नाटोका सहयोगीहरूलाई पनि ‘कायर’ भनेका थिए र युरोपले यस युद्धमा प्रत्यक्ष भूमिका नलिनेतर्फ संकेत गरेको छ ।

युरोपेली विदेश मामिला अधिकारी काजा कलासले भनिन् “यो युरोपको युद्ध होइन, तर युरोपका हित सिधै जोखिममा छन् ।” गत फेब्रुअरी २८ मा संयुक्त राज्य अमेरिका र इजरायलले संयुक्त रूपमा इरानमाथि आक्रमण गरेपछि विश्वव्यापी ढुवानीमा अवरोध, तेल मूल्य वृद्धि र आर्थिक प्रभाव देखिएको थियो ।

अमेरिकी बम वर्षकले प्रयाेग गर्ने हिन्द महासागरस्थित डिएगाे गार्सियन सैन्य अड्डामा इरानद्वारा क्षेप्यास्त्र प्रहार

अमेरिकाकाे महत्वपूर्ण सैन्य अड्डामा इरानले ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ।

हिन्द महासागरस्थित अमेरिका-बेलायतको संयुक्त सैन्य अड्डा डिएगो गार्सियामा इरानले क्षेप्यास्त्र प्रहार गरेकाे हाे ।

याे अड्डालाई अमेरिकी बम वर्षकले प्रयाेग गर्छन् । सीएनएनका अनुसार अमेरिकी अधिकारीहरूले उक्त हमला स्थानीय समयबमोजिम शुक्रबार बिहान भएको पुष्टि गरेका छन्।

उनीहरूका अनुसार इरानले दुई क्षेप्यास्त्र प्रहार गरेको हो। तर इरानी तटबाट ३ हजार ८१० किलोमिटर टाढा रहेको बेसमा क्षेप्यास्त्र लागेन।

ठूला ट्यांकर विमान जस्तै: केसी-१३५ र निगरानी विमान पनि यहाँबाट सञ्चालन गर्न सकिन्छ।

लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनमा विनोद र पूर्णलक्ष्मी च्याम्पियन

काठमाडाैं। त्रिभूवन आर्मी क्लवका विनोद रोकाया र पूर्णलक्ष्मी न्यौपाने चौथो लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनमा च्याम्पियन भएका छन् ।

लुम्बिनी मन्दिरको प्राङ्गणमा शनिवकार भएको पुरुष म्याराथन (४२.१९५ किलोमिटर) मा विनोद र महिला हाफ म्याराथनमा पूर्णलक्ष्मी च्याम्पियन भएका हुन् । नेपाल ओलम्पिक कमिटी (एनओसी) को आयोजनामा भएको प्रतियोगितामा विनोदले दुई घण्टा १७ मिनेट ५५ सेकेण्ड समय निकाल्दै पहिलो भए । हाफ म्याराथन (२१ किलोमिटर) महिलातर्फ पूर्णलक्ष्मीले एक घण्टा १७ मिनेट १० सेकेन्ड मा दूरी पूरा गर्दै उपाधि जितिन् । उनले १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा स्वर्ण विजेता सन्तोषी श्रेष्ठलाई हराउँदै च्याम्पियन भएकी हुन् । ४२ किलोमिटर म्याराथनमा आर्मीकै खेलाडीले वर्चश्व जमाए ।

आर्मीका सुशीलकुमार शाही र नरेन्द्रसिंह राउत क्रमशः दोस्रो र तेस्रो भए । सुशीलकुमार दुई घण्टा १८ मिनेट १६ सेकेण्ड र नरेन्द्रसिंहले दुई घन्टा १९ मिनेट ५८ सेकेण्ड समय निकाले । चिनका वाङ ची (२.२१ः०५ सकेण्ड) चौथो, केन्याका जुलियस वाकोमे (२.२३.०० सकेण्ड) पाँचौँ, दलबहादुर कुुँवर (२.२४.०७ सकेण्ड) छैटौं, इशाह नुन्गु (२.२५ः४२ सकेण्ड) सातौं, कुलबहादुर बस्नेत (२ः२८.१७ सकेण्ड) आठौं, हरि रिमाल (२.२९ः२० सकेण्ड) नवौं र कर्णबहादुर रोकामगर (२ः३४.२० सकेण्ड) दशौं स्थानमा रहे ।

हाफ म्याराथन महिलामा सन्तोषी श्रेष्ठ एक घण्टा १८ मिनेट ४० सेकेण्डसहित दोस्रो स्थानमा नै सिमित भइन् । उनी यसअघि दोस्रो र तेस्रो संस्करणको च्याम्पियन हुन् । निशा शर्की एक घन्टा १९ मिनेट १९ सेकेन्डका साथ तेस्रो भइन् ।
महिलातर्फ सुनसरी रोकाया एक घण्टा २१ मिनेट ४६ सेकेण्डसहित चौथो, चीनकी रुवान शेइङ एक घण्टा २२ मिनेट ३८ सेकेण्डसहित पाँचौं तथा कल्पना बुढा एक घण्टा २५ मिनेट ७ सेकेण्डसहित छैटौं स्थानमा रहिन् ।

पुरुष म्याराथनमा विजेता विनोदले तीन लाख ५० हजार, दोस्रो भएका सुशीलले दुई लाख ५० हजार र तेस्रो नरेन्द्रले एक लाख ५० हजार रुपैयाँ पुरस्कार पाए । हाफ म्याराथनमा शीर्ष १० स्थानमा रहने धावकले क्रमशः एक लाख, ८० हजार, ६० हजार, ४० हजार, २० हजार १० हजार र ५ हजार रुपैयाँ पाए ।

भेट्रान्स पाँच किमी दौडमा धर्म महर्जन पहिलो भए । रामचन्द्र श्रेष्ठ दोस्रो र रेवतबहादुर दाहाल तेस्रो भए । पुरुष पाँच किलोमिटर खुला दौडमा नेपाल पुलिस क्लबका नागेश्वर अहिर पहिलो, आर्मीका रुपेश कार्की दोस्रो र भारतका प्रिन्स निसाद तेस्रो भए । पाँच  किलोमिटर दौड गल्र्समा दीपशीखा शाही, स्वस्तिका शाही र अन्तिमा बुढा शिर्ष तीन स्थानमा रहे । पाँच  किलोमटर ब्वाइजमा युवराज बुढाले पहिलो, रमेश बुढाले दोस्रो र अरविन्दकुमार यादवले तेस्रो स्थान प्राप्त गरे । म्याराथनकै अवसरमा तीन किलोमिटर वाकाथन पनि आयोजना भयो । पिस म्याराथन नेपाल ओलम्पिक कमिटीको आयोजना तथा चिनिया राजदूतावासको सहयोगमा भएको हो । विजेतालाई नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठ र लुम्बिनी पिस म्याराथनका संयोजक अशोक वज्राचार्यलगायतले नगद पुरस्कार प्रदान गरेका थिए ।

प्रतियोगितामा भारत, चीन र केन्याका खेलाडीहरूको सहभागिता रहेको थियो । शान्ति र एकताको सन्देश फैलाउने उद्देश्यले आयोजना गरिएको उक्त म्याराथनले खेलकुदमार्फत अन्तर्राष्ट्रियस्तरमा नेपालको पहिचान प्रवद्र्धन गर्ने आयोजकले जनाएको छ ।

मानव मर्यादा र आत्मसम्मान नै आधुनिक समाजको आधारः प्रहरी महानिरीक्षक कार्की

काठमाडाैं। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले २१ औँ शताब्दीको आधुनिक समाजमा पनि जाति र रङ्गभेदका कुरा गरिरहनुपर्ने अवस्था दुःखद् रहेको बताएका छन्।  अन्तर्राष्ट्रिय जातीय तथा रङ्गभेद उन्मूलन दिवसको अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले मानिसको ‘इनहेरेन्ट डिग्निटी’ (अन्तर्निहित मर्यादा) र आत्मसम्मान नै सबैभन्दा महत्वपूर्ण कुरा भएको उल्लेख गरेका हुन् ।

महानिरीक्षक कार्कीले सुरक्षालाई केवल भौतिक सुरक्षाको रूपमा मात्र नहेरी ‘मानवीय सुरक्षा’ को वृहत रूपमा बुझ्नुपर्नेमा जोड दिए । उनकाअनुसार भ्रुणको रक्षादेखि बालबालिकाको पोषण, शिक्षा, स्वास्थ्य र सर्वाङ्गीण सुरक्षाको प्रत्याभुति गर्नु राज्यको मूल दायित्व हो । उनले कानूनमा व्यवस्था भएपनि त्यसको व्यावहारिक कार्यान्वयनका लागि व्यक्ति, संस्था र समग्र राज्य संरचना नै जिम्मेवार हुनुपर्ने बताए।

‘आजको २१ औँ शताब्दीमा २०८२ सालमा, २०२६ मा आएर हामीले फेरि पनि जाति, रङ्गभेदका कुराहरू गरिराख्नुपर्ने अवस्थाको छिट्टै नै यसलाई अन्त्य हुनुपर्छ भन्नेमा सबैको ऐक्यवद्धताका साथै अब दायित्व सिर्जना भएको छ, मानव–मानवको इनहेरेन्ट डिग्निटीको रक्षा गर्नुपर्ने मुलुकको मूल दायित्व हो,’ कार्कीले भने, ‘त्यसमा यसका संरचनामा रहेका सम्पूर्ण निकायहरू मुलुकको संविधानले प्रत्याभूत गरेका कुराहरू, त्यसपछाडि बन्ने कानुनहरूमा पनि प्रत्याभूत हुनुपर्ने कुराहरूलाई समेटेर यो प्रभावकारी परिचालनका कुराहरू छ।’

प्रहरी महानिरीक्षक कार्कीले दलित समुदायको न्यायमा पहुँच सुनिश्चित गर्न राज्यका संरचनाहरूमा रहेका ‘बोटलनेक’ (अवरोध) हरू खुला गर्नुपर्ने बताए। न्यायमा पहुँचको कुरा गर्दा संस्कार, संस्कृति, शिक्षा र व्यवहारगत पक्षहरूमा सुधार ल्याउनुपर्ने उनको तर्क छ । महानिरीक्षक कार्कीले प्रहरी पनि समाजकै संरचनाबाट बनेको हुनाले कानून कार्यान्वयनमा सकारात्मकता ल्याउनु जरुरी रहेको उल्लेख गरे ।

‘केही शिक्षाका कुरा र केही व्यवहारगत कुराहरूमा इन्डिभिजुअल व्यक्तिले गर्नुपर्ने, समूहले गर्नुपर्ने, त्यस्तै विभिन्न सांस्कृतिक रूपमा पनि सोच्नुपर्ने र राज्यले पुनर्संरचना गर्दै गर्दा अब नयाँ बन्ने जुन पार्लियामेन्टबाट त्यसतर्फ पनि ध्यान दिनुपर्ने, खासखास ठाउँमा ध्यान दिनुपर्ने, सम्बोधन गर्ने बोटलनेकहरू खुला गर्नुपर्ने लगायतका कुराहरू छन्, जसमा अब हामीले सम्बोधन होला भन्ने अपेक्षा गर्छौँ र हामीलाई पनि त्यसरी काम गर्ने वातावरण पनि पुलिसको कुरा गर्दाखेरि पुलिस पनि समाजको संरचनाबाट बनेकै हुँदाखेरि त्यहाँनेर सबैले हामीले कानुन कार्यान्वयन गर्ने कुरामा पोजिटिभिटी ल्याउँदाखेरि चाहिँ एकैचोटी सम्बोधन हुनसक्छ’ उनले भने ।

न्यायको पहुँचका लागि नयाँ बन्ने कानून र संसदले पनि विशेष ध्यान दिनुपर्ने उहाँले औँल्याउनु भयो । राज्यका खास–खास ठाउँमा पुगेका व्यक्तित्वहरूले आफ्नो कर्म र व्यवहारबाट समानताको उदाहरण पेश गर्नुपर्नेमा उहाँको जोड थियो । शिक्षाको पाठ्यक्रम निर्माण गर्दा नै नागरिकलाई समानता, न्याय र पहुँचका कुराहरू सिकाउनुपर्ने उहाँको सुझाव छ ।

रात अनिँदो छ !

रात अनिँदो छ !
~
पहेँला आँखा पल्टाएर सूर्य गएपछि
काला आँखा उघारेर आउँछ रात

आउँछ, सिठी बजाउँदै भ्यानमा तैनाथीमा
सटर बन्द हुँदै गरेको बजारसंगै आउँछ रात ।

निभ्दै गरेको सहरको विद्युतीय बत्ती झैँ
झिप्प-झिप्प,गर्दै झाप-झुप झ्याल र ढोकाको चुकुल लगाउँदै आउँछ रात

रात आउँछ,सुनसान हुँदै गरेको सडकको बाटो भएर
थाकेर भुक्न छाडेका भुसिया कुकुरहरूलाई थाहा नदिई

रात आउँछ,बिस्तारै-बिस्तारै
काला आँखा उघारेर आउँछ रात ।
~
यी रातहरूमा रात जागै बस्छ
सुन्धारामा ठिङ्ग उभिएको धरहराको छेउमा
धरहरासँगै

रानीपोखरी हेरिरहेको घण्टाघरसँग आँखा जुधाउँदै
जुगलसँग जुवारी खेल्दै

चिया बगानमा सुस्तरी सुस्तरी ओलाङचुङ्गोलाका खोचका कसैसँग साउती मार्दै
~
रातसँग तमन्ना केही छैन
बस् रातमा,रात आफ्नो छातीमा जूनलाई सुताएर
छाती थपथपाउँदै जुन निदाएको हेर्ने प्रतीक्षामा प्रतिबद्ध छ ।

जून भने,
प्रतीक्षामा रातसङ्ग जुन हुँदैन
जून कला देखाउँदै कालान्तरमा कलातीत भइदिन्छ

रात जून आउने रातको प्रतीक्षामा
रात पर्खेर बस्छ रातभर,

रात,आँखा मिच्दै मिच्दै अधेरी रातमा
प्रतीक्षारत हुन्छ रातभर ।
~
हँ,रात के खोज्दै होला रातभर ?
स्वयम्भूको डाँडा माथिबाट छाउनीका छानातिर

रात के खोज्दै होला रातभर ?
कंकालीको टुप्पाबाट काठमाडौँको गल्लीहरूमा

बानेश्वर अनामनगरका सडक पेटीदेखि संसद भवन र सिंहदरबारबाट भित्र चिहाउँदै,
रात कसलाई खोज्दै होला रातभर ?

देखिन्छ,आइफिल टावरका टुप्पाबाट सुतिरहेको सहर
रात देख्छ,सगरमाथाका शिरबाट घुरिरहेको देश
~

रात,बिहान कसैलाई जागेको हेर्ने आशामा
रात स्वस्थानीको साङ्गेको रात झैँ जाग्रम बसिरहन्छ रातभर ।

रात,बस जागा बसिरहन्छ
कसैलाई नजगाइकन
रातभर’ रात जागा बसिरहन्छ
~
रात हिँड्छ लुखुर-लुखुर
बालाजु,बसपार्क,चक्रपथ रिंगरोडका चौडा सडकहरुमा
दिनभर टायरका सुम्लाले सुन्निएको सडकको शरीर सुम्सुम्याउँदै

दौडन्छ;दिनभर दौडेर थाकेको माछापोखरी;बसुन्धराको सुनसान
बेबारिसे चोकलाई हालखबर सोध्दै,
~
रात, स्वागत गर्छ,साँगाका नाकाबाट भित्रिँदै गरेका गाडीलाई
थानकोटको बाटोबाट निस्कँदै गरेका मान्छेहरुलाई

रात,आउनेको स्वागतमा बाहु फैलाउँछ
जानेको विदाईमा हात हल्लाउँछ।
~
रात,पशुपतिका धर्मशालामा स्लपिंङ पिल्स खाएर,
लम्पसार सुतिरहेको सहरलाई  बस चुपचाप हेरिरहन्छ ।

सबैसँग भएर पनि एक्लै हुन्छ रात
सबैलाई देख्ने रातलाई कसैले देख्दैन बिचरा !
यस्तै-यस्तै
सबैलाई हेर्दैहेर्दै सारा रात दौडिरहन्छ रातभर

गन्तव्य निश्चित नभएपनि निद्रा लागेपनि रात
सुत्दैन,हिँडिरहन्छ रातभर
भौतारी रहन्छ रातभर
~
बिहान कसैलाई जागेको हेर्ने आशामा
रातले बस आँखा उघारेर हेर्न जानेको छ,
आँखा चिम्म गरेर सम्झन जानेको छ,
आँखा खोलेर रुन जानेको छ ।
~
चोभार काटे झै मञ्जुश्रीले
रातले बस् एक्लै पर्खाईमा रात काट्न जानेको छ

रात,चुपचाप रोइरहन्छ रातभर।
बस रातले अधेरी रातमा रुन जानेको छ।

कसैलाई जागेको हेर्ने आशामा अनिँदो छ रात,
लाखौं वर्षौंदेखि

सुतेको छैन रात लाखौं रातदेखि

रात अनिँदो छ ।

माैसमी प्रणाली कमजाेर बन्दै, आज बेलुकादेखि वर्षा राेकिने सम्भावना

काठमाडौं। माैसम पूर्वानुमान महाशाखाले बितेका २४ घण्टामा देशका अधिकांश भूभागमा मेघगर्जन/चट्याङ, असिना तथा हुरीबतासहित वर्षा भएको जनाएको छ।

महाशाखाका अनुसार हाल लुम्बिनी, गण्डकी, बागमती, मधेस र कोसी प्रदेशका विभिन्‍न स्थानमा वर्षा भइरहेको छ।

महाशाखाले आमनागरिकलाई सचेत गराउँदै यो  माैसमी प्रणाली क्रमश: पूर्वतिर सर्ने क्रममा छ र उक्त प्रणाली आज बेलुकादेखि क्रमिक रूपमा कमजोर हुँदै जाने सम्भावना रहेकाे जानकारी दिएकाे छ ।

शुक्रबारदेखि  सक्रिय पश्चिमी न्यून चापीय प्रणालीका कारण बितेका २४ घण्टामा देशकाे ठाउँठाउँमा मेघगर्जन/चट्याङ, असिना तथा हुरीबतासहित वर्षा भइरहेकाे छ ।

मध्यपूर्वमा भौतिक क्षतिभन्दा मानसिक त्रास बढी छः प्रवक्ता सापकोटा

काठमाडाैं। हाल मध्यपूर्वमा भइरहेको द्वन्द्वका कारण नेपालीहरुमा मानसिक त्रास बढ्दो क्रममा रहेको छ ।  मध्यपुूर्वमा भौतिक क्षतिभन्दा मानसिक त्रास बढी रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रवक्ता सोमनाथ सापकोटाले जानकारी दिए । उनकाअनुसार बद्दो मानसिक त्रासका कारण स्वदेश फर्किन चाहने नेपालीहरुको संख्या पनि बढ्दो रुपमा रहेको छ ।

यस क्षेत्रमा २० लाख भन्दा बढी नेपाली श्रमिकहरु कार्यरत रहेका छन् । नेपाल सरकारले नेपाल फर्किन चाहने नेपाली श्रमिकहरुलाई राजदुतावासले उपलब्ध गराउने फारम भर्न अनुरोध गरेको छ ।  हाल पाँच सय भन्दा बढीले नेपालमा फर्किन चाहेको प्रवक्ता सापकोटाले बताए। नेपाल फर्किन चाहेका श्रमिकहरुसँग खर्च अभाव देखिएको उनको भनाई छ । उनले नेपाल फर्किन चाहेका र खर्च नभएको नेपालीहरुको उद्धारका लागि संघले ‘वैदेशिक रोजगार कल्याणकारी कोष’ स्थापना गरेको जानकारी दिए। सोही कोषमार्फत उद्धारको तयारी भइरहेको उनको भनाई छ ।

संघको १२ औँ महाधिवेशन सम्पन्न भएपछि बसेको विस्तारित बैठकले ५ करोड रुपैयाँको कोष स्थापना गर्ने निर्णय गरेको हो । उक्त कोषलाई बढाएर १० करोड रुपैयाँसम्म पु¥याइने लक्ष्य राखिएको उनले जानकारी दिए। उनले कोषको रकम उद्धारको साथै श्रमिकहरुको सुरक्षाको लागि खर्च गरिने बताए।

साथै, तेस्रो मुलुक जानको लागि मध्यपूर्वमा ट्रान्जिट भइ अलपत्र परेका नेपालीहरुको व्यवस्थापनमा खर्च गरिनेछ । प्रवक्ता सापकोटाकाअनुसार हालसम्म मध्यपूर्वको द्वन्द्वमा परि दुई नेपालीको मृत्यु भएको छ । धेरै नेपालीहरु असुरक्षा महशुस गरिरहेका छन् । असुरक्षित महशुस गरेका नेपालीको उद्धारको लागिक परराष्ट्र मन्त्रालयसहित नेपाल सरकारका निकायहरूसँग समन्वय गरेर संघले उद्धार टोली परिचालन गरेको उनले जानकारी दिए । उक्त टोलीमा एनआरएनएको अन्तर्राष्ट्रिय समन्वय परिषद्, राष्ट्रिय समन्वय परिषद् र अन्य सरोकारवाला निकायका प्रतिनिधिहरू सहभागी छन् ।

‘यो अफ्ठ्यारो परिस्थितिमा मध्यपूर्वका देशमा २० लाख नेपालीहरु वैदेशिक रोजगारमा हुनुहुन्छ, सबै देशमा गैरआवासीय नेपाली संघका राष्ट्रिय परिषद्हरु पनि छन्, १२ औँ महाधिवेशन सम्पन्न भईसकेपछि हामीले वर्तमान अवस्थामा महत्वका साथ सरकारलाई सहयोग गर्दै त्यहाँ भएका नेपालीहरुको समस्या समाधानमा हामी एकजुट भएका छौँ,’ प्रवक्ता सापकाेटाले भने, ‘हामीले हालैको विस्तारित बैठकबाट वैदेशिक रोजगार कल्याणकारी कोषको स्थापना गरेका छौँ । कोषको माध्यामबाट त्यहाँ रहेका नागरिकहरुको उद्धारदेखि आवश्यक सहयोग गर्नेछौँ।’

प्रवक्ता सापकोटाले मध्यपूर्वमा हाल बाहिर फैलिएको जस्तो भयावहको स्थिति नभएपनि युद्धले आगामी दिनमा लिने रुप भने यकिन गर्न कठिन रहेको बताए ।

बसको ठक्करबाट काठमाडौंमा दुई भारतीयको मृत्यु

काठमाडौं । बसको ठक्करबाट काठमाडौंको भोटेबहालमा दुई भारतीय नागरिकको मृत्यु भएको छ ।

कालिमाटीबाट त्रिपुरेश्वरतर्फ आउँदै गरेको ओमजनता यातायातको ठक्करबाट भारतीय नागरिक ४५ वर्षीय पदम उपाध्याय र ३७ वर्षीय सतिशकुमार कुसवाहको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले बताए ।

उनका अनुसार बागमती प्रदेश-३-०१-००५ ख ९२९८ नम्बरको बसको ठक्करबाट गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि0 राष्ट्रिय ट्रमा सेन्टरमा पुर्‍याइएको थियाे । तर दुवै जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक सुवेदीले बताए ।

बसचालक ३५ वर्षीय मानबहादुर बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ । उनी दाेलखाकाे भएकाे प्रहरीले जनाएकाे ५ ।

२४ घण्टामा विपदका ३६ घटना, १ को मृत्यु

काठमाडौं ।गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो २४ घण्टाको विवरणअनुसार देशका विभिन्‍न ३० जिल्लामा ३६ वटा विपद्का घटनाहरू भएका छन् ।

चैत ६ गते बिहान १० बजेदेखि ७ गते बिहान १० बजेसम्मको अवधिमा भएका यी घटनाहरूमा परी एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।

पछिल्लो २४ घण्टामा सबैभन्दा बढी चट्याङका घटनाहरू भएका छन् । ९ जिल्लामा भएका १० वटा चट्याङका घटनामा परी १० जना घाइते भएका छन् ।

त्यस्तै ७ जिल्लामा भएका ७ वटा आगलागीका घटनामा २ जना घाइते भएका छन् । लेक लागेर २ जिल्लामा २ वटा घटना भएका छन् । जसमा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । यसका साथै अविरल वर्षा, पहिरो, हावाहुरी र जनावर आक्रमणका घटनाहरू पनि दर्ता भएका छन् ।

विपद्का यी घटनाहरूबाट ठूलो मात्रामा भौतिक तथा आर्थिक क्षति भएको छ । प्राधिकरणकाअनुसार पछिल्लो २४ घण्टामा करिब ३० लाख ८६ हजार रुपैयाँ बराबरको अनुमानित आर्थिक क्षति भएको छ ।

यसै अवधिमा ३० वटा चौपायाको समेत क्षति भएको विवरण प्राप्त भएको छ । उद्धार र राहतका लागि देशभर १ सय ७७ जना प्रहरी जनशक्ति परिचालन गरिएको थियो ।

२०८२ वैशाख १ गतेदेखि चैत ७ गतेसम्मको समग्र तथ्यांक हेर्दा नेपालमा विपद्का घटनाहरू भयावह देखिएका छन् । यस अवधिमा कुल ७ हजार १ सय ४० वटा विपद्का घटनाहरू भएका छन् ।

जसमा परी ४ सय ७९ जनाले ज्यान गुमाएका छन् । तथ्यांकअनुसार ३८ जना अझै बेपत्ता छन् भने १ हजार ८ सय ७० जना घाइते भएका छन् ।

विगत एक वर्षमा आगलागीका ३ हजार ४ सय ४३ घटना भएका छन् । जसबाट १०२ जनाको मृत्यु भएको छ । त्यसतै सर्पदंशका ५ सय ९६ घटनाबाट ९८ जनाको मृत्यु भएको छ ।

त्यस्तै   पहिरोका ६०१ घटनाबाट ७४ जनाको मृत्यु भएको छ । जनावर आक्रमणका ४ सय ९५ घटनाबाट ५५ जनाको मृत्यु भएको छ भने चट्याङका ३ सय ९३ घटनाबाट ४७ जनाको मृत्यु भएको छ ।

विगत एक वर्षमा बाढीका ३ सय २० घटनाबाट ३८ जनाको मृत्यु भएको छ । यस अवधिमा कुल १२ हजार ९ सय ९४ परिवार विपद्का घटनाबाट प्रभावित भएका छन् ।

इनिशा विकको बलात्कारपछि हत्याको विरोध गर्दै माईतीघरमा आज पनि प्रदर्शन

काठमाडाैं। इनिशा विकको सामुहिक बलात्कारपछि भएको विभत्स हत्याको विरोधमा आज पनि काठमाडौंको माईतीघर मण्डलामा प्रदर्शन गरिएको छ ।

अधिकारकर्मी र सर्वसाधारणको सहभागितामा उक्त प्रदर्शन गरिएको हो । उनीहरुले दोषीलाई कडाभन्दा कडा कारबाही गर्न र महिला हिंसा अन्त्य गर्न माग गरेका छन् । प्रदर्शनकारीहरुले ‘इनिशालाई न्याय देउ’, ‘बलात्कारीलाई फाँसी देउ’, ‘महिला सुरक्षाको ग्यारेन्टी गर’ जस्ता नारा लेखिएका प्लेकार्डहरु बोकेका थिए ।

प्रदर्शनमा सहभागी अधिकारकर्मीहरुले राज्यले महिला र बालबालिकाको सुरक्षामा ध्यान दिन नसकेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

सांसदको सूचीमा नपरेपछि कलाकारितामै फर्किए प्रकाश सपुत

काठमाडौं। गायक प्रकाश सपुत कलाकारितामै फर्किएका छन्। शनिबार उनले सामाजिक सञ्जाल फेसबुकमार्फत स्टाटस लेख्दै पुनः कलाकारिता क्षेत्रमा सक्रिय हुने निर्णय सार्वजनिक गरेका छन्।

स्टाटसमा सपुतले लेखेका छन्, ‘अब म ढुक्कसँग जनतालाई मनोरञ्जन दिन चाहन्छु। मेरो बाल मन-मष्तिष्कले बोकिएको सामाजिक तथा राजनीतिक चेतको भारी बिसाएर केवल इन्टरटेनेर बन्ने चाहना छ। म समाज र राज्यको नजरमा एक सामान्य मान्छे भएर बाँच्न चाहन्छु।’

सपुत राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक सूचीमा प्रस्तावित भए पनि अन्तिम चरणमा परेनन्। उनले चुनावमा होमिनु देशका लागि पाँच वर्ष समर्पित गर्ने मनसायसँग भएको बताए पनि सूचिबाट बाहिरिनु प्रति कुनै गुनासो नरहेको बताएका छन्।

यस्तै, उनले रास्वपाका सभापति रवि लामिछानेले पार्टीमै रहेर देशका लागि योगदान गर्न गरेको प्रस्तावको स्मरण गर्दै धन्यवाद व्यक्त गरेका छन्। तर उनले लामिछानेलाई ‘अब साँच्चिकै देश बन्ने अनुभूति दिलाउने गरी काम गर्न’ सुझाव दिएको समेत उल्लेख गरेका छन्।

सपुत केही समयअघि मात्रै रास्वपा प्रवेश गरेका थिए।  उनलाई रास्वपाले समानुपातिक उम्मेदवार को सूचीमा पनि राखेको थियो।  २१ फागुनमा सम्पन्न भएको निर्वाचनबाट समानुपातिक तर्फा ५७ सांसद पाएको रास्वपाको अन्तिम सूचीमा भने सपुत परेका थिएनन्। 

६१ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसः माइतीघरमा ध्यानाकर्षण सभा

काठमाडाैं। समान हक र समान अवसरका लागि एकीकृत आन्दोलन, समाजवादको आधार निर्माणका लागि संविधान संशोधन भन्ने मूल नाराका साथ शनिवार काठमाडौंको माईतीघरमा ६१ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवस मनाइएको छ ।

संयुक्त राजनीतिक दलित संघर्ष समितिको आयोजनामा भएको उक्त ध्यानाकर्षण सभामा दलित समुदायका अधिकारकर्मी, राजनीतिक नेता र नागरिक समाजका प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो । हरेक वर्ष मार्च २१ मा विश्वभर जातीय विभेद विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइन्छ, जसले समानता र न्यायको आवाजलाई बुलन्द पार्दै आएको छ । नेपालको संविधानले जातीय विभेदलाई दण्डनीय अपराध माने पनि व्यवहारमा अझै पनि छुवाछुत र उत्पीडनका घटनाहरू कायमै छन् ।

यो दिवसले हामीलाई हाम्रो अधिकारका लागि निरन्तर लड्न प्रेरणा दिन्छ । सन् १९६० मार्च २१ मा दक्षिण अफ्रिकाको शार्पभिलमा रंगभेद विरुद्धको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले अन्धाधुन्ध गोली चलाउँदा ६९ जनाको मृत्यु भएको थियो । सोही दुःखद् घटनाको स्मरणमा संयुक्त राष्ट्र संघले सन् १९६६ मा मार्च २१ लाई अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसको रूपमा घोषणा गरेको हो । नेपालमा पनि यो दिवसलाई दलित अधिकार र सामाजिक न्यायको महत्वपूर्ण कडीको रूपमा मनाइँदै आएको छ ।

युएईको शहरमा ठुलो आक्रमण गर्ने इरानको चेतावनी

एजेन्सी- इरानले संयुक्त अरब इमिरेट्स (यूएई) को रस अल-खैमाह सहरमा ‘निर्णायक शक्ति’ले आक्रमण गर्ने धम्की दिएको छ।

फारसका दुई खाडी द्वीपका विषयमा यूएईसँग लामो समयदेखि जारी विवादका बिच इरानले हमलाको चेतावनी दिएको हो।

इरानको सरकारी सञ्चारमाध्यमले टेलिग्राममा प्रकाशन गरको सन्देशमा इरानी सशस्त्र सेनाका प्रवक्ताले भनेका छन्, ‘अबु मुसा र ग्रेटर टुन्ब टापुहरूमा कुनै पनि नयाँ आक्रमण भएमा युएईले त्यो सहरमा आक्रमण गर्नेछ।’

दुवै टापु दशकौँदेखि इरानको नियन्त्रणमा छन्।

फारसको खाडीमा अवस्थित ती टापु  रणनीतिक रूपमा महत्त्वपूर्ण मानिन्छन्।

यूएईले दुवै टापु आफ्नो भएको दाबी गरिरहेको छ। 

 

इरानसँगको युद्ध छिट्टै अन्त्य गर्ने ट्रम्पको दाबी

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुनः इरानसँग जारी युद्ध छिट्टै अन्त्य गर्ने संकेत दिएका छन्। आफ्नै सामाजिक सञ्जाल प्लाटफर्म ट्रुथ सोसलमा लेखिएको सन्देशमा उनले मध्यपूर्वमा इरानी आतंकवादी शासन विरुद्ध सञ्चालित प्रमुख सैन्य कारबाही लक्ष्यप्राप्तिका नजिक पुगेकाले क्रमशः रोक्ने तयारी भइरहेको दाबी गरेका छन्।

ट्रम्पले युद्ध अन्त्यको प्रसङ्गसँगै रणनीतिक हर्मुज स्ट्रेटको विषयसमेत जोडेर भनेका छन्- ‘यस मार्ग प्रयोग गर्ने राष्ट्रहरूले यसको सुरक्षाको जिम्मेवारी लिनुपर्छ।’ विश्वको करिब २० प्रतिशत तेल आपूर्ति यही मार्ग हुँदै हुने हुँदा यसको स्थायित्व अन्तर्राष्ट्रिय चासोको विषय बनेको छ।

उनका अनुसार अमेरिका आवश्यक परे सम्बन्धित मुलुकलाई स्ट्रेटको सुरक्षा प्रयासमा सहयोग गर्न तयार छ, तर इरानी खतरा समाप्त भएपछि त्यस्तो आवश्यकता रहने छैन। यस्तै, उनले इरानको क्षेप्यास्त्र क्षमता “पूर्ण रूपमा नष्ट” भइसकेको तथा यसको सैन्य औद्योगिक संरचना गम्भीर रूपमा क्षतिग्रस्त भएको दाबी पनि गरे।

ट्रम्पले इरान कहिल्यै आणविक हतियार विकासको नजिक नआओस् भन्ने कुरा सुनिश्चित भएको बताए पनि भित्रि विवरण भने भिन्न देखिन्छ। सीबीएसले उद्धृत गरेको अमेरिकी सैन्य अधिकारीहरूको भनाइअनुसार, इरानमा सम्भावित स्थलसेना तैनाथीका लागि व्यापक तयारी भइरहेको छ। पेन्टागनका वरिष्ठ अधिकारीहरूले यस्तो कदमका लागि योजनाबद्ध प्रस्ताव अघि सारिरहेको रिपोर्टमा उल्लेख छ।

गत फेब्रुअरी २८ मा अमेरिका–इजरायलले संयुक्त हवाई आक्रमण गरी इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनी लगायतका शीर्ष व्यक्तिहरूको हत्या गरेयता स्थिति झन् तनावपूर्ण बनेको छ। मानवअधिकारसम्बन्धी समाचार संस्था एचआरएएनएका अनुसार इरानमा हालसम्म ३,१८६ जनाको मृत्यु भइसकेको छ।

यसबीच, इरानका सुरक्षा संरचनाका महत्वपूर्ण व्यक्तित्व- सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी र इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सका प्रवक्ता अली मोहम्मद नैनीसमेत मारिइसकेका छन्। बढ्दो तनावबीच युद्ध वास्तवमै अन्त्यतर्फ उन्मुख छ कि अझ व्यापक द्वन्द्वतर्फ फैलिँदैछ भन्ने प्रश्नले अन्तर्राष्ट्रिय चिन्ता थप बढाएको छ।

अनेरास्ववियु पूर्वअध्यक्ष बडालको आरोप : ‘नेविसंघको कार्यगत स्वायत्तताको बहसले विद्यार्थी आन्दोलनको चरित्रमाथि प्रश्न उठायो’

काठमाडौं। अनेरास्ववियुका पूर्व अध्यक्ष तथा नेकपा एमालेका केन्द्रीय सदस्य समिक बडालले नेपाल विद्यार्थी संघ (नेविसंघ) ले हालै उठाएको ‘कार्यगत स्वायत्तता’ सम्बन्धी बहसले देशको विद्यार्थी आन्दोलनको मूल चरित्रबारे पुनः प्रश्न खडा गरेको बताएका छन् । सार्वजनिक रूपमा स्वायत्तताको माग गरिए पनि संगठनभित्र पुरानै संरचना र नेतृत्व निरन्तरताको अभ्यास कायम रहेको भन्दै आलोचना बढ्दै गएको उनको भनाई छ ।

उनकाअनुसार मिडियामा देखिने निर्णयभन्दा फरक वास्तविकता क्याम्पसस्तरमा अनुभव गर्न सकिन्छ र विद्यार्थीहरूको प्रत्यक्ष सहभागिता र अनुभूति नै संगठनको वास्तविक अवस्थाको मापन हुने बताइन्छ। ‘स्वायत्तताको भाषण र व्यवहारबीचको विरोधाभासले आन्दोलनलाई सुदृढ पार्नुको सट्टा कमजोर बनाउने जोखिम बढाएको छ,’  बडालले समाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।

नेविसंघ र अनेरास्ववियुलाई लामो समयदेखि देशका प्रमुख राजनीतिक दलहरूको नेतृत्व उत्पादन गर्ने ‘नर्सरी’ का रूपमा हेरिएपनि पछिल्लो समय २५-३० वर्ष उमेर समूहका सक्षम, इमानदार र विचारशील युवाहरू नेतृत्वमा उदाउन नसकेको र यसले केवल विद्यार्थी राजनीति मात्र होइन, समग्र राष्ट्रिय राजनीतिमा असर पार्ने उनको बुझाई छ । ‘हामी नेतृत्व उत्पादन गर्ने कारखाना हौं, पद बाँड्ने थलो होइनौं भन्ने सोच विकास गर्न जरुरी छ,’ उनले भनेका छन्।

हिजो मात्रै नेविसंघले आफू कांग्रेसको भ्रातृ संगठनका रुपमा नरही स्वायत्त संगठनका रुपमा रहने निर्णय गरेको थियो। 

‘फेवातालको किनारबाट सिंहदरबारलाई अल्टिमेटमः ‘भाषणको रेल होइन, बाँच्ने आधार चाहियो’

फेवातालको कञ्चन पानीमा माछापुच्छ्रेको छायाँ त देखिन्छ, तर त्यही तालको किनारमा भेटिने आम नागरिकका आँखामा भने भविष्यको छायाँ अझै धमिलो छ । निर्वाचनको उत्सव सकिएको छ, विजयका गुलालहरू पखालिइसकेका छन् र अहिले काठमाडौंका गल्लीहरूमा नयाँ सरकार गठनको रस्साकस्सी चलिरहेको छ । तर पोखराका गल्ली, चोक र चौतारीहरूमा भेटिने सर्वसाधारणका कुरा सुन्दा लाग्छ- उनीहरूको उत्साहभन्दा बढी ‘अन्तिम आशा’ जीवित छ । वर्षौँदेखि आश्वासनका पोकाहरू बोकेर घरदैलोमा आउने नेताहरू र सत्ताको कुर्सीमा पुगेपछि बदलिने उनीहरूको चरित्रबाट पोखरेली जनता यसरी थाकिसकेका छन् कि अब उनीहरूलाई भाषण होइन, परिणाम चाहिएको छ ।

बलबहादुरको १८ औँ भोट र एउटा हजुरबुबाको सपना

८४ वर्षको उमेर । चाउरिएका गाला र जीवनका धेरै उतारचढावका रेखाहरू प्रष्ट देखिने अनुहार । पोखराको एउटा कुनामा भेटिएका बलबहादुर नेपालीको कथा कुनै राजनीतिक दस्तावेजभन्दा कम छैन ।

‘मैले १८ पटक भोट दिएँ बाबु ! काँग्रेसमा हुर्किएँ, माओवादीलाई पनि हेरेँ । तर जति पटक भोट हाले पनि गरिबको भलो भएन । ठूलाठालुले देशका कम्पनी बेचेर खाए, हामीलाई जहिले पनि पछाडि पारे’ बलबहादुर भन्छन् ।

बलबहादुरको यो भनाइले नेपालको विगत ३०-३५ वर्षको राजनीतिक अस्थिरताले आम मानिसको मुटुमा पारेको घाउलाई छर्लङ्ग पार्छ । उनी अहिले कुनै राजनीतिक आस्थाले होइन, बरु एउटा विवश हजुरबुबाको सपनाले नयाँ अनुहारप्रति ढल्किएका छन् । उनी चाहन्छन्, आफ्ना छोरानातिले आफ्नै देशमा रोजगारी पाऊन्, बिरामी पर्दा उपचार नपाएर मर्नु नपरोस् र कम्तीमा गाँसबासको चिन्ता नहोस् । ‘जुन जोगी आए पनि कानै चिरिएको भन्छन्, तर हामीलाई धेरै चाहिएको छैन, मात्र बाँच्ने बाटो चाहिएको छ’ उनी भन्छन्।

नारायणप्रसादको ‘सिस्टम’ र पसिनाको मूल्य

पोखरा-३३ बागमाराका नारायणप्रसाद काफ्लेको कथा अलि फरक छ । उनी एउटा कर्मठ किसान हुन्, जसले २०६० सालदेखि गाई फार्म चलाएर माटोसँग पौँठेजोरी खेलिरहेका छन् । तर उनको संघर्ष माटोसँग मात्र होइन, देशको भ्रष्ट प्रणालीसँग पनि छ । उनी भन्छन्, ‘हामीलाई व्यक्तिगत फाइदा चाहिएको छैन, हामीलाई त एउटा सुशासनयुक्त ‘सिस्टम’ चाहिएको छ ।’

काफ्लेको अनुभव निकै तीतो छ । उनले आफ्नै आँखा अगाडि वास्तविक किसानले भन्दा ‘झोलामा कागज बोक्ने’ दलालहरूले सरकारी अनुदान कुम्ल्याएको देखेका छन् । नयाँ सरकारलाई उनको स्पष्ट खबरदारी छ-गल्ती गर्नेले सजाय पाओस्, सरकारी कार्यालय जाँदा फाइल बोकेर महिनौँ धाउनु नपरोस् र किसानको पसिनाको प्रतिफल दलालको खल्तीमा नजाओस् । जनता अब केवल ‘भोट बैंक’ मात्र बन्न तयार छैनन्, उनीहरू आफ्नो पसिनाको वास्तविक मूल्य खोजिरहेका छन् ।

सीतादेवीको उद्योग र बाकसमा फर्किने युवाको पीडा

पोखरा-७ मुस्ताङचोककी सीतादेवी आचार्य एउटी शाहसी उद्यमी हुन् । उनले प्लास्टिक उद्योगमार्फत ७० जनालाई रोजगारी दिएकी थिइन् । तर आज बजारको मन्दी र सरकारको उदासीनताले उनको उद्योग संकटमा छ ।
‘मार्केटमा पैसा छैन, सरकारले उद्योगीलाई हेर्दैन । ७० जनाको परिवार पालेकी थिएँ, अहिले आफैँलाई टिक्न गाह्रो छ’ उनी पीडा पोख्छिन् । तर सीतादेवीको व्यक्तिगत पीडाभन्दा ठूलो चिन्ता देशको भविष्यप्रति छ । दिनहुँ विमानस्थलबाट बाहिरिने युवाको लर्को र खाडीबाट बाकसमा फर्किने छोराछोरीको लासले उनलाई पिरोल्छ ।

‘नेपाल आमा रोइरहेकी छिन्, छोराछोरी बाकसमा फर्किरहेका छन्, गाउँमा मलामी जाने मान्छे छैनन्,’ सितादेवी भन्छिन् ।

उनको नयाँ सरकारसँग एउटै माग छ- अबकाे सरकार युवालाई विदेश पठाउने एजेण्ट होइन, स्वदेशमै पसिना बगाउने वातावरण बनाउने अभिभावक बनोस् ।

ऋषिरामको खबरदारीः ‘तेरो र मेरो पार्टी नभनी काम गरियोस्’

पोखरा-२१ का ऋषिराम बिकको चासो भने विकासको गुणस्तर र राजनीतिक निष्पक्षतामा छ । चुनावमा भोट दिएर पठाएका प्रतिनिधिहरूले अब मन्त्रिमण्डल गठन गर्दा जनताको आधारभूत आवश्यकतालाई भुल्न नहुने उनी बताउँछन् । ऋषिरामको अनुभवमा विकासका योजनाहरूमा चरम भ्रष्टाचार र दलीय भागबण्डा हुने गरेको छ ।

‘हाम्रो अपेक्षा के छ भने, जनताले जहाँ गए पनि आफ्नो कुरा राख्न सकून् । काम गर्दा तेरो र मेरो पार्टी भनेर भेदभाव नगरियोस्,’ ऋषिराम भन्छन् ।

विशेषगरी पूर्वाधार निर्माणमा हुने ढिलासुस्ती र कमिसनतन्त्रप्रति उनको आपत्ति छ । ‘बाटो बनाउन आउने रकम ठाउँ-ठाउँमा बाँड्दाबाँड्दै सकिन्छ, अनि कसरी राम्रो बाटो बन्छ ? अगाडि बनाउँदै गयो, पछाडि भत्किँदै जान्छ,’ उनी थप्छन् ।

उनलाई नेताहरूको भाषणमा अब विश्वास छैन । उनी भन्छन्, ‘बोलीभन्दा काम गरेर देखाइदिए राम्रो हुन्थ्यो ।’

भाषणको रेल होइन, बाँच्ने आधार चाहिएको छ
पोखराका यी प्रतिनिधि आवाजहरू तीन व्यक्तिका कुरा मात्र होइनन्, यो वर्षाैँ देखि दबिएकाे आम नेपालीको साझा सुस्केरा हो । बलबहादुरको आशा, नारायणप्रसादको प्रणाली र सीतादेवीको उद्योग- यी सबैलाई जोड्दा एउटै निष्कर्ष निस्कन्छः जनतालाई ठूला भाषण, रेल र पानीजहाजका सपना होइन, आधारभूत आवश्यकताको सुनिश्चितता चाहिएको छ ।

नयाँ बन्ने सरकारका लागि पोखरेलीको सन्देश प्रष्ट छ- सरकारी अस्पतालमा सहजै अस्पतालका शैय्या पाइयोस्, सरकारी कार्यालयमा जाँदा नागरिकले अपमानित हुनु नपरोस् र आफ्नै माटोमा पसिना बगाएर सम्मानजनक जीवन बाँच्न पाइयोस् । यदि यो नयाँ सरकारले पनि पुरानै प्रवृत्ति दोहो¥यायो र जनताको यो ‘अन्तिम आशा’ माथि खेलबाड ग¥यो भने, त्यो निराशाको विस्फोट देशका लागि निकै महँगो सावित हुनेछ । उनीहरु भन्छन्ः सत्ताको कुर्सीमा बस्नेहरूले बेलैमा सुनून्, पाेखराकाे यो आवाज केवल अपेक्षा मात्र होइन, यो त एउटा गम्भीर खबरदारी पनि हो ।

बसको ठक्करबाट दुईजनाको मृत्यु

काठमाडौँ । काठमाडौं महानगरपालिका–१२ अन्तर्गतको भोटेबहाल क्षेत्रमा बसको ठक्करबाट दुई पैदल यात्रीको मृत्यु भएको छ।


मृत्यु हुनेमा टेकु नजिकै बस्दै आएका भारतीय नागरिक ४५ वर्षीय पदम उपाध्याय र ३७ वर्षीय सतिसकुमार कुसवाह रहेको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ।

शुक्रबार साँझ कालिमाटीबाट त्रिपुरेश्वरतर्फ जाँदै गरेको प्रदेश–३–०१–००५ ख ९२९८ नम्बरको बसले ठक्कर दिँदा दुवैजना गम्भीर घाइते भएका थिए। उपचारका लागि लगिएको ट्रमा सेन्टरमा गएराति दुवैको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले बताए।

बस चालक दोलखा घर भई कपनमा बस्ने ३५ वर्षीय मानबहादुर बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे प्रहरी वृत्त कालिमाटीले थप अनुसन्धान गरिरहेको छ।

इस्लाम धर्मावलम्वीहरूले हर्षोल्लासका साथ इद उल फित्र मनाउँदै

काठमाडाैं। इस्लाम धर्मावलम्वीहरूको महान पर्व इद उल फित्र आज देशभर हर्षोल्लासका साथ मनाइँदैछ ।  एक महिना लामो पवित्र रमजान महिनाभर रोजा (उपवास) बसेपछि चन्द्रमा देखिएसँगै आज यो पर्व मनाउने परम्परा रहेको छ ।

आज बिहानैदेखि काठमाडौंको घण्टाघरस्थित जामे मस्जिद, काश्मिरी मस्जिद लगायत देशभरका विभिन्न मस्जिद र इदगाहहरूमा इस्लाम धर्मावलम्वीहरूको ठूलो उपस्थिति रहेको छ । मस्जिदहरूमा सामूहिक रूपमा नमाज पढ्दै उनीहरूले देशमा शान्ति, समृद्धि र आपसी भाइचाराको कामना गरेका छन् ।

इदको अवसरमा आज बिहानै नुहाइधुवाइ गरी नयाँ लुगा लगाएर मस्जिद जाने र सामूहिक प्रार्थना गर्ने गरिन्छ । प्रार्थनापछि एक–अर्कालाई अँगालो हालेर ‘इद मुवारक’ भन्दै शुभकामना आदानप्रदान गर्ने गरिन्छ । यस पर्वमा गरिब तथा असहायलाई दान (जकात र फित्रा) दिने परम्परा पनि रहेको छ, जसले समाजमा समानताको सन्देश दिन्छ ।

घरघरमा सेवई, खजुर लगायतका विशेष परिकारहरू बनाएर आफन्त र साथीभाइलाई खुवाउने चलन छ। यो पर्वले मुस्लिम समुदाय मात्र नभई सम्पूर्ण नेपाली समाजमा आपसी सद्भाव र एकतालाई अझ मजबुत बनाउने विश्वास गरिएको छ ।

पहिरोका कारण बुटवल-पाल्पा सडकखण्ड अवरुद्ध

बुटवल । लगातार परिरहेको वर्षापछि झरेको पहिरोका कारण सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल-पाल्पा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानस्थित सिद्धबाबा क्षेत्रमा पहिरोसँगै ढुङ्गा खस्दा सडक बन्द भएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जानकारी दिएको छ।

कार्यालयका अनुसार वर्षाका कारण दाउन्ने सडकखण्ड पनि अत्यधिक चिप्लो भएपछि पूर्व-पश्चिम राजमार्गको दुवै तर्फको यातायात ठप्प रहेको छ। बुटवल-पाल्पा मार्ग अवरुद्ध भएपछि सवारी साधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न निर्देशन दिइए पनि पाल्पा रुट समेत बन्द भएपछि यातायात व्यवस्थापन थप जटिल बनेको छ।

निरन्तर वर्षा भइरहेकाले अवरुद्ध सडक खुलाउन केही घण्टा लाग्ने नेपाल प्रहरीले जनाएको छ।

क्यानका उपाध्यक्ष सिंह भन्छन्- ‘पिएम कप खेलाडीहरूका लागि राष्ट्रिय टिममा पुग्ने लक्की पोइन्ट हो’

काठमाडाैं। नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेटलाई काठमाडौं बाहिर विस्तार गर्ने उद्देश्यका साथ यस वर्षको प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता मधेस प्रदेशको धनुषा र वीरगञ्जमा आयोजना गर्ने भएको छ ।

प्रतियोगिताको पूर्वसन्ध्यामा क्यानका राष्ट्रिय उपाध्यक्ष रोशन सिंहले जनकपुरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै ग्राउण्डको तयारी लगायतका सबै प्राविधिक कामहरू सम्पन्न भइसकेको जानकारी दिएका हुन्। सिंहकाअनुसार विगतमा धनुषामा पहिलो पटक जय ट्रफी आयोजना गरिएको सफलतापछि यसपालि क्यानले नै प्रधानमन्त्री कप जस्तो ठूलो प्रतियोगिता मधेशमा ल्याएको हो ।

उनले यस प्रतियोगितालाई खेलाडीहरूका लागि आफ्नो क्षमता प्रदर्शन गरेर राष्ट्रिय टिममा स्थान बनाउने ‘लक्की पोइन्ट’ भएको बताए । यसअघि लुम्बिनी प्रदेशमा आयोजना गरिएको यो प्रतियोगिता यसपटक मधेसमा ल्याइनुको मुख्य कारण क्रिकेटलाई काठमाडौंमा मात्र सीमित नराखी समग्र देशव्यापी बनाउनु रहेको सिंहले बताए। मौसमको प्रतिकूलताका कारण क्यानका अध्यक्षको आगमनमा केही अन्योल देखिए पनि टिमलाई बोलाउने काम भइरहेको सिंहकाे धारणा छ ।

नेपालको प्रतिष्ठित क्रिकेट प्रतियोगिता प्रधानमन्त्री कप यस वर्ष पहिलो पटक मधेस प्रदेशमा आयोजना हुन लागेको हो । मधेस प्रदेश क्रिकेट विकास समितिका सदस्य आकाश पाण्डेकाअनुसार यस प्रतियोगितामा कुल १० वटा टिमले सहभागिता जनाउनेछन् । सहभागी टिमहरूमा सातवटा प्रदेश र तीनवटा विभागीय टिम (नेपाल आर्मी, नेपाल प्रहरी र एपीएफ क्लव) रहेका छन्। प्रतियोगिताको शुरुवाती तालिकाअनुसार काठमाडौंको टीयु ग्राउण्डसहित तीनवटा भेन्यु तय गरिएको भएपनि हाल टीयू ग्राउण्डमा रंगशाला स्तरोन्नतिको काम भइरहेकाले सबै खेलहरू मूलपानी र मधेस प्रदेशका ग्राउन्डहरूमा सारिएको छ ।

प्रतियोगिताका १७ वटा म्याच जनकपुरमा र १८ वटा म्याच वीरगञ्जमा खेलिनेछ । प्रतियोगिताको फाइनल खेल वीरगञ्जको टिडीएसआइ स्टेडियममा हुने तय भएको छ ।

बालेनलाई नेविसंघको चेतावनी : ‘विधार्थी संगठन खारेज गर्ने निर्णय गरे त्यसबाट बल्ने आगोमा जल्न तयार रहनु’

काठमाडाैं। नेपाली काँग्रेसमा आवद्ध नेपाल विद्यार्थी संघ (नेविसंघ) ले विद्यार्थी संगठनहरु खारेज गर्ने काम नगर्न अब बन्ने सरकारलाई चेतावनी दिएको छ । शुक्रवार काठमाडौंमा आयोजित संघको सिनेट बैठकमा बोल्दै अध्यक्ष दुजाङ शेर्पाले सो चेतावनी दिनुभएका हुन्।

आफूले विद्यार्थी संगठनहरु खारेज गर्ने भनेर कहीँकतै मिडिया ट्रायल गर्ने काम भईरहेको भन्दै उनले त्यस्तो गलत काम अब बन्ने नयाँ सरकारले गरे त्यो आगोको गोलामा हात हाले सरह हुने समेत बताए । अध्यक्ष शेर्पाले विद्यार्थी संगठनकै आन्दोलनका कारण नेपालमा बालेन्द्र साहहरुले ¥याप गाउन पाउने अधिकार प्राप्त भएकाले पनि त्यस्ता संगठनहरु खारेज गर्ने काम सह्य नहुने बताए ।

‘रवि लामिछानेजीलाई हिजो टिभी कार्यक्रम संचालन गर्न दिने, खुला मञ्चमा गएर भ्रष्टाचारीहरुको नाकको डाँडी भाच्ने भनेर बोल्ने त्यो अधिकार नेपाल विद्यार्थी संघले दिएको हो,’ उनले भने, ‘सर्वोच्च अदालतले समेत नेपाल विद्यार्थी संघ चाहिन्ख्छ उसले विद्यार्थीको अधिकारका लागि बोल्छ भनेर हामीलाई सर्वोच्चले् पनि मान्यता दिएको छ । त्यसैकारणले म भन्न चाहन्छु –आगोको गोलामा हात हाल्ने काम नगर्नुहोला । त्यो आगोको ज्वालाले तपाईहरु भष्म हुनुहुन्छ ।’

अध्यक्ष शेर्पाले काँग्रेस भित्रको गुटगत स्वार्थका कारण प्रतिनिधिसभा निर्वाचनमा पराजय व्यहोर्नु परेको जिकिर समेत गरे ।

ठूलो परिमाणको लागुऔषधसहित १ जना पक्राउ

पाेखरा। जिल्ला प्रहरी कार्यालय कास्कीले ठूलो परिमाणको लागुऔषधसहित १ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका २९ सैनिक बस्ती बस्ने १९ वर्षीय आयुष तामाङ रहेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र इलाका प्रहरी कार्यालय शिशुवा तथा लागुऔषध नियन्त्रण व्यूरो पोखराबाट खटिएको प्रहरी टोलीले गत बुधबार बेलुकी साढे ५ बजे तामाङलाई पक्राउ गरेको हो । उनको साथबाट लागुऔषध डाइजापाम १ हजार ७ सय २१ एम्पुल, फेनेरागन ३ सय ३४ एम्पुल, ब्रुफिनुर्फिन ३ सय ७७ एम्पुल गरी कुल २ हजार ४ सय ३२ एम्पुल, २ थान मोबाइल र नगद ९३ हजार ५ सय रुपैयाँ बरामद गरिएको कास्की प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी दिए ।

उनकाअनुसार पक्राउ परेका तामाङले डाइजापाम, फेनेरागन र ब्रुफिनुर्फिनको १÷१ एम्पुलको सेट बनाएर प्रतिसेटलाई २ हजार रुपैयाँमा विक्री गरेका थिए । पक्राउ परेका उनीविरुद्ध कास्की जिल्ला अदालतबाट लागुऔषध सम्बन्धि मुद्दामा ५ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाएको डिएसपी बस्नेतले बताए ।

गगन थापाको राजीनामा केन्द्रीय समितीको बैठकबाट अस्वीकृत

काठमाडौं। नेपाली कांग्रेसको आज बसेको बैठकले उपसभापति विश्व प्रकाश शर्माद्वारा प्रस्ताव गरिएको सभापति गगनकुमार थापाको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पारित गरेक‍ो छ।

नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसका अनुसार अधिकांश केन्द्रीय सदस्यहरुले पार्टी सभापतिको राजीनामाको विपक्षमा मत राखेका छन्। 

‘अधिकांश केन्द्रीय सदस्यहरुले सभापतिको राजीनामा अस्वीकृत गर्ने प्रस्तावमा सहमति जनाईसकेका छन्, अब औपचारिक निर्णय गर्न मात्रै बाँकि हो’ प्रवक्ता चालिसेले नेपालवन एचडीसँग बताए।  

अब अघिल्लो बैठक पर्सि बिहान ८ बजे फेरि बस्नेछ । उक्त बैठक सभापति थापाकै अध्यक्षतामा बस्ने नेताहरूले जानकारी दिएका छन् ।

चुनावी पराजयका कारण नैतिकताका आधारमा सभापति थापाले राजीनामा दिएका थिए । उनी आजको बैठकमा उपस्थित भएनन् । उपसभापति विश्वप्रकाश शर्माले सभापति थापाको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेस गरेका थिए । 

बैठकमा शर्माले उक्त प्रस्ताव पेस गर्दा हलले ताली बजाएर समर्थन गरेको थियो ।