`

कांग्रेसबाट गगनको काठमाडौं–४ मा सचिन तिमल्सिना बने उम्मेदवार

काठमाडौँ । नेपाली कांग्रेसले सचिन तिमल्सिनालाई काठमाडौं क्षेत्र नम्बर ४ को उम्मेदवार बनाएको छ । कांग्रेस सभापति गगन थापा लड्दै आएको निर्वाचन क्षेत्रबाट यस पटक तिमिल्सिनालाई उम्मेदवार बनाएको हो । युथ कंग्रेसका संस्थापक सभापति समेत रहेका तिमल्सिना काठमाडौं–४ कै स्थानीय बासिन्दा हुन् ।

उनी क्रिकेट कमेन्टेटर पनि हुन् । सभापति थापा भने यस पटक सर्लाही–४ बाट उम्मेदवार बन्ने भएका छन् । काठमाडौं ४ बाट २०७९ को चुनावमा सभापति गगन थापा निर्वाचित भएका थिए । सभापति थापा सर्लाही ४ मा उम्मेदवार हुने भएका छन् ।

रौतहट– ३ मा प्रभु साहको उम्मेदवारी दर्ता

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले उम्मेदवारी दर्ता गराएका छन् । उनी रौतहट–३ का उम्मेदवार बनेका हुन् ।

निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले आज उम्मेदवारी दर्ता गराएका हुन् । साह यो क्षेत्रबाट पटकपटक निर्वाचित नेता नेता हुन् ।

उनी पटकपटक मन्त्रीसमेत भइसकेका छन् । भ्रष्टाचार नियन्त्रण र सुशासनको मुद्दामा उनी अघिल्लो संसदमा चर्को सुनिएका थिए ।

हर्क साम्पाङले गराए मनोनयन दर्ता

सुनसरी । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ले सुनसरी–१ बाट मनोनयन दर्ता गरेका छन् । मनोनयन दर्ता गराउन उनी समर्थकहरूसहित आयोगको कार्यालय पुगेका थिए । २०७९ सालको स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेर धरानको मेयर निर्वाचित भएका थिए । मनोनयन दर्ता गरेपछि साम्पाङले अब संघीय सरकारको नेतृत्व गर्ने बताएका छन् ।

 

 

 

झापा दमकमा एमाले र रास्वपा कार्यकर्ताबीच झडप

झापा । झापाको दमकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा एमाले कार्यकर्ताबीच झडप भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी भएपछि झडप भएको हो । एमाले अध्यक्ष ओलीविरुद्ध रास्वपा कार्यकर्ताहरुले नाराबाजी गरेपछि झडप भएको बताइएको छ ।

अहिले पनि त्यहाँको अवस्था तनावपूर्ण रहेको छ । झापा–५ बाट उम्मेदवारी दिन रास्वपा नेता बालेन साहसहितको टोली निर्वाचन अधिकृतको कार्यालयमा पुगेको थियो । सोही क्रममा कार्यकर्ताहरुले ओलीविरुद्ध नाराबाजी गरेका थिए ।
दमकस्थित गोल्चोक क्षेत्रमा दुवै दलका समर्थकबीच झण्डा छोइएको विषयलाई लिएर विवाद सुरु भएको थियो । एमालेले आफ्ना कार्यकर्ता भेला हुन तोकेको स्थानमा रास्वपाका समर्थकहरूले ठाउँ नछाडेपछि स्थिति तनावपूर्ण बनेको प्रहरीले जनाएको छ । रास्वपाका कार्यकर्ता गोर्खा डिपार्टमेन्ट स्टोर अगाडि भेला हुने तय भए पनि दुवै समूह एउटै क्षेत्रमा आमनेसामने भएपछि घम्साघम्सी भएको हो । रास्वपाका युवाहरूले ढुङ्गा प्रहार गरेपछि स्थिति केही बेर अनियन्त्रित बनेको प्रत्यक्षदर्शीले बताएका छन् ।

इलाका प्रहरी कार्यालय दमकले भने घटनालाई सामान्य भन्दै अहिले अवस्था नियन्त्रणमा रहेको दाबी गरेको छ । ‘दुई पक्षबीच सामान्य विवाद र धकेलाधकेल भएको हो, अहिले स्थिति सामान्य भइसकेको छ,’ एक प्रहरी अधिकारीले भने ।
घटनापछि दमक चोक र निर्वाचन कार्यालय आसपासको क्षेत्रमा व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिउँसो १ बजे निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गर्ने कार्यतालिका छ । सम्भावित मुठभेडलाई मध्यनजर गर्दै प्रशासनले सुरक्षा सतर्कता बढाएको छ ।

 

पूर्णबहादुर खड्काको ठाउँमा भाइ विष्णु कांग्रेस उम्मेदवार

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का चुनाव नलड्ने भएपछि उनका भाइ विष्णुले सुर्खेत–१ मा टिकट पाएका छन् ।

उनी कांग्रेस सुर्खेतका उपसभापति हुन् । पूर्णबहादुरले यसपटक निर्वाचन नलड्ने भनेका थिए । त्यसपछि सुर्खेत–१ मा कसले टिकट पाउने होला भन्ने थियो ।

सभापति गगन थापाले विष्णुलाई उम्मेदवार बनाएका हुन् । विष्णु व्यवसायीसमेत हुन् । त्यहाँ राप्रपाका युवा नेता रविकिरण हमाल उम्मेदवार छन् ।

 

झापामा पाँच ‘हेभिवेट’ नेता प्रतिस्पर्धामा

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनमा झापाबाट पाँच जना ‘हेभिवेट’ नेताहरू भिन्नभिन्नै क्षेत्रबाट प्रतिस्पर्धामा उत्रिँदैछन् ।

झापा–५ मा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आठौँपटक प्रतिस्पर्धामा उत्रिए । तीनपटक प्रधानमन्त्री भइसकेका ओली फेरि प्रधानमन्त्री बन्नेगरी चुनावी मैदानमा छन् ।

ओली झापा– ५ मा सबैभन्दा अग्ला कदक नेता हुन् । उनले २०४८, २०५१, २०५६, २०७०, २०७४ र २०७९ मा निर्वाचत जिते । २०६४ मा पराजित भए ।

उनीसँग अर्का हेभिवेट नेता बालेन्द्र शाह (बालेन) आमनेसामनेमा छन् । उनी रास्वपाका वरिष्ठ नेता हुन् । संसदीय निर्वाचनमा उनको यो पहिलोपटकको सहभागिता हो ।

झापा–३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन उम्मेदवार बन्दै छन् । पूर्वउपप्रधान तथा ऊर्जामन्त्री लिङ्देन तेस्रोपटक जितको अपेक्षासहित उम्मेदवार बनेका हुन् । उनी २०७४ र २०७९ मा झापा–३ बाट निर्वाचित भएका थिए ।

झापा– २ मा विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा राना मगर प्रतिस्पर्धामा छन् । घिमिरे एमाले र राना रास्वपाबाट उम्मेदवार भएका हुन् ।

गगन झरेसँगै तातियो मधेशमा चुनावी सरगर्मी, अमरेशसँग सर्लाही-४ मा भिड्ने

काठमाडाैं । यस पटकको निर्वाचनमा मधेशमा विगतको भन्दा छुट्टै चहलपहल छ । यसअघिका चुनावमा मधेशमा उपेन्द्र यादव, राजेन्द्र महतो, महन्त ठाकुरहरुले चुनावी माहोल तताउने गर्थे।  तर मधेशमा उनीहरुको प्रभाव कमजोर बनेसँगै राष्ट्रिय राजनीतिमा मधेसको उपस्थिति कमजोर जस्तो देखिएको छ। यस्तैमा, नेपाली कांग्रेसका नव निर्वाचित सभापति गगन कुमार थापा आगामी प्रतिनिधिसभा निर्वाचनमा सर्लाही–४ बाट उम्मेदवार बन्ने भएका छन् ।  थापाको उम्मेदवारी घोषणासँगै सर्लाही–४ मात्र नभई समग्र मधेश प्रदेशको राजनीतिक तापक्रम एकाएक बढेको छ।

लामो समयदेखि काठमाडौं–४ लाई निर्वाचन क्षेत्र बनाउँदै आएका थापाले यसपटक निर्वाचन क्षेत्र परिवर्तन गर्दै मधेश प्रदेशको सर्लाही–४ रोजेका हुन्। थापाले काठमाडौँ-४ बाट ०७० को संविधान सभा निर्वाचन, ०७४ को प्रतिनिधि सभा निर्वाचन, ०७९ को प्रतिनिधिसभा निर्वाचनमा लगातार तीनपटक चुनाव जितेका थिए। उनले तीनवटै पल्ट नेकपा एमालेका उम्मेदवार राजन भट्टराईलाई पराजित गरेका हुन्।  शहरी मतदातामाझ बलियो पकड बनाएका थापाको निर्वाचन क्षेत्र परिवर्तनको निर्णयलाई कांग्रेसभित्र र बाहिर दुवै ठाउँमा चासोका साथ हेरिएको छ । राजनैतिक वृत्तमा पार्टी भित्रको आन्तरिक कलह र पछिल्लो समय पार्टीमा भएको विभाजनले थापा काठमाडौँ-४ मा कमजोर बनेको विश्लेषण पनि हुने गर्दछ। 

गएको आम निर्वाचनबाटै देशैभरका शहरी क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पकड बलियो बनाउदै लगेको छ । भनिन्छ- थापा ०७९ को निर्वाचनमै काठमाडौँ-४ छोड्न चाहन्थे । तर अन्तिम समयमा रास्वपाले काठमाडौँ-४ मा उम्मेदवार नउठाउने निर्णय गरेपछि थापा त्यही क्षेत्रबाट चुनाव लडेका थिए। यो पटक रास्वपाले काठमाडौँ-४ बाट पुकार बमलाई उम्मेदवार तय गरेको छ। बम गएको चुनावमा काठमाडौँ-१ मा प्रकाशमान सिंहसँग पराजित भएका उम्मेदवार हुन्।

एकथरी विचार अनुसार थापा संगठन पुन:जागरण का लागि मधेश झरेको चर्चा पनि भइरहेको छ। गणतन्त्रको घोषणापछि मधेसमा कांग्रेसको उपस्थित अपेक्षित रुपमा कमजोर रहदै आएको छ।  पार्टी नेतृत्वका अनुसार संगठन विस्तार, क्षेत्रीय सन्तुलन र मधेशमा पार्टीको उपस्थितिलाई थप बलियो बनाउने रणनीतिअन्तर्गत थापाले सर्लाही–४ बाट उम्मेदवारी दिने निर्णय गरेका हुन् । थापाको उम्मेदवारी घोषणासँगै सर्लाही–४ मात्र नभई समग्र मधेश प्रदेशको राजनीतिक तापक्रम बढेको छ।

यो क्षेत्रमा राष्ट्रिय स्तन्त्र पार्टीले अमरेश कुमार सिंहलाई उम्मेदवार बनाएको छ।  सिंह पनि मधेसको राजनीतिमा बलियो प्रभाव राख्ने नेताका रुपमा परिचित छन्।  गएको प्रतिनिधिसभा निर्वाचनमा सिंह यही निर्वाचन क्षेत्रबाट निर्वाचित बनेका थिए। उनले त्यतिबेला कांग्रेसले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका थिए भने गगनले टिकट रोकेको आरोप पनि लगाएका थिए। कांग्रेसका पुराना नेता सिंह र वर्तमान कांग्रेस सभापति बिचको यो भिडन्त पनि हेर्नलायक हुनेछ। यो क्षेत्रमा नेकपा एमालेले रविसिंह कुशवाहा र नेपाली कम्युनिस्ट पार्टीले डा. रगनिस राय यादवलाई उम्मेदवार बनाएको छ ।

कांग्रेसमा टिकटको चहलपहल : कतै टुंगो, कतै बिद्रोह र असन्तुष्टि (सूचीसहित)

काठमाडौं । उम्मेदवारी दर्ताको समय सुरु भइसक्दा पनि नेपाली कांग्रेसले सबै निर्वाचन क्षेत्रमा उम्मेदवार टुंग्याउन सकेको छैन । पार्टीभित्रको आन्तरिक शक्ति सन्तुलन, नेताहरूबीचको समन्वय र असन्तुष्ट समूहलाई मिलाउने प्रयासका बीच कांग्रेसले केही जिल्लामा भने उम्मेदवारको अन्तिम टुंगो लगाइसकेको छ ।

पार्टी सभापति गगन थापाको सक्रियतामा शेरबहादुर देउवा र शेखर कोइराला समूहलाई समेट्दै टिकट वितरण प्रक्रिया तीव्र पारिएको कांग्रेस नेताहरू बताउँछन् । काठमाडौं उपत्यका र आसपासका केही क्षेत्रबाहेक अधिकांश जिल्लामा उम्मेदवारको निर्णय भइसकेको जनाइएको छ ।

कञ्चनपुर–३ मा रमेश लेखक बाहिर, हरि बोहरा मैदानमा
कांग्रेसले कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ मा महत्वपूर्ण निर्णय गरेको छ। पूर्वगृहमन्त्री तथा प्रभावशाली नेता रमेश लेखकलाई यस पटक उम्मेदवार नबनाउने निर्णय गर्दै पार्टीले हरि बोहरालाई टिकट दिएको हो । २०७९ सालको आम निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित लेखक पुनः उम्मेदवार बन्ने प्रबल दाबेदार मानिएका थिए । तर, संसदीय बोर्डको पछिल्लो निर्णयले उनलाई प्रतिस्पर्धाबाट बाहिर राखेको छ । टिकट पाएपछि हरि बोहराले पार्टी नेतृत्वप्रति विश्वास व्यक्त गर्दै चुनावी अभियानमा जुटिसकेको बताएका छन् ।

मोरङका ६ वटै क्षेत्रमा उम्मेदवार तय
पूर्वी नेपालको महत्वपूर्ण जिल्ला मोरङमा भने कांग्रेसले सबै छ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार टुंग्याएको छ । कांग्रेस मोरङका सचिव मोदराज घिमिरेका अनुसार अन्तिम सूची यसप्रकार छ ः

मोरङ–१ : खड्ग फागो

मोरङ–२ : डा. मिनेन्द्र रिजाल

मोरङ–३ : डा. सुनील शर्मा

मोरङ–४ : गुरुराज घिमिरे

मोरङ–५ : फुलकुमार लालवानी

मोरङ–६ : डा. शेखर कोइराला

क्षेत्र नम्बर ६ बाट वरिष्ठ नेता डा. शेखर कोइरालालाई उम्मेदवार बनाइनुले पार्टीभित्र र बाहिर राजनीतिक चर्चा बढाएको छ । यस्तै, पूर्वमन्त्रीद्वय डा. मिनेन्द्र रिजाल र डा. सुनील शर्मालाई पनि टिकट दिइएको छ ।

कैलाली–४ मा बलायरको बहिस्कार घोषणा

सुदूरपश्चिममा भने कांग्रेसभित्र असन्तुष्टिको स्वर खुलेर आएको छ । सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले कैलाली क्षेत्र नम्बर ४ बाट उम्मेदवारी नदिने घोषणा गरेका छन् । टिकट पाउँदा पनि चुनाव नलड्ने उनको निर्णयले पार्टीभित्र तरंग सिर्जना गरेको छ ।

बलायरले संविधानअनुसार बनेको संसद विघटन गरी फेरि निर्वाचन गरिनु निरर्थक भएको दाबी गर्दै आफू निर्वाचन प्रक्रियाबाट अलग रहने बताएका छन् । २०७९ मा सोही क्षेत्रबाट एमालेका लेखराज भट्टलाई पराजित गरेका बलायर देउवानिकट नेता मानिन्छन् । देउवा र रमेश लेखकलाई टिकट नदिइएको विषयसँगै उनको उम्मेदवारी फिर्ता निर्णय जोडेर हेरिएको छ ।

कांग्रेसभित्र मिलन र मनमुटाव दुवै

कांग्रेसले धेरै जिल्लामा उम्मेदवार टुंग्याए पनि केही क्षेत्रमा असन्तुष्टि र बहिस्कारका स्वर देखिन थालेका छन् । एकातिर मोरङ जस्ता जिल्लामा सर्वसम्मत निर्णय भएको छ भने अर्कोतिर कैलाली र कञ्चनपुरका घटनाले पार्टीभित्रको आन्तरिक राजनीतिलाई सतहमा ल्याइदिएको छ । अब बाँकी निर्वाचन क्षेत्रमा कांग्रेसले कसरी सहमति जुटाउँछ र असन्तुष्ट नेताहरूलाई कसरी समेट्छ भन्ने विषय आगामी दिनमा झनै चासोको केन्द्र बन्ने देखिन्छ ।

 

समानुपातिकबाट हटाइएकी टासीलाई रास्वपाले दियो हुम्लाबाट टिकट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट जेनजी प्रतिनिधि टासी ल्हान्जोमले हुम्लाबाट उम्मेदवारी पाएकी छिन्। रास्वपाको समानुपातिक सूचीमा आदिवासी जनजातितर्फ पहिलो नम्बरमा नै परेकी उनीलाई विभिन्न कारण हाटाइएको थियो । तर, उनलाई रास्वपाले प्रत्यक्षतर्फको टिकट दिएको हो । उनले आफ्नै थातथलोबाट प्रत्यक्ष चुनाव लड्ने भएकी छिन् ।

भक्तपुर-२ को चुनावी महाभिडन्त : बस्नेतदेखि थापामगरसम्म, कोही छैनन् कम

काठमाडौं । २१ फागुनको निर्वाचनमा पाँच जना युवा उम्मेदवारको चुनावी प्रतिष्पर्धाको चर्चाले भक्तपुर-२ काठमाडौँ उपत्यकामा चर्चाको केन्द्र बनेको छ। यो क्षेत्रमा नेकपा एमालेले पार्टी सचिव महेश बस्नेतलाई उम्मेदवारका रुपमा अगाडि सारेको छ। यही क्षेत्रमा रास्वपाका नेता राजीव खत्री चुनाव लड्ने भएसँगै भक्तपुर-२ को चुनावी चर्चा अझै चुलिन थालेको हो । खत्री पत्रकारिता पृष्ठभूमीबाट भर्खरै राजनीतिमा प्रवेश गरेका व्यक्ति हुन्। सामाजिक संजालमा बस्नेत र खत्रीका बीच भइरहने वाकयुद्धका कारण पनि यी दुई उम्मेदवारबीचको चुनावी प्रतिष्पर्धा अझै रोचक हुने देखिएको छ । खत्रीले बस्नेतलाई गुण्डा भनेर चित्रित गर्दै आएका छन् भने बस्नेतले खत्रीलाई पत्रुकार भन्ने गरेका छन्।

यता, नेपाली कम्युनिष्ट पार्टी नेकपाले भक्तपुर-२ मा योङ कम्युनिष्ट लिग (वाइसिएल) का इञ्चार्ज दिपशिखालाई अघि सारेको छ। गणतन्त्र स्थापना भएपछी देश शान्ति प्रक्रियामा प्रवेश गरेको थियो। त्यसपछि तत्कालिन विद्रोही माओवादीले युवाहरु सम्मिलित हुनेगरी जनसंगठन घोषणा गर्यो- वाइसिएल। जसले युवाहरुलाई संगठित गर्दै पार्टीका लागि काम गर्थ्यो। 

अझै रोचक के भने माओवादीले वाइसिएल गठन गरेपछि त्यसलाई काउन्टर दिने गरी एमालेले पनि जनसंगठन बनायो- युथ फोर्स। वाइसिएललाई तह लगाउने भन्दै गठन गरिएको युथ फोर्सका संस्थापक अध्यक्ष बने-महेश बस्नेत। पछि युथ फोर्सको राजनीतिबाट बस्नेत राष्ट्रिय युवा संघको अध्यक्ष बन्दै इञ्चार्ज समेत बने । वाइसिएलको राजनीति मार्फत स्थापित दीपशिखा र युथ फोर्सको राजनीतिमार्फत राष्ट्रिय राजनीतिमा आफ्नो बेग्लै छवि निर्माण गरेका बस्नेत एउतै निर्वाचन क्षेत्रबाट चुनाव लड्दै छन्। माओवादी स्कुलिङबाट राजनीति सुरु गर्दै वाइसिएलको इन्चार्ज बनेका दिपशिखा र एमाले स्कुलिङबाट युथ फोर्सको अध्यक्ष र राष्ट्रिय युवा संघको अध्यक्ष हुदै इञ्चार्ज बनेका महेश बस्नेतबिचको चुनावी लडाई पनि यो निर्वाचनको हेर्न लायक प्रतिष्पर्धा हो।    

पुर्व सांसद तथा प्रगतिशिल लोकतान्त्रिक पार्टी (प्रलोपा) का प्रभावशाली युवा नेता सन्तोष परियार पनि यही क्षेत्रबाट चुनाव लड्ने चर्चा छ। परियार को युवा वृत्तमा आफ्नै छुट्टै पहिचान छ। राजनैतिक वृत्तमा परियार बौद्धिक नेता मानिन्छन्। अघिल्लोपटक ०७९ मा रास्वपाबाट संसदको यात्रा तय गरेका परियार पनि यसपालीको आमनिर्वाचनमा भक्तपुर-२ बाट जित निकाल्ने रणनीतिमा रहनेछन्। 

त्यस्तै, त्यो क्षेत्रमा नेपाली कांग्रेसले पत्रकार कविर राणालाई उम्मेदवार बनाउने भएको छ। राणा लामो समय पत्रकारिता गर्दै राजनीतिमा प्रवेश गरेका नेता हुन्। उनलाई नेपाली कांग्रेसले उक्त क्षेत्रमा प्रतिनिधीसभा निर्वाचनको उम्मेदवारको रुपमा सिफारिस गरेको छ। राणालाई एक रणनैतिक व्यक्तिका रुपमा हेरिन्छ।  राणा पनि भक्तपुर-२ बाट आम निर्वाचनमा जित निकाल्दै कांग्रेसको लगातारको उपस्थिति कायम राख्ने रणनीतिमा रहनेछन्।  

यो क्षेत्रमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को पनि राम्रै प्रभाव रहेको बताइन्छ। गएको ०७९ को निर्वाचनमा त्यो क्षेत्रबाट नेमकिपाका उम्मेदवार अनुराधा थापा मगरले ७,१२७ मत ल्याएकी थिइन्। यसपाली पनि नेमकिपाले थापा मगरलाई भक्तपुर-२ मा उम्मेदवार बनाउने चर्चा छ।  रोचक तथ्य के भने यी पाँचै जनाको उमेर ५० वर्षभन्दा मुनी छ। अझ राजनैतिक वृत्तमा यी पाँच जनाकै छवि भिन्न भिन्न खाले छ। बस्नेत र दिपशिखालाई सांगठनिक जिम्मेवारी कुशलता पुर्वक निर्वाह गर्न सक्ने नेताका रुपमा हेरिन्छ भने परियार राजनैतिक वृत्तमा अध्ययनशील, सालिन र बौद्धिक नेताको रुपमा स्थापित छन्। यता, खत्रीले करीब डेढ दशक पत्रकारितामा बिताएका छन्। थापामगर भने भक्तपुर-२ का मतदातामाझ स्थानिय उधमीका रुपमा परिचित छिन्। ५० वर्ष मुनीका यी पाँच उम्मेदवारको चुनावी मैदानको प्रतिष्पर्धाले भक्तपुर-२ देशैभरबाट चुनावी चर्चा हुने क्षेत्र मध्येको एक हुने निश्चित जस्तै देखिन्छ।  

यस्तो छ भक्तपुर-२ को चुनावी इतिहास 

२०४८ यताका सातवटा संसदीय निर्वाचनमा भक्तपुर-२ का मतदाताले नेता हेरेर नेतृत्व चयन गरेको देखिन्छ। २०४८ यता संसदमा पठाउने नेता परिवर्तनको दृष्टिकोणले भक्तपुर-२ का जनता सचेत भएको तथ्यले नै पुष्टि गर्दछ। त्यहाँबाट अहिलेसम्म कुनै पनि नेता निरन्तर संसदीय यात्रामा रहेको देखिदैन। प्रजातन्त्रको पुन:बहाली भएपछी भएको २०४८ सालको निर्वाचनमा भक्तपुर-२ बाट नेपाली कांग्रेसका नेता जगन्नाथ आचार्यले जित हासिल गरे।  उनले नेपाल मजदुर किसान पार्टीका उम्मेदवार भैरव रिजाललाई १३०० मतले पराजित गरेका थिए। ०४८ को आम निर्वाचनमा भक्तपुर-२ मा आचार्य १६,०५२ मतसहित विजयी हुँदा रिजालले १४,७५२ मत प्राप्त गरेका छन्।

२०५१  सालको मध्यावधी निर्वाचन सम्म आइपुग्दा त्यो क्षेत्रमा नेमकिपाले पासा पल्टाएको देखिन्छ। ०५१ सालको निर्वाचनमा नेमकिपाका उम्मेदवार आशाकाजी बसुकलाले १३,५८१ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्दी राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार गणेश बहादुर खत्रीले ११, ९०६ मत ल्याएका थिए। तर २०५६ सालको आमनिर्वाचनमा लेखनाथ न्यौपानेले १४,२०० मतसहित जित्दै नेपाली काङ्ग्रेसलाई भक्तपुर-२ मा पुनरागमन गराउन सफल रहे। त्यतिबेला उनका निकटम प्रतिद्वन्दी नेमकिपाका उम्मेदवार सुनिल प्रजापतिले १३,४३२ मत ल्याए। 

२०६४ को पहिलो संविधानसभा निर्वाचन भने भक्तपुर-२ को चुनावी परिणामको पासा पल्टाउदै नेमकिपाका उम्मेदवार सुनिल प्रजापतिले संसदमा आफ्नो स्थान सुरक्षित गरे। ०६४ मा उनले १८, १०० मत ल्याउदै नेपाली कांग्रेसका उम्मेदवार लेखनाथ न्यौपानेलाई ४ हजार ८ सय ३५ को मतान्तरले पराजित गरेका थिए। 

२०७० को दोस्रो संविधानसभा निर्वाचनमा त्यो क्षेत्रबाट नेपाली काङ्ग्रेसका रामेश्वरप्रसाद ढुङ्गेलले चुनाव जिते। उनले त्यतिबेला नेमकिपाका उम्मेदवार सुनिल प्रजापतिलाई ३,७१० मतको मतान्तर सहित २१,१२१ मत ल्याएर पराजित गरेका थिए।  त्यो बेला एमाले उम्मेदवार महेश बस्नेत १६,०२९ मतसहित तेस्रो नम्बरमा सिमित रहे। 

संविधानको घोषणा पछि २०७४ मा देशमा पहिलोपल्ट प्रतिनिधीसभा निर्वाचन भयो। उक्त निर्वाचनमा अघिल्लोपटक तेस्रो नम्बरमा रहेका एमाले उम्मेदवार महेश बस्नेत भक्तपुर-२ मा करीब दोब्बर मतान्तरसहित विजयी भए। त्यतिबेला बस्नेतले ३६,४१२ मत ल्याउदा निकटतम प्रतिद्वन्दी दमननाथ ढुङ्गानाले १८,६८७ मत मात्रै ल्याए। २०७९ को प्रतिनिधिसभा निर्वाचनमा भक्तपुर-२ मा फेरी पासा पल्टियो- नेपाली काङ्ग्रेसका उम्मेदवार दुर्लभ थापा क्षेत्री विजयी बने। अघिल्लोपटक दोब्बर मतान्तर सहित चुनाव जितेका बस्नेत ०७९ को निर्वाचनमा भने थापा क्षेत्रीसँग ९ सय ५७ मतको मतान्तरले पराजित हुन पुगे। त्यतिबेला थापाले त्यो क्षेत्रमा २४,२३९ मत ल्याँउदा बस्नेतले २३,२८२ मत ल्याएका थिए।

भक्तपुर–२ मा एमाले सचिव महेश बस्नेतको उम्मेदवारी दर्ता

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले भक्तपुर–२ मा उम्मेदवारी दर्ता गराएका छन् । उनी यसअघि २०७९ मा यस क्षेत्रबाट पराजित भएका थिए ।

उनलाई पराजित गर्दै नेपाली कांग्रेसका नेता दुर्लभ थापा हुन् । उनी २०७४ र २०७० मा त्यही क्षेत्रबाट निर्वाचित भएका थिए ।

पूर्वउद्योगमन्त्री समेत रहेका उनी एमालेका प्रभावशाली उम्मेदवार हुन् । उनीसँग चुनावी प्रतिस्पर्धाका लागि नेपाली कांग्रेसले यसपटक कवीर राणालाई उम्मेदवार बनाएको छ ।

रास्वपाका राजुनाथ पाण्डेको काठमाडौं– ३ मा उम्मेदवारी दर्ता

रास्वपाका राजुनाथ पाण्डेको काठमाडौं– ३ मा उम्मेदवारी दर्ता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट राजुनाथ पाण्डेले काठमाडौं– ३ मा उम्मेदवारी दर्ता गराएका छन् ।

उनले निर्वाचन अधिकृतको कार्यालय पुगेर केहीबेरअघि उम्मेदवारी दर्ता गराएका हुन् ।

उनले हालै काठमाडौं महानगर प्रहरीको प्रमुखबाट राजीनामा दिएका हुन् । उनीसँग यहाँ उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्रतिस्पर्धा गर्दैछन् ।

यो क्षेत्रबाट २०७९ मा भएको प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका सन्तोष चालिसे निर्वाचित भएका थिए ।

एकै पहिरनमा सजिएर उम्मेदवारी दर्ता गराउँदै नेकपा सिन्धुपाल्चोकका उम्मेदवारहरू

काठमाडौं । सिन्धुपाल्चोकमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवारहरूले एकैखालको पहिरन लगाएर उम्मेदवारी दर्ता गर्ने भएका छन् ।

जिल्लाका दुवै निर्वाचन क्षेत्रका प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारहरू दौरा–सुरुवाल र साडी–चोलीमा सजिएर मनोनयन दर्तास्थल पुग्दै छन्।

क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार माधव सापकोटा ‘सुबोधु र क्षेत्र नम्बर २ का उम्मेदवार युवराज दुलाल ‘शरद’ले दौरा–सुरुवाल लगाएका छन्।

त्यस्तै, समानुपातिकतर्फकी उम्मेदवार भगवती नेपाल साडी–चोली र लालकान्छा तामाङ परम्परागत पहिरनमा सजिएका छन्।

बालेनको उम्मेदवारी दर्ता, ओली र तामाङद्वयको कहिले ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले उम्मेदवारी दर्ता गराएका छन् । उनले झापा–५ मा उम्मेदवारी दर्ता गराएका हुन् ।

उनी पहिलोपटक प्रतिनिधिसभा निर्वाचन लड्न लागेका हुन् । काठमाडौं महानगरपालिकाका प्रमुखबाट राजीनामा दिएर उनी भावी प्रधानमन्त्रीका उम्मेदवार हुँदै निर्वाचनको मैदानमा उत्रिएका हुन् ।

उनले त्यहाँ पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्दैछन् ।

चुनावी मैदानमा नेकपाका उम्मेदवार रञ्जित तामाङ, श्रम संस्कृति पार्टीका उम्मेदवार समीर तामाङलगायत पनि छन् । ओली र तामाङद्वयको भने उम्मेदवारी दर्ता हुन बाँकी छ ।

राप्रपा अध्यक्ष लिङ्देनले गरे झापा–३ मा उम्मेदवारी दर्ता

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले उम्मेदवारी दर्ता गराएका छन् । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनको लागि झापा ३ बाट उम्मेदवारी दर्ता गरेका हुन् । लिङ्देन गएको निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए । उम्मेदवारी दर्तापछि उनले देश बचाउन र बनाउन आफूलाई जिताउन आह्वान गरेका छन् ।

 

काठमाडौं– १ मा राप्रपाका रवीन्द्र मिश्रको उम्मेदवारी दर्ता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ नेता रवीन्द्र मिश्रले उम्मेदवारी दर्ता गराएका छन् ।

उनले केहीबेरअघि काठमाडौं– १ मा उम्मेदवारी दर्ता गराएका हुन् । उनी यसअघि दुईपटक यही क्षेत्रबाट निर्वाचन लडेका थिए ।

पहिलोपटक २०७४ मा साझा पार्टी र दोस्रोपटक २०७९ मा राप्रपाबाट निर्वाचन लडेका थिए । दुवैपटक उनी नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहसँग पराजित भएका थिए ।

रविको मुद्दा फिर्ताविरुद्धको रिट न्यायाधीश अब्दुल अजीजको इजलासमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको मुद्दा फिर्ता विरुद्धको रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । सर्वोच्चका न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासमा पेशी तोकिएको हो । सर्वोच्चका न्यायाधीश मसुलमानको इजलासको ‘ग’ नम्बरमा पेशी परेको हो ।

लामिछानेविरुद्ध विभिन्न अदालतमा रहेका सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा महान्यायाधिवक्ता सबिता भण्डारीले फिर्ता लिने निर्णय गरेकी थिइन् । त्यसविरुद्ध युवराज सफल, दिनेश त्रिपाठी र आभास रेग्मीले रिट दायर गरेका थिए ।

त्यसमाथि आज सुनुवाइ तोकिएको हो । केपी शर्मा ओलीको पालामा लामिछानेविरुद्ध सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको थियो । यसलाई रास्वपाले प्रतिशोध भन्दै बताउँदै आएको थियो । अहिले महान्यायाधीवक्ता कार्यालयले लामिछानेसँगै यो सहकारी ठगी प्रकरणमा दायर भएका अन्य प्रतिवादीको पनि सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुरको मुद्दा संशोधन गरेर फिर्ता लिएको थियो ।

मकवानपुर-१ बाट कांग्रेसले डिना संग्रौलालाई चुनाव लडाउने

काठमाडाैं । नेपाली कांग्रेसले मकवानपुरकाे दुईवटै निर्वाचन क्षेत्रका लागि उम्मेदवार टुंग्याएकाे छ ।

मकवानपुर-१ बाट पार्टीकी निवर्तमान सहमहामन्त्रीसमेत रहेकी पूर्वमन्त्री महालक्ष्मी उपाध्याय (डिना) र २ नम्बर क्षेत्रबाट पार्टी जिल्ला सभापति बुद्ध लामालाई उम्मेदवार बनाएकाे पार्टी जिल्ला समिति सचिव भिमशेन महतले जानकारी दिए ।

बालेन उम्मेदवारी दर्ता गर्न पुगे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) उम्मेदवारी दर्ता गर्न पुगेका छन् ।

उनी निर्वाचन अधिकृतको कार्यालयमा केहीबेरअघि प्रवेश गरेका छन् । उनले झापा– ५ मा उम्मेदवारी दिन लागेका हुन् ।

दमक कांग्रेसको सभापतिबाट राजीनामा दिँदै प्रसाईंको बालेनलाई समर्थन

काठमाडौं । झापाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र–५ मा पर्ने दमक नगरका कांग्रेस सभापति प्रकाश प्रसाईंले पद त्याग गर्दै बालेन्द्र शाह (बालेन)लाई समर्थन गरेका छन् ।

उनले पार्टीको क्रियाशील सदस्यतासमेत त्याग गर्दै परितर्वनका लागि बालनेलाई समर्थन गरेको उल्लेख गरेका छन् ।

फेसबुकमा स्टाटस लेख्दै उनले भने, ‘आफ्नो निर्वाचन क्षेत्र झापा–५ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार, काठमाडौं महानगरका निवर्तमान मेयर बालेन शाहलाई विजयको अग्रिम शुभकामना दिँदै मेरो तर्फबाट पूर्ण साथ, समर्थन र चुनावी अभियानमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्दछु ।’

उनले आफ्नो सामाजिक–राजनीतिक यात्रामा साथ दिने पार्टीका नेतृत्व, कार्यकर्ता, क्रियाशील सदस्य, शुभेच्छुक र नागरिकहरूप्रति आभार प्रकट गरेका छन् ।

उनी रास्वपा प्रवेश गरेका छैनन् । तर, उनले कांग्रेस छाडेपछि बालेनको समर्थनमा उत्रिँदै लेखे, ‘परिवर्तन सम्भव छ, हाम्रै पालामा ।’

झापा–५ मा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग बालेनसँगै नेकपाका युवा नेता रञ्जित तामाङ, श्रम संस्कृति पार्टीका समीर तामाङलगायत चुनावी मैदानमा छन् । उनीहरूले आजै उम्मेदवारी दर्ता गराउँदैछन् ।

 

शेखर कोइरालाले पाए मोरङ-६ को टिकट

काठमाडाैं । नेपाली कांग्रेसले मोरङ क्षेत्र नम्बर ६ मा नेता शेखर कोइरालालाई उम्मेदवार बनाउने भएको छ।

कांग्रेस संसदीय बोर्डले नेता कोइरालालाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

यसअघि पनि कोइराला मोरङ क्षेत्र नम्बर ६ बाटै निर्वाचित भएका थिए।

कास्कीको तीन क्षेत्रमै नेकपाको उम्मेदवारी दर्ता

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तीनै उम्मेदवारले कास्की जिल्लाका सबै निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका छन् ।

पार्टीका तर्फबाट कास्की क्षेत्र नम्बर १ मा राजकाजी गुरुङ (करण), क्षेत्र नम्बर २ मा हेमबहादुर थापा (किरण) र क्षेत्र नम्बर ३ मा गोपाल गिरी उम्मेदवार बनेका छन् ।

निर्वाचन आयोगको तालिकाअनुसार नेकपाका उम्मेदवारहरूले सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।

रमेश लेखकले पाएनन् टिकट

काठमाडाैं। पूर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकले यसपाली चुनाव लड्न नपाउने भएका छन्। 

उनलाई पार्टी केन्द्रले टिकट नदिएपछि लेखकको २१ फागुनको निर्वाचनमा प्रतिष्पर्धा नगर्ने निश्चित बनेको छ। 

लेखक कञ्चनपुर क्षेत्र नम्बर ३ मा उम्मेदवारका आकांक्षी थिए। उनी २०७९ को चुनावमा यही क्षेत्रबाट निर्वाचित भएका थिए।

मकवानपुर– १ मा श्रम संस्कृति पार्टीकी विद्याको उम्मेदवारी दर्ता

काठमाडौं ।  श्रम संस्कृति पार्टीकी विद्या श्रेष्ठले मकवानपुर–१ मा उम्मेदवारी दर्ता गरेकी छिन् ।

कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीको केन्द्रीय सदस्य पदबाट राजीनामा दिएर श्रेष्ठले उम्मेदवारी दिएकी हुन् ।

श्रेष्ठको उम्मेदवारी दर्तामा प्रस्तावक ममता प्रधान र समर्थक प्रवीनकुमार रजक रहेका छन् ।

कमल थापाले गराए काठमाडाैं-५ मा उम्मेदवारी दर्ता

काठमाडाैं। काठमाडाैं-५ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमल थापाले उम्मेदवारी दर्ता गराएका छन्। 

उक्त क्षेत्रमा एमालेका ईश्वर पोखरेल र नेपाली कांग्रेसका प्रदीप पौडेलले पनि उम्मेदवारी दर्ता गराउँदैछन् ।

भक्तपुर-२ मा कांग्रेसबाट कबिर राणाले पाए टिकट

काठमाडौँ । नेपाली कांग्रेस भक्तपुर–२ ले कबिर राणालाई उम्मेदवार बनाएको छ ।

राणा देशान्तर साप्ताहिकका प्रधानसम्पादक हुन् ।

म्याग्दीबाट महावीर पुनको स्वतन्त्र उम्मेदवारी

काठमाडौं । शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार बन्ने भएका छन्। 

उनले जिल्ला निर्वाचन कार्यालयमा आफ्नो उम्मेदवारी दर्ता समेत गराइसकेका छन् । पुनले म्याग्दीबाटै प्रधानमन्त्रीसमक्ष राजीनामा पठाएको बुझिएको छ ।

३४ वर्षपछि डडेलधुरामा कांग्रेसको पुस्तान्तरण, देउवाको ठाउँमा नयनसिंह महर

काठमाडौं । नेपाली कांग्रेसको राजनीतिमा डडेलधुराबाट एक ऐतिहासिक अध्याय टुंगिएको छ । २०४८ सालदेखि निरन्तर प्रतिनिधिसभा निर्वाचन जित्दै आएका कांग्रेसका पूर्व सभापति तथा पाँच पटकका प्रधानमन्त्री शेरबहादुर देउवा यस पटक चुनावी मैदानमा नउत्रिने भएका छन् । उनको स्थानमा कांग्रेसले युवा नेता नयनसिंह महरलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । सोमबार बसेको कांग्रेस संसदीय बोर्डको बैठकले डडेलधुराबाट महरलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

यद्यपि अन्तिम औपचारिक सूची सार्वजनिक हुन बाँकी रहे पनि देउवाको सचिवालयले उनी आगामी निर्वाचनमा उम्मेदवार नबन्ने स्पष्ट गरिसकेको छ । देउवाका स्वकीय सचिव भानु देउवाले भने, ‘शेरबहादुर देउवा ज्यू आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने निर्णयमा पुग्नुभएको छ ।’ डडेलधुरामा कांग्रेसका लागि देउवा केवल उम्मेदवार मात्र होइन, राजनीतिक पहिचान नै बनेका थिए । २०४८ सालको निर्वाचनमा पहिलो पटक सांसद बनेका देउवाले त्यसयता भएका सात वटै निर्वाचनमा अपराजित रहँदै संसदीय यात्रा निरन्तरता दिएका थिए । पाँच पटक प्रधानमन्त्री बनेका देउवाको यो निर्णयसँगै उनको ३४ वर्ष लामो संसदीय उपस्थितिमा विराम लागेको छ ।

पार्टीभित्रको बदलिँदो शक्ति सन्तुलन र हालै सम्पन्न विशेष महाधिवेशनपछि देखिएको ‘पुस्तान्तरण’ को सन्देशले देउवालाई टिकट नदिने वातावरण बनेको विश्लेषण गरिएको छ । विशेष महाधिवेशनबाट गगन थापा समूहको प्रभाव बढेसँगै देउवा समूह दबाबमा परेको थियो । स्रोतका अनुसार, टिकट निश्चित नदेखिएपछि देउवाले आफैं चुनावी दौडबाट बाहिरिने निर्णय लिएका हुन् । देउवाको स्थानमा अघि सारिएका नयनसिंह महर कांग्रेसका केन्द्रीय सदस्य हुन् । उनी पार्टीको शिक्षा विभाग प्रमुख रहँदै आएका छन् भने नेपाल विद्यार्थी संघका पूर्वअध्यक्षसमेत हुन् ।

पार्टीभित्र युवापुस्ताको प्रतिनिधित्व गर्ने नेताका रूपमा चिनिएका महरलाई देउवाको राजनीतिक विरासत सम्हाल्ने जिम्मेवारी दिइएको छ । डडेलधुरा कांग्रेस कार्यसमितिले भने सुरुआतमा देउवाकै नाम एकल सिफारिस गरेको थियो । तर केन्द्रको निर्णयले स्थानीय सिफारिस उल्टिएको छ । देउवासँगै यस पटक उनकी पत्नी आरजु राणा देउवाले पनि टिकट पाइनन् । कैलाली–५ बाट सिफारिस भएकी आरजुको स्थानमा पार्टीले नरनारायण शाहलाई उम्मेदवार बनाएको छ ।
राजनीतिक विश्लेषकहरूका अनुसार पार्टीभित्र उठेको ‘जेनेरेशन सिफ्ट’ को बहस, पछिल्लो समय देउवा दम्पतीमाथि भएको आलोचना तथा युवा नेतृत्वप्रति बढ्दो आकर्षणले यो निर्णयमा भूमिका खेलेको देखिन्छ ।

२००३ सालमा डडेलधुराको रुवाखोलामा जन्मिएका देउवा २०१७ सालदेखि राजनीतिमा सक्रिय थिए । २०४८ सालमा गृहमन्त्री हुँदै २०५२ सालमा पहिलो पटक प्रधानमन्त्री बनेका उनी साहसी र अडान लिने नेताका रूपमा परिचित थिए । ‘ज्योतिषले सात पटक प्रधानमन्त्री हुन्छस् भनेको छ’ भन्ने उनको चर्चित अभिव्यक्तिसँगै पुनः प्रधानमन्त्री बन्ने आकांक्षामा पनि अब पूर्णविराम लागेको छ । अब डडेलधुराको राजनीतिक मैदानमा कांग्रेसले नयाँ अनुहार अघि सारेको छ । देउवाको स्थानमा नयनसिंह महरलाई मतदाताले कत्तिको विश्वास गर्छन् भन्ने प्रश्न आगामी निर्वाचनले जवाफ दिनेछ । तर, यति भने स्पष्ट छ–डडेलधुरामा कांग्रेसको ३४ वर्ष पुरानो एउटा युग समाप्त भई नयाँ अध्याय सुरु भएको छ ।

 

 

शिक्षामन्त्री पुनले पनि राजीनामा दिँदै

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले पनि आज पदबाट राजीनामा दिँदै छन् । उनी निकट स्रोतका अनुसार मन्त्री पुनले आज पदबाट राजीनामा दिनेछन् । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन लड्ने तयारीबारे मन्त्री पुनले अहिले केहि पनि खुलाएका छैनन् ।

यसअघि चुनाव लड्नकै लागि सरकारका प्रवक्ता समेत सञ्चारमन्त्री जगदीश खरेल र खेलकुदमन्त्री बब्लु गुप्ताले यसअघि नै राजीनामा दिइसकेका छन् । मन्त्री छँदै उज्यालो नेपाल पार्टी खोलेका कुलमान घिसिङ त केही दिन अघिदेखि चुनावी अभियानमा समेत सक्रिय भइसकेका छन् ।

जनकपुरमा बालेनको भाषण: काठमाडौं अधिकार माग्न होइन, घुम्न जाने हो (पूर्णपाठ)

सर्वप्रथम माता जानकीलाई प्रणाम छ। विभिन्न आन्दोलनमा सहिद भएका ज्ञात अज्ञात सहिदहरुमा सम्मान। आज सबै भाषण सुन्न आएको हुनुहुन्छ। भाषण दिउँ कि नदिउँ ? हामी काम गर्नेवाला मान्छे हो काम गरेर देखाउँछु। काठमाडौंबासीले मेरो काम देखिसकेका छन् । अब यहाँहरू पनि मेरो काम हेर्न चाहनुहुन्छ ?

आजभन्दा डेढ महिना पहिला यहाँ रामजानकी विवाह महोत्सव मनाइयो, यो कुरा मनमा खड्किरहेको थियो। जनकपुर विश्वकै प्रतिष्ठित विवाह रामजानकीको विवाह भएको ठाँउ हो, तर हामी विवाह गर्न भारतको जयपुर जान्छौँ। विवाह यही मिथिलामा किन नगरेको ? जब राम र जानकीको विवाह यही ठाँउमा भयो, हामी विवाहको लागि बाली किन जान्छौँ ? सरकारका नीति र ऐन केका लागि हुन् ? जनकपुरको सरसफाई छैन, व्यवस्थापन छैन, यहाँको आकर्षण राम्रो छैन, यो कुन नीति हो ?

आज दुईवटा कुरा प्रष्ट भएका छन्।

पहिलो कुरा, मधेशमा पहिलोपटक सबैजातको मान्छेहरु आएका छन्। एउटा कुरा यहाँ कुनै एक जातको मान्छे मात्रै देखिएको छैन, सबै जातको मान्छे देखिएको छ।

दोस्रो कुरा, यो कुरालाई लिएर जनकपुर धेरै प्रसिद्ध छ। आजभन्दा एक वर्ष पहिले जनकपुर बोल्ट्सले एनपीएलको कप जितेको थियो त्यतिबेला जनकपुर मात्रै होइन, पुरा मधेश मात्रै खुशी भएको थिएन, पुरै देश खुशी भएको थियो। अब सबै जातको विकास हुनुपर्छ, सबै जात खुशी हुनुपर्छ।

एउटा कुरा काठमाडौँमा सोधिन्छ।  राष्ट्रिय स्वतन्त्र पार्टीको संघीयता बारेको धारणा के हो ? हामी प्रदेश संरचनालाई अझै बलियो बनाएर लैजान्छौँ । प्रदेशको काम एउटा वडामा गएर ५० हजारको धारा जोड्ने होइन, प्रदेशको काम कम्तिमा तीन वा चार पालिकाको काम गर्नु हो।

आज जनकपूरको मेयरलाई प्रमुख प्रशासकीय अधिकृत फेर्न काठमाडौँ जानुपर्छ।  किन ? जनकपुर प्रदेशको राजधानी होइन ? अनि यहाँको काम गर्न काठमाडौँ किन जानुपर्छ ? त्यो काम यतै किन हुँदैन ? हामी काठमाडौँ नगएर यतै काम गर्न मिल्ने गरी प्रदेशलाई बलियो बनाउछौं।

काठमाडौं अधिकार माग्न जाने होइन, पशुपतिनाथ घुम्न जाने हो। काठमाडौं घुम्न जाने हो, स्वयम्भुनाथ जाने हो । दर्शन गर्न जाने हो तर अधिकार माग्न जाने होइन। अहिले काठमाडौंको मेयर भएको चार वर्ष भयो।  यो चार वर्षमा कसैसँग भेटघाट गर्न पाइएन। उता दैनिक माइतीघर मण्डलामा उखु किसानको आन्दोलन हुन्छ, मिटरब्याजी पीडितको आन्दोलन हुन्छ। मा त्यतिबेला मुकदर्शक भएर बस्नुपर्यो, केही गर्न सकिएन। काठमाडौँको मेयरका रुपमा मैले केही गर्न सकिनँ। अब गरेर देखाउँछु । काठमाडौंमा रहेर ३५ पालिकामा एम्बुलेन्स पठाउन सकेँ, संघ सरकारमा गएँ भने कति सकौंला ?

अहिले पुरै देशभर सबैले समाजवादको कुरा गर्छन्, लोकतन्त्रको कुरा गर्छन्। समाजवाद के हो थाहा छ ?

काठमाडौं महानगरले हरेक वर्ष २० हजार विद्यार्थीलाई फ्रिमा पढाइरहेको छ । महङ्गा कलेजमा पढ्न पाउँछन्, पैसा नतिरिकन । बिना ढेउवाके तर विदेश जान होइन, कलेज पढ्न । महँगा स्कुल र कलेजमा वार्षिक २० हजार विद्यार्थी फ्रिमा पढिरहेका छन्।  त्यो समाजवाद हो। काठमाडौका महङ्गा हस्पिटलमा २० प्रतिशत बेड फ्रिमा मिल्छ । त्यो समाजवाद हो।

जो समाजवाद काठमाडौँमा छ, त्यो समाजवाद सातै प्रदेशमा चाहियो, ७५३ वटै स्थानिय तहमा चाहियो। चाहियो कि चाहिएन हँ ? ठुलो स्वरमा भनौँ, चाहियो कि नाई ?

काठमाडौमा हामीले पार्टी, पौवा, पोखरी, फाल्चाहरु संरक्षण गरेका छौं । मिथिलामा, जनकपुरमा पनि मन्दिर, पार्टी, पौवाहरुले प्रतिक्षा गरेर बसिरहेका छन्, कसले आएर संरक्षण गरिदेला भनेर । त्यो अब काम रास्वपाले गर्छ । यहाँको भूमिको, पार्टीपौवाको, मन्दिरको संरक्षण रास्वपाले गर्छ। यसका लागि हामीलाई अवसर दिनुपर्छ । हामी काम गरेर देखाईदिन्छौं।

म आज पहिलो पटक भाषण दिँदैछु । मेयर पदबाट राजीनामा दिएर फुर्सद पाए । ४ वर्ष फुर्सद नै थिएन कसरी भाषण दिनु ?

आज म मिथिलाको पावन भूमिमा आएर एउटै कुरा भन्न चाहन्छु- नेपालमा वार्षिक १० लाख  पर्यटक आउँछन् । जबकी भारतको अयोध्यामा मात्रै १० करोड पर्यटक आउँछ । हाम्रो जानकी माताको एक करोड पर्यटक ल्याउने क्षमता छ।

जो जहाँजहाँबाट आउनुभएको छ, सबैलाई धन्यवाद।  म अन्तिममा एउटै कुरा भन्न चाहन्छु कि- एउटा मधेशी केटो प्रधानमन्त्री बन्ला भनेर घण्टीमा भोट हाल्ने होइन, सही मान्छे ल्याउनका लागि, सही सरकार बनाउनका लागि घण्टीमा भोट हाल्नुस् ।

 

पाँच वर्षको लागि मौका दिनुस्, विदेशमा गएर काम गर्नुपर्ने बाध्यताको अन्त्य गर्छौं : कुलमान घिसिङ

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी निर्वाचनमा देशको नेतृत्व गर्ने अवसर आफूहरुलाई दिन आग्रह गरेका छन् । तामाङ समुदायले मनाउने सोनाम ल्होसारको अवसरमा सोमवार टुँडिखेलमा आयोजित कार्यक्रममा बोल्दै उनले पाँच वर्षको लागि नेतृत्व गर्ने जिम्मा दिएमा विदेशमा गएर काम गर्नुपर्ने बाध्यताको अन्त्य गर्ने बताए ।

उनले गरिबी हटाउन, देशको विकास गर्नको लागि आगामी निर्वाचनमा सही नेतृत्व छनौट गर्न आग्रह गरे । आगामी निर्वाचनलाई ऐतिहासिक रुपमा लिनुपर्ने उनको भनाई छ । उनले पाँच वर्षको आफूहरुले काम देखेपछि फेरि जनताले आफैलाई नै खोज्ने दाबी पनि गरे । उनले गर्ने सक्ने कामको मात्रै प्रतिवद्धता जनाउनु पर्ने बताउँँदै आफूले बोलेको कुरा सधै पूरा गरेको पनि दाबी गरे । जनतलाई आफूले कहिल्यै धोका नदिएको र आगामी दिनमा पनि नदिने उनको भनाई छ। उनले फागुन २१ गते हुने निर्वाचनमा आफूहरुलाई विश्वास गरेर हेर्न आग्रह गरे ।

उनले भने, ‘अब हामी देशको समृद्धितर्फ अगाडि बढ्नु पर्नेछ । देशको समृद्धिको लागि नेतृत्वको जरुरी पर्छ । नेतृत्वको लागि आगामी निर्वाचन धेरै नजिक आएको छ । आगामी निर्वाचन, फागुन २१ को निर्वाचन नयाँ नेतृत्व, सही नेतृत्वलाई छनौट गर्ने एउटा महाअभियानको रुपमा तपाईहरुले लिनुहोला भन्ने म हार्दिक आग्रह गर्दछु । यो इतिहासको एकदमै ठुलो, एकदमै महत्वपूर्ण अवसरको रुपमा लिनुहोला । यो अवसर गुमायौं भने फेरि पनि नेपाल पुरानै परिस्थितिमा फर्किन सक्दछ । मैले कहिले पनि कसैलाई धोका दिएको छैन । धोका दिने पनि छैन । जे बोल्छु, त्यो गर्छ । जे गर्छु, त्यही बोल्छु ।’

उनले भने, ‘हिजोको दिनमा जे बोलिन्छ, त्यो गरिँदैन । जे गरिन्छ, त्यो बोलिँदैन । त्यो भएको हुनाले यो डेलिभरी गर्नुपर्ने, परिणाम दिनुपर्ने कुरा छ, त्यो परिणाम दिनको लागि सही नेतृत्व आवश्यक छ । तपाईहरुले अब आगामी ५ वर्षको लागि तपाईहरुले एउटा अवसर दिनुहोस् । त्यो अवसर हामीले देशको समृद्धिको लागि नेपाली जनताको मन मस्तिष्कमा उज्यालो छाउनको लागि, गरिबी हटाउनको लागि र विदेशमा गएर टन्टलापूर घाममा काम गर्नुपर्ने बाध्यतालाई अन्त्य गर्नको लागी हामी प्रतिवद्ध भएर लाग्नेर्छौ । ५ वर्ष भित्र एउटा यस्तो परिणाम दिनेछौँ र त्यसपछिको सरकार, नेतृत्व तपाईहरु नै आउनुस् भनेर तपाईंहरुले नै भन्ने वातावरण हामीले बनाउनेछौँ ।’ उनले आगामी निर्वाचनबाट पनि पुरानै शक्तिहरुको उदय भए देश झन अधोगतितिर जाने बताए । देशलाई सही ट्रयाकमा ल्याउन सही र नयाँ नेतृत्वको जरुरी रहेको उनको भनाई छ ।

 

 

 

काठमाडौं–१ मा तेस्रो पटक रवीन्द्र मिश्र, आठ उम्मेदवार टुङ्गो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता रवीन्द्र मिश्रले काठमाडौं क्षेत्र नम्बर १ बाट तेस्रो पटक प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । मिश्रलाई काठमाडौं–१ को उम्मेदवार बनाउने राप्रपाको निर्णय छ ।
उनी यसअघि दुई पटक सोही क्षेत्रबाट प्रतिस्पर्धा गरेर पराजित भएका हुन् ।

राप्रपाले काठमाडौं–२ बाट कुन्ति पोखरेल ३ मा डा. सुन्दरसिंह बोहरा, ४ मा वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी, ५ मा कमल थापा, ६ मा उद्धवराज भेटवाल, ७ मा लालकुमार लामा ८ मा नविन शाही र १० मा बलराम थापा उम्मेदवार चयन गरिसकेको छ । राप्रपाले काठमाडौंका ८ वटा निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ । बाँकी २ क्षेत्रमा पनि सहमति नजिक रहेको पार्टी स्रोतले बतायो ।

 

 

‘सदाबहार उम्मेदवार’ गौतमले किन छाडे चुनावी मैदान ?

काठमाडौं । प्रतिनिधिसभा सदस्यको चुनाव लड्ने तयारीसहित राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिएका नेता बामदेव गौतम अन्ततः चुनावी प्रतिष्पर्धाबाट बाहिरिएका छन् । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट उम्मेदवार बन्ने चर्चा चलिरहेकै बेला उनले आफू यस पटक कुनै पनि क्षेत्रबाट चुनाव नलड्ने निर्णय लिएको बताएका हुन् ।

गौतमका अनुसार बर्दियाका दुईवटै निर्वाचन क्षेत्रमा उम्मेदवार चयनको क्रममा जातीय सन्तुलनको प्रश्न उठेपछि उनले पछि हट्ने निधो गरेका हुन् । ‘म उठ्ने हो भने दुवै क्षेत्रमा बाहुन–बाहुन उम्मेदवार हुने अवस्था आयो’, उनले भने, ‘कम्तीमा एउटा क्षेत्रमा थारु समुदायबाट उम्मेदवार उठाउनु पर्छ भन्ने मेरो धारणा थियो । त्यसैले मैले चुनाव नलड्ने निर्णय गरें ।’

उनको निर्णयसँगै नेकपाले बर्दिया–१ बाट विष्णुप्रसाद थारु र बर्दिया–२ बाट सुरेश पन्तलाई उम्मेदवार बनाएको छ । बर्दिया–१ मा गौतमको नाम बलियो रूपमा चर्चामा रहे पनि अन्तिममा पार्टीले थारु समुदायका नेता चौधरीलाई टिकट दिएको हो । सोमबार पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चौधरीलाई औपचारिक रूपमा टिकट हस्तान्तरण गरेका थिए । यद्यपि, टिकट वितरणको प्रक्रियाप्रति गौतम पूर्ण रूपमा सन्तुष्ट देखिएनन् । ‘म उठ्दिन भनेपछि कुरा सकिनु पर्ने हो’, उनले भने, ‘तर उठ्दिनँ भन्ने वातावरण नै बनाइयो ।’ यसलाई कतिपयले पार्टीभित्रको आन्तरिक शक्ति सन्तुलन र दबाबको परिणामका रूपमा हेरेका छन् ।

२०७४ सालको निर्वाचनमा बर्दिया–१ बाट पराजित भएपछि गौतम राष्ट्रिय सभामा पुगेका थिए । राष्ट्रिय सभा सदस्यको रूपमा उनको कार्यकाल आगामी फागुन २० गतेसम्म बाँकी थियो । तर प्रतिनिधिसभा चुनाव लड्ने तयारी गर्दै उनले डेढ महिना अगावै राजीनामा दिएका थिए । अन्ततः चुनाव नलड्ने निर्णयसँगै उनको राजीनामाले राजनीतिक वृत्तमा थप चर्चा पाएको छ । ७७ वर्षीय गौतमलाई बहुदलयताकै ‘सदाबहार उम्मेदवार’ का रूपमा लिइन्छ ।

उनले २०४८ सालमा पहिलो पटक चुनाव जितेका थिए भने २०५१ को मध्यावधि निर्वाचनपछि २०५३ सालमा गृहमन्त्री समेत बने । २०५६ र २०६४ मा पराजय बेहोरेका उनी २०७० सालमा भने बर्दिया–१ र प्युठान–१ दुवै क्षेत्रबाट विजयी भएका थिए । भविष्यको राजनीतिक भूमिकाबारे अहिले केही नबताउने भन्दै गौतमले यस पटक कुनै पनि क्षेत्रबाट प्रतिनिधिसभा सदस्यको चुनाव नलड्ने स्पष्ट पारेका छन् । उनको पछिल्लो निर्णयलाई कतिपयले जातीय प्रतिनिधित्वप्रतिको संवेदनशीलता भने कतिपयले सक्रिय चुनावी राजनीतिबाट बिस्तारै दूरी बनाउने संकेतका रूपमा विश्लेषण गरेका छन् ।

 

 

 

बालेनले रविको हातबाट लिए झापा–५ को टिकट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले झापा–५ को प्रतिनिधिसभा सदस्यको टिकट लिएका छन् । जनकपुरमा चुनावी सभाको क्रममा रास्वपा नेतृत्व यतिखेर जनकपुरमा छन् । बालेनले त्यहीँ रविको हातबाट टिकट लिएका हुन् । आइतबार काठमाडौं महानगरपालिकाको मेयरबाट राजीनामा दिएर बालेन चुनावी मैदानमा होमिएका थिए । जनकपुरमा आज उनले रास्वपाको ‘परिवर्तन उद्घोष सभा’ लाई सम्बोधन गरेका थिए ।

 

 

जनकपुरबाट रविको हुंकार : छलछामले रोकिँदैनौं, अब सबैभन्दा ठूलो पार्टी बनाएर संसद फर्किन्छौं

जनकपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई छलछाम गरेर संसदबाट हटाइए पनि अब जनताको बलमा सबैभन्दा धेरै मत ल्याउने पार्टी बनाएर संसदमा पुनः प्रवेश गर्ने दाबी गरेका छन् । जनकपुरमा आयोजित पार्टी सभालाई सम्बोधन गर्दै उनले अघिल्लो निर्वाचनमा चितवनका जनताले सबैभन्दा धेरै मत दिएर पठाउँदा पनि षड्यन्त्रपूर्वक आफूलाई संसदबाट बाहिर गरिएको आरोप लगाए ।

‘चितवनका जनताले मलाई सबैभन्दा धेरै भोट दिएर पठाएका थिए । हिजो सबैभन्दा धेरै मत ल्याउने सांसद म नै थिएँ,’ उनले भने, ‘तर छलछाम गरेर मलाई संसदबाट हटाइयो । अब व्यक्तिका रूपमा होइन, पार्टीकै रूपमा सबैभन्दा धेरै मत ल्याएर संसदमा जानेछौं ।’ लामिछानेले आफू जनताको मुद्दा बोकेर हिँडेकाले आफूमाथि लगाइएका मुद्दाबाट डराउने अवस्था नरहेको बताए । अघिल्लो सरकारले आफूविरुद्ध लगाएको मुद्दाले फेरि जेल जानुपरे पनि अब चिन्ता नभएको उनको भनाइ थियो । ‘हेलिकप्टरबाट भाग्ने, बच्चाको टाउको र छातीमा गोली ठोकेर भाग्ने सरकारले लगाएको मुद्दाले मलाई जेल पुर्‍याउला,’ उनले भने, ‘तर अब मलाई कुनै चिन्ता छैन ।’

उनले देशले अब वैकल्पिक नेतृत्व पाइसकेको दाबी गर्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) प्रति भरोसा व्यक्त गरे । ‘मलाई अब चिन्ता छैन, किनकि देशले बालेन पाएको छ,’ उनले भने । बच्चामाथि गोली चलाउने र जनतामाथि दमन गर्नेहरूले देश र मधेशलाई गरेको अन्यायको हिसाब अब लिनुपर्ने समय आएको उनको भनाइ थियो । जनताले भगाएका शक्तिहरूलाई अब देश छाड भनेर भन्न नपर्ने अवस्था आउने दाबीसमेत उनले गरे ।

सभामा बोल्दै लामिछानेले बालेनले देश निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । ‘मैले आमाको फोटो हेरेर गम्भीर रूपमा सोचें,’ उनले भावुक हुँदै भने, ‘मलाई लाग्यो, बालेनले देश बनाउँछ । मैले आमासँग भनेँ, आमा बालेनले देश बनाउँछ ।’ देश र जनताको हितका लागि आफू र बालेन एकै ठाउँमा उभिएको उनको भनाइ थियो । उनले आफू र बालेनबीच भएको छलफल छोटो तर सार्थक भएको पनि खुलाए ।

‘रवि र बालेनको वार्ता पाँच मिनेटमै सकिएको हो,’ उनले भने, ‘अरु समय त एक–अर्कालाई चिन्ने र बुझ्ने क्रममा बित्यो ।’ लामिछानेले अबको राजनीति डर, दमन र षड्यन्त्रको होइन, जनताको भरोसा, इमानदारी र परिवर्तनको हुने दाबी गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी त्यसको नेतृत्व गर्न तयार रहेको बताए । उनले जनतालाई निराश नहुन आग्रह गर्दै आगामी दिनमा अझ सशक्त रूपमा जनताको आवाज संसदमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे ।

 

राजुनाथ पाण्डे रास्वपाबाट काठमाडौं क्षेत्र नं–३ बाट उम्मेदवार

काठमाडौं । काठमाडौं महानगरका निवर्तमान प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उम्मेदवार बनाएको छ । काठमाडौं महानगरका निवर्तमान मेयर बालेन्द्र शाह (बालेन) को कोटाबाट रास्वपाले उनलाई काठमाडौं क्षेत्र नं– ३ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाउने भएको हो । उनले रास्वपाबाट उम्मेदवार बन्नकै लागि माग ४ गतेदेखि लागू हुने गरी २ गते राजीनामा दिएका थिए । उनले आज रास्वपा केन्द्रीय कार्यालय वनस्थलीमा पुगेर टिकट लिएका छन् ।

 

दुर्गा प्रसाईं पोखराबाट पक्राउ

पोखरा । मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ का संयोजक दुर्गा प्रसाईं सोमबार पोखराबाट पक्राउ परेका छन् । कास्की प्रहरीले निर्वाचन आयोगको अनुरोधअनुसार उनलाई पक्राउ गरी थप अनुसन्धानका लागि काठमाडौं पठाउने तयारी गरेको जनाएको छ ।

निर्वाचन आयोगमाथि गम्भीर आरोप लगाएको अभिव्यक्तिपछि प्रसाईं प्रहरीको निगरानीमा आएका थिए । उनले नेपाली कांग्रेसको विशेष महाधिवेशनसँग जोडेर निर्वाचन आयोगले गगन थापा पक्षलाई आधिकारिकता दिन करोडौं रुपैयाँ लिएको दाबी सार्वजनिक रूपमा गरेका थिए। सामाजिक सञ्जालमा समेत भिडियोमार्फत अभिव्यक्ति दिएपछि आयोगले यसलाई गम्भीर आरोप मान्दै प्रहरीमा उजुरी दर्ता गराएको थियो ।

यसैबीच, प्रसाईंले रकम लगानी गरेर सरकारी वेबसाइट ह्याक गर्ने र डाटा चोरी गर्ने योजना बनाएको आरोपसमेत लागेको छ । सो सम्बन्धी अडियो सार्वजनिक भएपछि विषय थप संवेदनशील बनेको थियो । आयोगले अनुसन्धानका लागि पत्राचार गरेपछि कास्की प्रहरीले पोखरामा रहेका प्रसाईंलाई पक्राउ गरेको हो ।

प्रसाईं पछिल्लो समय निर्वाचन बहिष्कारदेखि विभिन्न आन्दोलनका कार्यक्रम घोषणा गर्दै आएका थिए । राजसंस्था पुनस्र्थापना, प्रदेश संरचनाको खारेजी, हिन्दु अधिराज्य लगायतका मागसहित उनी देशव्यापी अभियानमा सक्रिय थिए । यसअघि तीनकुने घटनामा समेत पक्राउ परेका प्रसाईं पटक–पटक पक्राउ र रिहाइको प्रक्रियामा रहँदै आएका छन् ।

सरकार र प्रसाईं नेतृत्वको अभियानबीच भने माघ २ गते मात्र सहमति भएको थियो । सिंहदरबारमा दुवै पक्षबीच १२ बुँदे सम्झौतामा हस्ताक्षर भएपछि आन्दोलनका कार्यक्रम तत्कालका लागि स्थगित गरिएको थियो । यसअघि कार्तिक २६ गते गृहमन्त्रीसँग २७ बुँदे माग प्रस्तुत गरिएकोमा त्यसकै निरन्तरतामा सहमति भएको थियो ।

सम्झौताअनुसार आन्दोलनका क्रममा लागेका संगठित अपराध र फौजदारी मुद्दा फिर्ता लिने प्रक्रिया अघि बढाउने, संवैधानिक तथा कानुनी सुधारका विषयमा अध्ययन गर्न उच्चस्तरीय संविधान संशोधन सुझाव आयोग गठन गर्ने, साथै लघुवित्त र सहकारीका ऋणीलाई राहत दिन चक्रवर्ती कोष स्थापना गर्ने सहमति भएको थियो । तर सम्झौता भएको केही समय नबित्दै निर्वाचन आयोगमाथि लगाइएका आरोप र साइबर अपराधको योजनासम्बन्धी विषय सार्वजनिक भएपछि प्रसाईं पुनः प्रहरी हिरासतमा पुगेका छन् । कास्की प्रहरी प्रवक्ता तथा सूचना अधिकारी डिएसपी हरिबहादुर बस्नेतका अनुसार उनलाई काठमाडौं पठाएर जिल्ला प्रहरी परिसर काठमाडौंमार्फत थप अनुसन्धान गरिनेछ ।

 

 

 

 

 

म भाषण होइन, काम गर्ने मान्छे हुँ : बालेन शाह

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ ले आफू भाषणभन्दा काममा विश्वास गर्ने नेता भएको दाबी गर्दै जनकपुरधामबाट प्रधानमन्त्री बन्ने आकांक्षा सार्वजनिक गरेका छन् । सोमबार जनकपुरधाममा आयोजित रास्वपाको चुनावी सभालाई सम्बोधन गर्दै उनले काठमाडौं महानगरपालिकाको मेयरका रूपमा गरेको कामलाई आधार बनाउँदै अब देशकै नेतृत्व सम्हाल्ने दाबी गरे ।

सभालाई सम्बोधन गर्दै बालेनले भने, ‘म भाषण गर्ने मान्छे होइन, काम गर्ने मान्छे हुँ । काम गरेको हेर्न चाहनुहुन्छ भने मेरो विगत हेर्नुस् ।’ काठमाडौं महानगरपालिकाको प्रमुखमा निर्वाचित भएपछि आफूले काम गरेर देखाएको जिकिर गर्दै उनले काठमाडौंबासीले आफ्नो कार्यशैली नजिकबाट देखिसकेको बताए । ‘अब यहाँका जनताले पनि मेरो काम हेर्न चाहनु हुन्छ ?’ भन्दै उनले मधेसका जनतासँग समर्थन मागे ।

यस पटकको सभामा बालेन पहिलो पटक चुनावी मञ्चबाट बोलेका थिए । उनले मैथिली भाषामै सम्बोधन गर्दै भावनात्मक अपिल गरे । ‘मधेसी छौरा प्रधानमन्त्री बन्ने वाला है’, भन्दै उनले रास्वपालाई मत दिन आग्रह गरे। रास्वपाले उनलाई प्रधानमन्त्रीको रूपमा अघि सारेको उल्लेख गर्दै उनले देशलाई नयाँ ढंगले हाँक्ने अवसर दिन मतदातासँग अनुरोध गरे ।

तर बालेनको सम्बोधन केवल उपलब्धिको चर्चा मात्रमा सीमित रहेन । उनले काठमाडौंको मेयरका रूपमा चार वर्ष काम गर्दा पनि धेरै जनसमस्यामा आफू असहाय बनेको स्वीकारोक्ति दिए । माइतीघर मण्डलामा उखु किसान, मिटरब्याज पीडितलगायतका आन्दोलन हुँदा समेत स्थानीय सरकारको सीमित अधिकारका कारण आफू मुकदर्शक भएर बस्नुपरेको उनको भनाइ थियो । ‘चार वर्ष मेयर हुँदा पनि धेरै पीडामा केही गर्न सकिनँ’, भन्दै उनले आफ्नो अनुभव सुनाए ।

यद्यपि, सीमित अधिकारबीच पनि केही काम गर्न सकेको उदाहरण उनले प्रस्तुत गरे । काठमाडौंको मेयर भएर देशभरका ३५ पालिकामा एम्बुलेन्स पुर्याउन भूमिका खेलेको स्मरण गर्दै उनले संघीय सरकारको नेतृत्व पाए कति धेरै गर्न सकिन्छ भन्ने प्रश्न उठाए । ‘स्थानीय तहमा रहेर यति गर्न सकेँ भने प्रधानमन्त्री भएर कति गर्न सकिएला ?’ भन्दै उनले आफ्नो आकांक्षा प्रस्ट पारे ।

जनकपुरको सभामा बालेनको प्रस्तुति आत्मविश्वास, आत्मालोचना र भविष्यको दाबीको मिश्रण देखिन्थ्यो । भाषणभन्दा कामलाई प्राथमिकता दिने उनको शैलीले समर्थकहरू उत्साहित देखिए भने उनले गरेको आत्मस्वीकृतिले राजनीतिक बहसलाई थप गहिरो बनाएको छ ।

 

 

 

 

 

कांग्रेस–सुमना श्रेष्ठ संवादमा, गगन थापा काठमाडौं–४ छोड्न तयार हुन् ?

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारी दर्ता नजिकिँदै गर्दा नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की पूर्व नेतृ तथा पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठबीचको संवादले राजनीतिक वृत्तमा नयाँ तरंग पैदा गरेको छ । कांग्रेस नेतृत्वसँग उनको निरन्तर छलफलले सम्भावित पार्टी प्रवेश वा चुनावी सहकार्यको ढोका खुला भएको संकेत दिएको छ ।

कांग्रेस सभापति गगन थापासहितका नेताहरूसँग सुमनाको संवाद तीव्र बनेको छ । स्रोतका अनुसार गगन थापा काठमाडौं क्षेत्र नम्बर–४ छाड्न तयार देखिएका छन् । यदि थापाले उक्त क्षेत्र छाडे भने सुमना श्रेष्ठ काठमाडौं–४ बाट प्रतिनिधिसभा निर्वाचन लड्न इच्छुक रहेको बताइएको छ । गगन थापा भने काठमाडौं–१ वा सर्लाही क्षेत्रबाट उम्मेदवार बन्न सक्ने सम्भावनामा छलफल गरिरहेका छन् । उनले सर्लाहीका स्थानीय नेता–कार्यकर्तासँग पनि १ वा ४ मध्ये कुनै एक क्षेत्रबाट चुनाव लड्न सक्ने संकेत दिइसकेका छन् ।

कांग्रेसभित्र उम्मेदवार छनोटको रस्साकस्सी चर्किरहेका बेला सुमनासँगको संवादलाई अर्थपूर्ण रूपमा हेरिएको छ । सभापति गगन थापा, निवर्तमान सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता डा. शेखर कोइरालाका पक्षबाट आएका उम्मेदवार सूची एकै ठाउँमा राखेर टुंगो लगाउने प्रयास भइरहँदा सुमनाको सम्भावित प्रवेशले समीकरण थप जटिल बनेको छ । सभापति थापा निकट एक नेताका अनुसार उम्मेदवारी दर्ताको अन्तिम समय नजिकिँदै गर्दा सुमना श्रेष्ठसँग औपचारिक तथा अनौपचारिक छलफल भइरहेको पुष्टि भएको छ । यद्यपि उनी कांग्रेस प्रवेश गर्ने कि चुनावी सहकार्यमा सीमित रहने भन्ने विषय अझै खुलिसकेको छैन ।

सुमना श्रेष्ठले गत भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’ पछि रास्वपा सभापति रवि लामिछानेको कार्यशैलीप्रति तीव्र असन्तुष्टि जनाउँदै पार्टी परित्याग गरेकी थिइन् । नख्खु कारागारबाट रवि लामिछाने जबर्जस्ती निकालिएको घटनालाई लिएर उनले सार्वजनिक रूपमा कडा आपत्ति जनाएकी थिइन् । रास्वपा छाडेपछि सुमना काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर बालेन्द्र साह निकट समूहसँग नजिक देखिइन् ।

उनले ‘उज्यालो नेपाल’ का अध्यक्ष कुलमान घिसिङसँग पनि संवाद गरेकी थिइन् । केही समय बालेन्द्र साहको समूह हुँदै पुनः रास्वपामै फर्किने चर्चा चले पनि रवि लामिछानेले आफ्ना कट्टर आलोचक सुमनालाई स्वीकार नगरेपछि त्यो सम्भावना अन्त्य भएको बताइन्छ । अब कांग्रेससँगको संवादले सुमनाको राजनीतिक यात्रामा नयाँ मोड आउने संकेत देखिएको छ । अन्तिम निर्णय उम्मेदवारी दर्ताअघि नै सार्वजनिक हुने अपेक्षा गरिएको छ । कांग्रेस र सुमना श्रेष्ठबीचको यो सम्भावित सहकार्यले काठमाडौंको चुनावी प्रतिष्पर्धा झनै रोचक बनाउने निश्चित देखिन्छ ।

 

 

 

 

 

 

 

 

कांग्रेसबाट मोरङ–३ मा सुनिल शर्मालाई टिकट

काठमाडौं । नेपाली कांग्रेसका नेता सुनिल शर्मा मोरङ–३ बाट चुनाव लड्ने भएका छन् । उनले आज मात्रै मोरङ–३ को टिकट पाएका हुन् । विशेष महाधिवेशन पुगेर सम्बोधन समेत गरेका उनी नेतृत्व चयनको समयमा भने थिएनन् । उनी त्यही समयमा सानेपामा भएको बैठकमा पनि सहभागी थिए । निर्वाचन आयोगले गगन थापा नेतृत्वको समितिलाई नै आधिकारिकता दिएपछि उनी कांग्रेसीहरु जुटेर अगाडि बढ्नु पर्छ भन्दै अभिव्यक्ति दिँदै आएका थिए ।