`

रवि भगाउन उनका पीए आचार्य र जेलर जोशीबीच अघिल्लै दिन फोनसम्पर्क भएको पुष्टी

काठमाडौं । भदौ २४ गते उत्पन्न राज्यविहीनताको अवस्थालाई उपयोग गर्दै जेलबाट निकालिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने का प्रमुख स्वकीय सचिव अविनाश आचार्य र जेलर सत्यराज जोशीबीच घटनाअघि नै फोन सम्पर्क भएको तथ्य सार्वजनिक भएको छ।

जेन-जी घटनाको छानबिनका लागि गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले गरेको अध्ययनका क्रममा यी विवरण फेला परेका हुन्। आयोगको प्रतिवेदनअनुसार भदौ २३ र २४ दुवै दिन जोशी र आचार्यबीच दुई पटक टेलिफोन वार्ता भएको पुष्टि भएको छ।

यससँगै, प्रतिवेदनमा जेलर जोशीले भदौ २४ गते मात्रै गृह मन्त्रालयका सहसचिव आनन्द काफ्ले लाई ६ पटक फोन सम्पर्क गरेको उल्लेख छ। त्यस्तै, ललितपुरका प्रमुख जिल्ला अधिकारीले जोशीलाई भदौ २७ गते एक पटक फोन गरेको तथ्य पनि प्रतिवेदनमा समावेश गरिएको छ।

कांग्रेसले १६ देखि १८ असोजमा १५ औँ महाधिवेशन गर्ने

काठमाडौं । नेपाली नेपाली कांग्रेस को केन्द्रीय समिति बैठकले १५औँ महाधिवेशनको मिति फेरबदल गरी पुनः पारित गरेको छ। 

पहिले भदौ २४ देखि २६ गतेसम्म गर्ने प्रस्ताव रहेकोमा नयाँ निर्णय अनुसार महाधिवेशन असोज १६ देखि १८ गतेसम्म सञ्चालन हुनेछ भन्ने जानकारी पार्टी प्रवक्ता देवराज चालिसेले दिएका छन्।

उनका अनुसार पार्टीको वडा अधिवेशन भने आउने भदौ ३ गतेदेखि सुरु हुने छ। महाधिवेशनको मुख्य कार्यक्रम काठमाडौं मा आयोजना गरिने छ।

सेनाको सहयोग समयमै नहुँदा देश जल्यो

काठमाडौं । नेपाली सेनाको असहयोगले २४ भदौमा देश जलेको तथ्य सार्वजनिक भएको छ । यो तथ्य गौरीबहादुर कार्कीको संयोजकत्वमा गठित जाँचबुझ आयोगको प्रतिवेदनमा उल्लेख छ ।
आयाेगले सेनाकाे भूमिकामाथि पनि प्रश्‍न उठाएकाे छ ।
‘सामान्यतया सेनाको स्थानीय प्रतिनिधि पनि जिल्ला सुरक्षा समितिमा रहने व्यवस्था स्थानीय प्रशासन ऐनको दफ ६(७) मा रहेको र कर्फ्यु लागेपछि सेना परिचालन भई शान्ति सुरक्षामा सहयोग पुग्ने गरेको विगतको प्रचलनले देखाउँछ । २०४६ सालमा पनि प्रमुख जिल्ला अधिकारीले कर्फ्यु आदेश जारी गरेपछि सेना परिचालन भएको इतिहास छ । करिब ९ दिन चलेको त्यस घटनामा पनि १९ जना व्यक्तिले ज्यान गुमाएका थिए । २३  भदौको घटनामा सेनाको यथेस्ट सहयोग किन प्राप्त भएन भन्ने प्रश्न अनुत्तरित नै रहेको छ ।’
प्रतिवेदनमा २४ भदाैमा कर्फ्यु आदेश जारी भएपछि पनि सेना परिचालन नभएकाे भनिएकाे छ । ‘दोस्रो दिन २४ भदौमा पनि कर्फ्यु जारी गरिएको थियो । त्यस दिन पनि सेना परिचलान भएन । फलस्वरुप नेपालले इतिहासमै नभोगेको देशभर आगजनी, लुटपाट र तोडफोडका घटनाहरू भए ’, प्रतिवेदनमा उल्लेख छ ।
सेनाकै निष्क्रिय भूमिकाले देश जल्न पुगेकाे भनिएकाे छ ।
‘देश अति कष्टकर समयबाट गुज्रिरहेको समयमा सेनाबाट शान्तिसुरुक्षा स्थापनामा ठूलो सहयोग पुग्ने जनअपेक्षा थियो तर सेनाबाट सहयोगसमयमै प्राप्त नुहँदा देशले ठूलो क्षति व्यहोर्नुपर्‍यो भन्ने जनगुनासो छ’, प्रतिवेदनमा छ ।

इनिशा विककाे बलात्कारपछि हत्या प्रकरण- मुख्य अभियुक्तलाई जन्मकैदको सजाय माग

काठमाडौं । सुर्खेतकी १६ वर्षीया इनिशा विकको बलात्कारपछि हत्या प्रकरणमा प्रहरीले मुख्य अभियुक्तविरुद्ध जन्मकैदको माग गरेको छ।

जिल्ला प्रहरी प्रमुख सुधीरराज शाहीका अनुसार घटनास्थलबाटै पक्राउ परेका मुख्य अभियुक्तसहित अध्यनरत एक जना किशोरविरुद्ध जबरजस्ती करणी र कर्तव्य ज्यानसम्बन्धी मुद्दा लगाइएको छ।

फागुन २३ गते बिहान ट्युसन जान निस्केकी इनिशा विक वीरेन्द्रनगर नगरपालिका–१ स्थित सामुदायिक वन पार्कमा मृत अवस्थामा फेला परेकी थिइन्।

पोष्टमोर्टम रिपोर्टले बलात्कारपछि अत्यधिक रक्तश्रावका कारण उनको मृत्यु भएको पुष्टि गरेको छ। प्रहरी अनुसन्धानले मुख्य अभियुक्तले बलात्कार र हत्या दुबै कार्यमा प्रत्यक्ष संलग्न रहेको देखाएको छ। यस घटनालाई आधार मान्दै प्रहरीले कानुनी रूपमा मुख्य अभियुक्तविरुद्ध जन्मकैदको माग गरेको हो।

अनुसन्धान प्रतिवेदनअनुसार अन्य तीन किशोर घटनामा प्रत्यक्ष संलग्न नभए पनि बलात्कारपछि बेहोस भएकी इनिशालाई समयमै अस्पताल पुर्‍याउन नसकेको र सहयोग नगरेको कारण उनीहरूविरुद्ध पनि ज्यानसम्बन्धी कसुरमा मुद्दा चलाउन माग गरिएको छ। चारै जना आरोपी १८ वर्षभन्दा कम उमेरका भएकाले प्रहरीले उनीहरूको नाम सार्वजनिक गरेको छैन।

एसपी शाहीका अनुसार प्रहरीले डिएनए, मोबाइल ट्याप, फरेन्सिक र टक्सिकोलोजीसम्बन्धी रिपोर्टहरू प्राप्त नगरेको अवस्थामा पनि अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाइएको हो।

केही परीक्षण नेपालमा गर्न सम्भव नभएर नमूना विदेश पठाइएको छ। यी रिपोर्ट प्राप्त भएपछिको अध्ययनले इनिशाको मृत्युको कारण थप स्पष्ट हुने बताइएको छ।

जिल्ला सरकारी वकिल कार्यालय सुर्खेतका प्रमुख कर्णबहादर महतले प्रहरी प्रतिवेदन अध्ययनको प्रक्रिया जारी रहेको जानकारी दिए । प्रतिवेदनको समीक्षापछि अदालतमा पेश गरी अभियुक्तविरुद्धको मुद्दा औपचारिक रूपमा तय गरिनेछ।

बालेनकाे इन्कारी बयान- ‘सिंहदरबार जलाउँछु’ लेखिनँ, बरु जल्दा आगाे निभाउन दमकल पठाएँ

काठमाडौं । जेन-जी विद्राेहकाे बेला बालेन्द्र शाह (बालेन)ले  राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानसेनापति अशोकराज सिग्देलको आग्रहमा आन्दोलनलाई शान्त पार्न भूमिका खेलेको दाबी गरेका छन् ।

उनकाे याे दाबी गाैरीबहादुर कार्की आयाेगकाे जाँचबुझ प्रतिवेदनमा उल्लेख छ ।

उनले २४ भदौको आगजनी नियन्त्रणका लागि महानगरले समयमै दमकल पठाएको दाबी गरेका छन् । महानगरभित्रका संरचना महानगरकै दमकलले नियन्त्रणमा लिएको समेत उनकाे जिकिर छ ।

२३ र २४ गतेकाे घटनाक्रमबारे जानकारहरुले बालेनकाे याे बयानलाई पत्याउँदैनन् । किनभने सिहदरबार, सर्वाेच्च अदालतलगायत सरकारी संरचना तीन दिनसम्म जलिरहँदा बालेनले दमकल पठाएका थिएनन् ।

बरु ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले दमकल पठाएका थिए । त्यसाे हुँदा उनले आयाेगसमक्ष दिएकाे बयान र वास्तविकताबीच तालमेल खाँदैन।

यति मात्र हाेइन, उनले आयाेगसमक्ष विगतमा सामाजिक सञ्जालमा लेखेको विवरणबारेसमेत ढाँटेका छन् । ‘सिंहदरबार जलाउने’ भन्ने विगतमा लेखिएकाे स्टाटसबारे आयाेगले साेध्दा उनले भनेका छन्,  ‘काठमाडौं महानगरको फोहोर बोक्ने गाडी बन्चरेडाँडा जाँदै गर्दा अनावश्यक रोकेपछि विरोधस्वरुप मेटाफोरका रुपमा फेसबुकमा अभिव्यक्ति दिएकोमा जलाई दिन्छु शब्द प्रयोग भएको थिएन ।’

प्रधानमन्त्रीका रुपमा बालेनकाे शपथ ग्रहण १३ गते साढे १२ बजे तय

काठमाडौं । नयाँ प्रधानमन्त्रीका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन साहले शपथ ग्रहण गर्ने मिति र समय तय भएकाे छ ।

उनले यही चैत १३ गते  शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने तय भएको हो ।

उनले भाेलि १२ चैतमा प्रतिनिधिसभा सदस्यकाे रुपमा शपथ ग्रहण गर्नेछन् । त्यसपछि नयाँ प्रधानमन्त्रीका रुपमा शपथ ग्रहण गर्ने भएका हुन् ।

त्यसपछि उनले सिहदरबार पुगेर दिउँसो सवा २ बजे पद तथा पदभार ग्रहण गर्नेछन् ।

 

जेन-जी विद्राेह षड्यन्त्र हाे- शेरबहादुर देउवा

काठमाडौं । कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले ‘जेन–जी’ विद्रोहलाई नितान्त षड्यन्त्र भएको बताएका छन् ।

उनले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगसमक्ष यस्तो बयान दिएका हुन् । उनले आफ्नो घटना षड्यन्त्रपूूर्वक भएको तर कसले गरेको भन्ने थाहा नभएको पनि बताए ।

मिडियाबाट सार्वजनिक जेन–जी प्रतिवेदनमा भनिएको छ, ‘प्रहरी कार्यालयमा रिपोर्ट गरेको थिएन । यो नितान्त षड्यन्त्र हो, तर कसले गर्‍यो ? थाहा भएन । तर मेरो निवासमा भएको तोडफोड, आगजनी र लुटपाट सम्बन्धमा नेपाल प्रहरीले मुचुल्कालगायतका विवरण लगेको हो, र कारबाही सम्बन्धमा जानकारी छैन । मैले राजनीतिक हस्तक्षेप, पक्षपात गरेको छैन र २३–२४ गतेको घटनामा प्रहरीले आंकलन गर्न नसकेकोमा राजनीतिक हस्तक्षेप भएको भन्नेमा म सहमत छैन ।’

उनले विद्रोहको बेला घरमा के–के भयो भन्ने खुलाएका छैनन् ।

‘२०८२ भाद्र २३ गतेको दिन म बूढानीलकण्ठ वडा नं २ बासुकी मार्गस्थित मेरो निजीनिवासमा थिएँ, र सो दिन बेलुका वालुबाटारमा पनि उपस्थित भई मैले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउन आग्रह गरेर तत्कालीन प्रधानमन्त्रीले हटाउनुभएको थियो तर म कुनै औपचारिक बैठकमा सहभागी थिइनँ । भदौ २४ गते बिहान १० बजे प्रदर्शनकारीहरू मेरो निजीनिवासमा भेला भई नाराबाजी गर्दा सुरक्षाकर्मीले रोक्दारोक्दै हामीमाथि हातपात भयो, र केही जेन–जीका युवाहरूले बचाए । हामी राति २२ बजेतिर सुरक्षित स्थान पुुग्यौँ ।’

उनले आफ्नो घरमा धेरै पैसा नभएको दाबी पनि गरेका छन् ।

‘नेपाल प्रहरीले वडा अध्यक्षको रोहबरमा गरेको मुचुल्कामा मेरो निवासमा भेटिएको रकमबारे उल्लेख छ, ठूलो परिमाण थिएन । सामाजिक सञ्जालको विवरण एआई जेनेरेटेड हुनुपर्छ ।’

 

जेन-जी प्रतिवेदन : १४ हजार बढी कैदी फरार हुनुमा ‘रवि जिम्मेवार’

काठमाडौं । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई नख्खु कारागाबाट निकालिएपछि देशभरका जेल तोड्दै कैदीबन्दीहरू फरार हुने क्रम सुरु भएको निष्कर्ष निकालेको छ ।
सरकारले सार्वजनिक नगर्दै मिडियामा छ्यापछ्याप्ती बनेको आयोगको प्रतिवेदनमा रवि निकालिएपछि नै जेल तोड्ने र फरार हुने घटना भएको विवरण उल्लेख छ ।

‘भाद्र २४ गते निज रवि लामिछानेलाई छोड्नुपर्ने जिकिर गर्दै प्रदर्शनकारीहरू दिउँसो अन्दाजी १५ः३० बजेतिर नख्खु कारागारको मूल गेट अगाडि जम्मा भई भिड बढ्दै गई सो भिड कारागार परिसरमा प्रवेश गरी रवि लामिछानेलाई छोड्न कारागार प्रशासनलाई दबाब दिन थाले । उक्त भिडले कारागारमा आक्रमण गर्ने डर त्रासले सो कारागारका प्रमुखले रवि लामिछानेको सुरक्षार्थ बन्दी कोठा भित्रबाट झिकी कारागार परिसरको मानसिक अस्पतालमा ल्याए । भिड बढ्न थालेपछि रवि लामिछानेले भिडलाई शान्त रहन पटक–पटक आग्रह गर्दै यस्तो परिवेशमा कारागार र यहाँका कर्मचारीहरूलाई बचाउने मेरो पनि जिम्मेवारी हो भनेपछि प्रहरीले रवि लामिछानेलाई कारगार परिसरभित्रै रहेको भिडसमक्ष प्रस्तुत गरे भन्ने जेलरको आयोगसमक्ष दिएको बयानमा उल्लेख गरेका छन्,’ प्रतिवेदनमा भनिएको छ ।

रविलाई निकालिएपछि देशभरका जेल अशान्त भएको प्रतिवेदनमा उल्लेख छ ।

‘भिडले रवि लामिछानेलाई बाहिर लग्न खोज्दा न्यायिक हिरासतमा बसेकाले कारागार प्रशासनको अनुमतिपत्र नभई बाहिर नजाने भनेपछि निजका समर्थकले सो कारागारका कारागार प्रमुखसँग रवि लामिछानेलाई कारागारबाट बाहिर छोडिएको भन्ने विषयमा आधिकारिक पत्र लिई निज रवि लामिछाने कारागारबाट छुटेको भन्ने आयोगको छानबिनबाट देखिएको छ ।’

 

‘जेन-जीहरु फर्क, हामीले जित्याैँ’ भनेका बालेनले आयाेगले ढाँटेर भने- मेराे समर्थन थिएन (भिडियो)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले गत २३ भदौमा भएको जेन-जीको विद्राेहमा आफ्नाे समर्थन नरहेकाे बताएका छन् ।

तर, र्‍यालीमा  भने आफ्नो समर्थन रहेको बताएका छन् । उनले गाैरीबहादुर कार्की नेतृत्वकाे आयाेगलाई भनेका छन्, ‘२०८२ साल भाद्र २३ र २४ गते म सरकारीनिवास लैनचौरमा थिएँ ।

२३ गतेको शान्तिपूर्ण र्‍यालीमा मेरो समर्थन थियो, तर आन्दोलनमा थिएन ।’

व्यवसायी र रेस्टुरेन्टले आग्रहपछि महानगर प्रहरीले पानी वितरण गरेको उनको दाबी छ । तर, २४ गतेकाे आन्दाेलनमा उनले २ बजेतिर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि आन्दाेलनकारीहरुलाई भनेका थिए ‘जेन-जीहरु फर्क, हामीले जित्याैँ ।’

साेही राति उनले प्रतिनिधिसभा विघटन गर्नुपर्ने र सेनासँग वार्ता गर्नुपर्ने एजेण्डा अघि सारेका थिए । तर, आयाेगसमक्ष भने उनले ढाँटेकाे पाइएकाे हाे ।

 

बालेन भन्छन्,- ‘२३ भदौको आन्दोलनमा समर्थन थियो संलग्नता थिएन’

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाह ले गत २३ भदौमा भएको जेन-जी र्‍यालीप्रति आफू सकारात्मक रहेको स्पष्ट पारेका छन्। जेन-जी घटनाको छानबिनका लागि गठित, गौरीबहादुर कार्की नेतृत्वको आयोगका समक्ष दिएको बयानमा शाहले र्‍यालीका मूल्य-मान्यता र अभिप्रायप्रति आफ्नो समर्थन रहे पनि सक्रिय रूपमा आन्दोलनमा भने संलग्न नभएको बताएका छन्।

उनको भनाइअनुसार घटनाका दिन अर्थात् भदौ २३ र २४ मा उनी सरकारी निवास लैनचौरमै रहेका थिए। ‘२३ गतेको शान्तिपूर्ण र्‍यालीका उद्देश्य प्रति मेरो समर्थन थियो, तर म प्रत्यक्ष रूपमा आन्दोलनमा थिएन,’ बयानमा उल्लेख छ। आफ्नो स्थितिबारे असमझदारी फैलिन नदिन उनले समर्थन र सहभागिताबीचको स्पष्ट भिन्नता आयोगलाई व्याख्या गरेको देखिन्छ।

शाहले सो घटनाक्रममा काठमाडौं महानगरपालिकाको भूमिकाबारे पनि स्पष्टीकरण दिएका छन्। उनका अनुसार व्यवसायी र रेस्टुरेन्ट क्षेत्रका प्रतिनिधिहरूको आग्रहपछि मात्रै महानगर प्रहरीले र्‍यालीको भीडमा पानी वितरण गरेको हो। उनले यसलाई मानवीय र व्यवस्थापकीय जिम्मेवारीका दृष्टिले गरिएको सहयोग मात्र भएको दाबी गरेका छन्।

अहिले भदौ २३ र २४ को घटनाको जाँचबुझका लागि बनेको छानबिन आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने चर्चा भइरहेको छ। यसैबेला बालेनले छानबिन आयोगलाई दिएको बयानको केही अंश सार्वजनिक भएको हो। 

के ओली, लेखक र खापुङकाे गिरफ्तारी हाेला ? (भिडियो)

काठमाडौं । भदौ २३ र २४ गते भएको ‘जेन-जी विद्रोह’सँग सम्बन्धित घटनाबारे गठित जाँचबुझ आयोगको प्रतिवेदनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली,  तत्कालीन गृहमन्त्री रमेश लेखक र तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङविरुद्ध गम्भीर कानुनी प्रश्न उठाएको छ।

प्रतिवेदनमा तीनै जनालाई मुलुकी अपराध संहिता, २०७४ को दफा १८१ र १८२ अन्तर्गत कारवाहीका लागि सिफारिस गरिएको उल्लेख छ।

‘कार्यकारी प्रमुख तत्कालीन प्रधानमन्त्री श्री केपी शर्मा ओली,तत्कालीन गृहमन्त्री श्री रमेश लेखक र तत्कालीन प्रहरी महानिरीक्षक श्री चन्द्रकुबेर खापुङसहित उहाँहरु तीन जनालाई मुलुकी अपराध संहिता,२०७४ को दफा १८१ को उपदफा (१) र सोही संहिता, २०७४ को दफा १८२ अनुसार कसूर हेरेर अनुसन्धान,तहकिकात र अभियोजन गर्न गराउन नेपाल सरकारलाई सिफारिेश गरी पठाउने निर्णय गरियो,’ सिफारिसमा भनिएको छ ।

आयोगले उनीहरूलाई लापरवाहीपूर्ण कार्य तथा हेलचेक्र्याइँका कारण मानवीय क्षति भएको निष्कर्षसहित अनुसन्धान र अभियोजन प्रक्रिया अघि बढाउन सरकारलाई सिफारिस गरेको हो।

मुलुकी अपराध संहिता २०७४ को अपराध सँहिताको दफा १८१ र १८२  उल्लेख गरेर अधिकतम १० वर्ष कैद सजाय माग गर्दै कारवाही प्रक्रिया अघि बढाउन सिफारिस गरिएको हो ।

प्रतिवेदनअनुसार, घटनाका बेला राज्य संयन्त्रको नेतृत्वमा रहेका यी तीन पदाधिकारीले आवश्यक सतर्कता, समन्वय र नियन्त्रणमा कमजोरी देखाउँदा हिंसा बढेको ठहर गरिएको छ। त्यसले परिस्थितिलाई नियन्त्रणबाहिर लैजान सहयोग पुगेको आयोगको निष्कर्ष छ।

आयोगले विशेष रूपमा ‘कर्तव्यपालनमा लापरवाही’ र ‘सम्भावित जोखिमप्रति बेवास्ता’ भएको औंल्याएको छ। प्रतिवेदनमा उल्लेख गरिएअनुसार, सुरक्षा व्यवस्थापन र भीड नियन्त्रणमा प्रभावकारी निर्णय लिन नसक्दा घटनाले ज्यानमालको क्षति निम्त्याएको ठानिएको छ।

यो सिफारिसअनुसार मुद्दा चलाउने हो भने पूर्वप्रधानमन्त्री,गृहमन्त्री र आइजीलाई गिरफ्तार गर्नुपर्ने हुन्छ । जसका कारण राजनीतिक वृत्तमा खैलाबैला शुरु भएको छ, र प्रतिक्रिया आउन थालेको छ ।

 

रविलाई अमेरिकाको बधाई

काठमाडौं। अमेरिकाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बधाई दिएको छ।

दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी विशेष दूत सर्जीओ गौरले टेलिफोनमार्फत रास्वपा अध्यक्ष लामिछानेलाई चुनावी सफलताका लागि शुभकामना दिएका हुन्।

नेपालस्थित अमेरिकी राजदुतावासका अनुसार विशेष दूत गोरले चैत १० गते फोन गरी निर्वाचनमा रास्वपाले हासिल गरेको परिणामबारे बधाई व्यक्त गरेका हुन्।

दूतावासले फेसबुक मार्फत जारी गरेको सन्देशमा भनिएको छ, ‘अमेरिका नेपालका नयाँ सरकारसँग सहकार्य गर्दै आर्थिक साझेदारी मजबुत बनाउन तथा दुई देशबीचको मित्रता अझ प्रगाढ बनाउन उत्सुक छ।’

केसीले सम्हाले पदभार, संसद् बैठक निष्पक्ष भएर चलाउने प्रतिज्ञा (भिडियो)

काठमाडौं । राष्ट्रपति रामचन्द्र पाैडेलसँग पद तथा गाेपनीयताकाे शपथ ग्रहणपछि प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले संसद् सचिवालय पुगेर पदभार ग्रहण गरेका छन् ।

केसीले बिहीबार भावी प्रधानमन्त्री बालेन्द्र साहसहित प्रतिनिधि सभाका २७४ सदस्यहरुलाई सपथ ग्रहण गराउने छन् । ७८ वर्षे केसी गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसबाट समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित भएका थिए ।

उनले सभामुख निर्वाचित नहुँदासम्म प्रतिनिधि सभा बैठकको अध्यक्षता समेत गर्नेछन् ।

केसीले पदभार ग्रहण गरेपछि संसद् बैठक निष्पक्ष र तटस्थ भएर सञ्चालन गर्ने बताएका छन् । उनले कोही कसैको दुष्मन नभएको भन्दै निर्वाचनबाट प्राप्त जनादेशको रक्षा गर्दै देशलाई समृद्ध बनाउने नै कर्तव्य भएको बताए ।

प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट एक सय ६५ र समानुपातिक निर्वाचन प्रणालीबाट एक सय १० जना निर्वाचित भएका छन् ।

तीन ठाउँमा दुर्घटना, तीन जनाको मृत्यु

काठमाडौं । मुलुकका तीन जिल्लामा भएका पृथक–पृथक सडक दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। धनुषा, पर्सा र मकवानपुरमा भएको दुर्घटनासम्बन्धी जानकारी नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले सार्वजनिक गरेको हो।

धनुषा:
धनुषाको औरही गाउँपालिका-१ पौडेश्वरस्थित सडकमा देउरीबाट तारापट्टीतर्फ जाँदै गरेको मधेश प्रदेश–०२–००९ प ०८१८ नम्बरको मोटरसाइकलबाट खसेकी मिथिला बिहारी नगरपालिका-७ तारापट्टीकी ३६ वर्षीया शिला देवी साहको मंगलबार राति मृत्यु भएको प्रहरीले जनाएको छ।
गम्भीर घाइते भएकी साहको जनकपुरस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा मृत्यु भयो।

पर्सा:
पर्साको वीरगञ्ज महानगरपालिका-१७ मा जेएच २ बिक्यू ६९१९ नम्बरको ट्रक र बीआर २२ एजेड ३११८ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालक, स्थानीय ३० वर्षीय ईतियाज अंसारीको मृत्यु भएको छ।
गम्भीर घाइते अंसारीले नारायणी अस्पतालमा उपचारका क्रममा ज्यान गुमाए। मोटरसाइकलमा सवार थप एक जना घाइते भएका छन् र उनको सोही अस्पतालमा उपचार भइरहेको छ।

मकवानपुर:
मकवानपुरको बकैया गाउँपालिका-११ घट्टेपाखास्थित सडकमा हेटौंडाबाट काठमाडौँतर्फ जाँदै गरेको ना.८ ख ८७६० नम्बरको ट्रक गए राति अनियन्त्रित भई दुर्घटना हुँदा पर्सा वीरगञ्ज–३२ का २० वर्षीय सन्तोष यादवको मृत्यु भएको छ।
गम्भीर घाइते यादवको हेटौंडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीको जानकारीमा उल्लेख छ। ट्रक चालक भने थप उपचारका लागि चितवन पठाइएको छ।

तीनै सडक दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ।

गगन थापाको रोजाइ आङ्देम्बे कि ससुरा केसी ?

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बेले दाबी प्रस्तुत गरेका छन्।

लामो समयदेखि राजनीतिमा सक्रिय आङ्देम्बे संसदीय राजनीतिको अनुभवी नेताका रूपमा चिनिन्छन्।

२०७० सालको संविधानसभा सदस्य रहिसकेका आङ्देम्बे यसपटक प्रतिनिधिसभामा पुगेका पूर्वपदाधिकारीमध्ये एक्ला नेता हुन्।

उनले उद्योग, वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण समितिको सभापतिका रूपमा समेत काम गरिसकेका छन्।

साढे चार दशकभन्दा बढी समयदेखि राजनीतिमा सक्रिय उनी संसदीय दलको नेतृत्वका बलिया दाबेदारका रूपमा हेरिएका छन्।

संसदीय अभ्यास र प्रक्रियामा दख्खल राख्ने आङ्देम्बेलाई पार्टी सभापति गगन थापाले पनि नेतृत्वमा अघि सार्न सक्ने चर्चा छ।

तर, संसदीय दलको नेतृत्वका लागि अर्का अनुभवी नेता अर्जुननरसिंह केसी पनि प्रतिस्पर्धामा छन्।

केसी, सभापति थापाका ससुरासमेत भएकाले यो प्रतिस्पर्धाले थप राजनीतिक चासो पैदा गरेको छ ।

रवि लामिछानेको शपथ हुन्छ कि रोकिन्छ ? के भन्छन् संवैधानिक कानुनका जानकारहरू ?

काठमाडौँ। नवनिर्वाचित प्रतिनिधिसभाका २७४ सदस्यको पद तथा गाेपनीयताकाे शपथ ग्रहण बिहीबार सिंहदरबारस्थित नवनिर्मित संसद भवनको वैकल्पिक सभाकक्षमा हुँदैछ।

उनीहरुलाई काङ्‍ग्रेस सांसद अर्जुननरसिंह केसीले शपथ ग्रहण गराउने छन् । तर, निर्वाचनबाट सबैभन्दा ठूलो दल बनेर सरकार गठन गर्न लागेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको शपथ चाहिँ अन्याेलमा परेको छ।

सहकारी ठगी आरोपी लामिछाने सम्पत्ति शुद्धीकरण  र संगठित अपराधको मुद्दा खेपिरहेका छन् । कतिपयले सम्पत्ति शुद्धीकरण  र संगठित अपराधको  आराेपीले शपथ ग्रहण गर्न नमिल्ने भनिरहेका छन् । केहीले चाहिँ शपथ ग्रहण गर्न उनलाई बाधा नभएकाे बताइरहेका छन् । 

के भन्छन् कानुनविद् ?

वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीकाअनुसार भने लामिछानेको शपथ ग्रहण रोकिँदैन। राजनीतिक, कानुनी र मौलिक  हकको उपयोग गर्न पाउने भन्ने दृष्टिकोणबाट हेर्ने हो भने पनि लामिछानेको शपथ ग्रहण नरोकिने उनको तर्क छ ।

‘नेपालको संविधानको धारा २० को उपधारा ५ मा कसुरदार प्रमाणित नभएसम्म दोषी नमान्ने भन्ने व्यवस्था गरिएको छ- यो आम नागरिकको मौलिक हक हो’ उनले नेपालवान एचडीलाई भने।

  

निर्वाचन आयोगले चुनाव लड्न दिएर विजयी घाेषणा गर्दा समस्या नपरेको भन्दै ज्ञवालीले शपथ ग्रहणमा पनि कुनै किसिमको समस्या नआउने बताए।

जनताबाट निर्वाचित भएर आएका व्यक्तिलाई शपथ ग्रहण गर्न कानुनी र राजनैतिक रुपमा अड्चन नहुने उनले प्रष्ट्याए।

‘थुनामा रहेको भए सम्पत्ति शुद्धीकरण ऐनका दफाहरू आकर्षित हुन जान्थे। उहाँ अहिले थुनामा हुनुहुन्न नि’, उनले भने,’त्यसैले अहिले उहाँको पद निलम्बनमा रहन्छ  भन्ने कुनै आधार छैन।’

तर, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले भने लामिछानेले अहिले शपथ ग्रहण गर्न नपाउने नपाए। उनकाअनुसार सम्पत्ति शुद्धीकरण र संगठित अपराधको आरोप लागेका व्यक्तिले सांसदको रुपमा शपथ ग्रहण गर्न सक्दैन।

‘त्यहीमाथि उहाँको मुद्दा सुनुवाई र विचाराधीन अवस्थामा छ’ उनले भने। 

उनका अनुसार सम्पत्ति शुद्धीकरण ऐनको दफा, २७ मा सम्पत्ति शुद्धीकरणको आरोप लागेको वा मुद्दा खेपिरहेको सार्वजनिक पदमा बसेको मान्छेको पद स्वत: निलम्बनमा रहन्छ।

‘उहाँको मुद्दा सम्पत्ति शुद्धीकरण ऐनको दफा २२ अनुसार दर्ता भएर अहिले विचाराधीन अवस्थामा छ, त कसरी लिनुहुन्छ शपथ’, उनले भने,’ ऐनको दफा २७ ले पनि भनेको छ।

सम्पत्ति शुद्धीकरणको मुद्दा किनारा नलागेसम्म पद निलम्बन मै रहन्छ।’

काे हुन् ७८ वर्षे काङ्‍ग्रेसका ज्येष्ठ सांसद अर्जुननरसिंह केसी ?

काठमाडौं । नेपाली कांग्रेसभित्र नेतृत्व, नीति र पुस्तान्तरणको बहस चुलिँदा बारम्बार चर्चामा आउने नाम हो- अर्जुननरसिंह केसी ।

पञ्‍चायतकालदेखि संघीय लोकतन्त्रसम्मको लामो राजनीतिक यात्रा तय गरेका केसी पार्टीभित्र संस्थागत अभ्यासका पक्षधर नेताका रूपमा चिनिन्छन्।

विद्यार्थी राजनीतिबाट यात्रा सुरु गरेका उनले राष्ट्रिय पञ्‍चायत हुँदै संसदीय राजनीतिमा प्रवेश गरेका हुन्। ०३८ सालमा निर्वाचन जितेर संसद् छिरेका केसी त्यतिबेला सूर्यबहादुर थापा नेतृत्वको सरकारमा स्वास्थ्य राज्यमन्त्री बनेका थिए। त्यसपछि पुनः कांग्रेसमा फर्किएका उनी ०४८ सालपछि भएका आठमध्ये सात निर्वाचनमा प्रतिस्पर्धा गर्दै पाँचपटक विजयी भएका छन्।

यसपटक भने उनी समानुपातिक प्रणालीमार्फत संसद् प्रवेश गरेका छन्। उनले बुधबार (आज) राष्ट्रपति रामचन्द्र पाैडेलबाट प्रतिनिधिसभाका ज्येष्ठ सदस्यका रुपमा पद तथा गाेपनीयताकाे शपथ ग्रहण गरे ।

जेन-जी विद्राेहपछिको नयाँ संसद‍मा केसी सबैभन्दा ज्येष्ठ सदस्यका रूपमा रहनेछन्। उनी ७८ वर्षका भए । उनी पार्टी सभापति गगन थापाका ससुरा हुन् ।

भनिन्छ, उनी यसपटक काङ्‍ग्रेस संसदीय दलको नेता हुन सक्छन् । उनले आफ्नो अनुभवका आधारमा दाबी स्वाभाविक भएको सार्वजनिक रूपमा बताइसकेका छन्।

तर, यही विषयले नयाँ विवाद पनि निम्त्याएको छ। केसी सभापति थापाका ससुरा भएकैआधारमा समानुपातिक सूचीमा परेकाे भन्दै आलाेचना भएकाे थियाे । यसप्रति सभापति थापाले मुख खाेलेका छैनन् ।

कांग्रेसभित्र रूपान्तरणको एजेन्डा अघि सारेका थापाका लागि संसदीय दलको नेतामाकेसीलाई अगाडि सार्ने निर्णय सहज देखिँदैन। ७८ वर्षीय केसीलाई अघि सार्दा ८२ वर्षीय शेरबहादुर देउवालाई विस्थापित गरिएको औचित्यमाथि नै प्रश्न उठ्ने तर्क पार्टीभित्रैबाट उठिरहेको छ।

राजनीतिकशास्त्रका प्राध्यापक भइसकेका केसीले स्वास्थ्य, शिक्षा, भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालय सम्हालिसकेका छन्। संसद् र विभिन्न समितिमा सक्रिय रहँदै आएका उनले सधैं ‘नीतिमा आधारित पार्टी’ को वकालत गरेका छन्।

यद्यपि, व्यवहारमा भने उनीमाथि प्रश्न उठ्दै आएका छन्। गुटबन्दी अन्त्य, संस्थागत अभ्यास र युवालाई अवसर दिनुपर्ने धारणा राख्दै आएका केसी स्वयं शक्ति समीकरणको हिस्सा बन्दै आएको आरोप लाग्ने गरेको छ।

उनी २००४ सालमा नुवाकाेटमा जन्मिएका नेता हुन् ।

कांग्रेसका प्रतिनिधिसभा सदस्य अर्जुननरसिंह केसीले लिए शपथ

काठमाडौं । नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलसँग उनले शपथ ग्रहण गरेका हुन् । ज्येष्ठ सदस्यका रुपमा उनलाई राष्ट्रपति पौडेलले शपथ ग्रहण गराएपछि उनले बिहीबार (भोलि) प्रतिनिधिसभाका अन्य २७४ जना सदस्यलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउने छन् ।

केसी २०३८ सालदेखि संसदमा छन् । पूर्वमन्त्रीसमेत रहेका केसी नेपाली कांग्रेसबाट समानुपातिक सांसद भएका हुन् ।

लिङ्देनले ‘राजआज्ञा’ पालना नगरेको भन्दै राप्रपा छाडे पूर्वसांसद ऋषिबाबुले

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता तथा पूर्वसांसद ऋषिबाबु परियारले पार्टीका सबै पद तथा जिम्मेवारीबाट राजीनामा दिएका छन्। उनले साधारण सदस्यसमेत नरहने गरी पार्टीसँगको आफ्नो सम्पूर्ण सम्बन्ध तोडेको घोषणा गरेका छन्।

परियारले मंगलबार एक वक्तव्य जारी गर्दै आफूले नैतिकताको आधारमा यस्तो निर्णय लिनुपरेको स्पष्ट पारेका छन्। उनी राप्रपामा केन्द्रीय सदस्य, केन्द्रीय कार्यसम्पादन समिति सदस्य तथा केन्द्रीय निर्देशन समिति सदस्यका रूपमा सक्रिय रहँदै आएका थिए।

राजीनामाको मुख्य कारणका रूपमा उनले राजाको एजेन्डा लिने तर ‘राजआज्ञा’ पालना नगर्ने भनेर अध्यक्ष राजेन्द्र लिङ्देनको कडा शब्दमा आलोचनासमेत गरेका छन् ।

पार्टीभित्र देखिएको वैचारिक अस्पष्टता, दलित समुदायप्रति असंवेदनशीलता तथा नेतृत्वको पक्षपातपूर्ण व्यवहारलाई औंल्याएका छन्।

उनले समानुपातिक प्रतिनिधित्वमा दलित समुदायलाई समेट्न सकिने अवस्थाको बाबजुद त्यसो नगरी खसआर्यलाई मात्र प्राथमिकता दिइएकोप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

उनले भनेका छन्, ‘समानुपातिक ४ सिटमा १ जना खस-आर्य र १ जना दलित मिलाउन सकिनेमा दुबै खस-आर्य नै पर्नु दलित नपारिनु !’

त्यस्तै, उनले पार्टीले राजसंस्थाको एजेन्डा उठाए पनि त्यसअनुसार व्यवहारिक प्रतिबद्धता नदेखाएको आरोप लगाएका छन्।

‘गरिमामय राजसंस्थालाई राजनीतिक भर्‍याङको रूपमा मात्र प्रयोग गरिएको छ,’ उनको भनाइ छ, ‘यसले राजसंस्था पुनःस्थापनाको आन्दोलनलाई नै कमजोर बनाएको छ।’

परियारले अध्यक्ष लिङ्देनप्रति संकेत गर्दै पार्टीभित्र इमानदार र देशभक्त कार्यकर्तामाथि विभेदपूर्ण व्यवहार गरिएको पनि उल्लेख गरेका छन्। उनका अनुसार नेतृत्व तहमा पक्षपात हाबी हुँदा संगठनभित्र असन्तोष बढ्दै गएको छ।

नेता परियारले त्यस्तोबेला राप्रपासँगको सम्बन्ध तोडे जतिबेला प्रतिनिधिसभा निर्वाचनमा पार्टीले बेहोरेको लज्जास्पद हारको नैतिक जिम्मेवारी अध्यक्ष राजेन्द्र लिङ्देनले लिन र चुनावी हारको समीक्षा गर्न चाहेका छैनन् ।

बरु, उनी हिमाली जिल्ला मुस्ताङतिर घुमफिरमा निस्किएका छन् । यसपछि असन्तुष्ट नेताहरूले धमाधम जिम्मेवारीबाट राजीनामा दिइरहेका छन् ।

२४ काे घटनामा कार्की आयाेगकाे अस्वाभाविक माैनता

काठमाडौं । गत भदौ २३ गते सुशासन र भ्रष्टाचार नियन्त्रणको मागसहित जेन-जी उमेर समूहका युवाहरु माइतीघरमा जम्मा भए।

बिहान ९ बजे माइतीघरमा जम्मा भएका युवाहरुको प्रदर्शन दिउसो १२ बजेतिर बानेश्‍वरको एभरेष्ट होटेलबाट आक्रामक रुपमा अगाडि बढ्यो ।

नेपाल प्रहरीको ब्यारिगेट ताेडेर प्रदर्शनकारीहरु संसद भवन पुगे । प्रदशर्नकारीहरु निकै आक्रामक बनेका थिए । उनीहरुले संसद भवन क्षेत्रमा प्रदर्शन गरे । त्यतिबेलासम्म प्रदर्शन सुरक्षा निकायको नियन्त्रण बाहिर  पुगिसकेको थियो।

पानीको फोहोरा, अश्रु ग्यासलाई मात दिएर बानेश्‍वर पुगेका युवाहरुको प्रदर्शन नियन्त्रणमा लिन प्रहरी बल प्रयोग गर्ने स्थितिमा पुग्यो र भदौ २३ को प्रदर्शनमा १९ जना निहत्या युवाहरुले सहादत प्राप्त गरे।

दलहरुको लामो समयदेखिको अकर्मण्यता र अपारदर्शी शासनशैलीका कारण भएको प्रदर्शनमा बल प्रयोग गरेको भन्दै  तत्कालीन सरकार निकै दबाबमा पर्‍याे  र सरकार नै विघटनको स्थितिमा पुग्यो। 

२३ गतेको घटनाले गर्दा भोलिपल्ट २४ गते पुरै देश आक्रान्त बन्याे । देश आगोमय भयो। अर्थात् देशकाे सर्वोच्च निकाय सिंहदरबार (कार्यपालिका), सर्वोच्च अदालत (न्यायपालिका), संसद भवन (व्यवस्थापिका) लगायतका थुप्रै सार्वजनिक सम्पत्ति र व्यक्तिका निजी व्यापारिक प्रतिष्ठान र सम्पत्ति एकै दिनमा ध्वस्त पार्ने काम गरियो। 

सुशासनको मागबाट सुरु भएको विद्रोहबाट नेपालको सत्ता नै उलटपुलट भयो। तत्कालिन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार विघटन भयाे र  सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गरियो।

अन्तरिम सरकारले लगत्तै पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा भदौ २३ र २४ का सम्पूर्ण घटनाकाे जाँचबबुझ गर्न छानबिन आयोग गठन गर्‍याे । तीन महिना कार्यावधि पाएर काम थालेको आयोगको बिचमा पटकपटक म्याद थपियो।  खैर, आयोगले आफ्नो प्रतिवेदन गत फागुन २४ मा सरकारलाई बुझायाे ।

यसबीचमा राजनैतिक दल, नागरिक समाज, तत्कालीन विद्रोही विभिन्‍न जेन-जी समूहलगायत आम मान्छेले सरकारसँग एउटा कुरा खोजिरहेका छन्,- ‘कार्की आयोगको पूरा प्रतिवेदन।’  अर्थात् भदौ २३ को नरसंहारको दोषी को थियो ? अनि भदौ २४ को विध्वंश कसले गरायो ?

अहिले कार्की आयोगको प्रतिवेदन सार्वजनिक नगरिएको भन्दै सरकारमाथि आलोचना र प्रश्नको वर्षा भइरहेको छ भने अर्कोतिर बढ्दो आलोचनाकाबीच सरकारले छानबिन प्रतिवेदन सार्वजनिक गर्ने अन्तिम गृहकार्य भइरहेको चर्चा छ।

सरकारले सार्वजनिक गर्ने प्रतिवेदन कस्तो होला ? आयोगले बुझाएको प्रतिवेदनका दोषी को-को होलान् ? २३ र २४ लाई छुट्टाछुट्टै राखेर अनुसन्धान गरिएको होला या दुवै दिनलाई सँगै राखेर अनुसन्धान गरिएको होला ? अथवा कार्की आयोगको प्रतिवेदनले २३ र २४ को घटनाका लागि क-कसलाई कारबाही सिफारिस गरेको होला ? प्रतिवेदन चासोको विषय बनेको छ। 

माइतीघर मण्डलामा युवाहरू प्रतिवेदन माग्दै दैनिक प्रदर्शन गरिरहेका छन्। नेपाली कांग्रेसले औपचारिक रुपमै ८ चैतमा प्रतिवेदन सार्वजनिक गर्नुपर्ने भन्दै केन्द्रीय कार्यसमितिको बैठकबाट माग गरेको छ।

१ चैतमा गृहमन्त्री ओमप्रकाश अर्यालले ‘भोलि नै सार्वजनिक हुन्छ’ भनेको प्रतिवेदन हालसम्म सार्वजनिक भएको छैन। राजनैतिक दल, नागरिक समाज, जेन-जी समूहहरुले प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग गरिरहँदा सरकारले प्रतिवेदन किन ल्याउदैन ?  

विभिन्‍न स्रोतहरू र संचारमाध्यमले लेखेअनुसार कार्की आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक र तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङलाई फौजदारी अपराधमा अनुसन्धान गर्न सिफारिस गरेको छ। उनीहरूलाई १०-२० वर्ष कैद सजायसहितको सिफारिस पनि प्रतिवेदनमा समावेश भएको बताइएको छ। 

यसैगरि, सशस्त्र प्रहरीका आईजीपी राजु अर्याललाई ३ वर्ष कैद सिफारिस गरिएको छ। तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजाल तथा प्रहरी अधिकारी सिद्धिविक्रम शाहमाथि पनि कारबाही सिफारिस गरिएको बताइन्छ।

मानवअधिकार आयोगले यसअघि नै तत्कालीन प्रधानमन्त्री ओली, गृहमन्त्री लेखक, आईजीपी खापुङ र प्रधानसेनापति अशाेकराज सिग्देललगायतलाई कारबाहीको लागि सिफारिस गरेको थियो। 

कार्की आयोगले कारबाहीको लागि सिफारिस गरेका यी व्यक्तिहरु २३ गतेको घटनाका जिम्मेवार हुन् भनेर बुझ्न त्यति कठिन छैन। उसो भए २४ गतेको विध्वंशको जिम्मेवार को हो ? कार्की आयोग यो विषयमा मौन देखिन्छ। 

‘प्रदर्शनमा मेरो पूर्ण समर्थन छ’ भन्‍ने र २४ गते मध्ये दिउँसो ‘ऐक्यवद्वता व्यक्त गर्न आएँ’ भन्‍ने काठमाडौँ महानगरका तत्कालीन मेयर बालेन्द्र शाह ‘बालेन’ को भूमिकाका विषयमा कार्की आयोग किन मौन देखियो ? भदौ २४ को भोलिपल्ट बालेनले संसद् विघटन हुनुपर्छ भने- भयो पनि। वार्ता सेनासँग हुनुपर्छ भने- त्याे पनि भयो।

आन्दोलनमा नदेखिएको तर सामाजिक सञ्‍जालमा लेखिरहने एकजना मेयर एकै समयमा राष्ट्रपतिभन्दा शक्तिशाली कसरी भए ? नभए सरकार र संसद् नभएकाे बेला राष्ट्रपतिले गर्नुपर्ने वार्ता आह्वान एउटा मेयरले कसरी गरे ?

शीतलनिवासमा हुनुपर्ने वार्ता सेनाको मुख्यालयमा गराउने योजना कसको थियो ? कार्की आयोग २४ को घटनामा मौन छ। 

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने जेल तोडेर भागेको कुराकाे चर्चा कतै हुँदैन। अमेरिकी युथ काउन्सिल, टीओबी ग्याङलगायतका विषयमा नेपाली सञ्‍चारमाध्यमले कहीँ कतै केही लेख्दैनन् । 

२३ र २४ को घटनालाई छुट्टाछुट्टै राखेर कारबाही हुनुपर्छ र गरिनुपर्छ। २३ का घटनामा तत्कालीन पदाधिकारीहरु जिम्मेवार हुन् भने २४ को सिंहदरबार, सर्वोच्च अदालत, संसद् भवनलगायतका व्यक्तिका निजी सम्पत्ति जलाउने र व्यापारिक प्रतिष्ठान जलाउने कुराको जिम्मेवारी रवि र बालेनहरुले लिनुपर्छ। 

होइन भने अघिल्लो दिन (भदौ-२३) शहीद बनेका १९ जनाको जिम्मा ओलीहरुको भागमा पर्ने हो भने पछिल्लो दिन २४ भदौमा शहिद बनेका ५७ जनाको जिम्मा कसले लिन्छ ? कि पहिला २३ भदौ आयो, त्यसपछि २४ भदौ आयो भन्दै बस्ने ? २३ भदौ पहिले आयो भन्ने सबैलाई थाहा छ। तर २४ भदौ कसले ल्यायो ? अर्थात् न्यूयाेर्क टाइम्सले सिंहदरबार जलाउन केमिकलको प्रयोग भयो भन्ने कुरा के हो ? 

पहिले २३ भदौ आयो, १९ जना शहीद हुनुपर्‍याे । २३ भदौ २४ भदौको सबैभन्दा ठूलो कारण पनि बन्यो। तर २३ भदौ २४ भदौको एकमात्रै कारण होइन। २४ भदौमा करिब साढे ११ लाख नेपाली सडकमा आए।

त्यसको कारण हुनसक्छ- २३ भदौ।  तर न्यायपालिका, कार्यपालिका र व्यवस्थापिका जलाउने भीडलाई २३ भदौ ज्ञात हुने कुरा थिएन। उनीहरु यति उद्देलित थिए कि प्रहरीलाई खोलामा दौडाएर पिटिरहेका थिए ।

उनीहरु उद्देलित थिएनन्, बनाइएको थियो पर्दा पछाडिबाट।  २४ भदौको घटनाको जिम्मेवार त्यो पर्दा पछाडिको ग्याङ हो। पर्दा पछाडिको ग्याङ अर्थात्,- केही युट्युब च्यानल, केही फेसबुक पेज, केही टिकटक आईडी, केही अभियन्ता, केही पत्रकार, केही थान सांसद, केही थान नेता, तिनीहरुका निर्देशक र निर्देशकहरुलाई निर्देशन दिने ‘मौसुफहरु’। 

छानबिन आयोगले पर्दा पछाडिको ग्याङको बारेमा पनि कुरा गरोस्। 

चार जना मृत फेला, अनुसन्धान गर्दै प्रहरी

काठमाडौ । देशका विभिन्‍न स्थानमा चार जना मृत फेला परेका छन् । नेपाल प्रहरीका अनुसार मकवानपुरकाे इन्द्रसरोवर गाउँपालिका-३ जातीपोखरीकी ९
वर्षीया लमिना वाईवा सोही ठाउँस्थित चुत्रोघारीडाँडाको भिर तल मृत फेला परेकी छन् । बुबा  वीरेन्द्र वाईवाका अनुसार भिरदेखि चुत्राे टिप्न जाँदा लडेकाे बताएका छन् । प्रहरीले घटनाबारे अनुसन्धान थालेकाे छ ।

दाङकाे राप्ती गाउँपालिका-३ तल्लो मसुरिया बस्ने ५० वर्षीय राजु चौधरी सोही ठाउँस्थित कुलोमा मंगलबार मृत अवस्थामा फेला परेका छन् । उनी कुलाेमा लडेकाे हुन सक्ने प्रहरीले जनाएकाे छ ।

तेह्रथुमकाे फेदाप गाउँपालिका-२ नेवई बस्ने ४९ वर्षीय तारावीर लिम्बु सोही ठाउँस्थित घर्ते खोला नजिक मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

यस्तै ललितपुर, गोदावरी नगरपालिका-५ लेले सिजापती गाउँ डेरा गरी बस्ने बैतडी घर भएका ३१ वर्षीय शैलेन्द्र धानुक आफ्नै कोठामा मंगलबार मृत अवस्थामा फेला परेका छन् । घटनाबारे प्रहरीले अनुसन्धान थालेकाे छ ।

अब ८ देशमा नेपाल टेलिकमको अन्तर्राष्ट्रिय भोल्टी सेवा

काठमाडौं । नेपाल टेलिकम ले आफ्नो अन्तर्राष्ट्रिय सेवा विस्तार गर्दै डेनमार्क र दक्षिण कोरियामा समेत अन्तर्राष्ट्रिय भोल्टी रोमिङ सेवा सुरु गरेको छ।

मंगलबारदेखि लागू भएको उक्त सेवाका लागि टेलिकमले Telenor Denmark र SK Telecom सँग सम्झौता गरेको जनाएको छ।

टेलिकमका प्रवक्ता रविन्द्र मानन्धरका अनुसार यसअघि क्यानडा, अमेरिका, अष्ट्रेलिया, लक्जेमबर्ग, इजरायल र ताइवानमा उपलब्ध यो सेवा अब डेनमार्क र दक्षिण कोरियामा पनि विस्तार भएको हो। यससँगै अब कुल ८ देशमा अन्तर्राष्ट्रिय भोल्टी रोमिङ सेवा प्रयोग गर्न सकिने भएको छ।

अन्तर्राष्ट्रिय रोमिङमार्फत प्रयोगकर्ताले विदेशमा समेत नेपालकै जस्तो भ्वाइस, डाटा र एसएमएस सेवा प्रयोग गर्न सक्छन्। भोल्टी (Voice over LTE) प्रविधिमार्फत एचडी गुणस्तरको भ्वाइस कल गर्न सकिने टेलिकमले जनाएको छ।

यो सेवा प्रयोग गर्न मोबाइलमा भोल्टी सुविधा सक्रिय हुनुपर्ने र सेट पनि सो प्रविधि सपोर्ट गर्ने हुनुपर्नेछ। मोबाइलको स्क्रिनमा ‘HD’ वा ‘VoLTE’ देखिएमा सेवा उपलब्ध भएको बुझ्न सकिन्छ।

यदि सेवा सक्रिय नभएको अवस्थामा *444# डायल गरी ‘Activate VoLTE’ विकल्प छानेर सहजै सक्रिय गर्न सकिने टेलिकमले जनाएको छ।

सुपर फास्ट चार्जिङ सुविधासहित चार पावर बैंक नेपाली बजारमा

काठमाडौं । एमडब्ल्युसी नेपालले बजारमा मोबाइल, ट्याब्लेटदेखि ल्यापटपसम्म फास्ट चार्ज गर्न चारवटा पावर बैंक सार्वजनिक गरेको छ।

आधुनिक प्रयोगकर्ताको आवश्यकतालाई ध्यानमा राख्दै कम्पनीले ल्याएका यी पावर बैंकहरू  १०,००० एमएएचदेखि ५०,००० एमएएचसम्म क्षमताका छन् ।

जसमा ३५ वाटदेखि ६५ वाटसम्मको सुपर फास्ट चार्जिङ सपोर्ट उपलब्ध रहेको बताइएको छ। विशेषगरी उच्च क्षमताका मोडेलहरू ल्यापटप र म्याकबुक जस्ता डिभाइस चार्ज गर्न उपयुक्त मानिन्छन्।

लन्च अफरअन्तर्गत पहिलो ५० जना ग्राहकले थप पाँच सय रूपैयाँ छुटसहित यी पावर बैंक खरिद गर्न सक्ने कम्पनीले जनाएको छ।

एमडब्ल्युसी पावरस्टार एमएस१०के (१०,००० एमएएच – ३५ वाट) कम्प्याक्ट र हल्का डिजाइन भएको मोडेल हो, जुन दैनिक प्रयोगका लागि उपयुक्त मानिन्छ।

यसमा स्मार्ट डिजिटल डिस्प्ले, मल्टिपल चार्जिङ इन्टरफेस तथा एयर ट्राभल सेफ (सिसिसी अप्रुभ्ड) सुविधा रहेको छ।

यसको तौल १७४ ग्राम रहेको छ भने मूल्य तीन हजार ९१९ रूपैयाँ तोकिएकोमा अफर मूल्य दुई हजार ५१९ रूपैयाँ राखिएको छ।

त्यस्तै एमडब्ल्युसी पावरस्टार एमएस२०के (२०,००० एमएएच – ४५ वाट) मोडेलमा ४५ वाट सुपर फास्ट चार्जिङ, २०,००० एमएएच हाई–डेन्सिटी ब्याट्री, डिजिटल डिस्प्ले तथा मल्टिपल डिभाइस सपोर्ट उपलब्ध रहेको छ।

३३१ ग्राम तौल रहेको यस मोडेलको मूल्य पाँच हजार ४१९ रूपैयाँ तोकिएकोमा अफरअन्तर्गत तीन हजार ३१९ रूपैयाँमा उपलब्ध हुने कम्पनीले जनाएको छ।

प्रोफेशनल प्रयोगकर्तालाई लक्षित गर्दै ल्याइएको पावरपल्स एमपी३०के (३०,००० एमएएच– ६५ वाट) मोडेलले ल्यापटपसमेत सजिलै चार्ज गर्न सक्ने क्षमता राख्छ।

यसमा ६५ वाट अल्ट्रा फास्ट चार्जिङ, ३०,००० एमएएच लि–पोलिमर ब्याट्री, चारवटा चार्जिङ पोर्ट तथा पूर्ण सुरक्षा प्रणाली समावेश गरिएको छ।

यसको तौल ६६६ ग्राम रहेको छ भने मूल्य ६ हजार ९१९ रूपैयाँ तोकिएकोमा अफर मूल्य चार हजार ९१९ रूपैयाँ राखिएको छ।

सबैभन्दा शक्तिशाली मोडेल पावरपल्स एमपी५०के (५०,००० एमएएच–६५ वाट) लामो यात्रा तथा बढी प्रयोग गर्ने प्रयोगकर्तालाई लक्षित गरेर ल्याइएको हो।

यसमा ६५ वाट अल्ट्रा फास्ट चार्जिङ, ५०,००० एमएएच उच्च क्षमता, छवटा चार्जिङ इन्टरफेस तथा एड्भान्स सेफ्टी प्रोटेक्सन सुविधा उपलब्ध रहेको छ।

यसको तौल १,०७० ग्राम रहेको छ भने मूल्य नौ हजार ९१९ रूपैयाँ तोकिएकोमा अफर मूल्य ६ हजार ४१९ रूपैयाँ राखिएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार यी पावर बैंकहरूमा मोबाइलदेखि ल्यापटपसम्म फास्ट चार्ज गर्ने क्षमता, स्मार्ट डिजिटल डिस्प्ले, मल्टिपल डिभाइस एकैपटक चार्ज गर्ने सुविधा, सुरक्षित तथा एयर ट्राभल फ्रेन्डली डिजाइन जस्ता विशेषता समावेश छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीलाई अमेरिकाको फन्डिङ ! (भिडियो)

काठमाडौं । राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अमेरिकाको प्रभावमा स्थापना भएको आरोप लगाएका छन्।

उनले रास्वपा अमेरिकाको फन्डिङ र प्रभावमा बनेको दाबी गर्दै पार्टीका गतिविधिहरूमा स्पष्ट वैचारिक धार देखिन नसकेको टिप्पणी गरे। ‘रास्वपाका गतिविधि हेर्दा एमसीसी होस् वा परराष्ट्र नीति, कुनै पनि विषयमा स्पष्ट दृष्टिकोण देखिँदैन,’ उनले भने।

भट्टले अमेरिकाले नेपालमा आफ्ना स्वार्थ पूरा गर्न नयाँ राजनीतिक विकल्प खोजिरहेको दाबी पनि गरे। उनका अनुसार  नेपाली कांग्रेस, एमाले र नेकपा बाट पूर्ण रूपमा आफ्ना उद्देश्य पूरा नहुने ठानेर अमेरिकाले नयाँ शक्ति निर्माणमा भूमिका खेलेको हो।

यद्यपि, उनले ती पुराना दलहरू पनि अमेरिकी प्रभावभन्दा बाहिर नरहेको बताए। ‘ती दलहरूले एमसीसी पारित गरे, सुरुमा एसपीपी स्वीकार गरे र पछि अस्वीकार गरे,’ उनले भने, ‘यसले उनीहरू अमेरिकाको नीतिबाट पूर्ण रूपमा अलग छैनन् भन्ने देखाउँछ।’

भट्टले कांग्रेस, एमाले र माओवादी तीनै दल एक चीन नीतिको पक्षमा रहे पनि अमेरिकासँगको सम्बन्धमा सन्तुलन खोज्ने प्रयासमा रहेको टिप्पणी गरे। ‘ती दलहरू अमेरिकाले भनेका कुरा मान्छन्, तर एक चीन नीतिविरुद्ध जान चाहँदैनन्,’ उनले बताए।

प्रधानमन्त्री कपमा पुलिसले बनायो ३५५ रनको कीर्तिमान

काठमाडौं । चार ब्याटरले अर्धशतक बनाएपछि नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा सानदार जित निकाल्दा बागमती प्रदेशले पनि पहिलो सफलता आत्मसात गरेको छ ।

मुलपानीमा मंगलबार भएको खेलमा पुलिसले विभागीय डर्बीमा एपिएफ क्लबमाथि एक सय ८५ रन र बागमतीले गण्डकी प्रदेशलाई एक सय ७० रनले हराएका हुन् ।

समान दुई खेलबाट बामती र पुलिसले पहिलो जित आत्मसात गरे ।ओपनर दिनेश खरेल, शंकर राना, कप्तान आरिफ शेख र दिलसाद अली गरी चार ब्याटरले अर्धशतक पूरा गरेपछि पुलिस प्रधानमन्त्री कपमा अहिलेसम्मको सर्वाधिक ३५५ रनकाे ठूलो योगफल बनाउन सफल भयो, त्यो पनि बलियो एपिएफविरुद्ध ।

यसअघि एपिएफले सन् २०१८ को प्रधानमन्त्री कपमा मधेस प्रदेशविरुद्ध तीन सय ३९ रनको योगफल बनाएको थियो । मुलपानी क्रिकेट मैदानमा पुलिसले कीर्तिमान तीन सय ५६ रनको लक्ष्य दियो । दबाबमा परेको एपिएफ ४४ औं ओभरमा एक सय ७० रनमा नै अलआउट हुन पुग्यो ।

रोहितकुमार पौडेलको कप्तानीमा रहेको एपिएफ २२.१ ओभरमा ७१/७ को कमजोर अवस्थामा थियो । पुछारका ब्याटर नन्दन यादवले नटआउट ४४ रन र कमलसिंह ऐरीले ३५ रन बनाए । यससँगै एपिएफले १५० रनको आँकडा पार गरेको हो । नन्दनले ५५ बलमा समान तीन चौका र छक्का प्रहार गरे ।

कमलले ३२ बलमा दुई चौका र तीन हिर्काए । नवौं विकेटका लागि कमल र नन्दनबीच ४९ रनको साझेदारी भयो । कप्तान रोहित ११, ओपनर आसिफ शेख १८, सन्दीप जोरा २४ र पुरन विक २० रनमा आउट भए । पुलिसको बलिङमा स्पिनर ललित राजवंशीले तीन तथा करण केसी, रासिद खान र दिनेशले समान दुई विकेट लिँदै एपिएफको इनिङ धरासयी बनाए । सागर ढकालको नाममा एक विकेट रह्यो ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पुलिसले पूरै ओभरमा ९ विकेटको क्षतिमा तीन सय ५५ रनको कीर्तिमान योगफल बनाएको थियो । पहिलो ओभरमै अनुभवी ब्याटर कुशल भुर्तेललाई ४ रनमा गुमाएपछि पुलिसको सुरुआत सुखद भएन ।

सुरुमै विकेट पतन भए पनि पुलिसले आक्रामक ब्याटिङ गर्‍याे । ओपनर दिनेशले ५२  बलमा ६० रन बनाए । उनको इनिङमा ६ चौका र चार छक्का रह्यो । उनी म्यान अफ दी म्याच पनि भए । उनले दुई विकेटसँगै तीन वटा क्याच पनि लिएका थिए ।

शंकरले ६१ रन बनाए । उनले ५४ बलको सामना गरेर पाँच चौका र चार छक्का प्रहार गरे । कप्तान आरिफ ४२ बलमा ५० र रासिद खानले ४२ बलमा ४४ रन बनाए ।

विकेटकिपर दिलशाद ३० बलमा ५१ रनमा अविजित रहे । उनले पाँच चौका र तीन छक्का प्रहार गरे । एपिएफको बलिङमा कमलसिंह र अमरसिंह राउटेलाले समान दुई तथा कप्तान रोहित, नन्दन र युवराज खत्रीले समान एक विकेट लिए पनि महँगा सावित भए । पहिलो खेलमा त्रिभूवन आर्मी क्लवसँग पराजित भएको पुलिसले दुई खेलबाट दुई अंक जोड्दा

एपिएफको पनि दुई खेलबाट दुई अंक भएको छ । एपिएफले पहिलो खेलमा वागमतीलाई हराएको थियो ।

इशानको अलराउण्डमा बागमती विजयी

तल्लो मुलपानी क्रिकेट मैदानमा बागमतीले दुई सय ९५ रनको विशाल लक्ष्य दियो । जबाफी ब्याटिङ गरेको गण्डकी ३१.५ ओभरमा एक सय २४ रनमै अलआउट भयो ।

खराब सुरुआत गरेको गण्डकीका ओपनर अर्जुन कुमालले ७० रन र सातौं नम्बरका ब्याटर सुवास भण्डारीले २९ रन बनाए । अन्य ब्याटर दोहोरो अंकमा रन जोड्न सकेनन् र गण्डकी सस्तैमा अलआउट भयो । गण्डकीका ६ जना ब्याटर खाता नै खोल्न असफल भए । ३६ रन जोड्दा गण्डकीका पाँच ब्याटर पभेलियन फर्किसकेका थिए ।

छैटौं विकेटका लागि अर्जुन र सुवासले ७१ रनको साझेदारी गर्दै इनिङ समाल्ने प्रयास गरे । २५औं ओभरमा सुवास रनआउट हुन पुगे । सुवास खत्रीले उनलाई रनआउट गरेका हुन् । सुवासले ४८ बलमा समान एक चौका र छक्का प्रहार गरे ।

लगातार विकेट पतन भए पनि अर्जुनले एक छेउबाट इनिङ समाले । ३२औं ओभरमा बागमतीका कप्तान सन्दीप लामिछानले अर्जुनलाई बोल्ड गरेपछि गण्डकीको दशौं विकेट पतन भएको हो । अर्जुनले ९० बलमा ११ चौका हिर्काए ।

बागमतीको बलिङमा रिजन ढकालले तीन तथा सन्दीप र इशान पाण्डेले समान दुई विकेट लिए । अलराउन्ड प्रदर्शन गरेका इशान म्यान अफ दी म्याच भए । दयानन्द मण्डल र सुवास खत्रीको नाममा एक विकेट रह्यो ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बागमतीले पूरै ओभरमा आठ विकेटको क्षतिमा दुई सय ९४ रनको योगफल बनायो । शीर्ष चार ब्याटरको साथ पाएपछि बागमतीले राम्रो योगफल बनाएको हो ।

ओपनर आशुतोष घिरैया र इशान पाण्डेले अर्धशतकीय योगदान दिए । इशानले ७१ रन र आशुतोषले ५९ रन बनाए । अर्का ओपनर शुभ कंसकार २८ बलमा ४४ रन जोडे । ६१ बल खेलेका इशानको इनिङमा चार चौका र दुई छक्का रह्यो ।

आशुतोषले ८७ बलमा ९ चौका प्रहा गरे । शिभम् तिवारी १८ रनमा, उत्तम थापामगर ३० र विवेक रानामगर २७ रनमा आउट भए । कप्तान सन्दीप लामिछाने २६ रनमा अविजित रहे ।

गण्डकीको  बलिङमा कमल परियारले दुई तथा विपिन खत्री, अंकित न्यौपाने, सिबरिन श्रेष्ठ र सुवास भण्डारीले समान एक विकेट लिए । दुई खेलबाट वागमतीको दुई अंक जोड्दा गण्डकीले हारबाट प्रतियोगिता  शुरु गरेको छ ।

 

जेन-जी प्रतिवेदन सार्वजनिक गर्ने तयारीमा सरकार, काे-काे जालान् जेल ? (भिडियो)

काठमाडौं । सरकारले जेन-जी आन्दोलनका घटनाबारे छानबिन आयोगको प्रतिवेदन सार्वजनिक गर्ने अन्तिम तयारी थालेको छ।

प्रतिवेदन गोप्य राखिएको भन्दै बढ्दो आलोचनामाबीच सरकारले यसलाई सार्वजनिक गर्ने प्रक्रिया अघि बढाएको हो।

उच्च सरकारी स्रोतका अनुसार प्रधानमन्त्री सुशीला कार्की प्रतिवेदन सार्वजनिक गर्नुअघि केही वरिष्ठ मन्त्रीहरूसँग अन्तिम चरणको आन्तरिक छलफलमा छिन्।

सो छलफलले प्रतिवेदन सार्वजनिक गर्ने मिति टुंगो लगाउने बताइएको छ। सरकारका एक शीर्ष अधिकारीले प्रतिवेदन ‘आजभोलिमै’ सार्वजनिक हुनसक्ने जानकारी दिए।

गत भदौ २३ र २४ मा भएको जेन-जी आन्दोलनका क्रममा भएका घटनाको छानबिनका लागि गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले फागुन २४ गते प्रतिवेदन सरकारलाई बुझाएको थियो।

सो दिन नै आयोगका सदस्य तथा प्रवक्ता विज्ञानराज शर्माले यो प्रतिवेदन विगतका मल्लिक वा रायमाझी आयोगजस्तै बेवास्ता नहुने बताएका थिए।

१ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले प्रतिवेदन ग्रहण गर्ने निर्णय गरे पनि गृहमन्त्री ओमप्रकाश अर्यालले ‘भोलि नै सार्वजनिक हुन्छ’ भनेको प्रतिवेदन हालसम्म सार्वजनिक भएको छैन। यसबीच जेन-जी आन्दोलनका अगुवा तथा जवाफदेही निगरानी समूहले प्रतिवेदन सार्वजनिक गर्न निरन्तर दबाब दिँदै आएका छन्। माइतीघर मण्डलामा युवाहरू दैनिक प्रदर्शन गरिरहेका छन्।

नेपाली कांग्रेसको चैत ८ गतेको केन्द्रीय समिति बैठकले पनि प्रतिवेदन तुरुन्त सार्वजनिक गर्न सरकारलाई माग गरेको थियो। चौतर्फी दबाबका बीच चुनाव सम्पन्न गराएको अन्तरिम सरकारले नयाँ सरकार गठन हुनु अघि नै प्रतिवेदन सार्वजनिक गर्ने तयारी गरेको स्रोत बताउँछ।

स्रोतहरूका अनुसार कार्की आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक र तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङलाई फौजदारी अपराधमा अनुसन्धान गर्न सिफारिस गरेको छ। उनीहरूलाई १०-१० वर्ष कैद सजायसहितको सिफारिस प्रतिवेदनमा समावेश भएको बताइएको छ।

यसैगरी सशस्त्र प्रहरीका तत्कालीन आईजी राजु अर्याललाई ३ वर्ष कैद सिफारिस गरिएको छ। तत्कालीन गृहसचिव गोकर्णमणी दुवाडी, काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजाल, तथा प्रहरी अधिकारी सिद्धिविक्रम शाहमाथि पनि कारबाही सिफारिस गरिएको छ।

सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका केही अधिकारीहरूमाथि विभागीय कारबाहीको सिफारिस पनि प्रतिवेदनमा रहेको बताइएको छ।

इरानसँग वार्ता गर्न ट्रम्प तयार, पठाए वार्ताका एजेण्डाहरु

काठमाडौँ । अमेरिकाले इरानसँग वार्ता प्रक्रिया अघि बढाएकाे छ । त्यसका लागि अमेरिकाले मुद्दा (एजेन्डा) हरूको सूची पठाएको छ । बीबीसीकाे अमेरिकी साझेदार सीबीएस न्यूजको रिपोर्ट अनुसार मध्यस्थकर्ताहरूमार्फत अमेरिकाले छलफलका लागि इरानललाई एजेण्डाहरु पठाएकाे हाे ।

इरानी विदेश मन्त्रालयका एक वरिष्ठ अधिकारीका अनुसार इरानले अहिले ती प्राप्त एजेन्डाहरूको समीक्षा गरिरहेको छ। यद्यपि, यो कदम वार्ताको एउटा सम्भावित प्रारम्भिक खुड्किलो मात्र भएको र हालसम्म कुनै पनि औपचारिक वार्ता पक्का भइनसकेको रिपोर्टमा उल्लेख छ।

हालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने विषयमा कुराकानी भएको दाबी गरेका थिए। तर, इरानले भने ट्रम्पको उक्त दाबीलाई तत्कालै खण्डन गर्दै कुनै पनि वार्ता नभएको बताएको थियो।

 

रास्वपाबाट सभामुखको चर्चामा छन् यी ६ सांसद, बाजी कसले मार्लान् ?

काठमाडौं। प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको शपथग्रहण तयारीसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र सभामुख चयनको चासो बढेको छ।

पार्टीभित्र हाल पाँच जना सम्भावित उम्मेदवारको नाम चर्चामा छन्। नयाँ सभामुखका लागि मुख्य चुनौती दलीय आबद्धताबाट अलग रहनुपर्ने संवैधानिक आवश्यकतालाई पूरा गर्ने योग्य व्यक्ति खोज्‍नु हो।

सुरुमा उपसभापति डिपी अर्याल (डोलप्रसाद) को नाम सभामुखमा चर्चामा थियो। उनी सन्तुलित नेतृत्वको छवि राख्‍ने र पार्टी नेतृत्वको विश्‍वासपात्र मानिने नेताहरूको सूचीमा थिए।

अर्याल दुई पटक श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री भइसकेका छन् र अहिले काठमाडौं-९ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन्।

तर, दलीय गतिविधिबाट अलग रहनुपर्ने भएकाले पार्टीकाे निर्णयमा उनी अनुपस्थित हुन सक्ने संभावना देखिएपछि अन्य नाममा छलफल अघि बढेको नेताहरूले बताएका छन्।

सदस्य दीपक बोहरा पनि सम्भावित सभामुखका रूपमा चर्चामा छन्। उनी पार्टी सचिवालय सदस्य भए पनि हाल पार्टीमा परिभाषित भूमिका छैन।

केही समयअघि सहकोषाध्यक्ष रहेकाले नेतृत्वनजिक कार्यसम्पादन गरेको र विश्‍वास अर्जन गरेको कारण उनको नाम सूचीमा आएको हो। बोहरा कञ्‍चनपुर-२ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन्।

युवा अनुहारको खोजीमा सहप्रवक्ता प्रतिभा रावलको चर्चा बलियो भएको छ। उनी समानुपातिक सांसद र पार्टी सभापति रवि लामिछानेको सचिवालय सदस्य पनि हुन्।

पत्रकारिता पृष्ठभूमि भएकी रावल पार्टीको शुरुवातदेखि आबद्ध रहेकी हुन् र पार्टीभित्र विश्‍वासपात्र मानिन्छन्। भनिन्छ, सभामुखको भूमिकाका लागि उनको सम्भावना सबैभन्दा बलियो बनेको छ।

त्यस्तै, सोबिता गौतम र पूर्वउपसभामुख इन्दिरा रानामगर पनि सम्भावित उम्मेदवारमा छन्। तर उनीहरू दुवै मन्त्री पदमा जाने संभावना भएकोले सभामुखमा पूर्ण रूपले फोकस गर्न सक्ने कुरा निश्चित छैन।

गौतमको चर्चा कानुनमन्त्रीको रूपमा भइरहेको छ भने रानामगर महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बन्ने सूचीमा छन्।

पार्टी वरिष्ठ नेता जगदीश खरेलको नाम पनि सम्भावित सभामुखमा छलफलमा आएको छ। उनको चर्चा वरिष्ठ नेता बालेन शाहको समूहबाट उठेको हो।

प्रतिनिधिसभाको पहिलो बैठक वैशाख ४ भित्र बस्‍नुपर्ने संविधान अनुसार नयाँ सभामुख र उपसभामुख वैशाख १९ भित्र चयन हुने अपेक्षा गरिएको छ।

रास्वपा केन्द्रीय समितिको बैठक चैत १२ मा बस्नेछ, जसले दलको नेता चयन प्रक्रिया अघि बढाउनेछ। यस क्रममा सभामुखको नाममा सहमति जुटाउन नेताहरू सक्रिय छन्।

राजीनामा, चुनावी हार र भ्रष्टाचार नियन्त्रणबारे के भने काङ्ग्रेस सभापति गगन थापाले ? (सम्बोधनको मूल अंश)

राजीनामा किन ?

निर्वाचनलगत्तै मैले राजीनामा दिन चाहेको थिएँ। तर केही प्राविधिक प्रक्रियाहरूका कारण तत्काल राजीनामा दिन सकिएन। मैले कुनै हतारमा वा आवेगमा राजीनामा दिएको होइन, न त राहतको अनुभूति गरेर नै यस्तो कदम उठाएको हुँ। जसले मत माग्नुभयो वा जसले मतदान गर्न जानुभयो, तिनका टिप्पणीहरू मेरा लागि स्वाभाविक रूपमा प्राथमिकतामा पर्थे तर त्यो समय मेरो मुख्य चासो संगठनात्मक जिम्मेवारी पूरा गर्नु थियो।

२०८२ फागुन २१ गते सम्पन्‍न प्रतिनिधिसभा निर्वाचनको परिणामको जिम्मेवारी स्वीकार गर्दै मैले फागुन महिनामै राजीनामाको तयारी गरेको थिएँ। नेपाली कांग्रेसको चैत ३ गते बसेको केन्द्रीय समिति बैठकपछि पार्टीको विधानअनुसार पार्टी सभापतिले राजीनामा दिन चाहेमा उपसभापतिसमक्ष दिने व्यवस्था छ र उपसभापतिले नै त्यसबारे निर्णय लिनुपर्ने प्रावधान हुन्छ। त्यसैले मैले विधिपूर्वक कुनै हतारोबिना, राजीनामा अघि बढाएको हुँ।

फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा हामी गएको अवस्थामा हामीले विशेष महाधिवेशन नगरिकनै निर्वाचनको सामना गर्नुपरेको थियो। हामी निर्वाचित हुन नसके पनि प्रतिस्पर्धा गरेको १६६ जना उम्मेदवारमध्ये धेरैले राम्रो बुझाइ र साथ दिएका थिए। निर्वाचित हुन नसकेका तर मेहनतपूर्वक लडेका ती सबै उम्मेदवारलाई म सम्मानका साथ स्मरण गर्छु।

निर्णय गर्ने बेला म एकछिन अलमलिएको अवश्य हुँ तर कसैको दबाब वा भयमा परेर राजीनामा गरेको होइन। किनभने नेतृत्व ग्रहण गरेपछि जवाफदेहिता लिने मेरो कर्तव्य हो। जसले मत माग्नुभयो वा मतदान गर्न जानुभएन, दुबै पक्षका भावनालाई सम्मान गर्दै मैले आफ्नो भूमिकाको मूल्यांकन गरेको हुँ। राजीनामा गरेपछि पनि अतिनै प्रतिकूल अवस्थामा पार्टीका लागि समर्पित भएर काम गर्ने साथीहरूको सुझाव र रायहरू मेरा लागि सदैव शिरोमान रहनेछन्।

मैले राजीनामा गर्ने निर्णय बनाएपछि पहिलोपटक औपचारिक रूपमा उपसभापति, महामन्त्रीलगायत नेतासँग निरन्तर छलफल गरिरहेँ। अनौपचारिक रूपमा पनि म निरन्तर संगठनका जिम्मेवारहरूसँग संवादमै थिएँ।

यसअघि रहेको समितिका सभापति आदरणीय शेरबहादुर देउवाजीको हस्ताक्षरमा समानुपातिक उम्मेदवारको सूची निर्वाचन आयोगमा बुझाइसकिएको थियो। बिचमा विशेष महाधिवेशन नभएको हुनाले हामीले नै उम्मेदवार छनोट गरेर बुझाउनु पर्ने दायित्व थियो। सो व्यवस्था पूरा गर्नु नेतृत्वको जिम्मेवारी भएकाले ती प्रक्रियाहरू सकेर मात्रै म औपचारिक रूपमा राजीनामा गर्न सक्दथेँ।

अन्तत मैले यो निष्कर्ष किन निकालेँ भने-यो जवाफदेहिताको विषय थियो। हामी गएर केही गर्न सक्थ्यौँ  कि? समय बढी पाएकाे भए परिणाम फरक पर्थ्यो कि? यस्ता प्रश्नहरू गम्भीर रूपमा आत्मसमीक्षा गरेपछि नै म यो निर्णयमा पुगेको हुँ।

तर, अन्तिममा स्पष्ट भन्न चाहन्छु। म नेपाली कांग्रेसको सभापति हुँ, यो टिमको कप्तान हुँ, र मेरो नेतृत्वमा भएको परिणामको वास्तविक जिम्मेवारी लिनु मेरो कर्तव्य नै हो। त्यसैले प्राविधिक, संगठनात्मक र वैधानिक पक्ष पूरा गरेर राजीनामा प्रक्रियामा अघि बढेको हुँ।’

भ्रष्टाचारसँग जोडिएका प्रकरण छानबिनबारे 

यदि कसैले अवैध रूपमा सम्पत्ति आर्जन गरेको छ, गलत कमाइ गरेको छ भन्ने प्रस्ट प्रमाण देखिन्छ भने त्यस सम्पत्ति जफत हुनुपर्छ। हामी यही मान्यतामा छौँ। हामीले सरकार चलाउने अवसर पायौँ भने छ महिनाभित्रै सम्पत्ति छानबिन आयोग गठन गरेर काम अघि बढाउनेछौँ भनेर भनेका थियौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले पनि त्यही भन्यो र उसले भनेको छ हामी आयोग बनाउछौँ, छानबिन गर्छौं र दोषी देखिएमा कारबाही गर्छौं। यी जति पनि काण्डहरु छन्, चाहे त्यो गिरिबन्धु होला, ललिता निवास होला, वाइडबडी होला वा भाद्र २४ गते घरमा जलेको रकम होला। यी सबै विषयहरुका सन्दर्भमा अनुसन्धान हुनुपर्छ। 

वि.सं. २०८२ सालपछि नयाँ अध्याय सुरु हुन्छ । हामी सबैले नयाँ दिशातर्फ अघि बढ्नुपर्छ। यो एउटा ‘कट अफ प्वाइन्ट’ हो तर २०८२ भन्दा अघिका कुराहरुलाई हामी कसरी हेर्छौं त ? २०८२ भन्दा अगाडीका कुरालाई पनि टुंग्याउनुपर्छ अब। 

२०४६ सालको जनआन्दोलनपछि २०४८ सालमा नयाँ सरकार गठन भयो। त्यसपछिका २५ वर्षमा २०४८ देखि २०८२ सम्म विभिन्न सरकारले नेतृत्व गरेका छौँ। २०४६ सालयता सार्वजनिक भूमिकामा बसेका प्रत्येक व्यक्तिको सम्पत्ति छानबिन गर्ने। यदि यो अवधिमा कसैले गलत तरिकाबाट सम्पत्ति आर्जन गरेको छ भने त्यो जफत गर्ने। अब आउने सरकारले छानबिन आयोग बनाउनुपर्छ।  हाम्रो साथपनि रहन्छ- माग पनि रहन्छ। 

२०४६ सालदेखि यहाँसम्म आइपुग्दा करिब ३५ वर्ष भयो। यो ३५ वर्षको अवधिमा थुप्रै राम्रो काम पनि भएका छन्। थुप्रै अवरोध पनि आए। यो बिचमा हामीले यत्रो ठूलो हिंसा देख्यौँ, द्वन्द्व देख्यौँ । राजनीतिक संक्रमण पनि देख्यौँ। अधिनायकवादी शासन देख्यौँ। त्यसको प्रतिरोधको राजनीति देख्यौँ। संविधान निर्माणको लामो संक्रमण काल देख्यौँ। थुप्रै कुराहरु हामीले बेहोरेका छौँ। तर यही ३५ वर्षको अवधिमा नागरिकहरूको मनमा एउटा ठूलो प्रश्न के रह्यो भने- शासकीय स्वरुपको ठूलो दुरुपयोग भयो। सार्वजनिक ओहदामा बस्नेहरुले शासकीय स्वरुपको दुरुपयोग गरे। सार्वजनिक पदको दुरुपयोग गरे।  र यो दुरुपयोग भएको कुरा थुप्रै काण्डहरुसँग जोडिएको छ। 

हामी सुन्छौँ- यो काण्ड, त्यो काण्ड भनेर। यसमा नेपाली कांग्रेसको आधिकारिक धारणा स्पष्ट छ- यी काण्डहरु अब सार्वजनिक खपतको विषय हुनुहुँदैन र आरोप प्रत्यारोपको विषय पनि हुनुहुन्न। यो दूधको दूध पानीको पानी हुनुपर्छ। यसको भारी कुनै अमुक वा कुनै पार्टीले पनि बोक्ने होइन। जसले गरेको छ- उसले यसको भारी बोक्नुपर्छ। नेपाली कांग्रेसले प्रष्ट रुपमा यो विचार राखेर जानुपर्छ। 

नेपालको राजनीति सफा गर्ने संकल्पमा नेपाली कांग्रेसको नेतृत्व पूर्णरूपमा प्रतिबद्ध छ।

निर्वाचनमा पार्टीको हारबारे 

नेपाली कांग्रेसको एउटा क्रियाशील सदस्यका रूपमा चुनाव जिताउनका लागि समर्पित भएर लाग्ने प्रतिज्ञा हामी सबैले गर्छौँ। विशेष महाधिवेशनपछि केही नेताहरूमा असन्तुष्टि थियो, यो पनि म स्वीकार गर्छु। पार्टीको विशेष महाधिवेशन सम्पन्न भएपछि हामीले एक दिनमा १ सय ६५ जना उम्मेदवार चयन गर्‍याेँ । उम्मेदवार चयन गर्दा त्यतिबेला हामीसँग उपलब्ध सूचना, ग्राउन्ड-वर्क र पार्टी विधानअनुसार नै निर्णय गरिएको थियो। त्यो निर्णयमा सबैले पूर्ण सन्तुष्टि नहुनु स्वाभाविक हो, त्यसलाई म सम्मान गर्छु।

उम्मेदवार नबन्नुका कारण वैयक्तिक असन्तुष्टि हुनु पनि सामान्य कुरा हो। मप्रतिको गुनासो होला, निर्णयप्रतिको गुनासो होला।  तर गत निर्वाचनमा नेपाली कांग्रेस पार्टीको तर्फबाट पार्टीको रुख चिन्ह लिएर उम्मेदवार बनेका व्यक्तिलाई न त मत दिएका छौँ, न त मत मागिएको छ। नेपाली कांग्रेसको सदस्यता लिने व्यक्तिले एउटा शपथ लिएर सदस्यता लिएको हुन्छ कि म नेपाली कांग्रेसबाट बन्ने उम्मेदवारलाई जिताउन समर्पित भएर लाग्नेछु। 

तर पार्टीको सदस्यले लिएर गएको प्रतिज्ञा चुनावमा कार्यान्वयन भएन । यसबारे गुनासो उठ्नु पनि स्वाभाविक छ। तर रुख चिन्ह लिएर गएका उम्मेदवारलाई मत नमाग्ने- मत नहाल्ने कुरालाई मैले पार्टी सभापतिका रुपमा नोटिसमा राख्नुपर्छ। 

कुनै नेता कुनै निर्वाचन क्षेत्रमा पाँच पटक, छ पटक, चार पटक वा तीन पटकसम्म उम्मेदवार बन्नुभएको छ । यो पटक पनि उम्मेदवार बन्न चाहना व्यक्त गर्नुभयो । उम्मेदवार बन्ने- अघिल्लोपटक बन्नुभयो यो पटक बन्नुभएन। पार्टी हो कहिले को बन्छ को बन्दैन। म अहिले सभापति छु- अर्को पटक नेपाली कांग्रेसको तर्फबाट मा उम्मेदवार नै नबन्ने पनि हुनसक्ला। यो पटक बने।  निर्णय गरेरै उपसभापति विश्वप्रकाश शर्मा, पुष्पा भुसाल उम्मेदवार बन्नुभएन। हामी पार्टीको काम गर्छौँ भन्नुभयो। तर ५/६ पटक त्यही निर्वाचन क्षेत्रबाट निर्वाचन लडेको नेता यो पटक कार्यकर्ता सघाउन निर्वाचन क्षेत्रमा टेक्नु पर्दैन? मत माग्नु पर्दैन ? त्यो मैले सम्झाउनुपर्छ ? त्यो यसको पक्ष, त्यसको पक्षले निर्धारण गर्छ ? गर्दैन। तर यसका बारेमा पनि म कुनै पूर्वाग्रह राख्दिनँ। पार्टीको अनुशासन विभागले विधिसम्मत तरिकाले काम गर्छ। 

विशेष महाधिवेशनबाट आएको नयाँ नेतृत्वले आफ्नो जिम्मेवारी निर्वाह गर्दै पार्टीको निर्णय अनुसार निर्वाचन कार्य सम्पन्न गर्‍यो। परिणामबारे धेरै कुरा भइसकेका छन्, र समयक्रममा त्यसबारे फेरिफेरि बहस गरेर लाभ हुँदैन। आगामी नियमित महाधिवेशन र संगठनात्मक प्रक्रियाबाट नै यसको समुचित मूल्यांकन हुनेछ।  यो गाडी अगाि बढ्यो अब।  यो गाडीमा कोही छुट्नुहुन्न। सबैलाई समेटेर लाने हो। तर कोही छुट्छु भन्नुहुन्छ भने त्यो मेरो कुरा होइन।’

यस्ताे छ- नवनिर्वाचित सांसदहरूकाे शपथ ग्रहण तयारी (भिडियो)

काठमाडौं । सिंहदरबारस्थित निर्माणाधीन प्रतिनिधिसभाको बहुउद्देश्यीय भवनमा नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण हुने भएको छ ।

शपथ ग्रहण बिहीबार हुँदैछ । ज्येष्ठ सदस्यका रुपमा नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले नवनिर्वाचित सांसदहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउने भएका छन् ।

त्यसअघि उनले राष्ट्रपति रामचन्द्र पौडेलसामु शपथ ग्रहण गर्नेछन् ।

धरान हुँदा हर्कलाई प्रधानमन्त्रीमा बालेन अस्वीकार्य, काठमाडौंमा स्वीकार्य ! (भिडियो)

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले प्रधानमन्त्रीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहलाई स्वीकार गर्ने बताएका छन् ।

केही दिनअघिसम्म प्रधानमन्त्रीमा रास्वपाले सभापति रवि लामिछानेलाई नै बनाउनुपर्ने बताउने साम्पाङले मङ्गलबार काठमाडौंमा सञ्चारकर्मीहरूसँग भने बालेन्द्रलाई स्वीकार्ने बताएका हुन् ।

उनले बालेनको नाम नलिइकन भने, ‘जनताले चुन्नुभयो । जनता नै सार्वभौम हुन्छ । जनताले जसलाई चुन्नुभयो, उसलाई मान्नुको विकल्प छैन ।’

साम्पाङले बालेन संसदप्रति जवाफदेही नहुन सक्नेतर्फ भन्दै रविलाई प्रधानमन्त्रीमा अघि सार्दा उपयुक्त हुने बताउँथे ।

यद्यपि, केही दिनअघि मात्रै बालेनले साम्पाङलाई आफूले माया गरिरहेको बताएका थिए ।

जेठानको मुक्का प्रहारले ज्वाइँको मृत्यु

काठमाडौं । रामेछापमा जेठानले मुक्का प्रहार गर्दा ज्वाइँकाे मृत्यु भएकाे छ । जिल्लाको दोरम्बा शैलुङ गाउँपालिका-४ मा पारिवारिक विवादले उग्र रूप लिँदा जेठानको कुटाइबाट ज्वाइँको मृत्यु भएको हाे ।
मृतक ६० वर्षिय प्रेमबहादुर तामाङ हुन् । उनी ससुराली घरमा पाहुना आएका थिए । साेहीबेला जेठान वीरबहादुर तामाङसँग झगडा भएकाे थियाे ।
त्यसक्रममा वीरबहादुरले मुक्का प्रहार गर्दा ज्वाइँ प्रेमकाे मृत्यु भएकाे हाे ।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार सोमबार भएको उक्त घटनापछि अभियुक्त वीर बहादुर फरार रहेका थिए। उनलाई प्रहरीले मंगलबार बिहान खारपानी क्षेत्रबाट नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) भोला भट्टका अनुसार ससुरालीमा पाहुना आएका ज्वाइँमाथि सामान्य विवादकै बीचमा आक्रमण भएको थियो।

 

रास्वपालाई काङ्‍ग्रेस सभापति थापाले दिए बधाई (भिडियो)

काठमाडौं । कांग्रेस सभापति गगन थापाले प्रतिनिधिसभा निर्वाचनबाट सबैभन्दा ठूलो दल बनेको रास्वपालाई बधाई दिएका छन् । उनले जेन-जी भावनाअनुसार सरकार सञ्‍चालन गर्न आग्रहसमेत गरे ।

‘रास्वपालाई बधाई दिन चाहन्छु । नौ जवानको व्रिदोहको मर्म र भावनाअनुसार सरकार सञ्‍चालन गर्नुहोला’, केन्द्रीय समितिको बैठकमा बोल्दै उनले मङ्‍गलबार भने ।

सरकार सञ्चालनको लागि कांग्रेसले मत नपाए पनि विपक्षीको रूपमा पनि ठूलो जिम्मेवारी पाएको उनले बताए । अबको पाँच वर्ष सुशासन, सेवा प्रवाह, विकासमा राम्रो गति लिनुपर्ने उनले बताए ।

५ वर्ष रास्वपालाई पूर्ण साथ रहने उनले बताए । गतिमा साथ रहने, प्रश्न गर्नुपर्ने ठाउँमा प्रश्न पनि रहने उनले बताए । पाँच वर्ष द्वन्द्व र विवादको चपेटामा सरकार पर्न नहुने उनले बताए ।

हतास र हताराेमा राजीनामा नदिएकाे गगन थापाकाे स्पष्टीकरण (भिडियो)

काठमाडौं । कांग्रेस सभापति गगन थापाले हतास र हताराेमा राजीनामा नदिएको बताएका छन् ।

चुनावी हारकाे नैतिक जिम्मेवारी लिँदै राजीनामा दिएकाे बताए । ३ चैतमा समानुपातिक सा‌सदकाे टुङ्‍गाे लगाएपछि राजीनामा दिन चाहेकाे पिन खुलाए ।

चुनावी हारपछि पहिलोपटक मंगलबार पार्टीकाे केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै उनले जवाफदेहिताको लागि आफूले राजीनामा दिएको उनले बताए ।

काङ्‍ग्रेसकाे क्याप्टनेका रुपमा मैले नैतिक जिम्मेवारी लिँदै राजीनामा दिएकाे थिएँ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले विशेष महाधिवेशन गर्ने कुनै निर्णय आफूले त्यसै नगरेको स्पष्ट पारेका छन्।

उनले निर्वाचनमा सक्रिय रूपमा नखटिएका वा मतदान प्रक्रियामा सहभागी नभएका व्यक्तिहरूप्रतिकाे सवाल सरोकारको विषय नभएको बताएका छन्।

थापाले भने, ‘जो साथीहरू निर्वाचनमा खटिनुभयो, उहाँहरूको सुझाव मेरो लागि शिरोधार्य हुन्छ।’

सभापति थापाले राजीनामाको विषयमा उपसभापति विश्वप्रकाश शर्मासँग पहिल्यै छलफल गरेको पनि बताएका छन्। उनका अनुसार उनी निर्वाचनलगत्तै राजीनामा दिन इच्छुक थिए। ‘३ चैतमा समानुपातिक सांसदहरूको टुंगो लगाएपछि राजीनामा दिने सोचमा थिएँ,’ उनले उल्लेख गरे।

चुनावी परिणामबारे विभिन्न तर्क र विश्लेषण प्रस्तुत भइरहेका बेला थापाले ती विषयले केही हदसम्म अवस्था स्पष्ट पार्ने भए पनि अन्ततः नेतृत्वले जिम्मेवारी लिनैपर्ने धारणा राखे।

‘हामी नभएको भए के हुन्थ्यो, समय बढी पाएको भए के हुन्थ्यो भन्ने तर्कहरू छन्, तर म नेपाली कांग्रेसको सभापति र क्याप्टेन भएकाले चुनावी नतिजाको जिम्मेवारी लिनुपर्छ,’ उनले भने।

यसै अनुसार उनले नैतिक जिम्मेवारी स्वीकार गर्दै राजीनामा बुझाएको स्पष्ट पारे।

उनले आफू काङ्‍ग्रेसकाे क्याप्टने भएकाे भन्दै चुनावी हारकाे जिम्मेवारी नैतिक रुपमा लिँदै राजीनामा दिएकाे बताए ।

चुनाव हारेकाे तीन सातापछि बाेल्दै कांग्रेस सभापति गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले तीन सातापछि निर्वाचनमा भएको पराजय, पार्टीको आन्तरिक मतभेददेखि आगामी बालेन सरकारका बारेमा बोल्ने भएका छन् ।

महामन्त्री प्रदीप पौडेलका अनुसार उनले आजको केन्द्रीय समिति बैठकमा बोल्ने भएका हुन् ।

निर्वाचनमा पार्टी र उनीसमेत पराजित भएपछि थापा मौन थिए । उनले सामाजिक सञ्जालका माध्यमहरूमा पनि केही लेखेका छैनन् ।

थापा लामो समय मौन रहेपछि चुनावी हारले सभापति थापा स्तब्ध बनेको धेरैले अड्कल गरेका थिए । आज भने उनले मिडियासमक्ष पनि धारणा राख्ने महामन्त्री पौडेलले बताए ।

थापाको नेतृत्वमा गत २१ फागुनमा चुनावमा गएको कांग्रेसले लज्जास्पद हार बेहोर्‍यो । थापा स्वयं सर्लाही–४ मा पराजित भएका थिए । यसपछि उनको राजीनामा मागिएको थियो ।

राजीनामा माग्नेहरू निवर्तमान सभापति शेरबहादुर देउवानिकटका नेताहरू छन् । दबाब बढ्दै जाँदा थापाले राजीनामा दिए । तर, उनको वर्चश्व रहेको विशेष महाधिवशेनबाट निर्वाचित केन्द्रीय समितिले राजीनामा अस्वीकृत गर्‍यो ।

देउवा पक्षले भने गगनको राजीनामालाई ‘कलात्मक नाटक’ भनेका थिए । नभन्दै गगनले राजीनामा दिने र उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा बसेको केन्द्रीय समितिले अस्वीकृत गर्ने काम गर्‍यो ।

यसपछि थापाले मिडियासामु बोल्न लागेका हुन् ।

लागुऔषधसहित १५ जना पक्राउ, ठूलाे परिमाणमा लागुऔषध बरामद

काठमाडौं । मोरङकाे बिराटनगर महानगरपालिका-१५ बाट अवैध लागूऔषध खैरो हेरोइन ३२ ग्रामसहित भारत घर भएका २९ वर्षीय मसुल अंसारीलाई प्रहरीले पक्राउ गरेको छ ।

लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बिराटनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

सुनसरीकाे इनरूवा नगरपालिका-४ बसचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ ग्राम २ सय ५० मिलिग्राम सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा धरान उपमहानगरपालिका-६ बस्ने २६ वर्षीय ख्यामबहादुर देवान लिम्बु र २७ वर्षीय शौरभ कटुवाल रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले प्र.१-०२-०४९ प ५७०२ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

कैलालीकाे धनगढी उपमहानगरपालिका-८ धनगढीगाउँबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ८० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३० वर्षीय रंजित चौधरीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

सिरहाकाे गोलबजार नगरपालिका-४ निपाने टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम सहित सोही नगरपालिका-५ बस्ने २५ वर्षीय अनिल चौधरीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गोलबजार समेतबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

थप अनुसन्धानको क्रममा उक्त पदार्थ सोही ठाउँ बस्ने  ३३ वर्षीय बलिराम महतोले बेच्नको लागि पठाएको भनि खुल्न आएपश्चात लहान नगरपालिका-१ भाईरलबाबा टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १० ग्राम २ सय ५० मिलिग्राम सहित बलिरामलाई पक्राउ गरेको छ ।

नवलपरासी पश्‍चिम, सुनवल नगरपालिका-१२ बाट नियन्त्रित लागूऔषध  बुप्रेनोर्फिन १ हजार ७ एम्पुल, डाइजेपाम ९ सय १० एम्पुल र फेनारगन ७ सय ३३ एम्पुल सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही नगरपालिका-४ बडसारे बस्ने २६ वर्षीय सुनिल कुमार यादव र ३५ वर्षीय जितेन्द्र जैसवाल रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा समेतबाट खटिएको प्रहरीले युपि ५६ एएक्स ८१०६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

साथै थप अनुसन्धानको क्रममा रामग्राम नगरपालिका-१७ देवगाउँ बस्ने ४९ वर्षीय लक्कीचन्द केवटको घरबाट नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन ३ सय ३९ एम्पुल, डाइजेपाम ६ सय ३४ एम्पुल र फेनारगन ७ सय ८ एम्पुल फेला पारी लक्कीचन्दलाई समेत प्रहरीले पक्राउ गरेको छ ।

सुर्खेतकाे वीरेन्द्रनगर नगरपालिका-१० बुदबुदेबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३६ वर्षीय हर्ष सिंह ठकुरी र २२ वर्षीय तुला नेपाली रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

बाँकेकाे कोहलपुर नगरपालिका-२ बर्दहवाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम १ सय ९० मिलिग्राम सहित सोही ठाउँ बस्ने २१ वर्षीय सत्य नारायण थारू समेत २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको छ ।

रूकुम पूर्वकाे भुमे गाउँपालिका-२ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ४० मिलिग्राम सहित २ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-२ बस्ने २४ वर्षीय साहस पुन  र २५ वर्षीय सुन्दर रोका रहेका छन् । जिल्ला प्रहरी कार्यालय रूकुम पुर्वबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

प्रहरीले पक्राउ परेकाहरुविरुद्ध अनुसन्धान थालेकाे छ ।

फोन पानीमा भिज्दा कति सुरक्षित? आईपी रेटिङले के भन्छ ?

काठमाडौं । तपाईकाे फाेन पानीमा भिज्याे भने तपाईलाई चिन्ता हुन सक्छ- ‘ला ! अब बर्बादै भयाे । माेबाइल बिग्रियाे ।’ पानीमा डुब्याे भने पनि तपाईलाई चिन्तित बनाउँछ ।

तर, भिज्‍ने बित्तिकै सबै फाेन बिग्रिने भने हुँदैन । त्यसकाे लागि महत्वपूर्ण हुन्छ – आईपीएक्स अर्थात् इनग्रेज प्रोटेक्शन रेटिङ ।

याे  एक अन्तर्राष्ट्रिय मापदण्ड हो, जसले मोबाइल फोन, स्मार्टवाच, स्पिकरलगायतका इलेक्ट्रोनिक उपकरणहरू धुलो र पानीबाट कति सुरक्षित छन् भन्ने जानकारी दिन्छ।

यो सामान्यतया आईपी ६७, आईपी ६८ वा आईपीएक्स ४ जस्ता फर्म्याटमा उल्लेख गरिएको हुन्छ, जहाँ पहिलो अंकले धुलोबाट हुने सुरक्षास्तर जनाउँछ भने दोस्रो अंकले पानीबाट हुने सुरक्षा स्तर देखाउँछ।

आईपीएक्स ४ रेटिङ भएका उपकरणहरू सामान्यतया पानीका छिटा वा हल्का वर्षाबाट सुरक्षित हुन्छन्। तर यसमा धुलोबाट हुने सुरक्षाबारे स्पष्ट जानकारी दिइएको हुँदैन।

आईपी ६७ रेटिङ भएको उपकरण भने पूर्ण रूपमा धुलोबाट सुरक्षित हुने (डस्ट-टाइट) हुन्छ र करिब १ मिटर गहिराइको पानीमा ३० मिनेटसम्म सुरक्षित रहन सक्छ। त्यस्तै, आईपी ६८ रेटिङ भएका उपकरणहरू अझ उन्नत मानिन्छन्, जसले १.५ मिटर वा सोभन्दा बढी गहिराइमा पनि केही समयसम्म पानी सहन सक्छन्। यद्यपि, वास्तविक सीमा भने सम्बन्धित निर्माता कम्पनीले निर्धारण गरेको हुन्छ।

तर धेरै प्रयोगकर्ताले आईपी रेटिङलाई ‘वाटरप्रुफ’ भनेर बुझ्ने गल्ती गर्छन्, जुन पूर्ण रूपमा सही होइन। वास्तवमा यी उपकरणहरू ‘वाटर-रेसिस्टेन्ट’ मात्र हुन्छन्, अर्थात् सीमित अवस्थामा मात्र पानीबाट जोगिन सक्षम हुन्छन्।

लामो समयसम्म पानीमा डुबाएर राख्दा, साबुनयुक्त पानी, नुनिलो पानी वा अत्यधिक चापमा राख्दा उपकरणमा क्षति पुग्न सक्छ।

त्यसैले आईपी ६७ वा आईपी ६८ रेटिङ भएका फोन भए पनि अत्यधिक पानीको सम्पर्कबाट जोगाउनु उपयुक्त हुन्छ।

आईपी रेटिङले दैनिक प्रयोगमा सुरक्षा दिने भए पनि सावधानी अपनाउनु नै दीर्घकालीन प्रयोगका लागि सबैभन्दा सुरक्षित उपाय मानिन्छ।

जेन–जी विद्रोहमा जलाइएका देउवाको घर भत्काइँदै धमाधम (तस्बिरहरु)

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको बूूढानीलकण्ठस्थित निवास भत्काइँदै छ ।

उनको यो घर जेन–विद्रोहको बेला विद्रोहीहरूले आगजनी गरेका थिए । त्यसबेला घर भग्नावेशमा परिणत भएको थियो ।

विद्रोहको झण्डै सात महिनापछि घर पुनर्निर्माण गर्न भत्काइएको जनाएको छ । देउवा दम्पति भने सिङ्गापुरमा छन् ।

उनीहरू जेन–जी विद्रोहपछि सिङ्गापुर आउजाउ गरिरहेका छन् ।

हेर्नुहाेस् तस्बिरहरु

इरानले भन्याे- क्षतिपूर्ति नपाएसम्म युद्ध राेक्दैनाैँ

इरानले युद्ध त्यसै नराेक्ने चेतावनी दिएकाे छ । आफ्नो देशमा भएकाे क्षतिको पूर्ति नपाएसम्म लडाइँ जारी राख्ने इरानले जनाएकाे हाे ।

सर्वोच्च नेता मोज्तबा खामेनीका वरिष्ठ सैन्य सल्लाहकार मोहसेन रेजाइले क्षतिपूर्तिबाहेक सबै आर्थिक प्रतिबन्ध हटाइनुपर्ने र अमेरिकाले भविष्यमा कुनै हस्तक्षेप नगर्ने ग्यारेन्टी गरिनुपर्ने बताएका छन्।

‘इरानी सेनाले पूर्ण शक्तिका साथ कारबाही गरिरहेको छ र नयाँ सर्वोच्च नेताको नेतृत्वमा देशको नेतृत्वले परिस्थितिलाई दृढतापूर्वक सम्हालिरहेको छ’, उनले भने ।

यसअघि इरानी संसद‌्‌का सभामुख मोहम्मद बाघेर गालिबाफले पनि देशका जनताले आक्रमणकारीलाई पूर्ण सजायको माग गरिरहेको बताएका थिए।

उता इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले पनि इरानविरुद्ध हमला जारी रहेको बताएका छन्।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी द्वन्द्व पूर्ण रूपमा अन्त्य गर्न अमेरिका र इरानबिच ‘सकारात्मक वार्ता’ भएको दाबी गरिरहेका बेला इरान र इजरायल भने यसलाई अस्वीकार गर्दै युद्ध नरोकिने बताएका हुन्।

अमेरिका-इजरायले गत फेब्रुअरी २८ मा संयुक्त हवाई हमला गरी इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीलगायत शीर्ष नेता तथा अधिकारीको हत्या गरेयता निरन्तर युद्ध जारी छ।

यसबिच इरानका सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी र इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) का प्रवक्ता तथा जनसम्पर्क अधिकारी अली मोहम्मद नैनी पनि मारिइसकेका छन्।

अमेरिका-इजरायलको आक्रमणबाट इरानमा अहिलेसम्म ३ हजारभन्दा बढी जनाको मृत्यु भइसकेको अमेरिकास्थित ह्युमन राइट्स एक्टिभिस्ट न्युज एजेन्सी (एचआरएएनए) ले जनाएको छ।