`

जेन–जी अगुवा मनिष खनालले दिए नवलपुर-२मा उम्मेदवारी

काठमाडौं । जेन–जी आन्दोलनका अग्रपङ्क्तिमा रहेका युवा नेता तथा अधिवक्ता मनिष खनालले फागुन २१को प्रतिनिधिसभा निर्वाचनका लागि नवलपुर-२बाट उम्मेदवारी दर्ता गराएका छन् ।

नेपाल जेन–जी फ्रन्टका संवाद समिति प्रमुखसमेत रहेका खनाल अब प्रत्यक्ष संसदीय राजनीतिमा औपचारिक रूपमा प्रवेश गरेका हुन्।

नवलपुर क्षेत्र नं. २ का मतदाता खनाल जेन–जी आन्दोलनपछि नीति निर्माण र राजनीतिमा युवाको अर्थपूर्ण सहभागिता अपरिहार्य भइसकेको धारणा राख्दै आएका छन्। आन्दोलनका क्रममा राज्य दमन र गैरन्यायिक हत्याका घटनापछि अब सडकमा सीमित नहुने र जनताको म्यान्डेट लिएर सदनमा पुग्नुपर्ने निष्कर्षसहित आफू उम्मेदवार बनेको उनले बताए।

नेपाल ल क्याम्पसबाट कानूनमा स्नातक गरी हाल अधिवक्ताका रूपमा कार्यरत खनालले विघटित प्रतिनिधिसभाका सांसदको स्वकीय सचिवका रूपमा काम गर्दै प्रत्यक्ष संसदीय अभ्यासको अनुभवसमेत हासिल गरेका छन्। जेन–जी आन्दोलनका क्रममा उनले आन्दोलनको दस्तावेजीकरण, मस्यौदा तथा वार्तामा सक्रिय भूमिका निर्वाह गरेका थिए।

जेन–जी फ्रन्टका नेताहरूका अनुसार आन्दोलनको स्पष्ट म्यान्डेट, कानूनी ज्ञान र सडकदेखि संसदसम्मको अनुभव भएका कारण खनाल जेन–जी विद्रोहको अर्थपूर्ण प्रतिनिधित्व गर्न सक्ने उम्मेदवारका रूपमा अघि आएका हुन्। उनले आफ्नो उम्मेदवारी यो चुनाव व्यक्तिगत आकांक्षा नभई आन्दोलनका शहीद, घाइते र सम्पूर्ण जेन–जी युवाप्रति जिम्मेवारी बोधको परिणाम भएको बताएका छन्। मनिष खनालको उम्मेदवारीलाई जेन–जी आन्दोलनको राजनीतिक यात्रामा महत्वपूर्ण मोडका रूपमा हेरिएको

काठमाडौँका १० निर्वाचन क्षेत्रमा को कहाँबाट लड्दैछन् चुनाव ? (भिडियाेसहित)

काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रमुख राजनीतिक दलहरूले काठमाडौंका दशवटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएका छन्।

निर्वाचन आयोगले तोकेको समय आज बेलुकी ५ बजेसम्ममा दलहरूले उम्मेदवारी दर्ता गराएका हुन् । केही स्वतन्त्र उम्मेदवारले पनि उम्मेदवारी दिएका छन् । 

काठमाडौँ क्षेत्र नम्बर १ मा प्रमुख दलहरूले चर्चित र अनुभवी उम्मेदवार अघि सारेका छन् । नेकपा एमालेबाट मोहनराज रेग्मीले उम्मेदवारी दर्ता गराएका छन् भने नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले मेनुका भण्डारीलाई उम्मेदवार बनाएकाे छ । नेपाली कांग्रेसले यसपटक प्रवल थापालाई उम्मेदवार बनाएको छ। यसअघि यही क्षेत्रबाट कांग्रेसका तर्फबाट प्रकाशमान सिंह चुनाव लड्दै आएका थिए। तर पार्टीभित्रको आन्तरिक विवादका कारण यसपटक सिंह चुनावी प्रतिस्पर्धाबाट बाहिरिएका छन्। उनले पटकपटक यस क्षेत्रबाट निर्वाचन जितेका थिए । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यहाँ रन्जु दर्शनालाई उम्मेदवार बनाएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले रवीन्द्र मिश्रलाई मैदानमा उतारेको छ। मिश्र २०७९ काे निर्वाचनमा सिंहसँग निकै कम मतान्तरले पराजित भए ।

काठमाडौं–२ मा पनि राप्रपाले महामन्त्री कुन्ती पोखरेललाई उम्मेदवार बनाएको छ। नेकपाबाट नितेश पौडेल उम्मेदवारी दिएका छन् । रास्वपाले सुनिल केसीलाई उम्मेदवार बनाएको छ। अघिल्लो निर्वाचनमा यही क्षेत्रबाट रास्वपाकी सोबिता गौतम विजयी भएकी थिइन्। यसपटक गौतम चितवन झरेपछि केसी नयाँ उम्मेदवारका रूपमा आएका हुन्।

नेपाली कांग्रेसले कविर शर्मालाई उम्मेदवार बनाएको छ भने नेकपा एमालेका मणिराम फुयालले मनोनयन दर्ता गराएका छन्। फुयालले कागेश्वरी मनोहरा नगरपालिकामा समर्थकहरूको उपस्थितिमा उम्मेदवारी दर्ता गराएका हुन्। 

यही क्षेत्रबाट नेकपा संयुक्त, नेपाल मजदुर किसान पार्टी र स्वतन्त्र उम्मेदवारहरूले पनि उम्मेदवारी दर्ता गराइसकेका छन्।

काठमाडौं–३ बाट उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले उम्मेदवारी दर्ता गराएका छन्। नेकपा एमालेले रामेश्वर फुयाललाई उम्मेदवार बनाएकाे छ । 

रास्वपाले काठमाडौं महानगरका प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई उम्मेदवार बनाएको छ भने नेपाली कम्युनिस्ट पार्टीबाट निरज लामा उम्मेदवार बनाएकाे छ । नेपाली कांग्रेसले यस क्षेत्रमा रमेश अर्याललाई अघि सारेको छ। उनीहरुले उम्मेदवारी दर्ता गराइसकेका छन् । यहाँबाट गत निर्वाचनमा कांग्रेसका सन्ताेष चालिसे निर्वाचित भएका थिए ।

काठमाडौं–४ मा नेपाली कांग्रेसले सचिन तिमिल्सिनालाई प्रतिनिधिसभा उम्मेदवार बनाएकाे छ । उनले उम्मेदवारी दर्ता गराएका छन् । रास्वपाबाट पुकार बम चुनावी मैदानमा उत्रिएका छन्। यसअघि बम काठमाडौँ–१ बाट चुनाव लड्दै आएका थिए। 

नेकपाले इन्द्र भुसाललाई उम्मेदवार बनाएको छ भने नेकपा एमालेले राजन भट्टराईलाई टिकट दिएको छ। भट्टराई यसअघि यही क्षेत्रबाट तीनपटक पराजित भइसकेका नेता हुन्। यहाँबाट कांग्रेस सभापति गगन थापा २०७० यता लगातार निर्वाचित भए । उनी यसपटक सर्लाही-४ गएका छन् ।

काठमाडौं–५ मा नेपाली कांग्रेसले महामन्त्री प्रदीप पौडेललाई उम्मेदवार बनाएको छ। पौडेलले यसअघि यही क्षेत्रबाट निर्वाचन जितेका थिए। 

नेकपा एमालेले पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेललाई उम्मेदवार बनाएको छ। पोखरेल २०७९ को निर्वाचनमा पौडेलसँग पराजित भएका थिए। नेकपाबाट कल्पना शर्मा उम्मेदवार बनेकी छन् भने रास्वपाबाट सस्मित पोखरेल मैदानमा छन्। गतिशिल लोकतान्त्रिक पार्टीबाट निशा अधिकारीले पनि उम्मेदवारी दर्ता गराएका छन्। उनी अभिनेत्रीसमेत हुन् ।

काठमाडौं–६ मा नेपाली कांग्रेसले पार्टी सभापति समेत रहेका सबुज बानियाँलाई उम्मेदवार बनाएको छ। यसअघि पनि आकांक्षी रहेका बानियाँ यसपटक टिकट पाउन सफल भएका हुन्।  रास्वपाबाट शिशिर खनाल उम्मेदवार बनेका छन्। खनाल २०७९ को निर्वाचनमा यही क्षेत्रबाट विजयी भएका थिए। नेकपा एमालेबाट अमनकुमार मास्के उम्मेदवार छन् भने नेकपाले हिमाल क्षेत्रीलाई अघि सारेको छ।

काठमाडौं–७ मा नेपाली कांग्रेसले प्रमोदहरी गुरागाईंलाई उम्मेदवार बनाएको छ। रास्वपाबाट गणेश पराजुली चुनाव लड्दैछन्। पराजुलीले अघिल्लो निर्वाचनमा यही क्षेत्रबाट विजय हासिल गरेका थिए। नेकपाले बसन्त मानन्धरलाई टिकट दिएको छ।

काठमाडौं–८ मा नेपाली कांग्रेसले सपनाराज भण्डारीलाई उम्मेदवार बनाएको छ। उनी पूर्वमन्त्री स्वर्गीय नवीन्दराज जाेशीकी श्रीमती हुन् । उनी अघिल्लाेपटक समानुपातिक सा‌सद थिइन् । नेकपा एमालेबाट राजेश शाक्य, नेकपाबाट सुमन सायमी र रास्वपाबाट विराजभक्त श्रेष्ठ उम्मेदवार बनेका छन्। श्रेष्ठले अघिल्लो निर्वाचनमा पनि यही क्षेत्रबाट जितेका थिए।

काठमाडौं–९ मा नेपाली कांग्रेसले नानु बास्तोलालाई उम्मेदवार बनाएको छ। नेकपाबाट राधाकृष्ण महर्जन उम्मेदवार छन्। रास्वपाले पार्टी उपसभापति डि.पी. अर्याललाई चुनावी मैदानमा उतारेको छ भने नेकपा एमालेबाट अजयक्रान्ति श्रेष्ठ उम्मेदवार बनेका छन्।

काठमाडौं–१० मा नेपाली कांग्रेसले हिमाल कार्कीलाई उम्मेदवार बनाएको छ। नेकपा एमालेबाट मजदुर संघका अध्यक्ष विनोद श्रेष्ठ उम्मेदवार छन्। नेकपाले रुपा महर्जनलाई अघि सारेको छ भने रास्वपाबाट प्रदीप विष्ट उम्मेदवार बनेका छन्।

उम्मेदवारी दर्तासँगै काठमाडौँमा चुनावी माहोल तातिएको छ। आगामी दिनमा चुनावी प्रचार–प्रसार थप तीव्र हुने अपेक्षा गरिएको छ।

 

  

संशय चिर्दै निर्वाचनमा होमियो देश

काठमाडौं। अनेक आशंका र संशय  चिर्दै नेपाल प्रतिनिधिसभा निर्वाचनमा होमिएको छ । आज देशैभर दलहरूले उत्साहका साथ प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गराएपछि चुनाव हुने/नहुने सबै संशय चिरिएका छन् ।

खासमा चुनाव हुनुपर्ने थियो- २०८४ सालमा । तर, भदौ २३ र २४ को जेन-जी विद्रोहपछि सिर्जना भएको सरकारविहीनताको स्थिति चिर्न आन्दोलनकारीको मागअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले अन्तरिम सरकार गठन गर्दै फागुन २१ मा चुनाव गर्ने म्यान्डेट दिएका थिए । संक्रमणकाललाई पार लगाउने जहाजको क्याप्टेनको जिम्मा पाएकी थिइन्, पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले ।

नेपालमा जेन-जी विद्रोह हुनुअघि दुई दक्षिण एसियाली मुलुकले यस्तै विद्रोह झेलेका थिए । सन् २०२२ मा श्रीलंकामा युवापुस्ता विद्रोहका लागि सडकमा उत्रिएपछि तत्कालीन राष्ट्रपति माहिन्दा राजापाक्षेसहित धेरै नेताहरू देश छोडेर भाग्नुपरेको थियो । तर, श्रीलंकाले लोकतान्त्रिक व्यवस्था र संविधान जोगाउँदै अन्तरिम सरकार गठन गर्‍यो र समयमा निर्वाचन गरी फेरि स्थिरताको बाटोमा फर्कियो ।

श्रीलंका हेर्दा आशा गर्ने ठाउँ त थियो तर श्रीलंकाभन्दा नजिक रहेको बंगलादेशको स्थितिले सन्त्रस्त बनाइरहेको थियो । सन् २०२४ को जुलाईमा उत्कर्षमा पुगेको यो विद्रोहपछि तत्कालीन प्रधानमन्त्री शेख हसिना देश छोडेर भाग्न बाध्य भइन् । तीन दशकको बेगम हसिना राजको अन्त्य हुँदा बंगलादेश अनिश्चितताको भूमरीमा पर्‍याे ।

बंगलादेशको दुखान्तमा भूराजनीति छताछुल्लै भयो । भारत र चीन दुवैसँग सन्तुलित सम्बन्ध बनाउन सफल हसिनाले विद्रोह गराएको आरोप अमेरिकालाई लगाइन् र शरण भारतमा लिइन् । यता बंगलादेशमा संविधानसभाको चुनाव गराउने जिम्मा पाए अमेरिकीकै विश्वासपात्र मोहम्मद युनुसले पाए ।

बंगलादेश अहिलेसम्म अशान्त छ, न त संविधानसभाको चुनाव भयो न शान्ति र अमनचयन स्थापित भयो । भूराजनीतिक खिचातानी उस्तै छ ।

भदौरे विद्रोहपछि कतै नेपाल पनि यस्तै चक्रव्यूहमा पो फस्ने हो कि ? आशंका पैदा भएको थियो ।

समयमै चुनाव गराउन सकिएला कि नकिएला भन्नेमा अनेक कोणबाट प्रश्न उठिरहेका थिए । यो सरकारले नै पो चुनाव नगराउने हो कि भन्ने आशंका थियो । भन्न त चुनाव नगराएर अस्थिरता ल्याउने अनि यही अस्थिरता देखाएर राजा फर्काउने षडयन्त्र हो भन्नेहरू नभएका होइनन् ।

सरकार आफैंचाहिँ त्यो अराजकतालाई ठेगान लगाएर विद्रोही जेन-जी र पुराना दलको समेत चित्त बुझाएर चुनाव गराउन सकिन्छ कि सकिँदैन भन्ने थियो । दलहरूबाट स्वाभाविक अविश्वास थियो, यता आन्दोलन थिग्रिँदै जाँदा जेन-जीका नयाँ नयाँ समूह बन्दै अनेक माग राखेर सिंहदरबार छिर्न थालेपछि प्रधानमन्त्री कार्की हैरान भएकी थिइन् । उनले एकदिन त सार्वजनिक कार्यक्रममै आंशु खसाइन् ।

सरकारलाई चुनौति थियो कि दलहरूलाई विश्वासमा लिएर चुनावमा लैजानुपर्ने । जेन-जीको माग थियो, पूर्वप्रधानमन्त्री र दलका प्रमुखहरूलाई पक्रिनुपर्ने र थुन्नुपर्ने । यस्ता विरोधाभासी मागबीच सामञ्जस्य मिलाएर चुनावको वातावरण बनाउन सरकारलाई पनि सहज थिएन ।

आँधिबेहरी र विध्वंसको माझ बनेको सरकारलाई दलहरूले विश्वास गर्ने अवस्था पनि थिएन । अझ प्रधानमन्त्री र गृहमन्त्रीका कटु वचनले दलहरूलाई चिढ्याइरहेको थियो । सुरूवाती दिनहरूमा सरकार र दलहरूबीच दूरी बढ्दै जानेजस्तो देखिन्थ्यो ।

चुनावी सुरक्षा अर्को पाटो थियो । जेलबाट भागेका कैदीबन्दी समातिएका थिएनन् । लुटिएका सुरक्षाकर्मीका हतियार बाहिरै थिए । सुरक्षाकर्मीको मनोबल खस्किएको थियो ।

यसबाहेक सडकमा अनेक समूहहरू थिए, जो चुनावको वातावरण बिथोलेर धमिलो पानीमा माछा मार्न लालयित थिए । यसमा ०६२-६३ को जनआन्दोनलको उपलब्धिलाई अस्वीकार गर्ने समूहदेखि अनेक उद्दण्ड समूहहरू पनि थिए ।

तर, यी सबै चुनौतिका बावजुद सरकारले संयमता अपनायो, दलहरूले लचकता देखाए । निर्वाचन आयोग र सुरक्षा संयन्त्रले प्रतिबद्धता देखाए । यी सबै संशयलाई चिर्दै नेपाल चुनावमा होमिएको छ ।

आज दलहरूले देशव्यापीरूपमा उत्साहका साथ गराएको उम्मेदवारी दर्ता र यसले जनतामा ल्याएको उत्साहले नेपाल चुनावमा होमिइसक्यो भन्ने सन्देश दिएको छ ।

अब, सरकारले बाँकी व्यवस्थापकीय तयारीसँगै सुरक्षामा सबैभन्दा विशेष ध्यान दिन जरूरी छ । लुटिएका हतियार अझै सबै फिर्ता भएका छैनन् । भागेका कैदीहरू जेल फर्किसकेका छैनन् ।  सरकारले यसमा गर्नुपर्ने जति काम गर्न सकेकै छैन । सरकारले यसलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने छ ।

निर्वाचन बिथोल्न चाहने समुहहरू पनि छन्, त्यसमा सरकार र दल दुवै सतर्क हुनैपर्छ ।

दलहरूले चुनावी प्रचारमा संयमता अपनाउन उत्तिकै जरूरी छ । आज दमक र मन्थलीमा भएका जस्ता स-साना घटना पनि नदोहोरिउन् भन्नेमा दल र कार्यकर्ता संयमित हुन आवश्यक छ ।

गनेरै नभ्याइने मुद्दा र अत्याचारको गुन तिर्दै जानेछु : रवि लामिछाने

काठमाडौं । देशभर प्रतिनिधिसभा उपनिर्वाचनको चहलपहल बढिरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भने अदालत धाइरहनु परेको भन्दै भावुक अभिव्यक्ति दिएका छन् । उम्मेदवारी मनोनयनको उत्साहमा आफू पूर्ण रूपमा मिसिन नसकेको उनले बताएका छन् ।

लामिछानेविरुद्ध सहकारी ठगी र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा पर्सा, काठमाडौं र रूपन्देही जिल्ला अदालतमा एकैसाथ सुनुवाइ भइरहेको छ । यही कारणले उनले चितवन–२ बाट आफैं उपस्थित हुन नसकी वारेसमार्फत उम्मेदवारी दर्ता गराएका हुन् । पर्सा जिल्ला अदालतले भने उनलाई एक करोड रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ भने बाँकी दुई जिल्लामा सुनुवाइ प्रक्रिया जारी छ ।

अदालतबाट बाहिरिँदै लामिछानेले निर्वाचनको माहोलबारे प्रतिक्रिया दिँदै भने, ‘देश निर्वाचनमय छ, मनोनयन दर्ताको रौनक छ । तर आजै तीन वटा अदालतमा मेरो मुद्दाको सुनुवाइ चलिरहेकाले म त्यो उत्साहमा मिसिन सकिरहेको छैन ।’ चितवन–२ मा शुभेच्छुकहरू बाटो कुरिरहेको उल्लेख गर्दै उनले सम्भव भएसम्म आफैं पुग्ने प्रयास गरे पनि नसक्दा वारेसमार्फत उम्मेदवारी दिएको स्पष्ट पारे ।

लामिछाने यसअघि पनि चितवन–२ बाट निर्वाचित भइसकेका नेता हुन् । नागरिकता विवादका कारण पद गुमेपछि भएको उपनिर्वाचनमा उनले पुनः जित हासिल गरेका थिए । तर सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाका कारण दोस्रो पटक पनि सांसद पद गुमाउनु परेको थियो । पछिल्लो उपनिर्वाचनमा पुनः चितवन–२ बाट मैदानमा उत्रिँदै उनले आफूविरुद्ध योजनाबद्ध रूपमा मुद्दा लगाइएको आरोप लगाएका छन् ।

आक्रोशपूर्ण अभिव्यक्तिमा उनले भने, ‘सहकारीको बाटै नहिँडेको मान्छेलाई गनेरै नभ्याइने मुद्दा लगाइयो । यो अत्याचार हो ।’ आफूविरुद्ध भएको व्यवहारलाई ‘पाप र अन्याय’ को संज्ञा दिँदै उनले यसको हिसाब नेपाली जनताले निर्वाचनमार्फत दिने दाबी गरे । ‘फागुन २१ मा जनता घण्टी बजाएर जवाफ दिनेछन्’, उनको भनाइ थियो ।

लामिछानेले आफूलाई चारैतिरबाट घेराबन्दी गरिएको महसुस भएको पनि बताए । ‘देशका सम्पूर्ण अपराधीहरू एक ठाउँमा जम्मा भएर ममाथि गरिएको अत्याचारका कारण तिमीहरू रसातलमा पुग्दै गरेको दृश्य इतिहासले देख्दैछ र लेख्दैछ’, भन्दै उनले प्रतिशोधको राजनीति नगर्ने तर न्यायिक र राजनीतिक रूपमा जवाफ दिने चेतावनी दिए । तीन जिल्लामा एकैसाथ चलिरहेका मुद्दा, अदालत धाइरहनुपर्ने बाध्यता र त्यसबीचमा उपनिर्वाचनको तयारी—यी सबैले रवि लामिछानेको यो चुनावी यात्रा असामान्य बनेको छ । अब चितवन–२ का मतदाताले उनको राजनीतिक भविष्यबारे कस्तो निर्णय गर्छन् भन्ने चासो बढ्दै गएको छ ।

 

उम्मेदवारी दर्ता उत्साहजनक : साँझसम्म २७५ सिटका लागि २,३३५ जना मैदानमा

काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँका १० वटै क्षेत्रसहित मुलुकभरका निर्वाचन क्षेत्रमा उत्साहजनक र शान्तिपूर्ण रूपमा उम्मेदवारीको मनोनयनपत्र दर्ता भएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने प्रणाली (प्रत्यक्ष) तर्फको उम्मेदवारीको मनोनयनपत्र दर्ता गर्न निर्वाचन आयोगले मंगलबार बिहान १० देखि साँझ ५ बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा समय निर्धारण गरेको थियो ।

निर्वाचन आयोगका अनुसार २७५ स्थानका लागि राजनीतिक दल र स्वतन्त्रबाट गरी साँझ ५ बजेसम्मको विवरणमा दुई हजार ३३५ उम्मेदवारले मनोनयनपत्र दर्ता गराएका छन् । निर्वाचन अधिकृतको कार्यालय परिसरमा प्रवेश गरिसकेका उम्मेदवारले ५ बजेपछि पनि दर्ता गराउन सक्नेछन् । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले मनोनयनपत्रको समग्र अवस्थाबारे आयोगले आज ५ः३० बजे पत्रकार सम्मेलन गरी जानकारी दिने बताए । काठमाडौंका मुख्य निर्वाचन अधिकृत चुरामन खड्काका अनुसार १० वटै निर्वाचन क्षेत्रमा उत्साहपूर्ण र शान्तिपूर्ण रूपमा मनोनयनपत्र दर्ता भएको छ । उनले राजनीतिक दलका साथै स्वतन्त्रका तर्फबाट पनि उत्तिकै उम्मेदवारी परेको जानकारी दिए ।

थलीस्थित काठमाडौँ निर्वाचन क्षेत्र नं २ का निर्वाचन अधिकृत शान्ति न्यौपानेले व्यवस्थित रूपमा उम्मेदवारी मनोनयन दर्ता भएको जानकारी दिँदै दर्ता गर्न आउँदा अधिकृतको कार्यालयभित्र प्रवेशका लागि उम्मेदवारका साथ बढीमा पाँच जनालाई मात्र भित्र प्रवेश दिइएकाले सुरक्षा व्यवस्था पनि सहज भएको बताइन् । गोकर्णस्थित काठमाडौँ निर्वाचन क्षेत्र नं ३ का निर्वाचन अधिकृत चमिला भट्टराईले उम्मेदवारी दर्ताका लागि एक हजार ५०० ले फारम लगे पनि ४ः३० बजेसम्म १५ जनाको उम्मेदवारी दर्ता भएको जानकारी दिइन् ।

काठमाडौं–५ मा अभिनेत्री निशा अधिकारीको उम्मेदवारी, ‘हाइ–प्रोफाइल’ सँग हुँदै प्रतिष्पर्धा

काठमाडौं । नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री निशा अधिकारीले प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दर्ता गराएकी छिन् । गतिशील लोकतान्त्रिक पार्टीको तर्फबाट उनले मंगलबार निर्वाचन अधिकृतको कार्यालय पुगेर औपचारिक रूपमा मनोनयन दर्ता गराएकी हुन् ।

मनोनयन दर्तापछि प्रतिक्रिया दिँदै अधिकारीले आगामी एक दशक देश सेवा र सक्रिय राजनीतिमा समर्पित रहने प्रतिबद्धता व्यक्त गरिन् । कला क्षेत्रबाट राजनीतिमा प्रवेश गरे पनि आफ्नो शैक्षिक पृष्ठभूमि र सामाजिक चासोले यस यात्रालाई अर्थपूर्ण बनाउने उनको भनाइ थियो ।

बुद्ध एयरका सञ्चालक वीरेन्द्रबहादुर बस्नेत र समाजशास्त्री दिनेश प्रसाईंलगायतको पहलमा स्थापना भएको गतिशील लोकतान्त्रिक पार्टीमा अधिकारी केन्द्रीय सदस्य तथा महिला विभाग प्रमुखको जिम्मेवारीमा छिन् । धेरैका लागि उनको उम्मेदवारी अप्रत्याशित देखिए पनि उनी राजनीति शास्त्रमा स्नातकोत्तर (एमए) पूरा गरिसकेकी छिन् भने ‘कन्फ्लिक्ट, पीस एन्ड डेभलपमेन्ट’ विषयमा एमफिल शोधरत छिन् ।

काठमाडौं–५ मा यसअघि नै प्रमुख दलका प्रभावशाली नेताहरू चुनावी मैदानमा उत्रिसकेका छन् । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल, नेकपा एमालेका वरिष्ठ नेता ईश्वर पोखरेल तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका कमल थापा यही क्षेत्रका उम्मेदवार हुन् । अधिकारीको उम्मेदवारीसँगै यो क्षेत्रको प्रतिष्पर्धा थप ‘हाइ–प्रोफाइल’ र रोचक बनेको राजनीतिक विश्लेषकहरूको टिप्पणी छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका १६५ निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता भइरहेको छ ।

निर्वाचन आयोगले भीडभाड व्यवस्थापन र प्रक्रिया सहज बनाउन समय तालिका नै तोकेर मनोनयन दर्ता गराइरहेको जनाएको छ । कुल २७५ सदस्यीय प्रतिनिधिसभामध्ये १६५ जना प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत र ११० जना समानुपातिक प्रणालीमार्फत चयन हुने व्यवस्था छ । यस्तै परिवेशमा कलाकारिताबाट परिचित अनुहार निशा अधिकारीको राजनीतिक प्रवेश र उम्मेदवारीले काठमाडौं–५ को चुनावलाई विशेष चासोको केन्द्र बनाएको छ ।

 

काठमाडौं-५मा प्रदीप पौडेल र ईश्वर पोखरेललाई चुनौति पेश गर्दै रास्वपाका पोखरेल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रतिनिधिसभा काठमाडौं निर्वाचन क्षेत्र नं. ५ का उम्मेदवार सस्मित पोखरेलले औपचारिक रूपमा मनोनयन दर्ता गरेका छन्।

पार्टी कार्यकर्ता, समर्थक तथा स्थानीय नागरिकहरूको उल्लेखनीय सहभागितामा सम्पन्न मनोनयन दर्ता कार्यक्रममा पोखरेलले समावेशी विकास, सुशासन र उत्तरदायी राज्य व्यवस्थाप्रति आफ्नो स्पष्ट राजनीतिक दृष्टिकोण प्रस्तुत गरे।

काठमाडौं-५ मा नै जन्मिएर विद्यालय तहको शिक्षा पूरा गरेका पोखरेल स्थानीय समुदायसँग गहिरो रूपमा जोडिएका युवा नेता हुन्। उनले काठमाडौं विश्वविद्यालयबाट कानुनमा स्नातक पूरा गरेका छन् भने हाल त्रिभुवन विश्वविद्यालयमा सार्वजनिक नीति, सुशासन तथा भ्रष्टाचार नियन्त्रण विषयमा स्नातकोत्तर अध्ययन गरिरहेका छन्। कानुन र नीतिगत ज्ञानसँगै व्यवहारिक अनुभवसमेत हासिल गरेका पोखरेल समकालीन शासकीय व्यवस्थाका चुनौतीहरू बुझ्ने र समाधान खोज्ने उद्देश्यसहित राजनीतिमा होमिएका हुन्।

मनोनयन दर्ता कार्यक्रममा पोखरेलले जवाफदेही राजनीति, नागरिकको आवाजलाई नीतिगत तहमा पुर्‍याउने अभ्यास र प्रणालीगत सुधार आफ्नो राजनीतिक एजेन्डाको केन्द्रमा रहेको स्पष्ट पारे। परम्परागत राजनीतिक अभ्यासबाट आजित जनताका लागि अब नयाँ सोच, स्पष्ट नीति र इमानदार नेतृत्व अपरिहार्य भएको उनको भनाइ थियो।

काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर बालेन शाहसँग नजिक रहेर काम गरेका पोखरेल महानगरको शहरी योजना आयोगमा सहायक विज्ञका रूपमा कार्यरत रहँदा शिक्षा क्षेत्रको सुधार, व्यवस्थित शहरी योजना निर्माण र नागरिकका समस्या समाधानमा सक्रिय भूमिका निर्वाह गरेका थिए।

२०७९ सालको प्रदेशसभा निर्वाचनमा समेत उम्मेदवार भएका पोखरेलले यसपटक काठमाडौं ५मा नेकपा एमालेका पूर्वउपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेल र नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री प्रदीप पौडेललाई चुनौति दिनेछन् ।

नयाँ पुस्ताको प्रतिनिधित्व, सुशासन र प्रणालीगत सुधारको प्रतिबद्धतासहित उनले काठमाडौं–५ मा आशा र विश्वासको वैकल्पिक नेतृत्व प्रस्तुत गरेका छन्।

 

खल्तीका सहसंस्थापक अरविन्द साहले गराए बारामा उम्मेदवारी दर्ता

काठमाडौं । डिजिटल वालेट कम्पनी खल्तीका सहसंस्थापक अरविन्द साहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट बारा निर्वाचन क्षेत्र-३ का उम्मेदवारी दर्ता गरेका छन् ।

पार्टी कार्यकर्ता, समर्थक तथा स्थानीय नागरिकहरूको उल्लेखनीय सहभागितामा उनले  मनोनयन दर्ता  गराएका हुन्। उम्मेद्वारी दर्तापछि साहले परिणाममुखी राजनीति, ग्रामीण विकास र डिजिटल रूपान्तरणप्रति आफ्नो स्पष्ट प्रतिबद्धता व्यक्त गरे।

उनले आफू गाउँको सरकारी विद्यालयमा पढेर हुर्किएको र किसान परिवारको पृष्ठभूमिबाट आएको उल्लेख गर्दै ग्रामीण क्षेत्रका नागरिकले भोग्दै आएको अवसरको अभाव र राज्यको कमजोर उपस्थितिलाई नजिकबाट अनुभूत गरेको बताए। यही अनुभवका आधारमा प्रविधिलाई रोजगारी, सेवा प्रवाह र आर्थिक विकाससँग जोड्ने एजेन्डा संसदमा उठाउने उनको भनाइ थियो।

साहले परम्परागत राजनीतिक अभ्यासबाट आजित जनताले अब वाचा होइन, नतिजा खोजिरहेको उल्लेख गर्दै रोजगारी सिर्जना, कृषि आधुनिकीकरण, शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रविधिको प्रभावकारी प्रयोग तथा सुशासन आफ्नो राजनीतिक एजेन्डाको केन्द्रमा रहेको स्पष्ट पारे।

मनोनयन दर्ता कार्यक्रममा बोल्ने वक्ताहरूले खल्तीका सह–संस्थापक अरविन्द साहजस्ता नतिजामुखी सोच, व्यवस्थापन क्षमता र आधुनिक दृष्टिकोण बोकेका उम्मेदवारको उपस्थितिले बारा–३ मा वैकल्पिक राजनीतिलाई मजबुत बनाउने विश्वास व्यक्त गरे।

नेकपाभित्र तीव्र असन्तुष्टि : दाङ र सिन्धुलीमा केन्द्रको निर्णयविरुद्ध बागी उम्मेदवारी

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) भित्र उम्मेदवार चयनलाई लिएर असन्तुष्टि चर्किदै जाँदा दाङ र सिन्धुलीमा केन्द्रीय नेतृत्वको निर्णयविरुद्ध बागी उम्मेदवारी दर्ता भएको छ । दुवै जिल्लामा स्थानीय तहका नेता तथा कार्यकर्ताले केन्द्रले गरेको टिकट वितरणप्रति आपत्ति जनाउँदै स्वतन्त्र तथा वैकल्पिक उम्मेदवार अघि सारेका हुन् ।

दाङ निर्वाचन क्षेत्र नम्बर १ मा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा नेता कुलप्रसाद केसीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । पार्टीले मेटमणि चौधरीलाई उम्मेदवार बनाएपछि असन्तुष्ट बनेका केसीले आफ्नै पार्टीविरुद्ध बागी कदम चालेका हुन् । केसीको उम्मेदवारीसँगै दाङ–१ मा नेकपाभित्र आन्तरिक विभाजन सतहमा आएको छ । स्थानीय राजनीतिक विश्लेषकका अनुसार प्रभावशाली नेताको बागी उम्मेदवारीले आधिकारिक उम्मेदवार चौधरीलाई चुनावी प्रतिष्पर्धामा चुनौती थपिने देखिन्छ ।

यसैगरी सिन्धुली निर्वाचन क्षेत्र नम्बर २ मा पनि नेकपाको केन्द्रीय निर्णयविरुद्ध जिल्ला पार्टी खुलेरै विद्रोहमा उत्रिएको छ । केन्द्रले लेखनाथ दाहाललाई टिकट दिएपछि जिल्ला पार्टीको निर्णयअनुसार वरिष्ठ पत्रकार तथा नेकपा नेता महेश्वर दाहालले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ताका क्रममा पार्टीका जिल्ला स्तरका नेताहरू हरिबोल गजुरेल, वसन्त माझी, पनीराज बम्जन र विनोद विकलगायतको उपस्थिति रहेको थियो ।

जिल्ला उम्मेदवार सिफारिस कार्यदलको निर्णयलाई बेवास्ता गर्दै केन्द्रबाट टिकट वितरण गरिएको भन्दै जिल्ला पार्टीले महेश्वर दाहाललाई आफ्नो आधिकारिक उम्मेदवारका रूपमा अघि सारेको हो । माओवादी जनयुद्धमा संलग्न रहेका दाहाल तत्कालीन क्रान्तिकारी पत्रकार संघका संस्थापक अध्यक्ष समेत हुन् । दाङ र सिन्धुली दुवै घटनाले नेकपाभित्र उम्मेदवार चयन प्रक्रिया र केन्द्र–जिल्ला समन्वयमाथि गम्भीर प्रश्न उठाएको छ । चुनाव नजिकिँदै गर्दा देखिएको यो असन्तुष्टिले पार्टीको समग्र चुनावी रणनीतिमा कस्तो प्रभाव पार्ने हो भन्ने चासो बढेको छ ।

गगनविरुद्धको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता विवादलाई लिएर शेरबहादुर देउवा पक्षले दायर गरेको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । योसँगै निर्वाचन आयोगकै निर्णय अनुसार तत्लका लागि गगन थापा नेतृत्वको कांग्रेसलाई बाटो खुलेको छ ।

तत्कालीन सभापति शेरबहादुर देउवा र कावा सभापति पूर्णबहादुर खड्काले दायर गरेको रिटउपर आज सुनिलकुमार पोखरेलको इजलासमा सुनुवाइ भएको थियो । अन्तरिम आदेश दिने / नदिने निर्णय गर्नुअघि पोखरेलको इजलासले दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । कांग्रेसको विशेष महाधिवेशनबाट थापाको नेतृत्वका नयाँ केन्द्रीय कार्यसमिति गठन भएको थियो । त्यसलाई निर्वाचन आयोगले मान्यता दिएको थियो । त्यसका विरुद्ध कांग्रेसका तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्का र सभापति शेबरहादुर देउवाले माघ ४ मा सर्वोच्च रिट दायर गरेका थिए ।

त्यसमा निर्वाचन आयोगसँगै कांग्रेस सभापति थापा र उपसभापति विश्वप्रकाश शर्मालाई विपक्षी बनाइएको छ । रिटमा निर्वाचन आयोगको निर्णय खारेज गर्न माग गरिएको छ । त्यस्तै, अहिले चलिरहेको प्रतिनिधि सभा सदस्यको उम्मेदवारी दर्ताको प्रक्रिया रोक्न अन्तरिम आदेश माग गरिएको थियो । निर्वाचन आयोगले विशेष महाधिवेशनलाई मान्यता दिँदै गगन थापा नेतृत्वको कार्य समिति अद्यावधिक गरिसकेको छ । सोही निर्णयबमोजिम गगनले पार्टीका १६५ क्षेत्रकै उम्मेदवार टुंग्याएका छन् ।

रवि लामिछानेले वारेसमार्फत दर्ता गरे उम्मेदवारी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले वारेसनमा मार्फत उम्मेदवारी दर्ता गराएका छन् । जिल्ला अदालत पर्सामा मुद्दाको कारण आफै उपस्थित हुन नसकेपछि पार्टीको भरतपुर महानगर संयोजक सीता ज्ञवालीमार्फत लामिछानेले चितवन २, बाट उम्मेदवारी दर्ता गराएका हुन् ।

संयोजक ज्ञवालीले आफूले वारेसनामा लिएर उम्मेदवारी दर्ता गराएको जानकारी दिइन् । लामिछानेका प्रस्तावक बिक्रम श्रेष्ठ र समर्थक रामजी ठकुरी रहेका छन् । सहकारी सम्बन्धी मुद्दाका लागि वीरगञ्ज पुगेका लामिछाने उपस्थित हुन नभ्याउने भएपछि वारेसमार्फत उम्मेदवारी दर्ता गराएको रास्वपा चितवनका सभापति कृष्णप्रसाद भुषालले जानकारी दिए । लामिछाने बीरगञ्जको काम सकेर चितवन फर्किने तयारी गरेको तर समय अभाव भएकोले वारेसबाट नै दर्ता गरिएको उनले बताए । लामिछानेले तेस्रो पटक चितवन क्षेत्र नं. २ बाट उम्मेदवार बनेका छन् ।

यसैबीच सहकारी ठगी लगायतका मुद्दामा रास्वपा सभापति लामिछानेलाई एक करोड धरौटी बुझाउन जिल्ला अदालत, पर्साले आदेश दिएको छ । मंगलबार जिल्ला अदालतका न्यायाधीश रुद्रप्रसाद सुवेदीको एक इजलासले एक करोड रुपैयाँ बराबरको धरौटी बुझाउन आदेश दिएको हो । उनी अहिले धरौटी बुझाउने प्रक्रियामा छन् । लामिछाने मंगलबार अदालतमा उपस्थित भएका थिए । आजै थुनछेकको बहस भएको थियो ।

रविको मुद्दा फिर्ताको निर्णयविरुद्धको रिटमा कारण देखाऊ आदेश जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेमाथि लगाइएको सम्पत्ति शुद्धीकरण तथा संगठित अपराधको अभियोग फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध दायर रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ ।

मंगलबार न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले उक्त रिट निवेदनमा कारण देखाऊ आदेश जारी गर्दै अन्तरिम आदेशका विषयमा छलफल गर्न दुबै पक्षलाई उपस्थित हुन आदेश दिएको हो । युवराज सफल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता आभास रेग्मीसहितले छुट्टाछुट्टै रिट दायर गरेका थिए । ती रिट आइतबार सर्वोच्च अदालतमा दर्ता भएका हुन् । महान्यायाधिवक्ता सबिता भण्डारीले पुस ३० गते रवि लामिछानेमाथि लगाइएको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता लिन स्वीकृति दिएकी थिइन् ।

त्यसपछि माघ २ गते जिबी राईसहित अन्य प्रतिवादीको पनि अभियोग संशोधन गर्न अनुमति दिइएको थियो । रिट निवेदकहरूले उक्त निर्णय गैरकानुनी रहेको दाबी गर्दै त्यसलाई बदर गर्न माग गरेका छन् । साथै, संगठित अपराध र सम्पत्ति शुद्धीकरणजस्ता गम्भीर अपराधलाई कमजोर बनाउने गरी महान्यायाधिवक्ताको कार्यालय तल्लीन देखिएको भन्दै त्यस्तो कार्य नगर्न परमादेश जारी गर्नुपर्ने माग पनि रिटमा उल्लेख छ ।

रुकुम पश्चिममा जनार्दन शर्माको उम्मेदवारी, पाचौँ जितको खोजिमा

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का नेता जनार्दन शर्माले रुकुम पश्चिमबाट उम्मेदवारी दर्ता गराएका छन् । यो उनको गृहजिल्ला पनि हो ।

उनले लगातार २०६४, २०७०, २०७४ र २०७९ मा माओवादीबाट निर्वाचन जिते । यसपटक भने तत्कालीन माओवादीबाट अलग भएर उनी प्रलोपाबाट निर्वाचनमा होमिएका हुन् ।उनी २०६३ को पुनर्स्थापित प्रतिनिधिसभामा माओवादीबाट मनोनीत सांसद थिए ।

अर्थ, गृह, ऊर्जा र शान्तिमन्त्री भइसकेका उनी प्रलोपाका निर्वाचन जित्न सक्ने नेता हुन् । प्रलोपाकै अर्का नेता डा. बाबुराम भट्टराईले पनि गोरखा– २ मा उम्मेदवारी दिए ।

उनी पनि २०६४, २०७० र २०७४ मा त्यहाँबाट निर्वाचित भएका थिए । २०७९ मा उनले पार्टी एकता गर्ने समझदारीमा तत्कालीन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई छाडे ।

तर, पार्टी एकता भएन । प्रचण्ड यसपटक रुकुमपूूर्व पुुगेका छन् । यसपछि भट्टराईले गोरखा–२ मा उम्मेदवारी दिएका हुन् ।

रुपन्देही–२ मा विष्णु पौडेलको उम्मेदवारी दर्ता

रुपन्देही । प्रतिनिधिसभा निर्वाचनका लागि रुपन्देही क्षेत्र नम्बर-२ मा नेकपा एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उम्मेदवारी दर्ता गरेका छन् । पौडेलले यो क्षेत्रबाट २०६४ सालदेखि लगातार निर्वाचन जित्दै आएका छन् ।
नेपाली कांग्रेसका चुन्नप्रसाद पौडलले पनि यसै क्षेत्रबाट उम्मेदवारी दर्ता गराइसकेका छन् । रास्वपाबाट सुलभ खरेलले उम्मेदवारी दर्ता गराएका छन् । नेकपाबाट विश्वदीप पाण्डेले उम्मेदवारी दर्ता गरेका छन् ।

 

निर्वाचनका लागि भारतले पहिलो चरणमा दियो ६१ वटा गाडी उपहार

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भारत सरकारले नेपाल सरकारलाई ६१ वटा गाडी उपहार दिएको छ । मंगलवार सिंहदरवारस्थित एक कार्यक्रमबीच भारतीय दूतावासले ६१ वटा क्याबिन पिक भ्यान सकारलाई हस्तान्तरण गरेको हो । गृह मन्त्रालयले अर्थ मन्त्रालयमार्फत निर्वाचन प्रयोजनका लागि वस्तुगत सहायताअन्तर्गत भारत सरकारसँग गाडी माग गरेको थियो ।

उक्त प्रस्तावअन्तर्गत भारतले नेपाल सरकारलाई उपहार स्वरुप पहिलो चरणमा ६१ वटा गाडी उपलब्ध गराएको हो । यस पटकको निर्वाचनको लागि भारत सरकारले सानाठूला गरी ५३८ वटा गाडी उपलब्ध गराउने बताइएको छ । गाडीहरु नेपाल सरकारको नाममा आएकाले निर्वाचन सकिएपछि सरकारले आफ्नो आवश्यकताअनुसार प्रयोग गर्न पाउने छ। भारत सरकारले निर्वाचन सम्पन्न गर्नको लागि नेपाल सरकारलाई सवारी लगायतका निर्वाचन उपकरण सहयोग गर्दै आइरहेको छ । सन् २००८ यता मात्र भारत सरकारले नेपाल सरकालाई २ हजार ४ सय बढी सवारी साधन हस्तान्तरण गरिसकेको छ ।

 

देश जलाउनेहरुबाट जोगाउनु छ : ओली

झापा । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा आगो लगाउनेहरुबाट देश जोगाउनु नै अहिलेको आवश्यकता भएको बताएका छन् । मंगलवार आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गरिसकेपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा ओलीले यस्तो प्रतिक्रिया दिएका हुन् ।

उनले अहिले देशमा आगो लगाउनेहरु जागिरहेको बताए । उनले देश जलाउनेहरुले भ्रम फैल्याइरहेको र नयाँ पुस्ता त्यसको शिकार भइरहेको बताए । आगो लगाउने, लोकतन्त्र खाने, संविधान मिच्नेहरुबाट कार्यालय जलाउनेहरुबाट, व्यक्तिका घर जलाउनेहरुबाट, सरकारी कार्यालय जलाउनेबाट, नगरपालिका चलाउनेबाट देश बचाउनुपर्ने अहिलेको आवश्यकता भएको बताए ।

उनले भने, ‘अहिले देशमा आगो लगाउनेहरु जागिराखेका छन्, अघि बढिराखेका छन् । यिनले भ्रम पारिरहेका छन् । नयाँ पिँढीमा अलिकति भ्रम छ । भीड देखियो भन्नुभयो । मैले त त्यस्तो देखेको छैन । केही मान्छे जम्मा भएका होलान् । अब यस्तो अवस्थामा आगो लगाउने, लोकतन्त्र खाने, संविधान मिच्नेहरुबाट कार्यालय जलाउनेहरुबाट, व्यक्तिका घर जलाउनेहरुबाट, सरकारी कार्यालय जलाउनेबाट, नगरपालिका चलाउनेबाट देश बचाउनु पर्नेछ । देश बचाउनका लागि अनुभवी र दृढ नेतृत्व चाहिन्छ ।’ अध्यक्ष ओलीले देश बचाउनका लागि अनुभवी र दृढ नेतृत्व आवश्यक रहेको बताए ।

एमालेका अध्यक्ष ओलीले रास्वपाका कार्यकर्ताहरुले झापामा असभ्यता देखाएको बताएका छन् । उनले रास्वपाका तर्फबाट असभ्य खालको क्रियाकलाप भएको बताए । रास्वपाका कार्यकर्ताले आफ्नो स्तर जाहेर गरेको उनको भनाइ छ । रास्वपाका कार्यकर्ताले बाटो छेक्ने काम गरेकाले केही भनाभन भए पनि झडप नभएको बताए । उनले भने, ‘रास्वपाका तर्फबाट केही अस्वस्थ, असभ्य खालको क्रियाकलाप भयो भन्ने मैले सुनें । तर त्यस्तो ठूलो केही होइन । उनीहरुले आफ्नो स्तर जाहेर गर्ने त्यति कामसम्म गरेका होलान् जस्तो लाग्छ । त्यस्तो ठूला झडप होइन । उनीहरुले बाटो छेक्ने, डिस्टर्ब गर्ने असभ्यता देखाए । स्वस्थ प्रतिष्पर्धा, शान्तिपूर्ण ढंगले गर्नुपर्छ । चुनाव शान्तिपूर्ण ढंगले हुनुपर्छ ।’ अध्यक्ष ओलीले स्वस्थ प्रतिष्पर्धा हुनुपर्ने र शान्तिपूर्ण ढंगले निर्वाचन सम्पन्न हुनुपर्ने बताए ।

जगदीश खरेलको ललितपुर–२ बाट उम्मेदवारी दर्ता

काठमाडौं । निवर्तमान सञ्चारमन्त्री जगदीश खरेलले आगामी निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् । उनले ललितपुर क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएका हुन् । ललितपुर–२ बाट जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारमा खरेल सञ्चारमन्त्री बनेका थिए । सञ्चारकर्मी समेत रहेका खरेल रास्वपाबाट टिकट लिएर चुनावमा होमिन लागेका हुन् ।

 

माधव नेपालले गराए रौतहट–१ बाट उम्मेदवारी दर्ता

रौतहट । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रतिष्पर्धा गर्न रौतहट निर्वाचन क्षेत्र नम्बर १ को निर्वाचन अधिकृतको कार्यालयमा आज उम्मेदवारी दर्ता गराएका छन् ।

नेता नेपालको उम्मेदवारीको प्रस्तावकमा पार्टी केन्द्रीय सदस्य रामनरेश मण्डल र समर्थकमा चण्डेश्वर राउत रहेका उनका स्वकीय सचिव लक्ष्मण रेग्मीले जानकारी दिए । यसअघिको निर्वाचनमा पनि पूर्व प्रधानमन्त्री नेपाल सोही निर्वाचन क्षेत्रबाट निर्वाचित भएका थिए ।

मनोनयन दर्तापछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै सहसंयोजक नेपालले भने, ‘नेपाली जनताले भोग्दै आइरहेको गरिबी, बेरोजगारीलगायतका समस्या अन्त्य गर्ने र त्यसका लागि आवश्यक सबै प्रबन्ध गर्ने, युवालाई रोजगारी र सीप उपलब्ध गराउने, देशको अर्थतन्त्रलाई चलायमान बनाउने सोचका साथ उम्मेदवारी दिएको हुँ ।’

शेखर कोइरालाले मोरङ– ६ मा गराए मनोनयन दर्ता

विराटनगर । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले मोरङ निर्वाचन क्षेत्र नम्बर ६ बाट मनोनयन दर्त गराएका छन् । आउँदो प्रतिनिधिसभा सदस्यका लागि आफ्नो उम्मेदवारी मनोनयन दर्ता गर्न विराटनगरस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराएका हुन् । उम्मेदवारी दर्ताका क्रममा कोइरालाको साथमा नेपाली कांग्रेसका नेता, कार्यकर्ता र समर्थकहरूको उल्लेख्य उपस्थिति रहेको थियो । यसअघि सोही क्षेत्रबाट नेकपा एमालेका तर्फबाट विनोद ढकालले मनोनयन दर्ता गराएका छन् ।

 

कांग्रेस महामन्त्री पौडेलको काठमाडौँ–५ बाट उम्मेदवारी दर्ता

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले काठमाडौँको क्षेत्र नम्बर–५ बाट उम्मेदवारी दर्ता गराएका छन् । पौडेल यसअघि सोही क्षेत्रबाट निर्वाचित भएका थिए । यो क्षेत्रमा यसअघिकै प्रतिद्वन्दी नेकपा (एमाले) का वरिष्ठ नेता ईश्वर पोखरेलसँग उनको प्रतिष्पर्धा हुनेछ ।

अछाम-१ मा रोचक भिडन्त, भीम रावल चौंथो पटक संसद छिर्ने दाउमा

अछाम । पश्चिम नेपालको पहाडी जिल्ला अछाम क्षेत्र नम्बर–१ मा यस पटकको प्रतिनिधिसभा निर्वाचन रोचक र प्रतिस्पर्धात्मक बन्ने देखिएको छ। कांग्रेस र एमाले राजनीतिक पुनरागमनको खोजीमा रहँदा पूर्व उपप्रधान तथा मन्त्री समेत रहिसकेका डा. भीम रावल भने चौथोपटक संसद प्रवेश गर्ने प्रयासमा छन्। अछाम–१ बाट चार पटक चुनाव लडेका रावल तीन पटक विजयी भइसकेका नेता हुन्। यही क्षेत्रबाट निर्वाचित हुँदै उनले गृह, रक्षा तथा परराष्ट्र मन्त्रीको जिम्मेवारीसमेत सम्हालेका थिए। नेकपा एमालेको सक्रिय राजनीतिमार्फत राष्ट्रिय स्तरमा प्रभाव जमाएका रावल यसपटक भने नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट उम्मेदवार बनेका छन्।

गत निर्वाचनमा पार्टीभित्रको आन्तरिक विवादका कारण एमालेबाट टिकट नपाएका रावल त्यसयता ‘मातृभूमि जागरण अभियान’ मार्फत सक्रिय रहँदै आएका थिए। केही समयअघि मात्रै उनी नेकपाको सक्रिय राजनीतिमा फर्किएका हुन्। सुदूरपश्चिमकै प्रभावशाली नेतामध्ये एक मानिने रावलको उम्मेदवारीले अछाम–१ को चुनावी समीकरण थप जटिल बनाएको छ।

उता, नेपाली कांग्रेसले अछामका पुराना नेता भरतकुमार स्वाँरलाई उम्मेदवार बनाएको छ। कांग्रेस अछामका पूर्व सभापति समेत रहिसकेका स्वार स्थानीय स्तरमा राम्रो संगठन र छवि भएका नेता मानिन्छन्। २०७४ को प्रतिनिधिसभा निर्वाचनमा उनी रावलसँग पराजित भएका थिए। २०४८ र २०५६ को आमनिर्वाचनमा अछाम–१ जितेको कांग्रेस त्यसयता लगातार कम्युनिष्ट उम्मेदवारसँग पराजित हुँदै आएको छ। करिब २५ वर्षपछि कांग्रेस यो क्षेत्रमा राजनीतिक पुनरागमनको प्रयासमा छ।

नेकपा एमालेले भने अछाम–१ मा दिपक साउद ‘तरंग’ लाई उम्मेदवार बनाउने निर्णय गरेको छ। यसअघि जिल्लाका इन्चार्ज झपट बोहरालाई उम्मेदवार बनाउने तयारी गरे पनि अन्तिम समयमा उम्मेदवार परिवर्तन गरिएको हो। साउद हालसम्म प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) मा सक्रिय थिए। एमालेबाट टिकट पाएसँगै उनी हालै एमालेमा प्रवेश गरेका हुन्। यसअघि २०७० को आमनिर्वाचनमा उनी नेकपा माओवादीबाट संविधानसभा निर्वाचनमा उम्मेदवार थिए। 

रामारोशन, चौरपाटी र मेल्लेख क्षेत्रमा साउदको प्रभाव राम्रो रहेको भन्दै एमालेले उनको उम्मेदवारीले चुनावी परिणाम बदलिन सक्ने आँकलन गरेको छ। २०४८ यता भएका सात संसदीय निर्वाचनमध्ये एमालेले चार निर्वाचन जितिसकेको छ। तर २०७९ को निर्वाचनमा एमाले उम्मेदवार झपट बोहरा तत्कालीन पाँच दलीय गठबन्धनका उम्मेदवार शेरबहादुर कुँवरसँग पराजित भएका थिए। कुँवर हाल नेकपामा आबद्ध छन्।

यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले युवा नेता ओमप्रकाश रावललाई उम्मेदवार बनाएको छ। रास्वपा अछामका सभापतिसमेत रहेका रावललाई पार्टीभित्र र युवामाझ स्वच्छ र जुझारु नेताका रूपमा हेरिन्छ। अछामका पुराना राजनीतिक हस्तीहरूसँग पहिलोपटक संसदीय निर्वाचनमा भिड्न लागेका रावल पनि संसद प्रवेशको रणनीतिमा छन्।

अछाम–१ को चुनावी इतिहास

प्रजातन्त्र पुनःस्थापनापछि २०४८ सालमा भएको आमनिर्वाचनमा अछाम–१ बाट कांग्रेसका बलबहादुर कुँवर विजयी भएका थिए। उनले एमालेका भिम कडायतलाई ४ हजार ४ सय ६३ मतान्तरले पराजित गरेका थिए। २०५१ को मध्यावधि निर्वाचनमा कांग्रेस विभाजित हुँदा एमालेका भिम बहादुर रावल पहिलोपटक संसद प्रवेश गर्न सफल भए। २०५६ मा भने कांग्रेसका गोविन्द बहादुर शाह विजयी बने।

२०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा एमालेका शेरबहादुर कुँवर विजयी भएयता अछाम–१ मा कम्युनिष्ट पार्टी समर्थित उम्मेदवारहरूले लगातार जित्दै आएका छन्। २०७० र २०७४ मा भिम रावल विजयी भए भने २०७९ मा पाँचदलीय गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका शेरबहादुर कुँवर निर्वाचित भए। रोचक संयोग के छ भने २०६४ यताका सबै निर्वाचन जितेका रावल र कुँवर अहिले एउटै राजनीतिक मोर्चामा छन्। यस्तो अवस्थामा अछाम–१ मा निरन्तरता कायम हुन्छ वा नयाँ शक्ति उदाउँछ भन्ने विषय चुनावी नतिजाले नै तय गर्नेछ।

रवि लामिछानेसँग पर्सा अदालतले माग्यो एक करोड धरौटी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग पर्सा अदालतले एक करोड धरौटी मागेको छ । न्यायाधीश रुद्र सुवेदीको एकल इजलासले मंगलबार लामिछानेसँग उक्त धरौटी मागेको अदालतका तहसिलदार देवराज भट्टराईले बताए ।

उनीविरुद्ध सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन अभियोगमा सहकारी ठगी मुद्दा छ । संगठित अपराधको अर्को मुद्दामा पनि उनी प्रतिवादी छन् । उनी आजै अदालतमा तारेखका लागि पुगेका थिए । त्यसपछि उनी उम्मेदवारी दर्ताका लागि चितवनमा गए ।

अपराह्नसम्म १,१९१ जनाले गराए उम्मेदवारी दर्ता

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मंगलबार अपराह्नसम्म एक हजार बढीले उम्मेदवारी दर्ता गराएका छन् । देशका सबै क्षेत्रमा उम्मेदवारी दर्ता गर्ने क्रम जारी छ । अपराह्न ३ बजेसम्म १६४ क्षेत्रमा एक हजार १९१ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जीसीले जानकारी दिएका छन् । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि बिहान १० बजेदेखि उम्मेदवारी दर्ता भइरहेको छ । आजै अपराह्न ५ देखि ७ः०० बजेसम्म उम्मेदवारको सूची प्रकाशन गरिने छ ।

भोलि बिहान १०ः०० बजेदेखि अपराह्न ३ः०० बजेसम्म उम्मेदवारको विरोधमा उजुरी गर्ने र माघ ८ गते साँझ ७ः०० बजे उम्मेदवारको नामावली प्रकाशन गरिने छ । माघ ९ गते बिहान १० देखि अपराह्न १ः०० बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्ने छन् । यही माघ ९ गते दिउँसो १ देखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी त्यसै दिन अपराह्न ४ः०० देखि साँझ ७ः०० बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम रहेको छ ।

 

एमाले महासचिव पोखरेलले गरे दाङ-२ बाट दर्ता गरे मनोनयन

दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका छन् । क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका महासचिव पोखरेलले झाँकी जुलुस र बाजागाजासहित घोराहीस्थित निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गराएका हुन् । उनको प्रस्तावकमा केन्द्रीय सल्लाहकार परिषद् सदस्य शम्भु गौतम र समर्थकमा लुम्बिनी प्रदेश कमिटी सचिव लक्ष्मण आचार्य छन् ।

मनोनयन दर्ता पश्चात् सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै पोखरेलले देश र जनताकालागि आफ्नो उम्मेदवारी भएको बताए । दाङसँगै समग्र मुलुकको समृद्धिमा सधैँ प्रतिबद्ध रहने उनको भनाई छ । कांग्रेसको जगजगीबीच २०५१ सालमा दाङ क्षेत्र नम्बर ३ बाट कांग्रेसका स्थापित नेता दीपक गिरीलाई पराजित गरेर संसद प्रवेश गरेका थिए ।

२०५६ सालको चुनावमा काँग्रेस नेता कृष्णकिशोर घिमिरेसँग पराजित पोखरेल २०६४ को संविधान सभा चुनावमा समानुपातिक सांसद बने । २०७० मा भएको दोस्रो संविधान सभा चुनाव भने उनी काँग्रेस नेता बुद्विराम भण्डारीसँग पराजित बने ।

२०७४ सालमा प्रदेश सांसदमा निर्वाचित भएका उनी लुम्बिनी प्रदेशको मुख्यमन्त्री समेत बनेका थिए । २०७९ सालमा कांग्रेस–माओवादी गठबन्धनसँग पराजित महासचिव पोखरेल यस पटक जसरी पनि जित निकाल्नु पर्ने दबाबमा छन् । उनीसँग दाङ–२ मा काँग्रेसका किरणकिशोर घिमिरे, नेकपाका निर्मल आचार्य र रास्वपाका विपिन आचार्य प्रतिष्पर्धामा छन् ।

महेश बस्नेतविरुद्ध भक्तपुर–२ बाट शोभा पाठकको उम्मेदवारी दर्ता

काठमाडौं । नेपाल जनसेवा पार्टीबाट भक्तपुर–२ मा शोभा पाठकले उम्मेदवारी दर्ता गराएकी छन् । आज निर्वाचन अधिकृतको कार्यालय पुगेर पाठकले आफ्नो मनोनयन दर्ता गरेकी हुन् । भक्तपुर–२ नेकपा एमालेका नेता महेश बस्नेतको निर्वाचन क्षेत्र हो । बस्नेतले यसअघि नै मनोनयन दर्ता गराइसकेका छन् ।

उक्त क्षेत्रबाट एमालेका बस्नेतसहित राष्ट्रिय स्वतन्त्र पार्टीका राजीव खत्री र नेपाली कम्युनिस्ट पार्टीका रामप्रसाद सापकोटा ‘दीपशिखा’ पनि प्रतिष्पर्धामा छन् । शोभाले महेश बस्नेतमाथि आफूमाथि बलात्कार गरेको आरोप लगाउँदै आएकी छन् । उनले महेशविरुद्ध प्रहरीदेखि अदालतसम्म मुद्दा हालेकी छन् ।

छुटे दुर्गा प्रसाई

काठमाडौं । पोखराबाट पक्राउ परेका दुर्गा प्रसाईलाई काठमाडौं प्रहरीले हाजिर जमानीमा रिहा गरेको छ । जिल्ला प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार उनको बयान लिइएको र हिरासत बाहिरै राख्न उपयुक्त हुने देखिएपछि आफन्तको जिम्मामा छोडिएको हो । विभिन्न विषयमा अफवाह फैलाएको आरोपमा उनी पक्राउ परेका थिए ।

कुलमान घिसिङको उम्मेदवारी काठमाडौं– ३ मा दर्ता

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौं– ३ मा उम्मेदवारी दर्ता गराएका छन् ।

निर्वाचन अधिकृतको कार्यालय गएर उनले मंगलबार दिउँसो उम्मेदवारी दर्ता गराएका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भाँडिएपछि उनी आफ्नै दलबाट उम्मेदवार बनेका हुन् । उनी नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक छँदा नेपालमा १८ घण्टा लामो लोडसेडिङ अन्त्य भएको थियो । त्यही भएर उनलाई लोडसेडिङ अन्त्यको जस जाने गरेको छ ।

उनी दुई कार्यकाल प्राधिकरणको कार्यकारी निर्देशक भए । दुवैपटक उनलाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले हटाए । पदमै रहँदा लोडसेडिङ अन्त्य गरेको भनेर उनी ‘सेलिब्रेटी’ कर्मचारी बने ।

पछिल्लोपटक उनलाई कार्यकारी निर्देशकबाट ओलीले हटाएपछि उनले उज्यालो नेपाल अभियान चलाएका थिए ।

उनै कुलमान सुशीला कार्की सरकारमा शक्तिशाली मन्त्री भए । ऊर्जा, भौतिक पूर्वाधार र सहरी विकास मन्त्री भएर साढे तीन महिना काम गरे ।

उनले हालै निर्वाचन लड्नेगरी पदबाट राजीनामा दिएका थिए ।

 

गोरखा–२ बाट बाबुराम भट्टराईले दर्ता गराए उम्मेदवारी

काठमाडौं । आउँदो फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि गोरखा–२ मा प्रजातान्त्रिक लोकतान्त्रिक पार्टी (प्रलोप) बाट पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले उम्मेदवारी दिएका छन् । निर्वाचन क्षेत्र नम्बर २ को निर्वाचन अधिकृत कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन् । उनको प्रस्तावकमा नारायण खत्री र समर्थकमा रिजन राना मगर छन् । चुनाव नलड्ने बताउँदै आएका उनले आइतबार मात्रै चुनावमा उठ्ने घोषणा गरेका हुन् ।

रवि लामिछानेसँग पर्सा अदालतले माग्यो एक करोड धरौटी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसँग पर्सा जिल्ला अदालतले एक करोड धरौटी मागेको छ । न्यायाधीश रुद्र सुवेदीको एकल इजलासले लामिछानेसँग सो बराबरको धरौटी माग गरेको हो । रविसँग धरौटी माग गरिएको अदालत स्रोतले पुष्टि गरेको छ । रवि अदालतमा हाजिर भएर चितवन २ मा मनोनयनमा जाने तयारीमा थिए ।

 

 

चक्रे मिलनले गराए एमालेबाट गोरखा–२ मा उम्मेदवारी दर्ता

गोरखा । आउँदो फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा गोरखा–२ बाट मिलन गुरुङ (चक्रे मिलन) ले उम्मेदवारी दर्ता गराएका छन् । नेकपा एमालेबाट उनले उम्मेदवारी दिएका हुन् । मंगलवार प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्वर २ को निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन् ।

उनको प्रस्तावकमा प्रेम गुरुङ छन् भने समर्थकमा बाबुराम थापा छन् । यहाँबाट प्रगतिशील लोकतान्त्रिक पार्टीबाट पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई पनि चुनाव लड्दै छन् । त्यस्तै नेपाली कांग्रेसबाट प्रकाशचन्द्र दवाडी र नेपाली कम्युनिष्ट पार्टीबाट लेखनाथ न्यौपाने उम्मेदवार छन् ।

 

ईश्वर पोखरेलले दिए उम्मेदवारी (तस्वीरहरू)

काठमाडौं । नेकपा एमालेका नेता ईश्वर पोखरेलले फागुन २१ गते हुने निर्वाचनका लागि काठमाडौँ–५ बाट उम्मेदवारी दर्ता गराएका छन् । अन्तिमतिर मात्रै चुनाव लड्ने निर्णयमा पुगेका पोखरेलले मंगलबार काठमाडौँ–५ को निर्वाचन कार्यालय पुगेर उम्मेदवारी दर्ता गरेका हुन् । उनी २०७९ को चुनावमा नेपाली कांग्रेसका नेता प्रदीप पौडेलसँग पराजित भएका थिए । यस्तै नेपाली कम्युनिष्ट पार्टीकी कल्पना शर्माले पनि उम्मेदवारी दिएकी छिन् ।

 

 

प्रचण्डको उम्मेदवारी रुकुम पूर्वमा दर्ता

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुम पूर्वमा उम्मेदवारी दर्ता गराएका छन् ।

दाहालले मंगलबार दिउँसो निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । गणतन्त्र नेपालका पहिलो प्रधानमन्त्री प्रचण्ड तीनपटक प्रधानमन्त्री भइसकेका छन् ।

२०६४, २०७० २०७४ र २०७९ मा निर्वाचन लडेका प्रचण्ड हरेकपटक निर्वाचित हुँदै आएका छन् । तर, उनी हरेकपटक निर्वाचन क्षेत्र फेर्छन् ।

पहिलो संविधान निर्वाचन २०६४ मा उनले रोल्पा– २ र काठमाडौं– १० बाट निर्वाचित भएका थिए ।

२०७० मा सिरहा– ३ बाट निर्वाचित जित्दा काठमाडौं– १० मा पराजित भए । २०७४ मा चितवनबाट–३ बाट र २०७९ मा गोरखा–२ बाट निर्वाचित भएका थिए ।

यसपटक रुकुमपूर्व पुगे । यसरी प्रत्येक निर्वाचनमा निर्वाचन क्षेत्र छाड्ने प्रचण्डको स्वभावलाई लिएर उनलाई आलोचकहरू ‘घुमन्ते उम्मेदवार’ भन्दै आएका छन् ।

 

कांग्रेसमा व्यापक फेरबदल : सबै क्षेत्रको लाग्यो उम्मेदवार टुंगो (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ १६५ मध्ये १५६ निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ । मनोनयन दर्ताको दिनसम्म पनि उम्मेदवार छनोट प्रक्रिया जारी राख्दै आएको कांग्रेसले अब ९ वटा निर्वाचन क्षेत्रका लागि मात्र उम्मेदवार तय गर्न बाँकी राखेको छ । पार्टीका अनुसार काठमाडौंका १० मध्ये ४ निर्वाचन क्षेत्र (काठमाडौं–१, २, ३ र ७) मा अझै उम्मेदवार टुंगो लाग्न सकेको छैन । यस्तै भक्तपुर–१, चितवन–१, पर्सा–२ र कैलाली–४ मा पनि कांग्रेसले उम्मेदवार तय गर्न बाँकी छ ।

नयाँ नेतृत्वको प्रभाव, पुराना अनुहारहरू बाहिर
विशेष महाधिवेशनपछि गगन थापाको नेतृत्वमा आएको कांग्रेसले यसपटक उम्मेदवार छनोटमा ठूलो पुनर्संरचना गरेको देखिएको छ । निवर्तमान सभापति शेरबहादुर देउवा, उनकी पत्नी आरजु राणादेखि लिएर देउवा र डा. शेखर कोइराला पक्षसँग जोडिएका करिब ३५ प्रभावशाली नेताहरू चुनावी मैदानबाट बाहिरिएका छन् ।

कांग्रेस नेतृत्व परिवर्तनसँगै पार्टीभित्रको शक्ति सन्तुलन फेरिँदा संसदीय राजनीतिका ‘भेट्रान’ मानिने नेताहरूलाई टिकट नदिइएको हो । पार्टीको आधिकारिता विवाद सर्वोच्च अदालतसम्म पुगेको पृष्ठभूमिमा निवर्तमान कार्यवाहक सभापति पूर्वबहादुर खड्काले नैतिक कारण देखाउँदै उम्मेदवारी नदिँदा सुर्खेत–१ खाली भएको छ ।

पूर्व उपसभापति, महामन्त्रीदेखि कोषाध्यक्षसम्म बाहिर
यस निर्वाचनमा कांग्रेसका तीन जना पूर्व उपसभापति धनराज गुरुङ, गोपालमान श्रेष्ठ र विजयकुमार गच्छदार टिकटबाट वञ्चित भएका छन् । यस्तै, पार्टीका संस्थापक नेता बीपी कोइरालाका पुत्र तथा पूर्व महामन्त्री शशांक कोइरालाले पनि नवलपुर–१ बाट टिकट पाएनन्, जहाँ उनी लगातार तीन पटक निर्वाचित भइसकेका थिए । निवर्तमान सहमहामन्त्रीहरू बन्द्र पाण्डे, जीवन परियार र उमाकान्त चौधरी तथा कोषाध्यक्ष उमेश श्रेष्ठ पनि यस पटक चुनावी मैदानमा छैनन् । पाण्डेले स्वयं उम्मेदवार नबन्ने घोषणा गरेका थिए भने परियार र चौधरी सभापति थापाको प्राथमिकतामा पर्न सकेनन् ।

काठमाडौं र अन्य जिल्लामा अनुभवी नेताको विदाइ

काठमाडौं–१ बाट लगातार निर्वाचित हुँदै आएका पूर्व उपसभापति प्रकाशमान सिंहलाई पनि टिकट नदिइएको पार्टी प्रवक्ताले जानकारी दिएका छन् । यस्तै, बलबहादुर केसी (सोलुखुम्बु), डा. नारायण खड्का (उदयपुर–१), राजेन्द्रकुमार केसी (काठमाडौं–१०), हृदयराम थानी (सुर्खेत–२) लगायत नेताहरूले चुनाव नलड्ने घोषणा गरेका छन् । चार पटक कञ्चनपुर–३ बाट चुनाव लडेका रमेश लेखक, रुपन्देही–३ का बालकृष्ण खाँण, कैलाली–५ की आरजु राणा, मोरङ–२ की सुजाता कोइराला र तेह्रथुमकी सीता गुरुङले पनि टिकट पाएनन् ।

देउवा पक्ष केन्द्रित असन्तुष्टि
यस पटक टिकट नपाउने वा चुनाव नलड्ने अधिकांश नेता देउवा पक्षसँग जोडिएका छन् । कांग्रेसले दोलखा, सिरहा, सिन्धुपाल्चोक, कैलाली, ललितपुर, ओखलढुंगा, संखुवासभा, सिन्धुली, भक्तपुर र काठमाडौंका विभिन्न निर्वाचन क्षेत्रमा समेत स्थापित अनुहारहरूलाई प्रतिस्थापन गरेको छ ।

पार्टी नेतृत्वले यसलाई ‘नयाँ पुस्ता र नयाँ राजनीतिक सन्देश’ को रूपमा व्याख्या गरे पनि कांग्रेसभित्र आन्तरिक असन्तुष्टि बढ्ने संकेत देखिएको छ । अब बाँकी ९ निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगिएपछि कांग्रेसको अन्तिम उम्मेदवार सूची सार्वजनिक हुनेछ, जसले पार्टीको नयाँ राजनीतिक दिशा अझ स्पष्ट पार्ने अपेक्षा गरिएको छ ।

हेर्नुस् उम्मेदवार सूची

बब्लु गुप्ताको सिरहा–१ मा रास्वपाबाट उम्मेदवारी दर्ता

काठमाडौं । युवा तथा खेलकुदमन्त्रीबाट राजीनामा दिएका बब्लु गुप्ताले सिरहा–१ मा उम्मेदवारी दर्ता गराएका छन् ।

सुशीला कार्की नेतृत्वको नागरिक सरकारमा केही महिना मन्त्री भएका गुप्ता पहिलोपटक संसदीय निर्वाचनमा सहभागी भएका हुन् ।

उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवार दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उम्मेदवारी दर्तापछि उनले सुशासन, पारदर्शिता, जवाफदेहीता र विकासमुखी राजनीति स्थापनाका लागि आफ्नो उम्मेदवारी भएको बताए ।

तर, उनी मन्त्री छँदा विवादित भए । बिना कार्यक्रम र निम्तो गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाले बोलाएको भन्दै उनी जान खोजेको विषय विवादित बनेको थियो ।

उनै गुप्ता फेरि मन्त्री बन्ने उद्देश्यसहित प्रतिनिधिसभा सदस्य निर्वाचन जितेर आउन उम्मेदवार बनेका हुन् ।

एमाले अध्यक्ष ओलीले गरे उम्मेदवारी दर्ता

झापा । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले झापा–५ मा उम्मेदवारी दर्ता गरेका छन् । अध्यक्ष ओलीले मंगलबार निर्वाचन अधिकृतको कार्यालय पुगेर आफ्नो उम्मेदवारी दर्ता गरेका हुन् । उम्मेदवारी दर्ताका क्रममा अध्यक्ष ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) असभ्यता देखाएको टिप्पणी गरेका थिए । उम्मेदवारी दर्ताका क्रममा एमाले र रास्वपाबीच दमकमा झडपको अवस्था समेत सिर्जना भएको थियो । ओलीले त्यसप्रति टिप्पणी गरेका हुन् ।

‘उम्मेदवारी दर्ता गर्न आउने क्रममा हामीलाई रोक्न खोजियो, त्यहाँ रास्वपाले असभ्यता देखाए,’ अध्यक्ष ओलीले उम्मेदवारी दर्तापछि प्रतिक्रिया दिँदै भने, ‘एमालेलाई रोक्न खोज्दा महँगो पर्ला !’ झापा–५ मा काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन शाह, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का रञ्जित तामाङले उम्मेदवारी दर्ता गरिसकेका छन् ।

सर्लाही– २ मा राजेन्द्र महतोको उम्मेदवारी दर्ता

काठमाडौं । राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले सर्लाही–२ मा उम्मेदवारी दर्ता गराएका छन् ।

जुलुससहित नाराबाजी गर्दै उम्मेदवारी दर्ता गर्न उनी निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । उनको यसपटक नेकपा उम्मेदवार महेन्द्र राय यादवसँग प्रतिस्पर्धा हुने भएको छ ।

पूर्वउपप्रधानमन्त्री महतो लामो समयदेखि मधेश आन्दोलनमा सक्रिय नेता हुन् । तर, केही वर्षदेखि मधेस आन्दोलन सुस्ताएको छ ।

नेता महतो, जसपा अध्यक्ष अशोककुमार राई र नाउपा अध्यक्ष रेशमलाल चौधरीले गठबन्धन बनाएर चुनावमा गएका छन् ।

जेनजी आन्दोलनपछि एकैचोटी मन्त्री, राजीनामा दिएर चुनावी मैदानमा

काठमाडौँ । जेनजी आन्दोलनपछि गैरदलीय पृष्ठभूमिबाट एकैचोटी मन्त्री बनेका चार जना नेताहरू प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्ष प्रतिष्पर्धामा उत्रिएका छन् । निर्वाचन गराउने प्रमुख जिम्मेवारीसहित पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा गठन भएको अन्तरिम सरकारका ती मन्त्रीहरूले चुनावी मैदानमा होमिन पदबाट राजीनामा दिएका हुन् ।

आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ, युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता, सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुन उम्मेदवार बनेका छन् । उनीहरूले अन्तरिम सरकारको स्वतन्त्र र निष्पक्ष पहिचानमा आँच नआओस् भन्ने उद्देश्यले दलीय राजनीतिमा प्रवेश गर्नु अघि नै मन्त्री पद त्याग्ने घोषणा गरेका थिए ।

ऊर्जामन्त्री घिसिङले राजीनामा दिएपछि आफ्नै नेतृत्वमा ‘उज्यालो नेपाल पार्टी’ गठन गरेका छन् । यसअघि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक रहँदा लोडसेडिङ अन्त्यका कारण चर्चामा आएका घिसिङ काठमाडौँ निर्वाचन क्षेत्र नं ३ बाट उम्मेदवार बनेका छन् । पार्टीका प्रवक्ता डा. राजु थापाका अनुसार घिसिङले उज्यालो नेपाल पार्टीको अध्यक्षको हैसियतमा प्रत्यक्ष निर्वाचनमा भाग लिएका हुन् ।

युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता जेनजी आन्दोलनका अगुवा तथा सामाजिक अभियन्ताका रूपमा परिचित छन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट सिरहा निर्वाचन क्षेत्र नं १ मा उम्मेदवारी दिने तयारी गरेका छन् । गुप्ताले आन्दोलनबाट सुरु भएको आफ्नो राजनीतिक यात्रालाई अब संसदमार्फत अगाडि बढाउने बताएका छन् ।

पूर्व सञ्चार मन्त्री जगदीश खरेल दुई दशकभन्दा बढी समय पत्रकारितामा सक्रिय व्यक्तित्व हुन् । मन्त्री बन्नुअघि उनले इमेज टेलिभिजनको सम्पादकीय नेतृत्व सम्हालेका थिए । मन्त्री पदबाट राजीनामा दिएको भोलिपल्ट खरेल रास्वपामा आबद्ध भएका हुन् । पार्टीका उपसभापति डिपी अर्यालले उनलाई औपचारिक रूपमा पार्टी प्रवेश गराउँदै ललितपुर निर्वाचन क्षेत्र नं २ बाट उम्मेदवारका रूपमा अघि सारेका छन् ।

यस्तै, शिक्षा मन्त्री रहँदा प्राविधिक र नवप्रवर्तनको क्षेत्रमा पहिचान बनाएका राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा वैज्ञानिक महावीर पुनले म्याग्दी निर्वाचन क्षेत्र नं १ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराइसकेका छन् । उनले जेनजी आन्दोलनपछि सरकारमा गए पनि दलगत राजनीतिभन्दा स्वतन्त्र पहिचानलाई प्राथमिकता दिएको जनाएका छन् ।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारले निर्वाचन सम्पन्न गराउने मुख्य जिम्मेवारी बोकेको छ । सोही सरकारका चार मन्त्रीको एकैसाथ चुनावी मैदानमा प्रवेशलाई नेपाली राजनीतिमा आन्दोलनबाट संस्थागत राजनीतितर्फको अर्को चरणका रूपमा हेरिएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) प्रणालीअन्तर्गत देशभरका १६५ वटै निर्वाचन क्षेत्रबाट उम्मेदवारको मनोनयन दर्ता प्रक्रिया चलिरहेको छ । आन्दोलन, प्रशासन र अब संसदीय प्रतिस्पर्धा हुँदै अगाडि बढेका यी चार अनुहारको चुनावी यात्रालाई आम मतदाताले चासोका साथ हेरिरहेका छन् ।

 

नेकपा नेता ‘दीपशिखा’को उम्मेदवारी दर्ता, महेश बस्नेतसँग प्रतिस्पर्धा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का युवा नेता रामप्रसाद सापकोटा ‘दीपशिखा’ले भक्तपुर– २ मा उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले मंगलबार उम्मेदवारी दर्ता गराएका हुन् । तत्कालीन नेकपा माओवादी केन्द्रका भ्रातृ संगठन वाईसीएल नेपालको उनी लामो समय अध्यक्ष भए ।

उम्मेदवारी दर्तापछि उनले नयाँ र पुराना भन्दा पनि बिचार महत्त्वपूर्ण हुने भएकाले आफू समृद्धिसहितको बिचारका साथ चुनावमा होमिएको बताए । आफूले भक्तपुरको जनताका लागि लामो समय राजनीति गरेको भन्दै जनताले विश्वास गर्ने उनको भनाइ छ । उनले जनतालाई आवश्यक परेका बेला सधैँ जनताको साथमा उभिने उल्लेख गरे । सापकोटा पहिलो पटक आम निर्वाचनमा उम्मेदवार बनेका हुन् । सोही क्षेत्रबाट एमाले सचिव महेश बस्नेतको पनि उम्मेदवारी छ ।

ओलीले गरे झापामा आगलागीबाट प्रभावित संरचनाहरूको निरीक्षण

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले झापा निर्वाचन क्षेत्र नम्बर ५ मा गत भदौ २३ र २४ गते जेन–जी आन्दोलनका क्रममा आगजनी भएका संरचनाहरूको निरीक्षण गरेका छन्। जेन–जी आन्दोलनपछि पहिलो पटक गृह जिल्ला झापा पुगेका अध्यक्ष ओलीले दमक र आसपासका क्षेत्रमा प्रदर्शनकारीहरूले तोडफोड र आगजनी गरेका स्थानीय तहका भवन, सार्वजनिक संरचना तथा निजी सम्पत्तिहरूको अवलोकन गरेका हुन् । निरीक्षणका क्रममा उनले क्षति भएको सम्पतिको पुनर्निर्माण र प्रभावितहरूलाई राहत उपलब्ध गराउन आवश्यक पहल गर्ने बताए।

गत भदौमा भएको युवा नेतृत्वको जेन–जी आन्दोलनका क्रममा देशव्यापी हिंसा भड्किएको र झापामा पनि दमक नगरपालिका, भ्यू टावरलगायतका स्थानमा आगजनी तथा तोडफोड भएको थियो। सो घटनापछि ओलीमाथि काठमाडौं उपत्यका बाहिर यात्रा प्रतिवन्ध लगाइएको थियो। जुन हालै मात्र हटाइएको छ।

प्रतिवन्ध फुकुवापछि झापा आएका ओलीले स्थानीय नेता–कार्यकर्तासँग भेटघाट गर्दै आगामी फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको तयारी समेत थालेका छन्। झापा–५ बाट नै उम्मेदवारी दिने तयारीमा रहेका ओलीको यो भ्रमणलाई चुनावी सरगर्मीको संकेतका रूपमा हेरिएको छ। निरीक्षणपछि अध्यक्ष ओलीले शान्ति र विकासका लागि सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिएका छन्। उनले हिंसात्मक घटनाको छानबिन गरी दोषीउपर कारबाही गर्न सरकारसँग माग पनि गरेका छन्।

नेकपा नेता लेखनाथ न्यौपानेद्वारा गोरखा–२ मा उम्मेदवारी दर्ता

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छाडेको गोरखा– २ मा लेखनाथ न्यौपानेले उम्मेदवारी दर्ता गरेका छन् ।

उनले निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । न्यौपाने संसदीय निर्वाचनमा पहिलोपटक उम्मेदवार बनेका हुन् ।

नेकपामा उनको बौद्धिक नेताको पहिचान छ । प्रचण्डले अवसर नदिएर छेउ लगाएको नेताका रूपमा समेत चिनिने न्यौपानेका प्रतिस्पर्धी एमालेका चक्रे मिलन छन् ।

विगतमा उनी गुण्डा नाइके थिए । रास्वपाबाट महामन्त्री कविन्द्र बुर्लाकोटी उम्मेदवार बन्ने भएका छन् ।