`

कांग्रेस नफुटोस् भनेर विशेष महाधिवेशनबाट टाढा बसें : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएको आन्तरिक विवादका कारण कांग्रेस विभाजनको जोखिममा नपरोस् भनेर आफूले विशेष महाधिवेशनमा सहभागी नहुने निर्णय गरेको स्पष्ट पारेका छन् । पार्टी एकता जोगाउनकै लागि मध्यमार्गी भूमिका निर्वाह गरेको उनको दाबी छ ।

मोरङ–६ अन्तर्गत सुन्दरहरैंचामा आफ्ना समर्थकहरूसँग आयोजित छलफल कार्यक्रममा बोल्दै डा. कोइरालाले पार्टीभित्र फरक–फरक धार सक्रिय रहेकाले परिस्थिति संवेदनशील बनेको बताए । एक समूह विशेष महाधिवेशनको पक्षमा उभिएको र अर्को समूह नियमित प्रक्रियाको वकालत गरिरहेको अवस्थामा आफूले कुनै एक धार समात्दा कांग्रेस दुई टुक्रा हुने खतरा रहेको उनको भनाइ थियो ।

‘एउटा समूह विशेष महाधिवेशन भनेर हिँड्ने, अर्को नियमित महाधिवेशनमै जोड दिने अवस्था थियो’, उनले भने, ‘यस्तो परिस्थितिमा म त्यो हलमा गएको भए कांग्रेस विभाजन हुन सक्थ्यो। पार्टी नफुटोस् भनेर मैले बीचको बाटो रोजें ।’
पार्टी एकताका लागि लिएको यही भूमिकाका कारण आफूलाई ‘ढुलमुले’ भन्ने गरिएकोप्रति उनले असन्तुष्टि पनि जनाए । ‘पार्टी बचाउन खोज्दा ढुलमुले भनिन्छ भने त्यो स्वीकार्य हुँदैन’, उनले भने, ‘म त्यहाँ गएको भए सभापति बन्थेँ वा बन्दिनथेँ, त्यो अर्को कुरा हो, तर पार्टी भने निश्चित रूपमा दुई टुक्रा हुन्थ्यो ।’

डा. कोइरालाले अब विगतका मतभेदलाई थाँती राखेर कांग्रेस एकताबद्ध भएर आगामी चुनावमा केन्द्रित हुनुपर्ने आवश्यकता औंल्याए । आन्तरिक द्वन्द्वले होइन, साझा एजेन्डा र सहकार्यले मात्र पार्टीलाई बलियो बनाउन सकिने उनको निष्कर्ष थियो । उनले कार्यकर्ता र नेताहरूलाई संयमित, जिम्मेवार र एकतामुखी भूमिका खेल्न आग्रह गर्दै कांग्रेसको दीर्घकालीन हित पार्टी एकतामै रहेको धारणा व्यक्त गरे ।

 

 

 

 

स्वागत नेपाललाई साइबर ब्युरोले बोलायो, राप्रपाको आपति

काठमाडौं । साइबर ब्युरोले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता स्वागत नेपाललाई सोधपुछका लागि बोलाएको छ । ब्युरोको टोलीले उनलाई फोन गरी कार्यालयमा बोलाएको हो । उनीमाथि केही विषयमा बुझ्नका लागि बोलाइएको प्रवक्ता एवं एसपी दीपकराज अवस्थीले जानकारी दिए ।

‘गम्भीर विषय होइन, केही विषयमा बुझ्नका लागि उहाँलाई बोलाइएको हो,’ उनले भने । नेपालले केही समयअघि नेपाली सेनाले स्थितिमा नियन्त्रणमा लिएर नागरिक सरकार बनाउनु पर्छ भनेर टिप्पणी गरेका थिए । उनी राप्रपाबाट झापा–२ मा उम्मेदवार छन् । राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठले पार्टीका उम्मेदवार स्वागत नेपाललाई साइबर ब्युरोले बोलाएकोमा विरोध जनाएका छन् ।

‘पृथ्वीनारायण शाहले अंशबण्डा गरेर देश टुक्राउने आफ्नै परिवारका र सगोत्रीलाई पनि टुक्र्याएका थिए अहिले पनि देश टुक्रयाउन खोज्नेलाई टुक्राउनु पर्छ, म पृथ्वीनारायण शाह जस्तै आफ्नै परिवारको भएपनि देश टुक्रयाउन खोज्नेलाई टुक्राउँछ भनेको विषयमा पक्राउ गर्न खोजिएको रहेछ,’ प्रवक्ता श्रेष्ठले भनेका छन् । उनले अनावश्यक दुःख दिन खोजेको र चुनावी गति अवरूद्ध गर्ने प्रयास सह्य नहुने पनि बताएका छन् ।

चुनावको मुखमा कुलमानलाई ‘धक्का’, थेगिमसहित तीन नेताले छाडे साथ

काठमाडौं । पहिचानवादी नेता डकेन्द्रसिंह थेगिमसहित तीन नेताले उज्यालो नेपाल पार्टी परित्याग गरेका छन् । उज्यालो नेपाल पार्टीमा केन्द्रीय सदस्य रहेका थेगिमसहित अर्का केन्द्रीय सदस्य ज्ञानबहादुर गुरूङ र प्रस्तावित केन्द्रीय सदस्य अमर ईजम (दाह्री) ले विज्ञप्ती जारी गरी पार्टी छाडेको घोषणा गरेका हुन् ।

बुधबार उनीहरूले संयुक्त रूपमा विज्ञप्ती जारी गरी पार्टीभित्र आन्तरिक लोकतन्त्रको कमजोरी, विधि–प्रक्रियाको अस्पष्टता तथा पहिचानसम्बन्धी एजेन्डाहरुमा स्पष्ट र लिखित धारणा प्रस्तुत हुन नसकेको बताएका छन् । ‘हाम्रो वैचारिक प्रतिबद्धता र आदर्शहरूबाट विचलन भइरहेको अनुभूति गर्‍यौं,’ विज्ञप्तिमा अगाडि भनिएको छ,’ समानुपातिक बन्द सूचीको उम्मेदवार डकेन्द्रसिंह थेगिमको समेत आजकै मितिबाट उज्यालो नेपाल पार्टीको साधारण सदस्य समेत नरहने गरी स्वतन्त्र रूपमा अगाडि बढ्ने निर्णय लिएको सार्वजनिक रूपमा घोषणा गर्दछौं ।’

थेगिमसहितका नेताहरूले आगामी कार्यक्रम पनि घोषणा गरेका छन् । उनीहरूले एकतापूर्वको संयुक्त पहिचानवादी मोर्चालाई पुनः विस्तार गर्दै बृहत् पहिचानवादी आन्दोलनका लागि सशक्त संरचना निर्माण गर्ने बताएका छन् । त्यस्तै आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि दलहरूको घोषणा पत्रमा अनिवार्य रूपमा पहिचानसहितको संघीयता, धर्मनिरपेक्षता, लोकतान्त्रिक गणतन्त्र र पूर्ण समानुपातिकप्रति स्पष्ट प्रतिबद्धता गराउन दलहरूमाथि दबाब सिर्जना गर्ने नीति लिएको छ ।

त्यसैगरी ‘नो कोशी, नो केबलकार’ अभियान अन्तर्गत मुक्कुमलुङ, खुवालुङ, बोझेनीलगायत धार्मिक–सांस्कृतिक स्थलमाथि भइरहेको अतिक्रमणविरूद्ध एकताबद्ध प्रतिरोध गर्ने उनीहरूले जनाएका छन् । ती एजेण्डाहरू दलको घोषणापत्र र उम्मेदवारको प्रतिबद्धतापत्रमा पनि अनिवार्य रूपमा समावेश गराउन पहल गर्ने उनीहरूले बताएका छन् ।

त्यस्ता एजेण्डा नबोक्ने दल र उम्मेदवारहरू विरूद्ध नो एजेन्डा, नो भोट अभियान सञ्चालन गर्ने घोषणा गरेका छन् । अभियानअन्तर्गत ‘नो एजेण्डा, नो भोट’, ‘नो कोशी नो भोट’ उल्लिखित पर्चा वितरण तथा घरदैलो गरिने उनीहरूले विज्ञप्तीमार्फत जनाएका छन् । त्यससँग सम्बन्धित अन्तरक्रिया र छलफलसँगै नो भोट सम्बन्धी जनसभा तथा कोणसभा गर्ने घोषणा उनीहरुले गरेका छन् । उज्यालो नेपाल र रास्वपाबीचको एकता भाँडिएपछि पनि थेगिम उज्यालो नेपाल पार्टीमै आबद्ध भएका थिए ।

 

 

 

 

 

प्रधानमन्त्री कार्कीले बोलाइन् मन्त्रीपरिषद् बैठक

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रीपरिषद् बैठक बोलाएकी छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा दिउँसो ३ बजे बैठक बस्ने तय भएको हो । बैठकमा सरकारका नियमित प्रशासनिक कामकारबाहीका विषयमा छलफल हुने बताइएको छ । साथै, आगामी निर्वाचनको तयारीसँग सम्बन्धित विषयमा पनि छलफल भई आवश्यक निर्णय हुन सक्ने एक मन्त्रीले जानकारी दिए ।

संघीयतालाई ‘चिहान’ बनाउँदै ‘सिंहदरबार’ को मृगतृष्णा

काठमाडौं । नेपालको राजनीतिक इतिहासमा वि.सं. २०७२ को संविधान जारी हुनु र त्यसपछिको संघीय अभ्यासलाई एउटा युगान्तकारी फड्को मानिन्छ । केन्द्रिकृत राज्यसत्ताको अधिकारलाई नागरिकको घरदैलोसम्म पुर्‍याउने र ‘गाउँ–गाउँमा सिंहदरबार’ को अवधारणालाई साकार पार्ने सपना यसमा समावेश छ ।

तर २०८२ यो समय सम्म आइपुग्दा, संघीयताको जननी दाबी गर्ने दल, तिनका शीर्ष नेतृत्व र स्वयं ‘नागरिक सरकार’ का मन्त्रीहरूबाटै आज यो व्यवस्थाको हुर्मत लिने काम भइरहेको छ । प्रदेश र स्थानीय सरकारको पाँच वर्षे जिम्मेवारी र जनमतलाई बीचैमा अलपत्र छाडेर पुनः काठमाडौँको सिंहदरबार ताक्ने जनप्रतिनिधिहरूको दौड, २४ गतेको राज्य–विप्लवकारी विध्वंशसँग जोडिएका रहस्यमय प्रश्नहरूको उत्तर नआउँदै र ‘अम्पायर’ नै ‘खेलाडी’ बन्ने अनैतिक खेलले नेपालको लोकतन्त्रलाई गम्भीर दुर्घटनाको संघारमा पुर्‍याएको छ । यो आलेख वर्तमान राजनीतिक विकृति, नेतृत्वको नैतिक स्खलन, नागरिक सरकारको संदिग्ध भूमिका र भविष्यको चुनौतीमा केन्द्रित छ ।

संवैधानिक अनैतिकता : शीर्ष नेतृत्वको ‘पाप’
लोकतान्त्रिक प्रणाली केवल संविधानको अक्षर र कानूनको दफा र खोलिने छिद्रमा मात्र चल्दैन, यसको प्राण भनेको नैतिकता र मर्यादा पनि हो । अहिले देखिएको यो परिघटनालाई राजनीतिक शास्त्रको भाषामा ‘संवैधानिक अनैतिकता’ भनिन्छ । नेपालको कानुनले कुनै जनप्रतिनिधिलाई राजिनामा दिएर अर्को चुनाव लड्न स्पष्ट नरोके पनि, जनताले पाँच वर्षका लागि दिएको करारलाई बीचैमा भङ्ग गर्नु चरम अनैतिकता हो ।

यस अराजकतामा उम्मेदवार बन्ने आकांक्षीहरूको जति दोष छ, त्योभन्दा सयौं गुणा बढी दोष उनीहरूलाई टिकट वितरण गर्ने प्रमुख दलका शीर्ष नेतृत्वको छ । यहाँ स्वभाविक प्रश्न उठ्छ कि के माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई आफ्नै छोरी रेणु दाहालको भरतपुरमा कार्यकाल बाँकी छ र उनले त्यहाँको विकास मोडललाई तार्किक निष्कर्षमा पुर्‍याउनु पर्छ भन्ने हेक्का थिएन ? के एमाले अध्यक्ष केपी ओली र काँग्रेस सभापति गगन थापालाई आफ्ना बहालवाला मेयर र प्रदेश सांसदले राजीनामा दिँदा ती संरचनाहरू रित्तो र अभिभावकविहीन हुन्छन् भन्ने ज्ञान थिएन ?

अवश्य थियो । तर शीर्ष नेताहरूको मनोविज्ञानमा संघीयता कहिल्यै पनि ‘सशक्त’ संरचनाका रूपमा स्थापित भएन । उनीहरूले स्थानीय तह र प्रदेशलाई केवल कार्यकर्ता व्यवस्थापन गर्ने ‘पार्किङ लट’ र केन्द्रमा उक्लने ‘भ¥याङ’ मात्र ठाने। बहालवाला जनप्रतिनिधिलाई राजीनामा गराएर केन्द्रको टिकट दिनु भनेको शिर्ष नेतृत्वले नै ‘स्थानीय र प्रदेश सरकारहरू साना र महत्वहीन हुन्, असली सत्ता त सिंहदरबारमै छ’ भनेर प्रमाणित गरिदिनु हो । राजनीतिक विश्लेषकहरूले टिप्पणी गरेझैं यो दलीय सिन्डिकेटले संघीयताको स्वायत्तता र गरिमालाई धोती लगाइदिएको छ ।

संघीयताको मर्म तोड्नेहरू चिनौं
संघीयताको सफल कार्यान्वयनका लागि प्रदेश र स्थानीय तहको स्थायित्व अपरिहार्य हुन्छ । तर निर्वाचनको मुखमा देखिएको राजीनामा र उम्मेदवारीको श्रृङ्खलाले जनप्रतिनिधिहरूले यी संरचनालाई सेवाको थलो नभई शक्तिमा उक्लने माध्यम मात्र ठानेको पुष्टि गरेको छ । प्रदेश संरचनालाई बलियो बनाउनुपर्ने दायित्व बोकेका सांसदहरू नै कार्यकाल पूरा नहुँदै राजीनामा दिएर संघीय संसदको मोहमा फस्दा प्रदेशसभाको गरिमामा गम्भीर आँच आएको छ ।
वागमती प्रदेशमा मन्त्री भइसकेका र प्रभावशाली मानिने युवराज दुलाल ‘शरद’, वसन्त मानन्धर र सुनील केसी जस्ता पात्रहरूले प्रदेशको जिम्मेवारी बीचमै छाडेर संघको टिकट लिनुले उनीहरूको प्राथमिकता प्रष्ट पार्छ । एमालेका प्रकाश श्रेष्ठ र अमनकुमार मास्केले पनि काठमाडौंका क्षेत्रहरू ताक्दै राजीनामा दिए ।

अझ विडम्बनापूर्ण अवस्था त दोलखाका कुन्दनराज काफ्लेको हकमा देखियो, जसले संघको टिकट पाउने आशामा प्रदेश सांसद पदबाट राजीनामा त दिए, तर अन्तिम समयमा टिकट नपाउँदा ‘घर न घाट’ को स्थितिमा पुगे । यो घटना सत्तामोहको पराकाष्ठा र दलीय व्यवस्थापनको कुरूप उदाहरण हो । यस्तै प्रवृत्ति मधेस प्रदेशका पूर्व मुख्यमन्त्री सतिशकुमार सिंह, रामचन्द्र मण्डल, लुम्बिनीका धनबहादुर मास्की देखि सुदूरपश्चिमका डा.तारा जोशीसम्म देखिएको छ, जसले प्रदेशसभा केवल ‘वार्म–अप’ गर्ने मैदान मात्र रहेछ भन्ने सन्देश दिएको छ ।

यही रोग स्थानीय तहमा झन् विकराल रूपमा फैलिएको छ । ‘गाउँ–गाउँमा सिंहदरबार’ पुर्‍याउने वाचा गरेर पाँच वर्षका लागि चुनिएका स्थानीय सरकार प्रमुखहरूले बीचमै जनतालाई अलपत्र पारी काठमाडौंको सिंहदरबार ताक्नु जनमतको सबैभन्दा ठूलो अपमान हो । काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन) ले झापा–५ बाट उम्मेदवारी दिनु, धरानका हर्क साम्पाङ सुनसरी–१ मा होमिनु, भरतपुरकी रेणु दाहाल र धुलिखेलका अशोक व्याञ्जुले कार्यकाल नसकी राजीनामा दिनुले स्थानीय सुशासन प्रवन्धलाई बन्धक बनाइएको देखिन्छ । स्याङ्जाका खिमबहादुर थापादेखि विभिन्न वडाका अध्यक्षहरू समेत राजीनामाको लहरमा मिसिँदा स्थानीय सरकार महत्वहीन र दिशाहीन बन्न पुगेको छ ।

२४ गतेको विध्वंसको शंकाको सुई पनि पनि निर्वाचनमा मिसिन्छ
नेपालको आधुनिक इतिहासमा भदौ ‘२४ गते’ लाई अब कालो दिनका रूपमा अंकित गरिनेछ । यस घटनाक्रमलाई बुझ्न ‘२३ गते’ र ‘२४ गते’ बीचको लक्ष्मणरेखा कोर्नु अत्यन्त आवश्यक छ, किनकि यी दुई मिति क्यालेन्डरका पाना मात्र नभएर नितान्त भिन्न प्रवृत्ति र उद्देश्यका द्योतक हुन् । २३ गतेको आन्दोलन शुद्ध रूपमा ‘जेन–जी’ अर्थात् नयाँ पुस्ताको रचनात्मक विद्रोह थियो । उनीहरूको हातमा ढुङ्गामुढा थिएन, प्लेकार्डहरू थिए, नारामा आक्रोश थियो तर ध्वंश गर्ने अवस्था थिएन । उनीहरूको मागमा हिंसा थिएन; रोजगारी, डिजिटल अधिकार, सुशासन र भ्रष्टाचारको अन्त्य थियो । उनीहरूले ‘व्यवस्था परिवर्तन’ भन्दा पनि ‘अवस्था परिवर्तन’ र राजनीतिक शुद्धीकरणको माग गरेका थिए ।

तर २४ गतेको बिहानी एउटा अकल्पनीय दृश्य लिएर आयो । २३ गतेको आन्दोलनको राप नसेलाउँदै, २४ गते देशव्यापी रूपमा एकैपटक, एउटै समयमा र उस्तै प्रकृतिको विध्वंश मच्चाइयो । आन्दोलनकारीको आवरणमा आएको जत्थाले सडकको रेलिङ मात्र भाँचेन, उनीहरूले सोझै राज्यको मुटुमा प्रहार गरे । देशको सार्वभौमिकताको प्रतिक संसद भवन, कार्यकारीणीको केन्द्र सिंहदरबार र न्यायको अन्तिम आस्थाको केन्द्र सर्वोच्च अदालत लगायतका संरचनाहरू जलाइए। जेन–जी आन्दोलनकारीले कल्पना समेत नगरेको यो विध्वंश कुनै ‘स्वतःफुर्त’ आक्रोश थिएन । देशभर एकसाथ संवेदनशील अंगहरूमा आक्रमण हुनु र सुरक्षा संयन्त्रलाई निस्तेज पारिनुले यसका पछाडि केन्द्रीय निर्देशन, पूर्वतयारी र ‘प्यारामिलिट्री’ शैलीको सङ्गठन थियो भन्ने पुष्टि गर्छ । यो २३ गतेको आन्दोलनको उपज मान्न सकिन्न, बरु २३ गतेको भीडलाई ‘कभर’ बनाएर २४ गते सुनियोजित ‘राज्य–विप्लव’ गरिएको थियो भन्न हिच्किचाउनु हुन्न ।

‘नागरिक सरकार’ को आवरणमा ‘ट्रोजन हर्स’
राजनीतिको कथानक यहीँनेर आएर रहस्यमय र डरलाग्दो मोडमा पुग्छ । तपाईंलाई लाग्ला अघिल्लो प्रसँग किन आयो भनेर किन भने २४ गतेको विध्वंशपछि मुलुकमा सिर्जना भएको संवैधानिक शुन्यता र अराजकतालाई सम्हाल्न, इतिहासकै निष्पक्ष मानिएकी पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा ‘नागरिक सरकार’ गठन गरिएको हो । निर्वाचनको संघारमा देखिएको दृश्यले यो सरकारको औचित्य र नियतमाथि नै बज्रपात गराएको छ । जसको पृष्ठभूमि र हात लागि रहेको परिणामले अघिल्लो खण्डमा के भएको भनेर व्याख्या गर्न आवश्यक थियो ।

अर्कोतर्फ प्रधानमन्त्री सुशिला कार्कीलाई आफ्ना मन्त्रीहरूको पृष्ठभूमि र महत्वाकांक्षाबारे जानकारी थिएन भन्ने मान्न सकिँदैन । आज जनताले सोध्न थालेका छन् प्रधानमन्त्रीले कस्तो व्यक्ति मन्त्री छानेछु भनेर अहिले पश्चात्ताप गर्दै हुनुहुन्छ ? वा यी मन्त्रीहरूको नाम उहाँलाई ‘कतैबाट’ टिपाएको थियो र उहाँ केवल रबर स्ट्याम्प बन्नुभयो ? कतै यो सरकार गठन नै एउटा ‘ग्रान्ड डिजाइन’ को हिस्सा त थिएन ?, जहाँ मन्त्रीहरूलाई सत्तामा पठाएर निश्चित ‘होमवर्क’ पूरा गराउने योजना बुनिएको थियो । सञ्चारमन्त्री जगदीश खरेल, खेलकुदमन्त्री बब्लु गुप्ता र कुलमान घिसिङ जस्ता हस्तीहरूले अन्तिम समयमा राजीनामा दिएर संकित पार्टीमा प्रवेश गरे नयाँ पार्टी खोलेर राजनीतिमा आए । अझ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र त्यसका नेता कार्यकर्ता माथि २४ गतेको विध्वंशको गम्भीर आरोप छ । यो केवल संयोग मात्र हुन सक्दैन भन्ने विश्लेषकहरुको मत छ ।

यहाँ गम्भीर आशंकाहरु पनि जन्मिएका छन्, यी मन्त्रीहरूलाई सत्तामा पठाउनुको मुख्य उद्देश्य २४ गतेको विध्वंशका सीसीटीभी फुटेज, सुरक्षा रिपोर्ट र प्रशासनिक प्रमाणहरू नष्ट गर्नु पो थियो कि । रास्वपा प्रवेश गर्नुअघि उनीहरूले मन्त्रालयमा बसेर ती सबै प्रमाणहरू नष्ट गरेर वा आयोगलाई ‘शून्य’ बनाएर निस्किएका त होइनन् ? राज्यद्वारा गठित छानबिन आयोगले अहिलेसम्म ठोस निष्कर्ष दिन नसक्नुमा समय लागौनुमा यिनै मन्त्रीहरूको भित्री चलखेल अवरोध त जिम्मेवार छैन ? यदि उनीहरूले २४ गतेको घटनामा रास्वपालाई ‘क्लिन चिट’ दिलाउने गरी भित्रभित्रै काम तमाम गरेर निस्किएका हुन् कि ? प्रश्नहरु छन् आशंकाहरु छन् । कतै रास्वपाको टिकट उनीहरूका लागि ‘पुरस्कार’ हो कि । सरकारमा बसेकाहरू नै आरोपी दलको उम्मेदवार बन्नु भनेको ‘सेतो सर्ट’ मा रगतको दाग लुकाउने प्रयास र ‘ट्रोजन हर्स’ शैलीको गद्दारी हो ।

‘आइकन’ हरूको पतन : झोंक कि सत्ताको भोक ?
यस महा–विश्वासघातको श्रृङ्खलामा समाजका ‘रोल मोडेल’ हरू पनि अछुतो रहेनन् । महावीर पुन,जसलाई नेपाली समाजले त्यागको प्रतिमूर्ति मान्थ्यो, उनले म्याग्दीबाट दिएको उम्मेदवारीलाई ‘झोंक’ भनेर जतिसुकै हल्का बनाउन खोजे पनि, समाजशास्त्रीय दृष्टिमा यो ‘सत्ताको अतृप्त भोक’ र ‘स्टाटस सिकिङ’ व्यवहार नै हो । जब समाजका बौद्धिक र सम्मानित व्यक्तित्वहरू संकटको बेला विवेक गुमाउँछन् र ‘चर्चा’ वा ‘शक्ति’ को पछि लाग्छन्, तब युवा पुस्तामा “यहाँ कोही पनि चोखो छैन” भन्ने खतरनाक भाष्य निर्माण हुन्छ । महावीर पुनहरूको यो कदमले राजनीतिमा आउन चाहने इमानदार, ग्रासरुटका र भिजन भएका युवाहरूको बाटो छेक्ने काम गरेको छ ।

बहुआयामिक संकट र विश्व अभ्यासको पाठ
जनप्रतिनिधिको यो पलायनवाद र ‘नागरिक सरकार’ को अनैतिकताले राज्यलाई आर्थिक भार, नीतिगत शुन्यता र सामाजिक वितृष्णाको भुमरीमा धकेलेको छ । रहरले राजीनामा दिनेहरूको सनक पूरा गर्न राज्यले अरबौँ रुपैयाँ उपनिर्वाचनमा खर्च गर्नुपर्ने भएको छ भने स्थानीय सरकारहरू नेतृत्वविहीन हुँदा विकास ठप्प भएको छ ।

हामीकहाँ कानून नभएको बहानामा नेताहरू उम्किरहेका छन्, तर विश्वमा यस्ता ‘भगौडा’ जनप्रतिनिधिहरूलाई जनता र कानूनले छोड्दैनन् । ताइवानमा मेयर हान कुओ–युले कार्यकाल सुरु गरेको केही महिनामै राष्ट्रपति बन्न खोज्दा जनताले ‘रिकल भोटिङ’ मार्फत मेयर पदबाटै बर्खास्त गरिदिएका थिए । अमेरिकाका फ्लोरिडा, टेक्सास जस्ता राज्यमा ‘रिजायन टु रन’ कानुन छ, जसले कार्यकाल बाँकी हुँदै अर्को पदमा लड्न चाहनेलाई पहिल्यै पदत्याग गर्न बाध्य पार्छ कम्तिमा १ वर्ष अगाडी नै । नेपालका ‘बालेन’, ‘हर्क’ र ‘रेनु’ हरूले ताइवान र अमेरिकाको यो अभ्यासबाट नैतिकताको पाठ सिक्नुपर्ने हो ।

अबको बाटोः कानूनी सुधार र ‘नो भोट’ को अस्त्र
यो बेथिति रोक्न अब नैतिकताको दुहाइ दिएर मात्र पुग्दैन, कठोर कानूनी र संरचनात्मक सुधार नै अपरिहार्य भइसकेको छ । नेपालमा पनि ‘रिजाइन टु रन’ जस्तै कडा कानून बनाएर कार्यकाल नसकी अर्को चुनाव लड्ने हो भने ६ महिना अगाडि नै पद छाड्नुपर्ने र उपनिर्वाचनको खर्च स्वयं व्यक्ति वा दलले व्यहोर्नु पर्ने व्यवस्था गरिनुपर्छ ।

साथै, २४ गतेको विध्वंशका मतियार हुन् वा कार्यकाल छाडेर भाग्ने अवसरवादी यिनीहरूलाई दण्डित गर्न जनताको हातमा ‘नो भोट’ वा ‘राइट टु रिजेक्ट’ को हतियार हुनैपर्छ । ‘तिमीले हाम्रो विश्वासघात गर्यौ, त्यसैले तिमीलाई अस्वीकार गर्छौ’ भन्ने अधिकार जनताले नपाएसम्म दलहरू सुध्रिने छैनन् । सर्वोच्च अदालतको आदेश लत्याएर दलहरूले ‘नो भोट’ को कानुन नबनाउनुको रहस्य पनि यही हो कि उनीहरू जनताको अस्वीकार गर्ने अधिकारसँग डराउँछन् ।

इतिहासले सोध्नेछ प्रश्न
आजको यो ‘सिंहदरबारको दौड’ र २४ गतेको खरानीमाथि उभिएर भइरहेको चुनाव संघीयताको भावनामाथिको सबैभन्दा ठूलो र निर्मम बेइमानी हो । यो अन्तरिम सरकार, नागरिक आन्दोलन र सहिदहरूको रगतमाथिको सरासर धोका हो। २३ गतेको जेन–जी को सपनालाई २४ गतेको आगोमा जलाउनेहरू, र त्यही आगो तापेर सिंहदरबार छिर्न खोज्ने ‘नागरिक सरकार’ का मन्त्रीहरूलाई इतिहासले माफ गर्नेछैन, जनताले अहिले नै माफ गर्नुहुन्न । यदि प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो लाचारी वा मौनताको जवाफ नदिने हो भने र यदि यो संवैधानिक अनैतिकतालाई सचेत नागरिकले मतपत्रमार्फत दण्डित नगर्ने हो भने, नेपालको संघीयता र लोकतन्त्र केवल नेताहरूलाई पद व्यवस्थापन गर्ने एउटा महँगो, असफल र रगतले लतपतिएको प्रयोगमा सीमित हुने निश्चित छ ।
–सविन धमला / न्युज एजेन्सी नेपाल

 

 

 

 

 

नेपालको लगातार दोस्रो हार, तेस्रो जितसँगै नेदरल्यान्ड्स ‘सुपर–६’ मा

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट प्रतियोगितामा नेपाली महिला क्रिकेट टोलीले लगातार दोस्रो हार बेहोरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय रंगशालामा बिहीबार भएको खेलमा नेपाल नेदरल्यान्ड्ससँग २ रनको झिनो अन्तरले पराजित भयो । यस जितसँगै नेदरल्यान्ड्स प्रतियोगितामा लगातार तेस्रो सफलता हासिल गर्दै ‘सुपर–६’ चरणमा प्रवेश गरेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ४० रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्‍यो । जवाफमा नेपालले अन्तिम ओभरसम्म संघर्ष गरे पनि ७ विकेटको क्षतिमा १ सय ३८ रनमै सीमित हुन पुग्यो । नेपालको ब्याटिङ फेरि पनि सुरुआतदेखि नै दबाबमा रह्यो । ओपनरद्वय विन्दु रावल र सम्झना खड्काले आक्रामक सुरुआत दिलाए । विन्दुले १५ बलमा ४ चौकासहित १८ रन बनाइन् भने सम्झनाले ८ बलमा ३ चौकाको मद्दतले १४ रन जोडिन् । तर विन्दुको दुर्भाग्यपूर्ण रनआउटपछि नेपालले लय गुमायो ।

त्यसपछि पूजा महतो (८), कप्तान इन्दु बर्मा (६), काजल श्रेष्ठ (४) र कविता कुँवर (१) सस्तैमा आउट हुँदा नेपाल दबाबमा परेको थियो । कविता जोशीले १८ बलमा १३ रन बनाउँदै केही समय इनिङ्स सम्हाल्ने प्रयास गरिन् । अन्त्यतिर छैटौँ नम्बरमा आएकी रुविना क्षेत्री र सीता रानामगरले रोमाञ्चक पुनरागमनको संकेत गरे । रुविनाले ३२ बलमा ५ चौकासहित अविजित ३७ रन बनाइन् भने सीताले १२ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै अविजित २७ रन जोडिन् । अन्तिम ओभरमा नेपाललाई जितका लागि १३ रन चाहिएको थियो । तर ११ रन मात्र आएपछि नेपाल २ रनले पछि पर्‍यो । अन्तिम बलमा छक्का लागे खेल बराबरी हुने सम्भावना थियो, तर त्यो सम्भव हुन सकेन ।

यो खेलमा रुविनाले अर्को महत्वपूर्ण उपलब्धि पनि हासिल गरिन् । उनी नेपालबाट महिला टी–२० अन्तर्राष्ट्रियमा १ हजार रन पूरा गर्ने दोस्रो खेलाडी बनिन् । यसअघि कप्तान इन्दु बर्माले यो कीर्तिमान बनाइसकेकी छन् । यसअघि नेदरल्यान्ड्सको इनिङ्स पनि उतार–चढावपूर्ण रह्यो । सोमु बिष्टले फेबे मोल्केनबोइरलाई शून्यमै आउट गर्दै नेपाललाई उत्कृष्ट सुरुआत दिलाइन् । अर्की ओपनर हिथर सिगर्स १३ रन बनाएर पूजा महतोको बलमा आउट भइन् । १५ रनमै दुई ओपनर गुमाएपछि नेदरल्यान्ड्स दबाबमा देखिएको थियो ।

तर कप्तान बाबेट डे लिड र स्टेर कालिसले तेस्रो विकेटका लागि ७९ रनको महत्वपूर्ण साझेदारी गर्दै इनिङ्सलाई सम्हाले । बाबेट डे लिड अर्धशतकबाट १ रनले चुकेर ४९ रनमा आउट भइन् । उनले ४७ बलमा ६–७ चौका प्रहार गरिन् । कालिसले ३४ बलमा ३० रन जोडिन् । अन्त्यतिर रोबिन रिज्केले अविजित १९ र आइरिस ज्वेलिङले अविजित १४ रन बनाएर टोलीको स्कोर १४० पु¥याए । नेदरल्यान्ड्सले अतिरिक्त रूपमा पनि १० रन जोडेको थियो । नेपालका लागि बलिङतर्फ रुविना क्षेत्रीले ३ ओभरमा २१ रन खर्चेर २ विकेट लिइन् । सुमन (सोमु) बिष्ट, पूजा महतो र रिया शर्माले १–१ विकेट हात पारे । लगातार दोस्रो हारसँगै नेपालको सुपर–६ यात्रा जटिल बनेको छ भने नेदरल्यान्ड्सले उत्कृष्ट लय कायम राख्दै अर्को चरणमा स्थान सुरक्षित गरेको छ ।

 

 

 

 

सप्तरी–२ मा त्रिकोणात्मक प्रतिष्पर्धा, राउतविरुद्ध आफ्नै पूर्व सहयात्री र पुराना शक्ति

सप्तरी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा मधेसको राजनीतिक केन्द्र मानिने सप्तरी क्षेत्र नम्बर–२ यस पटक अत्यन्त रोचक र जटिल प्रतिष्पर्धाको केन्द्र बन्दै गएको छ । २०७९ को निर्वाचनमा अत्यधिक मतान्तरसहित विजयी भएका जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउत यस पटक भने सजिलो अवस्थामा देखिँदैनन् । कारण, उनका मुख्य प्रतिष्पर्धी बनेका छन्–पूर्व सहकर्मी र पुराना राजनीतिक शक्ति ।

२०७९ सालको निर्वाचनमा राउतले ३५ हजार ४२ मत ल्याउँदै जसपाका अध्यक्ष उपेन्द्र यादवलाई १८ हजारभन्दा बढी मतान्तरले पराजित गरेका थिए । उक्त निर्वाचनले जनमत पार्टीलाई राष्ट्रिय पार्टीको हैसियत दिलाएको थियो भने राउत मधेसको नयाँ राजनीतिक अनुहारका रूपमा उदाएका थिए । तर साढे तीन वर्षको अवधिमा जनमत पार्टी आन्तरिक विवाद, विभाजन र नेतृत्वमाथि उठेका परिवारवादका आरोपका कारण कमजोर बनेको विश्लेषण भइरहेको छ ।

यस पटक सप्तरी–२ मा राउतका लागि मुख्य चुनौती बनेका छन्–पूर्व मुख्यमन्त्री सतिशकुमार सिंह र जसपा नेपालका उम्मेदवार उमेश यादव । सिंह २०७९ को निर्वाचनमा जनमत पार्टीबाट प्रदेशसभा सदस्य निर्वाचित भई मुख्यमन्त्रीसमेत बनेका थिए । तर पार्टी नेतृत्वसँग असन्तुष्टि बढ्दै गएपछि उनले प्रदेश सांसदबाट राजीनामा दिएर आफ्नै दाइ नेतृत्वको स्वाभिमान पार्टीबाट राउतकै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका छन् । जनमतका संगठन विस्तारमा महत्वपूर्ण भूमिका खेलेका सिंहको स्थानीय तहमा राम्रो पकड रहेकाले उनले राउतको मत काट्ने आँकलन गरिएको छ ।

त्यस्तै, जसपा नेपालले पूर्व माओवादी नेता उमेश यादवलाई उम्मेदवार बनाएको छ । उपेन्द्र यादव स्वयं यस पटक सप्तरी–३ बाट उम्मेदवार बनेपछि सप्तरी–२ को जिम्मेवारी उमेश यादवलाई सुम्पिएको हो । उमेश यसअघि संविधानसभा सदस्य र मन्त्री भइसकेका अनुभवी नेता हुन् । २०७० सालमा सप्तरीबाट निर्वाचन जितेका उनी २०७४ र २०७९ मा भने पराजित भएका थिए । यस पटक जसपा, लोसपा र माओवादी पृष्ठभूमिको मत जोड्ने प्रयासमा रहेका उमेश यादवलाई पनि बलियो दाबेदारका रूपमा हेरिएको छ ।

सप्तरी–२ मा राजविराज नगरपालिकासहित महत्वपूर्ण क्षेत्र पर्छन् । यहाँ विगत २०६४ यता कुनै पनि नेताले दोहोर्‍याएर निर्वाचन जित्न सकेका छैनन् । यही ऐतिहासिक प्रवृत्तिले पनि राउतको पुनः जितमाथि प्रश्न उठाएको छ । जनमत पार्टीभित्र देखिएको विभाजन र शीर्ष नेताहरूको पलायनले राउतलाई थप कमजोर बनाएको छ । पार्टीका पूर्व उपाध्यक्ष तथा मन्त्री अब्दुल खान नागरिक उन्मुक्ति पार्टीमा गएका छन् भने अर्का उपाध्यक्ष दीपककुमार साह राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका छन् । यस्तै, जनमतका पूर्व प्रवक्ता डा. शरद यादवले जनअधिकार पार्टी खोलेर राउतविरुद्ध उम्मेदवारी दिएका छन् । यी सबैले राउतको आधार मतमा क्षति पुग्ने अनुमान गरिएको छ ।

राउतमाथि परिवारवाद र नातावादको आरोप पनि निर्वाचनको प्रमुख मुद्दा बनेको छ । दाइ जयकान्त राउत, भाउजु बबिता इशर राउतलगायतलाई विभिन्न पदमा नियुक्त गरेको आरोप विपक्षीले चुनावी हतियार बनाएका छन् । यसबाहेक, राउतको पारिवारिक विवाद समेत सार्वजनिक बहसमा आएको छ, जसलाई प्रतिष्पर्धी दलहरूले प्रचारमा प्रयोग गरिरहेका छन् । यद्यपि, जनमत पार्टीका नेताहरू भने राउत अझै पनि बलियो अवस्थामा रहेको दाबी गर्छन् । संगठनात्मक संरचना, युवामाझ लोकप्रियता, ‘पुराना दलविरुद्ध नयाँ विकल्प’ भन्ने नाराका साथै सरकारमा रहँदा क्षेत्र विकासका लागि गरिएको पहलले राउतलाई फाइदा पुग्ने उनीहरूको तर्क छ ।

यस निर्वाचन क्षेत्रमा कांग्रेस, एमाले, रास्वपा, नेकपा लगायत दलका उम्मेदवार भए पनि मुख्य प्रतिष्पर्धा राउत, सिंह र उमेश यादवबीच नै सीमित हुने देखिन्छ । कांग्रेसबाट रामकुमार यादव, एमालेबाट मो. जियाउल रहमान, रास्वपाबाट रामजी यादव उम्मेदवार भए पनि उनीहरूको प्रभाव सीमित रहेको स्थानीय विश्लेषकहरू बताउँछन् । समग्रमा, एक समय मधेसको ‘सेफ सीट’ मानिएको सप्तरी–२ यस पटक तीन धारमा विभाजित प्रतिष्पर्धाका कारण अनिश्चित बनेको छ । आफ्नै पूर्व सहयात्री र पुराना राजनीतिक शक्तिको घेराबन्दीमा परेका डा. सीके राउत पुनः जनताको विश्वास जित्न सफल हुन्छन् वा २०६४ यताकै परम्परा दोहोरिँदै नयाँ अनुहारले बाजी मार्छ–त्यसको फैसला अब मतदाताको हातमा छ ।

 

 

 

गगन र रवि दलितलाई उम्मेदवार बनाउन ओली–प्रचण्डभन्दा (भिडियोसहित)

<strongकाठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा प्रमुख राजनीतिक दलहरूले दलित समुदायबाट उम्मेदवार बनाउन निकै कञ्जुस गरेको पाइएको छ ।

यसले राजनीतिको मूलधारमा समेत आउन नसकेको उत्पीडित यो समुदायप्रति दलहरू अझैसम्म अनुदार देखिएका छन् । जबकि, दलहरूको घोषणापत्रमा भने समावेशी लोकतन्त्र, समान अवसर र प्रतिनिधित्वको एजेन्डा समेटिएका छन् ।

तर, दलहरूको व्यवहार र घोषणापत्रको प्रतिवद्धताबीच गहिरो अन्तर देखिएको छ । देशको कूल जनसंख्याको १३ प्रतिशत दलित समुदाय छ । यद्यपि, दलहरूले यति ठूलो संख्याको दलित समुदायलाई बेवास्ता गरेको पाइएको छ ।

देशको ठूलो लोकतान्त्रिक दल नेपाली कांग्रेसले एक जना दलित नेतालाई उम्मेदवार बनाएको छ । उनी हुन्– सहमहामन्त्री प्रकाश स्‍नही रसाइली । पूर्वसांसद रसाइलीलाई कांग्रेसले बझाङबाट उम्मेदवार बनाएको हो ।

उनीबाहेक कसैलाई यसपटक कांग्रेसले उम्मेदवार बनाएन । वर्तमान सभापति गगन थापा ती नेता हुन्, जसले धनमानसिंह परियारलाई महामन्त्री बनाउने पार्टी कांग्रेस हो भनेर विगतमा छाती पिटेर गर्व गर्थे ।

कांग्रेस दलित, आदिवासी, मधेसी, मुस्लिम, महिला, पिछडिएका क्षेत्रका नागरिकहरूको पार्टी भएको दाबी गर्थे । तर, उनले यसपटक एक जना मात्रै दलित नेतालाई टिकट दिए । यसबाट उनी दलित समुदायलाई विधायक बनाउने सन्दर्भमा कठोर रहेको देखाएको छ ।

देशभरमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र संख्या १६५ हो । यतिमा एक जना मात्रै दलित उम्मेदवार हुनु भनेको ० दशमलव ६० प्रति मात्रै प्रतिनिधित्व हो ।

मजदुर, गरिब, किसान, दलित र उत्पीडित वर्गको हकअधिकारको वकालत गर्दै आएका वामपन्थी दलहरूको अवस्था पनि कांग्रेसको भन्दा फरक छैन । एमालेले यसपटक दलित समुदायबाट दुई जना मात्रै उम्मेदवार अघि सारेको छ ।

डडेल्धुरामा चक्र स्‍नही र बर्दिया–२ मा विमला विकलाई उम्मेदवार बनाएको छ । अघिल्लोपटक एमालेले छविलाल विश्‍वकर्मालाई उम्मेदवार बनाएको थियो । उनले निर्वाचन जितेका थिए ।

यसपटक उनलाई अध्यक्ष केपी शर्मा ओलीले टिकट दिएनन् । स्नेही र विकलाई दिए । विगतको चुनावी परिणाम हेर्दा यी क्षेत्रहरू एमालेका लागि सजिला मानिँदैनन् ।

यसले दलित उम्मेदवारलाई सुरक्षित वा जित्‍ने सम्भावना कम भएका क्षेत्रमा सीमित गर्ने पुरानै प्रवृत्तिलाई संकेत गर्छ । यद्यपि, एमालेले १ दशमवलव २१ प्रतिशत दलित समुदायको उम्मेदवारीमा प्रतिनिधित्व गरेको छ । यो भनेको कांग्रेसले भन्दा धेरै हो ।

१० वर्षे सशस्त्र द्वन्द्वका क्रममा वर्गीय मुक्ति र समानताको नारा चर्को रूपमा उठाएको माओवादी पृष्ठभूमिको नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले पनि दलित समुदायबाट दुई जना मात्रै उम्मेदवार बनाएको छ ।

कञ्‍चनपुर–३ बाट मानबहादुर सुनार र स्याङ्जा–२ बाट पदम विश्वकर्मा । यो पनि एमालेको जति नै अर्थात् दलित समुदायको १ दशमलव २१ प्रतिशत प्रतिनिधित्व हो ।

तर, देशमा वैकल्पिक भनिएको दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा एमाले र माओवादीभन्दा दलित उम्मेदवार बनाउन कठोर देखिएको छ । यो दलले कांग्रेसले जति नै एक जनालाई मात्रै उम्मेदवार बनाएको छ ।

ती उम्मेदवार हुन् खगेन्द्र सुनार । उनी बाँके–३ मा उम्मेदवार छन् । यसले नयाँ भनिएका दल रास्वपा पनि दलित समुदायबाट उम्मेदवार बनाउन अनुउदार देखिएको हो ।

यसले संविधानले समावेशी लोकतन्त्रको मार्गचित्र कोरे पनि राजनीतिक दलहरूको व्यवहार त्यसअनुसार रूपान्तरण हुन नसकेको देखाउँछ । त्यसमा नयाँ र पुराना कुनै दलमा तात्विक भिन्‍नता देखिएको छैन ।

दक्षिण कोरियाका पूर्व प्रधानमन्त्री हानलाई २३ वर्षको जेल सजाय

सोल । दक्षिण कोरियाका पूर्व प्रधानमन्त्री हान डक–सूलाई महाभियोग लागेका पूर्व राष्ट्रपति युन सुक–योलको विद्रोहमा सहयोग र दुरुत्साहन गरेको अभियोगमा बुधवार २३ वर्षको जेल सजाय सुनाइएको छ । सियोल सेन्ट्रल डिस्ट्रिक्ट कोर्टले युनको मार्शल ल (सैनिक शासन) घोषणासँग सम्बन्धित विद्रोहका महत्वपूर्ण कार्यहरूमा संलग्न भएको र विद्रोहलाई बढावा दिएकोमा हानलाई उक्त सजाय सुनाएको हो ।

युनको विद्रोह र अन्य आरोपहरूको अनुसन्धान गर्ने स्वतन्त्र काउन्सिल चो युन–सुकको टोलीले १५ वर्षको जेल सजाय माग गरेको थियो । अदालतले सन् २०२४ डिसेम्बर ३ मा युनले घोषणा गरेको संकटकालीन मार्शल ल संवैधानिक व्यवस्थालाई उल्ट्याउने उद्देश्यले गरिएको विद्रोह भएको पुष्टि गरेको छ । हानले अवैध मन्त्रिपरिषद् बैठक बोलाएर अवैध मार्शल ललाई वैधताको प्रक्रियागत आवरण प्रदान गर्न मद्दत गरेको अदालतले औंल्याएको छ ।

यदि हानले प्रधानमन्त्रीको रूपमा आफ्नो कर्तव्य पूरा गरेको भए विद्रोह रोक्न सकिने उल्लेख गर्दै अदालतले उनले आफ्नो सुरक्षाका लागि मार्शल लसँग सम्बन्धित कागजातहरू लुकाएको र मार्शल ललाई कानुनी प्रक्रिया पछ्याएको जस्तो देखाउन कागजातहरू किर्ते गरी नष्ट गरेको ठहर गरेको छ । फैसला लगत्तै अदालतले प्रमाण नष्ट गर्ने जोखिम रहेको भन्दै हानलाई अदालतबाटै हिरासतमा लिन आदेश दिएको छ । युनको विद्रोह सम्बन्धी मुद्दाको पहिलो चरणको फैसला फेब्रुअरी १९ का लागि तय गरिएको छ ।

 

सानेपा प्रवेश गर्दै कांग्रेस सभापति थापा, भोलि पार्टी कार्यालयमै बैठक

काठमाडौं । लामो समयदेखि देखिएको आन्तरिक विवाद र आधिकारिकताको अन्योलपछि नेपाली कांग्रेसको नयाँ नेतृत्व पार्टी केन्द्रीय कार्यालय सानेपामा औपचारिक रूपमा प्रवेश गर्ने भएको छ । विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाको नेतृत्वमा केन्द्रीय कार्यसमिति शुक्रबार पहिलोपटक सानेपामै बैठक बस्न लागेको हो ।

पुस ३० गते सम्पन्न विशेष महाधिवेशनबाट गगन थापा सभापति चयन भए पनि पार्टीभित्रको किचलो र निवर्तमान नेतृत्वको असन्तुष्टिका कारण नयाँ कार्यसमिति अहिलेसम्म केन्द्रीय कार्यालय जान सकेको थिएन । यस अवधिमा बसेका दुई वटा केन्द्रीय कार्यसमिति तथा संसदीय बोर्डका बैठकहरू पार्टी कार्यालयबाहिर होटल र पार्टी प्यालेसहरूमा आयोजना गरिएका थिए ।

पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार शुक्रबार सभापति थापासहित केन्द्रीय कार्यसमितिको टोली सानेपा जाने र सोही दिन कार्यालयमै केन्द्रीय समिति बैठक बस्ने तयारी गरिएको छ । ‘सभापति ज्यूको नेतृत्वमा हामी भोलि केन्द्रीय कार्यालय सानेपा जान्छौं र त्यहीँ केन्द्रीय समिति बैठक बस्छ’, उनले बताए ।

यद्यपि, प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा अधिकांश केन्द्रीय नेताहरू आ–आफ्ना निर्वाचन क्षेत्रमा खटिएकाले शुक्रबारको बैठकमा काठमाडौं उपत्यकामा उपलब्ध सदस्यहरू मात्र सहभागी हुनेछन् । विशेष महाधिवेशनलाई लिएर देखिएको विवादका बीच निर्वाचन आयोगले उक्त महाधिवेशनलाई मान्यता दिएपछि थापा नेतृत्वको कार्यसमितिले औपचारिक रूपमा काम गर्न पाउने बाटो खुलेको थियो । आयोगको निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्का पक्षले सर्वोच्च अदालतमा रिट दायर गरे पनि सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो ।

यसअघि देउवा पक्षधर नेपाल तरुण दलका नेता तथा कार्यकर्ताहरूले विरोधस्वरूप केही दिन केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएका थिए । तर, पछिल्लो समय तरुण दलका अध्यक्ष विद्वान गुरुङले सबै कार्यकर्तालाई चुनावी अभियानमा केन्द्रित हुन निर्देशन दिएपछि उनीहरूले कार्यालय खाली गरिसकेका छन् । विशेष महाधिवेशनपछि पहिलो पटक सभापति गगन थापाको उपस्थितिमा सानेपामै केन्द्रीय समिति बैठक बस्न लाग्नु कांग्रेसभित्रको शक्ति सन्तुलन र संगठनात्मक गतिविधिमा नयाँ चरणको सुरुवातका रूपमा हेरिएको छ ।

 

नेदरल्यान्ड्सले दियो नेपाललाई १४१ रनको लक्ष्य

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा नेदरल्यान्ड्सले नेपाललाई जितका लागि १४१ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार बिहान टस जिती पहिले ब्याटिङको निर्णय लिएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ४० रन बनाएको हो । दुवै ओपनरलाई सस्तैमा गुमाएको नेदरल्यान्ड्सका लागि तेस्रो नम्बरमा क्रिज समाल्न आएकी कप्तान बाबेट डे लिडले उत्कृष्ट पाली खेलिन् ।

उनी केवल एक रनका कारण अर्धशतक पूरा गर्नबाट चुकिन् । उनले टोलीका लागि ४९ रनको योगदान गरिन् । यसक्रममा उनले ४७ बलको सामना गरी ६ चौका पनि हिर्काइन् । चौथो नम्बरकी ब्याटर स्टेर कालिसले पनि टोलीको खातामा महत्वपूर्ण ३० रन थपिन् । पेभेलियन फर्किनुअघि उनले ३४ बलमा दुई चौका प्रहार गरिन् ।

नेदरल्यान्ड्सले १५ रनको कुल स्कोरमै दुवै ओपनरलाई गुमाएको थियो । त्यसपछि कप्तान बाबेट डे लिड र स्टेर कालिसले टोलीको स्कोरलाई ९४ रनको सम्मानजनक स्थितिमा पुर्‍याएका थिए । ओपनर हिथर सिजर्स १३ रन बनाउँदै आउट भएकी थिइन् भने अर्की ओपनर फेब मोल्केनबोयरले खातासम्म खोल्न सकिनन् ।

पाँचौं नम्बरमा क्रिज समाल्न आएकी रोबिन रिजकेले अविजित १९, फ्रेडरिक ओभरडिकले पाँच र आइरिस ज्विलिङले अविजित १४ रन बनाए । नेदरल्यान्ड्सले अतिरिक्त रुपमा पनि १० रन पायो । नेपाली टोलीका बलर रुविना क्षेत्रीले दुई विकेट लिइन् । सुमन बिष्ट, पूजा महतो र रिया शर्माले पनि एक–एक विकेट हात पारे ।

छनोट प्रतियोगिताको समूह ‘बी’ मा रहेको नेपाली टोलीले खेलिरहेको यो दोस्रो खेल हो । आफ्नो पहिलो खेलमा भने नेपाली टोली थाइल्यान्डसँग आठ विकेटले पराजित भएको थियो । नेदरल्यान्ड्सले भने आफ्नो तेस्रो खेल खेलिरहेको हो । नेदरल्यान्ड्सको टोली अघिल्ला दुवै खेलमा विजयी भएको थियो ।

आफ्नो पहिलो खेलमा जिम्बाब्वेलाई २२ रनले पराजित गरेको नेदरल्यान्ड्सको टोलीले दोस्रो खेलमा स्कटल्यान्डमाथि सात रनको रोमाञ्चक जित हासिल गरेको थियो । समूह ‘बी’ तालिकामा चार अंकसहित थाइल्यान्ड पहिलो र समान अंक बटुलेको नेदरल्यान्ड्स दोस्रो स्थानमा आसिन छन् । तालिकाको तेस्रो स्थानमा आसिन स्कटल्यान्डले एक खेल खेले पनि अंक बटुल्न सकेको छैन । दुवै खेलमा पराजित भएको जिम्बाब्वे चौथो र एक खेल खेलेको नेपाल पाँचौं स्थानमा छन् ।

 

 

धितो न जमानीको मान्छेलाई भोट दिएर मत खेर नफाल्नुस् : ओली (भिडियोसहित)

झापा । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले धितो न जमानीको मान्छेलाई मत दिएर आफ्नो मत खेर नफाल्न आग्रह गरेका छन् । झापामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो आग्रह गरेका हुन् ।

बैंकले नोट छाप्दा धितो जमानी बिना नछाप्ने भन्दै भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्न नहुने जिकिर गरे । नचिनेको मान्छेलाई २०६४ सालमा मत दिँदा विकासमा पछि परेको स्मरण गर्न आग्रह गरे । आफूले महोत्तरीस्थित राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहको घरअघि सडक, पुल निर्माण गरिदिएको तर झापामा साहले के गरेका छन् ? भन्दै प्रश्न गरे ।

साहले काठमाडौंका सुकुम्वासीहरुको उठिवास गराएको देखेर झापाका सुकुम्वासीहरुले आफूलाई झापाबाट पनि भगाउने हुन् की भन्ने डर पैदा भएको गुनासो गरेको बताए । हरेक निर्वाचन क्षेत्रमा पर्यटक उम्मेदवारलाई नभइ स्थानीय उम्मेदवारलाई मतदान गरेर जिताउनु पर्ने बताए । उनले नेकपा एमाले बहुमत ल्याउन, सांसद बन्न, मन्त्री, प्रधानमन्त्री बन्नका लागि मात्रै नभइ देश जोगाउन, शान्ति सुव्यवस्था कायम गर्नका लागि र संविधानलाई लयमा ल्याउनका लागि संघर्ष गरिरहेको पनि बताए ।

उनले भने, ‘हामी बहुमत ल्याउने, सांसद बन्ने, मन्त्री, प्रधानमन्त्री बन्ने त्यसका लागि बल गरिरहेका छैनौं । यो देश जोगाउनका लागि, यो देशमा शान्ति, सुव्यवस्था कायम गर्न, यो देशमा सुशासन र विकास ल्याउनका लागि, यो देशमा संविधानलाई ट्रयाकमा ल्याउनका लागि, यो देशमा लोकतन्त्र स्थापना, पुनःस्थापना र सुदृढ बनाउनका लागि आज हामी संघर्ष गरिरहेका छौँ । हाम्रो युवाहरुले बुझ्नुपर्दछ । हाम्रो दाजुभाई दिदिबहिनीहरुले बुझ्नु पर्दछ ।’

उनले भने, ‘पोहोर परार २०६४ सालमा एक पटक चल्यो । ०६४ सालमा एमालेलाई धेरै पटक भोट दियौँ अब एक पटक नयाँलाई भनेर । नयाँलाई भोट दिइसकेपछि त्यसको स्वाद यस्तो तीतो, यस्तो अमिलो, न जिब्रो पखाल्दा जान्छ, न अरु केही गर्दा । ०६४ देखि न एक सिन्का विकास भयो । न जनतासँग सम्पर्क छ, न एउटा कुनै वरको सिन्को पर सर्दैन, सिन्को भाँचिदैन । विकास हुँदैन । जसले गर्दा विकासको काम फेरि पछाडि पर्‍यो । अहिले पनि म अलिअलि सुन्छु नयाँ । नयाँ को भन्दा चिनेको जानेको छैन । बैंकले नोट छाप्दा धितो जमानी बिना छाप्दैन । यहाँ भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्नु हुन्छ ? खोज्दै कहाँ जानुहुन्छ, घर देख्नु भएको छ ?’

अध्यक्ष ओलीले भने, ‘हामी त कमसेकम के भन्न सक्छौँ भने मैले यहाँ खुशीसाथ आएका उम्मेदवार यो ठाउँमा केही पनि छैन । राष्ट्रियस्तरमा भिजन भएको पनि होइन । उहाँले यहाँ के गर्ने ? उहाँको घर अघिको बाटो मैले पक्की बनाइदिएको छु । मैले उहाँको घर अघिको बाटोमा पुल हालिदिएको छु । उहाँको महोत्तरी जिल्ला क्षेत्र नम्बर ३ को मटियानीबाट जनकपुर जाने बाटोमा त्यहाँ पुल हालिदिएको छु । हामी त गर्छौं त । कुनै काम गरेको छैन, कुनै काम देखाएको छैन । सुकुम्बासी साथीहरुले भन्दै थिए, सुकुम्बासी भत्काउने अरे, डोजर लगाउने अरे । कोको मान्छे पो आएका छन् भनेर डर लाग्यो भन्दै थिए ।’ अध्यक्ष ओलीले बालेन्द्र साह उम्मेदवार मात्रै हुन गएको र त्यसले केही नबिग्रिने बताए । सामाजिक सञ्जालको तुवाँलोले फिँजाएको भ्रमबाट मुक्त हुन पनि आग्रह गरे ।

 

झापाका उम्मेदवार बालेन इलाममा {तस्वीरहरू}

काठमाडौं । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको सरगर्मी बढ्दै जाँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह चुनावी प्रचारमा सक्रिय भएका छन् । पार्टीका उम्मेदवारको पक्षमा जनमत सिर्जना गर्न र चुनावी प्रचारप्रसारलाई तीव्रता दिन उनी बिहीबार इलाम पुगेका हुन् । इलाम पुगलगत्तै नेता शाहले विभिन्न क्षेत्रमा घरदैलो अभियान सुरु गरेका छन् । उनले इलामका मुख्य बजारदेखि गाउँवस्तीसम्म पुगेर मतदाताहरूसँग प्रत्यक्ष संवाद गरिरहेका छन् ।

यसअघि नेता शाहले गत मंगलबार झापा क्षेत्र नं. ५ मा आफ्नो उम्मेदवारी दर्ता गराएका थिए । उम्मेदवारी दर्तापछि बुधबार दिनभर उनले झापाका विभिन्न टोलमा पुगेर मतदातासँग भेटघाट र छलफल गरेका थिए । झापाको कार्यक्रम सकेर उनी छिमेकी जिल्ला इलामको चुनावी अभियानमा केन्द्रित भएका हुन् । त्यहाँ उनले इलाम–१ का रास्वपा उम्मेदवार विमल गदाल र इलाम–२ का उम्मेदवार गोकुलबहादुर राईसँग इलाम बजारमा भेट गरेको बालेनको सचिवालयले जनाएको छ ।

हेर्नुस् तस्वीर

ओलीले आज झापा–५ को दक्षिणी भेगका कार्यकर्ता भेट्दै, अलग–अलग छलफल

झापा । पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज झापा निर्वाचन क्षेत्र नम्बर ५ का दक्षिणी भेगका कार्यकर्तासँग प्रत्यक्ष भेटघाट गर्दैछन् । गौरादह नगरपालिका–५ स्थित स्कूलचोकको नमुना कृषि खेतीको सभाहलमा आयोजना हुने कार्यक्रममा ओलीले प्रत्येक वडा कमिटीसँग अलग–अलग छलफल गर्ने कार्यक्रम तय गरिएको छ ।

जिल्ला पार्टी सचिव तुलसी कार्कीका अनुसार गौरादह नगरपालिकाका ८ वटा र गौरीगञ्ज गाउँपालिकाका ६ वटा वडाका वडा कमिटीसँग ओलीले छुट्टाछुट्टै संवाद गर्नेछन् । छलफलमा वडाका पदाधिकारी तथा सदस्यहरूले मतदाताको मनोविज्ञान, विकासको अवस्था र पार्टी संगठनको वर्तमान गतिविधिबारे अध्यक्ष ओलीलाई जानकारी गराउने छन् ।

त्यस्तै, ओलीले कार्यकर्ताका गुनासा सुन्ने, पार्टीको नीति, देशको समसामयिक आवश्यकता र झापा–५ मा आफूले गरेको योगदानबारे स्पष्ट पार्ने तयारी गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट बालेन्द्र शाह (बालेन) को उम्मेदवारी चर्चामा आएपछि झापा–५ को राजनीतिक माहोल थप तातिएको छ, जसलाई ओलीको यो सक्रियतासँग जोडेर हेरिएको छ ।

अध्यक्ष ओलीले आजै ‘जेन जी आन्दोलन’ का क्रममा आगजनी र तोडफोड भएका संरचनाको पनि निरीक्षण गर्ने कार्यक्रम रहेको छ । उक्त आन्दोलनमा गौरादह नगरपालिका कार्यालयसहित वडा नम्बर १, २ र ७ का कार्यालय, मुख्यमन्त्री हिक्मत कार्की, गौरादहका मेयर छत्रपति सुवेदी र उपमेयर जलवर्षा राजवंसीको निवासमा आगजनी गरिएको थियो ।

यसअघि ओलीले मंगलबार र बुधबार दमक नगरपालिका र कमल गाउँपालिकाका वडा कमिटीसँग पनि अलग–अलग छलफल गरिसकेका छन् । यस पटक प्रत्येक वडा कमिटीसँग छुट्टै भेटघाट गर्ने व्यवस्थाले संगठन सुदृढीकरण र चुनावी तयारीलाई थप तीव्र बनाउने एमालेको अपेक्षा छ ।

कुलेखानी सडकमा खोल्सामा खस्यो बोलेरो, सहचालकको मृत्यु

काठमाडौं । कुलेखानी–काठमाडौँ सडक खण्डअन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका– २ सिमखोला पुल नजिक बोलेरो गाडी दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता पुष्कर बोगटीका अनुसार सर्लाहीबाट काठमाडौं आउँदै गरेको मधेस प्रदेश ०३–००१ च ६७२१ नम्बरको गाडी गए राति १ बजे दुर्घटना भएको थियो । कुखुरा लोड भएको उक्त गाडीको ब्रेक फेल भएर अनियन्त्रित भई सडकबाट ५÷७ मिटर तलको खोल्सामा खसेको थियो ।

गाडीमा चालकसहित ३ जना सवार रहेकोमा तीनै जना घाइते भएका थिए । चालक सर्लाही बहरथवा नगरपालिका–१ का २५ वर्षीय रामवलि साह, दुई सहयोगीहरू १७ वर्षीय रोहन मण्डल र १६ वर्षीय छोटे पासवान घाइते भएका थिए ।

उनीहरूलाई उपचारका लागि एम्बुलेन्समा काठमाडौं पठाइएको थियो । डिएसपी बोगटीका अनुसार गम्भीर घाइते भएका रोहन मण्डलको उपचारकै क्रममा पौने ५ बजे मृत्यु भएको हो । बाँकी दुई जनाको काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ । गाडीमा ५०० कुखुरा रहेको ३०० वटा मरेको पनि प्रहरीले जनाएको छ ।

काठमाडौं-५ मा राजनीतिका अनुभवी हस्तीलाई युवा उम्मेदवारले दिँदैछन् चुनौती

काठमाडौं। पुराना पार्टीले अघि सारेका ‘हेभिवेट’ उम्मेदवारका विरूद्ध नयाँ पार्टीका युवा प्रतिस्पर्धामा उत्रिने भएपछि काठमाडौं-५को चुनावी प्रतिस्पर्धा रोचक हुने भएको छ ।

फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा यहाँ एमालेका ईश्‍वर पोखरेल, कांग्रेसका प्रदीप पौडेल र राप्रपाका कमल थापा उम्मेदवार बनाउँदा उनीहरूलाई चुनौती दिन रास्वपाले जेन-जी उमेर समूहका सस्मित पोखरेललाई उम्मेदवार बनाएको छ । देशभरिमा दुई मात्रै प्रत्यक्ष उम्मेदवारी दिएको गतिशील लोकतान्त्रिक पार्टीले नायिका निशा अधिकारीलाई अघि सारेको छ ।

यो पटक काठमाडौं–५ मा मुख्य प्रतिष्पर्धा नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री प्रदीप पौडेल र नेकपा एमालेका वरिष्ठ नेता ईश्‍वर पोखरेलबीच हुने देखिएको छ। 

नेपाली कांग्रेसका पौडेल हालै सम्पन्‍न नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित भएका हुन् । २०६२-६३ को जनआन्दोलनका क्रममा नेविसंघबाट सक्रिय भूमिका खेलेका पौडेल गगन थापा र विश्‍वप्रकाश शर्माजस्ता नेताहरूसँगै राजनीतिमा उदाएका पात्र हुन् ।

नेविसंघको राजनीतिमा गगन थापाभन्दा सिनियर भए पनि पछिल्लो समय उनी गगनलाई आफ्नो नेता मानेर कांग्रेसको राजनीति गरिरहेका छन् । कांग्रेसका युवा नेताका रुपमा चिनिएका पौडेल जेन-जी आन्दोलन हुँदासम्म केपी शर्मा ओली सरकारमा स्वास्थ्यमन्त्री थिए । युवा नेताको पहिचानका बावजुद पनि सरकारमा सहभागी भएको हुनाले उनले जेन-जी आन्दोलनमा भएको दमनबारे प्रश्‍नको सामना गर्नुपर्ने हुन सक्छ । 

२०७९ को निर्वाचनमा पौडेलले यही क्षेत्रबाट एमाले नेता पोखरेललाई हराएका थिए । यसअघि  २०७० को संविधानसभा निर्वाचन र २०७४ को प्रतिनिधिसभा निर्वाचनमा भने पोखरेल यही क्षेत्रबाट निर्वाचित भएका थिए। उनी यसपटक संसदमा पुनारागमनको प्रयासमा हुनेछन् ।

एमाले पूर्ववरिष्ठ उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री पोखरेल पनि लामो संसदीय अनुभव बोकेका नेता हुन् । २०४८ सालदेखि भएका अधिकांश संसदीय निर्वाचनमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न रहेका पोखरेल पटकपटक मन्त्री भइसकेका व्यक्ति हुन् ।

२०६१ सालमा राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनको समयमा गठन गरिएको शाही आयोगले उनीमाथि पानी ट्यांकीमा पैसा लुकाएको भन्दै छानबिन अघि बढाएको थियो । तर, पछि शाही आयोग नै अवैधानिक भन्दै खारेज भएपछि यो मुद्धा अघि बढेन । कोभिड महामारीको समयमा उनी रक्षामन्त्री थिए । यतिबेला चीनबाट सेनाले खरिद गर्ने स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको भन्दै उनको नाम पनि जोडिएको थियो । 

जेन-जी आन्दोलनपछि एक वर्ष अगाडि नै भएको एमाले महाधिवेशनमा पोखरेलले एमालेको अध्यक्षका लागि केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गरेका थिए । एमालेको सांगठनिक मत राम्रै भए पनि २०७९को निर्वाचनमा नै पराजति भएका पोखरेललाई युवा उम्मेदवारलाई पन्छाएर जित हासिल गर्न सहज हुने देखिँदैन ।

राप्रपाका कमल थापा संसदीय राजनीतिका चतुर खेलाडी मानिन्छन्। निरन्तर चुनाव हारे पनि मन्त्री पदमा पुग्‍न सिपालु थापालाई कुनै समय ‘संसदीय राजनीतिका मुसा’  उपनाम दिइएको थियो । पञ्‍चायतकालको अन्तिम कालखण्डमा युवा राज्यमन्त्री भएर सत्ताको भर्‍याङ चढ्न थालेका थापा बहुदलमा पनि चाँडै फिट भइहाले । पूर्वपञ्‍चहरूले खोलेको राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उनी २०५२ को शेरबहादुर देउवा सरकारमा फेरि मन्त्री भएका थिए । यसपछि पार्टी फुटाएरै भए पनि उनी मन्त्री भएको चर्चा छ । उनी लगभग एक दर्जनपटक मन्त्री भइसकेका छन् ।

थापाले २०४८ सालयताका सबै सातवटा संसदीय निर्वाचन लडेका छन्, तर २०५१ को मध्यावधिबाहेक अरु सबै ६ वटा निर्वाचन हारे । आफूलाई कट्टर राजावादी दाबी गर्ने उनी गत निर्वाचनमा कट्टर कम्युनिष्ट बताउने एमालेको चिह्‍न ‘सूर्य’ बाट चुनाव लड्दा पनि पराजित भए। त्यतिबेला उनी आफ्नै राजनैतिक चेला, राप्रपाका उम्मेदवार दीपककुमार सिंहसँग पराजित भए।

यसअघि गृहजिल्ला मकवानपुरलाई आफ्नो क्षेत्र बनाउँदै आएका थापा यसपटक काठमाडौं सरूवा भएका हुन् । ६ वटा चुनाव हारेका उनका लागि प्रदीप पौडेल, ईश्‍वर पोखरेलजस्ता जनाधार भएका पार्टीका हस्ती र सस्मित पोखरेलजस्ता युवा उम्मेदवारसँगको भिडन्त फलामे चिउरा चपाउनु बराबर छ । यसअघि पार्टी फुटाएकाले असन्तुष्ट भएका राप्रपाकै मतदातालाई पनि रिझाउनुपर्ने चुनौती उनलाई छ ।

मुख्य दुई दलसँगै अन्य दलका उम्मेदवारहरूले पनि प्रतिस्पर्धालाई त्रिकोणात्मक बनाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सस्मित पोखरेल उम्मेदवार बनेका छन्। काठमाडौं–५ मै जन्मिएर विद्यालय तहको शिक्षा पूरा गरेका उनी स्थानीय समुदायसँग गहिरो सम्बन्ध राख्‍ने युवा नेता हुन्। उनी पहिलोपटक संसदीय चुनावमा होमिएका छन्।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनको सचिवलायमा काम गरेका उनी बालेनका रणनीतिक सल्लाहकारसमेत थिए । प्रविधि र सामाजिक सञ्‍जालमा पोख्त सस्मितले २०७९ को स्थानीय तह निर्वाचनमा शाहको चुनावी अभियानमा काम गर्दाको अनुभवलाई यसपटक आफ्नै संसदीय यात्राका लागि प्रयोग गर्नेछन् ।

सांगठानिक र राजनीतिक अनुभव नभएका पोखरेल रास्वपाको पक्षमा देखिएको जनलहर र युवा अनुहारकै बलमा राजनीतिका तीन हस्तिलाई पछार्ने दाउमा छन् ।

त्यस्तै, वीरेन्द्रबहादुर बस्‍नेत संरक्षक रहेको गतिशील लोकतान्त्रिक पार्टी (गलोपा) ले नायिका निशा अधिकारीलाई उम्मेदवार बनाएको छ। देशभरिमा दुई मात्रै उम्मेदवार उठाएको गतिशील लोकतान्त्रिक पार्टीले नायिका अधिकारीका लागि काठमाडौं ५ छानेको हो ।  ३० भन्दा बढी चलचित्रमा अभिनय गरिसकेकी अधिकारीले राजनीतिमार्फत आगामी १० वर्ष देशका लागि सेवा गर्ने लक्ष्यसहित उम्मेदवारी दिएको बताएकी छन्।

नेकपाबाट युवा नेता कल्पना शर्मा उम्मेदवार बनेकी छन्, जो तत्कालीन विद्रोही माओवादी पृष्ठभूमिबाट राजनीतिमा स्थापित भएकी हुन्।

यसरी, पुराना र नयाँ अनुहारहरूको रोचक भिडन्त बनेको काठमाडौं–५ मा कसले बाजी मार्ला ? यसको उत्तरको लागि फागुन २१ लाई पर्खिनैपर्छ ।

 

माधव नेपालले चुनाव जिते पनि संसद छिर्न कानुनी ‘जटिलता’

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सह–संयोजक माधवकुमार नेपालले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि रौतहट निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दर्ता गराएका छन् । तर उनको उम्मेदवारीसँगै गम्भीर कानुनी र राजनीतिक बहस सुरु भएको छ, किनकी उनी विजयी भए पनि सांसदका रूपमा पूर्ण अधिकार प्रयोग गर्न नपाउने अवस्थामा छन् ।

कानुनअनुसार भ्रष्टाचार मुद्दामा अन्तिम फैसला भई सजाय पाएका व्यक्तिलाई मात्र उम्मेदवार बन्न रोक लाग्छ । माधव नेपालविरुद्धको मुद्दा भने हाल विशेष अदालतमा विचाराधीन अवस्थामा रहेकाले उनी उम्मेदवार बन्नबाट कानुनी रूपमा रोकिएका छैनन् । तर, यही मुद्दाका कारण उनी संसदमा सक्रिय भूमिका निर्वाह गर्न नपाउने स्पष्ट व्यवस्था छ ।

भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३३ अनुसार कुनै राष्ट्रसेवकमाथि भ्रष्टाचार मुद्दा दर्ता भएमा मुद्दा किनारा नलागेसम्म स्वतः निलम्बनमा रहने प्रावधान छ । ऐनले सार्वजनिक पद धारण गर्ने र विधायकी पदमा रहेका व्यक्तिलाई पनि राष्ट्रसेवककै परिभाषाभित्र समेटेको छ । यसका आधारमा नेपाल सांसदमा निर्वाचित भए पनि संसदका बैठकमा सहभागी हुन, कानुन निर्माण प्रक्रियामा मत दिन, वा प्रधानमन्त्री चयनका लागि हुने संसदीय निर्वाचनमा भाग लिन पाउने छैनन्। मन्त्री वा प्रधानमन्त्री बन्नसमेत उनी कानुनी रूपमा अयोग्य हुनेछन् ।

नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली योगपीठसँग सम्बन्धित जग्गा हिनामिना प्रकरणमा विशेष अदालतमा मुद्दा दायर गरेको हो । उक्त मुद्दामा अख्तियारले १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो मागदाबी गरेको छ । २०६६ सालमा नेपाल प्रधानमन्त्री हुँदा मन्त्रिपरिषद्को निर्णयबाट हदबन्दी छुटमा रहेको जग्गा खरिदका लागि दिइएको स्वीकृतिलाई आधार मानेर अख्तियारले मुद्दा अघि बढाएको हो । यसअघि २०८२ जेठ ३० गते माधव नेपाल निलम्बनमा परेको सूचना सभामुख देवराज घिमिरेले प्रतिनिधि सभामा औपचारिक रूपमा सुनाएका थिए । २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा भने नेपाल रौतहट–१ बाट ३३ हजार ५ सय २२ मतसहित निर्वाचित भएका थिए ।

यता, उनको पुनः उम्मेदवारी दर्ताविरुद्ध निर्वाचन आयोगमा उजुरी पनि परेको छ । रौतहट–१ कै उम्मेदवार राम नरेश राय यादवले पतञ्जली जग्गा प्रकरणमा मुछिएका नेपाल उम्मेदवार बन्न अयोग्य रहेको दाबी गर्दै उम्मेदवारी खारेजीको माग गरेका हुन् । उजुरीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा १७ र भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३३ उल्लेख गर्दै, मुद्दा विचाराधीन र निलम्बनको अवस्थामा रहेका व्यक्तिले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ अनुसार उम्मेदवार बन्न नपाउने तर्क प्रस्तुत गरिएको छ । माधव नेपालको उम्मेदवारी कायम रहने वा खारेज हुने भन्ने विषय अब निर्वाचन आयोगको निर्णयमा निर्भर छ । तर, उम्मेदवारी स्वीकृत भए पनि जितपछिको भूमिकामा गम्भीर कानुनी अवरोध रहने भएकाले रौतहट–१ को निर्वाचन मात्र होइन, समग्र राष्ट्रिय राजनीतिमा समेत यो विषय चर्को बहसको केन्द्र बनेको छ ।

पतञ्जली जग्गा प्रकरणमा नेपालसहित प्रतिवादीको मुद्दामा मिसिल झिकाउन आदेश
विशेष अदालतले पतञ्जली योगपीठ जग्गा प्रकरणमा दायर भ्रष्टाचार मुद्दामा मिसिल झिकाउने आदेश गरेको छ । पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल समेत प्रतिवादी रहेको मुद्दामा बुधबार विशेष अदालतले मिसिल झिकाउने आदेश गरेको हो। न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र हेमन्त रावलको इजलाशले उक्त आदेश गरेको हो । हदबन्दीभन्दा बढी जग्गा खरिद बिक्री गर्ने तत्कालीन मन्त्रिपरिषद्ले पतञ्जली योग पीठलाई स्वीकृति दिएर राज्यलाई हानी नोक्सानी पु¥याएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रधानमन्त्री नेपालसहित विभिन्न व्यक्तिलाई प्रतिवादी बनाएर भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

 

 

 

ओलीको दावी : एमालेले ७० प्रतिशत मत ल्याएर जित्छ, बालेन उम्मेदवार बनेर फर्किन्छन्

झापा । पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापालाई केन्द्रमा राख्दै नयाँ राजनीतिक शक्तिमाथि कडा टिप्पणी गरेका छन् । झापाको युवा भेलालाई सम्बोधन गर्दै उनले रास्वपाका वरिष्ठ नेता बालेन शाहलाई लक्ष्य गर्दै राष्ट्रिय भिजनको अभाव रहेको आरोप लगाएका छन् । ओलीका अनुसार बालेन झापा–५ मा उम्मेदवार बन्ने बाहेक देशव्यापी जिम्मेवारी वहन गर्नसक्ने अवस्थामा छैनन् ।

ओलीले नयाँ अनुहार भन्दैमा जनताले आँखा चिम्लेर विश्वास नगर्ने स्पष्ट पारे । उनले भने, ‘बैंकले पनि धितो बिना नोट छाप्दैन, अनि यहाँ भोट हाल्दा न चिनिएको, न जिम्मेवारी बोकेको व्यक्तिलाई कसरी विश्वास गर्ने ? भोलि खोज्न परे कहाँ जाने ?’ झापासँग बालेनको प्रत्यक्ष सम्बन्ध नरहेको दाबी गर्दै उनले स्थानीय उत्तरदायित्व बिना उम्मेदवारी दिनु अर्थहीन हुने बताए ।

पूर्व प्रधानमन्त्री ओलीले विकासका उदाहरण दिँदै आफूले बालेनको घर अगाडिको बाटो समेत बनाइ दिएको दाबी गरे । साथै, महोत्तरीको मटियारीदेखि जनकपुरसम्मको बाटो र पुल निर्माणमा पनि आफ्नो भूमिका रहेको उल्लेख गरे । बालेनमाथि आरोप लगाउँदै उनले भने, ‘खोला किनारमा बसेका बस्ती भत्काउने, कवाडीलाई गरिखान नदिने जस्ता कुरा गरेर विकास हुँदैन ।’

यही क्रममा ओलीले आगामी निर्वाचनमा एमालेको अवस्था बलियो रहेको दाबी दोहो¥याए । उनले ७० प्रतिशत मतसहित एमाले विजयी हुने दाबी गर्दै कांग्रेस कमजोर अवस्थामा रहेको र पूर्व माओवादीका धेरै मतदाता पनि एमालेतर्फ आकर्षित भएको बताए । झापाको कमल गाउँपालिकामा कार्यकर्तासँगको भेटमा उनले विकास, रूपान्तरण र जनआधारका हिसाबले सिंगो क्षेत्र एमालेको पक्षमा एकजुट रहेको बताए ।

ओलीले पछिल्लो समय देखिएका आन्दोलन र गतिविधितर्फ संकेत गर्दै राजनीतिलाई अपराधीकरणबाट जोगाउनु पर्ने बेला आएको बताए । गत भदौमा भएको आन्दोलनमा राजनीतिकभन्दा बढी आपराधिक गतिविधि भएको उनको टिप्पणी थियो । ‘केही मृत्यु आन्दोलनका क्रममा भए, तर धेरैजसो आपराधिक क्रियाकलापकै कारण भए’, उनले भने ।

उनले देशमा अस्थिरता सिर्जना गर्ने प्रयास भइरहेको आरोप लगाउँदै बाह्य शक्तिको चलखेलबाट नेपाललाई जोगाउनुपर्ने बताए । ‘हामीले भनेको मान्नुपर्छ भनेर दबाब दिन खोज्ने पनि आउलान्, तर त्यस्तो दबाब स्वीकार हुँदैन’, ओलीको भनाइ थियो । कांग्रेस–एमाले मिल्न नदिने र देशमा विदेशी प्रभाव रोक्ने प्रयासकै कारण यस्ता गतिविधि बढेको उनको दाबी छ ।

भ्रष्टाचार मुद्दामा संगीता मिश्रासँग पाँच लाख धरौटी माग

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी पूर्व अतिरिक्त सचिव संगीता कौशल मिश्रासँग विशेष अदालतले पाँच लाख धरौटी माग गरेको छ । स्वास्थ्य उपकरण खरिदमा अनियमितता गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा दायर मुद्दामा विशेषले बुधबार मिश्राविरुद्ध ५ लाख धरौटी मागेको हो ।

१ कात्तिक २०८२ मा अख्तियारले मिश्रासहित १४ जनाविरुद्ध १४ करोड ६ लाख ८५ हजार ५ सय रुपैयाँ बिगो मागदाबीसहित विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । उक्त मुद्दामा थुनछेक बहसपछि विशेषका न्यायाधीश नारायण पौडेल, डिल्लीरत्न श्रेष्ठ र बिदुर कोइरालाको इजलासले तत्काल प्राप्त प्रमाणका आधारमा कसुरदार देखाउँदै धरौटी मागेको हो ।

अख्तियारले डा. मिश्रासहित व्यवस्थापन महाशाखाका तत्कालीन निर्देशक डा. श्रवणकुमार थापा, आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्रकुमार चौरसिया र विभागका निर्देशक डा. विवेकुमार लालविरुद्ध मुद्दा चलाएको थियो । उक्त मुद्दामा तत्कालीन प्रमुख लेखा नियन्त्रक भुवनप्रसाद काफ्ले, विभागका कानुन अधिकृत सीता घिमिरे, वरिष्ठ जनस्वास्थ्य अधिकृत दीपक अधिकारी, तत्कालीन शाखा अधिकृत यादवप्रसाद सापकोटा, तत्कालीन लेखा अधिकृत शम्भूप्रसाद ढकाल, लेखापाल तिलकराम ढकाल, बायोमेडिकल इन्जिनियर आशिष चौहान, विभागका तत्कालीन बायोमेडिकल इन्जिनियर पद्मा मिश्र, विभागका केन्द्रीय स्टोर पथलैया बाराका जनस्वास्थ्य निरीक्षक सन्जयकुमार शाह र आपूर्ति कम्पनी म्याक्सिम इन्कर्पोरेसन ट्रेडर्स प्रालिका प्रमुख सुन्दर भुसाललाई पनि प्रतिवादी बनाइएको थियो ।

उनीहरूविरुद्ध जनही १४ करोड ६ लाख ८५ हजार ५ सय रुपैयाँका दरले बिगो कायम गरिएको थियो । उनीहरूमाथि स्वास्थ्य उपकरण खरिदलगायत प्रकरणमा अनियमितता गरेको आरोप लगाइएको छ । मिश्रा पछिल्लो पटक सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा स्वास्थ्यमन्त्री बन्ने चर्चा चलेको थियो ।

त्यहीकारण उनले अतिरिक्त सचिवबाट राजीनामा समेत दिएकी थिइन् । तर भ्रष्टाचार मुद्दामा अनुसन्धान भइरहेको खुलेपछि अन्तिम समयमा मिश्राको नियुक्ति रोकिएको थियो । मिश्रा स्वास्थ्य सचिवको आकांक्षी थिइन् । प्रदीप पौडेल मन्त्री हुँदा उनलाई स्वास्थ्य सचिव नबनाएर डा. विकास देवकोटालाई बनाएका थिए । साथै सुशीला कार्की नेतृत्वमा अन्तरिम सरकार बनेपछि मिश्राले अतिरिक्त सचिव पदबाट राजीनामा दिएकी थिइन् । उनलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री बनाउने तयारी थियो । तर अख्तियारले भ्रष्टाचार मुद्दा अघि बढाउन लागेपछि मिश्रालाई स्वास्थ्य मन्त्री बनाइएको थिएन ।

अमेरिकाले गर्‍यो थप ८० नेपालीलाई ‘डिपोर्ट’

काठमाडौं । अमेरिकाले थप ८० जना नेपाली नागरिकलाई ‘डिपोर्ट’ गरेको छ । मंगलबार अपराह्न साढे ५ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनीहरूलाई नेपाल फर्काइएको हो । डिपोर्ट गरिएकामध्ये एक जना महिला रहेको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रमुख एसएसपी कृष्ण पंगेनीले जानकारी दिए । उनीहरूलाई फर्काइएसँगै प्रहरीले आवश्यक अनुसन्धान थालेको छ ।

प्रारम्भिक अनुसन्धानअनुसार डिपोर्ट गरिएका अधिकांश नेपाली नागरिकले अवैध तथा तल्लो बाटो प्रयोग गरेर अमेरिका प्रवेश गर्ने प्रयास गरेको खुलेको छ । एक जना भने अध्ययन भिसामा अमेरिका गएका थिए भने बाँकीले विभिन्न दलालमार्फत करोडौं रुपैयाँसम्म खर्च गरेको भेटिएको छ ।

कतिपयले अमेरिका पुग्न एक करोड ४० लाख रुपैयाँसम्म खर्च भएको दाबी गरेका छन् । यस विषयमा मानव बेचबिखन तथा अवैध आप्रवासनसँग जोडिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । डिपोर्ट भएकाहरुलाई मानव बेचबिखन अनुसन्धान ब्युरो पठाइएको थियो । ब्युरोका अधिकारीहरुले उनीहरुसँग सोधपुछ गरेर परिवारका जिम्मा लगाएका छन् । कोही कसैले गैरकानुनी रुपमा अमेरिका पठाएको भए उजुरी दिन पनि ब्यूरोले उनीहरुसँग अनुरोध गरेको छ । यसअघि पनि अमेरिकाले नेपालीहरूलाई चरण-चरणमा डिपोर्ट गर्दै आइरहेको छ ।

एमालेले सबै १६५ क्षेत्रमा उम्मेदवार उतार्दा आधा भन्दा बढी नयाँ अनुहार (सूचीसहित)

काठमाडौं । नेकपा एमालेले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएको छ । यस पटक एमालेले उम्मेदवार छनोटमा उल्लेख्य रूपमा नयाँ अनुहारलाई प्राथमिकता दिएको देखिएको छ ।

पार्टी केन्द्रीय प्रचार विभाग प्रमुख मीनबहादुर शाहीका अनुसार एमालेले अघि सारेका कुल उम्मेदवारमध्ये ५४.५४ प्रतिशत पहिलो पटक प्रतिनिधि सभा निर्वाचनमा प्रतिस्पर्धा गर्ने नयाँ अनुहार हुन् । यसलाई संगठन नवीकरण र नेतृत्व विकासको निरन्तर प्रक्रियाको रूपमा एमालेले व्याख्या गरेको छ ।

प्रदेशगत विवरण हेर्दा कर्णाली प्रदेशमा सबैभन्दा धेरै अर्थात् ७५ प्रतिशत नयाँ उम्मेदवार रहेका छन् । त्यसपछि गण्डकी प्रदेशमा ६१.११ प्रतिशत र बागमती प्रदेशमा ६०.६० प्रतिशत नयाँ अनुहार समेटिएका छन् । कोशी प्रदेशमा ५३.५७ प्रतिशत नयाँ उम्मेदवार रहेका छन् भने मधेस र सुदूरपश्चिम प्रदेशमा नयाँ र पुराना उम्मेदवारको अनुपात बराबर ५०–५० प्रतिशत रहेको छ । सबैभन्दा कम नयाँ उम्मेदवार लुम्बिनी प्रदेशमा देखिएको छ, जहाँ ४२.३० प्रतिशत मात्रै नयाँ अनुहार रहेका छन् ।

यद्यपि, प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत महिलाको उम्मेदवारी संख्या भने सीमित देखिएको छ । एमालेले बर्दिया–२ बाट विमला विकलाई उम्मेदवार बनाएको छ । त्यसैगरी तनहुँ–१ बाट भगवती न्यौपाने, बागलुङ–२ बाट मञ्जु शर्मा चालिसे, धनुषा–३ बाट जुली महतो, बारा–३ बाट ज्वालाकुमार साह, पर्साबाट रिमाकुमारी यादव र सुनसरी–३ बाट भगवती चौधरी उम्मेदवार छन् ।

पूर्वी पहाडी जिल्लामा सोलुखुम्बुबाट कल्पना राई, ओखलढुंगाबाट अस्मिता थापा र उदयपुर–१ बाट दुर्गा थापा स्वस्ती प्रतिनिधि सभा सदस्यका लागि एमालेको उम्मेदवार बनेका छन् । एमालेले नयाँ अनुहारलाई अघि सारेर संगठनलाई थप सुदृढ बनाउने, जनतासँग नयाँ ऊर्जा र भरोसासहित जानु नै यसपटकको उम्मेदवारी रणनीति रहेको दाबी गरेको छ । पार्टीले सार्वजनिक गरेको १६५ निर्वाचन क्षेत्रको उम्मेदवार सूचीमार्फत आगामी निर्वाचनमा व्यापक प्रतिस्पर्धा गर्ने तयारी पूरा भएको जनाएको छ ।

हेर्नुस् सूची

‘आसन्न निर्वाचन संविधान, लोकतन्त्र र राष्ट्र जोगाउने निर्णायक संघर्ष’

काठमाडौं । नेकपा (एमाले) का नेता आनन्द पोखरेलले आगामी निर्वाचन संविधान, लोकतन्त्र र राष्ट्रको भविष्य जोगाउने निर्णायक संघर्ष भएको बताउँदै पार्टीको विजयका लागि एकताबद्ध हुन आह्वान गरेका छन् । माघ ६ गते मनोनयन दर्तासँगै देश निर्वाचनको निर्णायक मोडमा पुगेको उल्लेख गर्दै पोखरेलले यो निर्वाचन केवल प्रतिनिधि चयनको प्रक्रिया मात्र नभई राष्ट्रको दिशानिर्देश गर्ने ऐतिहासिक अवसर भएको धारणा राखेका छन् ।

उनले वर्तमान अवस्थामा राष्ट्रियता कमजोर बनाउने, संविधानमाथि प्रहार गर्ने र जनताको भरोसा तोड्ने प्रयास भइरहेको उल्लेख गर्दै यस्ता चुनौतीका बिच नेकपा (एमाले) जनताको आशा, भरोसा र संघर्षको नेतृत्वकर्ता बनेर उभिएको बताए। पोखरेलका अनुसार नेकपा (एमाले) ले यस निर्वाचनलाई प्रतिष्पर्धामार्फत श्रेष्ठता हासिल गर्ने वर्गसंघर्षको महत्त्वपूर्ण कडीका रूपमा लिएको छ । उनले निर्वाचनलाई अराजकता, विध्वंस र अस्थिरताविरुद्धको निर्णायक लडाइँको संज्ञा दिँदै श्रमिक, किसान, युवा, महिला र आम नागरिकको हक–अधिकार सुरक्षित राख्ने शक्ति एमाले नै भएको दाबी गरे ।

‘एमालेको जित भनेकै संविधानको जित हो, लोकतन्त्रको जित हो र राष्ट्रको उज्यालो भविष्यको सुनिश्चितता हो,’ पोखरेलले भने । उनले यस ऐतिहासिक घडीमा नेकपा (एमाले) को विजय अपरिहार्य रहेको जोड दिए । नेता पोखरेलले सबै नेता, कार्यकर्ता, शुभेच्छुक र सचेत नागरिकलाई आपसी एकता, अनुशासन र दृढ संकल्पका साथ निर्वाचन अभियानमा जुट्न आग्रह गरे । घर–घरमा एमालेको विचार पुर्‍याएर जनताको विश्वास जित्नुपर्ने आवश्यकता औँल्याउँदै उनले निर्वाचनलाई ऐतिहासिक विजयमा रूपान्तरण गर्नुपर्ने धारणा राखे । उनले ‘संविधान बचाऔँ, लोकतन्त्र जोगाऔँ, देशको भविष्य सुरक्षित गरौँ’ भन्ने आह्वान गर्दै समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य प्राप्तिका लागि नेकपा (एमाले) लाई विजयी बनाउन सबैलाई एकताबद्ध हुन आग्रह गरे ।

 

 

संकटमा पनि सतिसालझै उभिने पार्टी एमाले : पार्वत गुरुङ

दोलखा । नेकपा (एमाले) का नेता तथा फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि दोलखाका उम्मेदवार पार्वत गुरुङले संकटका बेला पनि नेकपा (एमाले) सतिसालझैं अडिग भएर उभिने पार्टी भएको बताएका छन् । चुनावी सन्दर्भमा आफ्नो धारणा सार्वजनिक गर्दै गुरुङले संविधान, देश र जनताप्रति हुने आक्रमणको सामना गर्ने सामथ्र्य एमालेसँग मात्रै रहेको दाबी गरे ।

उनका अनुसार विभिन्न चुनौती र दबाबका बीच पनि एमालेले राष्ट्रिय हित, लोकतान्त्रिक मूल्य र जनताको अधिकारको रक्षा गर्दै निरन्तर संघर्ष गर्दै आएको छ । गुरुङले आगामी निर्वाचनलाई संविधान, राष्ट्रियता र जनहितको पक्षमा निर्णय गर्ने अवसरका रूपमा उल्लेख गर्दै दोलखाली जनतालाई विकास, स्थायित्व र सुशासनको मार्गमा अघि बढ्न एमालेको साथ दिन आग्रह गरेका छन् ।

 

 

अध्यक्ष ओली मतदाता भेटघाटमा व्यस्त

झापा । झापा–५ बाट प्रतिनिधिसभा निर्वाचनमा प्रतिष्पर्धामा रहेका पूर्व प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली आफ्नै निर्वाचन क्षेत्रमा कार्यकर्ता र मतदातासँग भेटघाटमा व्यस्त रहेका छन् । जेनजी आन्दोलनपछि पहिलो पटक गृहनगर दमक पुगेका अध्यक्ष ओलीले हिजो मध्यरातसम्म पार्टी कार्यकर्तासँग भेटघाट तथा छलफल गरेका थिए । आज बिहानैदेखि पनि उनी अगुवा कार्यकर्ता तथा मतदातासँग भेटघाटमा व्यस्त रहेका छन् ।

स्थानीय जनप्रतिनिधिसँग छलफल गर्दै अध्यक्ष ओलीले आफूले अघि सारेका विकास आयोजनाको प्रगतिबारे जानकारी लिएका छन् । झापा–५ सँगै सीमा जोडिएको इलाम–२ का नेकपा (एमाले) उम्मेदवार सुहाङ नेम्बाङ पनि दमक पुगेका थिए । उनले पार्टी अध्यक्ष ओलीको अभियानमा साथ दिइरहेका छन् । मंगलबार राति अध्यक्ष ओलीले दमकका १० वटै वडा कमिटीका पदाधिकारी र सदस्यहरूसँग छुट्टाछुट्टै छलफल गरेका थिए । आज बिहानदेखि भेटघाट छलफललाई पुनः निरन्तरता दिएका छन् । अध्यक्ष ओली पर्सिसम्म दमकमा रहने कार्यक्रम छ ।

निर्वाचनका बेला कति बढ्ला पेट्रोलियम पदार्थको खपत ?

काठमाडौं । निर्वाचनका कारण १० दिनमै पेट्रोल, डिजेलसहित पेट्रोलियम पदार्थको खपत २५ प्रतिशतसम्म बढ्ने सरकारी अधिकारीहरुले अनुमान गरेका छन् । नेपाल आयल निगमकाअनुसार चुनावका बेला पेट्रोलियम पदार्थ खपत ह्वातै बढ्ने भएकाले त्यसैलाई लक्षित गरेर इन्धन व्यवस्थापनको तयारी सुरु गरिएको छ । सामान्य अवस्थामा भन्दा चाडपर्वमा जस्तै चुनावमा पनि ठूलो परिणाममा पेट्रोलियम पदार्थ खपत हुने अनुमानसहित निगमले सोही अनुसारको इन्धन व्यवस्थापनका लागि तयारी थालेको अधिकारीहरुले बताएका छन् ।

नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले चाडपर्वमा जस्तै चुनावका लागि आयाल निगमले इन्धन भण्डारण पर्याप्त गर्न सबै डिपोहरुलाई निर्देशन दिन लागेको बताए । उनकाअनुसार चुनाव आसपासमा केही दिन नाकाहरु समेत बन्द हुने भएकाले सोही अनुसारको इन्धन व्यवस्थापन गर्न डिपोलाई निर्देशन दिइँदैछ ।

कार्यकारी निर्देशक भट्टले भने, ‘हामीले हरेक डिपोलाई अब केही दिनमै निर्देशन दिँदैछौँ । चुनाव हुने निश्चित नै भयो । चुनाव अवधिका लागि बजारमा कुनै समस्या नहोस् भनेर हामीले डिपोहरुलाई स्टक राख्न भन्ने छौँ ।’ कार्यकारी निर्देशक भट्टकाअनुसार अहिले करिब २०–२५ लाख लिटर पेट्रोल औषतमा खपत हुने गरेको छ । डिजेल ३८–४० लाख लिटर खपत हुने गरेको छ । चुनावको १० दिनअघि मात्रै औषतमा २०–२५ प्रतिशत खपत वृद्धि हुने अनुमान छ । त्यही अनुसारको स्टक राखेर अघि बढ्ने बताइएको छ ।

चुनावका बेला बोर्डर बन्द हुने भएकोले इन्धन दुवानीमा आयल निगम पहिल्यै चनाखो हुने कार्यकारी निर्देशक भट्टले बताए । कार्यकारी निर्देशक भट्टले भने, ‘चुनावका बेला हामी अलि चनाखो भएर कति दिन बोर्डर बन्द हुन्छ, त्यो किसिमले हाम्रा ट्याङ्करहरु, भएका भण्डारण गृहहरु पूरा भरेर राख्ने छौं । हामीसँग भएका १७–१८ सय ट्याङ्करहरु मोभिलाइज गर्नेछौँ । त्यो ट्याङ्करमा पनि स्टक राखिनेछ । यसरी हामीले आपूर्ति व्यवस्थालाई सहज बनाउनेछौँ ।’ उनले २–४ दिन बोर्डर बन्दै भए पनि बजारमा समस्या नहुने गरी इन्धन व्यवस्थापन तथा आपूर्ति गरिने जानकारी दिए । कुन–कुन बोर्डरबाट कति इन्धन ल्याएर कति स्टक राख्नेबारे यसैसाता आयल निगम निर्णयमा पुग्नेछ ।

नेपालमा आयल निगमले पेट्रोलियम पदार्थको सहज आपूर्तिको व्यवस्था मिलाउने जिम्मा पाउँदै आएको छ । इण्डियन आयल कर्पोरेसनबाट आयल निगमले पेट्रोल, डिजेल, हबाइ इन्धन, ग्यास ल्याउने गरेको छ । हाल वितरण, डिपोहरु आयल निगम नआएरै मोबाइलमार्फत पैसा तिरेर इन्धन खरिद गर्नसक्ने व्यवस्था निगमले मिलाएको कार्यकारी निर्देशक भट्टले बताए । नेपाल आयल निगमले भण्डारण क्षमता विस्तारको कामलाई तीब्र पारेको छ । २ वर्ष अघिसम्म पेट्रोल ८ दिनलाई डिजेल १२ दिनलाई मात्रै धान्नसक्ने क्षमता रहेकोमा निगमले अमलेशगञ्जमा १४ हजार केएलको ४ वटा इन्धन भण्डारण ट्याङ्की निर्माण गरेको छ । पोखराको १० हजार केएल ट्याङ्कीलाई निगमले संचालनमा समेत ल्याएको छ । त्यस्तै विराटनगर, नेपालगंजमा रहेका ट्याङ्कीहरुलाई प्रयोगमा ल्याउँदै भण्डारण क्षमता बढाउँदै लगेको छ । अहिले डिजेल करिव १४ दिनलाई र १२ दिनलाई पेट्रोल भण्डारण गर्ने क्षमता निगमको रहेको कार्यकारी निर्देशक भट्टले जानकारी दिए ।

पाइपलाइनको काम पनि तीव्र
नेपाल आयल निगमले पाइपलाइनबाट इन्धन ल्याउन पाइलाइन विस्तारको कामलाई तीब्र समेत पारेको छ । अहिले मोतिहारी अमलेशगञ्ज पाइपलाइन निर्माण गरेर सञ्चालनमा ल्याइसकिएको छ । २०७६ मा डिजेलमात्रै पाइपलाइनबाट ल्याइएकोमा अहिले अमेलेशगञ्जमा पेट्रोलको भण्डारण गृह बनाएर पेट्रोल, केरोशिन पनि पाइपलाइनमार्फत ल्याउन सफल भइरहेको भट्टले जानकारी दिए ।

उनकाअनुसार अहिले डिजेल, पेट्रोल, मट्टितेल जतिबेला आवश्यक पर्‍यो त्यतिबेला भारतबाट ल्याउन सहज रहेको छ । भारतबाटै ट्याङ्करमा इन्धन ल्याउँदा बेलाबेलामा ल्याउन कठिन हुने गरेकोमा अहिले त्यस्ता अवस्था हटेको उनको भनाइ रहेको छ । कार्यकारी निर्देशक भट्टका अनुसार इन्धन पाइपलाइनमार्फत ल्याउँदा ढुवानी भाडामा समेत सस्तो पर्ने गरेको छ । दुवानी खर्च कटौंती भएकै कारण उपभोक्तलाई प्रतिलिटर २ रुपैंयाँ इन्धन सस्तो पर्न गएको छ । आगामी दिनमा पनि पाइपलाइन विस्तारको काम चलेकाले अझ दुवानी लागत घट्ने र उपभोक्तालाई भार कम पर्न जाने उनको भनाइ रहेको छ ।

भट्टका अनुसार अहिले फेरि नयाँ पाइपलाइन योजना अघि बढाइँदैछ । अमलेशगञ्ज–चितवनसम्म र सिलगुढी–झापासम्म को पाइपलाइन योजना अघि बढ्दैछ । यसले प्रतिलिटर साढे ३ रुपैयाँ अझै इन्धन सस्तो पर्न जानेछ । पाइपलाइन तथा भण्डारण गृह अबको तीन वर्षमै सक्ने आयल निगमको लक्ष्य रहेको छ । हवाई इन्धनलाई समेत पाइपलाइनबाट नेपालमा ल्याएर भण्डारण गरी वितरण गर्ने तयारी समेत निगमको रहेको छ । यसले ट्याङ्करहरु भारत जान पर्ने बाध्यताको अन्त्य गर्न लागिएको निगमको भनाइ रहेको छ ।

 

 

 

आचारसंहिता उल्लंघन गर्नेलाई आयोगले आफैं अनुसन्धान गरी कारबाही गर्छ : आयोग

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई उजुरीका आधारमा र आफैले अनुसन्धान गरेर पनि कारबाही गर्ने चेतावनी दिएको छ । आयोगले आफ्ना संयन्त्रबाट प्राप्त प्रतिवेदन तथा उजुरीका आधारमा आवश्यक अध्ययन गरी कानूनअनुसार कारबाही प्रक्रिया अगाडि बढाउने आयोगका सूचना अधिकारी सुमन घिमिरेले बताए । उनले आयोगमा आएको उजुरीको आधारमा मात्रै नभएर आयोगले स्वअध्ययनबाट पनि आचारसंहिता विपरितका कार्य गर्नेलाई कारबाही गर्ने जानकारी दिए ।

निर्वाचन आचारसंहिता निर्वाचनलाई स्वच्छ, निष्पक्ष, विश्वसनीय र भयमुक्त वातावरणमा सम्पन्न गर्ने उद्देश्यले सरोकारवाला सबैको सहमतिमा जारी गरिएको उनको भनाई छ । उनकाअनुसार आचारसंहिताको पालना गराउने र उल्लङ्घन भएमा कारबाही गर्ने उद्देश्यले निर्वाचन क्षेत्र, जिल्ला र केन्द्रस्तरसम्म आयोगका अनुगमन संयन्त्र सक्रिय बनाइएको छ । उनले निर्वाचन आचारसंहिता राजनितिक दल, उम्मेद्वार र मतदाता सबैले पालना गर्नुपर्ने बताए । उनले उम्मेद्वारी मनोनयनका क्रममा मंगलवार केही आचारसंहिताका विपरितका कार्य भएको उल्लेख गर्दै ती कार्य आयोगको नोटिसमा रहेको बताए । उनले आचारसंहिता कार्यन्वयनका लागि आयोगले संयन्त्र बनाइसकेको पनि जानकारी दिए ।

उनले भने, ‘आचारसंहिता कार्यन्वयन नभएको अवस्थामा आचारसंहिता विपरितका गतिविधिहरु भएको अवस्थामा त्यसलाई कसरी नियमित गर्ने भन्ने सम्वन्धमा आयोगले पहिले नै तयारी गरिसकेको छ । निर्वाचन क्षेत्रस्तर, जिल्लास्तर, केन्द्रस्तरसम्म निर्वाचन आयोगका संयन्त्रहरु स्थापित भइसकेको अवस्था छ । उहाँहरुले दिएको रिर्पोटको आधारमा आयोगले अध्ययन गरेर त्यसलाई कुन किसिमको, कुन लेभलको कारबाही अगाडी बढाउनु पर्छ, त्यो गर्ने आयोगको तयारी छ, आयोगले त्यसरी नै गर्छ ।’

घिमिरेले भने, ‘जहाँसम्म हिजो (मंगलवार मनोनयनको बेला) को कुराहरु छन्, आयोगले आफ्ना संयन्त्रमार्फत यी विषयहरुको जानकारी लिएको छ, उसलाई पनि थाहा छ । आयोगले पनि यो कुरा अध्ययन गरिरहेको छ । केही उजुरीहरु प्राप्त भए, त्यस किसिमका उजुरीका सम्बन्धमा पनि आयोगले थप कारबाही अगाडि बढाउँछ । त्यसले गर्दा यो दुई वटै तरिकाले निर्वाचन आचारसंहितालाई कार्यन्वयन हुन्छ । आफ्ना संयन्त्रमार्फत आएका रिर्पोटका आधारमा पनि एक्सनमा आयोग जान्छ, उजुरी आईसकेपछाडी त्यो उजुरीलाई पनि तत्काल कारबाही गर्नेगरि आयोग एक्सनमा जान्छ, यी दुबै तरिकाले तरिकाले निर्वाचन आचारसंहितालाई प्रभावकारी कार्यन्वयन गर्न अगाडी बढिन्छ ।’

उत्साहपूर्वक ३,४८६ उम्मेदवारको मनोनयन दर्ता
प्रत्यक्षतर्फ हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि देशभर ३ हजार ४ सय ८६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । तीमध्ये ३ हजार ८९ जना पुरुष, ३ सय ९६ जना महिला तथा १ जना अन्य समूहबाट उम्मेदवार रहेको आयोगका सूचना अधिकारी घिमिरेले जानकारी दिए । मंगलवार तोकिएको समयभित्र मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमार्फत उम्मेदवारी दर्ता प्रक्रिया सम्पन्न भएको हो । राजनीतिक दल र उम्मेदवारहरूले देखाएको संयमता र शान्तिपूर्ण वातावरणका कारण मनोनयन दर्ता कार्यक्रम सहज रूपमा सम्पन्न भएको घिमिरेले बताए । उनकाअनुसार निर्वाचन घोषणा भएदेखि नै आयोगले स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गर्दै आएको छ ।

मनोनयन दर्ताको दिन देखिएको वातावरणले फागुन २१ गते तोकिएकै मितिमा निर्वाचन हुनेमा आयोग विश्वस्त रहेको उनले बताए । उनले भने, ‘प्रतिनिधि सभा निर्वाचनका लागि ३ हजार ४ सय ८६ जना उम्मेद्वारहरुले आफ्नो नाम दर्ता गर्नुभएको छ । त्यसमा ३ हजार ८९ जना पुरुष उम्मेद्वार हुनुहुन्छ भने ३ सय ९६ जना महिला उम्मेद्वार हुनुहुन्छ । १ जना चाहीँ अन्य समूहको उम्मेद्वारले आफ्नो नाम दर्ता गराउनु भएको छ । यो दर्ता प्रक्रियामा निर्वाचन आयोगले विगतदेखि नै अलिकति तयारीको व्यवस्थापन गरेको थियो । मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यलयहरुमा उम्मेद्वारले आफ्नो नाम गर्न पाउने व्यवस्था गरेको थियो ।’

उनले भने, ‘हिजोको वातावरण, उत्साह राजनितिक दलका उम्मेद्वारहरुले देखाउनु भएको संयमता र शान्ति सुव्यवस्था हेर्दाखेरी साह्रै राम्रो वातवरणमा, शान्तिपूर्ण वातावरणमा उम्मेद्वारको मनोनयन दर्ता कार्यक्रम सम्पन्न भएको छ । यसले के देखाउँछ भने हामीले निर्वाचन घोषणा भएदेखि नै निर्वाचन आयोगले भन्दै आएको कुरा हो, हामी स्वच्छ, स्वतन्त्र, निष्पक्ष रुपमा निर्वाचन सम्पन्न गर्छौं । तोकिएकै समयमा निर्वाचन सम्पन्न हुन्छ भनेर निर्वाचन आयोगले भनेको कुरालाई हिजो देखाउनु भएको आम मतदाता लगायत उम्मेद्वारहरुले देखाउनु भएको संयमता र शान्तिपूर्ण स्थिति, त्यो कारणले अब निर्वाचन फागुन २१ गते यही तरिकाले सम्पन्न हुन्छ भन्नेमा आयोग विश्वस्त छ ।’

आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिकाअनुसार बुधवार उम्मेदवारको विरोधमा उजुरी दिने कार्यक्रम रहेको छ । प्राप्त उजुरीको निर्वाचन अधिकृतको कार्यालयमा छानबिन गरी संविधान, कानून तथा निर्वाचनसम्बन्धी व्यवस्था अनुसार उम्मेदवारको योग्यता परीक्षण गरिने सूचना अधिकारी घिमिरेले जानकारी दिए । अयोग्य ठहरिएका उम्मेदवारको नाम सूचीबाट हटाई पुनः संशोधित नामावली सार्वजनिक गरिने उनले बताए ।

उम्मेदवारी फिर्ता लिन चाहने उम्मेदवारले माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म निवेदन दिन सक्नेछन् । त्यसपछि अन्तिम उम्मेदवारको नामावली तथा निर्वाचन चिन्ह सार्वजनिक गरिने र सोही आधारमा मतपत्र छपाइको काम अघि बढाइने घिमिरेले जानकारी दिए । उनकाअनुसार निर्वाचन आचारसंहिताअनुसार फागुन ३ गतेदेखि फागुन १८ गते रातिसम्म औपचारिक चुनावी प्रचारप्रसार गर्न पाइनेछ । मौन अवधि फागुन १८ गते रातिदेखि लागू हुनेछ । सो अवधिभन्दा अघि घरदैलो तथा मतदातासँग भेटघाट गर्न पाइने भएपनि जुलुस, र्‍याली र आमसभा गर्न आचारसंहिताले निषेध गरेको उनले बताए ।

उनले भने, ‘फागुन ३ गतेपछि राजनितिक दल र उम्मेद्वारहरुले प्रचारप्रसार गर्न पाउने अवधि निर्धारण गरिएको छ । त्यो भन्दा अगाडीको अवधीमा राजनीतिक दल अथवा उम्मेद्वारहरुले आफ्ना मतदाताहरुसँग घरदैलो कार्यक्रम गर्न सक्नु हुन्छ । मतदातासँग भेटघाट गर्न सक्नुहुनेछ । तर जुलुस, र्‍याली, आमसभा जस्ता ठूला वृहत किसिमका कार्यक्रमहरु गर्नलाई आचारसंहिताले नै रोकेको अवस्था छ । त्यसले गर्दा मूल प्रचारप्रसारको अवधी भनेको फागुनको ३ गते पछाडि १८ गते मौन अवधि अगाडीसम्म रहेको छ । मौन अवधि फागुन १८ गते राती शुरु हुन्छ । सो अवधिमा आचारसंहिताले तोके अनुसार राजनितिक दल र उम्मेद्वारहरुले प्रचारप्रसार गर्न पाइन्छ, आचारसंहिताले तोकभन्दा बाहीर गर्न पाइँदैन ।’
आगामी फागुन २१ गते हुने निर्वाचनको लागि देशभर मंगलवार उम्मेद्वारहरुले मनोनयन दर्ता गराएका थिए । १६५ निर्वाचन क्षेत्रमा प्रत्यक्ष र ११० सिट समानुपातिकतर्फ निर्वाचन हुँदैछ ।

 

देश चलाउन विदेशी शक्ति सक्रिय, नयाँ आन्दोलनमा जानु पर्ने हुनसक्छ : प्रचण्ड

रुकुम पूर्व । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश असाधारण राजनीतिक अवस्थाबाट गुज्रिरहेको भन्दै विदेशी शक्तिको चलखेलविरुद्ध आवश्यक परे नयाँ आन्दोलन सुरु गर्नुपर्ने अवस्था आउन सक्ने बताएका छन् । रुकुम पूर्वमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले राष्ट्रको स्वाधीनता, जनताको आत्मनिर्णयको अधिकार र राजनीतिक स्थायित्वमाथि प्रश्न उठाउने प्रयास भइरहेको दाबी गरे ।

प्रचण्डका अनुसार हाल देश चलाउने प्रक्रियामा देशी–विदेशी प्रतिक्रियावादी शक्तिहरू सक्रिय छन् । ती शक्तिहरूको प्रतिवाद शान्तिपूर्ण तर दृढ अठोटका साथ गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ । ‘जरुरी पर्‍यो भने राष्ट्र र जनताको पक्षमा नयाँ समाजवादी, राष्ट्रवादी र देशभक्तिपूर्ण आन्दोलन अघि बढाउनु पर्ने हुनसक्छ’, उनले भने, ‘भदौ २४ गते देखिएको जस्तो विध्वंसात्मक गतिविधिको जरो अझै सकिएको छैन ।’

आफू पुनः जनयुद्धको आधारभूमि मानिने रुकुम फर्किनुको अर्थ केवल विकासका योजना घोषणा गर्नु मात्र नभई समग्र देशलाई राजनीतिक निकासतर्फ लैजानु भएको प्रचण्डले स्पष्ट पारे । उनले आफ्नो उम्मेदवारी संसद् प्रवेशका लागि मात्र नभई देशलाई नयाँ राजनीतिक दिशातर्फ डोर्‍याउने उद्देश्यसहित रहेको दाबी गरे ।

विकासको सवालमा प्रचण्डले दाङ–रोल्पा–रुकुम पूर्व हुँदै डोल्पाको सहरतारा जोड्ने र त्यसलाई चीनसम्मको व्यापारिक मार्गका रूपमा विकास गर्ने योजना सुनाए । रुकुम पूर्व अब हिमाली जिल्ला भइसकेकाले यसलाई ‘विशेष स्वायत्त प्रदेश’ बनाउने पहल गरिने र जिल्लालाई विकासको नयाँ मोडलमा अघि बढाइने उनको प्रतिबद्धता छ । ‘म जहाँबाट लडेको छु, त्यहींको मुहार फेरेको छु’, भन्दै प्रचण्डले आलोचकहरूलाई कामबाटै जवाफ दिने बताए । रुकुम पूर्वमा सुन्दर सहर निर्माण, ग्रामीण सडक स्तरोन्नति र समग्र पूर्वाधार विकाससँगै यो क्षेत्रलाई समाजवादतर्फको यात्राको नेतृत्व गर्ने केन्द्र बनाउने उनको धारणा छ ।

देशको पछिल्लो राजनीतिक घटनाक्रमबारे बोल्दै प्रचण्डले जेनजी भदौ २४ को आन्दोलनपछि सिर्जित परिस्थितिमा भदौ २६ गते रातभरको छलफलपछि संसद् विघटन गरी चुनावमा जाने निर्णय गरिएको जानकारी दिए । ‘देशलाई ठूलो दुर्घटनाबाट जोगाउन र ताजा जनादेशमार्फत निकास निकाल्न त्यो निर्णय अनिवार्य थियो’, उनले भने । माओवादी सशस्त्र युद्धकालमा चुनबाङ बैठकले शान्ति प्रक्रियाको ढोका खोलेको स्मरण गर्दै प्रचण्डले अब रुकुम पूर्वले समाजवादको यात्रामा नयाँ दिशा दिने विश्वास व्यक्त गरे । देश अब चुनावमय भइसकेको उल्लेख गर्दै उनले राष्ट्रवादी शक्तिहरूलाई एक ठाउँमा ल्याउनकै लागि नेकपा निर्माण गरिएको पनि बताए ।

 

रवि लामिछानेको आग्रह : आक्रोश मतबाट व्यक्त गरौं

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चुनावी प्रतिष्पर्धालाई शान्त, मर्यादित र स्वस्थ बनाउन पार्टीका नेता–कार्यकर्तालाई संयमित भएर अघि बढ्न निर्देशन दिएका छन् । चितवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आचारसंहिता पूर्ण रूपमा पालना गर्न, असन्तुष्टि र आक्रोशलाई मतमार्फत अभिव्यक्त गर्न आग्रह गरेका छन् ।

लामिछानेले नतिजा जे आए पनि स्वीकार्ने मानसिकता बनाउनु पर्ने उल्लेख गर्दै सबै राजनीतिक दललाई भड्काउने र उत्तेजित गतिविधिबाट टाढा रहन आग्रह गरे । ‘स्वस्थ प्रतिष्पर्धा हुनुपर्छ । कुनै पनि दलका नेता–कार्यकर्ता उत्तेजित नहुन्’, उनले भने, ‘अरू दलका नेता–कार्यकर्ताप्रति पनि सम्मानजनक व्यवहार देखाउनु पर्छ ।’

यसैक्रममा उनले आफूविरुद्ध चलेका मुद्दा र अदालती प्रक्रियाबारे पनि धारणा राखे। जनकपुरबाट पर्सा हुँदै चितवन पुगेपछि बुधबार काठमाडौं फर्कदै गर्दा भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै लामिछानेले अदालतप्रतिको सम्मान अनिवार्य भएको बताए । आफूविरुद्ध नचाहिने अभियोजनहरू भएको दाबी गर्दै उनले भने, ‘तर अदालतको विकल्प छैन । जे जस्तो भए पनि अदालती प्रक्रियालाई स्वीकार र सम्मान गर्नुपर्छ ।’

अदालतका विषयमा सडकबाट बहस गर्नु उपयुक्त नहुने उनको भनाइ थियो । ‘अदालतप्रतिको गलत टिप्पणी गर्नु हुँदैन । अदालतका बहसहरू सडकमा आउनु राम्रो होइन’, उनले स्पष्ट पारे । धेरै मुद्दाका कारण मानसिक दबाब महसुस भए पनि अदालतप्रति आशा र भरोसा कायम रहेको उनले बताए ।

चुनावी प्रसंगमा पुनः जोड दिँदै चितवन–२ बाट निर्वाचनमा होमिएका लामिछानेले नतिजा स्वीकार्ने तयारीसहित मैदानमा उत्रिएको बताए । ‘प्रतिष्पर्धा स्वस्थ होस् । चुनावपछि पनि लोकतान्त्रिक संस्कार कायम रहनु पर्छ’, उनले भने । चितवनप्रति आशावादी देखिएका उनले जिल्लामा घण्टी चुनाव चिह्नप्रति बढ्दो आकर्षण देखिएको दाबी गर्दै ‘चितवनले सुरुवातमै उत्साहजनक संकेत दिएको’ बताए ।

यी हुन् उज्यालो नेपाल पार्टीका १२० उम्मेदवार (सूचीसहित)

काठमाडौं । उज्यालो नेपाल पार्टी (उनेपा) ले १२० वटा निर्वाच क्षेत्रमा उम्मेदवारी दिएको छ । अहिलेसम्म १२० वटा निर्वाचन क्षेत्रको विवरण आएको पार्टीका नेता जितराम लामाले जानकारी दिएका छन् । जस अनुसार पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौं क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिएका छन् भने उपाध्यक्ष जितराम लामाले भक्तपुर २ बाट उम्मेदवारी दिएका छन् ।

उज्यालो नेपाल पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकता गरेको थियो । रास्वपासँग एकतामा सहमति नजुटेपछि उज्यालेले एक्लै चुनाव जाने निर्णय गरेको हो । एकता भत्किएपछि उनेपाले समानुपातिकतर्फ भने राष्ट्रिय परिवर्तन पार्टीबाट समानुपातिक सूची बुझाएको छ ।

हेर्नुस् १२० उम्मेदवारहरू :

१. काठमाडौं–१– मंगलाल श्रेष्ठ
२. काठमाडौं–२ – पवन पोखरेल
३. काठमाडौं–३ – कुलमान घिसिङ
४. काठमाडौं–४ – झनकबहादुर अधिकारी
५. काठमाडौं–५ – श्रीराम गुरुङ
६. काठमाडौं–६ – वारिस धरेल
७. काठमाडौं–७ – बिमला लामा
८. काठमाडौं–८ – राजन खड्गी
९. काठमाडौं–९ – रामेश्वर श्रेष्ठ
१०. काठमाडौं–१० – डा. राकेश न्यौपाने
११. भक्तपुर १ – रमेश बल्ल
१२. भक्तपुर २ – जितराम लामा
१३. ललितपुर १ – पदम तामाङ
१४. ललितपुर २ – राजाराम तण्डुकार
१५. ललितपुर ३ – डा.आशुतोष विजय पन्त
१६. काभ्रेपलाञ्चोक १ – योगेन्द्र लामा
१७. काभ्रेपलाञ्चोक २ – ज्योत्सना सैंजु
१८. रसुवा – मानबहादुर तामाङ
१९. नुवाकोट १– अमित तामाङ
२०. नुवाकोट २ – ज्ञानेन्द्रप्रकाश घले
२१. धादिङ १ – श्याम राजा पाण्डे
२२. धादिङ २ – अमिर तामाङ
२३. रामेछाप – दिपबहादुर योञ्जन
२४. सिन्धुली १ – मोती लाल तामाङ
२५. मकवानपुर १ – सुरेन्द्र लामा
२६. मकवानपुर २ – डा. प्रविनकुमार स्याङतान
२७. चितवन १ –धन बहादुर गुरुङ
२८. चितवन २ – निकुमार पाख्रिन
२९. चितवन ३ – डम्बरबहादुर तामाङ
३०. ताप्लेजुङ –कृतिमान मादेन
३१. पाँचथर– टेकबहादुर सुब्बा
३२. इलाम १ – हरिबहादुर गुरुङ
३३. इलाम २ – दिवश राई
३४. झापा १ – नरेश लावती
३५. झापा २ – चुडा कर्ण बेघा लिम्बु
३६. झापा ३ – श्याम कृष्ण पाठक
३७. झापा ४ – सन्तोष तामाङ
३८. झापा ५ – सबिन राई
३९. संखुवासभा – घनश्याम राई
४०. तेह्रथुम – उषा तुम्बाहाम्फे
४१. धनकुटा – शालिकराम राई
४२. भोजपुर – जितन राई
४३. सोलुखुम्बु – पेम्बाछिरिङ शेर्पा
४४. ओखलढुंगा – किशोरी कार्की
४५. खोटाङ – मिरेश राई
४६. उदयपुर १ – अर्जुन तामाङ
४७. उदयपुर २ – अरुण राई
४८. सुनसरी १ – डम्बर लावती
४९. सुनसरी २ – गोपाल तामाङ
५०. सुनसरी ३ – जागेश्वर यादब
५१. सुनसरी ४ – बच्चालाल यादब
५२. मोरङ १ – दुर्गामाया तामाङ
५३. मोरङ २ – धनबहादुर सुनुवार
५४. मोरङ ३ – मित्रसेन योञ्जन
५५. मोरङ ४ –बिनोद परियार
५६. मोरङ ६ – बसन्त बुढाथोकी
५७. सप्तरी – १ हर्ख नारायण चौधरी
५८. सप्तरी – २ दिपक चौधरी
५९. सप्तरी – ३ परमेश्वरलाल साह
६०. सप्तरी – ४ विश्वकुमार यादव
६१. सिरहा – १ ताराकुमारी चौधरी
६२. सिरहा – २ ललितकुमार सिंह
६३. सिरहा – ३ श्रवण पासवान
६४. सिरहा – ४ बिनय प्रविण
६५. धनुषा – १ महेशकुमार यादब
६६. धनुषा – ३ डा. प्रमोद साह
६७. धनुषा – ४ रामकुमार महतो
६८. महोत्तरी २– डा. राकेश मण्डल
६९. महोत्तरी – ३ रंजितकुमार साह
७०. महोत्तरी – ४ डा. अमित
७१. सर्लाही – १ उमेश साह
७२. सर्लाही – ३ त्रिभुवन सिंह
७३. सर्लाही – ४ पिताम्बर कुशवाह
७४. रौतहट – १ उमेश साह
७५. रौतहट – ४ तुल्सी राम गिरी
७६. बारा – १ अनवर अन्सारी
७७. बारा – २ मेघराज पासवान
७८. बारा – ३ तीर्थबहादुर गुरुङ
७९. बारा – ४ सन्तोष कुमार गुप्ता
८०. पर्सा – १ रामकिशोर सिंह
८१. पर्सा – २ कृष्ण मुरारी प्रजापति
८२. पर्सा – ३ रामरूप साह
८३. पर्सा – ४ बिनोद यादव
८४. गोरखा १ – रामकाजी राना
८५. गोरखा २ – बलराम तामाङ
८६. तनहुँ १ – मन्जिल राना मगर
८७. तनहुँ २ – मनराज गुरुङ
८८. कास्की १ – मनिषा द्वा
८९. कास्की २ – कुशल गुरुङ
९०. कास्की ३ – तर्कबहादुर गुरुङ
९१. स्याङजा १ – रबिन्द्र मल्ल
९२. मुस्ताङ – डा. सुरेन्द्र शेरचन
९३. पर्वत – नबिन पुन मगर
९४. नवलपुर १ –पार्वती गुरुङ
९५. नवलपरासी १ – बिजय कँडेल
९६. रुपन्देही १– अशोककुमार चौधरी
९७. रुपन्देही २– सुरज पाण्डे
९८. रुपन्देही ३ – डा. सरोज सिं थारु
९९. रुपन्देही ५ – केशव भट्टराई
१००. गुल्मी २ – कर्णबहादुर थापा
१०१. दाङ १ – रञ्जित चौधरी
१०२. बाँके १ – धनबहादुर खड्का
१०३. बाँके २ – शैलेश कर्ण
१०४. बर्दिया १ – श्याम प्रसाद चौधरी
१०५. बर्दिया २ – धर्म चौधरी
१०६. डोल्पा – दिलबहादुर बिष्ट
१०७. जाजरकोट – कर्ण नेपाली
१०८. दैलेख २ – लोकेन्द्र अधिकारी
१०९. रुकुम (पश्चिम) – नरेन्द्र के.सी.
११०. सुर्खेत १ – ठम्मरबहादुर बिष्ट
१११. सुर्खेत २ – गम्भीर सिं भुल
११२. अछाम १ – जित निसानी
११३. अछाम २ – राजेश रावल
११४. डोटी – काशी बोहरा
११५. कैलाली १ – प्रदिप चौधरी
११६. कैलाली ४ – सुवास कुँवर
११७. कैलाली ५ – चन्द्र साउद
११८. कञ्चनपुर १ – माइकल तामाङ
११९. कञ्चनपुर २ – योगेन्द्रबहादुर साउद
१२०. कञ्चनपुर ३ – भिम कुमाल

 

चार कम्युनिस्ट पूर्वप्रधानमन्त्री ‌चुनावी मैदानमा, देउवा चाहिँ दर्शक (भिडियो)

काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा चार पूर्वप्रधानमन्त्री प्रतिस्पर्धामा उत्रिएका छन् । कम्युनिस्ट पार्टीबाटै उनीहरू प्रधानमन्त्री भएका हुन् ।

देशको सबैभन्दा ठूलो कम्युनिस्ट पार्टी नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री भएका नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल, सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र तत्कालीन माओवादीबाटै प्रधानमन्त्री भएका हाल प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता डा. बाबुराम भट्टराई निर्वाचनको मैदानमा उत्रिएका हुन् ।

ओली, नेपाल र भट्टराई पुरानै निर्वाचन क्षेत्रबाट उम्मेदवार बनेका छन् । दाहाल भने निर्वाचन क्षेत्र परिवर्तन गर्दै रुकुम पूर्व पुगेका छन् । त्यो जिल्ला १० वर्षे माओवादी युद्धको आधार इलाकामध्येको एक हो ।

यी चार पूर्वप्रधानमन्त्रीमध्ये ओली र दाहाल आ–आफ्नो पार्टीबाट भावी प्रधानमन्त्रीका उम्मेदवार पनि हुन् । उनीहरू निर्वाचन जसरी पनि जित्नेगरी प्रतिस्पर्धामा उत्रिएका हुन् । ओली झापा–५, नेपाल रौतहट–१ र बाबुराम गोरखा– २ बाट उम्मेदवार बनेका छन् ।

यी चार पूर्वप्रधानमन्त्रीमध्ये ओली र दाहाल समान तीन–तीन पटक प्रधानमन्त्री भएका छन् । नेपाल र भट्टराई एक/एकपटक प्रधानमन्त्री भए । गणतन्त्र स्थापनापछि उनीहरू प्रधानमन्त्री भएका हुन् ।

ओली र नेपाल समान आठौँपटक उम्मेदवार बनेका हुन् । २०४८ सालदेखि उनीहरूले निर्वाचन लडे । उनीहरू दुवै २०६४ को संविधानसभा निर्वाचनमा पराजित भए । जतिबेला नेपाल एमाले महासचिव थिए ।

ओली झापाको तत्कालीन निर्वाचन क्षेत्र– ७ मा माओवादीका युवा नेता विश्वदीप लिङ्देन र नेपाल काठमाडौं– २ मा माओवादीकै नेता झक्कुप्रसाद सुवेदीसँग पराजित भए । दाहाल पाचौँ र भट्टराई चौथोपटक उम्मेदवार बनेका हुन् । उनीहरू दुवै २०६४ सालको संविधानसभा निर्वाचनदेखि मात्रै उम्मेदवारी बन्दै संसदीय राजनीतिमा होमिएका हुन् ।

यता पूर्वप्रधानमन्त्रीमध्येका कांग्रेस सभापति शेरबहादुर देउवा भने यसपटक उम्मेदवार बनेनन् । उनलाई विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाले टिकट नै दिएनन् ।

उनी देशकै एक मात्र त्यस्ता नेता हुन्, जसले २०४८ यताका हरेक निर्वाचन जिते । अर्थात् बहुदल स्थापनापछि भएको २०४८, २०५१, २०५६, २०६४, २०७०, २०७४ र २०७९ को निर्वाचन जिते । उनी निर्वाचित हुँदै आएको गृहजिल्ला डडेल्धुराबाट हो ।

गत भदौ २३ र २४ गते भएको जेन–जी विद्रोहमा उनी विद्रोहीहरूबाट निशानामा परे । लगत्तै पार्टीमा दुई महामन्त्री गगन थापा र विश्‍वप्रकाश शर्माको निशानामा उनीमाथि पर्‍यो ।

अन्ततः जेन–जी विद्रोहले राजनीतिक छविमा ह्रास आएको अवस्थामा दुई महामन्त्रीले विशेष महाधिवेशनबाट हटाएर राजनीतिको मैदानमा देउवालाई ‘आउट’ गरे । यससँगै देउवा सक्रिय राजनीतिमा नदेखिने भएका छन् ।

ज्योषितशास्त्रमा औधी विश्वास गर्ने देउवा छैटौँपटक प्रधानमन्त्री हुने सुरमा थिए । अब भने उनको प्रधानमन्त्रीको सपना चकनाचुर भएको छ ।

यसले गर्दा कम्युनिस्ट पार्टीबाट प्रधानमन्त्री भइसकेका चार नेता यसपटक पनि प्रतिनिधिसभा निर्वाचनको मैदानमा छँदा देउवा रमिते बन्‍न पुगेका छन् ।

अमेरिकी सेनाले गर्‍यो भेनेजुएलाको सातौं तेल ट्याङ्कर नियन्त्रण

अमेरिका । अमेरिकी दक्षिणी कमाण्डका अनुसार अमेरिकी सेनाले क्यारिबियन क्षेत्रमा भेनेजुएलासँग सम्बन्धित सातौं तेल ट्याङ्कर नियन्त्रणमा लिएको छ । कमाण्डले मंगलबार एक्स (पहिले ट्विटर) मार्फत जारी गरेको विज्ञप्तिमा गृह सुरक्षा विभागको सहयोगमा मोटर भेसल सजिट्टालाई कुनै अवरोध बिना नियन्त्रणमा लिइएको जानकारी दिएको छ ।

कमाण्डले उक्त ट्याङ्करले क्यारिबियनमा प्रतिबन्धित जहाजहरूका लागि राष्ट्रपति ट्रम्पद्वारा स्थापित क्वारेन्टाइनको अवज्ञा गर्दै सञ्चालन भइरहेको दाबी गरेको छ । अमेरिकी ऊर्जा सचिव क्रिस राइटले यसै महिनाको शुरुमा अमेरिकाले भेनेजुएलामा भण्डारण गरिएको तेलको बजारीकरण मात्र नगरेर, त्यहाँको तेल उत्पादनको विक्रीमा पनि अनिश्चितकालका लागि नियन्त्रण राख्ने बताएका थिए । डिसेम्बरको मध्यमा पहिलो तेल ट्याङ्कर नियन्त्रणमा लिएको केही दिनपछि राष्ट्रपति ट्रम्पले भेनेजुएला भित्रिने र बाहिरिने सबै प्रतिबन्धित तेल ट्याङ्करहरूमाथि पूर्ण नाकाबन्दी को आदेश दिएका थिए ।

ट्रम्पद्वारा ग्रिनल्याण्डमा अमेरिकी झण्डा गाडेको तस्वीर सार्वजनिक

अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसियलमा आफूले ग्रिनल्याण्डको भूमिमा अमेरिकी झण्डा गाड्दै गरेको तस्वीर पोस्ट गरेका छन् । उक्त तस्वीरमा ट्रम्पसँगै अमेरिकी उपराष्ट्रपति जेडी भान्स र विदेशमन्त्री मार्को रुबियो पनि देखिएका छन् ।

नजिकै रहेको एउटा संकेतपाटीमा ग्रिनल्याण्ड–अमेरिकी भूभाग, स्थापना २०२६ लेखिएको छ । सोही दिन, ट्रम्पले अर्को तस्वीर पनि सार्वजनिक गरे । जसमा उनी ओभल कार्यालयमा युरोपेली नेताहरूसँग भेट गरिरहेको देखिन्छन् । उनको पछाडि राखिएको नक्सामा संयुक्त राज्य अमेरिका, क्यानडा, ग्रिनल्याण्ड र भेनेजुएलालाई अमेरिकी झण्डामुनि देखाइएको छ । ट्रम्पले मंगलवार ट्रुथ सोसियलमा आफूले ग्रिनल्याण्डको विषयमा नाटोका महासचिव मार्क रुटसँग टेलिफोन वार्ता गरेको बताएका छन् ।

ओलीको गढमा बालेनको रणनीति : एमाले–कांग्रेसका नेता तान्दै, समूह–समूहमा भेटघाट

झापा । झापा क्षेत्र नम्बर–५ मा आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लिएर राजनीतिक सरगर्मी तीव्र बन्दै गएको छ। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत गढ मानिएको यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को उम्मेदवारीले नयाँ राजनीतिक तरङ्ग सिर्जना गरेको छ ।

यसैबीच नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल, दमक नगर कमिटीका अध्यक्ष छवि खतिवडा ले संगठन परित्याग गर्दै बालेन शाहलाई समर्थन गर्ने घोषणा गरेका छन् । खतिवडाले सामाजिक सञ्जाल फेसबुकमार्फत २०८२ माघ ७ गतेदेखि आफू राष्ट्रिय युवा संघ र नेकपा (एमाले) को संगठित सदस्य नरहेको स्पष्ट पारेका हुन् ।

उनले लेखेका छन्, ‘परिवर्तनलाई आत्मसात् गर्दै झापा–५ का उम्मेदवार बालेन शाहको चुनावी अभियानमा साथ–समर्थन जनाएको छु ।’ खतिवडाको यो निर्णयलाई दमकको राजनीतिमा महत्वपूर्ण घटनाका रूपमा हेरिएको छ ।
एमाले मात्र होइन, नेपाली कांग्रेसभित्र पनि बालेनको उम्मेदवारीले हलचल ल्याएको देखिन्छ । यसअघि मंगलबार नेपाली कांग्रेस दमक नगर समितिका सभापति प्रकाश प्रसाईले समेत बालेनलाई सघाउने घोषणा गर्दै पार्टीको जिम्मेवारीबाट राजीनामा दिएका थिए । उनले साधारण सदस्य समेत नरहने गरी कांग्रेस परित्याग गरेका हुन् ।

बालेनको फरक चुनावी रणनीति
राजनीतिक समर्थन मात्र होइन, बालेन शाहको चुनावी शैली पनि झापा–५ मा चर्चाको विषय बनेको छ । बुधबार बिहानदेखि दमकमा घरदैलो तथा मतदाता भेटघाट थालेका बालेनले परम्परागत व्यक्तिगत भेटघाटभन्दा फरक शैली अपनाएका छन् । उनले समूहगत भेटघाट प्रणाली लागू गर्दै प्रत्येक समूहलाई अधिकतम १० मिनेट मात्र समय दिने व्यवस्था गरेका छन् ।

अत्यधिक भीड, समय व्यवस्थापन र धेरै मतदातासँग संक्षिप्त संवाद गर्नका लागि यस्तो नीति अपनाइएको उनको सचिवालयले जनाएको छ । दमकस्थित रास्वपा कार्यकर्ता लक्की सिटौला को निवासमा बास बसेका बालेनलाई भेट्न बिहानैदेखि मतदाताहरूको ठूलो भीड लागेको थियो । काठमाडौँ महानगरपालिकाका पूर्व मेयर समेत रहेका बालेनप्रति स्थानीय मतदाताको उत्साह उल्लेखनीय देखिएको छ । यद्यपि, बुधबारका भेटघाटहरू परिचयात्मक संवादमै सीमित राखिएका थिए ।

रास्वपा झापा–५ का क्षेत्रीय संयोजक भेषराज भट्टराई का अनुसार बालेनको चुनावी अभियान औपचारिक रूपमा सुरु भइसकेको छ, यद्यपि विस्तृत कार्यक्रम तालिका सार्वजनिक भइसकेको छैन । झापापछि मोरङ, सुनसरी तथा पहाडी जिल्ला इलाम, पाँचथर र ताप्लेजुङसम्म पुगेर चुनावी अभियान विस्तार गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।

ओली–बालेन : कडा प्रतिष्पर्धाको संकेत
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले झापा–५ बाट उम्मेदवारी दर्ता गराइसकेका छन् । ओली यस क्षेत्रबाट निरन्तर विजयी हुँदै आएका छन् । तर यस पटक एमाले र कांग्रेस दुवै पार्टीका प्रभावशाली नेता–कार्यकर्ताहरू बालेनतर्फ आकर्षित हुन थालेपछि ओली र बालेनबीच कडा र रोचक प्रतिष्पर्धा हुने संकेत देखिएको छ । झापा–५ मा देखिएको यो राजनीतिक पुनर्संरचनाले आगामी निर्वाचनलाई थप चासो र बहसको केन्द्रमा ल्याएको छ ।

 

 

जहाँ हुँदैछ ‘हेभिवेट’ चुनावी महाभिडन्त

काठमाडौं । अघिल्ला निर्वाचनहरूमा जस्तै यसपटक पनि केही प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा महाभिडन्त हुने देखिएको छ ।

महाभिडन्तमा हुने जित हारले देशको राजनीतिको रुप नै बदल्न सक्छ । त्यसो हुँदा महाभिडन्त हुने क्षेत्र राष्ट्रिय चासोको केन्द्रमा छ ।

सर्वाधिक चासो रहेको झापा–५ मा हो । यहाँ तीनपटक प्रधानमन्त्री भइसकेका एमाले अध्यक्ष केपी शर्मा ओली र एकपटक काठमाडौं महानगरपालिकाको प्रमुख भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) बीच महाभिडन्त हुँदैछ ।

यी दुवै जना आ–आफ्नो पार्टीबाट भावी प्रधानमन्त्रीका घोषित उम्मेदवार हुन् । ओली आठौँपटक संसदीय निर्वाचनमा उम्मेदवार बन्दा बालेन पहिलोपटक उम्मेदवार बनेका हुन् ।

यी दुई भावी प्रधानन्त्रीका उम्मेदवारमध्ये एकले जित्‍ने र अर्कोले हार्ने निश्‍चत छ । उसो त यहाँ कांग्रेसकी मन्दरा चिमरिया र नेकपाका प्रभावशाली युवा नेता रञ्‍जित तामाङ तथा श्रम संस्कृति पार्टीका युवा नेता समीर तामाङ पनि प्रतिस्पर्धामा छन् ।

मधेस प्रदेशको सर्लाही–४ मा कांग्रेस सभापति गगन थापा र पूर्वकांग्रेसी नेता हालका रास्वपा उम्मेदवार डा. अमरेशकुमार सिंहबीच चुनावी भिडन्त हुँदैछ । थापा आफूले २०७०, २०७४ र २०७९ मा लगातार निर्वाचन जितेको काठमाडौं–४ छाडेर सर्लाही–४ पुगेका हुन् ।

यही क्षेत्र हो, जहाँबाट सिंहले कांग्रेस उम्मेदवार भएर २०७४ मा निर्वाचन जितेका थिए । २०७९ मा कांग्रेसले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवार भएर पनि निर्वाचन जितेका थिए । यही क्षेत्रमा थापाले सिंहविरुद्ध धावा बोलेका छन् ।

थापा पनि कांग्रेसले घोषणा गरेको भावी प्रधानमन्त्रीका उम्मेदवार हुन् । उनी पराजित भए पाँच वर्षसम्म प्रधानमन्त्री बन्ने उनको सपनामा तुषरापात हुने छ ।

झापा–२ मा विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा रानामगरबीच महाभिडन्त हुँदैछ । घिमिरे एमाले र राना रास्वपा उम्मेदवार हुन् । घिमिरे २०७९ मा निर्वाचित भएका थिए । राना समानुपातिक सांसद थिइन् ।

यसपटक संसद्का दुई नेता प्रतिस्पर्धामा उत्रिएका हुन् । अघिल्लोपटकको निर्वाचनमा निकटतम प्रतिद्वन्द्वी भएका स्वागत नेपाल राप्रपाबाट उम्मेदवार छन् । पहिले स्वतन्त्र र अहिले उनी दलबाट निर्वाचनमा होमिएका हुन् । विगतको निर्वाचन परिणामलाई आधार मान्दा झापा–२ बाट पटकपटक कम्युनिस्ट उम्मेदवारहरूले निर्वाचन जित्दै आएका छन् । यसपटक के हुन्छ ? हेर्न बाँकी छ ।

गोरखा–२ मा प्रलोपा नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्ध नेकपाका नेता लेखनाथ न्यौपानेबीच आमनेसामने हुँदैछ । यो क्षेत्र १० वर्षे युद्धकालमा माओवादी प्रभावित क्षेत्र हो । भट्टराई र न्यौपाने युद्धका सहयात्रीसमेत हुन् ।

उनीहरूबीच नै यसपटक भिन्‍नभिन्‍न पार्टीबाट प्रतिस्पर्धा हुन लागेको हो । उसो त यहाँ एमालेले मिलन गुरुङ (चक्रे मिलन) र कांग्रेसले प्रकाशचन्द्र दवाडीलाई उम्मेदवार बनाएको छ ।

महाभिडन्त हुने अर्को प्रतिनिधिसभा क्षेत्र बागमतीको चितवन–२ पनि हो । यहाँ यसपटक पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभाति रवि लामिछाने उम्मेदवार बनेका छन् ।

सहकारी ठगी मुद्दामा पर्सा जिल्ला अदालत पुगेका कारण उनले वारेसमार्फत् उम्मेदवारी दर्ता गराएर तेस्रोपटक निर्वाचनमा उत्रिए । यसअघि पहिलोपटक २०७९ मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचन र दोस्रोपटक २०८१ को वैशाखमा भएको प्रतिनिधिसभा उपनिर्वाचनमा उनी उम्मेदवार बनेका थिए ।

यसपटक पनि उम्मेदवार बनेका उनको क्षेत्र चिवतन–२ मा कांग्रेसकी मीनाकुमारी खरेल प्रतिस्पर्धामा उत्रिएकी छिन् । बाल अधिकार र महिला अधिकारको क्षेत्रमा लामो समयदेखि क्रियाशील हुने सामाजिक अभियन्ता पनि हुन् ।

कांग्रेसबाट उम्मेदवार बनेकी उनी प्रभावशाली नेतृ हुन् । उनी यसपटक पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत भइसकेका लामिछानेसँग आमनेसामने भएकी हुन् ।

चितवन–२ एमालेको पनि प्रभाव क्षेत्र हो र यहाँ एमालेबाट लामिछानेसँगको चुनावी भिडन्तमा अस्मिन घिमिरेलाई उतारेको छ । उनी नयाँ उम्मेदवार हुन् । नेकपाले पनि यहाँ यसपटक प्रभावशाली नेता प्रताप गुरुङलाई उम्मेदवार बनाएको छ ।

विगतका दुई निर्वाचनमा लामिछाने प्रतिस्पर्धीहरूभन्दा तेब्बर बढी मतले विजयी भएका थिए । यसबीचमा सहकारी ठगीजस्ता आरोपले उनको छविमा दाग लागेको छ । त्यसो हुनाले यसपटक चितवन–२ मा पनि चर्को भिडन्त हुने ठानिएको छ ।

यस्तै, रुकुम पूर्वमा नेकपा संयोजक पुष्पकमल दाहालसँग कांग्रेस उम्मेदवार कुशुम थापा मगर र एमाले उम्मेदवार लिलामणि गौतम प्रतिस्पर्धा गर्दैछन् ।

निर्वाचन फेरेको फेरेकै गरेका कारण ‘घुमन्ते उम्मेदवार’को छवि बनाएका पूर्वप्रधानमन्त्री दाहाललाई राष्ट्रिय राजनीतिमा त्यति नचिनिएका दुई नेताले टक्कर दिने भएका छन् । त्यहाँ दाहाल सहज जितका लागि गएका हुन् ।

कुशुम र लिलामणि जिल्लावासी हुनाले मतदाताले दीर्घकालसम्मका जनप्रतिनिधि खोजेको अवस्थामा दाहालले पराजय बेहोर्न पनि सक्छन् ।

दाहालकै दल नेकपाका सहसंयोजक माधवकुमार नेपाललाई यसपटक मधेश आन्दोलनका शीर्षस्थमध्येका एक नेता अनिलकुमार झाले टक्कर दिँदै छन् । झा कांग्रेस प्रवेश गरेर नेपालसँगको प्रतिस्पर्धा निश्‍चित गरेका हुन् ।

नेपालले पटकपटक यस क्षेत्रबाट निर्वाचन जित्दै आएका छन् । उनको जित रोक्नेगरी झा यसपटक उम्मेदवार बनेर नेपालमाथि चुनौती बढाइदिएका छन् ।

यस्तै, काठमाडौं–३ मा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ उम्मेदवार बनेका छन् । उनलाई टक्कर दिन रास्वपाले काठमाडौं महानगर प्रहरी बलका पूर्वप्रमुख राजुनाथ पाण्डेलाई अघि सारेको छ ।

घिसिङ नेपाललाई १८ घण्टा लामो लोडसेडिङ अन्त्य गरेका नेपाल विद्युत् प्राधिकरणका भूतपूर्व कार्यकारी निर्देशक हुन् । लोकप्रिय छविका उनी सुशीला कार्की नेतृत्वको नागरिक सरकारमा ऊर्जा, भौतिक र सहरी विकास मन्त्रालयको नेतृत्व गर्दै हाल निर्वाचनको मैदानमा आएका नेता हुन् ।

२०७९ को प्रतिनिधिसभा निर्वाचन कांग्रेसका सन्तोष चालिसे र २०७४ को प्रतिनिधिसभा निर्वाचन एमालेका कृष्णकुमार राईले जितेका थिए ।

यस्तै, सुनसरीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर – १ मा यसपटक महाभिडन्त हुने भएको छ । यहाँ श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ पहिलोपटक उम्मेदवार बनेका छन् ।

एमाले र एमाले समर्थित उम्मेदवारले मात्रै निर्वाचन जित्ने गरेको यस क्षेत्रमा साम्पाङ बलिया प्रतिस्पर्धीका रूपमा उत्रिएका छन् ।

उनीसँग प्रतिस्पर्धामा एमालेले पूर्वसभासद टीकाराम लिम्बू, कांग्रेसले सुजेन्द्र तामाङ र नेकपाले पूर्ववडाध्यक्ष मनोज भट्टराईलाई उम्मेदवार बनाएको छ ।

यो त्यस्तो क्षेत्र हो, जहाँबाट २०४८ मा एमालेका मनमोहन अधिकारी निर्वाचित भए । उनी नेपालको पहिलो कम्युनिस्ट प्रधानमन्त्री हुन् । २०५१, २०५६, २०७० र २०७४ मा एमालेका उम्मेदवारले मात्रै निर्वाचन जितेका थिए ।

२०६४ मा माओवादी र २०७९ मा एमाले समर्थित जसपाका उम्मेदवारले निर्वाचत जिते । त्यसो हुँदा यो कम्युनिस्ट जनाधार बलियो भएको क्षेत्रमा यसपटक धरानका पूर्वप्रमुखसमेत रहेका हर्कसँग अन्य दलका उम्मेदवारहरूको भिडन्त चर्को हुने भएको छ ।

अर्को महाभिडन्त हुने क्षेत्र झापा– ३ पनि हो । यहाँ २०७४ र २०७९ मा लगातार दुईपटक निर्वाचन जितको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन ह्याट्रिक जितको अपेक्षासहित उम्मेदवार बनेका छन् ।

विगतमा कांग्रेसको बलियो प्रभाव क्षेत्र रहेको यस क्षेत्रमा कांग्रेसले राजेन्द्र घिमिरे र एमालेले हरिलाल राजवंशी तथा रास्वपाले जिल्ला सभापति प्रकाश पाठकलाई उम्मेदवार बनाएको छ । यी सबै नेता निकै प्रभावशाली हुन् । उनीहरूले यसपटक राप्रपा अध्यक्ष लिङ्देनसँग कडा टक्कर दिन सक्ने विश्लेषण भइरहेको छ ।

यस्तै नुवाकोट–१ मा नेकपाका उम्मेदवार हितबहादुर तामाङसँग नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतबीच प्रतिस्पर्धा हुँदै छ । तामाङ २०७४ र २०७९ मा लगातार निर्वाचित नेता हुन् । पूर्वमन्त्री तामाङ त्यस क्षेत्रका लोकप्रिय नेता मानिन्छन् ।

उनै तामाङका प्रतिस्पर्धी यसपटक डा. महत भएका हुन् । महतकै दाजु डा. रामशरणसँग तामाङ २०६४ र २०७० को संविधानसभा निर्वाचनमा झिनो मतान्तरले पराजित भएका थिए । तर, पछिल्ला दुई निर्वाचनमा भने तामाङले जित निकाले ।

यसपटक उनीसँग प्रतिस्पर्धामा उत्रिएका प्रकाशशरण कहिल्यै प्रत्यक्ष निर्वाचन नजितेका नेता हुन् । यसअघि जतिपटक उनी संसद् पुगे, समानुपातिक सांसद भएर मात्रै हो । उनले अहिलेसम्म प्रत्यक्ष चुनाव जितेकाे रेकर्ड छैन ।

परिष्कृत कांग्रेसमार्फत समुन्नत देश निर्माण : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले परिष्कृत कांग्रेसमार्फत देशलाई सम्मुनत बनाइने बताएका छन् । प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवारी दर्ताको एक दिनपछि बुधबार सामाजिक सञ्जालमार्फत थापाले आफ्नो नेतृत्वमा ‘परिष्कृत कांग्रेस’ बनेको भनाइ राखेका हुन् ।

विशेष महाधिवेशनबाट सभापति चयन भएका थापाका नेतृन्वको कांग्रेस केन्द्रीय कार्यसमितिलाई निर्वाचन आयोगले मान्यता दिएको थियो । त्यसका विरुद्ध तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले निर्वान आयोगको निर्णय बदर गर्न अन्तरिम आदेश माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । त्यसपछिमा सुनुवाइ गर्दै मंगलबार सर्वोच्चले अन्तरिम आदेश दिने अस्वीकार गरेको थियो ।

त्यसपछि आज थापाको प्रतिक्रिया आएको हो । थापाले भनेका छन्, ‘हामी परिष्कृत कांग्रेसमार्फत समुन्नत देश निर्माणका लागि पूर्ण प्रतिबद्ध छौं ।’ फागुन २१ को निर्वाचनका लागि उम्मेदवारी दर्तापछि सभापति थापाले पार्टीपंक्तिलाई यस्तो बताएका हुन् । उनले भनेका छन्, ‘हामी परिस्कृत कांग्रेसमार्फत समुन्नत देश निर्माणका लागि पूर्ण प्रतिबद्ध छौं ।’ सभापति थापा सर्लाही ४ बाट चुनाव लड्दै छन् । उनलाई कांग्रेसले भावी प्रधानमन्त्रीको रूपमा अघि सारेर चुनावमा होमिँदै छ।

पतञ्जलि जग्गा प्रकरण : माधव नेपालसहित ९३ प्रतिवादीको मुद्दामा सुनुवाइ हुँदै

काठमाडौं । पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालसँग सम्बन्धित जग्गा हिनामिना प्रकरणमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल प्रतिवादी रहेको भ्रष्टाचार मुद्दा विशेष अदालतमा सुनुवाइको चरणमा प्रवेश गरेको छ । यस मुद्दामा विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र न्यायाधीश हेमन्त रावलको संयुक्त इजलासमा पेसी तोकिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जेठ २२ गते पतञ्जलि जग्गा प्रकरणमा नेपालसहित ९३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । अख्तियारले नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो असुल, जरिवाना तथा सजाय मागदाबी गरेको छ । अख्तियारको अभियोग अनुसार तत्कालीन प्रधानमन्त्रीको हैसियतमा माधव नेपालले पदको दुरुपयोग गर्दै सरकारी सार्वजनिक सम्पत्ति निजी तथा संस्थागत स्वार्थअनुसार हस्तान्तरण गराएको आरोप छ । पतञ्जलि योगपीठलाई कानुनी हदबन्दीभन्दा बढी जग्गा कारोबार गर्न अनुमति दिने निर्णय भ्रष्टाचारजन्य कार्य भएको अख्तियारको ठहर छ ।

अभियोगपत्रमा उल्लेख भएअनुसार नेपाल नेतृत्वको मन्त्रिपरिषद्ले २०६६ फागुन ६ गतेको बैठकबाट पतञ्जलिलाई हदबन्दीभन्दा बढी जग्गा कारोबारको स्वीकृति दिएको थियो । त्यस्तै, २०६६ माघ १८ गते ठाडो आदेशमार्फत पतञ्जलिलाई हदबन्दीभन्दा बढी जग्गा बिक्री तथा सट्टापट्टा गर्न अनुमति दिलाइएको दाबी गरिएको छ । यस प्रकरणमा ३१४ रोपनी १५ आना २ पैसा १ दाम सरकारी जग्गा गैरकानुनी रूपमा बिक्री तथा हिनामिना भएको आरोप छ । सोही आधारमा अख्तियारले ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्दै कुल १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो मागदाबी गरेको हो । अब विशेष अदालतमा हुने सुनुवाइले पतञ्जलि जग्गा काण्डमा राजनीतिक नेतृत्वदेखि प्रशासनिक तहसम्मको भूमिकामाथि न्यायिक परीक्षण गर्ने अपेक्षा गरिएको छ ।

 

 

 

शंकर पोखरेल र प्रकाण्डको क्षेत्रमा एमाले–माओवादीबीच चुनावी तालमेल

दाङ । नेकपा (एमाले) र नेकपा (माओवादी) बीच प्रतिनिधिसभाका दुई निर्वाचन क्षेत्रमा चुनावी तालमेल गर्ने राजनीतिक सहमति भएको छ । सहमतिअनुसार दाङ–२ र कालीकोटमा दुवै पार्टीले एक–अर्काका उम्मेदवारलाई प्रत्यक्षतर्फ समर्थन गर्ने भएका छन् भने समानुपातिक निर्वाचनमा भने आ–आफ्नै चुनाव चिन्ह कायम राखेर प्रतिष्पर्धा गर्ने निर्णय गरिएको छ ।

माओवादी महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र एमाले महासचिव शंकर पोखरेलबीच भएको समझदारीअनुसार दाङ–२ मा माओवादीले प्रत्यक्षतर्फ उम्मेदवारी नदिई एमालेका उम्मेदवार तथा पार्टी महासचिव शंकर पोखरेललाई समर्थन गर्ने भएको छ । यही सहमतिका कारण माओवादीले दाङ–२ मा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता स्थगित गरेको माओवादी निकट अखिल (समाजवादी) का केन्द्रीय सचिव प्रकाश सीले जानकारी दिए ।

उता कालीकोटमा भने एमालेले माओवादीका उम्मेदवार खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई समर्थन गर्ने सहमति भएको छ । माओवादीका प्रवक्ता समेत रहेका प्रकाण्डले कालीकोटबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी मनोनयन दर्ता गराइसकेका छन् ।

माओवादी दाङका इन्चार्ज सविन पोखरेलका अनुसार दाङ–२ मा माओवादीका करिब १ हजार ६ सय पार्टी सदस्य र झण्डै ५ हजार शुभेच्छुक मतदाता रहेका छन् । उनले ती मतदाताले सहमतिअनुसार एमाले उम्मेदवार पोखरेललाई समर्थन गर्ने दाबी गरे । उनका अनुसार यो सहमति हाल मौखिक रहेको भए पनि केही दिनभित्रै लिखित रूपमा टुंग्याउने तयारी भइरहेको छ ।

यद्यपि, एमालेका शीर्ष नेताहरूले यस विषयमा औपचारिक प्रतिक्रिया दिन चाहेका छैनन् । माओवादी पक्ष भने दुई क्षेत्रमा आपसी समर्थन मात्रै भएको र समानुपातिक मत भने आफ्नै चुनाव चिन्हमा हाल्नुपर्ने स्पष्ट नीति रहेको बताइरहेको छ। उल्लेखनीय छ, विप्लव नेतृत्वको माओवादी यसअघि (स्थानीय तहको पछिल्लो निर्वाचनबाहेक) लामो समयसम्म संसदीय निर्वाचन बहिष्कार गर्दै आएको थियो । यस पटक भने प्रकाण्डको नेतृत्वमा प्रतिनिधिसभा निर्वाचनमा सक्रिय सहभागिता जनाउँदै एमालेसँग सीमित क्षेत्रीय तालमेल गरेको छ ।

 

अन्तरिम सरकारले देश जलाउनेहरुको, अपराधीहरुलाई कारवाही गरेन : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक सम्पति जलाउनेहरुलाई कारबाहीको दायरामा ल्याउने बताएका छन् । बुधवार गृह जिल्ला झापामा जेन–जी आन्दोलनका क्रममा आगजनी, तोडफोड भएका संरचनाहरुको अवलोकन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

उनले सार्वजनिक सम्पति, नगरपालिका, राजनीतिक कार्यकर्ताको घर जलाउनेहरु कानूनुनअनुसार दोषी रहेको बताए । अपराधिक गतिविधि गर्नेहरुलाई कारबाही हुनुपर्ने र अपराधलाई प्रोत्साहन गर्न नसकिने बताए । अपराध रोकेर शान्तिपूर्ण, बस्न लायकको देश बनाउनु पर्ने बताए ।

उनले भने, ‘राष्ट्रिय सम्पति, सार्वजनिक सम्पति, नगरपालिका, राजनीतिक कार्यकर्ताको घर, कार्यालय जलाउने कुरा अपराधिक गतिविधि हुन् । अपराधलाई प्रोत्साहन गर्न सकिँदैन । अपराध रोक्नु पर्छ । अपराध रोकेर शान्तिपूर्ण, बस्न लायकको देश बनाउनु पर्छ । कारबाहीको दायरामा ल्याउनु पर्छ । अरुको घर जलाएर छोडिदिन पाइन्छ ? अहिलेको सरकार सायद उनीहरुकै सरकार हो । त्यसकारण उनीहरुलाई जोगाउने काम गरेको छ ।’

अन्तरिम सरकार देश जलाउनेहरुकै भएकाले पनि अपराधीहरुलाई कारबाही नगरेको उनको जिकिर छ । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि अध्यक्ष ओली मनोनयन गर्न सोमवार मात्रै झापा गएका थिए । झापा ५ बाट उनले आगामी निर्वाचनमा प्रतिष्पर्धा गर्ने गरी मनोनयन गराएका छन् ।

 

 

महँगो निर्वाचन : १९ अर्ब बढी निकासा, सुरक्षा र व्यवस्थापनमै ठूलो हिस्सा

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सरकारले निर्वाचन व्यवस्थापन र सुरक्षाका लागि १९ अर्ब रुपैयाँ बढी बजेट सुनिश्चित गरेको छ । अर्थ मन्त्रालयले निर्वाचन आयोग, गृह मन्त्रालय र रक्षा मन्त्रालयलाई चरणबद्ध रूपमा १९ अर्ब ११ करोडदेखि १९ अर्ब २१ करोड रुपैयाँसम्म स्रोत सहमति तथा निकासा गरिसकेको छ ।

अर्थ मन्त्रालयका अनुसार मंगलबारसम्म निर्वाचन व्यवस्थापनका लागि कुल १९ अर्ब २१ करोड रुपैयाँ निकासा भइसकेको छ । यसमध्ये गृह मन्त्रालयलाई १० अर्ब ३९ करोड, निर्वाचन आयोगलाई करिब ६ अर्ब ७२–७३ करोड र रक्षा मन्त्रालयलाई १ अर्ब ९९ करोड रुपैयाँ उपलब्ध गराइएको छ । मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयका अनुसार निर्वाचनसँग सम्बन्धित तीनै निकायको आवश्यकता मूल्यांकन गरेर बजेट सुनिश्चित गरिएको हो ।

सुरक्षा निकायमा सबैभन्दा ठूलो खर्च
निर्वाचनलाई निष्पक्ष, भयरहित र शान्तिपूर्ण बनाउन सुरक्षा व्यवस्थामै सबैभन्दा ठूलो बजेट छुट्याइएको छ । गृह र रक्षा मन्त्रालयले निर्वाचन सुरक्षाका लागि करिब साढे २० अर्ब रुपैयाँको स्रोत व्यवस्थापन प्रस्ताव अर्थ मन्त्रालयमा पठाएका थिए । सोही प्रस्तावका आधारमा सुरक्षा निकायका लागि बजेट सुनिश्चित गरिएको हो । केन्द्रीय सुरक्षा समिति बैठकले यस पटक १ लाख ४७ हजार निर्वाचन प्रहरी (साविक म्यादी प्रहरी) भर्ना गर्ने निर्णय गरिसकेको छ ।

४० दिनको कार्यअवधिका लागि उनीहरूलाई प्रहरी जवान सरह पारिश्रमिक, पोसाक, रासन, यातायात र खाजाभत्ता उपलब्ध गराइनेछ । यस शीर्षकमा मात्रै करिब ९ अर्ब १५ करोड रुपैयाँ विनियोजन प्रस्ताव गरिएको छ । यसका अतिरिक्त नेपाल प्रहरीका लागि ४ अर्ब २ करोड, नेपाली सेनाका लागि ३ अर्ब ४४ करोड, सशस्त्र प्रहरी बलका लागि ३ अर्ब ३३ करोड, ७७ जिल्ला प्रशासन कार्यालयका लागि ३१ करोड ४६ लाख, गृह मन्त्रालयका लागि ३१ करोड र राष्ट्रिय अनुसन्धान विभागका लागि ६ करोड ९० लाख रुपैयाँ बजेट प्रस्ताव गरिएको छ । निर्वाचन अवधिमा सेनाका ७९ हजार ७ सय २७, नेपाल प्रहरीका ७१ हजार ६ सय २०, सशस्त्र प्रहरीका ३५ हजार १ सय १६ र अनुसन्धान विभागका करिब १ हजार ९ सय जनशक्ति परिचालन गर्ने तयारी छ ।

आयोगको खर्च : मतपत्रदेखि प्रशिक्षणसम्म
निर्वाचन आयोगले सार्वजनिक खरिद ऐन र निर्वाचन आयोग ऐन २०७३ अनुसार बजेट खर्च गर्दै आएको छ । आयोगका अनुसार १६५ वटै निर्वाचन क्षेत्रमा अस्थायी कार्यालय स्थापना, मतपत्र छपाइ, मतदान तथा मतगणना सामग्री, यातायात, कर्मचारी तथा स्वयंसेवक प्रशिक्षण, मतदाता शिक्षा, अभिमुखीकरण र कार्यालय सञ्चालनजस्ता शीर्षकमा बजेट खर्च हुनेछ ।

देशभर आयोगका ७ प्रदेश कार्यालय र ७७ जिल्ला निर्वाचन कार्यालयमार्फत निर्वाचन व्यवस्थापन गरिनेछ । आयोगले यसपटक निर्वाचनमा करिब २७ अर्ब रुपैयाँ खर्च लाग्ने प्रारम्भिक अनुमान गरेको भए पनि हालसम्म सवा १९ अर्ब रुपैयाँ मात्रै निकासा भएको छ ।

अघिल्ला निर्वाचनभन्दा महँगो
२०७९ सालको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि सरकारले १८ अर्ब ५ करोड ४८ लाख रुपैयाँ निकासा गरेको थियो । तर, वास्तविक खर्च १६ अर्ब ४९ करोड ७३ लाख रुपैयाँमा सीमित भएको थियो, जुन कुल निकासाको ९१.३७ प्रतिशत हो । त्यतिबेला निर्वाचन आयोग, गृह मन्त्रालय र रक्षा मन्त्रालयले क्रमशः ८१.५९ प्रतिशत, ९९.७७ प्रतिशत र शतप्रतिशत बजेट खर्च गरेका थिए ।

त्यस्तै, आर्थिक वर्ष २०७८/७९ मा सम्पन्न स्थानीय तह निर्वाचनका लागि १३ अर्ब ३१ करोड ५४ लाख रुपैयाँ निकासा गरिएको थियो । सो निर्वाचनमा करिब ९०.८० प्रतिशत बजेट खर्च भएको थियो । यस पटक सुरक्षा जनशक्ति संख्या बढाइएकाले बजेट अघिल्ला निर्वाचनभन्दा बढी देखिएको गृह मन्त्रालयको भनाइ छ । मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार सुरक्षा संयन्त्र सुदृढ गरेर निर्वाचनलाई शान्तिपूर्ण र विश्वसनीय बनाउन बजेट आवश्यक परेको हो ।
सरकारले रोक्का गरिएको विभिन्न मन्त्रालयको बजेट, टुक्रे आयोजना कटौती र अन्य स्रोत व्यवस्थापनमार्फत निर्वाचन खर्च सुनिश्चित गरेको अर्थ मन्त्रालयले जनाएको छ । आगामी निर्वाचनको तयारी तीव्र पार्दै तीनै निकायले बजेट कार्यान्वयन सुरु गरिसकेका छन् ।

 

झापा–५ मा बालेन बिहानैदेखि घरदैलोमा व्यस्त {तस्वीरहरु}

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि झापा क्षेत्र नम्बर–५ मा सक्रिय रूपमा मैदानमा उत्रिएका छन् । मंगलबार उम्मेदवारी दर्ता गराएपछि उनी बुधबार बिहानैदेखि निर्वाचन क्षेत्रमै रहेर घरदैलो अभियान र मतदाता भेटघाटमा व्यस्त देखिएका छन् ।

बालेनले झापा–५ का विभिन्न बस्तीमा पुगेर स्थानीय मतदातासँग प्रत्यक्ष संवाद गरिरहेका छन् । समुदायका सबै वर्गका नागरिकसँग भेटघाट गर्दै उनीहरूले उठाएका समस्या, गुनासा र अपेक्षा सुन्ने कार्यलाई उनले प्राथमिकता दिएका छन् । सडक, शिक्षा, स्वास्थ्य, रोजगारीलगायत विषयमा स्थानीयको धारणा सुन्दै उनले आफ्नो दृष्टिकोण पनि राखिरहेका छन् ।

काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर संसदीय राजनीतिमा होमिएका बालेन झापा–५ मा प्रभावशाली प्रतिष्पर्धामा छन् । यस क्षेत्रबाट पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली उम्मेदवार रहेकाले चुनावी प्रतिष्पर्धा थप चासोको विषय बनेको छ ।

मतदातासँगको भेटघाटका क्रममा बालेन सरल शैलीमा प्रस्तुत भएका छन् । स्थानीय चिया पसल, घरआँगन र सामुदायिक जमघटमा पुगेर उनले ‘प्रतिनिधि संसदमा पुगेर जनताको आवाज बलियो बनाउने’ प्रतिबद्धता दोहो¥याएका छन् ।
झापा–५ मा बालेनको सक्रियतासँगै निर्वाचनको माहोल क्रमशः तातिँदै गएको छ । उनका समर्थकहरूले सामाजिक सञ्जालमार्फत तस्वीर र गतिविधि साझा गरिरहेका छन् भने राजनीतिक वृत्तमा यो प्रतिष्पर्धालाई यस पटकको निर्वाचनको सबैभन्दा रोचक लडाइँमध्ये एकका रूपमा हेरिएको छ ।