`

४९ जनाले फिर्ता लिए उम्मेदवारी

काठमाडौं । निर्वाचन आयोगले ४९ उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको जानकारी दिएको छ । नियमित पत्रकार सम्मेलनमार्फत् आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले उम्मेदवारी फिर्ताको विवरण सार्वजनिक गरेका हुन् । निर्वाचन कार्यक्रम अन्तर्गत आज दिउँसो १० बजेदेखि १ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय तोकिएको थियो । आजै आयोगले उम्मेदवारहरूलाई निर्वाचन चिह्न पनि प्रदान गर्दैछ ।

स्वतन्त्र उम्मेदवारले आज चिह्न प्राप्त गर्नेछन् भने दलीय उम्मेदवारहरूले दलको चिह्न पाउने छन् । त्यस्तै, ५ जनाविरुद्ध दाबी विरोध परेको थियो । जसमा १ जनाको मात्रै खारेज भएको र अन्य ४ जनाको यथावत रहेको पनि उनले जानकारी दिए । फागुन २१ गते हुने निर्वाचनका लागि माघ ६ गते प्रत्यक्ष तर्फको मनोनयन दर्ता भएको थियो । आयोगका अनुसार ३ हजार ९० पुरूष, ३ सय ९६ महिला र १ अन्य गरी ३ हजार ४ सय ८७ जनाले मनोनयनपत्र दर्ता गरेका थिए ।

कांग्रेस फेरि पनि पहिलो पार्टी बन्छ : अर्जुनरसिंह केसी

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रिय सदस्य अर्जुनरसिंह केसीले नेपाली कांग्रेस फेरि पनि पहिलो पार्टी बन्ने दावी गरेका छन् । नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा पत्रकारहरुसँगको कुराकानीका क्रममा उनले यस्तो बताएका हुन् ।

उनले कांग्रेसको विशेष महाधिवेशनपछि पार्टी र समग्र देशवासीमा नयाँ उत्साह र भरोसा सिर्जना गरेको बताए । उनले पार्टीका सबैलाई समेटेर एकीकृत रुपमा अगाडि बढ्नुपर्ने बताउँँदै आगामी फागुन २१ गते हुने निर्वाचनमा फेरि पनि पहिलो दल हुने दाबी गरे । नेपाली कांग्रेस विघठित प्रतिनिधिसभाको पनि पहिलो दल हो ।

उनले भने, ‘पार्टीको निम्ति र समग्र देशबासीको निम्ति उत्साह, नयाँ आशा र नयाँ भरोसा सिर्जना गरेको छ । यसलाई हामीले सबैलाई समेटेर एकीकृत रुपबाट हामी अगाडि बढ्नु पर्छ । नेपाली कांग्रेस फेरि पनि पहिलो पार्टी हुन्छौँ ।’ उनले पार्टी सभापति गगन थापा एकै निर्वाचन क्षेत्रबाट पटक पटक उम्मेद्वार हुन नहुने मान्यता राखेर सर्लाही–४ बाट उम्मेद्वार बनेको बताए । यसअघि पनि थापा मधेसमा जान खाजेको भए पनि परिस्थिति नमिलेको बताए । नेपाली कांग्रेस र लोकतन्त्रको मेरुदण्डको रुपमा रहेको मधेशलाई सभापति थापाले प्राथमिकतामा राखेर त्यहाँबाट उम्मेद्वारी दिएको उनको भनाई छ ।

 

सानेपाका कांग्रेस केन्द्रिय कार्यसमिति बैठक शुरु

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रिय कार्यसमिति बैठक पार्टी केन्द्रिय कार्यालय सानेपामा शुरु भएको छ । यो बैठक विशेष महाधिवेशनबाट गगनकुमार थापा सभापतिमा निर्वाचित भएपछिको नयाँ नेतृत्वको पार्टी कार्यालयमा बसेको पहिलो केन्द्रिय कार्यसमिति बैठक हो । विशेष महाधिवेशनले थापालाई सर्वसम्मत रूपमा सभापति चयन गरेको थियो भने निर्वाचन आयोगले पनि थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिक मान्यता प्रदान गरिसकेको छ ।

बैठकमा आगामी निर्वाचनमा थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने लगायतका महत्वपूर्ण एजेण्डाहरू छलफल हुने अपेक्षा गरिएको छ । यसअघि संस्थापन पक्षका युवाहरू पार्टी कार्यालय छोडेपछि नयाँ नेतृत्वको टोली सानेपा प्रवेश गरेको हो । पार्टीभित्रको आन्तरिक विवाद र सुधारका एजेण्डालाई सम्बोधन गर्दै थापा नेतृत्वको कार्यसमितिले नयाँ गति लिने विश्वास गरिएको छ ।

आशिका तामाङको जवाफ : चुनाव जित्‍न उठेको म, उम्मेदवारी फिर्ता होइन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट धादिङ– १ मा उम्मेदवार बनेकी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निवेदन दिएको विषयलाई ‘हल्ला’ भनेकी छिन् ।

उनले हल्लाको पछि नलाग्‍न आग्रह गर्दै आफू चुनाव जित्‍न उठेको र उम्मेदवारी फिर्ता नलिने बताइन् । उनले जनताको प्रतिनिधि बनेर आउने दाबीसमेत गरेकी छन् ।

‘हल्लाको पछि नलागौँ, चुनवा जित्‍न उठेको म, उम्मेदवारी फिर्ता होइन जनताको प्रतिनिधि बनेर आउँछु म,’ सामाजिक सञ्‍जालमा लेखेकी छिन् ।

शुक्रबार बिहानदेखि नै आशिकाले उम्मेदवारी फिर्ता निवदेन दिएको खबर सार्वजनिक भएको थियो ।

उनीसँग जर्मनीको स्थायी आवासीय अनुमतिपत्र भएको भनिएको थियो । तर, आशिकाले भने अस्थायी आवासीय अनुमति पत्र भएको जवाफ दिँदै आएकी छन् ।

उनको बिहे जर्मन नागरिकसँग भएको हो ।

जनताले विध्वंश मच्याउनेहरुलाई निर्वाचनमा पराजित गर्नु पर्दछ : देवेन्द्र दाहाल

काठमाडौं । नेकपा (एमाले) का राष्ट्रिय सभा संसदीय दलका नेता देवेन्द्र दाहालले आसन्न निर्वाचनमा देश निर्माण गर्ने राजनीतिक दलहरुलाई विजयी गराउन आम मतदाताहरुलाई आग्रह गरेका छन् । शुक्रवार राष्ट्रिय सभाको १९ औ अधिवेशनमा बोल्दै उनले सो कुरा बताएका हुन् । नेता दाहालले देशलाई ध्वस्त बनाउनेहरुलाई मतदान गर्ने कि देश निर्माण गर्नेलाई भन्ने विषयमा नेपाली जनताले सही र सटिक विश्लेषण गरेर मतदान गर्नुपर्ने बताए ।

उनले देशमा ध्वंश मच्चाउनेहरुलाई निर्वाचनमा विजयी गराउने काम गर्न नहुने समेत बताए । नेता दाहालले भने, ‘यो निर्वाचन एउटा परीक्षा हो जनताका लागि । जसले यो देश बनाउनेलाई, निर्माण गर्नेलाई मतदान गर्ने कि अथवा यो देश ध्वंश बनाउने ? जनताले सही मूल्यांकन गर्नुपर्ने आवश्यकता छ । त्यसमा जनताले सही र सटिक निर्णय गर्नु हुनेछ भन्ने विश्वास राखेको छ ।’ नेता दाहालले प्रतिनिधि सभा विघटन असंवैधानिक भएकाले यसको पुनःस्थापनमा जोड दिनुपरेको बताए ।

कांग्रेस सभापतिको कुर्सीमा गगन, कार्यकर्तामा उत्साह

काठमाडौं । नेपाली कांग्रेसको नव निर्वाचित सभापति गगन थापासहित पदाधिकारीहरुले पदभार ग्रहण गरेका छन् । दोस्रो विशेष महाधिवेशनबाट निवार्चित पदाधिकारीहरुले शुक्रवार पार्टी कार्यलय सानेपामा पदभार ग्रहण गरेका हुन् ।सभापति थापासहित उपसभापति विश्वप्रकाश शर्मा र पुष्पा भुसाल, महामन्त्रीद्वय प्रदीप पौडेल र गुरु घिमिरे तथा सहमहामन्त्रीहरुले पदभार ग्रहण गरेका छन् । पदाधिकारीहरुको पदभारग्रहण पछि केन्द्रिय समितिको बैठक शुरु भएको छ ।

उक्त बैठकले प्रधानमन्त्रीको उम्मेदवार घोषणाको औपचारिक निर्णय गर्ने बताइएको छ । गत पुस २७ गतेदेखि माघ १ गतेसम्म चलेको कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट थापा सर्वसम्बत रुपमा सभापति निर्वाचित भएका थिए ।
विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका थापा शुक्रवार पार्टी कार्यलय सानेपामा पुगेका हुन् । थापा सानेपा पुग्दा स्वागतको लागि कार्यकर्ताको ठूलो भीड लागेको थियो । उनीहरुले सभापति थापालाई स्वागत गर्दै ‘अब की बार गगन सरकार’ को नारा लगाएका थिए ।

साथै उनीहरुले हर्षोल्लासका साथ सभापति थापालाई कार्यलयमा स्वागत गरेका छन् । विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रिय समितिको वैठक पनि पहिलो पटक पार्टी कार्यलयमा बस्न लागेको छ । उक्त बैठकले थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने औपचारिक निर्णय गर्ने जनाइएको छ । गत पुस २७ गतेदेखि माघ १ गतेसम्म चलेको कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट थापा सर्वसम्मत रुपमा सभापति निर्वाचित भएका थिए । सभापति थापासहित पदाधिकारीले पदभार ग्रहण गरेपछि केन्द्रिय समिति बैठक बस्नेछ ।

 

राजनीतिक दलहरुले राष्ट्रिय भावनाको विकास हुने गरी निर्वाचनको प्रचार गर्नु पर्दछ : सिटौला

काठमाडौं । नेपाली कांग्रेस राष्ट्रिय सभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले सबै राजनीतिक दलहरुले मिलेर अघि बढ्नुपर्ने बताएका छन् । आसन्न निर्वाचनमा पनि राजनीतिक दलहरुले राष्ट्रिय एकता कामय हुनेगरी आफूलाई प्रस्तुत गर्नुपर्ने उनको भनाई थियो ।

शुक्रवार राष्ट्रिय सभाको १९ औ अधिवशनमा बोल्दै नेता सिटौलाले राजनीतिक दलहरु, सांसदहरुबीच एकता कायम नहुने हो भने मुलुक दिन प्रतिदिन कमजोर बन्दै जाने अवस्था आएको समेत बताए । उनले राष्ट्रिय भावनाको विकास हुनेगरी निर्वाचनमा प्रचार जुट्न पनि सबै राजनीतिक दलहरुलाई आग्रह गरे ।

नेता सिटौलाले भने, ‘फागुन २१ गते आम निर्वाचन हुँदैछ । यो निर्वाचनले राष्ट्रिय एकता निर्माण गर्न सकोस् । सबै राजनीतिक दलहरु, सबै सांसदहरु मिलेर नीतिगत तहमा एकता नगर्ने हो भने नेपाल दिन प्रतिदिन कमजोर हुँदै जानेछ भन्ने मेरो विचार हो । हरेक राजनीतिक दलहरुभित्र पनि एकता चाहिएको छ । र समग्र राजनीतिक दलहरुका बीचमा पनि एकता चाहिएको छ ।’

उनले भने, ‘जसले मेची महाकाली, तराई, पहाड, हिमाल सबै वर्ग, क्षेत्र, जाति, लिङ्ग, पेशा व्यवसायमा रहेका तमाम नेपालीहरुलाई एकतावद्ध गर्न सकोस् । एउटा सामूहिक राष्ट्रिय भावनाको विकास हुन सकोस् । त्यो उद्देश्यअनुसार राजनीतिक दलहरु जनताको बीचमा प्रस्तुत होउन । एकले अर्कालाई धेरै गाली गर्ने भन्दा पनि निर्वाचनमा जाने सबै राजनीतिक दल र तीनका उम्मेदवारलाई मेरो हार्दिक आग्रह पनि छ–जनतामा व्यग्रता र निराशा दुवै व्यक्त नगर्नुस् । देश बनाउने विचार प्रस्तुत गरेर जनताको मन जित्ने प्रयास गर्नुस् ।’ नेता सिटौलाले सरकार अवैधानिक रहेको उल्लेख गर्दै त्यसलाई वैधानिकता दिन पनि निर्वाचनमा जानुपर्ने अवस्था आएको जिकिर समेत गरे ।

सरकारले आसन्न निर्वाचनलाई निष्पक्ष ढंगले गराउँछ भन्नेमा आशंका छ : डा. भुसाल

काठमाडौं । राष्ट्रिय सभामा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका नेता डा. वेदुराम भुसालले वर्तमान सरकारले आसन्न प्रतिनिधिसभाको निर्वाचन धाँधलीरहित ढंगले सम्पन्न गर्नेमा आशंका रहेको बताएका छन् । शुक्रवार राष्ट्रिय सभाको १९ औं अधिवेशनको शुभारम्भमा बोल्दै उनले सो कुरा बताएका हुन् । त्यसैगरी उनले सो निर्वाचनमा नेपाली जनताले मुलुकको संविधानलाई लयमा फर्काउने राजनीतिक दलहरुलाई चयन गर्नुपर्ने बताए ।

नेता भुसाललेसंविधान च्यात्छु भन्ने, मुलुकमा ध्वंश मच्चाउने शक्तिहरुलाई निर्वाचनमा पराजय गराउने जिम्मेवारी नेपाली जनताको आएको समेत बताए । उनले राष्ट्रिय सभालाई प्रभावकारी बनाउने विषयमा जोड दिन आवश्यक रहेको बताए। नेता भुसालले भने, ‘निर्वाचनसँग जोडिएर कुरा गर्दा अब जनताकाले कस्तो प्रतिनिधि चुन्ने ? एउटा गम्भिर प्रश्न जनताको माझमा खडा भएको छ । सबभन्दा पहिलो प्रश्न त यो सरकारले यो निर्वाचनलाई निष्पक्ष, धाँधलीरहित गराउन सक्छ कि सक्दैन ? गम्भिर प्रश्न त्यहाँ छँदैछ । सँगसँगै नेपाली जनताले कस्ता प्रतिनिधि छान्ने भन्ने प्रश्न पनि खडा भएको छ ।’

उनले भने, ‘देशलाई संविधानको बाटोमा अघि बढाउनका लागि काम गर्ने प्रतिनिधि छान्ने हो कि यस संविधानलाई च्यातेर फाल्नुपर्छ भन्ने जस्ता मानिसहरुलाई प्रतिनिधि छान्ने हो ? देश निर्माण गर्नुपर्छ भन्ने प्रतिनिधि छान्ने हो कि देशलाई ध्वंस बनाउने, भएका संरचनाहरु ध्वंंश गर्नेहरुलाई छान्ने हो ? यो गम्भिर प्रश्न हाम्रा सामू छन । जनताका सामू पनि छन् । यस्तो अवस्थामा हामी यो सभाको बैठक बसिरहेका छौँ ।’ नेता भुसालले मुलुकलाई सही ढंगले अघि बढाउन राजनीतिक दलहरुले मिलेर अघि बढ्नुपर्ने समेत बताए ।

 

कांग्रेसको आजको निर्णयले देशभर नयाँ तरङ्ग सिर्जना गर्छ : महामन्त्री पौडेल

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको केन्द्रिय कार्यसमिति बैठकले निर्वाचन केन्द्रित केही ठोस र ऐतिहासिक निर्णय गर्ने बताएका छन् । पार्टी कार्यलय सानेपामा सञ्चारकर्मीहरुसँग कुराकानी गर्ने क्रममा उनले शुक्रवार बस्न लागेको बैठकले गर्ने निर्णयले देशभर नयाँ राजनीतिक तरङ्ग सिर्जना गर्ने दाबी गरे ।

उनले बैठकले प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने ऐतिहासिक निर्णय गर्न लागिएको जानकारी दिए । कांग्रेसले पार्टी सभापति गगनकुमार थापालाई प्रधानमन्त्रीको उम्मेद्वार बनाएर निर्वाचनमा होमिने तयारी गरेको छ । सोही प्रस्ताव पार्टीको केन्द्रिय समितिमा लैजाने र बैठकले निर्णय गर्ने महामन्त्री पौडेलले जानकारी दिए । महामन्त्री पौडेलले यसलाई लोकतान्त्रिक अभ्यासको विकासको नयाँ अध्याय भएको बताए । कांग्रेसले नागरिकलाई देशको प्रधानमन्त्री को बनाउने भन्ने छनोट गर्ने अवसर विधिवत रूपमा प्रदान गर्न लागेको उनको दाबी छ ।

संसदीय निर्वाचनमा पार्टीका उम्मेदवारले प्रधानमन्त्री को बन्ने भन्ने स्पष्ट आधारसहित मत माग्ने व्यवस्था स्थापित गर्न काँग्रेसले यो अभ्यास शुरु गर्न लागेको उनको भनाई छ । अब मतदाताले उम्मेदवार जितेपछि को प्रधानमन्त्री हुन्छ भन्ने कुरा पहिले नै थाहा पाउने उनले बताए । नागरिकले प्रधानमन्त्री चयन प्रक्रियामा प्रत्यक्ष भुमिका खेल्न पाउने प्रणाली विकास गर्ने लक्ष्य कांग्रेसले लिएको उनले बताए ।

उनले भने, ‘आज बस्ने बैठकले निर्वाचन केन्द्रित भएर केही ठोस, ऐतिहासिक निर्णयहरु गर्दैछ । आज केन्द्रिय कार्यसमितिले गर्ने निर्णयले देशभरि एउटा नयाँ तरङ्ग सिर्जना गर्नेछ । निर्वाचनमा काँग्रेसप्रति मत आकर्षित गर्नको लागि आजको निर्णय महत्वपूर्ण हुनेछ । नेपाली कांग्रेसकै इतिहासमा पहिलो पटक विधिवत् रुपमा नेपाली कांग्रेसले निर्वाचन लक्षित गरेर निर्णय गर्दैछ । खासगरि हामीले विशेष महाधिवेशनमा नै प्रतिवद्धता गरेका थियौँ । हामी नेतृत्व पनि परिवर्तन गर्नेछौँ, नीति पनि परिवर्तन गर्नेछौँ । काँग्रेसको नेतृत्व र नीति परिवर्तनपछि देशको नेतृत्व पनि फेर्ने गरि काँग्रेसले नयाँ प्रश्ताव ल्याउनेछ भनेर हामीले विशेष महाधिवेशनमा संकल्प गरेका थियौँ ।’

उनले भने, ‘त्यही संकल्प बमोजिम कांग्रेस त परिवर्तन भयो, कांग्रेस त नयाँ भयो । अब कांग्रेसको नेतृत्वलाई देशले नयाँ बनाउनको निम्ति कांग्रेसको तर्फबाट कांग्रेसको केन्द्रिय कार्यसमितिको बैठकले फागुन २१ गते हुने निर्वाचनमार्फत नेपाली कांग्रेसले देशको प्रधानमन्त्री प्रस्ताव गर्नेछ । नेपाली काँग्रेसले नागरिकलाई देशको प्रधानमन्त्री को बनाउने भनेर छनोट गर्ने अवसर विधिवत रुपमा निर्णय गरेर प्रदान गर्दैछ । यो एकदमै लोकतान्त्रिक पद्धतीको विकास काँग्रेसले प्रक्रियागत ढंगले शुरु गर्दैछ ।’

उनले भने, ‘यो चाँही आवधिक निर्वाचन हुनु अगाडि प्रधानमन्त्री घोषणा गर्ने प्रणालीतिर जाने संकेत हो । यो अरु कुनै खालको संकेत होइन । खासगरि संसदीय निर्वाचनमा पार्टीको वारेस लिएर जो उम्मेद्वार हुन्छ । त्यो उम्मेद्वारले प्रधानमन्त्री को बनाउँछ भन्ने आधारमा मत प्राप्त गर्ने स्थिति बन्नुपर्छ । त्यसैले अहिले नेपाली काँग्रेसको उम्मेद्वारहरुले जित्दै गर्दा उहाँहरुले जित्यो भने को प्रधानमन्त्री हुन्छ भन्ने कुरा पनि मतदाताले थाहा पाउने स्थिति हामीले बनाउन खोजेका हौँ । हामी प्रतिस्पर्धा गर्दा हाम्रो प्रधानमन्त्रीसहित प्रतिष्पर्धा गर्न हामीले खोजेका हौँ । यो अभ्यासको विकास गर्न खोजेका हौँ । त्यसैले एउटा प्रतिनिधिसभाको सदस्य मात्रै निर्वाचित हुँदैन, आम मतदातादे निर्वाचित गरेको आफ्नो क्षेत्रको प्रतिनिधि सभाको सदस्यले प्रधानमन्त्री को बनाउँछ भन्ने आधारमा अथवा प्रधानमन्त्री नै नागरिकले छनौट गर्न पाउने विधि स्थापित गर्नको लागि हामीले यो प्रणालीको शुरुवात गरेका हौँ ।’

महामन्त्री पौडेलले बैठकले निर्वाचनमा कांग्रेसप्रति मत आकर्षित गर्न महत्वपूर्ण निर्णयहरु गर्ने पनि जानकारी दिए । कांग्रेसले विशेष महाधिवेशनमार्फत पार्टीको नेतृत्व र नीति दुवै परिवर्तन गरेकोले अब देशको नेतृत्व पनि परिवर्तन गर्ने दाबी गरे । अब कांग्रेसले देशको नेतृत्व परिवर्तनका लागि नयाँ प्रस्ताव ल्याउन लागेको उनले जानकारी दिए । उनले सबै नेपालीको भावना प्रतिनिधित्व गर्नको लागी काँग्रेसले सभापति गगन थापालाई मधेसबाट उम्मेद्वार बनाएको पनि बताए ।

सिन्धुली–२ वागी विवाद : प्रचण्डको निर्देशन ठाडै अस्वीकार, गजुरेल अडिग

सिन्धुली । सिन्धुली–२ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवादले नयाँ मोड लिएको छ । पार्टीले नेता हरिबोल गजुरेललाई बागी उम्मेदवार महेश्वर दाहालको उम्मेदवारी फिर्ता गराउन निर्देशन दिएको भए पनि गजुरेलले निर्देशन अस्वीकार गरेका छन् ।

नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधव नेपालले गजुरेललाई लिखित रूपमा निर्देशन दिएका थिए कि उनी बागी उम्मेदवार खडा नगरी पार्टीका आधिकारिक उम्मेदवार लेखनाथ दाहाल ‘राजन’ लाई समर्थन गर्नुस् । तर गजुरेलले भने, ‘अब हामी पछाडि हट्ने अवस्था छैन । पछाडि भिर छ, अगाडि पहरो छ । महेश्वर दाहालको उम्मेदवारी कुनै पनि हालतमा फिर्ता हुँदैन ।’

सिन्धुली–२ मा गत निर्वाचनमा पनि राजन दाहाल विजयी भएका थिए । ०७९ को निर्वाचनमा राजनले २७ हजार ५१७ मत ल्याएर विजयी हुँदा एमालेका मनोजजंग थापाले २१ हजार ६८७ मत पाएका थिए । ०७४ को निर्वाचनमा भने गजुरेल नै सांसद निर्वाचित भएका थिए । सिन्धुलीमा यस पटक देखिएको विवादले पार्टीभित्रको तनावलाई झल्काएको छ । गजुरेल हाल नेकपाको कोशी प्रदेश इन्चार्ज रहेका छन् र उनले आफ्नै जिल्ला क्षेत्रबाट राजन दाहालविरुद्ध महेश्वर दाहाललाई बागी उम्मेदवार बनाएका छन् । पार्टीका सुनसरी भूगोल भएका केन्द्रीय सदस्यहरूले गजुरेलविरुद्ध कारबाही गर्न माग गरेका छन् ।

गजुरेलले प्रचण्डबाट पत्र आएको स्वीकार्दै पनि जवाफ दिएका छन् कि उनी राजन दाहाललाई ‘ब्याक’ गर्न तयार छैनन् । सिन्धुली–२ मा नेकपाभित्रको आन्तरिक प्रतिष्पर्धाले चुनावी रणनीति र नेतृत्व समेत चुनौतीपूर्ण बनाएको छ ।
यसअघि कालीकोटमा बागी उम्मेदवारले केन्द्रको निर्देशनपछि उम्मेदवारी फिर्ता लिएका थिए । तर सिन्धुली–२ मा गजुरेलको अडानले पार्टी नेतृत्वका लागि नयाँ समस्या सिर्जना गरेको छ । प्रचण्डले गजुरेललाई काठमाडौं बोलाएर विवाद समाधान प्रयास गरेका थिए, तर गजुरेलको निर्णयले पार्टीभित्रको विवाद अझै स्थिर छैन ।

उम्मेदवारी फिर्ता लिन आशिका तामाङको निवेदन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की धादिङ क्षेत्र नम्बर–१ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतसमक्ष निवेदन गरेकी छन् । शुक्रबार दिउँसो उनले इमेल र फोनमार्फत आफ्नो निर्णयको जानकारी दिएको निर्वाचन अधिकृत एकराज अधिकारीले बताए ।

निर्वाचन अधिकृत अधिकारीले भने, ‘उहाँले फोन र इमेल दुबैमार्फत उम्मेदवारी फिर्ता लिने सूचना दिएकी छन् । हामीले यो सूचना प्राप्त गरेका छौं, तर आधिकारिक निर्णय भने अझै प्रक्रिया क्रममा छ ।’ अधिकृतका अनुसार, आशिका तामाङ आफैं कार्यालयमा उपस्थित भएर सनाखत गराउने तयारीमा छन् । प्रतिनिधि सभा निर्वाचन ऐनको अनुसूची २२ अनुसार उम्मेदवारी फिर्ता गर्ने प्रक्रिया पूरा गर्न उनले फारम भरेर इमेल समेत पठाएकी छन् ।

उनी इमेलमा लेख्छिन्, ‘उम्मेदवारको नाममा मेरो पनि नाम समावेश भएकाले उक्त निर्वाचनमा उम्मेदवार हुन हाल इच्छा नभएको हुँदा, राजीखुसी प्रतिनिधि सभा निर्वाचन ऐन २०७४ को दफा २५ (१) बमोजिम आफ्नो नाम फिर्ता गर्ने सूचना गर्दछु ।’

आशिका तामाङले यस विषयमा छलफल भइरहेको र साँझ २ बजेतिर निर्णय स्पष्ट हुने जानकारी दिइन् । यसअघि उनका जर्मन स्थायी आवसीय अनुमति पत्रको तस्वीर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा विवाद उत्पन्न भएको थियो । यस विषयमा उनले स्पष्ट पारेकी छन् कि, ‘त्यस कारणले मैले उम्मेदवारी फिर्ता लिन लागेको होइन ।’ अधिकारिक प्रक्रिया अनुसार, उम्मेदवारी फिर्ता गर्ने फाइनल निर्णय निर्वाचन अधिकृतले फारमको प्राप्ति र सनाखत पश्चात मात्र मान्यता दिनेछ ।

 

बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी

गोरखा । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा–२ मा दिएको उम्मेदवारी फिर्ता लिएका छन् । उनले प्रगतिशील लोकतान्त्रिक पार्टीको तर्फबाट उम्मेदवारी दिएका थिए । उनले फेसबुक लाइभमा आएर आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गरे ।

गोरखा–२ का जनता, नयाँ पुराना सबै राजनीतिक दलहरुको आग्रहपछि आफूले उम्मेदवारी फिर्ता लिने निर्णय गरेको बताए । उनले अब संसद् बाहिर रहेर पनि जनताको आकांक्षा अनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनको सचिवालय स्रोतका अनुसार नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका उम्मेदवार प्रकाशचन्द्र दवाडी, रास्वपाका उपसभापति स्वर्णिम वाग्लेसहितले अभिभावक बनेर सहजीकरण गरिदिन आग्रह गरेपछि फिर्ता लिने निर्णय भएको हो ।

गोरखा–२ बाट भट्टराई यसअघि निर्वाचित भइसकेका उम्मेदवार हुन् । ०७९ निर्वाचनमा भने भट्टराईले प्रचण्डलाई सहयोग गरेर आफू अब उम्मेदवारी नदिने बताउँदै आएका थिए । यसपटक पनि उनी चुनाव नलड्ने बताउँदै आएका थिए तर मनोनयनको दुई दिनअघि मात्रै निर्णय गरेर गोरखा पुगेका थिए । उनले आफूले उम्मेदवारी फिर्ता लिएर कसलाई समर्थन गर्ने भन्नेबारे भने खुलाएका छैनन् । यहाँ एमालेबाट चक्रे मिलन, कांग्रेसका प्रकाशचन्द्र दवाडी र रास्वपाबाट महामन्त्री कवीन्द्र बुर्लाकोटी चुनावी मैदानमा छन् ।

सानेपा पुग्दै गगनसहित कांग्रेस पदाधिकारी, कार्यकर्ताको भीड

काठमाडौं । विशेष महाधिवेशनबाट निर्वाचित नेपाली कांग्रेसको नयाँ कार्यसमितिले आज (शुक्रबार) पदबहाली गर्दैछ । गत पुस ३० गते सम्पन्न विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिले आज केन्द्रीय कार्यालय, सानेपामा पदबहाली गर्ने भएको हो ।

दिउँसो १ बजे सानेपामा पदबहाली कार्यक्रम रहेको नेता मनोजमणि आचार्यले जानकारी दिए । नयाँ कार्यसमिति चुनिएर आएपछि केन्द्रीय कार्यालय पुगेको छैन । यसअघि दुई वटा बैठक बानेश्वरमा भएका छन् । यस्तै कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक पनि आजै बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माले बिहीबार एक विज्ञप्ति जारी गरी बैठक शुक्रबार दिनको १ बजे पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन सानेपा ललितपुरमा बस्न लागेको जानकारी दिए ।

कांग्रेसले पार्टीका पदाधिकारी, सदस्य एवं प्रदेश सभापतिलाई केन्द्रीय कार्यसमितिको बैठकमा उपस्थित हुन भनेको छ । बैठकअघि पार्टी कार्यालयमा बाक्लो संख्यामा नेता कार्यकर्ताहरूको उपस्थिति रहेको छ । विशेष महाधिवेशनमा नयाँ कार्यसमिति आएपछि कांग्रेसमा विवाद छ । यो विवाद सर्वोच्च अदालत पुगेको छ । शेरबहादुर देउवा र पूर्णबहादुर खड्का लगायतले नयाँ कार्यसमितिलाई अवैधानिक भन्दै अन्तरिम आदेशको मागसहित अदालत पुगे पनि अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

‘आजको निर्णयले देशभर नयाँ तरङ्ग ल्याउँछ’
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आज पार्टीको केन्द्रीय समितिको बैठकले गर्ने निर्णयले देशभर नयाँ तरंग आउने दाबी गरेका छन् । बैठकअघि सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टी नीति र नेतृत्व दुवै परिवर्तन गरेर आजबाट चुनावमा होमिने बताए ।

उनले विधिवत् रूपमा देशको प्रधानमन्त्री को बनाउने भन्ने छनोट गर्ने अवसर जनतालाई दिनको लागि भावी प्रधानमन्त्री तोकेर जान लागेको बताए । उनले भने, ‘लोकतान्त्रिक पद्धतिको विकास कांग्रेसले प्रक्रियागत ढङ्गबाट सुरू गर्दैछ ।’ उनले नेपालको जग मधेश भएकाले सभापति गगन थापाले सर्लाही रोजेको बताए ।

उनले भने, ‘हाम्रो सभापति मधेशबाट निर्वाचित भएर आइसकेपछि देश जोडिनेछ, देश नयाँ संकल्पको साथ अगाडि बढ्नेछ । सबै नेपालीको भावना प्रतिनिधित्व गर्नको लागि सभापतिलाई सर्लाही ४ मा अघि सारेका छौँ ।’ सभापति मधेशबाट निर्वाचित भएर आएपछि मधेशका मुद्दाहरूले प्राथमिकता पाउने उनले बताए ।

 

 

 

 

 

मनाङमा एमाले र राप्रपा उम्मेदवारले फिर्ता लिए उम्मेदवारी

मनाङ । मनाङमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । एमालेबाट उम्मेदवार बनेका पोल्देन छोपाङ गुरुङ र कुवेरसिंह गुरुङले उम्मेदवार फिर्ताका लागि निवेदन दिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

एमालेले नेपाली कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङलाई सघाउने गरी उम्मेदवारी फिर्ता लिएको स्रोतले जनाएको छ । एमालेबाट पोल्देन छोपाङ गुरुङ र राप्रपाबाट कुविरसिंह गुरुङले उम्मेदवार दर्ता गरेका थिए । दुवै जना उम्मेदवार नहुने भएका छन् । मनाङमा पाँच जनाको उम्मेवारी परेको थियो । रास्वपाबाट उम्मेदवारको टिकट लिएका व्यक्ति तोकिएको समय भन्दा ढिलो गरी निर्वाचन अधिकृतका कार्यालय पुग्दा उनी उम्मेदवार हुन पाएका थिएनन् ।

 

 

ट्रम्पद्वारा ग्रिनल्यान्ड प्राप्ति गरिछाड्ने अडान : डाभोसमा युरोप र नेटोको आलोचना

अमेरिका । स्विट्जरल्याण्डको डाभोसमा आयोजित विश्व आर्थिक मञ्चको वार्षिक बैठकमा एक विशेष सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डलाई संयुक्त राज्य अमेरिकामा गाभ्ने आफ्नो प्रयासलाई पुनः नवीकरण गरेका छन् । सो क्रममा उनले युरोप र उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) को आलोचना गर्दै ट्रान्स–एटलान्टिक सम्बन्धमा नयाँ तनाव सिर्जना गरेका छन् ।

ग्रिनल्यान्डको विषयमा बोल्दै ट्रम्पले यस क्षेत्रलाई अमेरिकी स्वामित्वमा ल्याउन तुरुन्त वार्ताको आह्वान गरे । यसलाई रणनीतिक राष्ट्रिय र अन्तर्राष्ट्रिय सुरक्षा हितको विषय बताए । आफ्नो सम्बोधनमा ट्रम्पले आफूहरुले अत्यधिक शक्ति प्रयोग गर्ने निर्णय नगरेसम्म सायद केही नपाउने बताए ।

संयुक्त राज्य अमेरिकाले केवल ग्रिनल्यान्ड भनिने ठाउँ मागेको बताउँदै ट्रम्पले युरोप सही दिशामा अघि नबढिरहेको बताए । नेटोमा खर्च बाँडफाँडको आलोचना गर्दै संयुक्त राज्य अमेरिकालाई अत्यन्त अन्यायपूर्ण व्यवहार गरिएको र साझेदारहरूको तुलनामा अमेरिकाले लामो समयदेखि बढी योगदान पु¥याइरहेको दाबी गरे । साथै उनले डेनमार्कबाट ग्रिनल्याण्ड प्राप्त गर्ने अमेरिकी प्रस्तावमा सहमति जनाउन नेटो सदस्य राष्ट्रहरूलाई दबाब दिए ।

गुल्मी-१ मा भण्डारी र ज्ञवालीलाई चुनाैती दिन ढकाल र बरालको ‘इन्ट्री’

महाभिडन्त फागुन २१, गुल्मी – १

काठमाडौं। स्वच्छ छवि र सुसंस्कृत राजनीतिक आचरणका लागि चिनिएका प्रदीप ज्ञवाली र डा. चन्द्र भण्डारी आगामी निर्वाचनमा फेरि गुल्मी-१ मा आमनेसामने भएका छन्। अघिल्ला निर्वाचनहरूमा जस्तै यसपटक पनि ज्ञवाली नेकपा एमालेबाट र भण्डारी नेपाली कांग्रेसबाट उम्मेदवार बनेका छन् ।

एक दशकदेखि गुल्मी–१ मा यी दुई नेताबीचको चुनावी प्रतिस्पर्धा राजनीतिक लडाइँ मात्रै नभएर राजनीतिक संस्कार, सहिष्णुता र परिपक्‍वताको प्रतीकका रूपमा पनि हेरिँदै आएको छ । कडा प्रतिस्पर्धासहितको चुनावपछि हार/जितलाई सहज रूपमा स्वीकार गर्दै एकअर्कालाई बधाई दिने उनीहरूको शैली नेपाली राजनीतिमा विरलै देखिने दृश्य हो।

गत निर्वाचनमा पनि नतिजा सार्वजनिक भएपछि दुवै नेताले एकअर्कालाई अङ्‍कमाल गर्दै बधाई दिएको दृश्य सामाजिक सञ्‍जालमा भाइरल बनेको थियो। 

यसपटकको चुनावलाई थप रोचक बनाउने अर्को कारण भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट युवा नेता सागर ढकालको उम्मेदवारी पनि हो। ढकाल गुल्मी–१ बाट पहिलोपटक चुनावी प्रतिस्पर्धा गर्दै अनुभवी नेता ज्ञवाली र भण्डारीलाई चुनौती दिन लागेका नेता हुन् ।

उनी यसअघि २०७९ को प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका सभापति तथा पाँचपटक प्रधानमन्त्री बनेका शेरबहादुर देउवासँग उनकै गृहजिल्ला डडेल्धुरामा प्रतिस्पर्धा गरेर चर्चामा आएका थिए । पहिलोपटक चुनाव लड्न डडेल्धुरा पुगेका ढकालले त्यहाँ १३ हजार ४२ मत प्राप्त गरे ।

आफूलाई स्वतन्त्र नागरिकको प्रतिनिधि बताउँदै आएका ढकाल हालै (जेन-जी आन्दोलनपछि) राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध भएका हुन्। पेशाले इन्जिनियर उनी ‘साझा सवाल’ कार्यक्रममा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई गरेको तीखो प्रश्‍नका कारण राष्ट्रियस्तरमा चिनिएका थिए। सिंगापुरका संस्थापक नेता लि क्‍वान युको उदाहरण दिँदै उनले देउवाको नेतृत्व क्षमतामाथि प्रश्‍न उठाएपछि युवामाझ झन् चर्चाको पात्र बनेका थिए ।

गुल्मी–१ मा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट युवा नेता सुदर्शन बराल पनि चुनावी मैदानमा छन्। बराललाई पनि स्वच्छ छवि भएका नेताका रूपमा लिइन्छ। उनले २०६४ सालको पहिलो संविधानसभा निर्वाचन यही क्षेत्रबाट जितेका थिए। बराल पनि २०५१ देखि २०६१ सम्म चलेको दश वर्षे माओवादी सशस्त्र विद्रोहबाट राजनीतिमा स्थापित नेता हुन् । उनी तत्कालीन नेकपा माओवादी केन्द्रको लुम्बिनी प्रदेश अध्यक्ष पनि हुन्।  

यसपटक गुल्मी–१ मा विभिन्‍न राजनीतिक दल र स्वतन्त्र गरी जम्मा २१ जनाले उम्मेदवारी दर्ता गराएका छन्। 

पछिल्ला दुई निर्वाचन 

२०७९ को प्रतिनिधिसभा निर्वाचनमा डा. चन्द्र भण्डारी प्रदीप ज्ञवालीलाई १ हजार ५९२ मतान्तरले पराजित गर्दै संसदमा प्रवेश गरेका थिए। भण्डारीले ३३ हजार ७ सय ४४ मत प्राप्त गर्दा ज्ञवाली पराजित भए ।  

त्यसअघि २०७४ को प्रतिनिधिसभा निर्वाचनमा भने प्रदीप ज्ञवालीले चन्द्र भण्डारीलाई पराजित गरेका थिए। उक्त निर्वाचनमा ज्ञवालीले ३७ हजार ८ सय १४ मत प्राप्त गर्दा भण्डारीले ३० हजार २ सय ५६ मत प्राप्त गरे । यसरी पछिल्ला दुई निर्वाचनमा दुवै नेताले एक/एक पटक जित हासिल गरेका छन्, जसकारण तेस्रो प्रतिस्पर्धालाई निर्णायक लडाइँका रूपमा हेरिएको छ।

राष्ट्रिय राजनीतिमा दुवै नेता परिचित अनुहार हुन्। भण्डारी लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आएका छन् भने ज्ञवाली नेकपा एमालेका प्रभावशाली नेता मानिन्छन्। ज्ञवाली यसअघि मन्त्रीसमेत भइसकेका छन् भने भण्डारी एकपटक प्रतिनिधिसभा सदस्य बनेका छन्। यसपटक ज्ञवाली गुल्मी–१ मा पुनरागमनको प्रयासमा छन् भने भण्डारी आफ्नो संसदीय यात्रा दोहोर्याउन चाहन्छन्। उता, युवा पुस्ताको प्रतिनिधित्व गर्ने दाबी गरेका सागर ढकाल पहिलोपटक संसद छिर्ने लक्ष्यका साथ मैदानमा छन्।

गुल्मी–१ को चुनावी इतिहास 

गुल्मी–१ को चुनावी इतिहास हेर्दा २०४८ यता भएका सातवटा संसदीय निर्वाचनमध्ये नेकपा एमाले र नेपाली कांग्रेसले समान तीन–तीन पटक जित हात पारेका छन् भने एकपटक माओवादीले जितेको छ। २०४८ मा कांग्रेसका झंकरबहादुर पुन विजयी भएका थिए। २०५१ को मध्यावधि निर्वाचनमा एमालेका रामनाथ ढकालले चुनाव जिते । २०५६ मा पनि एमालेकै फटिकबहादुर थापाले जितेका थिए । 

२०६४ को पहिलो संविधानसभा निर्वाचनमा माओवादीका सुदर्शन बराल विजयी भए। २०७० को दोस्रो संविधानसभा निर्वाचनमा भने कांग्रेसका कृष्णबहादुर छन्त्याल थापा निर्वाचित भए। उनले एमालेकी मैनाकुमारी भण्डारीलाई १५९ मतान्तरले पराजित गरेका थिए। यसरी, भण्डारी र ज्ञवालीको १-१ को प्रतिष्पर्धामा ढकाल र बरालको ‘इन्ट्री’ भएसँगै गुल्मीको चुनावी राजनैतिक सरगर्मी तातिँदै गएको छ। २१ जनाकाे उम्मेदवारी परेको गुल्मी-१ को ‘विधायक’ को ? पर्खिउँ फागुन २१ लाई।    

गोरखा–२ मा बाबुरामको तालमेल प्रयास असफल, लेखनाथ भन्छन्, ‘अब पछि हट्ने ठाउँ छैन’

गोरखा । गोरखा निर्वाचन क्षेत्र नम्बर–२ मा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफूलाई सघाउन आग्रह गरे पनि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार लेखनाथ न्यौपानेले स्पष्ट रूपमा अस्वीकार गरेका छन् । निर्वाचन प्रक्रिया निकै अघि बढिसकेको भन्दै न्यौपानेले कुनै पनि हालतमा पछि नहट्ने अडान लिएका हुन् ।

शुक्रबार बिहान डा. भट्टराईले फोनमार्फत न्यौपानेलाई सम्पर्क गरी गोरखा–२ मा तालमेल गरेर आफूलाई सघाउन प्रस्ताव गरेका थिए । तर निर्वाचन क्षेत्रमा सक्रिय रूपमा खटिरहेका न्यौपानेले उक्त प्रस्ताव अस्वीकार गरेको बताएका छन् ।न्यौपानेले भने, ‘उहाँले मलाई सघाउन आग्रह गर्नुभयो तर मैले अहिले सम्भव छैन भनेर स्पष्ट जवाफ दिएँ । म धेरै अगाडि बढिसकेको छु, यहाँ ठूलो कार्यकर्तापंक्ति सक्रिय भइसकेको छ ।’

उम्मेदवारीअघि नै भएको थियो छलफल
न्यौपानेका अनुसार उनी उम्मेदवार बन्नुअघि नै बाबुराम भट्टराईसँग विस्तृत छलफल भएको थियो । त्यसक्रममा उनले भट्टराईलाई आफू उम्मेदवार बन्ने वा नबन्ने विषयमा स्पष्ट धारणा दिन आग्रह गरेका थिए । ‘मैले दाइलाई प्रष्टै भनेको थिएँ—तपाईं उम्मेदवार बन्नु हुन्छ भने म सोच बदल्छु, नत्र म अघि बढ्छु’, न्यौपानेले भने, ‘त्यतिबेला उहाँले ‘अब युवा पुस्ता अघि बढ्नु पर्छ, मेरो समर्थन तिमीलाई हुन्छ’ भन्नुभयो । त्यसपछि म तयारीमा लागेँ, पार्टीले टिकट दियो, मनोनयन दर्ता भयो।’
उनका अनुसार अहिले आएर समर्थन माग्नु राजनीतिक रूपमा पनि र व्यवहारिक रूपमा पनि उपयुक्त नभएको बताए । ‘अब यो व्यक्तिगत निर्णयको कुरा रहेन’, उनले भने, ‘यति धेरै कार्यकर्ता, संगठन र अभियान अघि बढिसकेको अवस्थामा पछि हट्नु पार्टीकै लागि हानिकारक हुन्छ ।’

प्रचण्डसँग पनि बाबुरामको भेटवार्ता
निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न डा. भट्टराईले नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग समेत भेटघाट गरेका छन् । शुक्रबार बिहान काठमाडौंमा भएको भेटमा भट्टराईले लेखनाथ न्यौपानेलाई पछि हटाएर आफूलाई सघाउन अनुरोध गरेको स्रोतले जनाएको छ । स्रोतका अनुसार भट्टराईको प्रस्ताव थियो, ‘लेखनाथको उम्मेदवारी फिर्ता गराएर मलाई सहयोग गरिनु प¥यो ।’ तर यसबारे प्रचण्डले दिएको प्रतिक्रिया सार्वजनिक भइसकेको छैन । यता निर्वाचन क्षेत्रमा रहेका न्यौपानेले सुनाए, ‘अब म पछि फर्किने कुनै सम्भावना छैन । साथीहरू मसँग केन्द्रित हुँदै जानु भएको छ । यस अवस्थामा ब्याक हुनु भनेको पार्टीलाई नै कमजोर बनाउनु हो ।’

गोरखा–२ मा कडा प्रतिष्पर्धा

यस पटक गोरखा–२ मा प्रतिष्पर्धा बहुपक्षीय बनेको छ । प्रगतिशील लोकतान्त्रिक पार्टीबाट डा. बाबुराम भट्टराई, नेकपाबाट लेखनाथ न्यौपाने, नेपाली कांग्रेसबाट प्रकाशचन्द्र दवाडी, नेकपा एमालेबाट चक्रे मिलन र राष्ट्रिय स्वतन्त्र पार्टीबाट कविन्द्र बुर्लाकोटी प्रतिष्पर्धामा छन् । बाबुराम भट्टराईले यसअघि २०६४, २०७० र २०७४ मा गोरखा–२ बाट निर्वाचन जितेका थिए । २०७९ मा भने उनले सो क्षेत्र प्रचण्डलाई छाडिदिएका थिए । यही क्षेत्रलाई आधार बनाएर नेकपाले यस पटक अखिल क्रान्तिकारीका पूर्व अध्यक्ष लेखनाथ न्यौपानेलाई उम्मेदवार बनाएको हो ।

सर्वसम्मतको प्रयास जारी, प्रगति न्यून
डा. भट्टराईकी छोरी तथा नेतृ मानुषी यमी भट्टराईले बाबुरामलाई सर्वसम्मत उम्मेदवार बनाउने प्रयास भइरहेको बताइन् । ‘उहाँ जस्तो राष्ट्रिय व्यक्तित्वलाई सर्वसम्मत बनाउनु पर्छ भन्ने प्रयासमा सबै पक्षसँग छलफल भइरहेको छ’, उनले भनिन्, ‘तर अहिलेसम्म ठोस प्रगति देखिएको छैन ।’ आज उम्मेदवारी फिर्ता लिने अन्तिम दिन भए पनि लेखनाथ न्यौपानेको अडानपछि गोरखा–२ मा तालमेलको सम्भावना कमजोर बन्दै गएको देखिन्छ ।

 

 

राष्ट्रपति र प्रधानमन्त्रीले गरे वसन्त श्रवण {तस्वीरहरू}

काठमाडौं । माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदैछ । यस अवसरमा हनुमानढोका दरबारमा वसन्त श्रवण गरिएको छ । वसन्त श्रवणमा राजतन्त्र हुञ्जेल राजा जाने गरेकामा लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि राष्ट्राध्यक्षका नाताले राष्ट्रपतिको उपस्थिति हुन थालेको छ ।

वसन्त श्रवणमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री सुशीला कार्की, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल लगायत मन्त्रीहरुको सहभागिता रहेको थियो । श्रीमदभागवत पुराणमा उल्लेख भए अनुसार भगवान श्रीकृष्णको खोजीमा रहेका प्रेमिका राधा लगायतका गोपिनीहरुले बसन्त ऋतुको आगमन भएको भन्दै बसन्त रागमा गाएको गीतलाई वसन्त श्रवणको रुपमा सुन्ने चलन छ ।
तस्वीरहरु : नेपाल फोटो लाइब्रेरी

हर्कलाई सरिनको चुनौती, सुनसरी–१ मा कसको होला जित ? (भिडियाेसहित)

महाभिडन्त फागुन २१, सुनसरी- १

काठमाडौं । कुनै बेला कम्युनिष्टहरूको गढका रुपमा चिनिएको सुनसरी निर्वाचन क्षेत्र नम्बर १मा हर्क साङपाङको उदय र रास्वपाकी गोमा तामाङ (सरिन)को लोकप्रीयताले चुनावी रौनक मात्रै बढाएको छैन, परम्परागत शक्तिलाई छायामा पनि पारेको छ ।

यहाँ हर्क साम्पाङ श्रम संस्कृति पार्टीबाट, एमालेबाट टीकाराम लिम्बु, कांग्रेसबाट सुजेन्द्र तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट सरिन तामाङ (गोमा) चुनावी मैदानमा छन् । यी उम्मेदवारहरू चुनावमा उत्रिँदा देशवासीको ध्यान सुनसरी–१ ले तानेको छ ।

विगतको चुनावी परिणामले भन्छ, सुनसरी–१ कम्युनिस्ट गढ हो । तर, रास्वपाकी सरिन तामाङ ती उम्मेदवार हुन्, जसले २०७९ को चुनावमै कम्युनिस्ट गढ झण्डै भत्काइदिइन् । उनै सरिन रास्वपाबाट यसपटक पनि चुनावी प्रतिस्पर्धामा छिन् ।

२०७९ को प्रतिनिधिसभा निर्वाचनमा एमाले समर्थित जनता समाजवादी पार्टी नेपालका उम्मेदवार अशोककुमार राईसँग उनी ४५३ मतले पराजित भइन् । अर्थात् अशोकले १७ हजार ०५९ मत पाउँदा सरिनले १६ हजार ६०६ मत पाएकी थिइन् । त्यसो हुनाले गत निर्वाचनमै कम्युनिस्ट किल्ला सुनसरी– १ धर्मराएको थियो । त्यसो हुनाले रास्वपाकी सरिन खतरनाक उम्मेदवार हुन् ।

यसपटक त्यहाँको निर्वाचनमा देशकै ध्यान खिच्‍ने उम्मेदवारचाहिँ धरानका भाइरल मेयर हर्क साम्पाङ हुन् । उनी बलिया प्रतिस्पर्धी मानिन्छन् । उनले नवयुवा, गैरदलीय र असन्तुष्ट मतदातालाई आकर्षित गर्न सक्छन् । उनको छवि लोकप्रिय छ ।

धरानका मेयर छँदा धरानको खानेपानी समस्या समाधान गर्न पहल गरेकोदेखि श्रम संस्कृति पार्क निर्माण गरेको, सुम्‍निमा र पारुहाङको शालिक निर्माण गरेको विषयले चर्चामा छन् । उनले नेपाली समाजमा परापूर्वकालदेखि चल्दै आएको श्रमदानलाई संस्कृतिकै रूपमा देशव्यापी फैलाएका छन् ।

व्यक्तिगत लोकप्रीयता भए पनि बलियो पार्टी संरचना नहुनु उनको कमजोरी मानिन्छ । उनी मेयर हुँदा अख्तियारमा अनियमितताको उजुरी पनि परेको छ । तर, उनको लोकप्रियतामा कमी आएको छैन ।

एमालेले अघि सारेका उम्मेदवार टीकाराम लिम्बू पनि राम्रो छविका नेता हुन् । उनलाई एमालेको जितको विरासत धान्‍ने अभिभारा अध्यक्ष केपी शर्मा ओलीले दिएका छन् ।

संगठित मत, जुझारु कार्यकर्ता र निर्वाचन व्यवस्थापनमा अब्बल एमाले अझै बलियो देखिन्छ । तर, बहुपक्षीय प्रतिस्पर्धा र जेन–विद्रोही माहोल एमालेका लागि चुनौतीपूर्ण छ ।

कांग्रेस उम्मेदवार सुजेन्द्र तामाङ आदिवासी आन्दोलनसँग जोडिएका, पूर्वकर्मचारी पृष्ठभूमिका प्रभावशाली उम्मेदवार हुन् । यहाँ आदिवासी जनजाति समुदायको बाहुल्यता छ र कांग्रेसको त्यहाँ कहिल्यै जित नभए पनि स्थिर मतदाता छ । यस्तोमा पार्टी सभापति गगन थापाले कांग्रेसका प्रभावशाली नेता तामाङलाई चुनावी मैदानमा उतारेका हुन् ।

नेकपाबाट उम्मेदवार बनेका मनोज भट्टराई धरान–१७ का पूर्ववडाध्यक्ष हुन् । विगतमा धरान उपमहानगरको कार्यपालिका बैठकमा हर्क साम्पाङसँग भएको नोकझोंकले उनी चर्चामा थिए । उनी कार्टुनिस्टहरूले ट्रोल बनाइएका नेता पनि हुन् ।

विगतमा धरानको कार्यपालिका बैठकमा हर्क र मनोजबीचको नोकझोंक चल्थ्यो । उनीहरू दुवै यसपटक प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेका हुन् । यहाँ दल र स्वतन्त्र गरी २८ जना उम्मेदवार छन् ।

तर, चुनावी माहोलले हर्क साम्पाङ, सरिन तामाङ, टीकाराम लिम्बू, सुजेन्द्र तामाङ र मनोज भट्टराईबीच चर्को चुनावी प्रतिस्पर्धा हुने संकेत गरेको छ ।

सुनसरी– १ मा धरान उपमहानगरपालिकासँगै बराह नगरपालिकाको १, २, ३, ४ र ५ नम्बर वडा र रामधुनी नगरपालिकाको ६ र ७ नम्बर वडा समेटिएका छन् ।

निर्वाचन कार्यालय सुनसरीका अनुसार यहाँ कूल मतदाता एक लाख ५० हजार ३९३ मतदाता छन् । यी मतदाताहरूको मत सबैभन्दा बढी कसले पाउँछन् ? चुनाव उनैले जित्‍ने हुन् ।

फेरि, यसपटकको निर्वाचन जेन–जी विद्रोहको पृष्ठभूमिमा हुँदैछ । केही राजनीतिक विश्लेषकका अनुसार जेन–विद्रोहको हावा जुन उम्मेदवारले चलाउन सक्छन्, उनले जितको माहोल बनाउन सक्छन् ।

विगतको चुनावी परिणाम केलाउँदा भने यहाँबाट २०४८ सालमा एमालेबाट मनमोहन अधिकारी निर्वाचित भए । पछि उनी नेपालको पहिलो कम्युनिस्ट प्रधानमन्त्री बने ।मनमोहनपछि पनि यहाँ २०५१ मा एमालेकै लीला श्रेष्ठ सुब्बा र २०५६ मा कुन्ता शर्माले चुनाव जितिन् । एमालेको यहाँ ह्याट्रिक जित थियो ।

२०६४ को संविधानसभा निर्वाचनमा भने १० वर्ष सशस्त्र युद्ध लडेको नेकपा माओवादीका नेता किरणकुमार राई निर्वाचित भए । कांग्रेस र राप्रपाले कहिल्यै चुनाव नजितेको सुनसरी– १ मा एमालेको लालगढ कसैले तोढ्यो भने त्यो माओवादीले तोडेको थियो ।

त्यसपछि दोस्रो संविधानसभा निर्वाचन २०७० मा एमालेकै कृष्णकुमार राई, २०७४ को प्रतिनिधिसभा निर्वाचन पनि एमालेकै जयकुमार राईले निर्वाचन जिते । २०७९ को प्रतिनिधिसभा निर्वाचन भने एमाले समर्थित जसपाका अशोककुमार राईले जितेका थिए ।

२०८२मा आइपुग्दा एमालेको बलियो प्रभाव क्षेत्रमा श्रम संस्कृतिका हर्क साम्पाङ, रास्वपाकी सरिन तामाङ, कांग्रेसका सुजेन्द्र तामाङ र नेकपाका मनोज भट्टराईलाई एमाले उम्मेदवार टीकाराम लिम्बूविरुद्ध जित निकाल्न त्यति सहज भने छैन ।

तर, कतिपय राजनीतिक विश्लेषक यदि हर्क साम्पाङ र सरिन तामाङबीच नवपुस्ताको मत विभाजन अधिक भए एमाले उम्मेदवारलाई जितका लागि सहज हुने विश्लेषण गर्छन् । मत विभाजन कम भए चर्को प्रतिस्पर्धा हुने ठानिएको छ ।

 

पुराना दिग्गजसँग भिड्दै नयाँ शैलीमा सागर ढकाल, २,६२५ रुपैयाँको बिलको ‘चर्चा’

गुल्मी । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा गुल्मी जिल्लाको राजनीतिक माहोल तातेको छ । यही माहोलबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गुल्मी क्षेत्र नम्बर–१ का उम्मेदवार सागर ढकाल आफ्नो फरक प्रचारशैली र खर्चको पारदर्शिताका कारण चर्चाको केन्द्रमा आएका छन् ।

आफ्नो निर्वाचन क्षेत्रमा सीमित रहने परम्परागत अभ्यासलाई तोड्दै ढकाल छिमेकी निर्वाचन क्षेत्र नम्बर २ मा पुगेर घरदैलो अभियानमा सक्रिय देखिएका छन् । उनले क्षेत्र नम्बर–२ का रास्वपा उम्मेदवार गोविन्द पन्थीसँगै मतदाताको घर–आँगनमा पुगेर मत मागिरहेका छन् । दुई उम्मेदवारबीचको संयुक्त प्रचारलाई स्थानीय स्तरमा दलगत सहकार्यको नयाँ अभ्यासका रूपमा हेरिएको छ । गुल्मीका दुवै क्षेत्रमा यस पटक पुराना, प्रभावशाली र स्थापित नेताहरू र नयाँ पुस्ताका उम्मेदवारबीच कडा प्रतिष्पर्धा हुने अनुमान गरिएको छ । क्षेत्र नम्बर–१ मा ढकालले नेकपा एमालेका प्रदीप ज्ञवाली, नेपाली कांग्रेसका डा. चन्द्र भण्डारी र नेकपाका सुदर्शन बरालजस्ता चर्चित नेतासँग प्रतिस्पर्धा गरिरहेका छन् ।

त्यसैगरी क्षेत्र नम्बर–२ मा गोविन्द पन्थीको प्रतिष्पर्धा एमालेका गोकर्ण विष्ट, कांग्रेसका भुवनप्रसाद श्रेष्ठ र नेकपाका श्रीराम महतसँग छ । दशकौँदेखि गुल्मीको राजनीतिमा प्रभाव जमाउँदै आएका यी नेताहरूमाथि नयाँ उम्मेदवारले कत्तिको चुनौती दिन सक्छन् भन्ने चासो सर्वसाधारणमा बढ्दै गएको छ । चुनावी तडकभडक, खर्चिलो प्रचार र शक्ति प्रदर्शनको संस्कृतिलाई चुनौती दिँदै ढकालले आफ्नो चुनावी खर्च सार्वजनिक गर्न थालेका छन् ।

उनले हालै गुल्मीको मालिका गाउँपालिकास्थित सिमलटारीमा बास बस्दा भएको खर्चको विवरण सामाजिक सञ्जालमार्फत सार्वजनिक गरे । ढकालका अनुसार आफू र गोविन्द पन्थीसहित ६ जनाको टोलीले एक रात होटलमा बसेर जम्मा २ हजार ६ सय २५ रुपैयाँ मात्र खर्च गरेको हो । ढकालले सार्वजनिक गरेको बिलअनुसार ६ जनाले प्रतिव्यक्ति २०० रुपैयाँ दरको शाकाहारी खाना खाँदा १ हजार २०० रुपैयाँ खर्च भएको छ । त्यस्तै, ४ सय रुपैयाँ दरका ३ वटा कोठाका लागि पनि १ हजार २०० रुपैयाँ तिरिएको छ । चिया र खाजामा २२५ रुपैयाँ खर्च भएको उनले जानकारी दिएका छन् ।

ढकालले आफ्नो चुनावी अभियानमा माछा–मासु, रक्सी नखाने र मतदातालाई तेल नबाँड्ने घोषणा पनि गरेका छन् । बोलेरो गाडी भाडामा लिएर हिँड्दा दैनिक ३–४ हजार रुपैयाँ खर्च हुने भए पनि कसैलाई व्यक्तिगत लाभ नदिइएको उनको भनाइ छ । उनले देशभरका रास्वपा उम्मेदवारलाई सादगीपूर्ण अभियान चलाउन आग्रह गर्दै भनेका छन्, ‘माछा–मासु, रक्सी र तेल वितरण नगरी पनि चुनाव जित्न सकिन्छ ।’ अभियानको क्रममा ढकालले समयपालनामा कडाइ गरेको प्रसंग पनि बाहिरिएको छ ।

निर्धारित समयभन्दा चार मिनेट ढिला भएको भन्दै उनले उम्मेदवार पन्थीलाई चार पटक उठबस गराएको बताएका छन् । पन्थीले पनि उक्त कुरा स्वीकार गरेका छन् । पन्थी पूर्व डीएसपी तथा अधिवक्ता हुन् । ढकालले यसपटक गुल्मीमा रास्वपाले उल्लेखनीय सफलता हासिल गर्ने दाबी गर्दै जिल्लालाई झापा र चितवनसँग तुलना गरेका छन् । सादगी, पारदर्शिता र संयुक्त अभियानको अभ्यासले मतदातामा कस्तो प्रभाव पार्ला भन्ने प्रश्नसँगै गुल्मीको चुनावी राजनीति थप रोचक बन्दै गएको छ ।

 

 

रुपन्देही–२ मा राप्रपाकी कर्भिका थापाले फिर्ता लिइन् उम्मेदवारी

बुटवल । रूपन्देही निर्वाचन क्षेत्र नम्बर २ की राप्रपा उम्मेदवार कर्भिका थापाले उम्मेदवारी फिर्ता लिएकी छन् । कसैले विरोध र उजुरी नगरे पनि पार्टीले भनेपछि उम्मेदवारी फिर्ता लिएको उनले बताइन् । नेपालको संविधानको धारा २९१ अनुसार विदेशमा बस्दा प्राप्त कार्ड परित्याग गरेको तीन महिना पुगेपछि मात्र उम्मेदवारी दिनु पर्नेमा त्यो अवधि नपुग्दै उम्मेदवारी दिएको हुँदा फिर्ता लिएको उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

निर्वाचनका लागि मनोनयन पाउनु आफ्नो लागि ठूलो सम्मान भएको उनले उल्लेख गरेकी छन् । विज्ञप्तिमा उल्लेख भएअनुसार थापा विगत १४ वर्षदेखि विदेशमा शिक्षा अध्ययन तथा सीप आर्जनमा संलग्न रहँदै आएकी थिइन् ।

सरस्वती पूजामा अक्षराम्भ {तस्वीरहरु}

काठमाडौं । आज माघ शुक्लपञ्चमी अर्थात श्रीपञ्चमी हिन्दू धर्मावलम्बीहरूको पर्व, यस दिन विद्याकी देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइएको छ । सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ ।

विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन् । सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन् ।

भारती, सरस्वती, शारदा, जगत्माता, वागीश्वरी, कौमारी, वरदायिनी, कामधेनु आदि हजारौँ नाम भएकी देवीको ’सरस्वती कवच’ को मन्त्रबाट व्यास, वाल्मीकि, याज्ञावल्क्य, कणाद, पाणिनी आदिदेखि शङ्कराचार्य र सन्त तुलसीदाससम्मले सिद्धि प्राप्त गरेको भन्ने कथन पनि छ ।

सरस्वतीलाई विद्या र बुद्धिकी ज्ञाता मानिन्छ जसको कारण आजको दिन विद्यालय नपठाएका साना बालबालिकाहरूलाई अक्षराम्भ गराउने चलन छ । सरस्वतीको पूजाको दिन अक्षराम्भ गरिए विद्या आउने विश्वास रही आएको छ । सोही विश्वासका साथ आज बिहानै देखि स्वयम्भु स्थित सरस्वती मन्दिरमा श्रद्धालुहरूको भीड लागेको छ ।

हेर्नुस् तस्वीरहरु

२२ बिघाको गडबिजुला ताल खुम्चियो पाँच बिघामा

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिकाको सीमा क्षेत्रमा अवस्थित गडविजुला ताल दुई स्थानीय तहबीचको खिचातानी र संरक्षणको अभावमा अस्तित्व संकटमा परेको छ। वर्षौंदेखि चलिआएको सीमा विवादका कारण तालको संरक्षण हुन नसक्दा यो प्राकृतिक सम्पदा अतिक्रमणको चपेटामा परेको हो । कुनै समय २२ बिगाहा क्षेत्रफलमा फैलिएको यो विशाल ताल अहिले करिब पाँच बिगाहामा मात्र सीमित भएको छ ।

संरक्षणको अभावमा तालको ठूलो हिस्सा पुरिँदै गएको छ भने बाँकी भागमा मानवीय अतिक्रमण तीव्र बनेको छ । स्थानीय लालसिंह बोहराका अनुसार ताल कुन पालिकाको भूगोलमा पर्छ भन्ने प्राविधिक टुङ्गो नलाग्दा ताल संरक्षणमा अबरोध सृजना भएको छ । ‘ताल कृष्णपुर नगरपालिका–२ मा पर्छ कि लालझाडी गाउँपालिका–५ मा भन्नेमा दुवै पालिकाको आ–आफ्नै दाबी छ,’ बोहराले भने, ’स्वामित्वका लागि छिनाझपटी गर्ने तर संरक्षणमा सिन्को नभाँच्ने प्रवृत्तिका कारण तालको अस्तित्व नै मेटिन लागेको छ ।’

तालको पूर्वतर्फको जग्गामा ५० भन्दा बढी परिवार बसोबास गरिरहेका छन् । अतिक्रमण गरिएको तालको जग्गामा खेतीपातीको कार्य गरिदै आएको छ । विसं २०५४ साल पछि ताल वरिपरि बस्ती बाक्लिँदै जाँदा अतिक्रमणको शृंखला सुरु भएको स्थानीयको भनाइ छ । स्थानीय गोपालसिंह महराका अनुसार तालको जग्गा मिचेर खेती गर्ने क्रम बढेपछि ताल पुरिने कार्य तीव्र भएको छ ।

‘पहिले यो ताल निकै गहिरो र सफा थियो, अहिले त खेतजस्तै देखिन थालेको छ,’ महराले भने । तालको क्षेत्रफल घट्दै जाँदा यसले आसपासको भूमिगत जलस्तरमा समेत नकारात्मक प्रभाव पारेको छ । प्राकृतिक तालको विनाशसँगै यहाँको जैविक विविधता पनि लोप हुने अवस्थामा पुगेको छ । सिमसार क्षेत्रमा आश्रित जलपक्षी र अन्य जीवजन्तुको बासस्थान संकटमा परेको छ ।

स्थानीय भजनी रानाका अनुसार केही वर्ष अघिसम्म हिउँदको समयमा तालमा देखिने गरेका विभिन्न प्रजातिका चराचुरुङ्गीहरू अहिले बस्तीका कारण देखिन छाडेका छन् । पानीको स्रोत सुक्दै जाँदा ताल वरपरको पारिस्थितिक प्रणाली नै खल्बलिन पुगेको छ । देश संघीय संरचनामा जानुअघि तत्कालीन जिल्ला विकास समिति कञ्चनपुरले यो ताललाई ठेक्कामा लगाएर आम्दानी गर्दै आएको थियो । प्राकृतिक स्रोतहरू स्थानीय तहको मातहतमा आएपछि दुवै पालिकाले यसलाई आफ्नो आयस्रोत को माध्यम बनाउन खोजे पनि जिम्मेवारी लिन भने आनाकानी गरिरहेका छन् । सीमा विवाद सुल्झाउन जिल्ला समन्वय समिति कञ्चनपुरले पटक–पटक पहल गरे पनि ठोस उपलब्धि हुन सकेको छैन ।

जिल्ला समन्वय समितिका प्रमुख दुर्गादत्त बोहराका अनुसार दुवै पालिकाका जनप्रतिनिधिहरूसँग पटक–पटक बैठक बसे पनि कार्यान्वयनको पक्ष फितलो देखिएको छ । ‘दुवै कार्यपालिकाबाट प्रतिनिधि तोकेर जग्गा नापजाँच गर्ने र विवाद टुङ्ग्याउने सहमति गराएका थियौं,’ प्रमुख बोहराले भने, ’तर सहमतिमा हस्ताक्षर गर्ने तर कार्यान्वयन नगर्ने परिपाटीले गडविजुला ताल संकटमा परेको छ ।’ कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझाले गाउँ विकास समिति हुदा देखिनै गडविजुला ताल क्षेत्र नगरपालिकाको स्वामित्वमा रहँदै आएको बताए ।

‘पहिले त्यस क्षेत्रमा वन क्षेत्र थियो, मानविय बसोवास थिएन,’ उनले भने, ’आरक्ष विस्थापीतको बस्ती ताल वरपर बसेपछि लालझाडी गाउँपालिकाले आधा ताल हाम्रो हो भनेर दाबी गर्न थालेपछि विवाद देखिएको छ ।’ तालमा दुवै पालिकाले दावी रहेपछि नापी विभागबाट नापी टोली बोलाएर सीमा यकिन गरि समस्या समाधान गर्ने सहमती भएको उनले बताए ।

क्षेत्रफलका हिसाबले ठूलो र प्राकृतिक रूपमा सुन्दर गडविजुला ताललाई संरक्षण गरी पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सके दुवै पालिकाका लागि यो ठूलो आम्दानीको स्रोत बन्न सक्थ्यो । ताललाई पुनर्जीवन दिन सके कञ्चनपुरको पर्यटनमा नयाँ आयाम थपिने स्थानीयको विश्वास छ । वर्तमान अवस्थामा यो ताल केवल दुई पालिकाको सीमा विवादको शिकार बनेको छ। यदि समयमै प्राविधिक टोलीमार्फत सीमाना रेखाङ्कन गरी अतिक्रमण नहटाउने हो भने केही वर्षभित्रै गडविजुला ताल केवल नक्सामा मात्र सीमित हुने देखिएको छ ।

बाल सुधारगृहमा झडप र आगजनी : १३ जना घाइते, १६० बढी स्थानान्तरण

भक्तपुर । भक्तपुरको मध्यपुरथिमि–२ सानोठिमीस्थित बाल सुधार गृहमा बिहीबार राति दुई समूहबीच भएको झडपले उग्ररूप लिँदा आगजनी र तोडफोड समेत भएको छ । घटनामा परेर १३ जना घाइते भएका छन्, जसमध्ये दुई जनाको अस्पतालमा उपचार भइरहेको छ । झडपपछि सुधारगृहमा रहेका १६० भन्दा बढी बालबालिकालाई अन्यत्र स्थानान्तरण गरिएको छ ।

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता तथा डीएसपी प्रकाश जगेबुका अनुसार सुधार गृहभित्र रहेका दुई पक्षबीच लामो समयदेखि एक–अर्कालाई हेप्ने र कुटपिट गर्ने क्रम चलेपछि झडप सुरु भएको हो । झडपका क्रममा सुधारगृहभित्र आगजनी हुँदा भवनमा ठूलो क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ ।

मध्यराति झडपको सूचना पाए लगत्तै थिमि प्रहरी वृत्तका प्रमुख नवराज ढुङ्गानाको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो । तर स्थिति नियन्त्रणमा लिन सुधारगृहभित्र प्रवेश गर्ने प्रयास गर्दा झडपमा संलग्न समूहहरूले प्रहरीमाथि नै ढुंगामुढा गरेपछि अवस्था थप तनावग्रस्त बनेको थियो । ‘घाइतेको उद्दार गर्न प्रहरी भित्र पस्न खोज्दा उल्टै प्रहरीमाथि आक्रमण भयो, त्यसपछि सुधारगृहभित्र नै आगो लगाइयो,’ जिल्ला प्रहरी परिसरका एक अधिकृतले बताए ।

स्थिति नियन्त्रण बाहिर जान थालेपछि सशस्त्र प्रहरी बलका करिब ५० जना परिचालन गरिएको थियो । भक्तपुर र काठमाडौंका वारुणयन्त्रहरू प्रयोग गरी मध्यरातमै आगो निभाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उक्त बाल सुधारगृहमा पुरुष र महिला गरी करिब १६५ देखि १६९ जनासम्म रहेका थिए ।

आगजनीपछि भवन प्रयोग गर्न नमिल्ने अवस्थामा पुगेकाले सबैलाई भक्तपुर र काठमाडौं जिल्ला प्रहरी परिसरअन्तर्गतका बाल सुधार निगरानी कक्षमा अस्थायी रूपमा स्थानान्तरण गरिएको डीएसपी जगेबुले जानकारी दिए । हाल सुधा रगृह क्षेत्र पूर्ण रूपमा प्रहरी नियन्त्रणमा रहेको छ । सम्भावित थप घटनालाई ध्यानमा राख्दै बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरी निरन्तर निगरानी भइरहेको छ । आगजनी र तोडफोडबाट भएको क्षतिको विस्तृत विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।

 

पाथीभरा पुगे बालेन (तस्वीरहरु)

ताप्लेजुङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह ताप्लेजुङको पाथीभरा दर्शनका लागि पुगेका छन् । झापा–५ मा पूर्व प्रधानमन्त्री एवं केपी शर्मा ओलीसँगको प्रतिष्पर्धामा रहेका बालेन चुनावी प्रचारप्रसारकै क्रममा समर्थक र पार्टी कार्यकर्तासँग इलाम, पाँचथर हुँदै पाथीभरा देवीको दर्शनमा पुगेका हुन् । बालेनको पाथीभरा दर्शनलाई चुनावी रणनीतिकै रूपमा चर्चा र विश्लेषण गरिएको छ ।

मैदान फेरेका गगनलाई सर्लाही–४ मा अमरेश चुनौती, नेता कि समीकरण निर्णायक ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा भावी प्रधानमन्त्रीका रूपमा हेरिँदै आएका गगन थापाले आफ्नो बलियो राजनीतिक आधार मानिएको काठमाडौं–४ छाडेर सर्लाही–४ बाट उम्मेदवारी दिएपछि यो निर्वाचन क्षेत्र राष्ट्रिय राजनीतिक बहसको केन्द्रमा आएको छ । लगातार तीन पटक यही क्षेत्रबाट जितिसकेका अमरेशकुमार सिंहसँगको सीधा प्रतिष्पर्धाले सर्लाही–४ लाई यस पटक सबैभन्दा चासोको निर्वाचन क्षेत्र बनाएको छ ।

गगन थापाको सर्लाही प्रवेशलाई कसैले साहसी राजनीतिक प्रयोग भनेका छन् भने कसैले काठमाडौं असुरक्षित भएपछि मधेसमा सुरक्षित अवतरण खोजेको टिप्पणी गरेका छन् । तर यथार्थ के हो भने सर्लाही–४ राजनीतिक रूपमा जटिल, बहुपक्षीय शक्ति सन्तुलन भएको क्षेत्र हो, जहाँ जित कुनै एक दलको संगठनात्मक बलले मात्र सुनिश्चित हुँदैन ।

कांग्रेसको परम्परागत पकड, तर छैन एकल वर्चस्व
सर्लाही–४ ऐतिहासिक रूपमा नेपाली कांग्रेसको बलियो क्षेत्र मानिँदै आएको छ । २०४८ देखि २०५६ सम्म महन्थ ठाकुरले लगातार तीन निर्वाचन जितेपछि यो क्षेत्र कांग्रेसको गढका रूपमा चिनिएको थियो । पछि महन्थ ठाकुर कांग्रेसबाट अलग भएपछि अमरेशकुमार सिंह यही क्षेत्रको मुख्य अनुहार बने । उनले २०७० र २०७४ मा कांग्रेसबाट तथा २०७९ मा स्वतन्त्र उम्मेदवारी दिएर जित हासिल गरे ।

स्थानीय तह निर्वाचनको नतिजा हेर्दा पनि कांग्रेस कमजोर छैन । ५१ वडामध्ये कांग्रेसले १९ वडा जितेको छ, जुन सबै दलमध्ये सबैभन्दा धेरै हो । वडाध्यक्षहरूले पाएको कुल मतमा पनि कांग्रेस अग्रस्थानमा छ । तर स्थानीय तह र प्रतिनिधिसभा निर्वाचनबीच मतको प्रवृत्ति भने फरक देखिएको छ । स्थानीय तहमा २३ हजारभन्दा बढी मत पाएको कांग्रेसले २०७९ को समानुपातिकतर्फ १६ हजार मतमै सीमित हुनुपरेको थियो ।

अमरेशको व्यक्तिगत पकड र रास्वपाको नयाँ रंग
अमरेशकुमार सिंहको शक्ति भने संगठनभन्दा बढी व्यक्तिगत राजनीतिक सम्बन्ध र निरन्तर जनप्रतिनिधित्वबाट बनेको छ । तीन पटक लगातार जितेका उनी २०७९ मा कांग्रेसकै उम्मेदवारलाई हराएर स्वतन्त्र रूपमा विजयी भएका थिए । यस पटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को टिकटबाट मैदानमा उत्रिएका सिंहले ‘जेनजी आन्दोलन’ र बालेन साहको लोकप्रियतालाई आफ्नो पक्षमा उपयोग गर्ने रणनीति लिएका छन् ।
उनको दाबी स्पष्ट छ–स्थानीय जनताले बाहिरबाट आएका उम्मेदवारभन्दा आफूलाई बढी विश्वास गर्छन् । २०७९ मा २० हजार बढी मत ल्याएर जितेको इतिहास र अहिले पार्टीको संरचना जोडिएकाले आफू अझ बलियो भएको उनको दाबी छ ।

यादव मतको विभाजन र एमालेको चुनौती
यस निर्वाचन क्षेत्रमा यादव समुदायको मत निर्णायक मानिन्छ । यही आधारमा एमालेका उम्मेदवार अमनिशकुमार यादवलाई पनि कमजोर आँक्न मिल्दैन । उनी पूर्व सांसद शिवपूजन यादवका छोरा हुन् । शिवपूजनको परिवारिक राजनीतिक विरासत, छोरी मधुमालाले २०७९ मा ल्याएको १४ हजार बढी मत, र स्थानीय तहमा छोराको जित-यी सबैले एमाले उम्मेदवारलाई मजबुत आधार दिन्छन् । तर यस पटक यादव जातिकै अन्य उम्मेदवारहरू-नेकपाबाट रजनीश राय यादव र जसपा नेपालबाट रामेश्वर राय यादव-उठेकाले यादव मत विभाजित हुने देखिन्छ। यो विभाजनले कसलाई फाइदा पुग्छ भन्ने कुरा नै चुनावको निर्णायक पाटो बन्नेछ ।

स्थानीय तहको समीकरण : कसको कहाँ पकड ?
बलरा र रामनगरमा माओवादी प्रभाव बलियो देखिन्छ भने धनकौल र विष्णु गाउँपालिकामा कांग्रेसको संगठनात्मक पकड राम्रो छ । गोडैता नगरपालिकामा लोसपा÷जसपाको प्रभाव छ भने बरहथवामा एमाले बलियो देखिन्छ । बसबरियामा जसपाको उपस्थिति उल्लेखनीय छ । यसरी हेर्दा सर्लाही–४ कुनै एक दलको ‘सेफ सीट’ होइन, बरु प्रतिष्पर्धी शक्तिहरूको मिश्रित मैदान हो ।

सर्लाही–४ को चुनाव गगन–अमरेशको मात्र कथा होइन । कांग्रेसको परम्परागत संगठन, अमरेशको व्यक्तिगत प्रभाव, एमाले–यादव विरासत, माओवादी र मधेसी दलहरूको स्थानीय पकड—सबै मिसिएको यो निर्वाचन बहुकोणात्मक प्रतिष्पर्धा हो ।

गगन थापाका लागि यो चुनाव राजनीतिक विश्वसनीयता र राष्ट्रिय नेताको हैसियत प्रमाणित गर्ने अवसर हो भने अमरेश सिंहका लागि आफ्नो अपराजित छवि जोगाउने लडाइँ । अन्तिम निर्णय भने सर्लाही–४ का मतदाताले गर्नेछन्, जहाँ पार्टीभन्दा पनि व्यक्ति, जातीय समीकरण, स्थानीय सम्बन्ध र पछिल्लो राजनीतिक तरलताले निर्णायक भूमिका खेल्ने देखिन्छ ।

छापियो एक करोड ४२ लाख बढी मतपत्र

काठमाडौं । जनक शिक्षा सामग्री केन्द्रले हालसम्म कुल एक करोड ४२ लाख आठ हजार थान मतपत्र छपाई गरेको छ । केन्द्रले उपलब्ध गराएको विवरणअनुसार पछिल्लो २४ घण्टामा मात्र ११ लाख १६ हजार थान मतपत्र छपाई भएको छ । कुल दुई करोड आठ लाख तीन हजार थान मतपत्र छपाई गर्नुपर्ने केन्द्रले जनाएको छ ।

त्यसैगरी, कुल ११ हजार ४७८ बाकस मतपत्र प्याकिङ भएको छ । पछिल्लो २४ घण्टामा मात्र एक हजार २२६ बाकस प्याकिङ भइसकेको केन्द्रले जनाएको छ । केन्द्रले एक करोड ९८ हजार २०० थान नमूना मतपत्र आयोगमा पठाएको छ ।

आज चुनाव चिह्न वितरण गरिंदै
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारले आज निर्वाचन चिह्न पाउँदैछन् । उम्मेदवारी फिर्ता लिने प्रक्रिया पूरा गरेपछि निर्वाचन चिह्न वितरणको कार्यक्रम छ ।

निर्वाचन तालिका अनुसार आज बिहान १० बजे देखि दिउँसो १ बजेसम्म उम्मेदवारहरुले उम्मेदवारी फिर्ता लिन सक्नेछन् । यस्तै आजै दिनको १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । त्यसपछि अपराह्न ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ । २१ फागुनमा हुने प्रत्यक्षतर्फ निर्वाचनका लागि माघ ६ गते देशैभर उम्मेदवारी दर्ता गरिएको थियो ।

सात दशकका आठ निर्वाचन, कुन दलले कति सिट जितेका थिए ? (भिडियाेसहित)

काठमाडौं । राणाशासन अन्त्यपछि संसदीय प्रजातन्त्र स्थापना भएदेखिको ७५औँ वर्षमा नवौँपटक संसद्को निर्वाचन हुन लागेको छ । यसबीचमा ३० वर्ष पञ्‍चायती व्यवस्था थियो । त्यसबेला संसदीय निर्वाचन भएन । राष्ट्रिय पञ्‍चायतको मात्रै निर्वाचन भयो ।

पहिलो संसदीय निर्वाचन २०१५ सालमा भएको थियो । नेपाली कांग्रेसको नेतृत्वमा भएको साढे तीन महिना लामो सशस्त्र संघर्षको बलमा १०४ वर्षे राणाशासन २००७ सालमा ढल्यो । त्यसको आठ वर्षपछि २०१५ सालमा भएको नेपालको पहिलो प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसले दुई तिहाइ बहुमत प्राप्त गर्‍यो ।

१०९ वटा निर्वाचन क्षेत्रमध्ये कांग्रेसले ७४ सिट जित्यो । देशमा प्रजातन्त्र स्थापनाका लागि सशस्त्र संघर्षको नेतृत्व गर्ने विद्रोही शक्ति कांग्रेसलाई पहिलो संसदीय निर्वाचनमै दुई तिहाइ बहुमत प्राप्त भएको यो ऐतिहासिक र दुर्लभ राजनीतिक घटना हो ।

त्यसबेला नेपाल राष्ट्रवादी गोरखा परिषद्ले १९ सिट, संयुक्त प्रजातन्त्र नेपालले ५ सिट, नेपाल कम्युनिस्ट पार्टीले ४ सिट, नेपाल प्रजा परिषद् (आचार्य गुट)ले २ सिट, नेपाल प्रजा परिषद् (मिश्र गुट)ले १ सिट र चार जना स्वतन्त्र उम्मेदवारहरूले निर्वाचन जितेका थिए ।

निर्वाचनपछि दुई तिहाइ बहुमत प्राप्त दल कांग्रेसबाट बीपी कोइराला प्रधानमन्त्री बने । उनी नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री हुन् । तर, विवादकै कारण राजा महेन्द्रले बीपी कोइरालालाई पदच्युत मात्रै गरेनन्, शिशु अवस्थाको संसदीय प्रजातन्त्र मासिदिए । बहुदलीय व्यवस्था हटाइदिए ।

निर्दलीय अर्थात् पञ्‍चायती व्यवस्था लागू गरे । यसपछि कांंग्रेससँगै साना साना कम्युनिस्ट घटकहरू देशमा बहुदलीय प्रजातन्त्र पुनःस्थापना गर्न आन्दोलित भइरहे । अन्ततः २०४५ सालतिर नेपालले चीनसँग हातहतियार खरिद गरेपछि नेपाल दरबारले भारतको समर्थन गुमायो । नेपालमाथि पहिलोपटक भारतले नाकाबन्दी लगायो ।

त्यहीबीच भारतीय समाजवादी नेता चन्द्रशेखर लगायतले चाक्सीबारीमा कांग्रेसको सभामा आइ जनआन्दोलनको नेतृत्व लिन गणेशमान सिंहलाई मनाए । सहाना प्रधानको नेतृत्वमा वामपन्थी शक्तिहरू संयुक्त वाममोर्चामा गोलबद्ध भएर जनआन्दोलनमा जान तयार भए । अन्ततः गणेशमान र सहानाले नेतृत्व गरेको जनआन्दोलनका कारण छोटो अवधिमै राजा वीरेन्द्रले घुँडा टेके ।

यसरी कांग्रेसको नेतृत्व र संयुक्त बाम मोर्चाको बलियो समर्थनमा उर्लिएको जनआन्दोलनले ३० वर्षे पञ्‍चायतको जरो उखेल्यो र संसदीय प्रजातन्त्रको पुर्नबहाली भयो । यसपछि २०४७ सालमा संविधान बन्यो, जहाँ देशभरमा निर्वाचन क्षेत्र २०५ वटा तोकियो । २०४८ मा प्रतिनिधिसभा निर्वाचन भयो ।

निर्वाचनबाट जनआन्दोलनको नेतृत्वदायी शक्ति नेपाली कांग्रेसले स्पष्ट बहुमत पायो । २०५ सिटमध्ये ११० सिट जित्यो । एमालेले ६९ सिट जित्यो । संयुक्त जनमोर्चा नेपालले ९ सिट, नेपाल सद्‍भावना पार्टीले ६ सिट, राष्ट्रिय प्रजातन्त्र पार्टी (चन्द)ले ३ सिट, नेकपा प्रजातान्त्रिकले २ सिट, नेपाल मजदुर किसान पार्टीले २ सिट, राष्ट्रिय प्रजातन्त्र पार्टी (थापा)ले १ सिट र तीन जना स्वतन्त्र उम्मेदवारले निर्वाचन जिते ।

निर्वाचनपछि कांग्रेसको बहुमतीय एकल सरकार बन्यो । गिरिजाप्रसाद कोइराला कांग्रेसबाट प्रधानमन्त्री भए । तर, उनको नेता कृष्णप्रसाद भट्टराईसँग टसल बढ्दै जाँदा अन्ततः कोइरालाले बजेट तथा नीति कार्यक्रम पारित गर्न सकेनन् । यस्तोमा कोइरालाले प्रतिनिधिसभा विघटन गरे ।

यसपछि प्रतिनिधिसभाको मध्यावधि निर्वाचन २०५१ मा भयो । एकपटक दुई तिहाइ र एकपटक एकल बहुमतीय सरकार गठन गरेको कांग्रेसलाई जनताले दण्डित गरिदिए । कांग्रेस दोस्रो दलमा खुम्चियो । नेकपा एमाले पहिलो दल बन्यो । एमालेले २०५ सिटमध्ये ८८ सिट जित्यो । २०४८ मा ११० सिट जितेको कांग्रेस ८३ सिटमा सीमित भयो । राष्ट्रिय प्रजातन्त्र पार्टीले २० सिट, नेपाल मजदुर किसान पार्टीले ४, नेपाल सद्भावना पार्टीले ३ सिट र सात जना स्वतन्त्र उम्मेदवारले निर्वाचन जिते ।

यसरी स्थापनाको साढे चार दशकमा कम्युनिस्ट पार्टी पहिलो दल मात्रै भएन, अल्पमतको पहिलो कम्युनिस्ट सरकार चलायो । मनमोहन अधिकारी नेपालको पहिलो कम्युनिस्ट नेता भए । भनिन्छ, उनी नेतृत्वको नौ महिने कम्युनिस्ट सरकार सर्वाधिक सफल हो । उनकै सरकारले ज्येष्ठ नागरिकलाई वृद्धा भत्ता दिन थालेको थियो । आफ्नो गाउँ आफैं बनाउँजस्ता अभियान चलाएका थिए ।

यसपछि २०५६ सालमा प्रतिनिधिसभा निर्वाचन भयो । निर्वाचनबाट फेरि कांग्रेस नै पहिलो दल बन्यो । जतिबेला देश माओवादी युद्धमा थियो । पश्‍चिमदेखि पूर्वतिर माओवादी युद्धको प्रभाव विस्तार हुँदै थियो । त्यसबेला भएको प्रतिनिधिसभा निर्वाचनले कांग्रेसलाई फेरि पहिलो शक्ति बनायो । तर, कांग्रेसभित्रको अन्तर संघर्ष यति चुलियो कि तीन वर्षमा तीन जना कांग्रेस नेता प्रधानमन्त्री भए ।

अझ माओवादी द्वन्द्वलाई नियन्त्रणमा लिन भन्दै तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले संकटकाल लम्ब्याएको विषयलाई लिएर उत्पन्न मतभेदबीच सभापति कोइरालाले देउवासमेतलाई पार्टीबाट हटाइदिए । देउवाले कांग्रेस प्रजातान्त्रिक गठन मात्रै गरेन, अन्ततः स्थानीय निकायको निर्वाचन गर्न नसकेको भन्दै राजालाई प्रतिनिधिसभा विघटनको सिफारिस गरे ।

जतिबेला माओवादी युद्धले देश पूरै आक्रान्त थियो । त्यसबेलामा राजा ज्ञानेन्द्रले प्रत्यक्ष शासन चलाए । संकटकाल लगाए । संविधानमा उल्लिखित जनअधिकारसँग सम्बन्धित धाराहरू निलम्बन गरे । ज्ञानेन्द्रको यस कदमविरुद्धको सात राजनीतिक दल र युद्धरत माओवादी मिलेर जनआन्दोलन गरे, जसलाई २०६२–०६३ को जनआन्दोलन भनिन्छ ।

जनआन्दोलन सफल हुँदा राजतन्त्र ढल्यो र संविधानसभाको निर्वाचन भयो । यो निर्वाचनबाट विद्रोही दल नेकपा माओवादी पहिलो शक्ति बन्यो । ६०१ सभासदमध्ये २२९ जना सभासद माओवादीको थियो । कांग्रेसको ११५ जना, एमालेको १०८ जना, मधेसी जनअधिकार फोरमको ५४ जना, तराई मधेस लोकतान्त्रिक पार्टीको २१ जना, सद्‍भावना पार्टीको ९ जना, नेकपा मालेको ९ जना, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनमोर्चा नेपालको ८/८ जना, नेकपा एकीकृत र नेपाल मजदुर किसान पार्टीको ५/५ जना, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाको ४/४ जना, राष्ट्रिय जनशक्ति पार्टी र नेपाल सद्‍भावना पार्टी (आनन्ददेवी)को ३/३ जना सभासद थिए ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्‍च, राष्ट्रिय जनमुक्ति पार्टी, नेपाली जनता दल र नेकपा संयुक्तको २/२ जना सभासद थिए । नेपाः राष्ट्रिय पार्टी, समाजवादी प्रजातान्त्रिक पार्टी नेपाल, चुरेभावर राष्ट्रिय एकता पार्टी, नेपाल लोकतान्त्रिक समाजवादी दल र नेपाल परिवार दलको १/१ जना सभासद थिए ।
यसरी पहिलो संविधानसभा निर्वाचनमा पनि विद्रोही शक्ति नेकपा माओवादीलाई जनताले विश्‍वास गरेर पहिलो दल बनाएको देखिन्छ ।

तर, पहिलो संविधानसभाले संविधान जारी गर्न सकेन । दोस्रो संविधानसभा निर्वाचन २०७० मा भयो । त्यसबेला फेरि कांग्रेस पहिलो भयो । कांग्रेसले २०६ सिट जित्यो । एमालेको १८४ सिट, माओवादीको ८३ सिट, राप्रपा नेपालको २४ सिट, मधेशी जनअधिकार फोरम लोकतान्त्रिकको १४ सिट, राप्रपाको १३ सिट र तराई मधेश लोकतान्त्रिक पार्टीको ११ सिट भयो ।

दोस्रो संविधानसभामा मधेसी जनअधिकार फोरम नेपालको १० सिट, सद्‍भावना पार्टीको ६ सिट, नेकपा माले र संघीय समाजवादी पार्टी नेपालको समान ५/५ सिट थियो । नेपाल मजदुर किसान पार्टीको ४ सिट छँदा राष्ट्रिय जनमोर्चा, नेकपा संयुक्त, राष्ट्रिय मधेश समाजवादी पार्टी र तराई मधेश सद्‍भावना पार्टी नेपालको समान ३/३ सिट थियो ।

राष्ट्रिय जनमुक्ति पार्टी, थरुहट तराई पार्टी नेपाल, नेपाल परिवार दल र दलित जनजाति पार्टीले पनि २/२ सिट जितेका थिए ।
मधेशी जनअधिकार फोरम (गणतान्त्रिक), नेपाली जनता दल, खम्बुवान राष्ट्रिय मोर्चा नेपाल, नेपाः राष्ट्रिय पार्टी, जनजागरण पार्टी नेपाल, सङ्‍घीय सद्‍भावना पार्टी, मधेश समता पार्टी नेपाल, समाजवादी जनता पार्टी र सङ्‍घीय लोकतान्त्रिक राष्ट्रिय मञ्‍चको १/१ सिट थियो । त्यसबेला ३ जना स्वतन्त्र उम्मेदवारले निर्वाचन जिते ।

यही संविधानसभाले २०७२ असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी गर्‍यो । प्रतिनिधिसभा प्रत्यक्ष र समानुपातिक गरी २७५ सदस्यीय बन्यो । यसपछि २०७४ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा वाम गठबन्धन गरेर निर्वाचन लडेका एमाले र माओवादीले झण्डै दुई तिहाइ सिट जिते । एमाले १२१ सिट जित्दै पहिलो भयो । माओवादीले ५३ सिट जित्यो । यो भनेको वाम गठबन्धनको झण्डै दुई तिहाइ बहुमत हो ।

कांग्रेसले ६३ सिट मात्रै जित्यो । महन्थ ठाकुर नेतृत्वको तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)ले १७ र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालले १६ सिट जित्दा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपाल मजदुर किसान पार्टी, नयाँ शक्ति पार्टी र राष्ट्रिय जनमोर्चा नेपालले १/१ सिट जिते । एमालेको चिह्नबाट हृदयश त्रिपाठीले निर्वाचन जिते ।

यसरी वाम गठबन्धन बन्दा पहिलोपटक नेपालकै इतिहासमा अभूतपूर्व जनमत कम्युनिस्ट पार्टीले पायो । एमाले र माओवादीबीच एकता भयो । ओली शक्तिशाली कम्युनिस्ट प्रधानमन्त्री बने । तर, उनले पार्टीको कलहले दुईपटक संसद् विघटन गरे । दुवैपटक संसद् पुनःस्थापना भयो र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बने ।

यसपछि, २०७९ सालमा प्रतिनिधिसभा निर्वाचन भयो । कांग्रेस, माओवादी, नेकपा एसलगायत दलहरूको एउटा गठबन्धन बन्यो । एमाले र राप्रपाको पनि गठबन्धन भयो । यस्तोमा निर्वाचनबाट कांग्रेस पहिलो दल बन्यो ।

कांग्रेस ८९ सिटसहित पहिलो बन्दा एमाले ७८ सिटसहित दोस्रो दल बन्यो । माओवादी ३२ सिट, राष्ट्रिय स्वतन्त्र पार्टी २० सिट, राप्रपा १०, जनता समाजवादी पार्टी १२ सिट, नेकपा एकीकृत समाजवादी १० सिट, जनमत पार्टी ६ सिट, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले समान ४/४ सिट जित्दा, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीले १/१ तथा पाँच जना स्वतन्त्र उम्मेदवारले निर्वाचत जिते ।

पछि रास्वपाले तनहुँ-१ मा भएको उपनिर्वाचन जित्दै २१ सिट पुर्‍यायो । तर, संसद्‌मा कुनै दलको बहुमत भएन । संसद्का दुई वा दुईभन्दा बढी दलहरू मिलेर मात्रै सरकार गठनको स्थिति भयो, जसले सत्ता गठबन्धन अस्थिर बन्यो ।

साढे चार महिनाअघि भदौ २३ र २४ को जेन–जी विद्रोहअघि कांग्रेस–एमाले सम्मिलित गठबन्धन सरकार थियो । प्रधानमन्त्री थिए, एमाले अध्यक्ष केपी शर्मा ओली । भ्रष्टाचार र सुशासन कायम गर्न नसकेकोसँगै सामाजिक सञ्‍जाल सञ्‍चालनमा प्रतिबन्ध लगाएको भन्दै आक्रोशित जेन–जी पुस्ताले विद्रोह गर्दा ओली सरकार त ढल्यो नै प्रतिनिधिसभासमेत विघटन भयो ।

जेन–जी विद्रोहको जिम्मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले औपचारिक रूपमा लिएको छैन तर यस पार्टीका नेतादेखि काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख हाल रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहसम्मले जेन-जी विद्रोहको मनोविज्ञानलाई नेतृत्व गर्ने प्रयास गरिरहेका छन् ।

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनबाट जनताको पहिलो रोजाइ कुन दल पर्ला ? हेर्न बाँकी छ । तर, २००७ सालको क्रान्तिको मूल शक्ति कांग्रेस २०१५ सालमा भएको निर्वाचनबाट दुई तिहाइ बहुमतसहित पहिलो दल बनेको थियो । ३० वर्षे पञ्‍चायती व्यवस्था फाल्न भएको २०४६ सालको जनआन्दोलनको नेतृत्वदायी शक्ति कांग्रेस फेरि २०४८ सालको प्रतिनिधिसभा निर्वाचनमा पहिलो दल बन्यो ।

पछि २०६४ मा भएको संविधानसभा निर्वाचनमा पनि १० वर्षे युद्ध लडेर आएको दल माओवादीलाई जनताले पहिलो दल बनाए । चुनावी परिणामको यी दृष्टान्तले कुनै पनि राजनीतिक विद्रोहको नेतृत्व गर्ने दललाई जनताले पहिलो दल बनाउने गरेको देखिन्छ । तर, जेन-जी विद्रोहको मर्मलाई बोक्छौं भन्दै नेतृत्व परिवर्तन गरेको कांग्रेस होस् वा राष्ट्रियतालाई मुल मुद्धा बनाएको नेकपा एमाले, बलियो जनाधार र संगठन भएका पार्टी हुन् । यसपालिको प्रतिस्पर्धा मुलतः यी तीन शक्तिबीच हुने देखिन्छ ।

 

ताप्लेजुङकाे विकास र समृद्धि क्षितिज थेबेकाे सर्वोच्च प्राथमिकतामा

काठमाडौं । ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका नेकपा एमालेका युवा नेता क्षितिज थेबेले जिल्लाको विकास र समृद्धिलाई आफ्नो जीवनको सर्वोच्च प्राथमिकता राख्‍ने बताएका छन् ।

उनले ताप्लेजुङवासीको सुख, खुशी र समृद्धि नै आफ्नो आत्मसन्तुष्टि हुने उल्लेख गर्दै जनताको हितका लागि निस्वार्थ रूपमा काम गर्ने दृढ सङ्‍कल्प सार्वजनिक गरेका हुन् । ‘ताप्लेजुङको विकास र समृद्धिका लागि मेरो प्राण हुनेछ, जिल्लावासीको सुख र खुसी नै मेरो आत्मसन्तुष्टि हुनेछ,’ उनले प्रतिबद्धता व्यक्त गरे ।

उम्मेदवार थेबे ताप्लेजुङको समग्र विकासका लागि पूर्वाधार निर्माण, रोजगारी सिर्जना, शिक्षा र स्वास्थ्य सेवाको पहुँच विस्तार तथा स्थानीय स्रोत-साधनको सदुपयोगलाई प्राथमिकतामा राखेर काम गर्ने बताए ।  ‘विकासका हरेक योजनामा जनताको आवश्यकता, सहभागिता र स्वामित्व सुनिश्‍चित गरिनेछ’, उनले भने ।

सालिन र जिम्म्वार युवा नेतृत्वका रूपमा परिचित उनले परिवर्तन, पारदर्शिता र उत्तरदायित्वसहितको राजनीतिक अभ्यास आवश्यक रहेको उल्लेख गर्दै विकास र समृद्धिको यात्रामा सबै ताप्लेजुङवासीलाई साथ र सहयोगका लागि आह्वान गरे ।

एमालेले ताप्लेजुङमा स्थिरता, विकास र समृद्धिलाई केन्द्रमा राख्दै चुनावी अभियान अघि बढाएको जनाएको छ। उम्मेदवार थेबेको प्रतिबद्धतालाई जिल्लाको दीर्घकालीन विकाससँग जोडेर पार्टीले मतदातामाझ प्रस्तुत गरिरहेको छ।

रेशम चौधरीको उम्मेदवारी खारेज

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी नेपालका उम्मेदवार रेशम चौधरीको उम्मेदवारी खारेज भएको छ । कैलाली क्षेत्र नम्बर–१ बाट नाउपा नेपालका संरक्षक चौधरीको उम्मेदवारी दर्ता भएको थियो । ‘नागरिक उन्मुक्ति पार्टी नेपाल (एकल चुनाव चिन्ह) का उम्मेदवार रेशमलाल चौधरीको उक्त पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिम प्रतिनिधि सभा सदस्य पदको लागि हुने निर्वाचनमा उम्मेदवारको मनोनयनपत्र प्रचलित कानून बमोजिम कायम रहन सक्ने अवस्थाको नदेखिदा खारेज गरी दिएको छ । कानून बमोजिम गर्नु,’ निर्वाचन अधिकृतले गरेको निर्णयमा उल्लेख छ ।

टीकापुर घटनासम्बन्धी मुद्दामा रेशमले सरकारको सिफारिसमा राष्ट्रपतिबाट आममाफी पाएका थिए । तर प्रतिनिधि सभा निर्वाचन ऐनअनुसार जन्मकैद भएका व्यक्ति निर्वाचनमा उम्मेदवार हुन पाउँदैनन् । २०७९ को चुनावमा पनि रेशम बर्दीया क्षेत्र नम्बर २ बाट उम्मेदवार भएका थिए । त्यसबेला उनको उम्मेदवारी खारेज भएको थियो भने उनी त्यसबेला जेलमा थिए । त्यसपछि उनका बुवा लालवीर चौधरी बर्दीया क्षेत्र नम्बर २ मा स्वतन्त्र उम्मेदवार भएका थिए । पछि उनी नागरिक उन्मुक्ति पार्टी प्रवेश गरेका थिए । लालवीर अहिले नाउपा नेपालमा छन् ।

जाँचबुझ आयोगको म्याद २० दिन थप गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले गत भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएको भौतिक एवं मानवीय क्षतिको यथार्थ छानविन गरी प्रतिवेदन पेश गर्न गठित जाँचबुझ आयोगको म्याद २० दिन थप गरेको छ । बिहीवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले सिद्धार्थ राजमार्ग बुटवल–पोखरा सडक खण्ड सुधार आयोजनाको तयारीका लागि एशियाली पूर्वाधार लगानी बैंकबाट उपलब्ध हुने दुई मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गरेको छ । सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई नेपाल सरकारको प्रवक्ता तोकेको छ ।

गृहमन्त्री अर्याललाई सरकारको प्रवक्ताको जिम्मेवारी
सरकारले प्रवक्तामा गृहमन्त्री ओमप्रकाश अर्याललाई जिम्मेवारी दिएको छ । बिहीवार सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले सरकारको प्रवक्तामा गृहमन्त्री अर्याललाई जिम्मेवारी दिएको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री अर्यालले सरकाको प्रवक्तामा आफूलाई जिम्मेवारी दिइएको जानकारी गराए । यसअघिका सरकारको प्रवक्ता रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजीनामा दिइ आगामी निर्वाचनमा भाग लिने जानकारी गराएसँगै सरकारको प्रवक्ता पद रिक्त रहेको थियो ।

गगन सानेपा भित्रिनु अघि नै कांग्रेस मुख्य सचिव पौडेलले दिए राजीनामा

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले पदबाट राजीनामा दिएका छन् । सभापति गगन थापाले शुक्रबारदेखि केन्द्रीय कार्यालयम पुगेर कार्यभार सम्हाल्ने भएपछि पौडेलले राजीनामा दिएका हुन् ।२०७२ सालमा पौडेललाई तत्कालीन सभापति शेरबहादुर देउवाले मुख्य सचिव नियुक्त गरेका थिए । नव निर्वाचित सभापति थापालाई आफ्नो ढंगले काम गर्न सहयोग पुगोस् भनेर राजीनामा दिएको बताए ।

पुस २७–३० मा सम्पन्न विषेश महाधिवेशनबाट निर्वाचित सभापति थापा पार्टीका सचिव कृष्णप्रसाद दुलाललाई मुख्य सचिव बनाउने तयारीमा छन् । सभापतिमा निर्वाचित लगत्तै थापाले दुलाललाई मुख्य सचिव बनाउने बचन दिएको एक नेताले जानकारी दिए । विजयकुमार गच्छदारको तत्कालीन जनअधिकार फोरम २०७४ सालमा कांग्रेसमा विलय हुँदा दुलाललाई पार्टी सचिव बनाइएको थियो । पार्टी कार्यालयका सचिव विशेष महाधिवेशनको पक्षमा दुलाल खुलेर लागेका थिए ।

सिन्धुलीमा बागी विवाद : प्रचण्डले हरिबोलसहित सिन्धुलीका नेताहरूलाई बोलाए काठमाडौं

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सिन्धुली–२ को टिकट विवाद सल्टाउन नेताहरूलाई काठमाडौं बोलाएका छन् । सिन्धुली–२ मा राजन दाहालविरुद्ध महेश्वर दाहालले बागी उम्मेदवारी दिएपछि प्रचण्डले विवाद समाधान गर्नका लागि नेताहरूलाई आज काठमाडौं बोलाएका हुन् ।

बागी उम्मेदवारको प्रस्ताव नेकपाका शीर्ष नेता हरिबोल गजुरेल बनेका छन् । सिन्धुली–१ बाट सिफारिस भएका दाहाललाई २ मा टिकट दिएपछि उनीहरू असन्तुष्टि बनेका हुन् । टिकट विवाद चर्किएपछि समाधानको लागि प्रचण्ड पनि काठमाडौं फर्किएका छन् । उनी उम्मेदवारी दर्ता गर्न रुकुम पूर्व पुगेका थिए । अध्यक्ष काठमाडौं आएर आफूहरूलाई छलफलको लागि बोलाएको नेता गजुरेलले बताए ।

प्रचण्डले बोलाएपछि आफूसहित महेश्वर दाहाल, जिल्ला पार्टी संयोजक पानीराज बमजन र जिल्ला इन्चार्ज वसन्त माझी सिन्धुलीबाट काठमाडौं आउन लागेको नेता गजुरेलले बताएका छन् । उनले आफूहरू ब्याक नहुने अडानमा रहेको बताए । उनले भने, ‘हामी अगाडि बढिसकेका छौं । अब अगाडि जाँदा चट्टान छ, पछाडी भिर छ । पछि हटेर भिरबाट खस्ने कुरा हुँदैन, चट्टान फोडेरै अघि बढ्ने हो ।’ उनले आफूहरूको स्पष्ट अडान संयोजक प्रचण्डसँगको भेटमा पनि राख्ने तयारी गरेको सुनाए ।

‘चुनावी खर्चले अर्थतन्त्र चलायमान बन्छ, उम्मेदवारहरूको खर्च १८० अर्ब पुग्नसक्छ’

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनले नेपाली अर्थतन्त्रमा छोटो अवधिको सकारात्मक प्रभाव पार्ने अर्थशास्त्रीहरूको विश्लेषण छ । अर्थशास्त्री डा. चन्द्रमणि अधिकारीकाअनुसार सरकारी तथा उम्मेदवारहरूको कुल खर्च करिव १८० अर्ब पुग्नसक्छ ।

जसले बजारमा पैसा प्रवाह गरी अर्थतन्त्रलाई चलायमान बनाउँछ । सरकारले चुनाव सञ्चालनमा करिव ३० अर्ब खर्च गर्दा सुरक्षा, सामग्रीलगायत क्षेत्रमा रकम बजारमा जान्छ । उम्मेदवारहरूको औपचारिक खर्च १० अर्ब भए पनि वास्तविक खर्च १५० अर्बसम्म पुग्ने अनुमान छ । यो रकमले उपभोग, यातायात र सेवामा वृद्धि ल्याउँछ । तर चुनावी अनिश्चितताले पुँजीगत खर्च घटेको छ भने लगानीकर्ता ‘पर्ख र हेर’ नीतिमा छन् । निर्वाचनपछिको सरकारको स्वरूपले दीर्घकालीन प्रभाव निर्धारण गर्ने अधिकारीको भनाइ छ । स्थिर सरकार बने सकारात्मक, गठबन्धनको अस्थिरता भए आर्थिक अनुशासन भंग हुने जोखिम छ ।

चुनावी अर्थतन्त्रको विशेषता
निर्वाचन अर्थतन्त्र सामान्य भन्दा फरक हुन्छ । निर्वाचन अघिको अर्थतन्त्र र निर्वाचन पछाडी प्रभावित हुने अर्थतन्त्रका रुपमा हेर्नुपर्ने हुन्छ । निर्वाचन अघिको अर्थतन्त्र हेर्दा सरकारी तर्फबाट चुनावका लागि बजेट खर्च हुनेछ । २०४८ मा ८० करोड चुनाव गराउन खर्च भएकोमा अहिले ३० अर्ब खर्च हुँदैछ । झण्डै ४० गुणा खर्च बढिसकेको स्थिति छ । यो स्वभाविक हो किनभने त्यति नै गुणामा अरु पनि वृद्धि भएको छ । त्यसलाई अन्यथा रुपमा लिनु हुँदैन । सरकारले खर्च गर्ने चुनावी बजेटले सार्वजनिक खरिद गरिने गरिएको छ भने निर्वाचन प्रहरीसम्मै खर्च गरिने गरिएको छ । सरकारले प्रहरीलाई दिने पैसा उनीहरुले दैनिकी चलाउने हुन् । यो बजारमा जाने पैसा हो ।

उम्मेदवारहरूको वास्तविक खर्च
औपचारीक तवरले निर्वाचन आयोगमा घोषणा गर्ने हिसावले उम्मेदवारले गर्ने खर्च कुल १० अर्ब मात्रै हुन्छ । ३४ सय उम्मेदवार हुँदा एक उम्मेदवारले २५ लाखदेखि ३५ लाखसम्म खर्च गर्न पाउँछन् । सरदरमा उनीहरुको खर्च ३० लाख मान्दा १० अर्ब आउनेछ । तर नेपाली प्रवृत्ति हेर्ने हो भने निर्वाचन आयोगमा बुझाउने खर्चको तुलनामा १० गुणासम्म उम्मेदवारले खर्च गर्ने गरेका छन् ।

अहिलेसम्मको प्रवृत्ति हेर्दा संघीय चुनावमा प्रत्यक्षतर्फको उम्मेदवारले घटीमा २ करोड र बढिमा १० करोडसम्म खर्च गरेको आकडाहरु आएका छन् । त्यो हिसावले हेर्दा औषतमा ६–७ करोड एउटै उम्मेदवारले खर्च गर्छन । यसरी हेर्दा १५० अर्ब जति रकम अर्थतन्त्र भित्र प्रवेश हुन्छ । बैंकहरुमा धेरै रकम थ्रुपिएकाले त्यहाँबाट बाहिर पैसा आउनेछ भने अर्को कुरा बैंकबाट बाहिरबाट पनि पैसा आउन सक्छ । विदेशबाट पनि पैसा आउन सक्छ ।

सकारात्मक र नकारात्मक प्रभाव
यसले दुइ वटा प्रभाव पार्नेछ । एउटा आन्तिरीक हिसावले केही मात्रमा उत्पादन बढ्नसक्ने सम्भावना छ भने मासुको प्रयोग ज्यादा हुनसक्छ । रक्सीको प्रयोग बढ्छ । मुलकुरा चुनावमा सवारी साधनको प्रयोग बढ्नेछ । तराईमा सवारी साधन चलाउँदा त्यस्तो साधन नै भारतबाट ल्याइने गरिएको छ । त्यसले गर्दा आयात पनि बढ्नसक्छ भने पैसा अनौपचारिक हिसाबले बाहिर पनि जानेछ । भारतबाट सबारी भाडामा ल्याउँदा औपचारिक तवरले पैसा जाने देखिँदैन ।

यसले आयात र उपभोगलाई बढाउन सक्छ । सामाजिक न्यायको हिसावले कहि जमको पैसा बजारमा आउनेछ । यो एक हिसाबले राम्रै पनि हो । किनभने कतिपय पैसा भोटरदेखि प्रविधि चलाउनेसम्मको हातमा जानसक्छ । त्यसैकारण अर्थतन्त्रलाई चुनावले चलायमान बनाउछ । आयात बढ्दा उपभोगमार्फत बढ्ने राजस्व बढ्नसक्छ ।

पुँजीगत बजेट खर्च हुन्छ
चुनावमा विकास बजेट खर्च हुँदैन त्यसकारण सरकारी खर्चमा प्रतिकुल असर पार्नेछ । गत वर्ष पुषसम्ममा १७ प्रतिशत विकास बजेट खर्च भएकोमा यसपटक ११–१२ प्रतिशत मात्रै खर्च भएको छ । यसले के देखायो भने चुनाव आउनुअघि नै विकास बजेट खर्चमा असर परेको प्रत्यक्ष देखाउँछ । बैंकहरुबाट ऋण प्रवाह हुनेकुरामा पनि असर पर्ने देखिन्छ ।

किनकी अहिले पर्ख र हेरको अवस्थामा लगानीकर्ता रहेका छन् । अहिले उद्योगहरु राम्रोसँग नचल्दा पनि बैंकमा उद्योगीहरु कर्जा लिन गइरहेका छैनन् । निर्वाचनले यसमा पनि प्रभाव पारेको देखिन्छ । जसकारण आर्थिक वृद्धिदर कम हुने अनुमान भइसकेको छ । अर्थमन्त्री रामेश्वर खनालले १ खर्ब बढिका योजना शुरुमै रोक्नुभयो र ती सबै रोक्ने खालका थिएनन् र पछि केही फुकुवा पनि भयो । अहिले सार्वजनिक ऋण पनि बढिरहेको छ । जिडिपीको तुलनामा करिव ४६ प्रतिशत सार्वजनिक ऋणको हिस्सा पुगेको छ । यो निर्वाचनपछि आउने सरकारलाई ऋणको भार बढ्ने देखिन्छ ।

निर्वाचन पछि राजनीति प्रभाव हुनसक्छ । एकातिर निर्वाचनले निकास पनि दिन्छ भने तर निर्वाचनले सधैँ निकास दिँदैन । सरकार कस्तो अनुहारको आउँछ भन्नेले धेरै महत्व राख्छ । कसैले बहुमत बनाउने वा दुई वटा पार्टी मिलेर सरकार बनाउने स्थीति आउछ भन्नेले महत्व राख्छ । भोलि १० ओटा पार्टी नभइ सरकार बन्ने स्थिति पनि आउनसक्छ । त्यस्तो अवस्था भयो भने पैसा बाँड्ने प्रवृत्ति शुरु हुनसक्छ । आर्थिक अनुशासन भंग हुन सक्छन् ।

आमाहरूको रहर : निर्वाचन प्रहरी बनेर घरखर्च जुटाउने

वीरगञ्ज । पर्साको विन्दवासिनी गाउँपालिका– १ स्थायी घर भएकी शिशकुमारीदेवी विनिन् तेस्रो पटक निर्वाचन प्रहरी बन्ने अभिलासासहित वीरगञ्जको नारायणी रङ्गशालामा शारीरिक अभ्यासको लागि जुटिरहेकी छन् । उमेरले ५३ वसन्त पार गरेकी तीन सन्तानकी आमा रहेकी उनी रहरले भन्दा पनि परिवारको आर्थिक अवस्थाको कारणले निर्वाचन प्रहरीमा होमिनु परेको सुनाउँछिन् ।

‘यो उमेरमा रहरले त के हुन्थ्यो र १ परिवारको बिहान–साँझको गर्जो टार्नकै लागि भए पनि निर्वाचन प्रहरीमा आएकी हुँ,’ उनले भनिन्, ‘यसअघिका दुई पटकको चुनावमा म्यादी प्रहरीको अनुभ भइसकेकाले पनि यो पटक पनि छनोट हुने आशा लिएकी छु ।’ तीन सन्तानमध्ये एक छोरा नौ कक्षा र अर्को छोरी पाँच कक्षामा अध्ययनरत रहेका छन् । अर्का छोरा भने सवारीदुर्घटनामा परेर ढाड नचल्ने समस्याबाट गुज्रिरहेका छन्। उनको पति भने खेती किसानी गर्दै आइरहेका छन्। घाइते छोराको उपचारार्थ केही रकम जोहो गर्नकै लागि भए पनि निर्वाचन प्रहरी बन्न लागेको उनी बताउँछिन् ।

‘‘अघिल्ला दुई निर्वाचनमा त छनोट भएकी थिएँ । यसपालि के हुने हो हेरौँ’ उनले भनिन्,‘आफू निर्वाचन प्रहरीमा छनोट भएको खण्डमा निर्वाचनलाई राम्रोसँग अघि बढाउने रहर छ ।’ अहिले पर्सा जिल्लामा निर्वाचन प्रहरी बन्ने दौडमा विनिन मात्रै नभएर ३२ वर्षे दुई सन्तानकी आमा तेतरीदेवी चमार पनि कसरत गरिरहेकी छन् । स्थायी घर पर्साको पोखरिया नगरपालिका घर भएकी उनको जसरी पनि निर्वाचन प्रहरी बन्ने सपना देखेर आएको बताइन् । ‘निर्वाचन प्रहरी भएर खटिँदा देशको सेवा पनि हुने केही रकम आम्दानी पनि हुने देखेर आएकी हुँ,’ उनले भनिन् ,‘निर्वाचन प्रहरी बनेर छोराछोरीको पढाइखर्च जुटाउन केही सहज होला कि भनेर आएकी हुँ ।’

वीरगञ्जको नारायणी रङ्शालाको मैदानमा विनिन र तेतरीदेवी मात्रै नभएर पर्साको बहुदरमाई नगरपालिका–९ मा बसोबास गर्ने दुई छोराकी आमा चन्द्रमादेवी पनि निर्वाचन प्रहरी बन्ने सपना बोकेर वीरगञ्जको नारायणी रङ्गशालामा उत्रिएकी छन् । ‘आर्थिक अवस्था कमजोर भएकाले नै नर्सरीमा पढ्ने छोरालाई छाडेर निर्वाचन प्रहरी बन्ने दौडमा लागेकी छु,’ उनले भनिन्, ‘निर्वाचन प्रहरी भएर देशको सेवाको साथसाथै केही अर्थोपार्जन पनि हुने भएकाले आएकी हुँ ।’ उनले आफ्नो एउटा छोरो कक्षा आठ र अर्को छोरो नर्सरीमा अध्ययनरत रहेको बताइन् । उनको पति भने फोहरमैला व्यवस्थापनसम्बन्धी काम गर्दै आएका छन् ।

अन्य विभिन्न उमेर समूहका पुरुष तथा महिला निर्वाचन प्रहरी बन्ने सपना बोकेर वीरगञ्जको नारायणी रङ्शालामा शारीरिक अभ्यासमा सहभागी भएका छन् । तिनैमध्ये १९ वर्षे युवती कुशुकुमारी पनि निर्वाचन प्रहरी बन्न कसरत गरिहेकी छन्।‘फागुन २१ गतेदेखि हुने चुनावलाई सफल गराउन र केही रकम भए पनि कमाउनको लागि निर्वाचन प्रहरी बन्न आएकी हुँ,’ उनले भनिन्, ‘हामी जस्तै जेनजी उमेर समूहका साथीहरुले आन्दोलन शहादत प्राप्त गर्नुभयो, हामी भने निर्वाचन सफल गराउन र तिनै सहिदहरुको चाहना पूरा गराउन सहभागी भएका हौँ।’

पर्साको बहुदरमाई नगरपालिका–७ विश्रामपुरका २४ वर्षे युवा अमृत महतो पनि निर्वाचन प्रहरी बन्ने अभिलासा बोकेर शारीरिक छनोटमा जुटेका छन् । ‘म यसअघि वनरक्षक, नेपाल प्रहरी र सशस्त्र प्रहरीमा जवान बन्नका लागि दुई–तीन पटक प्रतिस्पर्धा गरिसकेँ तर अहिलेसम्म सफलता हात पार्न सकेको छैन,’ उनले भने । एकपटक निर्वाचन प्रहरी बनेर देशको सेवा पनि गरौँ भन्ने चाहनाले आएको महतोले बताए । निर्वाचन प्रहरीको अनुभवले प्रहरी जवान बन्नका लागि पनि केही सहयोग होला कि भन्ने उनको बुझाइ रहेको छ। निर्वाचन प्रहरी बन्ने रहर बोकेका महतोले आफू निर्वाचन प्रहरी बनेर स्वच्छ र पारदर्शी निर्वाचन गराउन प्रयत्न गर्ने बताए ।

‘अहिले जेनजीको सरकार रहेको छ । पक्कै पनि भयरहित र शान्तिपूर्ण निर्वाचन गराओस् भनेर नै यसमा सहभागी बनेको हुँ’, उनले भने । पर्साको छिमेकी जिल्ला बाराको परवानीपुर गाउँपालिकाका राजपुरका १८ वर्षे विदेशप्रसाद यादव पनि केही काम नभएको बेला समयको सदुपयोग गर्न भन्दै निर्वाचन प्रहरी बन्न लागेको बताउँछन्। ‘त्यसै घरमा बस्नुभन्दा केही अनुभव पनि हासिल गर्न पाइन्छ कि भनेर निर्वाचन प्रहरीमा सहभागी भएको हुँ,’ उनले भने, ‘देशको सेवा पनि हुने र पैसा पनि कमाइने भएकाले पनि यसमा लागेको हुँ ।’ सरकारले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि आवश्यक सुरक्षा प्रबन्धको लागि निर्वाचन प्रहरी आवश्यक परेको भन्दै आवेदन खुलाएसँगै निर्वाचन प्रहरी बन्नेहरुको घुइँचो लागेको हो। पर्सामा निर्वाचन प्रहरीमा भर्ना छनोट तथा नियुक्ति समिति पर्साले यहाँ जिल्लामा नेपाल प्रहरी र सशस्त्र प्रहरी दुबैतर्फ गरेर दुई हजार आठ सय ५२ जना आवेदन माग गरेको थियो।

नेपाल प्रहरीतर्फ भने पाँच हजार तीन सय ९९ जनाको आवेदन परेको छ भने सशस्त्र प्रहरीतर्फ तीन सय ८५ जनाको आवेदन माग भएकोमा पाँच सय ७१ जनाको आवेदन परेको छ । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी तथा निर्वाचन प्रहरीमा भर्ना छनोट तथा नियुक्ति उपसमिति पर्साका संयोजक सुमनकुमार कार्कीले निर्वाचन प्रहरीमा विभिन्न उमेर समूहका महिला तथा पुरुषमा उत्साहजनक सहभागिता देखिएको बताए । ‘सबै उमेर समूहका महिला तथा पुरुष निर्वाचन प्रहरी बन्नको लागि उपस्थित छन् । कतिपय सन्तान जन्माइसकेका महिलाहरु पनि सरिक हुनुभएको छ । यसले छोटो अवधिको लागि भए पनि रोजगारीको अवसर सिर्जना गर्ने भएकाले पनि सहभागिता जनाएका हुनसक्छ ।’ संयोजक कार्कीले चुलोचौकामा सीमित हुने भनिएका मधेसी समुदायका महिला पनि अवसर पाउँदा आफ्नो जिम्मेवारी निभाउन सफल हुन्छन् भन्ने गतिलो उदाहरण बन्न सकेको बताए ।

‘यसले यहाँका महिला अवसर पाएको खण्डमा जस्तोसुकै जिम्मेवारी पनि पूरा गर्न सक्षम हुनुहुन्छ भन्ने देखाएको छ,’ उनले भने, ‘निर्वाचन प्रहरी छनोट प्रक्रियालाई निष्पक्ष र पारदर्शी बनाउनको लागिपरिरहेका छौंँ ।’ पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल, पर्साका चारवटै सुरक्षा निकायका प्रमुखहरुले पनि निर्वाचन प्रहरीलाई पारदर्शी बनाउनको लागि नियमित अनुगमन तथा निरीक्षण गर्दै आइरहेका छन् । पर्साका प्रहरी प्रवक्ता हरिबहादुर बस्नेतले निर्वाचन प्रहरीमा महिला र पुरुषको सहभागिता उत्साहजनक रहेको बताए ।

‘यहाँबाट निर्वाचन प्रहरीमा आवेदन दिनेको सङ्ख्या दोब्बरभन्दा धेरै छ,’ उनले भने, ‘एकातर्फ निर्वाचनमा सेवा गर्न चाहने युवा पुस्ताको आकर्षण बढिरहेको छ । अर्कातर्फ ४० दिनमा आम्दानी पनि राम्रो हुने देखेर होला जस्तो लाग्छ ।’ पर्सा प्रहरीका अनुसार निर्वाचन प्रहरीमा पहिलो पटक आवेदन दिने पुरुषको संख्या तीन हजार एक सय ४७ जना रहेका छन् । नयाँ आवेदन दिने महिलाको संख्या भने छ सय तीन जना रहेका छन् ।

निर्वाचन प्रहरीमा विगतमा म्यादी प्रहरीको रुपमा खटिएका छ सय ८७ जना पुरुष र विगतको म्यादी प्रहरीको रुपमा खटिएका एक सय ५३ जना महिलाको आवेदन परेको छ । त्यस्तै गरी पूर्व सुरक्षाकर्मीको तर्फबाट भने १२ जना पुरुष रहेका छन् भने विदेशी सैनिकबाट अवकाश प्राप्त गरेका एक जना रहेका छन् । सशस्त्र प्रहरी बल पर्साका सूचना अधिकारी मोहन निरौलाले निर्वाचन प्रहरीमा युवादेखि अन्य उमेर समूहको आकर्षण रहेको बताए ।

 

मोरङ–३ मा सुनिल शर्माको घरदैलो अभियान, के छ मतदाताको प्रतिक्रिया ?

मोरङ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै गर्दा मोरङ निर्वाचन क्षेत्र नं. ३ मा नेपाली कांग्रेसका उम्मेदवार डा. सुनिलकुमार शर्माले घरदैलो अभियानलाई तीब्रता दिएका छन् । डा. शर्माले निर्वाचन क्षेत्रका विभिन्न स्थानमा मतदाता भेटघाट तथा घरदैलो कार्यक्रमलाई निरन्तरता दिइरहेका हुन् ।

नेपाली कांग्रेसबाट एकल सिफारिस भई टिकट प्राप्त गरेका डा. शर्मा डा. शेखर कोइराला समूहका नेता हुन् । यसअघि २०७९ को निर्वाचनमा पनि सोही क्षेत्रबाट विजयी भएका उनी यस पटक पनि मतदाताको साथ र विश्वासमा निर्भर रहेको बताउँछन् । निर्वाचन क्षेत्रका मतदाताहरूले डा. शर्माको विगतको योगदानको प्रशंसा गर्दै आएका छन् । स्थानीयहरूका अनुसार उनले क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेलेका छन् भने गरिब तथा दुःखी परिवारलाई निःशुल्क स्वास्थ्य उपचार प्रदान गरेर जनताको मन जितेका छन् ।

एक स्थानीय मतदाताले भने, ‘उहाँले हाम्रो क्षेत्रका लागि धेरै राम्रो काम गर्नु भएको छ । गरिब दुःखीलाई सहयोग गर्ने उहाँ जस्तो नेता हामीलाई चाहिएको छ । भोट सुनिल शर्मा बाहेक अरूतिर जाँदैन ।’ डा. शर्माले पनि मोरङ क्षेत्र नं. ३ लाई आफ्नो राजनीतिक क्षेत्र मात्र नभई परिवारको रूपमा लिएको बताउँदै आएका छन् । निर्वाचन नजिकिँदै गर्दा उनको अभियानमा स्थानीय कार्यकर्ता तथा शुभचिन्तकहरूको उल्लेखनीय सहभागिता देखिएको छ । डा. शर्माले मतदातासँगको प्रत्यक्ष सम्पर्कलाई प्राथमिकता दिँदै विकास र समृद्धिको एजेण्डा अघि सारेका छन् ।

रेशम चौधरीको उम्मेदवारीमाथि निर्णायक दिन, निर्वाचन अधिकृतसमक्ष पाँच बुँदे स्पष्टीकरण

काठमाडौं । कैलाली निर्वाचन क्षेत्र नम्बर–१ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका संरक्षक रेशम चौधरीको उम्मेदवारी कायम रहने वा खारेज हुने विषयमा आजै निर्णय आउने भएको छ । माघ ६ गते उम्मेदवारी दर्ता गरेका चौधरीविरुद्ध माघ ७ गते उजुरी परेको थियो । उजुरी परेपछि उनी आज निर्वाचन अधिकृत कार्यालय पुगेर पाँच बुँदे लिखित स्पष्टीकरण प्रस्तुत गरेका हुन् । निर्वाचन अधिकृत कार्यालय स्रोतका अनुसार उनको स्पष्टीकरणपछि उम्मेदवारीको वैधताबारे आजै टुंगो लाग्नेछ ।

रेशम चौधरी टीकापुर घटनासम्बन्धी मुद्दामा जन्मकैदको सजाय पाएका व्यक्ति हुन् । पछि सरकारको सिफारिसमा राष्ट्रपतिबाट आममाफी पाएपछि उनी रिहा भएका थिए । तर प्रतिनिधि सभा निर्वाचन ऐनअनुसार जन्मकैदको सजाय पाएका व्यक्ति उम्मेदवार हुन नपाउने व्यवस्था रहेकाले उनको उम्मेदवारीलाई लिएर विवाद उत्पन्न भएको हो ।

स्पष्टीकरणमा चौधरीले आफूले संविधान बमोजिम आंशिक होइन, पूर्ण माफी पाएको दाबी गरेका छन् । उनले राष्ट्रपतिबाट प्राप्त माफीपत्रमा आफूसहित १९ जनालाई माफी दिइएको उल्लेख गर्दै ‘फैसला बमोजिम लागेको कैद सजाय माफी’ भन्ने शब्दावली प्रयोग भएकाले यो पूर्ण माफी भएको स्पष्ट पारेका छन् । उनको भनाइ छ, ‘कैद सजाय माफी भएपछि त्यो पूरै सजाय माफी हो । आंशिक माफी भएको भए बाँकी कैद माफी भन्ने शब्द प्रयोग हुने थियो । मेरो हकमा त्यस्तो नभएकाले आपराधिकता समाप्त भइसकेको छ ।’

यसअघि २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा पनि चौधरी बर्दिया क्षेत्र नम्बर–२ बाट उम्मेदवार बनेका थिए । त्यसबेला उनी जेलमै रहेकाले उनको उम्मेदवारी खारेज भएको थियो । पछि उनका बुवा लालवीर चौधरी सोही क्षेत्रबाट स्वतन्त्र उम्मेदवार बनेका थिए, जो हाल नागरिक उन्मुक्ति पार्टीमै आबद्ध छन् । अब निर्वाचन अधिकृत कार्यालयले चौधरीको स्पष्टीकरण, कानुनी प्रावधान र अघिल्ला नजीरका आधारमा निर्णय गर्नेछ । सो निर्णयले न केवल कैलाली–१ को चुनावी प्रतिष्पर्धा, तर आममाफी पाएपछि निर्वाचनमा भाग लिन पाउने / नपाउने विषयमा पनि महत्वपूर्ण नजिर स्थापित गर्ने अपेक्षा गरिएको छ ।

अराजकताको आयु लामो हुँदैन, विध्वंश मच्चाउनेलाई कारवाहीको दायरामा ल्याएर छाडिन्छ : ओली

झापा । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अराजक गतिविधिमा संलग्नहरू कुनै पनि हालतमा कानुनी दायराबाट उम्किन नसक्ने स्पष्ट पारेका छन् । आज (बिहीबार) झापाको दमक–८ स्थित नेपाली कम्युनिष्ट पार्टी (एकीकृत नेपाल कम्युनिष्ट पार्टी–माओवादी) का नेता गगन पुरीको आगजनी गरिएको घरको अवलोकन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

उनले अराजकताको आयु लामो नहुने भन्दै आपराधिक क्रियाकलाप गर्नेहरूलाई कारबाहीको दायरामा ल्याइने विश्वास व्यक्त गरे । जेनजी आन्दोलनको नाममा गरिएको आगजनी र तोडफोडप्रति गम्भीर आपत्ति जनाउँदै उनले भने,‘सधैं अराजकता कहाँ टिक्छ र ? एक दिन त कारबाहीको दायरामा ल्याएरै छोडिन्छ नि । बरु उजुरी–निवेदनलगायतको प्रक्रिया अघि बढाउनु होला ।’

पीडित नेता पुरीले आफूले घटनासम्बन्धी सबै प्रमाण संकलन गरिसकेको र कानुनी उपचारको प्रक्रिया पनि अघि बढाएको जानकारी दिए । बिहीबार झापाको दमक–८ स्थित पुरीको आगजनी गरिएको घर अवलोकनका क्रममा ओलीले यस प्रकारको विध्वंस मच्चाउनेहरू कानुनी दायरामा आउने विश्वास दिलाए । पुरीलाई उनले भने, ‘सधैँ अराजकता कहाँ टिक्छ र, एक दिन त कारबाहीको दायरामा ल्याएरै छोडिन्छ नि ! बरु उजुरी–निवेदन लगायतको प्रक्रिया चाहिँ अघि बढाउनु होला ।’

राप्रपा उम्मेदवार भण्डारीसँग आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौँ । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं–४ बाट उम्मेदवारी दिएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सुरेन्द्र भण्डारीलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ को खण्ड (च) उल्लंघन गर्दै लैंगिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय लक्षित घृणित अभिव्यक्ति दिएको र समाजमा भ्रम फैलाएको आरोपमा उनीविरुद्ध आयोगमा उजुरी परेको थियो । उजुरीमा भण्डारीको उम्मेदवारी तत्काल खारेज गरी हदैसम्मको कारबाही गर्न माग गरिएको थियो ।

आयोगका कानुन अधिकृत मोहनराज जोशीले पठाएको पत्रमा भण्डारीले बोलेको देखिने श्रव्यदृश्य सामग्रीसमेत प्राप्त भएकाले स्पष्टीकरण सोधिएको उल्लेख छ । पत्रमा ज्येष्ठ नागरिक, महिला, यौनिक अल्पसङ्ख्यक समुदाय तथा अपाङ्गता भएका व्यक्तिको भावनामा आँच आउने वा चरित्रहत्या हुने किसिमको निर्वाचन प्रचारप्रसार गर्न नहुने आचारसंहिताको व्यवस्था विपरीत अभिव्यक्ति दिएको हो वा होइन भन्ने प्रश्न गरिएको छ ।

यदि त्यस्तो अभिव्यक्ति दिएको हो भने किन निर्वाचन आचारसंहिता, २०८२ तथा प्रचलित निर्वाचन कानुनअनुसार कारबाही गर्नु नपर्ने हो भन्ने स्पष्ट आधारसहित जवाफ दिन आयोगले निर्देशन दिएको छ । आयोगले पत्र प्राप्त भएको मितिले तीन दिनभित्र स्पष्ट जवाफ पेस गर्न भण्डारीलाई भनेको छ ।

 

कांग्रेसले गगन थापालाई भावी प्रधानमन्त्री घोषणा गर्दै

काठमाडौं । नेपाली कांग्रेसले सभापति गगन थापालाई भावी प्रधानमन्त्री घोषणा गर्ने भएको छ । भोलि (शुक्रबार) सानेपामा बस्ने केन्द्रीय समितिको बैठकले सभापति थापालाई भावी प्रधानमन्त्रीको रूपमा अघि सारेर चुनावमा होमिने निर्णय गर्ने तयारी गरेको हो । कांग्रेसका सहमहामन्त्री प्रकाश स्नेही रसाइलीका अनुसार बैठक भोलि १ बजे सानेपामा बस्नेछ । उनले भने, ‘भोलि हामी सानेपा भएर पार्टीको बैठक बस्दै छ, बैठकले निर्वाचनको तयारीबारे आवश्यक निर्णय गर्छ ।’

कांग्रेसले १० गते चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको छ । घोषणापत्रमा सभापति थापालाई भावी प्रधानमन्त्रीको रूपमा अघि सारेर चुनावमा पार्टी होमिने एक नेताले जानकारी दिए । ती नेताले भने, ‘भोलि सानेपामा बस्ने बैठकले निर्णय गर्छ । त्यो विषय हामीले घोषणापत्रमा नै समेट्ने तयारी गरेका छौं ।’ सभापति थापाको नेतृत्वमा नै अहिले कांग्रेसले घोषणापत्र लेखिरहेको छ । पुस ३० गते विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वमा कांग्रेसको नयाँ कार्यसमिति निर्वाचित भएको हो ।

सभापति निर्वाचित भए पनि गगन थापाले पहिलो र दोस्रो कार्यसमितिको बैठक होटलमै गरे । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार छनोट गर्न गठित संसदीय बोर्डको बैठक पनि होटलमै गरे । थापन नेतृत्वको कार्यसमिति अहिलेसम्म पार्टी केन्द्रीय कार्यालय गएको छैन । प्रवक्ता देवराज चालिसे भने, ‘भोलि केन्द्रीय कार्यालयमै केन्द्रीय समितिको बैठक बस्छौँ ।’ उनका अनुसार धेरै नेताहरू काठमाडौं बाहिर भएकोले काठमाडौँमा उपलब्धहरू मात्रै भोलिको बैठकमा सहभागी हुनेछन् ।