`

बेथितिबाट भाग्ने होइन, देश आफैले बस्नलायक बनाउने हो : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले देशमा विद्यमान संकटहरुको डटेर सामना गर्नुपर्ने बताएकी छन् । आइतबार काठमाडौंमा आयोजित नेपाल खुला विश्वविद्यालयको प्रथम दीक्षान्त समारोहमा बोल्दै उनले सो कुरा बताएकी हुन् ।प्रधानमन्त्री कार्कीले देशमा देखिएका बेथितिहरुको अन्त्यका लागि डटेर अघि बढ्नु पर्ने बेला आएको स्पष्ट पारिन् । त्यस अवसरमा उनले राष्ट्र निर्माणमा जुट्न पनि शैक्षिक जनशक्तिहरुलाई आग्रह गरिन् ।

विश्वविद्यालयबाट आर्जन गरेका ज्ञान र सीप स्वदेशमा नै भरपुर उपयोग गरेर उच्च शिक्षा हासिल गरेकाहरु राष्ट्र निर्माणको अभियानमा केन्द्रित हुनुपर्ने प्रधानमन्त्री कार्कीको भनाई थियो । उनले उच्च शिक्षा हासिल गरेर वाह्य मुलुकमा गएका विद्यार्थीहरुले राष्ट्रले गर्वं गर्न लायक नागरिक भएर अघि बढ्नुपर्ने बताइन् । उनले उच्च शिक्षा प्रदायक संस्थाहरुलाई अझै गतिशील भएर अघि बढ्न पनि सचेत गराइन् ।

प्रधानमन्त्री कार्कीले भनिन्, ‘हाम्रा उच्च शिक्षा प्रदायक संस्थाहरु सबै अझै गतिशील हुन जरुरी छ । यस खुला विश्वविद्यालयले समयको गति र प्रवाहलाई आत्मासात गर्दै विश्वव्यापी ज्ञान र रैथाने ज्ञानलाई समावेश गरी शिक्षण सिकाई क्रियाकलापलाई सञ्चालन गर्न सकोस् । तपाईहरुले विश्वविद्यालयबाट आर्जन गरेको ज्ञान र सीप आफ्नो व्यक्तिगत तथा राष्ट्र निर्माणमा भरपुर सदुपयोग गर्नुहुनेछ भन्ने विश्वास व्यक्त गर्दछु ।’

उनले भनिन्, ‘यहाँहरुलाई जाँदाजाँदै मेरो विशेष अनुरोध छ–यो देश हाम्रो हो । हामी आफैले बनाउने हो । हामीले नै देशलाई बस्न लायक बनाउने हो । हामीले नबनाए कसले आएर बनाई दिने हो र । यहाँका तमाम बेथितिबाट भाग्ने होइन । हामी आफैले डटेर सामना गर्नु पर्दछ । आफू बसेको ठाउँ आफैले सफा गर्नु पर्दछ । तसर्थ, यहाँहरु सकेसम्म नेपालमा नै केही गर्नुहोस् । नेपालमा नै अवसरहरुको पहिचान गर्नुहोस् । अवसर नभएका ठाउँमा नयाँ अवसरहरुको सिर्जना गर्नुहोस् । जहाँ गए पनि नेपालले गर्व गर्नसक्ने नागरिक भएर अघि बढ्नुहोस् ।’ प्रधानमन्त्री कार्कीले कार्कीले खुला विश्वविद्यालयले समयको गति र प्रवाहलाई आत्मासात गर्दै अघि बढ्नु पर्ने समेत बताइन् ।

 

स्वास्थ्य बीमामा व्यापक दुरुपयोग भएको छ, कडाई गरिन्छ : स्वास्थ्यमन्त्री गौतम

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमले स्वास्थ्य बीमा कार्यक्रममा प्रिमियम कोषको ठूलो दुरुपयोग भएको बताएकी छन् । उनले यसलाई रोक्न तत्काल कडा उपायहरू लागू गर्ने घोषणा गरेकी हुन् । आफ्नो तीन महिने कार्यकालको प्रगति सार्वजनिक गर्दै उनले प्रति परिवार वार्षिक एक लाख रुपैयाँको सीमित रकम जथाभावी रूपमा सक्ने नियतले अनावश्यक स्वास्थ्य जाँच तथा उपचार गराइएको र सेवा प्रदायक संस्थाहरूले गलत नियतले पैसा असुल्ने गरेको पाइएको बताइन् ।

मन्त्री गौतमले बीमा कार्यक्रमको वित्तीय असन्तुलनलाई प्रमुख समस्या बताइन् । प्रिमियम संकलनभन्दा दाबी बढी हुने, समयमै भुक्तानी नहुने, अनावश्यक सेवा उपभोग (मोरल हेजर्ड), उच्च जोखिम भएकाको बढी सहभागिता (एडभर्स सेलेक्सन), कमजोर दाबी व्यवस्थापन, संगठित क्षेत्रको न्युन सहभागिता तथा बोर्डको आन्तरिक क्षमता अभाव जस्ता चुनौतीहरू रहेको उनको भनाइ छ । यी समस्यालाई सम्बोधन गर्न मन्त्रालय र स्वास्थ्य बीमा बोर्डले संयुक्त राष्ट्रिय कार्यशाला आयोजना गरी १९ वटा प्रमुख कार्यबिन्दुमा आधारित कार्ययोजना तयार पारेको छ ।

मन्त्री गौतमले भनिन्, ‘हामी नागरिक पनि जिम्मेवार बनौं । एक लाख पैसा नसकिउन्जेल इनभेष्टिगेसन माग्ने होइन । हामी सेवा प्रदायकहरूले पनि बिरामीको प्रिमियमबाट एक लाखसम्म लिन सकिन्छ भनेर चाहिने–नचाहिने इनभेष्टिगेशन गरेर विरामीको पैसा असुल्ने होइन । त्यसरी विमा चल्दैन । यो मेरो सेवा प्रदायकहरूलाई पनि सेवाग्राहीहरूलाई पनि अनुरोध हो । यो मैले नभनी नहुने विषय थियो । यहाँ राखें ।’

उनले भनिन्, ‘अर्को कतिपय अवस्थामा सेवाग्राहीहरूलाई मेरो प्रिमियमबाट कति पैसा खर्च भयो, सायद मेरो नाममा अरूले पो सेवा लिइरहेका छन् कि ? कसैलाई दोहोरो, तेहोरो परिराखेका छन् कि ? भन्ने पनि थाहा नभएको अवस्था रहेछ। त्यसैले हामीले विमालाई के भनेका छौं भने अबदेखि सेवाग्राहीले सेवा लिनसाथ तपाईंको यति पैसा खर्च भयो, यति पैसा बाँकी छ भनेर एसएमएस नोटिफिकेशन पठाउने व्यवस्था गर्नुहोस् । जसले उहाँहरूको नाममा अनधिकृत व्यक्तिहरूले सेवा लिने काम नगरुन् भन्ने कुरा पनि हामीले व्यवस्था गर्न लागेका छौं ।’

कार्ययोजनामा लाभ थैली परिमार्जन गरी विशेषज्ञ तथा जटिल रोग उपचारलाई प्राथमिकता दिने, दोहोरो सेवा हटाउने, ओपीडी र आईपीडीका लागि छुट्टै खर्च सीमा निर्धारण गर्ने, रिफरल मापदण्ड स्पष्ट गर्ने, सह–भुक्तानी दर पुनरावलोकन गर्ने तथा सेवा शुल्क वा औषधि मूल्यमध्ये कम हुनेलाई मात्र भुक्तानी गर्ने व्यवस्था समावेश छ । असामान्य दाबी पहिचान गरी अडिट गर्ने र बायोमेट्रिक आईडी तथा एसएमएस अलर्टमार्फत बीमितको पहिचान सुनिश्चित गर्ने प्रावधान पनि छन्।

बीमा कोषको दिगोपन सुनिश्चित गर्न तीनै तहका सरकारबाट अनिवार्य योगदान माग गरिएको छ । अहिले संघीय सरकार मात्र सक्रिय रहेको अवस्थामा प्रदेश तथा स्थानीय तहलाई यो वर्ष सम्भव भए योगदान गर्न र आगामी बजेटमा व्यवस्था मिलाउन आग्रह गरिएको छ । सुर्तिजन्य पदार्थबाट संकलित स्वास्थ्य करको कम्तीमा २५ प्रतिशत रकम बीमा कोषमा जम्मा गर्ने ऐनको प्रावधान कार्यान्वयन गर्न अर्थ मन्त्रालयसँग माग गरिएको छ । तर हाल ५ प्रतिशत पनि प्राप्त नभएको स्थिति छ ।

थप स्रोत जुटाउन गुलियो पेय पदार्थ, चिजबल तथा जंक फुड जस्ता स्वास्थ्य हानिकारक वस्तुमा स्वास्थ्य जोखिम कर लगाई संकलित रकम बीमा कोषमा जम्मा गर्ने प्रश्ताव अर्थ मन्त्रालयमा पेस गरिएको छ । संगठित क्षेत्रका कर्मचारीहरू (राष्ट्रसेवक, शिक्षक, प्रहरी, सेना आदि) लाई अनिवार्य बीमामा आवद्ध गर्ने प्रक्रिया पनि शुरु गरिएको छ । मन्त्री गौतमले औषधिको गुणस्तर अनुगमन तथा खरिद–विक्री व्यवस्थापनका लागि आवश्यक प्रयोगशाला स्थापना र संस्थागत सुधार पनि अघि बढाइएको बताइन् ।

स्वास्थ्य बीमा कार्यक्रम २०७२ देखि सञ्चालित छ र हाल ७७ जिल्ला तथा ७५३ स्थानीय तहमा विस्तारित छ । तर वित्तीय असन्तुलन र दुरुपयोगले कार्यक्रम प्रभावित भएको छ । उनले तीन महिने कार्यप्रगतिमा जेन–जी घाइतेहरूको उपचार, मातृ तथा नवजात शिशु स्वास्थ्य, मानसिक स्वास्थ्य, वैदेशिक रोजगारीमा संलग्न नेपालीको स्वास्थ्य सेवा, खरिद–आपूर्ति व्यवस्थापन तथा औषधि प्रयोगशाला सुधारलाई प्राथमिकता दिएको उल्लेख गरिन् । आगामी दिनमा पारदर्शिता, जवाफदेहिता र प्रभावकारी सेवा प्रवाहलाई केन्द्रमा राखेर स्वास्थ्य प्रणालीलाई नागरिकको विश्वास जित्ने दिशामा निरन्तर काम गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।

प्रचण्डलाई घनश्याम भुसालले सम्झाए ‘अप्ठ्यारा’ मान्छेहरुले निर्माण गरिदिएका गौरव

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) का कार्यवाहक अध्यक्ष घनश्याम भुसालले नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आफ्नै राजनीतिक इतिहासको आत्मसमीक्षा गर्न आग्रह गर्दै कठोर सन्देश दिएका छन् । पार्टी अनुशासन उल्लंघनको आरोपमा नेताहरूलाई गरिएको कारबाहीप्रति असहमति जनाउँदै भुसालले ‘अप्ठ्यारा तर संघर्षशील पात्रहरू’ लाई पन्छ्याउने प्रवृत्तिले समग्र कम्युनिष्ट आन्दोलनलाई कमजोर बनाएको टिप्पणी गरेका छन् ।

शनिबार प्रचण्डले पार्टीको आधिकारिक निर्णय विपरीत उम्मेदवार, प्रस्ताव र प्रचारमा संलग्न भएको भन्दै हरिबोल गजुरेल, महेश्वर दाहाल, कुलप्रसाद केसी, मेजर राई, धर्मनाथ साह, राजकुमारी साह र जिवछ साहमाथि कारबाहीको निर्णय गरेका थिए । यही निर्णयको पृष्ठभूमिमा भुसालले सामाजिक सञ्जालमार्फत प्रचण्डलाई सम्बोधन गर्दै निष्काशनको निर्णय पुनरावलोकन गर्न सुझाव दिएका हुन् ।

भुसालले लेखेका छन्, ‘हरिबोल गजुरेल र महेश्वर दाहालले तपाईको अनुशासन उल्लंघन गरे होलान्, त्यसको सट्टामा सजिला र अनुशासित मानिसहरू भर्ना भइरहेका पनि होलान् । तर नबिर्सिनुस्–तपाईले आफ्नै जीवनमा गौरव गर्ने जे–जति इतिहास छ, त्यो यिनै हरिबोल र महेश्वर जस्ता अप्ठ्यारा मानिसहरूले निर्माण गरिदिएका हुन् ।’

उनले शक्तिशाली नेतृत्वले आलोचनात्मक र असहज प्रश्न उठाउने पात्रहरूको स्थानमा केवल आज्ञाकारी र सहज व्यक्तिहरूलाई अघि सार्न थालेपछि आन्दोलनको वैचारिक उचाइ खस्किँदै गएको दाबी गरेका छन् । ‘जुन दिनदेखि अप्ठेराहरूको ठाउँमा सजिला र अनुशासित मानिसहरूको भर्ती हुन थाल्यो, त्यही दिनदेखि तपाईहरूको गौरवका एक–एक गजुर भत्किन थाले’, भुसालको टिप्पणी छ, ‘त्यसको मूल्य आज समग्र कम्युनिष्ट आन्दोलनले भुक्तान गरिरहेको छ।’

भुसालले प्रचण्डलाई अझ कडा शब्दमा चेतावनी दिँदै भनेका छन्, ‘यदि तपाईमा अझै कतै रक्तरञ्जित इतिहासका महिमाको सम्झना बाँकी छ भने कृपया पछि हट्नुस्, अगाडि बाटो छैन ।’ उनको आशय वर्तमान नेतृत्व शैलीले आन्दोलनलाई भविष्यतर्फ होइन, अन्त्यतर्फ धकेलिरहेको संकेतका रूपमा लिइएको छ । राजनीतिक वृत्तमा भुसालको यो अभिव्यक्तिलाई केवल व्यक्तिगत टिप्पणी मात्र नभई कम्युनिष्ट आन्दोलनभित्र बढ्दै गएको असन्तोष र वैचारिक द्वन्द्वको प्रतिबिम्बका रूपमा हेरिएको छ । अप्ठ्यारा तर विचारशील नेताहरूलाई व्यवस्थापन गर्ने कि निष्काशन गर्ने भन्ने बहस फेरि एक पटक सतहमा आएको छ, जसले नेकपाभित्रको आन्तरिक राजनीति थप तातिने संकेत देखिएको छ ।

राष्ट्रियसभा निर्वाचन : ५० प्रतिशत बढी मतदान

काठमाडौं । राष्ट्रियसभा सदस्यका लागि आज सातै प्रदेशको राजधानीमा भइरहेको निर्वाचनमा ५० प्रतिशत बढी मत खसेको छ । आइतबार दिउँसो १२ः४५ बजेसम्म ५० प्रतिशतभन्दा बढी मत खसेको निर्वाचन आयोगले जनाएको छ ।आगामी फागुन २० गतेदेखि राष्ट्रियसभामा रिक्त हुने १७ पदका लागि आज बिहान ९ बजेदेखि शुरू भई दिउँसो ३ बजे सम्पन्न हुने निर्वाचनमा ५० प्रतिशतभन्दा बढी मत खसिसकेको हो ।

अहिलेसम्म कोशी प्रदेशमा ३१३, मधेश प्रदेशमा २२७, बागमती प्रदेशमा २१७, गण्डकी प्रदेशमा १८०, लुम्बिनी प्रदेशमा १६३, कर्णाली प्रदेशमा १४५ र सुदूरपश्चिम प्रदेशमा १८६ मत खसेको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए । रिक्त हुने १८ पदमध्ये कोसी प्रदेशमा खस–आर्यतर्फको एउटा पदमा निर्विरोध भएको थियो । बाँकी १७ पदका लागि अहिले मतदान भइरहेको छ । कोसी प्रदेशका खस आर्यतर्फका उम्मेदवार नेपाली कांग्रेसका सुनीलबहादुर थापा निर्विरोध निर्वाचित भएका थिए ।

कोसी प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर, विराटनगर मोरङ, मधेस प्रदेशको महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र, जनकपुर उपमहानगरपालिका वडा ४ धनुषा, बागमती प्रदेशको भुटनदेवी माध्यमिक विद्यालय, हेटौंडा उपमहानगरपालिका ४ मकवानपुरमा मतदान भइरहेको आयोगले जनाएको छ ।

यसैगरी, गण्डकी प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर, पोखरा कास्की, लुम्बिनी प्रदेशको कर्मचारी मिलन केन्द्र, घोराही, दाङ, कर्णाली प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर, वीरेन्द्रनगर, सुर्खेत र सुदूरपश्चिम प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर, धनगढी, कैलालीमा मतदान चलिरहेको छ ।

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेशसभा सदस्य, नगर प्रमुख तथा उपप्रमुख एवं गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष मतदाता रहेको निर्वाचक मण्डलको व्यवस्था गरिएको छ । कुल दुई हजार ५६ मतदाता रहेकामा विभिन्न कारणले हाल दुई हजार ११ कायम रहेको आयोगले जनाएको छ ।

अर्बौंका पाइपलाइन प्रोजेक्ट अघि बढाउँदै आयल निगम : भारतबाट पाइपबाटै ग्यास ल्याउने तयारी

काठमाडौं । नेपाल आयल निगमले भारतसँगको सहकार्यमा पेट्रोलियम तथा एलपीजी ग्यास पाइपलाइन परियोजनालाई तीव्र गतिमा अघि बढाइरहेको छ । अमलेखगञ्जदेखि चितवनसम्मको पाइपलाइन र सिलगुढीदेखि झापा (चारआली) सम्मको पाइपलाइन परियोजना कार्यान्वयन चरणमा प्रवेश गरिसकेका छन् भने मोतिहारीदेखि सर्लाहीसम्मको एलपीजी ग्यास पाइपलाइन परियोजनालाई अनुदानमा अघि बढाउन भारत सरकारसँग आयाल निगमले प्रस्ताव गरेको छ ।

नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले अमलेखगञ्ज–चितवन पाइपलाइन परियोजना अघि बढेको जानकारी दिए । यो परियोजना अमलेखगञ्ज–चितवनको लम्बाइ करिव ६२ किलोमिटर हुनेछ भने भने क्षमता २ मिलियन मेट्रिक टन हुने उनले जानकारी दिए । यसको लागत तथा निर्माण भारतीय आयल कर्पोरेसनले भारत सरकारको अनुदानमा पाइपलाइन निर्माण गर्दैछ । दुई पाइपलाइनको कुल अनुमानित लागत करिव १५ अर्ब नेपाली रुपैयाँ हुनेछ। भट्टकाअनुसार चितवनको भण्डारण गृह भने नेपाल आयल निगमको आफ्नै बजेटबाट निर्माण हुँदैछ । जसमा करिब ८ अर्ब खर्च हुनेछ । मोतिहारी–अमलेखगञ्ज पाइपलाइनसँग जोडिएर पेट्रोल, डिजेल जस्ता इन्धन चितवनसम्म पाइपबाटै पुर्‍याइनेछ ।

यस्तै सिलगुढी–झापा पाइपलाइन परियोजना करिव ५० किलोमिटरको हुनेछ । यसको लागत करिब ९ अर्ब नेपाली रुपैयाँ हुने प्रारम्भिक अनुमान छ । भट्टका अनुसार निर्माण आइओसीले अनुदानमा पाइपलाइन र झापामा भण्डारण टर्मिनल निर्माण गर्नेछ । यो पनि २०२४ अक्टोबरमा नेपाल–भारतबीच फ्रेमवर्क सम्झौतापछि कार्यान्वयन चरणमा प्रवेश गरेको छ । कुल दुई परियोजनाको लागत करिब १५–१६ अर्ब भारतीय पक्षबाट खर्च हुनेछ । यसले कोशी प्रदेशको इन्धन माग पूरा गर्नेछ र ढुवानी खर्च घटाउने छ ।

कार्यकारी निर्देशक भट्टले भने, ‘अमलेशगञ्जदेखि चितवनसम्मको करिव १५ अर्ब पाइपलाइन र भण्डारण गृह निर्माण बन्दैछ । सो पाइपलाइन ६२ किलोमिटरको बन्नेछ । भण्डारण गृह ९१.८ मिलियन मेक्ट्रिटन क्षमताको हुनेछ । सिलगुढी झापासम्म पाइपलाइन प्रजोक्टको लागत ९ अर्बको छ । सिलगुढी झापासम्म पाइपलाइन र झापामा बन्ने भण्डारण गृह, अमलेशगंजदेखि चितवनसम्मको पाइपलाइन इण्डियन आयल कर्पोरेशनले बनाइ दिदैंछ । चितवनमा बन्ने भण्डारण गृह नेपाल आयल निगमको बजेटबाट बनाउन लागिएको हो । करिब ८ अर्ब जति खर्च लाग्नेछ । भारत सरकार अर्थात इण्डियन आयल कर्पोरेशनको १५–१६ अर्ब खर्च हुनेछ । यो पाइपलाइन परियोजना विस्तार भएपछि अमलेशगञ्जबाट चितवनसम्म पाइपलाइन विस्तार हुनेछ ।’

पाइपलाइनबाट भारतबाट ग्यास ल्याउने तयारी
मोतिहारी–सर्लाही एलपीजी ग्यास पाइपलाइन प्रश्ताव हाल ट्रक-बुलेटबाट भारतबाट आयात हुने एलपीजी ग्यासको ढुवानीमा वार्षिक करिब ६ अर्ब रुपैयाँ खर्च भइरहेको छ, जुन मुख्य रूपमा भारतीय ढुवानीकर्तालाई जाने गरेको छ । यो रकम वचत गर्न र आपूर्ति सहज बनाउन नेपाल आयाल निगमले पाइपलाइनबाटै ग्यास नेपाल ल्याउने तयारी गरेको कार्यकारी निर्देशक भट्टले बताए । उनकाअनुसार भारतको मोतिहारीदेखि सर्लाहीसम्म पाइपलाइन निर्माण गर्ने योजना बनिसकेको छ । त्यहाँ २० दिन बढीको भण्डारण गृह राख्ने बनाइनेछ । नेपाली बुलेटबाट उद्योग तथा बोटलिङ प्लान्टमा वितरण गर्ने योजना छ ।

उक्त परियोजनाको लागत प्रारम्भिक अनुमानअनुसार करिव १२ अर्ब रुपैयाँको रहेको छ । यो बनिसकेपछि ढुवानी भाडा धेरै कम हुने, नेपालमै रकम वचत हुने ग्यास सस्तो पर्ने, सिजनमा ग्यासको अभाव हट्ने र वितरण सहज हुने भट्टले जानकारी दिए । उनकाअनुसार यो परियोजना अझै प्रस्ताव चरणमा छ । नेपाल आयल निगमले भारत सरकारसँग अनुदानमा निर्माण गर्न प्रस्ताव गरिरहेको छ । तर हालसम्म ठोस प्रतिक्रिया आएको छैन । वित्तीय ढाँचा पूर्ण तयार नभएकाले विस्तृत अध्ययन पछि मात्र यकिन लागत र कार्यान्वयन थाहा हुनेछ ।

कार्यकारी निर्देशक भट्टले भने, ‘अहिले एलपीजी ग्यासलाई भारतको ढुवानीकर्ताहरुमार्फत उनीहरुको ५-६ सय बुलेट प्रयोग गरेर नेपालमा ग्यास सप्लाइ भइरहेको छ । वार्षिक रुपमा ६ अर्ब नेपालले ढुवानी भाडामा खर्च गर्ने गरेको छ । यो रकम सबै भारतीय ढुवानीकर्ताहरुलाई जाने गरेको छ । नेपालीहरुको बुलेट नभएको कारणले सबै भारतीय ढुवानीकर्ता, सवारी प्रयोग गरेका छौँ ।’ उनले भने, ‘यो रकम बचाउनका लागि पाइपलाइनमार्फत ग्यास ल्याउन मोतिहारीदेखि सर्लाहीसम्म पाइपलाइन ल्याएर त्यहाँ १५–२० दिनलाई पुग्ने ठूलो भण्डारण गृह राख्ने र यहीबाट नेपाली बुलेटमार्फत उद्योगहरुमा वितरण गर्ने योजना छ । जसले गर्दा ढुवानी भाडा धेरै कम हुन जानेछ । भण्डारण गृहदेखि बोटलिङ प्लान्टसम्म जाने दुवानी भाडा नेपालमै बच्नेछ ।’

भट्टले भने, ‘नेपाललाई एउटा वितरणका लागि सहज पनि हुनेछ । यसले प्रोडक्ट सस्तो पर्न जानेछ । सिजनमा हुने सटेजहरु पनि नहुने भयो । किनभने २०–२५ दिनसम्म स्टोरेज हुँदा समस्या पनि हुनेछैन । ढुवानी भाडामै अर्बौं जुन खर्च भइरहेको थियो । त्यो कटौती भएर नेपालमै रहनेछ । प्रारम्भिक अनुमान अनुसार करिब १२ अर्ब जति मोतिहारीदेखि सर्लाहीसम्म पाइपलाइन विस्तार गर्दा खर्च हुने आइओसीले अनुमान गरेको छ । यसको विस्तृत अध्ययनपछि मात्रै थाहा हुनेछ । अरु पाइपालनका सन्दर्भमा यकिन गरेर अघि बढेपनि यो परियोजनाको अझै वित्तीय ढाँचा तयार भएको छैन ।’ उनकाअनुसार यो परियोजनालाई अनुदानमा बनाई दिन भारत सरकारसँग आयल निगमले गरेको प्रश्तावमा भारतबाट प्रतिक्रिया आएपछि काम अघि बढ्नेछ । भारत तयार नभए नेपालले आफै यो परियोजनालाई अघि बढाउन सक्षम रहेको समेत भट्टले जानकारी दिए ।

 

पश्चिमी क्षेत्रमा हिमपात र वर्षा, धुम्मियो काठमाडौंको आकाश {तस्वीरहरु}

काठमाडौं । नेपालमा न्यून चापीय प्रणालीको प्रभाव रहको हुनाले काठमाडौं उपत्यकासहित देशभरको मौसम बदली भएको छ । आइतबार बिहान सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानहरूमा वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसो देशका उच्च पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भू–भागमा आंशिक बादल लाग्नेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात÷वर्षाको सम्भावना रहेको छ ।

शनिबार देशको पश्चिमी क्षेत्रको विभिन्न जिल्लाहरूमा हिमपात समेत भएको थियो । यो वर्षको पहिलो हिमपात हुँदा स्थानीय किसानहरु खुशी हुनुका साथै दैनिक जीवन भने प्रभावित भएको छ । काठमाडौं उपत्यकाको हावाको गुणस्तर खराब हुँदा घर बाहिर निस्कँदा मास्कको प्रयोग गर्न विज्ञहरुले सल्लाह दिएका छन् । स्विस वायु प्रदूषण मापन एप आइक्यु एअरले काठमाडौँको वायुको गुणस्तर अति अस्वस्थकर भनेको छ ।

तस्वीरहरु : नेपाल फोटो लाइब्रेरी

राष्ट्रियसभामा निर्विराेध निर्वाचित ‘नेपोबेबी’ सदस्य सुनिलबहादुर थापालाई राजनीतिमा ‘सुब्बेफाब्बे’

काठमाडौं । राप्रपाका संस्थापक तथा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा हुन्– सुनिलबहादुर थापा । उनी राष्ट्रियसभा सदस्य निर्विरोध निर्वाचित भइसके । निर्वाचित भएको प्रदेश कोशी र दल नेपाली कांग्रेस हो ।

देशका सातै प्रदेशमा आइतबार बाँकी १७ जना राष्ट्रियसभा सदस्यका लागि निर्वाचन हुँदैछ । प्रदेश राजधानीहरूमा मतदान भइरहेको छ । मतदाता प्रदेश सांसदसँगै स्थानीय तहका प्रमुख/उपप्रमुख र अध्यक्ष/उपाध्यक्ष हुन् ।

थापाले भने चुनावी प्रतिस्पर्धा गर्नै परेन । निर्विरोध हुँदा उनलाई हाइसञ्‍चाे भयो । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार हेमराज घिमिरे संखुवासभादेखि विराटनगर पुग्न ढिला हुँदा थापा निर्विरोध भएका हुन् ।

घिमिरे समयमै उम्मेदवारी दिन पुगेको भए उनी प्रतिस्पर्धामा उत्रिनुपर्थ्याे । तर, उनको पद तथा गोपनीयताको शपथ ग्रहण भने भएको छैन । आइतबार भएको निर्वाचनबाट निर्वाचित राष्ट्रियसभा सदस्यहरूसँगै हुने छ ।

सुनिलबहादुर राजनीतिमा आएको डेढ दशक भएको छैन तर राजनीति सार्वधिक ‘सुब्बेफाब्बे’ भयो । राष्ट्रसंघअन्तर्गतका विभिन्‍न देशमा लामो समय उनी जागिरे थिए ।

जागिरबाट रिटायर्डपछि उनी राजनीतिमा आएका हुन् । २०७० सालको संविधानसभा निर्वाचनमा उनले धनकुटा–२ मा राप्रपाका तर्फबाट प्रत्यक्ष जिते । त्यो क्षेत्र उनका बुबाको परम्परागत निर्वाचन क्षेत्रसमेत हो । २०७४ जेठमा बनेको शेरबहादुर देउवाको मन्त्रिपरिषद्‍मा उनी वाणिज्य तथा आपूर्ति मन्त्रीसमेत बने ।

तर समयसँगै राप्रपाको राजनीति ओरालो लाग्दै गयो । राजावादी एजेन्डाले जनसमर्थन गुमाउँदै गयो । यसपछि सुनिल २०७७ सालमा राप्रपा छाडेर नेपाली कांग्रेस प्रवेश गरे ।
कांग्रेस प्रवेशसँगै सुनिल थापा पार्टीभित्र द्रुत गतिमा अघि बढे । कांग्रेस प्रवेश गरेलगत्तै सभापति शेरबहादुर देउवाले उनलाई सहमहामन्त्रीजस्तो शक्तिशाली पद दिए ।

लामो समय पार्टीमा संघर्ष गरेका कार्यकर्ताका लागि यो निर्णय असहज थियो, तर नेतृत्वले थापामाथि भरोसा देखायो ।

१४औं महाधिवेशनबाट उनी कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भए । त्यसपछि उनको राजनीतिक हैसियत झन् बलियो बन्दै गयो ।

२०७९ सालमा भने उनी धनकुटाबाट नेकपा एमालेका राजेन्द्रकुमार राईसँग पराजित भए । राईले ३० हजार १०१ मत ल्याउँदा थापाले २८ हजार ७०४ मतमा सीमित हुनुपर्‍यो । प्रत्यक्ष चुनावमा हार व्यहोरे पनि थापाको राजनीतिक करिअर भने रोकिएन ।

१६ चैत २०७९ मा सुनिल थापा राष्ट्रपति रामचन्द्र पौडेलको राजनीतिक सल्लाहकार नियुक्त भए । मन्त्री सरहको सुविधा पाउने यो जिम्मेवारीले उनलाई सत्ता–राजनीतिक वृत्तमा थप नजिक पुर्‍यायो।

तर, राष्ट्रियसभा सदस्य बन्ने बाटो खोल्न उनले १ पुसमा राष्ट्रपति कार्यालयबाट राजीनामा दिए । केही सातापछि नै उनी राष्ट्रियसभाको उम्मेदवार बने । अन्ततः निर्विरोध संसद भए ।

यद्यपि, थपाा राष्ट्रियसभा सदस्य भएपछि पार्टीभित्र अनसन्तुष्टी चुलिएको छ । पार्टीका केही नेता–कार्यकर्ताले ‘योग्यता र योगदानभन्दा पनि थर र पहुँचका आधारमा अवसर दिइएको आरोप लगाएका छन् ।

हुन पनि कांग्रेस प्रवेश गरेयता उनले पछाडि फर्केर हेर्नु परेको छैन, पार्टी सहमहामन्त्री, केन्द्रीय सदस्य, राष्ट्रपतिको सल्लाहकार हुँदै अहिले राष्ट्रियसभा सदस्य ।

अब प्रश्‍न उब्जिएको छ– के सुनिल थापा राष्ट्रियसभामा पुगेर आफूलाई ‘नेपोबेबी’ भन्दा माथि उठाएर प्रमाणित गर्न सक्लान् ? अर्थात् विरासतको राजनीतिबाट नआएको पुष्टि गर्न सक्छन् ? उनको आगामी राजनीतिक यात्राको सबैभन्दा ठूलो चुनौती हो ।

बालेनको राजनीतिक दौडधूप : सुदूर पूर्वपछि भोलि सुदूरपश्चिम हानिँदै

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) देशव्यापी राजनीतिक अभियानमा सक्रिय बनेका छन् । पूर्वका विभिन्न जिल्लाको भ्रमण सकेर काठमाडौं फर्किएका बालेन अब सुदूरपश्चिम जाने तयारीमा छन् ।

गत ४ माघमा मेयर पदबाट राजीनामा दिएका बालेन त्यसै दिन जनकपुर पुगेका थिए । माघ ५ गते जनकपुरमा आयोजित सभामा सहभागी भएपछि उनी झापा पुगे, जहाँबाट उनले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि झापा क्षेत्र नं. ५ बाट उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारीपछि बालेनले पूर्वका इलाम, ताप्लेजुङ, पाँचथर र तेह्रथुम लगायतका जिल्लामा पुगेर समर्थकहरूसँग भेटघाट गरे ।

शनिबार बिहान धनकुटा सदरमुकाम पुगेका बालेन त्यहाँ भने गाडीबाट नओर्लिकन फर्किएका थिए । सोही दिन अपरान्ह इटहरी पुगेका उनले समर्थकहरूसँग गाडीबाटै संक्षिप्त भेटघाट गरे र त्यसपछि विमानमार्फत काठमाडौं फर्किएका हुन् । झापा केन्द्रित बसाइ र पूर्वी पहाडका जिल्लामा गरिएको भ्रमणलाई बालेनको चुनावी अभियानको प्रारम्भिक चरणका रूपमा हेरिएको छ ।

पूर्वबाट फर्किए लगत्तै बालेन अब सुदूरपश्चिम जाने कार्यक्रम तय भएको छ । अछामदेखि कैलालीसम्म विभिन्न जिल्लामा पुगेर चुनावी प्रचारमा सहभागी हुने उनको योजना छ । सुदूरपश्चिममा बालेन निकट व्यक्तिहरू उम्मेदवार बनेकाले ती क्षेत्रलाई प्राथमिकतामा राखेर भ्रमण गर्न लागेको बताइन्छ । उनका प्रमुख स्वकीय सचिव भूपदेव शाह अछाम–२ बाट र कोर टिमका सदस्य केपी खनाल कैलाली–२ बाट उम्मेदवार बनेका छन् ।

यद्यपि, झापामा रहँदा बालेनले प्रयोग गरेको महँगो गाडीलाई लिएर विवाद पनि उत्पन्न भएको थियो । एक व्यवसायीले उपलब्ध गराएको उक्त गाडी बालेनले प्रयोग गरेपछि आलोचना सुरु भएको थियो । विवाद चर्किएपछि उनले उक्त गाडी झापामै छोडेर काठमाडौं फर्किएको निकट स्रोतले जनाएको छ । सुदूरपश्चिमको भ्रमण सकेपछि बालेन पुनः काठमाडौं फर्किने छन् । त्यसपछि काठमाडौं र ललितपुरका केही निर्वाचन क्षेत्रमा समेत उनी चुनावी अभियानमा सक्रिय हुने कार्यक्रम तय भएको छ ।

यसैबीच, एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सार्वजनिक बहस (पब्लिक डिबेट) गर्ने प्रस्तावलाई बालेनले स्पष्ट रूपमा अस्वीकार गरेका छन् । ओलीले सामाजिक सञ्जालमार्फत भावी प्रधानमन्त्रीका आकांक्षी नेताहरूबीच सार्वजनिक बहस आवश्यक रहेको उल्लेख गर्दै आफू त्यसका लागि तयार रहेको बताएका थिए । ओलीको उक्त प्रस्तावमा प्रतिक्रिया जनाउँदै बालेनले बहसमा नआउने मात्र होइन, ओलीमाथि गम्भीर आरोप र प्रश्न समेत उठाएका छन् ।

सामाजिक सञ्जालमा कमेन्ट गर्दै बालेनले लेखेका छन्, ‘‘आफूलाई आतंकवादी चाहिँ कहिले स्वीकार्ने हो ? त्योपछि अरू कुरा गरौंला !’ उनले अगाडि थप्दै विगतका घटनालाई संकेत गर्दै ७६ जना बालबालिकाको हत्या र त्यससँग सम्बन्धित आरोपमा ओली र उनको समूहसँग एउटै मञ्चमा उभिनु आफू पनि त्यसमा सामेल भएको अर्थ लाग्ने बताएका छन् । बालेनको यो अभिव्यक्तिले चुनावी बहस झनै तातिने संकेत देखिएको छ । मेयर पदबाट राजीनामा दिएपछि देशका विभिन्न भूभागमा सक्रिय राजनीतिक उपस्थिति देखाइरहेका बालेनको आक्रामक शैली, विवादास्पद अभिव्यक्ति र तीव्र चुनावी गतिविधिले आगामी निर्वाचनमा नयाँ राजनीतिक ध्रुवीकरणको संकेत गरिरहेको विश्लेषकहरू बताउँछन् ।

माननीय छान्न बागमतीमा मध्याह्नसम्म ७० प्रतिशत मतदान {तस्वीरहरु}

हेटौंडा । राष्ट्रिय सभा निर्वाचनमा बागमती प्रदेशमा मध्याह्नसम्म ७० प्रतिशत बढी मत खसेको छ । प्रदेश सभातर्फ ८१ जनाले मतदान गरेका छन् भने स्थानीय तहतर्फ २१७ जनाले मतदान गरेका छन् । बागमती प्रदेश सभामा हाल १०४ जना सांसद छन् ।

प्रतिनिधि सभा निर्वाचनमा भाग लिन बागमती प्रदेशका ६ जना सांसदले राजीनामा दिएका थिए । राष्ट्रिय सभा निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सहभागी भएको छैन । यस्तै, स्थानीय तहतर्फ ३३५ मतदाता छन् । तीन वटा नगरका मेयरले प्रतिनिधि सभामा भाग लिन राजीनामा दिएका छन् । जसले गर्दा स्थानीय तहका तीन जना मतदाता कम भएका हुन् ।

तस्वीरहरु

युवाको माग र मुद्दामा मैले केही कन्जुस्याइँ गरिनँ : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले युवाहरूको माग र मुद्दा सम्बोधन गराउन आफूले विगत लामो समयदेखि नै आवाज उठाउँदै आएको बताएका छन् । विराटनगरमा युवाहरूसँग अन्तरक्रिया गर्दै नेता कोइरालाले जेनजी आन्दोलनअघिबाटै पार्टीभित्र समेत युवाको प्रतिनिधित्व हुनुपर्ने मुद्दामा आफूले काम गरेको बताएका हुन् ।

जस्तोसुकै परिस्थिति आए पनि सुशासनका पक्षमा उभिने भन्दै कोइरालाले आफू ‘क्याम्पेन फर क्लिन पोलिटिक्स’ को अभियानमा लागेको बताएका छन् । जेनजी आन्दोलनभन्दा धेरै अघिदेखि नै युवाहरूको प्रतिनिधित्व राज्य संरचना र नीति निर्माण तहमा हुनुपर्नेमा आफूले जोड दिँदै आएको बताउँदै उनले भने, ‘मैले विगतमै युवालाई तीन क्लस्टरमा बाँडेर अघि बढ्नुपर्ने बताउँदै आएको थिएँ । जसअनुसार केन्द्रीय तहमा २० प्रतिशत, प्रदेशमा ३० प्रतिशत र स्थानीय तहमा ४० प्रतिशत युवाको प्रतिनिधित्व हुनुपर्छ भन्दै आएँ । त्यो हुन सक्दा मात्रै युवाहरूलाई यही देशमा राख्न सकिन्छ भन्ने मेरो बुझाइ हो ।’

युवालाई प्राथमिकतामा राख्दै आफूले कांग्रेस पार्टीको चौधौँ महाधिवेशनमा नेतृत्व तहमा समेत जिताएको उनले बताए । नेता कोइरालाले भने, ‘मुलुकलाई विकाससँगै जनतामा आशा जगाउनकै लागि युवालाई नै पार्टीमा जिताएको हुँ ।’

साँगामा यसरी हुँदैछ अण्डरपास निर्माणको काम (तस्वीरहरु)

काठमाडौं । भक्तपुर र काभ्रेपलाञ्चोकको सीमा क्षेत्र साँगामा दुई लेनको अण्डरपास निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ । अरनिको राजमार्ग अन्तर्गत सूर्यविनायक–धुलिखेल सडक विस्तार आयोजनाले निर्माण गरिरहेको अण्डरपासको कुल लम्बाइ १ हजार ११० मिटर रहेको छ । अण्डरपासमा बनेपातर्फ १९० मिटर र भक्तपुरतर्फ ९०० मिटर एप्रोच सडक समावेश गरिएको छ । यसको उचाइ ६ मिटर र चौडाइ १०.५ मिटर रहनेछ । साथै अण्डरपासभित्रै २० मिटरको पुल पनि निर्माण गरिने सब–इन्जिनियर ज्ञानमान श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार हालसम्म अण्डरपास निर्माणको करिब ४५ प्रतिशत काम सम्पन्न भइसकेको छ । अहिले फाउन्डेसन तथा सुपरस्ट्रक्चर निर्माणको काम भइरहेको छ । कुल १५.८ किलोमिटर लामो सूर्यविनायक–धुलिखेल सडकलाई दुई खण्डमा विभाजन गरी स्तरोन्नतिको काम भइरहेको छ । जसअन्तर्गत साँगा–धुलिखेल (८.३ किमी) र सूर्यविनायक–साँगा (७.५ किमी) सडक खण्डलाई छुट्टाछुट्टै ठेक्कामा विस्तार गरिएको हो ।

आयोजनाकी सूचना अधिकारी इन्जिनियर अञ्जु परियारका अनुसार हालसम्म सूर्यविनायक–साँगा सडकखण्डको भौतिक प्रगति ४३ प्रतिशत पुगेको छ । सूर्यविनायक–धुलिखेल सडक आयोजनाको ठेक्का सम्झौता २०७९ पुस २४ गते भएको थियो । सडक विस्तारका लागि ७.५ किलोमिटर लामो सूर्यविनायक–साँगा सडक खण्ड तीन अर्ब ८८ करोड ९३ लाख रुपैयाँमा र ८.४ किलोमिटर लामो साँगा–धुलिखेल सडक खण्ड चार अर्ब पाँच करोड ६४ लाख रुपैयाँमा ठेक्का सम्झौता गरिएको हो । यस आयोजनाको प्रारम्भिक सम्झौता अवधि २०८० पुस २३ गतेसम्म रहेको भए पनि निर्माण अवधि थप गरी २०८३ फागुन मसान्त सम्म पुर्‍याइएको छ ।
तस्वीरहरू : बिजेन अमात्य / नेपाल फोटो लाइब्रेरी

ओलीको हस्ताक्षरसहित साढे ६ लाख बढीलाई एमालेको चुनावी चिठ्ठी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका संगठित सदस्यहरूलाई लक्षित गर्दै हस्ताक्षरसहितको व्यक्तिगत चिठ्ठी पठाएका छन् । आसन्न निर्वाचनलाई केन्द्रमा राख्दै अध्यक्ष ओलीले ६ लाख ६७ हजारभन्दा बढी संगठित सदस्यलाई एकैसाथ चिठ्ठी पठाएको एमालेले जनाएको छ ।

चिठीमार्फत अध्यक्ष ओलीले आगामी निर्वाचनलाई देशको भविष्यसँग जोडिएको निर्णायक लडाइँका रूपमा चित्रण गरेका छन् । उनले निर्वाचनले ‘देशलाई विनाशतर्फ धकेल्ने कि निर्माणको मार्गमा अघि बढाउने भन्ने हार–जितको फैसला गर्ने’ उल्लेख गर्दै देश निर्माणका लागि एमालेको बहुमत अपरिहार्य रहेको स्पष्ट पारेका छन् ।

अध्यक्ष ओलीले पार्टीका उम्मेदवारहरूलाई विजयी गराउन उच्च मनोबलका साथ सक्रिय भूमिका खेल्न सबैलाई आग्रह गरेका छन् । ‘देश निर्माणका लागि हाम्रो पार्टीलाई बहुमत आवश्यक छ’, चिठ्ठीमा उल्लेख गर्दै उनले बहुमत सुनिश्चित गर्न पार्टीका उम्मेदवारहरूको विजय अनिवार्य रहेको बताएका छन् । चिठीमा विध्वंस, आगजनी र अराजक प्रवृत्तिविरुद्ध निर्वाचनमार्फत निर्णायक रूपमा परास्त गर्नुपर्ने सन्देश पनि दिइएको छ । एमालेले यस्ता प्रवृत्तिलाई चुनावी मैदानबाटै विदा गर्नुपर्ने धारणा अध्यक्ष ओलीले व्यक्त गरेको जनाएको छ ।

एमालेका अनुसार चिठी हाल संगठित सदस्य रहेका व्यक्तिसँगै विगतमा सदस्य भएर नवीकरण नगरेका केही व्यक्तिहरूलाई समेत पुगेको छ । चिठ्ठी प्राप्त भएको भन्दै कतिपयले सामाजिक सञ्जालमा पनि पोस्ट गर्न थालेका छन् । यसअघि पनि अध्यक्ष ओलीले यस्तै विषयवस्तु समेटिएको चिठ्ठीी केन्द्रीय सदस्यहरूलाई पठाइसकेका थिए । निर्वाचन केन्द्रित अभियानलाई तीव्र बनाउन पार्टी नेतृत्वले प्रत्यक्ष संवादको माध्यमका रूपमा चिठ्ठी अभियान अघि बढाएको एमालेको भनाइ छ ।

 

सातै प्रदेशमा धमाधम राष्ट्रिय सभाको मतदान, कहाँ कति खसिसक्यो मत ?

काठमाडौं । राष्ट्रिय सभामा रिक्त हुन लागेका सदस्य चयनका लागि सातै प्रदेशमा आज एकैसाथ मतदान भइरहेको छ । बिहान ९ बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म चल्ने निर्वाचन आयोगले जनाएको छ । कोशी प्रदेशमा खस आर्यतर्फ एक पदमा उम्मेदवार निर्विरोध निर्वाचित भइसकेकाले बाँकी १७ पदका लागि देशभर मतदान भइरहेको हो ।

प्रदेश निर्वाचन कार्यालय र तोकिएका मतदान केन्द्रहरूमा प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख–उपप्रमुखको सहभागितामा मतदान शान्तिपूर्ण रूपमा अघि बढिरहेको छ । विराटनगर, जनकपुर, हेटौंडा, पोखरा, घोराही, वीरेन्द्रनगर र धनगढीमा मतदान केन्द्र सञ्चालनमा छन् ।

कर्णाली र गण्डकीमा गठबन्धनको बलियो अंकगणित
कर्णाली प्रदेशमा बिहान ११ बजेसम्म १६८ जनाले मतदान गरिसकेका छन् । यहाँ दुई पदका लागि चार उम्मेदवार मैदानमा छन् । कांग्रेस–एमाले गठबन्धन र नेकपाबीच प्रतिष्पर्धा भए पनि मतभारको हिसाबले गठबन्धन स्पष्ट रूपमा अगाडि देखिन्छ । कर्णालीमा कुल मतभार ५ हजार १२२ रहेकामा कांग्रेस–एमालेको मतभार मात्रै ३ हजारभन्दा बढी छ ।

गण्डकी प्रदेशमा पनि दुई पदका लागि ६ जनाबीच प्रतिष्पर्धा भइरहेको छ । यहाँ कांग्रेस–एमाले गठबन्धनको मतभार दुई तिहाइभन्दा बढी पुगेकाले दुवै सिट गठबन्धनले जित्ने निश्चित जस्तै देखिएको छ । प्रदेशसभा सदस्य र १७० स्थानीय तहका जनप्रतिनिधि मतदाताका रूपमा सहभागी छन् ।

कोशी, बागमती र अन्य प्रदेशमा पनि मतदान तीव्र
कोशी प्रदेशमा मतदान सुरु भएको दुई घण्टामै ५० प्रतिशतभन्दा बढी मत खसिसकेको छ । यहाँ दुई पदका लागि गठबन्धन र नेकपाबीच प्रतिष्पर्धा हुँदैछ । बागमती प्रदेशमा महिला र अन्य समूह गरी दुई पदका लागि ६ उम्मेदवार प्रतिष्पर्धामा छन् । हेटौंडास्थित भुटनदेवी माध्यमिक विद्यालयमा मतदान केन्द्र तोकिएको छ । मधेश, लुम्बिनी, सुदूरपश्चिम प्रदेशमा पनि तोकिएका केन्द्रहरूमा मतदान शान्तिपूर्ण रूपमा जारी छ । अधिकांश प्रदेशमा कांग्रेस–एमाले गठबन्धन मतभारका आधारमा बलियो अवस्थामा देखिन्छ ।

१९ सदस्यको पदावधि सकिँदै
आउँदो फागुनमा राष्ट्रिय सभाका १९ सदस्यको पदावधि सकिँदैछ । तीमध्ये एक जना राष्ट्रपतिबाट मनोनयन हुने संवैधानिक व्यवस्था छ । बाँकी १८ मध्ये एक जना निर्विरोध निर्वाचित भइसकेकाले आज १७ सदस्यका लागि निर्वाचन भइरहेको हो ।

आचारसंहिताको प्रभाव : कांग्रेसको जनकपुर सभा स्थगित
यसैबीच, निर्वाचन आचारसंहिताको कडाइका कारण नेपाली कांग्रेसले मधेश प्रदेशको जनकपुरमा तय गरिएको प्रदेशस्तरीय चुनावी सभा स्थगित गरेको छ । निर्वाचन आयोगको निर्देशनको सम्मान गर्दै पार्टीले ठूलो भेला नगर्ने निर्णय गरेको जनाएको छ । कांग्रेसका अनुसार ठूला सभा रोकिए पनि संगठन विस्तार र आन्तरिक तयारीका काम भने निरन्तर रहने छन् । समग्रमा, आजको निर्वाचनले राष्ट्रिय सभामा आगामी छ वर्षका लागि नयाँ शक्ति सन्तुलन तय गर्नेछ । मतभारको अवस्थाले अधिकांश प्रदेशमा गठबन्धनको जित सुनिश्चित देखिए पनि अन्तिम नतिजा मतगणनापछि स्पष्ट हुनेछ ।

 

फागुन २१ पछि गगन प्रधानमन्त्री, कांग्रेसले सुविधाजनक बहुमत ल्याउँछ : सहमहामन्त्री रसाइली

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाश रसाइलीले नेपाली कांग्रेसले आगामी निर्वाचनमा बहुमत ल्याउने दाबी गरेका छन् । सहमहामन्त्री रसाइलीले कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनबाट साधारण र सुविधाजनक बहुमत हासिल गर्ने दाबी गरे । उनले कांग्रेस एकढिक्का भएर निर्वाचनमा होमिएको बताउँँदै आन्तरिक समीकरण मिलाउन पार्टीभित्रका समूहलाई सम्बोध्न गरिएको बताए ।

अहिलेको परिस्थितिमा देशलाई सम्हाल्ने र अन्य राष्ट्रहरुसँग सन्तुलित सम्बन्ध कायम गरेर अघि बढ्न सक्ने व्यक्ति सभापति गगन थापा नै रहेको जिकिर गरे । उनले आफूहरुले कांग्रेस बदलेको र अब देश बदल्ने गरी अघि बढिरहेको पनि बताए । सहमहामन्त्री रसाइलीले आफूहरुले युवा पलायन रोक्न देशमै रोजगारी सिर्जना गर्ने र सुशासन कायम गरेर अघि बढ्ने बताए । फागुन २१ गतेपछिको नेपालको प्रधानमन्त्री गगन थापा नै भएको बताए ।

उनले भने, ‘हाम्रो पार्टीको यसअघि बसेको केन्द्रिय समितिको बैठकले एउटा मुद्दा निर्धारण गरेको छ । हाम्रो पार्टी सभापति गगनकुमार थापा र श्रद्धेय पूर्व सभापति शेरबहादुर देउवा अहिले हामी सबै पार्टीका नेताहरु देशभर एक ठाउँमा छौँ। हामीले पार्टीको आन्तरिक समीकरण मिलाउनका निम्ति सबै पार्टीभित्रका समूहलाई सम्बोधन गरेका छौँ । नेपाली काँग्रेसका सभापति, उपसभापति सबैले शालिनतापूर्वक देशलाई कांग्रेसले सम्हाल्नुपर्छ , मुठभेडको राजनीतिबाट सम्हाल्ने राजनीतिमा लगेर आजको स्थितिमा देश पुगेको छ । त्यसको नेतृत्व नेपाली कांग्रेसले गरेको छ ।’

उनले भने, ‘कांग्रेसले केन्द्रिय समितिको बैठकबाट कांग्रेस बदल्यौँ अब देश बदल्छौँ भनेर जुन नाराकासाथ अघि बढेको छ । जेन–जी आन्दोलनको सम्मान गर्दै परिवर्तनको नेतृत्व गर्नेगरी अघि बढेका छौँ । विद्यार्थी राजनीतिबाट खारिएर आएको व्यक्तिलाई कांग्रेसले भावी प्रधानमन्त्री घोषणा गरेको छ । उहाँको नेतृत्वमा हामी चुनावमा जान्छाैं । हाम्रो कुनै राजनीतिक पार्टीसँग आग्रह र पूर्वाग्रह छैन । तर मुद्दा, निष्कलंक छवि, इतिहासका हिसावले सडक होस् वा संसदमा जिम्मेवारीका हिसावले नेपाली काँग्रेसको नेतृव गगन थापाले गर्नुभएको छ ।’

सहमहामन्त्री स्नेहीले भने, ‘हामी बहुमत ल्याएर जेन–जी पुस्ताको सडकमा बगेका रगतलाई हेरेर उनीहरुको सुशसानको मुद्दालाई सम्बोधन गर्छौं । विदेश पलायनको अवस्थालाई सम्बोधन गरेर नेपालमै बस्नसक्ने वातावरण निर्माण गर्न लाग्छौँ । अबको प्रधानमन्त्री फागुन २१ गतेको प्रधानमन्त्री र नेपाली काँग्रेसको प्रश्तावित प्रधानमन्त्रीको उम्मेदवार गगन थापा हो । नेपाली कांग्रेसले सामान्य ढंगले साधारण बहुमत, सुविधाजनक बहुमत संसदमा ल्याउँछ । कांग्रेसले जति इतिहासका परिवर्तन र क्रान्तिको नेतृत्व ग¥यो, त्यो पछिल्लो पटक जेन–जी आन्दोलनलाई सम्हाल्ने किसिमले जानुभयो । नेपाली युवाहरुको आकर्षणको केन्द्र, मित्रराष्ट्रको सम्बन्धलाई सन्तुलित रुपमा मिलाएर लैजान सक्नु हुन्छ ।’ उनले निर्वाचनलाई बलियो बनाइ रुख चिन्हलाई बलियो बनाउने गरी आफूहरु अघि बढिरहेको दाबी गरे । निर्वाचन टिकटमा पूर्व सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला समूहका नेताहरु सबैले न्याय पाएको बताए ।

नयाँ दलहरुप्रति नेता शर्माको कटाक्ष : राजनीतिमा कोरोना महामारी छ अहिले

मोरङ । नेपाली कांग्रेसका नेता एवं मोरङ क्षेत्र नम्बर ३ का उम्मेदवार डा. सुनिल शर्माले आफूलाई ७० हजार मत दिएर जिताउन मतदाताहरुसँग आग्रह गरेका छन् । आफूलाई मोरङ निर्वाचन क्षेत्र नम्बर ३ का जनताले यसअघि पनि तेस्रो सबैभन्दा बढी मत दिएको स्मरण गर्दै आगामी निर्वाचनमा सबैभन्दा बढी मत पाउनेमा विश्वस्त रहेको बताए । उनले सबैभन्दा बढी मत पाएसँगै संसदमा बोलिने आवाज बुलन्द हुने र त्यो आवाज देश तथा विदेशमा पनि महत्वका साथ हेरिने उनको भनाइ छ ।

नयाँ राजनीतिक दलहरुप्रति लक्षित गर्दै उनले अहिले एक किसिमको कोरोना भाइरस नै रहेकाले यस्तो समयमा पनि सबैभन्दा बढी मतका साथ विजयी हुनुले महत्वपूर्ण अर्थ राख्ने जिकिर गरे । ७० हजार मत ल्याएर निर्वाचित भएको सांसदले उठाएका आवाजहरुले जनताको नीति निर्माणमा धेरै सहजता ल्याउने बताए ।

उनले भने, ‘यो क्षेत्रका जनताले मलाई ७० हजार बढी मतले तपाईंहरुले जिताएर पठाई दिनुस् । यस्तो हावाहुण्डरीमा नेपालको सबैभन्दा बढी मत लिएर गएको सांसदको महत्व छुट्टै हुन्छ । यो पनि कोरोना नै हो । यो हुण्डरीमा माटो कोरोना, घण्टी कोरोना, को नि के कोरोना । हाम्रा नेताहरुको लुटपाट भएको कोरोना । कोरोनै महामारी छ नि त अहिले । यो महामारीमा पनि सबैभन्दा बढी मतका साथ विजयी गराउनु भयो भने त्यसको महत्व छुट्टै हुन्छ । ७० हजार बढी मत दिनुभयो भने त्यो सबैभन्दा धेरै हुन्छ । मैले रोष्ट्रममा उभिएर बोल्दा यो देशलाई थुरुरु पार्न सकिन्छ । कानुनहरु जनताका लागि परिवर्तन गर्न सकिन्छ । क्षेत्र नम्बर ३ को आवाज ठूलो हुन्छ । त्यसले नीति निर्माणमा महत्वपूर्ण हुन्छ ।’ नेता शर्माले नेपाललाई शान्तिको देश बनाउन जरुरी रहेको बताए ।

 

दाङमा कार्यरत प्रहरी मृत भेटिए, मोबाइलको ‘लक’ नखुल्दा खुलेन रहस्य

काठमाडौं । दाङमा तीन दिनदेखि बेपत्ता एक प्रहरी जवान आइतबार जंगलमा मृत भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत घोराही उपमहानगरपालिका–२ रामपुर निवासी हरि जिसी घोराही–१८ घरडौराको जंगलमा झुण्डिएको अवस्थामा भेटिएका हुन् ।

प्रहरीका अनुसार जिसी माघ ८ गते बिहानको ड्युटी सकेर आफ्नो स्कुटी लिएर कार्यालयबाट निस्किएका थिए । उनी कार्यालयबाट निस्किएपछि तीन दिनदेखि सम्पर्कविहीन थिए । खोजतलासका क्रममा उनी सवार स्कुटी र उनको शव फेला परेका हुन् ।

घटना अनुसन्धान गरिरहेको प्रहरीले जिसीको मृत्युको रहस्य पत्ता लगाउन उनको मोबाइललाई मुख्य कडी मानेको छ । जिल्ला प्रहरी कार्यालय दाङले दिएको जानकारीअनुसार शव पोस्टमार्टम भइसकेको छ । ‘हामीले पोस्टमार्टम गरिसकेका छौँ,’ जिप्रका स्रोतले सुनायो, ‘जिसीको मोबाइल अहिले लक छ, त्यो खुल्ने बित्तिकै मृत्युको वास्तविक कारणबारे थप विवरण खुल्नेछ ।’

उनका बुबाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीको आईसीयूमा उपचार भइरहेको थियो । बुबाको अवस्था गम्भीर रहेकाले घर जान बिदा मागेका थिए । बिदा नपाएपछि उनी तनावमा रहेको स्रोतको दाबी छ । प्रहरीले भने यसबारेमा मोबाइलको डिजिटल फरेन्सिक रिपोर्ट आएपछि मात्रै आधिकारिक जानकारी थाहा हुने बताएको छ ।

प्रधानमन्त्रीकाे कार्ड बोकेर मधेसमा गगन, होला ‘फेस सेल’ ?

काठमाडौं । भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै नेपाली कांग्रेसका सभापति गगन थापा मधेस झर्दैछन् ।

मधेसको सर्लाही–४ बाट उनले यसपटक प्रतिनिधिसभा निर्वाचन लड्दैछन् । ‘यो पटक आँट गरेर सर्लाही–४ बाट उम्मेदवारी दिएँ,’ शनिबार उनले काठमाडौंमा आयोजित एक कार्यक्रममा भने ।

उनी चारपटक संसद् पुगिसकेका नेता हुन् । पहिलो संविधानसभा समानुपातिक सांसद भएर संसद् पुगे । त्यसपछि २०७०, २०७४ र २०७९ मा प्रत्यक्षत चुनाव जिते ।

उनले लगातार चुनाव जितेको काठमाडौं– ४ हो, जुन निर्वाचन क्षेत्र यसपटक उनको छनोटमा परेन । अर्थात् काठमाडौं–४ वासीको जनप्रतिनिधि हुन यसपाली चाहेनन् ।

जोसँग १८ वर्षको संसदीय राजनीतिको अनुभव छ । उनले यसपटक किन मधेसको सर्लाही– ४  रोजे ? चासोपूर्वक हेरिएको छ । भन्‍न त उनले शनिबार भनेका छन्, ‘एकपटक मधेशको नेतृत्व गर्ने अनि बल्ल म देशको नेता बन्‍न सक्छु ।’

विशेष महाधिवेशन गरेर सभापति भएका गगनको यसपटक ‘फेस सेल’ हुन सक्छ । कांग्रेसमा मात्र होइन, अन्तरपार्टी पंक्तिमा पनि उनी लोकप्रिय नेता हुन् । भलै उनी आलोचनामुक्त छैनन् ।

तर, पनि समकालीन कांग्रेस नेतामा उनको सर्वाधिक लोकप्रिय अनुुहार हो । तिनै गगनले मधेसको जनमत प्राप्त गरेर संसद् आउन चाहे । राजनीतिक विश्लेषक डा. भेषराज घिमिरेका अनुसार मधेस एकताका कांग्रेसको उर्भर क्षेत्र हो ।

पछिल्ला निर्वाचनहरूको परिणामलाई आधार मान्दा यहाँ कांग्रेसको जनाधार खुम्चिँदै गएको छ । २०६२/०६३ को मधेस आन्दोलनपछि कांग्रेसको प्रभाव कमजोर हुँदै गयो ।

यस्तोमा गगन कांग्रेसको पुरानो विरासत फर्काउन मधेस गरेको हुन सक्ने डा. घिमिरेलाई लाग्छ । ‘कांग्रेसको परम्परागत जनाधार मधेश हो । त्यो गुम्दै गएको देखिन्छ,’ उनले नेपालवान एचडीसँग भने, ‘त्यो जनाधार कांग्रेसमा फर्काउने गगन जुक्ति हुन सक्छ ।’

मधेशमा प्रतिनिधिसभाको ३२ वटा निर्वाचन क्षेत्र छन् । गत सोमबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मधेसको जनकपुरबाटै चुनावी सभा गर्‍यो । त्यहाँ रास्वपाबाट भावी प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र शाह (बालेन)सहित पार्टी सभापति रवि लामिछानले सम्बोधन गरे । बालेन मधेसकै महोत्तरी पुर्ख्याैली थलो भएका युवा नेता हुन् ।

मधेसका कोही पनि नागरिक देशको प्रधानमन्त्री भएका छैनन् । सल्यानका मरिचमानसिंह श्रेष्ठ प्रधानमन्त्री भएबाहेक आदिवासी जनजाति पनि प्रधानमन्त्री भएका छैनन्, जसको हातमा सत्ताको कार्यकारी अधिकार सीमित छ ।

यस्तोमा भावी प्रधानमन्त्रीमा बालेनको अनुहार देखाएर रास्वपाले जनमत आकर्षण गर्न खोजेको छ । कांग्रेस सभापति गगनले त्यही जनमत आफू र कांग्रेसतिर फर्काउन मधेस झरेको विश्लेषण भइरहेको छ ।

उसो त काठमाडौं–४ मा गगन आलोचित थिए । उनको निर्वाचन क्षेत्रमा पर्ने कपनको ठाउँठाउँमा वर्षेनी डुबान हुन्छ । डुबान समस्याले कपनबासी वर्षायाममा पिरोलिन्छन् । भित्री सडकहरू कालोपत्रे नहुनु, सहरी क्षेत्र भए पनि पूर्वाधारका सुविधाहरू पर्याप्त नभएपछि उनीसँग कांग्रेसकै कतिपय मतदाताहरू असन्तुष्ट छन् ।

भनिन्छ, २०७९ को निर्वाचनमा उनमा हार्ने डर थियो । उनकै सल्लाहअनुसार रास्वपा सभापति रवि लामिछाने चितवन–२ झरेका थिए । उनलाई जितमा सहजताका लागि उनको क्षेत्रमा रास्वपाले उम्मेदवार उठाएको पनि थिएन ।

त्यसबेला गगन–रवि अघोषित चुनावी तालमेल भएको चर्चा फैलिएको थियो । तर, गगन र रविले यसबारे प्रतिक्रिया पनि जनाएनन् ।

तर, यसपटक त्यहाँ रास्वपाले पुकार बमलाई उम्मेदवार बनाएको छ । उनी २०७९ को निर्वाचनमा काठमाडौं–१ मा लडेका थिए । सामाजिक अभियन्ता हुँदै राजनीतिमा प्रवेश गरेका बम प्रभावशाली उम्मेदवारी हुन् ।

गगनका लागि एमाले उम्मेदवार डा. राजन भट्टराई मात्रै होइन, पुकार बलिया प्रतिस्पर्धी हुन सक्थे । पुकारले काट्ने सर्वाधिक मत कांग्रेस अर्थात् गगनकै हुन्थ्यो । यस्तोमा गगन सर्लाही–४ झरेका हुन् ।

विगतको चुनावी परिणामलाई हेर्दा यो क्षेत्रका मतदाताको मतदान प्रवृत्ति स्थिर देखिँदैन । चुनावी हुरीमा मतदाताको मतदान प्रवृत्ति निर्भर हुने देखिन्छ ।

जस्तो, २०६४ को पहिलो संविधानसभा निर्वाचनमा यहाँबाट तत्कालीन सद्‍भावना पार्टीका नेता राजेन्द्र महतो निर्वाचित भए । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा यहाँदेखि तराई मधेस सदभावना पार्टीका (हाल नेकपा)का नेता महेन्द्रराय यादव निर्वाचित भए ।

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका डा. अमरेशकुमार सिंह निर्वाचित भएका थिए । २०७९ को निर्वाचनमा पनि स्वतन्त्रबाट सिंह नै निर्वाचित भए । यिनै चार चुनावी परिणामले भन्छ– यहाँ कुनै दलका स्थायी प्रकृतिका मतदाता छैनन् । यही बुझेर गगन सर्लाही–४ पुगेका हुन सक्ने डा. घिमिरे बताउँछन् ।

‘त्यहाँ कांग्रेसका वा मधेसकेन्द्रित दलका स्थायी प्रकृतिका मतदाता देखिँदैनन्, उनीहरू जता माहोल बन्छ, त्यतै मतदान गर्छन्,’ उनले भने, ‘त्यस्ता खालका मतदाताहरू नेता परीक्षण पनि गर्छन् । त्यो फाइदा लिन सकिन्छ भनेर पनि गगन त्यहाँ गएका हुन सक्छन् ।’

उसो त उनको प्रतिस्पर्धा कांग्रेस छाडेर स्वतन्त्र हुँदै हालै रास्वपा पुगेका डा. अमरेसकुमार सिंहसँग हुँदैछ । सिंहले आफूले गगनलाई पराजित गर्ने उम्मेदवारी दर्तापछि बताइसकेका छन् । ‘भगौडा उम्मेदवार मसँग प्रतिस्पर्धामा हार्छन्, उनको दाबी छ ।

परम्परागत चुनावी क्षेत्र छाडेर गएका गगन यदि पराजित भए उनको प्रधानमन्त्री हुने चाहना चकनाचुर हुने छ ।

हिन्दु राष्ट्र र राजसंस्था पुनः स्थापना नभई राप्रपा सत्तामा जाँदैन : कमल थापा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता एवं काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ५ का उम्मेदवार कमल थापाले हिन्दु राष्ट्र र राजसंस्था पुनः स्थापना नभईकन राप्रपा सत्तामा नजाने बताएका छन् । आज (शनिवार) काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले सत्ता केन्द्रित राजनीति राप्रपाले नगर्ने पनि स्पष्ट पारे । उनले राजा मतदाता भएको निर्वाचन क्षेत्रबाट विजयी हुनुले देश तथा विदेशमा पनि महत्वपूर्ण सन्देश जाने जिकिर गरे । उनले काठमाडौँ क्षेत्र नम्बर ५ मा हिन्दुराष्ट्र चाहने, राजसंस्था चाहने, राष्ट्रवादीहरूको धेरै ठुलो संख्या रहेको बताए । राजतन्त्रवादी जनमतलाई भोटमा बदल्न सके विजयी निश्चित रहेको बताए ।

उनले भने ‘हिन्दुराष्ट्र र राजसंस्था पुनः स्थापना नभईकन हामी सत्तामा जानु छैन । सत्ता केन्द्रित राजनीति गर्ने छैनौँ । यो सन्देश हामीले प्रत्येक नेपालीलाई दिन सक्नुपर्छ । स्वयं राजा मतदाता भएको निर्वाचन क्षेत्रबाट निर्वाचित भएर जाँदा देश विदेशमा एउटा बलियो सन्देश जान्छ । त्यसका लागि हामी निरन्तर रूपमा खटिरहेका छौँ । काठमाडौँ क्षेत्र नम्बर ५ मा हिन्दुराष्ट्र चाहने, राजसंस्था चाहने, राष्ट्रवादीहरूको धेरै ठुलो संख्या छ । जनमत छ । त्यो जनमतलाई भोटमा परिणत गराउनसके फागुन २१ गतेको निर्वाचनमा हाम्रो विजय अवश्यम्भावी छ ।’ उनले भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट मुक्ति चाहने भए राप्रपालाई विजयी गराइ काम गर्ने मौका दिन आग्रह गरे ।

नयाँ–पुरानो दलको बहस जनतालाई अलमल्याउने हत्कण्डा : विप्लव

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले ‘पुराना दल खराब भए, त्यसैले नयाँ दल चाहिन्छ’ भन्ने नारा क्रान्तिकारी नभई जनतालाई वास्तविक मुद्दाबाट टाढा लैजाने भ्रमको राजनीति भएको बताएका छन् ।

शनिबार पार्टीद्वारा आयोजित निर्वाचनसम्बन्धी प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै उनले पछिल्लो समय राजनीतिक वृत्तमा चर्काइएको नयाँ र पुराना दलबीचको बहस सत्ता र राज्यसत्ताको चरित्रमाथि हुनुपर्ने गम्भीर छलफललाई ओझेलमा पार्ने प्रयास भएको स्पष्ट पारे ।

महासचिव चन्दका अनुसार नेपालमा मूल समस्या दलको संख्यामा नभई जनताको सेवा गर्ने, जनताको पक्षमा निर्णय गर्ने र न्यायपूर्ण राज्यसत्ता निर्माण नहुनु हो । ‘जनताले चाहेको नयाँ झन्डा वा नयाँ नामको दल होइन, आफ्ना पीडा सुन्ने र न्याय दिने सत्ता हो’, उनले भने ।

उनले पुराना दलहरूले भ्रष्टाचार, विकृति र जनतामाथि शोषण जन्माएको कुरामा आंशिक सत्यता रहेको स्वीकार गरे । तर पुरानो सत्ता संरचना यथावत् रहेसम्म नयाँ दल आएपछि मात्रै सबै समस्या समाधान हुन्छ भन्ने धारणा गलत भएको उनको ठम्याइ छ । नयाँ दलप्रतिको जनअपेक्षा पुराना दलहरूको असफलताबाट जन्मिएको भए पनि त्यसले मात्र आमूल परिवर्तन सम्भव नहुने उनले बताए ।

विप्लवले राजनीतिक सङ्घर्षको केन्द्रीय विषय पुराना र नयाँ दलबीच नभई पुरानो सत्ता र जनताबीचको द्वन्द्व भएको स्पष्ट पारे । नयाँ नेता बनाम पुराना नेताको बहसलाई पनि उनले सतही र दिशाहीन भने । उनका अनुसार उमेरले युवा वा अनुहारले नयाँ हुँदैमा नेतृत्व सफल हुन्छ भन्ने मान्यता गलत हो । ‘मान्छे उमेरले पुरानो हुन सक्छ, तर उसले बोकेको दृष्टिकोण नै निर्णायक हुन्छ’, उनले जोड दिए ।

उनले अहिले फैलाइएको नयाँ–पुराना दल, नयाँ–पुराना नेता जस्ता नारालाई ‘गुलियो पोतिएको भुलभुलैया’ को संज्ञा दिँदै यसले जनतालाई वास्तविक परिवर्तनको बाटोबाट विचलित बनाउने चेतावनी दिए । पुरानो सत्ता संरचना, चरित्र र संस्कृतिलाई रूपान्तरण गर्न सक्ने स्पष्ट दृष्टिकोण भएका नेताहरूको आवश्यकता औँल्याउँदै उनले तथाकथित नयाँ शक्तिहरूमा समेत त्यो परिवर्तनकारी दृष्टिकोण नदेखिएको दाबी गरे ।

महासचिव चन्दले पुरानो राज्यसत्तालाई तोडेर जनताको सत्ता स्थापना गर्न सक्ने राजनीतिक शक्ति अहिले नेकपा माओवादी मात्रै भएको दाबी गर्दै जनतामाझ यो वैचारिक स्पष्टता पु¥याउन पार्टी पंक्तिलाई निर्देशन समेत दिए ।

पूजा महतोको अविजित अर्धशतकमा नेपाललाई पहिलो जित

काठमाडौं – पूजा महतोले अविजित अर्धशतक बनाउँदा नेपालले आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा पहिलो जित हात पारेको छ।

शनिबार त्रिवि क्रिकेट मैदानमा भएको तेस्रो खेलमा नेपालले जिम्बाबेलाई ६ विकेटले पराजित गर्‍यो। जिम्बाबेले दिएको १३० रनको लक्ष्य नेपालले ३ बल बाँकी छँदा ४ विकेटको क्षतिमा पूरा गर्‍यो।

नेपालको जितमा पूजा महतोले महत्वपूर्ण भूमिका खेलिन्। उनले ५० बलमा ४ चौका र २ छक्कासहित अविजित ५२ रन बनाइन्। कप्तान इन्दु बर्माले २२ रनको योगदान दिइन्।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जिम्बाबेले २० ओभरमा ६ विकेट गुमाउँदै १२९ रन बनाएको थियो। जिम्बाबेका लागि केलिस धलोभुले अविजित ५२ रन बनाइन् भने बिलभ्ड बिजाले ३४ र मोडेस्टर मुपाचिवाले १४ रन जोडिन्।

नेपालका तर्फबाट रिया शर्माले २ विकेट लिइन्। साथै कविता कुँवर, पूजा महतो, सीता रानामगर र रुबिना क्षेत्रीले समान १–१ विकेट हात पारिन्।

नेपालले अब अन्तिम खेलमा सोमबार स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ। उक्त खेलमा जित निकाल्न नेपालमाथि दबाब रहनेछ।

झापाबाट फर्किदा एयरपोर्टमा हामीलाई सुन तस्करलाई जस्तो व्यवहार गरियो : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई सरकारले योजनाबद्ध रूपमा दुःख दिने र अपमान गर्ने काम गरिरहेको आरोप लगाएका छन् । झापाबाट काठमाडौं फर्किदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफूलाई सुन तस्करझैं व्यवहार गरिएको भन्दै उनले सरकारप्रति कडा असन्तुष्टि व्यक्त गरेका हुन् ।

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘हिजो एयरपोर्टमा मलाई सुन तस्करी गर्ने मान्छे जस्तो गरी अनावश्यक चेकजाँच गरेर हैरान पारियो । किन यस्तो व्यवहार भयो भनेर सोध्दा ‘माथिबाट आदेश आएको छ’ भन्ने जवाफ दिइयो ।’

उनका अनुसार यसअघि झापा जाँदा भने त्यस्तो व्यवहार गरिएको थिएन । फर्किदा भने अवस्था बिल्कुलै फरक देखिएको उनको भनाइ थियो । ‘अस्ती जाँदा त राम्रो व्यवहार थियो, फर्किदा आँखा नै जलेझैं भयो’, ओलीले कटाक्ष गर्दै भने, ‘विदेश जाँदा त चिनजान भएका ठाउँमा समेत यस्तो व्यवहार हुँदैन, आफ्नै देशको एयरपोर्टमा हेपिनु पर्‍यो ।’

अध्यक्ष ओलीले सरकारको नियत नै नेताहरूको अपमान गर्ने दिशामा केन्द्रित रहेको आरोप लगाए । ‘यो सरकार अराजनीतिक र असभ्य बन्दै गएको छ । यस्तो व्यवहार देख्दा हामी सभ्य संसारमै छौँ कि छैनौँ भन्ने लाग्छ’, उनले भने ।

कार्यक्रममा ओलीले वर्तमान राजनीतिक अवस्थाबारे पनि संकेतपूर्ण अभिव्यक्ति दिए । उनले एमाले अब आन्दोलनमा उत्रिने कि निर्वाचन प्रक्रियामै सहभागी हुने भन्ने विषयमा अझै स्पष्ट निर्णयमा नपुगेको बताए । ‘हामी आन्दोलनमा जाने हो कि चुनावमा सामेल हुने हो, त्यो अवस्था अझै तय भइसकेको छैन’, उनले भने ।

सरकारको गतिविधिले आफूहरूलाई निरन्तर दुःख दिने र दबाब सिर्जना गर्ने प्रयास भइरहेको ओलीको दाबी थियो । यस्तो व्यवहारले राजनीतिक वातावरण झनै बिग्रँदै जाने उनको चेतावनी थियो । ओलीको यो अभिव्यक्तिलाई आगामी दिनमा एमालेले लिन सक्ने रणनीतिक कदमका रूपमा पनि राजनीतिक वृत्तमा हेरिएको छ ।

सरकारमा सहभागिताबारे उठेका विवादप्रति कुलमान घिसिङको स्पष्टोक्ति

काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले जेन–जी आन्दोलनपछि गठन भएको सरकारमा आफ्नो सहभागितालाई लिएर सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा आएका टिकाटिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

घिसिङले आन्दोलनपछिको विषम परिस्थितिमा तत्कालीन प्रधानमन्त्री सुशीला कार्की तथा जेन–जी आन्दोलनका अगुवाहरूको अनुरोधमा आफू सरकारमा सहभागी भएको स्पष्ट पारेका छन् ।

सरकारमा सहभागी हुने बेलामै भविष्यमा राजनीतिमा जाने सोच रहेको र गैरदलीय सरकार भएकाले आफ्नो सहभागिता उपयुक्त नहुन सक्ने कुरा प्रधानमन्त्रीसमक्ष प्रष्ट पारेको उनको भनाइ छ ।

तर तत्कालीन अवस्थामा आफ्नो सहभागिता आवश्यक रहेको, जेन–जी आन्दोलनका अगुवाहरूको समेत यही माग रहेको र पछि राजनीतिमा जानुपरेमा राजीनामा दिएर जान सकिने प्रधानमन्त्रीको आग्रहपछि आफूले जिम्मेवारी स्वीकार गरेको घिसिङले बताएका छन् ।

यस विषयमा प्रधानमन्त्री स्वयंले सार्वजनिक रूपमा समेत उल्लेख गर्दै आएको उनले स्मरण गराएका छन् ।

आन्दोलनपछि राज्य संरचना प्रायः शून्यताजस्तो अवस्थामा पुगेको बेला चुनौती स्वीकार गर्दै आफूले जिम्मेवारी सम्हालेको उल्लेख गर्दै घिसिङले राजनीतिक प्रश्न उठेपछि पदबाट राजीनामा दिएको तथ्य सर्वविदित रहेको बताएका छन् ।

‘म पदलोलुप होइन, राज्यले दिएको जिम्मेवारी पूरा गर्ने व्यक्ति हुँ,’ घिसिङले भनेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्दा ११५ दिनको अवधिमा भएका कामकारबाहीहरूले आफ्नो जिम्मेवारीबोध पुष्टि गर्ने उनको दाबी छ ।

घिसिङले आफ्नो विरुद्ध नियोजित रूपमा बदनाम गराउने उद्देश्यले भ्रमपूर्ण प्रचार र टिकाटिप्पणी भइरहेको भन्दै त्यसबाट प्रभावित नहुन सबैमा आग्रह गरेका छन् ।

साथै उज्यालो नेपाल निर्माणका लागि आफ्नो जीवन राजनीतिमा समर्पित गर्दै निरन्तर क्रियाशील रहने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

सर्लाही–४ बन्यो चुनावी केन्द्रबिन्दु : गगन थापालाई अग्नीपरीक्षा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुरक्षित मानिने काठमाडौं निर्वाचन क्षेत्र छाडेर मधेसको सर्लाही–४ रोज्नु केवल उम्मेदवारी परिवर्तन होइन, उनको राजनीतिक यात्राकै सबैभन्दा ठूलो जोखिमपूर्ण निर्णय बनेको छ । मधेसलाई राष्ट्रिय राजनीतिसँग अझ गहिरो रूपमा जोड्नुपर्ने आवश्यकता महसुस गर्दै आफूले सर्लाही–४ रोजेको थापाको भनाइ छ ।

शनिबार नयाँ बानेश्वरमा आयोजित सर्लाही–४ का युवासँगको अन्तरक्रियामा बोल्दै थापाले काठमाडौंमै चुनाव लडे सहज जित निकाल्न सक्ने अवस्था हुँदाहुँदै पनि जानाजानी सर्लाही रोजेको बताए । ‘म तीन पटक चुनाव जितिसकेको व्यक्ति हुँ । काठमाडौं कि सर्लाही भन्ने टुंगो नलागेसम्म अन्य दलहरूले समेत उम्मेदवार तय गर्न सकेका थिएनन्’, उनले भने, ‘मधेस जान मन थियो, यस पटक आँट गरेर आएको हुँ ।’

थापाले सर्लाही–४ का युवाको भरोसामै आफूले जीवनकै सबैभन्दा ठूलो राजनीतिक निर्णय लिएको स्पष्ट पारे । कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले उनलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेर चुनावमा जाने निर्णय गरिसकेको सन्दर्भमा सर्लाही–४ को चुनावलाई राष्ट्रिय राजनीतिले विशेष चासोका साथ हेर्न थालेको छ ।

तर थापाको आगमनसँगै सर्लाही–४ निर्वाचन क्षेत्र सुरक्षा र प्रतिस्पर्धाका हिसाबले पनि संवेदनशील बनेको छ । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि सर्लाही जिल्लाका कुल ३ सय १२ मतदानस्थलमध्ये ९२ प्रतिशतभन्दा बढीलाई संवेदनशील र अति संवेदनशील सूचीमा राखिएको जिल्ला सुरक्षा समितिले जनाएको छ ।

कांग्रेस सभापति थापा उम्मेदवार बनेको क्षेत्र नम्बर ४ का ८१ मतदानस्थल संवेदनशील वा अति संवेदनशील सूचीमा परेका छन् । २०७९ को निर्वाचनमा बहुपक्षीय प्रतिस्पर्धा र विद्रोही उम्मेदवारीका कारण चर्चामा आएको यो क्षेत्र यस पटक थापाको उम्मेदवारीसँगै झनै राजनीतिक बहसको केन्द्रमा छ ।

२०७९ मा यही क्षेत्रबाट स्वतन्त्र उम्मेदवार अमरेशकुमार सिंह विजयी भएका थिए । कांग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र उठेका सिंह यसपटक राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनावी मैदानमा छन्, जसले प्रतिस्पर्धालाई थप रोचक र चुनौतीपूर्ण बनाएको छ ।

जिल्ला सुरक्षा समितिका अनुसार भौगोलिक विकटता, नेपाल–भारत सीमा नजिकका मतदानस्थल, विगतमा भएका दलगत झडप तथा अपराधिक गतिविधिका आधारमा मतदानस्थलको वर्गीकरण गरिएको हो । प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले अति संवेदनशील र संवेदनशील मतदानस्थलमा कडा सुरक्षा व्यवस्था गरी भयरहित वातावरणमा निर्वाचन गराउने तयारी भइरहेको जानकारी दिए ।

यसअघि जिल्लामा ३ सय १८ मतदानस्थलमा ५ सय ९९ मतदान केन्द्र रहेकामा यसपटक ३ सय १२ मतदानस्थलमा ६ सय २८ मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मधेसमा कांग्रेसको राजनीतिक प्रभाव विस्तार गर्ने थापाको महत्वाकांक्षा, प्रतिस्पर्धी उम्मेदवारको बलियो उपस्थिति र उच्च सुरक्षा संवेदनशीलताबीच सर्लाही–४ को चुनावले यसपटक राष्ट्रिय राजनीतिमा निर्णायक संकेत दिने अपेक्षा गरिएको छ ।

नयाँ दलमाथि ओलीको कटाक्ष: ‘भोलि कहाँ जाने थाहा छैन’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ आएका राजनीतिक दलहरूको भविष्य अनिश्‍चित रहेको टिप्पणी गरेका छन्। उनले ती दलहरूको राजनीतिक यात्रालाई ‘भोलि कहाँ जाने भन्ने नै थाहा नभएको’ भन्दै कटाक्ष गरे।

शनिबार पार्टी मुख्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले दिवंगत गायक नारायणगोपालको गीत स्मरण गरे। “सायद नारायणगोपालले गाउनुभएको होला- भोलि उठी कहाँ जाने केही थाहा छैन,” ओलीले भने, “उहाँहरू (नयाँ दल) हरूको यात्रा पनि त्यस्तै हो।”

अध्यक्ष ओलीले नयाँ भनिएका दलका एक नेताको फेसबुक स्टाटसप्रति पनि आपत्ति जनाए। उक्त स्टाटसमा आफूलाई ‘माटोमुनि गाडिदिनुपर्छ’ भन्‍ने आशय व्यक्त गरिएको भन्दै उनले त्यसलाई गैरजिम्मेवार राजनीतिक सोचको उदाहरणका रूपमा प्रस्तुत गरे।

“कस्तो मति, कस्तो बुद्धि, कस्तो राजनीति हो- हामी विचार गर्न सक्छौं,” ओलीले भने।

उनले अहिले देश ‘बनाउने र जलाउने’ शक्तिहरूबीचको लडाइँ चलिरहेको दाबी गरे। “मान्छेलाई ज्युँदै गाडिदिने जस्ता कुरा लेखिनु दुःखद छ,” भन्दै उनले देश बनाउने पक्षमा उभिन सबैलाई आह्वान गरे।

ओलीको यो अभिव्यक्ति नयाँ राजनीतिक दलहरूको गतिविधि र सामाजिक सञ्‍जाललमा बढ्दो टिप्पणीका बीच आएको हो।

सभापति गगन थापा भोलि सर्लाही–४ जाँदै, ‘उम्मेदवार बनेर जाँदा उत्साह अलग छ’

काठमाडौँ । नेपाली कांग्रेसले भावी प्रधानमन्त्रीका रूपमा अघि सारेका सभापति गगन थापा भोलि (आइतबार) सर्लाही जाने भएका छन् ।

थापा प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता गरेको क्षेत्र सर्लाही–४ मा उम्मेदवारका रूपमा जान लागेका हुन् । यसअघि पटक–पटक राजनीतिक कार्यक्रमका लागि सर्लाही पुगेका थापा यसपटक भने प्रत्यक्ष निर्वाचनमा होमिएर जिल्ला जान लागेका हुन् ।

शनिबार नयाँ बानेश्वरमा आयोजित सर्लाही–४ का युवासँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै थापाले आफू सर्लाही जान लागेको जानकारी दिएका थिए ।
‘भोलि म सर्लाही जाँदैछु । पटक–पटक म क्षेत्र नम्बर ४ गएको छु, तर राजनीतिक कार्यक्रममा,’ उनले भने, ‘यो पटक भने म उम्मेदवार बनेर जाँदैछु । मेरो मनमा एकदमै धेरै उत्साह छ ।’

थापाले सर्लाही–४ का युवामाथि भरोसा गरेर आफूले जीवनकै सबैभन्दा ठूलो राजनीतिक निर्णय लिएको दाबी गरे ।
‘म जीवनको अत्यन्तै ठूलो राजनीतिक निर्णय गरेर सर्लाही–४ आएको छु, तपाईंहरूको भर परेर,’ उनले भने ।

अन्तरक्रियामा सहभागी युवालाई निर्वाचनको समयमा सर्लाही पुगेर सहयोग गर्नसमेत उनले आग्रह गरे । युवाको समर्थन र भरोसाकै कारण आफू सर्लाही–४ बाट निर्वाचन लड्ने निष्कर्षमा पुगेको उनको भनाइ थियो ।

‘इलेक्सनको बेलामा सक्ने काम गरिदिन सर्लाही आइदिनुपर्छ । तपाईंको घर–घर पुगेर अभिभावकलाई भनिदिनुपर्छ,’ थापाले भने, ‘हाम्रो साथी, हाम्रो दाइ, हामीमाथि भरोसा गरेर आएको छ, उसलाई यही ठाउँको सांसद बनाएर पठाउनुपर्छ भनेर विश्वासका साथ काम गरिदिनुहोस् । म तपाईंहरूको भरोसामा आएको हुँ ।’

यसअघि शुक्रबार बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले थापालाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्दै निर्वाचनमा जाने निर्णय गरेको थियो । उपसभापति विश्वप्रकाश शर्माले अर्का उपसभापति पुष्पा भुसालको समर्थनमा राखेको प्रस्ताव बैठकले सर्वसम्मत रूपमा पारित गरेको थियो ।

महिला टी-२० विश्‍वकप ग्लोबल छनोटमा नेपाललाई जिम्बाबेले दियो १ सय ३० रनको लक्ष्य

काठमाडौं । आइसीसी महिला टी-२० विश्‍वकप ग्लोबल छनोटअन्तर्गत समूह चरणको तेस्रो खेलमा घरेलु टोलीसामु जितका लागि जिम्बाबेले १ सय ३० रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको जिम्बाबेले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय २९ रनको योगफल तयार पारेको हो।

नेपालका लागि रिया शर्माले २ विकेट लिइन्। कविता कुवँर, पुजा महतो, सिता रानामगर र रुविना क्षेत्रीले समान एक विकेट आफ्नो नाममा गरे। जिम्बाबेका लागि केलिस ध्लोबुले सर्वाधिक ५२ रन बनाइन्। विलभ्ड विजाले ३४ रन बनाइन्।

नेपालले आजको खेलमा जित निकाले सुपर सिक्स खेल्ने सम्भावना जिवित राख्‍ने छ। हारले सुपर ६ को सम्भावना सकिनेछ।  लगातार ३ खेलमा हार भोगेको जिम्बाबे समूह चरणको अन्तिम खेल खेल्दैछ।

बागीविरुद्ध कठोर प्रचण्ड : हरिबोल, कुलप्रसाद, धर्मनाथदेखि महेश्‍वरसम्म नेकपाबाट निष्कासित

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिने नेता, समर्थक र प्रस्तावविरुद्ध निर्मम कदम चालेको छ ।

देशको विभिन्‍न ठाउँमा नेकपाको आधिकारिक उम्मेदवारविरुद्ध पार्टीका असन्तुष्ट नेताहरूले बागी उम्मेदवारी दिएका थिए ।

पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार बागी उम्मेदवार, तिनका समर्थक र प्रस्तावलाई पछि हट्न निर्देशन दिएका थिए । तर, धेरै ठाउँमा निर्देशन टेरेनन् । नटेरेका नेताहरूलाई शनिबार प्रचण्डले पार्टीबाटै निष्कासन गरेका छन् ।

त्यसरी निष्कासन गरिएका शीर्षस्थ नेता हरिबोल गजुरल हुन् । उनीसँगै नेता महेश्‍वर दाहाललाई पार्टीबाट प्रचण्डले शनिबार निष्कासन गरे ।

पार्टीको निर्णयविपरित सिन्धुली–२ बाट प्रतिनिधिसभा सदस्यमा महेश्‍वर दाहालले उम्मेदवारी दर्ता गरेपछि उनीहरू कारबाहीमा परेका हुन् ।

महेश्‍वर आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचनमा सिन्धुली–२ बाट टिकटका आकांक्षी थिए । तर, प्रचण्डले पूर्वसांसद लेखनाथ दाहाल ‘राजन’लाई टिकट दिए । टिकट नपाएपछि महेश्‍वरले भने बागी उम्मेदवारी दिए ।

महेश्‍वरलाई समर्थन नेता हरिबोल गजुरेलको छ । यसपछि प्रचण्डले अनुशासनको कारवाही गर्दै पार्टीबाट निष्कासन गरेका हुन् । गजुरेल पटकपटक मन्त्री भएका नेता हुन् ।

कारबाहीपछि महेश्‍वर दाहालले एक अपिल जारी गर्दै भनेका छन्, – ‘उम्मेदवारी बार्गेनिङ र पद हत्याउन होइन, पद्धतिविहीन र पथभ्रष्ट भएको राजनीतिक चरित्रबाट तल गिरेको नेतृत्वविरुद्धको बगावत’ हो ।

प्रचण्डले लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत रहेका कुलप्रसाद केसी ‘सोनाम’ले पनि पार्टीबाट निष्कासन गरिदिएका छन् । केसी दाङ–१ मा नेकपाको आधिकारिक उम्मेदवार मेटमणि चौधरीविरुद्ध प्रतिनिधिसभा सदस्यका लागि बागी उम्मेदवार थिए ।

केसीलाई उम्मेदवारी फिर्ता लिन र पार्टीका आधिकारिक उम्मेदवारलाई समर्थन गर्न प्रचण्डले निर्देशन दिएका थिए । तर, उनले मानेनन् । त्यसपछि प्रचण्डले पार्टीबाटै हटाइदिएका हुन् ।

केसी विगतमा प्रचण्डका विश्वास पात्र थिए । १० वर्षे माओवादी युद्धमा उनी प्रचण्डसँगै थिए ।तर, यसपटक पार्टीको आधिकारिक उम्मेदवार मेटमणिविरुद्ध आँप चिह्न लिएर चुनावमा उत्रिँदा प्रचण्डले कारबाहीको डण्डा चलाइदिए ।

बागी उम्मेदवारी दिँँदा नेकपाले हटाएकामा पूर्वमन्त्री धर्मनाथप्रसाद शाह पनि हुन् । उनी माधवकुमार नेपाल नेतृत्वको तत्कालीन नेकपा एकीकृत समाजवादीको मधेस प्रदेश इञ्‍चार्ज थिए । उनी सिरहा–४ मा नेकपाबाट टिकट लिएर चुनाव लड्न चाहन्थे ।

तर, पूर्वसञ्‍चारमन्त्री अजयशंकर नायकले टिकट पाए । त्यसपछि असन्तुष्ट साह एमालेबाट उम्मेदवार बने । शनिबार प्रचण्डले उनलाई पार्टीबाटै हटाइदिए ।

त्यसरी हटाइनेमा उदयपुरको लिम्चुङबुङ गाउँपालिकाका पूर्वअध्यक्ष मेजर राई, राजकुमारी साह र जिवछ साहलगायत पनि छन् ।

पार्टीको निर्णय र निर्देशनविपरित उम्मेदवार बनेका र त्यस्ता उम्मेदवारका प्रस्तावक, समर्थक तथा प्रचारक बनेका कार अनुशासनको कारबाही गर्दै पार्टीबाट निस्कासन गरिएको नेकपाले जनाएको छ ।

हरिबोल गजुरेलसहित सात नेता नेकपाबाट निष्काशित

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले हरिबोल गजुरेलसहित सात नेतालाई पार्टीबाट निष्काशित गरेको छ । पार्टीको आधिकारिक उम्मेवार विरूद्ध बागी उम्मेदवार खडा गरी त्यसको प्रस्तावक र समर्थक बनेको भन्दै गजुरेलसहित सात जनालाई नेकपाले निष्काशन गरेको हो।

निष्काशित नेताहरूमा गजुरेलसहित सिन्धुलीकै महेश्वर दाहाल, दाङका कुलप्रसाद केसी, उदयपुरका मेजर राई, सिरहाका धर्मनाथ साह, राजकुमारी साह र जिवछ साह छन् । सिन्धुली–२ मा पार्टीले केन्द्रबाट निर्णय गरी लेखनाथ दाहाललाई उम्मेदवार बनाएको थियो ।

यद्यपि सिन्धुली–२ मा हरिबोल गजुरेलसहितको समर्थनमा महेश्वर दाहालले उम्मेदवारी दर्ता गरेको थियो । संयोजक पुष्कमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपालले हरिबोललाई पत्रै पठाएर उम्मेदवारी फिर्ता गर्न भनेका थिए । उम्मेदवारी फिर्ताका लागि शुक्रबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्मको समय तोकिएको थियो ।

त्यस अवधिमा उम्मेदवारी फिर्ता नभएपछि शनिबार संयोजक प्रचण्ड र सह–संयोजक माधव नेपालले कारबाही गरिएको सूचना जारी गरेका हुन् । दाङमा नेकपाले मेटमणि चौधरीलाई उम्मेदवार बनाएको थियो । त्यसमा असन्तुष्ट पूर्व मुख्यमन्त्री कुलप्रसाद केसीले उम्मेदवारी दिएका थिए । उनलाई पनि शनिबार पार्टीबाट निस्कासश गरेको हो ।

डडेल्धुरामा देउवाविहीन चुनाव: उत्तराधिकारी महर, चुनौती जोशी र निर्णायक ‘मल्ल फ्याक्टर’

काठमाडौं । २०४८ सालयता पहिलोपटक डडेल्धुराको संसदीय निर्वाचन नेपाली कांग्रेस सभापति तथा पाँचपटक प्रधानमन्त्री बनेका शेरबहादुर देउवाविना हुँदैछ । कांग्रेसले यसपटक देउवाको राजनीतिक उत्तराधिकारीका रूपमा नैनसिंह महरलाई अघि सारेसँगै डडेल्धुराको चुनावी प्रतिस्पर्धा थप चर्किने संकेत देखिएको छ।

तीन दशकभन्दा बढी समयदेखि डडेल्धुराको राजनीति देउवाको वरिपरि घुम्दै आएको थियो। ‘शेरे सुदूरपश्चिम’ को नामले चिनिएका देउवा २०४८ यताका सातवटै संसदीय निर्वाचन जित्ने एकमात्र नेता हुन्। सुदूरपश्चिमका नागरिक राजधानीसँग भौतिक र राजनीतिक रूपमा टाढा रहेका बेला परिवर्तनको नारासहित डडेल्धुराबाट काठमाडौँ झरेका देउवाले राष्ट्रिय राजनीतिमा आफ्नो अलग पहिचान बनाएका थिए।

३० को दशकबाट नेपाल विद्यार्थी संघ हुँदै राजनीतिमा प्रवेश गरेका देउवाले पंचायती व्यवस्थाको दमन भोगे। २०४६/४७ सालको जनआन्दोलनका बेला सडक मोर्चामा चर्को आवाज बनेका उनी तत्कालीन राजा महेन्द्रको व्यवस्थाविरुद्ध खुलेर उभिएका नेतामध्येका एक हुन् । पार्टीभित्र पनि उनले गरिजाप्रसाद कोइरालासँग कडा राजनीतिक संघर्ष गरे। एकपटक पार्टी विभाजनसम्म पुगेको उनको राजनीतिक यात्राले कांग्रेसभित्र कोइराला परिवारको वर्चस्वलाई चुनौती दिएको मानिन्छ।

पंचायत, बहुदल र संघीय लोकतान्त्रिक गणतन्त्र तीनवटै व्यवस्थामा गरी पाँचपटक प्रधानमन्त्री बनेका देउवा पछिल्लो समय राजनीतिक जीवनको उत्तरार्द्धमा छन्। गत भदौ २३ र २४ मा भएको जेन-जी आन्दोलनपछि सरकार परिवर्तन नभएको भए देउवा छैटौँ पटक प्रधानमन्त्री बन्ने सम्भावना थियो । तर आन्दोलनले उनको त्यो आकांक्षामा विराम लगाइदियो।

यसपटक देउवा प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेका छैनन्। कांग्रेसले उनी लड्दै आएको क्षेत्रबाट नैनसिंह महरलाई उम्मेदवार बनाएको छ। ‘शेरे सुदूरपश्चिम’ को उत्तराधिकारीका रूपमा महरको आगमनलाई कांग्रेसले पुस्तान्तरणको रूपमा प्रस्तुत गरेको छ।

पूर्व नेपाल विद्यार्थी संघ सभापति महरको राजनीतिक यात्रा विद्यार्थी राजनीतिबाट सुरु भएको हो। २१ वर्षको उमेरमा २०५२ सालमा नेविसंघ डडेल्धुराको कार्यवाहक अध्यक्ष बनेका उनी २०५६ मा जिल्ला अध्यक्ष निर्वाचित भए। पत्रकारितामा पनि सक्रिय महरले कान्तिपुर दैनिक, राष्ट्रिय समाचार समिति र रेडियो नेपालमा काम गरेका छन्। २०५७ मा नेविसंघको केन्द्रीय सदस्य, २०६४ मा केन्द्रीय उपाध्यक्ष र २०७३ मा सभापति बनेका महर कांग्रेसको १४औँ महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका थिए। उनी कांग्रेस शिक्षा विभाग प्रमुखसमेत भइसकेका छन्।

डडेल्धुरामा महरका लागि मुख्य चुनौती राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. तारा जोशी देखिएका छन् । जोशी २०७९ मा डडेल्धुरा प्रदेश सभा ‘क’ बाट स्वतन्त्र उम्मेदवारका रूपमा प्रदेशसभा सदस्य निर्वाचित भएका थिए। पूर्व एमाले नेता २०७५ मा भएको जोशी पार्टी विभाजनका क्रममा अध्यक्ष पदबाट हटाइएपछि एकीकृत समाजवादी हुँदै स्वतन्त्र राजनीतिमा आएका थिए। पछिल्लो समय रास्वपाबाट प्रतिनिधिसभा उम्मेदवार बनेका जोशीलाई जिल्लाका युवामाझ राम्रो छवि भएको उम्मेदवारका रूपमा हेरिएको छ।

नेकपा एमालेले चक्र स्नेहीलाई उम्मेदवार बनाएको छ भने नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट मानसिंह माल मैदानमा छन्। पहिलोपल्ट देउवा बिना हुन लागेको बहुपक्षीय प्रतिस्पर्धाका कारण यसपटकको चुनाव निकै रोचक बन्ने देखिएको छ।

यसपटक काङ्ग्रेस बीपीका वरिष्ठ उपसभापति कर्ण मल्ल चुनावी मैदानमा छैनन्। 

यसबीच डडेल्धुराको यसपटकको चुनावमा निर्णायक देखिएको ‘मल्ल फ्याक्टर’ को चर्चा पनि चुलिएको छ। कांग्रेस बीपीले डडेल्धुरामा वडास्तरसम्म संगठन विस्तार गरेको छ । आन्तरिक मतभेदका कारण २०७९ मा कांग्रेस परित्याग गरेका मल्लले त्यही वर्ष देउवाविरुद्ध उम्मेदवारी दिएका थिए। एमालेको सहयोगमा चुनाव लडेका उनले ७ हजार ५ सय ३५ मत प्राप्त गरेका थिए।

मल्ल आफैँ यसपटक उम्मेदवार छैनन्। तर उनले नेतृत्व गरेको कांग्रेस बीपीले आगामी २१ फागुनको निर्वाचनमा निर्णायक भूमिका खेल्न सक्ने आँकलन भइरहेको छ। देउवा पहिलोपटक गृहमन्त्री बन्दा सचिवालयमा सजिलै नियुक्ति पाएका मल्ल देउवा दोस्रो पटक प्रधानमन्त्री हुँदा पनि नजिकै थिए। दुईपटक डडेल्धुरा कांग्रेस सभापति बनेका मल्ल २०७४ मा प्रदेशसभा सदस्यसमेत निर्वाचित भए । 

२०४८ देखि २०७४ सम्म भएका छ वटै निर्वाचनमा देउवाका चुनावी कमान्डरका रूपमा चिनिएका मल्लको राजनीतिक प्रभाव अझै जिल्लामा कायम रहेको बताइन्छ । भन्ने गरिन्छ- मल्ल लोकरिझ्याईमा चतुर नेता हुन्। 

डडेल्धुरामा यसपटक नयाँ राजनीतिक समीकरण र पुस्तान्तरणको परीक्षा हुदैछ । देउवाको उत्तराधिकारी महरको जित होला या अन्य कुनै नयाँ राजनैतिक शक्ति उदाउला ? २१ फागुनमा मतदाताले फैसला सुनाउनेछन्।

ओलीलाई पाण्डेको सुझाव : निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिनू

काठमाडौं । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले निर्वाचनको संवेदनशील समयमा पार्टीभित्र एकता र सामूहिक जिम्मेवारीलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् । उनले यस चरणमा नेतृत्वबाट आउने अभिव्यक्तिहरूले कार्यकर्ताको मनोबल खस्काउने होइन, झन् उत्साह र एकतामा बाँध्ने खालका हुनुपर्ने बताएका छन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले टिकट वितरणका विषयमा दिएको अभिव्यक्तिलाई संकेत गर्दै पाण्डेले सामाजिक सञ्जालमार्फत आफ्ना धारणा सार्वजनिक गरेका हुन् । उनले चुनावी माहोलमा आपसी टिप्पणी र सार्वजनिक न्यूनीकरणले पार्टीलाई कमजोर बनाउने चेतावनी दिँदै संस्थागत निर्णय र सामूहिक सोचको आधारमा अघि बढ्नु नै राजनीतिक परिपक्वता भएको उल्लेख गरेका छन् ।

पाण्डेले लेखेका छन्, ‘निर्वाचनको यो संवेदनशील घडीमा पार्टीलाई एकढिक्का बनाउनु हाम्रो प्रमुख जिम्मेवारी हो । नेतृत्वका भनाइहरूले कार्यकर्ताको मनोबल घटाउने होइन, सबैलाई जोड्ने ऊर्जा प्रदान गर्नुपर्छ । आफ्नै सहयोद्धाहरूलाई सार्वजनिक रूपमा कमजोर बनाउनुको सट्टा संस्थागत निर्णयको जगमा उभिएर बाह्य चुनौतीको सामना गर्नु नै सही बाटो हो ।’

टिकट वितरणप्रति असन्तुष्टि रहे पनि पार्टी निर्णयलाई संस्थागत रूपमा स्वीकार गरिसकेको स्पष्ट पार्दै पाण्डेले यस विषयमा अनावश्यक विवाद नगर्ने बताएका छन् । उनका अनुसार पार्टी हितका लागि टिकट वितरणको ‘क्याल्कुलेसन’ स्वीकार गरिएको हो, तर पूर्वाग्रही टिप्पणीहरूले एमालेको साझा लक्ष्य—चुनाव जित्ने संकल्प—लाई सहयोग नगर्ने उनको ठम्याइ छ ।

‘वैचारिक असहमति राख्ने साथीहरू पनि मेरो लागि उत्तिकै आदरणीय एमाले हुन्’, पाण्डेले भनेका छन्, ‘मत फरक हुँदैमा कसैप्रति पूर्वाग्रह राख्ने संस्कार मेरो राजनीतिक जीवनमा छैन ।’ उनले व्यक्तिगत टिप्पणीहरूको खण्डनमा समय खेर फाल्नुभन्दा अहिलेको प्राथमिकता एमालेका उम्मेदवारहरूलाई जिताउने र संगठनको साख जोगाउने रहेको बताएका छन् । त्यसका लागि आफू पूर्ण रूपमा चुनावी मैदानमा खटिइसकेको पनि उनले उल्लेख गरेका छन् ।

पाण्डेको सन्देश समग्रमा पार्टीभित्र एकता, संयमता र सामूहिक उत्तरदायित्वलाई केन्द्रमा राख्दै निर्वाचनमा केन्द्रित हुनुपर्ने आग्रहका रूपमा आएको छ । उनले चुनावी प्रतिस्पर्धालाई जितमा बदल्न नेतृत्वदेखि कार्यकर्तासम्म सबै एक ढिक्का भएर अघि बढ्नुपर्ने धारणा व्यक्त गरेका छन् ।

 

मन्त्री बनेकोबारे कुलमानको जवाफ : परिस्थितिले जिम्मेवारी लिन वाध्य बनायो

काठमाडौं । उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष तथा पूर्वमन्त्री कुलमान घिसिङले गैरदलीय अन्तरिम सरकारमा आफ्नो सहभागिताबारे उठिरहेका आलोचना र टिकाटिप्पणीप्रति धारणा सार्वजनिक गरेका छन् । सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आफूलाई लक्षित गर्दै फैलाइएका भ्रमपूर्ण टिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उनले सामाजिक सञ्जालमार्फत आफ्नो पक्ष राखेका हुन् ।

घिसिङका अनुसार अन्तरिम सरकारमा मन्त्री बन्नुअघि नै उनले तत्कालीन प्रधानमन्त्री सुशीला कार्कीसमक्ष गैरदलीय सरकारमा आफ्नो सहभागिता उपयुक्त नहुन सक्ने विषय स्पष्ट रूपमा राखेका थिए । तर आन्दोलनपछिको असहज राजनीतिक अवस्था, राज्य संरचनाको लगभग शून्य अवस्था र युवा पुस्ता—विशेषगरी जेनजी आन्दोलनमा सहभागी युवाहरूको आग्रहका कारण उनले जिम्मेवारी स्वीकार गरेको बताएका छन् ।

उनले लेखेका छन्, ‘गैरदलीय सरकार भएकाले मेरो सहभागिता उपयुक्त नहुन सक्छ भन्ने कुरा मैले सुरुमा नै सम्माननीय प्रधानमन्त्रीसमक्ष राखेको थिएँ । तर तत्कालीन परिस्थितिमा मेरो भूमिका आवश्यक रहेको र भविष्यमा राजनीतिमा प्रवेश गर्नुपरेमा राजीनामा दिएर जान सकिने आश्वासनपछि मैले जिम्मेवारी सम्हालेको हुँ ।’

घिसिङले प्रधानमन्त्री सुशीला कार्कीले पनि यस विषयलाई विभिन्न सार्वजनिक मञ्चहरूमा उल्लेख गर्दै आएको दाबी गरेका छन् । आन्दोलनपछि देशको प्रशासनिक र संरचनात्मक अवस्था कमजोर बनेको समयमा चुनौती स्वीकार गर्दै आफूले जिम्मेवारी लिएको र आफ्नो अडान स्पष्ट राखेर काम गरेको उनको भनाइ छ ।

राजनीतिक विवाद उठेपछि आफूले पदबाट राजीनामा दिएको स्मरण गराउँदै घिसिङले आफू पदलोलुप नभएको स्पष्ट पारेका छन् । ‘म पदको पछि लाग्ने व्यक्ति होइन, राज्यले दिएको जिम्मेवारी पूरा गर्ने मान्छे हुँ’, उनले लेखेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेको ११५ दिनको अवधिमा भएका कामहरूले आफ्नो जिम्मेवारीबोध प्रमाणित गर्ने घिसिङको दाबी छ ।

उनले आफ्नो विरुद्ध नियोजित रूपमा बदनाम गराउने उद्देश्यले फैलाइएका भ्रमपूर्ण प्रचार र टिकाटिप्पणीबाट प्रभावित नहुन आम नागरिकलाई आग्रह गरेका छन् । उज्यालो नेपाल निर्माणका लागि आफ्नो जीवन राजनीतिमा समर्पित गर्दै निरन्तर सक्रिय रहने प्रतिबद्धता पनि उनले दोहोर्‍याएका छन् ।

कार्यकर्ता फकाएर काठमाडौं फर्के ओली, पूर्वी पहाड घुम्दै ओलीको जन्मथलोमा बालेन

काठमाडौं । झापा क्षेत्र नम्बर ५ को राजनीतिक मैदान तातिएको छ । एकातिर आफ्नै कार्यकर्ताको असन्तुष्टि साम्य पार्न एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली गृह जिल्लामै ‘फायर फाइटिङ’ मा देखिएका छन् भने अर्कोतिर राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन्द्र साह (बालेन) धार्मिक यात्रा, सडक यात्रा र प्रतीकात्मक उपस्थितिमार्फत मतदातासम्म पुग्ने रणनीतिमा छन् ।

ओली : ‘कन्फर्ट जोन’ बाहिरको चुनाव
२०७४ मा ‘रतुवाको पाता कस्छु’ भन्ने एक वाक्यले चुनाव जितेका ओलीका लागि झापा–५ यस पटक सहज देखिएको छैन । रतुवा खोलामा पुल बनेपछि पुरानो चुनावी मुद्दा त सकियो, तर नयाँ चुनौती आफ्नै पार्टीभित्र देखिएको छ ।

माघ ५ गते चन्द्रगढी विमानस्थल हुँदै झापा पुगेका ओली आन्दोलनका क्रममा आगजनी भएपछि आफ्नो पुरानो निवासमा नबसी होटलबाटै कार्यक्रम सञ्चालन गर्न बाध्य भए । पत्नी राधिका शाक्यसहित आएका उनले उम्मेदवारी मनोनयनपछि अधिकांश समय वडा कमिटी, जनवर्गीय संगठन र स्थानीय कार्यकर्तासँग बिताए ।

दमक नगरपालिका, कमल गाउँपालिका, गौरादहका–८ र गौरीगञ्जका चार वडा समेटिएको क्षेत्रका २९ वटै वडा कमिटीसँग छलफल गर्दा कार्यकर्ताको स्वर एउटै थियो–नेताहरू गाउँ आउँदैनन्, अध्यक्ष घेराबन्दीमा पर्नु भएको छ ।

गौरादह–२ का वडा अध्यक्ष योगेन्द्र भण्डारीले ‘अघिल्ला चुनावभन्दा अवस्था कठिन भएको’ संकेत गरे भने वडा–८ का खेमराज अधिकारीले अध्यक्ष सीमित नेताको वरिपरि मात्र घुमिरहेको गुनासो राखे । ‘फोटो खिचेर फर्किने नेताले होइन, गाउँमा बसेर जवाफ दिने नेता चाहिएको छ’, उनको भनाइ थियो । युवा संघमा देखिएको असन्तोषले ओलीलाई थप दबाबमा पारेको छ । दमकका युवा संघ अध्यक्षले पार्टी छाड्दा, कमल गाउँपालिकामा पनि संगठनात्मक समस्या देखियो ।

‘दैनिक २ हजार ५ सय मान्छे भेट्छु’
आफूमाथि उठेका प्रश्नको जवाफ दिँदै ओलीले कार्यकर्तालाई आफ्ना सीमितता सुनाए । ‘दैनिक २ हजार ५ सय मान्छे भेट्नु पर्छ, तपाईंहरूसँग भेट भयो तर बात मार्न पाइनँ’, उनले महारानीझोडामा भने । भूगोलमा नआउने नेताको नाम खुलस्त भन्न कार्यकर्तालाई आग्रह गर्दै ओलीले ढोका बन्द गरेर भए पनि कुरा गर्न निर्देशन दिए । उनले राष्ट्रिय राजनीतितर्फ मोडिँदै यो चुनावलाई ‘देश बचाउने र देश जलाउनेबीचको लडाइँ’ को संज्ञा दिए ।

बालेन : यात्रामार्फत सन्देश
झापा–५ मा अर्का दाबेदार बालेन्द्र हाह भने फरक शैलीमा मैदानमा उत्रिएका छन् । उम्मेदवारी मनोनयनपछि पूर्वी पहाड केन्द्रित यात्रामा निस्किएका बालेन पाथिभरा दर्शनपछि तेह्रथुमको म्याङलुङ आइपुगेका छन् ।

बालेनलाई रास्वपाका स्थानीय नेता–कार्यकर्ताले म्याङलुङ नगरपालिका–१ मा स्वागत गरे । उनी त्यहाँ ब्लु हेबन होटलमा बास बसेका छन् । इलाम, फिदिम, ताप्लेजुङ हुँदै अघि बढेको यो यात्रालाई रास्वपाले ‘जनतासँग प्रत्यक्ष जोडिने अभियान’ को रूपमा प्रचार गरेको छ । भोलि धनकुटा हुँदै दमक पुगेर घरदैलो अभियान सुरु गर्ने कार्यतालिका छ ।

झापा–५ मा चुनावी कथा बदलिँदै
एकातिर लामो समयदेखि सत्ताको केन्द्रमा रहेका ओली संगठन जोगाउने र कार्यकर्ताको भरोसा फर्काउने संघर्षमा छन् । अर्कोतिर बालेन पुराना संरचनाभन्दा बाहिरको प्रतीकात्मक राजनीति र यात्रामार्फत नयाँ मतदाता तान्ने प्रयासमा छन् । झापा–५ को यो चुनाव अब पुल, सडक र बजेटको मात्र होइन–नेतृत्वको पहुँच, संगठनको भरोसा र राजनीतिक शैलीको टकराव बनेको छ ।

काठमाडौं -३ : अनुभवी फुयाँल र अर्याललाई घिसिङ, पाण्डे र लामाकाे कडा चुनौती

महाभिडन्त फागुन २१, काठमाडौं – ३

काठमाडौं । हालै राजनीतिमा प्रवेश गरेका कुलमान घिसिङ, काठमाडौँ महानगर प्रहरी बलका पूर्वप्रमुख राजुनाथ पाण्डे र बलियो जनाधार भएका रामेश्‍वर फुयाँल मैदानमा उत्रिएपछि काठमाडौं-३ को चुनावी प्रतिष्पर्धा रोचक हुने देखिएको छ। 

काठमाडौं–३ मा उज्यालो नेपाल पार्टी (उनेपा) बाट घिसिङ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट पाण्डे, नेकपा एमालेबाट फुयाँल, नेपाली कांग्रेसबाट रमेश अर्याल र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट निरज लामा उम्मेदवार छन्।

उनेपाका अध्यक्ष कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हुन्। उनको कार्यकालमा नेपालमा १८ घण्टा लामाे लोडसेडिङ अन्त्य भएको भन्दै उनी ‘सेलिब्रेटी’ भए । जेन-जी विद्राेहपछि बनेको अन्तरिम चुनावी सरकारमा उनी भौतिक पूर्वाधार तथा यातायात, ऊर्जा, जलस्रोत तथा सिचाइँ र शहरी विकास मन्त्रीसमेत बने। तर, चुनाव केन्द्रित राजनीतिमा सक्रिय हुन उनले मन्त्री बनेको ११५ दिनमै राजीनामा दिएका थिए।

अहिले उनी काठमाडौं–३ मा चुनावी प्रचारमा सक्रिय छन् र यो क्षेत्रमा प्रभावशाली उम्मेदवारका रूपमा देखिएका छन्।

यसअघि २०७९ को आमनिर्वाचनमा उनी माओवादी केन्द्रबाट चुनाव लड्ने चर्चासमेत चलेको थियो। माओवादी केन्द्रले आफ्नो प्रचार सामग्रीमा घिसिङको तस्बिर प्रयोग गरेको विषय पनि निकै चर्चामा आएको थियो।

रास्वपाबाट उम्मेदवार बनेका राजुनाथ पाण्डे पनि काठमाडौं–३ का चर्चित उम्मेदवारमध्ये एक हुन्। उनी काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख तथा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ निकट व्यक्ति मानिन्छन्।

महानगरभित्र अवैध संरचना हटाउने अभियानमा उनले बालेनलाई साथ दिएको भन्दै चर्चामा आएका थिए। महानगर प्रहरी सेवाबाट राजीनामा दिएर राजनीतिमा प्रवेश गरेका पाण्डे फुटपाथ व्यवसायी र ठेलागाडा हटाउने अभियानमा संलग्‍न भएको भन्दै आलोचित पनि छन् । यद्यपि, उनी बालेन टिमको प्रतिनिधिका रूपमा रास्वपाका बलियो उम्मेदवार मानिएको छ।

नेकपा एमालेका उम्मेदवार रामेश्‍वर फुयाँल भने काठमाडौं-३ का रैथाने र अनुभवी नेता हुन्। स्थानीय जनजीवनसँग नजिक भएर काम गरेको छवि बनाएका फुयाँल एकपटक बागमती प्रदेश सरकारमा भौतिक पूर्वाधार मन्त्रीसमेत भइसकेका छन्। एमालेको परम्परागत आधार क्षेत्र मानिने काठमाडौं–३ मा उनको संगठनात्मक पकड बलियो मानिन्छ। नयाँ र चर्चित अनुहारबीच उनलाई कडा प्रतिस्पर्धा गर्न सक्ने उम्मेदवारका रूपमा हेरिएकाे छ । 

फुयाँल २०६४ सालको संविधानसभा निर्वाचनमा यही क्षेत्रबाट पराजित भएका थिए भने २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा विजयी भएका थिए।

नेपाली कांग्रेसका उम्मेदवार रमेश अर्याल पनि कमजोर प्रतिस्पर्धी होइनन्। उनले २०७४ सालको स्थानीय तह निर्वाचनमा गोकर्णेश्‍वर नगरपालिका–६ मा वडाध्यक्ष जितेका थिए। युवा, स्वच्छ छवि र स्थानीय राजनीतिमा अनुभव भएका अर्यालले काठमाडौं–३ मा कडा प्रतिस्पर्धा गर्ने ठानिएकाे छ।

त्यस्तै, नेकपाबाट उम्मेदवार बनेका युवा नेता निरज लामा पनि काठमाडौं–३ का युवामाझ लोकप्रिय छन्। उनी तत्कालीन नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटी सदस्य थिए ।

काठमाडौँ–३ अन्तर्गत गोकर्णेश्‍व र नगरपालिका, कागेश्‍वरी मनोहरा नगरपालिकाका वडा नम्बर १, २ र ३ तथा काठमाडौँ महानगरपालिकाको वडा नम्बर ६ पर्दछन्।

यस्तो छ, काठमाडौं-३ को इतिहास 

इतिहास हेर्दा काठमाडौं–३ एमालेको आधार क्षेत्र देखिन्छ। २०४८ यताका सातवटा संसदीय निर्वाचनमध्ये एमालेले पाँचपटक जित हासिल गरेको छ भने कांग्रेसले दुईपटक मात्रै जितेको छ।

२०४८ मा एमालेका पद्‍मरत्‍न तुलाधार विजयी भए भने २०५१ को मध्यावधि निर्वाचनमा मनमोहन अधिकारी निर्वाचित भए। २०५६ मा ईश्‍वर पोखरेलले विजय हासिल गरे। 

२०६४ मा कांग्रेसले विजय हासिल गरे पनि २०७० र २०७४ मा एमालेले पुनः जित निकालेको थियो। २०७९ को निर्वाचनमा भने कांग्रेसका सन्तोष चालिसे विजयी भएका थिए।

यसपटक कांग्रेस र एमालेका परम्परागत बलियो आधारसँगै उनेपा र रास्वपाका चर्चित अनुहार मैदानमा उत्रिएका छन्। काठमाडौं–३ मा कसले बाजी मार्ने हो भन्‍ने चासो उत्कर्षमा पुगेको छ। यसको फैसला भने २१ फागुनको मत परिणाम सार्वजनिक भएपछि मात्रै स्पष्ट हुनेछ।

हर्क नेम्बाङ ‘मिक्सो’का नारा कम, काम बढी : पाँचथरमा बन्दैछ ‘बेदागी’ मिक्सोका जनआधार

काठमाडौं । भीड छैन। तडकभडक छैन। चर्को नारा र माइकको होहल्ला पनि छैन। तर, जहाँ हर्क नेम्बाङ ‘मिक्सो’ पुग्छन्, त्यहाँ मतदाताको अनुहारमा अपनत्व देखिन्छ। कोही फूलमाला लगाइदिन्छन्, कोही हात समाउँदै भन्छन्- “मिक्सो सर, यसपालि भोट तपाईंलाई नै हो।”

यतिबेला पाँचथरका गाउँ–गाउँमा फैलिएको यही दृश्य सामाजिक सञ्‍जालमा पनि देखिन थालेको छ। मिक्सोका लागि यो चुनाव प्रचारभन्दा बढी विश्‍वासको पुनःपुष्टि हो।

यही जनविश्‍वासकै बीच हालै नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनलाई फोन गरेर जितको शुभकामना दिए।

पाँचथरमा मिक्सोले बनाएको छविको प्रशंसा गर्दै प्रचण्डले भने, ‘तपाईंले जुन इमेज बनाउनुभएको छ नि जिल्लामा पनि प्रदेशमा पनि, धेरै राम्रो छ । त्यो धेरै राम्रो छ । ‘तपाईंले जित्‍नुपर्छ, जित्‍नुहुन्छ, लाग्‍नुहोस् ।’

मिक्सो पाँचथरे जनतासँग २७ वर्षदेखि सँगसँगै छन्। उनी जनताको दुःखलाई आफ्नै ठान्छन्। बिरामी पर्दा उपचारका लागि अस्पताल पुर्‍याउन सहजीकरण गरिदिने, बाढी-पहिरोले आक्रान्त बस्तीमा राहत लिएर पुग्‍ने, यिनै कामले उनको राजनीति जनसेवामा आधारित रहेको देखाउँछ । उनका लागि राजनीति कहिल्यै पद, सुविधा वा सत्ताको सिँढी बनेन।

“म सत्तामा पुगेको छैन,” मिक्सो भन्छन्, “तर म दाबीका साथ भन्‍न सक्छु—अरू पार्टीका धेरै नेताभन्दा कयौँ गुणा राम्रो काम मैले गरेको छु, मैले गरेका कामहरू गन्‍न थाले डायरीमा अँट्दैनन् ।”

उम्मेदवार भएपछि मात्रै जनता सम्झिने चलन राजनीतिमा सामान्य बन्दै गएको छ। तर, मिक्सो सधैँ जनताको घरआँगनमै देखिन्छन्।

यही जनसेवाको यात्राबाट उनले अब पहिलोपटक प्रतिनिधिसभा पुग्‍ने आकांक्षा राखेका छन्। आगामी २१ फागुनमा हुने निर्वाचनका लागि उनी फेरि जनतामाझ पुगेका हुन्।संसद् उनको अन्तिम लक्ष्य भने होइन। उनी भन्छन्- यो त जनताको आवाज अझ बलियो बनाउने अर्को माध्यम मात्रै हो।

पाँचथरको विकास र समृद्धि मिक्सोको प्रमुख एजेन्डा हो। त्यसैले चुनावी अभियानका क्रममा उनी भाषणभन्दा बढी सुन्‍ने भूमिकामा देखिन्छन्। गाउँटोलमा पुगेर जनताको समस्या टिपोट गर्छन् र समाधानका प्रतिबद्धता व्यक्त गर्छन्। यही कारण युवा तथा परिवर्तन चाहने मतदाताले उनलाई भावी सांसदका रूपमा हेर्न थालेका छन्।

पाँचथरका किसान, मजदुर, उद्योगी, व्यापारी, सामाजिक कार्यकर्ता, शिक्षक, कर्मचारीदेखि युद्धका घाइते र बेपत्ता परिवारका सदस्यहरूका लागि मिक्सो केवल उम्मेदवार होइनन्-आफ्नो आवाज संसद् पुर्‍याउने भरोसाको नाम हुने देखिएको छ ।

अब प्रश्‍न एउटै छ- मिक्सोले २७ वर्षे संघर्ष, त्याग र जनसेवाको यात्रालाई २१ फागुनमा पाँचथरवासीले मतपेटिकामार्फत कहाँ पुर्‍याउनेछन् ? त्यसको उत्तर भने मतपेटिकामा देखिने छ ।

विकासमा मिक्सो नाम

तत्कालीन नेकपा माओवादी केन्द्रका अर्थमन्त्री जनार्दन शर्मा हुँदा मिक्सोले प्रमुख स्वकीय सचिवको जिम्मेवारी सम्हाले।

त्यतिबेला अलपत्र अवस्थामा रहेको बहुआयामिक महत्वको तमोर कोरिडोर उनका लागि प्राथमिकता बन्यो। अर्थमन्त्रीसँगको समन्वयमा उनले ६ अर्ब रुपैयाँ बजेट सुनिश्‍चित गराए। राष्ट्रिय गौरवका आयोजनाबाहेक अन्य कोरिडोरमा यति ठूलो बजेट विनियोजन दुर्लभ मानिन्छ।

६ अर्ब बजेटकै कारण तमोर कोरिडोर कालोपत्रे भयो। धरानदेखि पाँचथर–ताप्लेजुङ जोड्ने यो सडक अहिले पूर्वी पहाडको जीवनरेखा बन्दै गएको छ। लखुवा, नावाखोला, छरुवा र रगुवामा अझै पुल निर्माण बाँकी भए पनि सामान्य अवस्थामा सवारी आवागमन नियमित छ।

यसका साथै फिदिमको शिवालय मन्दिरदेखि गोरुवालेसम्मको सडक निर्माणका लागि पनि मिक्सोले बजेट सुनिश्‍चित गराए। यस सडकले जिल्लाको उत्तरपूर्वी भेगका जनतालाई सदरमुकामसँग सिधा जोडेको छ। साना सडक, सिँचाइ कुलो, खानेपानी आयोजना र पुल निर्माणमा बजेट व्यवस्थापन गराउने उनको भूमिका स्थानीयले स्मरण गर्छन्।

यसरी पाँचथरको विकाससँग मिक्सो नाम जोडिँदै गएको छ। अब उनी विकासको योजनाकार मात्रै होइन, नीति निर्माण गर्ने थलो संसद्‍मा पुगेर जिल्लाको नेतृत्व गर्ने तयारीमा छन्।

बेदागी नेम्बाङ

नेम्बाङ पाँचथरमा ‘बेदागी’ कम्युनिस्ट नेताका रूपमा चिनिन्छ। उनको राजनीतिक यात्रा १० वर्षे माओवादी जनयुद्धसँग जोडिएको छ। जनमुक्ति सेनाबाट आन्दोलनमा प्रवेश गरेका उनले विभिन्‍न मोर्चामा युद्ध लडेका छन्।

१५ भदौ २०५९ मा ओखलढुंगाको रुम्जाटार मोर्चामा उनी गम्भीर रूपमा घाइते भएका थिए। जनमुक्ति सेनामा रहँदा उनी कम्पनी भिसीसम्मको जिम्मेवारीमा पुगेका थिए।

नेम्बाङ २०६० सालदेखि पार्टी संगठनमा पूर्ण रूपमा सक्रिय भए। २०६१ सालमा पाँचथर पार्टी सचिव हुँदै इञ्‍चार्जको जिम्मेवारी सम्हालेका उनी २०६३ सालमा धनकुटा इञ्‍चार्ज बने। माओवादी केन्द्रमा रहँदा उनी पोलिटब्युरो सदस्यसमेत भएका थिए ।

पछिल्लो समय कोशी प्रदेशमा सम्पन्न स्थानीय तह उपनिर्वाचन र स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा माओवादीले अपेक्षाभन्दा राम्रो नतिजा निकाल्दा नेम्बाङको नेतृत्व भूमिकाको पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुलेर प्रशंसा गरेका थिए। संगठन सुदृढीकरण र चुनावी व्यवस्थापनमा उनले खेलेको भूमिकालाई निर्णायक मानिएको थियो।

नेम्बाङको घर पाँचथरको लुङरुपा हो, जसलाई जिल्लामा माओवादी आन्दोलनको ‘लालकिल्ला’का रूपमा चिनिन्छ।

जनयुद्धदेखि शान्ति प्रक्रियासम्म र संगठन निर्माणदेखि निर्वाचन व्यवस्थापनसम्म निरन्तर सक्रिय रहेका नेम्बाङलाई यसपटक पार्टीले संसदीय प्रतिस्पर्धामा उतार्नुलाई पाँचथरको राजनीतिमा अर्थपूर्ण रूपमा हेरिएको छ।

मिक्सोलाई कांग्रेस सभापतिको पनि शुभकामना

नेपाली कांग्रेस पाँचथरका सभापति रुपनारायण जबेगूले नेकपा उम्मेदवार नेम्बाङले शुभकामना दिएका छन् ।

खादा लगाइदिँदै जबेगूले नेम्बाङलाई भनेका छन्, ‘लु शुभकामना । राजनीति यस्तै हो । याङ्नाममा पनि कुद्‍दै हुनुहुन्छ थाहा पाएँ ।’

जबेगू पनि पाँचथरमा सुसंस्कृत राजनीति गर्ने कांग्रेस नेता हुन् । उनले प्रतिस्पर्धी दल नेकपामा उम्मेदवार मिक्सोलाई शुभकामना दिनु अर्थपूर्ण रूपमा हेरिएको छ ।

मिक्सो र जबेगू जिल्लाको फिदिम नगरपालिकावासी हुन् । जबेगूको फिदिम नगरपालिकाकै याङ्नाम र मिक्सो लुङ्‍रुपाका हुन् । भिन्‍नभिन्‍न दलका मिक्सो र जबेगूको यो राजनीतिक सौहार्दताले पाँचथरमा अन्तरपार्टीमा सुसंस्कृत राजनीति रहेको देखाउँछ ।

 

उम्मेदवारी खारेजीविरुद्ध रेशम चौधरी पुगे सर्वोच्च

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी नेपालका अध्यक्ष रेशमलाल चौधरीले उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् । निर्वाचन अधिकृतले गैरकानुनीरुपमा आफ्नो उम्मेदवारी रद्द गरेको दाबीसहित चौधरीले निर्वाचन अधिकृतको कार्यालय, कैलाली क्षेत्र नम्बर २ का निर्वाचन अधिकृतको निर्णय बदर हुनुपर्ने माग गरेका हुन् । उनले आफ्नो उम्मेदवारी कायम गरिदिनु भनि अन्तरिम आदेशको माग गरेका छन् ।

उनले आफ्नो उम्मेदवारी यथावत रहँदै निर्वाचनमा प्रतिष्पर्धा गर्न पाउनुपर्ने माग समेत गरेका छन् । चौधरीको निवेदन शुक्रबार दर्ता भएको र आइतबार सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइ हुने सर्वोच्च अदालतले जनाएको छ । जन्मकैदको सजाय पाएर राष्ट्रपतिबाट माफी मिनाहा भए पनि कसुर र कैदको अभिलेख हुने भन्दै निर्वाचन अधिकृतको कार्यालयले चौधरीको उम्मेदवारी रद्द गरेको थियो । उनले कैलाली–१ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएका थिए ।

महावीर पुनलाई त्रिभुज चुनाव चिन्ह

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा म्यादीबाट स्वतन्त्र उम्मेदवारी दिएका महावीर पुनले चुनाव चिन्ह पाएका छन् । निर्वाचन आयोगले आज पुनलाई त्रिभुज चुनाव चिन्ह पाएका हुन् । शिक्षामन्त्रीबाट राजीनामा दिएर पुन म्यादीवाट चुनाव लड्न लागेका हुन् । त्रिभुज चुनाव चिह्न पाएपछि उनले भनेका छन्, ‘महावीर पुनको चुनाव चिह्न आयो। नेपाल भरिका स्वतन्त्र उम्मेदवारहरूले यही चिह्न लिए हुन्छ ।’

उनले शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उक्त चुनाव चिह्न रोजेका हुन् । आयोगले कुनै–कुनै चिह्न प्रयोग गर्न नमिल्ने भनेर त्यस्तो सूचीको रुपमा सूचीबद्ध गरेको छ । निर्वाचन आयोगले प्रयोग गर्न मिल्ने भनेर उपलब्ध गराएको चिह्नमा रोज्न सकिनेछ ।

२१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ ३ हजार ३८७ जनाको उम्मेदवारी परेको छ । यसमध्ये एक तिहाइ स्वतन्त्र उम्मेदवार रहेका छन् भने बाँकी दलीय उम्मेदवार छन् । निर्वाचन आयोगका अनुसार स्वतन्त्र उम्मेदवारी दिनेको संख्या १ हजार १८८ रहेको छ । यो कूल उम्मेदवारको ३४.०६९ प्रतिशत हो । बाँकी २ हजार २९९ जना दलगत उम्मेदवार छन् । उम्मेदवारको यही ६ माघमा भएको हो । आज चुनाव चिह्न वितरणको कार्यतालिका छ । दलीय उम्मेदवारको भने दलकै चुनाव चिह्न हुन्छ ।

 

आगामी निर्वाचनमा केन्द्रिय संसदीय बोर्डले उम्मेद्वार छान्दैन : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी निर्वाचनबाट केन्द्रिय संसदीय बोर्डले उम्मेद्वार चयन नगर्ने बताएका छन् । पार्टी कार्यलय सानेपामा सम्बोधन गर्दै उनले आगामी निर्वाचनमा सम्बन्धित निर्वाचन क्षेत्रमा नै उम्मेद्वार चयन हुने बताएका हुन् ।

उनले सोही क्षेत्रका पार्टी कार्यकर्ता र आम मतदाताले प्राईमरी इलेक्सनबाट उम्मेदवार छान्ने दाबी गरे । यस पटक भने समयको अभावको कारण प्राईमरी इलेक्सनमार्फत उम्मेद्वार छान्न नसकिएको उनको भनाई छ । उनले समयको चापको कारण उम्मेद्वारी चयन प्रक्रियालाई अझै समावेशी र सन्तुलन बनाउन नसकिएको बताए ।

उनले भने, ‘हामी १६५ निर्वाचन क्षेत्रमा नै त्यही क्षेत्रभित्रको उम्मेद्वारी चयन गर्ने प्रक्रिया टुगिनु पर्छ भन्ने मत राख्छौँ । यसका निम्ति हामीले अहिले विधानमा संशोधन पनि गरेका छौँ । अर्को पटकदेखि कांग्रेसको उम्मेद्वार यसरी चयन हुँदैन । उम्मेद्वार त्यहीका पार्टी सदस्य, आम नागरिकले मतदान गरेर तलै चयन हुन्छ । तर यो पटक हामीसंग त्यो समयको सुविधा थिएन ।’

उनले भने, ‘हामीले ४ गते जम्मा यो कामको थालनी गरेका हौँ, ६ गते उम्मेद्वारी दर्ताको समय थियो । अब हामी फर्केर प्राईमरी गर्छौ भन्ने अवस्था थिएन । समयको चापमा काम गर्दैगर्दा कतिपय ठाउँहरुमा हामीले चाहेको भन्दा हामीले फरक ढंगले निर्णय गर्न सक्थ्यौँ भन्ने लाग्दालाग्दै पनि सकेनौँ । हामीसँग समय भएको भए यो भन्दा समावेशी बनाउन सक्थ्यौ ।’ उनले विशेष महाधिवेशन आफूहरुले आफ्नो लागि नभई नागरिकको कांग्रेस बदलिनै पर्छ भन्ने आवाज र पुकारलाई सम्मान गरेर गरिएको बताए ।

 

नेकपालाई जनताले पहिलो पार्टी बनाउन चाहेका छन् : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आसन्न निर्वाचनमा जनताले आफ्नो पार्टीलाई विजयी गराउन चाहेको दाबी गरेका छन् । शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । सहसंयोजक नेपालले नेपाली कम्युनिष्ट पार्टी (नेकपा) लाई पहिलो पार्टी बनाउन देशभर लहर नै चलेको जिकिर समेत गरे । उनले युवा पुस्ताको चाहना र नेपाली जनताको भावनाअनुसार काम गर्ने भएकाले पनि नेपाली जनताले आफ्नो पार्टीलाई रुचाएको बताए ।

उनले भने, ‘चुनावमा जनताले जिताउन चाहेका छन् नेपाली कम्युनिष्ट पार्टीलाई । सबैभन्दा ठूलो नम्बर एक पार्टीको रुपमा यसलाई विजयी बनाउनका लागि मेचीदेखि महाकालीसम्म एउटा अभियान चलिरहेको छ । लहर चलिरहेको छ । त्यसको अगुवाई ओखलढुंगाले गर्नुपर्छ । यतिकै भनिएको होइन मेरो प्यारो ओखलढुंगा । यो जिल्लाले पूर्वलाई पनि तरंगित गर्नेछ, पश्चिमलाई पनि तरंंगित गर्नेछ । हिमाल, पहाड तराई सबैलाई तरंगित गर्नेछ । यसले अहिलेको चुनावमा कीर्तिमान त कायम गर्छ । जनताको भावनाअनुसार हामी काम अघि बढाउनेछौँ ।’ सहसंयोजक नेपालले जेन–जी पुस्ताको भावनाअनुसार आफूहरु अघि बढिरहेको पनि दाबी गरे ।

 

गगनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा औपचारिक रूपमा अघि सारेको छ । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले यो निर्णय गरेको हो ।

बैठकपछि उपसभापति विश्वप्रकाश शर्माले जानकारी दिँदै उपसभापति शर्माकै प्रस्ताव र उपसभापति पुष्पा भुसालको समर्थनमा सभापति थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय भएको बताए । विगतमा निर्वाचन सम्पन्न भएपछि संसदीय दलको नेता चयन गर्ने परम्परा रहँदै आएको भए पनि यसपटक मतदातालाई स्पष्ट सन्देश दिन र निर्णय गर्न सहज बनाउने उद्देश्यले निर्वाचनअघि नै प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरिएको उनले स्पष्ट पारे ।

कांग्रेसले यस निर्णयलाई केवल राजनीतिक रणनीति मात्र नभई मतदातामैत्री अभ्यासका रूपमा व्याख्या गरेको छ । ‘कुन पार्टीलाई मत दिँदा कसलाई नेतृत्व सुम्पिँदैछ भन्ने कुरा मतदाताले पहिले नै थाहा पाउनु पर्छ’, शर्माले भने, ‘यसले लोकतान्त्रिक अभ्यासलाई अझ पारदर्शी बनाउँछ ।’

पाँच मापदण्डमा गगन थापा चयन
कांग्रेसले सभापति थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउँदा पाँचवटा मुख्य मापदण्ड तय गरेको जनाएको छ । ती मापदण्डमा व्यक्तिको पृष्ठभूमि, राजनीतिक संस्कार, पार्टी र देशप्रति योगदान, योग्यता तथा दीर्घकालीन भिजन रहेका छन् ।

उपसभापति शर्माका अनुसार यी सबै सूचकमा गगन थापा अन्य समकालीन उम्मेदवारभन्दा अब्बल देखिएकाले पार्टीले उनलाई अघि सारेको हो । ‘अहिले विभिन्न दलबाट प्रधानमन्त्रीका नाम सार्वजनिक भइरहेका छन्, तर कांग्रेसले अघि सारेको उम्मेदवार सबै हिसाबले सक्षम र भरोसायोग्य हुनुहुन्छ’, उनले दाबी गरे ।

राजनीतिक प्रतिष्पर्धाको नयाँ चरण
प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने होडमा अन्य दलहरू पनि देखिएका छन्। एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई अघि सारेको छ भने रास्वपाले वरिष्ठ नेता बालेन शाहलाई भावी नेतृत्वको रूपमा प्रस्तुत गरेको छ । यस्तो अवस्थामा कांग्रेसको निर्णयलाई आगामी निर्वाचनमा स्पष्ट नेतृत्वको एजेन्डासहित मैदानमा उत्रिने प्रयासका रूपमा हेरिएको छ । सभापति गगन थापा आगामी प्रतिनिधि सभाको निर्वाचनमा सर्लाहीबाट उम्मेदवार बन्ने तयारीमा छन् । कांग्रेसको यो कदमले चुनावी बहसलाई नीतिगत र नेतृत्व केन्द्रित बनाउने अपेक्षा गरिएको छ ।

अध्यक्षको कुराबाट चिन्तित र दुःखी छु : योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओलीको कुराबाट आफू चिन्तित र दुःखी रहेको बताएका छन् । उपमहासचिव भट्टराईले ताप्लेजुङ, काभ्रेपलाञ्चोक–२ आदि क्षेत्रमा टिकट वितरणका सन्दर्भमा अध्यक्ष ओलीले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन् ।

‘फागुन २१ सम्म पार्टीका आन्तरिक विषयमा सार्वजनिक बहस गर्न चाहन्नँ । मेरो मिसन सूर्य चिह्न र नेकपा एमाले हो । नो इफ, नो बट म विचलित र निरास छैन । यत्ति भन्छु– अध्यक्षको कुराबाट चिन्तित छु, दुःखी छु । कसैले पनि जितको ग्यारेन्टीसहित लिखित कागज गरेर टिकट लगेको होला भन्ने मलाई विश्वास छैन,’ उनले भनेका छन् ।

भट्टराईले ताप्लेजुङबाट टिकट पाएनन् । उनको सट्टा त्यहाँ राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेवेलाई उम्मेदवार बनाइएको छ । काभ्रे–२ मा अशोक ब्याञ्जुलाई उम्मेदवार बनाइएको छ । अन्यत्र पनि अध्यक्ष ओलीले टिकट वितरणमा एकलौटी गरेको इतर समूहको आरोप छ ।