`

मारवाडीको घरमा संचालित जुवाको खालबाट ९ जना पक्राउ

मोरङ। मोरङमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले ९ जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले विराटनगर महानगरपालिका-२ स्थित मारवाडी समुदायका बंशी राठीको घरमा शनिबार छापा हानेर ३९ वर्षीय बलराम राठीसहित ९ जनालाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार उनीहरूको साथबाट ९२ हजार ६ सय ४५ रुपैयाँ नगद र पाँच बुक तास बरामद गरिएको छ।

ओलीकाे रिहाइको माग गर्दै ओलीपत्नी सर्वोच्चमा:बन्दी प्रत्यक्षीकरण निवेदन पेस

काठमाडौं। जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ प्रतिवेदनका आधारमा पक्राउ परेका पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको रिहाइको माग गर्दै उनकी पत्नी राधिका शाक्यले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण निवेदन पेस गरिसकेकी छिन्। सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेका अनुसार उक्त निवेदन अध्ययनको क्रममा रहेको छ।

आज निवेदन दर्ता भएमा भोलि नै सुनुवाइ हुने सम्भावना रहेको छ।

यसैबीच,पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकको रिहाइको माग गर्दै  सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दायर गर्ने तयारी गरिएको छ।

वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले रिट दायरका लागि सबै तयारी पूरा भइसकेको र अपराह्न २ बजेपछि दर्ता गरिने बताएका हुन् ।

हाल ओली-लेखक जनालाई काठमाडौं जिल्ला अदालतमा म्याद थपका लागि लगिएको छ, र म्याद थप प्रक्रिया सकिएपछि रिट दायर गरिने बताइएको छ।

भदौ २३ को प्रतिवेदन कार्यान्वयन गर्न गृहले पठायो प्रहरीमा

काठमाडौं। सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा गठित जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनका लागि जिल्ला प्रहरी परिसर काठमाडौंलाई हस्तान्तरण गरेको छ।

भदौ २३ र २४ मा भएको जेन–जी आन्दोलनका घटनाबारे छानबिन गर्न बनेको उक्त आयोगले आफ्नो प्रतिवेदन तत्कालीन प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारलाई बुझाएको थियो।

सो प्रतिवेदन कार्यान्वयनका लागि गृह मन्त्रालयमार्फत परिसरमा पठाइएको परिसर प्रमुख एसएसपी रमेश थापाले जानकारी दिएका छन्।

मधेश प्रदेश सभा आज बस्दै

जनकपुरधाम । मधेश प्रदेश सभाको बैठक आज बस्ने भएको छ। लामो समयदेखि स्थगित रहेको बैठक आज पुनः बस्न लागेको हो।

छैटौँ अधिवेशनअन्तर्गत आज १४औँ बैठक बस्नेछ। बैठक दिउँसो १ बजेका लागि आह्वान गरिएको छ।

बैठक मधेश प्रदेश सभाकै भवनमा बस्नेछ।

 

काठमाडाैं जिल्ला अदालत पुगे रवि

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने तारेख बुझ्न काठमाडौं जिल्ला अदालत पुगेका छन् ।

सहकारी प्रकरणको मुद्दामा तारेख बुझ्न लामिछाने आइतबार बिहान काठमाडौं जिल्ला अदालत पुगेका हुन् ।

ओलीलाई ‘भिडियो कन्फ्रेन्सिङ’बाट अदालतमा उपस्थित गराउने तयारी (भिडियो)

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई अदालतमा उपस्थित गराउन भर्चुअल (भिडियो कन्फ्रेन्सिङ) माध्यम प्रयोग गर्ने तयारी गरिएको छ। स्वास्थ्य अवस्था कमजोर भएका कारण उनलाई भौतिक रूपमा अदालतमा ल्याउन नसकिने भएपछि यस्तो विकल्प अपनाउन लागिएको हो।

शनिबार(हिजो) बिहान गुन्डुबाट पक्राउ परेका ओलीलाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ। शनिबार साँझ र आइतबार बिहान गरिएको स्वास्थ्य परीक्षणपछि चिकित्सकहरूले उनलाई अस्पतालमै राख्न सुझाव दिएका थिए।

यही सिफारिसका आधारमा सरकारी वकिल कार्यालयले भिडियो कन्फ्रेन्सिङमार्फत अदालतमा उपस्थित गराउने तयारी थालेको स्रोतले जनाएको छ।

यसैबीच, काठमाडौं जिल्ला अदालत र जिल्ला प्रहरी परिसर काठमाडौं वरपर ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

उता, शनिबार पक्राउ परेका पूर्वगृहमन्त्री रमेश लेखकलाई भने अदालतमा उपस्थित गराइसकिएको छ।

ओली र लेखक दुवै जनालाई भदौ २३ गते भएको जेनजी आन्दोलन दमनसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा पक्राउ गरिएको हो।

पेरिसडाँडामा नेकपाले बोलायो संसदीय दलको बैठक:प्रचण्ड दलको नेता हुने पक्कापक्की

काठमाडौँ । फागुन २१ मा सम्पन्न निर्वाचनमा प्रत्यक्ष ८ र समानुपातिक ७ गरि  गते १७ सिट जितेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले संसदीय दलको बैठक बोलाएको छ। आइतबार(आज) दिउँसो १ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा दलको बैठक बस्ने भएको हो।

आज बस्ने बैठकले दलको नेता पनि चयन गर्न सक्ने  नवनिर्वाचित सांसद रमेश मल्लले जानकारी दिए । उनले पार्टीले संसदीय दलको नेता प्रचण्ड हुने लगभग पक्कापक्की रहेको समेत जिकिर गरेका छन्।

उनले भने ‘संसदीय दलको बैठकले दलको नेता पनि चयन गर्न सक्छ । प्रचण्ड दलको नेता हुनेमा कुनै दुबिधा छैन।’

कार्यान्वयनका लागि प्रहरी परिसर पुग्यो कार्की आयोगको प्रतिवेदन

काठमाडौँ । गत भदौ  २३ र २४  गते भएको घटनाको छानबिन गर्न गठन गरिएको जाँचबुझ आयोगको प्रतिवेदन जिल्ला प्रहरी परिसर काठमाडौंमा पुगेको छ। पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा तयार गरिएको उक्त प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय सरकारले यसअघि नै गरिसकेको थियो।

निर्णयपछि प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट गृहमन्त्रालयमा पठाइएको थियो। गृहमन्त्रालयले त्यसलाई कार्यान्वयनका लागि प्रहरी प्रधान कार्यालयमा पठायो। त्यहाँबाट काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरी हुँदै अन्ततः जिल्ला प्रहरी परिसर काठमाडौंमा प्रतिवेदन आइपुगेको हो।

परिसर काठमाडौंका प्रवक्ता तथा एसपी पवनकुमार भट्टराईले प्रतिवेदन प्राप्त भइसकेको र अब  कार्यान्वयन आवश्यक  प्रक्रिया अघि बढाइने बताएका छन् । उनले भने  ‘हामी कहाँ प्रतिवेदन आइपुगेको छ । अब कार्यान्वयनको चरणमा जान्छौं।’

उक्त प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय भएसँगै शनिबार (हिजो)  बिहानै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् ।

अन्य सुरक्षा निकायका सम्बन्धमा भने थप अनुसन्धानपछि मात्र आवश्यक कारबाही गरिने बताइएको छ। 

जनेजी आन्दोलनमा भएको हत्याको घटनाका सम्बद्ध रहेको भन्दै कार्की आयोगले ज्यानसम्बन्धी कसुरमा कारबाही गर्न ओली–लेखकलाई सिफारिस गरेको थियो ।

वीरगञ्ज नाकाबाट २ हजार एलपी ग्यास भित्रीए

पर्सा। पर्साको वीरगञ्ज नाका हुँदै पछिल्लो करिब डेढ महिनामा २ हजार १३६ वटा एलपी ग्यास बुलेट नेपाल भित्रिएका छन्। पश्चिम एसियाली देशहरूमा देखिएको संकटका कारण नेपालसहित विभिन्न मुलुकमा एलपी ग्यासको आपूर्तिमा दबाब देखिएको अवस्थामा आयात बढेको हो।

भन्सार कार्यालयका अनुसार फागुन महिनामा मात्रै १ हजार ५६० वटा ग्यास बुलेट वीरगञ्ज नाका हुँदै भित्रिएका छन्। एकीकृत भन्सार जाँचचौकी व्यवस्थापन गर्दै आएको टीआरएस हिमायन लजी पार्कका अपरेसन हेड गणेश घिमिरेले फागुनदेखि चैत १३ गतेसम्म २ हजार १३६ वटा बुलेट भित्रिएको जानकारी दिए।

उनका अनुसार माघ महिनामा १ हजार ४०३ वटा बुलेट आयात भएको थियो भने चैत १३ सम्म थप ५७६ वटा बुलेट भित्रिइसकेका छन्।

वीरगञ्ज भन्सार कार्यालयका तथ्यांकअनुसार चालु आर्थिक वर्षको सात महिनामा यस नाकाबाट २० अर्ब ८५ करोड रुपैयाँ बराबरको २० करोड २८ लाख २० हजार ९३२ किलो एलपी ग्यास आयात भएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भने २४ अर्ब ६ करोड रुपैयाँ मूल्य बराबरको २१ करोड ४२ हजार ७८१ किलो ग्यास आयात भएको थियो।

 

दुईवटा दुर्घटनामा दुई जनाको मृत्यु

काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोकमा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। 

बनेपा नगरपालिका–३ तीनघरेमा बसको ठक्करबाट एक युवक तथा सोही नगरपालिका– ८ मा जिपले ठक्कर दिँदा एक वृद्धको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रविन विष्टका अनुसार बसको ठक्करबाट बनेपाका १६ वर्षीय राजेश तामाङ र जिपले ठक्कर दिँदा बनेपा–१० पुलबजारका ८० वर्षका गंगालाल मानन्धरको मृत्यु भएको हो ।

सिंहदरबारको दक्षिण गेटबाट सात जना एमाले कार्यकर्ता पक्राउ

काठमाडौं । सिंहदरबारको दक्षिण गेटबाट सात जना प्रदर्शनकारी पक्राउ परेका छन् ।

निषेधित क्षेत्र तोड्न खोजेपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरी परिसर काठमाडौंको एसपी पवन भट्टराईले बताए ।

पक्राउ परेकाहरू नेकपा एमालेका कार्यकर्ताहरू हुन् । उनीहरूलाई परिसरको हिरासतमा राखिएको छ ।

आफ्ना अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रहरीले पक्राउ गरेपछि आक्रोशित उनीहरू सिंहदरबार प्रवेश गर्न खोजेका थिए ।

त्यहीबेला सात जनालाई प्रहरीले पक्राउ गरेको हो ।

कांग्रेस–एमालेको संयुक्त प्रदर्शन थाले, देशमा द्वन्द्वको जोखिम बढ्यो

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि देशका विभिन्‍न स्थानमा प्रदर्शन भइरहेको छ ।

शनिबार बिहानै दुई नेताको पक्राउपछि केही ठाउँमा कांग्रेस र एमालेले बालेन सरकारविरुद्ध संयुक्त प्रदर्शन सुरु गरेका छन् ।

केहीबेर अघिदेखि लेखकको गृह जिल्ला कञ्चनपुरमा एमाले र कांग्रेसका नेता कार्यकर्ताहरूले संयुक्त प्रदर्शन गरिरहेका छन् ।
दुवै दलका नेता तथा कार्यकर्ता आ-आफ्नो पार्टीका झण्डा बोकेर सडकमा आएका हुन्।

उनीहरूले ओली र लेखकको तत्काल रिहाइको माग गरेका छन्। उनीहरूले सरकारविरुद्ध नाराबाजी गरेका छन्।

उनीहरूले प्रतिशोध साँधेर ओली र लेखकलाई पक्राउ गरिएको भन्दै विरोध जनाएका हुन्।

दुई दलको प्रदर्शनले देश द्वन्द्वमा धकेलिने चिन्ता बढेको छ ।

पूर्वराष्ट्रपति भण्डारी ओली–लेखकको पक्षमा उभिइँदै बालेन सरकारलाई दिइन् यस्ता सुझाव

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका नेता रमेश लेखकको पक्राउकाे विराेध गरेकी छन् ।

ओली र लेखकलाई पक्राउ गर्ने बालेन सरकारकाे कदमलाई ‘अपरिपक्‍व ‘समेत भनेकी छन् ।

शनिबार एक विज्ञप्ती जारी गर्दै उनले सरकारलाई आफ्नो निर्णय फिर्ता सुझाब पनि दिएका छन् ।

‘सुशासनलाई मुख्य एजेन्डा बनाएर गठन भएको वर्तमान सरकारबाट यस्तो अपरिपक्‍व कदम चालिनु अत्यन्त दुःखद् विषय हो,’ भण्डारीद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘लोकतान्त्रिक मूल्य, मान्यता तथा संवैधानिक मर्यादाको सम्मान गर्दै उक्त निर्णयलाई पुनर्विचार गरी फिर्ता लिनु उपयुक्त हुन्छ ।’

सुशीला कार्की नेतृत्वको अन्तरिम चुनावी सरकारद्वारा गौरीबहादुर कार्कीको अध्यक्षतामा गठन गरिएको ‘भाद्र २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोग २०८२ु को प्रतिवेदन स्वयंमा पूर्ण नभएको उल्लेख गर्दै विज्ञप्तीमा त्यसैको अधारमा तत्कालीन प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली तथा पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिनु अत्यन्तै संवेदनशील र दूरगामी प्रभाव पार्ने विषय भएको बताइएको छ।

‘यस प्रकारको अपरिपक्व निर्णय वर्तमान संविधान, प्रचलित कानुन तथा स्थापित लोकतान्त्रिक अभ्यासहरूसँग मेल नखाने देखिन्छ ।’ विज्ञप्तीमा भनिएको छ, ‘कुनै पनि जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्दा विधिसम्मत प्रक्रिया, पर्याप्त अध्ययन तथा संस्थागत परामर्श आवश्यक हुन्छ। हतारमा गरिएको निर्णयले विधिको शासनप्रति जनविश्वास कमजोर बनाउन सक्छ र मुलुकमा पुनः द्वन्द्व तथा अस्थिरताको जोखिम बढाउन सक्छ।’

भण्डारीले सरकारलाई संयमता अपनाउँदै विधि र प्रक्रियाअनुसार अघि बढ्न तथा मुलुकको स्थायित्व र लोकतान्त्रिक प्रणालीको संरक्षणतर्फ गम्भीर हुनसमेत आग्रह गरेकी छिन्।

प्रहरीले लाठीचार्ज गर्दा एमाले प्रदर्शनकारी घाइते

काठमाडौं । अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरेको विरोधमा उत्रिएका एमाले कार्यकर्ताहरूमाथि प्रहरीले लाठी प्रहार गरेको छ ।

लाठी चार्चका क्रममा एमाले कार्यकर्ता युवराज ओली, लगायतका नेता कार्यकर्ताहरू घाइते भएका छन् ।

माइतीघर बबरमहल क्षेत्रमा प्रदर्शन भइरहेका बेला एउटा समूह सिंहदरबारको दक्षिण गेटतर्फ प्रदर्शन गर्न पुगेको थियो ।

त्यसक्रममा प्रहरीले लाठी प्रहार गरेको छ । आफूसहितका प्रदर्शनकारीमाथि प्रहरीले लाठी बर्साएको फुयालले बताए ।

सँगै रहेका महनगर –१ बस्ने युवराज ‌ओलीको टाउकोमा नै लाठी लागेको उनले जानकारी दिए ।

लाठी लागेर रगतपच्छे भएपछि उनलाई नजिकै रहेको अन्नपूर्ण न्यूरो अस्पताल लगिएको फुयालले जानकारी दिए ।

बबहरमहलमा उठ्याे धुवाँकाे मुस्लाे, प्रहरी-प्रदर्शनकारी तनावपछि लाठीचार्ज

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउपछि प्रदर्शनमा उत्रिएका एमालेका जनवर्गीय संगठन युवा संघ नेपालका नेता कार्यकर्तामाथि प्रहरीले लाठिचार्ज गरेको छ ।

अहिले माइतीघर–बबहरमल क्षेत्र पूरै अशान्त छ । अफ्ना अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउपछि एमाले कार्यकर्ताहरू सडक संघर्षमा उत्रिएका छन् ।

तर, संघर्षको क्रममा झडप भएको थियो । त्यस क्रममा प्रहरीले प्रदर्शनकारीहरूमाथि लाठीचार्ज गरेको हो ।

युवा संघ नेपालका अध्यक्ष माहाराज गुरुङले प्रहरीले शान्तिपूर्ण प्रदर्शनमा दमन गरेको भन्दै सरकारको आलोचना गरेका छन् ।

ओलीकाे मुटुकाे चाल बढ्याे, अस्पतालमै राखियाे

काठमाडौं । पक्राउ परेका पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीका मुटुकाे चाल बढेकाे चिकित्सकहरुले बताएका छन् ।

अहिले उनकाे त्रिवि शिक्षण अस्पताल (टिचिङ अस्पताल) मा उपचार भइरहेको छ । ओली शनिबार बिहानै भक्तपुरकाे गुण्डुस्थित निवासबाट पक्राउ परेका थिए ।

लगत्तै स्वास्थ्य परीक्षणका लागि उनलाई टिचिङ अस्पताल लगिएकाे थियाे । आकस्मिक कक्षमा प्रारम्भिक केही परीक्षण गरिएपछि चिकित्सकको सल्लाह अनुसार नै भर्ना गरिएको थियो ।

ओली अहिले ‘एनेक्स वान’को ५०१ बेडमा उपचाररत छन् । थप स्वास्थ्य परीक्षण गर्ने काम भइरहेको छ ।

उपचारमा संलग्न एक चिकित्सकका अनुसार ओलीको स्वास्थ्य अवस्थाबारे अहिले विभिन्न शारीरिक परीक्षण भइरहेका छन् ।

ओलीले मिर्गौला र मुटु रोग विशेषज्ञ टोलीले निगरानीमा राखेर उपचार गरिरहेका छन् । ‘बिहान अस्पताल आउँदा उहाँको मुटुको चाल बढेको थियो,’ ती चिकित्सकले भने, ‘पेट पनि दुखेको भन्नु भएको थियो ।’

एक्सरे गर्दा भने पेटमा ढुंगा रहेको पाइएको ती चिकित्सकले बताए । उक्त ढुंगाका कारण पेट दुखेको हुनसक्ने ती चिकित्सकले बताउँछन् । अहिले पेट रोग विशेषज्ञ हेरिरहेका छन् ।

मुटुको अवस्था बुझ्न ‘इको’ परीक्षण गरिएको छ । मिर्गौलासम्बन्धी जाँच पनि भइरहेको छ ।

दुई पटक मिर्गौला प्रत्यारोपण गराइसकेका ओलीले नियमित रूपमा प्रत्यारोपणपछिको औषधि (इम्युनोसप्रेसिभ) सेवन गरिरहेका छन् ।

साथै मुटु एन्जियोप्लाष्टिक गरेका कारण सम्बन्धी औषधि, एन्टिबायोटिक र थाइरोइडको औषधि पनि चलिरहेको ती चिकित्सकले बताए ।

प्रहरी र एमाले कार्यकर्ताबीच माइतीघरमा घम्साघम्सी

काठमाडौं । माइतीघरमा प्रहरी र एमालेका युवा संघका कार्यकर्ताहरूबीच घम्साघम्सी परेको छ ।

आफ्ना अध्यक्ष केपी शर्मा ओलीको पक्राउपछि आक्रोशित युवा संघका कार्यकर्ताहरू र प्रहरीबीच केहीबेर ठेलामठेल भएको हो ।

यसपछि युवा संघका कार्यकर्ताहरूले प्रधानमन्त्री बालेनविरुद्ध नाराबाजी गरिरहेका छन् । ‘प्रहरी दमन बन्द गर’ भन्दै माग गरेका छन् ।

उनीहरूले आफ्ना अध्यक्ष केपी शर्मा ओलीको स–सम्मान रिहा गर्न सरकारमाथि दबाब दिइरहेका छन् ।

पूर्वगृहमन्त्री रमेश लेखक पक्राउबारे बल्ल बोलेको कांग्रेसले के भन्यो ?

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेको झण्डै १० घण्टापछि कांग्रेसले मुख खोलेको छ ।
एमालेले आफ्ना अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओली पक्राउ परेलगत्तै सचिवालय बैठक बसेर प्रतिशोधपूर्ण र पूर्वाग्रहपूर्ण ढंगले पक्राउ गरेको भन्दै प्रतिवाद गर्ने चेतावनी दिँदा कांग्रेस भने आफ्ना सांसदहरूले सचेतनामूलक तालिम दिइरहेको थियो ।
तर, ढिलै भए पनि कांग्रेसले बैठक बसेर लेखकको पक्राउबारे धारणा बनाउने जनाएको छ । सांसदहरूको प्रशिक्षणका लागि शीर्ष नेता पनि सहभागी हुने बैठकबाट कांग्रेसले लेखकबारे धारणा बाहिर ल्याउन तयारी गरेको छ । नेपाल विद्यार्थी सङ्‍घ र नेपाल तरुण दलले भने ओली र लेखककाे पक्राउविरुद्ध प्रतिवाद गर्ने चेतावनी दिएका छन् ।

यता ओलीको पक्राउमा एमालेको अधिकांश नेताले सामाजिक सञ्जालमार्फत विरोध गरेका छन् । तर, लेखकको पक्षमा कांग्रेसले नेताहरूले खुलेर कुनै प्रतिक्रिया दिएका छैनन् । नेता नैनसिंह महरसहितका केही नेताले राजनीतिक प्रतिशोध साँधिएको भन्दै विरोध गरेका छन् ।

गत २३ भदौमा भएको जेन–जी प्रदर्शनमा प्रहरीको गोली लागेर युवा मारिएपछि तत्कालीन गृहमन्त्री लेखकले राजीनामा दिएका थिए । तर, गौरीबहादुर कार्कीको जाँचबुझ आयोगले ओली र ले

पूर्वएआईजी टेकप्रसाद राईको चिन्ता- देशमा द्वन्द्व निम्तिने जोखिम बढ्याे

काठमाडौं । पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईले देशमा द्वन्द्वको जोखिम निम्तिन सक्ने चेतावनी दिएका छन् ।

एमाले अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउपछि उनले ओलीलाई तत्कालै पक्राउ गर्नुपर्ने कुनै कारण नभएको भन्दै उनले देश द्वन्द्वको भड्खालोमा जान सक्ने बताएका हुन् ।

उनले ओलीको पक्राउ प्रक्रियाबद्ध नभएको पनि बताए । उनले भने, ‘प्रतिवेदन कार्यान्वयन गर्ने भनेपछि एउटा अनुसन्धान टिम बनाएर काम अघि बढाउनुपर्थ्यो । चेन अफ कस्टडीको कुरा हुन्छ । घटनास्थल मुचुल्काहरूको विषय आउँछन् । त्यसपछि घटना घटाउने पात्रहरू होलान्, बयानको कामहरू होला । अनि बल्ल न पक्राउको कुरा हुन्छ ।’

ओली र उनको सरकारमा गृहमन्त्री रहेका कांग्रेस नेता रमेश लेखकविरुद्ध विभिन्न राजनीतिक दलका नेता, राजनीतिक विश्लषेकहरु, नागरिक समाज, कानुन व्यवसायी र पूर्वसुरक्षा अधिकारीहरूले विरोध जनाएका छन् ।

कार्की आयोगको प्रतिवेदन जलाए एमाले कार्यकर्ताले, संघर्षको उदघोष

काठमाडौं । नेकपा एमालेका कार्यकर्ताहरूले कार्की आयोगको प्रतिवेदन जनलाएका छन् ।

पार्टी केन्द्रीय कार्यालय च्यासल क्षेत्रमा सङ्घर्षमा उत्रिएका कार्यकर्ताहरूले प्रतिशोधपूर्ण र पूर्वाग्रहपूर्ण प्रतिवेदन भन्दै जलाइदिएका हुन् ।

सोही प्रतिवेदनका आधारमा शनिबार बिहानै एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, उनकै सरकारका गृहमन्त्री रमेश लेखकलाई पक्राउ परेका छन् ।

यसपछि एमाले देशभर प्रदर्शनमा उत्रिएको छ । शनिबार दिउँसो ३ बजे देशभर प्रदर्शन गर्ने कार्यक्रम एमालेले अघि सारेको छ ।

एमालेले ओलीको रिहाइ माग गर्दै सडक, सदनदेखि अदालतको मोर्चामा सशक्त र प्रभावकारी प्रतिवाद गर्ने चेतावनी दिएको छ ।

ओलीको पक्राउप्रति विचलित नभई एकताबद्ध भएर अघि बढ्न महासचिवको निर्देशन (भिडियो)

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउप्रति कडा आपत्ति जनाउँदै यसलाई ‘प्रतिशोधपूर्ण कदम’ बताएका छन्।

शनिबार पार्टी सचिवालय बैठकपछि आयाेजित पत्रकार सम्मेलनमा ओलीको पक्राउले संविधान, लोकतन्त्र र मानव अधिकारप्रति प्रतिबद्ध राजनीतिक शक्तिहरू तथा आम नागरिकलाई गम्भीर रूपमा चिन्तित बनाएको उल्लेख गरेका छन्। उनले यस्तो कदमले मुलुकको लोकतान्त्रिक प्रणालीमै प्रश्न उठाएको बताएका छन्।

पोखरेलले आफ्नो पार्टीले यस घटनाविरुद्ध कानुनी तथा राजनीतिक दुवै मोर्चाबाट दृढ प्रतिवाद गर्ने स्पष्ट पारे। उनले एमाले पंक्तिलाई कुनै पनि परिस्थितिमा विचलित नभई देश, जनता र लोकतन्त्रको पक्षमा एकताबद्ध भएर अघि बढ्न आह्वान गरेका छन्।

यस्तै, ओलीको पक्राउविरुद्ध पार्टीले देशव्यापी विरोध कार्यक्रम घोषणा गरेको छ। महासचिव पोखरेलका अनुसार चैत १५ गते आइतबार एमाले जिल्ला कमिटीहरूको आयोजनामा जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई विरोधपत्र बुझाइनेछ।

सर्वाेच्चकाे बहालवाला न्यायाधीशकाे नेतृत्वमा जेन-जी घटनाकाे छानबिन आयाेग गठन गर्न एमालेकाे माग

काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतका बहालवाला न्यायाधीशकाे नेतृवत्वमा जेन-जी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग गरेको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउलगत्तै बसेकाे एमाले सचिवालयको आकस्मिक बैठकले यस्ताे माग गरेकाे हाे ।

‘उक्त घटनाको निष्पक्ष र न्यायीक छानबिनका लागि सर्वोच्च अदालतको बहालवाला न्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय छानबिन आयोग गठन गर्न माग गर्दछ,’ महासचिव पोखरेलले पार्टीको निर्णयबारे जानकारी दिए ।

गाैरीबहादुर कार्की आयाेगकाे प्रतिवेदनलाई एमालेले अस्वीकार गरेकाे छ । प्रतिशाेधपूर्ण र पूर्वाग्रहीपूर्ण प्रतिवेदन भन्दै त्यसकाे आधारमा गरिएकाे पक्राउलाई एमालेले सडक, सदन र अदालताबाट एकैसाथ प्रतिवाद गर्ने चेतावनी दिएकाे छ ।

 

ओलीकाे पक्राउविरुद्ध कानुनी र राजनीतिक रुपमा लड्ने रामकुमारी झाँक्रीकाे घाेषणा

काठमाडौं । नेकपा एमालेकी राष्ट्रियसभा सदस्य रामकुमारी झाँक्रीले कानुनी र राजनीतिक दुवै मोर्चामा सशक्त रूपमा लड्ने घाेषणा गरेकी छन् ।
उनले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीकाे पक्राउलाई गैरकानुनी र प्रतिशाेधपूर्ण पनि बताइन् ।
उनले सामाजिक सञ्‍जालमा शनिबार लेखिन्, ‘गाैरीबहादुर कार्की आयोगको प्रतिवेदन एकपक्षीय र पूर्वाग्रहपूर्ण रहेको छ। पूर्वप्रधानमन्त्री तथा हाम्रो पार्टी नेकपा एमालेका अध्यक्ष कमरेड केपी शर्मा ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो। यसको विरुद्ध हामी कानुनी र राजनीतिक दुवै मोर्चामा सशक्त रूपमा लड्नेछौं।’
एमाले महासचिव शङ्‍कर पाेखरेलले ओलीकाे पक्राउपछि सरकारले मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् ।
आजै बसेकाे पार्टी सचिवालय बैठकले ओलीकाे पक्राउविरुद्ध देशभर प्रदर्शन गर्ने निर्णय गरेकाे छ ।

एमालेले आज ३ बजे देशभर प्रदर्शन गर्ने

काठमाडौं । नेकपा एमालेले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउको विरोधमा कानुनी तथा राजनीतिक रूपमा प्रतिवाद गर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेकाे सचिवालय बैठकले यस्ताे निर्णय गरेकाे हाे । बैठकले अध्यक्ष ओलीलाई तत्काल रिहाइको माग पनि गरेकाे छ ।

पार्टी सचिव महेश बस्नेतका अनुसार प्रत्येक जिल्लाको सदरमुकाममा आज अपराह्न ३ बजे जनसंगठनहरूको तर्फबाट विरोध प्रदर्शन गर्ने लगायतका निर्णय भएका छन् ।

यी हुन् एमालेका निर्णयहरु 

१. आम जनसमुदाय, नागरिक समाजको दृढताको साथ कानुनी तथा राजनीतिक रूपमा सशक्त प्रतिबाद गर्ने।

२. प्रत्येक जिल्लाको सदरमुकाममा आज अपराह्न ३ बजे जनसंगठनहरूको तर्फबाट विरोध प्रदर्शन गर्ने ।

३. प्रत्येक जिल्लामा भोलि चैत्र १५ गते १२ बजे जिल्ला पार्टी कमिटीको आयोजनामा व्यापक प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारी (CDO) कार्यालयमा विरोधपत्र बुझाउने ।

४. लोकतन्त्र र कानुनी राज्यका पक्षधर सबै दलहरूसँग सम्वाद र सहकार्य गर्ने । नागरिक समाज र आम जनसमुदायसँग सहकार्य गर्ने ।

ओलीको पक्राउविरुद्ध सडकमा उत्रिएका एमाले कार्यकर्ताहरूको चेतावनी– द्वन्द्व र मुठभेट बन्द गर

काठमाडौं । आफ्ना पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउपछि एमाले नेता कार्यकर्ताहरू प्रतिवादमा उत्रिएका छन् ।

उनीहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् । ‘द्वन्द्व, मुठभेट बन्द गर’ भन्दै सडकमा उत्रिएका उनीहरूले ओलीको पक्राउलाई प्रतिशोध र पूर्वाग्रहपूर्ण भनेका छन् ।

स्वास्थ्य परीक्षणपछि ५ तस्बिरमा पूर्वप्रधानमन्त्री ओली

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई उपचारपछि पनि अस्पतालमै राखिने भएको छ ।

कार्की आयोगको अधुरो र पक्षपातपूूर्ण प्रतिवेदनका आधारमा मुलुकी फौजदारी अपराध संहिताको दफा १८१ र १८२ अनुसार ओली पक्राउ परेका हुन् ।

यी दुई दफाका आधारमा ओली पक्राउ पर्दा कानुनका ज्ञाताहरूले समेत विरोध गरेका छन् ।

ओलीको पक्राउलाई उनको दल एमाले, कांग्रेस, राप्रपासँगै कानुन व्यवसायीहरुले प्रतिशोध भनेका छन् ।

हेर्नुहोस्, ५ तस्बिरमा स्वास्थ्य परीक्षणपछि ओली ।

पूर्वप्रधानमन्त्री ओलीलाई अस्पतालमै राखिने (भिडियो)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको २७ नम्बर बेडबाट निकालिएको छ ।

त्यहाँ उनको स्वास्थ्य परीक्षण गरिएको थियो । मिर्गौलापीडित समेत रहेका उनलाई स्वास्थ्य परीक्षणपछि पनि अस्पतालमै राखिने भएको हो ।

ओली आज बिहानै भक्तपुरको गुण्डुस्थित निवासबाट पक्राउ गरेका थिए ।

कार्की आयोगको प्रतिशोधपूर्ण र अधुरो प्रतिवेदनका आधारमा उनलाई पक्राउ गरेको भन्दै एमालेले प्रतिवाद गरेको छ ।

प्रतिशाेधपूर्ण ढङ्‍गले पक्राउ गरिएका ओलीलाई महाराजगञ्‍जकाे २ नम्बर गेटमा राखिने

काठमाडौँ । कार्की आयोगको प्रतिशोधपूर्ण र पक्षपातपूर्ण प्रतिवेदनको आधारमा पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई महाराजगन्जस्थित नेपाल प्रहरीको २ नम्बर गणमा राखिने भएको छ । स्वास्थ्य परीक्षणपछि ओलीलाई त्यहाँ लाने भएकाे हाे ।

जिल्ला प्रहरी काठमाडौँका प्रमुख एसएसपी रमेश थापाका अनुसार पक्राउ लगत्तै भद्रकालीस्थित जिल्ला प्रहरी परिसरमा ल्याइए पनि अब २ नम्बर गणमै राखिन लागेको हो ।

गृह मन्त्रालयले गरेको परिपत्रका आधारमा आयोगको प्रतिवेदन कार्यान्वयनका क्रममा ओलीलगायतका राजनीतिक पदाधिकारीलाई पक्राउ गरेका थापाले बताए ।

ओली पक्राउपछि एमालेको थाल्यो प्रदर्शन (भिडियो)

काठमाडौं । पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेपछि नेकपा एमाले काठमाडौंले चाबहिलमा प्रदर्शन थालेको छ ।

सचिवालय बैठक च्यासलमा जारी छँदा चाबहिलमा प्रदर्शन चर्किएको हो । एमालेले ओलीको पक्राउलाई प्रतिशोधपूूर्ण र पूर्वग्रहपूर्ण भनेको छ ।

राजनीतिक र कानुनी दुवै कोणबाट प्रतिवाद गर्ने चेतावनी दिएको छ । सडक, सदन र अदालत तीनवटै मोर्चाबाट एमालेले प्रतिरोध गर्ने जनाएको छ ।

पूर्वप्रधानमन्त्री ओलीलाई आज बिहानै भक्तपुरको गुुण्डुस्थित निवासबाट प्रहरीले पक्राउ गरेको थियो ।

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई पनि आज बिहानै प्रहरीले पक्राउ गरेको छ ।

ओलीले भने– प्रतिशोधपूर्ण ढंगले पक्राउ गरियो, कानुनी र राजनीतिक प्रतिवाद गर्छु

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिशोध साँधेर पक्राउ गरेको भन्दै कानुनी र राजनीतिक लडाइँ लड्ने बताएका छन् ।

ओलीलाई आज बिहानै प्रहरीले भक्तपुरको गुण्डुस्थिति निवासबाट पक्राउ गरेको थियो । पक्राउ पुर्जी लिएर प्रहरी आएपछि ओलीले वकिलहरुसँग परामर्श गरेका थिए ।

ओलीका कानुन व्यवसायीहरुले ओलीको पक्राउको कानुनी आधार नभएको र प्रथम दृष्टिमै गलत रहेको बताएका छन् ।

राजनीतिक विश्लेषक निलाम्बर आचार्यले पनि पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री रमेश लेखको पक्राउप्रति गम्भीर आपत्ति जनाउँदै प्रतिशोधले कसैको भलो नगर्ने बताएका छन् ।

ओली र लेखकलाई जेन–जी विद्रोहको दिन २३ भदौमा १९ जना नवयुवाको ज्यान लापारबाहीले मारेको अभियोग छ ।

यो अभियोग गौरीबहादुर कार्की आयोगको एकपक्षीय र पक्षपातपूर्ण प्रतिवेदनमा छ । सोही आधारमा ओली र लेखकको पक्राउ भएको हो ।

बालेन सरकारका गृहमन्त्री सुधन गुरुङले भने ओली र लेखकको पक्राउलाई न्यायको सुरुवात भएका प्रतिक्रिया दिएका छन् । उनले कानुनभन्दा कोही पनि माथि नभएको पनि बताएका छन् ।

पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक पक्राउ (भिडियो)

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेका छन् ।

उनलाई भक्तपुरको गुण्डुस्थित निवासबाटै प्रहरीले पक्राउ गरेको हो ।

ओलीलाई पक्राउ गर्न रातभरी गुण्डुमा प्रहरी तैनाथ थियो । एमाले नेता कार्यकर्ताले ओलीको समर्थनमा व्यापक नाराबाजी गरेको थियो ।

तर, आज बिहानै पक्राउ गरेर ओलीलाई जिल्ला प्रहरी परिसर काठमाडौं लगिएको छ ।

अध्यक्ष ओलीलाई जेन–जी विद्रोहको जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की आयोगको एकपक्षीय र अपूर्ण प्रतिवेदनको नाममा पक्राउ गरेको हो ।

ओलीको पक्राउलाई एमाले नेताहरूले प्रतिशोधपूर्ण र षड्यन्त्रमूलक भनेको छ । बालेन सरकारको यस्तो कदम अस्वीकार भन्दै प्रतिवाद गर्ने चेतावनी दिएको छ ।

यस्तै ओली सरकारका गृहमन्त्री रमेश लेखक पनि पक्राउ परेका छन् ।

शुक्रबार बसेको बालेन सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले ओली, लेखकसहितलाई कारबाही गर्ने निर्णय गरेको थियो । यो निर्णयलाई एमाले नेताहरुले प्रतिवाद गरेका थिए ।

पूर्वप्रधानमन्त्री ओलीलाई पक्राउ गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं। गृहमन्त्री सुधन गुरुङले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गर्न निर्देशन दिएपछि सुरक्षा निकायहरूलाई हाई अलर्टमा राखिएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीले आफ्ना सबै मातहत निकायलाई उच्च सतर्कतामा रहन आदेश जारी गरेको पुष्टि गरिएको छ।

ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने विषयमा प्रहरीले मध्यरातसम्म छलफल गरे पनि अहिलेसम्म कुनै ठोस निष्कर्ष निस्किएको छैन। प्रहरीले लिखित आदेश माग गरेको र लेखित निर्देशन प्राप्त भएपछि मात्र प्रक्रिया अघि बढाउने अडान लिएको छ। यही विषयमा प्रहरी प्रधान कार्यालयमा गृहमन्त्री गुरुङ, गृहसचिव र कानुन सचिवबीच थप छलफल भएको हो।

एक उच्च प्रहरी अधिकारी भने, ‘हामीले लिखित आदेश मागेका छौँ, त्यो आएपछि मात्र प्रक्रिया अघि बढ्छ।’

 हाल गुण्डुस्थित ओलीको निवास वरपर नेपाल प्रहरी, भक्तपुर प्रहरी परिसर र काठमाडौं उपत्यका अपराध महाशाखाका टोलीहरू निगरानीका लागि परिचालन गरिएका छन्।

प्रहरी प्रधान कार्यालयमा भएको छलफलमा नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की, उपत्यका प्रहरी प्रमुख एआईजी ईश्वर कार्की, सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल, एआईजी गणेश ठाडा मगरलगायतका उच्च अधिकारी सहभागी थिए।

यसअघि गृह मन्त्रालयमा गृहमन्त्री गुरुङले दुईवटै सुरक्षा एजेन्सीका प्रमुखसँग जेनजी आन्दोलनसम्बन्धी गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयनबारे छलफल गरेका थिए। तर कसरी अगाडि बढ्ने भन्ने विषयमा सहमति नजुटेपछि, गृहमन्त्री, गृहसचिव, कानुन सचिव र प्रहरी प्रमुखहरूले राति नै पुनः आन्तरिक समन्वय बैठक गरेका हुन्।

कार्की आयोगको प्रतिवेदन खारेज गर्न एमाले महासचिव पोखरेलको माग

काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले कार्की आयोगको प्रतिवेदन खारेज गर्नुपर्ने बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आयोगको प्रतिवेदनलाई पूर्वाग्रही ठहर गर्दै खारेज गर्न माग गरेका हुन्।

स्टाटसमा पोखरेलले लेखेका छन्, ‘कार्की आयोगको पूर्वाग्रही प्रतिवेदन खारेज गर, मन्त्रिपरिषद्को प्रतिशोधपूर्ण निर्णय फिर्ता गर।’

आज बसेको मन्त्रिपरिषद् बैठकले जेनजी घटनाको अनुसन्धान गरी सरकारलाई बुझाइएको प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय गरेको थियो। उक्त प्रतिवेदनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक, तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ लगायत उच्च पदस्थ व्यक्तिहरू विरुद्ध कारबाही गर्न सिफारिस गरेको छ।

यस्तै, गृहमन्त्रालयले आजै ओली र लेखकलाई पक्राउ गर्ने तयारी थालेको सूचना बाहिरिएपछि महासचिव पोखरेलले सो स्टाटस सार्वजनिक गरेका हुन्।

ओली निवास प्रहरीको निगरानीमा, लेखक र ओली पक्राउ गर्न प्रहरीले माग्यो लिखित आदेश

काठमाडौं। गृहमन्त्री सुधन गुरुङले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गर्न निर्देशन दिएपछि नेपाल प्रहरीले लिखित आदेश माग गर्दै तत्कालका लागि प्रक्रिया रोकिएको जनाएको छ। प्रहरीका अनुसार, लिखित आदेश प्राप्त नभएसम्म कुनै कदम नचल्ने स्पष्ट गरिएको छ।

उच्च प्रहरी अधिकारीका भनाइअनुसार, “हामीले लिखित आदेश मागेका छौँ, आदेश आएपछि मात्रै अगाडि बढ्छौँ।” हाल गुण्डुस्थित ओलीको निवास वरपर नेपाल प्रहरी, भक्तपुर प्रहरी परिसर र काठमाडौं उपत्यका अपराध महाशाखाका संयुक्‍त टोलीलाई निगरानीमा खटाइएको छ।

गृहमन्त्री गुरुङले पदभार सम्हालेपछि नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालसँग करिब दुई घण्टा लामो छलफल गरेका थिए। छलफलका क्रममा दुवै प्रमुखले पक्राउ प्रक्रिया अघि बढाउन लिखित आदेश आवश्यक पर्ने प्रष्ट पारेका थिए। यतिबेला प्रहरी प्रधान कार्यालयले देशभरका प्रहरी निकायलाई ‘चुस्त र सतर्क’ रहन निर्देशन दिँदै घटनाबारे आन्तरिक तयारी जारी राखेको बताइएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट फर्किएपछि गृहमन्त्री गुरुङ बूढानीलकण्ठ पुगेका थिए, जहाँ उनले रवि लामिछानेसँग भेटवार्ता गरेका हुन्।

स्रोतका अनुसार, जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वमा बनेको आयोगको प्रतिवेदन कार्यान्वयनबारे शीर्ष तहमा सक्रिय छलफल भइरहेको छ। मन्त्रिपरिषद्को पहिलो बैठकले यो प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरिसकेको छ।

सरकारले सुरक्षाकर्मीको हकमा भने तत्काल कारबाही नगरी थप अध्ययनपछि मात्र निर्णय लिने बताएको छ। तर पूर्वप्रधानमन्त्री ओली, पूर्वगृहमन्त्री रमेश लेखक, पूर्वगृहसचिव गोकर्णमणि दुवाडी, र तत्कालीन सीडीओ छविलाल रिजालसम्बन्धी भाग भने तत्काल कार्यान्वयन गर्ने निर्णय लिइएको छ। सोही आधारमा गृहमन्त्रीले पक्राउ प्रक्रिया अघि बढाउन निर्देशन दिएको बताइएको छ।

ओली र लेखक पक्राउ पर्ने सम्भावना, जवानदेखि एसपीसम्मलाई स्ट्याण्डबाइ बस्न प्रहरी हेडक्वार्टरको निर्देशन

काठमाडौं। देशको अहिलेको संवेदनशील सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाल प्रहरीले सबै तहका प्रहरी कर्मचारीलाई उच्च सतर्कता अपनाउन निर्देश गरेको छ।

प्रहरी जवानदेखि एसएसपी स्तरसम्मका सबै अधिकारीलाई चुस्ता बर्दीसहित तयारी अवस्थामा बस्न प्रहरी प्रधान कार्यालयले सर्कुलर जारी गरेको हो।

नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा कार्यरत कर्मचारीलाई शनिबार बिहान ७ बजेदेखि नै बर्दीसहित स्ट्यान्डबाइमा रहन आदेश दिइएको छ। आवश्यक परे तुरुन्त परिचालन गर्न सकिने व्यवस्था मिलाइँदै सम्पूर्ण जनशक्तिलाई तयार अवस्थामा राखिएको सुरक्षा स्रोतले बताएको छ।

स्रोतका अनुसार, जारी सर्कुलर देशभरका विभिन्न इकाइमा पनि क्रमशः लागू गरिएको छ। विशेषगरी काठमाडौँ उपत्यका तथा अन्य संवेदनशील क्षेत्रमा खटिएका प्रहरीलाई अझ बढी सतर्क हुन निर्देशन गरिएको छ।

यसैबीच, गृहमन्त्री सुधन गुरुङले शुक्रबार साँझ नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्की र सशस्त्र प्रहरी बलका आईजीपी राजु अर्याललाई सिंहदरबारस्थित गृहमन्त्रालयमा बोलाएर करिब डेढ घण्टा छलफल गरेका छन्। छलफलको विषय बाहिर नआए पनि, सोही दिन बसेको मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो।

छलफलपछि सबै सुरक्षा निकायलाई ‘हाई अलर्ट’मा राख्ने निर्णय गरिएको र त्यसअनुसार सर्कुलर जारी भएको बुझिएको छ। आवश्यक परे छिटो, समन्वित र प्रभावकारी रूपमा परिचालन गर्न सकिने गरी सबै तहका प्रहरीलाई तयारी अवस्थामा राखिएको सुरक्षा स्रोतले जानकारी दिएको छ। हाल सुरक्षा निकायहरूले देशभरको अवस्थालाई नजिकबाट निगरानी गरिरहेका छन् र कुनै अप्रिय घटना नघट्न पूर्वतयारी मजबुत पारिएको छ।

उपत्यकामा हाई अलर्ट, गृहमन्त्री लगायत उच्च सरकारी पदाधिकारीको बैठक जारी

काठमाडौँ । नवगठित मन्त्रिपरिषद्ले गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेसँगै काठमाडौँ उपत्यकाको सुरक्षा व्यवस्था कडा बनाइएको छ। सरकारको निर्णयपछि उत्पन्न हुन सक्ने सम्भावित चुनौतीको मूल्यांकन गर्न गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका शीर्ष अधिकारीसँग आकस्मिक बैठक शुरू गरेका छन्।

उच्च सुरक्षा स्रोतका अनुसार, गृहमन्त्री गुरुङ, नेपाल प्रहरीलेका आईजीपी दानबहादुर कार्की र सशस्त्र प्रहरी बलका आईजीपी राजु अर्यालबीचको बैठक सशस्त्र प्रहरी प्रमुख अर्यालको नक्सालस्थित सरकारी आवासमा चलिरहेको छ।

यसअघि शुक्रबार साँझ नै नेपाल प्रहरी र सशस्त्र प्रहरीले आफ्ना अधीनस्थ निकायलाई आन्तरिक सर्कुलर जारी गर्दै ‘हाई अलर्ट’मा रहन निर्देशन दिएका थिए। उपत्यकाभित्रका सबै सुरक्षा युनिटहरूलाई तयारी अवस्थामा राखिएको बताइएको छ।

सुरक्षा सतर्कता बढाइएको यो कदम बालेन शाह नेतृत्वको नवगठित मन्त्रिपरिषद्को पहिलो बैठकपछि आएको हो। उक्त बैठकले जेनजी आन्दोलनका क्रममा भएको घटनाको छानबिन गर्ने गौरीबहादुर कार्की आयोगको प्रतिवेदनलाई कार्यान्वयनमा लैजान सैद्धान्तिक सहमति जनाएको थियो। आयोगको प्रतिवेदन कार्यान्वयनले विरोध प्रदर्शन र राजनीतिक तनाव बढ्न सक्ने सम्भावना देखिएकाले सुरक्षा निकायहरूले उच्च सतर्कता अपनाएका हुन्।

बालेन सरकारको निर्णय ‘खेदजन्य, पूर्वाग्रहपूर्ण र अस्वीकार्य’ !

काठमाडौं । पक्षपातपूर्ण र षड्यन्त्रमूलक ढंगले गौरीबहादुर कार्की आयोगले तयार गरेको प्रतिवेदन कार्यान्वयन गरेर एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरूलाई कारबाही गर्ने बालेन सरकारको निर्णयलाई एमालेका २३ वटा संगठनले कडा शब्दमा आपत्ति जनाएका छन् ।

उक्त निर्णयलाई एमलोका ती पेशागत संगठनहरूले संयुक्त विज्ञप्तिमार्फत ‘खेदजन्य, पूर्वाग्रहपूर्ण र अस्वीकार्य ‘पनि भनेका छन् ।

राष्ट्रिय युवा संघ, अनेरास्ववियु, जिफन्ट, अखिल नेपाल महिला संघ लगायतका सङ्गठनहरूले सरकारको कदम प्रतिशोधात्मक रहेको आरोप पनि लगाएका छन् । ‘सुरक्षाकर्मीका हकमा अध्ययन समिति गठन गर्ने तर तत्कालीन राजनैतिक नेतृत्वका हकमा भने कार्यान्वयनतर्फ अघि बढ्ने भन्ने निर्णयबाट नवगठित सरकार विपक्षी नेताहरूप्रति पूर्वाग्रही र प्रतिशोधपूर्ण कारबाहीको प्रक्रिया अगाडि बढाउन उद्धत रहेको स्पष्ट गरेको छ,’ वक्तव्यमा उल्लेख छ ।

संगठनहरूले बालेन सरकारको शुक्रबारको निर्णय फिर्ता लिन दबाब दिएका छन् । ‘हामी पूर्वाग्रही कार्की आयोग खारेजीको माग गर्दै मन्त्रिपरिषद्को निर्णय फिर्ता लिन माग गर्दछौँ । अन्यथा, आवश्यक प्रतिरोधका कार्यक्रम अघि बढाउन बाध्य हुने हामी स्पष्ट गर्दछौँ ।’

उनीहरूले निर्णय नसच्याए उत्पन्न हुने परिस्थितिको जिम्मेवार स्वयम् सरकार हुने चेतावनीसमेत दिएका छन् ।

एमाले सचिव बस्नेतको चेतावनी– ओलीलाई धरपकड गर्न खोजे प्रतिरोध हुनेछ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव महेश बस्नेतले बालेन मन्त्रिपरिषद् बैठकले गरेको निर्णयमाथि गम्भीर प्रश्न उठाएका छन्।

बस्नेतले सरकारको निर्णय ‘कुटिल र षडयन्त्रपूर्ण’ रहेको आरोप लगाएका छन् ।उनले लेखेका छन्, ‘सुरक्षाकर्मीको हकमा अध्ययन समिति गठन गर्ने तर तत्कालीन प्रधानमन्त्री, गृहमन्त्री लगायतका व्यक्तिहरूको हकमा भने सोझै कार्यान्वयन गर्ने निर्णय पक्षपातपूर्ण छ।’

उनले कार्की आयोगको प्रतिवेदन कार्यान्वयनको नाममा राजनीतिक प्रतिशोध लिन खोजिएको आशंका व्यक्त गरेका छन् । चेतावनी दिँदै उनले भने, ‘यदि सरकारले धरपकड र राजनीतिक बदला लिन खोज्छ भने त्यसले देशलाई पुनः द्वन्द्वतर्फ धकेल्ने जोखिम पैदा गर्छ।’

बस्नेतले सरकारको पक्षपाती, प्रतिसोधपूर्ण र पूर्वाग्रही निर्णय कुनै पनि हालतमा स्वीकार्य नहुने बताएका छन्।

उनले शुक्रबार साँझ फेसबुकमा स्टाटस लेख्दै भने, ‘न्यायमा विभेद गरिए त्यसको विरुद्ध सशक्त प्रतिरोध हुनेछ।’

भदौ २३ र २४ मा भएका आन्दोलन र हिंसात्मक घटनाहरूको प्रसंग उल्लेख गर्दै बस्नेतले ती घटनामा संलग्न सबैमाथि निष्पक्ष अनुसन्धानको माग गरेका छन्। उनले भनेका छन्, ‘स्कुले पोशाकमा बालबालिकालाई जबरजस्ती सडकमा उतार्ने, आतंक सिर्जना गर्ने र राज्य संरचनामाथि आक्रमण गर्ने कार्यमा संलग्न जो-कोही भए पनि कारबाहीको दायरामा आउनुपर्छ।’

उनले थपेका छन्, ‘सदन, सिंहदरबार, सर्वोच्च अदालत, सरकारी कार्यालय तथा निजी घरहरूमा भएको आगजनी र तोडफोडमा संलग्न व्यक्तिहरू अहिले प्रधानमन्त्री, मन्त्री र सांसद बनेका छन् भने उनीहरू पनि कानुनभन्दा माथि हुन सक्दैनन्।’

बस्नेतले गैरसरकारी तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको भूमिकामाथि समेत छानबिन गर्न माग गरेका छन्। ‘सन्देहास्पद एनजिओ तथा आइएनजिओको रकम यस्ता गतिविधिमा प्रयोग भएको आशंका गम्भीर छ, यसको निष्पक्ष अनुसन्धान हुनुपर्छ,’ उनले उल्लेख गरेका छन्।

शुक्रबार बसेको बालेन सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले जेन–जी विद्रोहका बेला प्रधानमन्त्री रहेका एमाले अध्यक्ष केपी शर्मा ओली, गृहमन्त्री रहेका कांग्रेस नेता रमेश लेखकलगायतको हकमा पक्षपातपूर्ण र पूर्वग्रहीता झल्किने कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।

जबकि, प्रतिवेदनलाई प्रमुख विपक्षी नेपाली कांग्रेस, एमाले, नेपाल बार एसोसिएनलगायत राजनीतिक र कानुनी निकायहरूले अस्वीकार गरिसकेका छन् ।

यस्तोमा बालेन सरकारले भने प्रतिशोधपूर्ण कदम चाल्न लाग्दा एमाले सचिव बस्नेतको चेतावनीयुक्त अभिव्यक्ति सार्वजनिक भएको हो ।

रास्वपाको बाचापत्र : सहकारीपीडितको बचत फिर्ता गर्न १०० दिन बाँकी

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)काे एकल बहुमतीय सरकार शुक्रबार गठन भएकाे छ । ३६ वर्षीय बालेन्द्र शाह ‘बालेन’काे प्रधानमन्त्री भए ।

उनी रास्वपाका वरिष्ठ नेता हुन् । उनी नेतृत्वकाे सरकारले के सहकारीपीडितकाे बचत फिर्ता गर्लान् ? मूल प्रश्‍न याे छ ।

किनभने उनकै दल रास्वपाका सभापति रवि लामिछाने विगतमा प्रबन्ध निर्देशक रहेकाे गाेर्खा मिडिया र त्यसले सञ्‍चालन गरेकाे ग्यालेक्सी फाेरके टीभीमा सहकारीहरुका अर्बाैँ बचत (निक्षेप) डुबेकाे ससदीय समितिकाे छानबिनले देखाएकाे छ ।

लामिछानेलगायतविरुद्ध काठमाडाै, कास्की, चितवन, रुपन्देही र पर्सा अदालतमा सहकारी ठगीसहित तीन मुद्दा विचाराधीन छन् । यस्ताेबेला रास्वापले सहकारीपीडितकाे पनि मत तान्‍न बाचापत्र सार्वजिनक गर्दै १०० दिनभित्र बचत फिर्ता गर्ने बाचा गरेकाे थियाे ।

अब बाचाअनुसार बालेन सरकारले सहकारीपीडितकाे बचत फिर्ता फिर्ता गर्नुपर्छ । तर, कसरी ? प्रश्‍न पनि छ । बाचापत्रमा बचत फिर्ताबारे स्पष्ट खुलाएकाे छैन । फिर्ता गर्ने चाहिँ वाचापत्रको ३१ नम्बरमा उल्लेख छ । जहाँ भनिएको छ- ‘रास्वपा सरकार गठन भएको १०० दिन भित्र साना बचतकर्ताको रकम फिर्ता गरिने छ।’ 

हेराैँ- ३१ नम्बर

‘आम नागरिकको पसिनाको कमाई सुरक्षित गर्न सरकार गठन भएको १०० दिनभित्र साना बचतकर्ताको बचत खातामा फिर्ता गर्नेछौँ। बचाताकर्ताहरुको बचत सुरक्षित गर्न राज्यको तर्फबाट ‘एकीकृत बचत सुरक्षा कोष’ स्थापना गर्नेछौँ, जसले संकट ग्रस्त संस्थाहरुका बचतकर्ताहरुलाई प्राथमिकताका आधारमा साना बचतकर्ताबाट सुरु गरि भुक्तानी दिने व्यवस्था गर्नेछौँ। हाम्रो उद्देश्य संचालकहरुलाई जेल हाल्नु मात्र होइन, बरु बचतकर्ताको पैसा फिर्ता गराउनु हो। त्यसैले ‘थुनेर होइन सुनेर’ समाधान गर्ने नीतिअनुरुप यदि कुनै सहकारी वित्तिय संस्थाका संचालक वा व्यवस्थापन पक्ष वचतकर्ताको रकम फिर्ता गर्न तयार छन् र उनीहरुसँग भरपर्दो स्रोत एवं योजना छ भने ‘मिलापत्र’ का लागि कानुनी बाटो प्रशस्त गरिदिनेछौँ। यस्तो अवस्थामा बचत फिर्ताको पूर्ण ग्यारेन्टी र समय सिमा तोकेर उनीहरुलाई थुना बाहिरै रहेर सम्पत्ति परिचालन र ऋण असुली गर्ने अवसर दिनेछौँ।’

सहकारीपीडितहरु बालेन सरकार बन्‍नुअघि देखि नै सडकमा  आइसकेका छन् । बचत फिर्ताकाे माग गरिरहेका छन् ।

विगतमा पटकपटक सडक प्रदर्शनमा उत्रिँदा पनि बचत फिर्ता नपाएका सहकारीपीडितका मागहरु यो सरकारले कसरी सम्बोधन गर्ला ? आगामी १०० दिनले बताउँने छ।  

प्रचण्डप्रति हर्क साम्पाङको ‘विचराभाव’ – सदनमा देख्दा कस्तो-कस्तो लाग्यो (भिडियो)

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डप्रति ‘विचराभाव’ प्रकट गरेका छन् ।

आफू सानो छँदा प्रचण्डलाई प्रभावशाली नेताको रूपमा सुनेको तर बिहीबार प्रतिनिधिसभामा कमजोर अवस्थामा देखिएको भन्दै उनले भने, ‘सदनमा जाँदा प्रचण्डजीलाई देखेँ । प्रचण्डलाई कस्तो कस्तो लाग्यो ।’

प्रतिनिधिसभा निर्वाचनबाट प्रचण्ड मात्रै निर्वाचित भएर सदनमा आएको भन्दै उनले भने, ‘सँधैभरी समय एकनासको हुँदैन ।’

२१ फागुनमा भएको प्रतिनिधिसभा निर्वाचनबाट प्रचण्ड र उनको दल १७ सिटे भएको छ । तीनपटक प्रधानमन्त्री भइसकेका प्रचण्ड यसपटक कमजोर हैसियतमा छन् ।

यसप्रति साम्पाङले कटाक्ष गर्दै विचराभाव प्रकट गरेका हुन् ।