`

बीमा प्राधिकरण अध्यक्षको जिम्मेवारी सचिव पौडेललाई

काठमाडौं । सरकारले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकी सचिव चन्द्रकला पौडेललाई नेपाल बिमा प्राधिकरणको अध्यक्ष पदको जिम्मेवारी प्रदान गरेको छ । सोमवार बसेको मन्त्रिपरिषद् बैठकले अर्को व्यवस्था नभएसम्मको लागि पौडेललाई प्राधिकरणको सञ्चालक समिति अध्यक्षको तोक्ने गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।

बैठकले विभिन्न ५ वटा जलविद्युत आयोजनालाई वन क्षेत्रको प्रयोग गर्न स्वीकृति प्रदान गरेको पनि अर्यालले बताए । उनकाअनुसार बैठकले सुतिखोला जलविद्युत आयोजना, तामाकोसी पाँचौँ जलविद्युत आयोजना, माथिल्लो संखुवासभा जलविद्युत आयोजना र सेतीखोला जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्रको प्रयोग गर्न स्वीकृति दिएको हो ।

कास्कीका तीन क्षेत्रमा ४५ उम्मेदवारको प्रतिस्पर्धा : कहाँ को छन् मैदानमा ?

काठमाडौं। गण्डकी प्रदेशको राजधानी रहेको कास्कीमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि तीनवटा निर्वाचन क्षेत्रबाट ४५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । राजनीतिक दलबाट ३९ र ६ स्वतन्त्रसहित कुल ४५ उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन् । यसपटक कास्कीका सबै क्षेत्रमा पुराना तथा नयाँ अनुहारको रोचक भिडन्त हुने देखिएको छ। कास्की–१ मा नेकपा एमाले, नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), उज्यालो नेपाल पार्टी(उनेपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सहितका उम्मेदवार बीच प्रतिस्पर्धा हुँदैछ। 

एमालेले यस क्षेत्रमा स्थानीय स्तरमा सक्रिय नेताका रूपमा उदाएका बैनबहादुर क्षेत्रीलाई अघि सारेको छ। २०७४ को स्थानीय तहबाट जिल्ला समन्वय समितिका प्रमुख बनेका क्षेत्री पहिलोपटक संघीय तहमा प्रतिस्पर्धा गर्न लागेका हुन्। कांग्रेसले कास्की–१ मा तिलकबहादुर रानाभाटलाई उम्मेदवार बनाएको छ। २०४६ सालदेखि राजनीतिमा सक्रिय रानाभाट हालै सम्पन्न कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट केन्द्रीय सदस्यका रूपमा निर्वाचित भएका थिए। कास्की–१ लाई कांग्रेस गण्डकीको ‘आधार क्षेत्र’ मानिँदा रानाभाटको उम्मेदवारीले क्षेत्रको चुनाव थप चासोको विषय बनेको छ। 

नेकपाले जनयुद्धकालदेखि सक्रिय नेता राजकाजी गुरुङ ‘करण’ लाई टिकट दिएको छ। एमालेको पकड क्षेत्र मानिँदै आएको कास्की–१ मा करणको प्रवेशसँगै परिणाममा उथलपुथल हुने विश्लेषण भइरहेका छन् ।  रास्वपाले लेखक खडकराज पौडेल ‘गनेस’ लाई अघि सारेको छ। उनी पछिल्लो समय उपन्यास ‘पैताला’मार्फत चिनिएका साहित्यकार हुन्। उनले २०७९ मा पोखरा महानगरको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका थिए। उनले रास्वपाका वरिष्ठ नेता तथा काठमाडौँ महानगरका पूर्वप्रमुख बालेन्द्र शाह ‘बालेन’ को टिमबाट टिकट पाएका हुन्। उनेपाले कास्की–१ मा खगोल वैज्ञानिक मनिषा द्वालाई उम्मेदवार बनाएको छ भने राप्रपाले बाबुराम थापामाथि भरोसा गरेको छ। यसअघिको निर्वाचनमा कास्की–१ एमालेका मानबहादुर गुरुङले जितेका थिए।

यो क्षेत्रमा रुपा, मादी गाउँपालिका तथा पोखरा महानगरका १०, १२, १३, १४, २७, २८, २९, ३० र ३२ नम्बर वडाहरू पर्दछन्।

कास्की–२ : एमालेको बलियो आधार क्षेत्रमा नयाँ अनुहारको भिडन्त

कास्की–२ मा प्रतीनिधिसभा निर्वाचनको लागि आठ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन्।  २०६४ यता निरन्तर विजय हासिल गर्दै आएको एमालेले यसपटक यो क्षेत्रमा रश्मी आचार्यलाई अघि सारेको छ। कृष्णबहादुर थापाको अपेक्षित उम्मेदवारी अन्तिम समयमा परिवर्तन गर्दै एमालेले रश्मीलाई टिकट दिएको हो। यस क्षेत्रबाट दिवंगत एमाले नेता रविन्द्र अधिकारीले तीनपटक जित हासिल गरेका थिए भने पछिल्ला दुई निर्वाचन(उपनिर्वाचन २०७६ र प्रतिनिधिसभा निर्वाचन २०७९) रविन्द्र पत्नि विद्या भट्टराईले जितेकी थिइन्।

कांग्रेसले गण्डकी प्रदेश समितिका प्रवक्ता माधव बास्तोला ‘मधु’लाई उम्मेदवार बनाएको छ । मधुको प्रवेशले कास्की–२ को प्रतिस्पर्धा झनै रोचक बन्ने देखिएको छ । नेकपाले पूर्व माओवादी सैन्य कमान्डर किरण थापा ‘आमोद’लाई टिकट दिएको छ। थापा युद्धकालीन गतिविधिका कारण चर्चामा आएका थिए र हालै मात्रै नेकपा प्रवेश गरेका हुन्।

रास्वपाबाट पूर्वपत्रकार उत्तम पौडेल प्रतिस्पर्धामा छन्। उनी न्युज-२४ टेलिभिजनमा रवि लामिछानेको टिममा रहँदै कास्कीबाट पत्रकारिता गर्दै आएका थिए। उनेपाले उर्जाविद् कुशल गुरुङलाई मैदानमा उतारेको छ भने राप्रपाले केन्द्रीय उपाध्यक्ष हेमजंग शाहीलाई उम्मेदवारी दिएको छ। 

कास्की–२ मा पोखरा महानगरका ४, ७, ८, ९, ११, १५, १६, १७, २०, २१ र ३३ नम्बर वडाहरू समावेश छन्।

कास्की–३ : एमालेका बैरागी दोहोरिदै, कांग्रेस र नेकपाका नयाँ अनुहार

कास्की–३ मा एमालेबाट अघिल्लो निर्वाचनका विजयी उम्मेदवार दामोदर पौडेल ‘बैरागी’ पुनः मैदानमा उत्रिएका छन्। २०७४ को स्थानीय तहमा वडासदस्यमा पराजित भएका बैरागीले २०७९ मा भने उल्टो संघीय निर्वाचन जितेका थिए। यसपटक यो क्षेत्रमा नेकपाले नयाँ अनुहार गोपाल गिरीलाई प्रतिस्पर्धामा उतारेको छ। सुरुमा नेकपाबाट यो क्षेत्रमा प्रेम पौडेलले टिकट पाउने चर्चा थियो तर उनी पारिवारिक कारणले पछि हटेपछि गिरीलाई टिकट दिइएको हो।

कांग्रेसले देउवा समूहका नेता मनोज गुरुङलाई उम्मेदवार बनाएको छ । उनी तरुण दल हुँदै पार्टी राजनीतिमा सक्रिय बनेका नेता हुन्।  रास्वपाले युवा व्यवसायी बिना गुरुङलाई अघि सारेको छ भने उनेपाले तर्कबहादुर गुरुङलाई टिकट दिएको छ। राप्रपाले केन्द्रीय सदस्य अर्जुन खनाललाई कास्की–३ मा उम्मेदवार बनाएको छ।

यस क्षेत्रमा २०४८ यताका सात निर्वाचनमध्ये पाँचमा एमाले विजयी भएको छ। कास्की–३ मा अन्नपुर्ण गाउँपालिका, माछापुच्छ्रे गाउँपालिका तथा पोखरा महानगरका १, २, ३, ५, ६, १८, १९, २२, २३, २४ र २५ नम्बर वडाहरू पर्दछन् । 

अघिल्लो चुनावमा कास्कीका तीनै क्षेत्रमा एमाले विजयी भएको थियो। कास्की–१ मा मानबहादुर गुरुङ, कास्की–२ मा विद्या भट्टराई र कास्की–३ मा दामोदर पौडेल ‘बैरागी’ त्यतिबेला निर्वाचन जिते। यसपटक कास्कीका तीनै क्षेत्रमा नयाँ तथा पुराना उम्मेदवारको प्रतिस्पर्धाले चासोको विषय बनेको छ। एमालेले जित्दै आएको यी निर्वाचन क्षेत्रको विधायक को ? फागुन २१ को मतदानपछि ‘ब्यालेटबक्स’ ले यो प्रश्नको उत्तर दिनेछन्।

स्वदेशी चलचित्रको प्रवर्द्धन हुने गरी कानून परिमार्जन हुन्छ : कानूनमन्त्री सिन्हा

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले स्वदेशी चलचित्रको विकास, विस्तार र प्रवद्र्धन हुनेगरी सो सम्बन्धि कानून परिमार्जन गर्न लागिएको बताएका छन् । सोमबार सिंहदरवारमा बसेको संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन् ।

मन्त्री सिन्हाले चलचित्र सम्बन्धि प्रचलित कानूनलाई परिमार्जनका लागि सांसदहरुले गरेका विमर्शले सिंगै देशको चाहनालाई प्रतिविम्वित गरेको समेत बताए । उनले सरकारले देशले चाहे अनुसारको चलचित्र निर्माणका लागि आवश्यक नीतिगत र कानूनी व्यवस्था गर्न चाहेको समेत बताए । चलचित्र क्षेत्रलाई सामाजिक, सांस्कृतिक र मनोरञ्जनात्मक उद्योगको रुपमा विकास गर्न सरकार प्रयासरत रहेको मन्त्री सिन्हाको भनाई थियो ।

उनले भने, ‘चलचित्र क्षेत्रलाई सामाजिक, सांस्कृतिक र मनोरञ्जनात्मक उद्योगको रुपमा विकास गर्न तथा स्वदेशी चलचित्रको विकास, विस्तार, प्रवद्र्धन र नियमन गर्न चलचित्र सम्बन्धि प्रचलित कानूनलाई संशोधन एवं एकीकरण गरेर यसलाई नयाँ स्वरुपमा प्रस्तुत गर्ने प्रयत्न गरेको छ । यसमा यहाँ जुन छलफल भएको छ । त्यसले धेरै हदसम्म परिमार्जन गरेको अवस्था पनि छ । र, समाजले चाहेका, देशले चाहेका विभिन्न आयामहरुलाई यसमा समेटेको अवस्था छ । यसमा मन्त्रालयको कुरा पनि समेटिएको अवस्था छ । यहाँहरुको घुनिभूत छलफलबाट जुन यो मस्यौदा बनेको छ । यसप्रति आभार व्यक्त गर्न चाहन्छु ।’ मन्त्री सिन्हाले चलचित्र सम्बन्धि कानून निर्माणका लागि भएको विचार विमर्श अति उपयोगी हुने विश्वास समेत व्यक्त गरे ।

बालेन शाहविरूद्ध निर्वाचन आयोगमा उजुरी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहविरुद्ध निर्वाचन आयोगमा औपचारिक उजुरी दर्ता भएको छ । सामाजिक सञ्जालमार्फत दिएका अभिव्यक्तिहरू निर्वाचन आचारसंहिता, प्रचलित कानून तथा लोकतान्त्रिक निर्वाचन प्रक्रियाको मर्मविपरीत रहेको दाबी गर्दै उजुरी दायर गरिएको हो । धर्मराज तिमिल्सिनाले निर्वाचन आयोगमा दर्ता गराएको निवेदनमा बालेन शाहले हालै नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको सन्दर्भमा दिएको टिप्पणीलाई लिएर आपत्ति जनाइएको छ ।

निवेदनअनुसार ओलीले सार्वजनिक रूपमा प्रस्ताव गरेको पारदर्शी, बौद्धिक र तथ्यमा आधारित सार्वजनिक बहसको प्रस्तावको प्रत्युत्तरमा बालेन शाहले सामाजिक सञ्जालमा प्रयोग गरेका शब्दहरू लोकतान्त्रिक बहसको मर्यादाविपरीत रहेको उल्लेख गरिएको छ। निवेदनमा बालेन शाहले प्रयोग गरेका ‘७६ जना बच्चाको हत्यारा’, ‘आतंकवादी’, ‘देश जलाउने’ जस्ता शब्दहरू कुनै प्रमाण, अनुसन्धान वा अदालतको निर्णयबिनै लगाइएका गम्भीर, आपराधिक र तथ्यहीन आरोप भएको दाबी गरिएको छ । यस्ता अभिव्यक्तिले सम्बन्धित व्यक्तिको सामाजिक प्रतिष्ठामा गम्भीर क्षति पुर्‍याउनुका साथै वैधानिक राजनीतिक दलप्रति जनघृणा फैलाउने र मतदाताको सोचमा भ्रम सिर्जना गर्ने खतरा रहेको निवेदनमा उल्लेख छ ।

‘यस किसिमका गैरजिम्मेवार अभिव्यक्तिले निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयमुक्त रूपमा सम्पन्न गर्ने संवैधानिक उद्देश्यलाई कमजोर बनाउँछ,’ निवेदनमा भनिएको छ, ‘यसले लोकतान्त्रिक बहसलाई नीति र विचारको तहबाट तल झारेर हिंसात्मक आरोप, अफवाह र घृणाको तहमा पुर्‍याउने काम गर्दछ ।’

निवेदकले नेपालको संविधान, निर्वाचन आचारसंहिता तथा प्रचलित कानूनले निर्वाचन अवधिमा भ्रामक सूचना, घृणात्मक अभिव्यक्ति र अपुष्ट आरोप प्रयोग गरी मतदातालाई प्रभावित पार्न स्पष्ट रूपमा निषेध गरेको स्मरण गराएका छन् । सोही आधारमा बालेन शाहका अभिव्यक्तिमाथि तथ्यपरक छानबिन गरी आचारसंहिता उल्लंघन ठहर भएमा आवश्यक कानुनी कारबाही गर्न निर्वाचन आयोगसँग माग गरिएको छ ।

यसै उजुरीमा अर्को विषय पनि समेटिएको छ । महोत्तरी लगायतका जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चुनावी प्रचारका क्रममा भारतीय नम्बर प्लेटका सवारी साधन प्रयोग गरेको देखिने भिडियोहरू सामाजिक सञ्जालमा सार्वजनिक भएको उल्लेख गरिएको छ । उक्त कार्य पनि निर्वाचन आचारसंहिता विपरीत भएको दाबी गर्दै त्यसको सत्यतथ्य छानबिन गरी आवश्यक कदम चाल्न निर्वाचन आयोगसँग आग्रह गरिएको छ । निर्वाचन आयोगले उजुरी प्राप्त भएको पुष्टि गरे पनि यस विषयमा आवश्यक अध्ययनपछि मात्रै आधिकारिक निर्णय सार्वजनिक गर्ने जनाएको छ ।

चुनावी तालमेलबारे हामीले सोचेका छैनौं : राजेन्द्र लिङ्देन

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कुनै पनि दलसँग चुनावी तालमेलबारे अहिले नसोचिएको बताएका छन् । झापामा पत्रकारहरूसँगको कुराकानीमा उनले सबै क्षेत्रमा राप्रपाले उम्मेदवारी दिएको र चुनावी प्रचारप्रसारका काम भइरहेको बताए । ‘हामीले १६५ क्षेत्रमै आफ्नो उम्मेदवार उठाएका छौं, झापामा त एमालेको उम्मेदवार भोट मागेर हिँडिरहनु भएको छ, हाम्रो उम्मेदवार पनि भोट मागेर हिँडिरहनु भएको छ । तालमेलको कुनै सम्भावना छैन,’ अध्यक्ष लिङ्देनले भने । एमाले वा अरू कुनै दलसँग चुनावी तालमेलबारे अहिले नसोचेको पनि उनले बताए ।

अध्यक्ष ओलीका चुनावी कमाण्डर भन्छन्–विकासका विरुद्ध ‘प्रोपोगन्डा’ को लडाई

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका चुनावी कमाण्डर देवेन्द्र दाहालले झापा ५ मा विकासका विरुद्ध प्रोपोगन्डाको लडाईं भएको बताएका छन् । पूर्व प्रधानमन्त्री, मन्त्री, सांसदको हैसियतमा केपी ओलीले गरेका कामको फेहरिस्त यहाँका जनताले उपभोग गरिरहेकाले प्रोपोगन्डामा उनीहरुले विश्वास नगर्ने दाहालले बताए । केही व्यक्तिहरु सामाजिक सञ्जालमा जनतालाई भ्रम छर्ने प्रयास गरे पनि त्यसलाई स्थानीयबासीले राम्ररी बुझेको उनको भनाइ छ ।

‘सामाजिक सञ्जालमा फैलाइएका हल्ला चिर्नु हाम्रो दायित्व हो’, पार्टी केन्द्रीय सदस्य समेत रहेका दाहालले प्रचार समितिको बैठकमा बोल्दै दाहालले भने, ‘एमालेले फिजिकल्ली काम गरेको छ । डिजिटल्ली फैलाइएका अफवाहको जवाफ जनताले नै दिन्छन् ।’ झापा ५ मा एमालेलाई बिगतको मतान्तर घटाउने छुट नभएको भन्दै उनले देशी विदेशीको घेराबन्दीका विरुद्ध एमाले एकताबद्ध हुनुपर्ने दाहालको भनाइ छ । दाहालले झापा ५ मा वडा, टोल र घरघर केन्द्रीत अभियान सुरु गरिसकेको बताएका छन् ।

तत्कालीन माओवादी केन्द्र काठमाडौं महानगर कमिटीका अध्यक्ष एमालेमा प्रवेश

काठमाडौं । नेकपा माओवादी केन्द्रका काठमाडौँ महानगर कमिटीका तत्कालीन अध्यक्ष राजेश लामा नेकपा एमाले प्रवेश गरेका छन् । सोमबार दिउँसो नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरको गुण्डुस्थित निवासमा पार्टीको झण्डा, नेपालको झण्डा र खादा ओढाएर पार्टी प्रवेश गराएका हुन् । अध्यक्ष राजेश लामाले एमाले प्रवेश गर्न अलि ढिलो भएको बताए । कमिटीका अध्यक्ष राजेश लामासँगै जिल्ला कमिटीका सदस्य विष्णु जोशीले पनि पार्टी प्रवेश गरेका छन् ।

 

माघ लागेपछि सुन्तला टिप्दै किसान

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका किसानले बढीभन्दा मूल्य लिनका लागि माघ लागेपछि सुन्तला टिपेर बजार पठाउन थालेका छन् । देशका धेरै ठाउँका बगैँचा रित्तिएपछि उनीहरुले सुन्तला टिप्न थालेका हुन् ।दोसल्लेका किसानले विगतको तुलनामा यसपालि राम्रो मूल्य पाएका छन् । यसअघि मंसिर–पुसमा प्रतिक्रेट (बीस किलो) एक हजार ७०० मा बिक्री हुने गरेको थियो । यसपालि प्रतिक्रेट रु दुई हजार ५०० मूल्यमा बिक्री भइरहेको स्थानीय विकास श्रेष्ठले बताए ।

‘किसानले सस्तोमा सुन्तला बेच्नुपर्ने अवस्था हटाउन सबै मिलेर मूल्य निर्धारण गरेका हौं,’ उनले भने, ‘अन्यत्रको सुन्तला सकिएकाले व्यापारीले प्रतिक्रेट तीन हजार २०० सम्म मूल्य तिर्न तयार छन् ।’ बयालिस घरधुरीको बसोबास रहेको दोसल्लो गाउँमा गत वर्ष सुन्तलाबाट एक करोड ६० लाख भित्रिएको थियो । यसपालि दाना कम लागे पनि मूल्य बढेको र नयाँ बिरुवामा दाना लागेकाले समग्रमा गत वर्षकै अनुपातमा उत्पादन हुने अनुमान गरिएको दोसल्ले व्यावसायिक सुन्तला जात किसान समूहका अध्यक्ष प्रेम पाइजाले बताए ।

पोखरा र काठमाडौँका व्यवसायी बगैँचामै पुगेर सुन्तला खरिद गरेपछि अहिले धमाधम सुन्तला टिप्ने काम भइरहेको छ । दोसल्लेका सबै घरले सुन्तलाखेती गरेका छन्। गाउँबाट बसाइँसराइ रोकिएको छ । पहिले बेनी, पोखरालगायत ठाउँमा बसाइँसराइ गरेकाले गाउँमा फर्किएर बाँझिएको जग्गामा सुन्तला रोपण गरेका छन् । ‘पहिले गाउँमा सामान्य जीविकोपार्जन गर्न पनि कठिन थियो, गाउँमा आम्दानीको कुनै स्रोत थिएन, आज सुन्तलाखेतीले स्थानीयलाई आर्थिक लाभ दिएको छ,’ उनले भने, ‘सुन्तलाबाटै गाउँलेको जीवनस्तर बदलिएको छ ।’

पाइजाका अनुसार दोसल्लेमा १० हजार सुन्तलाका बोट छन्। २०६८ सालमा पोखराबाट माटो परीक्षण विभागबाट विज्ञ ल्याएर माटो परीक्षण गरी सुन्तलाखेतीमा लागेका दोसल्लेवासीले हरेक वर्ष सुन्तलाखेती विस्तार गर्दै लगेका छन् ।
परम्परागत रूपमा धान, मकै, कोदो, भटमास हुने खेतबारी सुन्तलाले ढाकिएको छ । नयाँ बोटले फल दिन सुरु गरेकाले अबको केही वर्षमा यस गाउँमा सुन्तलाबाट वार्षिक रु तीन करोड बढी रकम भित्रने स्थानीयवासीको अनुमान छ । दोसल्लेका सबै घरमा सुन्तलाखेती गरिएको छ। गाउँबाट बसाइँसराइ रोकिएको छ । पहिले बेनी, पोखरालगायत ठाउँमा बसाइँसराइ गरेकाले गाउँमा फर्किएर बाझिएको जग्गामा सुन्तला रोपण गरेका छन् । सुन्तलाबाट राम्रो आम्दानी हुन थालेपछि यहाँका किसान परम्परागत अन्नबाली लगाउन छाडेर सुन्तला खेती विस्तारमा जुटेका स्थानीय मायादेवी गर्बुजाले बताए । रासस

यातायात व्यवसायी र मजदुरका मुद्दा बोकेर चार जना व्यवसायी चुनावी मैदानमा

काठमाडौं । यातायात व्यवसायी र यातायात मजदुरका मुद्दा बोकेर देशभर चार जना यातायात व्यवसायीले विभिन्न पार्टीबाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका छन् । निजी क्षेत्रको लगानी र नियन्त्रण रहेको नेपालको सार्वजनिक यातायात क्षेत्रको नेतृत्व गर्दै नीति निर्माणको तहमा पुग्न चार जना ठूला यातायात व्यवसायीहरु चुनावी मैदानमा उत्रिएको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष पुण्यप्रसाद सिटौलाले बताए।

उनकाअनुसार नेपाली कांग्रेसबाट महासंघका केन्द्रिय अध्यक्ष विजयबहादुर स्वाँरले कैलाली–२, पश्चिम यातायात व्यवसायी विष्णु खड्काले सुर्खेत–१ र वरिष्ठ व्यवसायी भागवत मल्लले स्याङ्जा–२ बाट उम्मेदवारी दिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट कर्णाली यातायातका प्रमुख रमेश सापकोटा समेत सुर्खेत–२ बाट उम्मेदवारी दिएको सापकोटाले जानकारी दिए । यातायात क्षेत्रको प्रतिनिधित्व नीति निर्माणको तहमा नभएकै कारण यो क्षेत्र अस्तव्यस्त बनेको उनको भनाइ छ । उनले नीति निर्माण तहमा यातायात क्षेत्रको सहभागिता नहुँदा मुलुकको ठूलो लगानी भएको र आर्थिक समृद्धिको प्रमुख आधार मानिने यातायात क्षेत्र भद्रगोल अवस्थामा पुगेको समेत उल्लेख गरे।

उनले भने, ‘नीति बनाउने ठाउँमा यातायात क्षेत्रको प्रतिनिधित्व नभएकै कारण नेपालको अत्यन्त ठुलो लगानी भएको तथा मुलुकको आर्थिक समृद्धिको वाहकका रुपमा रहेको यातायात क्षेत्र अस्तव्यवस्त भएको। नेपाली नागरिकले सबैभन्दा धेरै प्रयोग गर्ने भनेको सार्वजनिक यातायात हो । त्यसको प्रतिनिधित्व संसदमा नहुँदा यातायात क्षेत्र भद्रगोल रहेको अवस्थामा महासंघ र यातायात व्यवसायीले निर्णय गरेर महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले उम्मेदवारी दिनु भएको छ। उनी कैलाली क्षेत्र न. २ बाट नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार बन्नुभएको छ ।’ उनले चार जना उम्मेदवारलाई नीति निर्माणको तहमा पुर्‍याउन यातायात व्यवसायीहरुलाई एकजुट भएर लाग्न अपिल समेत गरे।

 

नेपालगञ्जमा बालेनलाई कार्यकर्ता र समर्थकको भव्य स्वागत {तस्वीरहरु}

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को चुनावी अभियान पश्चिम नेपालमा पनि उस्तै उत्साहका साथ अघि बढिरहेको छ । पूर्वी नेपालमा एक चरणको चुनावी अभियान सम्पन्न गरी बालेन शनिबार नेपालगञ्ज पुगेका हुन् ।

नेपालगञ्ज विमानस्थल बाहिर बालेनको स्वागतका लागि ठूलो संख्यामा पार्टी कार्यकर्ता, समर्थक र सर्वसाधारणको भीड लागेको थियो । विमानस्थलबाट बाहिरिँदा उनी रूफटप कारमा देखिएका थिए, जहाँ उनलाई नजिकबाट हेर्न र सेल्फी खिच्न समर्थकहरूको घुइँचो लागेको थियो । सडकछेउ मात्र होइन, वरपरका घरका छतछतमा समेत स्थानीयहरू बालेनलाई हेर्न भेला भएका दृश्यले पश्चिममा पनि उनको लोकप्रियता झल्काएको थियो ।

नेपालगञ्ज विमानस्थलमा बालेनको स्वागतका लागि रास्वपाका केन्द्रीय सदस्य खगेन्द्र सुनारसहित स्थानीय नेता तथा कार्यकर्ता उपस्थित थिए । पूर्वी नेपालका विभिन्न जिल्लामा चुनावी अभियान सकेर पश्चिमतर्फ लागेका बालेन बाँके हुँदै सुदूरपश्चिमका विभिन्न जिल्लामा पुग्ने कार्यक्रम रहेको पार्टीले जनाएको छ ।

रास्वपाले बालेनलाई भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेको छ । यही सन्दर्भमा उनको चुनावी अभियानलाई विशेष महत्वका साथ हेरिएको छ । सुदूरपश्चिममा बालेननिकट दुई व्यक्तिहरू उम्मेदवार बनेकाले त्यहाँको अभियानलाई प्राथमिकतामा राखिएको बताइएको छ । उनका प्रमुख स्वकीय सचिव भूपदेव शाह अछाम–२ बाट र पार्टीको कोर टिमका सदस्य केपी खनाल कैलाली–२ बाट उम्मेदवार बनेका छन् ।

यी निर्वाचन क्षेत्रलाई केन्द्रमा राख्दै बालेन केही दिन सुदूरपश्चिमका जिल्लाहरूमा चुनावी प्रचारमा सक्रिय रहने छन् । त्यसपछि उनी काठमाडौं फर्किने र काठमाडौं तथा ललितपुरका केही निर्वाचन क्षेत्रमा समेत चुनावी अभियानमा सहभागी हुने कार्यक्रम रहेको जनाइएको छ । पूर्वदेखि पश्चिमसम्म देखिएको भीड, उत्साह र समर्थकहरूको सक्रियताले बालेनको चुनावी अभियानले नयाँ राजनीतिक तरंग सिर्जना गरिरहेको संकेत गरेको छ ।
तस्वीरहरु

उत्तेजनाको राजनीतिमा विश्वास गर्दिनँ, मधेसलाई काठमाडौंसँग जोड्छु : गगन थापा (भिडियो)

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा प्रतिनिधि सभा सदस्य गगन थापाले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि सर्लाही–४ बाट उम्मेदवारी दिएसँगै राष्ट्रिय राजनीतिमा नयाँ बहस सुरु भएको छ । तीन पटक काठमाडौँ–४ बाट निर्वाचित भइसकेका थापाले यस पटक मधेस झर्ने निर्णयलाई केवल निर्वाचन रणनीति नभई ‘देश जोड्ने राजनीतिक यात्रा’ का रूपमा व्याख्या गरेका छन् ।

सर्लाही प्रस्थान गर्नुअघि सोमबार भिडियो सन्देशमार्फत काठमाडौं–४ का मतदातालाई धन्यवाद दिँदै थापाले आफूले सधैं परिवार जस्तै माया पाएको क्षेत्र छोड्नु सजिलो निर्णय नभएको बताए । ‘मैले जीवनका महत्वपूर्ण चरणहरू यही क्षेत्रमा बिताएँ । यहाँका मतदाताबाट पाएको विश्वास र माया मेरो लागि अमूल्य छ’, उनले भने । थापाले वारेसमार्फत उम्मेदवारी दर्ता गराएपछि सोमबार नै सर्लाही पुगेर चुनावी गतिविधि सुरु गरेका छन् ।

सर्लाही पुगेकै दिन सार्वजनिक भिडियो सन्देशमा उनले मधेससँगको सम्बन्ध औपचारिकतामा सीमित नराख्ने स्पष्ट पारे । ‘म मधेस जाँदैछु, किनकी म देश जोड्न चाहन्छु’, भन्दै उनले पहाड, काठमाडौँ र मधेसलाई एउटै राष्ट्रिय सूत्रमा बाँध्ने आकांक्षा व्यक्त गरे । उनका अनुसार कांग्रेसका धेरै नेता तथा कार्यकर्ताले काठमाडौँ नछोड्न सुझाव दिएका थिए । सभापति भइसकेपछि निर्वाचन क्षेत्र परिवर्तन गर्नु उपयुक्त नहुने धारणा पनि आएको उनले स्वीकार गरे । तर, मधेससँगको सम्बन्ध अझ गहिरो बनाउनु राजनीतिक र राष्ट्रिय आवश्यकता भएको थापाको भनाइ छ ।

‘पहाडबाट झरेको मेरो परिवार, काठमाडौँमा हुर्किएको म, अब सिंगो देशको हुनुपर्छ’, उनले भने, ‘त्यसका लागि मधेसको माटो ढोग्नुपर्छ, त्यहीँ टेक्नुपर्छ, आशीर्वाद लिनुपर्छ र त्यहीभित्र लडिबुडी गर्नुपर्छ भन्ने लाग्यो ।’ थापाले आफू उत्तेजनाको राजनीतिमा विश्वास नगर्ने पनि दोहोर्‍याए । अधिकारको कुरा गर्दा विभाजन होइन, एकताको बाटो खोज्नु पर्ने उनको धारणा छ । मधेसका मुद्दा काठमाडौँमा सशक्त रूपमा उठाउने र काठमाडौँका सवाल मधेसमा स्पष्ट रूपमा राख्ने पुलको भूमिका निर्वाह गर्न चाहेको उनले बताए ।

‘मधेसको प्रतिनिधित्व गर्दै त्यहाँका समस्या बुझ्दा, त्यो केवल मधेसको मात्रै होइन, सिंगो नेपालको समाधानतर्फको बाटो हुन सक्छ’, थापाले भने । मधेससँग चुनावी सम्बन्ध गाँसेर त्यस क्षेत्रलाई नजिकबाट बुझ्ने र राष्ट्रिय राजनीतिको केन्द्रसँग जोड्ने उनको उद्देश्य रहेको प्रष्ट देखिन्छ । काठमाडौँ–४ का मतदाताप्रति कृतज्ञता व्यक्त गर्दै थापाले आफू जहाँ रहे पनि त्यो सम्बन्ध भावनात्मक रूपमा कायम रहने बताए । सर्लाही–४ बाट उनको उम्मेदवारीलाई कांग्रेसभित्र मात्र होइन, राष्ट्रिय राजनीतिमा ‘भूगोलभन्दा माथि उठेर देश सोच्ने प्रयास’ का रूपमा हेरिएको छ ।

 

६ जना लैङ्गिक तथा यौनिक अल्पसंख्यक पनि चुनावी मैदानमा {तस्वीरहरु}

काठमाडौं । नेपालको राजनीतिक इतिहासमा पहिलो पटक समावेशी समाजवादी पार्टीले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायबाट आफ्नै पार्टीको तर्फबाट प्रत्यक्ष उम्मेदवारी अघि सारेको छ । यस अवसरमा आज पार्टीले एक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।

मंसिर ९ गते पार्टी निर्वाचन आयोगमा दर्ता भएसँगै लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायले पहिलोपटक आफ्नै पार्टी गठन गरी निर्वाचनमा उम्मेदवार दर्ता गराएका हुन् । पार्टीबाट प्रत्यक्षतर्फ ६ जना उम्मेदवार छन् । मोरङ क्षेत्र नम्बर ४ बाट नुमा लिम्बू, काठमाडौं क्षेत्र नम्बर १ बाट सुरेन्द्र पाण्डे, ओखलढुंगा क्षेत्र नम्बर १ बाट पिंकी राई, रुपन्देही क्षेत्र नम्बर २ बाट देवेन्द्रबहादुर खत्री, काठमाडौं क्षेत्र नम्बर १० बाट पूर्णचन्द्र पौडेल तथा काभ्रेपलाञ्चोक क्षेत्र नम्बर १ बाट विनोद लामा उम्मेदवार रहेका छन् ।

यसै पार्टीबाट लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका १५ जनालाई समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारका रूपमा सिफारिस गरिएको कार्यकारी निर्देशक सुनिलबाबु पन्तले जानकारी दिए । राज्यका हरेक निकायमा अल्पसंख्यक समुदायको प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्यले निर्वाचनमा सहभागी भएको उनले बताए । अल्पसंख्यक समुदायका व्यक्तिहरू स्वतन्त्र रूपमा समाजमा हिँडडुल गर्न सक्ने वातावरण निर्माण गर्न चुनावमा सहभागी भएको नुमा लिम्बूले बताइन् ।

तस्वीरहरु : नेपाल फोटो लाइब्रेरी

खोटाङको राजनीतिक सरगर्मी : नयाँ अनुहारहरुको तीव्र प्रतिष्पर्धा

काठमाडौं । विगतका उम्मेदवारलाई बिदा गरेको खोटाङको चुनावी राजनीतिक सरगर्मी बढ्दै गएको छ। यो पटक राजनीतिक दलहरुले गएका निर्वाचनमा प्रतिष्पर्धा गरेका नेताहरूलाई चुनावी प्रतिष्पर्धाको मैदानबाट बाहिर राखेका छन्। जनाधारका हिसाबले बलियो मानिएको एमालेले पछिल्ला पाँचमध्ये तीन निर्वाचनमा पराजय भोगिसकेको छ, जसले यस पटकको चुनावलाई अझै चासोको विषय बनाएको छ। विगतमा पाँच पटक उम्मेदवारी दिएर दुई पटक प्रतिनिधित्व गरेका पूर्व सचेतक विशाल भट्टराई यसपटक प्रतिस्पर्धामा छैनन्। भट्टराईको सट्टा एमालेले जिल्ला अध्यक्ष देवविक्रम राईलाई उम्मेदवार बनाएको छ। स्थानीय नेताहरूका अनुसार पार्टीको जनाधार र पहिचानवादी मुद्दामा भट्टराई कमजोर देखिएकाले राईलाई अगाडि सारिएको हो।

यता, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पनि अनुभवी नेता हरि रोकालाई उम्मेदवार बनाएको छ। उनी २०५६ सालमै मालेको तर्फबाट ताराको चुनाव चिह्न लिएर प्रतिस्पर्धा गरेका थिए। २६ वर्षपछि फेरि त्यही चिह्न लिएर चुनाव लड्ने अवसर पाएका रोकाले २०६४ सालमा माओवादी कोटाबाट मनोनीत सभासद्का रूपमा राष्ट्रिय राजनीतिमा प्रवेश गरेका थिए। केही समय राजनीतिबाट टाढा बसेका रोकालाई यसपटक पुनः नेकपाले उम्मेदवार बनाएको हो।  नेपाली कांग्रेसले पनि यसपटक खोटाङमा नयाँ नेतृत्वलाई मौका दिएको छ। 

लगातार नेतृत्व परिवर्तन गरे पनि अपेक्षाकृत सफल परिणाम नआएको कांग्रेसले १४ औँ महाधिवेशनमा जिल्ला सभापति उम्मेदवार रहेका विरकाजी राईलाई टिकट दिएको छ। पार्टीभित्र सक्रिय भूमिका खेल्दै आएका राई महाधिवेशन प्रतिनिधि तथा पूर्व जिल्ला सचिव समेत रहिसकेका छन्। कांग्रेसले पुराना अनुहारलाई आराम दिएर नयाँ जोशसहित परिणाम निकाल्ने लक्ष्य राखेको देखिन्छ। खोटाङमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र हर्क साम्पाङको श्रम संस्कृति पार्टीको प्रभाव पनि उल्लेखनीय देखिन्छ। युवामुखी एजेण्डासहित देशभर लहर बनाइरहेको रास्वपाले रुद्र गिरीलाई उम्मेदवार बनाएको छ भने श्रम संस्कृतिबाट आरेन राई प्रतिस्पर्धामा छन्। यी दुवै दलको उदयले परम्परागत मत बाँडफाँडमा ठूलो प्रभाव पार्न सक्ने विश्लेषकहरूको बुझाइ छ। 

यसैगरी, उज्यालो पार्टीसँग सहकार्य गरेको राष्ट्रिय परिवर्तन पार्टीबाट मिरेस राईले उम्मेदवारी दिएका छन्। अन्य दल र स्वतन्त्र गरी खोटाङमा कुल १५ जनाले यसपटक प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका छन्। जसपाको तर्फबाट राकेश राई, माओवादी केन्द्रबाट चन्द्रबहादुर बुढाथोकी ‘शैलेस’, जसपा नेपालबाट सुनिल चाम्लिङ, राप्रपाबाट दिपक तामाङ, मंगोल नेसनल अर्गनाइजेसनबाट प्रयाग राई, नेमकिपाबाट ध्यानप्रसाद ढकाल र मितेरी पार्टीका केशरमान चाम्लिङ पनि प्रतिस्पर्धामा छन्। स्वतन्त्र उम्मेदवारका रूपमा डा. राजकुमार राई र तिलकचन्द्र राई उभिएका छन्।

खोटाङको चुनावी इतिहास हेर्दा २०७९ मा कांग्रेस–माओवादी गठबन्धनले चुनाव जितेका छन् । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा नेकपा माओवादीका उम्मेदवार रामकुमार राईले एमाले उम्मेदवार भट्टराईलाई पराजित गरे। २०७४ मा भने माओवादीले एमालेका विशाल भट्टराईलाई सहयोग गरेपछि उनी विजयी बनेका थिए। २०७० को दोस्रो संविधानसभामा पाँचकर्ण राई र विशाल भट्टराई दुवै निर्वाचित भए। २०६४ मा दुवै क्षेत्रमा माओवादीको दबदबा थियो। कांग्रेसले २०५६ पछि खोटाङमा जित हात पारेको छैन, जसले यसपटकको प्रतिस्पर्धालाई झनै रोमाञ्चक बनाइदिएको छ। खोटाङमा यो पटक पुरानो राजनीतिक शक्ति, नयाँ अनुहार, वैकल्पिक राजनीतिक शक्ति र स्वतन्त्र उम्मेदवारबीच बहुआयामिक प्रतिस्पर्धा देखिन्छ। विभिन्न जातीय र भौगोलिक जनसमूहको मतप्रवाह मिलेर अन्तिम परिणाम निर्णायक बन्ने सम्भावना उच्च छ।

शक्ति बस्नेतदेखि हर्क साम्पाङ र हिक्मत कार्कीसम्मलाई आयोगको स्पष्टीकरण

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनलाई मर्यादित बनाउन निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गरेको आरोपमा विभिन्न दलका उम्मेदवार, सार्वजनिक पदाधिकारी तथा संघ–संस्थालाई स्पष्टीकरण सोध्ने क्रम तीव्र बनाएको छ । यही क्रममा जाजरकोटबाट उम्मेदवार बनेका नेकपा नेता शक्ति बस्नेतसहित हर्क साम्पाङ, हिक्मत कार्की लगायतलाई आयोगले स्पष्टीकरण सोधेको छ ।

निर्वाचन आयोगका अनुसार जाजरकोटका उम्मेदवार शक्ति बस्नेतले उम्मेदवारी दर्ताका क्रममा बाजागाजा बजाउने समूहलाई पैसा दिएको देखिने भिडिओ सार्वजनिक भएपछि आयोगमा उजुरी परेको थियो। छानबिनका क्रममा बाजा बजाइरहेका व्यक्तिहरूको टाउकोमा पाँच सय रुपैयाँका नोट सिउँरिएको दृश्य देखिएकाले उक्त गतिविधि निर्वाचन आचारसंहिता विपरीत भएको निष्कर्षसहित आयोगले बस्नेतसँग लिखित स्पष्टीकरण मागेको हो । आयोगले पत्र प्राप्त भएको मितिले तीन दिनभित्र जाजरकोट निर्वाचन कार्यालय वा आयोगमा स्वयं वा प्रतिनिधिमार्फत स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ ।

त्यसैगरी श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङलाई पनि निर्वाचनमा बालबालिकाको प्रयोग गरेको आरोपमा स्पष्टीकरण सोध्ने निर्णय भएको छ । आयोगका अनुसार निर्वाचन अभियानमा बालबालिकाको प्रयोग आचारसंहिताले निषेध गरेको विषय हो । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीमाथि पनि आयोगको ध्यान गएको छ । झापा–५ मा नेकपा एमालेका उम्मेदवार केपी शर्मा ओलीको मनोनयन दर्ताका क्रममा कार्की सरकारी गाडी प्रयोग गरेर सहभागी भएको उजुरीपछि आयोगले स्पष्टीकरण सोधेको हो । निर्वाचन प्रसारप्रसारमा सार्वजनिक पदाधिकारीले सरकारी स्रोत–साधन प्रयोग गर्न नपाउने व्यवस्था आचारसंहितामा स्पष्ट गरिएको छ ।

आयोगले राप्रपाबाट काठमाडौं–४ का उम्मेदवार सुरेन्द्र भण्डारीलाई द्वेषपूर्ण तथा यौनिक तथा अल्पसंख्यक समुदायविरुद्ध घृणित अभिव्यक्ति दिएको आरोपमा स्पष्टीकरण सोधेको छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका दोलखाका उम्मेदवार जगदीश खरेललाई दलको झण्डाको प्रयोग र मनोनयन दर्ताका क्रममा २५ जनाभन्दा बढी व्यक्तिको सहभागिता गराएको विषयमा स्पष्टीकरण सोधिएको थियो। खरेलले भने आयोगमा जवाफ पेस गर्दै आगामी दिनमा आचारसंहिता पूर्ण पालना गर्ने प्रतिबद्धता जनाइसकेका छन् ।

यसका अतिरिक्त निर्वाचनसँग सम्बन्धित गतिविधिमा संलग्न भएको विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई पनि आयोगले स्पष्टीकरण सोधेको छ । निर्वाचन आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईका अनुसार आचारसंहिता उल्लंघनसम्बन्धी उजुरी प्राप्त भएमा सुरुमा तीन दिने स्पष्टीकरण सोध्ने, दोस्रो पटक २४ घण्टे समय दिने र त्यसपछि पनि उल्लंघन दोहोरिए कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइनेछ । आयोगसँग जरिवानादेखि उम्मेदवारी खारेजसम्मको अधिकार रहेको उनले स्पष्ट पारे । आयोगले निर्वाचन स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन सबै उम्मेदवार, दल र सरोकारवालालाई आचारसंहिता कडाइका साथ पालना गर्न पुनः आग्रह गरेको छ ।

 

 

राष्ट्रियसभामा कांग्रेस–एमालेको पकड: कडा भ्रष्टाचार कानुन रोक्न रणनीतिक बहुमत !

काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेले निर्वाचन प्रणालीमा रहेको ‘थ्रेसहोल्ड’ बढाउन निर्वाचन प्रणालीमा संशोधनको कार्ड फाले । त्यसका लागि संविधान नै संशोधन गर्नुपर्छ ।

प्रतिनिधिसभामा यी दुई दल नेतृत्वको सत्ता गठबन्धनसँग करिब दुई तिहाइ बहुमत रहेको अवस्थामा संविधान संशोधनको बाटो सहज देखिन्थ्यो । तर, माथिल्लो सदन राष्ट्रियसभामा आवश्यक बहुमत नपुग्दा उनीहरूको प्रयास सफल हुन सकेन ।

त्यतिबेला राष्ट्रियसभामा नेकपा माओवादी केन्द्र पहिलो दलका रूपमा थियो । माओवादी केन्द्रसँगै नेकपा एकीकृत समाजवादी पनि एउटै राजनीतिक कित्तामा रहेकाले कांग्रेस–एमालेले अघि सारेको निर्वाचन प्रणालीसम्बन्धी संशोधन प्रस्ताव त्यहीँ अड्कियो । परिणामस्वरूप, थ्रेसहोल्डको प्रतिशत बढाउने उनीहरूको रणनीति तत्कालका लागि तुहियो ।

तर, आइतबार देशको सातै प्रदेशमा भएको राष्ट्रियसभा निर्वाचनपछि शक्ति सन्तुलन फेरिएको छ । ५९ सदस्यीय राष्ट्रियसभामा अहिले कांग्रेस र एमालेका गरी ३५ जना सदस्य पुगेका छन्, जुन स्पष्ट बहुमत हो ।

यससँगै ‘माथिल्लो सदन’ भनिने राष्ट्रियसभामा कांग्रेस–एमालेको निर्णायक पकड स्थापित भएको छ ।

राजनीतिक विश्लेषकहरूका अनुसार राष्ट्रियसभाको यो गणितीय परिवर्तन संख्यात्मक नभई रणनीतिक रूपमा महत्वपूर्ण छ । उनीहरूको विश्लेषणमा कांग्रेस–एमालेले राष्ट्रियसभामा बहुमत सुनिश्चित गर्नुको दीर्घकालीन उद्देश्य आगामी प्रतिनिधिसभा निर्वाचन पछिको सम्भावित शक्ति सन्तुलनलाई नियन्त्रणमा राख्नु हो ।

विशेषगरी, यदि आगामी निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लगायत नयाँ राजनीतिक दलहरूको बहुमत प्रतिनिधिसभामा पुग्यो र उनीहरूले भ्रष्टाचारमा संलग्न उच्च तहका पुराना दलका नेताहरू तथा पूर्वसत्ताधारीहरूलाई लक्षित गर्दै कडा कानुनी व्यवस्था ल्याउने प्रयास गरे भने राष्ट्रियसभाले त्यसमा ‘ब्रेक’ लगाउन सक्ने अवस्था बनेको छ ।

नेपालको संसदीय प्रणालीअनुसार कुनै पनि विधेयक कानुन बन्न प्रतिनिधिसभा र राष्ट्रियसभा दुवैबाट पारित हुन अनिवार्य छ । एउटै सदनबाट पारित भएर मात्रै विधेयकले कानुनको रूप लिँदैन । यही संवैधानिक व्यवस्थालाई कांग्रेस–एमालेले रणनीतिक रूपमा प्रयोग गर्न खोजेको विश्लेषकहरूको दाबी छ ।

त्यसैले प्रतिनिधिसभामा नयाँ दलहरूले चाहेअनुसार भ्रष्टाचारसम्बन्धी कडा कानुन ल्याउन खोज्दा राष्ट्रियसभामा कांग्रेस–एमाले बहुमत बाधक बन्न सक्ने सम्भावना रहेको उनीहरूको भनाइ छ । यसले भावी दिनमा संसद्भित्र शक्ति संघर्ष अझ चर्किन सक्ने संकेत पनि दिएको छ ।

राष्ट्रियसभामा देखिएको यो नयाँ शक्ति सन्तुलनले केवल वर्तमान राजनीति होइन, आगामी निर्वाचन पछिको शासन प्रणाली, कानुन निर्माण प्रक्रिया र भ्रष्टाचारविरुद्धको राजनीतिक एजेन्डामाथि समेत गहिरो प्रभाव पार्ने देखिएको छ ।

यसअघि प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले बहुमतले पारित गरेको भ्रष्टाचारसम्बन्धी विधेयकका केही कडा प्रावधानमा नेता र कर्मचारीले सुटुक्क परिवर्तन गरिदिएका थिए ।

जबकि, ट्रान्सपरेन्सी इन्टरनेश्नलको पछिल्लो प्रतिवेदनअनुसार नेपाल विश्वको १०८ औँ भ्रष्ट देशको सूचीमा छ । सार्वजनिक निकायबाट हुने भ्रष्टाचारको डरलाग्दो तथ्याङ्क छ ।

यस्तो अवस्थामा नयाँ राजनीतिक दलहरू रास्वपा, श्रम संस्कृति पार्टी, उज्यालो नेपाल पार्टीलगायतले भ्रष्टाचारमा शून्य सहनशीलतासम्बन्धी एजेन्डाहरू उठाएका छन् ।

भ्रष्टाचारमा संलग्नहरूलाई कारबाहीका लागि कानुन संशोधनमा जोड दिँदै आएका छन् । तर, त्यस्ता कानुन पारित हुन नदिन कांग्रेस–एमालेले रणनीतिक रूपमा राष्ट्रियसभामा बहुमत सुरक्षित गरेका हुन् ।

मधेश झरे गगन, सिमरामा कार्यकर्ताको उत्साहपूर्ण स्वागत

काठमाडौं । नेपाली कांग्रेसका नव निर्वाचित सभापति तथा प्रधानमन्त्रीका घोषित उम्मेदवार गगन थापा मधेश केन्द्रित चुनावी अभियानका लागि सिमरा आइपुगेका छन् । सोमबार बिहान सिमरा विमानस्थलमा अवतरण गरेका थापालाई कांग्रेसका नेता–कार्यकर्ता र समर्थकहरूले फूलमाला र नाराबाजीसहित भव्य स्वागत गरेका छन् ।

सर्लाही क्षेत्र नम्बर–४ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका थापा सिमराबाट सोही निर्वाचन क्षेत्रतर्फ अगाडि बढिसकेको कांग्रेस महाधिवेशन प्रतिनिधि रघु कार्कीले जानकारी दिए । यसअघि काठमाडौं क्षेत्र नम्बर ४ बाट निरन्तर चुनाव लड्दै आएका थापा यस पटक मधेशको सर्लाहीबाट चुनावी प्रतिष्पर्धामा उत्रिएका हुन् ।

अबका केही दिन थापाले मधेशका विभिन्न जिल्लामा पुगेर चुनावी सभा, कार्यकर्ता भेटघाट र प्रचारप्रसार कार्यक्रम गर्ने तालिका रहेको छ । सर्लाही ४ मा उनको मुख्य प्रतिष्पर्धा कांग्रेसकै पृष्ठभूमिबाट आएका रास्वपाका उम्मेदवार अमरेशकुमार सिंहसँग हुने देखिएको छ । यद्यपि उक्त क्षेत्रमा एक दर्जनभन्दा बढी उम्मेदवार भए पनि चुनावी प्रतिष्पर्धा थापा र सिंहबीच नै केन्द्रित हुने अनुमान गरिएको छ । यसैबीच, कांग्रेसले धनुषाको जनकपुरधाममा आयोजना गर्न लागेको चुनावी सभा निर्वाचन आयोगद्वारा आचारसंहिता लागू भएपछि अन्तिम समयमा स्थगित गरिएको छ ।

यसअघि रास्वपाले भने जनकपुरमै चुनावी सभा सम्पन्न गरिसकेको थियो । राजनीतिक सरगर्मी बढिरहेका बेला नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपाल पनि छिट्टै मधेश यात्रामा निस्कने तयारीमा रहेको जानकारी पार्टी स्रोतले जनाएको छ । मधेशमा शीर्ष नेताहरूको बाक्लो उपस्थिति बढ्दै जाँदा आगामी निर्वाचन थप चासोपूर्ण बन्ने संकेत देखिएको छ ।

नयाँ र पुरानाबीचको चुनावले संकट टर्दैन, चुनौती झन गहिरिन्छन् : घनश्याम भुसाल (भिडियो)

काठमाडौँ । नेकपा संयुक्तका कार्यबाहक अध्यक्ष घनश्याम भुसालले आगामी निर्वाचनले मात्र देशको वर्तमान संकट समाधान नहुने स्पष्ट पारेका छन् । भिडियो सन्देशमार्फत धारणा सार्वजनिक गर्दै उनले निर्वाचनपछि पनि मुलुक आन्तरिक राजनीति र भूराजनीतिक दबाबका कारण थप जटिल अवस्थामा फस्न सक्ने चेतावनी दिएका छन् ।

भुसालका अनुसार अहिलेको अवस्था यस्तो छ जहाँ नागरिकले निर्भय र शान्त जीवन बिताउनै कठिन हुँदै गएको छ । ‘चुनावपछि सबै कुरा ठिक हुन्छ भन्ने भ्रममा नपर्नुहोस्’, उनले भने, ‘चुनावपछि पनि आन्तरिक राजनीतिक खिचातानी र बाह्य शक्तिको खेलले हामीलाई थप चुनौती दिनेछ ।’ उनले भदौ २३ र २४ गते भएको ‘जेन्जी आन्दोलन’को सन्दर्भ उठाउँदै नयाँ र पुराना दुवै राजनीतिक शक्तिको कडा आलोचना गरे । पुराना दलहरू आफ्नो असफलता लुकाउन र नयाँ दलहरू पुरानालाई मात्र गाली गरेर निर्वाचनमा होमिएको भन्दै उनले दुवै प्रवृत्तिले जनताको असन्तुष्टि झन् बढाउने बताए ।

भुसालले भदौ २३ गते बानेश्वर पुगेपछि आन्दोलनको नेतृत्व अरूको हातमा गएको र त्यसकै प्रभावस्वरूप भदौ २४ गते प्रधानमन्त्री भाग्नुपरेको दाबी गरे । उनका अनुसार जनताको वास्तविक आक्रोशलाई ‘जेन्जी आन्दोलन’ को नाममा प्रयोग गरियो र त्यसलाई अन्य शक्तिले नियन्त्रणमा लिए । ‘पुराना दलहरूले राज्यलाई जुवा जस्तै खेले’, उनले भने, ‘त्यसैको परिणामस्वरूप जनताको आक्रोश विष्फोट भयो ।’ तर त्यो आक्रोश पनि अन्ततः अरूको स्वार्थअनुसार मोडिएको उनको टिप्पणी थियो ।

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका तत्कालीन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई लक्षित गर्दै भुसालले सत्ता हातमा हुँदा पनि बिचौलिया र दलालतन्त्रसँग जुध्न नसक्नु उनीहरूको ठूलो राजनीतिक कमजोरी भएको बताए। सत्ताको लत कति घातक हुन्छ भन्ने उदाहरणका रूपमा उनले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रस्तुत गरे । भूसालले पछिल्लो समय राजनीतिको केन्द्रमा देखिएका रवि लामिछाने र बालेन्द्र शाहप्रति पनि प्रश्न उठाए ।

उनीहरूमा शासन, कुशासन, विचार, सिद्धान्त र इतिहासबारे स्पष्ट धारणा नदेखिएको भन्दै उनले आलोचना गरे । ‘देश बनाउँछु भन्छन्, तर कसरी बनाउने भन्ने स्पष्ट छैन’, भुसालको भनाइ थियो । नेपाली कांग्रेसका गगन थापा र विश्वप्रकाश शर्माबारे टिप्पणी गर्दै उनले देउवाको नेतृत्वबाट पार्टी केही हदसम्म मुक्त भए पनि बिचौलिया र दलालतन्त्रविरुद्ध स्पष्ट रूपमा उभिन नसकेको आरोप लगाए । अन्त्यमा भुसालले अहिले देशलाई नयाँ अनुहारभन्दा पनि घुस नखाने, बिचौलियासँग नझुक्ने र जनताको पक्षमा उभिने राजनीतिक शक्ति आवश्यक रहेको बताए । ‘एउटा ‘उद्धारकर्ता’ आएर सबै ठिक पारिदिन्छ भन्ने भ्रममा जनता बारम्बार परिरहेको छ’, उनले चेतावनी दिए, ‘यही भ्रम अहिले फेरि दोहोरिँदैछ ।’

निर्वाचन आचारसंहिता लागू गराउन सबै स्थानीय तह र जिससलाई मन्त्रालयको सर्कुलर

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ वटै स्थानीय तह र ७७ वटै जिल्ला समन्वय समितिलाई निर्वाचन आचारसंहिता, २०८२ लागू गर्न, गराउन ‘सर्कुलर’ गरेको छ । निर्वाचन आयोगले २०८२ साल माघ ४ गते राति १२ बजेदेखि लागू गरेको आचारसंहिता सम्बन्धित स्थानीय तह र जिल्ला समन्वय समितिले पनि आ–आफ्नो क्षेत्रमा लागू गराउन पत्राचार गरेको मन्त्रालयका शाखा अधिकृत दीपेश कट्टेलले सबै स्थानीय तह र सबै जिल्ला समन्वय समितिलाई जारी गरेको पत्रमा उल्लेख छ ।

सरकारले २०८२ साल पुस १२ गतेको नेपाल राजपत्रमा सूचना प्रकाशित गरी आचारसंहिता सार्वजनिक गरेको थियो । निर्वाचन आयोगले अर्को सूचना जारी नभएसम्मका लागि निर्वाचन आचारसंहिता लागू गरेको हो । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आचारसंहिता लागू गरिएको हो । मन्त्रालयले आवश्यक जानकारी तथा कार्यार्थ भन्दै सबै स्थानीय तह र सबै जिल्ला समन्वय समितिलाई पत्राचार गरी निर्वाचन आचारसंहिता लागू गराउन ध्यानाकर्षण गराएको हो ।

भन्सार नियमावली आज मन्त्रिपरिषदमा जान्छ : अर्थमन्त्री खनाल

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले भन्सार ऐन कार्यान्वयनमा जाने चरणमा रहेको बताएका छन् । उनले भन्सार ऐन आए पनि नियमावली नआएकै कारण ऐनमा भएका व्यवस्था कार्यान्वयनमा जान नसक्ने अवस्थाको अन्त्य गर्न लागेको बताएका हुन् । अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा अर्थमन्त्री खनालले निजी क्षेत्रलाई सहज र भन्सारलाई व्यवस्थित गराउन भन्सार ऐन जारी गरिएको बताए । उनकाअनुसार भन्सार ऐनलाई पूर्ण रुपमा सरकारले कार्यान्वयन गर्नेछ । त्यसैका लागि मन्त्रीपरिषद्बाट नियमावली स्वीकृत गराउन लागिएको हो । सकभर आज मन्त्रिपरिषदमा भन्सार नियमावली पुग्नेछ ।

अर्थमन्त्री खनालले भने, ‘हामीले निजी क्षेत्रलाईं सहज गराउनको लागि नयाँ भन्सार ऐन ल्याएको हो । त्यो भन्सार ऐनलाई पूर्णरुपमा कार्यान्वयन गर्नका लागि भन्सार नियमावली तर्जुमा गर्न लागेका छौँं । केही लामोसमय लागेकै हो । मेरो विचारमा त्यो आज साझ सम्ममा मन्त्रिपरिषदमा पुग्नेछ । मन्त्रिपरिषद्बाट प्रक्रिया पुरा गरेर नियमावली पास हुनेछ ।’

भन्सार ऐनलाई लिएर कतिपयले दण्ड धेरै चर्को भयो भन्ने गुनासाहरु आउने गरेको बताउँदै खनालले दण्ड भरसक गर्नै नपर्ने स्थिति उत्पन्न हुनुपर्ने बताए । निजी क्षेत्र र भन्सार–अर्थ मन्त्रालय सहकार्य गरेर अब दण्डै गर्ननपर्ने अवस्थामा जानुपर्ने खनालले बताए । भन्सार प्रशासनलाई सुधार्दै व्यापारलाई सहजीकरण गर्ने दक्षता अभिवृद्धिका लागि अर्थ मन्त्रालयले सहयोग गर्ने समेत उनले बताए । त्यसले दण्ड हुनुपर्ने अवस्थाको अन्त्य गर्नसक्छ । अर्थमन्त्री खनालले भन्सार सुधार रणनीति छिटो ल्याएर कार्यान्वयनमा लैजानु पर्नेमा जोड दिए । उनले आफू निजी क्षेत्रमैत्री अर्थमन्त्री भएकाले सुधारका लागि विभिन्न प्रयत्न गरिरहेको समेत बताए ।

रास्वपाको चुनावी सक्रियता तीव्र : झापामा सबिनाको घरदैलो, बालेन सुदूरपश्चिम यात्रामा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशका विभिन्न क्षेत्रमा चुनावी सक्रियता बढाएको छ । झापादेखि सुदूरपश्चिमसम्म पार्टीका शीर्ष नेताहरू मतदाता केन्द्रित अभियान र भ्रमणमा जुटिरहेका छन् । झापा निर्वाचन क्षेत्र नम्बर ५ मा सोमबार बिहान रास्वपाले मतदाता भेटघाट तथा घरदैलो कार्यक्रम गरेको छ । रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) की पत्नी सबिना काफ्लेको नेतृत्वमा बिहान ८ बजेदेखि ११ बजेसम्म घरदैलो अभियान सञ्चालन गरिएको पार्टीले जनाएको छ ।

दमक–९ स्थित उराव बस्तीबाट सुरु भएको कार्यक्रम पाणिनि स्कूल, देवसिंह टोल, नौभाइ चोक र बुद्ध चोक हुँदै पुनः उराव बस्तीमै पुगेर समापन गरिएको थियो । घरदैलोका क्रममा स्थानीय मतदातासँग प्रत्यक्ष संवाद गर्दै पार्टीका एजेण्डा र प्रतिबद्धता प्रस्तुत गरिएको रास्वपाले जनाएको छ । यता, वरिष्ठ नेता बालेन्द्र शाह सोमबार बर्दिया हुँदै सुदूरपश्चिमतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

रास्वपा बर्दियाका सचिव दीपक बीसीका अनुसार बालेन शाह दिउँसो करिब साढे १ बजे गुलरिया बजारको राधाकृष्ण चोकमा पुग्ने छन् । ‘उहाँ यही मार्ग प्रयोग गरी सुदूरपश्चिम जान लाग्नु भएको हो । औपचारिक भेटघाटको कार्यक्रम तय नभए पनि चोकमा केहीबेर रोकिनु हुनेछ,’ सचिव बीसीले बताए । बालेन शाह बाँसगढी, मैनापोखर, गुलरिया, मधुवन र राजापुर हुँदै कैलालीतर्फ जाने जानकारी दिइएको छ । रास्वपाले देशका विभिन्न क्षेत्रमा यसरी सक्रियता बढाउँदै जनसम्पर्क र संगठन विस्तारलाई प्राथमिकतामा राखेको देखिन्छ ।

 

 

 

 

आफ्नै विद्यालय बसको ठक्करबाट बालिकाको मृत्यु

चितवन । पूर्वी नवलपरासीको देवचुली नगरपालिका–१ केउरेनीमा विद्यालय बसको ठक्करबाट एक चार वर्षीया बालिकाको मृत्यु भएको छ । लु १ क ३८१४ नम्बरको बसले ठक्कर दिँदा नेपाल नमुना मावि केउरेनीमा नर्सरी कक्षाकी विद्यार्थी सुष्माकुमारी पासवानको मृत्यु भएको हो ।

प्रत्यक्षदर्शीका अनुसार विद्यालय हाताभित्र बस घुमाउने क्रममा बालिकालाई ठक्कर दिएको थियो । घाइते बालिकालाई उपचारका लागि देवचुली नगर अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिए । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

घरेलु मैदानमै रोकियो नेपाली महिला टोली, विश्वकप यात्राको सपना चकनाचुर

काठमाडौं । घरेलु मैदान कीर्तिपुरमा जारी आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा स्कटल्यान्डसँग लज्जास्पद हार बेहोरेसँगै नेपाली महिला क्रिकेट टोली समूह चरणबाटै बाहिरिएको छ । जित्नैपर्ने अन्तिम खेलमा कमजोर ब्याटिङ प्रदर्शन गर्दा नेपाल विश्वकप खेल्ने ऐतिहासिक अवसरबाट वञ्चित भएको हो ।

त्रिवि क्रिकेट मैदानमा स्कटल्यान्डले दिएको १४१ रनको लक्ष्य पछ्याएको नेपाल मात्र १३.५ ओभरमै ६८ रनमा अलआउट भयो । दबाबपूर्ण खेलमा नेपाली ब्याटरहरू सम्हालिन सकेनन् । ओपनर बिन्दु रावल र रोमा थापाले समान १४–१४ रन बनाए । रोमा अविजित रहिन् भने रुविना क्षेत्रीले १० रन जोडिन् । अन्य ब्याटर दोहोरो अंकमा पुग्न सकेनन् । कप्तान इन्दु बर्मा चोटका कारण रिटायर्ड हर्ट भइन्, जसले टोलीको मनोबलमा थप असर पुर्‍यायो ।

यस हारसँगै नेपाल समूह चरणमा चार खेल खेल्दै एक जित र तीन हारसहित चौथो स्थानमा सीमित रह्यो । नेपालको समूहबाट नेदरल्याण्ड्स, स्कटल्यान्ड र थाइल्याण्ड सुपर सिक्समा प्रवेश गरेका छन् । नेपालसँगै जिम्बाब्वे पनि प्रतियोगिताबाट बाहिरिएको छ । यसअघि टस जितेर फिल्डिङ रोजेको नेपालले बलिङमा भने उत्साहजनक प्रदर्शन गरेको थियो । स्कटल्यान्ड २० ओभरमा १४० रन बनाउँदै अलआउट भयो । नेपाली बलर मनिषा उपाध्याय चम्किइन् । उनले ४ ओभरमा १७ रन खर्चेर ४ विकेट लिँदै विपक्षी ब्याटिङ लाइनअप ध्वस्त पारिन् । ग्लोबल छनोटमा पहिलो खेल खेलिरहेकी मनिषाले पहिलो ओभरमै दुई विकेट झार्दै नेपाललाई उत्कृष्ट सुरुआत दिलाएकी थिइन् ।

रुविना क्षेत्रीले ४ ओभरमा २३ रन दिँदै ३ विकेट लिइन् भने रिया शर्मा, सीता रानामगर र कविता जोशीले समान १–१ विकेट हात पारे । स्कटल्यान्डका लागि प्रियानाज चटर्जीले २८ बलमा ७ चौकासहित अविजित ४५ रन बनाइन् । एल्सा लिस्टरले २२, सराह वर्सीले १८ र मेगन मेकोलले १७ रन जोडिन् । बलिङमा राम्रो प्रदर्शन गरे पनि ब्याटिङमा पूर्णरूपमा असफल हुँदा नेपाली टोलीको विश्वकप खेल्ने सपना फेरि अधूरै रह्यो । घरेलु दर्शकसामु अपेक्षा विपरीत प्रदर्शनले नेपाली महिला क्रिकेटले अझै स्थिरता र दबाब थेग्ने क्षमता विकास गर्नुपर्ने संकेत गरेको छ ।

नीतिगत सुधार गर्ने यो उपयुक्त समय हो : चन्द्र ढकाल

काठमाडौं । नेपाल उद्योग महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नीतिगत सुधार गर्न अहिले उपयुक्त समय रहेको बताएका छन् । विगतमा दलीय खिचातानीका कारण समयमै नीतिगत निर्णय नहुने गरेको बताउँदै वर्तमान सरकारलाई नीतिगत सुधार गर्न सहज हुने बताए ।

आज अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा राजधानीमा आयोजित कार्यक्रममा विगतमा नीतिगत निर्णय गर्न मन्त्रीलाई विषयगत जानकारी समेत नहुने गर्दा अलमलमा समेत पर्ने भएकाले विज्ञ अर्थमन्त्री भएकाले नीतिगत सुधारमा लाग्न उनले आग्रह गरे ।

अध्यक्ष ढकालले भने, ‘पोलिसिहरु सुधारका लागि यो एकदमै राइट टाइम हो । कतिपय विषयमा मन्त्री नै गर्न खोजेको के भन्नेमै जानकारी नहुने गरेको छ । तालमेल नमिलेर कतिपय गर्नैपर्ने कामहरु नहुने गरेको थियो । अहिले अर्थमन्त्रीको नेतृत्वमा जुन कामहरु भइरहेको छ, त्यो धेरै राम्रो छ ।’ अध्यक्ष ढकालले भन्सारबाट आउने रेभिन्यूलाई सरकारले प्राथमिकतामा राख्दा उद्यमशीलताको विकासमा कुनै असर नगर्ने गरी अघि बढ्नुपर्ने बताए । उद्यमशीलताको विकास गर्ने खालको पोलिसिहरु ल्याउन जरुरी रहेको उनको भनाइ छ ।

अध्यक्ष ढकालले होटल र पर्यटनलाई उद्योगका रुपमा सरकारले मान्यता दिएपनि उद्योगहरुले पाउने सुविधा ती होटल, पर्यटनले नपाएको गुनासो समेत गरे । यसलाई तुरुन्त कार्यान्वयन गर्ने हो भने उद्यमशीलता विकास हुनेछ । अध्यक्ष ढकालले कतिपय विषयलाई अहिले धितोपत्र बोर्डले इस्यु बनाएको भन्दै अर्थमन्त्रीको ध्यानाकर्षण समेत गराए ।

सर्लाही हिंडे कांग्रेस सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा सर्लाही प्रस्थान गरेका छन् । थापा आफ्नो चुनावी क्षेत्र सर्लाही ४ जाँदैछन् । माघ ६ गते वारेसमार्फत् थापाले सर्लाही ४ मा उम्मेदवारी दर्ता गरेका थिए । उम्मेदवारी दिएपछि पहिलो पटक सभापति थापा सर्लाही जान लागेका हुन् ।

सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक

काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्को बैठक अहिले सिंहदरबारमा जारी छ । प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षमा बसिरहेको बैठकमा गृहमन्त्री ओमप्रकाश अर्याल, अर्थमन्त्री रामेश्वर खनाल, चार वटै सुरक्षा निकायका प्रमुखहरू लगायत सहभागी छन् । सिंहदरबारस्थित परिषद्को कार्यालयमा जारी बैठकमा चुनावी सुरक्षाको विषयमा छलफल भइरहेको स्रोतले जनाएको छ ।

फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सुरक्षा तयारी र त्यसका योजनाबारे छलफल गर्न परिषदको बैठक बसिरहेको स्रोतले बतायो । निर्वाचनमा एक महिना अगावै नेपाली सेना परिचालन गर्ने पनि सरकारको तयारी छ । माघ २१ गतेदेखि नै सेनालाई परिचालन गर्ने सरकारको रणनीति छ । यसअघि मंसिर ४ गते पनि परिषदको बैठक बसेको थियो । उक्त बैठक पछि प्रारम्भिक चरणको सुरक्षा योजनाहरू बनाइएका थिए । यस बैठकपछि सोमबार नै दिउँसो साढे ३ बजे नियमित मन्त्रिपरिषदको बैठक बस्ने तयारी छ ।

गजुरेलमाथिको कारवाही फिर्ता नभए नेकपा एकीकरण जोखिममा : खनाल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) भित्र आन्तरिक असन्तुष्टि सतहमा देखिन थालेको छ । सिन्धुलीमा बागी उम्मेदवारलाई समर्थन गरेको आरोपमा कारबाहीमा परेका नेता हरिबोल गजुरेलको विषयलाई लिएर पूर्व प्रधानमन्त्री तथा वरिष्ठ नेता झलनाथ खनालले पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि प्रत्यक्ष दबाब बढाएका छन् ।

सामाजिक सञ्जाल मेटामार्फत धारणा सार्वजनिक गर्दै खनालले गजुरेलमाथि गरिएको कारबाही तत्काल फिर्ता नलिए पार्टी एकीकरण नै जोखिममा पर्ने चेतावनी दिएका छन्। उनले पार्टीमा संस्थागत निर्णय प्रक्रिया कमजोर बन्दै गएको र केही व्यक्तिको इच्छाअनुसार महत्त्वपूर्ण निर्णय लिइनु गम्भीर चिन्ताको विषय भएको उल्लेख गरेका छन् ।

खनालले वरिष्ठ नेतामाथि स्पष्टीकरणको अवसर समेत नदिई गरिएको निष्कासनलाई अस्वाभाविक र अस्वीकार्य भनेका छन् । विभिन्न घटकबाट आएका नेताहरूलाई जानकारी नदिई सञ्चारमाध्यमबाट मात्र निर्णय सार्वजनिक हुनु पार्टी संस्कारविपरीत भएको उनको भनाइ छ ।

उनले आमनिर्वाचन २०८२ नजिकिँदै गर्दा मुलुक भित्री र बाहिरी प्रतिक्रियावादी षड्यन्त्रको सामना गरिरहेको स्मरण गराउँदै यस्तो संवेदनशील समयमा कम्युनिष्ट शक्तिहरूबीच नीतिनिष्ठ र दृढ एकता अपरिहार्य रहेको बताएका छन् । तर, एकीकरण घोषणा भएको लामो समय बितिसक्दा पनि नेकपाभित्र नेतृत्वदायी कमिटी र संस्थागत निर्णय प्रणाली विकसित हुन नसक्नु दुःखद रहेको उनको टिप्पणी छ ।

खनालले नेकपालाई सच्चा कम्युनिष्ट पार्टी बनाउन अधिनायकवादी शैली त्यागेर सामूहिक नेतृत्व र निर्णय प्रणाली स्थापित गर्न आग्रह गरेका छन् । त्यसका लागि गजुरेलमाथिको कारबाही अविलम्ब स्थगित गर्न, नेतृत्व तहका नेताहरूको आकस्मिक बैठक बोलाउन र घटनाक्रमबारे गम्भीर आन्तरिक समीक्षा गर्न उनले प्रचण्डसँग जोडदार माग गरेका छन् । अन्यथा, पार्टी एकीकरणको प्रक्रिया टुंगिन नपाउँदै नेकपा बिखण्डनतर्फ जाने खतरा बढ्ने खनालको चेतावनी छ ।

नेपाल र साउदी अरबबीच श्रम सम्झौतामा हस्ताक्षर

काठमाडौं । वैदेशिक रोजगारीको प्रमुख गन्तव्य साउदी अरब र नेपालबीच अन्ततः ऐतिहासिक द्विपक्षीय श्रम सम्झौता भएको छ । एक दशक बढी लामो कूटनीतिक र प्राविधिक प्रयासपछि साउदीको रियादमा आयोजित एक विशेष समारोहबीच साधारण श्रमिकको भर्ना तथा व्यवस्थापन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

सम्झौतामा नेपाल सरकारका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्र सिंह भण्डारी र साउदी अरबका मानव संशाधन तथा सामाजिक विकास मन्त्री अहमद बिन सुलेमान अलराजीले हस्ताक्षर गरेका छन् । यो सम्झौतासँगै साउदी अरबमा कार्यरत लाखौं नेपाली श्रमिकको रोजगारी थप सुरक्षित, व्यवस्थित र मर्यादित बन्ने बाटो खुलेको छ ।

नेपालले वि.सं. २०७० सालदेखि नै साउदी अरबसँग श्रम सम्झौताका लागि पहल गर्दै आएको थियो । पटक–पटक मस्यौदा आदान–प्रदान भए पनि निष्कर्षमा पुग्न सकेको थिएन । पछिल्लो समय गत भदौ १३ गतेको मन्त्रिपरिषद् बैठकले सम्झौताको बाटो खुला गरेको थियो । तर, भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’ का कारण सरकार परिवर्तन भएपछि हस्ताक्षर प्रक्रिया केही समय धकेलिएको थियो । राजनीतिक स्थिरतासँगै नयाँ सिराबाट अघि बढेको यो प्रक्रियाले अन्ततः मूर्तरूप पाएको छ ।

सम्झौतामा के छ ?
द्विपक्षीय बैठकपछि हस्ताक्षर गरिएको यस सम्झौताले श्रमिकको हकहितलाई केन्द्रविन्दुमा राखेको छ । सम्झौताअनुसारः–

– पारदर्शी भर्ना प्रक्रियाः श्रमिक छनोट र भर्ना प्रक्रियालाई लागत–प्रभावकारी र न्यायोचित बनाइनेछ ।

–गुनासो र सुरक्षाः कार्यस्थलमा हुने समस्या, तलब सुविधा, र सामाजिक सुरक्षाका विषयमा अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सुनुवाइ हुनेछ ।

–कानुनी उपचारः करारपत्र फेरबदल गर्ने, घर जान नदिने वा उपचारमा लापरबाही गर्ने रोजगारदाता कम्पनीलाई कानुनी दायरामा ल्याउन सहज हुनेछ ।

वैदेशिक रोजगार विभागको तथ्यांक हेर्दा साउदी अरब नेपाली श्रमिकहरूको प्रमुख रोजाइमा पर्छ । गत आर्थिक वर्ष २०८१/८२ मा मात्रै १ लाख ५२ हजार ५५७ जना नेपालीले साउदीका लागि श्रम स्वीकृति लिएका थिए भने त्यसअघिको वर्ष यो संख्या १ लाख ४१ हजार ५०२ रहेको थियो ।

जंगल छेउका गाउँ स्थानान्तरण गर्नुपर्छ : बालेन्द्र शाह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले वनजंगल छेउका गाउँलाई स्थानान्तरण गर्नुपर्ने बताएका छन् । आइतबार कार्यकर्ताहरुसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । उनले नेपाल सरकारको नीति जंगलको छेउछाउमा बसिरहेको गाउँलाई स्थानान्तरण गर्ने हुनुपर्ने बताए ।

उनले उनीहरुको जति जग्गा छ, त्यत्ति नै जग्गा अन्य स्थानमा दिएर स्थानान्तरणको नीति लिनु उचित हुने बताए । उनले भने, ‘नेपाल सरकारको नीति त्यस्तो हुनुपर्छ । जंगलको छेउछाउमा बसिरहेको गाउँलाई स्थानान्तरण गर्ने हो । उहाँहरुको जति जग्गा छ, उहाँहरुको पाँच आना जग्गा छ, दुई रोपनी जग्गा छ कति छ, त्यो हिसावले स्थानान्तरण गरेर सरकारले अर्को ठाउँमा राखिदिनु पर्छ । मान्छेलाई जंगलसँगै राखिदिनु भएन ।’ उनले मानिसलाई जंगल नजिक राख्न नहुने बताए ।

कर्णालीबाट राष्ट्रिय सभामा शाही र रखाल विजयी

काठमाडौं । राष्ट्रिय सभा सदस्यका लागि भएको निर्वाचनमा कांग्रेस र एमालेका एक–एक जना विजयी भएका छन् । कर्णालीबाट नेपाली कांग्रेसका प्रदेश सभापति समेत रहेका ललितजंग शाही र एमालेकी मीना सिंह रखाल विजयी भएका हुन् । चुनावमा कांग्रेस–एमाले तालमेल गरेका थिए । काँग्रेसका शाहीले प्रदेशतर्फ २५ र स्थानीयतर्फ १०० मत पाएको प्रदेश निर्वाचन अधिकृत लालबहादुर गुरुङले बताए । उनका अनुसार एमालेकी रखालले प्रदेशसभातर्फ २६ र स्थानीय तह तर्फ ९३ मत पाएकी छिन् ।

नेकपाका दुवै उम्मेदवार पराजित भएका छन् । नेकपाले रुकुम पश्चिमका पुराना नेता बुद्धिप्रसाद शर्मा र डोल्पाकी अन्जु महतरालाई उम्मेदवार बताएका थियो । पराजित भएका नेकपाका उम्मेदवार शर्माले प्रदेशसभातर्फ १३ र स्थानीयतर्फ ५० मत प्राप्त गरे । महिलातर्फकी उम्मेदवार अन्जु महतराले प्रदेशतर्फ १३ र स्थानीयतर्फ ५५ मत पाइन् । खसेको कुल मतमध्ये ६ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ । प्रदेश सभातर्फ ४० प्रदेश सभा सदस्यमध्ये ३९ जनाले मतदान गरेका थिए ।

राप्रपाकी सांसद सन्तोषी शाहीले भने मतदान गरिनन् । स्थानीय तहतर्फ १५८ मतदाता रहेकोमा १५२ मत मात्रै खसेको थियो । स्थानीय तहका ६ जना जनप्रतिनिधिहरूले मत खसालेका छैनन् । आइतबार भएको मतदानमा कुल ९६.४६ मत खसेको निर्वाचन अधिकृत गुरुङले जानकारी दिए । उनका अनुसार, कुल १९८ मतदाता संख्यामध्ये १९१ मत खसेको छ ।

राष्ट्रियसभा सदस्यमा एमालेका पोर्तेल निर्वाचित

मोरङ । राष्ट्रियसभाको निर्वाचनमा कोशीबाट दलिततर्फ पनि नेकपा एमालेका सोमनाथ पोर्तेल निर्वाचित भएका छन्। पोर्तेलले नेकपाका खेम सुन्दासलाई पराजित गरेका हुन् । पोर्तेलले ७ हजार ४२३ मत प्राप्त गरे । सुन्दासले २ हजार २७ मत पाए ।

कोशी प्रदेशबाट राष्ट्रियसभाका ३ सदस्य पदका लागि निर्वाचन भएको हो । खुल्ला सदस्यमा यसअघि नै नेपाली कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका छन् । राष्ट्रियसभा सदस्य निर्वाचनमा कोशी प्रदेशमा १३७ स्थानीय तहहरु मध्ये नेपाली कांग्रेसका ११३, एमालेका १०८, नेपाली कम्युनिष्ट पार्टीका ३६, जसपा नेपाल र राप्रपाका ४–४ र स्वतन्त्र २ जना रहेका छन् ।

प्रदेशसभामा नेपाली कांग्रेसका २९, एमालेका ४०, नेकपाका १७, राप्रपाका ५ र जसपाका १ सांसद मतदाता थिए । प्रतिनिधिसभामा उम्मेदवारी दिएका नेकपाका ३, एमालेका २, श्रम संस्कृति पार्टीका एक र भ्रष्टाचार मुद्दाका कारण झापा गाउँपालिकाका अध्यक्ष निलम्बनमा परेका कारण मतदाता सूचीबाट नाम हटाइएको थियो ।

राष्ट्रियसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेस र एमालेले ७ वटै प्रदेशमा गठबन्धन गरेको थियो । पोर्तेल २०३५ साल फागुनमा पाँचथरमा जन्मिएका हुन् । उनी झापाको हल्दिवारीमा बसोबास गर्छन् । पोर्तेल एमालेको भ्रातृ संगठन ‘मुक्ति समाज नेपाल’ को केन्द्रीय उप–महासचिव हुन् ।

 

राष्ट्रियसभामा लुम्बिनीबाट झाँक्री, जंगली र केसी निर्वाचित

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनमा लुम्बिनीमा तीन वटै सदस्य कांग्रेस–एमाले–जसपा गठबन्धनले जितेको छ । आइतबार साँझ मतगणना सकिएकोमा महिलातर्फ गठबन्धनबाट एमाले उम्मेदवार रामकुमारी झाँक्री, अपांगतातर्फ कांग्रेसका बासुदेव घिमिरे ‘जंगली’ र अन्यमा कांग्रेसकै चन्द्रबहादुर केसी निर्वाचित भएका छन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार झाक्रीले ६ हजार ३३० मतभार पाएकी छन् । त्यहाँ नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार दुर्गा भण्डारीले १ हजार ३६२ र राष्ट्रिय जनमोर्चाकी पद्मा पण्डितले १४२ मत ल्याइन् । अपांगतातर्फ जंगली ५ हजार ३२२ मतभार प्राप्त गर्दै विजयी भए । नेकपाका सजन विकले १ हजार ६०१ मतभार ल्याए । अन्य क्लस्टरमा कांग्रेसकै चन्द्र बहादुर केसी ५ हजार ९७७ मतभार प्राप्त गर्दै निर्वाचित भए । माओवादी केन्द्रका बृहस्पति अधिकारीले १ हजार ८३२ मत ल्याएका छन् ।

राष्ट्रियसभामा सुदूरपश्चिमबाट भण्डारी निर्वाचित

कैलाली । राष्ट्रियसभा निर्वाचनमा सुदूरपश्चिमबाट महिलातर्फ नेकपा एमालेकी उम्मेदवार लीला भण्डारी विजयी भएकी छन् । उनले ३,९९४ मत प्राप्त गरेकी छन् । उनकी प्रतिष्पर्धी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) की रोजी बस्नेतले १,६७५ मत पाएकी छन् ।

खुल्लातर्फको मतगणना जारी छ । खुल्ला एक स्थानका लागि नेपाली कांग्रेसका खम्मबहादुर खाती र नेपाली कम्युनिष्ट पार्टीका टीकाराम जैसीबीच प्रतिष्पर्धा छ । कांग्रेस–एमाले गठबन्धनका कारण उनको पनि जित निश्चित छ।

 

 

राष्ट्रियसभामा कोशीबाट एमालेकी रोशनी मेचे निर्वाचित

मोरङ । राष्ट्रिय सभा निर्वाचनमा महिलातर्फ नेकपा एमालेकी उम्मेदवार रोशनी मेचे विजयी भएकी छन् । उनले ७,१७३ मत प्राप्त गरेकी छन् । उनको प्रतिष्पर्धी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) की उम्मेदवार नमिता न्यौपाने २,२६८ मत पाइन् ।

अल्पसंख्यक मेचे समुदायबाट प्रतिनिधित्व गर्ने रोशनीले यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयमा रहेर काम गरेकी छिन् । २०३८ साल भदौ ८ गते जन्मिएकी रोशनी मेचे झापाको मेचीनगर–१२ की स्थायी बासिन्दा हुन् ।अल्पसंख्यक मेचे समुदायको सशक्त आवाजको रूपमा चिनिने उनी विगत १०–१२ वर्षदेखि सामाजिक र राजनीतिक क्षेत्रमा सक्रिय छिन् । उनी हाल एमालेको भ्रातृ संगठन ‘लोकतान्त्रिक आदिवासी जनजाति महासंघ’ को केन्द्रीय सदस्यको रूपमा कार्यरत छिन् ।

एमाले र प्रलोपाबीच चुनावी तालमेल, यस्ता छन् तीन बुँदे सहमति

काठमाडौं । आगामी निर्वाचनलाई लक्षित गर्दै नेकपा एमाले र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बीच कर्णाली प्रदेश र पुरानो राप्ती अञ्चलका जिल्लामा चुनावी तालमेल गर्ने सहमति भएको छ । कर्णाली प्रदेशका १० जिल्लामध्ये हुम्ला र जुम्ला बाहेकका आठ जिल्लामा दुबै दलबीच संयुक्त रूपमा चुनाव लड्ने समझदारी बनेको हो ।

आइतबार काठमाडौँमा भएको कार्यक्रममा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र प्रलोपाकी अध्यक्ष परिषद सदस्य दुर्गा सोवले सहमति पत्रमा हस्ताक्षर गरेका छन् । सहमतिअनुसार हुम्ला र जुम्ला बाहेकका कर्णालीका सबै जिल्लामा प्रलोपा एमालेको चुनाव चिह्नमा मतदान गर्न तयार भएको छ ।

कर्णाली प्रदेशमा सल्यान, सुर्खेत, रुकुम पश्चिम, जाजरकोट, दैलेख, डोल्पा, कालिकोट, मुगु, हुम्ला र जुम्ला जिल्ला रहेका छन् । यीमध्ये सल्यानसहित साविक राप्ती अञ्चलका जिल्लामा प्रलोपा एमालेको पक्षमा उभिनेछ भने रुकुम पूर्व र रुकुम पश्चिममा एमालेले प्रलोपालाई समर्थन गर्ने सहमति भएको छ । विशेष गरी रुकुम पश्चिम र रुकुम पूर्वमा तालमेल गरेर चुनाव लड्ने निर्णयलाई राजनीतिक रूपमा अर्थपूर्ण रूपमा हेरिएको छ । सहमतिअनुसार रुकुम पश्चिममा प्रलोपा उम्मेदवार जनार्दन शर्मा र रुकुम पूर्वमा प्रलोपा उम्मेदवार सन्दीप पुनलाई एमालेले समर्थन गर्नेछ ।

हुम्ला र जुम्लामा भने दुवै दल आ–आफ्नै उम्मेदवारसहित प्रतिस्पर्धामा छन् । हुम्लामा एमालेबाट दल फडेरा र प्रलोपाबाट जटिल कार्की उम्मेदवार छन् । त्यहाँ कांग्रेस, नेकपा, राप्रपा र रास्वपाका उम्मेदवारसमेत चुनावी मैदानमा छन् । यस्तै जुम्लामा एमालेका शान्तिलाल महत र प्रलोपाका मनऋषि धितालबीच प्रतिष्पर्धा हुँदैछ, जहाँ अन्य दलका उम्मेदवारहरूको पनि उल्लेख्य उपस्थिति छ । सहमति कार्यान्वयनका लागि दुवै दलले आफ्ना आन्तरिक पंक्तिलाई तत्काल निर्देशन दिने बताएका छन् । कर्णाली र राप्ती क्षेत्रमा शक्ति सन्तुलन बदल्न सक्ने यो तालमेलले आगामी निर्वाचनमा नयाँ राजनीतिक समीकरण निर्माण गर्ने अपेक्षा गरिएको छ ।

रेशम चौधरीको रिटमा अन्तरिम आदेश दिन अस्वीकार, उम्मेदवार हुन नपाउने

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीको उम्मेदवारी खारेजीविरुद्ध दायर रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । आज (आइतबार) सर्वोच्च अदालतका न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले चौधरीले दायर गरेको रिटमा निर्वाचन आयोगसँग लिखित जवाफ माग्ने आदेश गरेको हो ।

साथै अन्तरिम आदेशका विषयमा छलफलका लागि दुवै पक्षलाई उपस्थित हुनु भनी अदालतले बोलाएको छ । सर्वोच्चले उम्मेदवारी खारेजविरुद्ध अन्तरिम आदेश जारी नगरेपछि उनी उम्मेदवार हुन नपाउने भएका छन् । कैलाली–१ बाट उनले प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गरेका थिए । तर निर्वाचन कार्यालयले उम्मेदवारी खारेज गरेसँगै उनी सर्वोच्च अदालत पुगेका थिए । टीकापुर हत्याकाण्डसँग सम्बन्धित कर्तव्य ज्यानमुद्दामा तीन तहका अदालतबाट दोषी ठहर भएकाले निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरेको थियो ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कैलाली–१ बाट मनोनयन दर्ता गराएका चौधरीको उम्मेदवारी निर्वाचन आयोगले बिहीबार खारेज गरेको थियो । सर्वोच्चले खारेजीविरुद्ध अन्तरिम आदेश दिन पर्ने या नपर्नेबारे १५ दिनभित्र लिखित जवाफ दिन समेत निर्वाचन आयोगलाई आदेश गरेको छ ।

चितवन-३ : रेणु दाहाल विरासत जोगाउँछिन् कि सोविता गौतम इतिहास रच्छिन् ?

महाभिडन्त फागुन २१, चितवन-३

काठमाडौं । रेणु दाहाल र सोविता गौतम प्रतिस्पर्धामा उत्रिएपछि २१ फागुनको चुनावअघि सबैभन्दा बढी चासो भएको निर्वाचन क्षेत्रमध्येमा पर्छ, चितवन–३ । यो क्षेत्र यतिबेला चुनावी ‘हट सिट’ भएको छ ।

रेणु र सोविता चर्चित नेतृ हुन् । रेणुले दुईपटक मेयर भएर भरतपुर महानगरपालिका हाँकिन् । उनले त्यहाँ जुन विकासको मोडल लागू गरिन् र समृद्ध र विकसित भरतपुर महानगरपालिका बनाइन्, त्यसले उनी सफल मेयरका रूपमा चिनिन्छन् ।

सोविता विघटित प्रतिनिधिसभामा प्रभावशाली ढंगले उठाएको मुद्दा र प्रखर अभिव्यक्तिकलाका कारण चिनिन्छन् । २०७९ मा उनी काठमाडौं–२ बाट निर्वाचित भएकी थिइन् । यसपटक चितवन–३ झरेकी हुन् ।

यो चुनाव क्षेत्रमा यसअघि रेणु मेयर भएको भरतपुर महानगरपालिकाको २९ मध्ये १९ वटा वडा पर्दछन् । माडी नगरपालिका पनि यही क्षेत्रमा पर्छ । यहाँका धेरै वडा कांग्रेस, एमाले र तत्कालीन माओवादीले जितेका छन् । माडी भने माओवादीको राम्रो जनाधार भएको क्षेत्र हो । यद्यपि, त्यहाँका मेयर एमालेबाट निर्वाचित छन् ।

यसअघि प्रत्यक्षतर्फ राष्ट्रिय प्रजातन्त्र पार्टीले यहाँ चुनाव जितेको थियो । त्यहाँबाट उपाध्यक्ष विक्रम पाण्डेले २०७९ मा चुनाव जिते । त्यसबेला उनले ३५ हजार ६० मत पाए ।

कांग्रेसको संस्थापन पक्षको समर्थनप्राप्त तत्कालीन नेकपा माओवादी केन्द्रका भोजराज अधिकारीले २५ हजार ८२४ मत पाए । राष्ट्रिय स्वतन्त्र पार्टीकी जिता बरालले १४ हजार ८४३ मत पाएकी थिइन् । एमालेले समर्थन गरेको कांग्रेसको बागी उम्मेदवार दिनेश कोइरालाले १२ हजार २७५ मत पाए ।

तर, प्रत्यक्षमा साढे १४ हजार मत प्राप्त गरेको रास्वपाले दोब्बर बढी मत २८ हजार ४०१ मत पाएर समानुपातिकमा पहिलो बन्यो । प्रत्यक्षमा ३५ हजार मत पाएको राप्रपाले १६ हजार ७५५ मतमा सीमित हुनुुपर्‍यो ।

तत्कालीन नेकपा माओवादी केन्द्रले १६ हजार ९० मत र नेकपा एमालेले १४ हजार ५२२ मत पाए । नेपाली कांग्रेसले १० हजार ५२४ मत प्राप्त गर्दै समानुपातिकमा पाचौँ दल बन्यो । यसले पनि चितवन–३ को दलीय जनमत थोरबहुत थाहा पाइन्छ ।

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा यहाँ एमालेको समर्थन प्राप्त प्रचण्ड ४८ हजार २७६ मत पाएर विजयी भए । नेपाली कांग्रेसको समर्थन प्राप्त राप्रपाका विक्रम पाण्डेले ३८ हजार ९३५ मत पाए ।

यसपटक कांग्रेसले टेकप्रसाद गुरुङलाई उम्मेदवार बनाएको छ । एमालेले शंकर थपलिया र राप्रपाले दीपक थापा मगरलाई उम्मेदवार बनाएको देखिएको छ । राप्रपा नेता पाण्डेले यसपटक दीपकका लागि चुनावी मैदान खाली गरिदिए । यति हुँदाहुँदै पनि यहाँ नेकपाकी उम्मेदवार रेणु दाहाल र रास्वपा उम्मेदवार सोविता गौतम सर्वाधिक चर्चामा छिन् ।

चितवन–३ सर्वाधिक दलीय मत अदलीबदली हुने क्षेत्र हो । यहाँ कहिले माओवादी त कहिले राप्रपाले बढी मत पाएको देखिन्छ । गत निर्वाचनमा समानुपातिकतर्फ रास्वपाले बढी पायो । मतदान प्रवृत्तिको अनुुसन्धान गर्ने अध्येताहरूका अनुसार सहरी मतदाता स्थिर हुँदैनन् । उनीहरू चुनावी हुरी जता बढी चल्छ, त्यतै ढल्किन्छन् । त्यसो हुँदा कहिले माओवादी, राप्रपा त कहिले रास्वपामा मत ओहिरिएको हो । यसपटक के होला ? २१ फागुनमा निर्वाचन मत गणना हुँदै गर्दा थाहा हुन्छ ।

तर, अधिकांश जनता भन्छन्– बोलीले होइन, कामले विकास र समृद्धिको नेतृत्व गर्न सक्ने नेता चाहिन्छ । त्यसो हुँदा भरतपुर महानगरपालिकाको प्रमुख हुँदा विकास र समृद्धिको नेतृत्व गरेको भनेर चिनिएकी रेणु दाहाल बलिया उम्मेदवार ठानिएको छ । उनीसँग प्रतिस्पर्धामा उत्रिएकै रास्वपाकै सोविता पनि प्रभावशाली उम्मेदवार हुन् । उनीहरूको वाचापत्र वा घोषणापत्र भने सार्वजनिक भएका छैनन् ।

यहाँ २०६४ मा तत्कालीन एकीकृत नेकपा माओवादीका नारायणप्रसाद दाहाल निर्वाचित भएका थिए, जो हाल राष्ट्रियसभाका अध्यक्ष छन् ।

२०७० को संविधानसभा निर्वाचनमा भने त्यहाँबाट एमालेका कृष्णभक्त पोखरेलले निर्वाचन जिते । २०५१ र २०५६ मा त्यहाँबाट लगातार कांग्रेस नेता डा. गंगाधर लम्साल निर्वाचित भएका थिए ।

२०६४ मा माओवादीले चितवन– ३ मा कांग्रेसको जनाधार भत्काइदियो । त्यसपछि कांग्रेसले आफ्नो जनाधार कहिल्यै फर्काउन सकेको छैन । बरु, त्यहाँ माओवादी, राप्रपा, रास्वपा र एमालेले जनाधार बलियो बनाउँदै लगेका छन् ।

त्यसो हुँदा यसपटक नेकपाबाट रेणु दाहालले जितको विरासत जोगाउँछिन् कि सोविता गौतमले पहिलो जित निकाल्छिन् ? कि कांग्रेसका टेकबहादुर गुरुङ, राप्रपाका दीपक थापा मगर वा एमालेका शंकर थपलियाले चुनाव जित्छन् ? प्रतीक्षा गर्नुपर्ने छ ।

रास्वपाका उपत्यकाका उम्मेदवारसँग बालेन शाहको छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनबारे पार्टीका उम्मेदवारहरुसँग रणनीतिक छलफल गरेका छन् । आफ्नो निर्वाचन क्षेत्रबाट काठमाडौं फर्किएका नेता शाहले आइतबार चुनावी रणनीतिबारे उपत्यकाभित्रका पार्टीका उम्मेदवारसँग छलफल गरेका हुन् ।

नेता शाहले उम्मेदवारहरुसँग चुनावी अभियानबारे ब्रिफिङ लिएको भेटमा संलग्न नेताहरुले बताए । भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै ललितपुर–३ की उम्मेदवार समेत रहेकी नेतृ तोषिमा कार्कीले भेटमा चुनावी अभियानबारे नेता शाहले जानकारी लिएको बताइन् । उनले भेटमा चुनावी रणनीतिबारे समेत छलफल भएको उल्लेख गरिन् । उनकाअनुसार नेता शाहले उम्मेदवारहरुलाई आफूहरुको स्पष्ट बहुमतको सरकार बन्ने भन्दै जनता समस्या बुझ्ने कार्यमा गम्भीरतापूर्वक लाग्न आग्रह गरेका छन् ।

उनले भने, ‘उहाँले हामीहरुसँग अपडेट लिनु भएको हो । अर्को, चुनावी रणनीतिको बारेमा थोरै छलफल भयो । उहाँले स्पष्ट रुपमा भन्नु भएको छ–सरकार हाम्रो बन्दैछ । ढुक्क भएर जनताको घर घरमा जानुस्, समस्या सुन्नुस् । उहाँहरुको समस्या समाधान गर्छौं, हाम्रो स्पष्ट बहुमतको सरकार बन्दैछ ।’ पार्टीकी नेतृ रञ्जु दर्शनाले चुनावी रणनीतिबारे छलफल भएको जानकारी दिइन् ।

उनले भनिन्, ‘उहाँले ढुक्क भएर आफ्नो चुनावी क्याम्पेङ गरेर अगाडि बढ्नुस् भन्नु भयो । अन्य चुनावी रणनीतिको बारेमा पनि केही छलफल भयो ।’ रास्वपा नेता तथा काठमाडौं–३ का उम्मेदवार राजुनाथ पाण्डेले निर्वाचन क्षेत्रमा भइरहेको गतिविधिबारे जानकारी गराउन नेता साहसँग भेट भएको बताए ।

उनले भेटमा चुनावी रणनीतिबारे छलफल भएको उल्लेख गरे । उनले आफूहरु सौहाद्र्रपूर्ण वातावरणमा जनताको घरदैलोमा गइरहेको उल्लेख गर्दै नागरिकले परिवर्तनलाई आत्सात गरेको पाइएको पनि बताए । उनले भने, ‘काठमाडौं क्षेत्र नम्बर ३ मा के भइरहेको छ भन्नेबारे रिपोर्टिङको लागि म आएको थिएँ । हामी सौहाद्र्रपूर्ण वातावरणमा जनताको घरदैलोमा गएका छौँ । नागरिकले देशमा विकसित राजनीतिक परिवर्तनलाई आत्मसात गरेको देखिन्छ । हामीलाई बहुमतले अनुमोदन गर्नु हुन्छ भन्ने विश्वास छ ।’ अगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेता शाहले झापा–५ बाट उम्मेदवारी दिएका छन् ।

 

राजेन्द्र बजगाई भन्छन्–कांग्रेससँगको आबद्धता समाप्त गर्ने सोंचमा पुगेको छु

काठमाडौं । नेपाली कांग्रेसका नेता राजेन्द्र बजगाईंले पार्टीसँगको आबद्धता समाप्त गर्ने संकेत गरेका छन् । सामाजिक सञ्जालमा भावुक स्टाटस लेख्दै उनले केही व्यक्तिका कारण आफूले निर्दोष कांग्रेस छाड्नु पर्ने अवस्थामा पुगेको उल्लेख गरेका छन् ।

बजगाईंले लेखेका छन्, ‘धेरै भारी मनले म नेपाली कांग्रेससँगको आबद्धता अब समाप्त गर्ने सोचमा पुगेको छु ।’ उनले आफ्नो राजनीतिक र सामाजिक यात्रामा धेरै पटक मृत्युको मुखबाट जोगिएको, धेरैलाई सन्तानको सुख दिलाएको तथा कैयौँको जीवन जोगाएको उल्लेख गरेका छन् । तर, ‘एकाध निकृष्ट पात्रका कारण निर्दोष कांग्रेसलाई छाड्नै पर्ने भयो,’ भन्दै उनले पार्टीभित्रकै केही व्यक्तिप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

हेर्नुस् बजगाईको स्टाटस

धेरै भारी मनले म नेपाली कांग्रेससँगको आबद्धता अब समाप्त गर्ने सोचमा पुगेको छु । धेरै पटक मृत्युको मुखबाट आफूलाई बचाएँ, धेरैलाई सन्तानको सुख र गास– नामसारी–गरिदिएँ, कैयौंको जीवन जोगाई दिएँ, एकाध निकृष्ट पात्रका कारण निर्दोष कांग्रेसलाई छाड्नै पर्ने भयो ।

 

 

भुसाल नेकपाको राष्ट्रियसभा संसदीय दलको नेता र शाह प्रमुख सचेतक नियुक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को राष्ट्रियसभा संसदीय दलको नेतामा बेदुराम भुसाल नियुक्त भएका छन् । आइतबार भएको नेकपाको राष्ट्रियसभा संसदीय दलको बैठकले भुसालाई संसदीय दलको नेतामा नियुक्त गरेको हो ।नेकपाको प्रमुख सचेतकमा मदनकुमारी शाह ‘गरिमा’ र सचेतकमा गंगा बेलवासे नियुक्त भएका छन् । यसअघि नेकपाको राष्ट्रिय सभा संसदीय दलको नेता नारायणकाजी श्रेष्ठ थिए । उनले पदबाट राजीनामा दिएर सर्लाही ३ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका छन् ।

 

 

सन्तोष परियारले गरे विवाह

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का अध्यक्ष परिषद सदस्य सन्तोष परियार वैवाहिक बन्धनमा बाँधिएका छन् । आइतबार जिल्ला अदालत कास्कीमा पुगेर परियारले सर्मिला परियारसँग विवाह दर्ता गराएका हुन् । सर्मिला पोखरा महानगरपालिका–१७ की स्थानीय हुन् । उनीहरू दुई वर्षदेखि प्रेममा थिए । ‘हामीले आज विवाह गरेका हौं,’ सन्तोषले सुनाए ।