`

देश चुनावमा होमिँदा पनि प्रचार सामग्रीको आएन ठूलो अर्डर {तस्वीरहरु}

काठमाडौं । आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा चुनावका लागि उम्मेदवारी दर्ता गराएर उम्मेदवारहरु मतदाताको घरदैलोमा पुग्न थालिसकेका छन् । पूरै देश चुनावमा होमिइसकेको छ । देशभर प्रचारप्रसार सुरू भइसक्दा पनि प्रचार सामग्री बनाउने व्यवसायीहरूलाई भने चुनावको लहरले छुन सकेको छैन । पहिलेका चुनावमा निकै व्यस्त हुने व्यवसायीहरूले ठूलो अर्डर नआएको बताएका छन् ।

स–सानो काममात्रै उनीहरुले पाइरहेका छन् । उनीहरुका अनुसार पहिले पहिले चुनावको एक महिना अघि नै अर्डर पुरा गर्न हम्मेहम्मे हुन्थ्यो । एकै पटक लाख–लाख पिसको अर्डर आउने गथ्र्यो । यो पटक भने धेरै चहलपहल छैन । निर्वाचन प्रचारप्रसारमा दलका झण्डा र प्रचार सामग्री प्रयोगमा निर्वाचन आयोगले कडाइ गरेका कारण अर्डर कम आएको हुन सक्ने व्यवसायीहरुको अनुमान छ ।

तस्वीरहरु : नेपाल फोटो लाइब्रेरी

कांग्रेस नेताहरु माघ २१ देखि चुनावी क्षेत्रमै खटिने

काठमाडौं । आउँदो निर्वाचनको तयारीलाई थप प्रभावकारी र व्यवस्थित बनाउन नेपाली कांग्रेसले नयाँ सांगठनिक रणनीति अख्तियार गरेको छ । कांग्रेसले आगामी २१ माघदेखि २१ फागुनसम्मका लागि ‘विशेष रणनीति’ लागू गर्दै पार्टीको सम्पूर्ण शक्तिलाई कार्यक्षेत्रमा उतार्ने भएको हो ।

निर्वाचन परिचालन समितिका संयोजक एवं उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा तयार पारिएको ‘निर्वाचन परिचालन निर्देशिका’ मा चुनावको अन्तिम तयारीका लागि नवीन कार्ययोजना समेटिएको छ । जसअन्तर्गत ‘जसको जिम्मेवारी जहाँ, उसले खट्ने त्यहाँ’ भन्ने नीतिलाई मुख्य आधार बनाइएको छ । यस नीतिअनुसार पार्टीका विभिन्न तहमा रहेका पदाधिकारी तथा सदस्यहरूले आफ्नो तोकिएको कार्यक्षेत्रमा अनिवार्य रूपमा खटिनु पर्नेछ ।

निर्वाचनको वातावरण निर्माण गर्न र पार्टीको सांगठनिक अवस्था सुदृढ तुल्याउन कांग्रेसले यो एक महिने विशेष अभियान सञ्चालन गर्न लागेको हो । निर्देशिकामा उल्लेख भएअनुसार चुनावको अन्तिम ३० दिन नेता तथा कार्यकर्ताहरूले केवल आफ्नो जिम्मेवारीको भूगोल र क्षेत्रमा केन्द्रित हुनुपर्नेछ । यसले केन्द्रमुखी राजनीतिलाई भूगोलमुखी बनाउने अपेक्षा पार्टीले लिएको छ ।

विशेष रणनीतिको अन्तिम रूप दिन कांग्रेस केन्द्रीय कार्यालय सानेपामा हाल प्रदेशस्तरीय आन्तरिक छलफलहरू भइरहेका छन् । सोही क्रममा बुधबार गण्डकी प्रदेशको विशेष छलफल आयोजना गरिएको छ । यसअघि मंगलबार कर्णाली र सुदूरपश्चिम प्रदेशका नेताहरूसँगको परामर्श सकिएको उपसभापतिको सचिवालयले जनाएको छ ।

छलफलमा सम्बन्धित प्रदेशबाट प्रतिनिधित्व गर्ने वर्तमान तथा निवर्तमान केन्द्रीय पदाधिकारी, सदस्यहरू, जिल्ला सम्पर्क समितिका सभापतिहरूका साथै काठमाडौँमा रहेका कांग्रेस निकट पेशाकर्मी, बुद्धिजीवी र युवाहरूको सक्रिय सहभागिता रहेको छ । अभियानमार्फत कांग्रेसले तल्लो तहका कार्यकर्ताको मनोबल उच्च पार्ने, मतदातासँगको सम्बन्ध नवीकरण गर्ने र चुनावी चुनौतीहरूको सामना गर्न स्थानीय संयन्त्रलाई सक्रिय बनाउने लक्ष्य राखेको छ । उपसभापति शर्माका अनुसार, यो रणनीतिले पार्टीको निर्वाचन परिचालनलाई थप संस्थागत र नतिजामुखी बनाउनेछ ।

भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरूद्ध

बागलुङ । मंगलबार राति देखिको वर्षासँगै भएको हिमपातले मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरूद्ध भएको छ । बागलुङ र पूर्वी रूकुमको सिमाना पाती हाल्ने क्षेत्रमा भारी हिमपात हुँदा बाटो अवरूद्ध भएको हो । लोकमार्ग अवरूद्ध हुँदा सयौँ यात्री अलपत्र परेका छन् ।

लोकमार्ग अलपत्र हुँदा लामो तथा छोटो दूरीका सावारी साधान ठप्प भएको इलाका प्रहरी कार्यालयका प्रमुख तिलक मानन्धरले जानकारी दिए । निरन्तर हिमपात भइरहेकाले तत्काल सडक सञ्चालन हुने सम्भावना न्यून छ । काठमाडौँबाट रूकुम, जाजरकोट, डोल्पालगायत स्थानका निम्ति छुटेका सवारीसाधन निसीखोला गाउँपालिका–६ भल्कोट सिपमा रोकिएका प्रहरी निरीक्षक मानन्धरले जानकारी दिए ।

देशभर कुहिरो र बादल : जनजीवन प्रभावित, हवाई उडान ठप्प

काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर आज बिहानदेखि बाक्लो कुहिरो र बादल लागेका कारण दैनिक जनजीवन प्रभावित बनेको छ। पश्चिमी न्युनचापीय प्रणालीको प्रभावले मौसम धुमिल बनेपछि सडक यातायात, हवाई उडान र स्थानीय बासिन्दाको दैनिकीमा ठूलो असर परेको हो । काठमाडौंमा बिहानैदेखि दृश्यता निकै कम भएको छ । कुहिरोका कारण सडकमा हिँडडुल गर्न कठिनाइ भएको ।

यसले दुर्घटनाको जोखिम बढाएको छ । धेरै बिहानको समयमा घरबाट बाहिर निस्कनै हिच्किचाएका छन् । हवाई यात्रुहरू सबैभन्दा बढी मारमा परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुहिरोका कारण अधिकांश उडान ढिलो भएका छन् भने केही उडान रद्द समेत भएका छन् । आन्तरिक उडानहरू पनि प्रभावित भएका छन् । यात्रुहरू विमानस्थलमा लामो समय प्रतिक्षा गर्न बाध्य भएका छन् ।

पहाडी तथा हिमाली जिल्लाहरूमा वर्षा र हिमपातले स्थानीय बासिन्दाको जनजीवन थप कष्टकर बनेको छ । वागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भागमा मध्यम वर्षा भइरहेको छ भने उच्च क्षेत्रमा हिमपातले सडक अवरुद्ध हुने, दाउरा तथा घाँस काट्न जानेहरू प्रभावित भएका छन् । कोशी र मधेश प्रदेशका केही स्थानमा हल्का वर्षाले पनि दैनिक कामकाजमा बाधा पुर्‍याएको छ । मौसम पूर्वानुमानकाअनुसार यो प्रभाव केही दिन कायम रहने देखिएको छ । यात्रा गर्नेहरू, हवाई उडानमा निर्भर व्यक्तिहरू तथा पहाडी क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ ।

ओलीसँगको भिडन्त अघि पूर्व प्रधानमन्त्री देउवाको किल्लामा बालेन {तस्वीरहरु}

डडेलधुरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) बुधबार बिहान सुदूरपश्चिमको राजनीतिक केन्द्र मानिने डडेलधुरा पुगेका छन् । डडेलधुरा नेपाली कांग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला भएकाले बालेनको आगमनलाई राजनीतिक रूपमा अर्थपूर्ण रूपमा हेरिएको छ ।

चुनावी प्रचारका क्रममा सुदूरपश्चिम यात्रा गरिरहेका बालेनले यस क्षेत्रलाई प्राथमिकतामा राख्दै जनस्तरसँग प्रत्यक्ष भेटघाटलाई जोड दिएका छन् । सोमबारदेखि सुरु भएको सुदूरपश्चिम भ्रमणअन्तर्गत उनले मंगलबार कैलाली र कञ्चनपुरका विभिन्न कार्यक्रममा सहभागिता जनाएका थिए । स्थानीय युवा, कार्यकर्ता तथा मतदातासँगको संवादमा उनले वैकल्पिक राजनीति र सुशासनको एजेण्डालाई मुख्य विषय बनाएका थिए ।

बुधबार डडेलधुराको महेश्वरीमोडस्थित रास्वपा कार्यालयमा कार्यकर्ता भेटघाट कार्यक्रम राखिएको बालेनको सचिवालयले जनाएको छ । कार्यक्रममा पार्टीको संगठन विस्तार, स्थानीय मुद्दा र आगामी निर्वाचन रणनीतिबारे छलफल हुने बताइएको छ । डडेलधुरापछि बालेन बैतडी प्रस्थान गर्ने कार्यक्रम छ । दिउँसो १२ बजे बैतडीको पाटनस्थित रास्वपाको सम्पर्क कार्यालयमा कार्यकर्ता भेटघाट तय गरिएको छ । त्यसपछि उनी साँझ दार्चुला पुग्नेछन् । अपराह्न ४ बजे दार्चुलाको गोकुलेश्वरस्थित सम्पर्क कार्यालयमा कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ ।

झापा–५ बाट उम्मेदवारी दिएका बालेनको प्रतिस्पर्धा यस पटक निकै रोचक हुने अनुमान गरिएको छ । त्यहाँ उनका प्रमुख प्रतिस्पर्धी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली रहेका छन् । ओली र बालेन दुवैलाई आ–आफ्ना दलले भावी प्रधानमन्त्रीका रूपमा अघि सारेपछि यो निर्वाचन केवल संसदीय सिटको मात्र नभई नेतृत्वको लडाइँका रूपमा पनि हेरिएको छ । सुदूरपश्चिम जस्ता परम्परागत रूपमा स्थापित दलको प्रभाव रहेको क्षेत्रमा बालेनको सक्रिय उपस्थितिले वैकल्पिक राजनीतिको बहसलाई थप चर्काएको छ । अब उनको यो चुनावी यात्राले मतदाताको मन कति जित्छ, त्यो भने आउने दिनले देखाउनेछ ।
तस्वीरहरु : नेपाल फोटो लाइब्रेरी

बारामा आमा–छोराको हत्या : घरभित्र छिरेर अन्धाधुन्द खुकुरी प्रहार

बारा । बाराको परवानीपुर गाउँपालिका–१ रहरियाडीमा अज्ञात व्यक्तिले अन्धाधुन्द खुकुरी प्रहार गरी एकै परिवारका आमा–छोराको हत्या गरेका छन् । खुकुरी प्रहारबाट जागरुक मण्डलसहित तीन जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एवं प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुँवरका अनुसार बुधबार बिहानीपख तीन बजे अज्ञात व्यक्ति मण्डलको घरभित्र छिरेर परिवारका सदस्यलाई खुकुरी प्रहार गरेको अनुसन्धानबाट खुलेको छ । खुकुरी प्रहारबाट मण्डलकी श्रीमती सुमित्रा देवी र उनको छोरा रामेश्वरको मृत्यु भएको छ ।

घाइते तीन जनाको परवानीपुरस्थित एलएस न्युरो अस्पतालमा उपचार भइरहेको जानकारी एसपी कुँवरले दिए । प्रहरी घटनास्थल पुगेर अनुसन्धान गरिरहेको उनले बताए । ‘किन र कसले हत्या ग¥यो भन्ने विषय अनुसन्धानमै छ, बाहिरको व्यक्ति छिरेर अन्धाधुन्द खुकुरी प्रहार गरेको भनिएको छ, हामी संकास्पद व्यक्तिको खोजतलास गरिरहेका छौँ,’ कुँवरले भने,‘ मण्डल परिवारको कुनै रिसइबीले हो वा अन्य कोणबाट अनुसन्धान गरिरहेका छौँ ।’

एकै दिन साढे नौं हजारले बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

काठमाडौं । एकै दिन आज सुनको मूल्य तोलामा ९ हजार ५ सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधवार तोलामा छापावाल सुनको मूल्य ३ लाख १८ हजार ८ सय रुपैयाँ तोकेको हो । मंगलवार एक तोला सुनको मूल्य ३ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य ७ हजार ३ सय रुपैयाँ तोकिएको छ । मंगलवार एक तोला चाँदी ६ हजार ८७० रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदी महँगिनुको कारण अमेरिकाले निम्त्याएको विश्वव्यापी तनाव रहेको व्यवसायीहरुले बताउँदै आएका छन् ।

विमान दुर्घटनामा महाराष्ट्रका उपमुख्यमन्त्री अजीत पवारको निधन

काठमाडौं । भारत महाराष्ट्र राज्यका उपमुख्यमन्त्री एवं प्रभावशाली नेता अजीत पवारको विमान दुर्घटनामा परी निधन भएको छ । बुधबार बिहान महाराष्ट्रको बारामतीमा उनी सवार निजी विमान दुर्घटनामा परेको हो । भारतीय सञ्चारमाध्यमहरूका अनुसार ६६ वर्षीय पवार मुम्बईबाट आफ्नो गृहनगर बारामतीका लागि उडेका थिए । बिहान करिब ८ः४५ बजे बारामती विमानस्थलमा अवतरण गर्ने क्रममा विमान रनवेबाट चिप्लिएर दुर्घटनाग्रस्त भएको थियो।

नागरिक उड्डयन महानिर्देशनालय (डिजिसीए) ले दिएको जानकारी अनुसार दुर्घटनामा उपमुख्यमन्त्री पवारसहित विमानमा सवार सबै ५ जनाको मृत्यु भएको छ । मृत्यु हुने अन्यमा उनका स्वकीय सचिव, सुरक्षाकर्मी र चालक दलका सदस्यहरू रहेका छन् । डिजिसीएले दुर्घटनाको प्रकृति हेर्दा विमानमा सवार कोही पनि जीवित रहने सम्भावना नरहेको पुष्टि गरेको छ ।

बीबीसी मराठीसँग कुरा गर्दै पवारका स्वकीय सचिव अनिल ढिकले दुर्घटनाको खबरको पुष्टि गरेका छन् । मुम्बईबाट उडेको ‘ख्त्क्क्प्, ीव्४५’ कलसाइन रहेको उक्त चार्टर विमान अवतरणका क्रममा अनियन्त्रित भई दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

महाराष्ट्रको राजनीतिमा ‘दादा’ उपनामले चिनिने पवारको आकस्मिक निधनले भारतीय राजनीतिमा शोक छाएको छ । राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी) का वरिष्ठ नेता समेत रहेका पवारको निधनलाई महाराष्ट्रको राजनीतिमा एक अपूरणीय क्षतिको रूपमा हेरिएको छ । घटनाको विस्तृत विवरण र दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको भारतीय अधिकारीहरूले जनाएका छन् ।

 

तपाईंहरुले जिताइसक्नु भयो, फागुन २१ त बाक्सा खोल्न पर्खिने दिन मात्रै : नेता शर्मा

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं मोरङ निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार डा. सुनिल शर्माले बदलिएको कांग्रेसलाई विजयी गराउन सबै लाग्नुपर्ने बताएका छन् । आफ्नो निर्वाचन क्षेत्रका मतदाताहरुसँगको भेटघाटका क्रममा नेता शर्माले कांग्रेस पूर्णरुपमा बदलिएकाले सबैले मतदान गरेर जिताउनु पर्ने बताएका हुन् । उनले अब युवा कांग्रेस, विपी कोइरालाले कल्पना गरेको समावेशी, लोकतान्त्रिक कांग्रेस बनिसकेको बताए ।

उनले नागरिकले दिने मत धेरै मूल्यवान रहेको भन्दै कुनै अन्योलमा नपरी कांग्रेसलाई मतदान गर्न आह्वान गरे । बदलिएको कांग्रेसले नै देश बदल्ने उनको जिकिर छ । विपीहरुले जोगाएको कांग्रेस र रुखलाई मलजल गरिदिने जिम्मा र दायित्व अब नागरिकहरुको रहेको बताए । उनले नागरिकले आफूलाई जिताएर पठाउनेमा आफू विश्वस्त रहेको भन्दै फागुन २१ गते मात्रै कुर्नुपरेको बताए ।

उनले भने, ‘मत मलाई दिनु हुन्छ, थाहा छ, पहिला पनि दिनुभयो तर अलिकति छरछिमेकीलाई पनि भन्नु पर्छ । मत बढाइ दिनुपर्छ । पहिला तीन नम्बर बनाई दिनु भयो अब एक नम्बर बनाई दिनुहोला । भोट जनताले दिने हो बाक्सा चेन्ज हुने होइन केरे । बाक्सा खोल्न पर्खिनु त पर्ने हो । तपाईंहरुले नै दिने भोट हो । फागुन २१ सम्म पर्खिनुपर्ने हो । मत तपाईंहरुले हाल्ने हो । गन्ने मान्छे नेपाली नै हुन् ।’

उनले भने, ‘अब बदलिएको कांग्रेस, युवा कांग्रेस, विपी कोइरालाले परिकल्पना गर्नु भएको कांग्रेस, समावेशी कांग्रेस, लोकतान्त्रिका कांग्रेस, डेमोक्रेटिक कांग्रेसलाई तपाईंहरुले मत दिएर पठाइदिनु भयो भने यसरी नै हाँसीहाँसीकन कुनै सुरक्षा गार्ड नराखिकन तपाईंहरुका बीचमा सदा सर्वदा फेरि आउने सुअवसर प्राप्त गर्नेछौँ । अहिले तपाईंहरुले दिने मत यति मूल्यवान छ, त्यो मूल्यवान चिजलाई कन्फ्युज नगरी दिनुहोला । विपीहरुले जोगाएको कांग्रेस र रुखलाई मलजल गरिदिने जिम्मा र दायित्व तपाईंहरुको बीचमा छ ।’ उनले युवा कांग्रेसबाट अब देश परिवर्तन हुने दाबी समेत गरे ।

रास्वपा वरिष्ठ नेता बालेन शाह कञ्चनपुरमा (तस्वीरहरु)

कञ्चनपुर । कञ्चनपुरमा रास्वपाका वरिष्ठ नेता बालेन शाह । उनले आज जिल्लाका ३ वटै निर्वाचन क्षेत्र भ्रमण गरेका छन् । कञ्चनपुर–१ मा जनकसिंह धामी कञ्चनपुर–२ मा दीपक बोहरा
र कञ्चनपुर–३ मा ज्ञानेन्द्र महता उम्मेदवार छन् । तस्वीरहरु : नेपाल फोटो लाइब्रेरी

चुनावमा हाम्रो पुरानै पार्टीसँग प्रतिस्पर्धा हुन्छ : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले सुशासन, विकास र भविष्य केन्द्रित यथार्थवादी तथा विश्वसनीय कार्यक्रम राखेर घोषणापत्र बनाउने बताएको छ । पार्टीका प्रवक्ता देवराज चालिसेले मंगलवार पार्टी केन्द्रिय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै यस्तो बताएका हुन् । उनले घोषणामा मात्रै सीमित हुने घोषणापत्र नबनाउने बताए । उनले कांग्रेसले केही समयभित्र पार्टीको घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको जानकारी दिए ।

नेपालको राजनीतिमा काम कम कुरा धेरै गर्ने प्रवृति रहेको उल्लेख गर्दै उनले कांग्रेसले गर्नसक्ने कामको आधारमा मात्रै घोषणापत्र तयार गर्ने बताए । उनले गर्नसक्ने जति कामको मात्रै वाचा जनताको बीचमा गर्ने उल्लेख गरे । उनले निर्वाचन क्षेत्रको आवश्यकताका आधारमा उम्मेद्वारहरुले पनि आफ्नो घोषणापत्र बनाउने बताए ।

उनले सबै एकजुट भएर निर्वाचनमा लाग्न पनि पार्टीका नेता कार्यकर्तालाई आग्रह गरे । आगामी निर्वाचनमा कांग्रेसको सरकार बन्नेगरी तयारी गर्न आग्रह गरे । प्रवक्ता चालिसेले देशभरका १६५ वटै प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा पार्टीका उम्मेदवारहरू रहेको बताए । उनले विद्रोह गरेका केही उम्मेदवारले मनोनयन फिर्ता लिइसकेका र केही स्थानमा निष्क्रिय बनाएर आधिकारिक उम्मेदवारलाई विजयी बनाउन पहल भइरहेको जानकारी दिए ।

नेपाली कांग्रेसले आगामी निर्वाचनमा पुरानै पार्टीसँग प्रतिस्पर्धा हुने बताएको छ । कांग्रेस प्रवक्ता देवराज चालिसेले फागुन २१ को प्रतिनिधिसभा सदस्यको निर्वाचनमा पुरानै पार्टीसँग प्रतिस्पर्धा हुने बताएका हुन् । ‘यो गम्भीर कुरा पनि हो । मतदाताले भोट हालेर निर्धारण गर्ने कुरा पनि हो,’ चालिसेले भने, ‘तर, पुरानै पार्टीबीच प्रतिस्पर्धा हुन्छ भन्ने लाग्छ ।’

उनले भने, ‘केही समयपछि नै पार्टीले आफ्नो घोषणा पत्र सार्वजनिक गर्दैछ । स्थानीय रुपमा उम्मेद्वारहरुले पनि आफ्नो घोषणा पत्र तयार गर्नेछन् । घोषणापत्रमा विशेष गरी सुशासन, विकास र भविष्यप्रतिको यथार्थवादी र विश्वसनिय कार्यक्रम । घोषणाको लागी घोषणा होईन की विश्वसनीय यथार्थवादी कार्यक्रममा हामीले सार्वजानिक गर्नेछौँ ।’

उनले भने, ‘किनकी कुरा धेरै गर्ने काम कम हुने नेपालको राजनितिमा त्यो चलन चलेको हुनाले जति सकिन्छ, त्यति हामी गर्छौ र बोलेको कुरा पुरा गर्छौ । यो आधारमा हामीले चुनावमा जनतामा आशा जगाउँनुछ, स्रोतको उपायहरुको पनि खोजी गर्नुछ । सबै कुरा हामीले घोषणापत्रमा समावेश गर्नेछौँ । पुर्ण एकता छ काँग्रेस पार्टीमा । एक भएर, एक ढिक्का भएर हामीले आफ्नो उम्मेद्वारलाई विजयी बनाएर नेपाली काँग्रेसको सरकार बनाउने उदेश्यका साथ अगाडी बढेका छौँ।’

प्रदेश, जिल्ला, प्रतिनिधि सभा निर्वाचन क्षेत्र, प्रदेश सभा निर्वाचन क्षेत्र हुँदै स्थानीय तह र वडा स्तरसम्म प्रचार–प्रसार तथा परिचालन समिति गठनको काम अन्तिम चरणमा पुगेको उनले जानकारी दिए । उनले पार्टीले निर्वाचन आयोगको आचारसंहिताको पूर्ण पालना गर्ने र पार्टीले पनि आन्तरिक आचारसंहिता बनाएर कडाइका साथ लागू गरेको बताए । उनले पार्टीले प्रचार शैलीलाई मितव्ययी, प्रभावकारी र आधुनिक बनाइने पनि जानकारी दिए । कांग्रेसले समकालीन राजनीतिक, वैचारिक र नीतिगत विषयमा प्रत्येक दुई दिनमा ‘डबली संवाद’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । माघ १६ गते शहीद दिवसको अवसरबाट यो कार्यक्रम शुरु गर्न लागिएको उनले जानकारी दिए ।

रास्वपाबाट निकालिएका ढाकालाई हर्क साम्पाङले भित्र्याए

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्व सांसद ढाकाकुमार श्रेष्ठ हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन् । दुर्गा प्रसाइँसँग मन्त्री बन्न भन्दै पैसा मागेको अडिओ सार्वजनिक भएपछि रास्वपाले साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको थियो । उनी २०७९ का समानुपातिक सांसद हुन् ।

अध्यक्ष साम्पाङले श्रेष्ठलाई आज पार्टीमा भित्र्याएका हुन् । श्रेष्ठलाई पार्टीमा भित्र्याएको फोटोसहित राख्दै साम्पाङले फेसबुकमा लेखेका छन्, ‘ढाकाकुमार श्रेष्ठ ज्युलाई श्रम संस्कृतिमा स्वागत छ ! अब लागौँ है त !’ पोखरामा दिया फार्मेसी सञ्चालन गर्दै आएका श्रेष्ठ गत वर्ष भदौ २७ गते लागुऔषध बेचेको आरोपमा समेत पक्राउ परेका थिए । उनी दुई साता हिरासत बसेर धरौटीमा छुटेका हुन् ।

युवराज सफल पक्राउ

काठमाडौं । युवराज सफल भनिने युवराज पौडेल पक्राउ परेका छन् ।

महान्यायाधिवक्ता कार्यालय र महान्यायाधिवक्ताको बारेमा तथ्यहीन तथा भ्रम फैलाउने सामग्री तयार गरी सामाजिक सञ्जालमार्फत प्रचार–प्रसार गरेको आरोपमा उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको टोलीले पक्राउ गरेको हो। सफलले फेसबुकमार्फत सार्वजनिक पदाधिकारीहरूबारे आधारहीन आरोप लगाउँदै गलत सूचनालाई भिडियोजस्तो प्रस्तुतिमा रूपान्तरण गरी निरन्तर प्रसारण गर्दै आएका थिए।

प्रहरीले सफलको गतिविधिले सार्वजनिक संस्थाप्रति जनविश्वास कमजोर पार्ने, तथ्यविहीन सामग्रीमार्फत व्यक्तिगतरूपमा चरित्र हत्या गर्ने प्रयास भएको र यसले सामाजिक सद्भावमा समेत नकारात्मक प्रभाव पार्न सक्ने भन्दै उनलाई नियन्त्रणमा लिएको बताएको छ।

उनी केही दिनयता सामाजिक सञ्जालमा विभिन्न व्यक्तिहरूको नाम लिएर असभ्य भाषा प्रयोग गर्दै सबैलाई जेल हाल्ने धम्कीपूर्ण अभिव्यक्ति सार्वजनिक गरिरहेका थिए। त्यस क्रममा उनले कानूनी प्रक्रिया, प्रमाण वा औपचारिक तथ्यसम्बन्धी आधारबिनै आरोप लगाईरहेका थिए।

हाल सफललाई आवश्यक अनुसन्धान र सोधपुछका लागि प्रहरीले हिरासतमा राखेको छ। प्रहरीका अनुसार सामाजिक सञ्जालमा बिना प्रमाण मानहानि हुने सामग्री प्रवाह गर्ने, सार्वजनिक पदमा रहेका व्यक्तिहरूको छवी धूमिल पार्ने र धम्कीपूर्ण अभिव्यक्ति दिने कार्य कानूनी रूपमा दण्डनीय हुने भन्दै यस्ता गतिविधिमाथि कडाइका साथ कारबाही अघि बढाइनेछ।

उज्यालो क्षेत्रमा मेरो काम नेपालका लागि सफल मोडेल : कुलमान घिसिङ

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले ऊर्जा क्षेत्रमा आफूले गरेको काम नेपालका लागि एउटा सफल मोडेलका रूपमा स्थापित भएको दाबी गरेका छन् । मंगलवार काठमाडौंमा आयोजित उज्यालो नेपाल काठमाडौं–रामेछाप मञ्च गठन कार्यक्रममा बोल्दै अध्यक्ष घिसिङले सो दाबी गरेका हुन् । उनले मुलुलकलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन बनाउँदै घर–घरमा रोजगारी सिर्जना उज्यालो नेपाल पार्टी प्रतिबद्ध रहेको बताए ।

मुलुकलाई कुषि, खानेपानी र रोजगारीको क्षेत्रमा आत्मनिर्भर हुनको लागि आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा उनेपालाई मतदान गर्न आह्वान पनि गरे । अध्यक्ष घिसिङले हाल मुलुक परनिर्भरतातर्फ उन्मुख हुँदै गएको उल्लेख गर्दै ऊर्जा क्षेत्रमा आत्मनिर्भरता हासिल गर्न सफल भए पनि क्षेत्र अझै कमजोर अवस्थामा रहेको बताए । उनले मुलुकको समग्र विकासका लागि रोडम्यापसहित छिट्टै पार्टीको घोषणा पत्र सार्वजनिक गर्ने बताए ।

उनले भने, ‘नेपालको उर्जा क्षेत्रमा मैले गरेको काम एउटा मोडेलको रुपमा स्थापित भएको छ । अब नेपालको हरेक घरघरमा रोजगारी सिर्जना हुनुपर्छ । हरेक व्यक्ति सम्पन्न हुनुपर्छ । देशलाई आत्मनिर्भर बनाउनु पर्छ । आज देश परनिर्भरतातिर अगाडि बढेको छ । हामीले उर्जामा आत्मनिर्भर बनायौँ । अरु सबैजसो क्षेत्र अहिले आत्मनिर्भर हुन सकेका छैनन् । कृषिमा आज हामीले सबै कुरा आयात गरेर खानुपर्ने स्थिति छ । त्यसकारण आज आर्थिक रुपमा आत्मािर्भर देशको रुपमा नेपाललाई स्थापित गर्नको लागि, देशभित्रै रोजगारी सिर्जना गरी हरेक व्यक्तिको अनुहारमा उज्यालो ल्याउनको लागि उज्यालो नेपाल पार्टीलाई मतदान गर्नुहोला ।’ उनले यातायात, शिक्षा र स्वास्थ्य तथा विद्युत समेत निःशुल्क गर्ने भिजन आफूसँग रहेको दाबी पनि गरे ।

कांग्रेसका १०६ नयाँ अनुहार चुनावी मैदानमा, ५९ पुराना उम्मेदवार

काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि १०६ नयाँ अनुहार चुनावी मैदानमा उतारेको जनाएको छ । कांग्रेस देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार तय गर्दा नयाँलाई विशेष प्राथमिकता दिएको हो ।मंगलबार केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता देवराज चालिसेले यस पटक कांग्रेसले १०६ जना नयाँ उम्मेदवारलाई चुनावी प्रतिस्पर्धामा अघि सारेको जानकारी दिए । प्रवक्ता चालिसेले बागी उम्मेदवारी दिएका व्यक्तिलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिइसकिएको जानकारी दिँदै अधिकांश स्थानमा उम्मेदवारी फिर्ता भइसकेको बताए ।

‘जहाँ–जहाँ बागी उम्मेदवारी परेको थियो, पार्टीले औपचारिक निर्देशन दिएको छ, धेरैजसो ठाउँमा फिर्ता समेत भइसकेको छ’, उनले भने । उनका अनुसार कांग्रेसले सातै प्रदेश, जिल्ला, स्थानीय तहदेखि वडास्तरसम्म सम्पूर्ण संगठनलाई निर्वाचन केन्द्रित हुन स्पष्ट निर्देशन दिइसकेको छ । निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्ने प्रतिबद्धता जनाउँदै चालिसेले पार्टीले आन्तरिक अनुशासन मजबुत बनाउन छुट्टै आन्तरिक आचारसंहिता समेत जारी गरेको बताए ।

‘पार्टीलाई आन्तरिक रूपमा सुदृढ बनाउन आन्तरिक आचारसंहिता लागू गरिएको छ’, उनले भने, ‘साथै राष्ट्रिय झण्डाको मर्यादा र सम्मान कायम गर्न सबै नेता–कार्यकर्तालाई निर्देशन दिइसकिएको छ ।’ कांग्रेसले यस पटक प्रचारप्रसारमा डिजिटल क्याम्पेनिङलाई प्राथमिकता दिने रणनीति बनाएको पनि उनले जानकारी दिए । सामाजिक सञ्जाल र डिजिटल माध्यममार्फत् मतदाता पहुँच विस्तार गर्ने योजना अनुसार प्रचार अभियान अघि बढाइने चालिसेको भनाइ छ ।

चालिसेले हालै सम्पन्न विशेष महाधिवेशनले पार्टी पंक्तिमा नयाँ ऊर्जा र उत्प्रेरणा सिर्जना गरेको दाबी गरे । ‘महाधिवेशनमा सहभागी नहुनेहरू समेत पार्टी गतिविधिमा जोडिन थालेका छन्’, उनले भने, ‘अन्य दलका नेता–कार्यकर्ताहरू पनि कांग्रेसमा प्रवेश गर्ने क्रम जारी छ ।’ कांग्रेसले संगठनात्मक एकता, अनुशासन र आधुनिक प्रचार विधिलाई आधार बनाएर निर्वाचनमा जाने रणनीति लिएको प्रवक्ता चालिसेले बताए ।

बामदेव गौतमको दावी : नेकपाले आसन्न निर्वाचनमा बहुमत ल्याउँछ

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वामदेव गौतमले आगामी निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउने दाबी गरेका छन् । मंगलवार काठमाडौंमा आयोजित क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपालका एकता पक्षसँगको समायोजन कार्यक्रममा बोल्दै उनले सो जिकिर गरेका हुन् । नेता गौतमले निर्वाचनमा विजयी भएपछि आफ्नो पार्टीको सरकारले बेरोजगारी समस्याको अन्त्य गर्नेगरी समाजवादको आधार तयार पार्ने समेत बताए । उनले हरेक विद्रोहलाई शान्तिमा परिणत हुनेगरी वामपन्थी शक्तिहरुबीचको एकता अभियानलाई आफूहरुले अघि बढाएको पनि बताए ।

नेता गौतमले भने, ‘अब यो विद्रोहलाई पनि शान्ति दिन सक्ने क्षमतासहित हाम्रो पार्टी विकसित भइसकेको छ । हाम्रो पार्टीले यही फागुन २१ गते हुने निर्वाचनमा बहुमत हासिल गर्छ । बहुमत हासिल गर्नसाथ हामीले समाजवादको आधार कसरी सिर्जना हुनेछ भन्ने हामीले गरेर देखाई दिनेछौ । कुनै पनि व्यक्ति काम गर्न नपाउने गरी बेरोजगार हुनुपर्ने अवस्था सदाको लागि अन्त्य हुनेछ । सभ्यता र समृद्ध हामीले हासिल गरेर देखाई दिनेछौँ । त्यो ठाउँमा जान हामी तयार भइराखेका छौँ ।’ नेता गौतमले साना साना नदीरुपी पार्टीहरुलाई मिलाएर आफ्नो पार्टीले समुन्द्रको रुपमा लिएको बताए ।

निर्वाचनको जिम्मेवारी बोकेका मन्त्रीहरु मैदान छाडेर भाग्नु भयो : सांसद श्रेष्ठ

काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रिय सभा सांसद किरणबाबु श्रेष्ठले संविधानलाई सही दिशामा लैजाने एक मात्र उपाय निष्पक्ष निर्वाचन भएको बताएका छन् ।
मंगलवार बसेको राष्ट्रिय सभाको विशेष समयमा बोल्दै उनले सबै राजनीतिक दलहरुको चाहना अनुरुप नै देश निर्वाचनमा होमिएको बताए । निर्वाचनको जिम्मेवारी बोकेका मन्त्रीहरूले भने अन्तिम समयमा जिम्मेवारी छाडेर भागेको उनले आरोप लगाए ।

निर्वाचन गर्ने जिम्मेवारीलाई छाडेर आफै चुनावी मैदानमा होमिनुले गम्भीर नैतिक प्रश्न उठाएको उनको भनाई छ । उनले मन्त्रीहरू नै पदबाट हटेर चुनाव लड्न हिँड्नुले निष्पक्ष चुनाव हुनेमा शंका पैदा भएको पनि बताए । राजीनामा दिएर निर्वाचन लड्न पाउने संवैधानिक अधिकार भए पनि यसले गम्भीर नैतिक प्रश्न भने उठाएको उनको भनाई छ । उनले भने, ‘रेलमा ठिक लिगमा ल्याउने भनेको निर्वाचन नै हो । त्यही महसुस गरेर अहिले हामी सबै राजनीतिक दलहरु निर्वाचनमा होमिएका छौँ । अब यो निर्वाचनमा होमिँदै गर्दा म एउटा गम्भिर नैतिक प्रश्न पनि बोकेर यहाँ उभिएको छु, निर्वाचन गर्न जिम्मेवारी बोकेका मन्त्रीमण्डलका मन्त्री महोदयहरु मैदान छाडेर भाग्नुभयो । अन्तिम कालमा मैदान छाडेर भाग्नु भएको छ ।’

उनले भने, ‘विस्तारै पर्दा खोलिँदैछ, हिजोको आन्दोलनको र अबको दिनका पर्दाहरु अझ भोलि खोलिँदै जालान् । मन्त्रीहरु आ–आफ्नो पार्टी र ओडार खोज्दै निर्वाचनमा हिँडिसक्नु भएको छ । यसबाट के बुझिन्छ ? हिजो मन्त्री पदमा बस्ने, सपथ खाने, निर्वाचन गर्ने अभिभारा बोक्ने, तर निर्वाचन हुनुभन्दा पहिला नै त्यहाँबाट भाग्ने ? अब कस्तो निष्पक्ष चुनाव गराउने ? हामी अनुमान गरौँ । मन्त्री पदमा बस्दा दिएका उहाँहरुका सत्ता शक्ति गाडी घोडा त्यसको दुरुपयोग गरेर आफू चुनाव लड्ने क्षेत्रमा प्रयोग भयो की भएन होला ? अनि त्यसबाट निष्पक्ष चुनाव होला ? हामीले शंका गर्ने ठाउँ रहन्छ । राजीनामा दिएर चुनाव लड्न पाउने उहाँहरुको अधिकार हो तर नैतिक प्रश्न आज उठेको छ । यो नैतिक प्रश्नको जवाफ जनताले चुनावी मैदानमा दिने नै छन् ।’ उनले मन्त्री बनेकाहरु नै विभिन्न पार्टी प्रवेश गर्ने तथा आफ्नै पार्टी खोलेर चुनावी प्रतिस्पर्धामा होमिनुले जेन–जी आन्दोलन, सरकारी संयन्त्रमाथीको आगजानी लगायतका घटनाक्रमका ‘पर्दा’ हरु विस्तारै खुल्न थालेको बताए ।

निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरु सिंहदरबार परिसरमा {तस्वीरहरु}

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भारत सरकारले नेपाल सरकारलाई गाडी उपहार दिएको छ । निर्वाचन प्रयोजनका लागि भारतबाट आएका गाडीहरू सिंहदरबारमा जम्मा गरिएका छन् ।

गत मंगलबार सिंहदरबारस्थित एक कार्यक्रममा भारतीय दूतावासले नेपाल सरकारलाई ६१ वटा क्याबिन पिकअप भ्यान हस्तान्तरण गरेको थियो । त्यसैगरी, हिजो मात्र थप ५४ वटा गाडी सिंहदरबार आइपुगेका छन् । ती गाडीहरू भने औपचारिक रूपमा हस्तान्तरण गर्न बाँकी रहेको गृह मन्त्रालयले जानकारी दिएको छ ।

गृह मन्त्रालयले अर्थ मन्त्रालयमार्फत निर्वाचन प्रयोजनका लागि वस्तुगत सहायताअन्तर्गत भारत सरकारसँग गाडी माग गरेको थियो । सोही अनुरूप भारत सरकारले पहिलो चरणमा ६१ वटा गाडी उपलब्ध गराएको हो ।
यस पटकको निर्वाचनका लागि भारत सरकारले साना–ठूला गरी करिब ६५० वटा गाडी उपलब्ध गराउने बताइएको छ । भारततर्फबाट नेपाल सरकारलाई जिम्मा लगाइसकेपछि ती गाडीहरू निर्वाचनका क्रममा आवश्यकता र उपयोगिताका आधारमा विभिन्न स्थान तथा निकायहरूमा वितरण गरिने गृह मन्त्रालयले जनाएको छ ।

तस्वीरहरू : नेपाल फोटो लाइब्रेरी

 

पार्टी १२ दिन ‘कोमा’ मा गयो, तर तन्दुरुस्त भएर निस्कियौं : कुलमान घिसिङ

काठमाडौं । उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङले पार्टीको नाम र चुनाव चिन्ह कुनै पनि दलसँग विलय हुन नदिइने बताएका छन् । मंगलवार काठमाडौंमा आयोजित उज्यालो नेपाल काठमाडौं–रामेछाप मञ्च गठन कार्यक्रममा बोल्दै अध्यक्ष घिसिङले यस्तो बताएका हुन् ।

उनले राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता सम्झौतालाई एक नराम्रो दुर्घटनाको रुपमा स्मरण गर्दै अहिले पार्टी सुदृढ अवस्थामा पुगेको पनि बताए । रास्वपासँगको एकताको १२ दिनको समय पार्टी ‘कोमा’ मा पुगेको टिप्पणी गर्दै उनले अहिले तन्दुरुस्त भएर निस्किएको बताए । उनले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा पार्टीबाट उम्मेदवार भएका १२१ जना उम्मेदवारलाई जिताउन समेत अपिल गरे । उनले निर्वाचनका समयमा कसरी कम खर्च गर्ने भन्ने विषयमा सचेत हुनुपर्नेमा नयाँ भनिएका दलहरु तडकभडकमा लाग्नु दुःखद् भएको बताए ।

घिसिङले भने, ‘पार्टी गठन भएको ३ महिनामा पनि पुगेको छैन । तर हामी त्यो बीचमका कोमामा पनि गयौं । त्यस कारण केही समस्या आयो । अहिले हामी तन्दुरुस्त भएर निस्कियौं । अब हामी कुनै पनि दलसँग मिसिएर उज्यालो पार्टीको नाम र चुनाव चिन्ह विलय हुन दिने छैनौँ । अरु पार्टी यो दलमा मिसिन सक्छन् तर हामी मिसन जाँदैनौँ ।’ उनले आफू विद्युत प्राधिकरणको कार्यकारी प्रमुख हुँदा प्राप्त उपलब्धीबारे व्याख्या गर्दै मुलुकको समग्र विकासका लागि उज्यालो नेपाल पार्टीको विकल्प नभएको जिकिर पनि गरे ।

अनसनरत अजय सोडारीलाई भेट्न माइतीघर मण्डला पुगे दुर्गा प्रसाई

काठमाडौं । विभिन्न माग राखी नौं दिनदेखि काठमाडौँको माइतीघरमा आमरण अनसनमा बसिरहेका जेनजी अभियन्ता अजय सोडारीलाई भेट्न राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका अभियन्ता दुर्गा प्रसाई माइतीघर मण्डला पुगेका छन् ।

अनसनको नवौं दिनसम्म पनि सरकारका तर्फबाट कुनै ठोस पहल नभएको जेनजी युनाइटेडको भनाइ समेत रहेको छ । गृह मन्त्रालयको सचिवालयबाट केही प्रतिनिधि आए पनि ‘यो विषय सचिवालयले गर्न सक्दैन’ भन्दै फर्किएको उनले बताए । आन्दोलनरत पक्षले गृहमन्त्री वा प्रधानमन्त्री तहबाटै माग सम्बोधन हुनुपर्ने माग राखेका छन् ।

तस्वीर : दिशान्त देसार / नेपाल फोटो लाइब्रेरी

प्रचण्डको टिप्पणी : घण्टी बजाएर हुनेवाला केही छैन

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सोसल मिडिया स्टन्टवाज गरेर जनतामा भ्रम छर्ने काम गरिरहेको टिप्पणी गरेका छन् । मंगलवार काठमाडौंमा आयोजित नेपाली कम्युनिष्ट पार्टी र क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपालका एकता पक्षधरसँगको एकता घोषणा कार्यक्रममा बोल्दै उनले सो जिकिर गरेका हुन् ।

संयोजक दाहालले सो पार्टीमा विचार र सिद्धान्तको खडेरी भएकाले निर्वाचनका बेलामा सोसल मिडियामा स्टन्टबाज गर्ने बाहेक अरु केही गर्न नसकेको आरोप समेत लगाए । उनले मुलुकलाई घण्टी बजाएर मात्रै केही हुन नसक्ने भन्दै सबै बामपन्थी शक्तिहरुलाई एकतावद्ध भएर अघि बढन पनि आह्वान गरे । सबै वामपन्थी शक्तिहरु एकतावद्ध भएर अघि बढे मात्रै मुलुक र जनताको हित हुने संयोजक दाहालको भनाई थियो ।

उनले भने, ‘घण्टी बजाएर मात्रै हुनेवाला केही पनि छैन । अहिले यहाँ सिद्धान्तको खडेरी, विचारको खडेरी सोसल मिडियामा स्टन्टवाज गरेको भरमा जनताको दिमाग चाटने जो काम भईराखेको छ । यसलाई हामी सबै एकतावद्ध भएर मात्रै क्रस गर्न सकिन्छ । बाँकी रहेका सबै युवा र पुराना कमरेडहरुले पनि सोच्नुहोस् हामी सबै मिलेर एउटा विशाल भवन निर्माण गरौं–समाजवादी भवन । त्यसले मात्रै देश र जनताको सेवा गर्छ ।’ संयोजक दाहालले मोहन वैद्य ‘किरण’ लाई पनि आफ्नो पार्टीमा समाहित भए सम्मानका साथ स्वागत गर्ने बताए ।

 

कांग्रेस सांसद मिश्रको सर्वोच्चप्रति व्यङग्य : शीतकालको कोइलीझैं मौन बसेको छ

काठमाडौं । नेपाली कांग्रेसका सांसद नारायणदत्त मिश्रले जेनजी आन्दोलनपछिको सरकार गठन र प्रतिनिधिसभा विघटनमा सर्वोच्च अदालतको मौनताप्रति आलोचना गरेका छन् । मंगलवार बसेको राष्ट्रिय सभाको विशेष समयमा बोल्दै उनले अदालत ‘शीतकालीन कोइली’ जस्तै मौन बसेको टिप्पणी गरेका हुन् । हाल देशमा संविधान छ कि छैन भन्ने अन्यौल नै रहेको उनले बताए ।

उनले प्रधानमन्त्री र मन्त्रीहरू भए पनि उनीहरुलाई संविधानले पहिचान गर्न नसकेको उल्लेख गरे । सांसद मिश्रले संविधानको व्याख्या र स्पष्टता दिने जिम्मेवारी सर्वोच्च अदालत मौन बसेको उल्लेख गर्दै अदालतको न्यायिक सक्रियतामाथि प्रश्न उठाए । उनले जेन–जी आन्दोलनका सकारात्मक र नकारात्मक दुवै पक्ष रहेको उल्लेख गरे । जातीयता र क्षेत्रीयताको आधारमा राजनीति गर्ने प्रवृत्तिलाई अन्त्य गरी युवाहरूमा कर्तव्यवोध बढेको देखिएको उनले बताए । तर आन्दोलनका क्रममा तोडफोड र आगजानीलाई वैधानिक र वैचारिक संघर्षको विकल्पका रूपमा स्थापित गर्ने गलत परम्पराको विकास हुन सक्नेप्रति उनले चिन्ता व्यक्त गरे ।

सांसद मिश्रले राज्य सञ्चालन गर्नेहरूले सिंहदरबार, अदालत लगायका सार्वजनिक सम्पतिमाथि आगजनी गर्ने वास्तविक दोषी पहिचान गर्न नसकेको बताए । सरकारले गठन गरेको छानविन आयोगप्रति समेत उनले प्रश्न उठाए । दोषीलाई कारबाही गर्न भन्दा प्रमाण नष्ट गर्न आयोग गठन गरिएको हो भन्ने आशंका उत्पन्न भएको उनको भनाई । उनले भने, ‘संविधान छैन भनौँ हामी बोलिरहेका छौँ, राष्ट्रिय सभा जीवितै छ । अझ यसको निरन्तरताको लागि निर्वाचन समेत भएर नयाँ सांसदहरु निर्वाचित भएर आइसकेका छन् । उनीहरुलाई पनि बधाइ छ । प्रदेश र स्थानीय तहहरु काम गरिरहेका छन् । संविधान छ भनौँ, कसरी भनौँ । प्रधानमन्त्री र मन्त्रीहरु त छन्, तर संविधानले पहिचान गर्न सकेको छैन । छ कि छैन म कानुनको ज्ञाता नभएकोले बोल्ने निकायले बोलिदिनु पर्ने हो । सर्वोच्च अदालत तर उ शीतकालको कोइली जस्तै मौन भएर बसेको छ ।’

उनले भने, ‘हामी सानो छँदा पढ्थिम्, मानौँ मौन अवधि हुन्छ, कोइली शीतकालमा, के बोलौँ, के नबोलौँ, खुट्टा कामीरहन्छ । तर मनले मान्दैन, बोल नारायण बोल भन्छ । विदेशीहरुले नेपाल चिन्नको लागि पहिले एभरेन्टको देश भनेर भन्थे, कतिले गौतम बुद्धको भनेर आस्था गर्छन् भने कतिले पशुपतिनाथको देश भन्छन्, अब एउटा कुरा कही थपिन्छ की भन्ने डर छ, विदेशीहरुको क्रिडास्थल देश । जेनजीहरुको नाममा भएको आन्दोलनका केही नकरात्मक, सकारात्मक सन्देशहरु पनि छन् ।’

उनले थपे, ‘जेनजी आन्दोलनले एउटा ठूलो फाइदा देशलाई पुर्‍याएको छ । कतिपय मानिसहरु आफू राजनीतिमा स्थापित हुनको लागि जातीयता र क्षेत्रीयताको भावना खेल्थे, तर यो आन्दोलनले सबै नेपाली एक हौँ भन्ने भावना विस्तार गरेको छ । युवाहरुलाई कर्तव्यवोध गराएको छ । संगसंगै एउटा खराब पराम्पराको विकास हुन्छ की भन्ने चिन्ताले पनि सताईरहेको छ की कसैलाई शासनबाट लखेट्न वैधानिक र बैचारिक बाटोको सट्टा तोडफोड र आगजानी गरिदिने खराब बाटोबाट देश र देशका युवाहरु उद्धत हुन्छन् की भन्ने डरले सताईरहन्छ । हामी हेरिरहेका छौँ, सिंहदरबारको खरानीको थुप्रोमाथि बसेर राज्य सञ्चालन गर्नेहरुले त्यो खरानी गर्नेहरुको पत्तो लगाउन खोजेका छन् की कही त्यसै खरानी भित्र भएका, पत्ता लगाएका प्रमाणहरु नष्ट गर्नको लागि आयोग बनाएका छ होइनन् ? शंका लाग्छ । यो कुरा केही दिनमा घाम जस्तै छर्लङ्ग हुने नै छ । २३ र २४ गतेको घटना कसले घटायो भन्दा पनि त्यसबाट कसले फाइदा लियो ? को राजनीतिमा आधा रातमा सूर्य उदाएझै उदाएका छन् ? को शासनसत्ताको हालीमुहाली गरेर पनि चुनाव ताक्न पनि पछि नपरेका छन् ।’

सांसद मिश्रले भदौ २३ र २४ गतेको घटना कसले गर्‍यो भन्दा पनि त्यसबाट कसले राजनीतिक लाभ लियो भन्ने प्रश्न महत्वपूर्ण भएको उल्लेख गरे । सो घटनापछि को रातारात उदाएको छ, को सत्ता र शासनको बलमा चुनावी तयारीमा जुटेको छ भन्ने कुरा जनताले नियालिरहेको उनको भनाई छ ।

 

 

६ करोड बढी अकूत सम्पत्ति, भरतपुरका पूर्व इन्जिनियर अख्तियारको फन्दामा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भरतपुर महानगरपालिकाका तत्कालीन वरिष्ठ इन्जिनियर भरतकुमार आचार्य र उनकी श्रीमती लिली सुवेदीविरुद्ध अकूत सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार आचार्यले २०४८ साल माघ ६ गते राष्ट्रसेवकको रूपमा सेवामा प्रवेश गरेदेखि २०८० असार ६ गतेसम्मको अवधिमा आफ्नो वैधानिक आम्दानीभन्दा ६ करोड ७८ लाख ९१ हजार १५ रुपैयाँ ९४ पैसा बढी सम्पत्ति आर्जन गरेको देखिएको छ । सो रकमको स्रोत खुल्न नसकेपछि मंगलबार मुद्दा दायर गरिएको हो ।

अख्तियारले गरेको आय–व्यय विश्लेषणमा आचार्य र उनको एकाघर परिवारको वैधानिक आम्दानी ३ करोड ५१ लाख ८ हजार २१० रुपैयाँ १८ पैसा मात्र देखिएको छ । यसमा तलब, भत्ता, जग्गा तथा सवारी बिक्री, श्रीमतीको पारिश्रमिक बचत, बैंक कर्जा, घर भाडा, लगानीबाट आएको नाफा र ब्याज आम्दानीसमेत समेटिएको छ ।

तर, सोही अवधिमा जग्गा खरिद, घर निर्माण, सवारी साधन खरिद, बीमा शुल्क, सन्तानको शिक्षा खर्च, कर्जा साँवा–ब्याज, विभिन्न फर्म तथा कम्पनीमा लगानी र बैंक खातामा मौज्दातसहित १० करोड २९ लाख ९९ हजार २२६ रुपैयाँ १२ पैसा खर्च भएको देखिएको आयोगले जनाएको छ ।

सार्वजनिक पदमा रहँदा अख्तियारको दुरुपयोग गरी गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरी श्रीमतीको नाममा समेत सम्पत्ति खरिद गरिएको ठहर गर्दै आयोगले दुवैजनाविरुद्ध आरोपपत्र दायर गरेको हो । आयोगले आचार्यविरुद्ध बिगो रकम बराबर कैद र जरिवाना माग गर्दै लुकाइछिपाइ राखिएको सम्पत्ति जफत गर्नसमेत मागदाबी लिएको छ । उनकी श्रीमती सुवेदीको हकमा भने खरिद गरिएका सम्पत्ति जफत गर्ने प्रयोजनका लागि मात्र प्रतिवादी कायम गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले बताएका छन् ।

डोटीमा नौं दलका नयाँ-पुराना अनुहारको रोचक भिडन्त

डोटी । पश्चिम नेपालको डोटी जिल्लामा फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि राजनीतिक प्रतिस्पर्धा निकै रोचक बन्दै गएको छ। डोटीको एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्रका लागि नौ दलका उम्मेदवारले मनोनयन दर्ता गरेपछि चुनावी माहोल थप तातिएको हो।

यसअघि लगातार दुईपटक निर्वाचन जितेर डोटीको प्रतिनिधित्व गरेका प्रेम आले भने यसपटक स्थानीय चुनावी मैदानमा छैनन्। सुदूरपश्चिमको राजधानी दिपायल ल्याउने वाचा पूरा नगरेको आरोप खेप्दै आएका आलेले यसपालि आफ्नो क्षेत्र बदलेर कैलाली–५ बाट उम्मेदवारी दिए । डोटीमा उनले छाडेको ठाउँलाई नेकपाले सुदूरपश्चिम प्रदेशका संस्थापक मुख्यमन्त्री तथा केन्द्रीय सदस्य त्रिलोचन भट्टलाई अघि सारेर भरेको छ। माओवादी आन्दोलनबाट उठेका भट्ट यसअगाडिका प्रदेश नेतृत्वकै कारण स्थानीय तहमा चिरपरिचित मानिन्छन्।

त्यस्तै, नेकपा एमालेले आन्तरिक प्रतिस्पर्धालाई उछिन्दै अनेरास्ववियुका अध्यक्ष दीपक धामीलाई उम्मेदवार बनाएर नयाँ अनुहार प्रस्तुत गरेको छ। एमालेभित्र डोटीका लोकप्रिय नेतामा गनिने चक्र मल्लले टिकट पाउने चर्चा भए पनि अन्तिम घडीमा धामीको नाम टुंगो लगाइएको हो। पछिल्लो निर्वाचनमा कमजोर प्रदर्शन गरेका एमालेका लागि डोटीमा नयाँ पुस्ताको दाबी प्रभावकारी हुँदैन भन्ने बहस पनि भित्रभित्र चलिरहेको छ। नेपाली कांग्रेसले भने डोटीमा यसपटक अनुभवी नेतृत्वलाई अघि सारेको छ। पार्टीका केन्द्रीय सदस्य तथा पूर्वसंविधानसभा सदस्य भरत खड्का उम्मेदवार बनेका छन्। दुई कार्यकाल प्रदेशसभा सदस्य भइसकेका खड्का हालै सम्पन्न विशेष महाधिवेशनमा सहमहामन्त्रीका दाबेदारसमेत थिए। उनी यसपटक संघीय संसद प्रवेशका लागि बलियो प्रतिस्पर्धी मानिन्छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुदूरपश्चिम प्रदेश कमिटीका उपसभापति नरेन्द्र खड्कालाई उम्मेदवार बनाएको छ। स्थापित दलहरूको वर्चस्व तोड्दै नयाँ विकल्पको खोजीमा रहेका मतदातालाई केन्द्रित गरिएको बताइन्छ। यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट खडक बहादुर अग्रवाल, राष्ट्रिय जनमोर्चाबाट केन्द्रीय महासचिव मणिराज (मनोज) भट्ट, नेपाल कम्युनिस्ट पार्टी (माओवादी)बाट प्रकाश कठायत, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बाट खगेन्द्रबहादुर शाही र मितेरी पार्टी नेपालबाट सरस्वती कुमारी पाल (मल्ल) उम्मेदवार बनेका छन्।

डोटीमा २०४८ साल यताका सात संसदीय निर्वाचनमा नेपाली कांग्रेसले चारपटक विजय हात पारेको छ। एमालेले दुई, र एकीकृत समाजवादीले एकपटक प्रतिनिधित्व गरेको इतिहास छ। यसपटक भने पुराना, अनुभवी र नयाँ पुस्ताका नेताहरू एकैस्थानमा भिड्न लागेको चुनावलाई स्थानीयले ‘अझै प्रतिस्पर्धात्मक र अनिश्चित’ भएको बताइरहेका छन्। नयाँ अनुहारहरूको प्रवेश, पुराना नेताहरूको पुनरागमन र दलभित्रका समीकरणका कारण डोटीको यस वर्षको चुनावी प्रतिस्पर्धा प्रदेशकै ध्यान केन्द्रित गर्ने मुख्य क्षेत्र बन्न पुगेको छ।

चुनावी अभियानमा नेपाली झण्डाको प्रयोग गर्न रोक लगाइयोस् : गंगाकुमारी बेलवासे

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) की सांसद गंगाकुमारी बेलवासेले चुनावी सभा, जुलुस तथा र्‍यालीमा नेपाली राष्ट्रिय झण्डाको प्रयोग गर्न रोक लगाउन सरकारसँग माग गरेकी छन् । मंगलवार बसेको राष्ट्रिय सभाको विशेष समयमा बोल्दै उनले चुनावी प्रचारप्रसारका क्रममा राष्ट्रिय झण्डाको दुरुपयोग भइरहेको बताइन् ।

उनकाअनुसार चुनावी अभियानमा प्रयोग गरिएका झण्डाको उचित व्यवस्थापन, संरक्षण तथा स्याहारसम्भार कसरी भइरहेको छ भन्ने विषयमा खोजी गर्न सकिने अवस्था छैन । घाँटीमा मालाझैं लगाइएका झण्डा अहिले कहाँ पुगेका छन्, कसरी राखिएका छन् र कसले स्याहार गरेको छ भन्नेबारे कुनै जानकारी नभएको उनले बताइन् । उनले नेपाली झण्डालाई चुनावी अभियानमा प्रयोग गर्न नहुने स्पष्ट पार्दै यसको प्रयोग पूर्ण रूपमा रोक्न सरकारलाई आग्रह गरिन् ।

उनले भनिन्, ‘नेपाली झण्डालाई चुनावी अभियानमा प्रयोग गर्न हुँदैन । टोटल ढंगले रोक्नु पर्छ । यहाँ कारबाहीको कुरा पनि गरिएको छ, घाँटीमा माला लगाएको झण्डा अहिले कहाँ पुगेको छ, कसरी राखेको छ, कसले स्याहारसम्भार गरेको छ, त्यसको खोजविन गर्न सकिने अवस्था छैन । त्यसैले यो झण्डाको दुरुपयोग भईराखेको कुरालाई टोटल सरकारले रोक्नु पर्छ ।’ उनले राष्ट्रिय झण्डाको दुरुपयोग रोक्न आवश्यक कानूनी व्यवस्था र कारबाही प्रक्रिया प्रभावकारी रूपमा लागू गर्नुपर्नेमा जोड दिइन् ।

 

बालेन कैलालीमा, पुगे उम्मेदवारहरूको सम्पर्क कार्यालय {तस्वीरहरु}

कैलाली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह कैलाली पुगेका छन् । कैलाली भ्रमणका क्रममा उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूको सम्पर्क कार्यालयमा पुगेर भेटघाट तथा शुभेच्छा आदान–प्रदान गरेका छन् । बालेन शाहले कैलाली क्षेत्र नं. १ का उम्मेदवार कोमल ज्ञवाली, क्षेत्र नं. २ का केपी खनाल, क्षेत्र नं. ३ का जगतप्रसाद जोशी, क्षेत्र नं. ४ का खेमराज कोइराला र क्षेत्र नं. ५ का उम्मेदवार आनन्द चन्दको सम्पर्क कार्यालयमा पुगेर उम्मेदवार तथा कार्यकर्तासँग छलफल गरेका हुन् ।
तस्वीरहरु : नेपाल फोटो लाइब्रेरी

 

पूर्वमन्त्री बस्नेतमाथिको भ्रष्टाचार मुद्दामा सुनुवाइ

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणको ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिद प्रकरणमा जोडिएका नेपाली कांग्रेसका नेता तथा पूर्व सञ्चारमन्त्री मोहनबहादुर बस्नेतविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दाको सुनुवाइ भइरहेको छ ।

विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासमा मंगलबारदेखि मुद्दाको सुनुवाइ अघि बढाइएको हो । यसअघि अदालतले यही प्रकरणसँग सम्बन्धित सर्वोच्च अदालतका दुई वटा आदेशको प्रमाणित प्रतिलिपि झिकाउन आदेश दिएको थियो, जुन आदेशहरू अदालतमा प्राप्त भइसकेका छन् ।

३ अर्ब २१ करोड बढी बिगो मागदाबी
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वर्ष जेठ १ गते तत्कालीन सञ्चारमन्त्री बस्नेतसहित १९ जनाविरुद्ध ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रुपैयाँ बिगो कायम गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको थियो । अख्तियारका अनुसार टेरामक्स उपकरण तथा प्रणाली खरिदमा सार्वजनिक संस्थालाई ठूलो आर्थिक नोक्सानी पुर्‍याइएको छ ।

सर्वोच्चका आदेश र रिट निवेदनको पृष्ठभूमि
टेरामक्स प्रणाली खरिद प्रक्रिया रद्द गर्ने निर्णयविरुद्ध भानराइज सोलुसनले २०७६ वैशाख २० गते सर्वोच्च अदालतमा रिट दायर गरेको थियो । उक्त रिटमाथि सर्वोच्चले २०७८ वैशाख १४ गते आदेश जारी गरेको थियो । यही विषयसँग सम्बन्धित अर्को रिटमा भएको आदेशको प्रमाणित प्रतिलिपि पनि विशेष अदालतले झिकाइसकेको छ । यस्तै, मुद्दाको अनुसन्धानका क्रममा अख्तियारद्वारा नियुक्त टेलिकम्युनिकेसन विज्ञ केशव ज्ञवालीलाई बकपत्रका लागि अदालतमा उपस्थित गराउन समेत आदेश दिइएको छ ।

बस्नेतमाथि के आरोप छ ?
अख्तियारका अनुसार पूर्व सञ्चारमन्त्री बस्नेतले दूरसञ्चार ऐन, २०५३ को दफा १८ र २० अनुसार मन्त्रिपरिषद्लाई मात्र रहेको नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिने अधिकारको दुरुपयोग गरेका छन् । अन्तर्राष्ट्रिय कल अनुगमन तथा भीओआईपी नियन्त्रणका लागि टेरामक्स प्रणाली सञ्चालन गर्न भन्दै आफ्नो क्षेत्राधिकार बाहिर गई एकल निर्णयमार्फत निर्देशन दिएको आरोप छ ।

अख्तियारको अभियोगपत्रमा उल्लेख भएअनुसार टेरामक्सका लागि परामर्शदाताले डिजाइन, डेभलपमेन्ट, सफ्टवेयर स्थापना जस्ता मुख्य काम नगरी केवल सामान आपूर्ति गरे बापत एक अर्ब ११ करोड ६२ लाख ५२ हजार १४३ रुपैयाँ भुक्तानी दिइएको थियो । यसबाट सम्झौताबमोजिम थप दायित्व सिर्जना भई नेपाल दूरसञ्चार प्राधिकरणलाई आर्थिक हानी पुगेको दाबी गरिएको छ ।

कानुन र प्रक्रिया उल्लंघन गरेको दाबी
आर्थिक वर्ष २०७४/७५ को वार्षिक कार्यक्रममा समावेश नै नभएको टेरामक्स परियोजना तत्कालीन मन्त्री बस्नेतले सम्भाव्यता अध्ययन, लागत अनुमान, कानुनी तथा नीतिगत प्रबन्ध नगरी कार्यान्वयनमा लैजान निर्देशन दिएको अख्तियारको ठहर छ । नेपाल दूरसञ्चार ऐन, २०५३ र प्राधिकरण आर्थिक प्रशासन विनियमावली, २०७३ ले तोकेको बजेट तथा कार्यक्रम तयार गर्ने विधि उल्लंघन गर्दै सर्वोच्च अदालतको २०७२ माघ २१ को आदेशविपरीत काम गरिएको अभियोगपत्रमा उल्लेख छ ।

कस्तो सजाय मागदाबी ?
अख्तियारले बस्नेतमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १५ र १७ अनुसार कैद, जरिवाना र बिगो असुल उपरको मागदाबी गरेको छ । साथै दफा २४ बमोजिम थप सजायको पनि माग गरिएको छ । व्यक्तिगत सूचनामा पहुँच पाउने गरी अनधिकृत संरचना स्थापना गरी राज्यको सम्पत्तिको दुरुपयोग गरिएको र सार्वजनिक संस्थालाई ठूलो नोक्सानी पुर्‍याइएको अख्तियारको निष्कर्ष छ ।

 

 

आपतकालीन रक्तदानका लागि नेपाली डिजिटल प्लेटफर्म ‘साथी’ सार्वजनिक

काठमाडौं । आपतकालीन अवस्थामा रक्तदानलाई छिटो, सहज र भरपर्दो बनाउने उद्देश्यसहित विकास गरिएको साथी – ह्युमानिटी स्टिल एक्जिस्ट  एप सार्वजनिक गरिएको छ। डिजिटल स्वास्थ्य प्रविधि क्षेत्रमा काम गर्ने विज्ञहरूका अनुसार साथी एपले आपतकालीन रक्तदानका लागि रक्तदाता र बिरामीलाई प्रत्यक्ष रूपमा जोड्ने प्रभावकारी डिजिटल समाधान प्रदान गरेको छ। प्रयोगकर्ता–मैत्री डिजाइन, सरल इन्टरफेस र छिटो प्रतिक्रिया प्रणालीका कारण साथी एप अन्य प्लेटफर्मभन्दा फरक र उपयोगी बनेको छ।

यो एपमार्फत रक्तदानको अत्यावश्यक आवश्यकता परेका व्यक्तिले नजिकै रहेका उपयुक्त रक्तदातासँग तुरुन्त सम्पर्क गर्न सक्छन्। लोकेसन–आधारित प्रविधि प्रयोग गरेर आवश्यक रक्त समूहका दातालाई तत्काल सूचना पठाइने भएकाले आपतकालीन अवस्थामा समयमै सहयोग प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ। स्लो इन्टरनेटमा पनि सहजै चल्ने गरी विकास गरिएकाले देश–विदेशमा रहेका नेपालीहरूका लागि यो एप विशेष उपयोगी हुने विश्वास गरिएको छ।

यस एपमा दर्ता भएका रक्तदाताहरूको विवरण सुरक्षित रूपमा व्यवस्थापन गरिएको छ। प्रमाणित रक्तदाता प्रणाली, रक्तदान इतिहास तथा आवश्यक स्वास्थ्य सम्बन्धी सूचनाहरूका कारण प्रयोगकर्ताले भरपर्दो र सुरक्षित सेवा लिन सक्नेछन्। अस्पताल, बिरामी र रक्तदाताबीचको समन्वयलाई सहज बनाउँदै ‘साथी’ले रक्त अभावका कारण हुने जोखिम न्यूनीकरण गर्ने लक्ष्य राखेको छ।

मानवता र सहकार्यको भावनालाई प्रविधिसँग जोड्दै अघि बढाइएको ‘साथी’ अभियानले ‘मानवता अझै बाँकी छ’ भन्ने सकारात्मक सन्देश समाजमा प्रवाह गरिरहेको छ। जीवन बचाउने यस डिजिटल अभियानमा सहभागी भई रक्तदानमार्फत सहयोग गर्न सबै नेपालीलाई आह्वान गरिएको छ।

यो एप वेबसाइट ठेगाना एसएएटीएचआइ डट आइओमा गएर डाउनलोड गर्न सकिन्छ ।

इरानमाथि आक्रमण भए हिजबुल्लाह सक्रिय हुने चेतावनी

इरान । हिजबुल्लाहका नेता शेख नइम कासिमले सोमवार इजरायल वा संयुक्त राज्य अमेरिकाले इरानमाथि सैन्य आक्रमण गरेमा आफ्नो समूह तटस्थ नबस्ने चेतावनी दिएका छन् । अल–मनार स्थानीय टिभी च्यानलमार्फत सम्बोधन गर्दै उनले इरानलाई निशाना बनाइने कुनै पनि युद्धले पूरै क्षेत्रलाई आगोको चपेटामा पार्न सक्ने बताए ।

यसैबीच, दक्षिण लेबनानको टायर शहरमा इजरायली सेनाले गरेको आक्रमणमा अल–मनार टिभीका प्रस्तोता शेख अली नुरुद्दिनको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । इजरायली सेनाले यो आक्रमण नोभेम्बर २७ मा लागू भएको युद्धविराम सम्झौताको उल्लंघनको जवाफ भएको दाबी गरेको छ । युद्धविरामका बावजुद इजरायली सेनाले लेबनानमा छिटपुट आक्रमणहरू जारी राखेको छ ।

देशमै रोजगारी सिर्जना गरी युवा पलायन रोक्छौं : अध्यक्ष अन्सारी

काठमाडौं । राष्ट्र निर्माण दलका अध्यक्ष समिम मियाँ अन्सारीले देशमै रोजगारी सिर्जना गरी युवा पलायन रोक्ने उद्देश्यसहित पार्टी गठन गरेको दाबी गरेका छन् । मंगलवार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष अन्सारीले सो दाबी गरेका हुन् । गुणस्तरीय शिक्षा, साक्षरता दरमा सुधार तथा सातै प्रदेशमा सस्तो र सर्वसुलभ स्वास्थ्य सेवा सुनिश्चित गर्ने पार्टीको प्रमुख एजेण्डा रहेको उनको भनाइ छ ।

रास्वपा परित्याग गरी पार्टी प्रवेश गरेका नेताहरुलाई पार्टीमा स्वागत गर्दै उनल राष्ट्रिय स्वतन्त्र पार्टीलाई पूँजीवादी दलको संज्ञा दिए । उनले पैसा कमाउन उद्देश्यले नभई देश र जनताको हितलाई केन्द्रमा राखेर काम गर्ने भएको कारण राष्ट्र निर्माण दलले मात्र मुलुकलाई निकास दिनसक्ने दाबी पनि गरे ।

अन्सारीले भने, ‘देशमै रोजगारी सिर्जना गरी युवा पलायन रोक्ने उद्देश्यले यो पार्टीको गठन भएको हो । गुणस्तरीय शिक्षा प्रदान गर्दै साक्षरता दरमा सुधार ल्याउन यो पार्टीको गठन भएको हो । सात वटै प्रदेशमा सस्तो सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले हामीले यो पार्टी गठन गरिएको हो । जसरी अहिले राष्ट्रिय स्वतन्त्र पार्टीले अगामी निर्वाचनमा बहुमत ल्याउँछ भनेर भनिरहँदा आज जसरी युवा साथिहरु हाम्रो पार्टीमा आएका छन् । यसले अवको मुलुकको निकास दिने दल नै राष्ट्र निर्माण दल हो । रास्वपा पूँजीवादी दल हो । बालेनले ८ करोडको गाडी चढिरहेका छन् । प्रत्येक उम्मेदवारसँग ५० हजार रुपैयाँ मागिएको छ । यो पार्टी पैसा कमाउने पार्टी होइन । हामी देश र जनतालाई शिरमा राखेर काम गर्छौँ।’ मंगलवार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरी ताज मोहम्मद मियाँसहित दर्जन बढी नेता कार्यकर्ता राष्ट्र निर्माण दल प्रवेश गरे ।

 

६ महिनामा झण्डै ६ लाख युवा विदेशिए, ठगिने क्रम पनि बढ्दो

काठमाडौं । पछिल्लो ६ महिनामा झण्डै ६ लाख नेपाली कामको खोजिमा विदेशिएका छन् । मुलुकमा आम निर्वाचन घोषणा भएर देश चुनावमय बनिरहे पनि विदेशिने क्रम बढिरहेको छ । वैदेशिक रोजगार विभागको पछिल्लो तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८२÷८३ को साउनदेखि पुस मसान्तसम्ममा ५ लाख ९० हजार ७ सय १८ जनाले श्रम स्वीकृति लिएर विदेशीएका छन् ।

तथ्यांक अनुसार जसमा १ लाख ९६ हजार ४२ जनाले पुनः श्रम स्वीकृति लिएका छन् । जसमा ४ हजार ८ सय ६६ जना जीटुजीमार्फत इजरायल, कोरिया तथा बेलायत गएका छन् । व्यक्तिगत श्रम स्वीकृति लिएर ६४ हजार २ सय ६२ जना तथा ३ लाख २५ हजार ४ सय ७ जना म्यानपावर कम्पनीमार्फत गएको वैदेशिक रोजगार विभागको तथ्यांकमा उल्लेख छ ।

चाडपर्वपछि विदेश जाने क्रम तिब्र हुने गरेको र नयाँ वर्ष तथा निर्माण तथा सेवा क्षेत्रको माग बढ्ने समयमा यो संख्या अझै बढ्नसक्ने अनुमान गरिएको छ । गन्तव्य मुलुकको हिसावले खाडी मुलुकहरू, मलेसिया र पछिल्ला वर्षहरूमा जापान, दक्षिण कोरिया तथा युरोपेली देशहरू पनि नेपाली श्रमिकका प्रमुख गन्तव्य बन्दै गएका छन् । खाडी र मलेसियामा अझै पनि अदक्ष र अर्धदक्ष श्रमिकको माग उच्च रहेको छ भने जापान र कोरियातर्फ भाषा तथा सीपयुक्त श्रमिकको आकर्षण बढिरहेको छ ।

५ हजार ७ सय ठगीका उजुरी
नेपालीहरु विदेशिने क्रम बढेसँगै चालु आर्थिक वर्षको समीक्षा अवधीमा नेपालीहरु ठगीने क्रम पनि बढिरहेको छ । विभागले सार्वजनिक गरेको अर्धवार्षिक प्रगति विवरणकाअनुसार आव २०८२÷८३ को साउनदेखि पुस मसान्तसम्म वैदेशिक रोजगारसँग सम्बन्धित पाँच हजार ७६६ वटा उजुरी दर्ता भएका छन् । विभागमा परेका उजुरीमध्ये उद्धार, राहत तथा समन्वय शाखामा ५६८, प्रहरी शाखामा दुई हजार ६३७ र मुद्दा अनुसन्धान शाखामा दुई हजार ५६१ वटा रहेका छन् । राहत तथा उद्धार शाखामा म्यानपावर कम्पनीका उजुरी दर्ता हुन्छन् भने मुद्दा र प्रहरी शाखामा व्यक्तिगत ठगीका उजुरी दर्ता हुन्छन् ।

विभागमा यस अवधिमा परेका उजुरीमध्ये ९०.१५ प्रतिशत व्यक्तिगत र ९.८५ प्रतिशत म्यानपावरका उजुरी छन् । गत आर्थिक वर्ष २०८१÷८२ को १२ महिनामा करिव पाँच हजार उजुरी परेका थिए । जसमा करिब ९० प्रतिशत व्यक्तिगत ठगीका उजुरी थिए । अघिल्लो आवमा परेकाभन्दा बढी उजुरी यस वर्षको छ महिनामै परेका छन् । रोजगारीमा जानेहरुको संख्या बढ्नु, युवाहरु युरोप रोजगारी प्रलोभनमा पर्नु, सामाजिक सञ्जालमा आउने अनधिकृत विज्ञापनका कारण नेपालीहरु ठगिने क्रम बढिरहेको विभागका अधिकारीहरु बताउछन् ।

 

 

बालेन, महेश, हर्क, निकोलसलाई आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारसहित पाँच जना उम्मेदवारलाई स्पष्टीकरण सोधेको छ । अभिव्यक्ति, प्रचार शैली र चुनाव चिह्नको प्रयोगसँग सम्बन्धित उजुरीका आधारमा आयोगले उनीहरूलाई तीन दिनभित्र लिखित जवाफ पेश गर्न निर्देशन दिएको हो ।

स्पष्टीकरण सोधिनेमा झापा–५ का उम्मेदवार रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह (बालेन), भक्तपुर–२ का नेकपा एमाले सचिव महेश बस्नेत, सुनसरी–१ का श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र रूपन्देही–२ का स्वतन्त्र उम्मेदवार निकोलस (कमल) भुसाल रहेका छन् । साथै भक्तपुर–२ की उम्मेदवार जानुका पाठकलाई पनि आयोगले स्पष्टीकरण सोधेको छ ।

आयोगका अनुसार बालेन शाहमाथि सामाजिक सञ्जालमार्फत दिएको अभिव्यक्तिका कारण उजुरी परेको हो । उजुरीमा उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै प्रयोग गरेका ‘७६ जना बच्चाको हत्यारा, आतंकवादी, देश जलाउने’ जस्ता शब्दहरू प्रमाण वा अदालतको निर्णय बिनै लगाइएका गम्भीर, तथ्यहीन र मानहानिकारक आरोप भएको दाबी गरिएको छ । केपी शर्मा ओलीले सार्वजनिक रूपमा प्रस्ताव गरेको पारदर्शी, तथ्यमा आधारित पब्लिक डिबेटको सन्दर्भमा बालेनको टिप्पणी लोकतान्त्रिक बहसको मर्मविपरीत रहेको उजुरीमा उल्लेख छ ।

यस्तै, एमाले सचिव महेश बस्नेतलाई पनि अभिव्यक्तिकै विषयमा स्पष्टीकरण सोधिएको छ । बालेन शाहले जनकपुरमा दिएको भाषणमा प्रयोग गरेको ‘छौरा’ शब्दलाई अनर्थ लगाउने गरी व्याख्या गरेको र त्यस क्रममा मधेसी समुदायलाई अपमानित हुने घृणात्मक अभिव्यक्ति दिएको आरोप उनीमाथि लागेको छ । हर्क साम्पाङमाथि भने चुनाव प्रचारका क्रममा बालबालिकाको प्रयोग गरेको र टिसर्ट लगाउन लगाएको विषयमा आचारसंहिता उल्लंघनको उजुरी परेको आयोगले जनाएको छ । आयोग स्रोतका अनुसार सोमबार नै उनलाई स्पष्टीकरणको पत्र पठाइएको हो ।

त्यसैगरी निकोलस भुसालमाथि दुईवटा चुनाव चिह्न प्रयोग गरी प्रचार गरेको आरोप छ । उनले ‘जेनजी आन्दोलनको आइकोनिक जुत्ता’ लाई चुनाव चिह्नका रूपमा प्रचार गरेको पाइएपछि आयोगले चुनाव चिह्नसम्बन्धी प्रावधान उल्लंघन भएको भन्दै स्पष्टीकरण मागेको हो । जानुका पाठकलाई उम्मेदवारमाथि हत्यारा, बलात्कारी जस्ता शब्द प्रयोग गर्दै घृणाजन्य टिप्पणी गरेको आरोपमा स्पष्टीकरण सोधिएको छ ।

आयोगले उम्मेदवारहरूसँगै स्वास्थ्य स्वयंसेवक संघले अनुमति नलिई आचारसंहिता लागू भएपछि अधिवेशन गरेको र शिक्षक सरुवासम्बन्धी एक घटनामा समेत स्पष्टीकरण सोधेको जनाएको छ । यसरी आयोगले पछिल्लो चरणमा कुल ७ वटा स्पष्टीकरण जारी गरेको हो । निर्वाचन आयोगले सबै पक्षलाई निर्वाचन आचारसंहिता, प्रचलित कानून र लोकतान्त्रिक मूल्य–मान्यताको पालना गर्न पुनः सचेत गराउँदै तोकिएको समयभित्र जवाफ नआए कानुनी कारबाही अघि बढ्न सक्ने संकेत दिएको छ ।

 

 

रोस्टरमै रोकिए भविष्यका सपना : कोरिया जान नपाएका युवाको माइतीघरमा आक्रोश

काठमाडौं । रोजगारीका लागि दक्षिण कोरिया जाने सपना बोकेका तर वर्षौदेखि रोस्टरमै अल्झिएका युवाहरूले काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन् । दुई वर्षअघि रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियन भाषा परीक्षा उत्तीर्ण गरी रोस्टरमा सूचीकृत भएका युवाहरू रोजगारदाताको छनोटमा नपरेपछि आन्दोलित बनेका हुन् ।

भाषा र सीप दुवै परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै उनीहरू विगत सात महिनादेखि निरन्तर आन्दोलनमा छन् । मंगलबार माइतीघरमा भेला भएका युवाहरूले रोस्टरको अवधि बढाउनु पर्ने, भाषा परीक्षा पास गरेपछि रोजगारीको सुनिश्चितता हुनुपर्ने लगायतका माग राख्दै नाराबाजी गरेका थिए । यसअघि उनीहरूले ग्वार्कोस्थित ईपीएस कोरिया शाखा कार्यालय अगाडि पनि प्रदर्शन गरेका थिए ।

ईपीएस प्रणालीअनुसार भाषा तथा सीप परीक्षा पास गरेपछि मात्र कोरिया जाने बाटो खुल्दैन । रोस्टरमा नाम समावेश भएपछि कोरियाली रोजगारदाताले छनोट गरेपछि मात्र कामका लागि जान पाइन्छ । तर रोस्टरमा नाम दुई वर्षसम्म रहँदा पनि रोजगारदाताको छनोटमा नपरेमा उम्मेदवारको नाम स्वतः हटाइन्छ । त्यसपछि पुनः कोरिया जान चाहनेले फेरि भाषा परीक्षा दिएर सम्पूर्ण प्रक्रिया दोहोर्‍याउनु पर्ने बाध्यता छ ।

यही व्यवस्थाले आफूहरू अन्यायमा परेको प्रदर्शनकारी युवाहरूको गुनासो छ । विशेषगरी कृषि तथा पानीजहाज निर्माण (सिपबिल्डिङ) क्षेत्रमा आवेदन दिएका धेरै युवाहरू भाषा पास भएर पनि छनोटमा नपरेको उनीहरूको भनाइ छ । ‘भाषा पास गर्नु सजिलो छैन, लाखौं खर्च र वर्षौ मेहनतपछि पनि फेरि सुरुदेखि प्रक्रिया दोहोर्‍याउनु अन्याय हो’, एक आन्दोलनरत युवाले बताए।

दक्षिण कोरियाले सन् २००८ देखि ईपीएस प्रणालीमार्फत नेपालसहित विभिन्न देशबाट अदक्ष कामदार लैजाँदै आएको छ । हालसम्म यस प्रणालीमार्फत एक लाखभन्दा बढी नेपाली युवाहरू कोरिया पुगिसकेका छन् । सन् २०२५ का लागि कोरियाले उत्पादनमूलक क्षेत्रमा ३ हजार ५ सय र कृषि तथा पशुपालन क्षेत्रमा १ हजार ८ सय गरी करिब ५ हजार कोटा निर्धारण गरेको छ । तर उक्त कोटाका लागि एक लाखभन्दा बढी युवाहरूले आवेदन दिएका छन्, जसका विभिन्न चरणका परीक्षा सञ्चालन भइरहेका छन् ।

ईपीएस कोरिया शाखाका अनुसार हाल भाषा परीक्षा उत्तीर्ण गरी रोस्टरमा मात्रै १२ हजारभन्दा बढी युवाको नाम रहेको छ । शाखाले रोस्टरमा रहेका युवाहरूले जुलुस, धर्ना र आन्दोलन जस्ता गतिविधि बढाउँदै जाँदा समग्र प्रक्रियामा नकारात्मक असर पर्ने भन्दै चिन्ता व्यक्त गरेको छ । यता आन्दोलनरत युवाहरू भने आफ्ना माग सम्बोधन नभएसम्म संघर्ष जारी रहने चेतावनी दिँदै आएका छन् । उनीहरूको मुख्य माग-रोस्टर अवधि विस्तार, भाषा पास गरेपछि रोजगारीको स्पष्ट सुनिश्चितता र लामो समय कुर्न बाध्य पार्ने प्रणालीमा सुधार—अहिलेसम्म सम्बोधन हुन सकेको छैन ।

तस्वीरहरु : नेपाल फोटो लाइब्रेरी

 

फोटो खिचेर, हात हल्लाएर ‘छु–मन्तर’ हुन्न : गगन थापा

सर्लाही । नेपाली कांग्रेसका सभापति तथा सर्लाही क्षेत्र नं. ४ का उम्मेदवार गगन थापाले चुनावी राजनीतिमा देखिँदै आएको ‘आए–गए’ प्रवृत्तिलाई अस्वीकार गर्दै सर्लाहीलाई आफ्नो कर्मथलो बनाउने स्पष्ट प्रतिवद्धता जनाएका छन् । सर्लाही पुगेका थापाले मतदाता र कार्यकर्तासँगको अन्तरक्रियामा आफू फोटो खिचेर, हात हल्लाएर ‘छु–मन्तर’ हुने नेता नभएको बताएका हुन् ।

बलरा नगरपालिकामा आयोजित अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै थापाले भने, ‘चुनाव आयो, हेलिकप्टर चढेर आयो, फोटो खिचायो, हात हल्लायो र जितेपछि हरायो– यस्तो राजनीति म गर्दिनँ ।’ उनले आफू पार्टीको जिम्मेवारीका कारण अन्य क्षेत्रमा जानु परे पनि सकेसम्म बढी समय सर्लाहीमै बसेर जनतासँग घुलमिल हुने बताए ।

थापाले आफूलाई ‘पाहुना नेता’ का रूपमा नहेर्न मतदातासँग आग्रह गरे । ‘म मत माग्न मात्रै आएको होइन, यहाँका जनतासँग दीर्घकालीन सम्बन्ध गाँस्न आएको हुँ’, उनले भने, ‘जति समय लाग्छ, म यहीँ बसेर तपाईंहरूकै मान्छे बन्न चाहन्छु ।’
कार्यक्रममा केही सहभागीले स्थानीय भाषामा दुई–चार शब्द बोलेर सम्बोधन गर्न सुझाव दिए पनि थापाले त्यसलाई सस्तो लोकप्रियताको अभ्यास भन्दै अस्वीकार गरे । ‘रातभरि रटेर दुई लाइन बोलेर नाटक गर्न मलाई आउँदैन’, उनले स्पष्ट पारे, ‘म ६ महिना, ८ महिना वा एक वर्ष समय लगाएर भाषा सिक्छु, अनि माइक समातेर यहीँको भाषामा आत्मविश्वासका साथ बोल्छु ।’

आफ्नो संसदीय अनुभव स्मरण गर्दै थापाले काठमाडौंमा गैरनेवार भएर पनि नेवार समुदायको संस्कृति, जात्रा र पर्वसँग आफू कसरी घुलमिल भएको उदाहरण प्रस्तुत गरे । ‘जसरी काठमाडौंमा सबै समुदायको विश्वास जितें, त्यसैगरी सर्लाहीका जनताले पनि मलाई आफ्नै छोरा, भाइ वा साथीका रूपमा स्वीकार गर्ने वातावरण बनाउनेछु’, उनले विश्वास व्यक्त गरे ।

नौटङ्की र चटके भाषणभन्दा जिम्मेवार नेतृत्वमा आफू विश्वास गर्ने थापाको भनाइ छ । उनले आगामी दिनमा वडागत छलफलमार्फत कार्ययोजना बनाइने र त्यसको कार्यान्वयनमा सबैलाई सहभागी गराइने बताए । ‘अब भाषणभन्दा कामको समय हो’, उनले भने, ‘फागुन २१ सम्म हामी व्यवस्थित छलफल गरेर स्पष्ट कार्ययोजनामा जान्छौँ ।’ थापाले चुनावी अभियानका क्रममा केही दिन निरन्तर सर्लाहीमै बसेर घरदैलो कार्यक्रम गर्ने र काठमाडौंका अपरिहार्य पार्टी काम सकेर पुनः यही क्षेत्र फर्किने योजना समेत सुनाएका छन् । उनका अनुसार सर्लाही–४ का जनताको अभिभावक बनेर जिम्मेवारी निर्वाह गर्नु नै आफ्नो राजनीतिक लक्ष्य हो ।

 

पर्वतमा ‘हेभिवेट’ प्रतिष्पर्धा : गिरीको ह्याट्रिक दाउ, जोशी चौंथो जितको खोजीमा

काठमाडौं। आगामी २१ फागुनमा हुने आमनिर्वाचनसँगै मध्यपहाडी जिल्ला पर्वतमा राजनीतिक तापक्रम चर्किँदै गएको छ। यो पटक पर्वतमा विभिन्न दल तथा स्वतन्त्र गरी १७ जनाले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका छन्। विगतमा पनि कडा प्रतिस्पर्धा हुने जिल्लामध्ये पर्दै आएको पर्वत यसपालि ‘हेभिवेट’ भिडन्तका कारण देशभरकै ध्यान खिचिरहेको छ।

पर्वतमा नेकपा एमालेका पदम गिरीले पछिल्ला दुई प्रतिनिधिसभा निर्वाचन जित्दै बलियो पकड बनाइसकेका छन्। २०७४ र २०७९ दुवै निर्वाचनमा उनले नेपाली कांग्रेसका अर्जुनप्रसाद जोशीलाई पराजित गरेका थिए। यस पटक पनि गिरी एमालेको तर्फबाट प्रत्याशी बनेका छन्। ओली नेतृत्वको सरकारले उनलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारी समेत दिएको थियो। हाल उनी एमालेको केन्द्रीय सदस्य तथा जिल्लाका इन्चार्ज छन्। लगातार तेस्रो जित निकाल्दै ‘ह्याट्रिक’ बनाउने लक्ष्यसहित गिरी चुनावी मैदानमा छन्।

उता, नेपाली कांग्रेसले पुनः अर्जुनप्रसाद जोशीलाई नै उम्मेदवार बनाएको छ। लगातार दुई हारपछि जोशी पुनरागमनका प्रयासमा छन्। २०५६ मा पहिलो पटक संसद् प्रवेश गरेका जोशीले २०६४ र २०७० को संविधानसभा तथा २०५६ को संसदीय चुनाव जित्दै पर्वतमा तीनपटकको ‘ह्याट्रिक’ गरेका थिए। तर पछिल्ला दुई निर्वाचनमा भने उनलाई एमालेका गिरीसँग पराजित हुनुपरेको थियो। कांग्रेस केन्द्रीय सदस्य समेत रहेका जोशीका लागि यो चुनाव ‘अपेक्षा पुनः स्थापित गर्ने’ अवसरका रूपमा हेरिएको छ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले मनहरि शर्मालाई उम्मेदवार बनाएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सागर भुसाल मैदानमा छन्। माओवादी केन्द्रका तर्फबाट कृष्णबहादुर विक प्रतिस्पर्धामा छन्। यस्तै राप्रपाका दुर्गाबहादुर मल्ल, मजदुर किसान पार्टीका ऐलिना सुवाल, आम जनता पार्टीकी पवित्रा मल्ल, राष्ट्रिय जनमोर्चाका भिमलाल न्यौपाने लगायतले मनोनयन दर्ता गराएका छन्।

राष्ट्रिय जनमुक्ति पार्टीकी माया पाईजा पुन फकामी मगर, उज्यालो नेपाल पार्टी (उनेपा) का यमबहादुर चोचांगी पुन, मंगोल नेशनल अर्गनाइजेसनकी लालकुमारी थापा राना र नेसनल रिपब्लिक नेपालका बीरबहादुर गुरुङ पनि प्रतिस्पर्धामा छन्। सीतादेवी शर्मा, सावित्री शर्मा, मिना पौडेल शर्मा र गंगालाल रिमाल स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रिएका छन्।

पर्वतमा २०४८ यताको सातमध्ये चार संसदीय निर्वाचन नेपाली कांग्रेसले जितेको छ भने तीन पटक एमाले विजयी भएको इतिहास छ। २०५१, २०५६, २०६४ र २०७० मा कांग्रेस विजयी भएको यो क्षेत्र पछिल्ला दुई निर्वाचनमा भने एमाले हाबी भयो । २०४८ सालमा भएको संसदीय निर्वाचनमा एमाले विजयी भएको थियो। 

यस पटक भने रास्वपा, उज्यालो नेपाल पार्टी, श्रम संस्कृति पार्टीजस्ता नयाँ राजनीतिक शक्ति र वैकल्पिक धाराका दलहरूले पारम्परिक ध्रुवीकरण तोड्दै चुनावी परिणामलाई थप अनिश्चित बनाइदिइने अनुमान गरिएको छ। वैकल्पिक शक्तिको प्रभावले परम्परागत ठूला दलबीचको प्रतिस्पर्धामा नयाँ समीकरण बन्न सक्ने विश्लेषकहरूको बुझाइ छ। पर्वतको प्रतिनिधिसभा निर्वाचन यसपालि पनि कडा, रोचक र बहुआयामिक बन्ने देखिएको छ ।

मेलम्ची बग्यो, सवाल उठ्यो : जलवायु अपराधको मूल्य कसले तिर्छ ?

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बुमा २०७८ सालमा उर्लिएको बाढी केवल मौसमी विपद् थिएन, त्यो जलवायु परिवर्तनको एउटा भयानक संकेत थियो । उच्च हिमाली क्षेत्रबाट शुरु भई तल्लो तटीय क्षेत्रसम्म विनाश लीला मच्चाएको यो घटनालाई विज्ञहरूले अब अन्तर्राष्ट्रिय ‘हानी नोक्सानी कोष’ (एफआरएलडी) बाट सहायता प्राप्त गर्ने प्रमुख आधार बनाउनु पर्नेमा जोड दिएका छन् । भर्खरै स्थापित यस कोषले प्रस्ताव आह्वान गरिरहँदा मेलम्चीको घटलालाई वैज्ञानिक र तथ्यपरक ढंगले पेश गर्न सके नेपालले जलवायु न्यायको लडाईंमा ठूलो फड्को मार्न सक्ने देखिएको छ ।

विपद्को वैज्ञानिक र स्थानीय आयाम
जलवायुजन्य विपद्को प्रकृति बुझ्न मेलम्ची एउटा खुला प्रयोगशाला जस्तै हो । जलवायु विज्ञ डा. अरुणभक्त श्रेष्ठकाअनुसार यो विपद् ‘क्यास्केडिङ हाजार्ड’ (श्रृङ्खलावद्ध जोखिम) को उत्कृष्ट नमूना हो, जहाँ एउटा घटनाले अर्को विपद्लाई निम्त्याउँदै क्षतिको श्रृङ्खला खडा गर्छ । यो उच्च हिमाली क्षेत्रबाट उद्गम भएका विपदहरू, जसमा मेलम्ची पनि पर्दछ, यसमा जलवायु परिवर्तनको योगदान देखाउन अन्य घटनाहरू भन्दा सजिलो हुन्छ’, डा. श्रेष्ठ भन्छन्, ‘यसमा प्रत्यक्ष रूपमा योगदान छ भनेर देखाउन सकिन्छ ।’

विज्ञको यो वैज्ञानिक तर्कलाई हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन लामाको स्थानीय भोगाइले थप पुष्टि गर्छ । जलवायु परिवर्तनले कसरी स्थानीय अर्थतन्त्रको ढाड सेकेको छ भन्ने उदाहरण दिँदै उनी भन्छन्, ‘हेलम्बुको स्याउ त अब विश्वमै चर्चित थियो, त्यो अहिले ध्वस्त भयो । जलवायु परिवर्तनको कारणले चिसो हुने ठाउँ तातो बन्दै गएको छ ।’ उनकाअनुसार बाढीलाई मौसमी विपद् मात्र भन्न सकिँदैन, यसले त विकासको मोडेलमै प्रश्न उठाएको छ । ‘मेलम्ची खानेपानीको मुहान त्यही छ, बाढीले मुहान पुर्‍यो । हामीले एडिबीसंग ऋण लियौं’, अध्यक्ष लामाले तीतो यथार्थ पोखे, ‘जलवायु परिर्वतनका कारण घटना भयो, हामीले उल्टो तिरिरहेका छौँ ।’

तथ्याङ्कमा क्षतिको भयावह तस्वीर
स्थानीयको यही पीडासँगै अध्ययनहरूले अर्बौंको क्षतिको आँकडा बाहिर ल्याएको छ । प्रतिवेदनहरूअनुसार मेलम्ची र हेलम्बु गरी दुई स्थानीय तहमा मात्रै ६४ करोड ५६ हजार अमेरिकी डलर अर्थात् ८७ अर्ब रुपैयाँभन्दा बढीको आर्थिक नोक्सानी भएको छ । जसमध्ये मेलम्ची नगरपालिकामा करिव ५९ अर्ब ३० करोड र हेलम्बुमा २७ अर्ब ८२ करोड रुपैयाँ बराबरको क्षति पुगेको छ ।

अझ कहालीलाग्दो अवस्था त घरधुरीस्तरमा छ । प्रतिघरधुरी औसत ५२ हजार ११३ डलर (करिब ७० लाख रुपैयाँ) को सम्पत्ति गुम्दा पीडितले पाएको राहत भने नगण्य छ । विज्ञ डा. वसन्त अधिकारी यही तथ्यलाई अन्तर्राष्ट्रिय मञ्चमा ‘केस स्टडी’ का रूपमा लैजानु पर्ने सुझाउँछन् । ‘बाढीले गरेका आर्थिक र गैरआर्थिक क्षतिहरुलाई सबभन्दा पहिला लिस्टिङ गर्नु पर्‍यो’, डा. अधिकारीको जोड छ, ‘हामीले उत्सर्जन नगरेको कार्बनले गर्दा हाम्रो मेलम्ची जस्तो सानो बेसिनमा यत्रो ठूलो असर हुन्छ भने यसलाई केस स्टडी बनाएर अगाडि लानु पर्छ ।’

मनोसामाजिक क्षतिको गहिराई
भौतिक सम्पति त पुनर्निर्माण गर्न सकिएला, तर बाढीले मनमा लगाएको घाउ पुर्न कठिन छ । प्रकृति रिसोर्सेस सेन्टरको अध्ययनलाई उद्धृत गर्दै अध्ययता स्नेहा राईले मेलम्ची र हेलम्बुमा ८५ प्रतिशत प्रभावितहरू मनोसामाजिक समस्यासँग जुधिरहेको बताइन् । ‘हाम्रो अध्ययनमा कल्चरल र साइको–सोसल इम्प्याक्ट मेलम्ची र हेलम्बुमा म्यासिभ देखियो’, राई भन्छिन्, ‘दृश्य र अदृश्य सांस्कृतिक सम्पदाहरू एकअर्कासँग जोडिएका हुन्छन् र यसको डाइनामिक्स धेरै नै गहिरो हुन्छ । यी विषयलाई पनि प्रस्तावमा समेटिनु पर्छ ।’

रणनीति र आगामी बाटो
क्षतिको विवरण तयार भए पनि त्यसलाई कोषसम्म पुर्‍याउने प्रक्रिया भने प्राविधिक र चुनौतीपूर्ण छ । वन तथा वातावरण मन्त्रालयका जलवायु परिवर्तन व्यवस्थापन महाशाखा प्रमुख डा. महेश्वर ढकाल मेलम्चीलाई कोषको सहयोगका लागि ‘पोटेन्सियल क्यान्डिडेट’ मान्छन् । तर यसका लागि बलियो तयारी चाहिने उनको बुझाइ छ । ‘प्रस्ताव पेस त गर्नुपर्‍यो, तर हामीसँग हिजो र आजको फरक देखाउन सक्ने डेटाबेस र क्षमता आवश्यक पर्छ’, डा. ढकाल भन्छन्, ‘कुनै एउटा एक्रिडिटेड इन्टिटीले मेलम्चीको केसलाई इस्यु बनाएर लानु पर्छ ।’ यही सन्दर्भमा, जलवायु वित्तविज्ञ राजु पण्डित क्षेत्रीले स्रोत साधनको अभाव टार्न नीतिगत सुधारको खाँचो औंल्याए । ‘मेलम्ची बाढीलाई हानी तथा नोक्सानीको मुद्दासँग जोडेर स्रोत साधन जुटाउनुपर्ने छ’, उनी भन्छन्, ‘स्रोत साधन नपुग्दा हामीले बहुआयामिक प्रयास गर्नपर्छ ।’

दाबीलाई कसरी बलियो बनाउने भन्ने सन्दर्भमा विज्ञ हेमन्त ओझाको सुझाव ‘स्मार्ट’ रणनीतिमा केन्द्रित छ । सबै कुरालाई एउटै डालोमा हाल्दा दाबी कमजोर हुनसक्ने भन्दै उनले सचेत गराए । उनी भन्छन्, ‘सबै हानी नोक्सानीको कुरालाई लस एण्ड ड्यामेज फ्रेमभित्र पार्नु हुँदैन जुन कुरा अन्य स्रोतबाट समाधान हुन सकेको छैन, त्यसलाई दस्तावेजीकरण र क्वान्टिफाई गरेर लैजानु पर्छ । यो गर्दा मात्र नेपालको दाबी बलियो र प्रतिष्पर्धी हुन्छ ।’ मेलम्चीको बाढी नेपालका लागि केवल एक विपद्को कथा मात्र होइन, यो जलवायु न्याय प्राप्तिको एउटा अवसर पनि हो । यदि नेपालले विज्ञहरूले सुझाए जस्तै वैज्ञानिक प्रमाण, विस्तृत तथ्याङ्क र मानवीय संवेदनालाई एकै ठाउँमा मिसाएर सशक्त प्रस्ताव पेश गर्नसक्यो भने, ८७ अर्बको यो क्षतिपूर्ति दाबी हानी नोक्सानी कोषको प्रभावकारिता जाँच्ने ऐतिहासिक कोशेढुङ्गा बन्न सक्छ ।

 

प्रधानमन्त्री कार्कीले गरिन् निर्माणाधीन काठमाडौँ–तराई द्रुतमार्ग निरीक्षण

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्माणाधीन काठमाडौं–तराई–मधेस द्रुतमार्ग (फास्ट टयाक) निरीक्षणमा गरेकी छन् । मंगलबार बिहान ललितपुरको खोकनाबाट प्रधानमन्त्री कार्कीसहितको टोलीले द्रुतमार्ग निरीक्षण गरेको प्रधानमन्त्री कार्कीका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिएका छन् । प्रधानमन्त्री कार्कीसँगै भौतिक पूर्वाधारमन्त्री माधव चौलाई, परराष्ट्रमन्त्री बालानन्द शर्मा, नेपाली सेनाको प्रमुख अशोक सिग्देल लगायतले पनि द्रुतमार्गको निरीक्षण गरेका छन् ।

सरकारले काठमाडौँ–तराईमधेश द्रुतमार्गलाई राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत गरेर निर्माण गरिरहेको छ । यस राजमार्गको निर्माण नेपाली सेनाले गरेको हो । ललितपुरको खोकनाबाट बाराको निजगढसम्म यसको दूरी ७०.९७ किलोमिटर छ । यस राजमार्गमा अहिलेसम्म विशेष प्रकृतिका १३ वटा पुल निर्माण भइसकेका छन्। कतिपय पुल ८२ मिटरसम्म उचाइका छन् ।

आयोजनाका विभिन्न खण्डमा करिब १३ किलोमिटर लम्बाइका कुल ८९ वटा पुल निर्माण गर्ने तयारी छ । राजमार्गको ३३.६२ प्रतिशत खण्डमा पुल र सुरुङ निर्माण भइरहेको नेपाली सेनाले जनाएको छ । सबै पुलको कुल लम्बाइ १२.८८५ किलोमिटर छ । यस आयोजनाको काठमाडौँतर्फबाट प्रस्थानविन्दुका रूपमा रहेको खोकनामा जग्गा अधिग्रहणसम्बन्धी समस्याका कारण त्यहाँ निर्माण कार्य अघि बढ्न सकेको छैन । त्यस क्षेत्रमा निर्माण हुने चार वटा पुलको अहिलेसम्म ठेक्का प्रक्रिया समेत अगाडि बढेको छैन । राजमार्गको कतिपय ठाउँमा सडक कालोपत्र गर्ने काम समेत सुरु भइसकेको छ ।

‘म स्टुडेन्ट हुँ’ भन्दा खुट्टामा गोली : देश बनाउने सपना बोकेकी एकताको पीडा

काठमाडौं । देशभर अहिले चुनावी माहोल छ । दल र उम्मेदवारहरु आआफ्नो रणनीति बनाउन व्यस्त छन् । आज १८ वर्ष पुगेकी भक्तपुरकी एकता साहलाई भने यस्ता कुराले छोएको छैन । भलै उनी जस्तै युवाले गर्दा आज ती व्यक्ति र दलले चुनावी तयारीमा जुट्ने अवसर पाएका हुन् । १२ कक्षा पढेर चिकित्सक बन्ने सपनामा अघि बढेको एकताको भाद्र २३ गते बानेश्वरमा भएको जेनजी प्रदर्शनका क्रममा खुट्टामा गोली लागेको थियो । अहिले उनी अलिअलि हिड्न सक्छिन् तर उनको खुट्टा सन्चो हुने नहुने यकिन छैन । अझै उनको खुट्टाको अपरेसन बाँकी छ ।

गोली लागेर घाइते भएकी एकतालाई भेट्न न त कुनै जेनजी अगुवा भन्ने पुगेका छन् न त प्रधानमन्त्री, सांसद बन्ने रेसमा रहेका नेता नै गएका छन् । सबैको एजेण्डा देश बनाउने छ । तर जसले देश साँच्चिकै बन्नु पर्छ भन्दा गोली खाइन् उनलाई कसैले सोध्न आएको छैन–तिम्रो स्वास्थ्य कस्तो छ ?

‘अब त टुपी कसेर पढ्ने हो–आइ लभ स्टडी –आइ क्यान डु डिस,’ एकता साहको कोठाभरी यस्तै सन्देश टाँसिएका छन् । पढ्न निकै रुचाउने उनले हातैले विभिन्न चित्रसहित शब्द कोरेर कोठा सजाएकी हुन् । तर, यही स्टडी रुममा एकता नपुगेको करिब ५ महिना हुन लाग्यो । कोठामा एकताका किताबहरु छरप्रष्ट छन् । भित्तामा गणितका फर्मुला र विज्ञानका महत्वपूर्ण कुरा स्टिकी नोटमा लेखेर टाँसिएको छ । विद्यार्थी हुँदा उनी जहिलै अब्बल । किताबी शिक्षासँगै अतिरिक्त क्रियाकलापमा पनि उनको मन लाग्ने । त्यसैले कोठाभरी उनले पाएका पुरस्कार सजिएको छ । कोठामै झुण्डिएको छ उनी पढेको सैनिक आवासीय महाविद्यालयको क्यालेन्डर पनि । कक्षा १२ उत्तीर्ण भएर उनले ए प्लास ल्याएकी थिइन् । सोही क्यालेन्डरमा उनले त्यही पल सम्झिएर लेखेकी थिइन्–थ्यांक यु युनिभर्स !

अस्पतालको लामो बसाई पछि खुट्टामा चोट लिएर घर पुगे पनि उनमा छुट्टै आत्मविश्वास देखिन्छ अहिले पनि । त्यसैले त हिँड्न नसक्ने अवस्थामा पनि उनले मनोबल बढाइन्, चिकित्सक बन्न पार गर्नुपर्ने सीईई परीक्षामा सहभागी भइन् र नाम समेत निकालिन् । आमा बुनु शाहीले विज्ञान विषयका पुस्तक र नोट छोरीको खाटसँगै राखिदिएकी छन् । तर, एकतालाई अब पहिलाझैं ती किताबमा मन छैन । एकतालाई लाग्दो हो, ‘खै यो खुट्टा ठिक हुने हो कि होइन ।’

यस्तै प्रश्नले होला सायद एकताले तय गरेको शैक्षिक शिखर हासिल गर्न उनलाई अप्ठेरो लागिरहेको छ । तर, आमा बुनु भने छोरीको हिम्मत बनेर बसिरहेकी छन् । तत्कालीन सरकारले केही सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएसँगै सूचनाको सहारा बनेको थियो टिकटक । त्यही टिकटकमा भाद्र २३ गते बानेश्वरमा भ्रष्टाचारको विरोधमा प्रदर्शन गर्ने सूचना फैलियो । टिकटकभर नेपोबेबी ट्रेन्ड थियो । तिनै भिडियोले एकतालाई पनि बानेश्वरमा हुने प्रदर्शनमा जाउँ जाउँ बनायो । भाद्र २३ गते बिहानै एकता कलेज ड्रेस लगाएर तयार भइन् । घरमै भएको हेल्मेट लगाइन् र पानीको बोटल बोकिन् ।
प्रविण रानाभाट / नेपाल फोटो लाइब्रेरी

ओखलढुंगामा दम्पतीको हत्या

ओखलढुंगा । ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–६ भदौरेमा वृद्ध दम्पतीको विभत्स हत्या भएको छ । भदौरेको बोहोरे टोलमा ८० वर्षीय चन्द्र विक्रम राई र उनकी पत्नी चन्द्रमाया राईको लुटपाटपछि हत्या भएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । एक महिनाअघि पनि चिशंखुगढी भदौरेमा ६० वर्षीय शोभितमान थापामगर र उनकी श्रीमती रत्नमाया थापामगरको हत्या भएको थियो ।

वडाअध्यक्ष बलराम कटवालका अनुसार दम्पतीले सञ्चालन गर्दै आएको सानो पसलमा लुटपाट गरी दुवैको हत्या भएको हो । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख प्रहरी नायव उपरीक्षक मदन केसीले घटनास्थलमा प्रहरी पुगेको बताए । उनले आफू पनि घटनास्थल जाँदै गरेको बताए । यसअघि मगर दम्पतीको हत्यामा संलग्न आरोपमा ४ जना पक्राउ परेका छन् । घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

 

सकियो समानुपातिकको मतपत्र छपाइ, प्रत्यक्षको शुरू

काठमाडौं । आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ सकिएको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीमा सोमबार समानुपातिकतर्फको दुई करोड आठ लाख ५० हजारप्रति मतपत्र छपाइ कार्य सम्पन्न भएको निर्वाचन आयोगले जनाएको हो ।

केन्द्रका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले समानुपातिकतर्फको मतपत्र छपाइ पूरा भएपछि प्रत्यक्षतर्फको शुरू भएको जानकारी दिए । उनका अनुसार केन्द्रले सोमबारदेखि प्रत्यक्षतर्फको मतपत्र छपाइ शुरू गरेको छ । केन्द्रले यसअघि १० लाख ९८ हजार २०० नमुना मतपत्र छपाइ गरेर निर्वाचन आयोगलाई पठाइसकेको थियो । ती मतपत्र मतदाता सचेतना तथा अन्य कामका लागि प्रयोग भइरहेका छन् ।

यसैगरी, नेपाल राष्ट्र बैंकले निर्वाचन प्रयोजनका लागि बैंक खाता खोल्ने प्रबन्ध मिलाउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । निर्वाचन आयोगको अनुरोधपछि केन्द्रीय बैंकले एक पत्रमार्फत् बैंक खाता खोल्ने व्यवस्था मिलाइदिन आग्रह गरेको हो ।

आयोगले बैंक खाता बन्द गर्न लगाउँदासम्म सञ्चालन हुनेगरी उक्त आयोग मातहतका प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयको सिफारिसमा खाता खोल्न सकिने उल्लेख गरिएको छ । आमनिर्वाचन अभियान समूहका नेपाली मुद्राको आम्दानी खर्च कारोबार गर्नसक्ने गरी खाता खोल्ने व्यस्था गरिएको छ ।

प्रत्येक राजनीतिक दल तथा ती दलबाट प्रतिनिधित्व गर्ने समानुपातिक एवं प्रत्यक्ष उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारको छुट्टै खाता खोली सञ्चालनको व्यवस्था मिलाउन केन्द्रीय बैंकले सूचनामार्फत आग्रह गरेको छ ।