`

दुई सय दश वर्षपछि नालापानी किल्लामा लडेका खड्काको पहिचान खोजि

नालापानी किल्लामा लडेका कम्पनी कमाण्डर वीर योद्धा सुवेदार दयाराम खड्का लगायत युद्धका सबै वीर सपूतहरूलाई राज्यले आधिकारिक पहिचान दिनुपर्नेमा सरोकारवालहरुले जोड दिएका छन् ।

बिहीवार सिंहदरबारमा बसेको राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै सरोकारवालाहरुले यस्तो बताएका हुन् । बैठकमा इतिहासविद् डा. श्रीरामप्रसाद उपाध्यायले खड्काको राष्ट्रिय योगदानको विषयलाई विद्यालय पाठ्यक्रममा समावेश गरिनुपर्ने बताए। उनले नालापानीको लडाइँ नेपालको ऐतिहासिक गौरव भएको उल्लेख गर्दै युद्धमा प्रयोग भएका हतियारहरुलाई समेत संरक्षण गर्नुपर्नेमा जोड दिए । उनले दयाराम खड्कालाई राष्ट्रिय विभूति घोषित गर्न समेत माग गरे ।

उनले भने, ‘हामीलाई नेपाली भनेर चिनाउने नै नालापानीको लडाइँ हो । दयाराम खड्काको योगदानले गर्दाखेरी नै ल आज हामी गोर्खाली भनेर चिनिन्छौं । सबैले लडाइँ छोडेर भाग्दा पनि उहाँ अन्तिम समयसम्म पनि लडिरहनुभयो, जसलाई अंग्रेजहरुले पनि सराहना गरेका छन् । उहाँको परिवार नै एकीकरणमा लागेको हो । त्यसकारण उहाँको योगदान भनेको नेपालको लागि ऐतिहासिक योगदान हो । उहाँको बारेमा पाठ्यक्रममा पनि समावेश गर्दै राष्ट्रिय विभूति घोषित गर्नुपर्छ भन्ने मेरो मान्यता हो ।’

दयाराम खड्का स्मृति प्रतिष्ठान प्यूठानका अध्यक्ष कमलबहादुर खड्काले दयाराम खड्काको स्मृतिमा निर्मित प्रतिष्ठानको भौतिक संरचना समेत जिर्ण अवस्थामा रहेको भन्दै राज्यले त्यसको संरक्षण गर्नुपर्ने माग राखे । साथै, नेपालको एकीकरण र संरक्षणमा खड्काले दिएको योगदानको लागि उनलाई राष्ट्रिय विभूति घोषित गरी प्यूठानमै शालिक निर्माण गर्नुपर्ने माग राखे ।
उनले भने, ‘आज उहाँको स्मृतिमा निर्माण गरिएको प्रतिष्ठानको भवन समेत जिर्ण अवस्थामा रहेको छ । हामीले सरकारसँग उहाँले देशका लागि गर्नुभएको योगदानको उच्च मूल्याङ्कन गर्दै उहाँहरुले लडाइँमा प्रयोग गर्नुभएका हतियारहरुको संरक्षण गर्नुपर्दछ भन्ने हाम्रो माग हो । प्यूठानमा उहाँको शालिक निर्माण गर्नुपर्ने पनि हाम्रो माग हो ।’

प्रतिष्ठानका सदस्य वेदबहादुर खड्काले दयाराम खड्काको युद्ध कौशल र योगदानको कदर गर्दै राष्ट्रिय विभूति घोषणा गर्न माग गरे । खड्काले यु्द्धका क्रममा प्रयोग गरेका हातहतियार समेत संरक्षण गर्नुपर्ने उनको माग छ । उनले भने, ‘यो राष्ट्र निर्माण गर्नको लागि उहाँले जु्न बलिदान दिनुभयो । उहाँको युद्ध कौशल र योगदानको कदर गर्दै उहाँलाई राष्ट्रिय विभूति घोषणा गरिदिनुपर्यो‍‍ । उहाँले प्रयोग गर्नुभएका ऐतिहासिक हातहतियारहरुको हामी पूजा गरी बस्छौँ । तर अहिले ठाउँको अभाव छ । राज्यले एउटा राम्रो प्रतिष्ठानको भवन बनाइदिनुपर्‍यो ।’

बैठकमा बोल्ने अधिकांश सांसदहरुले नालापानी युद्धको पत्रहरूमा थप अध्ययन, अनुसन्धान गर्दै विज्ञहरूको सुझावका आधारमा राष्ट्रिय विभूति घोषणा गर्ने प्रक्रिया अगाडि बढाउन सकिने धारणा राखे ।

 

चुनाव गराउन भारतले दियो २५० गाडी, थप चार सय आउन बाँकी

आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनार्थ भारत सरकारले नेपाललाई सुरक्षा सामग्री हस्तान्तरण गरेको छ ।

बिहीवार अर्थ मन्त्रालयमा एक कार्यक्रमबीच भारत सरकारले दङ्गा नियन्त्रण उपकरण र विभिन्न सवारी साधनहरू हस्तान्तरण गरेको हो । कार्यक्रममा अर्थमन्त्री खनालले बजेटमा निर्वाचनका लागि पर्याप्त व्यवस्था नभएको अवस्थामा भारतले गरेको यो सहयोगले नेपालको लोकतान्त्रिक प्रक्रियालाई सफल बनाउन महत्वपूर्ण भुमिका खेल्ने बताए।

मन्त्री खनालले भारतलाई नेपालको ‘फर्स्ट रेस्पोन्डर’ का रूपमा चित्रण गर्दै सन् २०१५ को विनाशकारी भूकम्पको समयमा भारतले देखाएको तदारुकताको स्मरण पनि गरे। जेनजी आन्दोलनका क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका धेरै सवारी साधनहरू क्षतिग्रस्त भएको सन्दर्भमा यी नयाँ सवारी साधनहरूले सुरक्षा निकायको कार्यक्षमता बढाउने विश्वास व्यक्त गरिएको छ । अर्थमन्त्रीका अनुसार यी सामग्रीहरू सरकार आफैंले खरिद गर्नुपरेको भए राज्यलाई ठूलो आर्थिक भार पर्ने थियो । जसलाई भारतीय सहयोगले न्युनिकरण गरेको छ ।

उनले भने, ‘नेपाललाई संकट पर्दा भारत सधैं पहिलो सहयोगीका रूपमा उभिएको छ, चाहे त्यो भूकम्पको समयमा होस् वा अहिले निर्वाचनको पूर्वसन्ध्यामा ।’

नेपाल र भारतबीचको सम्बन्ध छिमेकी मात्र नभई एक भरपर्दो विकास साझेदारको समेत रहेको उल्लेख गर्दै अर्थमन्त्री खनालले भविष्यमा यो मित्रता अझ मजबुत हुने विश्वास व्यक्त गरे । भारत सरकारले नेपाल सरकारलाई उपहार स्वरुप दुई सय ५० ओटा सवारी साधन दिएको छ ।

अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा ६ सय ५० सवारीमध्ये दुई सय ५० उपलव्ध गराइएको र बाँकी आगामी साताभित्रै उपलब्ध गराइने भारतीय अधिकारीले बताए । कार्यक्रममा अर्थमन्त्री रामेश्वर खनालले चुनावका लागि लक्षित गरेर भारत सरकारले अनुदानमा दिएका सवारीहरु स्वीकार गरिएको बताए ।

सर्वोच्चको आदेशपछि मात्रै रवि-जीबीविरुद्धको आरोपपत्र संशोधन निवेदन पेश गर्न आदेश

काठमाडौं । सर्वोच्च अदालतमा विचाराधीन रिटको टुंगो लागेपछि मात्रै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध दायर मुद्दाको आरोपपत्र संशोधन निवेदन पेस गर्न आदेश भएको छ।

जिल्ला अदालत रुपन्देहीले सरकारी वकिलहरूलाई यस्तो आदेश दिएको हो ।

अदादतका तहसिलदार कृष्णप्रसाद पौडेलका अनुसार यस्तो आदेश यही ६ माघमा भएको हो । आदेशमा भनिएको छ, ‘सर्वोेच्च अदालतमा त्यस विषयमा परेको रिटको टुंगो लागेपछि मात्र यो निवेदन पेस गर्नू ।’

महान्यायाधिवक्ता सविता भण्डारीले रवि लामिछानेसँगै जीबी राईलगायत प्रतिवादीहरूको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता लिने प्रक्रिया अघि बढाएकी छिन् ।

त्यसका लागि उनले जिल्ला अदालत काठमाडौं, कास्की, रुपन्देही र पर्सालाई आरोपपत्र संशोधनको निवेदन लिन निर्देशन दिएकी छिन्

तर, रुपन्देही अदालतले सर्वोच्च महान्यायाधिवक्ता भण्डारीको कदम बदरको माग गर्दै रिट दायर भएको भन्दै तत्काल सरकारी वकिल कार्यालयबाट रिट लिन अस्वीकार गरेको हो ।

सर्वोच्चमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, युवराज सफललगायतले रिट दायर गरेका हुन् ।

कम्बोडिया–थाइल्यान्ड सीमा विवाद समाधानमा अड्चन, आरबीसी बैठकबाट उपलब्धि शून्य

नोम पेन । कम्बोडिया–थाइल्यान्ड क्षेत्रीय सीमा समिति (आरबीसी) सचिवालयको तीन दिने बैठक दुई पक्षबीच कुनै पनि सहमति जुटाउन असफल भए पछि बिहीबार सम्पन्न भएको कम्बोडियाका रक्षा प्रवक्ता माली सोचेटाले  बताएका छन्।

कम्बोडियाको बान्टे मिन्चे प्रान्त र थाइल्यान्डको सा काओ प्रान्तबिचको पोइपेट अन्तर्राष्ट्रिय सीमामा आयोजित यो बैठक कम्बोडियाको पाँचौं सैन्य क्षेत्र र थाइल्यान्डको पहिलो सेना क्षेत्रबीच आसियान पर्यवेक्षक टोलीको अवलोकनमा भएको जनाइएको छ।

‘दुवै पक्ष अझै साझा आधारमा पुग्न सकेका छैनन्, यद्यपि, दुवै पक्ष सहमति नभएसम्म कागजात आदान – प्रदान र वार्ता जारी राख्न आ–आफ्नो मुख्यालयमा फर्कन सहमत भएको कम्बोडियाको रक्षा मन्त्रालयका प्रवक्ता सोचेटाले विज्ञप्ती जारी गर्दै बताएका छन्।

सहमतिपछि मात्रै कम्बोडिया–थाइल्यान्ड आरबीसी बैठक र कम्बोडियाको पाँचौं सैन्य क्षेत्र र थाइल्यान्डको पहिलो सेना क्षेत्रबीच औपचारिक हस्ताक्षर समारोह हुने उनेले बताए।

कम्बोडिया र थाइल्यान्डले सशस्त्र द्वन्द्वको नयाँ चरणको तीन हप्ता पछि सन् २०२५ को डिसेम्बर –२७ मा तत्काल युद्धविराम गर्न सहमत भएका थिए। रासस/सिन्ह्वा

दोहोरो अंकले नेप्से परिसूचक घट्यो

काठमाडौं । साताको अन्तिम सेयर कारोबार दिन बिहीबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ ।

नेप्से परिसूचक १७.५३ अंकले घटेर २७१३.०५ विन्दुमा अडिएको हो । अघिल्लो कारोबार दिन बुधबार परिसूचक ५.३८ अंकले बढेको थियो ।

यसदिन कारोबार रकम भने बुधबारको तुलनामा वृद्धि भएको छ । यसदिन ३२० वटा स्क्रिप्सको ३ करोड ५४ लाख ७७ हजार ९३९ कित्ता सेयर १४ अर्ब ५६ करोड ३१ लाख ३८ हजार ८६५ रुपैयाँमा खरिदबिक्री भए ।

बुधबार ११ अर्ब ४९ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो । नेप्से परिसूचक दोहोरो अंकले घट्दा बिहीबार कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुन सकेन ।

हिमालयन दोलखा हाइड्रोपावरको सेयर सर्वाधिक ९.२३ प्रतिशतले बढ्यो ।

तीन कम्पनीको सेयर नकारात्मक सर्किट लेभलमा कारोबार भयो । कर्पोरेट डेभलपमेन्ट बैंक, मैथिली लघुवित्त वित्तीय संस्था र सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर १० प्रतिशतले ओरालो लाग्यो ।

कारोबारमा आएकामध्ये ८५ वटा स्टक्सको मूल्य बढ्दा १७० वटाको घट्यो । बाँकी ५ वटा स्टक्सको मूल्य भने स्थिर रह्यो ।

तीनवटा समूहको उपसूचक बढ्दा अन्य समूहको उपसूचक नकारात्मक देखिएका छन् ।

हाइड्रोपावर, इन्भेस्टमेन्ट र म्युचुअल फण्ड समूहको उपसूचक सकारात्मक देखिँदा अन्य समूहको उपसूचक भने नकारात्मक देखिएका छन् ।

 

राष्ट्रिय लिग फुटबलमा एनआरटीको लगातार चौथो जित

काठमाडौं । राष्ट्रिय लिग फुटबलमा न्युरोड टिम (एनआरटी)ले लगातार चौथो जित निकालेको छ । बिहीबार संकटा क्लबविरुद्ध एनआरटीले ३–१ को जित निकाल्यो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा संकटाको जितमा कप्तान कृतिशरत्न छुन्जु र टिमोथी चिमेरी ओकेरेकेले १–१ गोल गरे भने १ गोल आत्मघाती उपहारस्वरुप प्राप्त भयो । संकटका कृष्णबहादुर आलेले १ गोल फर्काए ।

एनआरटीलाई खेलको ११ औँ मिनेटमा कृतिशले गोल गर्दै अग्रता दिलाएका थिए । कृतिशको गोलले दबाबमा परेको संकटाका टाये ड्यानियल बडारुले दोहोरो पहेंलो कार्ड व्यहोर्दै २४ औँ मिनेटमै मैदान छाडेपछि संकटालाई झनै संकट आइप¥यो । खेलाडी १० जनामा सीमित भयो ।

यस्तोमा वेन्डपाङ्गा गिल्बर्ट बिल्गोबाट ५१ औँ मिनेटमा आत्मघाती गोल हुन पुग्दा एनआरटीको अग्रता दोब्बर भयो । ५ मिनेटपछि कृष्णले संकटाका लागि गोल फर्काए ।

तर, ओकेरेकेले ६७ औँ मिनेटमा एनआरटीका लागि तेस्रो गोल गरे । ८६ औँ मिनेटमा ओकेरेकेले नै दोहोरो पहेंलो कार्ड व्यहोर्दै मैदान छाडेपछि एनआरटी पनि १० खेलाडीमा समेटिएको थियो ।

जितसँगै एनआरटीले ५ खेलमा १२ अंक जोडेको छ । पराजित संकटाको समान खेलबाट ५ अंक छ ।

रवि लामिछानेको अवस्था सामान्य, आजै डिस्चार्ज गर्ने तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज गर्ने तयारी भएको छ ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका प्रवक्ता तथा डिपुटी निर्देशक डा. गोपालप्रसाद सेडाईंका अनुसार उनलाई बिहीबार नै डिस्चार्ज गर्ने भएको हो ।

उनले लामिछानेको स्वास्थ्य अवस्था सामान्य भएको र साँझसम्ममा डिस्चार्ज गरिने बताएका छन् ।

लामिछाने सेलुलाइटिसबाट संक्रमित थिए । उनी यही ५ माघमा मधेसको राजधानी जनकपुरमा पार्टीको चुनावी सभालाई सम्बोधन गर्न पुगेका थिए ।

त्यसबेला उनको देब्रे खुट्टामा चोट लागेको थियो । निको नभएर छालामा इन्फेक्सन भएपछि उनी अस्पताल भर्ना भएका थिए ।

अस्वस्थ भएपछि उनी चुनावी कार्यक्रमहरूमा जान असमर्थ भएका थिए ।

झापा-५मा एमालेको चुनावी अभियान तीव्र

दमक। नेकपा एमालेले झापा क्षेत्र नं. ५ मा आफ्नो चुनावी अभियानलाई तीव्र बनाएको छ ।

पार्टीले टोलस्तरीय बैठक, भेला, निर्वाचन परिचालन समिति लगायतका समिति उपसमिति गठन लगायतका काम एकसाथ अघि बढाएको छ । एमालेका केन्द्रिय, प्रदेश स्तरका तथा स्थानीय नेताहरू मतदातासँग प्रत्यक्ष संवादमा जुट्दै विगतका उपलब्धि र आगामी योजनाबारे जानकारी गराइरहेका छन् ।यस्तै युवा, महिला र किसानलाई लक्षित कार्यक्रममार्फत समेत एमाले सघन रुपमा मतदातामाझ पुगिरहेको छ ।

यसै क्रममा कमल गाउँपालिकाको वडा नंं ६ मा निर्वाचन परिचालन समिति सहित विभिन्न समिति गठन गरिएको छ । बिहिबार खयरवारीमा आयोजित भेलाले पार्टीका नेता मोहिनी खनाल संयोजक र निलकण्ठ निरौला सहसंयोजक रहेको निर्वाचन परिचालन समिति गठन गरेको हो । समितिको सचिवमा वडा कमिटी अध्यक्ष युवराज पाठक रहनु भएको छ ।

यसैगरी देवेन्द्र पराजुलीको संयोजकत्वमा युवा, सुजिता गुरागाईंको संयोजकत्वमा महिला, टंक सापकोटाको अध्यक्षमा ज्येष्ठ र खोमनाथ निरौलाको संयोजकत्वमा बुद्धिजिवी परिचालन समिति समिति गठन गरिएको पार्टीका जिल्ला कमिटी सदस्य तथा वडा ईन्चार्ज दिपक खड्काले जानकारी दिनुभयो । पालिका भरी नै टोल तथा वडा समितिहरु गठन भइरहेको गाउँकमिटी अध्यक्ष हरी ढकालले बताए ।

खयरबारीमा आयोजित बिस्तारित वडा भेला कार्यक्रममा प्रमुख अतिथी प्रदेश कमिटी सदस्य बेनुप्रसाद शिवाकोटी, मणि भण्डारी, जिल्ला उपाध्यक्ष शिव ढुंगेल लगायतका वक्ताले आगामी निर्वाचनले राष्ट्रियता पक्षधर र राष्ट्रविरोधीको कित्ता छिनोफानो गर्ने बताए । यो क्षेत्रबाट विगतदेखि नै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन जित्दै आएका छन् । फागुन २१ को निर्वाचनमा पनि एमालेको जीत सहज रहेको यहाँका मतदाताले बताएका छन् ।

यसपटक रास्वपाका वरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर बालेन्द्र शाह

माधव नेपालको उपचार जारी, छातीमा संक्रमण

काठमाडौं । रुघा, खोकी र ज्वरोको संक्रमणपछि नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपाल त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका छन् ।

अस्पतालको छाती रोग विभागमा भर्ना भएका नेपालको उपचार जारी रहेको उनको सचिवालयले जनाएको छ ।

केही दिनदेखि रुघा खोकीको संक्रमण भए पनि उनी चुनावी अभियानमा थिए । ज्वरोसमेत थपिएपछि उनी अस्पताल पुगेका हुन् ।

उनको छातीमा संक्रमण देखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । उनी रौतहट–१ मा नेकपाबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् ।

रामेछापका ‘गणेशमान’ भन्दै रामचन्द्र खड्कालाई जिताउन विश्वप्रकाशको अपिल (भिडियोसहित)

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले रामेछापमा कांग्रेसले चुनाव जित्ने दाबी गरेका छन् ।

उनले उम्मेदवार रामचन्द्र खड्कालाई ‘रामेछापका गणेशमान’ भन्दै प्रशंसा मात्रै गरेनन्, खड्काले चुनाव जित्ने ठोकुवा नै गरे । खड्का बेदागी नेता भएको भन्दै आफूसहित सभापति गगन थापासम्मले उनीप्रति श्रद्धा गर्ने बताए ।

नीप्रति रामेछापका कांग्रेसी नेता कार्यकर्ताहरूले कुनै गुनासो नगर्न पनि शर्माले आग्रह गरे ।

‘हामी कसैले जितौँला आफ्नो ठाउँमा छ । जित्ने– हार्ने चलिरहन्छ । रामेछाप त हामी जित्दैछौँ,’ उनले भने, ‘गणेशमान भन्न मिल्ने व्यक्तित्व त्यो भूगोलको लागि । जिन्दगी यत्तिको उमेरमा आइपुग्दैगर्दा दाग नलागेको व्यक्तित्व, चाहे गगन थापाले होस् या मैले वा कसैले श्रद्धा गरेर रामचन्द्र दाइ भन्ने व्यक्तित्व, आज रामेछापका साथीहरूले उम्मेदवार पाउँदै गर्दाखेरी अलिकति कहीँ अलमल, मनका कहीँ गुनासो छ, दुःखेसो छ भने सबै तिलाञ्जली दिनुहोस् आज र जिताउनुहोस् ’

एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको रामेछापमा यसपटक कांग्रेसले नेता रामचन्द्र खड्कालाई उम्मेदवार बनाएको छ ।

उनीसँग प्रतिस्पर्धामा एमालेले नेता माधव ढुंगेल, नेकपाले पूर्वराज्यमन्त्री श्यामकुमार श्रेष्ठ, रास्वपाले डा. कृष्णहरि बुढाथोकी र उज्यालो नेपाल पार्टीले दीपकुमार योञ्जनलाई उम्मेदवार बनाएर उतारेका छन् ।

कुलमान घिसिङ मन्दिर दर्शन र मतदाता–कार्यकर्ता भेटघाटमा (भिडियोसहित)

काठमाडौं । उज्यालो नेपाल पार्टी (उनेपा)का अध्यक्ष कुलमान घिसिङसहितका उम्मेदवारहरू मन्दिर दर्शनमा निस्किएका छन् ।

बिहीबार बिहान उनीहरूले काठमाडौं उपत्यकाका गणेश मन्दिर, तलेजु मन्दिर र कुमारी मन्दिरको दर्शन गरे । त्यसपछि नरदेवी र वसन्तपुरमा मतदाता र कार्यकर्ताहरूसँग भेटघाट गरे ।

घिसिङ उनेपाबाट काठमाडौं–३ मा उम्मेदवार छन् । उनी नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक छँदा देशमा १८ घण्टा लामो लोडसेडिङ अन्त्य भएको थियो ।

उनै घिसिङलाई नेपालमा लोडसेडिङ अन्त्यको जस जाने गरेको छ । गत वैशाख–जेठतिर उनले उज्यालो नेपाल अभियान सञ्चालन गरेका थिए ।

त्यसपछि उनी जेन–जी विद्रोहपछि गठित सुशीला कार्की नेतृत्वको नागरिक सरकारमा तीन महिना बढी ऊर्जा, भौतिक र सहरी विकासमन्त्री भए ।

निर्वाचन लड्ने सुर गरेपछि उनलाई प्रधानमन्त्री कार्कीले राजीनामा दिएर अलग हुन निर्देशन दिएकी थिइन् । निर्देशनअनुसार राजीनामा दिएका उनी उनेपाको अध्यक्ष हुँदै यतिबेला काठमाडौं–३ मा उम्मेदवार छन् ।

देशव्यापी चुनावी माहोल सिर्जना गर्न नसकेका उनले बिहीबार भने मन्दिर दर्शन र मतदातासँगै कार्यकर्तासँग भेटघाट गरेका हुन् ।

 

 

रेशमलाल चौधरीको उम्मेदवारी खारेज विवादमा सुनुवाई गर्दै सर्वोच्च

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा नागरिक उन्मुक्ति पार्टी (नाउपा)बाट कैलाली–१ मा उम्मेदवार दिएका रेशमलाल चौधरीको उम्मेदवारी खारेजसम्बन्धी विवादमा सर्वोच्च अदालतले आज सुनुवाइ गर्दै छ ।

न्यायाधीशद्वय बालकृष्ण ढकाल र नृपध्वज निरौलाको संयुक्त इजलासमा रिटको सुनुवाइ हुँदैछ । यसअघि ढकालको एकल इजलासले निर्वाचन आयोगलाई लिखित जवाफ पेस गर्न आदेश दिँदै अन्तरिम आदेशका लागि छलफल गर्न दुवै पक्षलाई बिहीबार बोलाएको हो ।

चौधरीको उम्मेदवारी निर्वाचन आयोगले अघिल्लो साता खारेज गरिदिएको थियो । उम्मेदवारी खारेज गर्ने आयोगको निर्णय बदरको माग गर्दै रेशम सर्वोच्च पुगेका थिए ।

उनी ७ भदौ २०७२ मा भएको टीकापुर घटनामा तीन तहकै अदालतबाट दोषी ठहर भएका थिए । तर, तत्कालीन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएका बेला उनको कैद माफी छुट दिने निर्णय भएको थियो ।

कैद माफी छुटको सिफारिस प्रचण्ड सरकारले राष्ट्रपति रामचन्द्र पौडेलकहाँ पठाएको थियो । उक्त सिफारिसअनुसार राष्ट्रपति पौडेलले कैद माफी छुट दिएका थिए ।

यसपछि रेशमले श्रीमती रञ्जिता श्रेष्ठ अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टी नेपालको अध्यक्ष हुने प्रयास गरे । पारिवारिक र राजनीतिक दुवै लफडा निम्तियो ।

अन्ततः उनले आफू संरक्षक बनेर फेरि नागरिक उन्मुक्ति पार्टी दर्ता गरे । सोही दलबाट उनी आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार बनेका थिए । तर, टीकापुर घटनामा सबै तहको अदालतबाट दोषी ठहरिएका उनी उम्मेदवार हुन अयोग्य भन्दै आयोगमा उजुरी पर्‍यो।

उजुरीउपर कारबाही गर्दा आयोगले रेशमलाई उम्मेदवार हुन अक्षम ठहर गर्दै उनको उम्मेदवारी खारेज गर्‍यो ।

लगत्तै उनले आयोगले प्रतिशोध साँधेको कडा प्रतिक्रिया दिएका थिए । उनले निर्वाचन आयोगविरुद्ध कानुनी चुनौती दिने बताएका थिए । नभन्दै सर्वोच्च रिट लिएर पुगे । बिहीबार भने सुनुवाइ हुने भएको हो ।

एक रात हिरासत बसेपछि युवराज सफलको प्रतिक्रिया : बाघलाई धेरै बेर थुन्न सकिन्नँ, चेतना भया

काठमाडौं । साइबर अपराधसम्बन्धी कसुरमा पक्राउ परेका युवराज सफलले सरकारी वकिल कार्यालय काठमाडौंले हाजिरी जमानीमा छाडेपछि कडा प्रतिक्रिया दिएका छन् । आफूलाई बाघसँग तुलना गर्दै उनले भने, ‘वास्तविक बाघलाई धेरै बेर सुन्न सकिन्नँ, चेतना भया ।’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेनसहितका आरोपीहरूको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी दुई मुद्दा फिर्ता लिन अभियोगपत्र संशोधन गर्न महान्यायाधिवक्ता सविता भण्डारीले कदम चालेपछि सफलले कडा प्रतिवाद मात्रै गरेनन्, गालीगलौजसमेत गरेका थिए ।

त्यसपछि उनलाई गालीगलौज र भ्रामक प्रचार गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) टोलीले मंगलबार पक्राउ गरेको थियो ।

तर, एक रात मात्रै हिरासतमा बसेर सरकारी वकिल कार्यालयले हाजिरी जमानीमा छाडेलगत्तै सफलले आफूलाई बाघको रूपमा चित्रित गर्दै बाघ थुन्ने खोर नै नबनेको भन्दै व्यङ्ग्य गरेका हुन् । उनले रवि र बालेन्द्र शाहप्रति कडा टिप्पणीसमेत गरेका छन् ।

सरकारले रवि लामिछानेसहितका आरोपीहरूको मुद्दा फिर्ता लिन चाहेको छ । तर, त्यसविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसँगै युवराज सफलले सर्वोच्चमा महान्यायाधिवक्ता कार्यालयले मुद्दा फिर्ता लिन चालेको कदमविरुद्ध रिट दायर गरेका छन् ।

दरबारमार्गको होटल उडल्यान्डमा आगलागी, निभाउने प्रयास जारी

काठमाडौं । काठमाडौँको दरबारमार्गमा रहेको होटल उडल्यान्डमा आगलागी भएको छ ।

बिहीबार बिहान अन्दाजी १० : १५ बजेतिर होटलमा आगलागी भएको र नियन्त्रणको प्रयास भइरहेको काठमाडौं प्रहरी प्रमुख एसएसपी रमेश थापाले बताए ।

आगो निभाउन दमकलसहित प्रहरी टोली सक्रिय छन् । आगलागीको कारण भने खुलिनसकेको एसएसपी थापाले बताए ।

आगलागीबाट भएको क्षतिको विवरण पनि आउन बाँकी छ ।

 

सुनको भाउ एकैदिन बढ्यो २० हजार ५००, नाघ्यो तोलामै तीन लाख ३९ हजार

काठमाडौं । नेपाली बजारमा दिन प्रतिदिन सुन ‘आकाशको फल आँखा तरी मर्’ जस्तै हुँदै गएको छ । दिनहुँ कीर्तिमान राख्दै सुनको भाउ अत्यधिक बढिरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामै २० हजार ५०० रुपैयाँले बढेको छ । यो इतिहासकै सर्वोच्च मूल्य हो ।

बढेको मूल्यमा सुन किन्न उपभोक्ताले तोलामै तीन लाख ३९ हजार ३०० रुपैयाँ खर्चिनुपर्ने भएको छ । यसअघि बुधबार प्रतितोला तीन लाख १८ हजार ८०० रुपैयाँमा सुन किनबेच भएको थियो ।

चाँदीको मूल्यसमेत बढेको छ । बिहीबार तोलामा २०५ रुपैयाँले बढेर सात हजार ५०५ रुपैयाँमा चाँदी किनबेच भइरहेको महासंघले जनाएको छ ।

बुधबार भने प्रतितोला सात हजार ३०० रुपैयाँमा चाँदी किनबेच भएको थियो ।

 

प्रधानन्यायाधीशले समय दिएनन्, कांग्रेसका पूर्वसांसदहरू सर्वोच्च गएनन्

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसांसदहरूले वर्तमान सुशीला कार्की सरकार र प्रतिनिधिसभा विघटनको वैधानिकता परीक्षण आगामी निर्वाचनअघि नै गर्नुपर्ने मागसहित सर्वोच्च अदालत जाने कार्यक्रम स्थगित गरेका छन् ।

सूचना जारी गर्दै कांग्रेसले प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको समय नमिलेकै कारण सर्वोच्च जाने कार्यक्रम स्थगित गरेको स्पष्ट पारेको हो ।

विघटित प्रतिनिधिसभामा कांग्रेसका प्रमुख सचेतक रहेका नेता श्यामकुमार घिमिरेले नेपालवान एचडीसँग भने, ‘प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको सचिवालयले फोन गरेर आजका लागि तय भएको भेटघाटको कार्यक्रम तत्कालका लागि स्थगित भएको जानकारी दिएको छ र हामी आज नजाने भयौँ ।’

कांग्रेसले जारी गरेको सूचनामा भने ‘विशेष कारण’ले सर्वोच्च अदालत जाने कार्यक्रम स्थगित गरिएको उल्लेख छ ।

घिमिरे नेतृत्वको टोली बिहीबार बिहान १० : ३० बजे सर्वोच्च अदालत जाने भनिएको थियो । कांग्रेसका ६५ जना पूर्वसांसदले कार्की सरकार गठन र प्रतिनिधिसभा विघटनको वैधानिकता परीक्षण माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

उक्त रिटको पेसी यो समाचार तयार पार्दासम्म चढेको छैन । प्रायः संवैधानिक परीक्षण गर्नुपर्ने प्रकृतिका रिटहरूको सुनुवाई त्यसको सान्दर्भिकता सकिएपछि हुने अघोषित परम्परा सर्वोच्च अदालतमा छ ।

त्यसो हुँदा कांग्रेसका पूर्वसांसदहरू प्रतिनिधिसभा निर्वाचनअघि नै मुद्दाको टुंगो लाग्नुपर्ने र त्यसका लागि दबाब दिन सर्वोच्च जान लागेका हुन् । यद्यपि, न्यायिकवृत्तमा भने सर्वोच्च अदालतलाई दबाबमा राख्ने कांग्रेसको प्रयास सुहाउँदिलो नभएको चर्चा हुन थालेको छ ।

२३ र २४ भदौको जेन–जी विद्रोहपछि २७ भदौमा नागरिक सरकारका प्रधानमन्त्रीको रूपमा पूर्वप्रधानन्यायाधीशसमेत रहेकी सुशीला कार्कीको नियुक्ति भएको थियो ।

सोही राति उनले राष्ट्रपति रामचन्द्र पौडेललाई प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन् । सिफारिसअनुसार राष्ट्रपतिले विघटन गर्दै छ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन गर्न ‘म्यान्डेट’ दिए ।

म्यान्डेटअनुसार कार्की सरकार निर्वाचन सम्पन्न गर्नतिर उन्मुख छ । तर, कार्की सरकार गठन र प्रतिनिधिसभा विघटनविरुद्ध एमाले र कांग्रेसका तत्कालीन सांसदहरू रिट लिएर सर्वोच्च पुगे । तर, रिटको सुनुवाइ हुने छाँट निर्वाचनअघि देखिएको छैन ।

यसबीच कांग्रेसका पूर्वसांसदहरू भने निर्वाचनअघि नै रिटको सुनुवाइ गरेर फैसला आओस् भनेर दबाब दिन सर्वोच्च जान लागेका हुन् ।

 

घोषणापत्र लेखनअघि सुझाव संकलन गर्दै एमाले

काठमाडौं । नेकपा एमालेले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि घोषणापत्र लेखनका लागि सुझाव संकलन थालेको छ ।

अध्यक्ष केपी शर्मा ओली नेतृत्वको घोषणापत्र मस्यौदा समितिले पार्टी संगठन र जनवर्गीय संगठनलगायत निकायबाट सुझाव मागिरहेको प्रचार संयोजक मीनबहादुर शाहीले बताए ।

उनका अनुसार सबै क्षेत्रबाट दुई–तीनपटक सुझाव संकलन गरिसकेको छ । यसपछि घोषणापत्रको मस्यौदा लेखन थालिने छ ।

घोषणापत्र मस्यौदा समितिमा उपाध्यक्षहरू रामबहादुर थापा ‘बादल’ र विष्णु पौडेल, महासचिव शंकर पोखरेल, नेताहरू ईश्वर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल सदस्य छन् ।

प्रतिनिधिसभा निर्वाचन भने आगामी २१ फागुनमा हुँदैछ । एमालेले पाँच वर्षभित्र पार्टीले एकल बहुमतीय सरकार बनाएको अवस्थामा देश विकासको मार्गचित्र कस्तो हुने ? घोषणापत्रमा समेट्ने जनाएको छ ।

 

गोली चलाएर लुटपाटमा संलग्न १० जना पक्राउ

काठमाडौं । गोली चलाएर प्रहरीले काठमाडौंको मुलपानीबाट १० जनालाई पक्राउ गरेको छ । उनीहरू लुटपाटमा संलग्न भएको प्रहरीले जनाएको छ ।

प्रहरी परिसर काठमाडौंका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाका अनुसार उनीहरू रातिको समयमा विभिन्न व्यक्तिहरूलाई पछ्याएर गहना, नगद लगायतका सामान लुटपाटमा संलग्न हुँदै आएका थिए ।

उनीहरूलाई पक्राउ गर्न परिसरको टोली गएराति परिचालन गरिएको थियो । टोलीले पक्राउ गर्ने क्रममा गोली नै चलाउनु परेको थापाले नेपालवान एचडीलाई बताए ।

विस्तृत विवरण भने पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने बताए ।

हर्क साम्पाङको स्पष्टीकरण– चुनावी प्रचारमा बालबालिका प्रयोग गरेको साँचो होइन

काठमाडौं । श्रम संस्कृति पार्टीले बालबालिकालाई चुनावी प्रचारप्रसारमा प्रयोग गरेको भन्ने आरोप असत्य, कपोलकल्पित र दुराशयपूर्ण भएको दाबी गर्दै निर्वाचन आयोगमा औपचारिक स्पष्टीकरण पेश गरेको छ।

पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ)को हस्ताक्षरसहित बुधबार निर्वाचन आयोगमा बुझाइएको पत्रमा पार्टीले बालबालिकालाई कुनै पनि अवस्थामा निर्वाचन प्रचारमा प्रयोग नगरेको स्पष्ट पारेको छ।

स्पष्टीकरणमा सामाजिक सञ्जालमा सार्वजनिक भएका केही तस्बिर र भिडियोहरूलाई आधार बनाएर लगाइएको आरोप वास्तविकताभन्दा फरक र भ्रामक रहेको उल्लेख छ। ती सामग्रीहरू घटनाको यथार्थभन्दा ‘नाटकीय प्रस्तुति’ मात्र हुन सक्ने भन्दै पार्टीले यस्ता सामग्रीले जनमतलाई गलत दिशामा लैजान सक्ने चेतावनी दिएको छ।

पत्रमा अध्यक्ष राईले आफूले ‘श्रमदानको नयाँ आर्थिक मोडेल’ प्रवर्द्धन गर्ने क्रममा खिचिएका आफ्ना तस्बिर प्रयोग गरी टी-शर्ट छापिएको स्वीकार गरेका छन्। तर, ती टी-शर्ट बालबालिकालाई चुनावी प्रचारका लागि नदिइएको र नलगाउन निर्देशन दिइएको दाबी गरिएको छ।

कतिपय अवस्थामा श्रमदानमा सहभागी अभिभावकहरूले आफ्ना बालबालिकालाई साथमा ल्याउँदा उनीहरूले टी-शर्ट लगाएको हुनसक्ने उल्लेख गर्दै त्यसलाई चुनावी प्रचारसँग जोड्नु गलत भएको भनिएको छ।

स्पष्टीकरणमा भनिएको छ, “मेरो फोटो छापिएको टी–शर्ट लगाएका बालबालिकाहरू देखिएको भए पनि उनीहरूलाई कुनै प्रकारको राजनीतिक गतिविधि, प्रचार, नारा, झण्डा वा अन्य कार्यमा संलग्न गराइएको छैन।”

पार्टीले आफूलाई बालबालिकाको राजनीतिक प्रयोगसम्बन्धी कुनै पनि उजुरीबारे पूर्व जानकारी नभएको र यस्ता आरोपले व्यक्तिगत तथा पार्टीको छविमा क्षति पुर्‍याउने उद्देश्य राखेको आरोप लगाएको छ।

विगतमा समेत सामाजिक सञ्जालमार्फत भ्रामक भिडियो भाइरल गराएर चरित्रहत्या गर्ने प्रयास भएको उदाहरण दिँदै पार्टीले अहिलेको उजुरी पनि त्यही प्रकृतिको भएको दाबी गरेको छ।

श्रम संस्कृति पार्टीले निर्वाचन आयोगसँग आफू वा पार्टीविरुद्ध कारबाही आवश्यक नपर्ने निष्कर्षमा पुग्न आग्रह गरेको छ। यदि कसैले बालबालिकालाई जबर्जस्ती प्रचारमा लगाएको, निर्देशन दिएको वा प्रलोभन दिएको ठोस प्रमाण पेश गर्न सके कारबाही स्वीकार्य हुने पनि पत्रमा उल्लेख गरिएको छ।

दुर्गन्धले खुल्यो एक महिनाअघिको हत्या घटनाको रहस्य, घटनाको कारण प्रेममा शंका

काठमाडौं । बाँकेको डडुवा गाउँपालिका–३ बनकट्टी । गाउँ शान्त थियो । बिहानको घामले आँगन तताइरहेका बेला अचानक दुर्गन्ध फैलिन थाल्यो । गाउँलेको ध्यान राम फेरन कुर्मीको घर पछाडिको वर्षौंदेखि प्रयोगविहीन इनारतर्फ गयो ।

इनारभित्र झुकेर हेर्दा देखिएको दृश्यले सबै स्तब्ध भए, जहाँ सडिसकेको अवस्थामा एक युवतीको शव ।
यही १ माघको त्यो बिहान करिब १०ः३० बजेतिर शव देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरे । प्रहरी टोलीले घटनास्थल पुगेर इनारबाट शव निकाले ।

शरीर यति सडिसकेको थियो कि तत्काल पहिचान असम्भवजस्तै देखिन्थ्यो । तर, कपडा र गहनाले बिस्तारै पहिचान खुल्दै गयो, मृतक थिइन्– सोही गाउँकी २१ वर्षीया बसन्ती गोडिया ।

उनी करिब एक महिनाअघि ‘मामा घर जान्छु’ भन्दै घरबाट हिँडेकी थिइन् । मामाघर भारतको नानापारा हो । उनको परिवारले बसन्ती मामा घर पुगेकी होला भन्ने ठानेको थियो । दिन बित्दै गए तर मामाघर पुगेको कुनै खबर आएन । अनि, परिवार झस्कियो र खोजी थाले तर कतै पत्तो लागेन ।

अन्ततः बसन्तीको शव सढेगलेको अवस्थामा फेला पर्‍यो । भेरी अस्पतालमा शवको पोस्टमार्टमपछि सार्वजनिक तथ्यअनुसार बसन्तीको मृत्यु ‘इन्ज्युरी टू नेक एण्ड हेड’ अर्थात् टाउको र घाँटीमा गहिरा चोटका कारणले भएको थियो ।

यही घटनाको अनुसन्धान गर्दै जाँदा प्रहरीले अर्को तथ्य फेला पार्‍यो । त्यो हो– प्रेम सम्बन्ध । बाराका प्रहरी प्रमुख एसपी अंगुर जिसीका अनुसार उनी करिब एक वर्षदेखि छिमेकी राकेश बर्मासँग प्रेममा रहेको अनुसन्धानका क्रममा खुल्यो । राकेशलाई अनुसन्धानको दायरामा ल्याउँदा थप तथ्य खुल्यो– घटना गराउने राकेश नै हुन् ।

एसपी जिसीले नेपालवान एचडीसँग भने, ‘बसन्ती भारतस्थित मामा घर नगएको पुष्टि भएपछि उनका कोही प्रेमी थिए कि थिएनन् भन्ने खोज्यौँ, त्यस क्रममा राकेश उनको प्रेमी भन्ने थाहा पायौँ र अनुसन्धान गर्दै जाँदा प्रेममा शंका लागेपछि घटना गराएको स्वीकारे ।’

उनका अनुसार हत्या भएको रात राकेशले बसन्तीलाई करिब ११ बजे फोन गरेका थिए । उनले ‘सल्लाह गर्नुपर्छ’ भन्दै बोलाएका थिए । विश्वास गरेर बसन्ती नजिकैको लाहारी बारीसम्म गइन् ।

त्यहीँ उनीहरूबीच विवाद चर्कियो । राकेशलाई बसन्तीको अन्य युवकसँग पनि सम्बन्ध रहेको शंका लागेको थियो । त्यही शंकाले विवाद हुँदा राकेशले टाउकामा प्रहार गरे । बसन्ती ढलिन्, सधैंका लागि ।

हत्यापछि राकेशले कुर्मीको वर्षौँदेखि प्रयोगविहीन इनारामा फाले । त्यो उनको अपराध लुकाउने प्रयत्न थियो । तर, एक महिनापछि दुर्गन्धले घटना पत्ता लाग्यो र राकेश कानुनी दायरामा आउनुपर्‍यो । उनीविरुद्ध प्रहरीले कर्तव्य ज्यानसम्बन्धी कसुरमा अनुसन्धान थालेको छ ।

घोषणापत्रमै सुरक्षित मातृत्व र गर्भपतन सेवा समेट्न दलहरूलाई आग्रह

काठमाडौँ । आगामी फागुन २१ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै राजनीतिक दलहरूले तयार पार्ने चुनावी घोषणापत्रमा यौन तथा प्रजनन स्वास्थ्य अधिकारलाई प्राथमिकताका साथ समेट्न माग गरिएको छ।

महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी) तथा सेन्टर फर रिप्रोडक्टिभ राइट्स (सिआरआर) ले संयुक्त रूपमा प्रमुख राजनीतिक दलहरूलाई वकालत पत्र बुझाउँदै प्रजनन स्वास्थ्य सेवासम्बन्धी स्पष्ट प्रतिबद्धता जनाउन आग्रह गरेका हुन्।

एफडब्लुएलडी र सिआरआरका प्रतिनिधिहरू नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायत प्रमुख दलका केन्द्रीय कार्यालयमा पुगेर दलका शीर्ष नेतृत्वलाई वकालत पत्र हस्तान्तरण गरेका थिए।

वकालत पत्रमार्फत महिला, किशोरी तथा समग्र नागरिकको यौन तथा प्रजनन स्वास्थ्य अधिकार संविधानअनुसार व्यवहारमा सुनिश्चित गर्नुपर्नेमा जोड दिइएको छ।

घोषणापत्रमा समावेश हुनुपर्ने विषयहरूबारे वकालत पत्रमा विस्तृत रूपमा उल्लेख गरिएको छ। यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी कानुनी व्यवस्थामा अझै सुधार आवश्यक रहेको उल्लेख गर्दै विशेषगरी गर्भपतनसँग सम्बन्धित विद्यमान कानुनमा समयानुकूल परिमार्जन र सुधार गर्ने प्रतिबद्धता घोषणापत्रमै स्पष्ट रूपमा उल्लेख गर्न दलहरूसँग माग गरिएको छ। यसले सुरक्षित र कानुनी गर्भपतन सेवामा महिलाको पहुँच सहज बनाउने विश्वास लिइएको छ।

त्यसैगरी, परिवार नियोजन, सुरक्षित गर्भपतनलगायत सम्पूर्ण प्रजनन स्वास्थ्य सेवाहरूलाई सुनिश्चित, पहुँचयोग्य, सर्वसुलभ र गुणस्तरीय बनाउने नीति घोषणापत्रमा समावेश गर्नुपर्ने आवश्यकता औँल्याइएको छ। सेवा शहर–केन्द्रित नभई ग्रामीण तथा दुर्गम क्षेत्रसम्म विस्तार हुनुपर्नेमा जोड दिइएको छ।

वकालत पत्रमा किशोर–किशोरीहरूको अवस्था विशेष रूपमा उल्लेख गरिएको छ। उनीहरूको यौन तथा प्रजनन स्वास्थ्य अधिकार सुनिश्चित गर्न बृहत यौनिकता शिक्षाको प्रभावकारी कार्यान्वयन अनिवार्य भएको भन्दै विद्यालय तथा समुदाय तहसम्म यसको पहुँच विस्तार गर्न राजनीतिक दलहरू प्रतिबद्ध हुनुपर्ने माग गरिएको छ।

त्यसैगरी, प्रसूति सेवा र सुरक्षित मातृत्व सेवा स्थानीय तहसम्म सर्वसुलभ र गुणस्तरीय बनाउने विषयलाई पनि घोषणापत्रमा प्राथमिकताका साथ राख्न आग्रह गरिएको छ। सुरक्षित मातृत्व सेवा विस्तारले मातृ मृत्युदर घटाउन र महिला स्वास्थ्यमा दीर्घकालीन सुधार ल्याउन सहयोग पुग्ने उल्लेख गरिएको छ।

एफडब्लुएलडी र सिआरआरले राजनीतिक दलहरूले चुनावी घोषणापत्रमै यस्ता प्रतिबद्धता समेटेमा मात्र निर्वाचनपछि नीतिगत तथा कार्यान्वयन तहमा ठोस प्रगति सम्भव हुने विश्वास व्यक्त गरेका छन्। यौन तथा प्रजनन स्वास्थ्य अधिकार सुनिश्चित हुनु महिला अधिकार, लैंगिक समानता र समग्र सामाजिक विकासको महत्वपूर्ण आधार भएको उनीहरूको निष्कर्ष छ।

ओखलढुंगामा वृद्धवृद्धाको एकैशैलीमा हत्या शृङ्खला

काठमाडौं । ओखलढुंगामा रात शान्त हुँदैन । यहाँ रात पर्दासँगै ढोका थुन्ने बानी मात्र होइन, डर पनि पलाउँछ । किनकि केही महिनायता वृद्ध दम्पती र एकल महिलालाई निशाना बनाउँदै आएको शृंखलाबद्ध हत्या अझै पूर्णरूपमा थामिएको छैन ।

मंगलबार राति जिल्लाको चिशंखुगढी गाउँपालिका–६ मा ८० वर्षीय चन्द्रविक्रम राई र उनकी श्रीमती चन्द्रमाया राई आफ्नै घरभित्र मृत भेटिए ।

शव हेर्दा स्वाभाविक मृत्यु भएको नपाइएको ओखलढुंगाका प्रहरी प्रवक्ता विक्रमबहादुर भट्टराईले बताए । उनले नेपालवान एचडीसँग भने, ‘हामी अहिले शव प्रकृति मुचुल्का तयार गर्दैछौँ र घटनाको अनुसन्धान पनि गर्दैछौँ ।’

उनका अनुसार घरको बाकस फुटाएको फेला परेको छ । त्यस आधारमा प्रहरीले घटना लुटपाटका लागि भएको हुन सक्ने जनाएको छ । यस्तै प्रकृतिको घटना एक महिनाअघि भएको थियो ।

गत पुस १५ मा चिशंखुगढी–६ कै भदौरे गैरीगाउँमा किराना पसल चलाउँदै आएका शोभितमान थापा मगर र उनकी श्रीमती रत्नमाया मगरको कोदालो प्रहार गरेर हत्या भएको थियो । त्यसबेला नगद र सुन लुटिएको थियो । शव गोठमा लगेर स्याउलाले छोपिएको भेटिएको थियो ।

त्यसअघि २६ असोजमा सिद्धिचरण नगरपालिका–४ चार्खुमा एकल महिला रत्नकुमारी कटवालको बन्चरो प्रहार गरी हत्या भयो । यी तीनवटै घटनामा निसाना परेको एकान्तमा बस्ने, उमेरले कमजोर र सुरक्षा विहीन नागरिक हुन् ।

बालेन शाह हेर्न दार्चुलामा थामिनसक्नु भिड (तस्वीरहरु)

दार्चुला । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह सुदूरपश्चिम दौडाहाका क्रममा छन् । उनी आज डडेलधुरा, बैतडी र दार्चुला पुगेका छन् । उनले रास्वपा डडेलधुराका उम्मेदवार डा. तारा जोशी, बैतडीका उम्मेदवार हरिमोहन भण्डारी र दार्चुलाका उम्मेदवार राजेशसिंह सामन्तसँग भेट गरेका छन् । दार्चुलामा उनी पुग्दा थामिनसक्नु भिड लागेको छ । उनी गोकुलेश्वर पुग्दा सर्वसाधारणको घुइँचो लागेको थियो ।

वरपरका गाउँबाट उनलाई हेर्न सर्वसाधारण गोकुलेश्वर पुगेका थिए । उनी तीन दिनअघि काठमाडौँबाट पश्चिम तराईतिर लागेका थिए । बर्दियामा चुनावी भेटघाटपछि सुदूरुपश्चिम गएका थिए । मंगलबार कैलाली र कञ्चनपुरका चुनावी कार्यक्रममा व्यस्त रहेका थिए । आज बिहानै कैलालीबाट डडेल्धुरा, बैतडी हुँदै दार्चुला पुगेका हुन् ।
तस्वीरहरु : नेपाल फोटो लाइब्रेरी

संघीयता खारेजीसहित जनमोर्चाको २५ बुँदे घोषणापत्र सार्वजनिक

काठमाडौं । राष्ट्रिय जनमोर्चाले ‘गणतन्त्र र राष्ट्रियताको रक्षा गरौं, संघीयता खारेज गरौं’ भन्ने मूल नारासहित प्रतिनिधिसभा निर्वाचन–२०८२ का लागि २५ बुँदे चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । संघीयता खारेजी, राष्ट्रियता, सार्वभौमिकता र अखण्डताको संरक्षणलाई प्रमुख एजेण्डा बनाउँदै घोषणापत्र सार्वजनिक गर्ने पहिलो राजनीतिक पार्टीका रूपमा जनमोर्चा अगाडि आएको छ ।

बुधबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमार्फत पार्टी अध्यक्ष चित्रबहादुर केसीले घोषणापत्र सार्वजनिक गरेका हुन् । घोषणापत्रमा मुलुकलाई बलियो बनाउने उद्देश्यसहित विकेन्द्रित र सन्तुलित विकास नीति, क्षेत्रीय असमानता अन्त्य, तथा विकास दृष्टिले पछाडि परेका जिल्ला र दुर्गम क्षेत्रलाई विशेष प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरिएको छ ।

अहिले विकासका कार्यक्रमहरू मुख्यतः ठूला शहर र केही विकसित क्षेत्रमा केन्द्रित रहेको उल्लेख गर्दै जनमोर्चाले अब क्षेत्रीय सन्तुलन कायम गर्दै सबै भूगोलमा समान विकास हुनुपर्ने धारणा अघि सारेको छ । घोषणापत्रमा दुर्गम जिल्लाको पूर्वाधार विकास, पहाडबाट हुने बसाइँसराइ न्यूनीकरण, दुर्गम गाउँमा सुपथ मूल्य पसल सञ्चालन, एकीकृत नमूना बस्ती निर्माणलगायतका कार्यक्रम समेटिएका छन् ।

त्यस्तै प्रवासी नेपालीलाई मताधिकार, विदेशी ऋणको दुष्चक्रबाट मुलुकलाई मुक्त गर्ने नीति, अन्तर निर्वाचन क्षेत्रबाट मताधिकारको व्यवस्था, द्वन्द्वपीडितलाई न्याय र राहत, बौद्धिक पलायन रोक्ने कार्यक्रम, खाद्य सुरक्षा सुनिश्चितता, कारागार सुधार, ग्रामीण विकास, मानव अधिकारको पूर्ण पालना, जेष्ठ नागरिकको स्वास्थ्यको सम्पूर्ण जिम्मेवारी राज्यले लिने नीति घोषणापत्रमा उल्लेख गरिएको छ ।

घोषणापत्रमा मजदुरको हकहित संरक्षण, रोजगारीको सुनिश्चितता, खेलकुद, शिक्षा र सामाजिक सुरक्षासम्बन्धी नीतिहरूलाई पनि प्राथमिकताका साथ समावेश गरिएको छ । घोषणापत्र सार्वजनिक गर्दै अध्यक्ष केसीले संघीय संरचनाका कारण देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डतामाथि गम्भीर संकट पैदा भएको दाबी गरे । ‘देशलाई विखण्डन र क्षेत्रीय विग्रहतिर धकेल्ने प्रयास भइरहेको छ’, उनले भने, ‘जातिवादलाई उचालेर मुलुकलाई अस्थिर बनाउने गतिविधिप्रति देशभक्त नेपाली सचेत हुन आवश्यक छ ।’

केसीले विगतमा भएका राजनीतिक दलका गल्तीका कारण भदौ २३ र २४ गतेजस्ता घटना घटेको उल्लेख गर्दै अब जनतामाझ क्षमा मागेर राष्ट्रिय संकट टार्न सबै एकजुट हुनुपर्ने बताए । उनले अघिल्लो सरकार र संसद विघटनप्रति पनि असन्तुष्टि जनाउँदै एनजीओ–आईएनजीओको प्रभावमा सरकार गठन र चुनाव गराउने प्रयास भएको आरोप लगाए । आसन्न निर्वाचनमा जनमोर्चाले अन्य दलसँग चुनावी एकताको नीति नलिएको स्पष्ट पार्दै अध्यक्ष केसीले केही अपवादबाहेक पार्टी एक्लै चुनावी मैदानमा उत्रिने बताए ।

पार्टीले २१ फागुनमा हुने निर्वाचनका लागि ४२ जिल्लाका ७० निर्वाचन क्षेत्रमा प्रत्यक्ष उम्मेदवार उठाएको छ भने समानुपातिकतर्फ ११० जना उम्मेदवार रहेका छन् । कार्यक्रममा पार्टी उपाध्यक्ष दुर्गा पौडेलले पछिल्लो समय चुनावमा ‘नयाँ र पुरानो’ भन्ने भाष्य सिर्जना गरिएको उल्लेख गर्दै काम गर्ने क्षमता र जनताप्रतिको प्रतिबद्धतालाई आधार मानेर मूल्यांकन गर्नुपर्ने धारणा व्यक्त गरिन् । राष्ट्रिय जनमोर्चाले संघीयता खारेजी, राष्ट्रियता रक्षा र सन्तुलित विकासलाई केन्द्रमा राख्दै आगामी निर्वाचनमा जनतासँग मत माग्ने स्पष्ट रणनीति सार्वजनिक गरेको छ ।

यसरी जिल्ला–जिल्ला पठाइँदैछ फोटोसहितको नामावली {तस्वीरहरु}

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि यतिबेला निर्वाचन आयोगमा कर्मचारीहरूलाई भ्याइ नभ्याई छ । अहिले आयोगमा फोटोसहितको नामावली जिल्लाजिल्ला पठाउने कार्य भइरहेको छ । पहिलो चरणमा यो काम सकिएपछि मतदाता नामावली पनि जिल्ला पठाउने कार्य सुरु हुने आयोगले जनाएको छ । प्रतिनिधि सभा निर्वाचन आउन ३६ दिन मात्रै बाँकी छ ।

निर्वाचनका लागि आवश्यक तयारीका लागि निर्वाचन आयोगले धमाधम काम गरिरहेको छ । आयोगले मतपत्र छपाई कार्यलाई पनि तीव्रता दिएको छ । छपाइसम्बन्धी काम आयोगले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडबाट गराउँछ । समानुपातिक तर्फको मतपत्र छाप्ने काम सम्पन्न भइसकेको छ। अब प्रत्यक्षतर्फको सुरू भएको छ ।

यसबीच आयोगले फोटो सहितका मतदाता नामावली जिल्ला–जिल्लामा पठाउने तयारी गरेको छ । बुधबार आयोगका कर्मचारीहरू फोटोसहितका नामावली प्याकिङ गर्न व्यस्त थिए । मतादाता नामावलीपत्र मतदान केन्द्र अनुसार मिलाउनेदेखि ढुवानीका लागि तयारी अवस्थामा राखिएको छ । आयोगले जिल्ला–जिल्लामा पठाएको नामावलीपत्र त्यहाँबाट मतदान केन्द्रहरूमा पठाइन्छ । उक्त नामावलीमा उल्लेखित व्यक्तिहरूले मतदान गर्न पाउने छन् ।
तस्वीरहरु : नेपाल फोटो लाइब्रेरी

कमान्डोले छातिमै ताकेर हान्छ, घुँडामा हान्दैन : नेकपा सांसद अधिकारी

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद कृष्णप्रसाद अधिकारीले जेन–जी आन्दोलनमा हुनसक्ने घुसपैठबारे सरकार बेखबर भएकै कारण स्थिति नियन्त्रणमा कमान्डोलाई प्रयोग गर्नुपर्ने अवस्थामा पुगेको बताएका छन् ।

त्यही भएर आन्दोलनको पहिलो दिन ठूलो संख्यामा हताहती भएको बताए ।

‘कमान्डोले ताकेर घुँडामुनि हान्दैन, कमान्डोले चाहिँ छातिमै ताकेर गोली हान्ने हो,’ उनले बुधबार राष्ट्रियसभा बैठकमा भने, ‘त्यो घटना हामीले त्यो दिन (२३ भदौमा) देख्यौँ संसद् भवन भित्रबाट ।’

भोलिपल्ट २४ भदौमा देशलाई अस्थिरता र अराजकतामा लाने र असफल बनाउँदै आफ्नो स्वार्थसिद्ध गर्न चाहने तत्वहरूले घुसपैठबाट पूर्ण असफल बनाउने कार्य गरेको दाबी गरे ।

उनले घुसपैठ गरेर देशलाई नै खरानी बनाएको भन्दै आक्रोश पोखे ।

बारामा आमा–छोरा हत्या प्रकरण : बुहारी पक्राउ, दुबईबाट फर्केका युवकको देखियो संलग्नता

बारा । बाराको परवानीपुर गाउँपालिका–१ रहरियाडीमा एकै परिवारका आमा र छोराको निर्मम हत्या भएको घटनाले सिंगो गाउँ स्तब्ध बनेको छ । बुधबार राति धारिलो हतियार प्रयोग गरी ५२ वर्षीया सुमित्रादेवी मण्डल र उनका छोरा रामेश्वर मण्डलको हत्या गरिएको हो । घटनामा मृतकका श्रीमान्, छोरी र बुहारी घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार बुधबार बिहान करिब २ बजेतिर अज्ञात व्यक्तिले घरभित्र प्रवेश गरी अन्धाधुन्ध धारिलो हतियार प्रहार गरेका थिए । सुमित्रादेवीको शव घर बाहिर शौचालय नजिक फेला परेको थियो भने रामेश्वर मण्डलको शव घरको प्यासेजमा भेटिएको प्रहरीले जनाएको छ । घटनाका क्रममा मृतक सुमित्राका श्रीमान जगरुप मण्डल, छोरी रिना कुमारी मण्डल र बुहारी मनिता देवी घाइते भएका छन् । उनीहरूको परवानीपुरस्थित एलएसआर न्युरो अस्पतालमा उपचार भइरहेको छ । जगरुप मण्डलको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

प्रहरी अनुसन्धानका क्रममा मृतक रामेश्वरकी श्रीमती मनिता देवीलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको छ । जिल्ला प्रहरी प्रमुख एसपी नरेन्द्र कुँवरले प्रारम्भिक अनुसन्धानका आधारमा बुहारीको संलग्नता शंकास्पद देखिएको बताएका छन् । त्यस्तै यस घटनामा संलग्न भएको आरोपमा अर्का एक युवक पनि पक्राउ परेका छन् । ती युवक केही दिनअघि मात्रै दुबईबाट नेपाल फर्किएको खुलेको छ । प्रहरी स्रोतका अनुसार उनी २६ जनवरीमा दुबईको सारजाहबाट काठमाडौं ओर्लिएपछि सिधै बारा पुगेका थिए ।

अनुसन्धानमा संलग्न अधिकृतहरूका अनुसार बुहारी मनिता देवी र ती युवकबीच विवाह बाहिरको सम्बन्ध रहेको आशंका गरिएको छ । उक्त सम्बन्धबारे परिवारमा थाहा पाएपछि घरभित्र तनाव र विवाद बढेको र त्यसकै परिणामस्वरूप योजनाबद्ध रूपमा हत्या गरिएको हुनसक्ने प्रहरीको प्रारम्भिक निष्कर्ष छ । यद्यपि, यो विषय थप अनुसन्धानपछि मात्रै पुष्टि हुने प्रहरीले जनाएको छ । घटनाको जानकारी एक बालकले छिमेकीलाई दिएपछि गाउँलेहरू घटनास्थलमा पुगेका थिए । त्यसलगत्तै प्रहरीलाई खबर गरिएको थियो ।

सूचना पाउना साथ एसपी कुँवर स्वयं घटनास्थल पुगेका थिए । प्रहरीले घटनास्थलको मुचुल्का उठाइसकेको छ भने तालिमप्राप्त कुकुर समेत परिचालन गरी अनुसन्धानलाई तीव्र बनाइएको छ । प्रहरीले हाल पक्राउ परेका दुवै जनामाथि गहिरो सोधपुछ गरिरहेको छ । घटनामा प्रयोग भएको हतियार, घटनाको वास्तविक योजना र अन्य सम्भावित संलग्न व्यक्तिहरूको खोजी भइरहेको जनाइएको छ । बारामा भएको यो हृदयविदारक घटनाले पारिवारिक सम्बन्ध, विश्वास र सामाजिक संरचनामाथि गम्भीर प्रश्न उठाएको छ । अनुसन्धानको अन्तिम नतिजा आउन बाँकी रहे पनि प्रहरीले सत्य बाहिर ल्याउने प्रतिबद्धता जनाएको छ ।

 

मधेश कांग्रेसको जन्मभूमि हो, जेठो छोरा भएर सेवा गर्न म झरें : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेशप्रति विगतमा भएका कमजोरी र चुक सुधार्ने दृढ संकल्पसहित आफू मधेशमा आएको बताएका छन् । सर्लाही–४ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले मधेश कांग्रेसको जन्मभूमि मात्रै नभई पार्टीलाई हुर्काउने, सम्हाल्ने र टिकाउने मुख्य शक्ति भएको स्पष्ट पारे ।

सभापति थापाले मधेशले सधैँ कांग्रेसलाई न्याय गरेको तर कांग्रेसले मधेशप्रति गर्नुपर्ने सबै जिम्मेवारी समयमै पूरा गर्न नसकेको स्वीकार गरे । मधेशको सम्मान, प्रतिनिधित्व र अधिकारका सवालमा देखिएको यही खालीपनका कारण पछिल्ला वर्षहरूमा थुप्रै नयाँ तथा मधेश केन्द्रित राजनीतिक दलहरू उदाएको उनको भनाइ थियो । ‘म कसैलाई दोष लगाउन चाहन्नँ’, उनले भने, ‘तर मधेश हाम्रो जननी हो, हाम्रो आमा हो । हामी यसको जेठो छोरा हौं । आमाको सेवा गर्नु, हक–अधिकार सुनिश्चित गर्नु हाम्रो कर्तव्य हो । कतिपय सन्दर्भमा हामीले उठाउनुपर्ने जिम्मेवारी समयमा नउठाएको चुक भएको छ ।’

त्यही गल्ती सुधार्ने प्रतिबद्धतासहित नेपाली कांग्रेसले आफ्नो सभापतिलाई नै ‘मधेशको उम्मेदवार’ का रूपमा अघि सारेको उनले बताए । ‘सिङ्गो मधेशमा हामी यो सन्देश लिएर आएका छौं कि मधेशको जिम्मा कांग्रेसले लिन्छ, मधेशका माग कांग्रेसले पूरा गर्छ’, थापाले भने । आफ्नो सम्बोधनमा सभापति थापाले आगामी पाँच वर्षलाई देशका लागि निर्णायक समयको रूपमा चित्रण गरे ।

उनले यो समय आर्थिक प्रगति, कृषकको जीवनस्तर सुधार, बेरोजगार युवालाई रोजगारी, तथा शिक्षा र स्वास्थ्य क्षेत्रको अवस्था बदल्ने अवसर भएको उल्लेख गरे । ‘यो समय नेपालले खेर फाल्न सक्दैन’, उनले जोड दिए । कांग्रेसले यही पाँच वर्षको सदुपयोग गर्ने विश्वास व्यक्त गर्दै उनले पार्टीलाई सबैभन्दा ठूलो शक्ति मधेशबाटै चाहिएको बताए । ‘किनभने मधेश नै कांग्रेसको जन्मभूमि हो। कांग्रेसलाई बनाउने, हुर्काउने, बलियो बनाउने र टिकाइराख्ने यही धर्ती हो’, उनले भने ।

सभापति थापाले आफू सर्लाहीको एउटा निर्वाचन क्षेत्रबाट मात्र नभई सिङ्गो सर्लाही र मधेशका ३२ वटै निर्वाचन क्षेत्रबाट कांग्रेसका उम्मेदवारलाई जिताउने जिम्मेवारी लिएर मधेश झरेको बताए । मधेशवासीको साथ र समर्थन लिएर कांग्रेसले आगामी पाँच वर्ष देश र मधेश दुवैको सेवा गर्ने ऐतिहासिक कर्तव्य पूरा गर्ने उनको दाबी थियो । उनले कार्यकर्तालाई कांग्रेसको यो सन्देश घर–घरमा पुर्‍याउन आग्रह गरे । ‘मधेशको सेवा गर्ने संकल्पसहित हामी यहाँ आएका छौं’, उनले भने, ‘अब यो भरोसा जनतासम्म पुर्‍याउने जिम्मेवारी तपाईंहरुकै हो ।’

 

प्रतिकूल मौसमले एयर इण्डिया वनारस ‘डाइभर्ट’

काठमाडौं । काठमाडौंमा खराब मौसमका कारण आन्तरिकसँगै अन्तर्राष्ट्रिय उडान समेत प्रभावित भएका छन् । बाक्लो हुस्सुले बुधबार बिहानैदेखि अधिकांश विमानस्थलको भिजिविलिटी कम हुँदा उडान अवतरणमा समस्या भएको हुन पुगेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) ले जनाएको छ ।

विमानस्थल कार्यालयका अनुसार अन्तर्राष्ट्रिय उडानतर्फ एयर इण्डिया बनारस ड्राइभर्ट भएको छ भने एयर चाइना आकाशमै होल्ड भएको छ । यस्तै, एयर इण्डियाका दुईटा र थाई एयरको एउटा उडान डिले भएको छ । यस्तै आन्तरिक उडानतर्फ तराई क्षेत्रमा उडानका लागि तयारी अवस्थामा रहेका जहाजहरू खराब मौसमका कारण डिले भएको कार्यालयले जानकारी दिएको छ । भरतपुर र ताम्लिङटारका उडान डिले भएका छन् ।

बालेनलक्षित कांग्रेस सांसद भट्टको टिप्पणी : देश जलाउनेहरुबाट कुनै अपेक्षा गर्न सकिँदैन

काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रिय सभाका सांसद नारायणदत्त भट्टले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहप्रति आक्रोश व्यक्त गरेका छन् । बुधवार राष्ट्रिय सभा बैठकमा बोल्दै उनले साहले भदौ २४ गते देशलाई खरानी बनाउने कामको नेतृत्व साहले गरेको आरोप लगाउँदै त्यस्ता व्यक्तिले प्रधानमन्त्री भएर मुलुकको मुहार फर्छ भन्ने कुनै ग्यारेन्टी नभएको बताए ।

सांसद भट्टले साहले काठमाडौं महानगरपालिकाको जिम्मेवारी पूरा नगरेकोमा पनि आपत्ति जनाए । एउटा जिम्मेवारी पूरा नहुँदै अर्को जिम्मेवारी जाने, पत्रकारको नाममा मन्त्री बन्ने अनि सांसद बन्ने खोज्नेहरुले संविधान बनाउने, देश र जनताका लागि रगत, पसिना बगाउने नेताहरुलाई पुराना भनेर अर्ति उपदेश दिने काम कुनै पनि हालत जायज नभएको उनले जिकिर गरे ।

सांसद भट्टले भने, ‘देशलाई खरानी बनाउनेहरुले देशको मुहार फेर्छ भन्ने के ग्यारेन्टी छ ? आफ्नो एउटा जिम्मेवारी छोडेर अर्को जिम्मेवारीमा जाने । आफू एउटा मिडिया हाउसको सबभन्दा ठूलो पत्रकार भनेर उभ्याएर मन्त्री खाने अनि माननीय हुन जाने बाँकी तपाई हामी जस्ता विचारले बाँधिएका, विचारले जनताका लागि, देशका लागि रातदिन खटिने मानिसहरु बदनाम हुँदै जाने ।’

उनले भने, ‘पुरानाका नाममा म उहाँहरुलाई भन्न चाहन्छु–बुबाआमा पनि पुराना भए होलान । बुबाले कमाएको सम्पति पनि पुरानो भयो होला । त्यो सम्पत्ति पुरानो भयो होला । त्यो सबे फाल्नुस । र, आफूले कमाएर आफै आफ्नो खुट्टामा उभिएर देखाउनुस । अर्कोले बनाएको संविधान, अर्काले रगत बनाएको संविधानमा उभिएर आज तपाई जसलाई अर्ति उपदेश दिँदै हुनुहुन्छ । अनुरोध गर्न चाहन्छु–सुध्रिनुहोस । यो राष्ट्र र राष्ट्रियता कसैको बाउको वपौती होइन ।’ सांसद भट्टले सामाजिक सञ्जालमा स्टन्टबाज गर्नेबाट पनि देशलाई जोगाउनु पर्ने अवस्था आएको बताए ।

 

 

विगतमा राज्य संयन्त्र निकम्मा हुँदा सहकारीका वचतकर्ताको रकम डुबेको हो : मन्त्री इङ्नाम

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रा. डा. कुमार इङ्नामले विगतमा सरकारी निकायहरुले सहकारीमाथि कडा नियमन गर्न नसक्दा सहकारीहरु डुब्ने स्थिति आएको बताएका छन् । राष्ट्रिय सहकारी प्राधिकरणको वार्षिकोत्सवका अवसरमा उनले राज्यले सहकारीहरुमाथि कडा नियमन गर्न नसक्दा बचतकर्ताको अबौं डुबेको बताउँदै यसको जिम्मा राज्यले नै लिनुपर्ने बताए । उनले राज्य आम नागरिकको जिम्मेवार निकाय भएकाले नागरिकको सम्पति सुरक्षणको जिम्मा राज्यले लिनैपर्ने बताए ।

इङ्नामले सहकारीमा वचत गर्नेहरु मात्रै नभई ऋणीहरु समेत डुबेको बताए । मन्त्री इङ्नामले सहकारी सञ्चालकहरुले राज्य संयन्त्रसम्मै पहुँच पुर्‍याइ बदमासी गरेका कारण आज सहकारीमा चरम बेथिति आएको बताए । उनकाअनुसार सहकारीमा बचतकर्ता मात्रै नभइ ऋणी समेत डुबिरहेको अवस्था छ । ऋणीले सहकारीलाई पैसा तिरेको बताएपनि अभिलेख कतै नराखिदाँ नतिर्ने सूचीमा परिरहेको उनको भनाइ छ ।

मन्त्री इङ्नामले भने, ‘करोड बढी वचतकर्ताको अहिले बिचल्ली भएको छ । राज्य आम नागरिकको जिम्मेवार निकाय हो । राज्यले त्यसको जिम्मा लिनुपर्छ । राज्य भनेको राज्यको मातहतमा रहेका जसले राजकीय अधिकार प्रयोग गर्छ । जसले राजकीय अधिकार प्राप्त गर्छन्, ती सबै जिम्मेवार हुनुपर्छ । उनीहरुको निकम्मापनको कारणले सहकारीमा बेथिति भयो । सहकारीमा धेरै वचतकर्ता पीडित हुन पुगे । वचतकर्ता मात्रै नभइ ऋणीहरु पनि यहाँ त रोइ रहेका छन् । विभिन्न अभिलेखहरुले ऋणीहरु पनि डुबिरहेको देखाउँछ । ऋण कसलाइ गएको हो, ऋण कसले डिपोजिट गरेको हो त्यो पनि देखिदैन । कुनै परिचय खुल्दैन । केही हदसम्म ऋणीहरुले पैसा जम्मा गरिसकेको छ । यो पनि त्यहाँ उल्लेख गरेको पाइएन ।’

मन्त्री इङ्नामकाअनुसार सहकारी बचतकर्ता सडकमा भएकाले उनीहरुको बारेमा सोच्नुपर्ने बेला आएको छ । विगतबाट सिकेर अहिले सरकारले सहकारीमाथि कडा नियमन थालिसकेको बताए । उनकाअनुसार सहकारीको सम्पूर्ण कारोबारमाथि राज्यले नियमन थालिसकेको छ । डुबिसकेका वचतकर्ताको रकम फिर्ता गराउने कार्य समेत अघि बढाइसकिएको उनले बताए । २०६० सालदेखि नै सहकारीमा समस्या आएको बताउँदै समस्या आउँदै निदान खोजिनु पर्नेमा राज्य संयन्त्रमा बसेकाहरुले ध्यान नपु¥याउँदा सहकारी विष्फोट हुन पुगेको बताए । मन्त्री इङ्नामकाअनुसार समस्याग्रस्त सहकारी संस्थाले वचतकर्ताको डुबेको रकम फिर्ता गर्ने प्रयत्न गरेपनि त्यो प्रयास पर्याप्त नभएको बताए । सहकारीको रकम लिएर भागेका सञ्चालकहरुलाई यथाशक्य नेपाल ल्याएर बचतकर्ताको रकम फिर्ता गराउनतर्फ सरकारले ध्यान दिइरहेको उनले दाबी गरे ।

निर्वाचनमा गलत सन्देश दिने उम्मेदवारहरुलाई सरकारले तत्काल कारबाही गर्नुपर्छ : साह

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) राष्ट्रिय सभाकी प्रमुख सचेतक मदनकुमारी साह गरिमाले आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउन सरकारको ध्यानाकर्षण गराएकी छन् । बुधवार बसेको राष्ट्रिय सभा बैठकको शुन्य समयमा बोल्दै उनले सामाजिक सञ्जालमा गलत र भ्रामक समाचार प्रवाह गर्ने व्यक्ति र उम्मेदवारलाई तत्काल कारबाही गरी निर्वाचनलाई निष्पक्ष रुपमा सम्पन्न गर्न सरकारसँग माग गरेकी हुन् । प्रमुख सचेतक साहले गलत सन्देशमा भरमा नपर्न आम मतदातालाई पनि अपिल गरिन् ।

उनले भनिन्, ‘म मतदाताहरुलाई अपिल र अनुरोध गर्दछु–सामाजिक सञ्जालमा आएको सबै कुराहरु सत्य हुँदैनन । भेरीफाई गरेर मात्रै बुझौ । गलत र भ्रामक सन्देश सम्पे्रषण गर्ने व्यक्ति र उम्मेदवारलाई कानूनको दायरामा ल्याई निर्वाउनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउन म अध्यक्षमार्फत सरकारको गम्भिर ध्यानाकर्षण गराउन चाहन्छु ।’ प्रमुख सचेतक साहले निर्वाचनमा गलत सन्देश दिने काम कुनै पनि दल र उम्मेदवारले गर्न नमिल्ने पनि स्पष्ट पारिन् ।

‘मुलुकको अर्थतन्त्र सुदृढ बनाउन तालिम र सीपलाई आयसँग जोड्न आवश्यक’

काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले मुलुकले आर्थिक आत्मनिर्भरता हासिल गर्न नसकेसम्म सशक्तिकरणका नारा व्यवहारमा कार्यान्वयन हुन नसक्ने बताएकी छन् । बुधवार ‘काठमाडौं विजनेस एक्स्पो–२०८२’को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । नागरिकको सीपलाई आयसँग जोड्न नसकिएसम्म आर्थिक सुदृढीकरण सम्भव नहुने उनको भनाइ छ ।

उनले सबै नागरिकलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन व्यवसायिक मेला महोत्सवहरु आयोजना गरिरहनु जरुरी रहेको पनि बताइन् । उनले सबै प्रकारका तालिम उत्पादन, रोजगारी र व्यक्तिको आयसँग प्रत्यक्ष रूपमा जोडिनुपर्नेमा जोड दिइन् ।

उनले भनिन्, ‘जबसम्म हामी आर्थिक रुपमा आत्मनिर्भर बन्न सक्दैनौँ तबसम्म हामीले लगाउने सशक्तिकरणका नाराहरु पूरा हुन सक्दैनन् । त्यसको लागि सबैलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउनको लागि र आफूसँग भएको सीपलाई आयसँगको जोड्नका लागि यो मेला अत्यन्तै महत्वपूर्ण छ । हामीले यस कार्यक्रमका लागि उद्योग वाणिज्य संघ काठमाडौंसँग सहकार्य गरेका छौँ । विभिन्न समयमा विभिन्न ठाउँहरुमा हामी तालिम त दिन्छौँ ।’

उनले भनिन्, ‘तर ती तालिमहरु तालिममा मात्र सीमित हुनु हुँदैन । सबै प्रकारका तालिमहरु उत्पादनसँग जोडिनु पर्छ । व्यक्तिको आयसँग पनि जोडिनु पर्छ जसले देशको अर्थतन्त्र सुधार गर्न सहयोग पुर्‍याओस् । हाम्रो उद्देश्य पनि यही रहेको छ ।’

सीपमा आधारित उत्पादनमार्फत नागरिकको आय वृद्धि र मुलुुकको समग्र अर्थतन्त्र सुदृढीकरण गर्नु महानगरको उद्देश्य रहेको बताइन् । करिब २०० अत्याधुनिक र व्यवस्थित व्यवसायिक स्टलहरूको सहभागिता रहने यस महोत्सवमा स्थानीय उत्पादन र सेवाहरूको प्रदर्शनी, रैथाने खानाको प्रतियोगिता, फुड–फेस्ट, कन्सर्ट, लाइभ म्युजिक, कला–संस्कृतिका विभिन्न रूपहरूको प्रदर्शन, विषयगत झाँकी, पर्यटन प्रवद्र्धन कार्यक्रम, फोटोग्राफी स्पट, स्वास्थ्य शिविर लगायत आकर्षक तथा उपयोगी गतिविधिहरू समावेश गरिने बताइएको छ ।

महोत्सवको १ लाखभन्दा बढीले अवलोकन गर्ने आयोजकको अपेक्षा छ । महोत्सवले स्थानीय उत्पादनको बजार विस्तार, लगानी तथा व्यापारिक अवसरको सिर्जना, काठमाडौँ उपत्यकाको सांस्कृतिक तथा पर्यटन पहिचानको सुदृढीकरण, व्यवसायिक नेटवर्किङ विस्तार, नयाँ उद्यमी तथा स्टार्टअपलाई प्रेरणा तथा सञ्जाल प्रदान गर्ने, रोजगारीका अवसर सिर्जना गर्ने तथा समग्र स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने लक्ष्य लिएको छ ।

प्रचण्डले विप्लवलाई भने–यताउता नभौंतारिनुस्, एकतामा आउनुस्

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) लाई पनि एकता प्रक्रियामा आउन आग्रह गरेका छन् । बुधवार पार्टी कार्यलय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले कम्युनिष्ट आन्दोलनलाई सुदृढ गर्न एकता आजको अपरिहार्य आवश्यकता भएको बताए । उनले विप्लव नेतृत्वको पार्टीलाई आत्मसमीक्षा गर्दै मूलधारमा फर्किन आह्वान गरे ।

समाजवादी मोर्चाको समयदेखि नै एकताका लागि गम्भीर संवाद र छलफल हुँदै आएको उल्लेख गर्दै उनले पछिल्लो पटक एकता लगभग टुंगिएको आफूले बुझेको भए पनि त्यो सफल हुन नसकेको बताए । जेन–जी आन्दोलनपछि विप्लव पक्ष वैचारिक अन्योल र विचलनतर्फ गएको संयोजक दाहालको टिप्पणी छ । जेन–जी आन्दोलनपछि मुख्य नेतृत्व नै ठूलो भुमरीमा परेको जस्तो आफूलाई लागेको उनले बताए । संयोजक दाहालले आफूहरूले पनि आत्मसमीक्षा गरेर एकताको बाटो रोजेको उल्लेख गर्दै विप्लव पक्षलाई अझै अवसर बाँकी रहेको बताए । उनले वास्तविक घर यही भएकाले यताउता भौतारिएर केही नहुने उल्लेख गर्दै आत्मसमीक्षा गरेर एकतामा प्रक्रियामा आए फेरि स्वागत गर्न आफूहरु तयार रहेको बताए ।

उनले भने, ‘कमरेड विप्लवको नेतृत्वमा हामी समाजवादी मोर्चामा सँगै हुँदा मोर्चालाई नै एकतामा लैजाउँ भनेर धेरै प्रयास गरिएको हो । कमरेड विप्लव समेत सबै एकतामा आउन पटक पटक गम्भिर संवाद वार्ता, छलफल पनि नभएको होइनन् । पछिल्लो पटक त झण्डै टुंगियो भन्ने बुझेको थिएँ मैले । अब टुंगियो र आउनुहुन्छ, भन्ने बुझेको थिएँ जतिवेला म आफै उहाँको निवासमा गएर लामो र गम्भिर छलफलपछि अब एकतामा जाने भनिएको थियो । खुमलटारमा कमरेड प्रकाण्डलाई बोलाएर छलफल गरेपछि उहाँ निकै भावुक हुनुभयो र उठेर मलाई अंकमाल गर्नुभयो र अब हामी एक भईयो भन्नु भयो । त्यतिवेला हामीले सोचेका थियौँ, उहाँहरु अब एकतामा आउने हुनुभयो । तर दुर्भाग्य जेनजी आन्दोलन वरिपरि आईपुग्दा कता कता बैचारिक अन्यौलको भुमरीमा, निकै ठुलो तुवालोभित्र उहाँहरु हराएजस्तो, लिडरसीप हराए जस्तो महसुस मैले पनि गरे । जेनजी आन्दोलनपछि उहाँहरु धेरै नै भड्किनुभयो । धेरै नै विचलित हुनुभयो ।’

उनले भने, ‘ठुलो भुमरिमा निसासिए जस्तो देखियो, मुख्य नेतृत्व नै । अहिले पनि उहाँले आत्मसमीक्षा गर्नुपर्छ, जसरी हामीले गरेका छौँ । हामीले यो एकतामा आउन सबै घटकहरुले आ–आफ्नो आत्मसमीक्षा गरेर आफ्ना कमजोरी सच्याउने, यो राष्ट्रको स्वाधिनताको रक्षाको निम्ति, कम्युनिष्ट आन्दोलनको रक्षाको लागि एकचोटी फेरि हामी एकताद्धारा तागत पैदा गर्ने भनेर आएको हो । म उहाँहरुलाई पनि अपिल गर्न चाहन्छु, तपाईहरु पनि आत्मसमीक्षा गर्नुस्, तपाईहरुको रियल घर यही हो, तपाईहरु आउनुपर्ने ठाउँ यही हो । यता र उता गरिराख्नुभएको छ, आजभोली । त्यसले केही हुनेवाला छैन । म गम्भिर ढंगले मेरो पुरानो, संगै बसेको कमरेडहरु हुनुको नाताले पनि म भन्न चाहन्छु, तपाईहरुले आत्मसमीक्षा गर्ने यो बेला हो । अझै पनि तपाईहरुको पुरै अवसर गुमिसकेको छैन । तपाईहरुले आत्मसमीक्षा गनुभयो र एकतामा आउनु भयो भने तपाईहरुलाई स्वागत गर्न फेरि पनि तयार नै छौँ ।’ उनले कम्युनिष्ट शक्तिहरु एक नभएर अगाडि नबढेमा देश दुर्घटनामा जानसक्ने पनि बताए । निर्वाचन नजिकिँदै गरेकोले एकता प्रक्रियामा आउन उनले सम्पूर्ण विचार मिल्ने शक्तिहरुलाई आग्रह गरे ।

नेकपा माओवादीका नेता ढकाल नेकपा प्रवेश

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता चिरञ्जीवि ढकाल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् । ढकालसहित नेताहरू पार्टी प्रवेश गरेको नेकपाले जनाएको छ । आज आयोजित कार्यक्रममा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ढकालसहितका नेताहरूलाई पार्टीमा स्वागत गरेको संयोजक प्रचण्डको सचिवालयले जनाएको छ ।

 

बिहानैदेखि धुम्म काठमाडौं {तस्वीरहरु}

काठमाडौं । नेपालमा न्यून चापीय प्रणालीको प्रभावका कारण काठमाडौँ उपत्यकासहित देशभर मौसम बदली भएको छ । बुधबार बिहानदेखि नै देशका उच्च भू–भाग, सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा वर्षासहित हिमपात भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दिउँसो देशका उच्च पहाडी तथा हिमाली भू–भागमा सामान्यतया बदली रहनेछ भने बाँकी भू–भागमा आंशिक बदली रही केही स्थानमा वर्षा हुने सम्भावना छ ।

बिहानैदेखि काठमाडौँ उपत्यकाका केही स्थानमा हल्का वर्षा भइरहेको छ, जसका कारण दैनिक जनजीवन प्रभावित भएको छ । यसैबीच, काठमाडौँ उपत्यकाको वायु गुणस्तर खराब बनेपछि घर बाहिर निस्कँदा मास्कको प्रयोग गर्न विज्ञहरूले सल्लाह दिएका छन् । स्विस वायु प्रदूषण मापन एप ‘आईक्यूएयर’ का अनुसार काठमाडौँको वायु गुणस्तर ‘अति अस्वस्थकर’ स्तरमा पुगेको छ ।

तस्वीर : नेपाल फोटो लाइब्रेरी

दलीय गढविहीन रामेछापमा नयाँ र पुराना दलबीच टक्कर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी र उज्यालो नेपाल पार्टीको ‘इन्ट्री’पछि यसपटक रामेछापमा चुनावी भिडन्त रोचक हुने दखिएको छ ।

साढे तीन दशकको चुनावी परिणामले रामेछाप कम्युनिस्ट शक्तिको बढी प्रभाव भएको जिल्ला भए पनि कुनै एक दलको स्थायी गढ नबनेको हुँदा यसपटक नयाँ र पुराना दलहरूबीच प्रतिस्पर्धा हुने देखिएको हो ।

यसपटक नेपाली कांग्रेसबाट रामचन्द्र खड्का, नेकपा एमालेबाट नेता माधव ढुङ्गेल र नेकपाबाट पूर्वसांसद श्यामकुमार श्रेष्ठ उम्मेदवार छन् ।

कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीबाट दीपबहादुर योञ्जन उम्मेदवार बनेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा. कृष्णहरि बुढाथोकी, राप्रपाबाट गोरे तामाङ, नेमकिपाबाट केशरी श्रेष्ठ र केही स्वतन्त्र उम्मेदवार पनि प्रतिस्पर्धामा छन् ।

२०७९ को समानुपातिक मत परिणाम हेर्दा रामेछापमा त्रिकोणात्मक प्रतिस्पर्धा स्पष्ट देखिन्छ । एमालेले २८ हजार १५० मत ल्याएर पहिलो भयो । कांग्रेसले २४ हजार १०१ र

माओवादी केन्द्रले २१ हजार ०५४ मत पाए । प्रत्यक्षतर्फ भने कांग्रेसका पूर्णबहादुर तामाङ ४७ हजार ०९९ मतसहित विजयी भए ।

त्यतिबेला राष्ट्रिय स्वतन्त्र पार्टीले ४ हजार ६२३ मत पाएको थियो । अहिले माओवादी केन्द्र र एकीकृत समाजवादीबीच एकता भएकाले कम्युनिस्ट मत थप सशक्त हुने आँकलन छ ।

२०७९ मा रामेछापमा १ लाख ८० हजार १०६ मतदाता थिए । पछिल्लो तीन वर्षमा ७ हजार ८४६ नयाँ मतदाता थपिएका छन् । तीमध्ये अधिकांश २०–२५ वर्ष उमेर समूहका छन् ।

राजनीतिक विश्लेषकहरूका अनुसार नयाँ मतदाताले नै नतिजा उल्ट्याउन सक्छन् । नयाँ मतदाताले नयाँ दल र तिनका उम्मेदवार रोज्ने प्रवृत्ति कायम छ । त्यसो हुँदा यसपटक पुराना दलहरूका उम्मेदवारहरूलाई नरोजेर रास्वपा र उज्यालो नेपाल पार्टीका उम्मेदवारलाई कतै जिताउँदैनन् ? चासो छ ।

फेरि, यसपटक कांग्रेसभित्र टिकट वितरणलाई लिएर असन्तुष्टि छ । उम्मेदवार रामचन्द्र खड्काका लागि पार्टीभित्रकै असहयोग चुनावी चुनौती बन्न सक्ने देखिएको छ । यो चुनौती हुने खड्का बताउँछन् ।

एमालेका माधव ढुङ्गेल अघिल्लो समानुपातिक मतमा केही थपेर जित्ने दाबी गर्छन् । उनको दाबीमा आफूले जित्न धेरै मिहेनत गर्नुपदैन । उता, नेकपाका श्यामकुमार श्रेष्ठ तेस्रोपटक जित्ने आत्मविश्वासमा छन् । उनले २०७० को संविधानसभा निर्वाचन र २०७४ मा चुनाव जितेका थिए ।

उज्यालो नेपालका दीपबहादुर योञ्जन पनि यसपटक पुराना दलहरू किनारा लाग्दै बताउँछन् । उनले भ्रष्टाचार र कुशासनको मतियार पुराना दलहरू भएको भन्दै यसपटक मतदाताले नयाँ दल त्यसमा पनि उज्यालो नेपाल पार्टीका उम्मेदवार आफूलाई रोज्ने दाबी गरे ।

रास्वपा उम्मेदावर डा. कृष्णहरि बुढाथोकी यसपटक जित नयाँ दलको हुने बताउँछन् । आफूले परिवर्तनको एजेन्डा बोकेको र जनताले मन पराएको उनले बताए । रामेछापमा चुनावी माहोला आफ्नो पक्षमा बन्दै गएको पनि उनको दाबी छ ।

चुनावी मत विश्लेषकहरू भने समानुपातिकमा बलियो एमाले र प्रत्यक्षमा चुनाव जितेको कांग्रेस र नेकपाको संघर्षमा सबैभन्दा बढी नयाँ शक्तिले कति मत काट्छ ? रामेछापबाट चुनाव उसैले जित्ने विश्लेषण गर्दछन् ।

राष्ट्र बैंकले २० अर्ब निक्षेप तान्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले (आज) बुधवार २० अर्ब निक्षेप तान्दैछ । निरन्तर अधिक तरलता कायमै रहेपछि राष्ट्र बैंकले आज फेरि निक्षेप संकलन उपकरण बोलकबोलमार्फत निक्षेप तान्न लागेको हो । अहिले कुल निक्षेप ७६ खर्ब भन्दा बढी पुगेको छ ।

केन्द्रिय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता तान्दै आएको छ । बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउने छन् । दीर्घकालीन निक्षेप संकलन रकम बाँडफाँट गर्दा काउण्टर पार्टीहरूले बोल गरेका ब्याजदरअनुसार सबैभन्दा कम दर बोल गर्ने रकम प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँट गरिनेछ ।

निक्षेप चुलिँदा आज अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल गर्न लागिको छ र ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने आज बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज २०८३ चैत्र १८ गते भुक्तानी हुने राष्ट्र बैंकले जानकारी दिएको छ । बोल गर्न सकिने रकम न्युनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ ।

खासगरी केन्द्रिय बैंकको खुला बजार कारोबार सम्बन्धी कार्यविधि अनुसार वित्तीय बजारमा दीर्घकालीन प्रकृतिको अधिक तरलता स्थिति देखिए त्यसको व्यवस्थापन गरी बजार ब्याजदर व्यवस्थित गर्न कारोबार सञ्चालन समितिले आवश्यकताअनुसार कुनै पनि दिन संरचनात्मक खुला बजार कारोबार अन्तर्गत बढीमा ६ महिना अवधिको दीर्घकालीन निक्षेप संकलन उपकरण प्रयोग गर्न सक्ने व्यवस्था छ । यही व्यवस्था टेकेर केन्द्रिय बैंकले पटकपटक निक्षेप संकलन उकरण प्रयोग गर्दै आएको छ ।

 

 

गगन थपालाई सघाउन भन्दै सांसदका उम्मेवारसहित चार वडाध्यक्ष कांग्रेसमा प्रवेश

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा सर्लाही–४ बाट प्रतिनिधि सभामा उम्मेदवार बनेपछि विभिन्न पार्टीबाट कांग्रेस प्रवेश गर्ने लहर चलेको छ । कांग्रेस उम्मेदवार थापालाई सघाउन सर्लाही क्षेत्र नं ४ का प्रदेश सांसदका उम्मेवारदेखि गोडैता नगरपालिकाका चार वडाका वडाध्यक्ष कांग्रेसमा प्रवेश गरेका हुन् ।

बहुजन पार्टीबाट सर्लाही–४ (२) प्रदेशका उम्मेदवार कृष्णकुमार कुशवाहसहित चार वडाध्यक्षलाई कांग्रेस सभापति गगन थापाले बुधबार सर्लाहीमा आयोजित एक कार्यक्रममा पार्टी प्रवेश गराएका हुन् । सर्लाहीमा आयोजित कार्यक्रममा कुशवाहसहित गोडैता नगरपालिका–१ का वडाध्यक्ष सुजित महतो, वडा नं २ का वडाध्यक्ष अजयप्रसाद शाह, वडा नं ५ का वडाध्यक्ष प्रकाश गुप्ता, वडा नं ११ का वडाध्यक्ष विश्वनाथ पण्डित कांग्रेसमा प्रवेश गरेर गगन थापालाई सहयोग गर्ने प्रतिवद्धता जनाए ।

वडा नं १ का वडाध्यक्ष महतो र वडा नं २का वडाध्यक्ष नेपाल नेपाल कम्युनिष्ट पार्टी, वडा नं ५ का वडाध्यक्ष गुप्ता जसपा, वडा न ११का वडाध्यक्ष पण्डित एमालेबाट वडाध्यक्ष विजयी भएका थिए । त्यस्तै बसबरियाका जसपा नेता मुकेश यादव, वडासदस्य लालु मन्सुर पनि कांग्रेस प्रवेश गरेका छन् । मुलुकको विकास गर्न सक्ने भिजन भएको कांग्रेस सभापति थापा आफ्नो क्षेत्रमा आएकाले चुनावमा जिताउनका लागि कांग्रेस प्रवेश गरेको उनीहरूले बताए । यसअघि सर्लाही क्षेत्र नं ४का स्वतन्त्र उम्मेदवार महेन्द्र यादव पनि कांग्रेसमा प्रवेश गरेका थिए ।

 

 

देउवाको किल्लबाट बालेनको सन्देश : सुदूर अब दूर नाई, झिकै झिकै माया तम्लाई !

डडेलधुरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ सुदूरपश्चिमको चुनावी यात्राका क्रममा बुधबार बिहान डडेलधुरा आइपुगेका छन् । नेपाली कांग्रेसका पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरा पुगेका बालेनले सामाजिक सञ्जालमार्फत सुदूरपश्चिमप्रति आत्मीय सन्देश दिएका छन् ।

बालेनले सुदूरपश्चिम अब केन्द्रबाट टाढा नभएको संकेत गर्दै लेखेका छन्, ‘सुदूर अब दूर नाई, झिकै झिकै माया तम्लाई !’ उनको यो अभिव्यक्तिलाई सुदूरपश्चिमप्रतिको भावनात्मक नजिकोपन र राजनीतिक सन्देशका रूपमा हेरिएको छ ।
सोमबारदेखि सुदूरपश्चिम केन्द्रित चुनावी यात्रामा रहेका बालेन मंगलबार कैलाली र कञ्चनपुरका विभिन्न कार्यक्रममा सहभागी भएका थिए। बुधबार डडेलधुरा पुगेका उनले महेश्वरीमोडस्थित रास्वपा कार्यालयमा कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।

डडेलधुरापछि बालेन बैतडी प्रस्थान गर्ने तयारीमा छन् । दिउँसो १२ बजे बैतडीको पाटनस्थित रास्वपा सम्पर्क कार्यालयमा कार्यकर्ता भेटघाट कार्यक्रम तय गरिएको छ । त्यसपछि उनी साँझ दार्चुला पुग्ने छन् । सचिवालयका अनुसार, बालेन अपराह्न ४ बजे दार्चुलाको गोकुलेश्वरस्थित रास्वपा सम्पर्क कार्यालयमा कार्यकर्तासँग भेटघाट गर्नेछन् । सुदूरपश्चिमका विभिन्न जिल्लामा हुने यी कार्यक्रममार्फत बालेनले संगठन विस्तार र चुनावी सन्देश प्रवाहलाई तीव्र बनाउने तयारी गरेका छन् । रास्वपाको सुदूरपश्चिम केन्द्रित यो सक्रियताले परम्परागत राजनीतिक प्रभाव रहेको क्षेत्रमा नयाँ राजनीतिक बहस र चासो पैदा गरेको देखिन्छ ।